विषय सूची:
परमेश्वरको अस्तित्व
के बाइबल सत्य र अकाट्य छ?
इतिहासकारहरूलाई मात गराउने ऐतिहासिक सत्यता बाइबलमा
आधुमिक विज्ञानद्वारा बाइबलको जाँच
बाइबलका विरोधीहरूका केही अद्भुत अनुभवहरू
मृत्यु शय्याका केही रोमाञ्चित दृष्यहरू
बाइबलको पार्थिव देन यस पृथ्वीलाई
किन बाइबल विश्वासयोग्य र स्थिर छ?
अध्याय एक : परमेश्वरको अस्तित्व
पहिलो प्रमाण : अन्तर्ध्वनि
पृथ्वीका मानिसहरू बढेर आकाशमा झलल चम्किरहने चन्द्रमासम्म पनि पुगिसके। जूनमा कसरी पुगे होलान्, सम्झँदा हामी छक्कै-छक्कै पर्छौं। यसरी संसार बढेर कहाँ पुगिसक्यो, तापनि अझै कति यस्ता जङ्गली जातिहरू छन्, जो सभ्य संसारबाट अलग छन्—तिनीहरू जङ्गलमै बस्छन्। केही वर्ष अघि त यस्ता जातिहरू सैकडौं थिए। यस्ता जङ्गली जातिहरूका खानपिन, रुपरङ, स्वभाव र बोलीवचन बेग्ला-बेग्लै थिए; तैपनि एउटा कुरामा ती सबै एक समान थिए—अर्थात् ती सबैले ईश्वर मान्थे। तिनीहरू परमेश्वरको अस्तित्वलाई मान्ने आस्तिकहरू थिए, तर नास्तिक थिएनन्। एउटा जातिले अर्को जातिलाई भेटेर अथवा आस्तिक प्रचारकले भेटेर ‘परमेश्वर हुनुहुन्छ’ भन्ने पाठ सिकाएकोले उनीहरू आस्तिक भएका होइनन्।
जन्मेका बच्चालाई नसिकाइकनै दूध हुन्छ भनी खोजे झैं तिनीहरूले पनि परमेश्वर हुनुहुन्छ भनी जानेका हुन्। खोजेका हुन् अनि विश्वास गरेका हुन्। कोही पनि जङ्गलमा गएर कसैलाई आस्तिकवाद सिकाएनन्, न त परमेश्वर हुनुहुन्छ भनी सिकाए। कम्पासको सियोले सधैं उत्तर दिशालाई मात्र देखाइरहे झैं प्रत्येक व्यक्तिको अन्तरात्मामा परमेश्वर हुनुहुन्छ भन्ने आभास भइरहन्छ, आवाज आइरहन्छ। कारण यही हुनाले नै मान्छेले परमेश्वर हुनुहुन्छ भनी जान्यो। यसरी आस्तिकताको जन्म मान्छेको अन्तरात्मामा हुन्छ। भित्र आत्मामा हुने स्पन्दनबाट नै वा अन्तर्ध्वनिबाट नै सम्पूर्ण जगत्का मानिसहरूले परमेश्वर हुनुहुन्छ भनी थाहा पाए। अनि उहाँलाई आफ्नो भाषा र ज्ञानअनुसार नाम दिए। पृथ्वीका बेग्ला-बेग्लै ठाउँमा बस्ने जातिहरूले एउटै नछोडिकन सबैले परमेश्वर हुनुहुन्छ भनी थाहा पाए, अनि मान्दै आए।
नास्तिकवादचाहिँ आस्तिकवादको तुलनामा भर्खरै जन्मेको मत हो, सिद्धान्त हो। यो स्पर्धा र अभिमानको सम्मिश्रण-द्वारा जन्मेको वस्तु हो। एउटा धर्मगुरुबाट तीतो व्यवहार पाउँदा एउटा जवानले बाउँठिएर धर्म शिक्षाको विपरीत तिखिएर जाने निर्णय गर्यो। फलस्वरुप आजकालको नास्तिकवादले यो रुप लियो। पहिलेको नास्तिकवाद समुद्रको सम्मुख आँसुसरह थियो भने पनि त्यसको उत्पति अभिमानबाट नै भएको थियो। बाइबलमा लेखिएको छ—“...त्यो मोटो भयो, पूरा बोसो लाग्यो: तब त्यसले सृजनहार ईश्वरलाई त्याग्यो...।1 यसरी नै अभिमानले नास्तिकवादलाई जन्मायो। यसरी नास्तिकवाद एउटा मत हो भने, आस्तिकवाद आत्माका भित्री आवाज र स्पन्दनद्वारा प्रमाणित सत्यता हो। मेरो हृदयको सूक्ष्म ध्वनि नै परमेश्वरको अस्तित्वको प्रथम प्रमाण हो।
एक समय म पनि परमेश्वर हुनुहुन्न भनी खूब चिच्च्याइहिँडे। त्यो मेरो मूर्खताको शर्मलाग्दो तमाशा मात्र थियो। अलिकति विद्याले नचाहिँदो घमण्डी बनाएको मात्र थियो। मेरो मूल तर्क थियो—“खै त परमेश्वर? म देख्तिनँ, म छाम्न सक्तिनँ, यसकारण परमेश्वर छँदैछैन।” पृथ्वीको गुरुत्वाकर्षण (Gravitation) लाई छिनालेर आकाशपारि अन्तरिक्षमा पुग्ने पहिलो व्यक्ति रुस देशका युरी ग्यागरिन हुन्। भोस्टोक नाम अन्तरिक्ष-यानमा चढेर १२ अप्रिल, १९६१ को दिन पृथ्वीलाई एक चक्कर लगाएपछि तिनले पनि घमण्डसाथ यसो भनेका थिए—“म आकाशपारि पुगें, घुमें, तर खै परमेश्वरलाई चाहिँ देखिनँ।” त्यस्तो कुरा गर्नुचाहिँ मेरो पटमूर्खता हो भन्दै अब मलाई लजाउँदै मानिलिनु कर लागेको छ। संसारमा अनेकौं अरू सामर्थी कुराहरू पनि रहेछन् जसलाई हामी देख्तैनौं, तर नदेखे तापनि विश्वास गर्छौं। हावा, जो प्राणसरह जरुरी छ, तर हामी हावालाई देख्तैनौं। गीत, भाषण र चलचित्रहरू आकाशभरि मडारिरहेका हुँदा रहेछन्; तर खै हामी कहाँ देख्छौं र? अहिलेसम्म दुनियाँ बूढो भइसक्दासम्म पनि देखेका छैनौं। क्यामेरा मेसिनले खिँचेर ल्याएपछि मात्र त हामी पनि ‘हो रहेछ, हो रहेछ!’ भन्दा रहेछौं नि! लौ त भन्नुस् ‘म देख्तिनँ, यसैले यो कुरो छैन’ भन्नुचाहिँ कत्रो मूर्खता रहेछ त! यसैले परमेश्वर हुनुहुन्न भन्नुचाहिँ म मूर्ख हुँ2 भनी जनाउनु हो।
तर्क नै गर्ने हो भने त परमेश्वर हुनुहुन्छ भनी तर्क गर्नु सजिलो छ। परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्नुचाहिँ हुनुहुन्न भनी विश्वास गर्नुभन्दा सजिलो हुन्छ। जसले परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्छ, ऊ आशिषित मान्छे हो। तर झन् सत्य परमेश्वरलाई विश्वास गर्ने मानिस त धन्य हो।
दोस्रो प्रमाण : सृष्टि
सुन्दर खोलानालाहरू, सुनचाँदी मुकुट लगाए झैं देखिने मनोरम पर्वतहरू, गुराँस-चिमालीले ढकमक्क ढाकेका विरह चलाउने पाखाहरू, फाँटिला मैदानहरू, अनि आँखाले भ्याइ नसक्ने फैलि-एका पानीका सागरहरू आफैसेआफ बनिएन होलान्। त्यसमाथि लाखौं पशुपक्षी, कीराफटेंग्रा र मानिस जातिहरू छन्। कसरी आफै आए होलान्? हाम्रो पृथ्वीबाहेक अरबौं अरू थोकहरू पनि आकाशमा छन्। कति विद्वान्हरू भन्छन्—“हजारौं वर्ष बित्दैजाँदा जीवाणुहरू उब्जे। तिनीहरू फेरि समय बित्दैजाँदा माछा र कीराफटेंग्रामा परिणत भए। यसरी नै अन्त्यमा मान्छे बन्यो।”
यस्ता अद्भुत वस्तुहरू समय बित्दैजाँदा आफै बन्दछन् भने हाम्रो टेबलमा राखिएको सानो टेबलघड़ी त झन् सजिलै गरी आफै किन बन्न सक्तैन र? हजारौं वर्ष बित्दैजाँदा पृथ्वीको पेटका फलामहरू निचोरिएर घुम्दै र बटारिँदै घड़ीको बाहिरको खोल बन्यो। अर्कोपट्टि ढुङ्गाका चेपबाट फलाम निचोरिएर निस्की बिस्तारै-बिस्तारै चक्का बन्यो; अझै अर्कोपट्टि वर्ष बित्दैजाँदा बिस्तारै-बिस्तारै फलाम निचोरिँदै, सिन्किँदै, चेप्टिँदै र बटारिँदै-बटारिँदै स्प्रिङ्ग बन्यो। यसरी नै घड़ीका पचासौं पुर्जाहरू चारैतिरबाट घुम्दै-घुँम्दै एकै ठाउँमा आइ-पुगेछन्। वर्ष बित्दैजाँदा ती पूर्जाहरू एक-अर्कासँग ठीकै मिलेछन्। काँटी र पेचहरू पिन ठोकिएछन्। कसो-कसो गर्दा घड़ीको डायलमा एकदेखि बाह्रसम्म अंकहरू पनि गोलो आकारमा कोरिएछन्। यसरी अनेकौं वर्ष बितेपछि टिक-टिक गर्दै घड़ी चल्ने भयो। सेकेन्ड, मिनट र घण्टा बताउने भयो, त्यो घड़ी आफैआफ बन्यो।
घड़ी यस्तो प्रकारले बनियो भनी हामीले संसारलाई भन्यौं भने संसारका मूर्ख र विद्वान् सबै मानिसहरू पेट मिची-मिची हाँस्छन्। ‘साथी, घड़ी त्यस प्रकारले बनिँदैन! कसैले वर्षौं-वर्ष बुद्धि लाएर बनाएको हो त्यो, बुझ्यौ!’ भनी मानिसहरूले भन्नेछन्। तर ती मानिसहरू नै घड़ीभन्दा करोडौं, अरबौं गुणा कठिन र असम्भव कुराहरू वर्ष बित्दैजाँदा आफैआफ बनियो भन्ने मूर्ख कुरा पत्याउन लजाउँदैनन्, बरु हाँसी-हाँसी पत्याउँछन्। घड़ी त आफैआफ बन्दैन भने सम्पूर्ण आकाश, पृथ्वी र पशुपक्षी बन्लान् त? म पनि यस्तै मूर्ख स्कूले शिक्षालाई पत्याएर र अपनाएर सबैलाई परमेश्वर छैन भन्दै लेक्चर छाँटिहिँडेथे। समय हुँदै परमेश्वरले मलाई त्यस मूर्खतारुपी खाडलबाट निकाल्नुभयो। मान्छेलाई झूटा कुरा पत्याउनु कति रहर लाग्दोरहेछ नि! म मनमनमा सोच्छु।
यसकारण जसरी घड़ी वा कुनै चीज देख्दा यो कसले बनायो? भन्छौं अर्थात् यो बनाउने कुनै मानिस छ भनी सम्झन्छौं, उसरी नै हाम्रा चारैपट्टिका विश्वलाई देख्दा निश्चय नै यी सारा वस्तुहरू कसैले बनाएकै हो भन्नु कर लाग्छ। त्यस बनाउने अद्भुत व्यक्तिलाई हामी नाम दिन्छौं—परमेश्वर।
(ख) सृष्टिकर्ताले यस पृथ्वीलाई सूर्यबाट नौ करोड तीस लाख माइल टाढा राख्नुभएको छ। तर शुक्र ग्रहलाई झैं पृथ्वीलाई पनि अलिक नजिकमा राखिदिनुभएको भए घामको भतभत्ती पोल्ने तापले गर्दा यस पृथ्वीमा रुखपात र कीराफटेंग्र केही बाँच्नसक्ने थिएन। के सृष्टिकर्ताले नापीजोखी पृथ्वीलाई ठीक ठाउँमा राख्नु-भएको होइन र?
(ग) पृथ्वीदेखि चन्द्रमा २ लाख ४० हजार माइल टाढा छ; तर चन्द्रमा केवल ४० हजार माइल टाढामा रहिदिएको भए समुद्रमा ज्वार* (Tide) चलेको समयमा कलकत्ता, मुम्बई, दिल्ली र आसाम सबै पानीका छालद्वारा पुरिनेथिए। तब के मानिसहरू पृथ्वीमा बस्नसक्थे होलान् त? यो विश्व आफै बनिएको भए सूर्य, चन्द्रमा र पृथ्वी आदि हिसाब गरीगरी ठीकठीक दूरीमा बस्नेथिए होलान् त?
घ) हाम्रो पृथ्वीको तान्ने शक्ति छ। यस शक्तिलाई गुरुत्वाकर्षण (Gravitation) अर्थात् खिँच्ने शक्ति भन्छन्। यस शक्तिले सबै चीजलाई आफूतिर खिँच्छ। कुनै चीज आकाशमा अडिएर बस्दैन।
तेस्रो प्रमाण : सृष्टिमा व्यवस्थापन
सम्पूर्ण विश्वको सृष्टि मात्र भएको छ होइन, तर भएको छ बडो आश्चर्यजनक ढङ्गले। अपरिमित बुद्धि, असीम सीप, बुद्धिमत्ता र क्रमबद्धता (Orderliness) हुनु नै सृष्टिकर्ताद्वारा सृष्टि गरिनु हो। विश्व आफै बनिएको हो भने गोबरको थाप्रो मिल्काउँदा भूइँमा लथालिङ्ग भए झैं यो विश्व पनि लथालिङ्ग हुनुपर्नेथियो—अव्यवस्थित, श्रृङ्खलाहीन हुनुपर्नेथ्यो। तर पृथ्वी सुव्यवस्थित छ, नियमबद्ध छ। साँच्चै विश्वको सृष्टि सोची सम्झी, ढङ्ग पुर्याई गरिएको रहेछ भन्ने तथ्यलाई तल दिइएका एक-दुईवटा कुराहरूले नै प्रमाण दिन्छन्:
(क) यो पृथ्वी घण्टामा १००० माइलको रफ्तारमा लट्टूझैं फनन घुमिरहेको छ। १००० माइलको गतिमा घुमेकोले दिन प्राय: १२ घण्टाको हुन्छ, र रात १२ घण्टाको। तर हजार माइलको गतिमा नघुमेर सय माइलको रफ्तारमा घुमेको भए, दिन १२० घण्टा लामो र रात १२० घण्टा लामो हुन्थ्यो। त्यसो भएको भए पृथ्वीमा अन्नपात केही हुने थिएन। १२० घण्टासम्म भतभत्ती पोल्ने घाम लागेर सब अन्नपातलाई सुकेको परालझैं बनाइदिनेथ्यो। फेरि १२० घण्टासम्म रातको चिसो बढेर सबै अन्नपातलाई स्वाहा पारिदिनेथ्यो। तब मान्छे, पशुपक्षीले के खाएर बाँच्थे होलान् त? पृथ्वी बस्न लायकको पटक्कै हुने थिएन। फेरि १२० घण्टासम्म कुनचाहिँ मान्छेले काम गरिरहन सक्छ? अनि १२० घण्टासम्म कुनचाहिँ मान्छे ओछ्यानमा लम्पसार सुतेको सुत्यै गर्नसक्छ? के सृष्टिकर्ताले मान्छेलाई हेरेर, फलफूल, अन्नपातलाई हेरेर, सम्झेर दिन र रातलाई १२-१२ घण्टाको बनाउनुभएको होइन र?
सबै चीज पृथ्वीतिरै खिँचिन्छन्। यसैकारण सब थोक पृथ्वीमै खस्नुपर्छ भन्ने कुरा प्राकृतिक नियम नै बनेको छ। तर यस पृथ्वीमा आकर्षण शक्ति नहुँदो हो त उड्दै गरेको चरालाई गोली लाग्दा त्यो पृथ्वीमा खस्ने थिएन। तोपको मोहरीबाट छुटेको गोला पृथ्वीमा खस्ने थिएन, न त रुखको फल नै भूइँमा खस्नेथ्यो। जूनतिर जाँदैगर्दा पृथ्वीको गुरुत्वाकर्षणको सिमानाभन्दा पहिल्यै कुनै मानिसले आफ्नो विमान (अन्तरिक्ष यान) बाट हाम फाल्यो भने त्यो मानिस पृथ्वीतिर बडो वेगले झर्छ अर्थात् पृथ्वीतिर खिँचिन्छन्। तर सिमाना पार गरिसकेपछि त्यही मानिसले हाम फाल्यो भने त्यो झर्दै झर्दैन; आकाशामै अडिएर बस्छ। आकर्षण शक्ति भएकैले चीजबीजहरू राखिएका ठाउँमा अडिएर बसेका हुन्।
हाम्रा पहाडहरूमा गाडी घण्टामा ३० किलोमिटर प्रतिघण्टा-भन्दा छिटो कुदाउन मिल्दैन। मधेस झरेपछि ७०-८० किलोमिटर प्रतिघण्टाको रफ्तारमा चालकहरूले कुदाउँछन्। ७०-८० किलो-मिटर प्रतिघण्टामै कुद्दा पनि सडकका छेउका रुखहरू बिजुलीझैं पार हुन्छन्। दिदीबहिनीहरू अबुई! भन्दै एक दोस्रालाई जोडले पक्रन्छन्। तर यसै घड़ी हाम्रो पृथ्वी योभन्दा २०-२२ गुणा बेसी रफ्तारमा दगुरिरहेको हुन्छ—घण्टाको १६०० सय किलोमिटरको रफ्तारमा।
पृथ्वीको आकर्षण शक्ति नहुँदो हो त, यस्तो डरलाग्दो स्पीडमा घुम्नुपर्दा पृथ्वीका घरहरू, सर-सामानहरू, मान्छेहरू आकाशभरि छरिने थिए। तब यस्तो पृथ्वीमा को बाँच्न सक्थ्यो होला? आज सृष्टिकर्तालाई सानो मुड्की देखाउने मान्छेहरू पनि यस पृथ्वीमा छन्। उहाँ मान्छेझैं रिसाहा हुनुभएको भए उहाँले आकर्षण शक्तिलाई बन्द गरिदिनुहुनेथ्यो, तब ती मुडकी देखाउनेहरू झट्टारिएर आकाशमा पुग्थे, फेरि उहाँले आकर्षण शक्ति खोलिदिनु-हुनेथ्यो, तब तिनीहरू भयानक स्पीडमा खस्दै पृथ्वीमा पछारिनेथिए। गोलभेंडालाई भूइँमा पछार्दा छताछुल्ल भए झैं, ती साना मुड्की देखाउनेहरू छताछुल्ल हुनेथिए। यस्तो आकर्षण शक्ति कहाँबाट आयो? सृष्टि गर्नुहुने परमेश्वरले यसको भारी खाँचो देख्नुभयो, र सृष्टि गर्नुभयो।
यसैकारण त यो पृथ्वी, यो विश्व आफै बनिएको होइन; तर कुनै अपार शक्तिशाली, अथाह ज्ञानवान्ले नापजोखी र बुद्धि लगाई सृष्टि गर्नुभएको हो—यस पृथ्वीलाई। हामी यस अद्भुत व्यक्तिलाई परमेश्वर भन्छौं। यसकारण प्रिय मित्र, परमेश्वर हुनुहुन्छ। परमेश्वर हुनुहुन्न भन्ने मूर्खहरूले गला च्यातुन्जेल परमेश्वर हुनुहुन्न भन्दै चिच्च्याए तापनि परमेश्वर डटेर रहनुहुनेछ। उनीहरूको चिच्च्या-हटले परमेश्वरको अस्तित्वलाई मेट्नेछैन।
यस किसिमका आश्चर्यमय कुराहरू सैकडौं छन्। सम्पूर्ण विश्वासलाई परमेश्वरले नै सृष्टि गर्नुभएको हो भनी यी कुराहरूले गतिलो हिसाबले ठोकुवा दिन्छन्।
मानिसहरू भन्छन्—“ईमान (Sincerity) पो ठूलो त! ईमान-सँग विश्वास मानेर जुनै बाटोमा हिँडे पनि स्वर्ग पुगिन्छ।” मानिस-हरूले यसो भने पनि राम्ररी विचार गर्दा र अनुभव गरेर हेर्दा, यो कुरा असत्य प्रमाणित हुन्छ।
ईमानदारी (Sincerity) नै ठूलो होइन, तर हामी जुन कुरामा ईमान लाउँछौं, त्यो पो ठूलो हुनुपर्छ—सत्य हुनुपर्छ। झूटो कुरालाई जत्तिकै विश्वास गरे पनि त्यो कहिल्यै सत्य बन्दैन। हिमाल जाने बाटोमा जतिकै ईमानदारीपूर्वक, भक्तिपूर्वक र विधिपूर्वक हिँडे पनि काशी पुगिँदैन। सुती लुगालाई टेरीकटन भनी विश्वास गरेर राजीखुशीले दोबर दाम तिरे पनि अनि टेरीकटन भनेर बडो ईमानदारीसँग पहिरे पनि त्यो लुगा टेरीकटन बन्दैन। सधैं नै त्यो सुती नै रहिरहन्छ। यसैकारण हाम्रो ईमानदार, हाम्रो विश्वास र हाम्रो भक्ति नै पर्याप्त छैन; तर जुन कुरामा हामी ईमान लाउँछौं, त्यो सत्य हुनुपर्छ।
चौथो प्रमाण : पवित्र शास्त्र बाइबल
‘मान्छेले पो मान्छन् कि मान्दैनन् भन्दै, डराउँदै परमेश्वरको अस्तित्व-लाई पुष्टि गर्ने कोसिस बाइबलले गर्दैन, तर परमेश्वर प्रशस्त गरी हुनुहुन्छ, यो तर्क गरिरहने विषय नै होइन भन्ने आभास दिँदै बाइबल निर्धक्क बोल्छ जीवित परमेश्वरको विषयमा। बाइबलले यसरी बोली प्रमाण दिँदछ—परमेश्वरले प्रत्येक पुरुष तथा स्त्रीको न्याय गर्नुहुनेछ। उहाँको वचन, बाइबलमा लेखिएको छ—“हामीहरू सबै नै परमेश्वरको न्याय सिंहासनको सम्मुख खडा हुनेछौं। प्रत्येकले परमेश्वरलाई आफ्नो हिसाब दिनेछ।”3 “उहाँले हरेकलाई उसको काम-मुताबिक इनाम दिनुहुनेछ।”4
यस प्रकारले हरेकको न्याय गरी काममुताबिक कतिलाई दण्ड, कतिलाई इनाम दिनुहुनेछ। परमेश्वरले मानिस जातिलाई, के काम गर्नुहुन्छ, के काम गर्नुहुँदैन, के गर्नाले इनाम पाइन्छ, के गर्नाले दण्ड पाइन्छ, आदि इत्यादि सबै कुरा बताएकै हुनुपर्छ—लेखेर। यस प्रकारले उहाँले मानिस जातिलाई आफ्नो नियम, इच्छा बताउनु-भएको छैन भने उहाँले कसैलाई दण्ड पनि दिन सक्नुहुन्न। ‘राती घुम्न मनाही छ, घुमेको खण्डमा दण्ड दिइनेछ’ भन्ने घोषणा नदिएसम्म सरकारले पनि राती घुम्नेलाई पक्रेर जेलमा ठोस्न सक्तैन। यही प्रकारले परमेश्वरले पनि वचन तथा शास्त्र दिनुभएकै छैन भने मनपरी मान्छेको न्याय गरी नरकमा ठोस्न पाउनुहुनेछैन। “परमेश्वर अन्यायी हुनुहुन्न।”5 यसकारण यस संसारमा परमेश्वरबाट आएको एउटा शास्त्र ता हुनैपर्छ। खुशीको कुरा, परमेश्वरले आफ्नो शास्त्र दिनुभएको छ पनि। केही बताउँदै नबताईकन उहाँले पनि किन पो दण्ड दिनुहुन्छ र मानिसलाई!
तर दु:खको कुरा, शास्त्र पो धेरैवटा निस्के संसारमा। हिन्दूलाई हिन्दूकै देवाताले, मुसलमानलाई मुसलमानकै ईश्वरले न्याय गर्ने भए ता ठीकै थियो, तर मान्छेलाई न्याय गर्ने ता एउटै परमेश्वर हुनुहुन्छ, जसले सम्पूर्ण विश्वसहित मानिसको सृष्टि गर्नुभएको छ। अबचाहिँ जतिवटै शास्त्र भए पनि आकाश-पृथ्वीका मालिक, साँचो परमेश्वरको शास्त्रचाहिँ एउटै मात्र छ, सबैचाहिँ होइनन् भन्ने समय आएको छ। धानको साथ-साथमा धानको नक्कल गर्नालाई सामा आफै आउँछ भने, साँचो परमेश्वरको शास्त्रको साथ-साथमा अरू शास्त्र निस्कनु अस्वाभाविक कुरो होइन। खाँटी हीरा र सुनलाई कसी लाएर पत्ता लगाउनुपर्छ। यो काम प्रत्येक किन्ने मान्छेको हो। सक्कलीको दाम तिरेर नकली हीरा किनेको खण्डमा नोक्सानी किन्नेले भोग्छ। यसकारण होशियार! कहीं नक्कली चीज पो लिरहेका छौं कि! शास्त्रको सम्बन्धमा पनि हामी होशियार हुनुपर्छ। कसी लगाई-लगाई साँचो शास्त्रलाई चिन्ने काम हाम्रो हो, अनि यो काम अत्यन्तै जरुरी पनि छ। यसपालि नक्कली हीरामा फँसे पनि केही पर्वाह छैन, अर्कोपालि सक्कली हीरा हात पारौंला-पारौँला! यसपाली परीक्षामा असफल भए पनि पर्वाह छैन, अर्कोपालि त गरेर देखाउँला! तर सत्य शास्त्रलाई फेला नपार्दा नरकमा परियो भने त्यहाँबाट उम्की स्वर्गमा पस्न पाउने अर्को मौका पाइँदैन। यसकारण यही एक बारको जीवनमा हामीले सत्य शास्त्रलाई फेला पार्नुपर्छ, अनि शास्त्रमा लेखिएमुताबिक चली हामी परमेश्वरको राज्यमा पस्नैपर्छ। अब शास्त्रलाई कसी लाएर सत्य हो कि होइन थाहा पाउने जरुरी काम पर्यो—मान्छेले कथेको शास्त्र हो कि परमेश्वरले नै दिनुभएको शास्त्र हो थाहा पाउनु खाँचो पर्यो।
यसैकारण जुनै पनि शास्त्रमुताबिक हिँड्नाले हामी स्वर्ग पुग्दैनौं। सत्य शास्त्रमुताबिक हिँड्नाले मात्र स्वर्ग पुग्छौं। ईमानदारी र भक्ति चाहिन्छ, तर ईमानदारी र भक्ति सत्य कुरामा बसालिनुपर्छ।
कति दृष्टिविहीनहरूका आँखामा जन्मेकै बेलामा सिल्वर नाइट्रेट (Silver Nitrate) नाम भएको औषधि लगाइदिएको भए उनीहरू दृष्टिविहीन हुने थिएनन्। आमामा एक प्रकारको रोग* हुँदा पेटमा राम्रै रहेको बच्चा पनि जन्मेपछि दृष्टिविहीन हुन्छ। यस्तो बच्चा जन्मनासाथ आँखामा सिल्वर नाइट्रेट (Silver Nitrate) लगाउनुपर्छ, तब त्यो बच्चा दृष्टिविहीन हुँदैन।
एकपल्ट अस्पतालमा बच्चा जन्म्यो। डाक्टरले नर्सलाई भने—“नर्स, यस बच्चाको आँखामा सिल्वर नाइट्रेट लगाइदेऊ।” नर्सले औषधिको अलमारीबाट सिल्वर नाइट्रेट निकाली। बाहिरपट्टि लेखिएको लेबल पढी, राम्ररी पढी। सिसीमा सिल्वर नाइट्रेट नै लेखिएको रहेछ। चोखो मनले अर्थात् ईमानदारीसँग औषधि लगी, र बच्चाको आँखामा लगाईदिई। तर बच्चाको आँखा जाती भएन। ऊ दृष्टिविहीन भयो। आखिर के भयो त? किन बच्चाको आँखा निको भएन? कुनै कारणले गर्दा त्यस सिसीमा कसैले कार्बोलिक एसिड (Carbolic Acid) नाम भएको औषधि हालिराखेको रहेछ। कार्बो-लिक एसिड-लाई जतिकै विश्वास गरी ईमानदारीसँग आँखामा हाल्दा पनि सिल्वर नाइट्रेट भएन। आँखालाई निको पारेन। विश्वास गर्दैमा असत्य कुरा सत्य बन्दैन। सत्यलाई नै विश्वास गर्नुपर्छ। अब जुनैसुकै बाटोमा हिँडे पनि विश्वास भए भइगयो भन्ने जमाना गयो। पार हुनलाई सत्य शास्त्रको खोज गर्नैपर्छ।
अध्याय दुई : के बाइबल सत्य र अकाट्य छ?
परमेश्वर हुनुहुन्छ भनी दृढ् साक्षी दिने चौथो साक्षी हो—बाइबल। विश्वमा झण्डै ७३०६० भाषाहरू रहेका छन्। Wycliffe Bible Translation को पछिल्लो तथ्याङ्कअनुसार सन् 2021 सम्ममा लगभग २७११ भाषाहरूमा बाइबल अनुवाद भइसकेका छन्। करिब २७३१ भाषाहरूमा अनुवादको क्रममा छन्। यसमा सैकडौं भविष्यवाणीहरू छन्, सैंकडौं ऐतिहासिक र वैज्ञानिक कुराहरू छन्। बाइबलले परमेश्वर नै बाइबलका रचनाकार हुनुहुन्छ भनी जोडदार घोषणा गरेको छ; अनि परमेश्वरको विषयमा निर्धक्क बोलेको छ। के यी भविष्यवाणीहरू पूरा होलान्? के बाइबलमा ऐतिहासिक र वैज्ञानिक त्रुटि नपाइएलान्? यी सबै भविष्यवाणीहरू पूरा भए भने बाइबलका वचनहरूमा भौगोलिक, ऐतिहासिक र वैज्ञानिक त्रुटिहरू पाइएनन् भने बाइबल सत्य ठहरिन्छ। यसरी परमेश्वरको अस्तित्वचाहिँ स्वयम् प्रमाणित हुन्छ।
अब बाइबलमा भएका भविष्यवाणीहरूलाई जाँचेर, र यसमा लेखिएका वैज्ञानिक, भौगोलिक र ऐतिहासिक उक्तिहरू-लाई आधुनिक कसीमा घोटेर, बाइबल सत्य रहेछ कि रहेनछ, हेर्नुपर्दछ।
के बाइबलका भविष्यवाणी अक्षरश: पूर्ति भए?
