विजेता

अध्‍याय : १
अध्‍याय : २
अध्‍याय : ३
अध्‍याय : ४
अध्‍याय : ५
अध्‍याय : ६
अध्‍याय : ७
अध्‍याय : ८
अध्‍याय : ९
अध्‍याय : १०
अध्‍याय : ११
अध्‍याय : १२
अध्‍याय : १३
अध्‍याय : १४
अध्‍याय : १५
अध्‍याय : १६
अध्‍याय : १७
अध्‍याय : १८
अध्‍याय : १९
अध्‍याय : २०
अध्‍याय : २१

अध्‍याय : १

कहिले र कहाँ यो कथा शुरु भयो, त्यो भन्न गाह्रो छ; किनभने फूलहरूजस्तै हामी उज्यालोतिर बढ्ने तिर्सना बोकेर जन्मेका हौं। तर मलाई लाग्छ, यसको शुरु यस प्रकारको थियो - म त्यस सफा, रापिलो बिहानीलाई सम्झन्छु, जब मेरो मनमा उठेको यो तिर्सना मैले पहिलोपल्ट याद गरें। त्यस बेला म उत्तरी टायरको समुद्री तटको मैदानमा झोक्राएर मेरी दिदीलाई घृणा गरें र उनलाई मैले हेला गरेकोले आफैलाई पनि घृणा गरें; किनभने कि त उनी बिरामी भएकी थिइन्, कि ता गाउँका मानिसहरूले कानेखुशी गरेजस्तै उनलाई दुष्ट आत्मा लागेको थियो; जे भए पनि यसमा उनको केही दोष थिएन।

उनको डरलाग्दो डगडगी काम्ने व्यथाले गर्दा मैले उनलाई घृणा गरिनँ, जसले उनलाई जुनै बेला पनि अचानक छोप्थ्यो। त्यस्तो बेला उनी दाह्रा किट्थन्, आफ्नै कपाल भुत्ल्याउँथिन्; अनि भुइँमा होस् वा आगोमा होस् अथवा उनी जहाँ उभिरहेकी थिइन्, त्यहीं नै लड़ीबुड़ी गर्थिन्। कहिले बढ़ी, कहिले कम हुने गरी र बीच-बीचमा उनलाई छोड़ेर यो क्रम धेरै वर्षदेखि चलिरहेकै थियो अनि उनलाई यस्तो देख्ने मेरो बानी भयो। यसबाहेक कहिलेकहीं बीचमा उनी पूरा स्वस्थ देखिन्थिन्; तरैपनि उनी सधैं केही अनौठो र मन उड़ेकी देखिन्थिन्; पुरानै बुढ्यौली अनुहार लिएर र आफ्ना हात बाँधेर उनी एकोहोरो आकाशतिर हेरेर बस्थिन्; अनि कहिलेकहीं जब उनी बोल्थिन्, तब उनको सोर टाढ़ा, धेरै नै टाढाबाट आएको आवाजजस्तो लाग्थ्यो; तर उनका बोलीवचन धेरैजसो उपदेशका वचनहरू हुन्थे, र मेरी आमाले उनको भक्ति गर्नुहुन्थ्यो।

अरू कसैको मतलब रहँदैन भन्ने दुष्ट विचार सोच्दै मैले आफ्नो खुट्टाका औलाहरूले बालुवाभित्र कोतरें। म एक मात्र छोरा थिएँ; तर हामीले थोरै मात्र माछा मार्न सकेर खानेकुराको अभावले सताइरहेको बेलामा उनलाई स्वादिष्ट भोजन खुवाउनको निम्ति म र बहिनी, हामी भोकै बस्नुपर्थ्यो। कुनै बेला मैले यसो सोचें मेरी आमा उनीसँग डराउनुहुन्छ; अनि कुनै बेलामा मैले विचार गरें - होइन, उहाँले उनलाई साह्रो माया गर्नुहुन्छ; यसैले उहाँलाई अरू कसैको वास्ता हुँदैन। मैले लामो सुस्केरा हालें र पिच्च थुकें, अनि बाबासँग काममा जान र रातभरि जाल फिजाउन म कहिले उमेरदार हुँला भनेर खूब चाह गर्न थालें। तर म बाह वर्षको नभएसम्म उहाँले मलाई लानुहुन्न, र म त्यस लाठे उमेरमा पुग्न अझै दुई महिना बाँकी थियो।

समुद्र तट अति नै सुनसान थियो। झलमल्ल झुल्केको घाम हिउँले ढाकेको हेर्मोन-पर्वतको चुचुरामाथि पुगिसकेको थियो र त्यसले मेरो ढाड़ ततायो, तर तुवाँलोले अझै समुद्र र भूभागलाई ढाकिरहेकोले समुद्रको अन्त कहाँ हुन्छ र कहाँबाट आकाश शुरु हुन्छ, सो भन्न गाह्रो थियो। बालुवामाथि एउटै छाल पनि पोखिँदैनथियो; पानी एकदम शान्त थियो र पानीबाट हरहर निस्केको वाफमा हल्का सुन्तला रङ्ग पोखिएको थियो; अब जुनै बेला पनि एउटा छिटो बढ्दै ठूलो भएर मतिर आइरहेको कालो छेस्को देखा पर्नुपर्थ्यो।

अब अबेर भइसकेको थियो; यसबाट आज धेरै माछा पक्रेको बुझिन्थ्यो। मैले आफ्ना आँखा तिखारें र डुङ्गा, त्यसको पछाड़ि हल्लिरहेको जालको आकृति र त्यसको मनितिर माछाहरूले झिलिक- मिलिक गरेका ठम्याएँ। पानीको छेउतिर दौड़ेर मैले हात हल्लाएँ र मेरा हट्टाकट्टा, गम्भीर बाबा डुङ्गाको अगाडिपट्टि उभिनुभयो र हात हल्लाउनुभयो। यस्तो अभिवादनको लेनदेन हामी प्रायः मेरो जीवनभरि हरेक बिहान गर्थ्यो; यो मेरो लागि खुशीको क्षण थियो; किनकि म मेरा बाबालाई माया गर्थे, अनि राति बाहिर, खुला समुद्रमा जाने मछुवाहरू सधैं बिहान फर्केर आउँदैनथे।

म झट्टै फर्केर टोकरीहरू लिन कुदें। डुङ्गाको तल बालुवामा घसिएको आवाज सुन्न र डुङ्गाबाट ओर्लंदा मेरा बाबाको ठूलो हात समात्ल म समयमै किनारमा आइपुगें। मानिसहरू प्रसन्न मुद्रामा थिए, डुङ्गा लादिएको थियो अनि जाल गह्रुङ्गो थियो। एउटा तालिम प्राप्त समूहले जस्तै हामीले चुपचाप डोरीमा आ-आफ्नो ठाउँ लियौं, मचाहिँ डोरीको पछिल्लो बाँकी छोटो भागतिर दौड़ें; किनकि एउटा बलियो जवान केटा भए तापनि मैले यी मछुवाहरूका खैरा, ठूला मांसपेशी र बिछट्टको सामर्थ्य सँग काम गर्न सकेको थिइन। तिनीहरू दहो गरी तन्किए र एउटै मान्छेले झैं पछाड़ि निहुरे, एकैक्षण विश्राम गरेर सबैले एकसाथ लामो सास ताने र जाल किनारमा नतानेसम्म फेरि अनि फेरि बलियो गरी तानिरहे; तब हामी सबै माछा केलाएर मिलाउन दौड्यौं।

माछा मलाई मन पर्थ्यो। केही माछा त हामीले फेरि पानीमै फालिदियौं, तर आज प्रायः सबै नै खान लायकका थिए। हामीले तिनलाई टोकरीहरूमा चाङ लगायौं, सेता टल्कने कत्ला भएका, तपतप चुहाउने माछाले भरिएका यी टोकरीहरू जुरुक्क उठाएर हाम्रा काँधमा राख्यौं र बजारतिर हिँड्यौं। तर पहिले म दौड़ें र समुद्रमा भम्लङ्ग हाम फालें; किनकि छायाहरू अझै लामा भए पनि घाम चर्केको थियो र मैले खूब मेहनत गरेको थिएँ। त्यसपछि मैले आफ्नो सानो टोकरी उठाएँ र मेरा बाबाको पछि पछि लागें। माछा व्यापारीहरू बजारमा छाप्राका ओतहरूमा हामीलाई पर्खिरहेका थिए; अब मोलतोल र बढाबढ शुरु भयो। मेरा बाबामा म घमण्ड गर्थे; किनकि कसैले पनि उहाँको भाउ धेरै घटाउन सक्दैनथ्यो; अनि यस बिहान पहिलो डुङ्गा हाम्रो भयो। मूल्य निश्चित भएपछि माछाहरू जोखिए र टाँड़हरूमा ती जगमगाउँदै ठूला-ठूला रासहरूमा घोप्ट्याइए; त्यसपछि मेरा बाबा मतिर फर्कनुभयो। “तिम्रो टोकरीमा बाँकी बसेकाजति घर लैजाऊ!” उहाँले भन्नुभयो, “अनि तिम्री आमालाई तैयार पारिराख्नु भन। म तुरुन्तै फर्की आउनेछु।”

म हतपत हाम्रो घरतिर लाग्ने सड़कतिर अघि बढ़ें; अझै मैले माझी भोटो मात्र पहिरेको थिएँ। केही छिनको लागि मैले मेरा दुःखहरू भुलें। म धेरै भोकाएको थिएँ, र आज हामी धीत मर्ने गरी खानेछौं। मेरी आमा र बहिनी मिलेर माछाको आन्द्राभुँड़ी निकाल्नेछन्, आगो फुक्नेछन्, र चाँड़ै तेल झानेको, ताजा माछा भुटेको, मसलाहरूको र ताता रोटीहरूको मगमग बास्नाले घर भरिनेछ। मेरा बाबा आउनुहुनेछ अनि हामी माछा राख्ने किस्तीको वरिपरि बस्नेछौं। त्यो कति रमाइलो समय हुनेथ्यो मेरी दिदीको उपस्थिति त्यहाँ नभएको भए। सधैंजसो उनले अलि पर बसेर खान्थिन्, उनको थाल हरेक किसिमको असल असल खानेकुराले भरिन्थ्यो; तर कहिलेकहीं उनी आएर हामीसँग परिवारको घेरामा बस्थिन् तब एउटा बिरानो मान्छे आई हामीसँग बसिरहेको जस्तो गरी हामीहरू प्रायः चुपचाप हुन्थ्यौं; मेरी आमाले खाना खान छोड्नुहुन्थ्यो अनि डराउँदै र टिठ्याउँदै उनलाई प्रेमपूर्वक हेरिरहनुहुन्थ्यो; मचाहिँ बाँकी खाना मुखभित्र गाँस लगाउँदै यो सबैदेखि टाढा हुन बाहिर दौड्थें।

आज अति गर्मी दिन हुनेछ। हाम्रो एकजना कामदारले उसको ढोकामा उभिएर मलाई बोलायो। अङ्गुरका लहराको झ्याङ्गको छायाले ढाकेको पिँढीभित्र पुगेर म अड़िएँ, अनि गफ चुट्दै गर्दा उसले मलाई मही पिउन दियो। म अरू मछुवा केटाहरूकहाँ जान खूब मन पराउँथें, तर म लजाउँथे पनि; मैले तिनीहरूलाई कहिल्यै 'मेरो घरतिर पनि खेल्न आओ न' भन्न सकेको थिइनँ; किनकि मेरी दिदीलाई काँने व्यथाले कहिले छोप्ला, त्यो मलाई थाह हुँदैनथ्यो। उनी दिनमा कहिलेकहीं मात्र घरबाट बाहिर निस्कन्थिन्; तर उनलाई सबैले चिन्थे र उनको बारेमा कानेखुशी गर्थे; यसैले हामीकहाँ पाहुनाहरू विरलै आउँथे।

अनि मैले मेरो भोकको छटपटी अलि मर्‍यो, र म एकछिन बसिरहें। माछाहरू एकैछिनमा पाक्छन्, तर रोटीहरू पाक्न अलि समय लाग्छ, मेरा बाबा हालै आउनुहुनेछैन। बजारमा उहाँलाई काम परेको थियो, र अरू माझीहरूसँग बसेर उहाँ ज्वार-भाटा, मौसम र माछा पक्राइ आदि विषयहरूमा बात मार्न रुचाउनुहुन्थ्यो। कहिलेकहीं त मलाई शङ्का लाग्थ्यो - के त्यस बिहानीपखको मिरमिरे आकाश र विशाल समुद्रको स्वच्छन्दताबाट फर्केर त्यस कालो अन्धकारले ढाकेको आफ्नो घरमा आउन मलाई जस्तै मेरा बाबालाई पनि गाह्रो भयो कि? तर उहाँ असल पति र विश्वासयोग्य बाबा हुनुहुन्थ्यो; शायद मेरो जस्तै सोचाइ उहाँले लिनुभएको थियो, तर यसको बारेमा उहाँले कहिल्यै कुरा गर्नुभएन।

म साथीबाट बिदा भएँ र सड़कहुंदो दौड़ें; किनकि यस बेला मलाई अबेर भइसकेको मैले थाह गरें। तर जब मैले घुम्ती छिचोलें, तब मेरी  आमा सड़कमा उभिएर फिक्री गर्दै मेरो बाटो हेरिरहनुभएको देखेर म त एकछिन छक्क परें। जब उहाँले मलाई देख्नुभयो, तब उहाँ दौड्दै मलाई भेट्न आउनुभयो; अनि उहाँ यति साहो खुशी हुनुहुन्थ्यो, धेरै समयदेखि मैले उहाँलाई यसो देखेको थिइनँ।

"छिटो गर, बाबु”, उहाँ अधीर हुँदै कराउनुभयो। “मलाई माछा देऊ, नुहाऊ र तिम्रो लाउने लुगा लगाऊ। गालीलका तिम्रा मामा आउनुभएको छ; उहाँ खाजा खान पर्खिबस्नुभएको छ।"

बाटोमा म उहाँको अघि-अघि दौड़ें; किनकि यो साँच्चिकै खुशीको खबर थियो। गालीलका मामालाई मैले माया गर्थे; अनि केही समय- यतादेखि हामीले उहाँलाई देखेका थिएनौं। उहाँ मेरी आमाको दाजु हुनुहुन्थ्यो! उहाँ कपर्नहुमकी एउटी केटीसँग प्रेममा फस्नुभएको थियो। तर माइजुको परिवारले तिनलाई इज्राएल - देश छोड्न नदिएपछि उहाँले आफ्नो डुङ्गा त्यस तालमा सार्नुभयो, र आफ्नो कामधन्दा गालीलमा अघि बढ़ाउनुभयो। माइजुको बुवालाई खुशी पार्न उहाँ यहूदी बन्नुभएको थियो, तर उहाँ र मेरी आमाको बीचको सम्बन्ध भने अझै नजिक थियो; अनि समय-समयमा उहाँ हामीकहाँ आइरहनुहुन्थ्यो।

मेरा मामा अग्लो, कालो दाह्री पालेको, फराकिलो जीउ र मछुवाका जस्ता ठूला-ठूला मांसपेशी भएको मानिस हुनुहुन्थ्यो। लामो यात्रा गरेर थाकेकाले डसनामा बसेर आराम गर्दै उहाँले मेरी हाँसिली बहिनीसँग जिस्कनुभयो। उहाँ मेरी दिदीसँग पनि शिष्टपूर्वक बोल्नुभयो; तर उनीसँग उहाँले ठट्टा गर्नुभएन, न ता उनीतिर धेरै बेर नै हेर्नुभयो; किनकि उनका डरलाग्दा आँखाको तराइसँग कोही टिक्न चाहँदैनथ्यो। जब म उनीसँग बोल्थें, तब म त सधैं अन्तै फर्कन्थें। सफा भएर र कपड़ा लगाएर म कोठाभित्र पसें र खुशी हुँदै मेरा मामालाई अभिवादन चढाएँ। मलाई लाग्यो म उहाँको मनपर्दो थिएँ, र अहिले उहाँले मसँग उमेरदार व्यक्तिसँग झैं कुरा गर्नुभयो। 
"डुङ्गाहरूमा काम गर्न जान थाल्यौ, बाबु?” उहाँले त्यसै सोध्नुभयो।

“अझै म बाहमा त टेकेको छैन, तर अब धेरै बेर छन। हरक बिहान म जाल तान्न र माछा केलाउन सघाउँछु।” 
"यसकै बाटो हेर्दै?" मैले टाउको हल्लाएर स्वीकारें।

उहाँ मुसुक्क हाँस्नुभयो। “पुस्तौंपुस्तादेखि यससँग हाम्रो रक्त- सम्बन्ध छ, बाबु। जब मेरो जाने बेला आउँछ, मलाई आशा छ, म आँधीबेहरीमा फस्नेछु। गालीलका आँधीबेहरीहरूमा केही अद्भुत कुरा छन्; ती आँधीहरू पहाड़का खोल्साहरूबाट अचानक, आफूले नसोचेको बखतमा हुनहुनाएर जीवनको अन्तिम घड़ी आइपुगेको छ भन्ने थाह नपाउन्जेलसम्म पानी छचल्किँदै आइलाग्छन्। तर जे भए पनि म यस कामलाई छोड्दिनं; योजस्तो अरू के छ र?" यस कुराले उहाँलाई कुनै घटनाको याद दिलाएजस्तो थियो; किनकि उहाँ टाउको बिस्तारै ह चुप लाग्नुभयो। “तिनीहरूलाई बुझ्न सकिन्न” उहाँ भावुक बन्दै बोल्न थाल्नुभयो, “हालसालै मेरा चारजना साथीहरूले आफ्ना डुङ्गाहरू त्यत्तिकै छाडेर एउटा व्यर्थ कुराको पछि लागेका छन्; अँ! तिम्रा बाबा यहाँ आउँदै हुनुहुन्छ; अनि म माछा भुटेको गन्ध थाह पाउँछु त।”

उहाँ जुरुक्क उठ्नुभयो र आफ्नो भिनाजुलाई अंगालो अभिवादन चढ़ाउनुभयो। मेरी आमाले खाना ल्याउनुभयो। आजको खाना उहाँले अति राम्रो प्रकारले पकाउनुभएको थियो। माछाहरू अझै भाइँ- झाइँ गरिएका थिए, रोटीहरू ताता र बास्नादार थिए, फलफूलहरू सीप लगाएर राम्रोसँग चाङ लगाइएका थिए, दाखमद्यका भाँडाहरू टन्न थिए। भान्सा र घरायसी काममा फुत्रुक्क दौड्दा - दौड्दै सास बढ़ेकी र राती भएकी मेरी बहिनी आयोन एउटा आरी लिएर आइन् र हाम्रा पाउ धोइन्। मेरी आमाले सबै थोकको राम्रो राम्रो भाग भिक्नुभयो र एउटा थालमा मेरी दिदी इल्लिरिकाको लागि लानुभयो, जो अलि पर बस्थिन्। तब भान्सा अति नै भव्य भयो। नै शुरुमा बातचित सबै मछुवाहरूको गफ थियो; गलील ताल र समुद्रमा माछा माराइका सम्भावित फाइदाहरू, भाउ अनि गलीलमा हालखबर आदान-प्रदान गर्‍यौं र अमन नहोउन्जेल खाइ नै रह्यौं; अन्तमा त्यहाँ एकछिन बातचित बन्द भयो। मसँग मेरा मामाले अझै कुरा गर्नुभएको म चाहन्थें; यसैले मैले जहाँ हामीले गफ गर्दै छोड़ेका थियौं, त्यही कुरा कोट्याएँ।

"मामा", मैले सोधें, “किन तपाईंका चारजना साथीहरूले आफ्ना डुङ्गाहरू छोड़ेर व्यर्थको धन्दामा हिँड़े?" 
“अँ!" गम्भीर भावमा मेरा मामाले जवाफ दिनुभयो, "यही कुरा नै त्यहाँ सबैले सोधिरहेका छन्। यसको कहानी लामो छ, तर तल गालीलमा रहस्यमय कुराहरू भइरहेका छन्। ती कसरी लिनु, सो कसैलाई पनि थाह छैन; म आफैलाई पनि ती कसरी लिनुपर्ने भन्ने थाह छैन; तर आफ्नो डुङ्गा नै छोड़ेर, अनि आफ्नो जाल नै छोडेर एक पैसा पनि नलिईकन हिँड्नु नै कति छक्कपर्दो! तिनीहरूले पक्कै पनि मैले भन्दा अत्यन्तै बढ़ी फाइदा भेट्टाएका हुनुपर्छ।"

"कसले मामा? अनि किन तिनीहरू गए त?"

अब सबैजना उत्सुक भए; अनि मेरा मामाले हाम्रा प्रश्नहरूको जवाफ दिन उहाँलाई मुस्किल भएझैं गरी लामो सास लिनुभयो। जब उहाँ बोल्नुभयो, तब उहाँको अनुहार वाल्ल र गम्भीर देखिन्थ्यो।

"मैले मेरी पत्नीलाई खुशी पार्न यहूदी धर्म अपनाएँ, तर यी सबै कुरामा मलाई चासो छैन। तिनीहरूका थुप्रै भविष्यवक्ताहरू थिए - भूटा वैद्य र चमत्कार देखाउनेहरू; तर तिनीहरूमध्ये एउटैमा पनि मैले विश्वास गरेको छैनँ। जब यस मानिसले कानामा पानीलाई दाखमद्यमा परिणत गरेको हल्ला चल्न थाल्यो, तब अरूसँगै म पनि हांसें; तर जब पहाड़ी भेगको ठूलो घरमा मेरा ग्राहाकको एक मात्र छोरा बिरामी भयो, तब म हाँसिनँ। उनी एक असल मानिस हुन्, शहरका घरानियाँ व्यक्ति; अनि व्यक्तिगत हिसाबले कुरा गर्ने हो भने म उनीलाई मेरा माछा बेच्छु। यस बालक पाउनका निम्ति उनी र उनकी पत्नीले वर्षों पर्खिरहेका थिए। यो तिनीहरूको आँखाको नानी नै थियो।"

"अनि के भयो त?" 
कसरी अगाडि बताउँदै जाने थाह नभएजस्तो गरी मेरा मामाले दाखमद्यको घुट्को लगाउनुभयो।

त्यो बालक ज्वरोले बिरामी भयो "कुरा के हो भने जिल्लाभरिका हरेक डाक्टरलाई बोलाइयो; तर तिनीहरूले आफ्ना टाउको हल्लाउँदै गइहाले। सधैंझैं मैले त्यस दिन भान्सा घरमा माछा लगें, जहाँ मैले केही पिउन र दासहरूसँग गफ गर्न पाउँथें; अनि कहिलेकहीं यदि मैले त्यस बालकलाई तल भेटें भने ऊ सधैँ मालिकको अँगालोमा हुन्थ्यो। तर त्यस बिहान त्यहाँ सुनसान थियो, अनि दासदासीहरू रोइरहेका थिए; किनकि तिनीहरू सबैले त्यस बालकलाई माया गर्थे। 'ऊ मृत्युको पन्जामा छ', तिनीहरूमध्ये कसैले कानेखुशी गर्‍यो। 'उसको शरीर आगोजस्तै छ; ऊ आमाको काखमा सुत्छ, अनि अब झन् उसले कसैलाई चिन्दैन।' अनि जब म ढोकामा उभिएँ, तब मैले एउटा मान्छेले युद्धमा निस्कँदा घोड़ा चढ़े यी मालिकलाई सड़कहुँदो बेतोड़ घोड़ा कुदाउँदै आफ्नो घोड़ामा चढेको देखें, घोड़ाका टापले हुत्त्याइएको धुलोले उनलाई दृष्टिबाट ओझेल पारिरहेको थियो। 'उहाँ कहाँ जाँदै हुनुहुन्छ?' मैले सोधें। 'कानामा', दासहरूमध्ये एकजनाले जवाफ दियो। 'तिनीहरूले त्यहाँ कानामा आश्चर्यकर्म गर्ने एकजना नासरी छन् भन्छन्।' उसले अपमान गरेर भन्यो, तर कोही पनि हाँसेन; अनि मचाहिँ टाउको बिस्तारै हल्लाउँदै अन्तै फर्के।"

मेरा मामाले फेरि चुपचाप गम्नुभयो। अरू बताउन उहाँ डराउनुभएजस्तै देखिनुहुन्थ्यो; पूरै परिवारले उहाँमा आँखा अड़ाएर बसिरहे; म मात्रै इल्लिरिकापट्टि फर्केर बसेको थिएँ; इल्लिरिका उठेर उनीहरूको पछाड़ि थ्याच्च बसेकी मैले देखें। उनलाई पुलुक्क हेर्दैमा म थरथर कामें। उनका आँखाहरू काला र ठूला-ठूला थिए; अनि ती आँखाहरूबाट डरलाग्दो त्रास उर्लिरहेको देखिन्थ्यो। 

"भन्दै जाऊ न", मेरी आमाले सास तान्नुभयो। 

"तीन दिन म त्यहाँ गइनँ; तर बजारमा तिनीहरूले त्यो बालक अभ जीवितै छ भन्थे। तेस्रो दिनमा म त्यहाँ पुगें। मालिक बगैंचामा उभिरहेका र त्यस बालकले घरको एउटा सानो कुकुरको छाउरा लखेटिरहेको थियो; अनि ऊ स्वस्थ भएर उसका गालाहरू राता-राता र रहरलाग्दा थिए। म एकछिन रोकें र मालिकलाई 'मलाई एकदमै खुशी लाग्यो' भन्न साहस गरें।

"उनले के भएको थियो, तिमीलाई भने?"

"हो, उनी यति खुशी थिए; यसैले उनले यो आफ्नै मनमा राख्न सकेनन्; आफ्नो मछुवालाई पनि बताउन उनलाई करै लाग्यो।" मेरा मामा हाँस्नुभयो। “उनी कानामा गएका थिए, जोचाहिँ बीस माइल टाढामा, पश्चिमतिर छ; अनि ती भविष्यवक्तालाई भेट्टाउन कुनै गाह्रो थिएन; किनभने अब तिनले के गर्दैछन् भनेर हेर्न पर्खदै सबैले तिनलाई घेरा मार्दै पछ्याइरहेका थिए। उनले कसरी ती भविष्यवक्ताको सामु सडकमै घुड़ा टेक्दै आफूलाई होच्याए र कसरी बालक मर्नुअघि नै आफूकहाँ कपर्नहुम आइदिन तिनलाई विन्तीभाउ गरे, सो मालिकले मलाई बताए। त्यतिखेर सातौं घड़ी भइसकेको थियो। 'घर जाऊ', ती भविष्यवक्ताले भने, 'तिम्रो बालक जीवितै छ।'" 
"अनि के उनले तिनको कुरामा विश्वास गरे?” मेरी आमाले अतालिँदै सोध्नुभयो।

"उनले तिनमा विश्वास गरे। किन र कसरी उनले बताउनै सकेनन्। उनले यति मात्र थाह गरे - त्यो वचन साँचो थियो, र ती मानिस अधिकारसित बोल्ने व्यक्ति थिए। उनी घरतिर लागे, आनन्दमा गीत गाउँदै घाम अस्ताउनुभन्दा अघि घर पुगे। जब उनी आफ्नो घर देखिने ठाउँमा आइपुगे, तब उनका दासहरू आनन्दसहित रमाउँदै, उफ्रँदै र हात हल्लाउँदै उनलाई भेट्न दौड्दै गए। बालक जीवित थियो; सातौं घड़ीमा नै केही कुरा घटिसकेको थियो। ज्वरो छुटिसकेको थियो। उनकी पत्नीले अरू बेलिबिस्तार लगाइन्। बालकलाई आफ्नो काखमा लिएर तिनी बसिरहेकी थिइन् र उसका सुकेका ओठहरू पानीले पुछिरहेकी थिइन्; त्यस बेला अचानक नै उसको शरीरबाट आगो झैं बलिरहेको राप ओर्लियो र उसको तेजसँग बढिरहेको ढुकढुकी कम भयो। 'यो मृत्यु हो' तिनले आफ्नो मनमा सोचिन् र रुन लागिन्। तर यस बालकले आफ्ना आँखा खोल्यो र तिनीतिर 
हेर्‍यो; अब ती आँखा दर्द र ज्वरोबाट पीड़ित थिएनन्, तर खुशी र स्वस्थताले आनन्दित थिए। उसका ओठहरूमा तिनले चुम्बन गरिन्, अनि ती चिसा र मत्थर भएका थिए। ऊ हाँस्दै बस्यो, 'मलाई कुकुरका छाउराहरू हेर्न जान मन लाग्यो, मम्मी' उसले भन्यो र बगैंचातिर दौड्यो। तिनी उसको पछि-पछि लागिन् र धूप - घड़ीतिर हेरिन्। त्यस बेला सातौं घड़ी भएको थियो; त्यही घड़ी ती भविष्यवक्ता बोलेका थिए।" 

त्यहाँ एकछिन सुनसान भयो; तब मेरा बाबाले सोध्नुभयो, “यी भविष्यवक्ताको नाम के हो?" 
"तिनको नाम? ए, तिनीहरूले तिनलाई येशू भन्छन्।”

 

अध्‍याय: २ 

टेबल नै पल्टने गरी हामी सबैजना जरुक्क उठ्यौं; अनि इल्लिरिकाको व्यथा मलाई बानी भइसके तापनि यतिखेर उनले रिस र त्रासले दाह्रा किटेर चिच्च्याउँदै यति साह्रै कराएकी मैले कहिल्यै सुनेको थिइनँ। मेरा बाबाले उनलाई वशमा ल्याउन आफ्ना पाखुराहरूले अँगालोमा कस्नुभयो; किनकि यी कंपाइहरूले उनलाई मानिसभन्दा बलियो तुल्याएको देखिन्थ्यो। आयोनलाई मेरी आमाले मकैको डालो- पछिल्तिर धकेलिदिनुभयो, अनि मैले सकेजति फलफूल पक्रे र बतासिएर घरबाट निस्कें। सड़कको कुनामा नपुगेसम्म म कुदें, अनि त्यहाँ मैले पछाड़ि हेरेर मेरा मामा मलाई पछ्याउँदै हतार-हतार लम्किँदै आउनुभएको देखें। मैले उहाँलाई पर्खे। उहाँ ठूलो, बलियो व्यक्ति नै हुनुहुन्थ्यो, रपनि मैले उहाँ थरथर काँपिरहनुभएको देखें। 

"के सधैंजसो उसले यसै गर्छे?” उहाँले सोध्नुभयो; उभिंदा बढ़ी काम्नुपर्छ भनी उहाँ घाटको पेटीमा थचक्क बस्नुभयो। 

“हो; घरि-घरि उनले यसो गर्छिन्; तर यो कुनै फिक्री गर्नुपर्ने कुरा नै होइन। अर्को पल्ट यस व्यथाले उनलाई नछोपेसम्मको लागि उनले यसबाट आराम पाउँछिन्।" 

"विचरी तिम्री आमा!" 

“ए, आमा त राम्रै हुनुहुन्छ। उहाँ बस्नुहुन्छ र घण्टौंसम्म उनको सुसार गर्नुहुन्छ। उहाँले गर्ने अरू केही काम नै छैन।” 

मैले मेरो सोरको तीतोपना निस्कनदेखि थाम्नै सकिनं अनि मेरा मामाले मलाई गहिरिएर हेर्नुभयो। “तिमीले के भन्न खोजेको, बाबु?" उहाँले सोध्नुभयो। “तिनको तिमीहरू सबैको हेरविचार गर्न र घर चलाउने काम पनि त छ नि, छैन र?" मैले कुम खुम्च्याएँ।

आउँदा दिनहरूमा हामी हुन्छौं कि हुँदैनौं भन्ने कुराको ख्याल उहाँलाई विरलै हुन्छ। आयोनले नै सबैजसो घरधन्दा गर्छिन्; तर यिनी नौ वर्षकी मात्रै छिन्।" म एकछिन चुप लागे र यसो बम्किएँ, “घरमा दिक्क लाग्छ, मामा; इल्लिरिकाको बाहेक अरू कसैको वास्ता राखिँदैन, र कोही पनि हामीकहाँ आउँदैन किनभने तिनीहरू सबै उनीसँग डराउँछन्। म यी सबै कुराहरूदेखि टाढा हुन सकेको भए र अन्तै कता हुर्किन पाएको भए कति असल हुन्थ्यो नि, जस्तो लाग्छ।”

उहाँले आफ्नो ठूलो हात मेरो घुड़ामा थप्पु मार्नुभयो। “भान्जा- भान्जीहरूलाई भेट्न म सारपततिर लाग्दैछु। के तिमी मसँगै जान्छौ त?" दु:खित भई मैले टाउको हल्लाएर हुँदैन भनें। जाल सफा गर्नु र तुन्नु, सरसामान मिलाएर डुङ्गा तम्तयार पारिराख्नु, टोकरीहरू धोइधाइ गर्नु आदि मैले समुद्र-तटमा गर्नुपर्ने कामहरू थुप्रै छन् र यदि मैले आफ्ना जिम्मेवारीहरू बेवास्ता गरें भने मेरा बाबाले मलाई ठूलो सजाय दिनुहुन्थ्यो। 
“ल त " मेरा मामा बोल्नुभयो, “म भरे फर्केर आउँला। तिम्री आमासँग बात मारेर म भोलि बिहानै मात्र निस्कन मलाई मन लागेको छ। अब, आफ्नो काममा जाऊ, बाबु।"

मैले उहाँलाई बाँधको डिलतिर पुग्ने तटको बाटो लामो लामो फट्कोमा लम्किरहनुभएको हेरें। उहाँसँगै जान मेरो ठूलो इच्छा थियो; किनकि सारपत जाने बाटोको बस्तीका मेरा भाइबहिनीहरू खूब मज्जाका थिए। त्यस जग्गालाई कालरात्रिले छोपेको थिएन। सुस्केरा हालेर म समुद्री तटतिर ओरालो लागें।

समुद्र तटमा म दिनभरि नै बसिरहें; किनकि मैले बिहान टन्न खाएको थिएँ। अरू मछुवा ठिटाहरूसँग मैले काम गरें अनि खेलें ; जब टाउकै भैं फुट्ला घाम चर्कियो, तब मैले त्यस नीलो भूमध्य सागरमा पौड़ी खेलें। घाम समुद्रमा डुबिसकेपछि मात्रै म घर गएँ अनि मैले सोचेजस्तै मेरी आमा मलाई नियाल्न निस्कनुभएन। खुरन्धारसँग मेरी दिदीलाई ध्यान दिएर उहाँ गुनगुनाउँदै उनीसित बस्नुभयो; उनी अझ डसनामा अचेत अवस्थामा लडिरहेकी थिइन्। मैले एक बटुको मही, एक रोटी र बाख्राको पनिरको टुक्रा उठाएँ र कोठाको पर कुनामा गएर थचक्क बसें। रातको काममा मेरा बाबा अघि नै गइसक्नुभएको थियो र आयोन मस्त निद्रामा थिइन्। मेरा मामा आग्लो उघारेर भित्र पस्नुहुँदा कोठा अंध्यारो भइसकेको थियो। मेरी आमा निहुरनुभयो र दियोमा तेल थप्नुभयो; यसले गर्दा बत्ती धपक्क बल्यो र कोठाको चारैतिर ज्योति जगमगायो।

"आयोन”, उहाँले बोलाउनुभयो, “उठ, र मामाको खाना तयार गर।" निद्राले रातो भएर रन्थनिँदै आयोन ओछ्यानबाट जुरुक्क उठिन्। पहिले तिनी सोझै भित्तामा ठक्कर खाइन्, त्यसपछि टेबलतिर लर्खराउँदै पुगिन् अनि उभिएर बेहोशसित चारैतिर हेरिन्। मेरा मामाले तिनीमाथि दया गर्नुभयो र तिनलाई सहायता गर्न लाग्नुभयो; अनि आमासँगको रिसले गर्दा मैले आँखै देखिनँ। उहाँचाहिँ मेरी पिलन्धरे दिदीलाई भुलाउँदै बिनाकाममा बसेर किन सानी आयोनलाई उठाउनुपर्थ्यो? फेरि मैले इल्लिरिकालाई घृणा गरें।

केही समय म तिनीहरूलाई र भित्तामा परेको तिनीहरूको छायालाई हेर्दै बसिरहें। मेरी दिदीको अनुहार पहेंलो र मर्न लागेको देखियो; मेरी आमा भक्कानो छोड़ेर क्वां-क्यां रुनुभयो। मलाई लाग्छ तिनीहरूले म त्यहाँ भएकोसम्म याद गरेनन्।

"अनि, बहिनी, छोरीलाई कस्तो छ? " 
"ऊ अहिले शान्त छे।" मेरी आमाको सोर फुस्फुसाइरहेको थियो। 
"मलाई थाह थियो, उनी तर्सन्थिन् र बिरामी थिइन् भन्ने कुरा, तर तिमीले मसँग यी डरलाग्दा, बौलाउने कंपाइहरूको कुरा त कहिल्यै गरेनौ; कहिलेदेखि यी सब भइरहेछन्?" 
“करिबन दश वर्षअघिदेखि; ऊ सानै हुँदादेखि नै; अनि दाज्यू, यो सब मेरै भूलले गर्दा हो।" 
"त्यो कसरी? पक्कै पनि रोगहरू त ईश्वरबाट वा देवताहरूबाट नै आउँछन् यो आ-आफ्नो विश्वासअनुसारको कुरा हो।'

"यो रोगचाहिँ होइन; ऊ जन्मँदै बाङ्गो खुट्टा लिएर जन्मेकी हो; अनि योचाहिँ मलाई साह्रै दुःख लाग्यो। यस्ती लङ्गड़ी केटीको लागि कसले दाइजो देला? भन्ने प्रश्न मेरो मनमा उठ्यो। यसैले मैले उसलाई अन्धकारको शक्ति चलाउने एउटी झाँक्रिनी, एउटी टुनामुना गर्ने स्त्रीकहाँ लगें। त्यसले नबुझिने सोरमा झारफुक गरी एउटा डल्लो काँचको सिसामा आँखा गाड़ेर हेरिरही र ठूलो सोरले चिच्च्याई यस नानीमाथि हात राखी। यति गरेपछि त्यसले अति धेरै रकम मागी; अनि त्यो पैसाको जोहो गर्न मैले दिनदिनै मेरा पतिसँग झूट बोल्नुपर्थ्यो। मैले मेरो विवाहको धेरैजसो गहना बेचिसकें, रपनि उहाँलाई अझ थाह छैन।" 
“अनि के भयो त?"

"उसको खुट्टा बिस्तारै निको भयो; अब ऊ लङ्गड़ी थिइन। तर टुनामुना गर्ने स्त्रीको शक्तिचाहिँ दुष्ट आत्माको शक्ति नै रहेछ; र त त्यसले इल्लिरिकालाई पक्र्यो। किन यहूदी जातिकाहरूलाई तिनीहरूका परमेश्वरले दुःखाइले मर्नै लागे पनि झाँक्री वा जोखना हेर्नेहरू नलगाउनू भनेर कड़ासित मनाही गर्नुभएको छ भन्ने कुरा मैले बल्ल पो बुझें; किनकि तिनीहरूको शक्ति दुष्ट आत्माको शक्ति हो रहेछ। त्यसलाई छुनुस् त, र त्यसले तपाईंलाई छोप्छ। त्यससित सम्बन्ध राख्नुस् त, र त्यसले तपाईंलाई पक्रन्छ। त्यस दिनदेखि हामी त्रास र दुष्ट आत्माको छायामुनि बसिरहेका छौं, र कुनै कुराले हामीलाई यसबाट छुटकारा दिन सक्दैन।” 
“के तिमी फेरि त्यस टुनामुना गर्ने स्त्रीकहाँ जान सक्दैनौ?”

मेरी आमाले टाउको हल्लाउँदै “अहं" भन्नुभयो। "के दुष्ट आत्माले दुष्ट आत्मालाई निकाल्ला र? अहं दाज्यू, मैले सकेसम्म गर्न खोजें। वैद्य र कविराजहरूले केही गर्न सकेनन्। जति म उसलाई माया गर्छु, त्यति धेरै माया अरू कुनै नानीले पाएको छैन; किनकि माया एउटा ठूलो शक्ति हो, तर दुष्ट आत्माको शक्ति त मानिसको सामर्थ्यभन्दा जब्बर हुन्छ, र सधैं बढिरहन्छ। कहिलेकहीं त मलाई, त्यसले हामी सबैलाई छोप्ला र हामी सबैलाई तान्दै अन्धकार र पागलपनाभित्र थुन्ला भन्ने कल्पना आउँछ; अहो, मेरा दाज्यू, मलाई साह्रै डर लाग्छ।"

यतिखेर आमा त्यतिकै मुख छोपेर सुक्क सुक्क रोइरहनुभएको थियो। एक्कासि उहाँले टाउको उठाएर हेर्नुभयो। 
"दाज्यू, त्यो भविष्यवक्ता, जसको बारेमा तपाईंले कुरा गर्नुभएको थियो, त्यसको कुरा फेरि कहिल्यै नगरिदिनुस्। त्यसको नामले उसलाई झन् थर्कमान पार्छ। आज उसले यो कुरा धेरैचोटि फुस्फुसाएकी छे। 'के तपाईं हामीहरूलाई नाश गर्न आउनुभएको हो?' भन्दै ऊ साउतीमा सुसाएकी छे; अनि उसका आँखामा ठूलो अत्यास थियो। पक्कै पनि, त्यो पनि अन्धकारको शक्ति चलाउने मानिस नै हुनुपर्छ, र जुन शक्तिले मेरी छोरीलाई पक्रेको छ, त्यसले त्यस सानो बालकलाई पनि पक्रला। अबउसो त्यससँग कुनै सम्बन्ध नराख्नुस्।"

मेरा मामाले बिस्तारै टाउको हल्लाउनुभयो। “त्यस बगैंचामा त कुनै दुष्टको शक्ति थिएन,” उहाँले तुर्ने बेलामा भन्नुभयो। “यति मात्रै ठूलो हर्ष..., अनि कृपा अनि उज्यालो।” उहाँ झसङ्ग भएझैं जुरुक्क उठ्नुभयो। 
“सारपत जाने बाटोतिर ज्यादै गर्मी थियो”, उहाँले भन्नुभयो, “अब म सुत्नुतिर लाग्छु, बहिनी; दिउँसो तिम्रा श्रीमान सुले, माछा मार्ने सरसामान भएको ठाउँमै सुत्छु म। शुभ रात्रि।”

मेरी आमा इल्लिरिकाको छेवैमा पल्टनुभयो; केही छिनमै मेरा मामा घुरिरहनुभएको थियो। अनि सबैजना मस्त निद्रामा भएजस्तो लाग्थ्यो। खालि म मात्रै चनाखो भएर र डराउँदै पल्टिरहेको थिएँ; किनकि यदि पृथ्वीमा भएका सबै शक्तिहरूभन्दा दुष्ट आत्माको शक्ति ठूलो भए त हामी सबै बेपत्ता भइसकेका थियौं। त्यो शक्ति झन् बढ्दै जाला र अन्धकारले कहालीलाग्दो गरी हामीलाई छोप्ला अनि छोप्दा त्यसले हामीलाई के गर्ने होला? मैले यहाँबाट उम्केर कुलेलम ठोक्नुपर्छ; म त सारपत जाने बाटोको बस्तीका भाइबहिनीहरूकहाँ जान्छु, कि त कपर्नहुममा मामाकहाँ जान्छु। तर तिनीहरूले मलाई फेरि फर्काउन जोड़ गर्लान्, किनकि म मेलोमा काम गर्ने उमेर पुग्न लागेको तन्नेरी केटा थिएँ। मैले कहिले बाह वर्ष पार गरुँला भनेर मेरा बाबा पर्खिरहनुभएको थियो।

मैले मेरा शान्त, धैर्यशाली बाबालाई सम्झें, जो सधैं घर आउनुहुन्थ्यो; अनि उहाँलाई यो कुरा कस्तो लाग्यो होला भनेर मैले फेरि ताजुब मानें। हाम्रो यतिका वर्षसम्मको सँगै बसाइमा हामीले कहिल्यै यस कुराको छलफल गरेका थिएनौं; अनि मैले यसबारेमा मेरी आमाले यसरी कुरा गर्नुभएको सुनेको यही नै पहिलो चोटि हो। शायद, एक दिन, जब म बढ़ेर उमेरदार हुँला, तब म र मेरा बाबा, हामी सँगै मिलेर यस विषयमा कुरा गर्नेछौं। मैले लामो हाय काढ़ें। एउटा ठिटोलाई जो झिसमिसे उज्यालो हुनुअघि नै उठेको थियो, कुनै सङ्कष्टले निद्रा लाग्नुदेखि रोक्न सक्दैनथ्यो। मैले कम्बल तानेर जीउमा ओढ़ें; र मीठो निद्रामा परें।

भोलिपल्ट बिहान हाम्रो परिवारसित नास्ता खाएपछि मेरा मामा बिदा हुनुभयो; अनि उहाँसँगै जमिनको रक्षा गर्ने बाँधको डिल पार गरेर हामी दुईजना सँगै दक्षिणतिर अलिक परसम्म तटवर्ती सड़कमा हिँड्यौं। मैले सजिलै उहाँसँगसँगै सिमाना पार गरेर इज्राएलभित्र प्रवेश गर्न मैले खूब चाह गर्थे; तर केही कोष हिँड़ेपछि उहाँले मेरो काँधमा हात राख्नुभयो।

"अब तिमी फर्कनु राम्रो हुन्छ”, उहाँले भन्नुभयो। “तिम्री आमा र बहिनीलाई माया गर; कामधन्दा सिक र डुङ्गा तिम्रो अधिकारको भाग हुनेछ। मछुवाहरू सधैं पूरा आयु बाँच्छन् भन्ने छैन। ल त बिदा होऔं, बाबु। म चाँडै फर्किआउनेछु र कामकुराहरू के- कसो भइरहेका छन्, सो हेर्नेछ।"

मैले उहाँको हात चुम्बन गरें; तब यस उजाड़ ठाउँमा, बालुवाका ससाना थुम्काथुम्कीको बीचमा, मलाई बाटोमा निराश र हताश बनाएर उहाँले पाइला चाल्नुभयो; किनकि उहाँले मलाई 'कफर्नहुममा घुम्न आऊ' भन्नुभएको थिएन।

त्यहाँबाट फर्केर म सीधा आफ्नो काममा गएँ; तैपनि मैले उहाँका वचनहरू मनैमा राखें र खाना खाने बेला नभएसम्म अरू दिनमा गरेझैं समुद्र-तटमा यताउति अल्लारिनुको साटो मेरो काम सिद्ध्याउनासाथ म फटाफट घरतिर लागें। म हाम्रो सड़कमा पुग्दाखेरि घाम निक्कै ढल्किसकेको थियो र गोधूलिको रङ्गीन घामले त्यस सानो शहरलाई सुनौला किरणले पोतेको थियो। आयोन आफ्नो टाउकोमा पानीको गाग्रो बोकेर भर्खरै इनारबाट आउँदैथिइन् र हामी एकसाथ हिँड्यौं।

आयोन तरुनी आइमाईले जत्तिकै काम गर्थिन्, तर तिनी कहिल्यै कचकच गर्दिनथिन्। तिनी दुष्ट आत्मासँगै त बस्थिन्, तर त्यसले कहिल्यै आफ्नो छाया तिनको नरम, प्रसन्न हृदयलाई छोप्न सकेको थिएन। तिनी मानिसहरूलाई प्रेम गर्थिन् र आजसम्म तिनलाई कसैले पनि नराम्रो व्यवहार गरेको थिएन। यदि पुतली बत्तीको लप्कोमा भुम्मिएजस्तै असल कुराको निम्ति झुम्मिने त्यहाँ कहिल्यै कोही थियो भने त त्यो एउटी ज्योतिकी सन्तान तिनी नै थिइन्। "इल्लिरिकालाई कस्तो छ?” मैले सोधें। 

"राम्रै छ” आयोनले हसिलो पाराले भनिन्। “आज उनी उठेर बसिन् र आमाले उनको लागि भनेर पकाउनुभएको केही मासु खाइन्। उनी शान्त छिन् र उनले सबै कुरा बिर्सिसिके जस्तो छ। तर फिलो, हामीले त्यस भविष्यवक्ता येशूको नाम फेरि लिनुहुँदैन, है। उनको विचारमा, तिनी उनलाई नाश गर्न आउनेछन्। तर त्यस सानो केटाको घटना त मलाई खूबै मन पर्‍यो र दिनभरि नै मैले यो कुरा मनमा खेलाइरहेको छु। यदि तिनले त्यस सानो केटालाई निको पारे भने तिनले इल्लिरिकालाई किन निको पार्दैनन् र? अनि हाम्रो छिमेकमा अन्धी अस्टरतीलाई पनि किन निको पार्दैनन् र?"

आमाले भन्नुभएको दुष्ट आत्माले दुष्ट आत्मालाई निकाल्ने कुरा मैले झन्डै दोहोरयाउन लागेको थिएँ, तर त्यो कुरा मैले सुन्नुहुँदैनथियो भन्ने कुरा मलाई याद भयो; यसैले मैले यति मात्र भनें, “तिनी एउटा यहूदी हुन्, आयोन; अनि हामी ग्रीक अर्थात् फोनिसीहरू हौं। तिनी कहिल्यै आफ्नो मुलुक छोड़ेर हाम्रो छेउछाउतिर आउँदैनन्। त्यहाँ तिनीहरूले हामीहरूलाई कुकुर भन्छन्; र हाम्रै माइजु त हामीलाई भेट्न कहिल्यै आउँदैनन्। यसको त कुरै छोड़ौं; एउटा भविष्यवक्ता भनेको त धार्मिक मानिस हो, अनि तिनीहरूको धर्म र हाम्रो धर्म मिल्दै मिल्दैनन्। जे भए 
पनि के साँच्चै तिमीलाई त्यस घटनामा घटेको कुरामा विश्वास लाग्यो?"

" पक्का हो; मामाले त हामीलाई ढाँट्नुहुन्न। के तिमीलाई त्यस्तै लाग्दैन?" 
"यस्तो भएको हो जस्तै लाग्दैन। त्यतिखेर संयोगले त्यो बालक स्वस्थ भएको पनि त हुन सक्छ।"

मैले तिनलाई केही क्षण ध्यानसित हेरें। तिनका आँखा कोमल र खुशीले छल्किरहेका थिए; अनि मैले के देखें भने मैले तिनको विश्वास अलिकति पनि कमजोर बनाएको रहेन रहेछु। घरको ढोकैमा पुगेपछि तिनले औंला ओठमा राखेर मतिर हेरेर हाँसिन्।

"अब उसो तिनको बारेमा कुरा नगर नि", तिनले कानेखुशी गरिन् "हामी एक्लै हुँदा मात्र।" हामी घरभित्र पस्यौं, अनि सागसब्जीको खाना र रसिला नेभारा खायौं। मलाई त्यस मासुको डाहा लाग्यो, जोचाहिँ इल्लिरिकाको लागि भुटेर पकाइएको थियो। मासुको रसको मगमग बास्ना अझ आइरहेको थियो। मेरा बाबाले टन्न खानुभयो र घाम अस्ताएपछि जानुभयो। तर जब उहाँ ढोकामा पुग्नुभयो, तब उहाँ फरक्क फर्कनुभयो र एकछिन मलाई तलदेखि माथिसम्म हेरेर मेरो उचाइ र मांसपेशीहरू कत्रा- कत्रा छन् भनेर विचार गर्नुभएझैं चुप रहनुभयो।

"पूर्णेको जूनमा" उहाँले अन्तमा भन्नुभयो, “तिमी मसँगै डुङ्गामा आए हुन्छ। त्यस बेला सिक्नलाई राम्रो मौका हो, जुन बेला समुद्र शान्त र हावा गुम्म हुन्छ। जब समुद्र कालो - नीलो हुन्छ र उर्लेका लहरहरू डरलाग्दा हुन्छन्, त्यतिखेर तिमीलाई सिकाउने मलाई फुर्सदै हुँदैन; यसैले तिमीले अहिलेदेखि नै सिक्नु राम्रो हुन्छ।"

खुशीले गर्दा मेरो भुँइमा खुट्टै थिएन। अब म एउटा लाठे भएको थिएँ; म दिनभरि सुतेर राति काममा जान सक्ने भएँ। कालो छायामुनि उकुस मुकुस भएर मैले अब धेरै बस्नुपर्ने भएन। मैले दङ्ग पर्दै मेरी आमातिर हेरें, तर यस्तो ठूलो खुशीको खबर उहाँको लागि केही जस्तो थिएन; किनकि उहाँ इल्लिरिकामाथि कुप्रुक्क परेर घोप्टो पर्नुभएको थियो, जो एउटा हराएका आत्माझैं सपनामा हह हह गरेर सुसाइरहेकी थिइन्। आयोन मात्रै, जो सुले डसना मिलाइरहेकी थिइन्, फरक्क फर्किन् र मुसुक्क हाँसिन्; तर तिनको हाँसोमा, साथसाथमा त्यहाँ तिनका आँखाहरूमा आँसुहरू थिए र मलाई थाह लाग्यो – तिनी पनि हाम्रो घरमा भएको त्यस दुष्ट आत्मासँग डराएकी थिइन् र आफ्नो सहाराको निम्ति मतिर हेरिन्। जब तिनले ओछ्यान मिलाइसकिन्, तब म तिनको छेवैमा बसेर तिनलाई अँगालो मारें, र झ्यालको खापापारिको आकाश चहकिलो भएर नजगमगाउन्जेल र त्यस सानो शहरका हल्लाहरू, सड़क-पेटीका टक्-टक् पदचापहरू, भुराहरू खितितिति हाँसेको आवाज र कुकुरहरूको भुकाइ चकमन्न नहोउन्जेल हामी सँगै बसिरह्यौं; त्यहाँ अँध्यारो कोठामा हँहँ-हँहँको सुस्केराबाहेक केही छिस्रिक्कसम्म पनि सुनिदैनथियो।

 

अध्‍याय : ३ 

त्यो पहिलो पूर्णिमाको रात म कहिल्यै भुल्दिनँ। त्यस बेलुकी मैले मेरा बाबालाई बाटैबाटो पछ्याउँदै गएँ र किनारमा उभिएँ। घाम भर्खरै अस्ताएको थियो, तर क्षितिजमाथिको आकाश उज्यालै थियो र उज्जर, पहेंलो र बैजनी सबै रङ्गहरू धूमिल हुँदै गइरहेको पानीमा टल्किरहेका थिए। म, जो सुन्दरता मन पराउँथें, यी रङ्गीन लहरहरू गड़गड़ाएका देख्दा दङ परेर हेरिरहन सक्थें; तर मेरा बाबालाई यस सुन्दर दृश्य बानी भइसकेको थियो र उहाँसँग फुर्सदै थिएन। 

“उठ, केटा!” उहाँ कराउनुभयो, “ र डुङ्गा धकेल! हाम्रो डुङ्गा खियाउने बेला भइसक्यो।”

अब अहो, बालुवामा डुङ्गाको पींध धसिएको घर्र आवाज, फुर्लङ्ग भएर भर्खरै तैरिएको डुङ्गा, छचल्किरहेको पानी, छेउ छेउमा पानीका मसिना छालहरूको स्पर्श र यो मनोरम दृश्य धूमिल हुँदै जाँदा हाम्रो सामु कालो- नीलो हुँदै गइरहेको गहिरो पानी देखा परेको! म पहिले कहिल्यै यति साहो खुशी भएको थिइनँ; किनकि मलाई कतैबाट के थाह लाग्यो भने मेरो अँध्यारो बाल्यकाल मेरो पछाड़ि म सदाको लागि छोडिरहेछु। मलाई बहना खियाउन भनियो, र मलाई महसुस भयो - म एक बलियो, फुर्तिलो लाठे मानिस रहेछु। हामीहरू सुइँय्य - सुइँय्य विशाल समुद्रको माझ गहिराइमा हुत्तिँदै आउँदै गर्दा हावाले मेरो कपाल फर्र उड़ायो, अनि छिट्टै रातको जादुले आफ्नो हैकम जमायो; डाँडाहरूमाथि टहटह जून उदायो, अँधेरा पानीहरू जलजलाउँदा चाँदीजस्ता देखिन थाले। अगाडिको त्यो सानो शहर जूनको प्रकाशले पोतिएर झुल्क्यो, अनि जालमा पानीका थोपाहरूले हीराझैं चम्के। 
झिसमिसे उज्यालो हुनुअघिको काम नभएको, सुनसान समयमा पनि, जब मेरो टाउको लल्याकलुलुक भएको र मेरा आँखाका परेलाहरू आँखा खोल्नै नहुने गरी गह्रौं भइरहेका थिए, मेरा बाबाले मलाई निदाउनै दिनुभएन। उहाँले मलाई बहना र डुङ्गामा चलाइने सामानहरूसित लगातार काममा भुलाइराख्नुभयो; मैले सपनामा जस्तो काम गरेको र सपनामा जस्तै नै मैले बिहानीको ताराको पछिल्तिर पहेंलो आकाश र डाँडाहरूको पछाड़ि पहाड़हरूका खैरा आकृति देखें। त्यसपछि एउटा गह्रुङ्गो जाल जबरजस्ती घिसार्दै हामी किनारतिर खियाइरहेका थियौं; अनि समुद्रको सम्पूर्ण संसार र सुदूरको भूभागमा चिसो हुस्सु उठिरहेको थियो। मेरो टाउको अगाड़ि झुक्यो, अनि म डुङ्गामा काम गर्न जान पर्खिरहने समुद्र-तटको केटो हुँ भन्ठानें। तर मेरा बाबाले मलाई घच्चा लगाउनुभयो, र म झसङ्ग भएँ, र मैले आफूलाई समुद्र-तटतिर लम्किरहेको, डुङ्गामा बसेको केटो हुँ भनी थाह गरें।

तब यस्तो भयो: बिहानीको मिरमिरे बान्कीले फेरि एकपल्ट समुद्र जगमगायो र हुस्सु तितर-बितर पार्दै घामले हाम्रा अनुहार ततायो; यसरी मैले पहिलो, लामो लमतन्ने रात काटेको थिएँ। त्यसपछि, अन्तमा मेरा बाबाले मप्रति टिठ्याउनुभयो; आफ्ना बड़ेमा पाखुराहरूले टपक्क टिपेर उहाँले मलाई सानो छाउरालाई झैं बालुवामा फुत्त फालिदिनुभयो।

"जाऊ, खाऊ र सुत”, उहाँले दयालु सोरमा भन्नुभयो। “आज तिमी नभए पनि हामी नै डोरी मिलाउँछौं।" 
अहो, टहरोमा कसैको मतलब नगरीकन सरसामानमा टाउकोको सिरानी लगाएर घुस्रन पाउनु कत्रो ठूलो राहत! साँझ नपरेसम्म म सुतिरहें अनि अति नै भोक लागेर, तर खुशी भएर उठें; किनकि मैले तिर्सना गरिरहेको जीवन यही थियो, र मेरो जीउमा तागत रहेसम्मको लागि योचाहिँ मेरो खाइजीविका हुनेछ; अबदेखि उसो विशाल समुद्र र त्यसको गहिराइ मेरो घर, साथै मेरा बाबा र उहाँका कामदारहरू मेरा सहयात्री थिए, अनि मेरी आमा र दिदीलाई म बिर्सन पाउँछु भन्नेमा म मक्ख परें।

तर गर्मी याम एकैछिनमा बितिगयो; मेरो घर पछिल्तिर माथि डाँड़ाहरूमा अङ्गुरका बोटहरूमा पातहरू पहेंला भए र अनारहरू रातै पाके; अनि चाँडै रात पर्न थाल्यो। साँझहरू अब ठिहिरयाउने भएका थिए, समुद्रका तरङ्गहरू निक्कै छचल्किरहेका, पानी पर्ने रातहरू र चिसो सिरेटो चल्ने उराठलाग्दा मिरमिरे बिहानीहरू हुन्थे। मेरा बाबाले लामो समयसम्म काम गर्नुभयो; किनकि हिउँद लाग्दै थियो, र हिउँदचाहिँ मछुवाहरूको कामधन्दाको लागि मुस्किल समय थियो। जब ठूला-ठूला आँधी-बेहरीहरूले भूमध्य सागरलाई मध्दथे, तब हप्तौंसम्मको लागि डुङ्गाहरू थन्क्याइन्थे र हामी पहिलेका कमाइको वचतमा भर पथ्यौं।

पौष महिनामा एक दिन बेलुका उत्तरी बतासको स्याँठ लेबानोनको उचाइहरूबाट तलतिर चल्यो र हावामा कठ्याङ्ग्याउने चिसो झोक्का थियो। मेरा बाबा निद्राबाट उठेपछि घरको ढोकातिर जानुभयो र आफ्नो टाउको हल्लाउनुभयो।

"आज हामी बाहिर काममा जाँदैनौं,” उहाँले घोषणा गर्नुभयो। "जाऊ, र कामदारहरूलाई 'तिमीहरू रातभरि आरामसँग सुते हुन्छ' भन।”

म काममा जान नपाएकोले निराश हुँदै खबर पुरयाउन कुदें; किनकि मैले मजासँग सुतेको थिएँ र काममा जान म फुर्तिलो भएको थिएँ। जब मेरा बाबा मसँग साथमा हुनुहुन्थ्यो, तब मलाई कहिल्यै डर लागेन, र म आँधिबेहरीमा पनि बाहिर काममा जाने बाटो हेर्दैथिएँ। तर ठिटाहरूले मेरा बाबाको कुरा मानें र यस्तो खबरले तिनीहरूलाई सन्तोष लागेको जस्तो देखिन्थ्यो; अनि खबर पुरयाइसकेर म तल समुद्रतिर लागें। धुम्म परेको, रक्तिम आकाशमुनिको समुद्रमा सेता उर्लेका पानीका छालहरू उम्लिरहेका थिए; र म किनार-किनारै परसम्म हिँड़ें; मेरो सामु बाटोमा कराइरहने फ्यालफ्याले चराहरू उड़े। मलाई घर फर्किन कुनै हतार थिएन; किनकि आँधीबेहरी शुरु हुनुअघि इल्लिरिकांभित्र यी दुष्ट तत्त्वहरूसँग कुरा मिलाउने केही कुरा छ जस्तो गरी उनी सधैं भिन्नै र अत्तासिएकी हुन्थिन्। मैले मेरी आमाले भन्नुभएका शब्द सम्झें, 'दुष्ट आत्माको शक्तिभन्दा शक्तिशाली कुनै कुरा छैन'; तब मैले तुफानको सामर्थ्य र उर्लंदो आँधीको सामर्थ्य सम्झें, साथै मेरा बाबाले कहिल्यै त्यति विश्वास नगर्नुभएका देउताहरूको सामर्थ्य, मेरी आमाका ग्रीक देउताहरू र हाम्रो देशका पुराना कनानी देउताहरूबारे विचार गरें, जो निष्ठुर, भयङ्कर, खूनी, बदला लिने योद्धाहरूको रूपमा मानिन्थ्यो। साँच्चै कसले अर्थात् केले यी सब कुराहरू अधीनमा राखेको छ? म एकाएक डराएँ र मेरा बाबाको तिर्सना गरें। म फरक्क फर्के र किनारहुँदै घरतिर दौड़ें।