बाइबल केबल भविष्यवाणीको पुस्तक होइन, न त यहाँ भएका भविष्यवाणीहरू नै बाइबललाई सत्य ठहर्याउनलाई दिइएका हुन्; तथापि बाइबलमा हजारौं भविष्यवाणीहरू छन्। यति धेरै भविष्यवाणीहरू संसारको कुनै पनि शास्त्रमा दिइएका छैनन्, अनि दिइँदैनन् पनि; किनभने एउटा मात्र भविष्यवाणी पूर्ण नहुनु नै यो शास्त्र असत्य रहेछ भनी प्रमाणित हुनु हो। यसकारण वर्तमान युगका भगवान्हरू पनि भविष्यवाणी गरेर आफूलाई जोखिममा हाल्न चाहँदैनन्।
(क) ख्रीष्ट येशूको सम्बन्धमा भविष्यवाणी :
ख्रीष्ट येशू आउनुभन्दा सैकडौं वर्ष पहिले नै उहाँको विषयमा सैकडौं भविष्यवाणी गरिएका थिए। तीन सयभन्दा बेसी भविष्यवाणीहरू त उहाँको जीवन, सेवा र क्रूसको मृत्युकै सम्बन्धमा मात्र दिइएका छन् भनी शास्त्र पल्टाई-पल्टाई भविष्यवाणी गन्ती गर्नेहरूले भनेका छन्। ती सबै भविष्य-वाणीको विषयमा लेखिरह्यौं भने एउटा भारी ठेली नै बन्नेछ। तर, आजचाहिँ हामी एक-दुइवटा विषयलाई मात्र स्पर्श गर्ने छौं; त्यो पनि संक्षिप्तमा। एकैजनाको विषयमा गरिएका यति धेरै भविष्यवाणीहरू अक्षरश: पूर्ण हुन्छन् भने अब बाइबललाई हामी कसको वचन भनौं त? के सत्य परमेश्वरको वचन नभनौं?
हजारौं वर्ष अघि प्रभु येशूको विषयमा बाइबल धर्मशास्त्रमा लेखिएका भविष्यवाणीहरू उहाँको जीवनमा ठ्याक्-ठ्याक्ती पूरा भएको देख्दा विद्वान् यहूदीहरू छक्क पर्थे। कसरी यति धेरै भविष्य-वाणीहरू येशूको जीवनमा पूर्ण हुन सक्छन्? निश्चय पनि येशूले बाइबल पढेर त्यहाँ लेखिएका भविष्यवाणीहरूलाई आफ्नो जीवनमा लागू गराएको हुनुपर्छ भनी उनीहरू भन्थे। यो पक्का पनि येशूको जाल हो भन्ठानेर एउटा विद्वान् यहूदीले निस्तार चाडको षडयन्त्र (Passover Plot) नामक किताब पनि लेख्यो। येशूले ती भविष्यवाणीहरू आफ्नो जीवनमा लागू गराएको हो भनी उसले त्यस किताबमा लेखेको भए तापनि विज्ञ दुनियाँले उसको कुरालाई खाइदिएन। कुरा पनि त मनमा पस्ने हुनुपर्छ। बाइबलका भविष्य-वाणीहरू मनमै नपस्ने गरी पूरा भएका छन् भन्ने कुराको प्रमाण यो पनि हो।
आफ्नो वशमा भएका कुराहरूलाई जीवनमा लागू गराउने कोसिस गरे पनि आफ्नो वशमा नभएका कुरालाई चाहिँ के गर्ने नि! उदाहरणको लागि : मसीह बेथलेहेममा जन्मनुहुन्छ भनी स्पष्टसँग बाइबलमा लेखिएको थियो। शास्त्रको ज्ञान भएका शास्त्रीहरूले सजिलै यो कुरा बताउन सक्थे। एकपल्ट यहूदाका राजा हेरोदले शास्त्रीलाई सोधे—“मसीहको जन्म कहाँ हुन्छ, लौ बताऊ।” आठ सय वर्ष अघि नै लेखिएको बाइबल शास्त्रको मीका नामक किताब पल्टाएर उनीहरूले प्याट्टै भनिहाले—“उहाँ यहूदा देशको बेथलेहेम नामक गाउँमा जन्मनुहुनेछ।”1
भविष्यवाणीका कुराहरूलाई आफ्नो जीवनमा लागू गराउने प्रयत्न प्रभु येशूले गर्नुभएको हो भने आफूलाई बेथलेहेममा जन्माउने कामचाहिँ कसरी गर्नु त? प्रभु येशूकी आमाको घर बेथलेहेमबाट एक माइल उत्तरपट्टि नासरत नाम भएको गाउँमा थियो। पैदलै हिँडेनुपर्ने, राम्रो सडक नभएको जमानामा सय माइल अर्थात् एक सय साठी किलोमिटर यात्रा गर्नु सजिलो कुरा होइन। फेरि बच्चा जन्मने बेलामा कुनचाहिँ हुस्सुले यति लामो यात्रा गर्छ? जतिसुकै काम परे पनि ‘म जान सक्तिनँ’ भन्दै प्रत्येक भावी आमा घरमै बस्छिन्। तर बाइबल परमेश्वरको वचन हो भने येशू प्रभुले भविष्यवाणी मुताबिक बेथलेहेममा जन्म लिनैपर्थ्यो। उहाँको जन्म बेथलेहेममा नभएको भए बाइबल झूटो ठहरिनेथियो। समय आयो, रोमी सम्राट अगस्टसको बेथलेहेम जाऊ भन्ने हुकुम भयो। आठ सय वर्ष पुरानो भविष्यवाणी पूरा भयो। के यो षडयन्त्र हो? जन्मँदै नजन्मेको बालकले यस भविष्यवाणीलाई आफ्नो जीवनमा कसरी लागू गराउन सक्छ र?
यही प्रकारले येशू मसीहको कुनै हड्डी पनि भाँचिनेछैन भनी पन्ध्र सय वर्ष पहिल्यै भविष्यवाणी भएको थियो।2 भविष्यवाणी-अनुसार नै क्रूसमा टँगाइनुभएको प्रभु येशूका देब्रे र दाहिनेपट्टि दुई डाँकुहरू काठमा झुन्डाइएका थिए।
बेलुकातिर हाकिम पिलातसले हुकुम दिए—“जाओ क्रूसमा टाँगिनेहरूका खुट्टा भाँचिदेओ।”3 गभर्नरको यस्तो हुकुम पाउनसाथ सिपाहीहरू गएर एकापट्टिको डाँकुको खुट्टालाई फकाफक हिर्काएर भाँचिदिइहाले। त्यसपछि बीचमा टाँगिनुभएको व्यक्ति येशूलाई छोडेर अर्कोपट्टि गए; अनि त्यतापट्टिको डाँकुको खुट्टालाई पनि लर्याक्कै पारिदिए। त्यसपछि पो तिनीहरू फेरी घुमेर बीचको व्यक्ति येशूकहाँ आए; अनि खुट्टा नभाँचिकन हेर्नथाले। फकाफक खुट्टा किन भाँचेनन्!
रोमी सिपाहीहरू खुट्टा भाँच्न पनि डराउने किसिमका थिएनन्। उनीहरू भलभली रगत बगेको हेर्न चाहनेहरू हुन्थे। सिपाहीहरूको त कुरै छाडिदिऊ, साधारण जनता पनि रगत बगेको हेर्न चाहन्थ्यो। यसो हुँदा हाम्रो देशमा फूटबल म्याच भएजस्तै उनीहरूको देशको पनि, त्यस जमानामा मैदानमा हतियार लिई मारामार गर्ने खेल खेलाइन्थ्यो। रगत बगाई, ज्यान दिई हजारौं दर्शकवर्गलाई आल्हदित पार्ने खेलाडीहरूचाहिँ अरूका देशबाट ल्याइएका कैदी सिपाहीहरू तथा कमाराहरू हुन्थे। यस्ता खेलाडीहरूलाई अंग्रेजीमा ‘ग्ल्याडिएटर’ भनिन्छ। यस्ताहरूलाई मैदानमा रगत बगाउँदै मारामार गर्थे, अनि उतापट्टि दर्शकवर्ग रमाएर नाच्थे। रगत धेरै बगोस् भनेर यस्ता लडाकाहरूलाई लडाइँ हुने बेलामा, कति दिनसम्म, केवल सुरूवा (झोल) पियाउँथे रे—सुरूवाले रगतलाई सलल बग्ने पारोस् भन्ने उद्देश्यले। यस्ता रगत बगेका हेर्न चाहनेहरूले फकाफक हिर्काएर प्रभु येशूको पाउलाई किन भाँचेनन् त? हुकुम पनि गभर्नरको भएकै थियो। तिनीहरूले भाँचेनन्, किनभने बाइबलमा सफासँग लेखिएको “उहाँको एउटा पनि हाड भाँचिनेछैन” भन्ने भविष्यवाणी पूर्ण हुनुपरेको थियो। यसरी आश्चर्यजनक रीतिले बाइबलका सैंकडौं भविष्यवाणीहरू अक्षरश: पूर्ति भएका छन्।
ती सिपाहीहरूले प्रभुलाई खूबै खिसी गरेका थिए। यस्ता गिल्ला गर्ने निर्दयीहरूले प्रभुको खुट्टालाई पनि फकाफक भाँचेर स्वाद लिन सक्ने थिए, तर भाँचेनन्। के उहाँले भविष्यवाणीलाई आफ्नो जीवनमा लागू गराउनुभएको हो? प्राण अर्पित गरिसक्नुभएको प्रभुले यस भविष्यवाणीलाई कसरी जीवनमा लागू गराउन सक्नुहुन्छ र?
(ख) सोर अर्थात् टायर (Tyre) शहरको सम्बन्धमा गरिएको भविष्यवाणी :
एक सय वर्ष अघिको कुरा हो। श्रीमान् ग्ल्याडस्टोन इंग-ल्याण्डका प्रधानमन्त्री थिए। तिनी विद्वान् साथै बाइबलका साँचो विश्वासी थिए। सन् १८८२ सालमा जगत् प्रख्यात अक्सफोर्ड विश्वविद्यालयमा इतिहासको प्रोफेसरको खाँचो थियो। त्यस इतिहासको प्रोफेसरको रिक्त पदलाई डा.ए.एच्. सेसी (Dr. A.H. Sayce) ले ओगट्न चाहेका थिए, तर श्रीमान् ग्ल्याडस्टोनले तिनलाई नियुक्त गरेनन्, किनभने डा.सेसीले बाइबललाई हाँसोमा उडाउँथे। पछि डा. सेसी आफै पूर्वेली देशमा बाइबलमा लेखिएका ठाउँहरू खोजी, खनीखोदली गर्न पुरातत्वविद्हरूको दल लिएर गए। त्यहाँ जमीनमुनिबाट कोदालीले खनी निकालेका चीजहरू जाँचेर हेर्दा डाक्टर सेसीका बाइबलप्रति भएका जम्मै शंकाहरू उडेर गए। बाइबल सत्य रहेछ, तर म पो भूलमा रहेछु भनी तिनले थाहा पाए। १६ वर्षपछि तिनी आफैले लेखेका छन्—“म कट्टर दलको प्रतिनिधि र पवित्र शास्त्र बाइबलको पक्षमा लड्ने मान्छे हुँ।” (“...as a representative of the orthodox party and a defender of Holy Bible”) बाइबलमा लेखिएको कुरा साँचो रहेछ।
बाइबलका भविष्यवाणीहरू साँच्चै पूरा भएछन् भनी जाँच गरी-गरी थाहा पाएपछि बाइबलको निन्दा गर्ने डा.सेसीजस्ता मान्छे पनि बाइबलका कट्टर विश्वासी र कडा रक्षक बने।* डा. सेसीले घुम्दै, खोज्दै, खन्दै हिँडेका देशमै थिए, त्यस टायर शहरका केही नगण्य अवशेषहरू। भविष्यवाणी गरिएका समयमा टायर चौपट्टै नामी, सुन्दर र सम्पत्तिले परिपूर्ण थियो। त्यही टायरका राजा हिरामले सुलेमान राजालाई यरुशलेममा परमेश्वरको मन्दिर बनाउँदा प्रशस्त सहायता गरेका थिए। त्यो टायर शहरको भूमध्यसागर (Mediterranean Sea) को पूर्व पट्टिको किनारमा अविस्थत थियो। परमेश्वरले टायरको सम्बन्धमा यी अद्भुत भविष्य-वाणीहरू इजकिएलद्वारा ५९० B.C. मा दिनुभएको थियो। यी कुरा इजकिएल २६ अध्यायमा पाइन्छन्। लामो कुरालाई छोटो पार्नलाई म यस भविष्यवाणीलाई सात भागमा विभाजित गर्न चाहन्छु—
[१] बाबेलका राजा नबूकद्नेस्सरले हमला गरी टायर शहरका साबै घर र रहनसहनलाई ढालिदिनेछन्। (७-११ पद)
[२] अरू देशले पनि विनाश गर्ने काममा हात दिनेछन्; अनि काठ, ढुङ्गा र माटो सबैलाई सागरभित्र फालिदिनेछन्। (१२ पद)
[३] सबै माटोसमेत खुर्किनेछन्। (४ पद)
[४] टायरलाई नाङ्गो ढुङ्गासरह बनाउनेछन्। ( ४ र १४ पद)
[५] यो शहर मछुवाहरूको जाल फैलाउने ठाउँ बन्नेछ। (५ र १४ पद)
[६] यो शहर खोज्दा पनि नपाइने बनाइने छ। (२१ पद)
[७] यो शहर फेरि बसाइनेछैन। (१४ पद)
दुरुस्तै यही भविष्यवाणी मुताबिक सामर्थी राजा नबुकद्ने-स्सरले ५८५ B.C. मा मादी र फारसी फौज पनि लिएर आए, र टायरमाथि हमला गरे। मलिलो जमीनमा बनेको यो टायर शहर चौपट्टै बलियो थियो। दुश्मनको हमलादेखि बच्नलाई शहरको चारैपट्टि १५० फिट अग्लो देवलको घेरा हालिएको थियो। यही मुताबिकको मोटाई पनि थियो—देवलको। आधुनिक युगको जस्तै पनि तोपको प्रहारलाई हाँसी-हाँसी छाती थाप्न सक्ने विशाल देवललाई तोडी टायरलाई वशमा पार्नु नबूकद्नेस्सरलाई १३ वर्ष लाग्यो, तर पनि तिनले भविष्यवाणी मुताबिक टायरलाई नाश पारेरै छोडे—माटोमा मिलाएरै छाडे।
१३-१३ वर्ष सम्ममा पनि भत्काउन नसक्दा हरेस खाएर टाएरलाई जित्ने मनसुबा छोडी नबूकद्नेस्सर बाबेलमा सन्चोसित बस्नसक्ने थिए। यदि उनले छोडेर गएका भए नबूकद्नेस्सरले टायरलाई ध्वंस पार्नेछ भन्ने सफा भविष्यवाणी पूर्ण हुनेथिएन। बाइबलको भविष्यवाणीलाई पूर्ण गर्ने प्रयत्न नबूकद्नेस्सरले गरेका होइनन्, किनभने उनी बाइबलका विरोधी थिए, पक्ष लिने मान्छे थिएनन्। बाइबलमा यस्तो कुरा लेखिएको छ भनी नबूकद्नेस्सरलाई थाहा पनि थिएन। यस प्रकारको भविष्यवाणी मान्छेबाट हुनै सक्तैन।
१३ वर्षपछि पर्खाल तोडी शहरभित्र पस्दा नबूकद्नेस्सरले शहरलाई प्राय: रित्तो पाए। धेरैजसो मानिसहरू त्यस शहरको पश्चिमपट्टि आधा माइल टाढोमा समुद्रमा अवस्थित एउटा सानो टापुमा सरिसकेका रहेछन्। टायर शहर ध्वंस पारियो, तापनि नबूकद्नेस्सरले प्रशस्त सम्पत्ति पाउन सकेनन्; किनकि टायर-वासीहरूले बहुमूल्य वस्तुहरू त्यस टापुमा सारिसकेका थिए। नबूकद्नेस्सरलाई प्रभुले नै काममा लाउनुभएको हो। यसैले निराश राजा नबूकद्नेस्सरको विषयमा यस्तो भविष्यवाणी गर्नुभयो—“त्यसले आफ्नो सेनालाई यति घोर मिहिनेत गर्न लगायो, कि हरेकको थाप्लो खुइलियो, हरेकको काँधको छाला पिल्सियो, तापनि त्यहाँबाट त्यसको सेनाले केही मजदुरी पाएन, यसैकारण म नबूकद्नेस्सरलाई मिश्र देश दिनेछु। त्यहाँबाट त्यसको सेनाले धन-सम्पत्ति मजदुरीस्वरुप पाउनेछ।”4 इतिहासमुताबिक पाँच वर्षपछि ५६८-५६७ B.C. मा नबूकद्नेस्सरले मिश्र देश प्राप्त गर्यो। सेनाले प्रशस्त सम्पत्ति पायो।
त्यस टापुमा जोडदार शहर फेरि बनियो। बिस्तारै-बिस्तारै दुई शताब्दी पनि बितेर गए। त्यस बेलासम्म पनि टायर शहरका भत्केका पर्खाल, घरहरू मैदानभरि छरिएकै देखिन्थे। २४१ वर्षपछि देश-देशका मानिसहरूद्वारा गठित भएको भयंकर फौजलाई लिईकन ३२२ B.C. मा राजा अलेकजाण्डर समुद्रभित्र बनेको नयाँ टायर शहरलाई हमला गर्न आइपुगे। पानीमै खाई-खेली परिपक्व भएको, पानीमा जहाँजद्वारा लडाइँ गर्न सिपालु भइसकेको टायरको जलसेनालाई जितेर शहरमाथि जाइलाग्न अलेकजाण्डरलाई कठिन पर्यो। यसकारण तिनले त्यस टापुसम्म पुग्ने आधा माइल लामो सडक समुद्रमा बनाउने युक्ति निकाले। सडक नबनाई भएन, तर केले पो बनाउने? किरासरह सिपाहीहरू मिली नबूकद्नेस्सर राजाले भताभुङ्ग पारेको वास्तविक टायर शहरका सबै काठ, ढुङ्गा र माटो बोकी समुद्रमा हाल्नथाले। अन्त्यमा सबै माटो पनि खुर्केर लगी सडक बनाए। त्यसपछि त्यस नयाँ टायरलाई पानीबाट साथै जमिनबाट पनि हमला गरी अलेकजाण्डरले नाश पारे। मानिस-हरूलाई मारे; कमारा बनाए।
कुनचाहिँ पागलले पसीना बगाई-बगाई जमीनका ढुङ्गा, माटा र काठकसिंगरलाई समुद्रमा हालिबस्छ र? एउटा ढुङ्गा वा एक अंजुली माटो भए हाल्ला पनि, तर एउटा मान्छेले पचास हजार वर्षमा पनि बोकिसक्ने माटो ढुङ्गालाई कसले हाल्ला र समुद्रमा? फेरि समुद्रमा हालिरहने काम पनि पो के छ र? यस्तो असम्भव कुरा कसरी पूरा हुनसक्थ्यो होला र? बाइबलको भविष्यवाणी यदि मान्छेले नै लेखेको हुँदो हो त यस किसिमका भविष्यवाणीचाहिँ पटक्कै लेखिनेथिएन; किनभने त्यस्ता कुराहरू पूरा हुनु असम्भव छ। तर बाइबलको वचन परमेश्वरकै हुनाले २४१ वर्षपछि पनि एकएक पूरा भएरै छोड्यो। अलेकजान्डरको फौजले माटो पनि खुर्केर नाङ्गो ढुङ्गासरह बनाइदियो—त्यस शहरलाई।
अलेकजाण्डरले बनाएको बाटोमा समुद्रको बालुवा थपिदैँ-थपिदैँ करीब २३ सय वर्षपछि एउटा चौडा जमीनै तयार भइसकेको छ भनी गएर आँखैले देख्नेहरू भन्छन्। अलेकजाण्डरको फौजले माटो र ढुङ्गा सोहोर-साहार गरी समुद्रमा फालेको हुनाले टायर शहरको चिनो पनि छैन। टायर यहाँनेर थियो भनी अन्दाज मात्र लगाउन सकिन्छ। केही अवशेष छन् भने माटो खुर्किएर नाङ्गो पारिएका ती ढुङ्गाहरू नै छन्। यस प्रकारले खोज्दा पनि नपाइने हुनेछ भन्ने भविष्यवाणी अक्षरश: पूरा भयो। अर्को भविष्यवाणीमुताबिक अहिले पनि जालाहारीले आफ्नो जाल ती नाङ्गा चट्टानमाथि सुकाउँछन् रे।
शहर दशपल्ट भत्किनसक्छ, तर दशैपल्ट फेरि बनिन पनि सक्छ। यरुशलेम शहर अनेकौंपल्ट भत्कियो, तर त्यही ठाउँमा अनेकौंपल्ट बनियो पनि। यरुशलेम शहरलाई ढाली, माटोमा मिलाई रोमीहरूले १३५ सालमा हलोले जोतेका पनि थिए। तर त्यही ठाउँमा आज झिलीमिली सुन्दर शहर बनिएको छ। तर यो शहर अथवा टायर शहर फेरि बनिँनेछैन भन्ने भविष्यवाणी भइ-सकेको हुनाले आज २५ सय वर्षपछि पनि त्यस ठाउँमा अर्को शहर उभ्याइएन।
सागरको पानी चौपट्टै नून हुनाले कसैले पिउन सक्तैन। यसकारण शहरका निम्ति लाखौं लिटर उम्रेको पानी चाहिन्छ। तर टायरका इलाकामा ठूला-ठूला ताजा पानीका मूलहरू छन्। ती पानी बहँदै गई भूमध्यसागरमा मिसिन्छन्। एकजना इन्जिनियरले ती पानीका खोलाहरूलाई नापेर प्रतिदिन ४ करोड पचास लाख लिटर पानी बहन्छ भनी पत्ता लगाए। यसकारण यो इलाका शहर बनाउनलाई अत्यन्तै असल ठाउँ छ, तर पनि कुनै शहर आजसम्म त्यहाँ उभ्याइएन।*
यस्ता सैकडौँ भविष्यवाणीहरू जबरजस्त पूरा भएको देख्दा परमेश्वरको सत्य शास्त्रचाहिँ यही बाइबल रहेछ भनी हाम्रो हृदय चिच्चाई उठ्छ। प्रिय मित्र, तपाईंलाई परमेश्वरको सत्य शास्त्र नै चाहिएको छ।
(ग) राजधानी बाबेल (Babylon) को विषयमा गरिएका भविष्यवाणीहरू :
टायर शहरलाई ध्वंस पार्ने राजा नबूकद्नेस्सर यही बाबेलबाट आएका प्रतापी राजा थिए। बाबेलको विषयमा गरिएका भविष्य-वाणीहरू बाइबलका यशैया र यर्मिया नामक किताबहरूमा पाइन्छन्। ७१२ B.C. तिर परमेश्वरले यशैयाद्वारा बाबेलसम्बन्धी भविष्यवाणी गर्नुभएको हो। त्यस घड़ी सम्पूर्ण संसारलाई थुरथुर पार्ने शक्तिचाहिँ अश्शूर साम्राज्य थियो। थोरै वर्षअघि मात्र अश्शूरले इस्राएल देशलाई हमला गरी सारा इस्राएलीलाई आफ्नो देशतिर कैदी बनाई लगेको थियो। त्यस घड़ी बाबेलचाहिँ अश्शूरको डन्डामुनि लुरुक्क परेर बसेको म्याउ-म्याउ गर्ने देश (कल्दी देशको राजधानी) थियो। यस्तै समयमा भविष्यवाणी हुन्छ—“बाबेल, जो सबै राज्यहरूको शिरोमणि हो, जसको सुन्दरता देखेर कल्दीहरू गर्वले गमक्क फुल्छन्।”5
के यो भविष्यवाणी पूरा हुनलाई अश्शूरको पाउमुनिबाट निस्केर त्यसैको थाप्लोमा टेक्न सक्नुपर्दैन र? के यो भविष्यवाणी पूरा होला?