म हल्का निद्रामा थिएँ; किनकि म प्रायः दिनभरि नै सुतेको थिएँ, र जब इल्लिरिका आधा रातमा उठिन् र 'एउटा ठूलो आँधीबेहरी मड़ारिरहेको छ र विशाल छालहरू उर्लिरहेका छन्' भन्दै कराइन्, त्यतिखेर म झसङ्ग बिउँझें। उत्तरतिरबाट हावा अझ सुसाइरहेको थियो र उनको सोरको पीड़ा र क्रन्दनमा म थरथरी कामें। तर मेरी आमा, उनलाई थपथपाउँदै र फुल्याउँदै छेउमा घोप्टो पर्नुभयो; तब मैले मेरो मुख भित्तातिर फर्काएँ। तर एकछिनपछि एउटा घम्साघम्सीले गर्दा मैले निदाउन पाइनँ; एक्कासि ढोका गङ्ग्यङ्ग उम्रियो। इल्लिरिका बाहिर गएकी मैले चाल पाएँ; किनकि यस्तो मनस्थितिमा उनी मान्छेभन्दा बलियो हुन्थिन् र मेरा बाबाले उनलाई भित्तामा नबाँधेसम्म उनलाई कसैले छुन सक्दैनथियो। उनी तटमा दक्षिणतिर जान्थिन्, बाँधको डिल काटेर रातभरि नै डाँड़ाहरूहुँदो चहार्थिन्। यता मेरी आमा भने पानी र हुरीले पिटिंदै उनी घर आउन तयार नभएसम्म पर्खंदै उनको पछि-पछि दगुर्नुहुन्थ्यो। मेरा बाबा यहाँ हुनुभएको भए उहाँ आमासंग जानुहुन्थ्यो, तर उहाँ अझै तल पौवामा रातभरि अरू मछुवाहरूसँग रमाइलोमा रम्दै हुनुहुन्थ्यो र बिहान सबेरै नभईकन उहाँ घर आउनुहुनेथिएन।

अनि म? म एउटा लाठे हुँ भन्ठान्थें, र मेरी आमाले एक्लै हुरी- बतास र अन्धकारमा चट्टानै चट्टानको पहाड़हुँदो इल्लिरिकालाई पछ्याइ- रहनुभएकोमा आफैलाई बेकुफजस्तो लाग्थ्यो भने मैले आफूबाट त्यो सोचाइ नै पन्छाइदिएँ; बरु मस्त निद्रामा सुतेजस्तो बहाना गर्नु नै मलाई सजिलो लाग्यो। फेरि एकपटक, मेरी दिदीप्रतिको घृणा मेरो हृदयमा उकुस-मुकुस भएर आयो र आमाको यस दुष्ट प्राणीप्रतिको अन्धो भक्तिको खातिर मैले झण्डै मेरी आमालाई पनि घृणा गरें। मैले यस कुरामा मुछ्न चाहिनँ र आँधीबेहरी आइरहेको हो भने त बाहिर डाँड़ा-पाखाहरूहुँदो जानुभन्दा बरु म समुद्रमा हुनु मेरो इच्छा थियो। मैले टाउको माथिसम्म कम्बल तानें; अनि यस पालिचाहिँ म निदाएँ।

जब म निद्राबाट उठें, त्यतिखेर बिहान भइसकेको थियो, अनि मेरी आमा र इल्लिरिका फर्किसकेका थिए; किनकि दिउँसो घाममा मेरी दिदी बाहिर निस्कन मान्दिनथिन्। आँधीबेहरी शान्त भइसकेको थियो, र सबै मस्तसंग सुतिरहेका थिए। बिस्तारै चाल मारेर म घर बाहिर निस्कें र चिसो, ताजा हावामा रमाएँ। मैले माथितिर हेरें र यस्तो देखें - मोतीझैं फुस्रो, आकाशसम्म पुग्ने लेबानोनका विशाल पहाड़हरू सेता थिए; किनकि उत्तरपूर्वबाट हुरीले हिउँ बत्ताएर ल्याएको थियो। चाँड़ै घाम झुल्कनेछ र चुचुराहरू हेर्न नसक्ने गरी साह्रै जगमगाउँदा हुनेछन्। एउटा सिङ्गै दिन मेरो लागि फुर्सद थियो, जसमा म आफूलाई जे मन लागेको गर्न सक्थें; किनकि डुङ्गा उत्रनको लागि तयार थियो र डुङ्गाका सर-सामानहरू ठीकठाक थिए।

मैले सारपत जाने बाटोका भाइबहिनीहरूकहाँ जाने र गएर भेट्ने, अनि यदि आयोनलाई पनि आउन दिइयो भने तिनलाई पनि साथमा लाने निधो गरें; किनकि मेरी सानीमाका साना छोरीहरूसँग खेलेर तिनी रमाउनेछिन्। मेरी सानीमाले, जो मेरी आमाकी साखै बहिनी थिइन्, एउटा धनाढ्य जमिनदारसँग विवाह गरेकी थिइन्, जसका जग्गाजमिन किनाराको मूलबाटोको पूर्वतिर, टायर र सिडोनको बीचको एउटा पहाड़को फेदमा पर्थ्यो। यस चहकिलो, चिसो बिहानीमा हिँड्नु कस्तो मजा हुनेथ्यो; मेरी आमा र इल्लिरिका अझ सुतिरहेका थिए, तर मेरा बाबाले एउटा बाल्टीमा आफ्ना खुट्टा धुंदै हुनुहुन्थ्यो। र उहाँ खुस - मिजाजमा हुनुहुन्थ्यो। उहाँले आयोनतिर हेर्नुभयो, जो अघि नै पलेटी कसेर जाँतोमा बसेर हाम्रो खाजाको लागि गहुँ पिधिरहेकी थिइन्, अनि हेर्दै मजाले त्यसमै रमाइरहेकी थिइन्; किनकि जब तिनी काम गर्थिन्, तिनी गाउन थाल्थिन्। रोटीका पातला चाङहरू बनाउन र अघि नै बाल्नको लागि घुसमुस र झिँगल्टाहरू हालेर टन पारिएको घुमाउरो, माटोको चुल्होमा रोटी पकाउन तिनलाई कुनै बेरै लाग्दैनथियो।

"उसलाई पनि लैजाऊ", मेरा बाबाले भन्नुभयो। "ऊ आफ्नो उमेरले दिएभन्दा पनि बढ्ता काम गर्छे र एउटा छुट्टीको दिनले उसलाई राम्रो गर्नेछ। इल्लिरिका बितेको रात बाहिर गएकी हुनाले ऊ दिनभरि सुत्छे, र तिम्री आमा इनारमा जान सकिहाल्छिन्। तर बेला हुँदा नै फर्किहाल, केटा; किनकि मलाई लाग्छ, आज रात हामी बाहिर काममा निस्कनुपर्छ होला।"

आयोन खुशीले गद्गद भइन्। रोटीहरू मिलाउँदै गर्दा बिस्तारै फुतुक- फुत्रुक तल-माथि गर्दै तिनी खुशीले नाचिन्; अनि हामी, ताजा रोटी र बलिरहेका झासभुसको मगमग बास्ना सुँघ्दै अगेनाको छेउमा बस्यौं। जब सबै चीज तयार भयो, मेरा बाबा आउनुभयो र हामीसँगै बसेर खाना खानुभयो; अनि हामी तीनजना मात्रै यसो बस्दै गर्दा हामीले मीठो खानेकुरा मजाले चपाइरहेका र निलिरहेका थियौं। त्यहाँ घरमा कतै कालो अन्धकारको छाया देखिदैनथ्यो; थियो त केवल स्वच्छपना र खुशीपन, अनि गमगम खान रुच्चे मजा र सफा मौसम। मलाई सधैं यस्तै भए कस्तो हुन्थ्यो होला जस्तो लाग्यो, र मेरी दिदी मरेकी भए हुन्थ्यो जस्तो लाग्यो।

मेरा बाबाले मलाई भाइबहिनीहरूको लागि भनेर नून हालेका माछाको एउटा टोकरी दिनुभयो र हामी साह्रै फुरुङ्ग हुँदै खाँड़ीहुँदो जमिनको रक्षा गर्ने बाँधको डिल काटेर पारिपट्टि पुगेपछि हामी किनाराको मूलबाटै - मूलबाटो भएर उत्तरतिर मोड़ियौं। यतिखेर सबेर नै थियो, र हामीले आफ्नो बग्गीबाट झर्दै गरेकी कोरीकी पत्नीलाई बाहेक अरू कसैलाई भेटेनौं; त्यस बेला उनको नोकर छेउमा टोकरी लिएर उभिएको थियो, तर उनको अनुहार घुम्टोले ढाकिएको थियो र उनले हामीलाई एकछिन पनि हेरिनन्। त्यो कोरी डाँड़ाको एउटा बङ्गलामा बस्थ्यो। जब ऊ ढोकैमा देखा पर्‍यो, तब मैले उसको डरलाग्दो चेहरा देखें; म अलिक सिरिङ्ग भएँ, तर चाँडै मैले उसलाई बिर्से; किनकि हाम्रो देब्रेतिर समुद्र- किनारा, हावाले बनाएका बालुवाका थुम्काथुम्कीहरू, छालले फालेका काठहरू र मड़ारिरहेको सङलो समुद्र थियो भने यता हाम्रो दाहिनेतिरको चउर अझ सुन्दर थियो, जहाँ पहिला पहिलाका झरीले पखालेको जमिनमा, जो डाँड़ाहरूहुंदो भिरालो परेको थियो, भर्खरै उम्रेको घाँसले ढाकेको थियो। जताततै खैरा र कलेजी देखिने पट्यारलाग्दो हिउँदमा शरद-याम छाएको थियो, तर पात नभएका पहेंला बसन्त-पुष्पहरू अघि टुसाइसकेका थिए। अनि आयोन सड़कको छेउ छेवै कलिला बैजनी रङ्गका चम्किला फूलहरू टिप्दै दौड़िन्। म फटाफट, आफ्नै गतिमा आफ्नै विचारहरूमा रुमल्लिँदै लम्किएँ; तर तिनको खुशी सङ्क्रामक थियो, र मैले आफैलाई मुसुमुसु हाँसिरहेको पाएँ। मैले पहिले कहिल्यै मेरी बहिनी कति सुन्दर छिन् भन्ने ख्यालै गरेको थिइनँ। तिनी हाम्रो जातका प्रायः अरू केटाकेटीहरूभन्दा राम्री थिइन्। तिनको टाउको छोप्ने तल झरेको थियो र त्यो तिनको कम्मरमा बाँधिएको थियो, अनि हतारमा आउँदा नबाटिएको तिनको केशको रङ्ग गाढ़ा महको जस्तो थियो; तर मैले तिनलाई हप्काइन; किनकि तिनी एउटी सानी, फुच्ची केटी मात्र थिइन्, र मैले पनि तिनलाई आफै रमिरहेको देख्न चाहें।

"त्यस सानो केटालाई अहिले कस्तो छ होला? यो जान्न मलाई खूब चासो छ,” तिनी अचानक बोलिन्। 
"कुनचाहिँ सानो केटा?" मैले सोधें।

तिनी दङ्ग परिन्। “तिमीलाई थाह छ '; बातचित भर्खरै एकछिन टुटेझैं तिनले जवाफ दिइन्, “त्यो हामीले कुरा गरिरहेको सानो केटा क्याँ त, जो निको भएर बगैंचामा थियो नि, त्यही।"

त्यो अझैसम्म तिनको सम्झनामा रहेछ भन्ने मैले थाह पाएँ; तब मैले तिनको खाली हात समातें। “आऊ, आयोन" मैले भनें, “तिमी अझ छिटो-छिटो हिँड्नुपर्छ; नत्र हामी त्यहाँ कहिल्यै पुग्नेछैनौं। तिमीले हाम्रा सानाबा र भाइहरूलाई यो कुरा भन, अनि उनीहरूले तिम्रो कुरामा विश्वास गर्छन् कि हेर न।"

तिनले मतिर आँखा कर्काएर लजालु हाँसो हाँसिन्। “मलाई त लाग्छ, यो साँचो हो” तिनले मलिनो सोरमा भनिन्। “मलाई यति नै थाह छ; र म ठूलो भएपछि म जानेछु र उनलाई 'इल्लिरिकालाई निको पार्नुहोस्' भनी विन्ती गर्नेछु"

हामीले अरू धेरै कुरा गरेनौं किनकि बस्ती र यसको पछाडिपट्टि फैलिएको फाँट देखा पर्‍यो; पानीले भिजेका, मलिला माटाका फाँटहरू, ठूला-ठूला बगरका ढुङ्गाहरूले घेरिएका र भसभसी गाड़िएका बाटाहरूले चिरिएका देखिन्थे। मेरा सानाबाले अगौटे जोताइ थाल्नुभएको थियो, र उहाँलाई काँधमा जुवा नारिएका दुईटा आफ्ना राता गोरुहरूको पछि पछि जोत्दै गर्नुभएको हामीले देख्यौं। एउटै अनौ भएको हलोको पछि-पछि आफ्ना भएभरको बलले अल्झाउने जराहरू र डल्लाहरू थिच्दै कहिलेकाहीं गोरुहरूलाई ठीक मेलोमा लगाउन आफ्नो तीखो लट्ठी चलाउँदै उहाँ जोतिरहनुभएको थियो। यो गाह्रो काम तनमन लगाएर गर्नुपर्नेथियो र उहाँको जेठा छोराको दम्कोदेखि उहाँले कहिल्यै आंखा उठाउनुभएन, जो अघि अघि बीउ छर्दै हिँडिरहेका थिए।

हामीले उनीहरूलाई अल्मल्याउन चाहेनौं; यसैले हामी घरतिर हिँड्यौं, जहाँबाट मेरी सानीमा र उहाँका साना छोराछोरीहरू हामीलाई भेट्न दौड्दै आए। मेरी सानीमाको बान्की मेरी आमाको जस्तै - जस्तै नै थियो। तर मेरी आमाका आँखाहरू भयभीत थिए भने मेरी सानीमाका चाहिँ निश्चल र सुन्दर थिए। उनीहरूले हामीलाई विशेष स्वागत गरे र हामीलाई ठूला पाहुनाहरूलाई जस्तै व्यवहार गरे। एउटी सानी बहिनीले हाम्रा पाउ धोइन्; अनि एउटी ठूली दिदीले हामीलाई ताजा बनाउन तरैतरले भरिएका ऊँटका दूधका बटुकाहरू साथमा ताजा खमिरा रोटीहरू र नुनका घ्याम्पाहरूबाट निकालिएका जैतुनले भरिएका किस्तीहरू ल्याइदिइन्; किनकि जैतुन थन्काउने समय भर्खरै मात्र सकिएको थियो। अनि खाँदै गर्दा हामीले गफ गयौं र पारिवारिक हालखबरहरू बाँड्यौं; मेरी सानीमाले मेरा आमा-बाबाको सबै हालखबर थाह पाउने मन गर्नुभयो। तर इल्लिरिकाको बारेमा कसैले सोधेन। उनको नामको उच्चारण गर्नसम्म उनीहरू डराएका जस्तो देखिन्थे, र मैले पनि उनको नाम नै लिइनँ।

जब मैले 'म आजकाल राति डुङ्गासित बाहिर काममा जाँदैछु' भनी तिनीहरूलाई भनें, तब यी केटाहरूले आँखा खोलेर ताजुप माने। मैले आफूलाई लाठे मानिस भएको ठानें, र खुशी भएँ; किनभने जब हामी आएको खबर मेरी सानीमाको पति र जेठा छोराले पाए, तब उनीहरू जोताइबाट हतार हतार गरेर हाम्रो छेउ मिसिन आइपुगे। आयोन केटा-केटीहरूसंग ऊंटको बच्चा हेर्न गइसकेकी थिइन्। समुद्रमा आँधी चलेको रातको बयान दिँदा म आफै असाध्यै खुशी मानिरहेको थिएं; त्यतिखेर तिनीहरू सबैजना फर्केर दौड्दै, रमाउंदै र हांस्दै आए; अनि तिनीहरू आफै भरयाङ्गबाट तल तंछाड़-मछाड़ गर्दै झरे, जुन भरयाङ्गले ठूलो बस्ने ठाउँलाई तल्लो कोठाबाट छुट्टाएको थियो, जहाँ गाईबस्तुहरू राति आराम गर्थे।

“आयोन भन्छिन्” एउटा सानो भाइले झट्ट भन्यो, “त्यहाँ कपर्नहुममा, जहाँ हाम्रा मामा बस्नुहुन्छ, एकजना भविष्यवक्ता छन् रे, जसले मानिसहरूलाई 'निको होओ' भन्ने बित्तिकै निको पार्न सक्छन् रे। उनी भन्छिन्, उनी तिनलाई भेट्न र हाम्री दिदी इल्लिरिकालाई निको पार्नलाई भन्न जाँदैछिन् रे।"

त्यहाँ एकैछिनमा चकमन्न भयो, र समूह नै अलिक सिरिङ्ग भयो; मेरी सानीमाले हत्तपत्त आफ्नो गलामा वरिपरि लगाइराखेका जन्तरहरू च्याप्प समातेकी मैले देखें, र सबैजना अब कसले के भन्ने होला भनेर एकोहोरो हेरिरहेका र डराइरहेका थिए। मलाई रिस उठ्यो, र लाज पनि लाग्यो।

"कुनै-कुनै मानिसहरूले त जे कुरा पनि विश्वास गर्छन्” मैले चर्को सोरमा भनें। “त्यो त कुनै एउटा केटो थियो, जो ज्वरोबाट निको भएको थियो; अनि मेरा मामाजस्तो चेतनशील मानिसले समेत यसलाई साह्रै गम्भीर रूपमा लिनुभएको कुरा देख्दा त मलाई छक्कै लाग्यो, र आयोनको गर्ने हो भने, मलाई लाग्छ, तिनले देउताहरू पृथ्वीमा आएका छन् भने कल्पना गर्छिन्।”

"तिनले मात्रै होइन; धेरैले यस्तै सोचिरहेका छन्।” हामीलाई अभिवादन गरेको समयदेखि चुप लागेको मेरा जेठा दाजु यसपल्ट नै बोले। उनको सोर लोसे र पट्यारलाग्दो थियो; तर उनी लाटा थिएनन्। अठार वर्षमा नै उनी एउटा सिपालु खेतीवाल र महाजन भएका थिए; अनि यस वर्ष उनले जैतुन उठाएपछि तेल बेज ऊंटहरूलाई दामस्कसतिर हाँकेका थिए।

"तिमीले के भन्न खोजेका, छोरा?" उनका बाबुले अनुहार फर्काएर उनीतिर हेरें; किनकि यस तीखो बुद्धि भएको ठिटाले धेरै वर्ष पहिले नै उहिलेका ग्रीक देउताहरूलाई र कनानीहरूका अन्धविश्वासलाई त्यागिसकेका थिए भन्ने उहांलाई थाह थियो।

"बाबा, मैले भर्खरै के भनें भने फिलोले यस भविष्यवक्तालाई होच्याएर बोल्न सक्छन्; तर तिनले यसको एउटा छेउ नै सुनेका छैनन्। सम्पूर्ण गालीलीहरू नै उनको बारेमा चर्चा गरिरहेका छन्। म एउटा पौवामा वास बसें, र त्यहाँ तिनीहरूको शरद-कालीन चाड़बाट घर फर्किरहेका थुप्रै यहूदी यात्रीहरू थिए। एकजनाले कपर्नहुममा आफन्तकहाँ केही दिन बिताएको थियो; अनि ऊ एउटा समझदार, समकालीन व्यक्तिजस्तै देखिन्थ्यो। रोगीहरू कसरी निको पारिए भन्ने कुरा मात्रै होइन, तर कसरी एउटी जवान केटी, तिनीहरूका धार्मिक अगुवाहरूमध्ये एकजनाकी छोरी, कसरी मरेकोबाट बिउँताइयो भन्ने बारेमा पनि उसले बतायो।” त्यहाँ अचम्मको सन्नाटा छायो।

“अँ, मैले जे सुनें, त्यही मात्रै तपाईंहरूलाई बताइरहेको छु। मेरा दाजुले कुम हल्लाउँदै भने। "तिनीहरूले उनीसंग जीवन र मृत्युको सामर्थ्य छ भन्छन्। महान् छुटकारा दिनेवाला, जसका निम्ति यहूदीहरूले पर्खिरहेका छन्, उनी तिनी नै हुन् भनी धेरैले सोचेका देखियो; उनले रोमी साम्राज्यबाट देशलाई स्वतन्त्र गराउनेछन् भनी धेरैले भित्र-भित्रै आश गर्छन्।”

"यदि तिनीहरूले त्यसो गर्न खोज्छन् भने तिनीहरू मूर्ख हुन्", मेरा सानाबाले छोटकरीमा जवाफ दिनुभयो। “के तिनीहरूले तीस वर्ष पहिले, हेरोद अखिलियसको विरुद्ध आन्दोलन गरेको बेलामा के भएको थियो, सो बिर्सिसकेका छन्? तीन हजारको हत्या गरियो र दुई हजारजतिलाई त यरूशलेमका पर्खाल बाहिर क्रूसमा टंगाइयो। अँह, मेरा छोरा, यस्तो षड्यन्त्रले त रोमीहरूको रौं पनि हल्लिंदैन। यदि यस भविष्यवक्ताले यस्तै गर्ने योजना गरिरहेको छ भने उसको पतन हुनेछ।"

"तर यदि उनी एउटा देउता हुन् भने? यदि उनीसँग मृत्युलाई जिले सामर्थ्य छ भने त पक्कै पनि उनीसँग आफ्ना शत्रुहरूलाई जिले सामर्थ्य छ होला। पक्कै पनि उनी सबै चीजभन्दा शक्तिशाली छन्।” यसरी साह्रै नम्र भई र लाज मान्दै बोल्ने आयोन थिइन्; अनि मेरा सानाबा तिनीतिर फर्केर एउटा ठूलो मानिसलाई जवाफ दिएझैं गरी तिनलाई जवाफ दिनुभयो; मैले सोचें जस्तै त्यो उहाँको दयालु स्वभाव थियो। किनभने आयोन केवल एउटी सानी केटी थिइन्, जसले केही बोल्नुहुँदैनथियो।

"सबैभन्दा शक्तिशाली देउता कहाँ छ?” उहाँले तिनको रातो अनुहार र चम्किला आँखाहरूमा हेरेर हाँस्दै सोध्नुभयो। “तिनीहरूले यहूदी - ईश्वर महान् छन्, अनि उनले महान् आश्चर्यकर्महरू गरे भनी भन्छन्। तर उनका भक्तहरू दासत्वमा परेका छन् र बन्दी बनाइएका छन्; रपनि तिनीहरूलाई बचाउन उनी केही गर्दैनन्; न ता हाम्रा लड़ाइँका देउताहरू र फलिफापका देवीहरूले नै हामीलाई बचाउन सके। रोमी देउताहरूको समय पनि बितिगयो; तिनीहरूको वास्ता अहिले कसले गर्छ र? अब त तिनीहरूको बदलीमा सम्राटलाई नै पुज्नुपर्छ भनी तिनीहरूले भन्छन्।"

"हो" उहाँका छोराले सही थापे।" रजौटा फिलिपले पान- देवताको शहर पनियनलाई सम्राट र आफ्नो नामअनुसार सिजारिय- फिलिप्पीमा परिवर्तत गरे; अनि मानिसहरूले भन्छन्, यी दुवैजना दुष्ट छन्।”

मेरी सानीमाले आत्तिएर उनलाई डिठ लाएर हेर्नुभयो र मेरा सानाबाले आँखीभौं खुम्च्याउनुभयो। त्यस्तो राजाको कमजोरीको बारेमा बोल्नु खतराजनक थियो र त्यस्तै बोलीहरूको कारणले गर्दा मानिसहरू मर्नुपरेको थिए। मैले त्यस रात कान थापेर सुनेको अनौठो बातचितको बारेमा सोच्दै म यहाँ सुनेर बसिरहें, 'दुष्ट आत्माको शक्ति अरू जुनै शक्तिभन्दा पनि बलियो हुन्छ' भनेर मेरी आमाले भन्नुभएको थियो। मैले सानाबातिर हेरें।

“सानाबा!” मैले भनें, “सबभन्दा शक्तिशाली सामर्थ्य कुनचाहिँ होला? तपाईंलाई के लाग्छ?" उहाँले एकछिन सोच्नुभयो, त्यसपछि साहै गम्भीरतापूर्वक मलाई जवाफ दिनुभयो। “हाम्रा पुर्खाहरूले अग्ला पहाड़हरूमाथि र रूखहरूमुनि देउताहरूको पूजा गर्थे अनि तिनीहरूले देउताहरूको मन जित्न आफ्नै छोराछोरीहरूलाई समेत बलि चढ़ाउँथे। तर हामीले तिनीहरूलाई बिस्यौं र वास्तै गरेनौं; तब के भयो त? घाम अभ उदाउँछ, मकै अझै टुसाउँछ; दिन र रात, खेतीको समय र कटनीको समय कहिल्यै बिलाउँदैनन्। जब खड़ेरी पर्छ, तब मानिसहरूले ईश्वरलाई पुकार्छन्, तर पानीको छिटो चुहिँदैन; यसैले जैतुन र दाखहरू सखाप हुन्छन्। कसैले यो धनधान्य देवीको अनुकम्पा हो भन्छन्; तर म प्रकृतिको क्षमतामा विश्वास गर्छु; पृथ्वीको चक्र जसरी चल्नुपर्ने हो, त्यसरी नै चल्छ, र यसले मान्छेलाई फर्केर पनि हेर्दैन; त्यही सामर्थ्य, जसले ताराहरूलाई आफ्ना बाटोमा डोरयाउँछ र पृथ्वीमा पानी बर्साउँछ।”

कुरा गर्दै गर्नुहुँदा उहाँले आफ्नो मलिलो बाली लगाइएको खेतबारीतिर आँखा फैलाउनुभयो र अझ लामो समयसम्म बात मार्न सक्नुहुन्थ्यो। तर मैले पनि बाहिर आँखा फैलाएं र जैतुनका छायाहरू लामा हुँदै गइरहेका देखें। म जुरुक्क उठें।

"हामी छिटो जानुपर्छ" मैले भनें। "मेरा बाबाले डुङ्गामा बाहिर जाने निधो गरिसक्नुभएको छ, र म ढिलो हुनुहुँदैन।”

मेरा सानाबाले समुद्रतिर डिठ लाएर हेर्नुभयो। “तिमीहरू आज रात जाऔला जस्तो मलाई लाग्दैन” उहाँले भन्नुभयो। “पश्चिमतिरको आकाश हेर त त्यहाँबाट आँधीबेहरी आउन ठिक्क परेको छ।”

मैले हेरें; घाम अस्ताउन एक-दुई घण्टा बाँकी भएर पनि समुद्रमाथि अनौठो उज्यालो परेको थियो र हावाको एउटा झोक्का पनि थिएन। मेरा बाबाले के गर्ने निधो लिनुहोला, मलाई पक्का थाह थिएन; यसकारण हामीले त्यस परिवारलाई धन्यवाद दियौं; खिन्न हुँदै बिदाइको अभिवादन चढ़ायौं; किनभने यो एउटा मजाको दिन भएको थियो र हामीले रमाइलो गरेका थियौं।

म किनाराको मूलबाटै बाटो छिटो-छिटो हिँड़ें; किनकि मलाई ढिलो होला कि भन्ने डर थियो र आयोन मेरो पछि पछि आइरहेकी थिइन्। एकफेरा मैले तिनी मलाई पछ्याइरहेकी छन् कि छैनन् भनेर फर्केर हेरें, तर तिनी चुपचाप उभिएर समुद्रतिर हेरिरहेकी थिइन्। यस सुनसान साँझमा पनि अघिल्लो रातको आँधीले गर्दा पानी अझ छचल्किरहेको थियो; गहिरा नीला तरङ्गहरूले घामको उज्यालोलाई सोसे र सुसाइरहेका फोहोराहरू सेतो हिउँझैं चम्किए।

“छिटो गर आयोन!” मैले चर्को सोरमा भनें। मतिर दौड्दै तिनी मकहाँ आइपुगिन्; तिनका आँखा चम्किरहेका र तिनको सास छिटो-छिटो चल्दै गरेको थियो।

"तर यदि उनले साँच्चिकै बोलेर मात्रै बिरामीहरू निको पार्न र मरेकाहरूलाई बिउँताउन सक्छन् भने सानाबाले भन्नुभएका सबै कुराहरू, जस्तै खड़ेरी र आँधीबेहरीहरू, वास्तवमा केही पनि होइनन्, होइन र?" तिनले प्रश्न गरिन्। “मैले भन्न खोजेको, उनले सबै थोक आ-आफ्नो ठाउँमा राख्न सक्छन्, सक्दैनन् र?”

तब मैले थाह पाएँ – यस अनौठो आश्चर्यकर्म गर्नेले आयोनको मनलाई बन्दी बनाइसकेका थिए; अनि न मेरो खिसीले, न ता मेरा तर्कहरूले नै तिनलाई त्यहाँदेखि निकाल्न सक्थे। म मुरमुरिँदै चुपचाप हिडिरहें; किनकि अब मलाई यस्तो लाग्थ्यो मेरा दुईटा दिदी-बहिनीहरूलाई नै छोपेको थियो; एउटीलाई दुष्ट आत्माको सामर्थ्यले; अर्कोलाई केले छोपेको हो, मलाई थाह थिएन।

अध्‍याय : ४ 

हामी घर पुग्दाखेरि घाम बादलभित्र लुकिसकेको थियो, र हामीले बाँधको डिल पार गर्दै गर्दा हामीलाई लतार्दै र हाम्रा आँखामा धुलो र बालुवा हुत्त्याउँदै हावा मड़ारिरहेको थियो। तल सड़कतिर हेर्दै मेरा बाबा घरको ढोकामा उभिनुभयो, तर उहाँ रिसाउनुभएको थिएन। 

"केही खाना खाऊ, केटा!” उहाँले रूखो सोरमा भन्नुभयो। "हामी आज राति बाहिर जानेछौं। मैले कामदारहरूलाई बोलाइसकेको छु। हावा हिजोभन्दा निक्कै कम भएको छ।”

मैले माछा मार्ने कपड़ा लगाएँ र जाँदै गर्दा मुखमा खाना चपाउँदै म तल सड़कतिर मेरा बाबासँगै हतारिएँ; घर छोड्नुमा कत्रो आनन्द! किनकि इल्लिरिका आफ्नै पारामा अस्पष्टसित कुरा जपिरहेकी, आँखा तरिरहेकी र आफ्नै छाती पिटिरहेकी थिइन्; एउटा आइलागेको ठूलो आँधीको बारेमा उनी कुरा गर्दैथिइन्। अनि जब हामी समुद्र-तटमा पुग्यौं, जहाँ साँझ झमक्क हुँदैथियो र हामीले बालुवामा घस्रिरहेका छालहरूको आवाज सुन्यौं, साथै हाम्रा अनुहारहरूमा हानिरहेको नुनिलो स्याँठको झोक्का महसुस गर्‍यौं, तब म अलिक डराएँ र मेरा बाबाको साथ लाग्न नजिकै गएँ। मानिसहरूले क्षितिजका काला बादलको उरुङतिर आँखा तन्काएर हेरिरहेका थिए।

“पश्चिमपट्टिबाट आँधी चल्दैछ " एउटाले भन्यो। “आहिलेसम्म त यो यतातिर आइपुगेको छैन" मेरा बाबाले भन्नुभयो, “र यो आइपुग्नु- अघि नै हामी फर्केर पनि आइहाल्नेछौं। हामी दुई-चार घण्टाको लागि मात्रै जान्छौं र किनारको छेउ छाउतिरै रहन्छौं।”

हामीले डुङ्गा खियाउँदा कसैले पनि गनगन गरेन। हाम्रो जाल जमिनदेखि धेरै टाढ़ा नफालीकनै हामी उर्लिरहेको समुद्रमा गइरहेका थियौं। यतिखेर सफा, स्याँठिलो अन्धकार थियो र जहाँ बत्तीहरू रातभरि बल्थे, ती घरहरूमा हामी झल्याकझुलुक उज्यालो देख्न सक्यौं। हामी चुपचाप आफ्नै पारामा काम गरिरह्यौं र निक्कै माछा पक्र्यौं जस्तै देखिन्थ्यो।

मध्यरात बितेर करिब दुई घण्टा भएको हुँदो एक्कासि म बेसरी चिच्च्याएँ। पहाड़हरूपछिल्तिरबाट जून उदाएको थियो र बादलहरूको पछाडिबाट झलमल्ल भएर त्यसले समुद्रलाई उज्यालो पार्दैथियो। अनि त्यहां, ठीक हाम्रो अघिल्तिर पानीको एउटा कालो पर्खाल, हामीलाई त्यसको खाड़लभित्र निल्न खोजिरहेको मैले देखें। सबैजना फरक्क फर्केर त्यतैतिर हेरे; मृत्युको मुखमा पुगेको देख्दा कामदारहरू हरेकले आ-आफ्नै देउतालाई पुकारा गर्दै डुङ्गामा थचक्कै घुड़ा टेकेर घोप्टो परे। तब एउटा कोलाहल मच्चियो। तर मेरा बाबाचाहिँ तुरुन्तै मेरो छेउमा आइपुगेर आफ्ना पाखुराले मलाई अँगालो मार्नुभयो।

तब, एकैछिनमा यस पानीको पर्खालले चारैतिरबाट हामीमाथि आइलाग्यो; गर्जिरहेको तुफान र उर्लिरहेको आँधीले हाम्रो डुङ्गालाई एउटा हलुका खेलौनालाई जस्तै गरी बुर्लुक-बुर्लुक उफार्‍यो र पानीले भरिदियो त्यसपछि के भयो, त्यो म भन्न सक्दिनँ किनकि चारैतिर अन्धकार र अलमल्लजस्तो, अनि छचल्किरहेको कालो पानी र कठाङ्ग्ग्राउने जाड़ो थियो; अनि मेरा बाबाले मलाई फलामले झैं थामिराख्नुभएको, मलाई चौइटिएको मस्तुलको भत्किएको एउटा टुक्रातिर तानिराख्नुभएको सम्झना मात्रै छ। मैले झट्टै त्यसलाई पक्रे, तर त्यो मस्तुलको टुक्रा साहै हलका थियो, हामी दुवैजनालाई थाम्न साह्रै हलका।

“छिटो समात, छोरा!” उहाँ मेरो कानमा चिच्च्याउनुभयो। "ज्वार फर्केको छ र आँधीले तिमीलाई तीरपट्टि हत्त्याउनेछ। तीरमा बलेका बत्तीहरू हेर्ने गर; अनि बिहान र तिम्री आमाको हेरविचार गर!"

उहाँले त्यो टुक्रा छोड़ेर जानुभयो; एउटा ठूलो छालले उहाँलाई मदेखि तानेर कालो भुमरीमा लग्यो, र अब मैले उहाँलाई कहिल्यै देख्न पाउनेछैनँ भन्ने मलाई थाह भयो। छालहरू उर्लिरहेका भए पनि मस्तुलको टुक्रामा झुण्डिंदै मैले आफ्नो टाउको पानीबाट माथि राख्ने कोशिश गरें। यतिखेर मैले कतै पनि उज्यालो देखिनं; हरेक चीज नै रात र मुसलधारे पानीद्वारा निलिएको थियो। तर आंधीबेहरी पूर्वीय दिशातिर बहिरहेको थियो; अनि यदि मैले समातिरहन सकें भने निश्चय नै समयमै म किनारतिर लगिनेछु भन्ने मलाई थाह थियो। मैले मेरा मछुवा मामालाई विचार गरें, जसले समुद्रमा मर्ने इच्छा गर्नुहुन्थ्यो; अनि के मेरा बाबाले पनि यस्तै इच्छा गर्नुभएको हो कि? मलाई शङ्का लाग्यो। तर मैले त मर्ने इच्छा गरिनं; किनकि म भर्खरै बाह्र वर्षको थिएँ र नचाखिएको, पूरै जिन्दगी मेरो अगाडि थियो। आकुल व्याकुल हुँदै मैले बलियोसँग अँठ्याएँ र कोही ईश्वर छन् भने तिनैलाई पुकार्दै 'ममाथि दया गर र मलाई बचाऊ' भनेर कराएँ।

त्यसपछि म छालहरूमा निस्सासिँदै र पल्टेर पानीमुनि डुब्दै र उठ्दै गर्दा मैले मेरा खेतीवाल सानाबाका कुराहरू सम्झें; 'म प्रकृतिको क्षमतामा विश्वास गर्छु; पृथ्वीको चक्र जसरी चल्नुपर्ने हो, त्यसरी नै चल्छ; र यसले मान्छेलाई फर्केर पनि हेर्दैन।' अनि उहाँले ठीकै भन्नुभएको थियो भन्ने मैले थाह गरें; किनकि यहाँ म न देउताले, न ता मानिसले नै थाम्न सक्ने भीषण सामर्थ्य, आँधी, बतास र पानीहरूको सामर्थ्यको निगाहमा परेको थिएँ; अनि मचाहिँ एउटा काम न काजको बाढीले हुत्त्याइएको काठको ठुटाभन्दा बढ़ी केही थिइनँ। तब म साह्रै हताश भएँ, र अत्यास र एक्लोपनाले गर्दा चिच्च्याएँ।

एकदमै बलियो केटो मात्रै बाँच्न सक्थ्यो होला र म, जो बच्चैदेखि नै प्रायः जालहरूसँगै खाइखेली गरेको थिएँ, वास्तवमै साह्रै बलियो केटो थिएँ। साथै आँधीबेहरी चले पनि हिउँदको मौसम सधैंको तुलनामा बिसेक थियो र पानी अझ कठाङ्ग्रिने गरी चिसो भएको थिएन। समय बितिगयो; मेरो अन्दाजमा म करिब चार घण्टाजति पानीमा बसिसकें र अँध्यारो अझ बढ्दै गएको देखिन्थ्यो। मैले झिसमिसे - अघिको अँधेरो घडी बिर्सिसकेको थिएँ मैले यति सोचें - रात कहिल्यै सकिँदैन कि के हो? अब अर्कोपल्ट म बेहोशी र अन्धकारमा डुब्नुपर्छ। तर म डुबिनं; किनकि मेरा दहा औलाहरू मस्तुलको टुक्रामा ठ्याप्पै टाँसिएका जस्तै थिए। मैले सम्पूर्ण हृदय, मेरो तनमनदेखि नै बाँचे इच्छा गरें। मेरा खुट्टाले तल किनार छुन मेरी आमाको मुहार फेरि म देख पाऊँ! म उहाँलाई घृणा गर्छु भनेर मैले कसरी सोच्न सकें? आयोनको तातो, सानो हात मेरो हातले सुमसुम्याउन र हाम्रा अनुहारहरूमा घाम लागेको अनुभाव गर्न पाऊँ! अहो, जीवन मनोरम थियो, र मैले पक्कासँग यसलाई कहिल्यै चिनेको थिइनँ। मैले मेरा लाटा गोड़ाहरू झट्कारें र त्यतै जमिन होला भन्ने ठानेको दिशातिर म पौड़िन खोजें; तर कुन दिशामा जानुपर्ने हो, मैले मेरो क्षमता गुमाइसकेको थिएँ र चक्रमा घुमेर गएको जस्तो भयो।

तब मैले केही कुरा देखें; आँधी मत्थर हुँदै गइरहेको थियो। हावाले आफ्नो हुङ्कार गुमाइसकेको थियो; छालहरू उठ्थे र खस्थे, अनि ती ममाथि फेरि बज्रेनन्। तल गहिराइमा डुब्नुको सट्टा एउटा कालो, हुत्तिरहेको समुद्रको सतहमा म तैरिएँ। मेरो चेतना फर्केको जस्तो लाग्यो; यस ठूलो पश्चिमी बतासले मलाई किनारतिर डोस्याइरहेको हुनुपर्छ, साथै रातको अन्त हुँदैन जस्तो लागे तापनि यदि मैले धेरै बेरसम्म पक्रिरहन सकें भने अवश्य बिहान हुनेछ भन्ने मैले ठानें।

रात बिस्तारै हराउँदै गयो; मैले चाल नपाउने गरी पानीको रङ्ग पनि बदलियो। अचानक मेरो वरिपरि छचल्किरहेको पानी कालो होइन, तर धमिलो भएको मैले महसुस गरें। जब म अर्को छालको टुप्पामा तैरिएको थिएँ, तब मैले मेरो अघिल्तिर पहेंलो आकाशको पृष्ठभूमिमा छ्याङ्ग बैजनी रङ्गका पहाड़हरू मैले देख्न सकें। तब म मेरो भएभरको बलले हुत्तिएँ। अर्को ठूलो लहरको लप्कामा पुग्दा मैले रिमरिमे उज्यालोमा खण्डहर समुद्र-तट छेवैमा देख्न सकें। त्यसको लगतै मेरो खुट्टाले बालुवा छोयो; अनि त्यसपछि धेरै मानिसहरूलाई आ- आफ्ना भोटाहरूमा लपेटिएर खाँड़ीको बालुवामा उभिइरहेका, रोइरहेका र आ-आफ्ना छाती पिटिरहेका मैले देखें। अनि मैले यो पनि देखें - समुद्र तट छालले पल्टाएको लेउले र काठका ठुटाहरूले छरपस्ट ढाकिएको थियो; त्यहाँ छेवैमा बालुवामाथि बसालिएका मछुवाहरूका कति टहराहरू बौलाहा आँधीले बगाइ- दिइएका थिए।

म जमिनमा ठोकिंदै आइपुग्दा धमिलो उज्यालो भएको थियो, र मानिसहरूले मलाई देखे। एउटा ठूलो चीत्कार सुनियो र एक दर्जनजति मानिसहरू छालभित्र मलाई किनारतिर तान्न दौड़ेर आए। तिनीहरूले मलाई बालुवामा राखे र एकैछिनपछि मेरी आमाका पाखुराहरूले मलाई अंगालेका थिए; अनि मेरा बाबाको लागि हामी सँगै रोयौं। त्यसपछि मलाई सुक्खा कम्बलहरूमा बेरियो, दाखमद्य पिउन दिइयो र तामदानमा राखेर घरतिर लगियो। कतैतिर आगो बल्यो; मेरा लाटा अङ्गहरूको स्पर्श फर्केर आयो रती साह्रै बल्झिरहेका थिए। आयोन मेरो छेवैमा बसिरहेकी थिइन् र धेरै समयसम्म मैले केही चाल पाइनँ।

धेरै बेर म सुतिरहें, अनि अरू दुई दिन दुई रातसम्म म सुताइ र उठाइको बीचमा रहें; मेरो मन र शरीर यति साह्रो लछारिएको र घायल भएको थियो कि मैले आँखाहरू खोल्न सकिनँ। मैले आफू कालो समुद्रमा हुत्तिरहेको र छालहरूले मलाई निल्नै आटेको सपना देखिरहें। तर जहिले म यी झझल्काहरूबाट बिउँझिन्थें, आयोन सधैं मलाई दाखमद्य वा पानी ल्याउन वा मेरा खाँचोहरू पूरा गर्न र मलाई थपथपाउन, साथै तिनको साधारण दया र केटाकेटीको बुद्धिले मलाई सान्त्वना दिन त्यहाँ हुन्थिन्।

तेस्रो दिनमा म सबेरै उठें, अनि मेरा खुट्टामा उभिने कोशिश गरें; तीचाहिँ दह्रो भएकाले प्रायः पक्षघात भएका थिए। मेरी आमा र आयोन इनारमा गइसकेका थिए। इल्लिरिका कुनामा घुस्रेर मस्त सुतेकी देखिन्थिन्। म घरबाट बाहिरतिर बामे सरें, कमजोर बूढ़ो मान्छेझैं ढोकाको खापामा अड़ेसिएँ अनि मेरा हात र अनुहार उठाएर मैले फिक्का, हिउँदको घाममा तापें। तर मेरो मन ताजा थियो; अनि मेरी आमा र आयोन सड़कमा नफर्केसम्म भित्र जीवनको मोहकतामा हराउँदै म त्यहाँ उभिइरहें। उनीहरू ठिङ्ग उभिएर आफ्ना टाउकामा ठूला माटाका गाग्राहरू बोक्दै हिँड़े; मेरी आमाले त झन् दुईटा छालाका थैला पनि बोक्नुभएको थियो। मलाई उभिरहेको देखेर उनीहरू रमाए तर उनीहरूका आँखा रुवाइले गर्दा राता थिए। अनि म अझ साह्रै कमजोर भएको हुनाले म बामे सर्दै फेरि घरभित्र गएँ र म पनि रोएँ; किनकि मेरा बाबाबिनाको भविष्य साँच्चिकै अँध्यारो देखिन्थ्यो।

म सुत्दा धेरै कुरा भइसकेका थिए। अनि खाजा खाँदा हामीले बात मार्‍यौं। मेरी आमाको भनाइअनुसार, म पानीबाट उम्केको केही घण्टापछि मेरा बाबाको लास किनारमा ल्याइएको थियो; अनि दिनभरिमा हाम्रा कामदारहरूमध्ये दुईजना र केही अरू डुङ्गाहरूकालाई पनि मरेको अवस्थामा भेट्टाइएको थियो। तर सबै खतम भएका थिएनन्। जब समुद्र मत्थर भयो, तब डुङ्गाहरू बाहिर निस्केर एउटा घप्लक्क घोप्टेको डुङ्गामा अल्झिरहेका दुईजनालाई उठाइयो। अरू केहीले डुङ्गाको टुक्राहरूमा अल्झेर पौड़ी खेले, तिनीहरूमध्ये हाम्रा कामदारहरूको चौथो सदस्य, एक जवान मानिस, हिराम पनि थियो।

पानीले घाटमा ल्याइसकेको, आँधीले क्षतविक्षत पारिएको त्यो थोत्रो डुङ्गा अब मेरो थियो; तर यसको नेतृत्व गर्न म साह्रै कलिलो उमेरमा नै थिएँ; अहिलेको लागि यो हिरामलाई भाडामा दिइन्छ, जसले यसको मर्मत गर्नेछ र यसलाई तम्तयार पार्नेछ। अनि मचाहिँ पाको उमेरको र आफ्नै कामदारहरू लिएर आफ्नै डुङ्गा चलाउने नभएसम्म उसकै कामदारहरूमध्ये एक भएर रहनेछु।

म खिन्न भएँ; म हिरामलाई कहिल्यै मन पराउँदिनथिएँ। मेरो हेराइमा ऊ सधैं आफ्नै ढिपीमा चल्ने र आफ्नो ज्यालामा कचकच गर्ने एउटा धूर्त मानिस थियो। मेरा बाबाले भर्खरै मात्र ऊबाट मुक्त हुन सोचिरहेको सङ्केत गर्नुभएको थियो, र अहिले ऊ मेरो मालिक भयो। यदि मेरा बाबाका साथीहरूमध्ये एकजना मेरा मालिक भएका भए त कुरा अर्कै हुन्थ्यो। तर हिराम! ऊ मात्रै अगाड़ि बढ़ेर यस कामधन्दा उठाउन तम्सेको थियो। फेरि एकचोटि मेरो जवानीपन, मेरो असहायपन, मेरा बाबाको बिछोड़ले मलाई उकुसमुकुस बनायो; अनि अरू बेलामा भन्दा झन् अहिले नै मैले आफूलाई यस्तो एउटा मालिकको बन्धनमा परेको महसुस गरें, जसलाई म घृणा गर्थे; म घरमा पिचासको शक्तिले छोपेको र भाग्यको भडयाहा हावाले हुत्त्याइएको त्यान्द्राजस्तो थिएँ। मेरो कमजोरीपनमा मैले साँच्ची नै ती मैले माया गरेकाहरूको साथमै म पनि कालो समुद्रमा डुबेर मरेको भए हुन्थ्यो भन्ने ठानें।

तर जीवन जिउनैपर्छ। मैले राम्रोसँग खाएको र पिएको थिएँ, अनि मेरो तागत बिस्तारै ममा फर्की आउन थालेको थियो। शरीरको अररोपना बिस्तारै हट्दैथियो; अनि मैले मेरो डुङ्गा अहिले के गति भइरहेको छ भनेर हेर्ने मन गरें। मैले किनारतिर बाटो तताएँ; शुरुमा बिस्तारै, तर हरेक पाइलामा साहस लिएर। त्यहाँ पुग्दाखेरि म प्रायः राम्रैसँग हिँडिरहेको थिएँ; तर जे मैले देखें, त्यसमा मैले मन थाम्न सकिनँ। समुद्र तटचाहिँ लेठ छालले फ्यालेका धुस र क्षतिग्रस्त डुङ्गाहरूले गर्दा छताछुल्ल भएको थियो, किनारका छाप्राहरूका भत्की- बिग्री रहेका टुक्राहरू मैलाको ठूलो रासझैं छरिएका थिए र समुद्रचाहिँ धमिलो, मैलो र मडारिरहेको थियो। तर म जे खेजिरहेको थिए, त्यो मैले भेट्टाएँ - मस्तुलबिनाको, पतवार - रहितको त्यो थोत्रो डुङ्गा, जो एक ताका मेरा बाबाको डुङ्गा थियो; अनि हिराम त्यसको मर्मत गर्दैथियो। यस दृश्यले गर्दा म तिरमिराएँ, र साह्रै मुर्ख्याइँ पाराले बोलें।

"दया गरी यसको मर्मत राम्रोसँग गर्नू” मैले मेरो सोर सकेसम्म कड़ा पारेर झन्डै चिच्च्याएझैं गरी आदेश दिएँ। “म यसलाई चाँड़ै लिँदैछु र मलाई कुनै तुलेलाङ्ग्रे काम चाहिएको छैन।"

उसले खिस्याएर हाँस्दै मलाई गहिरिएर हेर्‍यो। " पक्कै हो, सानो मालिक!” उसले उपहासको हाँसो हाँस्यो। “केही वर्षसम्म म आफैले यसलाई चलाउनेछु; यसैले म पक्कै पनि यसको राम्रो मर्मत गर्छु। यदि तिमीले मेरो कुरा मान्यौ भने त म तिमीलाई एउटा कामदारको रूपमा बोलाउनुपर्ला भनी सोचिरहेको थिएँ। एक ठिटा मात्र भए पनि तिमी निक्कै बलिया छौ; तर तिमीले धेरै कुरा सिक्न बाँकी नै छ।"

ऊ आफ्नै पारामा रमाउँदैथियो, र म आउँदा वर्षहरूमा एउटा निरीह बालक उसको कृपा-दृष्टिमा परेको थिएँ, जसले यस निर्दयी प्राणीले भनेको मान्नुपर्छ, र यसरी नै मलाई अह्राएकोमा ऊ कति रमाउनेछ। मलाई अचानक यो डुङ्गा उसलाई दिनुको सट्टा अरू कसैलाई भाड़ामा दिने विचार आयो; जे भए पनि यो त मेरै डुङ्गा थियो।

"यो कुरा म मेरी आमासँग छलफल गर्नेछु”, मैले गजक्क भएर जवाफ दिएँ। “यो डुङ्गा खुशीसाथ भाड़ामा लिने त्यहाँ अरूहरू पनि छन्; अनि हामी अझै यताउता विचार गर्दैछौं।"

ऊ फेरि हाँस्यो, तर यस पटकको उसको हाँसो पूरै जङ्गली हाँसो थियो। "तिमी लामो समयसम्म खोजी हेर!” उसले नम्रतापूर्वक भन्यो, " तर तिमीले कसैलाई पाउँदैनौ; किनभने दुष्ट आत्मासितको सम्पर्कमा रहेका मानिसहरूबाट कसले यो डुङ्गा भाडामा लिने मन गर्छ र? मलाई, यस्तो अन्धविश्वास नगर्ने, तर यो खतरा उठाउन चाहिरहेको मान्छेलाई पाउनुमा त तिमीले आफैलाई भाग्यमानी मान्नुपर्छ।”

ट्वाल्ल परेर मैले उसलाई चुपचाप हेरें, र उसले मलाई तर्काएँ भनेजस्तो मान्यो। “शायद तिमीले, मानिसहरूले के भनिरहेका छन् भन्ने सुनेका छैनौ होला?” उसले मतिर निहुरेर र अझ नम्रतापूर्वक बोल्दै भन्दै गयो। "तिमीले यो जान तिनीहरू सबै यसैको बारेमा कुरा गरिरहेका छन्। ठूलो आँधीबेहरीको बेलामा तिम्री दिदी राति सड़कहरूहुँदो कराएकी तिनीहरू सबैले सुने। कसको शक्तिले यस्तो आँधीबेहरी आयो? तिम्रो घर श्रापित छ, फिलो; तिम्रो डुङ्गा अलक्षित छ। यस्ता दुष्ट आत्माहरूसँग दोहोरो सरावती भएकाहरूसँग कसले डुङ्गा चलाउन चाहन्छ?"

उसले मलाई एउटा डराएको बच्चाजस्तै थर्र काँपिरहेको देख्ला कि भनेर म फरक्क फर्केर पर गएँ। मैले हतार-हतार गर्न खोज्दा खुट्टाहरू लगलग भए। तर मेरो यस्तो डरलाग्दो अवस्थामा पनि मेरा बाबाको मृत्युको बारेमा कसैले पनि मसँग कुरा नगरेको अथवा श्रद्धान्जली नदिएको मैले थाह पाएँ। म सरासर आएर सड़कको छेउबाट मोड्दै गर्दा मानिसहरूले मलाई छि:छि:- दुरदुर गरेका जस्तो लाग्यो; अनि तिनीहरूले यस्तो किन गरेका मैले अहिले थाह पाएँ; त्यस कालो छायाले हामी सबैलाई निलिसकेको थियो।

दुखेको टाउको र दुख्दै गरेका हातखुट्टा लिएर म घर पुगेर थचक्क बसें; मेरी आमा एक्लै बस्नुभयो; किनकि छिमेकीहरू आएर उहाँसँगै दुःख - विलाप गर्न डराए। तर साँझसम्म, अँ आयोन इनारमा नगएसम्म मैले के-के कुरा सुनेको थिएं, सो केही पनि बताइन। सांझको बेला शान्तिको क्षण र घर फर्कने समय थियो। सांझको रङ्गीन घामले सड़कका साना, सेता घरहरू उज्याला पारिएका थिए। तर आयोन अरू बेलाभन्दा एकदमै छिटो फर्किन् र हामीले सड़कमा दौडिरहेका तिनका पाइतालाका दम्काहरू सुन्यौं; तिनी घरतिर हतारिन् र ढोकामा झट्का दिँदै आफ्नो टाउकोमा पानीको भांड़ा घरमराउंदै अड़ाइरहेकी थिइन्; तिनको पूरै शरीर थरथरी कांपिरहेको मैले चाल पाएं। 
"के भयो, आयोन?" मेरी आमा र मैले एकै सोरमा सोध्यौं।

"तिनीहरूले भने" भन्दै तिनी डराउँदै इल्लिरिकातिर आँखा फर्काएर सुसाइन्; उनीचाहिँ आकाशतिर एकोहोरो आँखा तन्काउँदै कुनामा कुइना जोतेर बसेकी थिइन्। “तिनीहरूले भने - त्यो आँधीबेहरी ल्याउने त इल्लिरिका नै हो; तिनीहरूले भने हाम्रो घर श्रापित हो; तिनीहरूले मलाई एउटा ढुङ्गाले हानेर भने ...." तिनले आफ्नो अँजुलीमा टाउको अड्याइन् र धुँक्क - धुँक्क रुन थालिन्। “तिनीहरूले इल्लिरिका पक्कै मर्नुपर्छ भन्छन्।”

इल्लिरिका मरेकी भए मेरो जीवन कस्तो हुन्थ्यो होला भन्ने सपनामा म पुगें, तर मेरी आमाको उदास, उदास चेहराले म झसङ्ग भएँ। "केको वाहियात हो यो?" म चिच्च्याएँ। यति साह्रो गरी पहिले म कहिल्यै रिसाएको थिइनँ, र मेरो रिसले मलाई बलियो बनायो। मैले मेरा सबै थकाइ बिर्से र रात पर्न लागेको साँझमा सड़कतिर तल किनारको पारितिर फटाफट लम्किएँ, जहाँ गाउँका मानिसहरू हरेक साँझ भेला हुन्थे। मैले ढोका बेसरी धकेलें र भित्र पसें; घमण्डले फुलेर म तिनीहरूको माझमा उभिएँ। म भित्र पस्ने बित्तिकै त्यहाँ सुनसान भयो; यसैले मैले तिनीहरूले केको बारेमा कुरा गरिरहेका थिए भन्ने थाह पाएँ।

"यो सब के हो?" म कराएँ। “कसरी मेरी दिदीले आँधीबेहरी बोलाउन र हामी सबैले माया गर्ने मेरा बाबालाई डुबाउन सक्छिन्? मेरी दिदीले त्यस आँधीबेहरीको बारेमा हामीलाई चेताउनी दिइन्, तर हामीले उनको कुरामा कुनै ख्याल नै गरेनौं। के तिमीहरू उनलाई मार्छौं, जसद्वारा देउताहरूले दैविप्रकोपको चेताउनी पठाउँछन्? हामीले उनको कुरा सुन्नै चाहेनौं भन्दैमा के उनी मर्नुपर्छ?"

मैले सोझै मानिसहरूको बीचमा अग्लो दाह्रीवाल पौवा कुरुवा, गाउंको एउटा बुद्धिजिवी र बितेका मेरा बाबाका एउटा साथीलाई हेरें। उनले कुमखुम्चाएँ र अरूहरूतिर फर्केर हेरे। तिनीहरूमध्ये कोही भावुक देखिए, अरू डराएका र नरमाइलो मानेका देखिए।

"यो बाबु ठीकै भन्दैछ” उनले शान्तसँग भने, "मार्ने कुरा अब धेरै हामी नगरौं। के हामीले त्यसलाई जसद्वारा देउताहरूले भविष्यको कुरा देखाउँछन्, मार्नु हुन्छ र? यदि ऊ फेरि सड़कहुंदो कराउँछे भने हामी उसले के भन्छे, सुनौं र त्यसमा ध्यान दिऔं न।”

त्यहाँ मौन स्वीकृतिको आभाष थियो, र बत्तीको प्रकाशमा उभिँदा सबै आँखाहरूले मलाई घेरिराखेकाले मैले आफूलाई सानो र लज्जित भएको महसुस गरें। म फरक्क फर्केर सान्त्वना निहित अँध्यारोमा फुरुङ्ग हुंदै दौड़ें; किनकि मैले मानिसहरूसित एउटा उमेरदारले झैं कुरा गरेको थिएँ र तिनीहरूले मेरो कुरा मानेका थिए। एक छिनको लागि, जे भए पनि त इल्लिरिका सुरक्षित थिइन्; तर मैले चाहें, अहो, मलाई मेरा त्यस बाबाका साथीले बाबु नभनेर बोलेका भए कस्तो राम्रो हुन्थ्यो भनेर थक्क-थक्क मानें।

अध्‍याय : ५ 

अब मार्ने कुरा फेरि चलेन, तर कानेखुसीले भने आफ्नो अखड़ा जमाएको थियो। गाउँको हरेक नै हामीसँग डराउँथ्यो, अनि मानिसहरू हाम्रो घरछेउतिर आइपुग्दा बाटो काटेर सड़कको अर्को छेउमा जान्थे। जब आमा इनारमा जानुहुन्थ्यो, आइमाईहरू उहाँसँग विरलै बोल्थे। अनि ती केही आगन्तुकहरू, जो हाम्रो घरमा आए, तिनीहरू इल्लिरिकाले भविष्य बताउन सक्छिन् कि, वा एउटा प्रतिद्वन्दी प्रेमीलाई भेट्न समेत सक्छिन् कि भनेर हामीलाई पैसा चढ़ाउन आउँथे। उनलाई एउटा व्यवसायी जोखाना हेर्नेको रूपमा किन्नलाई भनेर एउटा मान्छे पनि आयो, तर आमालाई पैसाको जति साह्रो खाँचो भए पनि उहाँले यस्तो काम पटक्कै गर्नुभएन; किनकि इल्लिरिकामा जुन दुष्ट आत्माको सामर्थ्य बस्दथ्यो, त्यसलाई जगाउनदेखि उहाँ डराउनुहुन्थ्यो। उहाँले उनलाई सान्त्वना दिनुहुन्थ्यो, माया गर्नुहुन्थ्यो र कहिलेकहीं, जब त्यो फत्र्याक-फत्र्याक पार्ने अवस्था उनमा हुन्थ्यो, तब उहाँले उनलाई सुगन्धित मसला मिसाइएको दाखमद्यले लट्ठ पार्नुहुन्थ्यो; तब केही समयको लागि केटी शान्त दखिन्थिन्। आँखाहरू एकोहोरो तन्काउँदै र आत्तिएर उनी रुँदै र केही मानसिक पीड़ा आफूमाथि आइलागेको झैं थरथरी काम्थिन् अनि त्यो अहिले, त्यही छिन, त्यही घड़ीमै उनलाई सटाइरहेको जस्तै उनी कुनामा थ्याच्च बसेर छट्पटिन्थिन्। 

यतिखेर उराठिलो, अत्यासलाग्दो हिउँद याम लागिसकेको थियो। मौसम प्रायः वेगसित परिरहने पानीको साथमा आँधीबेहरी चल्ने खालको थियो र ठिहिर्‍याउने पूर्वी स्याँठ हेर्मोन र लेबानोनको हिमरासीहरूबाट चल्थ्यो। थुप्रै रात माछा मार्न असम्भव थियो; तर किनारमा दङ्ग परेर बस्ने अथवा आफ्नै श्रापित घरमा बस्ने सिवाय गर्ने अरू केही कामै थिएन। अब अरू केटाहरूले मलाई अलग गरे, र मैले तिनीहरूको खेलमा मिसिन खोज्दा तिनीहरूले अफ्ठ्यारो मानेका प्रष्टै देखिन्थ्यो। मेरा बाबाको विछोड़ नै मेरो हृदयलाई लगातार घोचिरहने चस्को थियो। अब मैले राति डुङ्गामा बाहिर जाने कुराको बाटो हेरिनँ; किनकि हिराम एउटा दुष्ट मान्छे थियो, अनि उसले दुष्ट साथीहरू भाड़ामा लिएको थियो, र तिनीहरू दुष्ट कुराहरू मात्रै बोल्दथे। यसबाहेक हिरामले मैले किनारमा भनेका कुराहरू बिर्सेको थिएन; यसैले उसले मलाई एउटा मूर्ख केटोलाई झैं व्यवहार गर्दै, मलाई सबै असुहाउँदो, खराब काम गर्न लगाउँदै घरि-घरि मेरो ज्यालामा र माछा मराइको मोलको हिस्सामा मलाई ठग्दै ऊ मक्ख पर्थ्यो। त्यहाँ आवाज उठाउने कोही थिएन, मलाई सहायता गर्ने पनि कोही थिएन; एकप्रकारको आशारहित, कालो घृणा मेरो हृदयमा जन्मियो र अरू कुरा म सोच्न सक्दिनथें। एकदिन म ठूलो र शक्तिशाली भएपछि सुनौला भविष्यमा महत्वाकाङ्क्षी कुनै साटो फेर्ने काम पूरा गर्ने योजना गर्दै मैले सिडोनको इलाकाहुँदो किनारमा डुल्दै र बरालिंदै थुप्रै समय खेर फालें। 

मैले पाउनुपर्ने जति ज्याला पाएर पनि र हिरामले डुङ्गाको भाड़ा बुझाएर पनि हामी गरिब नै थियौं; किनकि मेरो कमाइ सानो थियो। यदि सारपतको बाटोका भाइबहिनीहरू नहुँदा हुन् ता हामी कतिपय भोकै हुन्थ्यौं होला; तर उनीहरू हामीप्रति दयालु थिए र कहिलेकहीं मकै, जैतुन र किसमिसहरू, साथै दूध, दाखमद्य अथवा तेलका ठेकाहरू कोसेलीको रूपमा पठाउँथे। म भए त फुर्सदका दिनहरू आनन्दले उनीहरूका खेतबारीमा बिताउँथें होला; तर त्यहाँ पनि म ढुक्क हुँदिनथें। तिनीहरू दयालु थिए, तर तिनीहरूले हामीसित आपतमा परेको, मान गर्नुपर्ने पाहुनासित गरेझैं असजिलो व्यवहार गरिरहेका थिए; अनि जब हामी मेरी सानीमालाई भेट्न जान्थ्यौं, तब उहाँले हामीलाई आँखाका परेली-कुनाबाट हेरेर घरि-घरि आफ्नो जन्तर समातेर चलमलिनुहुन्थ्यो; यसैले मैले त्यस ठाउँ सकभर छिटो छोड्न चाहन्थें। 

वास्तवमा, यदि यो आयोन नहुँदी हुन् त हामी एक्लै, अलग्गै बसेका र गाउँमा, अं पूरै संसारमा के-कसो भइरहेको छ, सो केही थाह नपाउनेहरू हुन्थ्यौं। तर आयोनले सबै परिवेशहरूलाई तोड़ेकी देखिन्थ्यो; तिनको आत्मीयपन र दयाचाहिँ साना लहराहरूले बेरेर सम्बन्ध जोड़े झैं र मानिसहरूलाई तिनीतिर आकर्षित गर्दै फिजिइरहेका थिए। एउटी सानी केटी भएर पनि तिनी खूबै काम गर्थिन्, जस्तै पानी उघाउने, घाँसका मुठाहरू उठाउने र अगेनाको लागि घस्यौटा टिप्ने र पहाड़हुँदो खान हुने तरुल-भ्याकुर खन्ने, साथै घर सफा गर्ने, अन्न पिँध्ने र खाना पकाउने आदि कामहरू। तर जब तिनको काम सकिन्थ्यो, तब तिनी आफ्ना साथीहरूकहाँ जान्थिन् र जुन ठाउँमा हामी बाहेकजस्तै र त्रासको कारण भएका थियौं, त्यहाँ त तिनलाई स्वागत र ग्रहण गरिन्थ्यो; किनभने तिनी भुल्केकी घामजस्तै थिइन्, जसलाई हत्केलाले छोप्न सकिन्नथ्यो। तर हामी जता जान्थ्यौं, उतै हाम्रा दु:ख, घृणा र त्रासको छाया हामी लिएर हिँड्थ्यौं। तिनले आफ्नो सबै फुर्सदको समय एउटी सानी अन्धी केटीसँग बिताउँथिन्, जो बन्दरगाहको छेउको एउटा घरमा बस्थिन्। अस्टरती अन्धी नै जन्मेकी हो; तर उसका आफन्तहरू धनीमानी मानिसहरू थिए र उनीहरूको एउटा ठूलो डुङ्गा थियो। तिनीहरूले उसलाई कहिल्यै बाहिर भीख माग्न पठाएनन्। राम्रा दिनमा ऊ खुला ढोकाको छेउमा घामको पाटोमा आफ्नो मुहार न्यानोतिर फर्काउँदै र पदचापहरू सुन्दै बस्थी। ऊ र आयोन एक-अर्कालाई असाध्यै माया गर्थे। म त्यहाँबाट जाँदा र त्यहाँ तिनीहरूलाई बसिरहेका देख्दा तिनीहरूका टाउकाहरू सँगसँगै हुन्थे; जहाँसम्म मलाई लाग्छ, जतिखेर पनि नरोकीकन दुवै गफ गरिरहेका हुन्थे। एक साँझ जब म किनारबाट उक्लेर आउँदैथिएँ, आयोन मेरो पछि-पछि दौडिन र हामी सँगसँगै घरतिर लाग्यौं। 
"तिमीहरूले आपसमा केको गफ गर्छौ?" मैले हाँस्दै तिनलाई सोधें, “तिमी त कहिल्यै चुप लागेको देख्दिनँ त।” 
आयोनले पर हेरिन्, त्यसपछि अति लाज मान्दै तिनले जवाफ दिइन्, “म उसलाई त्यस भविष्यवक्ताको बारेमा बताउँदैथिएँ, र हामी बगैंचाको त्यस सानो केटोको बारेमा कुरा गरिरहेका थियौं। ” 
"ए, उसलाई!” मैले भनें। “तिम्रो भनाइको मतलब तिमी अझै उसकै बारेमा सोचिरहेकी छ्यौ?" 

तिनका आँखा चम्किरहँदा तिनले केही कुरा भन्न नचाहेझैं ओठहरू टम्म बन्द गरिन्। तर तिनी गोप्य कुरा लुकाएर राख्नुमा त्यति सिपालु थिइनन् र एकछिनपछि त्यो सबै ओइरियो। 

"सबैले उनको बारेमा सोचिरहेका छन्, फिलो। उनले गरेको त्यो एउटा मात्रै काम थिएन। तिमी कहिल्यै मानिसहरूसँग कुरा नै गर्दैनौ; यसैले तिमीले केही सुन्दैनौ; तर उनले थुप्रै अचम्मका कामहरू गरेका छन्, र सबै ठाउँहरूबाट मानिसहरू उनीकहाँ गइरहेका छन्। सिरियालीहरू पनि उनीकहाँ जाँदैछन्; अनि टायर र सिडोनका इलाकाहरूबाट पनि।" 

"ठीक छ, मलाई लाग्छ, तिनीहरू छिट्टै खुरुखुरु फर्की आउनेछन्,” मैले अड्को थापें। “ऊ त एउटा घमण्डी यहूदी हो, होइन भन त! के तिमी उसलाई अन्यजाति कुकुरहरूसँग हेलमेल भइरहेको सपना देख्न सक्छ्यौ? यी सब बिर्सिदेऊ, आयोन; त्यो एक खानदानी मानिसको छोरा थियो, जसलाई यस भविष्यवक्ताले निको पारेको ठानिएको छ, र उसले यति गरेपछि एउटा ठूलो रकम हात पार्‍यो होला भन्नेमा कुनै शङ्का नै छैन।” 

तिनी दोधारमा पकेकी जस्तो देखियो; "उनी एक यहूदी हुन्”, तिनले भनिन्, “तर उनी घमण्डी छन् भन्ने त मलाई लाग्दैन। ती मानिसहरू, जसले उनलाई पछ्याउँछन्, तिनीहरू हामीजस्तै मछुवाहरू हुन्; र उनले निको पारेका मानिसहरू सबै धनी मानिस नै हुन् भन्ने मलाई लाग्दैन। तिनीहरूमध्ये कति त गुँगा र अन्धा पनि छन्।” 
म झोक्किएर तिनीतिर फर्के। 

"आहो, यो वाहियात कुरा गर्न बन्द गर, आयोन", म सड्किएँ, " म एउटा बच्चाको ज्वरो निको भएको कुरा त पत्याउन सक्छु, त्यो त सधैं नै हुन्छ। तर कसले पो अन्धाले देखेको कुरा सनेको छ र! यो त विलकुलै हुन नसक्ने कुरा हो; यसैले कुरा बुझ्ने होऊ र तिमीले सुन्ने सबै व्यर्थका गफहरूमा विश्वास नगर।" 

तिनी केही बोलिनन्। तिनी भिज्याउँदो पारामा खिसिक्क हाँसिन् मात्रै यसैबाट तिनले भन्न खोजेको भन्दा बढ़ी नै तिनले थाह पाएकी छिन् भन्ने मलाई लाग्यो। तर हामीले यसभन्दा बढ़ी केही कुरा गरेनौं; किनकि हामी दुवैजनालाई मेरी दिदीको अगाडि कहिल्यै त्यस भविष्यवक्ताको नाम लिनुहुँदैन भन्ने थाह थियो, तैपनि मलाई पक्का थाह थियो कि उनी कहिल्यै भन्दै नभनेको कुरा पनि जान्दथिन् किनकि उनले आफ्नो अँध्यारो कुनाबाट आयोनतिर घृणा र त्रासले भरिएका छड्के आँखा तरिन्। 

मलाई यो जाड़ो याम अति नै लामो लाग्थ्यो; तर ठिहिर्‍याउने बतास र हुत्तिने पानी सुरोफोनिसी किनारमा लामो समयसम्म रहँदैनथ्यो। एकरात हामी माछा मारिरहेका थियौं; त्यस बेला मैले साइप्रस र टापुहरूबाट बहिरहेको पश्चिमी बतासको न्यानो अनुभव गरें; मेरो मन फुरुङ्ग भयो; हिरामले पनि यसलाई दबाउन सकेन; अब बसन्त आउँदैथियो। त्यहाँ खास आशलाग्दो कुरो केही पनि थिएन; तर पनि घाम नउदाउन्जेल जब हामीले किनारतिर डुङ्गा खियायौं र जब म घरतिर सुललाई सड़कतिर उकालो चढ़ें, त्यहाँ घाममा न्यानोपन र हावामा मिठास थियो, त्यतिखेरसम्म मभित्र एउटा आभास, त्यहाँ त्यस हावाबाट आशाको एउटा प्रतिज्ञा जागेको थियो। आयोनको कुरा गर्ने हो भने, तिनी साँच्चै रहस्य र आनन्दले उम्लिरहेकी थिइन्; जब घरबाट तिनी निस्कन्थिन्, गीतका टुक्राहरू गाउँदैथिन्; जब तिनी भित्र पस्थिन्, अझै आफैलाई नियन्त्रण राख्दै एउटी पगलीजस्ती देखिन्थिन्; किनकि अरू कुनै चीजले भन्दा यस प्रकारको आनन्दले इल्लिरिकालाई झन् बढ़ी पीड़ा दिएको थियो र वास्तवमा, हाम्रो घरमा यस्तो आनन्दको लागि ठाउँ नै रहेन। मेरी आमाको पीर र मेरो गह्रौं निन्याउरोपना इल्लिरिकाको अवस्थासँग मेल खान्थे; उनले मेरो थोरै वास्ता गर्थिन्; तर उनी आयोनको खुशीप्रति सतर्क हुन्थिन्। कहिलेकहीं मलाई उनी उम्लेर तिनीमाथि जाइलागेर तिनलाई नाश त गर्ने होइन होला भन्ने शङ्का लाग्थ्यो। यस कुराले मलाई फिक्री लाग्थ्यो, र एकदिन जब इल्लिरिका मस्त निद्रामा थिइन्, मैले मेरा डरहरू मेरी आमालाई पोखें। 

उहाँले आफ्नो टाउको बिस्तारै हल्लाउनुभयो। “इल्लिरिकाले कहिल्यै आयोनलाई चोट दिन्छे भन्ने त मलाई लाग्दैन” उहाँले बिस्तारै भन्नुभयो। "ऊ दिउँसोको घाम मन पराउँदिन; अनि जब कँपाइले उसलाई छोप्छ, तब आयोनले खालि घरबाट बाहिर फुत्त निस्किनुपर्छ; त्यसो पहिले पनि उसले धेरै चोटि गरेकी छ। अनि यदि कँपाइ राति आउँछ भने त के म ऊसँगै पाखुरा कसेर सुत्दिनँ र? म उसलाई दबाउँछु कि उसको पछि लाग्छु। अस्ति पनि ऊ चिहानहरूहुँदो गई र आफैलाई ढुङ्गाले छिया-छिया पार्दै त्यहाँ रातभरि नै रोइरही।" 

"तर आमा, जब कँपाइले उनलाई छोप्छ, तब उनी मानिसभन्दा दोबर शक्तिशाली बन्छिन्। तब कसरी तपाईंले उनलाई दबाउन सक्नुहुन्छ र? अरूहरूले गरेजस्तै तपाईंले उनलाई भित्ताको दलिनमा बाँध्नुपर्छ। त्यहाँ आयोनको बारेमा केही कुरा छ, यसले गर्दा उनी तिनलाई घृणा गर्छिन्; यो त अलि सुरक्षित भएन।" 

यस दिनभन्दा अघि मैले कहिल्यै यो कुरा उठाएको थिइनँ र मेरी आमा रिसाउनुहुन्छ होला भन्ने ठानेको थिएँ। तर उहाँ चुपचाप बस्नुभयो; अनि यसैबाट मैले उहाँ निक्कै अफ्ठ्यारोमा परेको अड्कल काट्न सकें। 

तर हाम्रो घरमाथि विरक्तलाग्दो अन्धकार छाए तापनि बसन्त ऋतु एउटा उर्लेको ज्वारजस्तै छिप्पिँदै गइरहेको थियो। समुद्रमा माछाहरू बग्रेल्ती थिए र बिहानैपिछे जालहरू गह्रौं हुन्थे। हिँड्डुल गर्न मलाई थोरै फुर्सद हुन्थ्यो; किनकि हामी रातदिन व्यस्त थियौं। आफूले मन नपराउने मालिकको काम गर्नु वास्तवमा साह्रै गाह्रो, गाह्रो काम हो। जब माछाहरूलाई केलाइयो र बजारतिर लगियो अनि जालहरू सफा गरिए र तुनिए, तब म सुन मात्र चाहन्थे; तर मलाई थाह थियो, बाँधको डिलको पारिपट्टि हाडेबदामका फुलेका कपिलाले भरिएका हाँगाहरू हावासँग टकराइरहेका थिए अनि भेड़ाहरू हराभरा खर्कहरूमा पाठाहरू बियाउँदैथिए र मलिलो माटोले पछिल्लो भर पानी र बीउको लागि पर्खेको थियो। आयोन त्यतिखेर निस्कन्थिन् र घाँस काटेर ढिलो फर्कन्थिन् फर्कंदा यी जीवन र बसन्तकी खानी मुस्कान छर्दैथिन्; तर हाम्रो दुःखित, चिस्याउने परिवारमा यसको कुनै अर्थ थिएन। तिनको अचम्मलाग्दो उत्तेजनाले मलाई रिस उठायो र मैले तिनमा गल्ती भेट्टाउन खोजें। 

"आजकाल त तिमीले तिम्रो सानी अन्धी साथीलाई बिर्सेकी जस्तो छ्यौ नि” एकसाँझ हातभरि जङ्गली बुकी फूल लिएर तिनी घरभित्र छिर्नै लाग्दा मैले चित्त दुख्ने गरी भनें। 

तिनी यी फूलहरू सानो माटोको भाँडामा सजाएर राख्न फर्किन्। आखिरमा जब तिनी बोलिन्, तिनको आवाज दुःखित थियो। “किन तिमी सधैं मेरो कुरा काट्छौ, फिलो? मैले कुनै खराब काम गरेजस्तो त मलाई लाग्दैन!” 
'किनभने तिमी खुशी छौ, तर म व्याकुल छु।' मैले आफैभित्र सोचें। 'किनभने तिमीले केही आनन्द पाएकी छौ, जसको बारेमा मलाई केही थाह छैन; किनकि तिम्रो मनमा तिमीले कालो छाया रहन दिँदैनौ।' तर चर्को स्वरमा मैले भनें, “किनभने तिमी यस्ती काम नलाग्ने केटी हौ; तिमीलाई कुनै कुराको वास्ता नै छैन,” अनि म मेरो पछिल्तिरबाट ढोका बेसरी ढ्याम्म लगाएर आफ्नो कामतिर लागें, तर त्यस रात अरू रातभन्दा म बढ़ी शोकित भएँ। 

त्यसपछि, करिब एक हप्तापछि एकदिन मैले कुरा बुझें। फेरि बेलुकाको समयमा हामी चुपचाप माछा र रोटीको खाना खान हाम्रो टेबलको वरिपरि बसिरहेका थियौं; त्यस बेला हामीले बाहिरतिरबाट दौड्दै आइरहेका पदचापहरू सुन्यौं र ढोका घस्याङ्ग उम्रियो। सानी अस्टरती उसको सानो भाइसँग ढोकामा उभिई, जो छेवैमा हाँसिरहेको थियो; यस्तो छक्कलाग्दो के गरूँ, के गरूँ झैं लाग्ने बेला र परिस्थितिमा घुलमिल हुनदेखि डराएझैं गरी अनि आफ्नो हात अगाड़ि फैलाएर ऊ हेरेको हेस्यै भइरहेकी थिई; ऊ हेरिरहेकी थिई, हेरिरहेकी थिई। 

"आयोन! आयोन!!” ऊ कराई। “छिटो आऊ न, म तिम्रो अनुहार हेरूँ। म देख्न सक्छु; येशूले मलाई निको पार्नुभयो।” 

हामी जस्याक जुरुक्क उठ्यौं, तर यति बेला ढिलो भइसकेको थियो। यी डरलाग्दा, दुःखदायी चीत्कार र रिसका हुङ्कारहरू सारा छिमेकभरि नै सुनिन सक्यो र छरछिमेकमा आ-आफ्ना खेलिरहेका नानीहरूलाई तिनीहरूले बोलाएर ढ्याम्म आ-आफ्ना ढोका बन्द गरे। 

इल्लिरिका आफ्नो कपाल भुत्ल्याउँदै, लुगाहरू च्यात्दै भुँइमा लड़ेकी थिइन्; मैले दुईटी सानी केटीहरूलाई सड़कतिर धकेलिदिएँ र फर्कन र मेरी आमालाई सघाउन तम्सिएँ। मेरी दिदी आफ्नै टाउको ठोकिरहेकी थिइन् र मेरी आमाले त्यसको तलपट्टि एउटा तकिया राखिदिनुभयो र फकाइफुल्याइ गर्दै, सान्त्वना दिँदै, हलहल भन्दै र थपथपाउँदै हुनुहुन्थ्यो। तर यसले राम्रो भएन, छिनछिनमै निस्कने यी त्रासका रगत जमाउने हुङ्कारहरूले सुनसान रातलाई कब्जा गरेः "येशू, परमेश्वरका पुत्र, म तपाईंलाई चिन्दछु; ... तपाईं किन, ओहो किन मलाई बल्झिने पीड़ा दिन आउनुभयो?" 

आखिरमा उनको कमजोर शरीरले उनीभित्र रहने दुष्ट आत्माको सामर्थ्य थाम्न नसकेझैं गरी उनी फ्वाँ फ्वाँ हलचल नगरी सुतिन्। कहिले त उनले सास नै नफेरेकी जस्तो देखिन्थ्यो, र शायद उनी मरिन् कि भनेर मेरो हृदयमा एउटा ठूलो आशा उर्लियो। तर मेरी आमा जो उनीमाथि निहुरिरहनुभएको थियो, सान्त्वनाले आफ्ना आँखाहरू उज्याला बनिँदै उहाँले आँखा उठाएर हेर्नुभयो। “ऊ अझै सास फेर्दैछे”, उहाँले बिस्तारै भन्नुभयो, “ऊ जिउँदैछे।" 
उनी केही घण्टा मूर्च्छामा नै रहनेछिन् भन्ने मलाई थाह थियो; र यतिखेर डुङ्गा उतार्ने बेला हुनै लागेको थियो; तर अस्टरतीको घरतिर के भइरहेको छ भनेर हेर्न म बन्दरगाहतिरको बाटोबाटै समुद्र-तटतिर झरें। त्यहाँ त्यस घरको ढोकाको वरिपरि मानिसहरूको एक हूल थियो र त्यस बेला मैले तिनीहरूका पल्याक- पुलुक हेराइ वास्तै नगरी तिनीहरूको बीचबाट धकेल्दै गएँ। घरभरि छिमेकीहरू थिए, अनि आयोन र अस्टरती एक-अर्कालाई अँगालो मारी बसिरहेका थिए। आयोन कालोनीलो भई डराएकी थिइन्, तर अस्टरती डराएकी थिइन। पहिले उसले कुनै कुरा पनि नदेखेकी, तर ऊ अन्धी भएकी हुनाले इल्लिरिकाको कँपाइको दृश्यचाहिँ बाटोमा कोही मानिस वा गधा हिँडिरहेको अथवा किनारमा पछारिरहेका छालहरू कि घाम उदाएको वा कुनै ऊँट देख्नुभन्दा भयानक थिएन। उसको बाबा बोलिरहेका थिए र भीड़ मन्त्रमुग्ध भएर सुनिरहेको थियो। 

"त्यहाँ पहाड़तिर भीड़का भीड़हरू थिए," उनले भने। "तिनीहरू सबै ठाउँहरूबाट - यहूदियाबाट, डेकापोलिस, सिरिया, गालील र हाम्रा आफ्नै इलाकाका बस्तीहरूबाट आएका थिए। भीड़ यति ठूलो थियो कि कहीं कतैबाट पनि उहाँकहाँ पुग्न कठीन थियो र हामी गृष्मको शुरुमै गएकोले त म धन्यको भएँ किनकि त्यहाँ कतै पनि छहारी नै थिएन। गर्मीले गर्दा र बिरामीहरूको वाकवाकी गन्धले गर्दा मानिसहरू ढल्नै खोज्थे; तर तिनीहरू ठेलमठेल गर्थे; र जो उहाँकहाँ पुग्थे, तिनीहरूको आनन्द यति ठूलो हुन्थ्यो कि यसले हामीलाई पनि अघि बढ्ने तुल्यायो। तब बाह्रौं घड़ीतिर, घाम अस्ताउनुभन्दा केही बेर अगाडि हामी उहाँनेर पुग्यौं; धन्न अस्टरतीले पुग्न सकी। हामी पछाड़ि धकेलियों; तर उहाँका चेलाहरूले उसलाई अगाड़ि ताने।" 

"तर उहाँ कस्तो हुनुहुन्थ्यो?" 

"मेरो लागि उहाँ त अरू गालीलीहरूजस्तै हुनुहुन्थ्यो; तर उहाँलाई देख्न असाध्यै गाह्रो थियो। उहाँ यसरी घेरिनुभएको थियो र उहाँको अघि घोप्टो परेकाहरूलाई हेर्न उहाँ प्राय:जसो तल हेरिरहनुहुन्थ्यो। यसैले हामीले उहाँको अनुहारको एक झलक मात्र देख्न पायौं। उहाँलाई हेर्न उहाँको नजिकै हुनुपर्थ्यो। तिमी उहाँको नजिकै थियौ नि, अस्टरती; उहाँ कस्तो हुनुहुन्थ्यो, हामीलाई भन त।" 

केटी भीड़हरूतिर घोरिएर हेरिरहेको थिई र अति नै दङ परेर यताउति गरिरहेकी थिई; तर जब उसको बाबाले ऊसँग कुरा गर्ने बित्तिकै कहाँ-कहाँको दृश्य उसका आँखामा आयो। “मैले अहिलेसम्म बिर्सेकी छैनँ," उसले भनी। "हेर्नुहोस्, उहाँको अनुहार नै मैले देखेको पहिलो चीज हो। अनि जब मैले उहाँलाई देखें, ... अँ, मलाई त अरू कुनै पनि कुरा हेर्न नै मन लागेन। मचाहिँ सधैं त्यहाँ रहन चाहन्थें।" 

"तर उहाँले तिमीलाई के गर्नुभयो त?" 

"उहाँले मलाई 'तिमी देख्न चाहन्छ्यौ कि भनेर सोध्नुभयो; अनि मैले 'हो' भनें; त्यसपछि उहाँले मलाई छुनुभयो र म उँभोतिर होरिरहेकी थिएँ; तब मैले उहाँको अनुहार देखें। अनि त्यसपछि मैले सधैं त्यहाँ रहने मन गरें। 

"किन तिमीले त्यहाँ रहने मन गरयौ? के तिमीलाई वरिपरि हेर्न, संसारलाई र तिम्रा आमाबुवालाई हेर्न मन लागेन?" 

"हो.... होइन, ... मलाई केवल उहाँसँगै रहन मन लाग्यो।” ऊ दश वर्षकी मात्र थिई; अनि उसले त्यसभन्दा बढ़ी वा राम्रोसँग बयान गरी अरू केही सुनाउन सकिन। ऊ नटुङ्गिने नयाँ प्रभावहरूले थकित भइसकेकी थिई। उसका आँखाहरू आँसुले भरिए, अनि ऊ आफ्नी आमातिर दौड़ी उनको छातीमा आफ्नो अनुहार लुकाई।  

भीड़ फेरि उसको बाबातिर फर्कियो। मलाई थाह थियो, डुङ्गा म भए नभए पनि चल्नेछ; तर मैले त्यसको मतलबै गरिनँ; मलाई त सुत्रु थियो। सबैलाई त्यस्तै मन लागिरहेको थियो; उज्यालो कम हुँदै गएको हुनाले कसैले मलाई देखेन र कोही मेरो छेउबाट भएर गएको पनि थिएन। सबैका आँखाहरू अस्टरतीको बाबामा अड़ेका थिए। 
"के तपाईंले पैसा तिर्नुभयो?" कसैले सोध्यो। "अँह, तिरिनँ। त्यहाँ पैसा तिर्ने कुरै थिएन; तिनीहरूमध्ये धेरैजना पैसा तिर्नै नसक्ने गरिब थिए। भीड़को छेवैमा दुईजना कोरी थिए, तिनीहरू टाउकोदेखि पाउसम्मै छोपिएका र 'हामी अशुद्ध छौं' भनेर कराइरहेका थिए। हरेकले नै आफूलाई तिनीहरूबाट सकेसम्म पर राख्यो, अनि ठूला भीड़हरूको हल्लाले तिनीहरू चिच्च्याएको आवाज निलिदिन्थ्यो। तर तिनीहरूको आवाज उहाँले सुन्नुभएको हुनुपर्छ। किनकि घाम अस्ताउने बेलामा उहाँ भीड़हरूबाट फर्केर तिनीहरूतिर जानुभयो। उहाँ रोग सर्ला कि भनेर डराउनुभएन। उहाँले ती दुवैलाई छुनुभयो र केही कुरा भन्नुभयो, जो हामीले सुन्न सकेनौं; तर तिनीहरूचाहिँ ठूलो सोरले कराए अनि आफ्ना झुत्रा, काम नलाग्ने लुगाहरू फ्याँकेर त्यहाँ आफ्ना निको भएका हातखुट्टाहरू तन्काउँदै र परमेश्वरको स्तुति गर्दै उभिए। तिनीहरूको शरीरमा एउटै खतसम्म पनि रहेन। मैले तिनीहरूलाई देखें; किनकि हामीहरू भर्खरै फर्किंदैथियौं।" 

"एउटा कोरी! ओहो, खै म बाहिर निस्कन पाऊँ!” यो आयोन थिइन्, जो फुत्रुक्क उफ्रेकी थिइन्; तिनको अनुहार चम्केको थियो; तिनी ढोकातिर जान बल गरिरहेकी थिइन्। तिनले छक्क परेको भीड़हरूलाई धकेलिन् अनि तिनीहरूलाई आफू आफूमै गनगन गरेको र डराउँदै एक-अर्कालाई हेरिरहेको अवस्थामा छोडिन्। म पनि त्यहाँबाट हिँड़ें। 

ममा सारपत जाने बाटोको धमिलो सम्झना जाग्यो; त्यस बेला हाम्रो अघिल्तिर हामीलाई नहेरीकन हिँडेको, आफ्नो अनुहार ढाकेको कोही व्यक्ति थियो; अनि आयोन कहाँ गएकी हुन् भन्ने मलाई थाह भयो। यस कुरामा मैले तिनलाई दोष दिन सक्दिनथें; तर यी परिस्थितिहरूमा तिनले आफैलाई अलि कम उत्ताउली बनाएकी भए हुन्थ्यो भन्ने मैले चाह गरें। 

अध्‍याय : ६ 

निसन्देह, जुन घरतिर आयोन दगुरेकी थिइन्, त्यो घर खाँड़ीको पछाड़ि, शहरको पारिपट्टि थियो। आफ्नो खुशीले यसरी दौड़िनु तिनको लागि बेठीक त थियो; तर तिनी सधैं एउटी चकचके प्राणी नै थिइन्। तिनले मलाई एउटा सानो वेग मार्ने चराको सम्झना दिलाइन्, जो एक छिनको निम्ति कसैको हातमा बस्छ, तर जसलाई न समात्न सकिन्छ, न थुन्न नै सकिन्छ। तर जे भए पनि, बेठीक होस् कि नहोस्, मैले के भएको रहेछ, सो जान्ने मन गरें; यसैले म बन्दरगाहपारि तरें अनि खाँड़ीतिर हेर्दै म घाटको पेटीमा बसें; किनकि तिनी त्यही बाटो भएर फर्केर आउनेछिन् भन्ने मलाई थाह थियो। यतिखेर यस याममा भूमध्य सागरमा मालबाहाक जहाज हिँड़ाउने समय भएको थिएन; तर केही हप्तामा जहाजहरू बन्दरगाहमा खचाखच हुनेछन्, अनि बसन्तको मन्द हावामा यी जहाजहरूले रोमको लागि पहाड़को देवदार काठको भारीहरू, साथै तेल र दामस्कसका बहुमूल्य गलैंचाहरू बोकेर यात्रा शुरु गर्नेछन्। तर यस रात साह्रै सुनसान थियो; अनि पर्खालको भित्तामा म खुट्टाहरू छोड़ेर बसें र सानो केटो छँदा मैले हजुरबाको काखमा बसी सुनेको यस शहरको गाथा सम्झें। यही नै बन्दरगाहबाट टायरका हिरामले राजा सुलेमानको लागि बाँदर, हात्तीका दाह्रा र मयूरहरूको माल जहाजमा लादेर यात्रा गरेका थिए। यहीं यी जुम्ल्याहा बन्दरगाहबाट जहाजहरूका ठूला लस्कर उत्तर र दक्षिणतिर पृथ्वीका पल्ला सिमानासम्म पुग्न यात्रामा निस्कन्थे। महान् अलेक्जान्डरले किनारपट्टि स्थित भएको पुरानो टायर शहर विनाश गरेर टापुतिर समुद्रमा यसकै भत्केका ढुङ्गाहरूले आफ्नो घोड़ेटो बनाएर टायरलाई नजितेसम्म यस टापुका अग्ला, बलिया पर्खालहरू अद्धितिय भएका थिए। टायर, 'मुकुट ओढ़ेको शहर' पतित भयो, र यी सबै कुरा अहिले सपनाजस्तो भए त्यो महिमा हरायो र हामीहरू केही भएनौं; केवल सानो बन्दरगाह भएको, माछा मार्ने एउटा बस्ती मात्र रह्यो। मेरो भविष्य, जो महान् देखिएको थियो, अब महान् देखिएन। दिनहरू मेरो सामु उराठलाग्दा गरी लगातार तन्किरहेका थिए; घरमा श्राप, डुङ्गामा घृणा र शर्म। फेरि, मेरा बाबासँगै म डुबेर मरेको भए हुन्थ्यो जस्तो मलाई लाग्यो। 

तर मेरा विचारहरू बाटोका ढुङ्गाहरूमा आइरहेका पदचापहरूको आवाजले तुरुन्तै बन्द भए र मैले टाउको उठाएर हेरें। आयोन रहेछिन्। तिनलाई एउटा टोकरी बोक्ने नोकरले घरतिर साथ दिएको थियो; मैले तिनको र टोकरीको जिम्मा लिएँ। जब नोकर गइसकेको थियो, मैले तिनलाई मेरो छेवैमा तल पर्खालमा तानें र टोकरीको ढकनी खोलें। यो हाडेबदाम, अङ्गुर र नेभाराहरू, साथै महका केकहरूले भरिएको थियो; अनि मलाई खाऊँ - खाऊँ लाग्यो।

"कुन कुराले तिमीलाई त्यसरी दौड़िने बनायो?" मैले तीखोसँग सोधें; किनकि तिनले केही हप्की खान खोजेकी थिइन्। “आमाले तिम्रो फिक्री गरिरहनुभएको छ होला, र जे भए पनि त केटीहरू साँझ परेपछि सड़कतिर दौड्नु एउटा लाजमर्दो कुरो हो।" 

“म गएको बेलामा त साँझ परेको थिएन”, आयोनले मुखभरि किसमिस कोचारेर भनिन्।" त्यतिखेर घाम भर्खरै अस्ताएको थियो। बन्दरगाहमा पानी सुन्तला रङ्गको र आकाशतिर सुनौलो थियो। अनि म कहाँ गएकी थिएँ भन्ने तिमीलाई पनि थाह थियो; नत्र तिमी मलाई भेट्न यहाँ आउने नै थिएनौ।" 

तिनी हाँसिन्, अनि मतिर टाँसिन्; किनकि हावा बिझाउने चिसो थियो; अनि मैले तिनको सानो तातो शरीरलाई छाम्न मन लागेर तिनलाई मेरो पाखुराले बाँधें; हामी धेरै बेरसम्म खाँदै र गफ गर्दै बस्यौं। चाँदीका किरणहरू पानीमाथि फ्याँक्दै जून उदायो, अनि हामीले हाम्री आमालाई भुसुक्कै भुल्यौं; तर यो त कुनै अचम्मको कुरा थियो; किनभने उहाँ पनि त प्रायः हामीलाई भुल्नुहुन्थ्यो। 

"के-के भयो, मलाई भन त,” मैले भनें। म उसको कथा सुन्न उत्सुक थिएँ; किनकि साइरेनी, त्यस कोरीकी पत्नी बिछोड़ भएकी रहस्यमय व्यक्ति थिइन्, अनि उनको पतिको शहरबाटै निकालावास भएपछि उनका नोकरहरूले बाहेक अरू कसैले उनको अनुहार देखेको थिएन। उनी एउटी धनाढ्य व्यापारीकी छोरी थिइन् र थुप्रै जहाजहरूको धनीको जवान छोरासँग उनको विवाह पाँच वर्ष पहिले शहरको चर्चाको विषय भएको थियो। तर विवाह भएको केही महिनापछि जब उनले आफ्नो पहिलो बालक पेटमा बोकिरहेकी थिइन्, तिनीहरूले उसमा बड़ो डरलाग्दो, सेतो दाग देखे, अनि उसलाई अशुद्ध भएको घोषणा गरियो। 

पहाड़को फेदमा उसका बाबुआमाले उसलाई एउटा सुन्दर प्रकारले सुसज्जित भएको बङ्गला बनाइदिए, जहाँ ऊ एक्लै बस्थ्यो, उसको शरीर एउटा सुन्दर चिहानभित्रको लासझैं कुहिरहेको थियो; अनि हरेक दिन नै, चिसो होस् वा पहारिलो, उनी उसकहाँ घुम्टोले छोपेर एउटा टोकरी बोकेको नोकरलाई लिएर जान्थिन्, अनि एउटा ढुङ्गामा खानेकुरा र दाखमद्य छोड्थिन्; अनि हप्तामा एकपटक उनले बालकलाई एउटा सानो गधामा राखेर आफूसँग लान्थिन्, अनि त्यसले आफ्नो बाबालाई हात हल्लाएर अभिवादन गर्थ्यो। 

“के भयो त मलाई भन न " खानेकुरा निलेपछि मैले भनें। “के तिमी भित्रै पुग्यौ?" तिनले टाउको हल्लाइन्। “मैले ढोकामा ढकढक्याएँ; अनि एउटा नोकरनी आई। मैले उसकी मालिक्नीलाई भेट्न चाहेको कुरा बताएँ; तब उसले मालिक्नीले कहिल्यै भेट्न आउनेहरूलाई नहेरेकी बताई। अनि मैले उनको पति, कोरीको बारेमा एउटा खबर थियो भनी भनें; यसकारण ऊ पर गई, अनि जब ऊ फर्केर आई, उसले मलाई उसलाई 'खबर दिनोस् न' भनेर भनी; तर मैले 'हुँदैन' भनें, 'म आफैले यो खबर तिम्री मालिक्नीलाई नै दिनेछु' भनें; तब ऊ पर गई, अनि जब ऊ फर्केर आई, उसले ‘आउनोस्' भनी यसैले म भित्र गएँ।” 

आयोनले लामो सास तानिन्। “अनि त्यसपछि?” मैले सोधें। “अँ, म गएँ र उनलाई भनें। " 
"हो, मलाई थाह छ ; तर उनी कस्ती थिइन्, अनि उनले के भनिन् त?" 

"मैले उनलाई अस्टरतीको बारेमा बताएँ, जो आफ्नो सम्पूर्ण जीवनभरि अन्धी थिइन् र देख्ने भएर घर फर्किन्; अनि मैले उनलाई यस सानो केटाको बारेमा बताएँ, अनि यी दुईजना कोरीहरूको बारेमा, र कसरी भविष्यवक्ता येशूले तिनीहरूलाई छुनुभयो भन्ने बताएँ। उनले पहिले त मेरो कुरामा विश्वास गरिनन्। उनले एउटा कोरीलाई कसैले पनि हुँदैन भनिन्; तब मैले उनलाई कसरी तिनीहरूले आफ्ना थोत्रा कपड़ाहरू फ्याँकेर तिनीहरूका ईश्वरको स्तुति गरे भनेर बताएँ। मैले उनलाई उनको पतिलाई येशूकहाँ लैजाने विन्ती गरें; तर ऊ हिँड्नलाई साह्रै कमजोर छ भनेर उनले भनिन्। म एउटी केटी नै थिएँ र शायद मैले कुरा बुझिनँ होला। तर उनले धेरै मानिसहरू येशूकहाँ गइरहेका थिए भन्ने सुनेकी र अरू मानिसहरूलाई पनि सोधुँला भनेर भनिन्। तब उनले आफ्ना हातहरूले मलाई अंगालो हालिन् र रोइन् अनि म उनको लागि साह्रै दुःखित भएँ र म पनि रोएँ। तब उनले म फेरि पनि आए हुन्छ भनेर भनिन् र मैले किन उनलाई यति साह्रो वास्ता गरेकी भनेर सोधिन्। अनि मैले थाह छैन भनें। अनि उनले एउटा नोकरलाई टोकरीमा असल - असल थोकहरूले भर्नू भनिन् र मलाई घर लानू भनिन्। त्यसपछि म गएँ र मैले गलैंचा नै गलैंचामा निक्कै परसम्म हिँड्नुपरेको थियो। म यस्तो ठूलो, सुन्दर कोठामा पहिले कहिल्यै पुगेकी थिइनँ।" 
"मलाई छक्क लाग्छ, किन तिमीले यति धेरै वास्ता गछौ; अरूहरूले त गर्दैनन्।" तिनी एक छिनको लागि चुप भइन्। 

"मलाई लाग्छ, भविष्यवक्ताले त झन् धेरै वास्ता गर्नुपर्छ; यसैले उहाँले यी सब मानिसहरूलाई निको पार्दै हुनुहुन्छ,” तिनले अन्तमा भनिन्। “हेर, फिलो! सधैंभरि म उहाँको बारेमा सोच्दैछु। कहिलेकहीं म कल्पनामा उहाँसँगै त्यहाँ हरेकलाई नै निको गराउन उहाँलाई सहायता गरिरहेकी हुन्छु। म एउटा अन्धो बालकलाई उहाँनेर डोस्याइरहेकी अथवा एउटा लङ्गाड़ो मान्छेलाई ढुङ्गाहरूमाथि हिँड्न सहायता गरिरहेकी कल्पना गर्छु। तर निश्चय नै यो केवल कल्पनै मात्र हो। तर यहाँ, यो कुरा साँचो हो, र जब म कसैलाई उहाँको बारेमा भन्नेछु, अनि तिनीहरू उहाँकहाँ जानेछन्; त्यसपछि म के कल्पना गर्छु, के तिमीलाई थाह छ?" "अंहः के?" 

"अं, त्यसपछि उहाँ मसँग खुशी हुनुभएको कल्पना; अनि उहाँ तलतिर हेरेर मसँग हाँस्नुहुन्छ।" 
यो नै बाँड्नुपर्ने सबभन्दा ठूलो खुशी हो भएझैं गरी तिनले लगातार, तर बिस्तारै र मीठोसँग बोलिन्। तिनी समुद्रतिर आँखा तन्काएर हेरिरहेकी थिइन्; अनि जूनको किरणमा उनका आँखा टल्किरहेका थिए। 

“पानीमा त्यो चाँदीको गोरेटो हेर त", तिनले अचानक भनिन्। “के तिमी कहिल्यै पानीमा भम्लङ्ग हाम फालेर पौड़िन र चन्द्रमानेर नआइपुगुन्जेल पौड़िरहन चाहन्नौ? एक्लै, अनि दुवैतिर अँध्यारो देखिने पानी, तर आफ्नो सामु बाटो उज्यालो चम्किरहेको? यसो गर्न पाउनु के यो रमाइलो हुनेथिएन र, फिलो?” म जुरुक्क 
उठें र तिनलाई मतिर तानें; किनकि तिनी अब झन्- झन् मूर्ख हुँदै गइरहेकी छिन् भन्ने मलाई लाग्यो; तर मैले त्यसो भनिनँ; किनकि तिनी प्रायः आफ्नो ठट्टा रमाइलो मसँग गर्दिनथिन्। म पनि मक्ख परें; किनकि तिनले मलाई मेरो विरक्तपनादेखि टाढ़ा पुर्‍याएकी थिइन्; अनि मैले भर्खरै के महसुस गरें भने - आयोन मात्र मेरो जीवनमा बाँकी रहेको रमाइलो कुरा थिइन्। तर मैले यति मात्र भनें, “हामीले चाँड़ै घर पुग्नुपर्छ। आमा साँच्चै तिम्रो फिक्री गर्दै हुनुहुन्छ होला; अनि हिरामचाहिँ म डुङ्गामा बाहिर नगएकोमा मसँग मुरमुरिँदैछ होला। जे भए पनि, उसले भोलि बिहानसम्म पर्खनुपर्छ।" 

तिनी मसँगै मेरो पछि-पछि आइन्, तर तिनले हतार गरिनन्। मैले तिनी कलपनामा टाढा-टाढा थिइन् भन्ने थाह गरें; तिनी त्यही चम्किलो बाटोमा चन्द्रमातिर दौडिरहेकी थिइन् वा तिनी त्यस भविष्यवक्ताको अनुहारमा हेरिरहेकी थिइन्, त्यो मैले भन्न सकिनँ। तर जब म छिटो गर भनेर भन्नलाई मात्र फर्केको थिएँ, तब तिनी अचानक कराइन्, “अहो, फिलो; के हामीले इल्लिरिकालाई उहाँकहाँ लान सक्छौं भन्ने तिमीलाई लाग्दैन?" 

"ओहो, अलिक होशमा त आऊ!” मैले साह्रै तीखोसँग भनें। "कुनै हालतमा पनि हामीले सक्दै सक्दैनौं। कसरी तिनी त्यहाँ पुग्लिन्? इल्लिरिका उनको नाम सुन्नसम्म त सक्दिनन्। त्यहाँ उनको बारेमा केही कुरा छ, जसको तिनी घृणा गर्छिन् र जसदेखि तिनी डराउँछिन्। यसबाहेक उनले के गर्न सक्छन् र? दुष्ट आत्माको शक्तिभन्दा बलियो कुनै शक्ति नै छैन; मैले आमाले यसो भन्नुभएको सुनेको छु। इल्लिरिका आफै नमरेसम्म कहिल्यै मुक्त हुनेछैनन्; यसकारण यसको बारेमा चिन्ता गर्न छोड़िदेऊ।" 

तिनी अरू केही बोलिनन्; घर पुग्नुअघि हामीले आयोनको बाटो हेरिरहनुभएकी आमालाई भेट्यौं। तर उहाँले तिनलाई धेरै हप्काउनुभएन। वास्तवमा उहाँले हाम्रो फिक्री नगर्नुभएको मैले देखें। उहाँ इल्लिरिकातिर फर्कनुभयो; उनी आयोन कोठाभित्र पस्दै गर्दा उठिन् र ड्यार्र गरिन्; त्यसपछि कुनामा एक्कासि गोली हान्ने सिकारीलाई देख्दा एउटा जङ्गली जन्तु लुसुलुसु लागेझैं उनी लुसुलुसु भइन्, पछि-पछि सरिन् र ढुकेर बरबराइन्। 

सधैं झैं म बिहान जाल तान्ने काममा सघाउन समुद्र-तटमा गएँ, अनि जब रिसले पागल भएर हिरामले म कहाँ थिएँ भनेर सोध्यो, तब मैले मेरो अर्कै काम थियो मात्रै भनें। ऊ साँच्चिकै साह्रै रिसाएको थियो, यदि म डुङ्गाको मालिक नभएको भए, मलाई लाग्छ, उसले मलाई बेत लाउनेथियो। तर मैले कुनै खतरा देखिनँ र उसलाई सकेसम्म निर्लज्ज व्यवहार देखाएँ; नाक फुलाउँदै माछा ओसारिसकेर म ढमढम घरतिर हिँड़ें। 

यस साँझमा मैले खराबीको बाटो हेरिरहेको थिएँ; यसैले म उदासी र घमण्डी भई किनारमा आइपुगें; तर अचम्म, हिरामको अनुहार बदलिएको थियो। मसँग ऊ असाध्यै नरम थियो; र मैले कसरी - ऊसँग व्यवहार गर्ने, सो बुझ्नै सकिनँ; किनकि मैले मेरो घृणा प्रकट गर्ने निहुँ खोजें, तर यसो गर्ने कुनै मौका पाइनँ। दिनहरू बिते, सम्पूर्ण पृथ्वी चरम- बसन्तमा हराभरा भयो; पछिल्लो भर पानी पस्यो र डाँडाहरू बगैंचाजस्ता भए। बाहिर समुद्रमा माछाहरू लगातार फालाफाल थिए र व्यापार राम्रो थियो; तर यी सब कुराहरूले गर्दा हिरामको व्यवहार बदलेको छ भनी मलाई लाग्दैनथ्यो। उसले मलाई बल्झिने पीड़ा दिने मनसाय बिर्सेको जस्तो देखा पर्‍यो र प्रायः मिल्दारु थियो। तर जब उसले मतिर हेर्‍यो, मलाई पक्का छ, मैले उसका आँखामा त्यही पहिलेको धूर्तता र दुष्टता देखें। यस बेला अशुभ, सुनसान र उकुसमुकुस गर्मीपछि समुद्रमा आइलाग्ने आँधीबहेरीको कुरा मैले सम्झें; मलाई, निश्चय अब केही भयङ्कर विपत्ति आइपर्ने आभास कता-कता भइरहेको थियो। 

यता घरमा पनि केही कुरा हुँदैथियो। मेरी आमा घरि-घरि बाहिर गइरहनुहुन्थ्यो; यसको मतलब यही थियो जब म सुत्थें, तब इल्लिरिकालाई आयोनको हेरचाहमा राखिन्थ्यो र यस कुराले मलाई रिस उठायो; किनकि मलाई थाह थियो, मेरी दिदीले आयोनलाई घृणा गर्थिन् र सजिलै तिनीमाथि आइलाग्न सक्थिन्। तर मैले आमालाई केही पनि सोध्न सकिनँ; किनकि उहाँ यसरी यताउति चलिरहनुभएको मलाई कहिल्यै थाह भएन; र कहिलेकहीं इल्लिरिकालाई लागेको त्यो दुष्ट आत्माचाहिँ उहाँको आत्मामा पो सर्न थाल्यो कि भनेर मलाई शङ्का लाग्थ्यो। यदि मैले उहाँसँग कुरा गर्न खोज्थें भने उहाँ मसँग डराउनुभएको जस्तो देखिन्थ्यो; उहाँले कुनै काम बिगार्नुभएको, तर मैले त्यो कहिल्यै थाह पाउन नहुने गरी उहाँले त्यो कुरा मबाट लुकाएर राख्न खोज्नुभयो। जब मैले आयोनलाई सोध्थें, तब तिनले मलाई धेरै बताउन सक्दिनथिन्; तिनलाई, आमा पहिले जाने गरेको भन्दा बढ़ी बाहिर जानुहुन्थ्यो, अनि डराउनभएको र बेखुशी हुनुभएको देखिनुहुन्थ्यो भन्ने मात्र थाह थियो। 

त्यसपछि एक बिहान, जब म डुङ्गामा रात बिताएपछि आफ्नै सुरमा घर फर्किदैथिएँ, तब मैले आयोनलाई सड़कमा मलाई नै पर्खेर बसिरहेकी देखें। “एकछिन यता आऊ त" तिनले भनिन्। “म तिमीलाई केही कुरा भन्न चाहन्छु।” 
हामी समुद्र-तटको पछाड़ि बालुवाका ससाना थुम्काथुम्कीहरूमा चढ्यौं र नीला पानीका लहरहरू, पर सिडोनतिर हेर्दै बस्यौं। “अँ, " मैले विरक्त मान्दै बोलें; "अहिले के भएको छ?" किनकि मैले खूब काम गरेको थिएँ र मलाई अति निद्रा लागिसकेको थियो। 

"आमाले', डराउँदै आयोनले भनिन्। "तिनीहरूले म सुतेकी छु भन्ने ठानेका थिए। तब झाँक्रिनी आई।" 
" उसले के गरी?" म अब खूब चनाखो भएको थिएँ। 

"मलाई थाह छैन; मैले देख्नै पाइनँ। बत्ती बलेको थियो, तर सबै थोक नै अँधेरो र डरलाग्दो देखिन्थ्यो। मलाई म चिच्च्याऊँ नै लागेको जस्तो भान भयो; इल्लिरिका हाँसिरहिन्। अनि झांक्रिनी रिसाएकी थिई र आमाले उसलाई पैसा दिनुभयो र अझै पनि ऊ रिसाइ नै रही र अझ धेरै लिन खोजी; अनि आमाले उसलाई धेरै धेरै दिनुभयो, र आमा रोइरहनुभएको थियो।” 

“पैसा, तर कहाँबाट उहाँले पैसा पाउनुभयो? हामीसँग त जति मैले ल्याएँ, त्यति मात्रै छ; र हामीले त्यसको थोरै हिस्सा मात्र बचाएका छौं।" 

“मलाई थाह छैन, तर त्यहाँ थुप्रै पैसा थियो; अनि जब आमा बाहिर जानुहुन्छ, तब पैसा लिएर उहाँ फर्किनुहुन्छ। अनि फिलो, अर्को दिन जब हामी निदाएका थियौं, तब हिराम हाम्रो घरमा आयो; अनि उनीहरूले धेरै बेरसम्म खासखास खुसखुस गरे; त्यसपछि उसले आमालाई पैसा दियो।” 

"हिराम? ऊ आयो अनि हाम्रो घरमा बस्यो? तर शायद उसले डुङ्गाको बाहाल मात्रै बुझाएको थियो होला।" 
तिनले टाउको हल्लाइन्। “त्यो पैसा त बाहालको भन्दा धेरै थियो,” तिनले भनिन्। “यो त धेरै न धेरै पैसा थियो। अनि जब उसले बाहाल ल्याउँछ, तब उनीहरू सधैं झगड़ा गर्छन्; तर यसपालि त ऊ खुशी थियो। फिलो, केही रहस्यमय कुरो भइरहेको छ, र मलाई डर लाग्दैछ; अनि झाँक्रिनी आउँदा म त्यहाँ बस्न चाहन्नँ।” 

साँच्चिकै साह्रै जागा भएर म जुरुक्क उठें। "अति भयो”, मैले भनें, “त्यो हिराम एउटा दुष्ट साँप हो, र म उसले के गरिसकेको छ, जान्न चाहन्छु। आऊ, घर जाऔं।" 

मेरो पुरुषार्थ मभित्र उर्लिरहेको अनुभव गर्दै म लमक- लमक घरतिर लम्किएँ, अनि एक लात हानेर मैले ढोका खोलें। मेरी आमा तर्सिनुभयो र फरक्क फर्कनुभयो अनि मेरी दिदी बेसरी हाँसिन्, तर आनन्द र खुशीको गद्गद हाँसोभन्दा फरक यो राक्षशी हाँसो थियो। 

"आमा " मैले चर्कोसँग कराएँ, "यी सब के हुन्? म सुन्छु, तपाईंले यहाँ झाँक्रिनी ल्याउनुभएको थियो रे; अनि तपाईंं आफैले ऊ अन्धकारको शक्तिको साठगाँठमा छे भनेर भन्नुभएको होइन र? के दुष्ट आत्माले दुष्ट आत्मालाई निकाल्न सक्छ र? अनि उसलाई तिर्ने पैसा तपाईंले कहाँबाट पाउनुभयो? मलाई थाह छ, उसले ठूलो रकम मागी।" मेरी आमा जुरुक्क उठ्नुभयो र इल्लिरिकालाई बचाउन उनको सामु उभिनुभयो। उहाँका आँखाहरू धर्मराएका थिए, अनि अरू बेलामा भएको भए म उहाँको लागि दुःखित हुन्थें; तर त्यहाँ मैले थाह पाउनुपर्ने कुराहरू थिए; अनि मैले बल गरिरहें। 

"त्यो पैसा, आमा! कहाँबाट तपाईंंले त्यो पाउनुभयो? अनि त्यो दुष्ट हिराम यहाँ के गरिरहेको थियो? के उसले तपाईंंलाई पैसा दियो? " उहाँ थरथर काम्दै हुनुहुन्थ्यो; अनि उहाँले हात बाँध्नुभयो। “मैले यसो गर्नुपर्‍यो, फिलो। झाँक्रिनीले इल्लिरिकालाई निको पार्ने प्रतिज्ञा गरी। यदि ऊ निको भई भने श्राप नै हट्नेथियो, र हामी सबै फेरि एउटै परिवार भएर बस्नेथियौं। के मैले यसो गर्नुपर्थ्यो भन्ने तिमीलाई लाग्दैन, फिलो? अनि इल्लिरिका आज खुशी देखिन्छे।" 
"तपाईंंले त्यो कहाँबाट पाउनुभयो?" 
"फिलो, त्यसको केही बाँकी बचेको छ; मैले केही भाग मात्रै उसलाई निको पार्नलाई तिरें। हिरामले तिमीलाई अझै मेलोमा काम गर्न दिन्छ र कुनै दिन तिमीले अर्कै एउटा किन्नेछौ। तर के मैले यसो गर्नैपर्थ्यो भनी तिमी सोच्दैनौ?" 

मैले अझै साँच्चै के भएको थियो, केही बुझ्नै सकिनँ; अथवा मैले यसलाई विश्वास नै गर्न सकिनँ। मैले उहाँलाई हप्काएँ र उहाँलाई हिर्काउला झैं हात उठाएँ। 
"त्यो पैसा तपाईंले कहाँबाट पाउनुभयो?" 