अश्शूरको राजधानी निनवे जित्नै नसकिने किसिमको थियो। त्यसको लम्बाइ ४८ किलोमिटर र चौडाइ १६ किलोमिटर थियो। राजधानीका रक्षाका निम्ति वरिपरि लगाइएका पर्खाल सय फिट अग्ला थिए। ती पर्खालका थाप्लोमा चारवटा रथहरू एकसाथ दगुर्नसक्थे। अश्शूरका सम्राटले नबोपोलास्सर नामक एकजना योग्य व्यक्तिलाई बाबेल प्रान्तका गभर्नर बनाएका थिए। तिनले बिस्तारै आफ्नो दलबल बढाए; अनि ६२५ B.C. मा अश्शूरको विद्रोह गरेर आफैलाई त्यस प्रान्तका राजा तूल्याए। केही समयपछि मादीसँग मिली तिनले अश्शूरको राजधानी निनवेमाथि नै हमला गरे। दुई सालसम्म घेरा हालेपछि ६१२ B.C. मा निनवेलाई ढाले। अश्शूरको साम्राज्यको पतन भयो। अश्शूरको देशलाई तिनले मादीसँग आपसमा बाँडे। तिनकै छोरा नबूकद्नेस्सरको जमानामा बाबेल देशले बहुमुखी उन्नति गर्यो। राज्य विस्तार, सामर्थ्य, सुन्दरता, बुद्धि र सम्पत्तिमा शिर बन्यो। पक्का सडक, बस्ने घर, पानीका नाला, सडक उज्यालो पार्ने बत्ती आदिको प्रबन्ध भएको सुन्दर शहर थियो। त्यस शहरमा अनेकौं सुनका मन्दिरहरू थिए।
पुराना जमानामा सात आश्चर्यजनक वस्तुहरू (Seven Wonders) थिए। ती वस्तुहरूमध्ये झुन्डिरहेको बगैंचा (Hanging Garden) एउटा हो। त्यो बगैंचा यहीं बाबेलमा बनि-एको थियो। त्यस बेलाका इंजिनियरहरूले कसरी बनाए; यो राम्ररी सोच्नुपर्ने कुरा हो। त्यस बगैंचामा खोला बग्थ्यो। बनमा चरा गाउँथे। पाखाभित्ता थिए। तर त्यो बगैंचा जमीनदेखि माथि बनेको थियो। यसैकारण यसलाई ‘झुन्डिरहको बगैंचा’ भनिएको थियो। सबै राज्यहरूका शिर भएको थियो। यसरी यही बाबेल, जो सबै राज्यहरूका शिरोमणि हो; जसको सुन्दरता देखेर कल्दीहरू गर्वले गमक्क फुल्नेछन् भन्ने भविष्यवाणी प्राय: डेढ सय वर्षपछि अक्षरश: पूरा हुन्छ।
बाबेल देश जन्मनुभन्दा सय वर्ष पहिले नै बाइबलको यशैया १३ अध्यायमा यो पनि भविष्यवाणी गरिएको थियो, जो यस प्रकारको छ :
१. परमेश्वर भन्नुहुन्छ—“म मादीहरूलाई बाबेल देशको विरोधमा उठएर ल्याउँछु।” १३:१७
२. युग-युगसम्म कोही मानिसले बाबेलमा वास गर्ने छैनन्। १३:२०
३. अबीहरू पनि त्यहाँ डेरा हाली वास बस्ने छैनन्। १३:२०
४. बाबेल शहर जङ्गली जनावरको घर बन्नेछ। १३:२१
फेरि यस्तै भविष्यवाणी यर्मियाको पुस्तकमा पनि गरिएको छ। यर्मिया ५१ अध्यायमा यी कुरा पाइन्छन् :
१. बाबेलको शहर रक्षकरुपी पर्खालको मोटा चौडा जग ढालिनेछ, अग्ला-अग्ला फाटकहरू जलाइनेछन्।
२. एउटा छालामा लेखिएको पुस्तकलाई एउटा ढुङ्गामा बाँधी युफ्रेटिस नदीमा फाल्दै यसो भनियो ‘यो पुस्तक डुबेझैं बाबेल डुब्नेछ; अनि त्यो कहिल्यै उठ्नेछैन।’ ५१:६४
बाबेलले शिरपेच बनेर राज्य गरेको प्राय: ७० वर्ष बितिरहेथ्यो—त्यस समयमा। राजधानी बाबेलमा राजा बेल-शज्जर राज गरिरहेका थिए। तिनी राजा नबूकद्नेस्सरका नाती थिए। एक रात बेल-शज्जर विलासमा डुबिरहेको बेला कुस्रू (Cyrus) को नेतृत्वमा मादी (Medians) हरूले हमला गरे, तब राजा मारिए। दारा (Darius) नामका ६२ वर्षका मादी राजा राजगद्दीमा बसे। यसरी प्राय: दुई सय वर्ष पहिल्यै दिइएको ‘म मादीहरूलाई बाबेलको विरोधमा उस्काएर ल्याउँछु’ भन्ने भविष्यवाणी अक्षरश: पूर्ण हुन्छ। त्यसपछि अरू राजाहरूले पनि हमला गरी सुन्दर बाबेललाई बरबाद र कुरुप बनाइदिए। प्राय: दुई सय वर्षपछि पश्चिमबाट विजय गर्दै आउने ग्रीक राजा अलेकजाण्डरले त्यसलाई पहिलेको झैं शोभापूर्ण बनाउने प्रयत्न गरे; तर अन्त्यमा नसकिने रहेछ भनी छोडिदिए। फेरि बनाउने थिए होलान्, तर ३३ वर्षकै उमेरमा अलेकजाण्डर यही बाबेलमा मरिगए।
समय बित्दैजाँदा त्यस्तो मलिलो ठाउँ, रासायनिक प्रति-क्रियाको कारणले होला आफै-आफ रुखो, सुख्खा र बाँझो बन्यो। पहिलो शताब्दीतिर दुर्गन्ध निस्कने, कुहँदै गइरहेको, जङ्गली जनावर मात्र बस्ने ठाउँ बन्यो—त्यो भत्केको बाबेल शहर। बाह्र शताब्दीतिर त्यो विषालु साँप, खजुरो, बिच्छीले भरिएको र मान्छे जानै नसक्ने ठाउँ बन्यो।
त्यस ठाउँमा अरबीहरू (Arabians) पनि डेरा हाली वास बस्ने छैनन् भन्ने भविष्यवाणीको सम्बन्धमा कन्सट्यान्टिनोपलमा मिशनेरी भई बसेका डाक्टर साइरस ह्याम्लिन (Cyrus Hamlyn) ले एउटा यस्तो घटना बताएका छन्—“बाबेलको इलाकामा एक हप्ताहासम्म शिकार खेल्ने इच्छा राखी मैले एउटा शेख र उनका साथीहरूलाई रोज दिएर लिएँ। तिनीहरूले मलाईं त्यहाँ पुर्याए। पश्चिमतिर घाम ओरालो लागेपछि ती अरबीहरूले तम्बूहरू भत्काएर हिँड्ने तरखर गर्नलागे। मैले धेरै रोक्ने कोशिश गरेँ, तर पनि शेखले पटक्कै मानेनन्।”
तिनले गम्भीरतापूर्वक भने—“यस ठाउँमा बस्नमा जोखिम छ। घाम अस्ताएपछि कुनै मान्छेले पनि यहाँ बस्ने आँट गर्दैन। अँध्यारो हुनथालेपछि कुनाकुनी र दुलोध्वान्द्रोबाट भूतपिशाच निस्कन्छन्। तिनीहरूले जसलाई पक्रन्छन्, त्यो मान्छे पनि तिनीहरू जस्तै भइजान्छ। बाबेलमा आजसम्म कुनै पनि अरबीले आजसम्म घाम अस्ताएको देखेको छैन।” यस घटनाबाट थाहा पाइँदछ। यस अरबी शेखले झैं अरू पनि अरबीले त्यस ठाउँमा डेरा हाली बस्न हिम्मत नगर्दा रहेछन्।
बाबेलका त्यस भग्नावशेषका चारैपट्टिका ठाउँहरूमा अरबी-हरूले बसोबास गरेका छन्, तर युग-युगसम्म कोही मानिसले बाबेलमा वास गर्नेछैन भन्ने भविष्यवाणी-मुताबिक अझसम्म पनि बाबेल शहरको पुरानो घडेरीमाथि कसैले स्थायी वास लिएको छैन।
पुरानो बाबेल शहर आलको इराक देशभित्र पर्छ। इराकका शासक सद्दाम हुस्सेनले नबूकद्नेस्सरलाई आफ्नो पुर्खा ठान्छन्। यस कुरामा तिनलाई गर्व छ, यसकारण हजारौं वर्षसम्म उजाड रहेको बाबेललाई पहिलेको झैं महिमापूर्ण र जगजगी बनाउने साथै आफूलाई नबूकद्नेस्सरझैं प्रतापमय तुल्याउने तिनको मनसाय छ। यसकारण तिनले त्यस उजाड नगरीमा महलहरू बनाइरहेका थिए। यही समयमा खाडी युद्ध (Gulf War) भयो। यस युद्धले तिनको पतन भयो। सेप्टेम्बर १२, १९९४ को खबरमुताबिक इराकमा चोरी गरेको अभियोगमा एउटा मानिसको हात काटियो। रगतैरगत भएको डुँडो हात टेलिभिजनमा देखाइएको थियो रे। किन? इराकमा अभाव भयंकर रीतिले बढेको थियो। यहाँसम्म कि डरलाग्दो सजाय हुँदा-हुँदै पनि मानिसहरू चोर्न बाध्य हुन्थे।
यसकारण जसरी प्रतापी अलेकजाण्डरले बाबेलको जीर्णोद्धार गर्न सकेनन्, त्यसरी नै अब सद्दाम हुस्सेनले पनि त्यहाँ मान्छले वास गर्ने छैनन्6 (It shall not be inhabited) भनिने भविष्यवाणीअनुसार बाबेल नगरीको जीर्णोद्धार गर्नसक्ने छैनन्।
यस प्रकारले (१) मादी राजालाई म बाबेलको विरोधमा उस्काएर ल्याउँछु, (२) युग-युगसम्म पनि बाबेलमा मानिसले वास गर्नेछैनन्, (३) अरबीहरू डेरा हाली बस्नेछैनन्, (४) बाबेल शहर जङ्गली जनावरको घर बन्नेछ भन्ने साथै अरू भविष्यवाणीहरू एक-एक गरेर अचम्म पाराले पूरा भएका छन्। त के बाइबल परमेश्वरको सत्य शास्त्र होइन र? परमेश्वरले एउटा शास्त्र त दिनुपर्छ नै—दिनुभएको छ पनि। त्यो शास्त्र यही बाइबल हो। तपाईं र मलाई यही शास्त्रको आवश्यकता छ।
(घ) इस्राएली अर्थात् यहूदीको विषयमा दिइएका भविष्यवाणीहरू :
इस्राएलीको विषयमा दिइएको भविष्यवाणी चौपट्टै अचम्मको छ। यही एउटै जातिमा पूर्ति भएको भविष्यवाणीलाई हेरेर मात्र पनि प्रत्येक व्यक्तिले बाइबल साँच्चै परमेश्वरको एक मात्र सत्य वचन रहेछ भनी भक्तिपूर्वक बाइबल ग्रहण गर्नुपर्छ। साथै यसका वचनलाई पनि ग्रहण गर्नुपर्छ।
यहूदी जातिको विषयमा परमेश्वरले विशेष पाँचवटा भविष्य-वाणी गर्नुभएको छ; अरू पनि छन्, तर तिनलाई प्रसंगमा ल्याउँदैनौं। ती पाँच भविष्यवाणीहरू यी हुन्:
१. पृथ्वीको कुना-कुनासम्म छरिदिनेछु।
२. जाति-जातिको बीचमा दु:ख भोग्नेछौ।
३. पृथ्वीको चारै कुनाबाट फेरि बटुलेर ल्याउनेछु।
४. यहूदी बसेको देश अथवा इस्राएल उजाड र बाँझो हुनेछ।
५. यहूदीलाई फर्काएर ल्याएपछि फेरि उसको देशलाई परमेश्वरको बगैंचाझैं सुन्दर र शहरले सजिएको देश बनाउनेछु।
यी कुराहरू बाइबलमा एक-दुईपल्ट होइन, तर दर्जनौं पल्ट लेखिएका छन्। आफ्नो इच्छा, विधि, परिचय देखाउन र संसार-भरिका मानिसहरूलाई सुनाउनलाई परमेश्वरले यहूदी जातिलाई चुन्नुभयो। यही यहूदी जातिको हातबाट नै पवित्र शास्त्र बाइबल हाम्रो हातसम्म आइपुगेको पनि हो।
यहोवा परमेश्वरले इस्राएलीहरूलाई स्पष्टसँग भन्नुभएको थियो—“यदि तँ आफ्नो परमेश्वर यवोहाका वचनहरू, र उहाँका सम्पूर्ण आज्ञाहरू, जो आज म सुनाउँछु, पालन गर्नमा होशियार भइनस् भने यी श्रापहरू तँमाथि आइपर्नेछन्”7
(१) उहाँले तँलाई पृथ्वीको यस कुनाबाट त्यस कुनासम्म जाति-जातिको बीचमा छरपस्टै पारेर छर्नुहुनेछ। ती जातिहरूका बीचमा तैँले चैन पाउनेछैनस्, तेरो जीवनको भरोसा रहनेछैन।8
(२) ती पृथ्वीभरि राज्य-राज्यमा भड्किहिँड्नेछन्, अनि दु:ख भोगि हिँड्नेछन्।9
तर तिनीहरूले परमेश्वरको डर मानेनन्, पाप गरे; उहाँको आज्ञा पालन गरेनन्। फलस्वरुप, ७२१ B.C. मा इस्राएलीहरू नाङ्गो पाउ साङ्ली बजाउँदै अश्शूरको देशमा कैदी भएर गए। ६०० B.C. मा फेरि यहूदीहरू बाबेल देशमा त्यसरी नै कैदी भएर गए। फेरि रोमी इतिहासकार ट्यासिटस (Tacitus) मुताबिक ७० सालमा यरु-शलेममा रोमी जर्नेल टाइटस र उनका सिपाइहरूद्वारा १० लाख यहूदीहरू मारिए। अनि ९५ हजार यहूदीहरू त्यस बेलाका बडेबडे शहरहरूमा भेडाबाख्राहरूझैं कमराकमारी हुनलाई बेचिए।
फेरि ६० वर्षपछि रोमी सम्राट ह्याड्रियनले सम्पूर्ण यहूदीको मुलुकलाई उजाड पारिदिए। ५ लाख ८० हजार यहूदीहरू मरिए, अनि हजारौं कमाराकमारी हुनलाई बेचिए। यहूदीको मुलुक, प्यालिस्टाइनमा एउटा यहूदी पनि रहन पाएन। कुनै उम्केको यहूदीले त्यस मुलुकमा खुट्टा हाल्यो भने त्यसलाई तुरुन्तै प्राण-दण्ड दिइथ्यो। कुनै देशबाट कहिल्यै कुनै जातिले जरै उखेलिएर यसरी हिँड्नुपरेको छैन, तर यहूदीहरू उखेलिए, यहाँसम्म कि आफ्नो पुर्खाको मुलुकमा टेक्दा प्राण जाने भयो। यसो हुँदा यहूदीहरू संसारका कुना-कुनासम्म छरिए, यहाँसम्म कि, ‘यहूदी नभएको देश कुनै छैन’ भन्ने भनाइ पनि चल्यो। कालिम्पोंगको एस.यूएम.आई. स्कूलमा पनि हाम्रा बुबा र काकाहरूसँग यहूदी केटाहरू पढ्थे रे। यस प्रकारले पृथ्वीका कुना-कुनासम्म छरिदिनेछु भन्ने भविष्यवाणी अक्षरश: पूरा हुँदछ। फेरि भविष्यवाणीमुताबिक यहूदीले जहीं पनि घोर अत्याचार भोग्नुपर्यो।
साउदी अरबियाको दक्षिण-पूर्वमा येमेन (Yemen) नामक देशमा पनि सैकडौं वर्षदेखि यहूदीहरू अरबीहरूको बीचमा दु:ख भोग्दै बसेका थिए। तिनीहरू दबेर बसेका थिए। त्यहाँ यहूदीलाई घोडा र गधामा चढ्ने अनुमति थिएन। उनीहरूलाई त्यहाँ गरीब मुसलमानको सानो घरभन्दा ठूलो घर बनाउने अनुमति थिएन। हरेक कुरामा ती यहूदीहरू मुसलमानभन्दा सानो भएर बस्नुपर्थ्यो। यसकारण तिनीहरू गन्हाउने झोपडीमा पेट कसेर बस्थे। हालत खराब भएकोले १० जनामा ८ जना बच्चाहरू त बालकैमा मर्थे रे।
चौथो शताब्दीमा यूरोपमा यहूदीको खेदो गरियो। हजारौं यहूदी मारिए। ६२२ A.D. मा मोहम्दले इस्लाम धर्म प्रवर्तन गरे। अरब देशभरि छरिएका यहूदीहरूले उनले आशा गरेअनुसार इस्लाम धर्मलाई ग्रहण गरेनन्। यसो हुँदा अरबका यहूदीहरू भसक्कै मारिए।
एघारौं र बाह्रौं शताब्दीमा पवित्र भूमि (Holy Land) यरुशलेम-लाई मुसलमानहरूका हातबाट छुटाउनका निम्ति क्रूसेडर नामक भारी सैन्य दल यूरोपबाट यरुशलेमतिर आउँथ्यो। तिनी-हरूले यस्तो नारा मार्थे रे—“परमेश्वरका शत्रुलाई नाश गर्नु प्यालिस्टाइन किन जानु? यही यहूदीलाई मार र आफ्नो आत्मालाई बचाओ”। क्रूसेडर भएर लडाइँमा गयौ भने मरे पनि तिम्रो आत्मा बाँच्छ (मुक्ति पाउँछौ) भनी पोपले भनेका हुनाले ती जान्छन्, तैपनि ती भन्छन्—“यही नै यहूदीलाई मार्यौं भने पनि हाम्रो आत्मा बाँच्छ।” यस्तो अन्धकार समयमा यूरोपमा लाखौं यहूदीहरू मारिए।
१३५० A.D को वरिपरि यूरोपलाई नाश पार्ने कालो मृत्यु (Black Death) नामक रुढी यूरोपमा फैलियो। त्यसको सम्झनाले पनि मानिस थरथर काम्छन्। २५० लाखजति मानिसहरू मरे भन्छन् इतिहासकारहरू। त्यस रुढीले यहूदीलाई पनि मार्यो; तैपनि यस रुढीको कारण यही यहूदी हो भन्ने आधारहीन आरोप यहूदीमाथि आइपर्यो, फलस्वरुप यूरोपका आधासरो यहूदीहरू मारिए।
पन्ध्रौं शताब्दीको सुरूमा पोपले Inquition भनिने जाँच लागू गर्दा हजारौं यहूदीहरू मारिए। त्यस समयमा यहूदीलाई मानिस नै ठानिँदैनथ्यो।
करीब एक सय पच्चीस वर्षअघि मात्र रसियामा यहूदीप्रति अनौठो विद्रोह उठ्यो। राजा अलेकजाण्डर तेस्रोले घोषणा गरे, “एक तिहाई यहूदी मारिनुपर्छ, एक तिहाई लखेटिनुपर्छ ”।
करीब ५०-६५ वर्षअघि मात्र जर्मनीमा हिटलरको आज्ञा-मुताबिक साठी लाख यहूदी मारिए। युद्धपछि साठी लाख मारिएका होइनन् भनी प्रमाण गर्ने अनेकौं प्रयास गरे; तर सन् १९४५-४६ मा जर्मनीको नुमबर्ग (Numburg) मा युद्ध अपराधीहरूको जाँच (War Criminals Trails) हुँदा जुन प्रमाण पेश गरियो। त्यसबाट मारिएकै हुन् भनी प्रमाणित भयो। १९७८ मे महिनामा Nazi War Crimes Documentation Centre ले जो लिखित प्रमाण (Document) प्रकाशित गर्यो। त्यसबाट साठी लाखभन्दा बढी मारिएका हुन् भनी प्रमाणित भयो। तिनीहरूलाई झुन्ड्याएर मारे। गोली ठोकी मारे। ठूला-ठूला घरभित्र हुली विषालु ग्यास छोडी मारे। स्त्रीहरू बिलकुलै नाङ्गा भएर मारिने ठाउँमा ताँती लागेर जानुपर्थ्यो; जहाँ ती गोली खाएर ढल्थे। बच्चाहरू आगाका भट्टीभित्र जिउँदै फालिन्थे। कतिलाई भकभकी उम्लिरहेको कराहीभित्र हालेर मारे। ती बच्चाहरू चिच्च्याएका आवाज सारा क्याम्पभरि सुनिन्थ्यो रे। यस्तै एउटा बच्चाको सानो दृश्य: एस्तर स्कनेइडर मृत्युको सामु यसरी उभिन्छिन्—एउटा ठूलो भकभकी उम्लिरहेको कराहीको सामु बच्चाहरू उभिएका छन्। एक-एक गर्दै जिउँदै ती बच्चाहरू त्यस कराहीभित्र फालिन्छन्। साबुन बनाउनलाई त्यसो गरिएको हो भन्ने हल्ला कता-कता सुनिन्छ। एस्तरको फालिने पालो आउनसाथ फाल्नलाई खटिएको त्यो मानिस भुइँमा पछारिन्छ। फाल्ने काममा मन नलाएको देख्दा पहरा बस्ने पुलिसहरू (Gestapo) ले पो गोली चलाए कि! कारण जेसुकै होस्, त्यस दिनको बालहत्या थामियो।
धेरै वर्षपछि एस्तरले एउटै मानिससँग एउटै ठाउँमा बस्नु-पर्यो। १५ दिसेम्बर १९३८ को दिन उम्लिरहेको कराहीमा बच्चा-हरूलाई फाल्ने काममा खटिएको मान्छे त तिनी नै पो रहेछन्। तिनले त्यस वमन आउने कामलाई इन्कार गरेर जेल रोजेका रहेछन्।* यसरी नै ती जातिहरूको बीचमा तैंले चैन पाउने छैनस्, तेरो खुट्टाले ठेगाना पाउनेछैन, तेरो जीवनको भरोसा रहनेछैन भन्ने बाइबलको भविष्यवाणी अक्षरश: पूर्ण हुन्छ।
परमेश्वरले किन यहूदीहरूलाई यस्तो दु:खमा पर्न दिनुभयो? भनी मानिसहरू प्रश्न गर्लान्। उत्तर हुन्छ—परमेश्वरले होइन, तर उनीहरू आफैले दु:ख निम्त्याएका हुन्। परमेश्वरले यहूदीलाई व्यवस्था ७:७-८ मा भन्नुभएको थियो—“तिमीहरू संख्यामा अरू सबै जातिहरूभन्दा बढ़ी भएका हुनाले परमप्रभुले तिमीहरूमाथि आफ्नो प्रेम राख्नुभएको होइन, न त तिमीहरूलाई चुन्नुभएको हो; किनकि तिमीहरू संख्यामा सबै जातिहरूभन्दा थोरै थियौ। तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको हुनाले, साथै तिमीहरूका पितापुर्खाहरूसँग बाँध्नुभएको कसम पूरा गर्ने हेतुले परमप्रभुले आफ्नो शक्तिशाली हातले तिमीहरूलाई निकालेर ल्याउनुभयो, र तिमीहरूलाई मिस्रको राजा फाराओको हातबाट, अर्थात् दासत्वको घरबाट छुटकारा दिनुभयो। ”
साँचो परमेश्वरलाई छोडेर मूर्तिको पछि लागेको कारण परमेश्वरले तिनीहरूलाई छोडिदिनुभयो। परमेश्वरको बलमा यहूदी-हरू बलिया थिए—सबैलाई जिते, तर परमेश्वरले छोडिदिनसाथ तिनीहरू लल्याक-लुलुक भइगए। परमेश्वरले तिनीहरूलाई भन्नु-भएको थियो—“तिमीले यहोवा परमेश्वरको वचन सुनेनौं भने, अनि उहाँका आज्ञा र विधिहरू पलन गर्नमा होशियारी गरेनौ भने, यी सबै श्राप तिमीमा आइपर्छन्।”10 यहूदीले उहाँका वचन सुनेनन्। आज्ञा पालन गर्नमा सतर्कता देखाएनन्। फलस्वरुप यहूदीहरूको यस्तो गति भयो। तर प्रेमका परमेश्वरले त्याग्नुहुन्न, जसरी प्रेमी पिताले आफ्ना छोराछोरीलाई त्याग्दैनन्। अटेरी छोराछोरीलाई हामी भन्ने गर्छौं—“दु:ख पाओस्, अनि चेतोस्।” साँच्चै दु:खको चेपाइमा परेपछि मान्छे बुझकी हुन्छ। दु:खमा सामर्थ्य छ। यही उद्देश्य राखेर पनि परमेश्वरले यहूदीलाई दु:खको भुङ्ग्रोबाट जान दिनुभयो।
परमेश्वरले यहूदीलाई केवल पृथ्वीको कुना-कुनासम्म छरि-दिनेछु; अनि तिमीहरूले जाति-जातिको बीचमा दु:ख भोग्नेछौ मात्र भन्नुभएको थिएन। तर पृथ्वीको चारै कुनाबाट तिमीहरूलाई फेरि म बटुलेर ल्याउनेछु पनि भन्नुभएको थियो। यहूदीहरूको आफ्नै देशमा फर्केर आउने सम्बन्धमा ३० भन्दा बढ्तै असल-असल भविष्यवाणीहरू रहेका छन्। तिनीहरूमा केवल दुइवटालाई यहाँ उद्धृत गर्दछु :
(१) “म जाति-जाति र ठाउँ-ठाउँदेखि तिमीहरूलाई जम्मा पारेर यही ठाउँमा ल्याउनेछु, जुन ठाउँबाट मैले तिमीहरूलाई कैदी बनाएर पठाएको थिए।”11
(२) ‘म तिमीहरूलाई जाति-जातिको बीचबाट बटुल्नेछु, अनि जुन-जुन ठाउँमा तिमीहरू छरिएका छौ, ती ठाउँहरूबाट म तिमीहरूलाई जम्मा पारी ल्याउनेछु, अनि तिमीहरूलाई इस्राएलको देश दिनेछु।12
70 A.D. पछि फेरि एकपल्ट यहूदीहरूले 135 A.D. मा विद्रोह गरे। यहूदीहरूलाई त्यस देशबाट निमिट्यानै पारेर खेदेपछि रोमी सम्राट ह्याड्रियन (Hadrian) ले ‘यहूदा’ भन्ने नामै पनि मेटाइ-दिनका लागि प्यालेस्तिना (Palestina) राखे। त्यो पलिस्ती (philistines) भन्ने जातिचाहिँ 1000-1200 B.C. तिर यहूदी-हरूका शत्रु थिए। यसैकारण ह्याड्रियनले यहूदा नाम हटाएर प्यालेस्तिना राखेका हुन्। यहुदीहरूले आफ्नो देशमा खुट्टा हाल्न पनि पाउँदैनथे। आफ्नो देशमा पस्नासाथ मारिहाल्थे।
प्यालिस्टाइन देश सैकडौं वर्षसम्म रोमीहरूका अधीनमा रह्यो। त्यसपछि अरबीहरूका वशमा। त्यसपछि टर्कीको अधीनमा रह्यो। १८ सय वर्षसम्म देशविदेशमा छरिएर रहेपछि यूरोपमा छरिएका यहूदीहरूका बीचमा केही हलचल भयो।
१८९७ A.D. मा थियोडर हर्ल (Theodor Herzl) को नेतृत्वमा स्वीटजर्ल्याण्डमा यहूदीको सबैभन्दा पहिलो महासभा आयोजना भयो। त्यसपछि उनीहरू आफ्ना निम्ति निजी वासस्थान खोज गर्न तम्सिए। प्यालिस्टाइन देश त्यस बेला टर्कीको अधीनतामा थियो। ती यहूदीहरू जाफामा भएका हाकिमहरूलाई घूस दिएर बिस्तारै-बिस्तारै प्यालिस्टाइनमा पस्न थाले। तर प्यालिस्टाइन देशमा पस्नु त दु:ख र काल खोज्नु बराबर थियो। सारा देशमा खेती गर्न लायकका जग्गा कहीं थिएन। देश पूरै मरुभूमि भइसकेको थियो। बलौटे बाँझो नभएको ठाउँमा जमीन सिमसारै-सिमसार थियो। फेरि थियो—औलो ज्वरोको घारी। त्यसमाथि ठाउँ-ठाउँमा गाउँ बनाइ बस्ने अरबीहरूले ती यहूदीहरूलाई हमला गर्नेगर्थे; दु:ख दिन्थे र मार्थे। तर पनि म यहूदीलाई उनीहरूकै पितापूर्खाको देशमा फर्काएर ल्याउँछु भन्ने भविष्यवाणी मुताबिक अनेकौं दु:ख र मृत्युको सामना गर्नुपरे तापनि ती यहूदीहरू प्यालिस्टाइनमै आएर बस्न रुचाए। अरबीहरूबाट रुखो र धाप जमीन किनी दु:ख र मृत्युको सामना गर्दै यहूदीहरू पिल्सिएर पनि बसोबास गर्न लागे। टर्की देशले बाधा हालेकै थियो। विरोध गरेकै थियो; तापनि छोडेको जस्तो रुखो देशमा सरकारको ध्यान उति पुग्दैनथ्यो। यसरी नै चारेपट्टिबाट यहूदीहरू बढ्दै गए।
थपिँदै गएर १९१४ A.D. मा पहिलो विश्वयुद्धको सुरूमा यहूदीहरूका संख्या प्यालिस्टाइनमा ८५ हजार पुगेको थियो। प्रथम विश्वयुद्ध छेडियो। युद्धको बेलामा गोलीको बारुद नहुँदा अंग्रेज-लाई फिटी-फिटी परेको थियो। त्यस्तो कठिनाइको समयमा यहूदी वैज्ञानिक चाइम वेइजम्यान (Chaim Weizman) ले बारुद बनाउने नयाँ विधि आविष्कार गरे। फलस्वरुप अंग्रेजले प्रथम विश्व युद्धमा विजय प्राप्त गर्यो।
प्यालिस्टाइन देश १५१६ A.D. देखि नै टर्कीको अधीनमा थियो। १९१७ A.D. मा इंगल्याण्का प्रधानमन्त्री डेभिड लोयड जर्जले जेनरल एडमन्ड आलेन्बी (General Admund Allenby) लाई टर्कीको हातबाट प्यालिस्टाइन देशलाई छुटाउने सम्बन्धमा भने— “यरुशलेमचाहिँ ख्रीष्टमसको उपहारस्वरुप ब्रिटिश राष्ट्रलाई चढाइनुपर्छ, यो मेरो चाहना हो”। ठीक चार सय वर्षदेखि टर्कीको हातमा रहेको देशलाई छुटाउन सजिलो कुरो थिएन। जेनरल आलेन्बी यरुशलेममाथि हमला गर्न गए। छक्क लाग्दो कुरो भयो। टर्की सेना आलेन्बी भन्ने नाम सुनेर देशै छोडी भागेछन्।
‘आलेन्बी’ भन्दा उनीहरूलाई ‘अल्लाह+नबी’ भनेझैं लागेछ। अल्लाहको नबी अर्थात् ईश्वरको पैगम्बर नै यरुशलेम कब्जा गर्न आइरहेका छन् भने हामीले सामना गर्नुहुँदैन भनी ती सब थोक छोडर भागेका रहेछन्। यसकारण जर्नेल आलेन्बीले एउटै गोली नचलाई ११ तारीख दिसम्बर, १९१७ A.D. को दिन यरुशलेमलाई आफ्नो अधिकारमा लिए। साँच्चै यरुशलेम शहर ब्रिटिश राष्ट्रका निम्ति १९१७ A.D. को ख्रीष्टमस उपहार नै ठहरियो। आफूले गरेको भविष्यवाणी पूरा गर्नलाई नै यहूदीलाई घृणा गर्ने टर्की देशको हातबाट प्यालिस्टाइन देशलाई खोसेर परमेश्वरले अंग्रेजको हातमा सुम्पिदिनुभएको हो।
विश्व युद्धमा वेइजम्यानले जो सहयता दिएका थिए, त्यो सानो कुरो थिएन। यसकारण अंग्रेजले तिनलाई ठूलो इनाम दिने इच्छा गरे। त्यस घड़ी इनाम मलाई होइन, तर मेरो जाति यहूदीलाई दिइयोस् भनी तिनले अनुरोध गरे। फलस्वरुप यहूदीलाई यही प्यालिस्टाइनमा बस्ने अनुमति दिइयो। आज यही यरुशलेम, यही प्यालिस्टाइनमा यहूदीहरू बसेका छन्।
त्यसपछि त्यहाँ भएका अरबी नागरिकबाट घोर विरोध हुँदाहुँदै पनि प्यालिस्टाइनमा यहूदीहरू वैरिँदै गए। १९२७ A.D. मा यहूदीको संख्या बढेर एक लाख पचास हजार पुग्यो। पछिबाट वरिपरिका बीस करोड जनसंख्या भएका मुसलमान राज्यहरूलाई खुशी पार्नका निम्ति दुई लाख पनि नपुगेको यहूदी जातिको पक्ष अंग्रेजले लिन सकेन। यहूदीलाई प्यालिस्टाइनमा पस्न मनाही गरियो। तर पनि सैकडौं युक्ति गर्दै रातदिन यहूदीहरू प्यालिस्टाइनमा पस्न लागे। समुद्रबाट आउँछन् भनी समुद्रमा अंग्रेजको फौज रातदिन चेवामा रहन्थ्यो। बाहिर पनि पहरा लाग्थ्यो। तरै पनि यहूदीको संख्या बढेर १९४७ मा ६ लाख २६ हजार पुगेको थियो। त्यस सालको अन्त्यमा सम्पूर्ण संसारका मुसलमान देशहरू र अरू देशहरूले विरोध गर्दागर्दै पनि यू. एन. ओ. मा भोट हुँदा यहूदीको इस्राएल देश स्थापित हुनुपर्छ भन्ने कुराकै जीत भयो। यो पनि एउटा अचम्मको कुरै भयो। १४ मे, १९४८ A.D. को रात अंग्रेजले यहूदीको हातमा नयाँ राज्य इस्राएल सुम्पिदियो।
अब ६ लाख यहूदीले दुई हजार लाख जनसंख्या भएका वरिपरिका क्रोधित मुसलमान राज्यको मुखेन्जी बाँच्नुथियो। यस जाबो यहूदीलाई जुम्रा मारे झैं पिटिक्कै पारी नाम निशान उडाइ-दिन्छौं भनी ती राज्यहरूले निश्चय गरे। तर प्यालिस्टाइनमा यहूदी आफै आएको थिएन, ‘म तिमीलाई तिम्रै पितापुर्खाको देशमा ल्याएर बसाँउछु’ भन्नुहुने परमेश्वरले नै ल्याउनुभएको थियो। यसैकारण परमेश्वरको बलियो हात यहूदीको पक्षमा थियो। यसैकारण त्यही जाबो यहूदीले खुट्टा राम्रो टेक्नै नपाएको यहूदीले मुसलमानहरूलाई बारम्बार थला पार्यो। यो कुरा सारा संसारलाई थाहा छ।
भविष्यवाणी छ—“म तिम्रा सन्तान (यहूदी) लाई पूर्वबाट ल्याउनेछु।” साँच्चै हंगकंग, सांघाइ र भारतबाट यहूदीहरू फर्के। ‘म तिमीलाई पश्चिमबाट पनि बटुल्नेछु’ भन्ने वचनमुताबिक यहूदीहरू मिस्र, मोरोक्को, अल्जेरिया, तुनिसिया, अमेरिका आदि ठाउँबाट फर्के। “म उत्तरलाई भन्छु, छोडिदे।” उत्तरपट्टि भएको प्रत्येक देशबाट यहूदी फर्के। टर्की, बुल्गारिया, युगोस्लाभिया, जेकोस्लो-भाकिया इत्यादि देशहरूबाट फर्के। “दक्षिणलाई म भन्छु, रोकी नराख्।” यस भविष्यवाणी मुताबिक दक्षिणबाट पनि आए। यहूदीहरू संसारका सयभन्दा बेसी देशबाट फर्के। बाइबलका भविष्यवाणीहरू यसरी पूरा हुँदछन् भने के यही बाइबल नै परमेश्वरको सत्य शास्त्र होइन र?
(ङ) इस्राएलीहरूको भूमि इस्राएलको विषयमा भविष्यवाणी :
इस्राएलीलाई फर्काएर ल्याउने मात्र होइन, तर उनीहरूको उजाड भएको देशलाई जस्ताको तस्तै पार्ने भविष्यवाणी पनि परमेश्वरले गर्नुभएको थियो। बाइबलको इजकिएल नामक पुस्तकबाट ३६:२८-३० पढौं—“तिमीहरू आफ्नो पितापुर्खाको देशमा बस्नेछौ। अन्न उब्जी भन्ने आज्ञा दिएर अन्न बढउनेछु। म रुखहरूका फल र खेतका उब्जनी बढउनेछु, जसको कारणले गर्दा अनिकाल हुँदैन।”
अब ३३-३६ पंक्तिलाई पढौं—“तिम्रा शहरहरूलाई बसाउ-नेछु, बर्बाद भएका ठाउँहरू बनाइनेछन्। तिम्रो देश, जो आउने-जानेहरूको दृष्टिमा उजाड भएको थियो, सो उजाड हुनुको सट्टामा जोतिइनेछ, खनिनेछ”। अनि मानिसहरूले भन्नेछन्—“यो देश त केही नउम्रने उजाड पो थियो, अब त अदनको बगैंचाजस्तो पो भएछ। भत्काइएका र लडेका उजाड शहरहरू त फेरि बलियो गढझैं बनाइएछन्—मान्छेहरू बस्न लागेछन्।” तब तिम्रा वरिपरि बस्ने जातिहरूले परमेश्वरले नै भत्केका नगरहरू बनाउनुभयो। नाङ्गा उजाड जग्गामा रुखपात लगाउनुभयो भनेर जान्नेछन्।
यस भविष्यवाणीलाई विश्लेषण गर्यौं भने पाँच कुरा थाहा पाउनेछौं:
१. देश रुखो, नाङ्गो र उजाड बन्नेछ।
२. यहूदीहरू फर्केपछि यस्तो उजाड देश जोतिइनेछ, खनिनेछ, अनि प्रशस्त मात्रामा अन्न, फलफूल फल्नेछन्।
३. रुखहरू रोपाइनेछन्।
४. यस्तो उजाड देश अदनको बगैंचाजस्तो हुनेछ।
५. भत्केका टुटेका शहरहरू भयंकर बिल्डिङहरूले भरिएका शहर बन्नेछन्।
यो भविष्यवाणी प्राय: २ हजार ६ सय वर्षअघि दिइएको हो, तर २६ सय वर्ष बितेपछि एक-एकओटा कुरा पूरा हुँदैछ। धेरै वर्षअघि मैले इस्राएल देशलाई देखेर आउने एकजना पन्जाबी मान्छेले इलस्टे्रटेड विक्ली नामको पत्रिकामा यी सबै कुराहरूका बयान गरेर लेखेको कुरा पढेको थिएँ।
इस्राएल देश पहिले चौपट्टै मलिलो, उब्जनी हुने देश थियो। यसै-कारण त्यस देशलाई दूध र मह बग्ने देश भनिएको हो। त्यस देशमा फलेको अंगूरको एउटा हाँगा दुईजना मान्छेले काँधमा लाठो तेर्साएर बोक्थे। यस्तो अद्भुत देशमा पेटभरि खाएर ती इस्राएलीहरू बस्थे। त्यसपछि इस्राएलीहरू संसाभरि छरिएका कुरा बताइसकेको छु।
यहूदीहरू त्यहाँबाट गएपछि त्यो मलिलो देश बिस्तारै रुखासुक्खा र बालुवै-बालुवा हुनथाल्यो। सालैपिच्छे पानी कम पर्नथाल्यो। समय आयो पानी पर्नै छोडिहाल्यो। यसैकारण त्यो देश मरुभूमिमा परिणत भयो। हाम्रो देशमा एउटै वर्ष हुन्छ, असार, साउन, भदौमा, तर इस्राएल देशमा उहिले-उहिले दुईवटा वर्षा हुन्थे। तर यहूदीहरूले इस्राएल देश छोडेपछि त्यस देशमा पानी नै पर्न छोड्यो। कति अचम्मको कुरा! पानी पर्ने देशलाई कसले नपर्ने बनाउन सक्छ? बाइबलको भविष्यवाणी यसरी पूर्ण हुँदोरहेछ, हामी छक्कै पर्छौं। समयमा सम्पूर्ण इस्राएल देश उराठलाग्दो बन्यो। पानी भएको ठाउँ नुनिलो पानीको धाप बन्यो र उब्जनी नहुने।
यस्तो उजाड देशमा, फेरि ज्यानको खतरा भएको देशमा कुनचाहिँ हुस्सु बस्न आउँछ र? तर लाखौं यहूदीहरू धनमाल इत्यादी छोडि आए; किनभने परमेश्वरले ल्याउनेछु भनी भविष्य-वाणी गर्नुभएको थियो।
भविष्यवाणीमुताबिक त्यो देश जोतियो। फेरि, परमेश्वरले ‘अन्न उब्जी’ भन्ने आज्ञा दिनुभयो। अनि अन्न र फलफूल प्रशस्त गरी फल्न थाल्यो। त्यस देशबाट करोडौं रुपियाँको फल देशविदेशमा चलान हुन्छ। आजभन्दा २२ वर्षअघि नै कागती जातका फलहरू (Citrus) मात्र सालमा ५६ करोड २५ लाख रुपियाँको विदेशमा चलान हुन्छ भन्ने कुरा होमर डङ्गनले* लेखेका थिए। त्यहाँका सुन्तला, अंगूर, सारा संसारमा नामी छन्। आउनेजाने मान्छेले ‘लौ यस्तो उजाड देश त अदनको बगैंचा अर्थात् परमेश्वरको बगैंचा-जस्तो पो भएछ’ भनी भन्नेछन् भन्ने भविष्यवाणी यसरी अक्षरश: पूरा भएको छ।
एउटा अचम्मको कुरा: इस्राएलीहरू आफ्नो पितापुर्खाको देशमा फर्कनलाई चल्मलाउन लागेका थिए; तबदेखि नै बिस्तारै त्यस उजाड प्यालिस्टाइनमा पानी पर्न थाल्यो रे। बिस्तारै झरीको मात्रा बढ्दै जाँदा उँधो-उँधो झरिरहेको जमीनमुनिको पानी पनि कहीं-कहीं ३० फीट जति उँभो बढेर आयो रे भनी डा.कर्ट.ई. कक (Dr. Kurt E. Koch) ले आफ्नो किताबमा लेखेका छन्। यति मात्र नभएर इस्राएलीहरूले गालिल सागरको पानी पहाडको चुचुरामा तानी त्यहाँबाट देशभरि पाइपबाट पानी खेती र फलफूलका लागि पुर्याउँछन्।
फेरि, भविष्यवाणीमुताबिक नै पाखा र मैदानभरि रुख रोपेका छन्। प्राय: तीन लाख एकर जमीनलाई असल-असल रुख रोपी बन बनाएका छन्। त्यो बनजङ्गललाई नक्शामा देख्दा पनि हाम्रो मन नाच्छ। देशै झिलिमिली पार्ने गरी आधुनिक बिल्डिङहरूले भरिएका अनेकौं-अनेकौं शहरहरू देशभरि बनिएका छन्।
यस प्रकारले
(१) त्यो भरपूरीको देश रुखो, नाङ्गो, उजाड बन्नेछ,
(२) यहूदीहरू फर्केपछि त्यो देशले फेरि प्रशस्त मात्रामा, अन्न, फलफूल फलाउने छ,
(३) रुखहरू रोपिइनेछन्,
(४) उजाड भइसकेको देश फेरि परमेश्वरको बगैंचाझैं बन्नेछ,
(५) भताभुङ्ग भएका शहरहरू फेरि ठूला-ठूला बिल्डिङले भरिएका शहर बन्नेछन् भन्ने सबै भविष्यवाणीहरू एक-एक पूरा भए। त के यही बाइबल नै परमेश्वरको सत्य शास्त्र होइन र? तपाईं र मलाई यही शास्त्रको खाँचो छ।
अध्याय तीन: इतिहासकारहरूलाई मात गराउने ऐतिहासिक सत्यता बाइबलमा
(क) सर्गोनको अस्तित्व : पुरातात्विक कसीद्वारा प्रमाणित
बाइबलको इतिहासको किताब होइन, तर पनि बाइबलले मान्छेसँग सम्बन्ध राखेको हुनाले यसमा अनेकौं देश, राजा र मान्छेको विषयमा लेखिएको छ। प्रसंगमा आएको खण्डमा यहाँ बाबेल, अश्शूर, मिश्र, आरामी, रोमी आदि देशका मानिसको विषयमा फाटफुट कुरा लेखिएका छन्। बाइबलको यशैया नामक किताबको २० अध्यायको पहिलो पदमा लेखिएको छ—अश्शूरको राजा सर्गोनको आज्ञा पाएर तर्तान अस्दोदमा आयो, अनि लडाइँ गरेर लियो। अश्शूरको राजाको नाम सर्गोन, तर्तानचाहिँ आजकल जर्नेल भनेजस्तो हो। अस्दोदचाहिँ प्यालिस्टाइन देशको एउटा मुख्य नगर हो।
इतिहासकारहरूले देशविदेशको इतिहास खोज-तलाश गरी लेख्छन्। यो कुरा २७ सय वर्ष पुरानो भए तापनि इतिहासको किताबमा फाटफुट लेखिएका छन्। मानिसहरूले इतिहासका किताब पढे। उनीहरूले पाएको इतिहासको किताबमा राजा सर्गोनको नामै थिएन। खूब खोजे नामै पाएनन्; तर यता बाइबलमा स्पष्टसँग अश्शूरको राजा सर्गोन भनी लेखिएको छ। अब के गर्ने? कुन ठीक? मान्छेले लेखेको इतिहास ठीक कि बाइबल ठीक? मान्छेले फैसला गर्ने समय आएको थियो। मान्छेले भन्नुपर्नेथ्यो—मान्छेले इतिहास लेख्दा सर्गोन राजाको नाम छुट्यो होला, आखिर मान्छे त हो। यसकारण हामीले बाइबलकै कुरा ठीक मान्नुपर्छ—सर्गोन अश्शूरकै राजा हो भनी स्वीकार गर्नुपर्छ। हो, मान्छले त्यसै भन्नुपर्नेथ्यो। तर मान्छले आफ्नो झिँगाको टाउको जत्रो बुद्धिमा घमण्ड गर्ने मान्छेले त्यसो भनेन। तर मान्छेले लेखेको इतिहास नै ठीक हो, बाइबलमा भूलैभूल छ भनी भन्यो। त्यति मात्र होइन नारा पनि लगायो यसरी: बाइबलमा त भूलैभूल छ।
अश्शूर देशमा सर्गोन भन्ने राजा थियो अरे! बिचरा यी ख्रीष्टियानहरू यस्तो भूल कुरा भएको शास्त्रमा विश्वास गर्छन्। ख्रीष्टयान विश्वासीले खिसी सहनुपर्यो। उसको अनुहार लाजले रातै भयो। उसले बाइबल सत्य छ भनेर जवाफ दिन खाज्यो, तर उसले सकेन। उसको समाउने हाँगा थिएन। धेरै दिन बितेपछि, एकदिन जमीनमुनिबाट मानो यस्तो आवाज आउँछ—“एई, बाइबललाई भूल भन्नेहरू हो! बाइबल सत्य छ, मान्छे भूलमा छ; इतिहासकार भूलमा छ, बुझ्यौ! सर्गोन अश्शूरको राजा मात्र थिएनन्, तर महान् र वीर राजा थिए, बुझ्यौ!!”
पुराना कुराहरू थाहा पाउनका निम्ति १८११ A.D. देखि मानिसले जमीन पनि खनी जमीनमुनी गाडिएका चीजहरू निकाली जाँच गर्न थालेका छन्। १८४० A.D. मा टाइग्रिस नदीको किनार, अहिलेको इराक देशमा मोसुल (Mosul) भन्ने ठाउँमा श्रीमान् पावल इमाइल बोट्टा (Paul Emile Botta) फ्रान्स देशका भाइस कन्सलको पद समालेर बसेका थिए। त्यहाँको उखरमाउलो गर्मीले उसिनेको समयमा तिनी नदीको किनारमा शीतल हावा खान निस्कन्थे। पट्टाइलाग्दो मैदानमा घुम्दा पहेंला खैरा रङका बालुवाका ससाना डाँडाहरूका बीचमा फुटेका इटाँहरूका टुक्राहरू भेट्टाउँथे। यसो हुँदा बाइबलमा उल्लेख गरिएको ‘निनवे’ शहर कहीं यही इलाकामा पो थियो कि भनेर तिनलाई खनेर हेरी जान्न मन लाग्यो। फ्रान्सको राजधानी प्यारिसबाट पनि उत्साहपूर्ण पत्र आयो। खन्न सुरू गरे। आशा गरेजस्तो नहुँदा तिनले प्राय: सात माइल उत्तरतिर खोर्साबाद (Khorsabad) भन्ने ठाउँमा मार्च, १८४२ A.D. मा खन्न सुरू गरे। विशाल भवनको ढुङ्गाको देवल भेट्टाइ पनि हाले। त्यसपछि विज्ञ संसारलाई दङ पार्ने चीजहरू पाए। कुनीफर्म (Cuneiform) लिपिमा दुर-शार्रुकिन(Dur–Sharrukin) लेखि-एको पाटी पनि पाए, जसको अर्थ ‘सर्गोनको किल्ला’ हुनेरहेछ। बोट्टाले ता सर्गोनको किल्ला नै पो फेला पारेछन्।*
फेरि उनीहरूले १५ फीट लम्बाइ, १२ फीट चौडाइ र ५ फीट मोटाइ भएको भारी पत्थर पनि पाए। त्योचाहिँ राजा सर्गोनको सिंहासन राखिने आधार रहेछ। त्यस पत्थरमा सर्गोनले आफ्नो बहादुरीको चित्र खोपेर बनाएका रहेछन्। त्यस नक्शामा सर्गोनले मारिएका मानिसहरूको थाकमाथि रथ हाँकिरहेका छन्। त्यस खनाइमा पुरातत्वज्ञ एमाइल बोट्टाले सर्गोनमने दरबारको ढोकामा बसालिएको १६ फीट अग्लो ढुङ्गाको साँढे पनि भेट्टाए। त्यस साँढेको तौल ११२० मन रहेछ। कतिपय यस्ता अद्भत वस्तुहरू अमेरिकाको शिकागो विश्वविद्यालयको अरिन्टल इन्स्टिच्यूट (Oriental institute) मा राखिएका छन्।
एउटा पाटीमा यस्तो पनि लेखिएको थियो—‘अस्दनेदको राजा अजुरीले आफ्नो मनमा कर नतिर्ने विचार गर्यो। रिसले आगो भएर म आफ्नो अंगरक्षकहरूलाई लिएर अस्दोदतिर हिँडे। मैले अस्दोद र गतलाई पनि जितें। मैले तिनीहरूका सम्पत्ति र मानिसहरूलाई लगें। ती ठाउँहरूमा चाहिँ मैले पूर्व देशका मानिस-हरूलाई ल्याएर बसाएँ। मैले पलिस्ती, यहूदा, एदोम र मोआबबाट कर लिएँ।’ सर्गोन नाम भएका राजा साँच्चै रहेछन्। यस पृथ्वीमाथि दुई खुट्टाले हिँडेछन्; वीरता देखाएछन्। अब यो कुरा ध्रुवसत्य बन्यो; अकाट्य ठहरियो। यस राजाको नाम देश-देशको रेकर्डमा नभए तापनि बाइबलमा त थियो। बाइबलमा लेखिएका कुरालाई चाहिँ नमान्नैपर्छ र? मानिसले भित्रभित्रै सत्य परमेश्वरसँग दुश्मनी गर्छ भन्ने कुराको प्रमाण हो यो। तर मानिस एकदिन जति बाँच्न खोज्दा पनि मर्नैपर्छ। उसलाई कर लाग्छ। यो देखेर पनि मभन्दा शक्तिशाली व्यक्ति अर्को कोही रहेछ भनी उसले थाहा पाउनुपर्ने हो। मानिस भयानक अन्धकारतिर दगुरिरहेछ, उसको भविष्य मुटु कँपाउने किसिमको छ।
जमीनमुनिका माटा ढुङ्गाले बताएमुताबिक सर्गोन राजा मात्र थिएनन्, तर थिए सामर्थी र मुख्य राजा; तर यस्ता राजाको नाम पनि इतिहासको पातामा पाइएन। मान्छेले लेखेको किताब के विश्वासयोग्य हुनेरहेछ र? लौ अब तपाईं नै भन्नुहोस्, मान्छे सत्य कि बाइबल सत्य? मान्छे सत्य कि बाइबल लेखाउनुहुने परमेश्वर सत्य? यस प्रकारले बाइबल असत्य छ भन्ने मानिसहरू, त्यही पनि हामीजस्ता लाटासुधा होइनन्। संसारमा ज्ञानी मानिएका मानिस-हरू लाजमा परे। अब लाजले रातो भएको मुख कहाँ लुकाउने?
यो बाइबल हामीसम्म मात्र आइपुगेको होइन, तर संसारका सबै जातिकहाँ पुगेको छ। १९७६ A.D. मै बाइबल १५७७ भाषामा अनुवाद भइसकेको थियो। संसारका कुना-कोप्चामा बस्ने जङ्गली मानिसको भाषामा पनि बाइबल पाइन्छ। बाइबल लुकेर बसेको छैन; तर पनि अझै सबैले पाऊन् भनेर लाखौं बाइबल संसारमा हर साल बाँडिन्छ। बाइबलका भूलहरू भेट्टाउलान् र ज्ञानीहरूले मुश्किलमा पार्लान् भन्ने डर छैन; किनभने बाइबलको भूल देखाउने कुनै ज्ञानीको क्षमता छैन।
डा. ह्यारी रिम्मर अमेरिकाका साइन्स रिसर्च ब्यूरो (Science research bureau) का प्रधान थिए। एकपल्ट तिनले कुनै पनि व्यक्तिले बाइबलमा एउटा मात्र पनि वैज्ञानिक त्रुटि (Scientific Blunder) पाएर प्रमाण गर्न सक्यो भने उसलाई हजार डलर इनाम दिइनेछ भनी घोषणा गरे। त्यो घोषणा अर्थात् चुनौती २७ वटा देशहरूमा पठाइए। अनेकौं वर्ष बितिसकेपछि तिनले भने—“खै, आजसम्म पनि इनाम थाप्न कोही आउँदैनन्!” भटाभट भूल देखाएर हजार डलर पोका पार्न विद्वान्हरू किन आएनन् त? हजार डलर त्यस जमानामा कम्ती थिएन। त्यस बेला हजार डलरमा तीनवटा फोर्ड मोटरकार अमेरिकामा पाइन्थ्यो। किन आएनन् त? उत्तर सजिलो छ: भूल भेट्टाउनु र प्रमाणित गर्नु सजिलो छैन।
बाइबलमा भूल छैन भनेको सुन्दा हामीलाई कताकता पत्याउन मन नपर्ला; तर ज्ञानविकासका लागि मात्र पनि हामीले भूल नभएकै शब्दकोश चाहेका छौं। त्रुटिहीन शब्दकोश हामी चाहन्छौं भने हाम्रो मुक्तिका लागि के त्रुटिहीन शास्त्रको चाह नगरौं? मान्छे अरब वर्ष बाँचे पनि पृथ्वीका थोकहरूको विश्लेषण मात्र पनि गरेर सक्तैन। यस्ता अद्भुत विश्वका सृष्टिकर्ताबाट के हामी त्रुटिहीन शास्त्रको आशा नराखौं? उहाँले यस्तो शास्त्र जगत्लाई दिन सक्नुहुन्न होला? सक्नुहुन्छ, दिनुपर्छ पनि।
हामीजस्ता इतिहासमा के छ, के छैन, थाहा नपाउनेले होइन; तर ठूला विद्वानहरूले बाइबलमा भूल छ कि भनी बडो ध्यान लाएर खोजेका छन्। यसैकारण त इतिहासमा नभएको राजाको नाम त बाइबलमा पो रहेछ भनी थाहा पनि पाए। तर मूर्खता यति भयो—उनीहरूले मान्छेले लेखेको किताबलाई सत्य भने अनि बाइबल-लाई झूट। तर जमीनमुनि गाडिएका ढुङ्गाहरूले बाइबल सत्य छ भनी खण्डन गर्नै नसकिने गरी प्रमाण दिए। यदि बाइबललाई जमीनमुनिको चीजले सत्य ठहर्याउँछ भने के यो सत्य र विश्वासयोग्य शास्त्र होइन र? तपाईं र मलाई यही सत्य शास्त्रको खाँचो छ।
(ख) पुरातात्विक प्रमाणद्वारा इतिहासकार पराजित :
भूगोल, इतिहास, गणितको ज्ञान भए पनि घन र लिहिको विषयमा चाहिँ ज्ञान नभएको एउटा जवान मान्छे घुम्न निस्कियो। ढंग्-ढंग् गरेको आवाज सुनी ऊ त्यतैतिर आकर्षित भएर गयो। लोहारले तातो फलामलाई सनासोले चेपेर लिहिमाथि राखेको रहेछ। अनि अर्कोले घन मच्चाएर तातो फलाममाथि हान्दोरहेछ। उसले चारैपट्टि हेर्यो। कुनामा धेरैओटा घनहरू लडिरहेका थिए। तालहरू फर्लक्कै फर्केर ती घनहरू फुर्के भइसकेका थिए। “अहो, घनहरू त सबै कुच्चिएछन् है!” भन्यो त्यस जवानले। लोहारले नहेरी जवाफ दिन्छ, “खै हजूर, यस्तै हुन्छ।” जवानले फेरि प्रश्न गर्छ, “अनि त्यस्तो लिहिचाहिँ कतिओटा कुच्चियो नि?” प्रत्युत्तरमा, “हजूरले पनि के भन्नु-भएको? लिहि त कहाँ कुच्चिन्छ र? एउटै हो नि, तर घनहरू पो एक-एक गर्दै रद्द हुन्छन्; काम नलाग्ने हुन्छन्!”
लोहारको यस उत्तरले एउटा सत्य कुरालाई छ्याङ्-छ्याङ्ती देखाएको छ। बाइबलको विरोध गर्ने मानिसहरूले बाइबललाई घनले झैं ठोकेका छन्। ठोक्छन्, खूब ठोक्छन्; तर बाइबल लिहि झैं ठसदेखि मस नभई स्थिर बस्छ, तर ठोक्नेहरू नै घन कुच्चिए झैं कुच्चिन्छन्। अनि अन्त्यमा रद्द भएर थन्किन्छन्। यसरी सैकडौं कुच्चिएर थन्किए। तीमध्ये एकजनाको विषयमा म तपाईंलाई बताउँछु। तिनको नाम हो, भोल्टेयर। तिनी फ्रान्सका निवासी थिए। तिनको बुद्धि अत्यन्तै तिखो थियो। स्मरणशक्ति अद्भूत थियो। मान्छे थिए संसारभरि नै नामी, तर थिए बाइबलका घोर विरोधी। तिनी भन्थे—“बाह्रजना मछुवाले सुरू गरेको ख्रीष्टियान धर्मलाई फ्रान्सको एउटा मान्छेले उखाल्नेछ। पचास वर्षपछि बाइबल पढ्ने कोही हुने छैन।”
डा. जोन. आर. राइस भन्छन्—“ख्रीष्टियान धर्म उखालिने किसिमको भएदेखि उखाल्नलाई भोल्टेयर नै लायकका मान्छे थिए”। भोल्टेयरले पसिनै पसिना हुँदै दाह्रा किटे, झुन्डी गरे, तर ख्रीष्टियानिटी उखालिएन। एउटा चोइटा पनि उप्किएन; हल्लिएन पनि। झन् अचम्मको कुरा तिनी मरेपछि तिनको महल नै यूरोपभरि बाइबल वितरण गर्ने केन्द्र बन्यो। पचास वर्षपछि बाइबल पढ्नेहरू झन् बेसी भए।
भोल्टेयरले जस्तै ठूला-ठूला विद्वान्हरूले बाइबलका अर्को भूल पनि देखाए, र हाँसे। यसपटक पनि ख्रीष्टियान विरोधीहरूको मुख लाजले रातो भयो। संसारभरिका मानिसहरूलाई बोलाई-बोलाई खूब हाँसे—ती घनहरू। तिनीहरूले सर्गोन राजाकै जस्तो विषयमा दोष देखाएका थिए। दानियल नामक पुस्तक ५ अध्यायको ३० र ३१ मा यस्तो लेखिएको छ—“त्यही रात कल्दीहरूका राजा बेल-शज्जर मारिए। ३१ अनि मादी दाराले बासट्ठी वर्षको उमेरमा त्यो राज्य लिए”। बाइबलमुताबिक कल्दी जातिको बेल-शज्जर नामक राजा मारिएपछि राज्य मादी जातिको हातमा सरेर गएको थियो। कल्दी जातिको राज्य मादी जातिको अधिकारमा आएको कुरा ग्रीक इतिहासकार बेरोससले पनि आफ्नो किताबमा लेखेका थिए।
बाइबलको दानिएल नामक पुस्तकचाहिँ बेरोससको इतिहास-भन्दा लगभग दुई सय पचास वर्षअघि लेखिएको थियो। अनि बेरोससले लेखेको इतिहासको पुस्तकमुताबिक चाहिँ कल्दी जातिको अन्तिम राजा नेबोनिदस थियो। बस, यहींनेर कुरा मिलेन। बाइबलले भन्छ: त्यो रात मारिने राजा बेल-शज्जर थिए, र तिनलाई नै मारेर मादी राजा गद्दीमा बसे। तर इतिहासले अन्तिम राजा नेबोनिदस हो भनेका हुनाले विद्वान्हरू भन्थे—त्यो रात मारिने राजा नेबोनिदस हो। बेल-शज्जर भन्ने राजा नै थिएन। अब कसको कुरा सुन्ने? फैसला गर्ने ठूलो समस्या आयो! यसपटक पनि मान्छेले बाइबलमा भएको परमेश्वरको वचनलाई होइन, तर मान्छेकै कुरा-लाई विश्वास गर्यो, र भन्यो ‘बाइबलमा भूल छ’।
मान्छेले भन्नुपर्थ्यो बेरोससको इतिहास त अढाइ सय वर्षपछि लेखिएको हो। यसकारण बाइबलकै कुरा ठीक हुनुपर्छ। तर विद्वान् मानिसहरू झन् चम्की-चम्की भन्नलागे, “बाइबलमा भूल छ”। कोही खिसी गरेर ओठ लेपार्दै भन्थे, “यो बाइबलमा यो बेल-शज्जर भन्नेचाहिँ कहाँबाट आयो? भूल छ, भूल!” मान्छेको हृदय कति धोकापूर्ण छ। परमेश्वरको वचनमा विश्वास गर्न सदैव पछि सर्छ; तर मान्छेको कुरा सुन्नु चाहिँ अघि सर्छ। अब बाइबलका विश्वासीले के जवाफ दिने त? तर यसपटक पनि जमीनमुनिबाट ढुङ्गा बोलिउठ्छ, “ए विरोधीहरूहो, बाइबलमा भूल छैन। मारिने राजा बेल-शज्जर नै थिए।”
क्लाउड जेम्स रिच (Claude James Rich) ब्रिटिश इस्ट इन्डिया कम्पनीमा एजेन्ट थिए। ती बागदादमा बस्थे, जो पुरानो बाबेल शहरदेखि ५० माइल उत्तर-पूर्वमा पर्थ्यो। उनकै एकजना सह एजेन्टले केही लेखिएका इँटा भेट्टाएर तिनलाई देखाउँदा तिनी प्रोत्साहित भएर १८११ A.D. मा त्यहाँ गए। अनि जाँचबुझ गरेर ठम्याएपछि त्यहाँ खन्ने काम सुरू गरेका थिए। अनेकौं विद्वान्हरूले करोडौं रुपियाँ खर्च गरी खन्ने काम गरे। १८५३ A.D. मा उनीहरूले एउटा मन्दिर भेटे। त्यस मन्दिरको कुना ढुङ्गामा कुँदेर लेखेको एउटा लेख भेट्टाए। त्यहाँ यस्तो लेखिएको थियो, ‘म बाबेलको राजा, नबोनिदसले तिम्रो विरोधमा पाप नगरूँ; अनि मेरा जेठा र प्यारा छोरो बेल-शज्जरको हृदयमा तिमीप्रतिको भक्ति भइरहोस्।’ यो नबोनि-दसले आफू र आफ्नो प्यारो पुत्र बेल-शज्जरका लागि ईश्वरलाई चढाएको प्रार्थना हो। त्यसपछि अरू पनि अनेकौं लेखहरू सर हेनरी रलिनसन (Sir Henry Rowinlinson) ले भेट्टाए।
ती लेखहरूबाट स्पष्ट थाहा भयो, नबोनिदसले आफ्नो प्रिय पुत्रलाई आफूसरह राजा बनाएर उसकै हातमा राज्यको भार र फौज सुम्पेका रहेछन्। अनि आफूचाहिँ अरबमा गई छुट्टी बिताउँदा रहेछन्। यसकारण मादीहरूले हमला गर्दा दरबारमा बेल-शज्जर नै थिए; अनि तिनी नै मारिए पनि। लडाइँ एकै रातमा सुरू भई सकिएको पनि थियो। नबोनिदसले सामेल हुनै पाएनन्। यसकारण नाम भुलेर अथवा कल्पना गरेर त्यो बेल-शज्जर भन्ने नाम बाइबलमा लेखिएको थिएन। बाइबलले एउटा पनि झूटो समाचार दिएको थिएन। तर बेल-शज्जर राजा नै थिए। अनि त्यो रात मारिने राजा बेल-शज्जर नै थिए। यसपटक पनि बाइबल नै सत्य ठहरियो। संसारका विद्वान्हरू झूटा ठहरिए। यस प्रकारले जमीनमाथिका बाइबलका साक्षीले उत्तर दिन नसक्दा जमीनमुनिका ढुङ्गाले जवाफ दिएर बाइबललाई सधैं-सधैं सत्य ठहराएको छ।
(ग) अब्राहाम, जेरिको अनि पुरातत्व :
मान्छे लाटो होउन्जेल मात्र बाइबल सत्य ठहरिएको हो, मान्छेको पूरा ज्ञानबुद्धि, विद्या बढेपछि त बाइबलमा अनेकौं भूलहरू देखा पर्नेछन्, भनी कति मानिसहरू भन्थे। तर मान्छेको भनाइ सत्य ठहरिएन। वर्तमान समयको ज्ञान, वर्तमान समयको विज्ञानको चातुर्य र योग्यताले गर्दा झन् पटक्कै नहल्लने गरी बाइबल सत्य ठहरियो। आकाश र पृथ्वीका सृष्टिकर्ता परमेश्वरले एउटा बाटो देखाउने शास्त्र त दिनुभएकै हुनुपर्छ भन्ने मेरो आशा पूर्ण भएको छ। बाइबल नै सत्य शास्त्र हो, जो विरोधीले सल्काएको आगोरुपी जाँचबाट छिरेर सत्य ठहरिएको छ।
पहिले-पहिले बाइबलमा उल्लिखित गरिएको व्यक्ति अब्राहाम र त्यस बेला प्रसंगमा आएका शहरहरूलाई काल्पनिक व्यक्ति र शहरहरू हुन् भनी ज्ञानी मानिसहरूले भन्थे। किनभने अब्राहामको कुरा एकदमै पुरानो कुरा थियो। ऋग्देव लेखिनुभन्दा एक हजार वर्ष अघिको कुरा हो।
विद्वान्हरू भन्थे, “बाइबलमा लेखिएको अब्राहामको कहानी पढ्दा तिनी लेखपढ़ गर्न जान्ने मान्छे रहेछन्। अनि उनको देशवासी पनि सभ्य रहेछन् भन्ने कुरा थाहा लाग्दछ। तर अब्राहाम-जस्ता मानिस आजभन्दा चार हजार वर्ष पहिलेका मानिस त्यति सामर्थ्य हुन सक्तैनन्। त्यस समय दुनियाँमा यतिसम्मको सभ्यता नै थिएन। यसकारण अब्राहाम र तिनीसँग सम्बन्ध राख्ने ठाउँहरू काल्पनिक हुन्।”
त्यसो भन्ने विद्वान्हरूसँग को जुध्न सक्छ? बाइबलको कुरा सत्य हुनुपर्छ भन्नेहरूले पनि त्यस्ता विद्वान्सँग सीङ जोर्नलाई केही साधन पाएनन्। ती साक्षीहरू हारेरै रहनुप्यो; जबसम्म जमीन-मुनिका ढुङ्गा र माटो कराई उठेनन्। धेरै समय बितेर गएपछि त्यस्ता बुद्धिमान् ठहरिएका मानिसहरूलाई लाजले रातोपिरो पार्ने गरी जमीनमुनिबाट बाइबललाई सत्य ठहराउने अद्भुत प्रमाणहरू निस्के। फ्रान्स, जर्मनी, इंगल्याण्ड र अमेरिकाका महान् विद्वान्-हरूले अब्राहामको शहर ऊरलाई मात्र होइन, तर ऊरका वरिपरिका किश, लगास, एरेक, एरिद, निप्पुर, अक्काद, बाबेल, लार्सा, फारा इत्यादि ठाउँहरूमा खनेर हेरे। हजारौं-हजारौं, गाडीका गाडी, लेखिएका ढुङ्गा र माटाका पाटीहरू निकाले। त्यहाँ अब्राहामभन्दा अझै हजारौं वर्ष पुराना पाटीहरू पनि पाइए। ती पाटीरुपी पुस्तकहरूमा इतिहास, विज्ञान, गणित, कानून र धर्म इत्यादि विषयका कुराहरू लेखिएका थिए। शब्दकोषहरू पनि पाए। त्यस बेलाका मानिसहरू साहित्यमा मात्र होइन, तर धातुका काममा, घर निर्माण गर्नमा र अन्य विषयमा सिपालु थिए भन्ने कुरालाई जमीन-मुनिबाट निस्केका चीजहरूले प्रमाण दिन्थे। के यी चीजहरू विद्वान्लाई शर्ममा पार्ने कुराहरू होइन र?