उहाँ पछाड़ि खुच्चुक पर्नुभयो। “मैले डुङ्गा बेचें,” उहाँ सुसाउनुभयो। “तर झाँक्रिनीले भनेकी छे - एकदिन उसले ...। " 

मेरा बाबाको डुङ्गा! मैले उहाँलाई पिट्थें होला, तर आफ्नै वास्ता नराख्ने आयोन एकाएक हाम्रो बीचमा हुत्तिएर आइपुगिन्। " आमा, आमा!!" तिनी रोइन्। "झांक्रिनीले उनलाई राम्रो पारेकी छैन। अहो आमा, हामी उनलाई भविष्यवक्ता, येशूकहाँ लैजाऔँ न।" 

तिनको मुखबाट त्यही शब्द निस्कने बित्तिकै के हुँदैथ्यो भन्ने मलाई थाह थियो; तर पछाड़ि, त्यसपछि के भएको थियो भनेर मलाई सम्झनै गाह्रो भयो। त्यहाँ त्यति डरलाग्दो पीड़ामय चीत्कार थियो, अनि इल्लिरिका आयोनमाथि एउटा जङ्गली पशुजस्तै जाइलागिन् र तिनलाई अघि-पछि हल्लाएर र लछार पछार पार्दै जाँतोमाथि तिनको टाउको पजारिन्। मैले माटोको गाग्रो समातें र त्यसलाई इल्लिरिकातिर हुत्त्याएँ; त्यसपछि मैले मेरी दिदीलाई हानि पुर्‍याउने साहस गरेकोमा मेरी आमा रिसले ममाथि आइलाग्नुभएको थियो; तर यो मलाई पक्का थाह छैन। मलाई यति मात्र थाह छ, हामी यस कोठामा घृणा र डरको छाम्न सक्ने पन्जाभित्र परेका थियौं। 

"मेरी बहिनी!" संघर्ष गर्दै र मुक्का लगाउँदै मैले डाँको छोड़ें। "मेरी एउटै मात्रै बहिनी! त्यस राक्षसीलाई एक्लै छिड़िदिनुहोस् र आयोन रगत बगेर मर्नुअघि तिनको हेरचाह गर्नुहोस्।" 

त्यसपछि हामी आयोनको टाउकोको घाउबाट रगत रोक्न तौलियाले थिच्दै तिनको वरिपरि झुप्पियौं; अनि इल्लिरिका भुइँमा कक्रक्क भई बसिन्; उनको पातलो, रोगी शरीर कँपाइले गर्दा अब निःशक्त थियो। मेरी आमा रोइरहनुभएको थियो; यसरी उहाँ रुनुभएको मैले उहाँलाई पहिले कहिल्यै देखेको थिइन अनि मरणासन्नजस्तो पहेंली भएकी आयोनले आफ्ना आँखाहरू खोलिन् र आमालाई सान्त्वना दिन खोजिन्। "नरुनुहोस्, आमा", तिनले बिस्तारै भनिन्। "जब म निको हुनेछु, हामी येशूकहाँ जानेछौं; येशूले कुनै रकम लिनुहुन्न।" 

म जुरुक्क उठें। आयोनलाई अलि ठीक भइरहेको देखिन्थ्यो। रगतले तिनको कपाल जमेको थियो, तर त्यो बग्न बन्द भएको थियो। 

अर्को एकछिन पनि म यो श्रापित घरमा बस्न सक्दिनँ भन्ने मलाई लाग्यो; यसको हावाले मलाई उकुसमुकुस बनाएको थियो; न ता मैले कहिल्यै फेरि यस डुङ्गामा नै फर्केर जान चाहें, जोचाहिँ अब मेरो थिएन। मैले माझी भोटो लगाएँ र बाहिर लगाउने कपड़ा टिपें। 

"ठीक छ, आमा," मैले भनें। " अब जे-जति मेरो थियो, त्यो तपाईंंले सबै लिनुभएपछि त यहाँ बस्नको लागि अरू कुनै कुरा नै रहेन। म कपर्नहुममा मेरा मामासँग काम गर्न जाँदैछु।" 
मेरो पछाड़ि मैले ढ्याम्म ढोका लगाएँ अनि बसन्तको घाममा, आँसुले आँखा छोप्दै ठेस खाँदै निस्कें। 

अध्‍याय : ७ 

त्यस बसन्तको बिहानीपछि मैले धेरैपल्ट टायर र गालीलको तालबीचको यी चालीस माइलजतिको बाटो हिँड़ें, तर यो पहिलो यात्राको सम्झना मलाई जहिले आलै रह्यो। त्यस बेला म एउटा मन भाँचिएको बाह्र वर्षको केटो थिएँ; मैले चिनेका र माया गरेका सबै थोकलाई नै मैले पछाड़ि छाड़ें, र आफ्नै सुरले एउटा नयाँ जीवन शुरु गर्न निस्कें। 
शुरुमा मेरो रिस यति ठूलो थियो कि मैले भोगेका गल्तीहरूबाहेक मैले अरू कुनै कुरै सोच्न सकिनँ। हिराम किन फरक देखिएको थियो, सो कुरा मैले अहिले बुझें; उसले मसँग अब डराउनुपर्ने कुनै कुरा नै थिएन; अनि डाही हुने कुनै कारण नै रहेन। म अब उसको अधीनमा थिएँ; उसले यस्तै सोच्यो। अनि आफ्नो जितको समयलाई पर्खदै ऊ मलाई आफ्नो पासोमा पार्न मात्र चाहिरहेको थियो। अँ, यसमा म अब उसलाई कुनै मौका दिनेछैनँ। कहिल्यै, कहिल्यै पनि म उसलाई मालिक भन्नेछैनँ। जब रात पर्छ, तब ऊ व्यर्थै मलाई कुरेर बस्नेछ; किनकि म धेरै टाढा पुगेको हुनेछु, अनि गोजीभरि पैसा लिएर म एकदिन फर्की आउनेछु, उसको डुङ्गामा प्वाल पारिदिनेछु र उसलाई खतम पार्नेछु। मनको लड्डु घिउसित खाने यस्ता बदला लिने योजनाहरूले मलाई भुसुक्कै बनाए; मैले बाँधको डिल पार गरें, अनि म कहाँ जाँदैछु भन्ने ख्यालै नगरेर र कुनै कुराको वास्ता नै नगरी दक्षिण-पूर्वी व्यापारी मूल बाटोमा म हिँड्न थालें। वास्तवमा मैले के गरेको थिएँ र मैले के छोड़ेको थिएँ भन्ने महसुस गर्न अघि नै मैले केही माइल हिँडिसकेको थिएँ। 

एकपछि अर्को गर्दै बिस्तारै मेरो होश फर्केर आयो मेरो रिस पग्लिएर मैले आफूलाई अति एक्लै पाएँ, अनि म यति साह्रो घमण्डी नभएको भए त त्यतिखेर म दौड़ेर घर फर्किनेथिएँ होला। म फर्किएँ र पछाड़ि हेरें; सामुद्री किनाराको सतह टाढ़ामा देखिन्थ्यो; अबदेखि मैले सामुद्री स्याँठहरू छुन सक्दिनथें। यहाँ हावा तातो र उकुसमुकुस पार्ने

खालको थियो। म एउटा समतल टार पार गरिरहेको थिएँ; अनि सड़कका यताउति बारीहरू पहेंला, सनौला पाकिरहेका जौ र कलिला गहुँका बालाहरूले सिंगारिएका थिए। भरेली भइरहेका बालीहरूको बीच-बीचमा खाली जमिनका पाटाहरू थिए, जहाँ जोलेहरूले बीउ छर्थे; किनकि पछौटे पानी परिसकेको थियो र पछौटे वर्षे बालीको लागि माटो कमलो थियो खेतबारीको पछिल्तिरका उटक जमिनहरूमा जैतुनका ढकमक्क फुलेका सेता झुप्पाहरूले दृश्यलाई धमिलो बनाएका थिए; र मेरो ठीक अघिल्तिर बाटो सिरियाली पहाड़तिर मोड़िएको थियो र आकाशमा छोएको थियो। 

यो सुन्दर दृश्य थियो, तर मैले यसमा कुनै मजा पाइनँ। अब म मेरी आमालाई सम्झिरहेको थिएँ र मेरो हृदय टुक्रिएर दोधारमा परेजस्तो लाग्थ्यो; उहाँले जे गर्नुभएको थियो, त्यसको रिसले, साथै फर्केर जाने, उहाँको छातीमा दौड़ेर उहाँको अंगालोमा टाउको लुकाई रुने छटपटीले। तर म बाह्र वर्षको मान्छे थिएँ, र कहिल्यै यसो गर्न सक्दिनथें; यसकारण म गालाभरि आँसु चुहाउँदै नाकबाट सिँगान चुहाउँदै लत्रक्क मानेर लखरक-लखरक हिँड़ें; अनि मेरा बाबाको आवाज प्रष्टैसँग मेरा कानहरूमा गुँजिरहेको थियोः 'तिम्री आमाको हेरविचार गर्न', उहाँले भन्नुभएको थियो; तर मेरी आमाले उहाँकै अपमान गर्नुभएको थियो र उहाँको डुङ्गा बेच्नुभएको थियो अनि मेरो बाँच्ने आशा निमोठ्नुभएको थियो, यो सबै इल्लिरिकाको लागि। अनि मैले हिरामलाई भन्दा पनि इल्लिरिकालाई बढ़ी घृणा गरें र मेरो सम्पूर्ण तनमनले बरु उनी मरे हुन्थ्यो भन्ने चाह गरें। तर मैले आयोनलाई अलिकति पनि सम्झिनँ; मैले यसो गर्ने साहस नै गरिनँ, नत्र त मैले फर्कनुपर्थ्यो। 

अब बाटो उकालो लाग्यो, अनि म पीर, रिस र शारीरिक थकानले यति साह्रो गलेको थिएँ कि म दलदले बालुवामा खुट्टा गाडिँदै हिँड़े हरेक पाइला बढ़ाउन एउटा संघर्ष थियो। मैले रातभरि नै मेहनत गरेको थिएँ; मेरो टाउको झुम्म भइरहेको थियो अनि मेरा आँखाहरू उँगिरहेका थिए, तर पनि मैले संघर्ष गरि नै रहें; किनकि यदि म पहाड़को टुप्पामा पुगें भने त हावा चिसो हुन्छ होला भन्ने कल्पना गरें। 

म पहिलो डाँडाको टुप्पामा पुगें; अनि साँच्चै नै पश्चिमबाटको स्याँठले मेरो कपाल फर्र उड़ायो, अनि यसले समुद्रको नुनिलो गन्ध ल्याएको जस्तो मलाई लाग्यो। खेतबारीहरूले फूलबारीहरूलाई ठाउँ दिएका थिए; तर डाँड़ाको टुप्पामा केही बटारिएका राता बयर र हिउँदे हुरीले भुइँतिर लतारेको खयरका झाड़ीहरूबाहेक अरू सब नाङ्गै थियो। म तिर्खाले आकुलव्याकुल र जलिसकेको थिएँ; तर यसले पनि मलाई सुल लागेको मनलाई रोक्न सकेन; यसकारण मैले बाटो छोड़ें र झ्याम्म परेको, रातो बयरको फेदमा एउटा सानो दम्सिलो दुलो खोजें। तर जब म पल्टें, मैले एउटा मसिनो कुलुकुलुल्ल आवाज सुनें; अनि फेरि आँखा खोलें, म एउटा ढुङ्गामुनितिरबाट कल्कलाइरहेको सफा पानीको मूलैनेर थिएँ। 

मेरो बेस्वादे, उराठ जीवनमा यो त दयाको अपर्झट स्पर्शजस्तै लाग्यो; अनि यसले मलाई आयोनको सम्झना दिलायो, र म फेरि रोएँ। म निहुरे र पिएँ अनि खुबै पिएँ; त्यसपछि शरीर चिसो र फुर्तिलो नभएसम्म मयल, पसिना र नुन माड़ी-माड़ीकन सबै शरीर पखालें। म हलुङ्गो भएर तल हातलाई सिरानी बनाएर पल्टें र सुतें। 

बाटोमा त्यति धेरै यात्रुहरू थिएनन्। अघिल्ला दिनहरूमा भए निस्तार-चाड़ सकेर आएका हूलका हूल प्रवासी यहूदी बटुवाहरूले भरिएको हुन्थ्यो, तर आज यहूदीहरूको विश्राम दिन थियो र मैले भेटेका मानिसहरू कि त रोमी सिपाहीहरू थिए कि त हाम्रा आफ्नै फोनिसी आप्रवासीहरू। बटारिएका ठुटाहरूले मलाई वरिपरि सुरक्षा दिइरहेका जस्तो झाड़ीको फेदमा मलाई कुक्रुक्क परेको कसैले देखेन। साँझमा, एकपटक मेरै टाउकोनेर खस्राक-खुसुक आवाजले मलाई बिउँझायो र मैले हरिणी अनि त्यसका पाठाहरू मूलमा पानी पिइरहेका हर्न आँखा खोलें। झाड़ीहरूतिर तिनीहरू उफ्रेर नगएसम्म म पर्खिरहें, आफू पनि पिएँ र फेरि मेरो गुड़मा घुस्रिएँ। यस बेला भने मैले मेरो बाहिर लगाउने कपड़ा तानें; किनकि हावा मीठो र चिसो थियो; र म फेरि सुतें। त्यस रातभरि नै मैले सपनै देखिरहें; जून उदायो र आफ्नो किरणले मलाई सजायो र ताराहरू आ-आफ्नै बाटाहरूमा मेरो माथि घुमे; तर मैले केही थाह पाइनँ। जब मैले अन्तमा आँखा खोलें, त्यहाँ डाँडाहरूमाथि सेतो हुस्से लागेको थियो, चराहरू चिरबिराइरहेका र मेरो बाहिर लाउने कपड़ा शीतले निथ्रुक्क भएको थियो। तर त्यहाँ हुस्सुबाट उज्यालो छिरिरहेको थियो र मैले घाम झुल्कनै लागेको थाह पाएँ। 

मैले आफूलाई हलुङ्गो, फुर्तिलो र असाध्यै भोक लागेको महसुस गरें। मैले मुहानमा पानी पिएँ र मुख धोएँ। मैले चाँड़ै केही खानेकुरो भेट्टाउनुपर्थ्यो; तर म धेरै छटपट भएर यसको साहो खाँचो नपरेको भए म हतारिनेथिइनँ। मेरो थैलीमा एक रातको ज्याला थियो र मैले म चाँड़ै एउटा गाउँमा आइपुग्छु होला भन्ने आशा गरें। यसकारण म पहाड़को टुप्पामा बसें र धूवाँको मुस्लोजस्तै हुस्सु फाट्न अनि केही भाग छायामा र केही भाग बिहानकी रङ्गीन घामको किरणले झलमल्ल भएर मेरो छेउछाउका भूभाग देख्न सकिने नभएसम्म म पर्खिबसें। मेरो बायाँतिर क्षितिजमा चम्किरहेको सामुद्री किनार र मेरो आफ्नै मातृ - शहर समुद्र- छेउमा ठिङ्ग म देख्न सकें। उत्तर पूर्वतिरको हिउँ यति साह्रो आँखा खाने थियो कि मैले त्यसलाई हेर्नै सकिनँ, जुन लेबनानको उचाइहरूमा बिस्तारै पग्लँदैथियो भने यता दक्षिणतिर कर्मेल- पर्वतको लामो धार थपक्क भूमध्य सागरतिर फर्केर हेरिरहेको पहरेदारजस्तै उभिएको थियो। त्यसपछि म पूर्वतिर फर्के अनि त्यहाँ, मेरो अघिल्तिर, घामको झुल्कोले बनाएका गुलावी बादलहरूले अझसम्म गालीलका ठूला-ठूला पहाड़हरू डम्म ढाकिरहेका थिए। यसभन्दा अघि कहिल्यै मैले यस्तो मनोरम किरण र आकाश, यताउता ठिङ्ग पहाड़हरू र उपत्यकाहरू देखेको थिइनँ र मैले यस्तो संसारै देखिने दृश्यमा आफूलाई एउटा नगण्य अर्थरहित कण सम्झें। मैले अन्तिम घुट्को पानी पिएँ, एउटा घुमेको रातो बयरको हाँगो लट्ठी भाँचें अनि मेरो यात्रा फेरि शुरु गरें। 

ती पहाड़हरूमा खानेकुरो केही थिएन; जौहरियै थियो र नेभाराहरू भर्खरै टुसाउँदैथिए। तर आज त्यहाँ बाटाहरूमा थुप्रै मानिसहरू थिए; किनकि विश्राम दिन सकिसकेको थियो; अनि जब म गालीलको सिमानामा आइपुगें र हेरोदको इलाकाभित्र प्रवेश गरें, तब अध्यागमन- क्षेत्रमा एकजना सुरुक्षाकर्मीले मलाई सोधपुछ गर्‍यो। तर चाँड़ै उसको चित्त बुझ्यो; किनकि मछुवाहरू र खेतीवालहरू एक देशबाट अर्को देशमा सजिलै छिर्छन्; अनि केही डरको झस्का र उत्तेजना लिएर मैले पाइला बढ़ाएँ; किनकि म यतिखेर विदेशमा एउटा परदेशी थिएँ। घरमा त म ग्रीक नै बोल्थें; तैपनि अरामिक भाषा पनि भाग्यवस हामी सबैलाई कण्ठै थियो। 

ठूला पहाड़हरूले रापमा झिलिकमिलिक गर्दै मेरो अगाडिको आकाश ड्याम्मै छोपे अनि म बिस्तारै हिँड़ें; किनकि मैले भोकले गर्दा कमजोर महसुस गर्न थालें। म एउटा गाउँतिर आइपुग्दैथिएँ; थ्याच्च परेका छानाहरूले भरिएको एउटा सानो सँगालो गाउँ, लहरका लहर मिलेर बसेका सेता घरहरू र बजारको चोकसम्म पुग्ने एउटा गल्ली। त्यहाँ पक्कै धेरै मानिसहरू थिएनन्; छोरा मान्छेहरू पछौटे जोताइ र बीउ छराइमा बारीहरूतिर थिए; अनि आइमाई मान्छेहरू र केटीहरू इनारमा नै वा घरभित्रै काम गरिरहेका थिए। ठिटाहरूलाई अझै सभाघरमा सिकाइँदैथियो; अब के गर्ने होला भनेर अलमलिँदै र मान्छे टोक्ने कुकुरहरूसँग डराउँदै म सड़कमा लुसुलुसु हिँड़ें। तर, मेरो उद्धारको लागि मैले एउटा केटालाई एउटा ठूलो बेतको टोकरीमा पातला जौका रोटीहरू, भुटेका माछाहरू र उसिनेका अण्डाहरू लिएर मूल बाटोतिर बाटोमा बटुवाहरूलाई बेच्नलाई भनेर हिँडिरहेको भेटें। 

म होश गरेर उसको सामु उभिएँ; किनकि ऊ मभन्दा ठूलो थियो; मलाई सबै केटाहरू इमान्दार हुँदैनन् भन्ने थाह थियो र मेरो जोहो गरेको रकम पनि त थोरै थियो। तर फेरि एकपल्ट मैले त्यस दयाको स्पर्शको अनुभव गरें; किनकि उसको अनुहार दयालु थियो र ऊ हतारमा थिएन। उसले मलाई म कहाँबाट आएको भनेर सोध्यो र जब मैले तीनटा जौका रोटी र केही माछाहरूको लागि कसाकस गर्न खोजें, तब उसले मेरो जोहोबाट एउटा सानो सिक्का लियो अनि मलाई नेभाराको रूखमुनि बसेर खानू भनेर भन्यो। त्यसपछि ऊ पर गयो र मेरो लागि पिउनलाई तरैतर भएको एक करुवा गधाको दूध लिएर आयो। 

"मैले त यो मागेको थिइनँ" यसलाई आँखा गाडेर हेर्दै मैले भनें, "पछिसम्मको लागि मैले मेरो पैसा बचाउनुपर्छ।" 
"यो मेरी आमाले पठाएकी यो सित्तैंमा हो", उसले बेवास्तासँग भन्यो। 'देऊ र यो तिम्रो लागि दिइनेछ, मजाले भरिएर खाँदिएर र पोखिएर जानेछ।' त्यही नै हो, जो उहाँले हामीलाई माथि डाँड़ामा सिकाउनुभएको थियो, र यो त आजकल चलनै भएको छ; अरूलाई दिने, बाँड्ने, क्षमा दिने। गरिबहरूलाई यस्तो राम्रो कहिल्यै भएको थिएन; जस्तो रोगीहरूलाई पनि! कि त्यहाँ गाउँमा विरलै एउटा रोगी शरीर छुटेर बसेको होला।" 

" को?" मैले पहिले कहिल्यै पेटभरि नखाएको जस्तो गरी मजाले खाँदै र दूधको घुट्को लाउँदै उत्सुकतापूर्वक सोधें। " मैले बुझिनँ।" 

"तिमीलाई थाह छैन? अँ, उसो हो भने तिमी त अन्धो र बैरो हुनुपर्छ; किनकि तिम्रो तीरबाट पनि हूलका हूल मानिसहरू निको हुन आइरहेका छन् त; सिडोनभन्दा पनि टाढाका इलाकाहरूबाट, तिनीहरू त्यस्तै भन्छन्। तर यी ठूला भीड़हरू जम्मा हुनुअगाडि उहाँ एकदिन त्यहाँ चढ्नुभएको बेलाको कुरो हो।” त्यस केटाले अन्दाजले पूर्वतिर देखायो, जहाँ हत्तिन पर्वत ठाड़ो उभिएको थियो। “सबै क्षेत्रकाहरूले उहाँलाई पछ्याए; अनि यो ठाडै उकालो थियो। वृद्ध मानिसहरूले ठेलमठेला गरेका र तिनीहरूको सास बढेको तिमीले हेर्नुपर्थ्यो। उहाँ एउटा ढुङ्गामा बस्नुभयो र बोल्नुभयो; अनि मैले त्यस्तो जस्तो त कहिल्यै सुनेको थिइनँ।" 

" को?" मैले धैर्य गर्दै सोधें। " अनि उहाँले के भन्नुभयो?" "किन र? उही भविष्यवक्ता येशू नि,” केटाले जवाफ दियो; "तिमीले उहाँको बारेमा सुनेका हुनुपर्छ।" 

“अँ, यस्तो त मैले सुनेको छैनँ; उनले के भने मलाई भन त', मैले दोहोर्‍याएँ, अनि यदि यो गधाको दूध नहुँदो हो त, मलाई लाग्छ, मैले अघि नै मेरो होश हवास गुमाइसक्नेथें होला। 

केटो आकाशतिर टोलायो र आफ्नो टाउको हल्लायो। “यो ढ्याक्कै एउटा नयाँ धर्मजस्तै छ” उसले अन्तमा भन्यो। “शासकहरू र पूजाहारीहरूले त यसलाई इन्कार गर्छन्; बलिदानको कुरा अथवा मन्दिरमा पैसा चढ़ाउने कुनै कुरै छैन; यदि उहाँले यिनको बारेमा कुरा गर्नुभएको थियो भने उहाँले यी कुरामा कुनै महत्त्व दिनुभएन। 

यो त सब खुशी हुने, साँचो बोल्ने, प्रेम गर्ने, क्षमा दिने कुरा मात्र थियो। उहाँको भनाइमा त पैसा र सम्पत्ति पनि कुनै ठूलो कुरा होइन रहेछ; खालि परमेश्वरमा भरोसा गर्नु र उहाँको आज्ञा पालन गर्नु, अनि फिक्री नगर्नु। उहाँले यसलाई नै परमेश्वरको राज्य भन्नुभयो; तर शायद यो होला नहोला भन्ने त फरक कुरो हो। तर यसले मान्छेहरूलाई सोच्न लगायो ; कसैले पनि धेरै बोल्ने साहस नै गर्दैनन्; किनभने ठूलाबड़ाहरू उहाँको पूरा विरोधमा छन्; तर यसले हामीजस्ता सानाहरूलाई निक्कै फरक पारेको छ। मानिसहरू दयालु र इमान्दार छन् अनि आन्तरिक कलहहरू थामथुम पारिएका छन्। उहाँ आउनुभन्दा अगाडि नै मेरी आमाले सित्तैंमा गधाको दूध दिएको कुरा तिमीले देख्न पाउनेथिएनौ नि!" 

मैले खाना खाइसकें, उसलाई हृदयदेखि नै धन्यवाद दिएँ र अत्यन्तै हलुङ्गो भएर फेरि मेरो यात्रा शुरु गरें; मैले हिँड्न शुरु गरेदेखि थुप्रै माइल यात्रा गरिसकेको थिएँ र अब म अझै अरू धेरै हिँड्न सक्छु भन्ने मलाई लाग्यो। म बड़ो कठोरसँग उकालो चढेर माथि घाटीमा पुगें; अनि त्यहाँ, मभन्दा तलतिर, ओइलाइएको घामका सबै चीजलाई चम्काउने किरणले रङ्गिएको गालील ताल बसिरहेको थियो, जो पहाड़हरूको खोपिल्टोमा हिरामोतीझैं चम्किरहेको थियो र जसका तटहरूमा र उठेका जमिनको वरिपरि सेता घरहरू झुप्पा - झुप्पा परेका थिए भने यता उत्तरपूर्वतिर हेर्मोन पर्वत आफ्नो हिमराशीलाई दश हजार फीट माथि आकाशतिर ठड्याइरहेको थियो। 

मेरो मुटु छिटो-छिटो चल्न थाल्यो; किनकि म झन्डै पुग्नुपर्ने ठाउँमा आइपुगेको थिएँ। यस्ता विशाल, अग्घोरै लामा बाटाहरू र पहाड़का चुचुराहरूदेखि मलाई रिस उठ्न थालिसकेको थियो। समुद्रका लहरहरू प्यारा र मायालाग्दा, अझै आँधीहरू पनि चिनजानकै शत्रुहरू थिए; तर यी विशाल आकाश र उचाइहरूले पट्यारलाग्दो एकान्तपना ओकलेका थिए। म तल त्यस तालतिर जाने बाटो भएर दौड़ें; निगालोमा झुन्ड्याइएका माछा बोक्ने केही मछुवाहरू मतिर आउँदैथिए; माछाको परिचित दृश्य र टाढ़ा तलका डुङ्गाहरूले मलाई केही हदसम्म सान्त्वना दिए; तर धेरै होइन, किनकि हावा हपहप थियो, र मेरो ताजा हावाहरूको, फराकिलो र खुला क्षितिजको अनि धमिला नपारिएका पानीहरूको संसार मेरो टाढामा, साह्रै पछिल्तिर थियो। मैले मेरो घाँटीको एउटा ठूलो पीड़ा निलें र अघि बढ़ें। 

अध्‍याय : ८ 

गालील ताल निक्कै तल, मेरो आफ्नै खाइखेली गरेको समुद्रभन्दा अझै तल बसेको छ भन्ने मलाई थाह नै थिएन; तर मैले आफूलाई एउटा तातो खाल्डोभित्र ओर्लिरहेको महसुस गरें। डाँड़ाको टाकुरामा पाखा खैरो र नाङ्गो थियो, काला ज्वालामुखी चट्टानले कोरिएको, जसको बीच- बीचमा काँढाहरू र क्याक्टस उम्रेका, तर भीरका तल्ला भागहरू फूलहरूले धकमक ढाकेका थिए; जस्तै गुनकेसरी, जङ्गली सिउँडीहरू, केत्तुके, कागखुट्टे र साना-साना चम्किरहेका लिलीहरू। किनकि यस वर्ष गर्मी याम र पछिल्लो भर पानी ढिलो आएको थियो। 

तल फूलैफूलको मैदानै-मैदान म गएँ, अनि खजूरहरू, जैतुनहरू नेभाराहरूले भरिएको बगैंचाको शीतलभित्र पसें। तर यो चिसो छहारी थिएन; किनकि तातो हावाले ठपक्क छोपेको जस्तो लाग्थ्यो; अनि म शहरका माथिल्ला भागतिर पुग्न उत्सुक भएँ, जहाँ सेता भवनहरू फूल फुल्ने बुटाहरूका बगैंचाबीचबाट चियाइरहेका थिए। पक्कै पनि यो सुन्दर थियो; तर मलाई भने यो ठाउँ अति धनी, अति गर्मी लाग्यो। जब म तल्ला बाटाहरूतिर ओरालो लागें र कसरी मामाको घर पत्ता लगाउने होला भनेर अलमलिएँ, त्यतिखेर म खलखली पसिनाले निथ्रुक्क भइरहेको थिएँ। त्यसपछि मैले सम्झें - मेरा मामा एउटा मछुवा हुनुहुन्छ, र मछुवाहरूलाई साँझमा भेट्न सकिने ठाउँ, कि त किनारमा हो, कि त तालमै हो। शायद समय बाँकी थियो; तल बलौटे ताल-तटतिर म हतारिएँ, अनि त्यहाँ मैले तीनजना मान्छेहरूलाई डुङ्गा उतार्न लागिरहेका भेट्टाएँ। जब मैले तिनीहरूले मेरा मामालाई चिनेका छन् कि भनेर लजाउँदै सोधें, तब तिनीहरूले आफ्नो काम नरोकीकनै टाउको हल्लाए र तालतिर आफ्ना बूढ़ी औंलाहरूले इसारा गरे।" 

"बाहिर गएको यही आधा घण्टा त भयो,” तिनीहरूले भने। "घाम झुल्किनुअघि फर्किन्छ।' 
"अहो " म आत्तिएँ। "अनि उहाँ कहाँ बस्नुहुन्छ नि?" "सभाघरको पछाड़िको सड़कमा जहाँ कसैले पनि तिमीलाई बताइदिनेछ।" 

तिनीहरू डुङ्गामा चढ़े, तिनीहरूका बहनाहरूले पानीलाई चोपले र तिनीहरू गइसकेका थिए। 
अरू कोही नभएको ताल-तटमा म के गरूँ, के गरूँ हुँदै घाम अस्ताएपछिको घटिरहेको उज्यालोमा उभिएँ। मैले मेरी माइजुलाई कहिल्यै भेटेको थिइन; उहाँ एउटी यहूदीनी हुनुहुन्थ्यो र म एक अन्यजाति थिएँ; अनि उहाँले मलाई कुकुर भनेर मसँग कुरै गर्न इन्कार गर्नुहुन्छ होला। घरको सम्झनाका लहरहरू, मलाई चिसो र डरमा एक्लै छोड़ेर ममाथि बगे। यसबाहेक, म मेरो लामो यात्रा यति साह्रो लखतरान भएको थिएँ कि आफूलाई सभाघरसम्म पुर्‍याउन पनि मलाई मेरा खुट्टाहरू लल्याकलुलुक भएजस्तो लाग्यो। 

म बिहानसम्म पर्खिन्छु र मेरा मामासँगै जान्छु; किनकि उहाँले मलाई टिठ्याउनुहुन्छ भन्ने मलाई थाह थियो। म बिस्तारै तालभित्र पसें, नुहाएँ र अँजुलिले पानी पिएँ। पानी तातो अनि नुनिलो - नुनिलो थियो, तर नुनैजस्तै त थिएन। त्यसपछि मैले बालवाले घेरिएको एउटा क्षतिग्रस्त डुङ्गातिर गएँ र भित्र पसेर त्यसमा पल्टें। तालको एउटा हल्का स्याँठले मेरो कपाल फरफरायो; अनि जब मैले विशाल आकाशमाथि आँखा गाढ़ें, यसको गहिराइबाट ताराहरू माथि सतहमा देखा परे; ठीक त्यही ताराहरू, जो हामीतिर पनि देखा पर्थे। जब म मेरा बाबासँग डुङ्गामा हिँड्थें, तिनले हामीलाई अँधेरा रातहरूमा समुद्र किनारतिर डोस्याएका थिए; ती ताराहरूले मेरो घर, मेरी आमा र सानी आयोनतिर आशिष वर्षाउँदैथिए। म मेरो बाहिर लगाउने कपड़ामा कुक्रुक्क परें र निदाएँ। 

अनि त्यसपछि जब खस्य्राक-खुस्रुक, ट्वार-ट्वारे, स्वार - स्वार, च्यार्र चुरे र मसिनो चिरचिर आवाज शुरु भयो, तब मैले आँखाहरू खोलें अनि म कहाँ छु भनेर छक्क परें। म उठेर बसें र बिस्तारै सम्झँदै डुङ्गाको छेउतिर झुलुक्क हेरें। कालो पानी घाँसको मैदानजस्तै थियो, तर त्यहाँ पूर्वी पहाड़हरूमाथि आकाशमा बैजनी, भुवादार बादलमा खैरो घुरमैलो उज्यालो थियो। यतिखेरको साँच्चिकै चलमलाएको आवाजमा कान ठाड़ो पारेर मैले केही पनि सम्भिनँ। जब उज्यालो बढ्दै गयो, तब आवाज दृश्यमा बिलायो अनि मेरो पछिल्तिरको अन्धकार सन्ध्याको हावामा भूतजस्ता देखिने, सरसराइने रूखहरूमा परिणत भयो र तिनीहरूका हाँगा-हाँगाबाट सयौं नदेखिने भंगेराहरूको चिरबिराहट आयो, अनि तालको उज्यालो भइरहेको सतहले नुहाउँदै चिच्च्याइरहेका गौथलीहरूको छाया देखायो। माटीकोरे चरा (किङ्गफिसर) का एकदुई जोड़ी तालमा हाम फाले र आफ्ना लाग्ने चुच्चोमा माछा लिएर आए; यता टाउकोमाथितिर त्यहाँ गर्रर आवाज आयो र मैले उडिरहेको एक हूल मलेवा देखें। एउटा सारस घारीबाट देखा पस्यो र चुच्चो मिठ्याउँदै एउटा खुट्टामा उभियो। यो तालको किनार बाँझो थिएन, तर एउटा जीवजिवातले मन मोहक बनेको एउटा स्वर्ग थियो; अनि एउटा नयाँ दिन शुरु भएको थियो। 

उजाड़ पहाड़हरूको पछिल्तिर घाम उदाइसकेको थियो र डुङ्गाहरू बिस्तारै आउँदैथिए। ऊँट र गधाका बथानहरू तल पानीतिर लखेटिँदैथिए र ताल-तट चाँड़ै एउटा खैलाबैलाको ठाउँ बन्दैथियो। मैले आफूलाई डुङ्गामा यसरी टुक्रुक्क बसिरहेको भेट्टाइन चाहिनँ; जब कसैले पनि हेरेको थिएन, तब म छेउबाट फुत्त निस्कें र मामाको बाटो हेर्दै किनारै किनार लख्खक- लखक हिँड़ें। मैले उहाँलाई झट्टै उहाँका कामदारहरूले डोरी तान्न बल लगाउँदा जाल चुड़िएला कि भनेर उहाँ तालको ढुङ्गेनी सतहबाट जाल खुकुलो बनाउँदै गर्नुभएको देखें। मैले उहाँलाई धेरै बेरसम्म हेरिरहें, तर उहाँले मलाई देख्नुभएन। 

जाल तानिएको थियो, माछाहरू केलाइए। मेरा मामाले माछाहरू टोकरीहरूमा टन्न हाल्नुभयो, यिनलाई गधाहरूको दायाँबायाँ लाद्नुभयो र जानलाई तयार हुनुभयो; एउटा केटो जो उहाँको छोरा जस्तै लाग्थ्यो, उहाँसँगसंगै गयो। मैले मेरो सम्पूर्ण साहस बटुलें र उहाँको माझी भोटोमा समातें। "मामा" म बिस्तारै बोलें। 

उहाँ फरक्क फर्किनुभयो र एउटा भूत देखेझैं गरी मलाई आँखा तर्नुभयो र एकछिनसम्म, मलाई उहाँका आँखाहरूमा डर बसेको देखेझैं लाग्यो। तर उहाँ दिगो हुनुभयो; उहाँले आफ्नो ठूलो हात मेरो काँधमा राख्नुभयो र बोल्नुभयोः "फिलो! यस्तो ठाउँमा तिमी के गरिरहेका छौ?" 

उहाँ यति चर्कोसँग बोल्नुभयो कि उहाँले चोर समात्नुभयो होला भन्ठानेर तुरुन्तै एक हूल मान्छे जम्म भयो; तब म चुपचाप र लाज लागेर भुइँतिर घोरिँदै उभिएँ अनि झट्टै मेरो उपस्थिति बयान गर्न सकिनँ। तब मेरा मामाले बुझ्नुभयो। मेरो कुममा उहाँको पक्राउ झन् साह्रो भयो। "घर आऊ, केटा", असाध्य राम्रोसँग उहाँले भन्नुभयो। “त्यहाँ पुगेर तिमीले हामीलाई तिम्रो हालखबर भनौला।” अनि त्यसपछि उहाँले थप्नुभयो, "के मेरी बहिनी आरामै छिन्?" 

"उहाँ आरामै हुनुहुन्छ" म सुसाएँ र हामी ताल - तटैतट, उसले आफ्नो काँधमा बोकेको टोकरीमुनिबाट मलाई झुलुक्क झुलुक्क मीठो हाँसोमा रमाइलोसँग हेर्दै हिँडिरहेको मेरो भाइ सँगै हिँड्यौं। घाटको छेउमा महसुल उठाउनेको छाप्रोमा हामी आयौं, जहाँ एउटा रूखो मान्छेले माछा जोख्यो र माछा मारेको कर दाबी गर्‍यो, जुन कर मेरा मामाले नराम्रोसँग आँखा पल्टाएर तिर्नुभयो; अनि यस घिनलाग्दो परिपाटीमा काम गर्नेले खिल्ली दाँत देखाउने गरी हाँस्यो। 

हामी बाटैबाट सोझै साँघुरा गल्लीहरूहुँदो मास्तिर लाग्यौं र भर्खरै थालिएको सभाघर पार गर्‍यौं। शहर मान्छे नै मान्छे र रमझमले भरिएको थियो, तर मैले यसलाई विरलै देखें; किनकि मेरा सबै विचारहरू एउटै प्रश्नमा केन्द्रित थियोः के मलाई स्वागत गरिएला कि मलाई घर पठाइन्छ होला; अनि भन्नै अचम्मलाग्दो कुरा के थियो भने यी दुईमा कुनचाहिँ म चाहन्थें, त्यो मलाई नै थाह थिएन। 

हामी घरमा पुगेका थियौं, यो हाम्रो भन्दा निक्कै ठूलो थियो; किनकि मेरा मामा एउटा उन्नतिशील मानिस हुनुहुन्थ्यो; घरको पछिल्तिर एउटा गोदाम थियो, जसमा ट्याङ्की र भकारीहरू थिए, जहाँ बढ़ी भएका माछालाई नुनमा ओल्स्याइन्थ्यो अर्थात् अमिल्याइन्थ्यो। माछाको काम गर्न त्यस केटालाई पठाइयो र मेरा मामाले मलाई जहाँ उहाँकी श्रीमति र छोरीहरूसँगसँगै पीठो मुछ्दै र पिँध्दै बसिरहेका थिए, त्यहाँतिर लानुभयो। 

"टायरकी मेरी बहिनीको छोरो,” उहाँ बोल्नुभयो। “हालसालको लागि ऊ हामीसँगै बस्छ। हामी खाऔं, एस्तर; केटो भोकायो होला।” त्यहाँ एकछिनको लागि सुनसान भयो; अनि जब उनीहरूले मतिर आँखा लड़ाएर हेरे, तब त्यही डरको हुँडारीले उनीहरूलाई पक्रेको मैले पाएँ र मैले पहिले सोचेझैं म उनीहरूको लागि एउटा अन्यजाति कुकुर थिएँ, एउटा चाह नगरिएको पाहुना थिएँ, जो दुष्टको शक्तिको साठगाँठमा भएको थियो। तर उनीहरूले मलाई राम्रो व्यवहार गरे, र म चाँड़ै उनीहरूसँगै मीठो खाना खाँदैथिएँ- एउटा ठूलो उसिनेको माछा, नौनीमा सुपको साग, खमिरा रोटी र महको साथमा एक करुवा दूध। म साह्रै भोकाएको थिएँ, तर तुरुन्तै टेबल - वरिपरिको अपठ्यारो लाग्ने सन्‍नटाले मेरो भोक मर्‍यो जस्तो लाग्यो। एउटै केटाले मात्र, जसले माछा बोकेको थियो, मलाई लजालु मुस्कानले खाँदै गर्दा हेस्यो र मेरो एकजना साथी त रहेछ भनेर म पनि हाँसें। 

“अँ त, बाबु," जब खानपिन सकियो, तब मेरा मामाले भन्नुभयो, "म सुलुभन्दा अघि यी सब के भएका हुन्, सो तिमी मलाई बताए राम्रो हुन्थ्यो।” उहाँले मलाई माछा - गोदामको पछाड़ि बाहिर एउटा बगैंचामा लानुभयो, जहाँ छहारी थियो र मैले मेरो सबै कुरा उहाँलाई भनें; त्यो अब साह्रै सानो र मूर्खतापूर्ण कुराजस्तै देखिन्थ्यो; किनभने मेरो रिसले वेदनालाई निम्त्याएको थियो, र घरमा परिवारैसित हुन पाएदेखि म जे पनि दिन तयार भइसकेको थिएँ।

तर मेरा मामाले ध्यान दिएर सुनुभयो र थुप्रै प्रश्नहरू सोध्नुभयो; चाँडै मैले उहाँलाई सबै कुरा बताइसकेको चाल पाएँ; झाँक्रिनी र डुङ्गाको कुरा मात्रै होइन, तर आयोन अनि अन्धी केटी र कोरीको स्वास्नीको बारेमा पनि र जति धेरै मैले बताएँ, झन् त्यति नै धेरै उहाँले सोध्नुभयो; अनि त्यहाँ उहाँको अनुहारको दोधारे हेराइ थियो, जसलाई मैले बुझिनँ। जब मैले उहाँलाई सबै बताइसकें, तब उहाँ जुरुक्क उठ्नुभयो। 

"तिमीबिना तिम्री आमा र तिम्री दिदीबहिनीहरूले कसरी जीउपालो गर्छन् होला?” उहाँले सोध्नुभयो। 
"उहाँसँग डुङ्गाको पैसा छ" मैले अँध्यारो हुँदै जवाफ दिएँ," त्यति छिटै त उहाँले त्यो सबै झाँक्रिनीलाई बुझाउनुहुन्न होला। खेतबारीबाट सारपतका हाम्रा भाइहरूले कहिलेकहीं हामीलाई तेल र गहुँ ल्याइदिन्छन्, अनि आयोनले तरुल - भ्याकुर खान्छिन्। यसबाहेक यदि तपाईंले मलाई तपाईंकोमा काम गर्न दिनुभयो भने म केही थोरै भए पनि कमाउँछु र समय-समयमा त्यो घर लान सक्छु।" 

मेरा मामा राजि हुनुभयो। “म चाँडै तिम्री आमाकहाँ जान्छु र भेट्छु,” उहाँले भन्नुभयो, “तर गर्मी याम त मछुवाको अति व्यस्त समय हो। हालैमा योएल स्कूलबाट ननिस्कुन्जेल मलाई अर्कै केटा चाहिन्छ। तिमी बस्न सक्छौ र केही समय बिन्यामिनलाई सघाउन सक्छौ।” 

सम्पूर्ण तवरले म निश्चिन्त भएँ; उहाँलाई आफूले परिश्रमसाथ काम गर्ने प्रतिज्ञा गर्दै मैले उहाँको ठूलो हात बेसरी समातें; तब उहाँ हाँस्नुभयो, मेरो टाउको थपथपाउनुभयो र सुत्न जानुभयो। अन्तमा धन्न म सुरक्षित भएँ भन्ने कुरामा मात्रै अल्झेर म न्यानो मगमग बास्नादार बगैंचामा एकछिन बसें। मेरा बाबाको जीवनकालमा पनि मैले हाम्रो घरको कुनामा त्यस दुष्ट आत्माको कुत्रुक्क पार्ने उपस्थितिदेखि कहिल्यै साँच्चै सुरक्षित भएको महसुस गरेको थिइनँ; तर यहाँ, यस मनमोहक, आरामदायी सानो शहरमा त जसकसैले पनि खतरा बिर्सन सक्थ्यो। यहाँ कुनै खतरा थिएन, कुनै तछाडमछाड़ थिएन, कुनै तँ सक्ने कि म सक्ने थिएन। बाक्लो घाँसमा म पल्टें र आँखाहरू बन्द गरें। 

तरैपनि त्यतिखेर मैले एक मुठी स्वच्छ, नुनिलो हावाको लामो सास र बालुवामा पोखिँदै गरेका, चिसा लहरहरूको आवाजको लागि मसित भएको जति सब थोक दिनेथिएँ। 

अध्‍याय : ९ 

मलाई पहिलो प्रभाव परेको भए तापनि मैले चांडै कपर्नहुम एउटा गजवको सानो, व्यस्त शहर रहेछ भन्ने कुरा पत्ता लगाएँ; किनकि विशाल रोमी राजमार्ग, जोचाहिँ इजिप्टदेखि दामस्कससम्म पुग्थ्यो, त्यो यहींबाट भएर जान्थ्यो र फोनीसी किनारतिर छुट्टिन्थ्यो। बाटाहरू रमाइला दृश्यहरूले गर्दा मेलाजस्ता थिए; रोमी सैनिकहरू भुंण्ड झुन्डमा परेड खेलिरहेका, उत्तर र दक्षिणका व्यपारीहरू, ऊँट व्यापारीहरू बेबिलोनबाट गलैंचा लिएर आइरहेका र घृणा गरिएको कर कार्यालयमा सामान ओरालिरहेका। मलाई विशेष गरी हाट लाग्ने दिनहरू मन पस्यो, जब पहाड़का गाउँहरूबाट खेतीकिसानहरू ताजा फलफूल, नौनी र अण्डाहरू लिएर आउँथे, अनि मछुवाहरूले ठूला-ठूला जगमगाउँदा कत्ले र असला माछा बेचिदिन्थे। त्यस बेला बिन्यामिन र मलाई तिनीहरूसँगै मिसिन र केही आफ्नै पेवा पैसा कमाउन दिइयो। 

बिन्यामिन मेरो साथी बन्यो, आयोनबाहेक मेरो कहिल्यै नभएको पहिलो हितैषी साथी; तर आयोन त एउटी सानी केटी मात्रै थिइन्। किनकि बिन्यामिनलाई यस कालो छायाको बारेमा केही थाह थिएन, र उसले मसित एउटा साधारण केटालाई झैं व्यवहार गर्‍यो। घरमा ऊ थोरै कुरा गर्थ्यो, तर त्यहाँ न ता मेरा मामाले नै धेरै गफ गर्नुभयो; किनकि घरमा उहाँ र मेरी माइजुबीच केही कुरामा खटपट भएझैं त्यहाँ अनुशासित वातावरण थियो। हरेक नै आफूले के भने भन्ने कुरामा साह्रै होशियार थियो र शुरुका केही दिनहरूमा मैले यो मेरो कारणले होला भन्ठानें। 
जब म एक हप्ता कपर्नहुममा बसिसकेको थिएँ, तब मैले यसको वास्तविक कारण पत्ता लगाएँ। त्यस दिन सधैंको भन्दा माछा थोरै भएको थियो; किनकि जाल धारिलो ढुङ्गामा अल्झेको थियो र थुप्रै माछा फुत्केका थिए; यसैले हाम्रो काम चाँडै सकियो, अनि मेरा मामा मस्त सुतेको सुतेकै हुनुभयो। बिन्यामिन र म त्यस दिनभरि प्रायः फुर्सदै थियौं र हामीलाई जे मन लाग्यो, त्यही गर्न पायौं। बिन्यामिनलाई आफूले के गर्न चाहन्थ्यो, सो कुरा पक्का थाह थियो; उसले आमालाई हाम्रो लागि केही खानेकुरो पोको पारिदिन भन्न चाह्यो, र हामीले बेथ्सैदाको ठीक दक्षिणपट्टि, जहाँ यर्दन नदी तालभित्र बहन्थ्यो, त्यसको पारितिर डुङ्गा खियाउने इच्छा गयौं। त्यहाँ पानी सेतो-हरियो थियो, थुप्रै माछाहरू खेल्दै जम्मा भएका थिए। हामीले आफ्नो हाते जाल निकाल्नेछौं र हाम्रो आफ्नै लागि माछा मार्नेछौं भन्ने योजना बनायौं। 

मेरी माइजु अलि झर्किनुभयो र त्यहाँ यदि हामीले मन लगाएर हेर्ने हो भने थुप्रै काम छ नि भनी भन्नुभयो; तर हामीले ख्यालै गरेनौं र मबाट छुटकारा पाउन उहाँ पक्का निक्कै खुशी हुनुहुन्छ भन्ने मलाई लाग्यो। उहाँले केही जोड़ा अण्डा र केही पातला रोटीहरू हालेर निगालोकी टोकरीमा पोको पारिदिनुभयो र हामी असाध्यै फुकिंदै बाहिर लाग्यौं। माछा खानलाई हामी आफ्नो लागि आफैले जुटाउनेछौं। 

हामी तल ताल-तटतिर दौड्यौं र सानो डुङ्गा उतार्‍यौं। यो सानदार, पछौटे गर्मी यामको बिहानी थियो र अघि नै गर्मी तालको नीलो गहिराइमा मलिन भइसकेको थियो। बिन्यामिनले पहिला खियायो र पूर्वी किनारका अजङ्गका, गादरा र गेर्गेसाका पहाड़हरू हेर्दै म डुङ्गाको एका छेउको उठेको भागमा उत्रिएँ। टन्टलापुर घाममा ती ठूला चिराहरू र खोचहरू कसैले खुकुरीले ढुङ्गालाई टुक्रे टुक्रा पारेजस्तै छिया-छिया भएका देखिन्थे; ती हेर्दा म अलि-अलि कामें। 
"त्यहाँ पर के तिमी कहिल्यै पुगेका छौ?” मैले बिन्यामिनलाई सोधें। 
उसले अलि धक मान्यो। “त्यहाँ मैले मेरा बाबासँगै माछा मारेको छु”, उसले भन्यो। "अनि म निस्तार-चाड़को अघिल्लो सातामा उत्तरपट्टिको त्यो पहाड़माथि थिएँ। " 
"ओहो, हो? तिमी त्यहाँ के गरिरहेका थियौ? ” 
"हामी भविष्यवक्ता येशूलाई हेर्न गयौं। ताल छेउछाउका भएभरका सबै मानिसहरू गए। फिलो, के तिमीले त्यस भविष्यवक्ता येशूको बारेमा सुनेका छौ?" 

म हाँसें। “केही न केही त मैले मेरी सानी बहिनीबाट सुनेको हुँ,' मैले जवाफ दिएँ। “मानिसहरू टाढा टाढा हाम्रो शहर टायरदेखि उनीकहाँ गइरहेका छन् रे, र निको पारिएका छन् रे। यहाँ म उनलाई देख्छु होला मलाई आशा लागेको थियो; तर जब मैले उनको बारेमा तिम्री दिदी हन्नालाई सोधें, तब तिनी त रिसाइन्, मैले केही खराब कुरा बोलेझैं, लौ। उनी असल मान्छे हुन् कि खराब मान्छे? अनि कुन सामर्थ्यले उनी यी आश्चर्यकर्महरू गर्दछन्? अनि किन हामीले उनको बारेमा कुरा गर्नुहुँदैन?" 

बिन्यामिनले अघिल्तिरको पहाड़तिर आँखा फैलायो। “मलाई थाह छैन,” उसले बिस्तारै भन्यो, “तर हामी भर्खर त आइपुग्दैछौं। केही समय हामी माछा मारौं त, अनि त्यसपछि म तिमीलाई त्यहाँ माथि के भएको थियो, र त्यसपछिका कुराहरू भन्नेछु। पक्कै पनि तिमीले यो कुरा पत्याउनेछैनौ।” 

पानीको ठूलो प्रवाहले डुङ्गाको एकपट्टि पक्रेर हामीलाई बगाइदियो यसैले हामीले यर्दनको प्रवेशद्वार पार गर्न गाह्रोसँग खियाउनुपर्‍यो। हामी रातोपिरो भएर र सास फेर्न गाह्रो परेर पूर्वी छेउमा आइपुग्यौं, अनि मक्ख परेर पानीमा हाम फाल्यौं। जब हामीलाई शीतल भयो, तब बिन्यामिनले उसको हाते जाल तान्यो। ऊ पानीभित्र जानुपर्थ्यो, अनि मैले किनारमा उभिनुपर्थ्यो र हेर्नुपर्थ्यो। म आँखा पानीमा टाँस्दै चुपचाप उभिएँ, जब उसले गोलो जाल फ्याँक्यो, जाल उचाल्यो र फेरि फ्याँक्यो र फेरि खालि नै तान्यो। अचानक एउटा अँध्यारो छायाले हरियो पानीलाई ढाक्यो। 

"दायाँतिर, अझ अलि पछाड़ि फ्याँक त", मैले भनें; र उसले मैले जहाँ देखाएको थिएँ, त्यहाँ जाल हुत्त्यायो। उसले थुप्रै माछा पार्‍यो भन्ने मलाई थाह थियो, र म जाल निकाल्नुमा सहायता गर्न पानीभित्र पसें। हामी दुवै मिलेर यसलाई उचाल्यौं र परिश्रमको फल हेर्न रमाउँदै बस्यौं। तालका मोटा, जीउ चुच्चो र मुख फराकिलो भएका माछाहरूको एक हललाई हामीले पक्रेका थियौं; यो जातका माछाहरूले आफ्नो मुखमा आफ्ना भुराहरूलाई बोक्थे। हाम्रो भाग अलिकति राखेर हामीले तिनलाई डुङ्गामा पोको पारेर राख्यौं; तब आगो सल्काउन हामीले ढुङ्गाहरू, सुकेका दाउरा र घाँस बटुल्यौं। हामीले माछाका आन्द्राभुँड़ी भिक्यौं, सम्म परेको तातो ढुङ्गामा माछा राख्यौं र भकाभक खान तातियौं। 

त्यो खाना म कहिल्यै भुल्दिनँ। तालको सन्नाटाले हामीलाई काखी च्याज लागेको झैं लाग्थ्यो, चम्किरहेको पानी, हाम्रा नाङ्गा खुट्टाहरूमा घाम, हाम्रै विरपिर चराहरूको हल्ला र चिरबिराहट; डाँड़ाहरूले हामीलाई घेरिरहेका; सेता शहरहरूको मधुरो दृश्य र टाढामा गाउँहरू माथि वनसम्मै पुग्न खोजिरहेका; अनि सबभन्दा राम्रो त ताजा पाकेका माछाको र बलिरहेको घाँसको गन्ध थियो। किनभने हामी बिहानै उठेका थियौं बेसरी काम गरेका थियौं। लोभलाग्दा माछाका टुक्राहरू हामीले हाम्रा रोटीको बीच-बीचमा राख्यौं अनि तालको छेउको सदाबहार रूखको छहारीमा मस्तसँग बस्यौं। 

"अँ" तातो माछामा दाँत गाड्दै मैले भनें, “ भन्दै जाऊ न।” "तिमीले यो पत्याउनेछैनौ,” बिन्यामिनले सीधा भन्यो। “ठीकै छ, सुनि त हेरौं?" मैले जीउ तन्काउँदै नरम सोरमा बोलें; किनकि गर्मी चढिरहेको थियो र किन कसो भन्ने तर्क गर्ने मनोस्थितिमा म थिइनँ। 

बिन्यामिन घुड़ामा हात बाँधेर बस्यो र घोरिएर तालतिर हेरिरह्यो। “हुन्छ,” उसले भन्यो, “म तिमीलाई भन्छु। त्यतिखेर निस्तार-चाड़को अघिल्लो हप्ता थियो। मानिसहरू भविष्यवक्ता येशूकहाँ धुरिएका थिए। तिनीहरू हजारौंले उहाँ जहाँ जानुहुन्थ्यो, त्यहीं घेरा हाल्थे। यसो हेर्दा जनजीवन नै केही समयको लागि रोकिएको थियो। जालहरू तुनिएनन्, बीउ छरिएन, बजारमा पसलहरू बन्द भए। तिनीहरूले निको पारिनको निम्ति उहाँलाई छुनु मात्रै पर्थ्यो।” 
"तिमी नि गयौ?" 
“शुरुमा त गइनँ; याद गर, मेरा हजुरबुवा एक फरिसी हुनुहुन्छ र सभाघरमा काम गर्नुहुन्छ। उहाँले यो भविष्यवक्ता कि त बौलाहा हो कि दुष्ट हो, नत्रभने बौलाहा र दुष्ट दुवै हुनुपर्छ; यसैले हामीले उनीदेखि टाढा बस्नुपर्छ भन्नुहुन्छ। अनि मेरी आमा पनि उहाँकै कुरामा सही थानुहुन्छ।" 

"तर यदि उनले मानिसहरूलाई निको पार्छन् भने ता किन शासकहरू र फरिसीहरू उनीलाई यसो घृणा गर्छन् हँ?" 

"ठीक हो, उनी केही अनौठा कुराहरू भन्छन्। उनको विचारमा दशांशा दिने, हातहरू धुने र विश्राम दिनमा केही काम नगर्ने अनि सबै सानातिना रीतिहरू, जसमा मेरा हजुरबुवा साह्रै कट्टर हुनुहुन्छ, यी कुनै ठूलो कुरा होइन। उनी भन्छन्ः प्रेम गर्नु, क्षमा दिनु, बाँडचुड़ गर्नु र साँचो कुरा बोल्नु - यी कुरा बढ़ी महत्त्वपूर्ण हुन्छन्। यसबाहेक तिनीहरूकहाँ तिनीहरूका कुराहरू सुन्न अब कोही पनि जाँदैन तिनीहरूले त्यो पक्का पनि मनपराउँदैनन् नि। साथै उनमा रहेको सामर्थ्यको विषयमा तिनीहरूले अन्योलमा परेका छन्। कहाँबाट उनले यो पाउँछन्? केही शासकहरू यो शक्ति दुष्ट आत्माद्वारा उनलाई दिइएको दुष्ट शक्ति हो भन्ठान्छन्; तर मलाई त त्यस्तो लाग्दैन।" 

मैले बरु डर मान्दै ऊतिर आँखा अड्याएँ र मेरी आमाका शब्दहरू मलाई याद आयो 'पृथ्वीमा दुष्ट आत्माको शक्तिभन्दा ठूलो शक्ति नै छैन।' मैले उज्यालोमा बान्की खुलेकी सानी अस्टरतीको हाँसिलो अनुहार र झम्टन खोजेकी इल्लिरिकाका आँखाहरूको घृणा र त्रास सम्झें। के यी दुई बीचमा कुनै कुरा उस्तै मिल्दो थियो त? मलाई त्यस्तो लाग्दै लाग्दैन। जे होस्, बिन्यामिनले हाम्रो पछिल्तिरको डाँड़ामा के भयो भनेर भनेकै थिएन। 

"हामीहरूलाई पटक्कै जान दिइएन,” बिन्यामिनले भन्दै गयो, "त्यस बिहानसम्म, जब भविष्यवक्ता र उनका चेलाहरू तल ताल-तटमा आएर डुङ्गामा चढ़े; अनि हामीले उनले यसो भनेका सुन्यौं: 'हामी पारिपट्टि जाऔं।' अनि हामीले जब्दीका दाजुभाइले खियाइरहेका डुङ्गा गएको देख्यौं। तर भीड़हरू जो शहरबाट हतारिएका थिए, डिठ लाएर हेर्दै उभिइरहे; अनि केही जसले आफ्ना बिरामीहरू ल्याएका थिए, तिनीहरू कराउन थाले। तर तुरुन्तै ती ताल - तटको पुछारमा भएकाहरू फर्केर उत्तरतिर दौड़िन थाले र सम्पूर्ण भीड़ यर्दन नदी र बेथ्सैदातिर दौड्दै तिनीहरूको पछि पछि लाग्यो; तिनीहरू हजारौं थिए; नदीको यस सारा निकास क्षेत्र तिनीहरूले ढाकेको थियो।" 
"अनि तिमी, के तिमी पनि गयौ?" 

"मेरा बाबा, अनि म र हाम्रा कामदारहरू, हामी मात्रै ताल - तटमा एक्लै छोड़िएका जस्ता भयौं; तब एक्कासि मेरा बाबा दिल खोलेर हाँस्नुभयो र भन्नुभयो, 'हामी पनि जाऔँ, यस मान्छेले केही गरिरहेको हेर्न म चाहन्छु।' एउटा दुईटा पसल खुलै थिए; यसकारण हामीले केही खानेकुरा किन्यौं र डुङ्गा उतार्‍यौं। त्यहाँ अलि अलि हावा चल्थ्यो, अनि हामीले पाल लगायौं र भीड़हरूभन्दा अघि पारि पुग्यौं; तर भविष्यवक्ता अघि नै घेरिसकेका थिए। बजारका प्रायः सबै रोगीहरू अघि नै निको पारिइसकेका थिए; तर त्यहाँ कोही उनको छुवाइमा चंगाइ पाएर उठे; हामी सबै बस्यौं र सुन्यौं। उनी वचन बोलिरहे; केटाकेटीहरूसमेत शान्त थिए।" 
"उनले के भने त?" 

"उनले आफ्नो राज्यको बारेमा कुरा गरे। उनले यसलाई परमेश्वरको राज्य भने। उनले रोमीहरूलाई हटाउन चाहन्थे जस्तो मलाई लागेन; कसै-कसैले उनले त्यसै गर्छन् भने आशा गरे। उनले भनेः 'परमेश्वरको राज्य तिमीहरूभित्र छ।' मलाई लाग्छ, उनको कुराको मतलब, एउटा मानिसको जीवन झूट र घृणा अनि दुष्टताको सट्टामा सत्यताले साथै दया र कृपाले राज्य गर्नुपर्छ भन्ने थियो। यस्तो मानिस धनी नबने पनि उसले शान्ति पाउनेछ र आउनेवाला जीवनमा उनको साँचो धन उसको लागि थुपारिनेछ। म त्यो सबै त सम्झन सक्दिनँ, तर मैले त्यसको बारेमा धेरै सोचेको छु। तर त्यो मैले तिमीलाई भन्न चाहेको कुरा होइन। घाम निक्कै झरिसकेपछि त्यहाँ के भएको हो, सो बताउन चाहन्छु।" 
“अँ, के-के भयो त?" 

"उनका चेलाहरूले उनलाई ती मानिसहरूलाई बिदा गर्न सम्झाइरहेका थिए। तिनीहरूमध्ये कति त खाना नलिईकनै आएका थिए र तिनीहरू दिनभरि नै त्यहाँ उनीसँगै थिए। येशूले भनेः 'तिमीहरूले उनीहरूलाई खाना देऊ।' तिनीहरूमध्ये एकजना हाँस्यो र लाग्ने खर्चको बारेमा ठट्टा गर्‍यो, तर येशू हाँसेका थिएनन्। 'तिमीहरूसँग कति खाना छ?' उनले सोधे। सबैले यताउति हेरे। हामी यति ध्यानसित सुनिरहेका थियौं कि हामीले आफ्नो खाना खान नै बिस्यौं। तर अब मेरा बाबाले पोको थ्याच्च मेरो हातमा राखिदिनुभयो। 'उनलाई त्यो देऊ, यदि उनी यो चाहन्छन् भने,' उहाँले भन्नुभयो। यसकारण म गएर उनलाई त्यो दिएँ; पाँचओटा जौका रोटी र दुई माछा मात्रै; तर उनी खुशी थिए। उनले चेलाहरूलाई सबै मानिसहरूलाई बसाउन भने; तब उनले हाम्रो खाना लिएर त्यसलाई आशिष दिए र त्यसलाई भाँच्न थाले। उनले आफ्ना चेलाहरूलाई त्यो दिए, जसले त्यो भीड़हरूलाई बाँड़े। हरेकले नै खाइरहेको थियो, सबै नै खुशी थिए; अनि जब तिनीहरूले खाइसकेका थिए, तब तिनीहरू सबै उनको वरिपिर भेला भए र उनी तिनीहरूका राजा हुनुपर्छ भनी कराए। तर उनी तिनीहरूबाट फर्केर एक्लै माथि पहाड़तिर गए र अन्तमा तिनीहरू सबै आ-आफ्नो बाटो लागे। मैले त्यहाँ घटेको घटना पत्याउनै सकिनँ; तर यो साँच्ची नै घटेको हो, ठीक त्यहाँ, मेरो पछिल्तिरका पहाड़हरूमा।" 

मैले त केही भनिनँ। मैले यसको एउटै कुरा पनि विश्वास गरिनँ; तर बिन्यामिनले यी सब कुरा कल्पना मात्र गरेको किन? जस्तो भए पनि मैले बाँकी भाग सुन्न चाहें, यसैले मैले " भन्दै जाऊ न" भनें। 

बिन्यामिनले मलाई आँखा कर्काएर हेस्यो। “त्यसपछि घटेको कुरा झन् पत्यार नलाग्दो छ”, उसले भन्यो। “त्यसपछि घटेको कुरा तिमीले कुनै हालतमा विश्वास गर्नेछैनौ।” 

"यदि मैले त्यो रोटीको कुरा विश्वास गर्न सकें भने म जे पनि विश्वास गर्न सक्छु,” मैले जवाफ दिएँ, “यसकारण तिमीले मलाई त्यो पनि बताउन सक्छौ।" 

"अँ, येशू ऊ माथि पहाड़मा गए; उनले आफ्ना चेलाहरूलाई आफूबिना नै घर जान भने। घाम अस्ताएर यतिखेर अबेर भइसकेको थियो। हामी सबै सहायता गर्न बस्यौं र हामी सबै एकसाथ फर्कयौं; तिनीहरू ठूलो डुङ्गामा र हामीचाहिँ हाम्रो सानो डुङ्गामा; अनि त्यहाँ अरू डुङ्गाहरू पनि थिए। मेरा बाबा आफ्ना पुराना माछा मार्ने साथीहरूलाई भेट्न पाउँदा साह्रै खुशी हुनुभएको थियो र हामीले हतार गरेनौं। जब हामी तालको बीच भागमा आइपुगेका थियौं, तब आँधी उर्लियो। अनि फिलो, म यस तालमा पहिले पनि आँधीबेहरीहरूभित्र परेको थिएँ, तर योजस्तो आँधीबेहरीमा ता कहिल्यै फसेको थिइनँ। तिमी एउटामा नपरेसम्म पर्ख न! बतासहरू पहाड़का खोचहरूबाट मड़ारिँदै आइलाग्छन् र थोरै समयभित्र जम्मै पानी सेतो र उर्लिरहेको हुन्छ। पालहरूको कामै छैन; ती च्यातिएर धुजा धुजा पारिजान्छन्। हामीले आँधीको विरुद्धमा खियाउन सकेनौं। हामी हुत्तियौं र पानी उघाउँदै फाल्दै गर्‍यौं, अनि मृत्युलाई पार्खिबस्यौं।” 

"मलाई थाह छ " मैले भनें, “जुन रात मेरा बाबा डुब्नुभयो, त्यस बेला पनि त्यस्तै थियो।” 
"शायद हामी पनि डुब्नेथियौं होला, तर रातको चौथो पहरजतिमा केही कुरा भयो। अचानक कसैले हावा थुनेजस्तै त्यहाँ सुनसान छायो शान्त तालमा चन्द्रमाको किरण पर्‍यो। कोही बोलेन; हामीले अर्को डुङ्गापट्टि हेस्यौं। रात यति चम्किलो र सफा थियो कि हामीले उनका चेलाहरू गड़बड़ाएका र कोही एकजना आफ्नो हात फैलाएर डुङ्गाको फछाडिपट्टि उभिरहेका देख्न सक्यौं।" 

"तर तिमीले त येशूलाई तिमीहरूले पछाड़ि नै छोड्यौ भन्यौ त।" 
“हामीले त्यस्तै गर्‍यौं, हामी यता आउन लाग्दा उनी हामीसँग थिएनन्। यिनी उनी नै थिए भनेर हामी किनारमा नपुगेसम्म विश्वासै गरेनौं; तर हामीले तिनीहरूलाई गन्नेसरेत ताल-तटसम्मै पछ्यायौं; अनि त्यहाँ उनी थिए। अरू सबैले आपसमा हल्लाखल्ला गरिरहेका थिएः 'यिनी कस्ता मानिस हुन्; बतास र समुद्रले समेत यिनको कुरा मान्दा रहेछन्?'" 