पुरातत्वज्ञहरूले यस्ता पाइएका कतिपय पाटीमा अब्राहामको नाम पनि पाए। कतिपय पाटीमा अब्राहामसँग सम्बन्ध राख्ने शहर-हरूका नाम पनि। यस तथ्यबाट थाहा लाग्छ, अब्राहाम न त काल्पनिक व्यक्ति नै थिए, न त त्यस समयभन्दा पछिका मान्छे नै। उत्पति ११:२८ र ३१ पदअनुसार अब्राहामका भाई ऊरमा जन्मेका थिए। अनि अब्राहाम पनि ऊर देशबाटै निस्केर आएका थिए। त्यो ऊर हाल एउटा सानो रेलवे स्टेशन भएको छ। बास्राबाट बागदाद जाँदा रेल यहाँ रोकिन्छ।
त्यस घड़ी ऊरको पट्टाइलाग्दो बालुवाको मैदानमा टेबलको आकारको एउटा पहाड थियो। त्यसलाई अरबीहरूले युग-युगदेखि तेल मुकायर (Tel Muqayyar) भन्थे। यो त साधारण पहाड होइन; यसभित्र निश्चय नै कुनै न कुनै कुरा छ भन्ने पक्का हुँदा इंगल्याण्ड र अमेरिकाका पुरातत्वज्ञहरू १९२३ A.D. मा त्यहाँ आए—त्यस पहाडलाई खन्नलाई। उनीहरूको अगुवा थिए—अंग्रेज पुरातत्वज्ञ। उनको नाम थियो, सर चार्ल्स लिओनार्ड वूल्ली (Sir Charls Leonard Woolly)।
त्यस पहाडभित्र एउटा मन्दिर रहेछ। मन्दिरका वरिपरि भान्सा घर, काम गर्ने कार्यालय र न्यायलय इत्यादि रहेछन्। त्यस भान्सा घरको रोटी पोल्ने चुलामा आगो बालेर वूल्लीले भने, “३८०० वर्षपछि यस चुलामा फेरि पनि आगो बाल्नका लागि हामी सक्षम् भयौं”। कार्यशालामा तिनीहरूले काम गर्ने केटीहरूको नाम र तिनीहरूले पाउने राशनको हिसाबधरि लेखिएका पाटीहरू भेट्टाए। त्यसपछि घरहरू भेट्टाए; त्यसपछि पूरा शहर नै भट्टाए। त्यहाँ १३-१४ कोठाहरू भएका दुई तल्ले घरहरू भेट्टाउँदा वूल्ली साहेबहरू तीन छक्कै परे। अब्राहामका समयका मानिसहरू पनि यति सभ्य थिए? उनीहरू यस्ता घरमा बसे? यसकारण आज जमीनमुनिका ढुङ्गा माटाले प्रमाण दिन्छन्—अब्राहाम र तिनका मानिसहरू काल्पनिक थिएनन्। अब्राहाम दुई खुट्टाले ऊरमा हिँडे। तिनी सभ्य थिए, लेख्न र पढ्न जान्दथे।
अर्कोतिर तिनले राजाहरूका कबरस्थान पनि भेट्टाए। एउटा चिहानमा ‘परमेश्वरको देशको वीर’ लेखिएको थियो। अनि त्यस वीरले सुनको शिरस्त्राण (Helmet) लगाएको थियो। अर्कोतिर रानी शुबादले सुनका सुन्दर-सुन्दर गहना पहिरेकी थिइन्।
यस्ता चिहानहरूमा दैनिक जीवन चाहिने सबथोक राखिएका हुन्थे। भाँडाबर्तन, बाजागाजा र सिंगारपटारका सामानहरू, रथ जोतिएकै अवस्थामा पशुहरू इत्यादि थिए। यस्ता राजारानीका वरिपरि दामीदामी गहना पहिरेका अस्थिपञ्जरहरू थिए। नोकर र नोकरानीहरू थिए। अर्को लोकमा पनि मालिकको सेवा गर्नलाई यी सेवकहरू मलिकका साथमा गएका हुन्।
शुबाद रानीका वरिपरि बीस जना सेवकहरूका कङ्कालहरू थिए। कसै-कसैका सत्तरी जनासम्म पनि थिए। मालिकको लाश-लाई बीचमा राखेर यी सेवक-सेविकाहरू विष पिएर वरिपरि पल्टिन्थे होलान् मालिकको साथ जानलाई—युग-युगसम्म उनको सेवा गर्नलाई। यस्ता अद्भूत कुराहरू अमेरिकाको फिलाडेल-फियाको अजायब घरमा राखिएका छन्।
वूल्लीले अझै खने। तिनी त्यस युगको सतहलाई छिचोलेर अर्को सतहमा पुगे। अझै खने, अनि त्यस युगको सतहलाई पनि छिचोलेर तिनी नूहको प्रलय युगमा पुगे। तिनले नूहको प्रलय युग भनेर कसरी थाहा पाए? किनभने तिनले माटोभित्र १० फीट मोटो मिहिन बालुवाको एउटा छुट्टै सतह पाए। ठाउँ-ठाउँमा जाँचेपछि तिनले लेखे, “हामीले नूहको बाढीलाई भेट्यौं।” अझै उँधो खने, अनि तिनले मानिस जातिले वास गरेको अझै एउटा युगको सतहलाई भेटे। त्यसलाई पनि छिचोलेपछि मात्र तिनी पृथ्वीको खास माटोमाथि आइपुगे; जो चोखो माटो हो, जसलाई मान्छेको कसिंगरले मैला पारेको हुँदैन। यसकारण वूल्लीको आविष्कार अति महत्वपूर्ण छ। उनले यस विषयमा धेरै किताबहरू लेखेका छन्।*
बाइबलको प्रस्थान नामक किताबमा इस्राएलीहरूले १४५० B.C. मा मिस्र देशबाट निस्के। तिनीहरूले जेरिको र ऐ नामक शहरलाई ध्वंस पारेर कनान देश तथा आजकलको प्यालिस्टाइन देशमा प्रवेश गरेको सुन्दर बयान लेखिएको छ। फेरि पनि इतिहासमा पोख्त भएका मानिसहरूले बाइबल ऐतिहासिक दृष्टिमा सत्य छैन भनी आरोप लगाए—बाइबलमा भूल छ भने बडो हल्कासित। के बाइबललाई अविश्वास नै गर्नुपर्छ? उनीहरूको भनाई यो थियो—“१७०० देखि १३०० B.C. सम्म प्यालिस्टाइन देशलाई घुमन्ते जातिहरूले धलिमली गरेका थिए।
त्यसकारण त्यहाँ न त जेरिको शहर नै थियो, न त ऐ नामको शहर नै। तब ती इस्राएलीहरूले कुन जेरिको र ऐलाई जितेर कनानमा पसे होलान् त? कुनै रीतिले पनि १२५० B.C. भन्दा पहिले इस्राएलीहरू कनानमा गएका होइनन्।” उनीहरूले बडो चित्त बुझ्ने प्रकारले तर्क गरेकाले कति बाइबलका साक्षीले यो कुरा पक्कै होला भन्न थालिसकेका थिए। तर केही समय अघि जोर्डनको राजधानी अम्मान भनिने ठाउँमा हवाई अड्डा बनाउनलाई धमाधम बुलडोजरले माटो काटिरहेको बेला जमीन-मुनिबाट फेरि कति सामान निस्के। पछि जाँचबुझ गर्दा त्यस प्यालिस्टाइन देशमा १५५० B.C. देखि नै मानिसहरू शहर बनाउँदै स्थायी रुपले बसोबास गर्न लागेका रहेछन् भन्ने थाहा लाग्यो। अब इस्राएलीहरू १४५० B.C. मा आई जेरिको र ऐलाई जिती कनानमा प्रवेश गरे भन्ने कुरा सत्य प्रमाणित भयो। फेरि विद्वान्हरूको अनुहार लाजले रातो भयो। यस प्रकारले बाइबल हर प्रकारले सत्य र विश्वासयोग्य प्रमाणित भएको छ।
(घ) प्रतिभाशाली वैज्ञानिकहरू एक नयाँ मोडमा :
आज बाइबललाई विश्वास गर्नेहरूले यो परमेश्वरका वचन हो। बाइबल सत्यताले परिपूर्ण छ भनी कराइरहेकै छन्। मुक्तिदाता प्रभु येशूले पनि भन्नुभएको छ, “आकाश र पृथ्वी बितेर जानेछन्, तर मेरा वचनहरू कुनै रीतिले बित्नेछैनन्।।” मर्कूस १३:३१। फेरि यस्तो लेखिएको छ, “किनकि, ‘सबै प्राणी घाँसजस्तै हो, र मानिसको सबै महिमा घाँसको फूलजस्तै। घाँस ओइलिजान्छ, र त्यसको फूल झरिहाल्छ; २५ तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ” १ पत्रुस १:२४-२५।
यसकारण परमेश्वरको वचन बाइबलको एक-एक शब्द पूरा हुनैपर्छ। पूरा भएको पनि छ; तर मानिसले यस सत्य कुरालाई स्वीकार गर्न नचाहेर रातदिन जोड लगाई बाइबल भूल छ भनी प्रमाणित गर्ने यत्न गरे। तर परमेश्वरको वचन बाइबलको पक्षमा जमीनमुनि थिचिएर बसेका ढुङ्गा, माटो र हड्डीहरू उठेर बाइबल सत्य छ भनी खण्डन गर्नै नसक्ने प्रकारले प्रमाण दिँदछन्—एउटा होइन, तर हजारौं प्रमाणहरू छन्।
तर पनि मान्छेले भन्न सक्छ—“ती जमीन खोदली, युग-युगका चीज निकाली, बाइबल सत्य छ भनी प्रमाण दिने मानिसहरू पनि त ख्रीष्टियान नै हुन्। यसकारण आफ्नो शास्त्रलाई सत्य ठहराउने झूटो प्रयन्त गर्छन् नै।” उत्तर हुन्छ, “ती विद्वान्हरू-बाइबलका विश्वासी होइनन्। सत्य जान्ने प्रगाढ इच्छा भएका ती मानिसहरू हुन्, तर सबै विश्वासी होइनन्।
फेरि एउटाले काखी चेपेर बाइबल-लाई बिनाआधार सत्य ठहराउन सक्तैन। अरू तीक्ष्ण बुद्धि भएका विद्वान्हरू आएर उसको फैसलालाई खण्डन गरिदिँदछन्। उसले भेट्टाएका चीजहरू सम्पूर्ण संसारका सम्मुख नाङ्गो राखिदिनुपर्छ। अरू विद्वान्को आँखादेखि लुकाएर कुनामा बसेर बाइबल सत्य छ—बाइबल सत्य छ भन्न पाउँदैन कसैले। यसैकारण त यसरी भेट्टाइएका चीजहरू बडे-बडे अजायब घरहरूमा फिलादेलफिया, सिकागो, लण्डन, पेरिस र अनेकौं बडे-बडे शहरमा राखिएका छन्। त के उसले बाइबलको पक्ष लिएर झूटो कुरा दुनियाँलाई भन्न सक्छ र? यो कुरा लुकाएर कुनामा गरिने काम होइन।”
यस्ता जमीन खन्ने पुरातत्वज्ञहरूमा कति त बाइबललाई खिसी र हाँसो गर्ने मानिसहरू पनि थिए। तीमध्ये दुईजनाको नाम दिन चाहन्छु: (१) डा. ए. एच. सेसी (Dr. A.H. Sayce) (२) सर विलियम राम्जे (Sir William Ramsay)।
डा. ए. एच. सेसी : यो १८८२ A.D तिरको कुरा हो। तिनी इतिहासका धुरन्धर पण्डित थिए। तिनले जगत् विख्यात अक्सफोर्ड युनिभर्सिटीमा प्रोफेसरको पदमा भर्ना हुन चाहेका थिए। त्यस घड़ी इंगल्याण्डका प्रधानमन्त्री बाइबलका साँचो विश्वासी थिए। तिनको नाम थियो, विलियम ग्ल्याडस्टोन। डा. सेसी बाइबललाई नराम्रो प्रकारले गिल्लानिन्दा गर्ने मानिस हुन् भनी विलियम ग्ल्याडस्टोनलाई थाहा भएको हुनाले डा. सेसीलाई त्यसमा भर्ना गरेनन्। पुरातत्वज्ञ डा. सेसी त्यस प्रकारका मानिस थिए।
सर विलियम राम्जे : एउटा जवान प्रोफेसर, मध्य एशियाको इतिहास र भूगोलको विषयमा तिनी धुरन्धर पण्डित थिए। बाइबलको ‘प्रेरितको पुस्तकचाहिँ फोस्रो र व्यर्थको छ’ भन्ने तिनको दृढ विचार थियो। तिनी आफैले भनेका थिए, “नयाँ नियमको इतिहासचाहिँ धेरै अन्तरालपछि लेखिएको र विश्वास गर्न नसकिने किसिमको छ भनी सम्झने मानिस म थिएँ।” सर विलियम राम्जेले यसो भन्थे, “ख्रीष्टियान धर्मचाहिँ तिखो बुद्धिले कल्पना गरेर चतुर्याईँसँग रङ चढाएर तयार पारिएको हो।” यी दुई प्रोफेसरहरू यस्ता थिए। दुवै नै पुराना कुराहरू खनी जाँच गर्नलाई पूर्वीय देश अथवा मध्य एशिया आए। डा. ए. एच. सेसीले धेरै खने, हेरे र जाँचे। सबैभन्दा पहिले हित्ती भनिने जातिको लिपि सिरिया देशमा फेला पारी हित्ती लिपि हो भनी चिन्ने मान्छे पनि यिनी नै हुन्।
बाइबलमा हित्ती भनिने जातिको विषयमा धेरै कुरा लेखिएको छ। बाइबलमा चालीसपल्ट भन्दा बेसी नै यो हित्ती शब्द प्रसंगमा आएको छ। तर संसारको कुनै पनि इतिहासको किताबमा हित्ती भन्ने नामसम्म पनि लेखिएको छैन। यसो हुँदा संसारका विद्वान्हरूले भने, “हैन यो हित्ती भन्ने जातिले संसारमा खुट्टा टेकेकै छैन, त यो बाइबलमा चाहिँ कहाँबाट आयो?”
हित्तीको बहादुरी, तिनीहरूका सभ्यताको विषयमा बाइबलमा लेखिएको देख्दा यी ज्ञानीहरू खूब हाँसे। शायद ती हाँस्नेहरूको बथानमा डा. ए. एच. सेसी पनि थिए होलान्। तर पछि तिनी आफैले हित्ती लिपि फेला पारे। पछिबाट १९०६ A.D. मा ह्यूगो विंकलर (Egyptologist Professor Hugo Winckler) ले बोघाज-कूई (Boghaz-Keui) भनिने ठाउँबाट सम्पूर्ण हित्ती लेखहरू र फलामझैं कडा कालो पत्थरमा मान्छे जत्रो-जत्रो ठूलो आकारमा कुँदेर बनाइएका राजाहरूका नक्शाहरू खनेर निकाले।* यसपटक बाइबल नै सत्य ठहरियो। विद्वान्हरूको लाजले मुहार रातोपीरो भयो। यसरी सेसीले “म भूलमा रहेछु, तर बाइबल सत्य रहेछ” भनी स्वीकार गरे। पछिबाट डा. सेसीले यसो भने, “म कट्टर-दलको प्रतिनिधि र पवित्र शास्त्र बाइबलको पक्षमा लड्ने रक्षक हुँ।”
यही प्रकारले एक हातमा बाइबल लिएर गाउँ, शहर र बजार घुमेर खनीखोदली गरेपछि सर विलियम राम्जेको मन पनि फर्लक्कै फर्क्यो। तिखो बुद्धिले कल्पना गरी चतुरतापूर्वक रङ चढाएर तयार पारिएको पौराणिक ख्रीष्टियान धर्म भनेर खिसी गर्ने विलियम राम्जेले पनि “म भूलमा रहेछु, बाइबल सत्य रहेछ” भनी स्वीकार गरे। तिनी जहाँ-जहाँ गए; अनि जहाँ-जहाँ खने, त्यहाँका प्रत्येक चीजले ‘तिमी भूलमा छौ, तर बाइबल सत्य छ’ भनी दृढतापूर्वक प्रमाण दिएकाले तिनले पनि बाइबल र बाइबलका प्रभु येशूलाई हृदयले नै ग्रहण गरे।
त्यसपछि तिनले जीवनभरि आफ्नो विद्या र बुद्धिद्वारा प्रभुको सेवा गरे। यसकारण साँचो विश्वासीहरूले बाइबललाई काखी च्यापी बाइबललाई जबर्जस्त सत्य ठहराएका होइनन्; तर बाइबलले पो आफ्नो सत्यताद्वारा अनेकौंलाई विश्वासी बनाएको हो।
आधुनिक विज्ञानद्वारा बाइबलको जाँच : अध्याय चार
हाम्रो पृथ्वीको सम्बन्धमा :
हाम्रा चारैपट्टि घाम, जून, तारा र पृथ्वीलाई हेरेर शास्त्र-हरूले साथै ज्ञानी मानिसहरूले धेरै कुरा भनेका छन्। एक समयमा सभ्यता मिस्र देशमा पनि जन्मिएको थियो। पुरानो समयका सात आश्चर्यहरूमध्ये एक आश्चर्य यही मिस्रमा थियो। यस्ता देशका ज्ञानीहरूले भन्थे—“ठूलो उड्दै गरेको अण्डाबाट उत्पन्न भएको यो पृथ्वी अनेकौं-अनेकौं खाँबाहरूमाथि राखिएको छ।” अनेकौं बुद्धि-मान् दार्शनिकहरूले जन्माउने ग्रीस देशका ज्ञानीहरू भन्थे—“यस पृथ्वीलाई एटलास नाम भएको दैँत्यले बोकिराखेको छ”।
हाम्रो छिमेकी भारत देश पनि पुरानो जमानामा कम थिएन। यसकारण यस देशले पनि आकाश र पृथ्वीको विषयमा कुरा गरेको थियो। यस देशको भनाइअनुसार यो पृथ्वी कछुवाको ढाडमाथि बसालिएको छ रे। कतिको भनाइअनुसार अनेकौं हात्तीहरूका शिरमाथि बसालिएको छ रे। अरू-अरू जातिको भनाइमुताबिक यो पृथ्वीचाहिँ एउटा जिउँदो विशाल जन्तु हो रे। मानिसहरूले ठाउँ-ठाउँमा बेस्सरी गहिरो खनिदिँदा पीडा भएर यो विशाल जन्तु छट-पटाउँछ रे। त्यसो हुँदा भूँइचालो चलेको रे।
यही कुरामा विश्वास गरेर अनेकौं मानिसहरू मरेर गए। त्यस बेलाका बाठाहरूले यस्तै कुरा गरेर हजारौं लाटा सुधाहरू-लाई दङ पारिदिए। त्यस बेलाका गुरुजनहरू पाउ पक्री भक्ति गर्ने चेलाहरूका अघि बसी जुँगा मुसार्दै, ताउ चढाएर यस्तै कुराहरू गर्थे—यस पृथ्वीको विषयमा। के तिनीहरूको भनाइ सत्य ठहरियो त?
सुरूमा ठूलो खालका ग्रामोफोन र रेडियो निस्कँदा, यति मीठो मन नै उडाई लैजाने गीत गाउने राम्री न राम्री केटी निश्चय नै यसभित्र नै बसेकी छ भनेर मानिसहरू जिद्दी गर्थे। यसभित्र कुनै केटी छैन भनी सक्झाउँदा, ‘को छ त यति राम्रो गीत गाउने यस बाकस-भित्र?’ भनी मानिसहरू भन्थे। यसो विचार गर्दा उनीहरूको कुरा पनि ठीकै हो। यस बाकसभित्र कोही पनि मान्छे छैन भने यति मीठो गीतचाहिँ कसले गायो? यसकारण बाकसमा कुनै केटी वा स्वर्गकी परी त हुनैपर्छ, पक्कै हुनुपर्छ।
बाहिरका मानिसहरूले यस प्रकारका अनेकौं कुरा गरे पनि त्यो ग्रामोफोन र रेडियो बनाउने मान्छेलाई चाहिँ त्यस रेडियोभित्र के छ भनेर पक्का-पक्का थाहा छ। रेडियो बनाउनेले मात्र ठीक कुरा बताउन सक्छ; किनभने रेडियो उसैले बनाएको हो। बिचरा त्यस रेडयो बनाउने मान्छेले गज्याङ-मज्याङ भएका तार र टीनका केही डल्ला-डुल्लीहरू ल्याएर “ए, मानिसहरूहो, गीत यसैले गाउँछ” भनी भनेमा सब मानिसहरू भुँडी मिची-मिची हाँस्नेछन्, र भन्नेछन्—“साथी, हामीलाई त्यति साह्रो हुस्सुचाहिँ नसम्झ न। कसरी त्यस गाँठा-गुँठीले गीत गाउँछ र?”, तर पनि त्यस रेडियो बनाउनेलाई नै कसले गीत गाउँछ, र त्यस रेडियो भित्र के छ, सो राम्ररी थाहा छ।
यही प्रकारले जुन शास्त्र परमेश्वरबाटको हो, त्यही शास्त्रले मात्र पृथ्वी वास्तवमा कहाँ छ, केमाथि उभिएको छ भनी बताउन सक्छ; किनभने आकाश र पृथ्वी परमेश्वरले बनाउनुभएको हो। बनाउने-वालालाई मात्र थाहा हुन्छ, अरूले त केवल अड्कल काटेर मात्र भन्छन्।
बाइबल धर्मशास्त्रको पछिल्लो किताब आत्माको प्रेरणाद्वारा1 लेखिँदा पहिलो किताब १५ सय वर्ष पुरानो भइसकेको थियो। यसकारण पहिलो पुस्तक यस संसारमा पाइने सबै शास्त्रहरूभन्दा पुरानो हो अथवा जेठो हो भन्नुमा किञ्चित पनि अत्युक्ति छैन। बाइबलले यस पृथ्वीको विषयमा त्यस बेलाको मान्छेको चित्तमा पस्दै नपस्ने कुरा भनेको थियो। अय्यूब नामक पुस्तकको २६ अध्यायको ७ पदमा भनेको छ, “उहाँले उत्तर दिशालाई शून्य ठाउँ-माथि फैलाउनुहुन्छ र पृथ्वीलाई चाहिँ शून्यमा झुन्ड्याउनुहुन्छ”।
बाइबलको यस्तो कुरा सुनी त्यस बेलाका मानिसहरू रातोपिरो होउन्जेल हाँसे होलान्, यसो भन्दै—“हा...हा...हा, पृथ्वी शून्य आकाशमा झुन्डिरहेको छ रे! न मुनि खाँबो छ, न त माथि अङ्कुसे, त्यसै आकाशमा झुन्डिरहेको छ रे। हा...हा...हा! के कुनै कुरा आकाशमा झुन्डिएर बस्न सक्छ र!” बाइबलमा यस्तो कुरा लेखिएको तीन हजार वर्ष पछाडि १६०९ A.D. मा ग्यालिलियो नामक विज्ञानवेत्ताले भने—“पृथ्वी पनि अरू ग्रहसरह आकाशमा झुन्डि-रहेको छ; अनि पृथ्वी सूर्यको वरिपरि घुम्छ।” तीन हजार वर्षपछि मानिसको ज्ञान बढिसकेपछि पनि यस्तो कुरा गरेकोमा तिनको खुबै निन्दा भयो। तिनले धेरै सतावट सहनुपर्यो। यसरी तीन हजार वर्षपछिका मानिसहरू पनि बाइबलको पृथ्वी आकाशमा टेकाबिना झुन्डिरहेको छ भन्ने कुरा स्वीकार गर्नका निम्ति तयार भएका थिएनन्। बाइबलले मान्छेको चित्तमा नपस्ने यस्तो कुरा भनेको थियो।
अब त मानिसहरू आकाशमा चम्किरहेको जूनमा गई, बसी, घुमी पृथ्वी फर्कने भइसके। यसरी जूनमा जाँदा तिनीहरूले पृथ्वीतिर फर्केर आफू बसेको पृथ्वीलाई हेरे! पृथ्वीलाई कछुवाले बोकेको रहेनछ। एटलास भन्ने दैँत्य पनि त्यहाँ थिएन, न त पृथ्वीलाई उचालिराख्ने खाँबाहरू नै त्यहाँ थिए। तर दुरुस्त बाइबलमा लेखिएको जस्तै पृथ्वी तुर्लुङ्ग झुन्डिरहेको थियो। लौ अब भन्नुहोस्, को सत्य ठहरियो?