"तर उनी त्यहाँ कसरी पुगे त?” 
"कसैले यो भन्न चाहेन। तर उनका चेलाहरूमध्ये एकजनाले कानेखुशी गरे, 'उहाँ पानीमाथि हिँड्नुभयो।' 
" म यसमा विश्वासै गर्दिनँ " म बम्किएँ। 

"तिमीले गर्दैनौ भन्ने मलाई थाहै थियो " बिन्यामिनले शान्तसँग भन्यो। “तर यदि यो साँचो कुरा होइन भने त्यसो भए उनी उड़ेका हुनुपर्छ र त्यो पनि त हुनै नसक्ने कुरो हो। तर जे होस्, उनले आँधीबेहरीलाई रोके; लहरहरू तुरुन्तै थपक्क भए। " 

मैले केही भनिनँ; मलाई विचार गर्नलाई धेरै भइसकेको थियो। मैले मेरा खेतीवाल सानाबाका कुराहरू सम्झें, 'म प्रकृतिको सामर्थ्यमा विश्वास गर्छु; पृथ्वीको जीवन चक्र जसरी चल्नुपर्ने हो, त्यसरी नै चल्छ; र त्यसले मानिसलाई फर्केर पनि हेर्दैन।' अनि मैले त्यस रात हावा र पानीको कृपा-दृष्टिमा परेर मस्तुलमा झण्डिएको मेरो आफ्नो एकदमै एक्लो भएको अनुभव पनि सम्झें। के साँच्चै नै ब्रम्हाण्डका शक्तिहरूभन्दा शक्तिशाली कुनै सामर्थ्य छ र? अनि के साँच्चै नै यस भविष्यवक्तासँग त्यही सामर्थ्य छ? तर यो साँचो हुनै सक्दैन; अहँ, यो हुनै सक्दैन। 

अध्‍याय : १० 

कपर्नहुमको जन-जीवनमा म चाँडै घोलमिल भएँ। मैले खूब परिश्रम गरें; जस्तै ठूलो महाजाल सफा गर्नु र तुन्नु, माछाको आन्द्राभुँड़ी निकाल्नु र माछा ओल्स्याउनु, या माछा काँधमा बोक्नु अथवा सानो डुङ्गामा राखेर माछा अन्तमा लानु आदि। कहिलेकहीं, जब भकारी पूरा भरिन्थ्यो, तब हामी डुङ्गामा भारी लादेर तालहुँदो टरिखैयाका माछा अमिल्याउने भण्डारहरूमा लाग्थ्यौं र मैले तिबेरियसमा ओर्लेर त्यो जगमगाउँदो, नयाँ शहरलाई खोजीनिधी गरेर रजौटा हेरोद एन्टिपासले आफ्नै मोजमस्तिका लागि बनाएको दरवारको नजिक पुग्ने तिर्सना गरें। तर बिन्यामिनलाई त्यस ठाउँमा पाइला टेक्नै मनाही थियो; किनकि त्यो शहर एउटा पुरानो कब्रिस्तानमाथि बनाइएको थियो, यसैले त्यसभित्र पस्ने कुनै पनि यहूदी धार्मिक हिसाबले अशुद्ध हुन्थ्यो। 

जसरी मैले आफ्नो घरको वरिपरिको सामुद्रिक किनार र डाँडाहरू खोजीनिधी गर्न मन पराउँथें, त्यसरी नै मैले तालका किनारहरू पत्ता लगाउने खूब इच्छा गरें; अनि जब गर्मी याम झन्डै टन्टलापुर भयो र दिनका घड़ीहरू लाम्बिँदै गए, त्यस बेला मैले त्यसो गर्ने केही मौका पाएँ। मेरी माइजुले उहाँको पतिको खातिर खराबी सहँदै मेरो उपस्थिति स्वीकार्नुभएको थियो; तर जब उहाँको बाबा हामीसंगै खाना खान बस्नुभयो, तब परिवार बीच मेरो उपस्थितिमा उहाँलाई सहीखानु नहुने प्रष्टै थियो। 

बाहिरी रूपले यहूदी - रीतिमा बसालिनुभएको मेरा मामासँग सँगै बसेर खाने भनेको त विचरा यस बूढ़ा फरिसीलाई साह्रै गाह्रो कुरा थियो। तर मचाहिँ एउटा पाखे, अन्यजाति कुकुर नै थिएँ; अनि मेरो त्यो उपस्थिति उहाँको खाना बिटुल्याउन काफी थियो। यसकारण उहाँलाई बोलाइने दिनहरूमा म फुत्त निस्कन्थें र उहाँको नमीठो एकोहोरो, बेखुशी हेराइमा बसिरहनुभन्दा पछाड़िको शीतल बगैंचामा मेरो खाना खान्थें, र त्यसो गर्न निको मान्थें। तर यस बेला आफ्नो घरको सम्झनाले मलाई प्रायः सताउँथ्यो अनि के मलाई यस्तो श्राप लाग्यो र मेरो सम्पूर्ण जीवनभरि नै म तिरस्कृत र अलग हुनुपर्छ कि भन्ने प्रश्न मभित्र उठ्थ्यो। 

यस्तो एउटा पारिवारिक चाड़को दिनमा मलाई एउटा राम्रो विचार आयो। हामीले चाँड़ै आफ्नो काम सकिसकेका थियौं; किनकि मेरा ठूला- मामा र सभाघरका केही अगुवाहरू खाना खान आउँदैथिए र मेरी माइजु र केटीहरू केही दिनअघिदेखि नै पकाइ - तुल्याइ गरिरहेका थिए। तिनीहरू सबै नै प्रायः थकित र लत्रक्क परिरहेका थिए; र मैले त्यहाँबाट गइदिनु नै उचित ठानें। मैले बाहिर सड़कमा मेरा मामालाई पछ्याएँ अनि उहाँको बाहुलाको फेर च्याप्प तानें। 

"मामा", म सुस्ताएँ, “म डुङ्गा लिएर आज उता पर जाऊँ? यी सबमा भाग नलिनु ठीक होला।" मलाई लाग्छ मेरा मामाले टाउको हल्लाउनुभयो र आफैले यी सब कुरामा भाग लिनु नपरेको भए उहाँ खुशी हुनुहुनेथियो भन्ने विचार ममा उठ्यो। "तिमीले केही खानेकुरा लैजानु राम्रो हुन्छ,” उहाँले भन्नुभयो र उहाँ घरभित्र पस्नुभयो अनि एउटा तातो रोटी, एउटा कुखुराको सपेटो र केही मिठाइहरू लिएर फर्किनुभयो। “लौ, बाबु,” उहाँले मुसुक्क हाँसेर भन्नुभयो, “तिमी हाम्रो चाड़मा सहभागी भएछौ।" 

म आनन्दित भएँ। अझै सबेरै थियो; मैले सानो डुङ्गा उतारें र बहनाहरू पक्रें; किनकि म कहाँ जाँदैथिएँ, त्यो मलाई थाह थियो। तालको पारिपट्टि, बिन्यामिन र मैले जहाँ माछा मारेका थियौं, त्यसको अलि दक्षिणतिर गेर्गेसीहरूको देशको एउटा खेर्जा भन्ने शहर पर्थ्यो। तालको पारिपट्टिका शहरहरूमा ग्रीक आप्रवासीहरू अथवा ग्रीक संस्कृति मन पराउनेहरू बसेका थिए। अनि यसो भनिन्थ्यो तिनीहरूले सुन्दर प्रतिमाहरूले आफ्ना घरहरूलाई सिंगार्थे। तर यहूदीहरूले सबै प्रतिमाहरूलाई मूर्ति-स्वरूपमा लिन्थे अनि यहाँ फेरि बिन्यामिनलाई मसँग आउने अनुमति दिइएन। त्यो भन्दा झन् नराम्रो त तिनीहरूले ठूला-ठूला सुंगुरका बथानहरू राख्थे। 

यहाँ, तालको उत्तरपट्टि, पूर्वी किनारा करिब छ माइलजति लामो थियो। म डुङ्गा खियाउँदै दक्षिणतिर गइरहेको थिएँ। लगातार, तर बिस्तारै म खियाउँदै रहें; म थाकेको थिइनँ; किनकि पानीको सुनसान सतहमा हावा ताजा थियो। मैले त्यस शहरको उत्तरपट्टि उत्रने र ताल - तीरमा मेरो खाजा खाने विचार गरें; प्राकृतिक दृश्य साह्रै उजाड़ थियो। मेरो अघिल्तिर पहराहरू तालबाट तहैतह भएर माथिसम्म उठेका थिए, तर मैले एउटा गुफामा वा चट्टानको चिरामा कनै छहारी पाउँछु की भनेर हेरें; यसकारण मैले किनारतिर डुङ्गा भसाएँ; तब गहिरो पानीमा हाम फालेर म बहँदै र अल्छी मान्दै किनारको सँगसँगै समानान्तरमा पौड़ी खेलें। चट्टानहरू बीचको अग्लो चउरमा सुँगुरका बथानहरूले पहरामा खोपेका चिहानहरूनेर, जहाँ मरेकाहरूलाई गाड़िन्थ्यो, तिनको वरिपरि उधिनिरहेका थिए। त्यसपछाड़ि पेटीहरू थिए, खेती लगाएका जमिनहरू, जहाँ बाली पाकिसकेको थियो र खेतालाहरू काममा व्यस्त थिए। तालको छेवैमा एकजना मान्छे एउटा सानो दाखबारीमा पानी लगाउँदैथियो; अनि उसले मलाई हातको इसाराले बोलायो। 

मलाई एक्लो लाग्यो; यसैले म किनारतिर पौडेर ऊसँग भेट गरें। ऊ एउटा नौलो मान्छे थियो; उसको अनुहारमा र हातखुट्टाहरूमा खाल्टा- खुल्टी परेका खतहरू बसेका थिए; कसैले उसलाई भुत्ते हतियारले आक्रमण गरेको जस्तो देखिन्थ्यो, र उसका हातहरूमा साङ्लाका डामहरू थिए। तर उसका आँखाहरू निश्चल र दयालु थिए, अनि उसको व्यवहार मिलनसार थियो। उसको अङ्गुर - बारीमा पानी ओसार्न मैले उसलाई सघाएँ; जब हामीले काम सक्यौं, तब उसले आफ्नो रूखबाट गर्मीमा पाकेका नेभाराहरू टिप्यो र आनन्द लिन हामी छहारीमा बस्यौं। 
"यहाँ तिमी के गर्दैछौ?" उसलाई साँच्चै चासो लागेझैं उसले सोध्यो। म जो अरू बेलामा लजाउने र मलिन थिएँ, म खुला भएँ अनि मेरा कथाका केही पाना पल्टाउँदै बताएँ; कसरी म घरबाट भागें र मेरा मामाको घरमा शरण पाएँ, अनि कसरी म एउटा परदेशीलाई तिनीहरूको यहूदी - चाड़हरूमा कुनै स्थान भएन। 

"तर तिम्री आमाले त्यो डुङ्गा किन बेचिन् त?" उसले सोध्यो। "त्यहाँ सामुद्रिक किनारमा माछा मराइ राम्रो हुनुपर्छ। यो त मलाई एउटा मूर्ख काम गरेजस्तो लाग्यो।" 

म चुप भएँ। मैले इल्लिरिकाको बारेमा कुरा गर्न साह्रै गाह्रो मानें। उनी हाम्रो जीवनको लाज, कालो छाया, बयान गर्ने नहुने कलङ्क थिइन्। "मेरी दिदीलाई घातक बिमारी छ", मैले घुमाउरो पाराले भनें। "डाक्टरको लागि आमालाई पैसा चाहियो। तर यो मेरो डुङ्गा थियो; उहाँलाई यो बेच्ने कुनै सरोकारै थिएन। अनि, जे नै गरे पनि, उनको रोग निको नहुने रोग हो।" 

"अनि के तिमीहरूले उसलाई येशू प्रभुकहाँ लगेनौ?” उसले सोझै सोध्यो। " तिनीहरू उत्तरतिरबाट र सामुद्री किनारहरूबाट पनि येशूकहाँ आइरहेका छन् भन्ने मैले सुनेको थिएँ। के यो खबर तिमीहरूकोमा कहिल्यै पुगेन?” 
"यो त्यस्तो खालको बिमारी नै कहाँ हो र!" भन्दै म एकछिन चुपचाप बसें; त्यसपछि मैले भनें, “यो त्यस भविष्यवक्ताले निको पार्ने खालको कुनै होइन; तपाईं बुझ्नुहोस्, उनीसँग त दुष्ट आत्मा छ।" 

त्यसपछि के भयो, त्यो मैले विश्वासै गर्न सकिनँ। अरूले गरेजस्तो तर्सिने र जीउ खुम्च्याउनुको सट्टामा त्यो मान्छे बेसरी हाँस्यो ; अनि नवबालक जन्मेकोबाट हुने खुशीयाली, बसन्त वा सूर्योदय र हरेक नयाँ शुरुआतबाट पैदा हुने आनन्द उसको हाँसोमा मिसिएझैं लाग्थ्यो। तर त्यस बेला मैले यसको बारेमा सोच्न सकिनँ, मैले यति सोचें - यो मैले अघि कहिल्यै नसुनेको कस्तो बेजोड़ खुशीको खित्का हो?! 

"उसलाई निको पार्न सक्नुहुन्न!" मान्छेले दोहोर्‍यायो; "केटा, हेर; अनि मलाई आँखा गाढ़ेर हेर।" 
मैले मेरा आँखा उठाएँ, अकमक्क भई मैले उसको शरीरका ठूला- ठूला नील - डामहरू र खतहरूमा आँखा लगाएँ। त्यसपछि मैले उसको अनुहारमा हेरें, रमाहटले रोमान्चित भएको र उसका आँखाहरूमा प्रेमभाव छचल्किरहेको देखें। 

"केटा", उसले भन्यो, 'के तिमीले पर कब्रिस्ताननेर चट्टानमा ती गुफाहरू देख्यौं?" 
"देखें", मैले जवाफ दिएँ। 

"ठीक त्यो त धेरै वर्षसम्म मेरो घर थियो। म एउटा कुव्यवहार सहेर बिग्रेको केटो थिएँ। मैले आमाबुवालाई घृणा गरेर जीवनलाई नै घृणा गरें। मैले दुष्ट आत्माहरूसँग सङ्गत गरेर जसले मलाई दुर्व्यवहार गरेका छन्, तिनीहरूलाई भेट्न खोजें। तर कसैले दुष्टको शक्ति आफ्नो वशमा ल्याउन सक्दैनौ; यसले नै तिमीलाई वशमा पार्छ। अनि मेरो तीतो हृदय दुष्ट आत्माको उर्वर फल्दो भूमि भयो। त्यस दिनदेखि उसो म नरकमा बसें; मेरा साथीहरूले मलाई शहरबाटै खेदेर निकालिदिए; मेरो घर कब्रिस्तान र चट्टानहरूहुँदो थियो; मलाई एउटा दुष्ट आत्मा मात्रै होइन, तर थुप्रै दुष्ट आत्मा लागेको थियो। तिम्री दिदीलाई घृणा नगर, केटा; उसकाई दया गर, उसलाई गहिरो प्रेम गर; किनकि उसको आत्मा अघि नै नरकमा पुगिसकेको छ।" 
अचानकै म डरलाग्दोसँग तर्सिएँ। “तपाईंले के भन्न खोज्नुभएको हो?” मैले बिस्तारै सोधें। “के भयो त?" 

"त्यो म सम्झिनै सक्दिनँ। अरूहरूले त मलाई मैले कराइरहेको, घाउ बनाइरहेको, मलाई साङ्लाले बाँधिइरहेको र मैले आफूलाई ढुङ्गाहरूले काटिरहेका कुराहरू सुनाएका छन्। तर म त केवल दुष्ट आत्माको विरह र एक्लोपना मात्र सम्झन्छु; हामीबाट सबै नै टाढा हुन्थे। त्यहाँ मसँग अर्को भूत लागेको मान्छे पनि थियो। मानिसहरू र जङ्गली जन्तु हामीदेखि भाग्थे, अनि चराहरू उड्थे। त्यहाँ कतै पनि प्रेम थिएन...दुष्ट आत्माहरू धेरै पहिले प्रेमदेखि बरालिएका थिए ... अनि तिनीहरूलाई सदासर्वदा शान्ति छैन; केवल कहिल्यै मेटिएर नजाने प्यास र कताबाट पतित भएका छौं भन्ने सम्झनाबाट पैदा हुने उत्पीड़न मात्र।" म थरथरी कामें अनि ऊदेखि अलि पर हटें। 'दुष्ट आत्मको शक्तिभन्दा ठूलो त कुनै शक्ति नै छैन', मेरी आमाले भन्नुभएको थियो तब ती अब कहाँ बसेका होलान्, यी दुष्ट आत्माहरू? मैले मेरो पछिल्तिर पुलुक्क हेरें; पहराहरू मेरो ठ्याक्कै पछिल्तिर ठाड़े माथिसम्म उठेका थिए र दिउँसो मध्यान्हको घाममा अलिकता झिलझिल देखिन्थे; तर त्यहाँ अरू केही पनि थिएन। 

"तिनीहरू अहिले कहाँ छन्?" म डराउँदै गुनगुनाएँ। "के भयो?" 
उसले अचम्म मान्दै उसको सबै कुरा मैले थाह पाएको होला भनेझैं गरी हेर्‍यो। 
"के भयो?" उसले दोहोर्‍यायो। “किन, सांच्चै येशू प्रभु आउनुभयो त। उहाँले हाम्रै निम्ति ताल पार गर्नुभयो। दुष्ट आत्मा उहाँको सामु टिक्नै सक्दैन; उहाँले हामीलाई स्वतन्त्र पार्नुभयो।" 

म चलहल नगरीकन एकोहोरो हेर्दै बसें। “उहाँले के गर्नुभयो?" मैले सास तानें। “के भयो, मलाई भन्नुहोस्।" 

उसले सुस्केरा हाल्यो। “सम्पूर्ण डेकापोलिसभरि नै मैले यो कुरा बताउन खोजें,” उसले भन्यो, “किनकि त्यही नै गर्न उहाँले मलाई भन्नुभएको हो, तर कसैले ठीक बुझ्दैन। तिनीहरू कहिल्यै नरकमा पुगेका छैनन्; म यो राम्रोसँग सम्झन सक्दिनँ, केवल त्रास, अन्धकार र गोलमाल। अनि त्यसपछि अचानक त्यो सब सकिसकेको थियो र हामी स्वतन्त्र थियौं। कहिलेकहीं त मलाई, हामी एउटा डरलाग्दो गोलघरमा बन्दी बनाउने दुष्टद्वारा हामीले स्वच्छ हावा र ज्योति कस्तो हुन्छ भन्ने नबिर्सिउन्जेलसम्म बाँधिएका थियौं कि जस्तो लाग्छ। तर शहर घेरामा पारियो र बन्दी बनाउनेहरूले आफ्नै प्राणको लागि लड़े; त्रास व्याप्त भयो; विजेता आउनुभयो, र तिनीहरू चिच्च्याउँदै उहाँकै सामुबाट भागे र हामी स्वतन्त्र भयौं।” 

"तर..., तर... त्यो कस्तो थियो?" 
उसले आशा मारेर टाउको हल्लायो। “म तिमीलाई बताउन सक्दिनँ; पक्कै पनि तिमीले बुझ्नेछैनौ। म डाँड़ामा बसिरहेको थिएँ; अनि मेरो तलतिर कहीं कतै एउटा ठूलो खत्र्याक - खुत्रुक, घुराइ र डुबुल्की मारेको आवाज थियो, तर त्यस बेला मैले त्यो याद गरिनँ। कसले मेरो नाङ्गो, रगत बगिरहेको शरीरमाथि लगाउने कपड़ा फ्याँकेको थियो; र वर्षौंवर्षमा पहिलोपटक मेरो वरिपरि शान्त भयो। बौलाहा दौड़ बन्द भएको थियो; मैले आराम गरें र प्रेमले मेरो चारैतिर मलाई चिसो पानीले मैं धोइराखेको थियो र चराहरू गाइरहेका थिए। भयानक तिर्खा मेटियो र अधिका कुराको सम्झना हराइयो; किनभने सबै चीज नै नयाँ गरी शुरु भएका थिए।" 
"तर उहाँले के भन्नुभयो?" 

"मलाई सम्झना छैन। मैले केवल चिच्च्याइरहेको र तछाड़-मछाड़ गरिरहेको मात्रै सुनें। मानिसहरूले मलाई भने उहाँले केवल ती दुष्ट आत्माहरूलाई निस्केर आउनू भन्नुभयो, र साँच्चै तिनीहरू निस्केर आए। स्वर्गमा र पृथ्वीमा अनि नरकमा भएका सबै चीजले उहाँ बोल्नुहुँदा आज्ञापालन गर्नुपर्छ; उहाँ विजेता हुनुहुन्छ।" 
"त्यसपछि तपाईंले के गर्नुभयो त?"  

"म उहाँका पाउमा परें र उहाँलाई दण्डवत गरें। अर्को मान्छे गइसकेको थियो। त्यसपछि गाउँतिरबाट मानिसहरू रिसाउँदै र डराउँदै दौड़ेर आए; किनकि दुष्ट आत्माहरू तिनीहरूका सुँगुरहरूभित्र पसेका थिए र ती सुँगुरहरू सबै नै घचेटिएर तालभित्र डुबेर मरे। तिनीहरूले उहाँलाई गइदिने विन्ती गरे, तर म उहाँसँग टाँसिएँ र उहाँसँगै जाने विन्ती गरें।" 

“उहाँले के भन्नुभयो त?" 
"मलाई लाग्छ, उहाँकहाँ आउनेहरू सबैलाई उहाँले खुशीसाथ निको पार्दै, प्रेम गर्दै र सन्तुष्ट पार्दै बस्नुहुन्थ्यो होला। तर तिनीहरूले उहाँलाई चिनेनन्। तिनीहरूले आफ्ना सुँगुरहरू नै प्यारा माने। यसकारण उहाँ गइहाल्नुभयो; तर मलाई लाग्छ– उहाँले दिन आउनुभएको खबर बताउन नै उहाँले मलाई छोड्नुभएको थियो; यदि तिनीहरूले सुनेका हुँदा हुन् त। 'घर जाऊ', उहाँले भन्नुभयो, 'अनि तिम्रा साथीहरूलाई मैले तिम्रो लागि के गरें र कसरी मैले तिमीमाथि कृपा गरें, सो बताइदेऊ।' 

मैले यसो गर्ने प्रयास गरेको छु। म किनारमा उभिएको थिएँ र डुङ्गा टाढा गइरहेको हेरेको थिएँ। त्यस बेला प्रेम, जीवन र सामर्थ्य सबैले मलाई सदाको लागि छोड्दैछन् भन्ने मलाई लाग्यो। तर तब मेरो बचपनदेखि यता पहिलोपटक मैले गालीलका पहाड़हरूमा अस्ताउन लागेको घामका रङ्गहरू र पानीमा टलक, घाँसमा राता सिउँडीहरू र माटीकोरे चराका पखेटा देखें। साँझ पर्दा बाख्राहरू घर आए, तर मदेखि नभागेर तिनीहरूले मेरो हातमा नाक दले। जब म गाउँभित्र हिँड़ें, तब नानीहरू बाहिर दौड्दै मलाई भेट्न आए र ढोकाहरू खुलै रहे। उहाँ नै जीवन, प्रेम र सुन्दरताको स्रोत हुनुहुन्छ; तर हामी, जसले मुहानहरूबाट चाखेका छौं, हामीले ती चीजहरू जहाँतहीं पाउँछौं। हामी तृप्त भएकाहरू हौं।' 

"अनि जब तपाईंले तिनीहरूलाई बताउनुहुन्छ, के तिनीहरूले तपाईंको कुरामा विश्वास गर्छन्?" 
“धेरैले गर्दैनन्। तिनीहरू सुन्छन् र दङ पर्छन्; तर तिनीहरू अझै पनि तिनीहरूका सुँगुरहरू नै चाहन्छन्। मजस्तो तिनीहरू सबै नरकमा नपुगेसम्म कसैले पनि साँचोसँग बुझ्न सक्नेछैनन्।" 

म त्यस शहरभित्र गइनँ। जे मैले सुनेको थिएँ, त्यसले गर्दा म चलबल भएँ; यसकारण म फेरि डुङ्गामै फर्के, र मेरो खाजा टिपेर आएँ। मैले यसलाई त्यस मानिससँग बाँड़ें र उसले खुशीसाथ, हरेक आनन्द एउटा नयाँ र सुन्दर स्पर्शको अनुभव भएझैं गरी उसको भाग लियो। दुःखित हुँदै मैले उसलाई फेरि भेटौंला भनें; किनकि मेरो विचारमा, ऊचाहिँ मैले कहिल्यै नभेटेको, एकदम आनन्दित मान्छे हो। 

मैले गह्रुङ्गो मन लिएर घरतिर यात्रा गरें, डुङ्गा भसाएँ र छेउछाउको आवत-जावत मान्छेहरूलाई वास्तै नगरीकन म मामाको घरतिर लम्कें। चाड़ सकिसकेको थियो, तर केही फरिसीहरू र सभाघरका अगुवाहरू अझ मेरा मामाको घरमा भेला भएर मेरी माइजुका बुवासँग बातचित गर्दै बसिरहेका थिए। मलाई भित्र जान मन लागेन; यसैले म बगैंचातिर बरालिएँ, जहाँ केटाकेटीहरू किम्बुको रूखमनि भेला भएका थिए, र बीचमा करिब मेरै उमेरकी एउटी केटी रहेछ, जसलाई बिन्यामिनले खूब ध्यान दिएर हेर्दैथियो। 

तिनीहरूलाई खूब आनन्द लाग्थ्यो; अनि म घेरो बाहिर छेउमा उभिएँ, पहिला साह्रै लाज मान्दै, तर बिस्तारै मैले आफूलाई घोलमिल भएको पाएँ। त्यस केटीको हाँसो कुनै नदेखिने आनन्दको मुहानबाट उर्लिएको जस्तो लाग्थ्यो; ऊ अलि अग्ली र काली भए पनि उसले मलाई आयोनको याद दिलाई। उसका आँखाहरू रमाइला र दयाले चाम्केका थिए; र उसको आकर्षक जीवनको कारणले हामी सबैले आफूलाई अरू संवेदनशील हुने, अरू बढ़ी अनुभव पाउने र खुशी हुने आभास पायौं कसरी यस्तो प्राणीको पनि मलाई मन नपरेको त्यस पुरानो सभाघरसँग केही सम्बन्ध हुन सक्छ र? म त सोच्न सक्दिनँ। तर भर्खरै मेरो दिमागमा यस्तो विचार आइरहेको थियो; तब कसैले घरबाट बोलायो। त्यो केटी जुरुक्क उठी। 

"म जानुपर्छ", ऊ रसिलो पाराले बोली, "तर के हामीले राम्रो समय पाएनौं त? एकदिन, चाँड़ै तिमीहरू सबै नै मेरो घरमा आउनुपर्छ र बगैंचामा हामी एउटा प्रीतिभोज गर्नेछौं।” ऊ चउरलाई घामको झुल्कोले झैं पिलिक्क पार गरेर गइसकेकी थिई, र एक-एक गरेर फाट्ट फुट्ट केटाकेटीहरू आ-आफ्ना बाबुआमातिर सुइँकिए। केटीहरू भोज निखाउन भित्र गए, अनि बन्यामिन र म, हामी एक्लै भयौं। 
भनें। 

"त्यो केटी को हो?” मैले ठाडै सोधें। 
"ऊ मेरी हो, सभाघरको प्रधानकी छोरी। ऊ एकदमै भिन्दै छे।" म खिस्स हाँसें। “तिमीले यस्तै सोचेको स्पष्ट देखिन्छ हगि, ”मैले ऊ हाँसेन। “मैले त्यसो भन्न खोजेको होइनँ', उसले गम्भीर भएर जवाफ दियो। “मेरो भनाइको मतलब उसको जीवनमा केही विशेष कुरा घटेको छ; यसैले ऊ फरक छे।" 
"उसलाई के भयो?" 

“अँ, यो कुरा तिमीले मेरी आमा वा हजुरबाको अगाडि कहिल्यै बताउनुहुँदैन नि। उहाँ त यो सबै व्यर्थको बकवाद मात्र हो र ऊ मस्त सुतेकी थिई भन्नुहुन्छ।” 
"अँ, किन नसुतेकी हुनुपर्छ त ऊ?" 
"ऊ सुतेकी थिइन; सबै मानिसहरू जो-जो उसको घरमा थिए, तिनीहरूले ऊ सुतेकी थिइन भन्छन्। अनि यदि ऊ निदाएकी मात्र भएकी भने त, याइरस रुँदै बाहिर कुद्नु र घोप्टो पर्नुपर्ने नै थिएनन्। किनकि उनी सभाघरका प्रधान हुन्।" 
"स्वर्गको कसम" रिसाएर मैले ठाड़ो सोरमा भनें, “तिमीले के-के कुरा गर्दैछौ? को निदाएको थियो? को निदाएको थिएन? अनि किन यो यति चासोको कुरा हो र?" 

बिन्यामिनले धुटुक्क थुक निल्यो र हामीहरू एक्लै छौं भन्ने पक्का गर्न वरिपरि हेर्‍यो। 
"किनभने मेरी मरेकी थिई, उसले कानेखुशी गर्‍यो। "अनि येशूले उसको हात समात्नुभयो र उसलाई फेरि जीवनमा फिर्ता बोलाउनुभयो।" 

अध्‍याय : ११ 

म त्यस रात निदाउन सकिनँ। यतिखेर निक्कै गरम थियो। अनि बिन्यामिन, योएल र मैले आफ्ना गुन्द्रीहरू कौसीमाथि लग्यौं, जहाँ हावा मीठो थियो। दुईटै केटाहरू एकैछिनमा निदाए; तर म धेरै घण्टा तलमाथि उथलपुथल हुँदै, कहिलेकहीं छतको बारमाथि निहुरिन र पानीतिर हेरेर टोलाउन उठ्दै, पल्टिंदै गरिरहें। जूनको किरणले धपक्क, घरहरूका र सभाघरहरूका सेता भित्ताहरूलाई टल्काउँदै र ताललाई चाँदीझैं चम्काउँदै कपर्नहुमको सानो बजारलाई ढाकेको थियो। बासी माछा, झानेका तेल र तालको पानीका गन्धहरू हल्का हावाको झोक्कामा माथि मतिर आइरहे; अनि मैले दुखिरहेको टाउको आफ्ना पाकुराहरूमा अड़ाएँ र विचार गर्न खोजें। तर विचारहरू घुमिरहे, घुमिरहे, जहिले पनि एउटै कुरामा फर्केर आउँदै र अडिँदै र त्यो कुरा किनारको त्यस मान्छेका साधारण शब्दहरू थिएः 'घर जाऊ र भन।' 

मैले वास्तवमै बिन्यामिनका गफहरूमा विश्वास गरेको थिइनँ; तर जुन कुरा मैले गेर्गेसाको किनारमा सुनेको थिएँ, त्यस कुरामा म शङ्का गर्ने सक्दिनथें। त्यसमा आफ्नै सत्यताको छाप थियो; उदाहरणको लागि, यी दुष्ट आत्मा लागेका मानिसदेखि जङ्गली जन्तुहरू लुसुक्क पाखा लागिरहेको कुरा भनौं। मैले अचानक आयोनले एउटा चोट लागेको छाउरा, एउटा भर्खरको, टिठलाग्दो पप्पीलाई लिएर घर आएको सम्झें; तिनले त्यसलाई सड़कतिर लिएर जाँदा त्यसले तिनको अनुहार चाट्यो र तिनको चिउँडोमा नाक ठोसायो। तर ढोकाबाट हाम्रो घरभित्र पसेपछि त्यसको शरीर दह्रो र अररो भयो, मायालाग्दो गरी घ्वाँ - घ्वाँ रुँदै त्यो एउटा कुनातिर भागेको थियो। ढोका खोल्नासाथ त्यसले बाहिरै उधुम मच्चाउन थाल्यो; अनि हामीले त्यसलाई राख्नै सकेनौं। 

'घर जाऊ र भन' मैले मेरो घरको बारेमा सोचें; पीरले दुब्लाएकी, आत्तिएकी मेरी आमा, जसले म घर आएको कुरा शायद कमै ख्याल गर्नुहुन्छ होला; मेरी छटपटाएकी दिदी घिनलाग्दो कुनामा कुप्रुक्क, टाउको लुकाएर, रुंदै, गर्जदै, कहिलेकहीं डरलाग्दो गरी कराउँदै र खलखल रिस काढ्दै होलिन्। अनि त्यसपछि मैले शुरुदेखि नै विश्वास गर्ने आयोनलाई मात्रै सम्झें - अन्धकारमा एउटी सानी मैन बत्ती, र शायद त्यो उज्यालो अहिले निभ्यो कि भन्ने मलाई शङ्का लाग्न थाल्यो। इल्लिरिका तिनको दया र रमाइलोपना सहन सक्दिनथिन् र तिनलाई सजिलै मार्न सक्थिन् होला। अनि म, मैले त तिनलाई एक्लै, असाहय र मृत्युदायी आँधीमा छोड़ेको थिएँ र शायद अब ढिलो भएसकेको थियो। डर र दोष लाग्ने चेतनाले मलाई छोपे; मैले अँगालोमा टाउको घुसारें र कहिले झिसमिसे उज्यालो होला भनी आश गरिबसें। 

आखिरमा म पल्टें र माथि गज्याङ्ग - मज्याङ्ग ताराहरूतिर हेरिरहें। तिनीहरू उदाउनु र अस्ताउनुमा कुन शक्तिले काम गरेको छ? र केले तिनीहरूलाई आ-आफ्नो चक्रमा राखिराखेको छ हँ? म सुतेको हुनुपर्थ्यो; किनकि चालै नपाईकन झिसमिसे उज्यालोले मलाई छकायो, अनि गर्मी- यामको बिहानी रमरम उज्यालोमा म जुरुक्क उठें। म बाहिरका खुड्किलाहरूबाट ढिलो हुने हो कि भनेर डराउँदै तल गएँ; किनकि म मेरा मामालाई ताल-तटमा भेट्टाउन चाहन्थें। 

डाँडाहरूमाथि घाम अझ झुल्केको थिएन र सम्पूर्ण संसार अझै अन्धकारमै चुर्लम्म डुबिरहेको थियो। माछा केलाउने र टोकरीहरू ओसार्ने काममा सघाउन बिन्यामिन तुरुन्तै तलतिर आउँछ होला, तर मेरो भाग्य भए मलाई, मेरा मामासँग खासखास खुसखुस कुरा गर्ने मौका मिल्छ होला; किनकि म उहाँसँग एक्लै कुरा गर्न चाहन्थें। अनि साँच्चै नै त्यतिखेरै जब पहिलो ज्योतिको तेजले मेरो आँखा तिरमिरायो र टाकुराहरूलाई नदेखिने बनायो, तब डुङ्गा अड्याइयो अनि कामदारहरू लमक-लमक किनारतिर हिँड़े। 

"त्यो मेरो अल्छी छोरो कहाँ छ हँ?" मेरा मामाले उग्र भई सोध्नुभयो। “तिमीले उसलाई उठाउनुपर्थ्यो।" 
"ऊ एकछिनमै यहाँ आइपुग्नेछ", मैले जवाफ दिएँ; अनि पक्कै पनि म उसलाई, एउटा सानो फुत्रुक - फुत्रुक गर्ने आकृति घाँसको डिलडिलै दौड़दै आइरहेको देखें। "तर म पहिला तपाईंलाई केही कुरा सोध्न चाहन्छु। मामा, म घर जान्छु ल।" 

उहाँले मतिर हेर्नुभयो। “यति छिटै घरको सम्झनाले पिरोलियौ? कि कोही तिमीसँग ठुस्किएका छन्?" 
मैले आफ्नो टाउको हल्लाएँ, "केही कुराचाँहि भएको छ, मामा; अँ, मैले जानु नै पर्छ।' 

"ठीक छ”, उहाँले भन्नुभयो, “यो कुरा गर्ने बेला अहिले त होइन। डोरीमा झुण्डिहाल त, बाबु; त्यहाँ थुप्रै माछाहरू परेका छन्। यो सबै कुरा मलाई घरमा भन।" " अनि तिम्रो कुरा गर्ने हौ भने हे बिन्यामिन, तिमीले फेरि घामको किरण तिमीमाथि पर्न दिन्छौ भने तिमीलाई थाहै छ, के कुराको आशा गर्ने खै?" 

आफ्नो बाटोमा लाग्ने आश गर्दै मैले हरेक क्षण नै घुड़ा घसेर बेसरी काम गरें, तर मेरा मामाको बगैंचाको धूप घड़ीको छाया, दिउँसोको काम सकिनुअघि नै छोटिइसकेको थियो; तब उहाँलाई मसँग कुरा गर्ने फुर्सद भयो। तर जब हामी अन्तमा नेभाराको रूखको फेदको शीतलमा बस्यौं, तब म त्यति हतारमा थिइनँ। मैले बताउन चाहें, अनि मैले बुझ्न चाहें। “अँ, " मेरा मामाले भन्नुभयो, “यति छिटै किन घर जाने? सभाघरमा योएलले चाँड़ै स्कूल सक्नेछ। तिमी पर्खन सक्दैनौ र?" 

मैले आफ्नो शिर हल्लाएँ। “मामा,” म बम्किएँ, “तपाईं येशूको बारेमा के सोच्नुहुन्छ? हिजो मैले एकजना मान्छेलाई भेटें, उसलाई दुष्ट आत्माहरूले छोपेका थिए; तर येशूले उसलाई निको पार्नुभयो भनेर उसले भन्यो। यदि उहाँसँग दुष्ट आत्माहरूमाथि यस्तो अधिकार छ भने त इल्लिरिकामाथि किन नहुने र? अनि उहाँ कहाँ हुनुहुन्छ?"

"तिनीहरूले उहाँ पाश्चिमतिर सामुद्रिक किनारमा जानुभयो भन्छन्।" मेरा मामाले अड्कल काट्दै बिस्तारै बोल्नुभयो। "म के सोच्छु भन्ने कुरा म आफैलाई थाह छैन, फिलो। यता वरिपरि अचम्म अचम्मका कुराहरू भइरहेका छन्; तर तिमीले ती कुराहरू कहिल्यै तिम्री माइजुको अगाडि बताउनुहुँदैन। सदुकीहरू र फरिसीहरू उनीभित्र दुष्ट आत्मा छ र यी कुराहरू उनले दुष्ट आत्माको शक्तिले गरेका भन्छन्।” 

"तर के दुष्ट आत्माले निको पार्छ, जिउँदो पार्छ र अन्धाका आँखाहरू समेत खोल्छ? यो त अचम्मको दुष्ट आत्मा पो भयो त?" 
"जिउँदो पार्ने? तिमीलाई कसले यसो भन्यो?" 
"बिन्यामिनले उसले मलाई याइरसकी छोरी मेरीको बारेमा बतायो। खेतबारीको हाम्रो भाइले पनि यस्तै सुनेको थियो।" 

मेरा मामाले कुम हल्लाउनुभयो। "ऊ बेहोश अवस्थामा थिई होला; प्रकृतिको संयोगले ताल आफै आफ शान्त भएको हुन सक्छ; मानिसहरू प्रायः बिरामीबाट त निको हुन्छन्। तर उनले सिकाएको मार्गमा मानिसहरूलाई आफ्नो पछि तान्नको निम्ति उनमा केही शक्ति हुनुपर्छ; पत्रुस र अन्द्रियास जो बाटोको तलतिर बस्थे; जाब्दिका छोराहरू, आफ्नो राम्रो डुङ्गासितै; झन् त्यो महसुल उठाउने लेवी पनि, उसलाई गुमाउनु त कुनै घाटा थिएन, तैपनि। यिनीहरू कथाहरूले लट्ठिएर पछि पछि लागेका आइमाई र केटाकेटीहरू त थिएनन्; यिनीहरू त मेरा साथीहरू, गजवसँग व्यापार गर्ने मानिसहरू थिए। 'मेरो पछि लाग' उनले भने; अनि तिनीहरू उठे, आफ्ना जालहरू, आफ्ना डुङ्गाहरू र आफ्ना कमाइ छोड़ेर उनको पछि हिँड़े। तिनीहरूले उनमा के देखे? र यो कस्तो शक्ति हो, जसले यसरी मान्छेहरूलाई तान्न सक्छ?" 

मसँग कुनै जवाफ थिएन र मेरा मामा इनारमाथिको भरेली फूल फुलेका करविरहरूतिर एकोहोरो हेर्दै बस्नुभयो। यसरी उहाँ न्याउरो हुनुभएको मैले कहिल्यै देखेको थिइनँ। 
"तर तपाईं के सोच्नुहुन्छ, मामा?" 

"मलाई थाह छैन, बाबु। एउटा धर्म, जसले एउटा मानिस दयालु, धर्मी र इमानदार हुनुपर्छ भन्छ, यो नटुङ्गिने हातहरू धुवाइ भन्दा, मेरो विचारमा, धेरै राम्रो हो; र जे होस्, यसले कुनै बेकाइदा गर्नेछैन। भित्र आऊ र बाटोको लागि हामी तिमीलाई केही खानेकुरा तयार गरौं। तिमीले चाँड़ै हिँड्नु राम्रो हुन्छ।" 

मेरी माइजु, मबाट छुटकारा पाउनमा खुशी हुनुभएको देखिन्थ्यो; उहाँले एक रास रोटी, ओल्स्याइएका माछा, पनिर र जैतुनहरू पोको पारिदिनुभयो; अनि मेरा मामाले केही रुपियाँ मेरो गोजीमा घुसारिदिनुभयो। “यो तिम्री आमालाई लगेर देऊ,” उहाँले भन्नुभयो। “तिमीले राम्रोसँग काम गरयौ र यति कमायौ;" र मैले थाह पाएँ - उहाँ, योएल र बिन्यामिन मलाई गएको देख्दा साह्रै दुःखित थिए; र मचाहिँ तिनीहरू दुःखित भएका देख्दा खुशी थिएँ। तिनीहरू घरको ढोकामा उभिए, र मैले मुटुमा भक्कानो पारेर तिनीहरूलाई छोड़ें; किनकि बिन्यामिन मेरो भाइजस्तै नजिक, मेरो पहिलो हितैषी साथी थियो र मेरा मामा मेरा निम्ति दोस्रो बाबा हुनुहुन्थ्यो। 

म घर जाँदैछु भन्ने मनमा लिन खोज्दै मैले कपर्नहुममाथिको डाँड़ा उकाली चढ़ें, र मलाई आफू आनन्दित थिएँ कि दुःखित थिएँ भन्ने थाहै थिएन। म एक हिसाबले मेरो बरवाद भएको जीवनमा र मेरो अँध्यारो छायाले ढाकेको घरमा फर्केर गइरहेको थिएँ भने अर्कोतिर म मेरी आमाकहाँ र आयोनकहाँ, समुद्रको स्वच्छ हावामा र नुनिला ज्वरहरूका बास्नाहरूमा फर्केर गइरहेको थिएँ। साथै म जसलाई प्रेम गर्न थालेको थिएँ, त्यसैलाई छोडिरहेको थिएँ म पहिलो डांडाको टाकुरामा उभिएँ र फर्केर मुटु आकारको तालको नीलो टल्काइ र यसका वरिपरिका कुराहरूमा नजर लगाएँ। तालको उतापट्टि मैले त्यस मानिससँग बात गरेको थिएँ, जसको शरीरैभरि दागैदाग थियो, तर उसका आँखाहरू साह्रै निश्चल र खुशी थिए। उत्तरतिर त्यो सानो खाँड़ी थियो, जहाँ बिन्यामिन र मैले त्यस गर्मी यामको बिहानीमा वनभोज खाएका थियौं, र जहाँ गहिरो, नीलो पानी थियो, जहाँ यर्दन नदी तालमा मिल्थ्यो; अनि मेरो ठीक मुन्तिर कपर्नहुमका छानाहरू, टल्किरहेको सभाघर, ताल-तट र घाटमा साना डुङ्गाहरू; त्यसपछि अर्बेल - पर्वत र अनौठा गुफाहरू भएको चोरहरूको उपत्यकादेखि दक्षिणी मोहोड़ामा मग्दाला, गेन्नसरेत साथै तिबेरियसका ठूला, चम्किरहेका घरहरू र रमाइला बगैंचाहरू थिए। हो, यो मेरो जीवनको गजवको मध्यान्तर थियो; तर हालैको लागि मलाई यो अघाएको थियो; म फरक्क फर्केर दामस्कसको राजमार्गतिर उकालो लागें। यतिखेर बिहानको समयमा त्यहाँ सड़कमा थुप्रै मानिसहरू र जनावरहरू थिए; मैले आफैलाई बलियो र साहसिलो महसुस गरें।

मध्यान्हमा म सड़कको छेवैनेर एउटा नेभाराको रुखमन्तिर बसें, र मीठो खाना मजाले खाएँ। आहा म त घर जाँदैथिएँ। 

म त्यस रात त्यही उपत्यकामा सुतें; किनकि मलाई उच्च डाँड़ाहरूमाथिको चिसो हावा पचेको थिएन; अनि घाम झुल्केपछि मैले फेरि यात्रा शुरु गरें। मेरी माइजुको प्रशस्त खानेकुराले बल पाई मैले हिजो चम्किएर पाइला चालें; अनि आज बिहानको गर्मी साह्रै नबढुन्जेल म सकेसम्म धेरैभन्दा धेरै माइल पार गर्न चाहन्थे। म ऊँटहरू र गधाहरूको साथ यात्रा गरिरहेका व्यापारीहरूको जमातसित लागें; किनकि म मेरो गोजीमा भएको पैसाको लागि होशियार थिएँ। तिनीहरूले सहारा दिए, तर तिनीहरू धेरै मिलनसार थिएनन्; किनकि तिनीहरू हिब्रूहरू थिए र मजस्तो सरोफनिसी जवान ठिटोसँग तिनीहरूलाई कुरा गर्ने मन थिएन। 

हामी पश्चिमी गालीलका ठूला-ठूला नाङ्गा डाँडाहरूमाथि लगातार हिँड्दै गयौं र दिन गर्मी र झन् गर्मी हुँदै गयो। तब हामी अन्तिम भन्ज्याङ्गमा पुग्यौं; अनि यहाँ म बसें र व्यापारीहरूलाई अघि जान दिएँ। यहाँदेखि बाटो ओरालो नै ओरालो जान्थ्यो, र त्यहाँ तल मेरो सामु, तटीय मैदान थियो, जहाँ आधाआधी बाली काटेका, सुनौला पहाड़हरूले छेकेका खेतहरू बसेका थिए। तँवालो उठिसकेको थियो र दृश्य सफा थियो; टाढामा मैले नीलोमा हरियो- हरियो समुद्रको आकृति - रेखा देख्न सकें। 

त्यहाँ पाखाहरूहुँदो फूलहरू थिएनन्, केवल खैरा बुटाहरू र ठूला नीला लहोड़ेहरू मात्रै; तर म उठें र फुत्रुक - फुत्रुक हिँड्न थालें; किनकि मैदानमा थोरै सियाँल भए तापनि मैले त्यस रात घर पुग्ने निर्णय गरें। त्यस दिउँसोभरि नै, जब खेतालाहरू र कामदारहरूले शीतलमा आराम गरे, म खुइँ- खुइँ हिँडिरहें। अखिरमा म किनारको रक्षा गर्ने बाँधमा पुगें; त्यतिखेर समुद्रमाथि घाम अस्ताउँदैथियो र नुनिलो, मन ताजा बनाउने स्याँठले मेरो अनुहार हम्क्यो; तर मैले मेरा पाइलाहरू फटाफट चालिनँ; किनकि म एउटा अनौठो त्रासमा अल्झिएँ; म एउटा अपरिचित सामर्थ्यको नजिकै, जसको बारेमा मलाई केही थाह थिएन, मुखामुख परिरहेको छु जस्तो लाग्यो। म रोकिएँ; मैले आफूलाई थरथर काँपिरहेको पाएँ। 

म अघि बढ़ें; अरू मैले के गर्न सक्थें? जब म हाम्रो सड़कमा आइपुगें, तब रात पर्न लागेको थियो र शहर सुनसान थियो। चुकुल लागेका ढोकाहरूको पछाड़ि साना केटाकेटीहरू सुत्थे र थाकेका खेतालाहरू आराम लिन्थे। मछुवाहरू डुङ्गाहरू लिएर बाहिर समुद्रमा गइसकेका थिए र प्यालप्याले चराहरूले चिच्च्याउन छोडिसकेका थिए। म घरमा पुगें र ढोका ढकढक्याएँ। 

एउटी केटीको सोरले भित्रैबाट जवाफ दियो; त्यो मैले चिनिनँ। "त्यहाँ को हो?" उसले सोधी। 

मेरो मुटु डरलाग्दो सँग धड्किन थाल्यो। ऊ को हुन सक्ली? के मेरो परिवारले घर बेच्नुपर्‍यो र टहरोमा बस्न जानुपर्‍यो होला कि? के मेरो शङ्का उपशङ्का ठीकै थियो? अबई, शायद इल्लिरिकाको दुष्ट शक्तिले झम्टेर तिनीहरू सबैलाई विनाश पो गर्‍यो कि? अधीर हुँदै मैले मेरो औलाको ठुङ नै घाउ हुने गरी फलेकमा ढकढक्याएँ। “म फिलो हुँ; इथ्बालको छोरो, घर आको; मलाई भित्र आउन देऊ।” 

एउटी पातली केटीले तुरुन्तै ढोका खोली, जो धक मान्दै आफ्नो पछाड़ि उज्यालोतिर पारेर उभिएकी थिई; यसैले मैले उसको अनुहार देख्न सकिनँ। मेरी आमा र आयोन दौड्दै आए, आफ्ना हातहरूले मलाई अँगाल्दै, मलाई देखेर अचम्म मान्दै र मलाई भित्र तान्दै लगे; त्यस बेला ऊ छेउमा लागी; तर म लत्रक्क परेर र छक्क पर्दै तिनीहरूका कुमहरू- माथि भित्तातिर एकोहोरो हेर्दै उभिएँ। सानो तेलको बत्ती हावाको झोक्कामा धिपधिप गर्दै कोठामा अन्धकार फ्याँकेर निभ्न लाग्यो; तर त्यो कालो अन्धकार थिएन। बत्तीको उज्यालो एकछिनसम्म त्यस अपरिचित केटीको अनुहारमा चम्कियो, जो मलाई अभिवादन गर्न पर्खदै छेउमा चुपचाप उभिई; एउटी सुन्दर, हाँसिला आँखाहरू र एउटा लजालु मुस्कान लिएकी केटी, र यस बेला मैले उनलाई चिनें। अँ, यिनी त मेरी दिदी इल्लिरिका थिइन्। 

अध्‍याय : १२ 

मेरो विचारमा, घरमा के भएको थियो, सो मलाई थाह थियो, तर त्यस रातमा मैले थोरै कुराहरू मात्रै सोधें। किनकि मैले के महसुस गरें भने उनीहरूको सबै स्वागत मलाई अनौठो लाग्थ्यो, मेरी आमा र इल्लिरिका मलाई परदेशीजस्तै लाग्थे, र मचाहिँ एउटा शान्तिको उपस्थितिमा बसिरहेको थिएँ, जसमा मेरो कुनै हिस्सा नै थिएन। यसबाहेक मेरो टाउको गर्मी र थकाइले रिंगटा लागेको थियो र म केवल सुल चाहें। उनीहरूले हस्याङ-फस्याङ गर्दै तयार गरेको साधारण खाना लोभ लागेर मैले खाएँ, त्यसपछि म पल्टें र मैले बितेका दिनहरूमा गरेझैं जगेड़ा माछा मार्ने सामानहरूमाथि सुतें। बिहान आयोनले मलाई सबै कुरा बताउनेछिन्; तिनी धन्न फेरिएकी रहिनछिन्, र यस्तै-यस्तै सान्त्वना दिने विचारहरूसँगै म मस्त निदाएँ; अनि जब म भोलिपल्ट बिहान बिउँझें, के यी सबै कुराहरू सपना त थिएनन् कि भनी म अलमलमा परें। मैले डराउँदै इल्लिरिका बसेको त्यही कालो कुनातिर पुलुक्क हेरें, तर त्यो खाली थियो र त्यहाँ घरमा पत्याउनै नसकिने सरसफाइ र ताजापन थियो। मेरी आमा मतिर पछाड़ि फर्केर जाँठोमा अन्न पिँध्दै बस्नुभयो; त्यसै बेला ढोका खुल्यो र घामको. ज्योति हवात्त भित्र छिन्यो र यसको साथमा मेरा दुई दिदीबहिनीहरू दुवैले आ-आफ्ना टाउकोमा माटाका गाग्रा बोकेर आए। 

मैले इल्लिरिकालाई आँखा गाढ़ेर हेरें; राम्री र पातली, कामले र घामले राती भएकी। उनी मतिर आइन् र मलाई म्वाइँ खाइन्; र जब उनले त्यसो गरिन्, मैले उनका पाखुराहरूमा खतहरू देखें। अचम्म मान्दै मेरो दिमागमा आएको पहिलो कुरो मैले प्याच्चै, होशै नराखी भनें “तिमीलाई राम्रो भएको देख्न पाउँदा खुशी लाग्यो, इल्लिरिका।" 
"हो, धन्यवाद!” उनको आवाजमा धक थियो। "हो, उहाँ आउनुभयो उहाँले मलाई निको पार्नुभयो।' 

उनको गहिरो, वास्तविक आनन्दको अनुहारले मलाई भयभीत बनायो। त्यो हेराइ मैले अघि पनि देखेको थिएँ। म प्रायः सोमतै नराखीकन आयोनतिर फर्के। 

"आयोन, " मैले भनें। " त्यो माटोको गाग्रो तल राख र मसँग आऊ। यस बिहान मलाई तिम्रो खाँचो छ।" 

केही सोधुँला झैं तिनी आमातिर फर्किन्। "शिला बाला टिप्ने के भयो?" तिनले सोधिन्। “के म पछि आऊँ?" 
"शिला - बाला टिप्ने!" म चिच्च्याएँ। " के यसै गरी तिमीहरू बाँच्यौ? के हामी त्यति साह्रो गरिब छौं?" मैले मेरो कम्मरको पेटीमा भएको पैसा सम्झें र त्यो मेरी आमातिर हुत्त्याइदिएँ। “मेरो ज्याला," मैले भनें। " मैले काम नपाउन्जेलसम्म त्यसले हामीलाई धान्छ। आऊ, आयोन।" 

म अघि हिँड़ें र तिनी, मेरा लामा कदमहरूलाई पछ्याउन पहिलाजस्तै छिटो-छिटो हिँड्दै पछ्याइन्। मैले तिनलाई जैतुनको एउटा बगैंचातिर लगें, जहाँ चाँदीजस्ता पातहरूको बुट्टादार सियाँलमा एउटा बूढ़ो, बटारिएको जरामाथि हामी बस्यौं। 
"अब" मैले आदेश दिएँ, “मलाई सबै कुरा भन। घरमा के-के भइरहेको थियो, म जान्न चाहन्छु।" 

आयोनले घुड़ामा हात बाँधिन् र मैले एकदमै कुनै बाधा नपुस्याईकन सुनें; किनकि तिनले कुनै शङ्का नलिई अर्थात् 'किन कसरी' नसोधीकन सोझै कुरा बताइदिइन्। मैले घर छोड़ेपछि घरको स्थिति झन् खराब, झन् खराब हुँदै गएको थियो। झाँक्री घरि - घिर नै आयो, र मेरी आमाले झन् धेरै न धेरै पैसा तिर्दै जानुभयो; तर जतिपल्ट त्यो आयो, त्यति नै इल्लिरिका झन् झन् बेसुरकी हुँदै गइन्। जब जौको कटनी शुरु भयो, तब तिनीहरूले उनलाई भित्र थुन्न ढोका बाहिर ठूलो चुकुल लगाए। मेरी आमा र आयोन शिला टिप्न जान्थे; कहिलेकहीं घर आउँदा त इल्लिरिकालाई घाउ नै घाउ भएकी र रगत बगिरहेको अनि घर भतभुङ्ग पारिएको हुन्थ्यो। 

"अनि त्यतिखेर मानिसहरू सधैँ येशूकहाँ गइरहेका र निको भएर फर्किरहेका थिए, " आयोनले भनिन्। "मैले आमालाई भनेको भन्यै गरें, तर उहाँले सुन्नु नै भएन।" 
"किन नि?" 

"उहाँ भन्नुहुन्थ्योः इल्लिरिकालाई उहाँकहाँ लान नै सकिंदैन। किनकि कसैले उहाँको नाउँ लियो भने उनी बेसरी चिच्च्याउँछिन् र हामीलाई गाली गर्छिन् वा अझ हामीलाई नै मार्न खोज्छिन्। तर मैले त्यो सानो केटालाई सम्झिरहें। त्यसपछि एकदिन जब म इनारमा गएँ, सड़कहरू त एकदमै सुनसान थिए। 'सबै मानिसहरू कता गएका होलान्?' मैले कसैलाई सोधें तब तिनीहरूले भने, 'तिनीहरू भविष्यवक्ता येशूलाई हेर्न गएका छन्। उहाँ किनारको मूल बाटो भएर आउँदै हुनुहुन्छ। 

मूल-तिनीहरूले उहाँ सिडोनतिर जाँदै हुनुहुन्छ भन्छन्।' 'के यता, इज्राएल- बाहिर?' 'हो, यता।' मैले आमालाई सोधिनँ; मैले गाग्रो घरको पछाड़ि छोड़ें र म कुदें। त्यहाँ यति थुप्रै मानिसहरू पर्खिरहेका थिए र जब उहाँ आउनुभयो, त्यहाँ उहाँको वरिपरि थुप्रै मानिसहरू थिए; मैले बल्लै उहाँलाई देख्न सकें। नजिक पुग्न त सक्दै सकिन्नथियो; तर म एउटा ठूलो ढुङ्गामाथि चढेर उभिएँ।” 

"तर यदि त्यहाँ त्यस्तो भीड़ थियो भने तिमीले कसरी उहाँ कुनचाहिँ हुनुहुन्छ भनेर चिन्यौ त?" 
तिनी छक्क परेकी देखिन्थिन्। "अहो, फिलो, उहाँलाई तिमी झुक्किनै सक्दैनौ; उहाँ अरू जो पाए त्यहीजस्तो कहाँ हुनुहुन्छ र! यसबाहेक उहाँले मलाई यस ढुङ्गामाथि उभिइरहेको देख्नुभयो अनि उहाँ हाँस्नुभयो, त्यसपछि मैले त थाह पाएँ।" 
" तिमीले के थाह पायौ?" 
“उहाँले इल्लिरिकालाई निको पार्न सक्नुहुन्छ भन्ने कुरा।" 
"तर कसरी तिमीले थाह पायौ? के तिमीले उहाँलाई सोध्यौ?" 
"अहो, होइन; म भीड़हरूभित्र कहिल्यै पुग्न सक्दिनथें। अचानक मैले थाह पाएँ, म मुखले त्यो खुलाएर भन्नै सक्दिनँ। यदि तिमीले उहाँलाई देख्यौ भने तिमीले पनि थाह पाउनेछौ।" 

त्यस बेला ढुक्क हुँदै तिनी चुपचाप भइन् मैले तिनीतिर दृष्टि लाएर हेरें। मैले त्यो मुखाकृति बुझ्न लागिसकेको थिएँ; तिनी आफूले उहाँको अनुहार देखेको जस्तै मुद्रामा देखिन्थिन्; एउटा नानीले सधैं हेरिरहन सक्ने जस्तै गरी; र मैले मेरो छटपटिमा मन तुलबुल भएर रिस र ग्लानी महसुस गरें। 
"बिउँझ न, " मैले चर्को सोरमा भनें। “तिमीले के गरयौ।” 

"म घरतिर दौड़ें र आमालाई भनें अनि यस बेला उहाँले मैले साँचो कुरा नै बोलिरहेको थिएँ भन्ने थाह पाउनुभयो। इल्लिरिका कराइरहेकी र चिच्च्याइरहेकी थिइन्; यसकारण आमाले ढोकामा आग्लो लगाउनुभयो र मलाई बाहिर बस्न भन्नुभयो। यसैले म बसें र आमा जानुभयो।" 
“के भयो त? के उहाँ आउनुभयो?" 

"अहो, होइन; आमा उहाँकहाँ नै जानुभयो। रुँदै र चिच्च्याउँदै आमाले उहाँलाई सड़कहुँदो पछ्याउनुभयो; अन्तमा उहाँ रोकिनुभयो र आमासँग बोल्नुभयो, र आमाले पनि थाह पाउनुभयो।" 
" तर इल्लिरिकाको बारेमा के- कसो हँ?" 

"म साँच्चिकै डराएको थिएँ, फिलो। उहाँ नजिकै हुनुहुन्थ्यो भन्ने कुरा उनले थाह पाए जस्तो थियो; अनि उनले ढोकै फुटाउँछिन् कि भनेर म आत्तिएको थिएँ। सबैजना भागे; अनि म एक्लै बाँकी रहें। तब अचानक त्यहाँ डरलाग्दो चिच्च्याहट भयो; त्यसपछि सबै शान्त भयो। मैले सोचें - उनी मरेकी होलिन् र म रुन थालें; तर मैले ढोका खोल्ने हिम्मत गरिनँ। आमा फर्केर नआउन्जेलसम्म म बसिरहें।" 
"के आमा डराउनुभएको थियो?" 

"अहं, आमाले उहाँसँग कुरा गर्नुभएको थियो, र थाह पाउनुभयो। उनका सबै कपड़ाहरू च्यातिएर इल्लिरिका भुइँमा लडिरहेकी थिइन्, तर उनी मस्त निदाएकी थिइन्। तब हामी दुवैजनाले एकैपटकमा थाह पायौं। उनी गनगन गरिरहेकी र सुसाइरहेकी थिइनन्; उनी शान्तले सुतिरहेकी थिइन्, जस्तै... जस्तै हामी निदाउँछौं।” 

"अनि, उनी बिउँभेपछि के भयो त? " 
"त्यस रात उनी बिउँझिनन् जस्तो लाग्छ मलाई। मैले पर्खने सकिनँ। उनी ठीक भएकी देख्ने बित्तिकै म दौड़ें। " 
"तिमी दौड्यौ? कतातिर नि?" 

"कता जस्तो लाग्छ, तिमीलाई?" आयोनका आँखाहरू चम्किरहेका थिए। "म सांच्चै साइरेनीकहाँ दौड़ें। मैले ढोका धकेलेर उनकै कोठामा कुदें र उनलाई आफ्नो काठी कस्नू र अर्को दिन बिहान उनको पतिलाई सड़कमा लिएर जानू र भीड़हरू कहाँ गएका छन्, सो पत्ता लगाउनू भनें। मलाई उनको पति अलग्गै बस्नुपर्थ्यो भन्ने थाह थियो, तर मैले उनलाई अहिलेदेखि नै ताती हाल्नू र जसरी भए पनि उहाँलाई भेट्टाउनू भनें। उनी रुन लागिन्, तर म घर फर्किन चाहें; यसकारण मैले उनलाई त्यत्तिकै छोड़ें। तर जब म भर्‍याङको फेदमा पुगें, तब मैले उनले नोकरहरूलाई बोलाइरहेकी सुनें। 

"जब तिमी घर पुग्यौ, के भयो?" 
"आमा र इल्लिरिका सुतिरहेका थिए, तर सबै चीज नै फरकजस्तो लाग्थ्यो। म पनि सुतें; अनि म अब फेरि डराइनँ। बिहान, आमा र म उठ्यौं, अनि म इनारमा गएँ; तर इल्लिरिका अझै सुतिरहेकी थिइन्। त्यस दिन म एक्लै शिला बटुल्न गएँ।" 

"तर किन तिमीले शिला टिप्न जानुपर्थ्यो? यस डुङ्गाको पैसा के भयो त? पक्कै पनि आमाले यो सबै झाँक्रीलाई त दिनुभएन होला?" आयोनले आफ्नो कुम हल्लाइन्। 'मलाई, हिरामले उहाँलाई धेरै पैसा दियो जस्तो लाग्दैन। उसले उहाँलाई जति दिन मन लाग्यो, त्यति मात्रै दियो; र आमाले मान्नैपर्‍यो; किनभने झाँक्रीले उहाँलाई श्राप देला भनेर उहाँ साह्रै डराउनुभएको थियो। तर हामीले कामचलाउ गर्‍यौं। जे होस्, जब म घर आएँ, तब ढोका खुलै थियो र इल्लिरिका अलि भित्र बसिरहेकी थिइन्। आमाले उनलाई नुहाइदिनुभएको थियो र उनको कपाल कोरिदिनुभएको, उनका घाउहरूमा र काटेका चोटहरूमा तेल लगाइ- दिनुभएको र उनलाई सफा, सेतो लुगा पहिराउनुभएको थियो। उनी राम्री देखिन्थिन्। म दौड़ेर उनीकहाँ गएँ अनि उनी हाँसिन् र मलाई गम्म अँगालो हालिन्। अर्को दिन उनी मसँगै इनारमा आइन्।" 
" के सबैजना भाग्यो?" 

"हो, तर म उनीहरूको पछि पछि दौड़ें र येशूले उनलाई निको पार्नुभएको छ भनेर तिनीहरूलाई भनें; तब तिनीहरू फर्केर आए। धेरै मानिसहरू निको भएका छन् र थुप्रै मानिसहरूले अब उहाँमा विश्वास गर्छन्। तिमीले यसलाई रोक्न सक्दैनौ, जब अन्धाहरू देख्छन्, दुष्ट आत्माहरू निकालिन्छन् र कोरीहरू निको पारिन्छन् भने त।" 
"तर के कोरी निको पारियो?" 

"ओहो अँ, म तिमीलाई त्यो घटना बताउन लागिरहेकै थिएँ। म घर पुगेको एकैछिनपछि दुईजना नोकरहरू ढोकाको सामु आइपुगे। तिनीहरूले एउटा सेकुवा, खान तयार पारिएको पाठो, रोटीहरू, फलफूल, तीलका केकहरू र दाखमद्यका भाँडाहरू बोके। अनि के, तिमीलाई थाह छ, फिलो?" तिनको अनुहारमा हाँसोले खोपिल्टो पस्यो, “यी चीज सबै नै मेरो लागि रे! यी चीजहरू तिनीहरूले साइरेनीको घरमा मनाइरहेको ठूलो भोजको भाग थिए; किनभने उनको पति घरमा आएको थियो; अनि तिनीहरूले भन्थे, यो मेरै कारणले गर्दा हो रे। हामीसँग गजवको अवसर थियो। हामीले अस्टरतीको आमा र बुवालाई बोलायौं अनि धन्नै धन्नै पूरै रात हामी बात मार्दै र हाँस्दै, खाँदै र पिउँदै बस्यौं। मलाई तिमी पनि यहाँ भएको भए हुन्थ्यो जस्तो लाग्यो।” 
"के इल्लिरिकाले गफ गरिन् र हाँसिन्?" 

"धेरै होइन; उनी एकदमै शान्त छिन्। उनले विशेष गरी ढोका बाहिरका चीजहरूलाई, तिनलाई पहिले कहिल्यै नदेखेझैं गरी हेर्छिन्; उनी ठ्याक्कै, भर्खरै जन्मेकी नानीजस्तै छिन्; के तिमीले मैले भनेको बुझ्छौ।" 
तिनले भन्न खोजेको मैले राम्ररी बुझें; मैले अरूहरूलाई पनि देखेको थिएँ; जस्तै गादारेनी, मेरी र अहिले इल्लिरिका; तर यसमा खुशी हुने कारण के थियो र? मेरा बाबा बितिसक्नुभएको थियो; हामी असाध्यै गरिब थियौं, र त्योभन्दा पनि झन् तीतो कुरो त मुटु घोचे पीर - हिरामले कम्ति दाममा मेरो डुङ्गा पाएको छ। मेरो घृणा उर्लेर आयो र मेरो घोक्रो अँठ्याइयो; र मैले हिरामलाई बदला नदिएसम्म म कहिल्यै रमाउन सक्दिनँ भन्ने 
कुरा मलाई थाह भयो। मैले रिसले दाह्रा किटें र जैतुनको रूखमा लात हानें। आयोन छक्क परेर मलाई हेरिन्। 

"के भयो, फिलो?" तिनले सोधिन्। "इल्लिरिकालाई राम्रै भएकोमा तिमीलाई खुशी छैन?” 
"पक्का नै म खुशी छु।" मैले ठाड़ो जवाफ दिएँ। “तर संसारमा त्यस भविष्यवक्ताबाहेक अरू चीजहरू पनि छन् नि; तर केही मानिसहरूले आफ्नो नाकदेखि टाढा देखेकै छैनन् कि जस्तो लाग्छ।" म उठें र अगाड़ि लम्किएँ; किनभने म तिनको अनुहारको शान्ति मरेको अथवा यस ठक्करले गर्दा तिनका आँखामा झल्कने वरर्र आँसु म हेर्न चाहन्नथें। जब म त्यस बगैंचाको छेउमा पुगें, तब तिनी मलाई पछ्याउँदैछिन् कि भनेर हेर्न म फरक्क फर्के, तर तिनी अर्को दिशातिर आमासँगै शिला टिज दौड़ेकी थिइन्। 

म घर गइनँ; मेरो रिसले मलाई बिल्दैथियो। म आयोनसँग रिसाएको थिएँ; किनकि तिनले मलाई एक्लै छोड़ेकी थिइन्। तिनलाई चोट पुर्‍याएकोमा म आफैसँग रिसाएको थिएँ, साथै हिरामसँग अति रिसाएको थिएँ; यदि त्यस बखत मैले उसलाई भेट्टाएको भए मैले उसको घाँटी समातेर रेल्थें होला। फगत म कहाँ गइरहेको थिएँ भन्ने थाह नपाएर म किनारतिर लागें; त्यही ठाउँको लागि कपर्नहुममा हुँदा मैले खूबै आशा गरें, जब जालहरूमा मैले पसिना बगाउँदै र स्याँ स्याँ हुनेसम्म काम गर्थे। तर आज समुद्रको गन्धमा मलाई शीतल तुल्याउने कुनै तागत थिएन। म कहाँ जाँदैछु भन्ने ख्यालै नगरी मैले मुरमुरिएर बालुवामा लात हानें; तब एउटा मिलनसार सोरले भन्यो, “अँ फिलो, फेरि तिमी हामीकहाँ फर्केर आयौ? यति लामो समयसम्म तिमी कहाँ गएका थियौ?” 

मैले झुलुक्क आँखा उठाएर हेरें। यिनी मेरा बाबाका साथी, त्यो अग्लो दाह्रीवाल पौवा - कुरुवा थिए, जसको बुद्धिमान् सल्लाहले त्यस डरलाग्दो आँधीबेहरी पछाड़िको रातमा इल्लिरिकाको जीवन बाँचेको थियो। ज्ञानी भएर मैले उनको हातमा म्वाईं खाएँ, अनि उनले आफ्नो त्यो हात मेरो कांधमाथि राखे। 

“तिमी कहाँ गएका थियौ, फिलो? मैले त तिमी इज्राएल गएका छौ भन्ने सुनें। तिम्री आमा र दिदीबहिनीहरूलाई तिम्रो साह्रै खाँचो थियो।" म लाजले रातो भएँ र भुइँतिर हेरें। “म मेरा मामाकहाँ कपर्नहुम गएँ। म तालमा माछा मारिरहेको थिएँ। हिजो साँझ मेरो ज्याला लिएर म घर आएँ।" 

"त्यो त राम्रो हो। अब तिमीले बस्नुपर्छ र तिम्रा बाबाले गर्नुभएको जस्तै तिमीले तिनीहरूको लागि काम गर्नुपर्छ। के तिमी हिरामको मेलोमा जान्छौ?" 

उनको सोरमा मैले केही थोरै दर्दको अनुभूति महसुस गरें; अनि मैले जोड़ले टाउको हल्लाएँ। “अहँ, म कहिल्यै जान्नँ" मैले गुनगुनाएँ। "त्यसले मेरी आमालाई मेरा बाबाको डुङ्गा अति सस्तोमा त्यसैलाई बेच्ने बाध्य बनायो। त्यसले जति दियो, उहाँले त्यति लिनुपर्छ भन्ने त्यसलाई थाह थियो। त्यो एउटा चोर र गरिब मारुवा हो।" 

ती मानिस भावुक देखिए। "अनि अहिले, ऊ एक धनी मान्छे भयो,” उनले भने। “उसको बुवा मस्यो, धेरै पहिले त होइन, र उसलाई राम्रो पैत्रिक सम्पत्ति छोड्यो। उसले अरू दुईटा डुङ्गा किनेको छ; यदि तिमी किनारमा जान्छौ भने तिमीले तिनलाई बालुवामा अडिरहेका देख्नेछौ। तर मेरो विचारमा, तिमीले अर्कै मालिक खोज्नु बुद्धिमानी हुन्छ। उसको दुष्ट प्रभाव छ र उसका कामदारहरूले नै उसलाई घृणा गर्छन्।" 

मैले उनलाई धन्यवाद दिएर किनारदेखि सड़कतिर फर्के; त्यो किनार अहिले मेरो लागि बिटुलो पारिएको जस्तो थियो। म मेरा बाबाको डुङ्गा नयाँ अलकत्रा लगाइएको र मर्मत गरिएको अवस्थामा, यसमा शङ्का छैन, त्यस दुष्ट भतुवा कुकुरको हातमा देखेर म मन थाम्नै सक्दिनँ। घरतिर जाने बाटोमा मैले कुनै केही देखिनँ; किनकि मेरो दिमाग डरलाग्दा योजनाहरूले भरिएको थियो। म त्यसको डुङ्गामा प्वालहरू खोजेछु र त्यसलाई खतम गर्नेछु म त्यसको घर जलाइदिनेछु, म त्यसको जाल काटेर प्वालैप्वाल पारिदिनेछु र सम्भव भयो भने त्यसको घाँटीमा पनि यसरी नै। व्यर्थैको रिसले लट्ठ भई म घर पुगें र ढोका खोल्न लात हानें; मैले इल्लिरिकालाई आफै घरका धन्दाहरू गरिरहेकी र शिला टिप्नेहरूसँग भेट्नलाई तयार भएर बसिरहेकी भेट्टाएँ। 

यी शान्त, राम्री केटी, जसले मलाई प्रेमसाथ अभिवादन गरेकी थिइन्, यिनीसँग भन्दा म पुरानो इल्लिरिकासँग बढ़ी मिल्नेथिएँ। “आऊ, फिलो,” उनले भनिन्, “तिमीले खाजा खाएका छैनौ; मलाई तिम्रो सत्कार गर्न देऊ।" अनि म उनले एउटा पूरा बढेको मानिसलाई दिने मानले मसित व्यवहार गरेकोमा मक्ख परें; म बसें र उनलाई एउटा आइमाईले गरेजस्तै मेरा हातखुट्टाहरू धुनको लागि पानी ल्याउन दिएँ। त्यसपछि उनले ताजा रोटी र जैतुनहरू मेरो अगाडि राखिन् र एक कचौरा मही खन्याइन्। अझ म अचम्ममा परेको थिएँ; किनकि उनी अझ मेरो लागि नचिनेको मान्छेजस्तै लाग्थिन् र केही छिनपछि मैले उनलाई मसँगै बस्ने इसारा गरें। उनलाई अलिकति लाज लागेन। उनी शोभापूर्ण र निश्चयता- साथ हिँड्थिन्; उनले मलाई सोझै अनुहारमा हेरिन्। 

"के आयोन शिला टिप्न गएकी छिन्?” उनले सोधिन्। “मलाई लाग्छ, तिमीहरू दुईजना पर हुँदा तिमी यहाँ हामीसँग नभएको बेलामा जे भएको थियो, त्यो सबै नै आयोनले बताइन् होला। तर तिमी फर्केर आएको राम्रो भयो, फिलो; हामीलाई तिम्रो खाँचो छ।" 

"आयोनले मलाई, तिनलाई जति थाह थियो, त्यति भनिन्, ” मैले बिस्तारै भनें। “तर अझ केही सोध्ने कुराहरू छन्, जुनचाहिँ म तिमीलाई सोध्न चाहन्छु।" 

“यसो हो भने ती कुराहरू सोध न, फिलो,” उनले जवाफ दिइन्। "मैले थाह पाएको सबै म तिमीलाई भन्नेछु।” 
“अँ, " म बोलें, “जब त्यो भयो, तिमी एक्लै घरमा थियौ। के तिमीले मलाई खास के भएको थियो, भन्न सक्छ्यौ?" 

उनले आफ्नो निधार खुम्च्याइन् अनि उनले लुकाउने कुनै कुरै छैन भन्ने मैले थाह पाएँ। अब उनले मलाई, उनले सम्‍झे जति सबै साँचो गरी र प्रष्टसँग भन्नेछिन्। मैले आयोनका शब्दहरू सम्झें: 'उनी भर्खरै जन्मेकी नानीजस्तै छिन्।' 

"यो भन्न त्यति सजिलो छैन, फिलो; किनभने अब त्यो आत्मा निस्केर गएको छ; अब त्यसको सम्झना एकदमै के हो, के हो जस्तो छ। म डर र त्रास अनि मूर्च्छा पार्ने गर्मी मात्रै सम्झन्छु। दुष्ट आत्मा कस्तो हुन्छ? ठीक त्यस्तै; त्यसले आफ्नो विषले तिम्रो सम्पूर्ण जीवनलाई दूषित पार्छ र तिम्रो हृदय पूरा सुकाउँछ। जुन थोकको तिर्सना तिमीले गर्दछौ, त्यही तिमीले कहिल्यै पाउनेछैनौ; अनि जे तिमीले घृणा गर्छौ, त्यही तिमीले अँठ्याउनेछौ!” 
"तर तिमी के चाहन्थ्यौ?" 
"मैले त्यो नपाएसम्म मलाई थाह थिएन। म अहिले त्यो मानिसजस्तो छु, जसले सधैं साह्रै तिर्खाएर एउटा चिसो पानीको मुहान भेट्टाएर त्यसबाट टन्न पिउँछ अनि अझ पिउँछ; तर यसो गरे तापनि म सदा तृप्त पनि भएको छ।" 
"तर के भयो?" 
“म तिमीलाई बताउनै सक्दिनँ। एकछिन त पूरै बहुलही र आतङ्क थियो र अर्कै क्षण सबै गइसकेको थियो। मलाई चोट लागेर मेरो जीउबाट रगत बग्दै म भुइँमा पल्टें, तर म एक्लै थिएँ। म निको पारिएकी थिएँ र दुष्ट आत्माले मलाई छोड़ेको थियो; त्यति मात्र होइन्, म शान्तिले भरिएकी थिएँ, र दुष्ट आत्मा कहिल्यै फर्केर आउन सक्दैन भन्ने मलाई थाह भयो। किनभने उहाँले मलाई छुनुभएको थियो। त्यसपछि म सुतें।" 
"तिमीले के भन्न खोजेकी दिदी? कसले तिमीलाई छोयो?" "किन र? येशूले, पक्कै हो, प्रभुले।" 
"येशूले? आयोनको कुराअनुसार त उहाँले किनारको मूल बाटो कहिल्यै छोड्नुभएन रे।" 

उनी हाँसिन्। "के यो तिम्रो लागि अचम्मलाग्दो छ, फिरसी?" उनले सोधिन्। "के ग्रीकहरूले डिमिट्री देवीलाई शारीरिक रूपमा देखे र? ता पनि तिनकी आगमनमा पृथ्वीले आफ्नो फसलहरू उमार्छ भन्ने कुरा तिनीहरूले विश्वास गर्छन्। के अप्पोलो कहिल्यै तिनीहरूकहाँ देखा परे र? तर जब तिनीहरूले घाम झुल्केको देख्छन्, तब उनले आफ्नो बग्गी आकाश - वारिपारि कुदाउँछन् भनी तिनीहरूले विश्वास गर्छन्। के यहूदीहरूले कहिल्यै उनीहरूका यहोवालाई देखेका छन् र? तापनि उहाँले उनीहरूको नजिकै हुनुहुन्छ र उनीहरूको पक्षमा काम गर्नुहुन्छ भनी उनीहरूले गर्व गर्दैनन् र? अनि के येशूले एउटा अधिकारको वचन बोलेर मलाई बेसहारा छोड़ेर जानुहुनेछ र? होइन, निश्चय त्यस दुष्ट आत्माले मलाई छोड़ेको छ; निश्चय नै उहाँको शान्तिको आत्माले मभित्र वास गर्नुभएको छ। अनि यो शक्तिचाहिँ दुष्ट आत्माभन्दा कति हो कति शक्तिशाली छ। मलाई लाग्छ, संसारको सबैभन्दा ठूलो शक्ति यही हो।” उनको बुद्धिमा म वाल्ल परें। तर दुष्ट आत्माको पन्जामा पर्दा पनि उनलाई यो कुरा सधैँ थाह थियो। 

"तर अपोल्लो यहोवा यी तिमीले भनिरहेकाहरू त ईश्वरहरू हुन्,” मेरो दम बढेर मैले भनें, “यदि यस्ता कुराहरूमा तिमीले विश्वास गछ्र्यौ भने; तर यो भविष्यवक्ता, तिनीहरू उनी नासरी हुन् भन्छन् नि।" 

उनले सोझो मतिर हेरिन् र हाँसिन्, अनि त्यो हाँसो मैले पहिला पनि देखेको थिएँ र त्यससित मैले हारें; किनकि त्यसको सामु कुनै घृणा पनि टिक्न सकेन। जब उनी बोलिन्, तब जीवन, प्रेम र सुन्दरताको सम्पूर्ण सामर्थ्य उनीबाट बहिरह्यो। “उहाँ मेरा परमेश्वर हुनुहुन्छ,” उनले भनिन्। 

अध्‍याय : १३ 

हाम्रो भाग्यको ज्वारभाटा फर्केर आयो। मेरा मामाले मेरी आमालाई मलाई दिनुपर्ने ज्याला भन्दा धेरै पैसा पठाउनुभएको थियो; अनि इल्लिरिका यी थिइन्, जसले आफ्नो बुद्धि र दूरदृष्टिले कपड़ा बुन्ने एउटा सानो तान किन्ने सल्लाह दिइन्। 

सिपीकीराहरू जम्मा पारेर बैजनी झोल निचोरेर धागाहरू रङ्गाउने काम टायरमा एकदमै मौलाएको थियो; किनकि साम्राज्यको यस क्षेत्रकै सबै उच्च पदाधिकारी र धनी मानिसहरू खानदानको चिन्ह स्वरूप बैजनी कपड़ा लगाउँथे; अनि घरमै नरम कपड़ाहरू बुन्ने एउटा राम्रो फल्दोफुल्दो व्यवसाय थियो। दिदीबहिनीहरूले कपड़ा बुन्ने काम छिटै सिके, तर मेरी आमा निक्कै ढिलो हुनुहुन्थ्यो। जब शिला टिप्ने समय सकियो, तब यी तीनजना आइमाईहरूले पालैपालो तानमा बुन्ने काम गरे; तब पैसा आउन थाल्यो; शुरुमा थोरै, तर जब तिनीहरू झन् सिपालु हुँदै गए, त्यति नै बेसी। 

मेरो आफ्नै अवस्था भने कठिन थियो। म इल्लिरिका निको पार्न सक्ने खबर ल्याउन र परिवारलाई सहायता गर्न फर्केर आएको थिएँ; तर इल्लिरिका अगाडि नै निको पारिसकेकी थिइन्; अनि हालैमा परिवारले मलाई सहायता गरिरहेको थियो, र त्यो मैले हेला गरें। मैले फेरि माछा मार्ने काममा फर्केर जान र एउटा नयाँ मेलोमा भाग लिने इच्छा गरें, तर मैले आफूलाई फेरि किनारमा र डुङ्गाहरूमा फर्केर जाने तुल्याउन सकिनँ। मैले आमालाई प्रश्न गरेको थिएँ र मलाई थाह भयो, झाँक्रीको श्रापको आतङ्कमा उहाँलाई बाध्य भएर उहाँले धनी भइसकेको मान्छेलाई त्यो डुङ्गा दिनुभएको थियो। मेरो घृणा दश गुणा बढ़ेको थियो र मैले ऊसँगको भेट, दिनदिनै बिहान उसको कामदारहरूलाई अहाइपराइ गरिरहेको, मेरो गरिबीमा खिल्ली उड़ाइरहेको खनै सक्दिनँ। समय-समयमा मैले फाल्टु कामहरू गरें र अन्तिम कटनीको बेलामा म मेरा सानीमाका खेतबारीमा गएँ र उनीहरूलाई सघाएँ; तर उहाँका चारजना लाठे लाठे छोराहरू थिए र वास्तवमा उनीहरूलाई मेरो खाँचो परेन। म थकित र हतास हुँदै घर आएँ; किनकि बाली कटनी गाह्रो काम थियो र मलाई त्यस्तो गर्मीमा काम गर्ने बानी परेको थिएन। 

मेरो घर यति बदलिएको थियो, तापनि म खुशी थिइनँ; म अझै एउटा पाहुना थिएँ। टायरमा मेरो बितेको सम्पूर्ण जीवनभरि नै म त्यस कालो अन्धकारदेखि डराउँथें र मेरी दिदीको कारण बिच्किएको थिएँ; कपर्नहुममा एउटा यहूदी घरानामा म एउटा अन्यजाति थिएँ, भित्रभित्रै छिः छिः दुरदुर गरिएको र व्याकुल थिएँ। र अहिले घर शान्ति र आशिषले पूर्ण भएको छ; मेरो यसमा कुनै भाग थिएन, किनकि उज्यालोको अन्धकारसँग, प्रेमको घृणासँग अथवा जातिपना र क्षमादानको बदला दिने भावसँग के सम्झौता? उनीहरूले जे पाएका थिए, त्यसको मैले तिर्सना गरें; तर पनि म यसदेखि बिच्किएँ; किनकि मैले महसुस गरें - त्यहाँ केही मूल्य चुकाउनु थियो र त्यो मूल्य तिर्न मलाई ज्यादा लाग्यो। 

आयोन यिनी थिइन्, जसले अन्तमा मेरो कामको समस्याको छिनोफानो गरिदिइन्। कोरी निको भएपछि तिनी उसकी पत्नी साइरेनीको अति मनपर्दो पात्र भएकी थिइन् र घरि-घरि उनलाई भेट्न जान्थिन् ; त्यहाँ घरका फाल्टु कामहरू गरेर तिनी सबै खालका उपहार र परिकारहरू लिएर फर्कन्थिन्। एक सांझ तिनी दौड्दै भित्र आइन्; तिनका आँखाहरू उमङ्गले चम्किरहेका थिए। 

"फिलो," तिनी उत्सुक हुँदै बोलिन्। “साइरेनीका पतिले तिमीलाई भेट्न खोजेका छन्।” 
“के?" म छक्क परें, "कोरीले? म साँच्चै उसलाई भेट्न चाहन्छु।” 

"उनी अब कोरी होइनन्; त्यो तिमीलाई थाहै छ। अहिले उनी एकदम हट्टाकट्टा भएका छन् र उनले तिमीलाई भेट्न खोजेका छन्।” 
मलाई खुलदुल भयो। “म अहिले नै जान्छु,” मैले भनें। "सांझहरू लामा छन्। म उनलाई कहाँ भेट्टाउला?" 

"घाम नअस्ताउन्जेलसम्म बाहिर दाखबारीमा मलाई लाग्छ तिमीले नुहाउनु र सफा भोटो लगाउनु राम्रो हुन्छ। मलाई उनीसँग यो तिम्रो भेट निक्कै महत्त्वपूर्ण छ, लाग्छ।" 
" तिमीले के भन्न खोजेकी?" 

"तिमी आफूले थाह पाउनेछौ।" तिनले अरू केही भनिनन्, र म बन्दरगाहको बाटो लागें। साइरेनीको पतिको थुप्रै जग्गाजमिन थियो, तर उनी बिमारी हुँदा एकजना इमानदार नोकरले सबै चलाउँथ्यो। अब नोकर आफू बूढो भएको हुनाले उसले राम्रो मलजल गरेको अवस्थामा आफ्नो मालिकलाई यसको जिम्मा लगाउन पाएकोमा ऊ खुशी भएको थियो। 

म त्यस ठूलो, सेतो घरमा पुगें र अलि लजाउँदै मालिक कहाँ छन् भनेर सोधें। म बारीहरूतिर पठाइएँ र उनलाई टोकरीमा अगौटे अङ्गुरहरू बोक्दै दाखबारीबाट आइरहेका भेटें। मैले उनलाई आदरसाथ नमस्कार गरें र आफ्नो परिचय दिएँ; तब उनले मलाई घरसम्मै उनको पछि लाग्न भने। जब हामी दलानको छहारीमा पुग्यौं, तब उनी बसे र मलाई पनि बस्न भने। "ए, उसो भए तिमी फिलो हौ,” उनले भने, “हाम्री सानी जीवन दिने दूतको दाई।" 
उनी सरल प्रकारले र नरमसँग धनको थाक र रवाफ नदेखाईकन बोले। लाज मान्दै मैले उनलाई नजर लाएर हेरें। 
"तिम्री सानी बहिनीले लगाएको ऋण हामी कहिल्यै तिर्न सक्दैनौं”, उनले भन्दै गए। “तर हामीले सकेजति जसरी भए पनि गर्छौं | म बुझ्छु, तिमीलाई एउटा कामको खाँचो छ। अङ्गुर टिप्ने बेला भर्खरै शुरु हुँदैछ र त्यो सकिएपछि त्यहाँ जैतुन टिप्ने बेला हुनेछ। तिमी बलिया केटाजस्ता छौ, र तिम्रा बाबा पनि एउटा इमानदार मान्छे भनेर चिनिएका थिए। फसल भित्र्याउने समय नजाउन्जेलसम्म के तिमी आएर मेरो लागि काम गरिदिन तयार छौ?" 
मेरो म तयार नहुँला र?! यो त सोचेको भन्दा पनि राम्रो भयो; आभार मेरा आँखाहरूले नै देखाए होला भन्ने ठानें। मैले बिहान सखारै त्यहाँ आइपुग्ने वाचा गरें, अनि ढिलो हुँला कि भनेर रातभरि सुत्न सकिनँ। हरेक दिन गर्मी यामको घाम झुल्केको बेलामा म दक्षिणी किनार - किनारै दौड़े, खाँड़ी पार गरें अनि पात र अङ्गुरहरूमा शीत टल्कंदै गर्दा म दाखबारीमा आइपुगें। मैले ठूलठूला झुप्पाहरू टिप्दै अलक्क राम्रोसँग टोकरीमा राखें र टाउकोमा बोकेर त्यसलाई उनको घर लगें। गर्मीमा यस्तो काम साह्रै गाह्रो थियो; तर हाम्रा मालिक एकदमै दयालु थिए। मध्यान्हमा हामीले खायौं, पियौं र घाम ओइलाएपछि मात्र काममा फर्कनलाई नेभाराका बड़े बड़ेमाका पातहरूमुनि आराम गर्‍यौं। म घर पुग्दा प्रायः अँध्यारो भइसकेको हुन्थ्यो र मलाई थकाइ लागेर म खाना खानेबित्तिकै सुतिहाल्न तयार भएको हुन्थें। मैले मेरी आमा र दिदीबहिनीहरूलाई थोरै देखें; तर मेरा मालिकले त मलाई राम्रो ज्याला दिन्थे, र हामी भोकै भएनौं अर्थात् त्यति साह्रो गरिब भएनौं। 

मैले आफूले कमाएको जति सबै नै आमालाई दिइनँ। हरेकपल्ट जब मेरो हातमा ज्याला दिइन्थ्यो, तब म केही पैसा एउटा थैलीमा राखेर पुराना डुङ्गाका सर-सामानहरूको रासमुनि लुकाउँथें; किनकि मेरो ईखले गर्दा म अँध्यारो भएको थिएँ। एकदिन म एउटा धनी मान्छे बन्नेछु; एकदिन म हिरामलाई खतम पारिदिनेछु र मेरा बाबाको डुङ्गा निखान्नेछु; दाखबारीहरूहुँदो नेभाराका रूखहरूमुनि बस्दा र खाँड़ीमा यताउता घुमिहिँड्दा मैले यस्तो विचार गरें। यो मेरो जीवनको प्रमुख उद्देश्य थियो, र र यी घिनलाग्दा दिवास्वजमा म उन्मत्त थिएँ। 

काम रहेसम्म जीवन मजाको थियो; तर दिनहरू छोटिँदैथिए र कटनीको समय सकिँदैथियो। घाम अझ मलिनो लाग्थ्यो; छानामाथि दाख र नेभाराहरू नै सुक्दैथिए, अङ्गुरका पातहरू राता भए; अब चरचरी चरिएको माटोमाथि पहिलो भर पानी नपरेसम्म र जोताइ शुरु नभएसम्म बारीमा त्यहाँ गर्नुपर्ने काम थोरै भयो। सम्झौता अनुरूप मेरो काम खास सकिसकेको थियो; तैपनि हप्तामा दुई-तीन दिन गधाको तबेला सफा गर्न वा ऊँटहरूलाई पानी खुवाउन म गइरहन्थें। 

त्यसपछि पानी पस्यो, लेबानोनका उचाइहरूमा पहिलो हिउँ झर्‍यो र पश्चिमी बतासले समुद्र छचल्कियो। आँधी चलेर मौसम खराब हुँदै गयो; मछुवाहरू पौवामा भेला भए र कति रात डुङ्गाहरू फोगटमा बसिरहे। यी अत्यासलाग्दा बिहानीका सन्ध्यामा मलाई थुप्रै फुर्सद हुन्थ्यो र मैले पानी मिसिएको स्याँठ र विशाल-विशाल छालहरूको तिर्सना गर्थे। यतिखेर हिराम अझ निद्रमा हुनुपर्थ्यो; किनकि त्यसको धेरै पिउने बानी त पौवामा सबैलाई थाह थियो। सुनसान सड़कहरूहुँदो म एकान्त समुद्र- तटैतट भएर डुङ्गाहरू बालुवामा भसाइएको ठाउँ काटेर जान्थें र त्यस बेला मेरो घृणा र बदलाका सपनाहरू तुफानजस्तै भयङ्कर र आँधीजस्तै उर्लेका हुन्थे। 
यी बिहानीहरूमा मैले मभन्दा अलि जेठो एउटा केटा हिरामको. डुङ्गामा बसेर पालको फाटेको दुलो तुन्दै गरेको देखें। मैले उसलाई देख्दैमा चिनिहालें र शायद उसले नै मेरो खाली भएको काम गर्ने ठाउँ लिएको होला भन्ने सोचें। ऊ चिन्तित देखिन्थ्यो; अनि मेरो खुलदुलीले मलाई उक्सायो। मैले उसलाई बोलाएँ; तब उसले डुङ्गाको एकाछेउको धारतिर चियायो। 
“तिमी के गर्दैछौ,” उसले अलि अँध्यारो मुख लाएर जान्न खोज्यो। " आज किनारमा घुम्ने त्यति राम्रो छैन। " 
“ओहो, यस्तो मौसम त मलाई ठीक लाग्छ,” मैले हल्कासँग जवाफ दिएँ, “तिमी के गर्दैछौ नि? के तिमी पनि त्यसकै एउटा कामदार हौ?” 
"हो,” केटाले भन्यो, अनि पिच्च थुकेर सराप्यो। “तिमी पनि त पहिला थियौ नि, थिएनौ र?" 
"हो, म एकपल्ट थिएँ; तर फेरि कहिल्यै हुनेछैनँ नै! त्यसको कामदार हुनुभन्दा त म बरु मागुँला र भोकै बसुँला।" 
“तिमीले त निस्किन सक्यौ, तिमी भाग्यमानी भयौ। म पनि त्यसलाई घृणा त गर्छु; तर मैले छोड़ें भने त त्यहाँ माग्ने र भोकै बस्ने अरू नै छन्। मेरी आमा विधवा हुनुहुन्छ, र म उहाँको जेठो छोरो हुँ।" 'म पनि त्यस्तै अवस्थामा त हुँ नि' भनेर मैले भन्नै आँटेको थिएँ, तर मलाई लाज लाग्यो र म चुपचाप बसें; किनकि मैले त्यो भुत्रे - झाम्रे साथी 
केटाले गरेजस्तै मेरी आमाको वास्ता गरेको थिइनँ। तर घृणा गर्ने एउटा पाउनु मैले राम्रो कुरो सम्; यसकारण म डुङ्गाको छेउमाथिबाट उक्लें र उसकै छेउमा बसें। 

"किन तिमी त्यसलाई यसरी घृणा गर्छौ?” मैले सोधें, “त्यसले तिमीलाई के गरेको छ र? " 
केटोले भोटोमाथि सारेर खतैखतले भरिएको आङ देखायो; कुनै- कुनै खतहरू त आलै थिए। 

"त्यो,” उसले भन्यो, “मैले बजारसम्मै माछा लगें; तब व्यापारीले यो त तौलमा कम छ, भन्यो। हिराम सधैं त्यस्तै ठग्ने काम गर्ने गर्थ्यो; तर तिनीहरूले धेरै माछा पक्रेको बेलामा सधैं जोखेर हेर्ने मन नै गरेनन्। तर यसपालि त्यसको छल थाह भयो; तब त्यसले मैले बजारतिर लादै गर्दा यसलाई चोरेको हो भन्यो। त्यसले मलाई लट्ठी लगायो र मलाई झन्डै मार्‍यो। कति दिनसम्म म खोच्याङ - खोच्याङ गरेर मात्रै हिँड्न सक्थें र त्यसले अरूहरूले जस्तै गरी जाल तान्न सक्ने नभएसम्म मलाई पूरा ज्याला नै दिएन। ओहो, म त्यसलाई घृणा गर्छु, घृणा गर्छु! हामी सबै नै उसलाई घृणा गर्छौं। एकदिन म त्यसलाई यो सबैको साटो फेर्नेछु।" 

मलाई जिरिङ्ग भयो। म एक्लै भएर थोरै गर्न सक्थें; तर एउटा साथीसँग, जसको उद्देश्य मेरो जस्तै बलियो भन्दा बलियो भयो भने असम्भव केही थिएन। मैले मुड्कीहरू कसें र मेरो कथा ओकल्न शुरु गरें। “म त्यसलाई घृणा गर्छु; किनभने त्यो एउटा चोर र गरिब मारुवा हो। त्यो डुङ्गा देख्छौ? यो मेरो डुङ्गा थियो; यो मलाई मेरा बाबाले, जो समुद्रमा डुब्नुभयो, छोड़ेर जानुभएको हो। मेरी आमाको तिर्न नसकेका ऋणहरू थिए; मेरी दिदीलाई दुष्ट आत्मा लागेको थियो र उहाँले झाँक्रीलाई पैसा नतिरे त्यसले दिदीलाई भेट्ने चेताउनी दियो। हिरामलाई यो थाह थियो, र त त्यसले झन्डै सित्तैंमा त्यो डुङ्गा लियो। त्यस बेहोशी आइमाईले त्यसले जति दियो, त्यति मात्रै लिनुभयो। त्यसले यो डुङ्गा उपहार स्वरूप सित्तैंमा पायो र उनीहरूलाई भोकभोकै छाड्यो; यतिसम्म त्यसको चासो थियो। एकदिन म त्यसलाई खतम गर्दैछु र मेरो डुङ्गा फिर्ता लिनेछु किनभने यो मेरो हो, म तिमीलाई भन्छु, यो मेरै हो!" 
केटाले चाख मानेर मतिर हेर्‍यो। “शयाद हाम्रो बीचमा हामी केही चाँजोपाँजो मिलाउन सक्छौं,” उसले बिस्तारै भन्यो। “म के गर्न चाहन्छु, त्यो म तिमीलाई भन्छु। पछिल्लो भर पानी पर्नुभन्दा अलि अघि, जब बसन्तका ज्वारहरू माथि-माथि उर्लिरकेका हुन्छन्, त्यतिखेर आँधीबेहरी चल्ने मौसम हुन्छ। डुङ्गाहरू अहिले बसेजस्तै बस्नेछन्। औंसीमा हामी सँगै आऔं र त्यसका डुङ्गाहरूमध्ये एउटा जलाऔं? केही दाउरा, केही अलकत्रा, केही गन्धक ..." भनें। 

मेरो आँखा चम्क्यो। “आजै राति किन नगर्ने?” मैले खुसुक्क उसले टाउको हल्लायो। “अहिले हुँदैन,” उसले भन्यो। “भर्खरै त्यसले मेरो कुभलो गरेको छ; तब त्यसले मलाई नै शङ्का गर्नेछ। त्यसलाई अझ अरू आफ्ना ठिटाहरूलाई पिट्न र अरू आफ्ना ग्राहकहरूलाई ठग्न देऊ न; अनि त्यसपछि दोष धेरैजनामाथि लाग्न सकिन्छ। यसबाहेक हामीलाई जे चाहिन्छ, त्यो एक-एक गर्दै हामीले बटुल्नुपर्छ। यदि हामीले एक बाल्टी अलकत्रा किनेर त्यसै रात त्यसलाई बाल्यौ भने त व्यापारीले हामी दुईजनालाई शङ्का गर्नेछ। धैर्य गर, साथी, धैर्य गर! त्यसले आफ्ना पापको पूरै मूल्य चुकाउन लागिरहेको छ।" 

मेरा सपनाहरू सकार नहोलान् भनेर अब म चिन्तित रहिनँ; तर पूरा गर्ने एउटा वास्तविक, साँचो योजना लिएर म घर जाँदै गर्दा आफूलाई एकदमै हलुङ्गो महसुस गरें। उसले अलकत्रा जम्मा गर्नुपर्थ्यो, मैले बारुद र गन्धक जम्मा गर्नुपर्थ्यो; र हामी दुवै मिलेर दाउरा जम्मा गर्नुपर्थ्यो। उसले हामीले तालुपर्ने रातको निधो गर्नुपर्थ्यो र मैले आफूलाई तम्तयार राख्नुपर्थ्यो। मैले एउटै मात्र शर्त राखेको थिएँ; त्यो जलाउने डुङ्गा मेरा बाबाको चाहिँ हुनुहुँदैनथ्यो। 
म घर पुगें र तानमा आमालाई एक्लै भेट्टाएँ; किनकि मेरा दिदीबहिनीहरू एउटा व्यापारीकहाँ लुगा लान गएका थिए। यस्तो मौका मैले प्रायः पाउँदिनथें; यसैले म उहाँको छेउमा बसें र उहाँको हातबाट बिस्तारै कपड़ा निकालें; आमासँग मैले कहिलेकहीं मात्र यसरी एक्लै भई कुरा गर्न पाउँथें। जे भए पनि उहाँ मेरी आमा हुनुहुन्थ्यो, र उहाँको बेहोशीपना जति भए पनि म उहाँलाई माया गर्थे। 

"आमा,” म झड़ङ्ग बोलें, "ऊन काल छोड्नुहोस् र तपाईं त्यस भविष्यवक्ताकहाँ जानुहुँदा खास के भयो, मलाई भन्नुहोस्। आयोन त एउटी केटी मात्र छिन् र इल्लिरिकाले धेरै सम्झिनै सक्दिनन्।” 

अचम्म मान्दै उहाँले टाउको हल्लाउनुभयो। “यसको कुरा गर्न मेरो लागि अझ साह्रै अचम्मलाग्दो छ,” उहाँले भन्नुभयो। “यदि कसैले उहाँले जस्तै मसित कुरा गरेको भए म रिसले रन्किन्थें होला। तर उहाँले रिस उठाउने काम गर्न सक्नुहुन्न, किनकि उहाँले भन्नुभएको सबै नै प्रेम हो प्रेम | त्यति बेला मैले त्यो बुझिनँ, तर बस्तारै सबै खुलस्त भएको छ।” 
"तर उहाँले के भन्नुभयो?” 
“शुरुमा केही पनि भन्नुभएन। मेरो आशा, चाहना र डरले गर्दा म साँच्चै पगलीजस्तै भएकी थिएँ; अनि कराउँदै र चिच्च्याउँदै मैले भींड़लाई पछ्याएँ। उहाँ एउटा यहूदी हुनुहुन्छ भन्ने मलाई थाह थियो; यसैले मैले उहाँलाई दाऊदको पुत्र भनेर सम्बोधन गरें; फेरि अनि फेरि म कराएँः 'हे दाऊदका पुत्र, ममाथि दया राख्नुहोस्!' 
“उहाँले के जवाफ दिनुभयो त?" 

"केही पनि दिनुभएन।" उहाँ अघि बढ्नुभयो। उहाँका चेलाहरू मसँग रिसाएका थिए। 'उसलाई बिदा गरिदिनुहोस्', तिनीहरूले भने, 'ऊ हाम्रो पछि-पछि कराइरहन्छे।' तर म तिनीहरूको पछि-पछि कराइरहेकी थिइनँ; म त उहाँको पछि-पछि कराइरहेकी थिएँ। अन्तमा उहाँले भन्नुभयो, 'इज्राएलका घरानाका हराएका भेड़ाहरूकहाँ मात्रै म पठाइएको हुँ।' 

"म पनि त्यस्तै ठान्थें; र पनि उहाँले सानी अस्टरतीलाई निको पार्नुभएको थियो त।” 
"हो, मलाई थाह थियो, त्यस्तो हुन सक्दैनथ्यो। मैले गलत नाउँले पो उहाँलाई बोलाएकी थिएँ र उहाँ मलाई सिकाउन खोज्दै हुनुहुन्थ्यो। 

दाऊदका पुत्रको नाताले उहाँ आफ्नै जातिको निम्ति मात्र पठाइनुभएको थियो, तर उहाँको अर्को नाम पनि छ; त्यो नामचाहिँ मेरो र हामी सबैको निम्ति हो। त्यति बेला उहाँ उभिइरहनुभएको थियो; मैले उहाँका चेलाहरूलाई पछाडि धकेलें र उहाँका पाउमा घोप्टो परें। 'प्रभु, मलाई सहायता गर्नुहोस्' भन्दै म कराएँ। त्यसपछि फेरि उहाँले यस साह्रै अनौठो कुरा भन्नुभयोः 'नानीहरूको रोटी लगेर कुकुरहरूका सामु फ्याँकिदिनु उचित होइन।'" 
झड़ङ्ग रिसाउँदै मैले आमाको अनुहारमा हेरें, “उनले तपाईंलाई कुकुर भने?" 

रोए जस्तै गरी उहाँ हाँस्नुभयो। “ओहो, तिमी बुझ्दैनौ, फिलो; किनभने तिमीले उहाँको सोर कहिल्यै सुनेका छैनौ। उहाँ मलाई जाँच गर्दै हुनुहुन्थ्यो; मेरो प्रेम, मेरो चाहना, मेरो बुझ्ने शक्ति कति छ, सो जाँच गर्दै हुनुहुन्थ्यो। उहाँले मलाई दिन चाहनुभएको कुरालाई म साँच्चै कत्तिको चाह गर्थे त? यसको लागि म कति मोल तिर्न इच्छुक भइरहेकी थिएँ? 'ज्यू, प्रभु', मैले जवाफ दिएँ, 'तर कुकुरहरूले पनि नानीहरूको टेबलबाट खसेका टुक्राहरूबाट खान्छन्।' रोटी होस् वा रोटीका टुक्राहरू, दुवै उहाँको हातबाट उत्तिकै आशिषित भएका हुन्थे। अरूले उहाँले मसँग कड़ा व्यवहार गर्नुभयो भनी सोचे होलान्, तर मैले बुझें, र जब मैले त्यसो भनें, तब तुरुन्तै सबै बाधाहरू हटी गए। उहाँको मुहारमा आनन्दको रेखा झुल्क्यो र उहाँको प्रेम ममाथि बह्यो। 'हो नारी, तिम्रो विश्वास ठूलो रहेछ', उहाँले ठूलो सोरमा भन्नुभयो। 'जस्तो तिमीले इच्छा गरेकी छ्यौ, त्यस्तै तिम्रा लागि होओस्।' त्यसपछि मैले उहाँ दुष्ट आत्माको शक्तिभन्दा पनि शक्तिशाली हुनुहुन्छ र इल्लिरिका निको पारिई भन्ने थाह पाएँ।" 
"आमा, यो सामर्थ्य के हो? र उहाँ को हुनुहुन्छ?" 

आमा एकछिन त चुपचाप रहनुभयो; त्यसपछि उहाँ साह्रै नरमसँग बोल्नुभयो। 
“मलाई लाग्छ, उहाँ सबै देउताहरूभन्दा महान् हुनुहुन्छ। मलाई लाग्छ, उहाँको सामर्थ्यचाहिँ प्रेमको सामर्थ्य हो।' 

अध्‍याय : १४ 

मैले त्यस केटासँग, जसले डुङ्गामा मेरो ठाउँ ओगटेको थियो, नजिकको सम्पर्क राखें; अनि हामीले हाम्रो ईख फेर्न खूब होशियारीसँग कामकुरो मिलायौं। हामीले एउटा स्याँठ चलेको, औंसीको रात छान्नुपर्थ्यो, जसमा माछा मार्न नसक्ने गरी समुद्रको पानी साह्रै उर्लिरहेको होस्। तर त्यस्तो हुनको साथसाथै मौसम सुक्खा हुनुपर्थ्यो; किनकि पानीले भिजेको डुङ्गा बल्न सक्दैनथ्यो। ठीक अवस्थाहरू पाउन कठिन थियो, र हामीले हप्तौंसम्म पख्यौं; तर त्यही बखतमा मैले पुग्ने जति नै गन्धक र बारुद फरक-फरक व्यापारीसँग अलि-अलि गरेर किन्दै जम्मा पारें; र त्यसै गरी मेरो साथीले पनि राम्रैसँग अलकत्रा बटुलिरहेको थियो। वर्ष फेरिएपछि एउटा सफा, स्याँठिलो दिनको अन्तमा हामी बन्दरगाहको पर्खालमा जम्मा भयौं। समुद्र- यात्रा गर्नलाई अझ खतरनाक थियो र बन्दरगाह एकदम चकमन्न थियो। 

“अँ त, फिलो," मेरो साथीले बिस्तारै भन्यो, “भोलिको रात औंसी हो र धेरै अँधेरो रात हुनेछ। यदि बतास यसरी चलिरह्यो भने र पानी परेन भने हामी एकचोटि काम गरिहेरौं।” 
“गरिहेर्ने?” मैले दोहोर्‍याएँ। “हामीले एकै प्रयासमा सफल हुनुपर्छ; म त दोहोर्‍याएर गर्दिनँ। अनि त्यसले शङ्का गर्‍यो भने के गर्ने नि?” 

"त्यसले गर्नेछैन; त्यसका थुप्रै शत्रुहरू छन्। त्यो जताततै ठग्छ; अनि सबैले भन्दा त्यसका कामदारहरूले त्यसलाई घृणा गर्छन्। आगो दन्कनुअघि नै हामीले बालवाका थुम्काहरू काट्नेछौं र ज्वालाहरू दनदन माथि उठेपछि हामी माछा मार्ने डेराहरूको पछिल्तिरबाट भीड़मा मिसिनेछौं। यदि हामी त्यहाँ पछाडिबाट अगाड़ि ठेलमठेल गर्‍यौं भने कसले हामी अघि नै अगाडि थियौं भनेर शङ्का गर्नेछ र? मलाई भन त!” 

मैले उसलाई केही भन्न सकिनँ। ऊ मभन्दा पाको थियो र मभन्दा साह्रै साह्रै साहसिलो थियो। उसले मेरा आँखाहरूमा धिपधिप गरिरहेको डर देख्यो र हाँस्यो। "अँ?" उसले सोध्यो। “तिमी यसमा सामेल हुन चाहन्छौ कि चाहँदैनौ?" 

“हो, हो, चाहन्छु,” म अकमकाउँदै बोलें, “निश्चय नै म सामेल हुन्छु।” हिराम र मैले समुद्र-तटमा कुरा गरेको र आफ्नो डुङ्गा बेचिएको कुरा थाह पाएको बेला सम्झँदै मैले मेरो पुरानो घृणा जगाएँ। किनारमा टहलिएर जांदा मेरा बाबा र मैले सँगै त्यही डुङ्गामा बाहिर समुद्रमा काम गरेका ती रमाइला रातहरूको झझल्कोको सम्झना आयो। मैले त्यो डुङ्गा टाढाबाट डिठ लाएर हेरें। तर रिसाएको भन्दा त म साह्रै खिन्न र दुःखित हुँदै घर गएँ, अनि पानी पर्छ कि भन्ने आश गर्दै राति बिउँझें। तर बतास सुसाएको र राति उड्ने उल्लू कराएको आवाजबाहेक केही सुनिँदैनथ्यो; अनि बिहानसम्मै डरले काम्दै म पल्टिरहें। 

चहकिलो घाम, ठूला-ठूला ज्वारहरू, औंसीको दिन अनि लगातार बहिरहेको पूर्वी बतासले हुत्त्याइरहेको समुद्र र त्यसैमा चिसो शीतले छिटा हानिरहेको - यी अवस्थाहरू चित्त बुझ्दा थिए; र मेरो साथी याविनले अन्तिम कामकुराहरू मिलाउन मलाई गाउँ पछाड़ि भेट्यो। बितेको रात ऊँ तल गएर हाम्रा सरसामानहरू पालको टुक्रामुनि लुकाएर ढुङ्गाले त्यसमाथि थिचेर अघि नै राखिसकेको थियो। ऊ असाध्यै जागरूक र सबै कुराको ख्याल राखेको देखिन्थ्यो। सड़कहरूहुँदो हामी सँगै हिँड्दै जानुहुँदैनथ्यो; हामीले घाम अस्ताउनेबित्तिकै बालुवाका थुम्काहरूमा लुक्नुपर्थ्यो र आधा रातसम्म त्यही पर्खिबस्नुपर्थ्यो। डुङ्गा-परको छेउमा सुक्खा दाउराको रासमा आगो सल्कोस् भनेर हामीले अलकत्रा र गन्धकको पङ्क्ति लगाएर त्यसमा आगो सल्काउनेछौं; राँको दन्कनुभन्दा धेरै नै अघि हामीले बालुवाका थुम्का त पार गरिसकेका हुनेछौं र मानिसहरू धपधपं बलेको देखेर उठुन्जेलमा त्यस भीड़मा मिसिइसकेका हुनेछौं र तिनीहरूसँगै समुद्र-तटतिर दौड़िनेछौं। योजना सफलजस्तो देखिन्थ्यो। 

तापनि मेरो डर भने रहि नै रह्यो। त्यस दिनभरि नै मेरी आमा र दिदीबहिनीहरूको सँगतमा म एकदमै बेखुशी, पूरै आत्तिइरहेको र चञ्चल थिएँ। यी दिनहरूमा हाम्रो घर उनीहरूको, तर मैले नचिनेको परमेश्वरका निम्ति एक प्रकारको पारिवारिक वेदी, शान्तिको एक बन्दरगाह थियो; यहाँ सबै कामहरू उहाँको नाममा गरिन्थे र उहाँको नाममा सबै शब्दहरू बोलिन्थे। तर यसमा न ता मेरो हिस्सा थियो, न म यसमा मिल्थें नै। उनीहरू कसैले मलाई हप्काएनन्। साँच्चिकै म माया गरिएको र साह्रै पुलपुल्याइएको थिएँ। तर मेरा काला, रिसले पूर्ण भएका विचारहरूले मलाई एउटा पहुना र ट्वाँटेजस्तै बनाउँदैथिए; अनि मेरो एकलकाटे र झोंकी व्यवहारले मैले धेरैचोटि घरको शान्ति बिगारें भने मलाई थाह थियो। घरमा नबसी बाहिर, विशेष गरी आँधीबेहरी चलेको मौसममा म बढ़ी खुशी हुन्थें। 

तर अन्तमा त्यस चिसो, सफा र स्याँठ चलिरहेको रात पस्यो; अनि म मेरो बक्खुमा घुस्रिएर बाहिर लागें। यो कहीं पनि न सिलाईकन एउटै पाटोबाट बनेको गालीली घरबना बक्खु थियो। बिन्यामिन यही लगाएर हुर्केको थियो, र मेरा मामाले यो मलाई दिनुभएको थियो। टायरका मानिसहरूले यसको खूब चाह गरे, र म यसको लागि गजक्क थिएँ अनि यसलाई जहाँतहीं जाँदा लगाउँथें। सुन्तला रङ्गका बादलका धर्साहरू समुद्रमाथि पहेंलाबाट खैरा हुँदै गर्दा म बालुवाका थुम्का पारि पुगें, जतिखेर मसिना घाँसहरू लत्त्याउँदै हावा तेर्सो बह्यो र बालुवाले मेरा आँखामा झ्याम्म हान्यो। तोकिएको ठाउँमा पुगेर दुलोभित्र बामे सर्न पाएर म खुशी थिएँ। याविन आनन्दसाथ र ढुक्कै भएर मलाई पर्खिरहेको थियो र हाम्रो योजना रद्द गर्ने वा विफल हुने बारेमा उसमा कुनै शङ्का उपशङ्का नभएको जस्तो देखिन्थ्यो। 

हामीले धेरै, धेरै बेरसम्म कुर्यौ। लुक्ने ठाउँ भए पनि मेरो बक्खु लगाएकोमा म खुशी थिएँ; याविनको काँधमा फ्यास्ल्याक्क हालेको थोत्रो - थोत्रो खालको सानो, पातलो चादर थियो; अनि बेखुशी भएर उसले मेरो लुगा हेर्‍यो।

"त्यो ठूलो, गह्रौं चीज तिमीले किन ल्याएको?” उसले गुनगुनायो। “त्यो लगाए त तिमी दौड़िन सक्दैनौ र कम्मरमा बाँध्न पनि त्यो साह्रै गह्रौं छ। तिमीले त्यसलाई यहाँ पनि छोड्न मिल्दैन। शायद हामी अर्कै बाटो भएर फर्कोला, र यदि कसैले त्यसलाई यहाँ भेट्टायो भने तिनीहरूले त्यो एक नजरमै चिन्नेछन्।" 
“म बाहुलाले घाँटीमा गाँठो पार्नेछु,” मैले खुसुक्क भनें। “धन्दा नमान न।” 

घण्टाहरू बित्दै गए। औंसीको रात बालुवाका थुम्काहरूमाथि छायो र आकाश ताराहरूले उज्यालो भयो; तर तिनीहरूले रातको अन्धकारलाई उज्यालो बनाएनन्। हामीमाथि हावा सुसाइरहेको, बरोबर किनारमा छालहरू ठोकिएका र पानीले बलुवा तानेको आवाज हामीले सुन्न सक्यौं। जति चिसो बढ्दै गयो, त्यति नै म डराउँदै गएँ र याविन त्यति नै खुशी हुँदै गयो। 

“गजवको समय!” उसले बालुवाका थुम्काको हाराहारी नाघ्न उभिएर हेर्दा एक-दुई पटक फतफतायो। “अब हामी छिटै जान सक्छौं; अँध्यारो र हल्लाखल्ला जति भए पनि!" 

उसले ढ्याम्म लात हान्दा म उँग्न थालिसकेको थिएँ। “छिटो आऊ” उसले खासखुस गर्‍यो। 
निउरो परेर बामे सर्दै हामी हाम्रा समाग्री लुकाएर राखेको ठाउँसम्म घनँदै गयौं। अलकत्रा गह्रौं थियो, र हामीले तीन फेर ओहोर-दोहोर गर्नुपर्‍यो। हामीले त्यो डुङ्गाको घुमेको भागमुनि सुक्खा दाउराहरूसँगै थुपास्यौं र त्यसमाथि गन्धक छयौं। रात चिसो भए तापनि मलाई खलखली पसिना आइरहेको थियो। मैले मेरो बक्खु फुकालेर आगोले खाला कि भनेर त्यो तल भुइँमा बालुवामाथि फालें। 

"अब,” याविनले कानेखुशी गर्‍यो। “मैले टुकी बत्ती लिँदा चकमक घोट। एकछिनमा त्यो बल्नेछ र उतिखेरि नै कुद!" 

धेरै पटक प्रयास गर्नुपर्‍यो; किनकि चलिरहेको स्याँठले घरि-घरि बत्ती निभाइदियो; तर अन्तमा बत्ती लगातार बल्यो। याविनले यसमा झ्‍यास झुसको छेस्का छेस्की भोस्यो र यसको वरिपरि एक बोतल तेल खन्यायो। त्यहाँ साईंसुइँ र पटपटती भयो, र हामी कुद्‌यौं। तर त्यहाँ कता दौड्ने, कता दौड्ने भयो किनकि एकैछिनमा आगोका ज्वालाहरू डुङ्गाभन्दा माथि-माथि दन्किरहेका थिए र पूरै भाग झलमल्ल भयो। त्यस डरलाग्दो झलमल्ल उज्यालोमा हामी बालुवाका थुम्का काटेर भागिरहेका देखिन सक्थ्यौं। एउटा घेराभित्र परेर उम्कन नपाउने फ्याउरो झैं म यता हुन्छ कि उता हुन्छ गर्दै जमिनमा होस् वा पानीमा, कनै लुक्ने ठाउँ खोज्दै दौडिरहेको थिएँ। 
"समुद्र तटतिर सोझै," याविनले घोक्रो सोरमा करायो, र अन्तमा रूखहरूहुँदो मास्तिर। छिटो आऊ!" 