आजभन्दा ३४ सय वर्षअघि पृथ्वीमा जन्मेको प्रत्येक व्यक्ति जवानदेखि लिएर मर्न लागेको वृद्धसम्मले पनि पृथ्वी कुनै न कुनै चीजमाथि बसालिएकै छ भनी सम्झन्थ्यो। त्यस्तो जमानामा बाइबलले कसरी पृथ्वी शून्य आकाशमा टेकाबिना झुन्डिरहेको छ भनी भन्न सक्यो होला? बाइबल शास्त्र मान्छेको बुद्धिबाट जन्मेको भए कहिल्यै यस्तो कुरा भन्ने थिएन। तर यो त परमेश्वरबाट आएको अद्वितीय शास्त्र भएको हुनाले वास्तवमा पृथ्वी कहाँ छ, बताउन सक्यो; किनभने सृष्टि गर्नुहुने परमेश्वर-लाई सब थोक राम्ररी थाहा छ।
प्रो. जेम्स डुइट (Prof. James Dwight Dana) अमे-रिकाका विख्यात् विज्ञानवेत्ता थिए। तिनले एकपल्ट येल यूनिभर्सिटीमा संसारका विभिन्न क्षेत्रमा प्रवेश गर्न लागेका ग्र्याजुएटहरूलाई भने—“जवानहरूहो! अब तिमीहरू संसारमा प्रवेश गर्दछौ। जब तिमीहरूले वैज्ञानिक समस्याको सामना गर्नुपर्दछ। त्यस घड़ी मेरो कुरा सम्झना गर। म एउटा वृद्ध मान्छे, जसले सम्पूर्ण जीवनभरि विज्ञानबाहेक अरू केही जानेन। तिमीहरूलाई भन्दछु, परमेश्वरको वचन बाइबलमा लेखिएको विज्ञानसम्बन्धी कुराहरू-भन्दा सत्य कुराहरू अरू केही छैनन्।”*
यस्तै अनुभवमा गएपछि डा. ह्यारी रिम्मर (Dr. Harry Rimmer) ले कसैले बाइबलमा एउटा मात्र वैज्ञानिक त्रुटि देखाएर प्रमाणित गर्न सक्यो भने उसलाई हजार डलर इनाम दिइनेछ भनी २७ वटा देशलाई चुनौती दिन सकेका थिए।
(ख) चन्द्रमाको सम्बन्धमा :
फेरि अर्को शास्त्रले चन्द्रमाको सम्बन्धमा यसो भनेको छ, “सकामकर्मीहरू, जो गाउँमा बसी कुवा खनाउँछन्। शुभकर्म गर्दै ईश्वरको उपासना गर्दछन्। उनीहरू मृत्युपछि मधुरो ज्योतिबाट पार भएर पितृलोकमा पुग्छन्। पितृलोकबाट आकाशमा, आकाश-बाट चन्द्रमामा पुग्छन् अर्थात् चन्द्रलोकमा पुग्छन्। चन्द्रलोकमा आफ्नो पुण्यको मीठो फल भोगिसकेपछि अघि जुन बाटोबाट गएका थिए, त्यही बाटोबाट फर्कन्छन्। उनीहरू आकाश, वायु, धुम्र र अभ्र हुँदै मेघमा आइपुग्छन्। यसरी बादलमा आइपुगेपछि वर्षा भएर पृथ्वीमा झर्छन्।
यसरी झरेका आत्माहरू पानीसँग बहँदै यताउता पुग्छन्। अन्न र फलफूलका बोटहरूले पानी चुस्ता ती आत्माहरू पनि पानीसँगै तानिएर कोही फलमा, कोही फूलमा, कोही पात आदिमा पुग्छन्। ती फलफूललाई जजसले खान्छन्, तिनकै गर्भमा ती चन्द्रलोकमा पुण्य खाएर फर्कनेहरू पुग्छन्। मान्छेले खाए मान्छेको गर्भमा र पशुले खाए पशुको गर्भमा पुग्छन्। यही प्रकारले आत्माहरू कोही मानिस, अनि कोहीचाहिँ पशुपक्षीका गर्भमा पुगेर फेरि जन्मन्छन्।”
शास्त्रका यही कुराहरू गरेर नै धेरै मानिसहरू बुद्धिमान् ठहरिए। लाखौंले पेट पालन गरे। समयको साथसाथै विज्ञान पनि छिप्पियो। अब मान्छेले पृथ्वीमा बसेर आकाशतिर हेरी अड्कल काट्ने समय गयो। मान्छेले यस ताराको देश (Galaxy) लाई छिचोलेर अर्को ताराको देशलाई पनि देख्न सक्ने दुर्बिन बनाइसके। पृथ्वीमा गरेको सुकर्म र पुण्यको स्वादिलो फल खाने ठाउँ, त्यस बैकुण्ठरुपी चन्द्रलोकमा पनि मानिसहरू जिउँदै पुगिसके। २० जुलाई, १९६९ A.D. को दिन अमेरिकाका नील आर्मस्ट्र्रङ (Neil Armstrong) अपोल्लो ११ (Apollo 11) नामक अन्तरिक्ष यानमा चढी चन्द्रमामा ओर्ले। त्यसपछि त अरू अनेकौं गइसके। १९६९ A.D. देखि यता अमेरिकाका विद्वान्हरू अन्तरिक्ष-यानमा चढी जूनमा पुगिरहेछन्। उनीहरू त्यहाँ बसे, खाए अनि फर्केर आए। तिनीहरूले त्यहाँ पृथ्वीका पुण्य कमाउने मानिसहरू-लाई धर्मको रसिलो फल खाइरहेका भेटेनन्। त्यहाँ तिनीहरूले मान्छेलाई भेटेनन्; न त पशुपक्षी र कीराफटेंग्रालाई भेटे। त्यहाँ बाँच्नका लागि हावा छैन, न त पिउनका लागि पानी नै छ। खानेकुराको त झन् कुरै नगरे पनि भयो। उनीहरूले बाँच्नलाई हावाधरि (Oxygen) यही पृथ्वीबाट लिएर गएका थिए। त्यहाँ घाँसको एक त्यान्द्रो पाइँदैन, न त रुखको एउटा पात नै पाइन्छ। त्यहाँको भूइँमा एक छेस्को घाँस पलाउँदैन।
युग बितेर जान्छ, एक झरी पानी पर्दैन। पृथ्वीबाट अति सुन्दर देखिने चन्द्रमा यस्तै रहेछ। पुण्य खाने लोक अर्थात् सोमलोक, ईश्वरलोक वा बैकुण्ठ केही होइन रहेछ चन्द्रमा। ती शास्त्रका लेखकहरूले त आकाशतिर हेरेर, अड्कल काटेर पो शास्त्रहरू लेखेका रहेछन्! चन्द्रमाको सुन्दरताद्वारा उनीहरू ठगि-एछन्। यसकारण यो आधुनिक वैज्ञानिक युग शास्त्रहरूका निम्ति त कुदिन नै ठहरियो।
तर बाइबलका निम्ति विज्ञान तथा वैज्ञानिक युग कुदिन ठहरिएको छैन, बरु सहायक ठहरिएको छ। हामीले अघिल्ला अध्यायहरूमै हेरिसकेका छौं। विज्ञानले विशेष पुरातत्वले व्यर्थमा निन्दा गर्ने विरोधीहरूको क्रूरताबाट बाइबलका साक्षीहरूलाई छुटाएको छ। यही जूनको सन्दर्भमा पनि विज्ञानले बाइबललाई औंला ठाडो पार्न सक्तैन; किनभने परमेश्वर सर्वतोमुखी विज्ञानका पनि परमेश्वर हुनुहुन्छ।
सधैं चुलामा काम गर्ने आमा कहीं टाढो जाँदा कलेज जाने छोरीले चुला सम्हाल्नुपर्छ। छोरी अलमल्ल पर्छे! कहाँ के छ, कहाँ के छैन, पत्तो हुँदैन। एउटा बट्टा खोल्छे, अनि आँखा ठूलो पारेर भन्छे—“ए... धूलो खुर्सानी त यहाँ रहेछ।” अर्को डिब्बा खोल्छे, अनि लामो सास फेरेर भन्छे, “हैन, खोजेको सामान त यहाँ पो रहेछ। आमाले पनि कहाँ-कहाँ राख्नुभाको!” विज्ञान अर्थात् वैज्ञा-निकहरू पनि यही छोरीजस्तै मात्र हुन्; जसले परमेश्वरले पृथ्वीको उत्पत्तिदेखि राख्नुभएको चीजलाई खोजेर निकाल्छन्। निकोलस कोपर्निकसले पृथ्वी लगायत ग्रहहरू सूर्यको वरिपरि घुम्छन् भनी अनुसन्धान गरे। तिनले भइराखेको कुरा खोजेर निकालेका मात्र हुन्, कलेज धाउने छोरीले झैं; तर पृथ्वीलाई सूर्यको वरिपरि घुम्ने बनाएका होइनन्। डा. भोन ब्राउन (Dr. Von Brown) ले जर्मनीमा इंगल्याण्डमाथि बर्सने रकेट बनाए। तर तिनले केबल परमेश्वरले विश्वको उत्पत्तिको दिनदेखि नै राखि छोड्नुभएको थरिथरिका शक्तिलाई एकत्र गरेर बनाए। तिनले आफ्नो पाकेटबाट केही चीज थपेका छैनन्। हो, डा. कोपर्निकस र डा. ब्राउनलाई हामीले सम्मान गर्नैपर्छ। फूलमाला छरी स्वागत गर्नैपर्छ; किनभने हामीले नसकेका काम उनीहरूले गरे! तर उनीहरूलाई हामी परमेश्वरभन्दा माथि चढाउन सक्तैनौं।
ग्यालिलियोले रातदिन आफ्नो दूरबीनलाई आकाशतिर ठड्याएर आखिरमा साँच्चै पृथ्वी शून्य आकाशमा झुन्डिरहेकै छ भनी प्रमाणित गरे। हामी ग्यालिलियोलाई पनि एउटा सम्मान चढाउँछौं! तर आदर, महिमा र प्रशंसा परमप्रधान परमेश्वरलाई नै छ; किनभने उत्पत्तिदेखि परमेश्वरले झुन्ड्याई राख्नुभएको कुरालाई ग्यालिलियोलाई थाहा पाएका मात्र हुन्। त, को ठूलो? बनाउनेवाला परमेश्वर ठूलो हुनुहुन्छ कि बल्ल-बल्ल थाहा पाउने मान्छे ठूलो? यस दृष्टिकोणले हेर्दा विज्ञानवेत्ताहरू केही होइनन्—परमेश्वरको छेउमा! तर पनि कुनैकुनै विज्ञानवेत्ताले मै हुँ भनेका छन्, अनि परमेश्वर केही हुनुहुन्न भनेका छन्। यो बडो दु:खको कुरा हो।
चन्द्रमाको सन्दर्भमा बाइबलको उत्पत्ति नामक किताबको पहिलो अध्यायको १४ पंक्तिमुताबिक परमेश्वरले घाम र जूनलाई पृथ्वीमा ज्योति दिनका निम्ति; अनि दिन, महिना र वर्ष बताउनका निम्ति दिनुभएको हो; अनि यस्तै भइरहेछ पनि। तर संसारलाई हेर्यौं भने कतिले यसलाई बैकुण्ठ सम्झेका छन्; कतिले ईश्वर। यसैकारण पूजा गर्छन्। सूर्य र चन्द्रमालाई ईश्वर मानी पूजा गर्नेहरू सबैतिर छन्। ऊरुवासीले पनि आफ्नो मन्दिर तेल मुकायरमा चन्द्र नन्नरलाई पूजा गर्थे।*
यसरी यिनको सुन्दरताद्वारा संसारै ठगिए तापनि बाइबल ठगिएन। किनभने यिनीहरू ईश्वर होइनन् भनी सृष्टि गर्नुहुनेलाई थाहा छ। विज्ञानमुताबिक यी ईश्वर होइनन्, न त बैकुण्ठ नै हुन्; तर सृष्टिकर्ताले मानिसका भलाइका निम्ति बनाउनुभएको वस्तुहरू हुन्। यसकारण विज्ञानले बाइबललाई नै सत्य ठहरायो।
सुनलाई जति बेसी आगोमा जलाइन्छ, उति नै बेसी निक्खुर बन्दछ। यही प्रकारले प्रत्येक अग्नीरुपी जाँचले बाइबललाई झन् सत्य, झन् उज्यालो बनाएको छ। जतिजनाले बाइबललाई जाँचे, उनीहरू आफै पनि परिवर्तित नभई छोडेनन्। यसैकारण धेरै बाइबलका घोर विरोधीहरू नै पछिबाट बाइबलका सच्चा विश्वासी र प्रभु ख्रीष्टका साँचो भक्तहरू भएका पनि छन्। हामी दुनियाँलाई बाइबलका भूलहरू छ्याङ्छ्याङ्ती देखाइदिन्छौं, ढाकछोप गर्ने कुरालाई एक-एक उतारिदिएर बाइबलको असली रुप संसारको सम्मुख उभ्याइदिन्छौं भन्ने उमङ्गपूर्ण लक्ष्य लिएर उनीहरू बाइबल-लाई कडाभन्दा कडा जाँच गर्नलाई खोज-तलाशमा डुब्छन्। तर खोज गर्दै जाँदा अनेकौं-अनेकौं कुराहरूले खण्डन नै गर्न नसकिने गरी बाइबललाई सत्य ठहराइदिएका देख्दा उनीहरू अवाक् हुन्छन्। त्यसपछि बडो आनन्दका साथमा आफूले विरोध गरेकै बाइबललाई सम्पूर्ण हृदयले अँगाल्छन्। यस्तै एकजना विद्वान् हुन्, जेनेरल लिउ वालेस।
(क) जेनेरल लिउ वालेस :
एकदिन तिनी रेलमा यात्रा गरिरहेका थिए। रेलमा जाँदैगर्दा एकजना नाम चलेको नास्तिकसँग तिनको भेट भयो। उसको नाम थियो, कर्णल रबर्ट जी. इङ्गेरसोल। परमेश्वरप्रति भएको मानिस-हरूको श्रद्धा र विश्वासलाई धूलोपीठो पार्ने नै उसको जीवको लक्ष्य थियो। थपक्क एउटा बाकसमाथि चढेर परमेश्वरको विरोधमा निन्दापूर्ण कुराहरू बक्दथ्यो। यस्ता निन्दापूर्ण कुरा सुनी मानिसहरू अक्क न बक्क हुन्थे। त्यही समयमा उसले गोजीबाट घड़ी निकाल्थ्यो; र आकाशतिर आँखा उठाई कराउँथ्यो—“आकाशमा कोही ईश्वर भन्ने व्यक्ति छ भने उसलाई म चुनौति दिन्छु। उसले ६० सेकेन्डभित्र मलाई यहीं ठहरै पारोस्, र ‘म छु’ भनी प्रमाणित गरोस्!” डरले सास फेर्न पनि नसक्ने भइरहेको भीडका सम्मुख तब उसले भन्थ्यो—“साठी सेकेण्ड बित्यो! अझै म खडा छु! म यहाँ अझै खडा रहनसक्नु नै परमेश्वर छैन भन्ने कुराको प्रमाण हो!” यस्तै किसिमको मानिस थियो इङ्गेरसोल।
तब ती दुई ख्रीष्टियान धर्म कति आधारहीन र मूर्खतापूर्ण छ भन्ने विचार लिएर घण्टौंसम्म कुराकानी गर्नमा चुर्लुम्म डुबे। एक्कासी इङ्गेरसोलको मनमा एउटा विचार जागृत हुन्छ, र उसले जर्नेल वालेसको चेहेरामा निहार्दै भन्छ—“हजुर, तपाईं बडो बुद्धिमान् मानिस हुनुहुन्छ; फेरि अत्यन्तै शिक्षित पनि हुनुहुन्छ। तपाईंले ख्रीष्टियान धर्मको फोस्रोपनको विषयमा एउटा किताब लेख्नुभयो भने कति असल हुनेथ्यो। येशू ख्रीष्टले पृथ्वीमा खुट्टा टेकेकै छैनन् भनेर चित्त बुझ्ने प्रकारले लेख्नुभयो भने त तपाईंको किताब सम्पूर्ण संसारमा जेठो ठहरिनेछ।”
यस्तो किताब लेखेर नाम कमाउने ठूलो इच्छा जर्नेल वालेसको हृदयमा पैदा पनि भयो। तब अनेकौं-अनेकौं सालसम्म बडो मेहेनत गरेर, धेरै पैसा बगाएर धेरै तथ्यहरू जम्मा गरे। तब सारा संसारलाई हलचल मच्चाउने किताब लेख्न बसे। चार अध्याय लेखिसकेपछि तिनको मन बेचैन भयो। तिनले सोचे—“येशू ख्रीष्ट काल्पनिक व्यक्ति होइनन्, तर तिनी ऐतिहासिक व्यक्ति हुन्। ऐति-हासिक व्यक्तिभन्दा पनि बेसी हुन्। म सत्यलाई कसरी असत्य भनूँ? सेतोलाई कसरी कालो भनूँ? के म यति साह्रो बेइमान र नीच मान्छे हुँ?” यसरी सोच्दा-सोच्दै तिनको हृदय पछुतो, ग्लानी र दु:खले भरियो। उनी बडो पश्चात्तापी भए; तब ५० वर्षको उमेरमा तिनले आफूलाई रद्द तुल्याउन चाहेकै प्रभुको चरणमा आफ्ना घुँडा टेके। सारा पापको क्षमा मागे; अनि प्रभु येशूलाई व्यक्तिगत मुक्तिदाताको रुपमा हृदयमा ग्रहण गरे।
ख्रीष्ट येशूलाई रद्द तुल्याउने उद्देश्य राखेर वर्षौं लगाएर खोजी गर्दा येशूको सम्बन्धमा जे तथ्यहरू भेटेका थिए, ती तथ्यहरूलाई नै प्रयोग गरी लिउ वालेसले फेरि अर्को किताब लेखे। त्यस किताबको नाम हो बेन हूर (Ben Hur)। त्यस किताबले संसारलाई स्पन्दित गराएको छ। त्यस किताबको चलचित्र पनि तयार भएको छ। बाइबललाई असत्य ठहराउनालाई धन, बल र बुद्धि खर्च गर्ने अनेकौं बुद्धिमान् मानिसहरूले जर्नेल लि वालेसले झैं बाइबललाई परमेश्वरको एक मात्र सत्य शास्त्र भन्ने जानेर अँगालेका छन्; अनि बाइबलका जन्मदाता ख्रीष्ट येशूलाई चाहिँ आफ्नो मुक्तिदाता र प्रभु भनी ग्रहण गरेका छन्।
(ख) गिल्बर्ट वेस्ट र लर्ड लिट्टलटोन :
दुई योग्य जवानहरूले ख्रीष्टियान विश्वासको जरालाई नै हमला गरी त्यस उधुम मच्चाउने ख्रीष्टियान धर्मलाई नै ढालिदिने निश्चय गरे। तिनीहरूका नाम हुन् : गिल्बर्ट वेस्ट र लर्ड लिट्टलटोन। लिट्टलटोनले चाहिँ पावल, जसलाई प्रयोग गरी प्रभुले ख्रीष्टियान विश्वासको जग हाल्नुभएको थियो। प्रभुका चेला भएका हुँदै होइनन् भनी प्रमाणित गर्नालाई कम्मर कसे। गिल्बर्ट वेस्टले चाहिँ ख्रीष्ट येशू चिहानबाट बौरेर उठ्नुभएको हुँदै होइन भनी सम्पूर्ण संसारलाई देखाइदिने भए। यसरी आ-आफ्ना कामको जिम्मा लिएर बाटो लागे आ-आफ्ना क्षेत्रमा काम गर्नलाई। केही समयपछि खोज गरेर के-के पत्ता लगाए भन्ने विषयमा कुरा गर्नलाई परस्पर-सँग भेट गरे। दुवै एका-अर्कासँग अलिक लजाएका र डराएका पनि थिए। दुवैले एउटै अर्थात् आशा नगरेको कुराको विषयमा निर्णय गरेका थिए। लिट्टलटोनले भने—“खूब खोजी गरेपछि मैले यो प्रमाण पाएँ, पावल प्रभुका चेला भएकै रहेछन्! चेला भएपछि तिनी पूर्णतया नयाँ मान्छे भएकै रहेछन्।” गिल्बर्ट बेस्टले पनि भने—“खोज गरेपछि अनेकौं-अनेकौं प्रमाणहरू पाइए। ख्रीष्ट येशू चिहानबाट बौरेर उठ्नुभएकै हो भनी ती प्रमाणहरू काट्नै नसक्ने गरी प्रमाण दिँदछन्।”
यसरी जरै काटी बाइबललाई ढाल्न चाहनेहरू नै, अनेकौं खोज गरेपछि बाइबलका विश्वासी मात्र होइन, तर प्रभुका अनुगामी पनि बनेका छन्। गिल्बर्ट वेस्टले आफूले खोजेर भेटेका कुराहरू खामेर १७४७ A.D. मा एउटा किताब पनि लेखे। त्यस किताबको नाम हो—इतिहासको निरीक्षण, र ख्रीष्ट येशूको पुनरुत्थानका प्रमाणहरू (Observations of the History and Evidence of the Resurrection of Jesus Christ)। तिनले त्यस किताबको पहिलो पानामै यो कुरा छापेका छन्, ‘सत्यलाई जाँच गर्नुभन्दा पहिले दोष नदेऊ।’*
बाइबललाई फेदैमा बन्चरो हानी ढाल्ने मनासय राखेर गिल्बर्ट वेस्टले बाइबलको सत्यतालाई जाँचै नगरी बाइबललाई दोष दिइरहेका थिए। यस अपराधले तिनको हृदयलाई घोचिबस्यो। यसकारण बाइबलको पक्षमा लेखेको आफ्नो किताबको पहिलो पानामै यो उक्ति छाप्छन्—‘सत्यलाई पूरा जाँच नगरेसम्म दोष नदेऊ।’ के आँखामा आँसु र हृदयमा पीडा लिएर यी विरोधीहरूले बाइबल सत्य रहेछ भनी भनेका छैनन् र?
अध्याय पाँच : बाइबलका विरोधीहरूका केही अद्भुत अनुभवहरू
हाम्रो पृथ्वीको सम्बन्धमा :
हाम्रा चारैपट्टि घाम, जून, तारा र पृथ्वीलाई हेरेर शास्त्र-हरूले साथै ज्ञानी मानिसहरूले धेरै कुरा भनेका छन्। एक समयमा सभ्यता मिस्र देशमा पनि जन्मिएको थियो। पुरानो समयका सात आश्चर्यहरूमध्ये एक आश्चर्य यही मिस्रमा थियो। यस्ता देशका ज्ञानीहरूले भन्थे—“ठूलो उड्दै गरेको अण्डाबाट उत्पन्न भएको यो पृथ्वी अनेकौं-अनेकौं खाँबाहरूमाथि राखिएको छ।” अनेकौं बुद्धि-मान् दार्शनिकहरूले जन्माउने ग्रीस देशका ज्ञानीहरू भन्थे—“यस पृथ्वीलाई एटलास नाम भएको दैँत्यले बोकिराखेको छ”।
हाम्रो छिमेकी भारत देश पनि पुरानो जमानामा कम थिएन। यसकारण यस देशले पनि आकाश र पृथ्वीको विषयमा कुरा गरेको थियो। यस देशको भनाइअनुसार यो पृथ्वी कछुवाको ढाडमाथि बसालिएको छ रे। कतिको भनाइअनुसार अनेकौं हात्तीहरूका शिरमाथि बसालिएको छ रे। अरू-अरू जातिको भनाइमुताबिक यो पृथ्वीचाहिँ एउटा जिउँदो विशाल जन्तु हो रे। मानिसहरूले ठाउँ-ठाउँमा बेस्सरी गहिरो खनिदिँदा पीडा भएर यो विशाल जन्तु छट-पटाउँछ रे। त्यसो हुँदा भूँइचालो चलेको रे।
यही कुरामा विश्वास गरेर अनेकौं मानिसहरू मरेर गए। त्यस बेलाका बाठाहरूले यस्तै कुरा गरेर हजारौं लाटा सुधाहरू-लाई दङ पारिदिए। त्यस बेलाका गुरुजनहरू पाउ पक्री भक्ति गर्ने चेलाहरूका अघि बसी जुँगा मुसार्दै, ताउ चढाएर यस्तै कुराहरू गर्थे—यस पृथ्वीको विषयमा। के तिनीहरूको भनाइ सत्य ठहरियो त?
सुरूमा ठूलो खालका ग्रामोफोन र रेडियो निस्कँदा, यति मीठो मन नै उडाई लैजाने गीत गाउने राम्री न राम्री केटी निश्चय नै यसभित्र नै बसेकी छ भनेर मानिसहरू जिद्दी गर्थे। यसभित्र कुनै केटी छैन भनी सक्झाउँदा, ‘को छ त यति राम्रो गीत गाउने यस बाकस-भित्र?’ भनी मानिसहरू भन्थे। यसो विचार गर्दा उनीहरूको कुरा पनि ठीकै हो। यस बाकसभित्र कोही पनि मान्छे छैन भने यति मीठो गीतचाहिँ कसले गायो? यसकारण बाकसमा कुनै केटी वा स्वर्गकी परी त हुनैपर्छ, पक्कै हुनुपर्छ।
बाहिरका मानिसहरूले यस प्रकारका अनेकौं कुरा गरे पनि त्यो ग्रामोफोन र रेडियो बनाउने मान्छेलाई चाहिँ त्यस रेडियोभित्र के छ भनेर पक्का-पक्का थाहा छ। रेडियो बनाउनेले मात्र ठीक कुरा बताउन सक्छ; किनभने रेडियो उसैले बनाएको हो। बिचरा त्यस रेडयो बनाउने मान्छेले गज्याङ-मज्याङ भएका तार र टीनका केही डल्ला-डुल्लीहरू ल्याएर “ए, मानिसहरूहो, गीत यसैले गाउँछ” भनी भनेमा सब मानिसहरू भुँडी मिची-मिची हाँस्नेछन्, र भन्नेछन्—“साथी, हामीलाई त्यति साह्रो हुस्सुचाहिँ नसम्झ न। कसरी त्यस गाँठा-गुँठीले गीत गाउँछ र?”, तर पनि त्यस रेडियो बनाउनेलाई नै कसले गीत गाउँछ, र त्यस रेडियो भित्र के छ, सो राम्ररी थाहा छ।
यही प्रकारले जुन शास्त्र परमेश्वरबाटको हो, त्यही शास्त्रले मात्र पृथ्वी वास्तवमा कहाँ छ, केमाथि उभिएको छ भनी बताउन सक्छ; किनभने आकाश र पृथ्वी परमेश्वरले बनाउनुभएको हो। बनाउने-वालालाई मात्र थाहा हुन्छ, अरूले त केवल अड्कल काटेर मात्र भन्छन्।
बाइबल धर्मशास्त्रको पछिल्लो किताब आत्माको प्रेरणाद्वारा1 लेखिँदा पहिलो किताब १५ सय वर्ष पुरानो भइसकेको थियो। यसकारण पहिलो पुस्तक यस संसारमा पाइने सबै शास्त्रहरूभन्दा पुरानो हो अथवा जेठो हो भन्नुमा किञ्चित पनि अत्युक्ति छैन। बाइबलले यस पृथ्वीको विषयमा त्यस बेलाको मान्छेको चित्तमा पस्दै नपस्ने कुरा भनेको थियो। अय्यूब नामक पुस्तकको २६ अध्यायको ७ पदमा भनेको छ, “उहाँले उत्तर दिशालाई शून्य ठाउँ-माथि फैलाउनुहुन्छ र पृथ्वीलाई चाहिँ शून्यमा झुन्ड्याउनुहुन्छ”।
बाइबलको यस्तो कुरा सुनी त्यस बेलाका मानिसहरू रातोपिरो होउन्जेल हाँसे होलान्, यसो भन्दै—“हा...हा...हा, पृथ्वी शून्य आकाशमा झुन्डिरहेको छ रे! न मुनि खाँबो छ, न त माथि अङ्कुसे, त्यसै आकाशमा झुन्डिरहेको छ रे। हा...हा...हा! के कुनै कुरा आकाशमा झुन्डिएर बस्न सक्छ र!” बाइबलमा यस्तो कुरा लेखिएको तीन हजार वर्ष पछाडि १६०९ A.D. मा ग्यालिलियो नामक विज्ञानवेत्ताले भने—“पृथ्वी पनि अरू ग्रहसरह आकाशमा झुन्डि-रहेको छ; अनि पृथ्वी सूर्यको वरिपरि घुम्छ।” तीन हजार वर्षपछि मानिसको ज्ञान बढिसकेपछि पनि यस्तो कुरा गरेकोमा तिनको खुबै निन्दा भयो। तिनले धेरै सतावट सहनुपर्यो। यसरी तीन हजार वर्षपछिका मानिसहरू पनि बाइबलको पृथ्वी आकाशमा टेकाबिना झुन्डिरहेको छ भन्ने कुरा स्वीकार गर्नका निम्ति तयार भएका थिएनन्। बाइबलले मान्छेको चित्तमा नपस्ने यस्तो कुरा भनेको थियो।
अब त मानिसहरू आकाशमा चम्किरहेको जूनमा गई, बसी, घुमी पृथ्वी फर्कने भइसके। यसरी जूनमा जाँदा तिनीहरूले पृथ्वीतिर फर्केर आफू बसेको पृथ्वीलाई हेरे! पृथ्वीलाई कछुवाले बोकेको रहेनछ। एटलास भन्ने दैँत्य पनि त्यहाँ थिएन, न त पृथ्वीलाई उचालिराख्ने खाँबाहरू नै त्यहाँ थिए। तर दुरुस्त बाइबलमा लेखिएको जस्तै पृथ्वी तुर्लुङ्ग झुन्डिरहेको थियो। लौ अब भन्नुहोस्, को सत्य ठहरियो?