ढुङ्गाहरूमा खुट्टाका औलाहरू थचार्दै र बालुवामा चिप्लँदै राँकोको उज्यालोले नभेटेको ठाउँ नपुगेसम्म म हस्याङ्ग-फस्याङ्ग गर्दै यस समुद्र- तटैतट भएर दौड़िरहें, अनि भ्याउका रूखहरूको कालो अन्धकारभित्र ढुक्क भएर हाम फालें। अब मलाई कसैले देख्न सक्दैन भन्ने मैले थाह गरें। तर जब मैले पछाड़ि डिठ लाएर हेरें, तब मैले गाउँको मूल ढोकामा बत्तीहरू देख्न र खैलाबैला सुन्न सकें। हामीले त्यही बस्ने हिम्मत गरेनौं। रूखका हाँगाहरू समातेर हामीले आफूलाई माथि तान्यौं र बालुवाका थुम्कामा पुगेर अर्को छेउबाट तल झर्‍यौं र यहाँ हामीले राम्रोसँग सास फेर्न एकछिन आराम गयौं। यहाँ पनि जलिरहेको डुङ्गाको ज्वालाले मधुरो उज्यालो फ्याँकेको थियो। याविनले मतिर आँखा तर्‍यो। 
"त्यस बक्खुसित तिमीले के गरयौ?" उसले तीखो सोरमा सोध्यो। 
जहाँसम्म मैले सम्झँदा मेरो मुटुको धड्कनै बन्द भयो। एक्कासि म आलसतालस र खिन्न भएँ र जवाफ दिनै सकिनँ। “के तिमीले त्यो तल त्यही जहाजनेरै छोड्यौ?" मैले टाउको हल्लाएँ। 

"त्यसो हो भने मचाहिँ तिम्रो सँगतमा फेरि देखा पर्नेछैनँ।” ऊ अर्को सानो बालुवाको थुम्कामाथि उफ्रयो; त्यसपछि एकछिन फरक्क पर्थ्यो। 

"तिम्रो भाग्य छ भने त्यो जल्नेछ", उसले भन्यो, "तर तिम्रो खातिर म कुनै खतरामा पर्न चाहनँ।" 
ऊ गइहाल्यो र म त्यही खोचमा एक्लै र त्रासले अक्क न वक्क छोड़िएको थिएँ। यदि तिनीहरूले त्यो बक्खु भेट्टाए भने त कसैले पनि त्यो मेरै हो भनेर पक्का पनि चिनिहाल्नेछ, अनि हिरामले ज्यादै ठूलो क्षतिपूर्ति माग गर्नेछ। टायरीहरूका सजायहरू कठोर हुन्थे र धेरैजना त कोर्राको मारमा परेर मरेका थिए। 

म जुरुक्क उठें। म एकैपटकमा तातो जलिरहेको पनि थिएँ र मलाई चिसो पनि भइरहेको थियो, र म भाग्नुपर्छ भन्ने मलाई थाह भयो। म फेरि घर जान सक्दिनथें। यदि तिनीहरूले मेरो बक्खु भेट्टाए भने तिनीहरूले तुरुन्तै मलाई बाहिर ल्याइनुपर्छ भनेर हाम्रो घरको ढोकामा ढकढक्याउनेछन्। ठूलो रन्कोमा त्यो बक्खु जलियो होला भन्ने सक्ने सम्भावनाले मलाई कुनै सान्त्वना दिलाउन सकेन। याविनले जस्तै मैले पनि त्यस बक्खुको खातिर कुनै खतरामा पर्न चाहेको थिइनँ। 

म अब फटाफट, डरले खुट्टा बत्ताउँदै किनारको रक्षा गर्ने बाँधको डिल काटें र भूक्षेत्र ताकिएर दौडिरहेको थिएँ। अहिलेसम्ममा सबैजना उठेर समुद्र तटमा पुगिसके होलान् र सानो किल्लाका पालेहरू मात्तेका वा मस्त निद्रामा होलान्। बिहान नभएसम्म एउटा जलिरहेको माछा मार्ने डुङ्गाको बारेमा केही कारवाही गर्न सकिने कुरै भएन; अनि त्यस बेलासम्म। यतिखेर भर्खरै मात्र आधा रात काटेको थियो र घाम नभुल्कुन्जेल थुप्रै समय बाँकी थियो। त्यति बेलासम्ममा म धेरै टाढ़ा, अँ गालीलको सिमाना काटेर ती डरलाग्दा डाँड़ाहरूमा पुग्नेछु, जहाँ हिउँदै रातहरूमा ब्वाँसा र जङ्गली बदेलहरूको शिकार गरिन्थ्यो; म थरथरी कामें, तरैपनि म दौड़ें; मेरो पछाड़ि भएका खतराहरूभन्दा अगाड़िका खतराहरू कम डरलाग्दा थिए। 

जब म मूल बाटोमा पुगें, तब फेरि मलाई सास फेर्न गाह्रो भइरहेको थियो। मैले केही छिन आराम गरें अनि त्यसपछि एकनाससँग धीमा चालले दौड़िरहें। अब बिस्तारै मेरो होश फर्केको थियो। मैले आफैलाई, वर्षाको एउटा सफा बिहानीमा रिसाएको र मन भाँचिएको एउटा केटोलाई सम्झें, जो अघि एकपल्ट यही बाटोमा अपरिचित संसारतिर यात्रा गरिरहेको थियो। त्यस पहिलेको यात्रादेखि म धेरै पाको भइसकेको र मेरो सामु हुने संसारको बारेमा मैले धेरै कुरा सिकिसकेको जस्तो मलाई लाग्थ्यो। एक-एक छिनमा घरि-घरि म केही सुनिन्छ कि भनेर टक्क रोकिएँ र मेरो पछिल्तिर हेरें; तर जताततै सुनसान थियो; कुनै चिच्च्याहाट अथवा हस्याङ्ग - फस्याङ्ग गर्दै दौडिरहेका पदचापको केही आवाज थिएन। जब म पहाड़हरूको फेदतिर हिँड्दै थिएँ, त्यतिखेर झन् हावा कम चिसो भएर बह्यो। मेरो रफ्तार कम भयो र मैले बाटो उकालो हुँदै गएको थाह पाएँ। म अहिले त्यति साह्रो डराएको थिइन; किनकि अझै केही समय अँध्यारै हुन्थ्यो। घाम उदाएपछि म एउटा लुक्ने ठाउँ खोज्नेछु र चट्टानहरू र झाड़ीहरूको बीचमा सुलेछु। 

म स्वाँ स्वाँ गर्दै उकालो चढिरहेको थिएँ; त्यति बेला मैले पृथ्वी आफ्नो निद्राबाट जुरमुराउँदै गरेको महसुस गरें। अचानक एउटा भाले बस्तीबाट बेसरी बास्यो र अरू कुखुराका भालेहरूले जवाफ दिए। 

एउटा फ्याउरो आफ्नो दुलोतिर बिस्तारै हिँड्दै मेरै छेवैमा करायो; मैले आँखा उठाएर हेरें, अनि कालोमा खैरो हुँदै गइरहेका डाँड़ाहरूको आकृति देखें। मैले पछिल्तिर हेरें, अनि लेबनान पर्वतहरूमा छाया परेको अद्भुत नीलो हिउँ देखें र बिहान हुँदैछ भन्ने थाह पाएँ। 

मलाई आफ्नो बक्खुबिना नै सुत्न साह्रै चिसो लाग्यो, र त्यहाँ जे- जस्ता ईश्वरहरू भए सफा, घाम लागेको दिन दिनोस् भनेर मैले प्रार्थना गरें; मेरो प्रार्थनाको जवाफ देखिने गरी नै आयो; किनकि आकाश सेतो र गुलावी भयो, अनि पश्चिमतिर हेर्दा मैले समुद्र टल्किरहेको देख्न सकें। यो बाटो मैले चिनें; अनि पहिले यात्रा गरेको भन्दा म अलि पाको र बलियो भएछु भन्ने मलाई थाह भयो। म एकछिन भने पनि सुत्न सक्छु होला कि, अनि त्यसपछि कपर्नहुमतिर ओरालो लाग्नेछु भन्ने मैले अन्दाज गरें। यात्राको अन्तिम भाग वर्षा लागेकोले यति सबेरै पनि न्यानो हुनेछ, र म त्यहाँ पुगेपछि एउटा डुङ्गामा मजाले सुलेछु; अनि अर्को बिहान म मेरा मामाकहाँ देखा पर्नेछु। त्यहाँ पुगेपछि म पक्राउमा परुँला भन्ने मलाई डर थिएन; किनकि न ता मेरी आमा न ता मेरा दिदीबहिनीहरूले नै म कहाँ पुगेँ होला भन्ने कुरा कसैलाई बताइदिनेछन्। 

मेरी आमा र मेरा दिदीबहिनीहरू! मेरो छाती कस्सिएर आयो; किनकि अब मैले आफूलाई उनीहरूबाट सदाको लागि अलग पारिदिएँ भन्ने महसुस गरें; र ती भविष्यवक्ता हाम्रो बीचमा पर्खाल भएर उभिएका जस्ता मलाई लाग्थ्यो। मैले झन्डै उनलाई घृणा गरें। मैले त्यस गाउँमा त्यस ठिटाले बोलेका शब्दहरू सम्झें: 'महत्त्वपूर्ण कुरा त 
साँचो बोल्लू प्रेम गर्नू र क्षमा दिनू ...; उहाँले यसैलाई परमेश्वरको राज्य भन्नुभयो। ' तब मलाई थाह भयो कि न ता उनले न उनकै चेलाहरूले नै कहिल्यै त्यो डुङ्गा जलाएर भाग्नेथिए। मैले आफूलाई एक मानिसजस्तो पाएँ, जसले त्यस राज्यको मूल ढोका त झलमल्ल देख्यो, तर यसभित्र कहिल्यै पस्न सक्दैन। अँ, त्यस्तै एक्लो, नालायक र छोड़िएको मैले आफूलाई पाएँ। मैले ती डाँड़ाहरूमा चारैतिर उदाइरहेको घामको ठूलो प्रकाश हेरें; अनि मैले घामको किरण मेरा आँसुहरूमा छिरेर इन्द्रेनी देखिने र जगमगाउँदो भएको पाएँ। 

अध्‍याय : १५ 

मैले मामालाई ढाटेर म काम पाउन नसकेकोले फर्केर आएको भनें; अनि उहाँले मलाई कुनै झन्झट नमानीकन स्वागत गर्नुभयो; तर मेरी माइजुले अर्को मुखले खाउँला भन्ने गनगन गरेकी मैले सुनें; उहाँलाई साह्रै चर्को लाग्यो। तर म राम्रो मौकामा आइपुगेको थिएँ; किनकि अब चाँड़ै माछा मार्ने मौसम शुरु हुँदैथियो। मेरा मामाले पत्याउनै नसक्ने गरी राम्रो काम गर्नुभएको थियो र भकारीहरू सुकेका, नुनिला माछाहरूले टनाटन थिए। 

"जब वर्षाको माछा मार्ने समय सकिन्छ,” बिन्यामिनले मलाई भन्यो, "तब मेरा बाबाले गधाहरू र ऊँटहरूको एक लर्कन भाड़ामा लिनुहुनेछ र पेन्टेकोष्टको चाड़को बेलामा यी माछा तल यरूशलेममा लैजानुहुनेछ। म यहाँ बसेर कामधन्दा हेर्नुपर्छ होला; तर उहाँले तिमीलाई लैजानुहुन्छ होला, फिलो। योएल त त्यसै जांदैछ।" 

म फेरि कपर्नहुममा आएर बसेकोमा रमाइरहेको थिएँ। दिनहरू छिटो-छिटो बितेका थिए। अहिले वर्षकै सबभन्दा सुन्दर याम थियो। गालीलका डाँड़ाहरूभरि नै जङ्गली फूलहरूले ढकमक्क पाखा ढाकेका थिए; राता सिउँडीहरू, जङ्गली साइक्लामिन - फूल (मासुले फूल), होचा ट्यूलिप र सयपत्रिहरूले भने यता नीलो आकाशभरि थुप्रै बकुल्लाहरूका सेता बथानहरू उत्तरतिर उडिरहेका थिए। यहूदीहरूको निस्तार-चाड़ नजिकै आउँदैथियो, र सबैजना आ-आफ्ना घरहरू लिपपोत गर्ने वा आफ्ना लगाहरू धुने कामको चटारोमा लागेका थिए। यो केको टाउको दुखाइ हो, मलाई त छक्क लाग्यो; तर एक साँझ बिन्यामिन र म तालको छेवैमा पानीमा ढुङ्गा फाल्दै बस्यौं, अनि उसले मलाई अचम्म अचम्मका पुराना घटनाहरू सुनायो: मिस्र देशमा इज्राएलीहरूको दासत्व, त्यति बेलामा मिस्रीहरूमाथि आइलागेका महामारीहरू र अन्तिम डरलाग्दो रात, जति बेला मृत्यु-दूत त्यस ठाउँका घर घरै भएर कुन-कुन घरको ढोकाका खापा र दलिनहरूमा रगत छर्किएको छ कि भनेर हेर्दै र तिनैलाई छोड्दै गए; यहूदीहरूको छुटकाराको रात; उनीहरूको राष्ट्रको जन्म भएको रात। 

"अब यरूशलेममा बाहेक हामी कहीं पनि थुमा बलि गर्दैनौं, बिन्यामिनले भन्यो, “तर हामी यस छुटकाराको रात अझै सम्झना गर्छौ। निस्तारको पाठो एकदम विशेष पाठो हुनुपर्थ्योः सेतो, निष्खोट र पवित्र।" "किन?” मैले सोधें। " पाठो जस्तो देखिए पनि रगत त उस्तै होला।" 

ऊ अलि झसङ्ग भएझैं देखियो। " थुमा पवित्र र दागरहित हुनुपर्थ्यो,” उसले झटपट भन्यो। “तिमीले बुझ्दैनौ, फिलो के तिमीलाई मैले बताएको यस घटनाको याद छैन? कि त थुमा कि त म नै मर्नुपर्थ्यो।" 
“तिमी के कुरा गर्दैछौ? थुमा कि तिमी!" 

"मैले तिमीलाई त्यो घटना बताएँ, होइन र? जुन बेला मृत्यु-दूत त्यही बाटो भएर गए, त्यस बेलामा कि त थुमा अघि मरेको हुनुपर्थ्यो कि त जेठा छोरा मर्नुपर्थ्यो। मचाहिँ जेठो हुँ, र यदि इज्राएल मिस्र - देशबाट निस्केर आएका दिनहरूमा म त्यहाँ हुँदो हुँ त त्यो थुमा मेरो बदलीमा मर्नुपर्थ्यो।” 

म केही बोलिनँ; किनकि मलाई मैले उसका केही भित्री भावनामा चोट पुर्‍याएँ कि भन्ने लाग्यो। मैले यसभन्दा अघि बिन्यामिनलाई उसको संस्कृतिमा कति चासो थियो भन्ने कुरा बुझेको थिइनँ, र आउने दिनहरूमा म होशियार हुनेछु भन्ने निर्णय गरें; किनकि मैले मेरो भाइलाई माया गर्न थालेको थिएँ। 

शुरुमा मैले उसलाई म गालील फर्केर आएको खास कारण बताइन; तर एकदिन जब हामी ताल - तटमा थियौं, त्यतिखेर केही सिपाहीहरू गऱ्याप-गर्याप गर्दै आए, र म सधैं झैं छिटो-छिटो डुङ्गाको पछाड़ि गएर लुकें। बिन्यामिन हाँस्यो। “तिमीलाई के भएको छ, फिलो?” उसले सोध्यो। "के तिमीले कुनै बदमासी गरेका छौ? कसैले पनि तिमीप्रति शङ्का गर्न सक्छ। किनकि जतिखेर तिमी एउटा सिपाहीलाई वा एउटा सरकारी मान्छेलाई देख्छौ, तब तिमी बेपत्ता हुन्छौ यो सब किन हो?" 

"कसम! तिमीले तिम्रा बाबालाई भन्दै न भन्नू नि।" "मेरो यरूशलेम नै कसम ल।" 
यसरी मैले बिन्यामिनलाई सम्पूर्ण कहानी सुनाएँ, र उसले गम्भीर भएर सुन्यो। "तिनीहरूले तिमीलाई यहाँ भेट्टाउनेछैनन्”, मैले बताइसकेपछि उसले भन्यो। “तिमीले भन्यौ नि, तिम्री आमा र दिदीबहिनीहरूलाई बाहेक तिमी कहाँ छौ भन्ने कसैलाई पनि थाह छैन भनेर। आधा संसार नै कपर्नहुमको बाटो भएर हिँड्छ भने, र कसले एउटा घरदेखि भागेको केटो कता गयो भनेर चियो गरिरहन्छ र?" 

त्यसपछि छक्कलाग्दोसँग उसले थप्यो, "त्यो डुङ्गा जलाउँदा के तिमीलाई खुशी लाग्यो?" 
"पक्कै लाग्यो नि,' मैले झटपट जवाफ दिएँ। “मैले कहिल्यै नगरेको यो नै सबभन्दा राम्रो काम थियो। त्यो भतुवा कुकुर! यदि मेरो ठाउँमा तिमी भएको भए, के तिमी खुशी हुनेथिएनौ र?" 

बिन्यामिन ताल - पारितिर आँखा तन्कायो। उसका आँखाहरूमा सपना नाचिरहेका थिए र उसले एकछिन केही भनेन। “म पनि त्यस्तै ठन्छु,” उसले अन्तमा भन्यो। "तर मलाई पक्का थाह छैन। ती भविष्यवक्ताले त हामीलाई, 'धन्य यी मानिसहरू हुन्, जसले क्षमा दिन्छन् र मेलमिलाप गर्छन्' भन्ने गर्नुहुन्थ्यो। कहिलेकहीं त मलाई, के उहाँ नै ठीकै भन्दै त हुनुहुन्न कि भनेर शङ्का लाग्छ।" 

मैले उसको कुरा काट्नै लागेको थिएँ, तर आफैमा एकछिन विचार गरें। जे भए पनि त ती भविष्यवक्ताले नै मेरो घर-परिवार बदलिदिएका र इल्लिरिकालाई निको पारिदिएका थिए। म उनीप्रति आभारी हुनुपर्नेथिएँ। यसकारण मैले त्यत्ति मात्र भनेंः " के मानिसहरू अझै ती भविष्यवक्ताकै कुरा गर्दैछन्? गत वर्ष त उनले गर्दा सबै झोकले रन्केका थिए, अनि यस वर्ष त कसैले पनि उनको कुरा गरेको सुन्दिनँ त।" 
"तिमी अझै नौलो मानिस नै छौ ” बिन्यामिनले जवाफ दियो, “यसैकारणले मानिसहरूले के भनिरहेका छन्, तिमी सुन्दैनौ। गत शरदमा उहाँ दक्षिणतिर झुपड़ी - चाड़को लागि जानुभयो र यहूदियाबाट आउनेहरू सबैले उहाँको खबर ल्याउँछन्। उहाँ कति चोटि यरूशलेममा पुगि- सक्नुभएको छ; अरू अरूले उहाँलाई यर्दनपारि भेटेका छन्; अनि कसले भन्छन्, उहाँ ता बेथानीमा नै बस्नुहुन्छ। कसै-कसैले त उहाँको बारेमा अचम्मकै घटनाहरू बताउँछन्; तर कोही पनि खुल्लमखुल्ला बोल्दैन। फरिसीहरू र व्यवस्थाका पण्डितहरूले उहाँलाई घृणा गर्छन्। कसैले त अझ यसो पनि भन्छन्ः यरूशलेममा, मानिसहरू उहाँलाई पक्रने मतो गर्दैछन्।" 

"तिनीहरूले सक्नेछैनन्,” भनाइ के थियो भन्ने ख्यालै नगरी मैले नमजासँग भनिदिएँ। “यदि उहाँले बिरामीहरूलाई निको पार्न र दुष्ट आत्माहरूलाई धपाउन, साथै अझै ( थद्यपि म यसमा विश्वास गर्दिनँ ) ताललाई शान्त पार्न र मरेकाहरूलाई बौराएर उठाउन सक्नुहुन्छ भने त निश्चय नै उहाँ थोरै पूजाहारीहरूभन्दा सामर्थी हुनुहुन्छ। उहाँले तिनीहरूलाई छुनसम्म पनि दिनुहुनेछैन।" 

“अँह,” बिन्यामिनले मेरै कुरामा सही थाप्यो, "म त उहाँ सुरक्षित हुनुहुन्छ भन्ने कुरामा एकदम निश्चित छु; केवल ... यो सबको मतलब के होला? के तिमीलाई छक्क लाग्दैन? उहाँले कुरा गर्नुभएको त्यो राज्य के, कहिले, कहाँ हुन्छ? हामीले यसको एक छेउ मात्रै सुन्यौं भन्ने मलाई विश्वास छ; तर जब तिनीहरूले उहाँलाई राजा बनाउने इच्छा गरे, तब उहाँ त पर पहाड़हरूहुँदो पो जानुभयो। उहाँले आफ्नो ठूलो अवसर गुमाउनुभयो।" 

मैले केही जवाफ दिइनँ। मैले साँच्चिकै ती भविष्यवक्ताको बारेमा कुरा गर्न खोजेको थिइनँ; किनकि उहाँको शिक्षा र उहाँले देखाउनुभएको जीवन-मार्ग मेरा लागि थिएनन्। मैले बदला लिएँ; अनि म खुशी किन नहुने? तर जब मेरो परिवार वा बिन्यामिनले उहाँको बारेमा कुरा गर्थे, तब मेरो मनमा यस्तो एउटा कस्तो कस्तो अनौठो अनुभूति हुन्थ्यो; जब म पहाड़हरूहुँदो स्वाँ स्वाँ गर्दै चढिरहेको थिएँ, त्यस बेला त्यो अनुभवले मलाई पहिलो पल्ट छोप्यो। मलाई यस्तै लाग्थ्यो मचाहिँ भ्यालखानाभित्र बसेको थिएँ, जहाँदेखि मैले एउटा खुला ढोकाबाट ज्योति, रमाहट र स्वतन्त्रता चियाइरहेको थिएँ। तर म त्यस ढोकाबाट तर्किसकेको थिएँ; किनभने म त्यसबाट भएर जान डराएँ। त्यहाँ एउटा मोल तिर्नुपर्थ्यो र त्यो दाम तिर्नुभन्दा त झ्यालखानामा बस्नु नै मलाई सजिलो लाग्यो। 

म निस्तार-चाड़को धार्मिक विधि र त्यसको गम्भीरतादेखि आधा आकर्शित, आधा विकशित भएको थिएँ। मेरा मामाले मैले यस चाड़मा भाग लिए हुन्छ भन्ठान्नुभएको थियो; किनकि पुराना धर्म - शास्त्रको खण्डहरूले यसो भन्ने आज्ञा दिएका थिएः 'तिमीहरूका मूल ढोकाहरूमा बस्ने परदेशीहरूले पनि भाग लिऊन्'; तर रब्बी नहुम, बिन्यामिनका हजुरबा, जसले भोजमा सामेल भई त्यस उत्सवलाई आशिष दिनु थियो, उनले यहूदी धर्म अपनाउने अन्यजातिहरूलाई मात्रै त्यो नियम लागू हुन्छ भनी जिद्दी गर्थे; अनि ममा यसो गरेको कुनै नाम निशानै थिएन। यसैको बहस यति साह्रो चर्थ्यो, जसले गर्दा चाड़को सन्ध्यामा बेपत्ता भएर मैले आफ्नै पाराले यस समस्याको टुङ्गो लगाउने निर्णय गरें। जस्तो भए पनि, रब्बी नहुमको मलाई मनजुरी नदिएको 'पवित्र' आँखा तराइको अघिल्तिर बस्न मैले मन गरिनँ। यस वर्ष उनी निक्कै खिन्न थिए; किनकि बाह्र वर्षको उमेरदेखि यता यसपालि पहिलो पटक यरूशलेममा निस्तार-चाड़ मनाउन छुटेका थिए; किनकि उनी साहै वृद्ध भएर यात्रा गर्न नसक्ने भएका थिए। 
यसकारण दिउँसो सखारै म घरबाट फुत्त निस्कें, र वर्षाको न्यानो घाममा ताल-तालै हिँड़ें। पानी कछुवाहरूको चप्ल्याक - चप्ल्याक आवाज र चराहरूको गीत र चिरबिर-चिरबिरबाहेक वातावरण एकदम सुनसान थियो। अर्र्बल पर्वतको भिरालो नआइपुगेसम्म म दक्षिणतिर हिँड़ें, र अलिक डर मान्दै चोरहरूको उपत्यकाका ओड़ारहरूतिर चियाएँ, जहाँ धेरै पहिलेदेखि चोर र हत्याराहरूको लुक्ने ठाउँ थियो। राजाले पल्टनका पल्टन सिपाहीहरू चट्टानहरूदेखि तल ओरालेर हत्याराहरू भागाभाग नगरेसम्म कसैले पनि त्यस उपत्यकाको बाटो भएर जाने साहस गर्दैनथ्यो। मैले त्यस ठाउँलाई मन पराइन र साँझ पनि नजिकिँदैथियो। म तालको छेवैको फूलैफूलले भरिएको तीरमा बसें र आफ्ना खुट्टाहरू पानीमा चप्लाङ्ग - चप्लाङ्ग पारें। घाम डाँड़ाहरूको पछिल्तिर झरिसकेको थियो, अनि पानी मनोरम र खैरो भएको थियो। चाँड़ै, जब सन्ध्या ओर्लिन्छ, तब ती बन्द गरेका ढोकाहरूको पछाड़ि परिवारहरू भेला हुनेछन्। तिनीहरूले थुमाको मृत्यु र छर्किएको रगतको सम्झना गर्नेछन्, अनि तिनीहरूका जेठाको जीवन उम्केकोमा र तिनीहरूको राष्ट्रको जन्मोत्सवमा रमाउनेछन्। 

यसबाट अलग्गिएकोमा म खुशी थिएँ, तर अर्कोतिर मैले आफूलाई एक्लै महसुस गरें। मेरो ध्यान त्यस अचम्मको पुरानो घटनातिर गयो, त्यस मृत्यु-दूतले ती बन्द गरेका ढोकाहरूहुँदो घुम्दै गरेको र जेठा- जेठालाई मार्न पखिँदै गरेको कुरा याद गर्दा म थरथरी कामें। तर मृत्युले अघि नै मारिसकेको थियो, थुमाको रगत छर्किसकेको थियो; यसैले यो रगत देखेर त्यो डरलाग्दो, मृत्यु ल्याउने दूतले त्यस घरलाई छोड़ेर अघि बढ़े; र शायद घरभित्र थरथर भइरहेकी आमाले आफ्नो जेठालाई अँगालो हाले होलान्; अनि ऊ सुरक्षित भयो भनेर धन्य भन्दै रोए होलान्। हो, अब मैले अचानक महसुस गरें यस्तो मूल्य तिर्न सक्ने थुमा त अति नै विशेष थुमा हुनुपर्थ्यो। 

म धेरै बेरसम्म बसें; किनकि त्यस रात चारैतिर वातावरण अनौठो देखिन्थ्यो। पूर्वी चुचुराहरू फुस्रा हुँदै गए, र म गह्रौं हृदय लिएर अँध्यारो हुँदै गइरहेको ताल - ताल घरतिर बाटो लागें। म कतिखेर पुगुँला भन्ने मैले वस्तै गरिनँ; तिनीहरूको चाड़वाड़ मेरो लागि थिएन। मैले आफूलाई घृणा गरिएको, निकालिएको र घरको सम्झनाले साह्रै निराश भएको महसुस गरें; र जब अन्धकार झन्-झन् बढ्दै गयो, तब पुराना सम्झनाहरू उर्लिएर आएः मेरा बाबालाई अन्तिम छालले निल्नै लाग्दा उहाँको रोदनमय आवाज; मेरी दिदीको करुणामय वेदना र त्रास, लोभले याल चुहाइरहेको र कुइच्छाले भरिएको हिरामको अनुहार, मेरी आमालाई पैसा तिर्न खुंखार गरिरहेको झाँक्रीको रूपमा आएको दुष्ट आत्माको स्पर्श; त्यसपछि मैले त्यो सानो, मारिएको थुमालाई सम्झें। किन सधैं निर्दोष व्यक्तिहरूले सास्ती पाउँछन्? अचानक मैले यस संसारका सम्पूर्ण डर र कष्ट, पाप र तिरस्कारको बारेमा मेरो होश खोल्ने विज्ञ भएको महसुस गरें र मैले चिच्च्याउन चाहें। 

तर मैले त्यसो गरिनँ; किनकि एक्कासि बादलको पछाडिबाट निस्तार-चाड़को पहिलो जून देखा पर्‍यो र मैले तारैताराले भरिएको आकाशतिर आँखा उठाएर हेरें। अरू सम्झनाहरूले अब झन् रात जीवन्त बन्यो; इल्लिरिकाका आँखाहरूमा छाएको शान्ति; मेरी आमाको भित्री आनन्द, दुष्ट आत्माको दासत्वबाट स्वतन्त्र पारिएको, ताल पारिपट्टि बसेको मान्छेको जललल्ल हाँसो; अस्टरतीले अँध्यारो बितिसकेछ भन्ने थाह पाउँदै आफ्नो बाबाको अनुहारमा हेर्दाखेरिको उसको मुखाकृति, शुद्ध पारिएको कोरीको चंगाइ र तागत र अचानक मैले यी सब विपत्तिहरूको एउटा उपाय छ भन्ने थाह पाएँः एउटा सामर्थ्य, एउटा आनन्द हुन्छ, जोचाहिँ दुष्ट आत्माहरूका सम्पूर्ण शक्तिभन्दा शक्तिशाली सामर्थ्य हो। 

जुन बाटोमा मेरा खुट्टाहरू टेक्दैथिए, त्यसमा उहाँका खुट्टाहरू धेरै पल्ट टेकेका थिए। पानीमाथि-माथि हिँडेर उहाँले ताल पार गर्नुभएको कल्पना गर्न मलाई त्यति कठिन लाग्दैनथ्यो। यदि उहाँ मृत्युलाई, सबै रोगबिमार र दुष्ट आत्माहरूलाई जित्ने विजेता हुनुहुन्छ भने त उहाँले बतासहरूलाई किन आज्ञा नगर्नुहुने र? 

"अब अरू पचास दिन मात्र," मैले विचार गरें, "र शायद मेरा मामाले मलाई यरूशलेम लैजानुहुन्छ होला। र त्यसपछि शायद ... म उहाँलाई भेट्छु होला।" 

तर के म वास्तवमै उहाँलाई भेट्न चाहें र यसको के अर्थ हुन्थ्यो र? मलाई त्यति निश्चित थिएन। उहाँ राजा र विजेता हुनुहुन्छ भन्ने कुरा म भर्खरै विश्वास गर्न लागिरहेको थिएँ; तर मेरो विजेता हुने कि नहुने त्यो अर्को कुरा थियो।  

अध्‍याय : १६ 

मैले हतार गरिनँ र म एकाबिहानै रातको चौथो प्रहरतिर घर आइपुगें। म भर्‍याङ्ग चढेर माथि गएँ, कौसीमा छतमनि आफ्नो डसनामा पल्टिएर भुसुक्कै निदाएँ। म बिउँझिँदा घाम माथि पुगिसकेको थियो; तब दौड़ेर मैले बगैंचाको मुहानमा मुख धोएँ। हिजो रातभरिको हिँडाइले लखतरान भएर मलाई भोक लागेकोले म घरतिर हतारिएँ। 
त्यहाँ पाहुनाहरू टेबलको वरिपरि आरामसाथ बसिरहेका थिए। बिन्यामिन र उसका बाबा बाहिर गइसकेका थिए, तर योएल, उसकी आमा र दिदीबहिनीहरू पाहुनाहरूसँगै खाजा खाइरहेका थिए। मेरी माइजुकी दिदी यरूशलेमबाट आफ्ना आमाबुवासँग निस्तार-चाड़ मनाउन आएकी थिइन् र केही दिनको लागि बसिरहेकी थिइन्। उनी र मेरी माइजु यति जोड़ले र यति उत्साहित हुँदै कुरा गरिरहेका थिए कि म भित्र पसेकोसम्म उनीहरूले थाह गरेनन्। 

टेबलमाथि कस्तो भोज थियो; सबैजनाका आँखाहरू यस पाहुनामा अड़ेका थिए, जोचाहिँ कुनै तीन छकलाग्दो कथाको आधाआधीतिर पुगिरहेकी थिइन्। म बसें, अनि केही पातला अखमिरे रोटी, केही नुनिला ओल्स्याइएका माछा, सुकेका नेभाराहरू र जैतुनहरू लिएँ; त्यसपछि मैले एक कचौरा मही सारें; त्यति गर्दा पनि कसैले मलाई याद गरेन। 

“चार दिन चिहानभित्र!” उनले धन्नै-धन्नै साउती सोरमा भनिन्। "अनि यो पक्का हो; धेरै - धेरै मानिसहरूले यो देखे।" 

मैले चपाउँदै गर्दा कान तीखो पारें; यो त रमाइलो पो छ कि जस्तो सुनिन्थ्यो। चार दिनसम्म चिहानभित्र के थियो, म छक्क परें; मानिसहरूले के देखेका थिए? 

मेरी माइजु काँपिरहनुभएको थियो। उहाँले हातहरू मल्नुभयो र उहाँका आँखाहरू ठूलठूला र रिसाएका थिए। “म त यसमा विश्वासै गर्दिनँ,” उहाँले भन्नुभयो। “म त त्यत्तिकै यस कुरामा विश्वास गर्दिनँ।” 

"तिमी गर्दैनौ?” उहाँकी दिदीले दोहोर्‍याइन्, "ठीक छ; तर म त गर्छु। मैले पूजाहारीसँग विवाह गरेकी कुरा तिमीले बिर्से जस्ता छ्यौ, र तिनीहरू त सबै नै यो भएकै हो भनेर विश्वास गर्छन्। वास्तवमा, महापूजाहारी कायफाले एउटा आपतकालीन बैठक बोलाए र मेरा पति पनि जानुभएको थियो; अनि उहाँले त मलाई यो भन्नुभएको हो।” 
"तर चार दिन!" एउटी ठूली केटीले बीचमै कुरा काटी; "चार दिनपछि त यसको शरीरै सड्यो होला। यो त हुनै नसक्ने कुरा हो।" "त्यही नै यसकी दिदीले पनि भनी,” उसकी सनीमाले उत्सुकतापूर्वक जवाफ दिइन् "तर उनले कुनै वास्तै गरेनन्। उनले गजवले तिनीहरूलाई ढुङ्गा हटाउनू भनेर आज्ञा गरेर ठूलो सोरले बोलाए, 'लाजरस, बाहिर आऊ'; तब मरेको मान्छे कात्रोले बेरिएकै अवस्थामा बाहिर देखा पर्‍यो। कोही-कोही त बेहेश भए, तर दिदीहरू अगाडि दौड़े। 'उनलाई फुकाइदेओ, र जान देओ', येशूले भने, र लाजरस आफ्नो कात्रोको लुगाबाट जिउँदो र बलियो भएर बाहिर आयो।" 

अनि तब उनीहरूले कसको कुरा गरिरहेका भन्ने मैले थाह पाएँ। "तर तपाईंले त आफ्नै आँखाले देख्नुभएन; देख्नुभयो त?” सानी केटी प्याच्च बोली; उसको अनुहार पहेंलो हुँदै गइरहेको थियो। 

"अहँ, म त्यहाँ त थिइनँ नि। बेथानी शहरको पूर्वमा पर्छ। तर त्यतिखेर जो-जो त्यहाँ थिए, तिनीहरू धेरैलाई मैले भेटें; र तिनीहरू सबैले नै एउटै कुरा बताए। सयौं मानिसहरूले हामीले पर्खिरहेका मसीह, उद्धारकर्ता उहाँ नै हुनुहुन्छ भनी भन्छन्; तर पक्कै पनि अब यदि राष्ट्रको एउटा राजा खड़ा भयो भने ता रोमीहरूले यरूशलेम ध्वस्त पार्नेछन्। अनि हेरोद अर्किलेओस राजाको पालामा जे भएको थियो, त्यो कसैले पनि दोहोर्‍याइएको चाहँदैनन्। कायफा यसो भन्छन्ः 'पूरा राष्ट्रको खातिर त्यस मानिसलाई मृत्यु दण्ड दिनुपर्छ'; र मलाई त डर पो लाग्यो, प्रायः सबै पूजाहारीहरू र मन्दिरका शासकहरू उनकै कुरामा सही थाप्छन्।" 

"तर यदि उनले मरेका मानिसहरूलाई त बिउँताउन सक्छन् भने त कसरी तिनीहरूले उनलाई मृत्यु दण्ड दिन सक्लान्? उनी त मृत्युभन्दा शाक्तिशाली हुनुपर्छ; हुनुपर्दैन त?" 

मेरो बोल्ने मनसाय कदापि थिएन, म खाइरहन चाहन्थें, तर पनि यी शब्दहरू मेरो हृदयबाट निस्केर आफै बोलिरहेका जस्तो लाग्यो, र म अरूहरू जत्तिकै अचम्म मान्दैथिएँ। तर मेरी माइजुको रिस पङ्क्यो र उहाँ जुरुक्क उठेर मलाई कुटुंला झैं गर्नुभयो। 

"तँलाई यसबारेमा के थाह?" उहाँ मुठीहरू कस्दै चिच्च्याउनुभयो। “तँ! एउटा अन्यजाति कुकुर; हाम्रो घरभित्र घुसेर अनि मेरो र मेरा बाबुआमाको बदनाम गर्दै! त्यो येशू त धोकेवाज हो, म भन्छु; दुष्टहरूको गुठको एउटा दुष्ट धोकेवाज हो। हाम्रो चाड़ बिटुलो पार्दै तँ यहाँ नबस्; हाम्रो घरबाट निस्किहाल्।” 

मलाई डर लाग्यो, तर मैले यो प्रकट गर्न चाहिनँ; जे भए पनि योएलले उहाँको उठाएको हात च्याप्प समातेको थियो र उहाँलाई शान्त बनाउँदैथियो। म बिस्तारै उठें, केही फलफूल र निस्तारका रोटी लिएर ढोकातिर गएँ। तर गइहाल्नुअघि म फरक्क फर्केर उहाँको बिग्रेको कालोनीलो अनुहारमा सोझै हेरें र ठूलो सोरमा बोलें, “कस्तो अचम्म त! दुष्टहरूको गुठमा भएर उनले कसरी दुष्ट आत्माहरूलाई धपाउँछन्? के दुष्टले आफैसँग लड़ाइँ गरिरहेको छ? यो कुरा फेरि विचार गर्नुहोस्, माइजु।” 

सड़कैसड़क म आफैप्रति प्रसन्न हुँदै किनारतिर हिँड़ें; तर जब म किनारमा पुगें, तब मलाई चिन्ता लागिसक्यो; मलाई खाना र वास बस्ने ठाउँ चाहिएको थियो; तर माइजुले मलाई कहिल्यै फर्केर आउन दिनुहुनेछैन होला। तर यदि म केही घण्टा त्यस घरमा फर्किन्नँ भने मेरा मामाले मेरो पक्ष लिनुहुन्छ होला मैले भन्ठानें। 

आजको वातावरण छुट्टीको वातावरण थियो; किनकि निस्तार- चाड़को रातमा कोही पनि माछा मार्न गएको थिएन, र आज विश्राम- दिनको तयारी हुने साँझमा पनि कोही पनि माछा मार्नेछैन। हालैमा कसैलाई मेरो खाँचो थिएन मैले त्यस ठाउँमा, जहाँ एक वर्षअधि बिन्यामिन र म हामी बसेका थियौं र जहाँ उसले मलाई भीड़हरूलाई खुवाइएको ठाउँ देखाएको थियो, अनि मलाई आँधीबेहरीको बारेमा बताएको थियो, त्यहाँ, त्यही ठाउँमा फर्केर जाने मलाई अचानक असाध्यै मन लागेको थियो। त्यस घमाइलो बिहानीमा मैले त्यसको एउटै कुरा पनि पत्याएको थिइनँ, तर त्यस बेलादेखि उसो धेरै घटनाहरू घटेका थिए। यर्दन नदीको मुखको पछाड़िको ठाउँतिर, जहाँ पानी हरियो र सेतो थियो र जहाँ लटरम्म हरियाली थियो, त्यहीतिर जान्छु भनेर मैले ढुङ्गा अङ्कसेबाट फुकालें र खियाउन थालें। मध्यदिनभन्दा केही अगाड़ि म त्यहाँ आइपुगें; मैले तीरमाथि पाइला हालें; तर हेर्मोन - पर्वतबाट पग्लेको हिउँले गर्दा यर्दनमा भल आएको थियो; यसले मलाई दक्षिणतिर पुर्‍यायो, र म एउटा गाउँको छेउतिर पुगें, जहाँ ताल-तटमा केटाकेटीहरू खेलिरहेका थिए। तिनीहरूमा दुईजना त तालको पानीमाथि-माथि ढुङ्गा बत्ताइरहेका थिए, तर तेस्रोचाहिँ अलि पर गयो; अनि ऊ फूलहरू टिपिरहेको थियो। 

थोरै मात्र म हिँडेको थिएँ; तब केही कुरा हुँदैछ भन्ने मैले थाह पाइहालें। एउटा बाक्लो हुस्सु घामलाई नै ढप्प छोप्दै आकाशमा उठिरहेको थियो। एकछिनअघिसम्म कञ्चन नीलो ताल अचानक धमिलो र फूलहरूबाट सबै रङ्ग झिकेर लगेको जस्तै भएको थियो। डराउँदै मैले यताउति हेरें; अनि स्पष्ट ठमाउन नसकिने गरी मैले दुईजना केटाकेटी गाउँतिर दौड्दै गरेका देखें। त्यसपछि हुस्सु झन् कालो झन् कालो हुँदै गयो; एकछिनपछि त मैले केही पनि देख्नै सकिनँ। त्यो उकुसमुकुस पार्ने अन्धकारको खोलले सबै चीज नै छोपेको थियो, र यस कालो चकमन्नमा उकुसमुकुस हुँदै म एक्लै उभिएँ। मैले कुन दिशा कतातिर हो भन्ने कुरा सब भुलें; केवल पानीका चञ्चल लहरहरूले मलाई ताल मेरो देब्रेतिर छ भन्ने सङ्केत दिलाए। 

मैले अघि बढ्ने साहस गरिनँ। म भुइँमा थ्याच्च परेर बसें। मैले नजिकै नै त्यस तेस्रो केटोको आत्तिंदै चिच्च्याइरहेको आवाज सुनें; र त्यो आवाज नजिक नजिकै आउँदैथियो। यदि ऊ छिटो-छिटो दौड्यो भने ऊ पक्कै पानीमा फाल हान्नेछ। यस्तो बेलामा एउटा सानो केटोको सँगत पनि राम्रो हुने रहेछ। म उभिएँ र मैले सकेसम्म जोड़ले उसलाई उसको चीत्कारको आवाजतिर बिस्तारै छाम्दै बोलाइरहें। जब कसैले उसलाई हेर्दैछ भन्ने उसले बुझ्यो, तब उसको सुँक्क सुँक्क कम पीड़ादायी हुँदै गयो। 

"तिमी कता छौ?" ऊ चिच्च्यायो। "आहो, तिमी आऊ न; म यता छु।" 
"त्यही उभिराख, " मैले भनें, “तिमी जहाँ छौ, त्यहीं बसिराख, र कुरा गरिरह। सकभर छिटो म आउँदैछु।" 

त्यस ठमाउनै नसकिने कालो, डम्म अन्धकारमा उसलाई भेट्टाउन केही बेर लाग्यो। त्यसपछि म भुइँमा बसें र उसलाई मेरो काखमा तानेर राखें। उसको जीउको तातोले मलाई आनन्दित तुल्यायो। तर्सिएर ऊ मसित बेसरी टाँसियो। ऊ निक्कै आत्तिएको थियो र शुरुमा ऊ बेहोशीजस्तै निरन्तर कुरा गरिरह्यो। 

"एकै छिनमा रात पर्‍यो, होइन त?” उसले कन्दै भन्यो, “मलाई त बिहान भएको लाग्यो। तिनीहरू दौड़े र मलाई छोड़िदिए, होइन त? अनि किन मेरा बाबाले मलाई खोज्न आउनुभएन? अनि अब कहिले फेरि बिहान हुनेछ? यो कस्तो अनौठो रात, होइन त? किनभने त्यहाँ कुनै जून छैन, तारा पनि छैन, अनि यति छिटै अँधेरो भयो। कहिले मेरा बाबा आउनुहुन्छ होला? अनि तिमी को हौ? के तिमी ठूलो मान्छे कि एउटा केटा हौ?" 

"एउटा केटा मात्रै, ” मैले जवाफ दिएँ, "र मलाई पक्का थाह छ तिम्रा बाबाले तिमीलाई खोज्दै हुनुहुन्छ; तर यस्तो अँध्यारोमा कतातिर हेर्ने भनेर उहाँलाई थाह नै हुनेछैन, हुनेछ त?" 

"तर केटा, यतिखेर त बिहान मात्रै थियो; किन यति छिटै रात भयो?" 
" मलाई थाह छैन।" 
"केटा, के तिमीलाई अब चाँड़ै बिहान हुन्छ भन्ने लाग्छ?” 

"मलाई थाह छैन; छैटौं घड़ीजति मात्र भएको थियो होला।" "त्यसो भए त यतिखेर तातो हुनुपर्ने; तर म त साह्रै चिसो छु। उज्यालो कहिले फर्केर आउँछ होला? तिमीलाई के लाग्छ? र किन अहिले यस्तो साह्रै अँध्यारो छ?" 
"मलाई थाह छैन।" 

ऊ आफ्नै सुरमा काइँकुइँ गरेकोमा थकित भई केही समय मेरो काखमा चुपचाप बस्यो। एकछिनपछि ऊ बिस्तारै कराउन थाल्यो र मैले उसको ध्यान अन्तै लान खोजें। 

"के तिमी पर, त्यस गाउँमा बस्छौ?" 
"हो, मेरो आमा, बाबा, दादा र दिदीसँग। तिनीहरू दौड़े र मलाई छाड़िदिए। किन मेरा बाबा आएर मलाई भेट्टाउनुहुन्न?" 
"उहाँ चाँड़ै आउनुहुन्छ नि। मलाई भन, जब येशू हाम्रो पछाड़िको डाँडामा भीड़हरूसँग बोल्नुहुँदा के तिमी उहाँको कुरा सुन्न गयौ?" 

ऊ काम्न छोड्यो र उसको सानो शरीरको वजन त्यो नाम सुनेबित्तिकै हलुको भए जस्तो मलाई लाग्यो। 
"अहो, हो त, हामी सबै गयौं; सबै नै गए। मेरी हजुरमा त लङ्गड़ी हुनुहुन्थ्यो; तर अब उहाँ लङ्गड़ी हुनुहुन्न। जब साँझ पस्यो, तब कोही पनि घर जानै खोजेन। सबै चुपचाप थिए र खुशी थिए, तर तिनीहरूलाई अलि-अलि भोक लागेको थियो। उहाँले हामी सबैलाई बस्न लगाउनुभयो, अनि हामीले एउटा वनभोज खायौं!" 
"मलाई वनभोजको कुरा भन त।" 

ऊ अँध्यारो र डरलाई बिर्संदै आफ्नो कथामा चुर्लुम्म डुब्यो। ऊ घस्रिदै येशूको छेवैमा पुगेको थियो र ती मानिस, जससँग मृत्यु र दुष्ट आत्माहरूको भन्दा ठूलो शक्ति छ, ऊतिर हेरेर हाँसे। एकैछिनमै सबै केटाकेटीहरू वरिपरि भेला भएका थिए। त्यस अनौठो दिनको गतिविधीहरू बयान गर्न खोज्दा त्यस सानो केटोको सोर भावुक हुँदै गयो। 

"तिमी बुझ, उहाँले साना केटाकेटीहरूलाई साह्रै माया गर्नुहुन्छ।” त्यो प्रेम र वास्ताको सम्झनाले लट्ठ भएझैं गरी त्यो केटो ममा अड़ेसिएर आराम गर्‍यो। “उहाँले सबैलाई प्रेम गर्नुहुन्छ ...; सबैजना खुशी थिए।" 

उसको बोलीले उसलाई निद्रातिर डोर्‍यायो; मैले तल हेरें, र माटैमाटो लागेको, त्यो सानो, शान्त अनुहार देखें। मैले आँखा उठाएर हेरें, र एकछिनमा फूलहरूका पत्तपत्तीहरू र पानी धमिला भए। त्यसपछि हामीमाथि घाम झुलुक्क देखा पर्‍यो; घाम पहिले चिसो र बिस्तारै तातोजस्तो झुल्केको होइन, तर अचानक पूरा तेजमा, अन्धकारलाई एकैपल्टमा हटाउँदै एउटा विजेताले आफ्नो शत्रुहरूलाई हनाहन बनाएजस्तै; मैले तिरमिर्र भएर आफ्नो अनुहार केटाको कपालमा लुकाएँ, र एकैछिनपछि मैले एकजना मानिसको, तीरतिर दौड्दै आएको र हतासिँदै बोलाइरहेको आवाज सुनें। म उसलाई भेट्न उठें र उसको छातीमा बालक राखिदिएँ। 

ऊ यति साह्रो ढुक्क भयो कि उसले मलाई शुरुमा यादै गरेन। उसले आफ्नो सानो छोरालाई छातीमा टाँस्यो र आनन्दले लाजै नमानी रोयो; किनकि उसको छोरा तालभित्र खस्यो कि भनेर ऊ डराएको थियो। तर जब ऊ शान्त भयो, तब उसले मलाई इमानदारसाथ बतायो कि अरू केटाकेटीहरू अन्धकारले अतालिएर भर्खरै मात्रै घर पुगेका थिए; यसकारण तिनीहरूलाई ऊ दक्षिणतिर खोजिरहेको थियो। 

उसको कपड़ा हेरेर ऊ एउटा रब्बी हो भनेर मैले चिन्न सकें; तर कपर्नहुमका केही हुँ भनी ठान्ने रब्बीहरूभन्दा ऊ साधारण र दयालु मान्छेजस्तो देखिन्थ्यो; यसैले मैले उसलाई केही कुरा सोध्ने हिम्मत गरें। मैले उसलाई, उसको विचारमा, अन्धकार हुनुको कारण के होला भनी सोधें। 

ऊ हच्कियो र उसको अनुहारमा एउटा अनौठो भाव झल्कियो। "के तिमी यहूदी होइनौ?" 
“होइनँ, म त एउटा सुरोफोनिसी हुँ; तर मेरा मामाले कपर्नहुममा एउटी यहूदी स्त्रीलाई विवाह गर्नुभएको छ। " 
"त्यसो भए त तिमी निक्कै समय कपर्नहुममा बसेका छौ होला?" 
 

"अहँ, एकछिन मात्रै।" 
आफ्ना शब्दहरू गमिरहे मैं ऊ चुप भयो। "तिमी अन्धकारको कारण सोध्यौ,” उसले अचानक भन्यो "मलाई थाह छैन; म भने सक्दिनँ; योएल भविष्यवक्ताका वचनहरू पूरा हुन आए कि?" 

ऊ रोकियो र यताउति चाल मार्‍यो। "तपाईंले भुल्नुभयो होला; मलाई तपाईंहरूका धर्म शास्त्रहरूको बारेमा केही थाह छैन नि ” मैले नम्र भएर भनें। “यो भविष्यवाणी के हो?" 

गम्भीर आवाजमा उसले मेरो पछिल्तिरका पहाड़हरूतिर आँखा तन्काउँदै अन्तिम शब्दहरू सुस्तसँग भन्दै पवित्र शास्त्रको यो खण्ड सम्पूर्ण रूपले मुखाग्र गर्‍यो, " 'परमप्रभुको महान् र नामी दिन आउनुभन्दा अघि घाम अँध्यारोमा र जून रगतमा परिवर्तित हुनेछ।' छोरा, प्रश्न यो छ के यही नै परमप्रभुको महान् र नामी दिन हो त?"

मैले नबुझेर उसमा आँखा अड़ाएर हेरें। त्यसपछि उसले ठाड़े भन्योः “के तिमीले कपर्नहुममा कहिल्यै भविष्यवक्ता येशूको कुरा गरेको सुनेका छौ?" 

"प्रायः सुनेको छु,” मैले जवाफ दिएँ। “गत साल त मानिसहरूले त्यही कुरा मात्र गरेका सुन्थें; यस वर्ष त म थोरै सुन्छु। तिनीहरूले, उहाँ यरूशलेम जानुभएको छ भन्छन्। अनि जो-जो राजधानीबाट आउँछन्, तिनीहरूले, उहाँ अझै अचम्मका कामहरू गर्दै हुनुहुन्छ भन्छन्।” 

सोचेर उसले टाउँको हल्लायो। “त्यसो हो भने उहाँले आफ्नो राज्य स्थापना गर्ने ठाउँ त्यही राजधानीमा होला,” उसले भन्यो। “यहाँ त उहाँले इन्कार गर्नुभयो। कति आनन्दले हामीले उहाँलाई त्यहाँ पहाड़माथि राजा अभिषेक गर्नेथ्यौं; तर उहाँ त्यहाँ माथि यी चट्टानहरूहुँदोबाट फुत्त भाग्नुभयो र अर्को दिन मानिसहरू फेरि दुईमत भए, र कसैले त आफ्नो मन बदलिसकेको थियो। तर जे लेखिएको छ, त्यो उहाँले पूरा गर्नुभयो; कहिले र कसको हातले अन्धाका आँखाहरू र बहिराका कानहरू खोलिन्थे? कसको छुवाइले लङ्गडाहरू मृगझैं उफ्रन्थे र गुंगाहरूले गाउँथे? यदि उहाँ नै मसीह हुनुहुन्छ भने त उहाँले आफ्नो राज्य स्थापना गर्नुहुन्छ; तब परमप्रभुको महान् र नामी दिनको उदय हुनेछ।" 

उसले मलाई बिर्सेको जस्तो देखियो; किनभने ऊ फरक्क फर्थ्यो, उसको हातमा छोड़िएको बालकसँगै ऊ गुनगुनाउँदै आफ्नै सुरमा घरतिर लाग्यो; म पानीनेर छोड़िएँ। 

त्यहाँबाट म तालमा उत्रे र दिउँसोको धूपमा गर्मीले निथ्रुक्क हुँदै मैले छिटो-छिटो डुङ्गा खियाएँ। मैले पहिले कहिल्यै घाम नदेखेको जस्तो अनुभव गरें। यो अन्धकार कति बेरसम्म रह्यो होला भन्ने प्रश्न मेरो मनमा उठ्यो; यसैले म छिटो घर पुग्न र यसको बारेमा बिन्यामिनलाई सोध्न मैले इच्छा गरें। माइजुसँगको झगड़ा त मैले भुसुक्कै बिर्से र जब म हतारिँदै घरभित्र छिरें, तब उहाँले पनि बिर्सनुभएको जस्तै देखियो। उहाँ सधैंझैं विश्राम-दिनको लागि तयारी गर्दै हुनुहुन्थ्यो, तर मैले उहाँका हातहरू कामिरहेका र उहाँको अनुहार कालोनीलो भएको देखें। 

"ओहो माइजु," म चिच्च्याएँ, “तपाईं ठीकै त हुनुहुन्छ? म त त्यस डरलाग्दो अँध्यारोमा एक्लै थिएँ अनि त्यो त धेरै बेरसम्म रहेको जस्तो देखिन्थ्यो।" 

उहाँ मतिर फर्कनुभयो र मैले उहाँका आँखाहरूमा डर छाइरहेको प्रष्टै देखें। “यो त छैटौं घड़ीदेखि नवौं घड़ीसम्म रह्यो,” उहाँ गुनगुनाउनुभयो, “ र तिनीहरूले 'यसले कुनै भयङ्कर विपत्ति आइपर्नेछ भनी सङ्केत गर्छ' भन्छन्; यस्तो भयङ्कर कि घामले हामीबाट आफ्नो अनुहार लुकायो।” 

मैले केही भनिनँ, तर विचार गर्दै उभिरहें। अब चाँडै घाम अस्ताउनेछ, र ताल आकाशको ढकनीमुनि सेतो र गुलावी प्रकाशले सुन्तला रङ्गमा झलमल्ल भएको थियो। अन्धकार हटिसकेको थियो र पहिले भन्दा अहिले छर्लङ्ग उज्यालो छाएको थियो। त्यसो हो भने त पक्कै पनि यो विपत्ति अघि नै आइपरिसक्यो; उनीहरूले बत्ती बाल्दा म काँपें; विश्राम दिनको साँझको चकमन्न वातावरणमा पनि सबैजना नै डराइरहेका र आत्तिरहेका देखिन्थे। 

अत्यास रहिरह्यो र कुनै घटना घटेको हुनुपर्छ भन्ने पक्का भयो; आइमाईहरू इनारमा बसिरहे र लोग्ने मानिसहरू सड़कका गल्लीहरूहुँदो मसिनो सोरमा कुरा गरिरहे वा डुङ्गाहरूको वरिपरि भेला भए। तर विश्राम- दिन सकिएर पाँच दिन भइसकेपछि जब यरूशलेमबाट पहिला यात्रीहरू आइपुगे, तब मात्रै हामीले हालखबर सुन्यौं। तिनीहरू कपर्नहुमको बाटो भएर आउँदै गर्दा चाड़ मानेर रमाउँदै गरेका यात्रीहरूजस्तो थिएनन्, तर चुप लागेर तिनीहरू बोल्नै मन नगरिरहेका थिए। तरैपनि राजधानीमा भएका अचम्मका र डरलाग्दा कुराहरूको गाइँगुइँ फैलियो; महासभाका आपतकालीन बैठकहरू, हुलदङ्गाहरू र सड़कहरूहुँदो पक्राउहरू, निस्पट्ट अन्धकार, भुइँचालो र अचानक मन्दिरको पर्दा भन्नै नसकिने गरी दुई भागमा ज्यातिएको। 

“अनि भविष्यवक्ता येशू, के उनी त्यहाँ थिए?" सबैमा यही प्रश्न सोध्ने मन थियो। 
मेघनादजस्तै जवाफ आयो, “ओहो, हो त उनी त्यहाँ थिए; यी घटनाहरूको कारण उनी नै थिए। तिनीहरूले उनलाई क्रूसमा टाँगे।" 

अध्‍याय :१७

मलाई लाग्छ कसैले कुनै चीज नगुमाएसम्म त्यसको महतत्त्व कहिल्यै बुझ्दैन। ठीक त्यस्तै येशूको मृत्यु नभएसम्म ती भविष्यवक्ताको, जसलाई मैले कहिल्यै देखेको थिइनँ, मेरो जीवनमा कस्तो सामर्थ्यको हात थियो भन्ने कुरा मैले सांच्चै कहिल्यै बुझेको थिइनँ। आफूलाई थाह नहुने गरी म आफूले सुनेका सबै कुरा पत्याउन पुगेको थिएँ। प्रमाणहरू साह्रै चित्त बुझ्दा थिए; दुष्ट आत्माहरू, प्रकृति, रोगबिमार, अन्धोपन र मृत्युलाई समेत त उहाँले जित्नुभएको थियो। अनि यस संसारमा दुष्टका सबै शक्तिभन्दा ठूलो, सबैलाई जिले सामर्थ्य उहाँमा नै वास गर्थ्यो; र त्यही सामर्थ्यचाहिँ दया र कृपाको कारणले मानिस जातिमा बहन्थ्यो भन्ने पक्का विश्वास ममा आइसकेको थियो। यसरी विश्वास गर्नु कति उचित थियो; योचाहिँ आफ्ना खुट्टाले एउटा बलियो चट्टानमाथि उभिएर ढुक्क हुने जस्तै नै थियो!

तर अब त मेरो जीवनको जग भत्किएको थियो र म यसको बारेमा सोच्नै चाहँदिनथें। उहाँका शत्रुहरू, जाबा मानिसहरूले अखिरमा उहाँलाई जितेरै छाड़ेका थिए। अन्तमा कमजोर र सहाराबिहिन अवस्थामा उहाँ रोमीहरूको क्रूसमा झुण्डिनुभएको थियो; अनि उहाँ, जसले मरेकाहरू बौराएर उठाउनुभएको थियो, उहाँले मृत्युसित हार खानुभएको थियो। के उहाँ एउटा धोकेवाज मत्र हुनुहुन्थ्यो? जित्ने शक्ति त दुष्टसँग पो रहेछ; सबै संयोगमा र भाग्यमा भर पर्दो रहेछ; यसो हो भने अब उसो संसार सुरक्षित नहुने ठाउँ रहेछ। यसकारण मैले मेरो दिमाग, यी सबै घटनाहरूको विषयमा सोच्न नपरोस् भनेर बन्द गरें; आफूभित्र रहेको रित्तोपनबाट फर्केर म दिनदिनै जे-जस्ता मोजमज्जामा रमाउन लागें। मैले निस्तार-चाड़का यात्रीहरूले लिएर आएका थुप्रै कथाहरू र गाइँगुइँहरू सुने इच्छा गरिन; किनकि तिनीहरूले कुरा गरेका मानिसको बारेमा मेरो मन मरिसकेको थियो। मौसम गर्मी थियो, बालीहरू पहेंलपुर हुँदैथिए; तालको पानी तातो, नीलो र माछाहरू प्रशस्तै थिए; गर्नुपर्ने कामहरू पनि थुप्रै थिए, र यसले गर्दा म खुशी थिएँ। दिउँसो सोच्ने फुर्सदै हुँदैनथ्यो, रातमा म थाक्यें र मस्तसँग सुत्थें; कहिलेकहीं मेरा मामाले बिन्यामिन र मलाई, फैलिएका, माछाले भरिएका जालहरू भित्र्याउँदा सहायता दिनको निम्ति डुङ्गामा लिएर जानुहुन्थ्यो। यस्ता रातहरूमा म बेसरी काम गर्थे र उहाँका खुट्टाहरू छालहरूमाथि-माथि हिँड़ेका थिए भन्ने एक समयमा गरेको कल्पना मैले बिर्सन कोशिश गरें।

बिन्यामिन र योएल पनि निस्तार चाड़को पचास दिनपछाड़ि पेन्टेकोष्ट चाड़को बेलामा गर्ने भनिएको यरूशलेम यात्रा नजिकै आउँदै गर्दा यसो होला कि उसो होला भन्दै कुरा गरिरहेका थिए। त्यति बेला टाढ़ानजिक सबै ठाउँबाट तीर्थ-यात्रीहरू राजधानीमा धुइरनेथे, र तिनीहरू सबैले खानुपर्थ्यो। मेरा मामा प्रायः प्रत्येक साल सुकाइएका, नुनिला माछा लिएर यरूशलेमका बजारहरूहुँदो बेच्न जानुहुन्थ्यो; र यो एकदम फाइदा हुने अभियान हुन्थ्यो! गत समयहरूमा त उहाँको साथमा बिन्यामिन जान्थ्यो, तर अब ऊ उमेर छिपेको र घरकै व्यापार सम्हाल्न उपयुक्त ठनियो। यसपालि योएल र मैले भरिया र गधा धपाउनेको रूपमा जानुपर्छ भन्ने गाइँगुइँ सुनियो; तर मामाको मुखबाट भने हामीले कुनै निश्चित कुरा सुनेका थिएनौं। त्यस उमङ्गले पहिले म गद्गद भएको थिएँ।

भर्खरै त्यो उराठलाग्दो निस्तार-चाड़ सकिएको केही दिन मात्रै भएको थियो, र सम्पूर्ण कर्पनहुम अझ यरूशलेममा जे घटेको थियो, अर्थात् येशू क्रूसमा टंगाइएको हल्लाले हुनहुनाएको थियो; त्यस बेला मेरा मामाले यात्राको कुरा उठाउनुभयो। उहाँले शायद मेरो उदासीन निराशा देख्नुभएको थियो होला र म अरू कुनै कुरामा मन लगाऊँ भन्ने चाहनुहुन्थ्यो होला। हामीहरू ताल - तटमा बसेर माछा निकालिसकेपछि जालहरू नियाल्दैथियौं, जब अचानकै उहाँले भन्नुभयो, “यरूशलेम जान तिमीलाई कत्तिको मन छ, फिलो? तिमी कहिल्यै दक्षिणतिर पुगेका छैनौ, होइन त? मलाई लाग्छ, यस वर्ष योएल र तिमीले गधाहरू र भारी बोकाउने र भारी झार्ने गर्न सक्छौ होला। तिमीले मरिमेटेर काम गरेका छौ र यस यात्राले तिमीलाई राम्रो हुनेछ।"

उहाँ नम्र सोरमा बोल्नुभयो, र पहिले जस्तै म उत्साहित हुने आशा गर्दै उहाँले त्यो भन्नुभयो भन्ने कुरामा कुनै शङ्का छैन। तर म उहाँतिर हेरिरहें मात्रै झसङ्ग भई मैले बुझें कि मेरो यरूशलेम जाने इच्छा सेलाएको थियो।

मेरो लागि यरूशलेम भूत-नगरजस्तै लाग्थ्यो; त्यस शहरमा खुट्टा टेकेर त्यसका पर्खालबाहिरको यस डांड़ामा हेर्न मलाई मन लागेन, जहाँ ती चङ्गाइकर्ता र विजेता पराजित भएका र हत्या गरिएका थिए। मलाई, उनको मृत्यु चाहेर होहल्ला गरिरहेका मानिसहरूसँग मिसिन पनि मन लागेन। म उनलाई बिर्सन चाहन्थें र फेरि कहिल्यै घर जान पनि चाहँदिनथें; किनकि मेरो विचारमा, सबै प्रमाणहरू प्रतिकूल भएर पनि मेरी आमा र दिदीबहिनीहरूले उनीमाथि राखिएको विश्वासमा अटल रहलान्, र त्यहाँ पनि म पाहुना मात्र हुनेछु। तर यी सब कुरा म मेरा मामालाई बुझाउन सक्दिनथें; यसकारण मैले लामो सास फेरेर यति नै भनें, “तपाईं जस्तो इच्छा गर्नुहुन्छ, मामा; यदि मेरो काम लाग्छ भने म आउनेछु।" मलाई लाग्यो, मेरो जवाफमा उहाँले निरास मान्नुभयो होला, तर योएलको उत्साहले यसको पूर्ति गर्‍यो, र त्यस यात्रा - अभियानका योजनाहरू अघि बढ्दै गए।

हाम्रो सानो माछा अमिल्याउने टहरो वर्षाका थुप्रै माछाहरूले गर्दा साह्रै साँघुरो भएको थियो; यसैले बिन्यामिन र म धेरैपल्ट सानो डुङ्गामा माछाहरू लादेर ट्रैखैया भएका माछा अमिल्याउने टहराहरूमा जान्थ्यौं र भण्डारमा राख्न तयार भएका जतिलाई फिर्ता ल्याउने गथ्यौं। यस्ता बारम्बार गरेका ओहोर-दोहोरमा म रमाएँ; धेरैजसो हामी एकछिन पौड़ी खेल्न बाटोमा रोक्थ्यौं। हाम्रो मनपर्दो ताल - तट ताब्धाको खाँड़ी थियो, जसको रूप एउटा सानो रङ्गशालाजस्तो थियो, र जसको पछाड़ि घाँसले टन्न ढाकेको ठाउँ उठिरहेको थियो। दिनको गर्मीमा हामी फर्कंदै गर्दा त्यो ठाउँ प्रायः सुनसान हुन्थ्यो; यसैले एक बिहान यस खाँड़ीको नजिक जाँदै गर्दा हामी झसङ्ग भयौं किनकि त्यहाँ हामीले एउटा डुङ्गा भसाइएको र एउटा जवानलाई देख्यौं। उसको छेवैमा उतारिएको डुङ्गा चलाउने सरसामानहरू पट्ट्याइएका थिए, र ऊ एकोहोरो तालपारि हेर्दै बसिरहेको थियो। बिन्यामिनले आँखा झिमिक्क गर्‍यो र आश्चर्य मान्दै भन्डै आफ्नो बहना खसाल्यो।

"यिनी त जब्दिका छोरा यूहन्ना हुन्, "उसले अचम्म मान्दै भन्यो, "उनी र उनका दाजुले ती भविष्यवक्तालाई पछ्याउन बिनसित्ति आफ्नो डुङ्गा नै छोड़े। मेरो विचारमा, उनी फेरि माछा मार्न आएका छन्। बिचरा यी मान्छे! उनलाई कति नरमाइलो लागेको हुनुपर्छ।”

“अँ, हामी जाँदै गरौं,” मैले हतारिँदै भनें, “उनले हामीलाई भेट्न मन पराउँदैनन्; अनि ... अनि म पनि त त्यसको बारेमा सुन्न चाहँदिनँ।" "होइन," बिन्यामिनले दृढ़ भएर भन्यो, “उनी र याकूब ता हाम्रा साथीहरू हुन्; र उनले हामीलाई देखिसकेका छन्। उनलाई, उनी फर्केर आएकामा हामी खुशी छौं त भनौं। मलाई लाग्छ, शहरमा तिनीहरू सबैले उनको खिल्ली उडाइरहेका होलान् र उनलाई आफ्ना साथीहरूको खाँचो छ।”

मैले केही भनिनँ; किनकि बिन्यामिनको त्यस दयालु, स्वभाविक प्रेमले भरिएको हृदयलाई मैले मानें, अनि धेरैपल्ट म पनि ऊजस्तै हुन पाए हुन्थ्यो भन्ने तिर्सना गरें। हामीले छिटै खियायौं र किनारमा हाम फाल्यौं।

"तपाईंलाई शान्ति होस्, यूहन्ना, " बिन्यामिनले अलि लाज मान्दै भन्यो। “तपाईं घर फर्केकोमा हामी खुशी छौं। के तपाईं फेरि हामीसँगै काम गर्नुहुन्छ?”