आजभन्दा ३४ सय वर्षअघि पृथ्वीमा जन्मेको प्रत्येक व्यक्ति जवानदेखि लिएर मर्न लागेको वृद्धसम्मले पनि पृथ्वी कुनै न कुनै चीजमाथि बसालिएकै छ भनी सम्झन्थ्यो। त्यस्तो जमानामा बाइबलले कसरी पृथ्वी शून्य आकाशमा टेकाबिना झुन्डिरहेको छ भनी भन्न सक्यो होला? बाइबल शास्त्र मान्छेको बुद्धिबाट जन्मेको भए कहिल्यै यस्तो कुरा भन्ने थिएन। तर यो त परमेश्वरबाट आएको अद्वितीय शास्त्र भएको हुनाले वास्तवमा पृथ्वी कहाँ छ, बताउन सक्यो; किनभने सृष्टि गर्नुहुने परमेश्वर-लाई सब थोक राम्ररी थाहा छ।
प्रो. जेम्स डुइट (Prof. James Dwight Dana) अमे-रिकाका विख्यात् विज्ञानवेत्ता थिए। तिनले एकपल्ट येल यूनिभर्सिटीमा संसारका विभिन्न क्षेत्रमा प्रवेश गर्न लागेका ग्र्याजुएटहरूलाई भने—“जवानहरूहो! अब तिमीहरू संसारमा प्रवेश गर्दछौ। जब तिमीहरूले वैज्ञानिक समस्याको सामना गर्नुपर्दछ। त्यस घड़ी मेरो कुरा सम्झना गर। म एउटा वृद्ध मान्छे, जसले सम्पूर्ण जीवनभरि विज्ञानबाहेक अरू केही जानेन। तिमीहरूलाई भन्दछु, परमेश्वरको वचन बाइबलमा लेखिएको विज्ञानसम्बन्धी कुराहरू-भन्दा सत्य कुराहरू अरू केही छैनन्।”*
यस्तै अनुभवमा गएपछि डा. ह्यारी रिम्मर (Dr. Harry Rimmer) ले कसैले बाइबलमा एउटा मात्र वैज्ञानिक त्रुटि देखाएर प्रमाणित गर्न सक्यो भने उसलाई हजार डलर इनाम दिइनेछ भनी २७ वटा देशलाई चुनौती दिन सकेका थिए।
(ख) चन्द्रमाको सम्बन्धमा :
फेरि अर्को शास्त्रले चन्द्रमाको सम्बन्धमा यसो भनेको छ, “सकामकर्मीहरू, जो गाउँमा बसी कुवा खनाउँछन्। शुभकर्म गर्दै ईश्वरको उपासना गर्दछन्। उनीहरू मृत्युपछि मधुरो ज्योतिबाट पार भएर पितृलोकमा पुग्छन्। पितृलोकबाट आकाशमा, आकाश-बाट चन्द्रमामा पुग्छन् अर्थात् चन्द्रलोकमा पुग्छन्। चन्द्रलोकमा आफ्नो पुण्यको मीठो फल भोगिसकेपछि अघि जुन बाटोबाट गएका थिए, त्यही बाटोबाट फर्कन्छन्। उनीहरू आकाश, वायु, धुम्र र अभ्र हुँदै मेघमा आइपुग्छन्। यसरी बादलमा आइपुगेपछि वर्षा भएर पृथ्वीमा झर्छन्।
यसरी झरेका आत्माहरू पानीसँग बहँदै यताउता पुग्छन्। अन्न र फलफूलका बोटहरूले पानी चुस्ता ती आत्माहरू पनि पानीसँगै तानिएर कोही फलमा, कोही फूलमा, कोही पात आदिमा पुग्छन्। ती फलफूललाई जजसले खान्छन्, तिनकै गर्भमा ती चन्द्रलोकमा पुण्य खाएर फर्कनेहरू पुग्छन्। मान्छेले खाए मान्छेको गर्भमा र पशुले खाए पशुको गर्भमा पुग्छन्। यही प्रकारले आत्माहरू कोही मानिस, अनि कोहीचाहिँ पशुपक्षीका गर्भमा पुगेर फेरि जन्मन्छन्।”
शास्त्रका यही कुराहरू गरेर नै धेरै मानिसहरू बुद्धिमान् ठहरिए। लाखौंले पेट पालन गरे। समयको साथसाथै विज्ञान पनि छिप्पियो। अब मान्छेले पृथ्वीमा बसेर आकाशतिर हेरी अड्कल काट्ने समय गयो। मान्छेले यस ताराको देश (Galaxy) लाई छिचोलेर अर्को ताराको देशलाई पनि देख्न सक्ने दुर्बिन बनाइसके। पृथ्वीमा गरेको सुकर्म र पुण्यको स्वादिलो फल खाने ठाउँ, त्यस बैकुण्ठरुपी चन्द्रलोकमा पनि मानिसहरू जिउँदै पुगिसके। २० जुलाई, १९६९ A.D. को दिन अमेरिकाका नील आर्मस्ट्र्रङ (Neil Armstrong) अपोल्लो ११ (Apollo 11) नामक अन्तरिक्ष यानमा चढी चन्द्रमामा ओर्ले। त्यसपछि त अरू अनेकौं गइसके। १९६९ A.D. देखि यता अमेरिकाका विद्वान्हरू अन्तरिक्ष-यानमा चढी जूनमा पुगिरहेछन्। उनीहरू त्यहाँ बसे, खाए अनि फर्केर आए। तिनीहरूले त्यहाँ पृथ्वीका पुण्य कमाउने मानिसहरू-लाई धर्मको रसिलो फल खाइरहेका भेटेनन्। त्यहाँ तिनीहरूले मान्छेलाई भेटेनन्; न त पशुपक्षी र कीराफटेंग्रालाई भेटे। त्यहाँ बाँच्नका लागि हावा छैन, न त पिउनका लागि पानी नै छ। खानेकुराको त झन् कुरै नगरे पनि भयो। उनीहरूले बाँच्नलाई हावाधरि (Oxygen) यही पृथ्वीबाट लिएर गएका थिए। त्यहाँ घाँसको एक त्यान्द्रो पाइँदैन, न त रुखको एउटा पात नै पाइन्छ। त्यहाँको भूइँमा एक छेस्को घाँस पलाउँदैन।
युग बितेर जान्छ, एक झरी पानी पर्दैन। पृथ्वीबाट अति सुन्दर देखिने चन्द्रमा यस्तै रहेछ। पुण्य खाने लोक अर्थात् सोमलोक, ईश्वरलोक वा बैकुण्ठ केही होइन रहेछ चन्द्रमा। ती शास्त्रका लेखकहरूले त आकाशतिर हेरेर, अड्कल काटेर पो शास्त्रहरू लेखेका रहेछन्! चन्द्रमाको सुन्दरताद्वारा उनीहरू ठगि-एछन्। यसकारण यो आधुनिक वैज्ञानिक युग शास्त्रहरूका निम्ति त कुदिन नै ठहरियो।
तर बाइबलका निम्ति विज्ञान तथा वैज्ञानिक युग कुदिन ठहरिएको छैन, बरु सहायक ठहरिएको छ। हामीले अघिल्ला अध्यायहरूमै हेरिसकेका छौं। विज्ञानले विशेष पुरातत्वले व्यर्थमा निन्दा गर्ने विरोधीहरूको क्रूरताबाट बाइबलका साक्षीहरूलाई छुटाएको छ। यही जूनको सन्दर्भमा पनि विज्ञानले बाइबललाई औंला ठाडो पार्न सक्तैन; किनभने परमेश्वर सर्वतोमुखी विज्ञानका पनि परमेश्वर हुनुहुन्छ।
सधैं चुलामा काम गर्ने आमा कहीं टाढो जाँदा कलेज जाने छोरीले चुला सम्हाल्नुपर्छ। छोरी अलमल्ल पर्छे! कहाँ के छ, कहाँ के छैन, पत्तो हुँदैन। एउटा बट्टा खोल्छे, अनि आँखा ठूलो पारेर भन्छे—“ए... धूलो खुर्सानी त यहाँ रहेछ।” अर्को डिब्बा खोल्छे, अनि लामो सास फेरेर भन्छे, “हैन, खोजेको सामान त यहाँ पो रहेछ। आमाले पनि कहाँ-कहाँ राख्नुभाको!” विज्ञान अर्थात् वैज्ञा-निकहरू पनि यही छोरीजस्तै मात्र हुन्; जसले परमेश्वरले पृथ्वीको उत्पत्तिदेखि राख्नुभएको चीजलाई खोजेर निकाल्छन्। निकोलस कोपर्निकसले पृथ्वी लगायत ग्रहहरू सूर्यको वरिपरि घुम्छन् भनी अनुसन्धान गरे। तिनले भइराखेको कुरा खोजेर निकालेका मात्र हुन्, कलेज धाउने छोरीले झैं; तर पृथ्वीलाई सूर्यको वरिपरि घुम्ने बनाएका होइनन्। डा. भोन ब्राउन (Dr. Von Brown) ले जर्मनीमा इंगल्याण्डमाथि बर्सने रकेट बनाए। तर तिनले केबल परमेश्वरले विश्वको उत्पत्तिको दिनदेखि नै राखि छोड्नुभएको थरिथरिका शक्तिलाई एकत्र गरेर बनाए। तिनले आफ्नो पाकेटबाट केही चीज थपेका छैनन्। हो, डा. कोपर्निकस र डा. ब्राउनलाई हामीले सम्मान गर्नैपर्छ। फूलमाला छरी स्वागत गर्नैपर्छ; किनभने हामीले नसकेका काम उनीहरूले गरे! तर उनीहरूलाई हामी परमेश्वरभन्दा माथि चढाउन सक्तैनौं।
ग्यालिलियोले रातदिन आफ्नो दूरबीनलाई आकाशतिर ठड्याएर आखिरमा साँच्चै पृथ्वी शून्य आकाशमा झुन्डिरहेकै छ भनी प्रमाणित गरे। हामी ग्यालिलियोलाई पनि एउटा सम्मान चढाउँछौं! तर आदर, महिमा र प्रशंसा परमप्रधान परमेश्वरलाई नै छ; किनभने उत्पत्तिदेखि परमेश्वरले झुन्ड्याई राख्नुभएको कुरालाई ग्यालिलियोलाई थाहा पाएका मात्र हुन्। त, को ठूलो? बनाउनेवाला परमेश्वर ठूलो हुनुहुन्छ कि बल्ल-बल्ल थाहा पाउने मान्छे ठूलो? यस दृष्टिकोणले हेर्दा विज्ञानवेत्ताहरू केही होइनन्—परमेश्वरको छेउमा! तर पनि कुनैकुनै विज्ञानवेत्ताले मै हुँ भनेका छन्, अनि परमेश्वर केही हुनुहुन्न भनेका छन्। यो बडो दु:खको कुरा हो।
चन्द्रमाको सन्दर्भमा बाइबलको उत्पत्ति नामक किताबको पहिलो अध्यायको १४ पंक्तिमुताबिक परमेश्वरले घाम र जूनलाई पृथ्वीमा ज्योति दिनका निम्ति; अनि दिन, महिना र वर्ष बताउनका निम्ति दिनुभएको हो; अनि यस्तै भइरहेछ पनि। तर संसारलाई हेर्यौं भने कतिले यसलाई बैकुण्ठ सम्झेका छन्; कतिले ईश्वर। यसैकारण पूजा गर्छन्। सूर्य र चन्द्रमालाई ईश्वर मानी पूजा गर्नेहरू सबैतिर छन्। ऊरुवासीले पनि आफ्नो मन्दिर तेल मुकायरमा चन्द्र नन्नरलाई पूजा गर्थे।*
यसरी यिनको सुन्दरताद्वारा संसारै ठगिए तापनि बाइबल ठगिएन। किनभने यिनीहरू ईश्वर होइनन् भनी सृष्टि गर्नुहुनेलाई थाहा छ। विज्ञानमुताबिक यी ईश्वर होइनन्, न त बैकुण्ठ नै हुन्; तर सृष्टिकर्ताले मानिसका भलाइका निम्ति बनाउनुभएको वस्तुहरू हुन्। यसकारण विज्ञानले बाइबललाई नै सत्य ठहरायो।
सुनलाई जति बेसी आगोमा जलाइन्छ, उति नै बेसी निक्खुर बन्दछ। यही प्रकारले प्रत्येक अग्नीरुपी जाँचले बाइबललाई झन् सत्य, झन् उज्यालो बनाएको छ। जतिजनाले बाइबललाई जाँचे, उनीहरू आफै पनि परिवर्तित नभई छोडेनन्। यसैकारण धेरै बाइबलका घोर विरोधीहरू नै पछिबाट बाइबलका सच्चा विश्वासी र प्रभु ख्रीष्टका साँचो भक्तहरू भएका पनि छन्। हामी दुनियाँलाई बाइबलका भूलहरू छ्याङ्छ्याङ्ती देखाइदिन्छौं, ढाकछोप गर्ने कुरालाई एक-एक उतारिदिएर बाइबलको असली रुप संसारको सम्मुख उभ्याइदिन्छौं भन्ने उमङ्गपूर्ण लक्ष्य लिएर उनीहरू बाइबल-लाई कडाभन्दा कडा जाँच गर्नलाई खोज-तलाशमा डुब्छन्। तर खोज गर्दै जाँदा अनेकौं-अनेकौं कुराहरूले खण्डन नै गर्न नसकिने गरी बाइबललाई सत्य ठहराइदिएका देख्दा उनीहरू अवाक् हुन्छन्। त्यसपछि बडो आनन्दका साथमा आफूले विरोध गरेकै बाइबललाई सम्पूर्ण हृदयले अँगाल्छन्। यस्तै एकजना विद्वान् हुन्, जेनेरल लिउ वालेस।
(क) जेनेरल लिउ वालेस :
एकदिन तिनी रेलमा यात्रा गरिरहेका थिए। रेलमा जाँदैगर्दा एकजना नाम चलेको नास्तिकसँग तिनको भेट भयो। उसको नाम थियो, कर्णल रबर्ट जी. इङ्गेरसोल। परमेश्वरप्रति भएको मानिस-हरूको श्रद्धा र विश्वासलाई धूलोपीठो पार्ने नै उसको जीवको लक्ष्य थियो। थपक्क एउटा बाकसमाथि चढेर परमेश्वरको विरोधमा निन्दापूर्ण कुराहरू बक्दथ्यो। यस्ता निन्दापूर्ण कुरा सुनी मानिसहरू अक्क न बक्क हुन्थे। त्यही समयमा उसले गोजीबाट घड़ी निकाल्थ्यो; र आकाशतिर आँखा उठाई कराउँथ्यो—“आकाशमा कोही ईश्वर भन्ने व्यक्ति छ भने उसलाई म चुनौति दिन्छु। उसले ६० सेकेन्डभित्र मलाई यहीं ठहरै पारोस्, र ‘म छु’ भनी प्रमाणित गरोस्!” डरले सास फेर्न पनि नसक्ने भइरहेको भीडका सम्मुख तब उसले भन्थ्यो—“साठी सेकेण्ड बित्यो! अझै म खडा छु! म यहाँ अझै खडा रहनसक्नु नै परमेश्वर छैन भन्ने कुराको प्रमाण हो!” यस्तै किसिमको मानिस थियो इङ्गेरसोल।
तब ती दुई ख्रीष्टियान धर्म कति आधारहीन र मूर्खतापूर्ण छ भन्ने विचार लिएर घण्टौंसम्म कुराकानी गर्नमा चुर्लुम्म डुबे। एक्कासी इङ्गेरसोलको मनमा एउटा विचार जागृत हुन्छ, र उसले जर्नेल वालेसको चेहेरामा निहार्दै भन्छ—“हजुर, तपाईं बडो बुद्धिमान् मानिस हुनुहुन्छ; फेरि अत्यन्तै शिक्षित पनि हुनुहुन्छ। तपाईंले ख्रीष्टियान धर्मको फोस्रोपनको विषयमा एउटा किताब लेख्नुभयो भने कति असल हुनेथ्यो। येशू ख्रीष्टले पृथ्वीमा खुट्टा टेकेकै छैनन् भनेर चित्त बुझ्ने प्रकारले लेख्नुभयो भने त तपाईंको किताब सम्पूर्ण संसारमा जेठो ठहरिनेछ।”
यस्तो किताब लेखेर नाम कमाउने ठूलो इच्छा जर्नेल वालेसको हृदयमा पैदा पनि भयो। तब अनेकौं-अनेकौं सालसम्म बडो मेहेनत गरेर, धेरै पैसा बगाएर धेरै तथ्यहरू जम्मा गरे। तब सारा संसारलाई हलचल मच्चाउने किताब लेख्न बसे। चार अध्याय लेखिसकेपछि तिनको मन बेचैन भयो। तिनले सोचे—“येशू ख्रीष्ट काल्पनिक व्यक्ति होइनन्, तर तिनी ऐतिहासिक व्यक्ति हुन्। ऐति-हासिक व्यक्तिभन्दा पनि बेसी हुन्। म सत्यलाई कसरी असत्य भनूँ? सेतोलाई कसरी कालो भनूँ? के म यति साह्रो बेइमान र नीच मान्छे हुँ?” यसरी सोच्दा-सोच्दै तिनको हृदय पछुतो, ग्लानी र दु:खले भरियो। उनी बडो पश्चात्तापी भए; तब ५० वर्षको उमेरमा तिनले आफूलाई रद्द तुल्याउन चाहेकै प्रभुको चरणमा आफ्ना घुँडा टेके। सारा पापको क्षमा मागे; अनि प्रभु येशूलाई व्यक्तिगत मुक्तिदाताको रुपमा हृदयमा ग्रहण गरे।
ख्रीष्ट येशूलाई रद्द तुल्याउने उद्देश्य राखेर वर्षौं लगाएर खोजी गर्दा येशूको सम्बन्धमा जे तथ्यहरू भेटेका थिए, ती तथ्यहरूलाई नै प्रयोग गरी लिउ वालेसले फेरि अर्को किताब लेखे। त्यस किताबको नाम हो बेन हूर (Ben Hur)। त्यस किताबले संसारलाई स्पन्दित गराएको छ। त्यस किताबको चलचित्र पनि तयार भएको छ। बाइबललाई असत्य ठहराउनालाई धन, बल र बुद्धि खर्च गर्ने अनेकौं बुद्धिमान् मानिसहरूले जर्नेल लि वालेसले झैं बाइबललाई परमेश्वरको एक मात्र सत्य शास्त्र भन्ने जानेर अँगालेका छन्; अनि बाइबलका जन्मदाता ख्रीष्ट येशूलाई चाहिँ आफ्नो मुक्तिदाता र प्रभु भनी ग्रहण गरेका छन्।
(ख) गिल्बर्ट वेस्ट र लर्ड लिट्टलटोन :
दुई योग्य जवानहरूले ख्रीष्टियान विश्वासको जरालाई नै हमला गरी त्यस उधुम मच्चाउने ख्रीष्टियान धर्मलाई नै ढालिदिने निश्चय गरे। तिनीहरूका नाम हुन् : गिल्बर्ट वेस्ट र लर्ड लिट्टलटोन। लिट्टलटोनले चाहिँ पावल, जसलाई प्रयोग गरी प्रभुले ख्रीष्टियान विश्वासको जग हाल्नुभएको थियो। प्रभुका चेला भएका हुँदै होइनन् भनी प्रमाणित गर्नालाई कम्मर कसे। गिल्बर्ट वेस्टले चाहिँ ख्रीष्ट येशू चिहानबाट बौरेर उठ्नुभएको हुँदै होइन भनी सम्पूर्ण संसारलाई देखाइदिने भए। यसरी आ-आफ्ना कामको जिम्मा लिएर बाटो लागे आ-आफ्ना क्षेत्रमा काम गर्नलाई। केही समयपछि खोज गरेर के-के पत्ता लगाए भन्ने विषयमा कुरा गर्नलाई परस्पर-सँग भेट गरे। दुवै एका-अर्कासँग अलिक लजाएका र डराएका पनि थिए। दुवैले एउटै अर्थात् आशा नगरेको कुराको विषयमा निर्णय गरेका थिए। लिट्टलटोनले भने—“खूब खोजी गरेपछि मैले यो प्रमाण पाएँ, पावल प्रभुका चेला भएकै रहेछन्! चेला भएपछि तिनी पूर्णतया नयाँ मान्छे भएकै रहेछन्।” गिल्बर्ट बेस्टले पनि भने—“खोज गरेपछि अनेकौं-अनेकौं प्रमाणहरू पाइए। ख्रीष्ट येशू चिहानबाट बौरेर उठ्नुभएकै हो भनी ती प्रमाणहरू काट्नै नसक्ने गरी प्रमाण दिँदछन्।”
यसरी जरै काटी बाइबललाई ढाल्न चाहनेहरू नै, अनेकौं खोज गरेपछि बाइबलका विश्वासी मात्र होइन, तर प्रभुका अनुगामी पनि बनेका छन्। गिल्बर्ट वेस्टले आफूले खोजेर भेटेका कुराहरू खामेर १७४७ A.D. मा एउटा किताब पनि लेखे। त्यस किताबको नाम हो—इतिहासको निरीक्षण, र ख्रीष्ट येशूको पुनरुत्थानका प्रमाणहरू (Observations of the History and Evidence of the Resurrection of Jesus Christ)। तिनले त्यस किताबको पहिलो पानामै यो कुरा छापेका छन्, ‘सत्यलाई जाँच गर्नुभन्दा पहिले दोष नदेऊ।’*
बाइबललाई फेदैमा बन्चरो हानी ढाल्ने मनासय राखेर गिल्बर्ट वेस्टले बाइबलको सत्यतालाई जाँचै नगरी बाइबललाई दोष दिइरहेका थिए। यस अपराधले तिनको हृदयलाई घोचिबस्यो। यसकारण बाइबलको पक्षमा लेखेको आफ्नो किताबको पहिलो पानामै यो उक्ति छाप्छन्—‘सत्यलाई पूरा जाँच नगरेसम्म दोष नदेऊ।’ के आँखामा आँसु र हृदयमा पीडा लिएर यी विरोधीहरूले बाइबल सत्य रहेछ भनी भनेका छैनन् र?
अध्याय छ : मृत्यु शय्याका केही रोमाञ्चित दृष्यहरू
(क) भोल्टेयर :
यिनी हुन् फ्रान्स देशका जगत्-विख्यात दार्शनिक। यिनको बुद्धि र स्मरणशक्ति अद्वितीय थियो। सम्पूर्ण देशले यिनको गुणगान गर्थ्यो। फ्रान्समा यिनी देउतासरह मानिन्थे। यिनले जेसुकै लेखे पनि त्यस कुरालाई सबैतिर फिँजाइन्थ्यो। यिनको छेड हानेर बोल्ने र लेख्ने शक्ति अनुपम थियो। प्रत्येक अलौकिक, स्वर्गीय तथा ईश्वरीय भन्ने कुरालाई खिसी गर्ने र गिल्ला गर्ने कला यिनले अनेकौंलाई सिकाए। एकपल्ट तिनले आफ्नो साथीलाई भने—“यस ख्रीष्टियान धर्मलाई बाह्रजना बुद्धु मछुवाहरूले स्थापित गरे। अब एउटै फ्रान्सवासी भोल्टेयरले यसलाई ध्वंस पार्नसक्छ भन्ने कुरा म सम्पूर्ण संसारलाई देखाईदिनेछु।” यसरी तिनले ख्रीष्टियान धर्मलाई ध्वंस पार्ने संकल्प गरेका थिए। डा.जोन.आर. राइस भन्छन्—“ख्रीष्टियान धर्म मेटिने किसिमको हुँदो हो त मेट्नलाई योग्य व्यक्ति भोल्टेयर नै थिए।”
मृत्यु शय्यामा तीन महिनासम्म विलाप गर्दै, निन्दा गर्दै, पछुतो गर्दै र पीडाको कराहीमा भुटिएपछि भोल्टेयर आफूले कमाएको अनन्त दण्डमा गए। ओछ्यानमा घरि रिसले दाह्रा किट्थे। घरि पछुतो गर्थे; घरि आँसुले भिजेको सोरमा चिच्च्याउँथे—“येशू, हे ख्रीष्ट येशू!” आफ्नो उपचार गर्ने डाक्टरलाई भन्थे, “मलाई मान्छेले पनि छोडे; परमेश्वरले पनि छोड्नुभयो।” उनको मृत्यु मुटु कपाउँने किसिमको थियो। यसैकारण उनको स्याहारसुसार गर्ने नर्सले यसो भनेकी छन्—“सम्पूर्ण यूरोपको धन मेरो काखमा हालिदिए पनि फेरि यस किसिमको मान्छे मरेको म हेर्न चाहन्नँ।” उनलाई उपचार गर्न आउने डाक्टरहरू पनि उनको पछुतो, विलाप र व्यथालाई देखेर अक्क न बक्क हुन्थे, र भन्थे—“अधर्मी मान्छेको मृत्युचाहिँ साँच्चै डरलाग्दो हुँदोरहेछ है!” ख्रीष्टियान धर्मलाई मेट्ने मान्छे यसरी नै मेटिएर गए। भिक्टर ह्युगो (Victor Hugo) भन्छन्—“भोल्टेयरको मृत्यु ३० मे, १७७८ A.D. मा फ्रान्सीसी विद्रोह (French Revolution) को नजिकै भएकोले उसको लाशलाई उसका प्रशंसकहरूले महान् पुरुषहरूको समाधिस्थलमा सम्मानसाथ राखे। तर केही वर्षपछि उसलाई घृणा गर्नेहरूले उसका चिहानबाट हाडहरू निकाली अर्को ठाउँमा बेइज्जतसाथ गाडिदिए।”
बाइबल र प्रभु ख्रीष्ट येशूको विरोधमा तिनले जीवनभरि कुकर्म गरे। यदि ती कामहरू असलै र न्यायसंगत हुँदा हुन् त, तिनले छट्पटाउँदै बारम्बार, “हे परमेश्वर, बचाउनुहोस्! हे ख्रीष्ट येशू, बचाउनुहोस! हे, परमेश्वर मप्रति कृपा राख्नुहोस्!” भन्दै विलाप नगर्नुपर्नेथ्यो। जसलाई जीवनभरि ढाल्ने प्रयत्न गरे। उहाँलाई नै कारुणिक सोरमा पुकार्नु सानो कुरा थिएन। मृत्यु-शय्यामा यसरी परमेश्वरलाई पुकारेर भोल्टेयरले जीवनभरिको परिश्रमले कमाएको इज्जतलाई वेदीमाथि होमिदिएका छन्। भोल्टेयरको यो पछुतो करोडौं मानिसको आँखालाई खोल्नसक्ने शक्तिशाली तोप हो। करोडौंले आफ्नो अविश्वासीरुपी मूर्खतालाई वेदीमा चढाएर ख्रीष्टलाई ग्रहण गरुन्।
(ख) टोमस पेइन :
यसरी नै विरोध गर्ने अर्को व्यक्ति टोमस पेइन हुन्। तिनी विद्वान् मानिस थिए, चतुर पनि। अमेरिकालाई स्वतन्त्र गराउने काममा यिनको पनि ठूलो हात थियो। तिनी अमेरिकी स्वतन्त्रता संग्रामका एकजना वीर थिए। न्यूयोर्कमा १८०९ A.D. मा तिनी मरे; तर तिनको मृत्यु पनि आँसु, विलाप र पछुतोले मुछिएको थियो। १८१९ A.D. मा तिनको एकजना साथीले तिनको चिहान खनी हड्डीहरू निकाले। त्यस हड्डीलाई इङ्गल्याण्डमा लगेर गाडे, र त्यस-माथि तिनको नाममा एउटा भव्य स्मारक बनाए। तर कसरी हो कुन्नि, ती हड्डीहरू हराए, फेरि पाइएनन्। तिनले एइज अफ् रिजन (Age of reason) नामक किताब लेखेका थिए। त्यसमा तिनले बाइबलका प्रभुलाई बडो खिसी गरेका थिए।
भोल्टेयर र पेइन दुवैले बाइबल र ख्रीष्टियान धर्मचाहिँ अब गाडिनै लागे भनी आशा गरेका थिए। भोल्टेयरले यसो भनेका थिए—“सय वर्षभित्र बाइबल र ख्रीष्टियान धर्म बिर्सिएका कुरा बन्नेछन्”। तर जुन घरमा बसेर उनले त्यो कुरा गरेका थिए, त्यही घर नै अर्थात् उनको त्यही भव्य भवन नै उनको मृत्युपछि जेनेभा बाइबल सोसायटीको बाइबल राख्ने भवन बन्यो; जहाँबाट यूरोप-भरि बाइबल वितरण गरिए।
टोमस पेइनले उनको एइज अफ् रिजन नामक किताबमा लेखेका छन्—“आजदेखि पचास वर्षभित्र बाइबल थोत्रो वस्तु ठहरिनेछ, अनि बिर्सिनेछ।” उनले जुन छापाखानामा त्यो किताब छपाए, त्यही छापाखानामै पछि हजारौं बाइबलहरू छापिए।
अब तिनी पलङमा पल्टेर मृत्यु पर्खिरहेका छन्। तिनलाई रातदिन स्याहारसुसार गर्ने नर्सको नाम थियो, मेरी रोस्को। तिनले सोधे—“के तिमीले मैले लेखेको किताबहरूमध्ये कुनै किताब पढेकी छौ?” “थोरै पढेकी छु” नर्सले जवाफ दिन्छिन्। “हेर मेरी, तिमीजस्ती व्यक्तिबाट म सत्य उत्तर चाहन्छु। लौ भन, ती किताब पढेर तिमीलाई कस्तो लाग्यो।” “हजुर, म सानै छँदा तपाईंको एइज अफ् रिजन नामक किताब हात पर्यो। जति पढें उति नै म विचलित भएँ। न्यास्रो र अँध्यारो लाग्यो। यसकारण त्यस किताब-लाई मैले आगोमा हालिदिएँ।” यो सुनी टोमस पेइनले भने—“जति जनाको हातमा त्यो किताब पर्यो, ती सबैले त्यस किताबलाई तिमीले झैं आगोमा हालिदिएका भए कति असल हुनेथ्यो। कुनै किताब लेख्दा कहीं शैतानले हात हालेको छ भने मेरो एइज अफ् रिजन (Age of Reason) लेख्दा नै हालेको छ।”
नर्स मेरी रोस्को चियापानी लिएर जाँदा ओछ्यानमा पल्टिरहेको टोमस पेइनले आँसु मुछिएको सोरमा प्राय: नै, “हे प्रभु! हे प्रभु येशू! ममाथि दया राख्नुहोस्!” भन्दै विलाप गरिरहेका हुन्थे रे। टोमस पेइनको यस पछुतोमा मानिसको छाती च्यात्न सक्ने आद्रता छ। यो पछुतो सानो कुरो होइन।
शरीरमा पीडा हुन लाग्दा, “हे प्रभु, मलाई सहायता गर्नु-होस्! मसँग रहनुहोस्! अब नरकबाहेक अरू के नै बाँकी रह्यो” भन्दै बर्बराउँथे। बडो कारुणिक सोरमा यसरी विलय गरेको सुन्दा सम्पूर्ण परिवारको शरीर डरले जिरिङ्ग फुलिन्थ्यो। बाइबलका प्रभु-लाई अस्वीकार र निन्दा गर्ने काम यदि उचितै हुँदो हो त, यदि उत्तमै हुँदो हो त, टोमस पेइनले यसरी पछुतो नगर्नुपर्नेथ्यो। हजारौं सिपाहीहरूले रणक्षेत्रमा मार्मिक मृत्यु भोगे, तर यस प्रकारले पछुतो र बिलौना गरेनन्। यसकारण व्यथा नै पछुतोको कारण थिएन, तर जीवनको मूर्खतारुपी पाप पछुतोको कारण थियो।
पछुतो कति बेला गर्छन् मानिसले? ‘ठीक गरें’ भनी सोचेको काम बेठीक भइदिँदा। अनि बेठीक मात्र होइन, त्यो काम डरलाग्दो गरी हानिकारक भइदिँदा मानिसहरू पश्चात्तापरुपी अग्निमा पिरोलिन्छन्। यी ठूला-ठूला विद्वान्हरूले मर्ने बेलामा किन पछुतो गरे? किन तड्पिए? जिन्दगीभरि जे जे गरे, भूलै मात्र गरेछन्। अपराधै मात्र गरेछन्; अनि आफ्नो सुदूर भविष्यलाई चकनाचूर पारेछन् भन्ने कुरो थाहा पाउँदा पछुतोरुपी आगोमा तड्पिएका हुन्। पछुतो गर्दा ‘बाइबल झूट रहेछ’ भन्दै पछुतो गरेनन्। यस्तो पश्चात्तापरुपी आगोबाट निस्केका रोदन र व्यथाले साँच्चै बाइबल विश्वासयोग्य र सत्य रहेछ भनी प्रमाणित गरेका छन्।
(ग) के (Kay) :
तिनी मर्नलाग्दा डरलाग्दो चेहरा बनाएर नरक! नरक! भन्दै चिच्च्याए। तिनका परिवारका सदस्यहरू यस डरलाग्दो चिच्च्या-हटलाई सुनेर सबै बाहिर भागे। जबसम्म तिनको सास गएन, तबसम्म तिनीहरू भित्र पसेनन्। बाइबल र बाइबलका परमेश्वर-लाई घृणा गर्नेहरू हजारौंका संख्यामा यसरी नै मरेर गए। तर प्रभुको डर मान्नेहरूको मृत्यु यस प्रकारको कहिल्यै पनि हुनेछैन। बाइबलले भन्दछ, उहाँको भक्तको मृत्यु बडो सुन्दर हुनेछ; अनि अरू मानिसहरूले यही प्रकारको मृत्युको अभिलाषा गर्छन्। “कसले याकूबको धूलो र इस्राएलको चौथो भागको संख्या गन्ती गर्न सक्छ र? मेरो मृत्यु धर्मी जनहरूको मृत्युजस्तो होस्! अनि मेरो आखिरी अन्त उसकै जस्तो होस्!” (गन्ती २३:१०)
(घ) चार्ल्स डार्विन :
विज्ञानवेत्ता चार्ल्स डार्विनद्वारा लिखित ‘जाति-उपजातिको उत्पत्ति’ (The Origin of Species) नामक किताबले पृथ्वीमा डढेलो लगायो। सम्पूर्ण संसारले यस किताबलाई दुई हातले अँगाल्यो। फलस्वरुप आज संसारका प्रत्येक स्कूल, कलेज तथा विश्वविद्यालयहरूमा चार्ल्स डार्विनको सिद्धान्त (Theory) पढाइन्छ। तर डार्विनको यस ‘जाति-उपजातिको उत्पति’ नामक किताबले बाइबललाई गाड्ने कोशिश गरेको छ। बाइबलको तथ्यलाई यस किताबले रद्द गरेको छ। बाइबलले भन्छ, “परमेश्वरले मान्छेको सृष्टि गर्नुभयो। परमेश्वरले नै पशुहरू, पक्षीहरू, कीराहरूको सृष्टि गर्नुभयो।” तर डार्विनको यस किताबले भन्छ—“मान्छे, पशु, पक्षीको सृष्टि एक्कासि भएको होइन। सानोभन्दा सानो, एउटा मात्र सेल (Cell) ले बनिएको अमिबा (Amoeba) जस्तो जीवाणु बिस्तारै-बिस्तारै बद्ली हुँदै धेरै सेलले बनेको ठूलो कीरो भयो। फेरि, अलिक ठूलो किसिमको जलथलवासी प्राणी भयो। बिस्तारै परिवर्तित भएर घस्रने जन्तु भयो, त्यसपछि पशु, बाँदर र वनमान्छे हुँदै मान्छे बनियो।”
यसरी सानो प्राणीको विकास हुँदै ठूला-ठूला मान्छेसम्म हुन गएको सिद्धान्त वा विचारको जन्म ‘जाति-उपजातिको उत्पत्ति’ नामक किताबबाटै भएको हुनाले चार्ल्स डार्विन नै विकासवाद सिद्धान्त (Evolution Theory) का पिता ठहरिए। अहिले जगत्ले तिनलाई विकासवादका पिता (Father of Evolution) को नामले सुशोभित गरेको छ। विकासवादको उत्थान, परिवर्तन र अरूहरूको योगको सम्बन्धमा कुरा गर्ने आवश्यकता यहाँ देख्तैनौं। यस तगडा जवान विज्ञानवेत्ता डार्विनको जीवनको सानो अन्तिम झाँकी प्रोफेसर एनोकको किताब Evolution or Creation बाट दिन चाहन्छु :
महोदया होप (Lady Hope) चार्ल्स डार्विनलाई भेट्न गइन्। डार्विन जीवनको अन्तिम क्षणमा पुगिसकेका थिए। महोदया होप भन्छिन्—‘डार्विन शय्याग्रस्त भइसकेका थिए। म उनको कोठामा पस्दाहुँदो उनको चेहरा आनन्दले उज्यालो भएको देखा पर्यो। तिनी पलङमा शिरानीको अडेस लगाएर बसेका रहेछन्। तिनले हात उठाएर झ्यालबाट बाहिर देखिने अस्त हुँदै गएको सूर्यको सुनौलो किरणले मनोहर बनाएको हेमन्तको सुन्दरतालाई देखाए। तिनको अर्को हातमा बाइबल थियो, जसलाई तिनले निरन्तर पढिरहन्थे।”
“के पढदै हुनुहुन्छ?” मैले सोधें।
“हिब्रू पढ्दै छु। अझै यही पढ्दैछु। राजसी पुस्तक हो यो, म भन्छु।” यसो भन्दै तिनले बाइबलको हिब्रू नामक किताबका केही सुनौलो अंशहरूमा औंला राख्दै तिनको महत्वपूर्ण कुराहरू मलाई बताए।
मैले पनि बाइबलको पहिलो अध्यायमा दिइएको उत्पत्तिको कुरालाई विरोधीहरूले हाँसोमा उडाएको कुरा उनलाई बताएँ। (डार्विनकै किताब पढेर ती विरोधीहरूले बाइबलको हाँसो गरेका थिए—लेखक)। यो कुरा सुनी डार्विको चेहरामा उदासी छायो। पीडित हुँदै तिनले मुठ्ठी बाँधे, र मलाईं भने, “विचार र बुद्धि नपाकेको जवान मान्छे म थिएँ। यो पो होला, त्यो पो होला भनी विचार पोख्थे, प्रश्न गर्थे र खोज गर्थे। म छक्क पर्छु, किन मेरो त्यो विचार बनको डढेलो झैं फैलियो।”
केही समय चूप लागेर बसेपछि प्रेमपूर्वक पक्रिराखेको बाइबललाई घरी-घरी निहार्दै तिनले परमेश्वरको पवित्रता र बाइबलको श्रेष्ठताको विषयमा दुईचार कुरा गरे; अनि भने, “हेर्नुहोस, त्यस बगैंचामा ग्रीष्म ऋतुमा बस्ने मेरो एउटा घर छ। त्यसमा ३०-३२ जना मान्छे अटाउँछन्। भोलि दिउँसो म मेरा काम-दारहरू, घरभाडामा रहनेहरू र केही छिमेकीहरूलाई त्यहाँ बोलाउँला। तपाईंले त्यहाँ उनीहरूलाई प्रभुको प्रवचन सुनाई-दिनुहुन्छ कि? म के विषयमा प्रवचन दिऊँ उनीहरूलाई?”
तिनले जोर दिएर भने—“प्रभु येशूको विषयमा, र उहाँको उद्धारको विषयमा। के यो सर्वोत्तम विषय होइन र? तपाईंले आफ्नो सानो बाजा बजाएर उनीहरूसँग मिली प्रभुको स्तुति गर्नुहुनेछ भन्ने आशा राखेको छु।” यसो भन्दैगर्दा तिनको चेहरा अति प्रज्वलित भएको थियो। त्यो म कहिल्यै बिर्सन्नँ। तिनले फेरि भने—“हेर्नुहोस, भोलिको सेवा तपाईंले तीन बजे लिनुभयो भने यो मेरो झ्याल खुला रहेको हुनेछ, अनि म पनि त्पाईंहरूसँग स्तुति गरिरहेको छु भन्ने कुरा तपाईंलाई थाहा होओस्।”
जसले विकासवाद (Evolution) को परिचय संसारलाई दिए, तिनी आफै ज्ञानमा परिपक्व भएपछि यसरी बाइबल र प्रभु ख्रीष्टतर्फ फर्के। तर संसारचाहिँ डार्विले रद्द गरेको सिद्धान्तमा झुन्डेर दगुरिरहेछ आज पनि। विकासवाद आजसम्म पनि एउटा विचार (Theory) मात्र हो। यो तथ्य (Fact) सत्य ठहरिएको छैन, कहिल्यै ठहरिँदैन पनि; किनभने विकासवाद असत्य हो।
(ङ) डी. एल. मूडी :
यिनी अमेरिकाका महान् प्रचारक थिए। यिनको सेवाद्वारा प्राय: दश लाखजति मानिसहरू मुक्तिदाता प्रभु येशूकहाँ आए। यिनी थोरै शिक्षा पाएका साधारण मानिस थिए। आफ्नो अंग्रेजी भाषा पनि राम्ररी बोल्न सक्तैनथे। तर प्रभुका सामर्थ्यले भरिएका हुनाले तिनले धेरै आत्माहरू बचाउन सके। तिनले सम्पूर्ण हृदयले प्रभुको सेवा गरे। प्रभुप्रतिको प्रेम प्रगाढ भएकोले नै त्यस प्रकारले सेवा गर्न पनि सके। एकपल्ट तिनी एउटा बिल्डिङको झ्यालमा उभिएर आफ्नो साथीसँग बात गरिरहेका थिए। तिनले साथीलाई भने—“प्रभुले मलाई यस झ्यालबाट फाल हान भनी भन्नुभयो भने म हाम फाल्नेछु।” मूडीका प्रेम र आज्ञाकारिताको प्रष्ट नमूना हो यो।
“संसार लुप्त हुँदै गइरहेछ। स्वर्ग खोलिँदै जाँदैछ; परमेश्वरले बोलाउनु हुँदैछ। आज मेरो मुकुट पहिरने दिन हो। मृत्यु यस्तो हुन्छ भने, यो मीठो हुनेरहेछ।” यति भनिराखेर डी. एल. मूडी पृथ्वीमा अस्ताए, अनि स्वर्गमा झुल्के।
(च) पावल :
येशू भन्ने नाम सुन्नसाथ तिनी राँकिन्थे। झुण्ड बाँधेर तिनले र तिनका साथीहरूले ख्रीष्ट येशूका अनेकौं भक्तहरूलाई पिटे। अनेकौंलाई जेलमा ठोसे; कतिलाई मारे पनि। यही सताउने काम लिएर दामस्कस भन्ने शहरतिर जाँदैगर्दा बाटोमा एक्कासि अनेकौं सूर्य बराबरको ज्योति चम्क्यो। तिनी अन्धाझैं भएर घोड़ाबाट लडे; तब एक्कासि एउटा आवाज सुने—“शावल* तिमी किन मलाई यसरी सताउँछौ? काँड़ामा लात मार्नु सजिलो कुरा हो र?” चौपट्टै अचम्भित भएका शावलले सोधे—“प्रभु तपाईं को हुनुहुन्छ?” आकाशबाट उत्तर आयो—“म येशू हुँ, जसलाई तिमीले सताइ-रहेछौ।” बस, त्यही दिन तिनले आफ्नो विरोध र विद्रोही जीवनलाई प्रभु येशूको चरणमा चढाए। अघि भालूको बलले ख्रीष्टियानहरू-लाई सताइरहेका थिए भने, पछि हात्तीको बलले तिनले प्रभुको सेवा गरे। प्रभुको सेवा गर्दा आफ्नो ज्यानको पनि चिन्ता गर्नुहोस् है भन्ने विश्वासी साथीहरूलाई तिनले भन्थे—“म आफ्नो प्राणलाई केही सम्झँदिनँ। प्राणको माया म गर्दिनँ। प्रभु येशूको लागि म मर्न पनि तयार छु।”1
यिनै पावलले विरोधीको तरवारद्वारा दुई टुक्रा हुनुभन्दा केही अघि भने—“तर यी कुराहरूमध्ये कुनैले पनि मलाई विचलित पार्दैन, न ता म आफ्नो प्राणलाई नै आफ्ना लागि प्रिय ठान्दछु, मेरो दौड़ र त्यो सेवा आनन्दसाथ पूरा गर्न सकूँ भनेर, जुन सेवा मैले परमेश्वरको अनुग्रहको सुसमाचारको गवाही दिनका निम्ति प्रभु येशूबाट पाएको छु।”2
(छ) अदिनो लिङ्दोङ :
यिनी दार्जिलिङ निवासी थिए। प्रभुका दास टाशी ग्याम्छो लिङदोङका काहिँलो छोरो। परमेश्वरको खूबै डर मान्ने परिवारमा जन्मने सौभाग्य तिनले पाएका थिए। सानैमा तिनले मुक्तिदाता प्रभुको अमूल्य मुक्तिको अनुभव गरेका थिए। हृदय-रोगले शिथिल पारेकोले शरीरमा कमजोर थिए। तिनी बाह्र वर्षका थिए।
१९५५ A.D. को १७ मेको दिन हृदय-रोगले तिनलाई झन् बेसी च्याप्यो। “आपा, आज दाजुहरू कोही पनि स्कूल नजाऊन् है। काममा पनि नजाऊन्।”, शिथिल अदिनोले बाबेलई बिन्ती गरे। आज केही घटना घट्छ नै भन्ने आशंकाले सबैको मनलाई चिसो पार्यो। समय गम्भीर बन्यो। माया गर्नेहरूको चेहरा मलीन देखिन्थे। आँखाबाट बेला—बेलामा आँसु गुडुलिँदै झर्थे। फेरि अदिनोले भने, “आपा, प्रभु येशू बडो चम्किलो वस्त्र पहिरेर मलाई लिनलाई झरिरहनुभएको छ। आपा, उहाँलाई नलैजानोस् भनेर भनिदिनोस् न, म उहाँकै सेवा गर्छु।”
आँखामा मायाको आँसु भए तापनि बलियो मन गरेर गर्वसाथ उनका पिताले भने, “छोरा, प्रभु आउनुहुँदैछ भने तिमी उहाँसँगै जाऊ। माथि स्वर्गमा तिमीलाई दु:ख हुनेछैन, हृदय-रोग हुनेछैन।” केही समयपछि फेरि तिनले भने, “प्रभु मलाई लिन आइरहनुभएको छ, प्रभुलाई नलैजानोस् भनी बिन्ती गरिदिनोस्, म जीवनभरि उहाँकै सेवा गर्छु।” “छोरा, तिमीलाई प्रभुकहाँ जानु नै असल हो। जाऊ छोरा, प्रभु लिन आउनुहुँदैछ भने”, तिनका पिताले भने। पिता र पुत्रको यस्तो मार्मिक कुरा सुनेर आमा धेरै रोइन्। दाजुभाइहरू पनि रोए। तब अदिनोले लोलाइसकेको हात उचालेर आफ्नी आमाको आँसु पुछि-दिँदै भने, “आमा, नरुनुहोस्, हाम्रो भेट स्वर्गमा हुनेछ। नरुनोस् आमा।” त्यसपछि तिनले सबै दाजुभाइ-हरूलाई म्वाई खाँदै बिदा मागे, अनि एउटा गीत गाउन सुरू गरे। सबैले तिनीसँगसँगै हृदयबाटै त्यो भजन गाए—
जब हम सब आसमान में पहुँचे
तो क्या ही खुशी मनाएँ,
जब हम सब प्रभु को देखें
तो खुशीका नारा मारें।
[नेपालीमा यसको अर्थ : जब हामी सबै आकाश (स्वर्ग) मा पुगौंला त कति धेरै खुशी र रमाहटले भरिनेछौं। जब हामी प्रभुको चेहरालाई देख्न पाउँछौं, तब खुशीको फोहोरा फुटाई जय—जयकार गर्नेछौं।] त्यसपछि हर्षसाथ तिनले आफ्नो आत्मा आफ्ना मुक्तिदाता येशूको हातमा सुम्पे। यस पृथ्वीबाट बिदा लिई तिनी प्रभुकहाँ गए। अहिले तिनी प्रभुसँग छन्। के यो मृत्यु लोभलाग्दो छैन र?
(ज) बाङ्गस :
प्रभु ख्रीष्टका बालक बाङ्गस मृत्यु शौयामा पल्टिरहेका हुन्छन्। बिदाइको घड़ी नजिक आउँदा उनी पनि रमाउँछन् अनि भन्छन्—“संसारमा घाम अस्ताउँदै छ, मेरो चाहिँ झुल्किँदैछ। अब यस पलङबाट म मुकुट पहिरहन गइरहेछु, सबैलाई विदा!”
बाइबल र बाइबलका प्रभुलाई ग्रहण गर्नाले यस थोत्रो संसारलाई हर्षसहित बिदा दिएर आनन्द र सुन्दरताले परिपूर्ण भएको स्वर्गमा प्रवेश गर्नेछौं। यो फोस्रो आशा होइन, तर सत्य हो—ध्रुव सत्य हो। लाखौं विश्वासीहरू उज्यालो चेहेरा लिएर आफूले रोजेको महिमाको देश स्वर्गमा प्रवेश गर्नेछन्। अब हाम्रो पनि जाने समय आइरहेको छ, तयार होऊँ, होइन त?
अध्याय सात : बाइबलको पार्थिव देन यस पृथ्वीलाई
पहिलो शताब्दी प्रभु येशूका चेला, थोमा भारतमा मुक्तिको शुभसमाचार सुनाउन आए। तर भारतले सुसमाचार ग्रहण गरेन। त्यति मात्र होइन, सुसमाचार प्रचारक थोमालाई भालाले घोचेरर मार्यो पनि। तर उता इंगल्याण्डले यही सौभाग्य पाएको थिएन। इंगल्याण्डको केन्ट (Kent) भन्ने जिल्लाचाहिँ यूरोपको सबैभन्दा नजिकमा पर्ने हुनाले यूरोपसँग जोड्ने ट्रेनको बाटो पनि यही केन्टको डोभर भन्ने ठाउँबाट समुद्रमुनिमुनि बनाएका छन्, जो फ्रान्ससँग ठोकिन्छ। छैटौं शताब्दीको अन्त्यतिर रोमबाट सन्त अगस्टिन पनि यही केन्टमा पुगे, र प्रचार गरे। फलस्वरुप 597 A.D. मा देवीदेउता र घामजून मान्ने राजा एथेलबर्ट (Ethelbert) ले ख्रीष्टलाई अपनाएर बप्तिस्मा लिए। 625 A.D. मा मध्य इंग-ल्याण्डका देवीदेउता मान्ने राजा एडविन (Edwin) ले पनि ख्रीष्टलाई ग्रहण गरेर बप्तिस्मा लिए। यही समयलाई चाहिँ इंगल्याण्डमा ‘ख्रीष्ट धर्म’ बसालिएको समय मानिन्छ। त्योभन्दा पहिले अंग्रेजहरूले देवीदेवता, घाम र जूनको पूजा गर्थे भन्ने कुरा हामी बारहरूका नामद्वारा पनि थाहा पाउँदछौं।*
त्यसपछि हिन्दुस्तानभन्दा तल्लो तहका अंग्रेजहरू बढेर माथिल्लो तहमा पुगे। आफ्नो उन्नतिको कारण बाइबल नै हो भनी उनीहरू आफै भन्छन्, हामीले भन्नुपर्दैन। जबसम्म यहूदीहरू परमेश्वरको साथ-साथमा हिँडेथे, तबसम्म उनीहरू उन्नतिशील र सामर्थी बने। तर परमेश्वरलाई त्याग्ने मूर्खता गर्नासाथ उनीहरू आफै त्यागिन्थे; अनि दबिएर जिउनुपर्थ्यो। अनेकौं-अनेकौं पटक यी इस्रएलीहरू अरू देशमा कैदी भएर पनि गए। इस्राएलीहरू आफैचाहिँ कमजोर थिए, तर परमेश्वर सामर्थी हुनुहुन्थ्यो। यसकारण इस्राएलीको साथमा परमेश्वर हुनसाथ इस्राएलीहरू सामर्थी हुन्थे (कमजोर + परमेश्वर = सामर्थी)।
आज पनि यो सत्यता लागू छ। अंग्रेजहरू कमजोर थिए; तर परमेश्वर उनीहरूको साथमा हुनुहुन्थ्यो। यसकारण अंग्रेजको राष्ट्रले नै उन्नति गर्यो। संसारका धेरै देशहरूमाथि उनीहरूले शासन गरे। तर मोटा भएपछि अंग्रेज राष्ट्रले परमेश्वरलाई छोड्यो। इंगल्याण्डका खाली गिर्जाघरहरू नै यस कुराका प्रमाण हुन्। फलस्वरुप अंग्रेजको सामर्थ्य घटिसक्यो।
यही प्रकारले अमेरिकीहरू आफैले नै ‘हाम्रो उन्नतिको कारण बाइबल नै हो’ भनी बारबार स्वीकार गरेका छन्। आदि कवि गोथेद्वारा जर्मनीले पनि भनेको छ—“जर्मनीको स्वतन्त्रता र जर्मनीको महान्ताको कारण बाइबल नै हो। जर्मनी भाषाको सारा शक्ति, देशका सब महान् पुरुषहरू र राजकीय वृद्धि जर्मनी देशको जनताले हातमा बाइबल पाएदेखि नै सुरू भयो।”* हाम्रो छिमेकी देश भारत नागाल्याण्डका मानिसहरूले बाइबलका जीवनदायक समाचार सुनेपछि नै शिर काटी दैलोमा झुन्ड्याउन छोडे, र अरू जातिसरह सभ्य भए।
बाइबलले मानिसहरूको जीवन नै परिवर्तन गर्ने हुनाले मानिस-हरूद्वारा बनिएको राष्ट्रलाई नै परिवर्तन गरी सुन्दर बनाउँदछ। यस सम्बन्धमा एउटा साँचो कहानी म्यूटिनी अन द बाउन्टी (Mutiny on the Bounty) भन्ने किताबमा अंकित छ। १७८७ A.D. मा बाउन्टी नाम भएको एउटा जहाज इंगल्याण्डबाट South Sea Islands को ताहिती नाम भएको एउटा टापुतिर हिँड्यो। त्यस ठाउँमा पुग्न दश महिना लाग्यो। त्यसपछि छ महिनासम्म ब्रेडफूड भन्ने बोटबिरुवाहरू वेस्ट इन्डिजमा लगेर त्यहाँ परिश्रम गर्ने कमाराहरूका खानाका निम्ति खेती गर्नालाई जम्मा पारे। सानो बच्चाको टाउको जत्रै हुने ब्रेडफूडको भित्रपट्टिको फल रोटीजस्तै हुन्छ रे। ब्रेडफूड के हो, सो पत्ता लाउने व्यक्ति क्याप्टन कूक Captain Cook) हुन्; जसले अष्ट्रेलिया र वरिपरिका अनेकौं टापुहरू खोजेर पता लगाए। यिनकै साथमा विलियम ब्लाई (William Bligh) पनि हिँडेका थिए। कूकले आविष्कार गरेका टापुहरूका मानचित्र पनि खिँचेका थिए। यिनै ब्लाई नै बाउन्टी नामका जहाजका कप्तान भए।
बिरुवा बटुलिसकेपछि क्याप्टनहरूले मल्लाहहरूलाई यात्रा सुरू गर्ने हुकुम दिए। तर ती मल्लाहहरूले इंगल्याण्ड फर्कने इच्छा गरेनन्; किनकि छ महिनासम्ममा ती मल्लाहहरूले त्यस टापुका युवतीहरूसँग माया गाँसिसकेका रहेछन्। त्यस कुरालाई ब्लाईले स्वीकार गर्न सकेनन् नै। यसो हुँदा ती मल्लाहहरूले विद्रोह गरे। विद्रोहका अगुवा लेचर (Fletcher) र त्यसका साथीहरूले ब्लाई र तिनका साथीहरू-लाई एउटा डुङ्गामा हालेर महासागरमा छोडिदिए। पानीबाहेक केही नदेखिने महासागरमा उनीहरू मर्नुपर्थ्यो, तर मरेनन्। तिनीहरू १७९० A.D. को मार्च महिनामा इंगल्याण्ड पुगे। तब विद्रोहीहरूलाई पक्रनाका निम्ति इंगल्याण्डबाट प्यानडोरा नामक जहाज ताहितीतिर हिँड्यो। चौधजना विद्रोहीहरूलाई इंगल्याण्डमा ल्याए। तिनमा तीनजनालाई फाँसी दिइयो। तर अरू नौजना चाहिँ पिटकैर्न (Pltcairn) भनिने टापुमा लुके।
पिटकैर्नमा तिनीहरू रुखको दूधको चोपबाट बनेको रक्सी धोक्न थाले। यसैले तिनीहरू चरित्रहीन भए। नीच बने र मारामार गरे। कति मारिए, कति मरे। अन्त्यमा अलेकजाण्डर स्मिथ नाम भएका एउटै मान्छे मात्र बाँचे। तब तिनलाई ती सबै विधवाहरू र तिनका भाल्टाङ-भुल्टुङ बच्चाहरूले घेरे। ती सबैको र आफ्नो परिवारको सारा भार पनि तिनीमाथि नै खनियो।
यसरी निराश भएका स्मिथले एकदिन थोत्रे बाकसभित्र एउटा बाइबल भेट्टाए। तिनले खूब पढे। प्रभुको वचनलाई यसरी हृदयभित्र लिँदा स्वर्गीय जीवन तिनीभित्र पस्यो, र तिनी पूरा बदली भए। यसरी प्रेरणा पाएर तिनले ती बच्चाहरू र स्त्रीहरूलाई पनि बाइबलका वचन सुनाए, अनि पढाए पनि। यसरी बाइबलको शिक्षा पाउँदै जाँदा तिनीहरूबाट दुष्टता, मतवालापन, झगडा, अल्छेपना र घृणा मेटिएर गए। तिनीहरू प्रेमी, नम्र, परिश्रमी र शिक्षित भए। तिनीहरूले खूबै उन्नति गरे। २० वर्षपछि १८०८ A.D. मा अमेरिकाको एउटा जहाज त्यहाँ अडियो। जहाजका नाविहरूले त्यहाँ अंग्रेजी बोली सुने। तल खाडलबाट उठेर संसारमा अरू सभ्य जातिकै बराबरीमा आइपुगि-सकेको एउटा सानो बेलायत र संसारभरि फैलियो। यस पृथ्वीलाई बाइबलको देन यही छ।
सर्वनाश भइसकेको त्यो सानो जत्था त्यतिकै माटोमा मिल्नेथ्यो। उनीहरूमा आत्मिक परिवर्तन नआएको भए निश्चय नै माटोमा मिल्नेथ्यो। प्रभुको वचनद्वारा परिवर्तित भई नैतिक सुधार आउनु नै उन्नतिको चाबी हो। सरकार बदली भएर पैसा पोखाउँदैमा उन्नति हुँदैन। साँचो उन्नतिका लागि जीवन परिवर्तन हुनैपर्छ।
बाइबलको प्रत्येक वचनमा जीवन र शक्ति छ। यी वचनले विश्वासद्वारा हृदयमा ठाउँ पाए भने त्यस व्यक्तिको जीवन बदली हुनेछ। जीवन परिवर्तित भईकन अन्धकारबाट ज्योतिमा आउने विश्वासीहरू हजारौं छन्।
अध्याय आठ : किन बाइबल विश्वासयोग्य र स्थिर छ?
कुन शक्तिको कारणले बाइबल सधैं विश्वासयोग्य र स्थिर रहिरहेको छ? यस गम्भीर प्रश्नको सहज उत्तर यस्तो छ—जुन परमेश्वरले सब थोक बनाउनुभयो, जसले समयलाई पनि बनाउनु-भयो। अनि जसलाई भूत, वर्तमान र भविष्यको पूर्णता ज्ञान छ, उहाँकै वचन बाइबल हुनाले यो सत्यता र स्थिरताले पूर्ण छ।
(१) बाइबल सदा स्थिर रहन्छ :
(क) “प्रत्येक प्राणी घाँसजस्तो छ, घाँस सुकिजाँदछ, तर परमेश्वरको वचन (बाइबल) युगानुयुग स्थिर रहँदछ।”1
(ख) “आकाश र पृथ्वी बितिजानेछन् तर मेरा वचन (बाइबल) बितिजानेछैनन्।”2
(ग) “व्यवस्था (बाइबल) को एक बिन्दु पूरा नभई टल्नेछैन।”3
(घ) “तपाईंको वचन (बाइबल) सत्य, तपाईंका एक-एक धर्ममय नियम सदाकालसम्म अटल रहन्छ।”4
(२) बाइबलको जन्म-स्थान :
बाइबलको उद्गम-स्थान परमेश्वर हुनुहुन्छ :
(क) “कुनै पनि भविष्यवाणी मान्छेको इच्छाद्वारा रचिएन, तर परमेश्वरको पवित्र जन पवित्र आत्माद्वारा उभारिएर बोल्दथ्यो।”5
(ख) “पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा रचिएको हो।”6
यो ‘प्रेरणा’ भन्ने शब्द ग्रीक भाषाको ‘Theopneustos’ बाट अनुवाद भएको हो। यस शब्दको ठीक अंग्रेजी अनुवाद हुन्छ ‘God–breathed’ अर्थात् ‘परमेश्वरद्वारा सास हालिएको। यसकारण यसको सोझो अर्थ हुन्छ—‘परमेश्वरले नै वचन र शब्द हालिदिनु-भएको खण्डमा पवित्रशास्त्र रचिएको हो।’
(३) बाइबल लेखनमा गरिएका माध्यमहरूको साक्षी :
परमेश्वरले जुन-जुन व्यक्तिलाई बाइबल लेख्न लाउनुभयो तिनीहरूले अथवा तिनीहरूकै पुस्तकले ‘हामीले प्रभुकै शब्द लेख्यौं र बोल्यौं’ भनेका छन्। मोशाले बाइबलका अघिल्ला ५ ओटा किताब लेखे। अरूले अरू किताबहरू लेखे। तिनीहरूको विषयमा के भनिएको छ, हेरौं :
(क) मोशाको विषयमा : मोशाले मानिसहरूकहाँ गएर यहोवा परमेश्वरका शब्दहरू (एक-एक शब्द) अनि नियमहरू बताइदिए, तब सबै मानिसहरू एकै सोरमा कराए—‘जति शब्दहरू यहोवाले भन्नुभएको छ, ती सबै शब्दहरू हामी मान्नेछौं’, तब मोशाले यहोवाका सबै शब्दहरू लेखिदिए।”1
(ख) यशैयाको विषयमा : परमेश्वरले यशैयालाई भन्नु-भयो—“म नै तिम्रा परमेश्वर यहोवा हुँ, मैले तिम्रा मुखमा आफ्नो शब्द हालेको छु।”2 यसकारण यशैया बोल्दा आफ्नो शब्द होइन, तर परमेश्वरको शब्द बोले।
(ग) यर्मियाको विषयमा : परमेश्वर यहोवाले मलाई भन्नुभयो, “हेर, मैले आफ्नो वचनहरू तिम्रा मुखभित्र हालिदिएको छु।”3 यर्मियाले पनि मुखमा हालिएका परमेश्वरकै वचन बोलेछन् भनी थाहा हुन्छ।
(घ) इजकिएलको विषयमा : परमेश्वरले मलाई भन्नुभयो, “चाहे उनीहरूले सुनून् वा नसुनून तिमीले मेरो वचन उनीहरूलाई भन्नू।”4
(ङ) दाऊदको विषयमा : “परमेश्वरका आत्माले ममा भई बोल्नुभयो, अनि उहाँकै वचन मेरा मुखमा आए।”5 पवित्र आत्माले दाऊदको मुखबाट भएर बोल्नुभएको थियो।6 बोल्दा परमेश्वरबाटकै वचन दाऊदका मुखभरि आँउथ। यसकारण दाऊदले आफ्नो वचन बोलेनन्।
(च) सबै भविष्यवक्ताहरूको विषयमा : ख्रीष्टको आत्मा उनीहरूमा हुनुहुन्थ्यो, अनि पहिलेदेखि नै मसीहको दु:ख र महिमाको विषयमा बताउनुहुन्थ्यो।7 भविष्यवक्ताहरूले बाइबल लेखे। तर ख्रीष्टको आत्मा उनीहरूभित्र भई लेखाउनुहुन्थ्यो।
बाइबलमा “परमेश्वरले भन्नुभयो”, “परमेश्वरको वचन मकहाँ आयो”, “परमेश्वरले यसो भन्नुहुन्छ” भन्ने वाक्यांशहरू सैकडौं छन्। यसकारण बाइबल परमेश्वरको वचन हो।
(४) बाइबल मान्छेको वचन होइन भन्ने कुराको प्रमाण :
१ पत्रुस १: १०-१२ सम्म पढ्यौं भने एउटा गम्भीर कुरा पत्ता लगाउन सक्तछौं। यहाँ (क) भविष्यवक्ताहरू छन् (ख) भविष्यवाणी पनि गरे (ग); तर के भनेको आफैले नबुझ्दा थाहा नपाउँदा खोजतलाश गरे। आफैले पढाएको कुरा आफैले नजान्ने गुरु वा गुरुमा हुँदैनन्। आफूले बोलेको कुरा बुझिन्छ, केही शंका छैन। त किन बाइबल लेख्ने भविष्यवक्तहरूले चाहिँ बुझेनन्, जानेनन् त? यही त स्वादिलो कुरा हो। इजकिएलले धेरै भविष्यवाणी लेखे। हामी अर्थ बुझ्दैनौं, यसकारण भन्छौं, “इजकिएलज्यू यहाँ हुनुभएको भए सबै अर्थ बताइदिनुहुनेथ्यो होला।”, तर प्रभुको वचनमुताबिक इजकिएलले सबै अर्थ बताउन सक्तैनन्। उनले लेखे, तर लेख्न लाउने व्यक्ति अर्कै हुनुहुन्थ्यो। १ पत्रुस १:१०-१२ का भविष्यवक्ता-हरूले लेखे, तर के कुरा होला, कहिले हुन्छ होला भनी खोज गरिरहेका थिए। किनभने मसीहको आत्मा, जो उनीहरूभित्र हुनुहुन्थ्यो, उहाँले नै आफ्नो कुरा लेख्न लाउनुभएको थियो। ती भविष्यवाणीहरू लेखकहरूका आफ्नो कुरा थिएनन्।
यसकारण भविष्यवक्ताहरूले आसनमा बसी, आकाशतिर हेरी वा अडकल काटी बाइबल लेखेका होइनन्। उनीहरूले परमेश्वर-द्वारा प्रेरित भएर लेख्तथे। यसकारण हामीले देखेको त्यो साधारण देखिने बाइबल लरतरो चीज होइन, त्यो बाइबल परमेश्वरको शास्त्र हो। यसकारण होशियार होऔं, हामीले कसरी मान्दछौं!
यस विषयमा अझ बढी जान्न चाहनुभएको खण्डमा कृपया निम्नांकित ठेगानामा लेख्नुहोला। हामीसँग सम्पर्क गर्नुहुनेलाई उपहारस्वरूप विभिन्न पुस्तकहरू नि:शुल्क पठाउनेछौं। धन्यवाद!
NBCI
WhatsApp : 9818111318
Email : [email protected]