उनले टाउको हल्लाए र मुसुक्क हाँसे; म छक्क मान्दै उनलाई हेरिरहें; किनकि त्यस हाँसोमा कुनै पनि अफसोस वा ठूलो भ्रमबाट बिउँझेको छु भन्ने निरास थिएन; त्यस गुँजिरहेको आवाजमा कुनै त्रास पनि छु थिएन।

"अहो, होइन; बितेको रात नै हाम्रो माछा मार्ने अन्तिम रात थियो। म त यो जाल मेरो बुवालाई फिर्ता दिन तुनिरहेको मात्रै। हामी छिटोभन्दा छिटो यरूशलेम पुग्नुपर्छ। उहाँले हामीलाई उत्तरतिर आउनू र उहाँलाई गालीलमा भेट्नू भन्नुभएको थियो; तर अहिले राजधानीमै हाम्रो खाँचो छ।”

उनको त्यस सोरमा उत्तेजनाको आभास थियो; र हामी अब के भन्ने होला भनी अलमल्लमा परेर चुपचाप उभियौं। मलाई शङ्का लाग्यो – के पीड़ाले उनलाई बौलाहा त बनाएन? छोटो अवधिपछि बिन्यमिनले शान्तसँग भन्यो, “हामी दःखित छौं, यूहन्ना। तपाईंको लागि यो कति उराठलाग्दो समय भएको होला।"

"हो," यूहन्नाले त्यत्तिकै भने, “त्यो मेरो जीवनको सबभन्दा विरक्तलाग्दो दिन थियो, तर हप्ताको पहिलो दिन त एकदमै रमाउने दिन भयो। हामी कति मन्द बुद्धि भएका, कति अन्धा थियौं! उहाँले हामीलाई यति साह्रो गरी बताउन खोज्दा पनि हामीले कुरा कहिल्यै बुझेनौं।”

चुपचाप रहेर अफ्ठ्यारो मान्दै हामीले उनलाई लगातार हेरिरह्यौं। 
“यसको मतलब,” यूहन्ना भन्दै गए, “तिमीहरूले त्यो कुरा सुनेका छैनौ? अथवा के तिमीहरूले त्यो कुरा पत्याउन सकेनौ?” उनी हाँसि - रहेका थिए र उनका आँखाहरू कुनै आनन्ददायी रहस्यले टल्किरहेका थिए। “तिमीहरू यहाँ बस,” उनले अचानक भने, “ र तिमीहरूले के- के सुनेका छौ, मलाई भन।"

“हामीले उनलाई क्रूसमा टँगाइयो भन्ने सुन्यौं,” साह्रै दुःखित हुँदै मैले भनें। “तर हामीले धेरै कुरा सुनेनौं। बिन्यामिनको हजुरबा एक रब्बी हुनुहुन्छ। मलाई लाग्छ, उनीहरूले उहाँलाई मरेको देख्न चाहन्थे।"

“तर उहाँ मरेको हुनुहुन्न ; उहाँ जीवित हुनुहुन्छ! आज बिहान मैले उहाँसँगै खाजा खाएँ।" यूहन्नाले काला लागेका ढुङ्गाहरूको घेरा र खरानीतिर देखाए। “उहाँ झिसमिसेमा ताल-तटमा उभिनुभयो, हामीलाई किनारमा आउन बोलाउनुभयो र हामीलाई तातो-तातो खानेकुरा दिनुभयो। उहाँले धेरै त पत्रुससँग कुरा गर्नुभयो; तर उहाँले हामीलाई यरूशलेम फर्किनू र त्यहाँ उहाँलाई भेट्नू भन्नुभयो। यो जाल टालटुल गरिसक्ने बित्तिकै म अरूहरूसँगै हिँड्नेछु।”

मेरो लागि सम्पूर्ण संसार नै धर्मराइरहेको थियो। के म सपना देखिरहेको थिएँ कि? के म अब एकैक्षणमै मेरो गुन्द्रीमा बिउँझन्छु कि? मैले कुर्कुच्चा बालुवामा गाड़ें; त्यो वास्तविक, न्यानो र खस्रो थियो।

“तब के तिनीहरूले उनलाई वास्तवमा क्रूसमा टाँगेनन् त?' मैले . आदरसाथ सोधें। 
“अँ हो, तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। म क्रूसको छेउमा उभिएर उहाँलाई पूरै नौ घण्टाभरि नै हेरें। " 
“तर के तिनीहरूले उहाँलाई जान दिए त? क्रूसमा टाँग्याइएकामध्ये कोही पनि कहिल्यै बाँचेको मलाई त थाह छैन।” 
“उहाँ बाँच्नुभएन; उहाँ पक्का मर्नुभयो र हामीले उहाँलाई गाड्यौं। तर मृत्युले उहाँलाई रोक्न सकेन। उहाँ फर्केर आउनुभयो। उहाँ मृत्युभन्दा कति शक्तिशाली हुनुहुन्छ; वास्तवमा, उहाँ आफै जीवन हुनुहुन्छ। उहाँ हामीलाई घरि-घरि यसो भन्नुहुन्थ्यो, तर उहाँले केको कुरा गर्दै हुनुहुन्थ्यो भनेर हामीले बुझेनौं।”

हामी अरल्ल परेर बस्यौं। बिन्यामिनले मलाई आफ्नो आँखिभौं खुम्च्याउँदै डिठ लाएर हेर्‍यो। मेरो विचारमा, ऊ पनि यूहन्नाको दिमाग खुस्केछ कि के होला भनेर डराउँदै हामीले यहाँबाट फुत्किनु नै असल हुन्छ भन्ने सङ्केत गर्दैथियो। तर अरूका अनुहारहरूमा पनि मैले यूहन्नाको जस्तो हेराइ देखेको थिएँ र उनी बौलाहा होस् वा सद्दे, जे भए पनि मैले यो कहानी पूरै सुन्न चाहें।

"तर यूहन्नाज्यू," मैले विन्ती गरें, "यदि उहाँ साँच्चिकै मृत्युभन्दा शक्तिशाली हुनुहुन्छ भने उहाँ किन मर्नुभएको त? किन उहाँले रोमीहरूलाई आफ्नो शरीर छुन दिनुभएको त? अन्तमा तिनीहरूले उहाँलाई जिते र क्रूसमाथि उहाँलाई कीला ठोके; ठोकेनन् त?”

यूहन्नाले आफ्नो टाउको हल्लाए। “होइन,” उनले बिस्तारै बोल्दै भने, "तिनीहरूले उहाँलाई कहिल्यै जितेनन्। त्यस बेला त्यस्तो भएझैं देखा पर्‍यो, र अरूहरूझैं म पनि रोएँ; तर फर्केर हेर्दा... म यो घटना फरक प्रकारले हेर्छु। सबै घृणा, गिल्ला र छिःछिः दुरदुर...; तर तिनीहरूबाट उहाँको प्रेम हारेको थिएन। आखिरसम्म उहाँले प्रेम गर्नुभयो। जब तिनीहरूले उहाँका हातहरूमा कीला ठोके, तब उहाँले आफ्नो पितालाई तिनीहरूको निम्ति क्षमा मागिदिनुभयो; तिनीहरूले के गर्दैछन्, सो जान्दैनन् भन्नुभयो। तिनीहरूका सारा घृणाभन्दा उहाँको प्रेम शक्तिशाली थियो; तिनीहरूले यो प्रेम जित्न सकेनन्।"

उनी फेरि तालपारि आँखा तन्काइरहेका थिए र शायद उनले हामीलाई भुले कि भन्ने शङ्का मेरो मनमा आयो। मैले अलि डराउँदै उनलाई छोए। "तर यूहन्ना ज्यू, "म अलि अकमकिएँ, “किन उहाँले आफैलाई तिनीहरूको पक्राउमा सुम्पिदिनुभयो, आफूलाई पीड़ा दिन र आफूलाई मार्न दिनुभयो? किन? किन? उहाँले तिनीहरूलाई सजिलै रोक्न सक्नुहुन्थ्यो; कि के उहाँले रोक्न सक्नुहुन्नथ्यो र?"

"अहो, हो," अझै बिस्तारै बोल्दै उनले जवाफ दिए, “एकै वचनमा उहाँले तिनीहरूलाई रोक्न सक्नुहुन्थ्यो। उहाँ आफैले त्यसो भन्नुभयो। उहाँले तिनीहरूलाई यसो भन्नुभयो कि यदि उहाँले त्यसको लागि पितालाई विन्ती गर्नुभयो भने पिताले उहाँलाई बचाउन बाह्र पल्टन स्वर्गदूतहरू पठाउनुहुनेछ; तर उहाँले पितालाई विन्ती गर्नुभएन। मेरो विचारमा त शत्रुलाई परास्त गर्नको लागि तिमीले उसलाई आमने-सामने भेट्नुपर्छ; र ठीक त्यस्तै मृत्युलाई परास्त गर्न मेरा स्वामीले त्यस मृत्युको घड़ीमा पुगेर त्यस शत्रुको सामना गर्नुपस्यो; त्यस्तै नै क्रूरता र घृणालाई परास्त गर्न उहाँको प्रेमले क्रूसको वेदनाको सामना गर्नुपस्यो; त्यस्तै नै आज मलाई लागेको छ। तर म जानुपर्छ; अरूहरू जानलाई तयार भइसके होलान्।”

उनी हामीतिर मुसुक्क हाँसे र जुरुक्क उठे; उनी डुङ्गातिर दौड़े, जाल सोहोरेर डुङ्गामा हाले र बहनाहरू मच्चाएर छिटो-छिटो खियाउँदै कपर्नहुमतिर लागे। बिन्यामिन र म लट्ठ पर्दै उनलाई हेरिरह्यौं र त्यसपछि काला लागेका ढुङ्गाहरू, खरानी र माछाका टाउकाहरू नियाल्न फक्यौं। "यता आज बिहान!" बिन्यामिनले सपना देखेजस्तो गरी भन्यो। त्यसपछि उसले थप्यो, “हामी पनि जानुपर्छ। हामीले तिनीहरूलाई यो सुनाउनैपर्छ।'

उसले के भन्न खोजेको हो भनेर मैले सोधिनँ; म साह्रै अलमल्लमा परेको थिएँ र केही कुरा पनि बताउन नसक्ने अनिश्चित थिएँ। चुप लागेर हामीले यात्रा गर्‍यौं, तर मैले बिन्यामिनलाई दौड़मा जस्तै गरी डुङ्गा खियाइरहेको देखें। हामीले डुङ्गालाई किनारमा उतार्‍यौं र सधैंझैं हाम्रो मालताल बोकेर टहरोमा ल्यायौं; तर उसले माछाहरू मिलाई थुप्रो लगाउनेबित्तिकै ऊ फरक्क फर्थ्यो र घरभित्र कुदयो। म उसको पछि-पछि गएँ।

मेरी माइजु घरभित्रै बस्नुभएको थियो, र लेआ, यरूशलेमकी उहाँकी दिदी उहाँसँगै थिइन्। लेआ घरि-घरि आउँथिन् र तिनी र मेरी माइजु घण्टौं घण्टा नथाकीकन बात मार्थे। बिन्यामिन ननुहाईकन फोहरै र माछा नै गनाउँदै भित्र छिर्दा उनीहरू कुरा गरिरहेका थिए।

“बिन्यामिन,” उसकी आमाले कर्केर भन्नुभयो, “के तिमीले faferit ...!" 
उसले उहाँको बोली पूरा नहुँदै बीचमै काट्यो; उत्तेजनाले उसका आँखा तिरमिराएका थिए। 
“जिउँदै!” ऊ चिच्च्यायो, “जिउँदै र मृत्युबाट फर्केको! आज बिहान जाब्दिका छोरा यूहन्नाले त तब्घाको ताल-तटमा उनीसँगै खाजा खाएका थिए रे।"

लेआले आफ्नो सास थुनिन् र अगाडि हेरिन्, तर मेरी माइजुको अनुहार डर र रिसले कालोनीलो भएको थियो र मुक्का लगाउँला जस्तो गरी उहाँले हात मच्चाउनुभयो। "यो झूट हो,” उहाँ चिच्च्याउनुभयो, “र यदि तैंले त्यो फेरि भनिस् भने म तेरा हजुरबालाई बोलाएर तँलाई एक मुठी प्राण बाँकी रहुन्जेल साफ चुट्न लगाउँछु। तेरा बाबु बेकामी छन्; तिमीहरू सबै नै हाम्रो विरुद्धमा लागेका छौ; तिमीहरू सबै नै यो दुष्ट ठगले गर्दा धोकामा परेका छौ।" "लेआ, तिमी घर जाऊ, र तिमी यहाँ आएको म फेरि कहिल्यै चाहन्नँ।"

आफ्ना गालाबाट धरधरि आँसु खसाउँदै उहाँ कोठा बाहिर दौड़िनुभयो; तर लेआले बिन्यामिनलाई तिनको अनुहार खुशीले गद्गद भएर उज्यालो बन्दै काँधहरूमा च्याप्प समाइन्। 
"पक्कै नै यो साँचो हो,” तिनी कराइन्। " त्यही कुरा नै उहाँले बिचारी मार्थालाई सुनाउनुभएको थियो। 'पुनरुत्थान र जीवन म नै हुँ।' के जीवन पनि मर्न सक्छ र? पक्कै नै उहाँ जीवित हुनुहुन्छ!" 

अध्‍याय : १८ 

मलाई लाग्छ, म यस्तो अवस्थामा आइपुगेको थिएँ कि मैले साँचो रूपले विश्वास गरिसकेको थिएँ; उहाँले मृत्युलाई जित्नुभएको कारणले गर्दा मात्र होइन, तर जस-जसलाई उहाँले छुनुभएको थियो, तिनीहरू फरक प्रकारले जीवित देखिन्थे भन्ने कुराले गर्दा पनि मैले उहाँमाथि विश्वास गरेको हो। यदि उहाँ साँच्चै जीवन हुनुहुन्छ भने, यदि उहाँ मृत्यु, सबै तत्त्वहरू, दुष्ट आत्माहरू र रोगबिमारहरूमाथि विजयी हुनुभयो भने त त्यसले सबै कुरा खुलस्त पार्छ; जब्दिका छोरा यूहन्नाको शान्त, भावुक रमाहट, इल्लिरिकाको शान्ति र चङ्गाइ, गादराको मान्छेमा देखिने खुशी आदि। तर उहाँले मलाई कहिल्यै छुनुभएको थिएन; तर शायद ... शायद यतिखेर ढिलो भइसकेको थिएन। अचानक मलाई यरूशलेम जाने उत्कट चाहना भयो। वास्तवमा, योएलले जस्तै मैले पनि पर्खिनै सकिनँ। 

तर पेन्टेकोष्टको चाड़ अघि अझै चारओटा विश्राम दिन बिलै बाँकी थिए, र थुप्रै कामहरू गर्नुपर्ने थियो। ठूला-ठूला लोहोंड़ेका झ्याङहरूबाहेक डाँड़ापाखाहरू फूलरहित, खैरा र रूखा थिए, अनि मौसम पोल्ने तातो थियो। ती भविष्यवक्ताको बारेमा खुल्लमखुल्ला अलि-अलि मात्रै कुरा गरिन्थ्यो किनभने उहाँ जीवित नै हुनुहुन्छ भन्ने गाइँगुइँ फरिसीहरूले नराम्रोसँग दबाएका थिए; अनि कसैले यसको कुरा गरेको सुनेमा त्यो कड़ा सजाय पाउँथ्यो। तर उहाँका चेलाहरूले त्यो कुरा बोलिपठाएका थिए र यसका गाइँगुइँहरू मीठो बास्ना वा धूपझैं चारैतिर फैलिरहेका थिए। मानिसहरू नदेख्ने गरी मुसुक्क हाँस्थे र एक अर्कालाई आँखा सन्काउँदै सोध्थे। उहाँको नाम उच्चारण गरेको प्रायः नसुने तापनि उहाँको चर्चा सधैं भइरहन्थ्यो। एउटा गोप्य उत्सुकताको अनौठो अनुभूति यस इलाकाभरि नै फैलियो। 

बिस्तारै भए पनि समय बित्दै गयो र त्यो दिन आयो, जुन दिनमा घाम अस्ताउनुभन्दा धेरै अघि नै योएल र मलाई सुत्न पठाइयो; मनको खुलदुलीले गर्दा हामीले शुरुमा सुत्न सकेनौं। तर मेरा मामाले खुट्टाले घचघच्याएर हामीलाई नउठाउन्जेलसम्म हामी मस्तसँग सुतिरहयौं। हामी गाह्रो मान्दै उठ्यौं; अनि जून र लालटिनको उज्यालोमा गधाहरूमा भारी लाद्न सघाउपघाउ गयौं; त्यसपछि मेरी माइजुले बाटोको लागि खानेकुरा पोको पार्दै गर्दा मैले टन्न खाजा खाएँ। मैले हतार-हतार निन्याउरो मानिरहेको बिन्यामिनलाई “ल म जान्छु है” भनें; अनि त्यसपछि हामी बाटो लाग्यो र दक्षिणी सड़कमा थुप्रै अरूहरूसँग मिसिएर तालको कालो किनारै किनार ताराहरूको क्षितिजमुन्तिर यात्रा गर्‍यौं। यतिखेर म घस्याक-घस्याक हिँडिरहेका गधाहरूलाई छिटो-छिटो कुदाउन 'अब खेद्छु' भन्ने हतारले उत्तेजित भएँ, तर मेरा मामाले मलाई रोक्नुभयो। “एकनाससँग हिँड़ न,” उहाँले भन्नुभयो। “दिउँसोको चर्को घामले हामीलाई बस्नैपर्ने बनाउनुअघि नै हामीले यस फाँट काटेर सकेसम्म जति हिँडिसक्नु राम्रो हुन्छ। " 
त्यस दिन हामीले त्यति टाढा पुग्नुपरेको थिएन; दक्षिण-पश्चिमको दिशामा करिब बीस माइलजति मात्र ; किनकि नासरतमा वास बस्नु हाम्रो विचार थियो। हामीले चुपचाप यात्रा गर्‍यौं; अनि गधाहरूका टापले निकालेको बाटैभरिको टकटक आवाज, हाम्रो आफ्नै एकोहोरो हिँडाइका पदचापहरू, साना-साना छालहरूका, बालुवामा परेका लप्काहरूको आवाज मैले सुनें; अनि यो सब मेरा कानहरूमा गुँजिरहेको मीठो संगीतजस्तै लाग्यो। हामी यरूशलेम जाने यात्रामा थियौं। 

हामीले पहाड़हरूको खोच छिचोल्यौं र हामी गन्नेसरेतको फाँटमा निस्क्यौं त्यति बेला उज्यालो भइसकेको थियो र खेतीवालहरू खेतबारीहरूमा काम गर्न निस्किसकेका थिए। बाटो साहै मलिला, हराभरा जमिनहरूहुँदो अघि बढ्यो, यस्तो फलाइलो माटो त मैले कहिल्यै देखेको थिइनँ। एक इन्च पनि बाँझो नछोड़ीकन खेती लगाइएको देखिन्थ्यो। काटिएका सुनौला नलका लहरहरू, खजूरहरूका बगैंचा वा दाखबारीका बगैंचा होऊन्, अथवा जैतुनधारीहरू शुरु हुने फिक्का हरियो ठाउँ होस्, जताततै हार-हारमा लड़िरहेको थियो। अनि यता बस्तीको वरिपरि घाम माथि पुग्दाखेरि छायाको कुन्ज बनाउने गरी गाढ़ा हरिया नेभारा र ओखरका रूखहरूले टम्म घेरेका थिए। 

यहाँ यति शान्त, मलाई यति ढुक्क लाग्ने थियो कि हामी अर्धनिद्रामा मनोरम स्वर्णराज्यहुँदो हिंडिरहेका छौं भन्ने मलाई लाग्यो। पछौटे कटनी गर्नेहरू अझै आफ्ना बालीहरू बत्ताइरहेका, हावामा हुत्त्याइरहेका थिए र मन्द हावाले उड़ाएका भुसका धुलाहरू सपना लाग्ने वातावरणमा मिसिइरहेका थिए। तर मानिसहरू मिल्दारु थिए र यात्रीहरूलाई अभिवादनले बोलाउँथे; अनि छैटौं घड़ीतिर, जब घाम धपक्क चर्किन थाल्यो र योएलको हिँडाइ लोसे हुँदै गएको थियो, तब मेरा मामाले हामीलाई बाटोपरको किम्बुको एउटा बुढो रूखको शीतलतिर लानुभयो। त्यो रूखको मालिक बाहिर आयो, आफ्नो इनारबाट पानी तान्नुहोस् भनेर विन्ती गर्‍यो, हामीलाई पाकेका नेभाराहरू टक्रायो र हामीलाई इज्राएलको परमेश्वरको नाममा तपाईंहरूलाई शान्ति होस् भन्ने शुभ-कामना गर्‍यो। हामीले गधाहरूलाई पानी खुवायौं र घामले नओइलिएको अझै बाक्लो र कमलो घाँस भइरहेको सेपतिर लग्यौं ; त्यसपछि मेरा मामाले खानेकुराहरू- रोटी, माछा, काँक्रो र बाख्राको पनिर निकाल्नुभयो, अनि हामीले छालाको थैलोबाट दाखमद्य पियौं। जब हामीले खाइसक्यौं, तब योएल र म उत्तानो परेर डङ्ग्रङ पल्ट्यौं र सुत्यौं। 
घाम ओइलाएको र हावा अलि चिसो भएपछि मामाले हामीलाई लातले घचघच्याएर उठाउनुभयो। हामीले गधाहरूमा भारी लादयौं, इनारमा पानी पियौं र समतल फाँटलाई छोडेर डाँड़ाकहाँतिर लाग्यौं। घाम अस्ताउनुअघि नै जनावरहरूलाई हामीले रूखा पहाड़हरूको बीचमा बसेको नासरतको ओरालोतिर गुटुटु कुदायौं। यो बाटोबाट अलि पर पर्थ्यो; यसका चारपाटे मिलेका सेता घरहरू डाँड़ाको फेदमा मूल ढोकाको खुला बजारसँगै गुरुप्प बसेका थिए र सभाघरचाहिँ डाँडामा बनाइएको थियो। मेरी माइजुकी भदैनीकहाँ, जसले नासरतको एउटा खेतीवालसँग विवाह गरेकी थिइन्, हामीले बस्नुपर्थ्यो र उनीहरूले हामीलाई साह्रै स्वागत गरे। 

उनीहरूका जेठा छोरा इसहाकचाहिँ करिब योएलकै उमेरको रहेछ; उसले हामीलाई बस्तुभाउहरूलाई तबेलामा बाँध्न सघायो; अनि त्यसपछि उसले हामीलाई घरको वरिपरि र बजारहुँदो लगेर घुमायो। 

कपर्नहुमको दाँजोमा बजार क्षेत्र साह्रै नै शान्त थियो। धेरैले त आफ्ना पसल - दोकानहरू बन्द गरेर साँझको आराधनाको लागि सभाघरमा गइसकेका थिए; तर केही पसलहरू भने खुला थिए। हामी सिकर्मीको कारखाना अगाड़ि टक्क रोकियौं र एउटा नमिलेको जुवामा मुङ्ग्रोले ठोकिरहेको हेस्यौं; यता गोरुचाहिँ छेवैमा उभिरहेको थियो। गोरुको कौमा रगत बहिरहेको आलै घाउ थियो; अनि इसहाक, एउटा किसानको छोराको नाताले त्यसलाई मजाले मुसार्‍यो। 

"येशूले कारखाना चलाउनुहुँदा त यस्तो कहिल्यै हुँदैनथियो," उसले अँध्यारो मुख लाउँदै भन्यो। “उहाँ एकदम सिपालु भएर जुवाहरू मिलाउनुहुन्थ्यो। तर उहाँ कहिल्यै फर्केर आउनुहुनेछैन; तिनीहरूले उहाँलाई क्रूसमा टाँगे।" 
म ऊतिर फर्के। "तिमीले ती भविष्यवक्ताको विषयमा त भनेका होइनौ नि, होइन?” मैले सास रोकेर भनें। “तिमीले भन्न खोजेको ...; तिमीले अरू कसैको बारेमा भन्न खोजेको हुनुपर्छ!” 
इसहाकले हामीदेखि मुख फरक्क फर्कायो; हुन सक्छ, उसका आँखाहरूमा आँसु आएकोले उसले यसो गरेको होला। 

“उहाँ एक भविष्यवक्ता हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो, त्यो मलाई थाह छैन,” उसले खिन्न मान्दै भन्यो। “यहाँका मान्छेहरूले उहाँ त बौलाहा हुनुहुन्थ्यो भन्छन्; तर उहाँ एउटा अति राम्रो सिकर्मी हुनुहुन्थ्यो। उहाँले हामीलाई चीजबीजहरू बनाइदिने गर्नुहुन्थ्यो र खेलौनाहरू मर्मत गरि- दिनुहुन्थ्यो। केटाकेटीहरू सबैले उहाँलाई माया गर्थे। तर यो धेरै पहिलेको कुरा हो। बितेको तीन वर्षभित्र उहाँ एकपल्ट मात्रै फर्केर आउनुभएको हो; ... अनि अहिले उसको आवाज दु:खित भई हराउँदै गयो। योएलले कुमालेको काम हेर्दा ढिलो गरेको थियो, तर म ठिङ्ग उभिइरहें। उहाँ त उहीं नै हुनुपर्छ; न क्रूसमा टांगाउने कार्य न भविष्यवक्तालाई पाउनु नै दिनदिनै हुने कुरा थियो। तर उहाँले एउटा कारिगर भई काम गर्नुभएको कुरा त मलाई कहिल्यै थाह थिएन; यस कुराले उहाँमा भएका गुणमा नयाँ प्रकाश दिलायो र उहाँलाई झन् नजिक ल्यायो। तब इसहाकको घरको ढोका खुल्यो र उसकी आमाले खाना पाक्यो भनेर हामीलाई सड़कपारि बोलाउनुभयो; यसकारण हामी हतार-हतार गर्न लाग्यौं, हाम्रा हातहरू धोयौं र ठूलो माटोको थालको वरिपरि बसिरहेको गठमा मिसियौं; त्यस थाल एउटा उसिनेको कुखुरासँगै मुसुरो र सागसब्जीहरूले भरिएको थियो; त्यसपछि नेभाराहरू र खजूरहरू ल्याइए। खाना मीठो थियो; अनि हाम्रा आफन्तको वृद्ध बाबा पनि हामीसँगै मिसिनुभयो। तर खानाको लागि आशिष दिनुबाहेक उहाँ थोरै बोल्नुभयो र इसहाकजस्तै उहाँ दुःखी हुनुभएको देखा पर्नुभयो। 

"त्यहाँ बाहिर तिमीहरूलाई इसहाकले के देखाउँदैथियो?" खाना खाइसकेपछि पल्टेर बस्दा घरको मालिकले सोधे। “के उसले तिमीहरूलाई हाम्रा ऊँटहरू देखायो?” 

कुरा गर्न स्वीकार्न मैले टाउको हल्लाएँ; तर मैले भित्रदेखि कुरा चाहेको एउटा विषय मात्र थियो र त्यो विषय ऊँटहरू भने थिएन। 

“हामी सिकर्मीको कारखानामा अड़ियौं र उसले जुवा मिलाएको हेर्‍यौं,” मैले भनें। " इसहाकले हामीलाई भविष्यवक्ता येशूले यहाँ नासरतमा सिकर्मी भएर काम गर्ने गर्नुहुन्थ्यो भन्ने कुरा बतायो।” 

त्यस परिवारले असजिलो मान्दै वृद्ध मानिसतिर दृष्टि लगाएर हेर्‍यो, तर मैले बोल्दै गर्दा उहाँले आफ्ना आँखा उठाएर हेर्नुभयो र पहिलो चोटि बातचितमा सहभागी हुनुभयो। 

"आहा, कुराहरू त्यतिखेर भएजस्तो त अहिले कहाँ छन् र!” उहाँले आफ्नो सेतो फूलेको दाह्री मुसार्दै शोकित सोरमा भन्नुभयो। "ती दिनहरूमा सबै इलाकाबाट भएभरका मानिसहरू उनीकहाँ आउँथे। उनले बनाएको जुवा अति सजिलो हुन्थ्यो कि गोरुहरूले आफूले जुवा लगाइरहेका छौं भने कहिल्यै थाह पाउँदैनथे अनि उनले बनाएको काठको सामान एउटा आइमाई मान्छेको जीवनभरि नै टिक्थ्यो; पैसाको लागि पनि कहिल्यै किचकिच नगर्ने। उनका बाबु, यूसुफ त मेरा साथी थिए; तिनी पनि राम्रा सिकर्मी थिए, तर तिनका छोरा त बेस थिए। जब उनले बुवाको काम सम्हाले वृद्ध मानिसले दाखमद्यको घुट्को लगाउन रोक्नुभयो। पुराना घटनाहरू सम्झँदै उहाँ हौसिँदै हुनुहुन्थ्यो; तब हामी पछाड़ि अड़ेस लायौं र उहाँले बोल्दै गरेका कुरा हामीले आदरसाथ सुन्यौं। 

"के तिनीहरू सधैं यहीं बस्थे?” मेरा मामाले सोध्नुभयो। "यूसुफ र म, हामी सँगै अल्लारे ठिटा हुर्केका हौं; र मरियमलाई चाहिँ म एउटी सानी केटी हुँदादेखि नै चिन्छु। मलाई तिनीहरूको मगनीको सम्झना छ। त्यसपछि केही गड़बड़ी भयो। यूसुफले मलाई कहिल्यै भनेनन्; तर मरियमको बारेमा थुप्रै कुरा चल्थ्यो। उनले आफ्ना पितापुर्खाको शहरमा नाम लेखाउन भनेर तिनलाई लिएर दक्षिणतिर गए; अनि पाँच वर्षसम्म उनीहरू फर्केर आउँदै आएनन्। तब उनीहरू एउटा सानो केटो साथमा लिएर फर्के। ती केटा एउटा अचम्मका विद्यार्थी थिए; हाम्रो रब्बीले विचार गरे - उनी एउटा शास्त्री बन्नेछन्। तर उनले त परिवारकै कामधन्दा सम्हाले ...; गालीलका सबभन्दा सिपालु सिकर्मी .... म उनलाई आफ्नै छोरालाई जस्तै माया गर्थे; ... तर उनले आफ्ना भाइहरूलाई कारखाना छोड़ेर कता कता गए। 

बृद्ध बाजे आफ्नो सम्झनामा डुब्नुभयो र व्याकुल भई वरिपरि हेर्नुभयो। कोही पनि बोलेन। 
“एकपटक मात्रै उनी फर्केर आए,” उहाँ भन्दै जानुभयो, “तर तिनीहरू सबै नै उहाँको विरुद्धमा जाइलागे। तिनीहरूले उहाँलाई मार्न खोजे, तर तिनीहरूले सकेनन्। तिमी त्यहाँ थियौ त, आमोस किन तिनीहरूले उनलाई मार्न खोजे? मैले त यो कुरो कहिल्यै बुझ्न सकिनँ।” 

"उनले 'म नै परमप्रभुको मसीह हुँ' भन्ने दाबी गरे,” उहाँको छोरा आमोसले भक्तिसाथ भने, “तर हामीलाई थाह थियो - हाम्रा सिकर्मी 'मसीह' हुनु असम्भव थियो। मानिसहरूले उनले थुप्रै आश्चर्यकर्महरू गरेको कुरा बताएका थिए; तर अन्तमा केही रोगीहरूलाई निको पारेको बाहेक उनले यहाँ अरू कुनै आश्चर्यकर्मै गरेनन्। शास्त्रीहरू र सभाघरका शासकहरूले, उनले निन्दापूर्ण कुराहरू बोलेका छन् र उनी मर्नुपर्छ भनी भने। तिनीहरूले उनलाई डांडाको टुप्पातिर, त्यहाँबाट तल खसालिदिन घचेट्दै लगे। म पनि यदि मैले पो तिनीहरूको चित्त बुझाएर उनलाई बचाउन सक्छु कि भनेर भीड़हरूसँगै हेर्न गएँ; किनभने जे भए पनि उनी मेरा साथी थिए। मलाई लाग्थ्यो, उनले आफ्नो होश गुमाएका थिए। तर उनलाई मेरो सहायताको खाँचो थिएन। उनलाई तल हुत्त्याउन तिनीहरूले समालेबित्तिकै उनी फरक्क फर्केर डाँडाबाट ओर्लेर आए। उनी दौड्दैनथे! तिनीहरू चिच्च्याइरहेका र उनलाई पन्जामा पार्न खोजिरहेका थिए; तर उनले तिनीहरूलाई देखेका नदेखेकै गरे; सुइँ- सुइँ उनी घरतिर हिँड़े, र कसैले उनलाई छुन सकेन। तिमीहरूलाई चाहियो भने तिमीहरूको लागि आश्चर्यकर्म यही नै हो!" 

आमोस खितखित हाँसे, तर वृद्ध बाजे ठूलो शोकमा परेर अगाड़ि निहुरनुभयो। 
"तिमीले भन्यौ, तिनीहरूले उनलाई मार्न सकेनन्,” उहाँ कराउनुभयो। “तर बजारमा बूढाहरूले त उनलाई रोमीहरूले क्रूसमा टाँगे भन्छन्। यो झूट हो, होइन त? यहाँ सकेनन्, त्यहाँ पनि सकेनन्; तिनीहरूले उनलाई कहीं मार्न सकेनन्; मार्न सके त?" 

कोही पनि बोलेन; योएलले बोल्नलाई आफ्नो मुख खोल्यो, तर मेरा मामाले उसलाई लातले घचेट्नुभयो र मैले उसलाई चेतावनी दिने आँखाले हेरें। 

"तपाईंले सुन्नुभएका सबै कुरा विश्वास नगर्नुहोस् न, बाबा, " उहाँकी बुहारी सान्त्वनाको सोरमा बोलिन्। “थुप्रै यस्ता गाइँगुइँहरू फैलिएका छन्। अब हामी सुले डसनाहरू ओछ्याउँछौं। फिलो र योएल, तिमीहरू माथि कौसीमा इसहाकसँगै जाओ। मार्था, भान्सा उठाऊ र कोठा बढ़ार-कुढ़ार गर।” 

मेरा मामा, हाम्रा आफन्त र इसहाक बस्तुभाउहरूलाई हेर्न बाहिर गइसकेका थिए; उनकी पत्नी र मार्था कोठा सफा गर्दैथिए। मैले योएल छ कि भनेर वरिपरि हेरें। ऊ लुसुक्क कुनामा पुगिसकेको थियो र ती वृद्ध मानिसको छेवैमा बसिरहेको थियो। ऊ केही भन्दैथियो र बाजे ऊतिर ढल्केर सुन्नालाई आफ्ना कान थाप्दै हुनुहुन्थ्यो। तेल-टुकीले उनीहरूलाई अनुहारहरूमा उज्यालो बनाउँदै हावामा धिपधिप गर्‍यो एउटा अनुहार हाँसिलो र उत्सुक थियो; अर्कोचाहिँ साह्रै चाउरी परेको र निन्याउरो थियो। म सुन्नालाई नजिकै तानिएँ। 

“फिक्री नगर्नुहोस्, रूबेनज्यू,” योएलले खानेखुशी गर्‍यो। “उहाँ जीवितै हुनुहुन्छ; हाम्रा छिमेकी जब्दिका छोरा यूहन्नाले त उहाँसँगै खाजा खाएका थिए।" 

एउटा वर्णन गर्न नसकिने शान्ति र सान्त्वना ती वृद्ध मानिसको अनुहारमा छाए। “यस केटाले सत्य बोल्छ,” उहाँ गुनगुनाउनुभयो। "मलाई थाह थियो। यहाँ होस् वा त्यहाँ होस्, तिनीहरूले उनलाई कहीं मार्नै सक्दैनन्। उनी जीवितै छन्।" 

भोलिपल्ट बिहानै बस्तीहुँदो भाले बासेकोबाट हामी बिउँझ्यौं र छिटछिटो खाजा खाइसकेर र हतार-हतारमा बिदावारी भएर हामी तुरुन्तै बाटोमा पुग्यौं। तर नासरतबाट तलतिर गइरहेको डाँड़ामा हामी सबैले एकछिन रोकियौं र यस्ड्राइलोनको मैदानतिर ट्वाल्ल परेर हेस्यौं, जो सामरियाका खैरा पहाड़हरूतिर मलिलो मरुद्यानझैं फैलिरहेको थियो। यस बेंसीमा अझै छाया परेको थियो; तर दाहिनेतिर कर्मेल-पर्वतको लामो धारले ताबोर - पर्वतको पछिल्तिरबाट धपधप आइरहेको उज्यालोलाई समातिसकेको थियो। योएल यस बेला एकदम जाग्यो र खूब रमाउँदैथियो। सभाघरमा चर्मपत्रहरूबाट सिकेका हाम्रो बाटोमा पर्ने ठाउँहरूका घटनाहरू भनेर उसले बाटो काटेको पत्तै नहुने गरी हामीलाई भुल्यायो मनै सिरिङ्ग पार्ने, वीर हिब्रूहरूका पुराना कथाहरू; तिनीहरूले यस मैदानमा अर्थात् येस्रएलको उपत्यकामा लड़ेका थिए; अथवा राजा शाऊलको कथा, जो गिबा - पर्वतमा, ठीक हामीभन्दा मास्तिर परेको ठाउँमा मरेका थिए। अश्शूर, बेबिलोन, पर्सिया र ग्रीसका ठूला-ठूला आक्रमणकारी सैनिकहरूले युद्ध गर्दै यस मैदान पार गरेका थिए। मेरा मामाले पनि मनमनै हाँस्दै सुनुभयो किनकि उहाँले कहिल्यै चर्मपत्र पढ्नुभएको थिएन र उहाँलाई इज्राएलको इतिहास थोरै मात्रै थाह थियो। 

बाटोमा हुलका हुल यात्रीहरू हामीसँग मिसिए; कतिले भजनहरू गाउँदैथिए; अरूले हिंड्दै गर्दा मुखाग्र गरेका प्रार्थना सुनाउँदैथिए; यसैले यो यात्रा खल्लो भएन। मध्यान्हमा हामीले फेरि एकपल्ट आराम गरौं; सांझमा हामी बेथ्शानको पुरानो शहरमा आइपुग्यौं। "तर यो शहर बेध्शान नै होइन, "योएलले हामीलाई जानकारी दियो। “धेरै वर्षअघि ग्रीकहरूले यसको पुनर्निर्माण गरेका छन् र यसलाई साइथोपोलिस भनेका छन्। आऊ, हामी छिटो-छिटो हिब्रू टोलमा जाऔं र गधाहरूलाई बसाऔं अनि यी सब मूर्तिहरूदेखि टाढ़ा हौं।" 

एउटा यहूदी ठिटोको लागि यी प्रतिमूर्तिहरू अशुद्धताको कारण र उसको पवित्र नियमको उल्लङ्घन गर्ने कारण थिए होलान् भन्ने मनमा सोच्दै म हतार-हतार ऊसँगै लागें; तर मेरो विचारमा त ती सुन्दर थिए। पछिबाट म एक्लै सड़क पेटी नै पेटी भएर ग्रीकका थुप्रै देउताहरूका लागि बनाइएका सिंगमर्मरका मन्दिरहरू हेर्दै भौतारिएँ, अनि मेरी आमाको मातृ- भाषा फरर बोलिएको सुन्दा म रमाएँ। ती मन्दिरहरू कस्ता अचम्मका क्षमता र कलाकारिताको प्रदर्शन भएका थिए वा! अनि यी देउताहरू ती को-को थिए? के तिनीहरूले कहिल्यै मानिसहरूकहाँ तल आएर रोगीहरूलाई निको पारेका, दुष्ट आत्माहरूलाई निकालेका वा मरेकालाई बौराएर उठाएका थिए र? अहँ, मैले जानेबुझेसम्ममा ती आ- आफ्ना मन्दिरमा बस्थे र तिनीहरूसितको भेट गर्ने ठाउँ कहीं थिएन। तर मेरा भविष्यवक्ताले त (मैले झन्डै मेरा ईश्वर भनिसकेको थिएँ) एउटा सिकर्मी भएर काम गर्नुभएको थियो र थकित गोरुहरूका काँधहरूमा सजिला जुवाहरू मिलाइदिनुभएको थियो। यस्ता विचारमा रुमलिँदै म पौवातिर फर्के, जहाँ हामीले सुत्नुपर्थ्यो, र शहरको सुन्दरताको बारेमा मैले केही भनिनँ। 

तेस्रो दिनमा यता गिलादका र उता एप्रेमका ठाड़ा उठिरहेका, उजाड़, रूखविहीन, भिराला पहाड़हरू परेर हामी दोहरो लत्तोले भी भीड़ लागेको मूल बाटैबाटो हिँड्यौं। त्यस रात हामीले यर्दनको बेंसीमा अखड़ा जमायौं र बिहान बिउँझँदा हाम्रो ओढ्ने शीतले लपक्क भएको थियो। चौथो दिन गर्मीले भतभती पोल्ने दिन थियो; अनि अघि बढ्दै हामी जति समुद्र सतहभन्दा तल झर्दै गर्दा मलाई, म त एउटा हावा नभएको भ्वाङभित्र पो झर्दैछु कि जस्तो लाग्यो; एउटा अनौठो, बगरका ढुङ्गाहरूले भरिएको, उहिलेका भूकम्पहरूले रङ्ग न ढङ्ग पारिएको मरणासन्न संसार। हाम्रा खुट्टाहरू लामो हिँडाइमा पास हुँदैथिए; तर त्यसको साथसाथै मध्यदिन धेरै ढल्केपछि तेस्रो पहरतिर हाम्रो सामु एउटा ठूलो, हरियो मरुद्यान देखेर हामी अति खुशी भयौं; किनभने हामी यरिहो, खजूर- रूखहरूको शहरनेर आइपुगिरहेका थियौं। 

हामी भीड़मभीड़ भएको सड़कमा छिस्यौं र अचम्म मान्दै यताउति आँखा गाढ़ेर हेस्यौं; किनकि यो शहर साथै यसको दक्षिण-पश्चिमपट्टि स्वर्गीय राजा हेरोदले आँखा नै तिर्मिराउने सेतो दरवार आधुनिक रोमी दाँजोमा बनाएका थिए। तर हामी धेरै थोक हेर्नलाई साह्रै थकित र असिन- पसिन भएका थियौं र बलै पौवातिर जाने बाटो पायौं; किनकि यहाँ हामीले यर्दनपारिबाट आएका हूलका हूल तीर्थ-यात्रीहरूलाई भेट्दैथियौं। हामीले भारी ओराल्यौं र हाम्रो बलको अन्तिमझैं लाग्ने झड़पमा गधाहरूलाई पानी खुवायौं, खाना खायौं र पल्टियौं; तर यस बेला म सुत्नै सकिनँ। होचो, परालको छानामुनि हावा हपक्क र मान्छेको पसिनाको गन्धले दुङदुङ्गी थियो। योएल त तुरुन्तै भुसुक्क निदायो; तर केही समयपछि म उठें र बाहिर जूनको उज्यालोमा एक दल ठाकुरेहरूसँग बसिरहनुभएको मेरा मामासँगै मिसिएँ। पौवाली पनि तिनीहरूसँग मिसिएको थियो, र तिनीहरू सबै मच्चिंदै कुरा गरिरहेका थिए। 

“यो चाड़ त अरू चाड़हरूजस्तो हुनेछैन,” पौवालीले शान्तसँग भन्यो। “रोमीहरू डराएका छन् र तिनीहरूका जासुसहरू जताततै छन्। कसैले पनि खुलेर बोल्ने साहस गर्दैनन्। उनीहरूले त्यस भविष्यवक्तालाई 
क्रूसमा टाँगेको दिन त एउटा कालो दिन थियो, र अझै पनि तिनीहरूले उनीबाट छुटकारा पाएका छैनन्। जताततै गाइँगुइँहरू चल्दैछन्, अनि तिनीहरूले ती बन्द गर्ने सक्दैनन्। यरूशलेममा केही अनौठो घटना घट्दैछ; तर यो के हो भनेर कसैलाई पनि थाह नै छैन।" 

त्यहाँ दुःखलाग्दो सहमतिको चुकचुक आवाज थियो; तब मेरा मामा बोल्नुभयो, “के ती भविष्यवक्ता कहिल्यै यस शहरमा आए?" 

“ओहो, आए नि।" पौवालीले यो कथा धेरै चोटि बताए तापनि ऊ यो फेरि सुनाउन चमचम पर्दैथियो। “उनी साह्रै प्रख्यात हुन सक्थे; सबै खानदानी मानिसहरूले उनलाई ग्रहण गर्न र उहाँका आश्चर्यकर्महरू हेर्न पर्खिरहेका थिए, तर उनले एउटा ठूलो गल्ती गरे; उनी शहरको एउटा गुहुको कीरो, एउटा तुच्छ महसुल उठाउनेकहाँ बस्न गए, जसले घूसखोरी र भ्रष्टताको भरमा आफूलाई शहरको एउटा धनाढ्य व्यक्ति बनाएको थियो।" 
होला?" 

“अनि के ती भविष्यवक्ता ऊसँगै बसे? उनले त्यसो किन गरे 
"कसैलाई थाह छैन। भीड़हरूमा समेत कसैले जक्कैलाई आएको मन पराउँदैनथियो। तिनीहरूले त्यसलाई घृणा गर्थे। तर त्यो एउटा रूखमाथि चढ्यो र ती भविष्यवक्ता ठीक यसैको मुनिबाट भएर हिँड़े। यो सबै पहिले नै मिलाइसकेको जस्तो देखिन्थ्यो। उनी टक्क रोकेर माथितिर हेरे र त्यस अभागी फुच्चेलाई 'तल आऊ,' भन्ने आज्ञा गरे र 'म तिमीसंगै बस्न आएको हुँ' भने। भीड़का मानिसहरू मुरमुरिएका थिए; तिनीहरूमध्ये कसैले त भविष्यवक्ता तिनीहरूसँगै बस्नेछन् भन्ने आश गरेका थिए। तर अँह! फुत्त उनी जक्कैको बंगलातिर पो गए। तर रमाइलो कुरा के हो भने त्यही नै कथाको अन्त होइन।" 
“के भयो त?" 
"भविष्यवक्ता फर्केर यरूशलेम गए; अनि त्यसपछि के भयो भनेर तिमीहरूले कहिल्यै कल्पना गर्ने सक्दैनौ।" 
"हामीलाई भन न।" 
"शहरभरि नै जक्कै सरासर घर-घरका ढोकाहरू ढकढक्याउँदै गयो। शुरुमा त कसैले त्यसको लागि ढोका खोल्न मन गरेन; तिनीहरू सबैले त्यो त तिनीहरूको पैसाको ताकिता गर्न आएको हो भन्ठाने; तर त्यसले यसो गरेको थिएन। त्यसले आफूले ठगेका सबै मानिसहरूकहाँ गएर तिनीहरूलाई आफूले लिएको भन्दा चार गुणा बढ़ी फिर्ता दियो; साथै गरिब र भिकारीहरूलाई त त्यसले आफ्नो सम्पत्तिको आधीजति नै दियो। तिमीहरूले मेरो कुरा पत्याउँदैनौ भने म तिमीहरूलाई दोष्याउँदिनँ।” 

पौवाली खितखित हाँस्यो; तर हाम्रा अनुहारहरू चनाखै थिए। यी मानिस को थिए, जसले यसरी मानिसको व्यवहार र व्यक्तित्व परिवर्तन गर्न सक्छन्? दुष्ट स्वभाव बदलिएर कसले असलपना ल्याउन सक्छ? तब किन तिनीहरूले उनलाई क्रूसमा टाँगे? अनुत्तरित प्रश्नहरू हावामा अल्झिरहे। 

"के उनले यहाँ कुनै आश्चयकर्म गरे?" एकजना यात्रीले सोध्यो। 
"ओहो गरे नि; उनी यहाँबाट जाँदै गर्दा उनले एउटा अन्धो मगन्तेलाई त्यही शहरको मूल ढोकानेरै देख्ने बनाए। त्यो मानिस उठ्यो र यस भविष्यवक्तालाई यरूशलेमसम्मै पछ्यायो। त्यो अहिले त्यहाँ छ र जति यस भविष्यवक्ताको प्रभावमा परेका थिए, यिनीहरू सबको हालत यस्तै छ। तिनीहरू सबै नै माथि यरूशलेममा छन्, र केही न केही हुन्छ भनेर पर्खिबसेका छन्।" 

एउटा हल्का हावाले मेरो निधार हम्क्यो र मेरा आँखाहरू अचानक नै गह्रौं भए। म अलि पर घस्रिए र पल्टें। भोलि हामी यरूशलेम पुग्न बाँकी अन्तिम बीस माइल हिँड्नेछौं, र म पनि केही न केही हुन्छ भनेर पर्खिबसेको थिएँ। के कसो भन्ने मलाई केही पत्तै थिएन। 

अध्‍याय : १९ 

मेरो विचारमा यरियोदेखि यरूशलेमसम्मको बाटो त संसारकै सबभन्दा गर्मी र सुक्खा ठाउँ होला। हामी झिसमिसे उज्यालो हुनुअघि नै हिँड्यौं, तर पनि हावा गुम्म थियो, र हामी हिँड्दै गर्दा पसिनाले खलखल भयौं। अलि-अलि उज्यालोमा बटारिएका चट्टानहरू र रूखो जग्गाको दृश्य विचित्र र भूतजस्तै देखिन्थे। हामी एकदम सँगसँगै हिँड्यौं, किनकि यो एकान्त ठाउँ चोर र हत्याराहरूको प्रख्यात लुक्ने ठाउँ थियो। धेरै बटुवाहरूको डकैति गरेको र मर्ने गरी अलपत्र छोड़िएका थिए। बाटोको छेवैमा रहेको पौवामा मध्यदिन हुनुअघि हामी अड़ियौं र केही घण्टा विश्रांम गयौं। अनि जब हामीले फेरि यात्रा शुरु गर्‍यौं, तब वातावरण स्वच्छ हुँदै गएको आभास हामीले पायौं र उकालो चढ्दै गर्दा हामीले गहिरो - गहिरो स्वास लियौं। यात्रीहरू एक-अर्कासँग हाँस्थे; किनकि सियोन - पर्वतको उचाइमा तिनीहरू आफ्नो यात्राको लक्ष्यमा आइपुग्न लागेका थिए। अनि जब हामी जैतुन-पर्वतको पल्लो छेउनेर पुग्यौं र पश्चिमी आकाशमा पारि यस चम्किरहेको पवित्र शहर, साथै त्यो जगमगाउँदो मन्दिर देख्यौं, तब धेरैजना हर्षले गर्दा रोए र कोही आराधना गर्न घोप्टो परे। यात्रीहरूले इज्राएलका परमेश्वरका निम्ति स्तुतिगान र भजन गान गर्दै अन्तिम थुम्को पार गरे। 

हामी शहरको दक्षिणपट्टिको एउटा घरमा वास बस्यौं; त्यसमा एउटा सानो, माथिल्लो पाहुना कोठा र एउटा खुला गोठ थियो, जसमा हाम्रा गधाहरू बस्न सक्थे। यहाँको हावाको चिसोपन तागत दिने ओखतीजस्तै थियो र हामी सबैले आफै ताजा भएका महसुस गर्‍यौं। घरका मालिक मेरै माइजुको विशाल, डाँडाकाँडामा छरिएको घरानाकै एकजना थिए; अनि उनी र उनकी पत्नीले योएललाई एकदमै चीज गरे; किनकि उसैलाई उनीहरूले अगाडि कहिल्यै देखेका थिएनन्। उनीहरूले हाम्रो लागि मीठो खानपिनको बन्दोबस्त गरे; अनि यस यात्राको गर्मी सहेर र लखतरान अवस्था पुगेपछि हामी छिट्टै सुन तयार भयौं। भोलिपल्ट जब हामी बिहान उठ्यौं, तब नाओमी, त्यस घरकी आमाले यसो भनिन् कि मेरा मामा मत्स्य व्यवसायीहरूको सँगठनमा जानुभएको थियो; यसैले मध्यदिनको खाना खाने बेलासम्म हामीलाई जे मन लाग्यो, त्यही गर्न हामी स्वतन्त्र थियौं। 

योएलले सोझै उनलाई हेर्‍यो। "जहाँ रोमीहरूले मानिसहरूलाई लगेर क्रूसमा टांग्छन्, म त्यो ठाउँ हेर्न चाहन्छु," उसले जबरजस्ती गर्‍यो। उनी झसङ्ग भएकी र आत्तिएकी जस्तै देखिइन्; तर त्यसपछि उनले ओठ लेब्याउँदै कुम हल्लाइन्। “ए, राम्रो,” उनले भनिन्, “तिमी अब त एउटा लाठे हौ, होइनौ त? यसकारण, मेरो विचारमा, तिमीलाई जे मन लाग्छ, त्यही आफै हेर्न सक्छौ। गलगथाचाहिँ शहरको पर्खाल- बाहिरपट्टि उत्तर-पश्चिमको सुर - नजिकै पर्छ। तर यरूशलेममा त्योभन्दा पनि राम्रा-राम्रा हेर्नुपर्ने ठाउँहरू छन् नि।” 

हामी घर छोड़ेर निस्क्यौं; योएल बाटोमा अघि अघि लाग्दैथियो। मलाई छक्क लाग्यो र उसको पछि-पछि जाने मन नै लागेन। “हामी गएर मन्दिर किन नहेरौं?" मैले ठाड़ो सोरमा सोधें। “त्यहाँ माथि त हेर्ने कुनै कुरा नै छैन होला; तिनीहरूले पहिले नै क्रूसका थामहरू उखेलिसके होलान्।” 

ऊ उत्सुक भएर थर्र काम्दै मतिर फक्र्यो। " के तिमी कुरा बुझ्दैनौ, फिलो?" उसले जिद्दी गर्‍यो। "यदि उनी जीवित नै छन् भने हामीले उनलाई भेट्टाउनुपर्छ। उनी जीवितै छन् भन्ने कुरा कसैलाई पनि थाह छैन जस्तो छ; अनि तिमी र बुवाले मलाई तिनीहरूलाई बताउनै दिँदैनौ। उनी यतै कहीं हुनुपर्छ र यदि हामी मानिसहरूले उनलाई देखेका ठाउँतिर गयौं र उनको बारेमा थाह पायौं भने हामी केही कुरा सुन्न वाध्य हुनेछौं।" 

त्यो कुरा ठीक पनि थियो; यसकारण हामी सियोन - पर्वतको उत्तर-पश्चिमपट्टिबाट उकालो चढ्न लाग्यौं, जहाँ पर्खालहरूको पछाड़ि हरिया बगैंचाले घेरिएका ठूला-ठूला निवासहरू ठड़िएका थिए; हेरोदको भव्य जगमगाउँदो दरवार हाम्रो बायाँतिर पर्थ्यो। हामी शहरको मूल- ढोकाबाट छिरौं र त्यहाँ, पर्खालको ठीक बाहिरपट्टि हामी हाम्रो यात्राको अन्तिम लक्ष्यमा आइपुग्यौं। एउटा सानो डाँड़ा भिरालो भएर उभिएकी थियो र यसको नाम किन खोपड़ी भनिएको थियो भनेर हेर्दैमा थाह हुन्थ्यो; किनकि चट्टानहरूका अँधेरा प्वालहरू उठिरहेका अरू चट्टानहरूसँगै हेर्दा आँखाका खोपिल्टाजस्तै देखिन्थे। यसो हेर्दै तीनटा क्रूस, चिच्च्याइरहेका भीड़हरू, अनि कीला ठोकिएका, बटारिएका शरीरहरूको कल्पना गर्न साह्रै सजिलो थियो; म लगलग काम्दै पर फर्किएँ; तब त्यहाँ मेरो छेउमा मैले एउटा बूढ़ो भिकारीलाई, हामीलाई आँखा गाढ़ेर हेरिरहेको देखें। ऊ एउटा थाङ्ने, बूढो मान्छे थियो, तर उसका आँखाहरू चनाखा र चतुर थिए; अनि उसले हामीले के हेरिरहेका थियौं भन्ने थाह पायो। 

"ठाउँ त्यही नै हो, सानो मालिक, " उसले बिस्तारै भन्यो। “त्यहीं हो, जहाँ तिनीहरूले उनीहरूलाई झुन्डाएका थिए; दुईजना हत्यारा र एउटा बौलाहा मान्छेलाई। तपाईंहरूले भीड़हरूलाई देख्नुपर्ने थियो, बाफरे। हजुर, के तपाईं एउटा गरिब मगन्ताको लागि एक सुका खर्च गर्न सक्नुहुन्छ होला?" 

मसँग पैसा थिएन अनि म मात्रै भएको भए मैले रन्केको रिसमा उसलाई एकातिर धकेलिदिन्थे होला तर योएल अगाडि तम्स्यो। "उनलाई तिनीहरूले कहाँ गाड़े नि ” उसले सोध्यो। 

"तिनीहरूले डाँकूहरूलाई तल तिनीहरूकै क्रूसहरूमुनि गाड़े, बूढ़ो मान्छेले यताउति कसैले सुनिरहेको छैन भनेर पल्याक- पुलुक हेर्दै, " तर त्यस बहुला मान्छे त ऊ त कुनै विशेष मान्छे हुनुपर्छ! एकजना घरानियाँ मान्छे र एउटा फरिसी आएर उसको शरीर लिएर गए; अनि तिनीहरूले भन्छन्, त्यस घरानियाँ मान्छेले त्यसलाई आफ्नै लागि बनाइएको चिहानमा गाड़े; त्यहीं, तल, शहरको पर्खालनेरको बगैंचामा।" 

हाम्रो छेवैनेर नै वरिपरि बारले घेरिएको एउटा बगैँचा देखिन्थ्यो, जसको ढोकामा एउटा रोमी सिपाही पाले बसिरहेको थियो। त्यसले हामीलाई आँखा गाढ़ेर हेरिरहेको थियो। मैले एकोहोरै बारबाट बगैंचाभित्र हेरिरहने साहस गर्न सकिन; एक्कासि म यो सब व्यर्थ छ र केही सीप लाग्दैन भन्ने डरलाग्दो सोचाइले फत्याक- फुतुक गलें; अनि मेरा सबका सब शङ्काहरू फेरि उर्लेर आए। किन हामी क्रूसमा टाँगिएका यी मानिसलाई खोज्दैथियौं?

जोचाहिँ कि त मरेका कि त बेपत्ता भएका हुनुपर्छ। अनि यी सब कामबाट उनको प्राप्ति के भयो त? र उनले कुरा गरेको त्यो राज्य कहाँ छ? मेरो चारैतिर माग्नेहरू प्राण परेर मागिरहेका, व्यपारीहरू मोल दराइरहेका र ठगिरहेका, धनीहरूले गरिबहरूलाई थिचोमिचो गरिरहेका, निर्दयी र फुई देखाउने रोमी सिपाहीहरू शिर ठाड़ो पार्दै ठिमिक ठिमिक सड़कहरूहुँदो हिँडिरहेका थिए। उनले गरेका सबै राम्रै कुराकानीले कुनै फरक परेको, कुनै राम्रो असर पारेको थिएन, र मलाई भोक लागेको पनि थियो। 

"यता आऊ," मैले योएललाई भनें। “त्यहाँ केही पनि छैन; र अब खाना खाने बेला भइसक्यो। छिटो गर, नत्र हामी ढिलो हुन्छौं।” योएल चुपचाप मेरो पछि लाग्यो; तर मैले सोचेको भन्दा बढ़ी ऊ कुरा पत्ता लगाउनुमा दृढ़ थियो। किस्तीको वरिपरि हामी सबै भेला हुनेबित्तिकै ऊ फेरि तम्सिन थाल्यो। 

"नाओमी दिदी!” उसले कुरा गर्न थाल्यो, "ती भविष्यवक्तालाई, जसलाई रोमीहरूले क्रूसमा टाँगेका थिए, तिनलाई के तपाईंले कहिल्यै देख्नुभएको थियो?" 

त्यहाँ एकछिनको लागि सन्नाटा छायो अनि श्रीमान श्रीमातिले एक-अर्कोलाई पल्याक-पुलुक हेर्दा मैले उनीहरूका आँखाहरूमा छाएको त्रासको झल्को देखिहालें; तर हाम्रा आफन्तले एकदमै शान्तसँग जवाफ दिए। 

"अँ, हो त, मैले उनलाई एउटा गधाको बछेड़ामाथि चढ़ेर सुनौलो मूल ढोका भएर शहरभित्र सवारी गरेका देखें। मानिसहरू उनी नै तिनीहरूका मसीह हुन् भनेर भ्रममा परे; तिनीहरू सबका सब चिच्च्याउन र खजूरका हाँगाहरू हुत्त्याउन थाले। मेरो विचारमा, हामी सबै नै तीन छक खायौं; ... तर एक हप्ता मात्रै बितेको थियो, र तिनीहरू उनलाई मारिनुपर्छ भनेर चिच्च्याइरहेका थिए, र उनी पक्राउ परे। त्यसरी हामीले एउटा ठूलो भूल गर्‍यौं; कुरा त्यति हो।" 

"तर शायद उनी नै तिनीहरूका मसीह पनि हुन सक्छन् नि," योएलले जिद्दी गर्‍यो। 
अर्को झिँजो लाग्ने सन्नाटा भयो र फेरि त्यो उकुस मुकुस त्रासको झल्को छायो; तर यस बेला मेरा मामाले बीचैमा रोक्नुभयो। “अब काफि भयो, योएल " उहाँले अलि चर्कोसँग भन्नुभयो। “यस मसीहको बारेमा त म पनि अलमल्लमै छु; तर यिनी उनी नै हुँदा हुन् ता तिनीहरूले उनलाई क्रूसमा त टाँग्नेथिएनन् होला। अब सरासर आफ्नो खाना खाऊ।" 

नाओमीले अर्कै कुरा नचलाएसम्म कोही केही बोलेन। माथि कौसीमा कोठामा जान उक्लेर मैले योएललाई छतको बारमा जीउ अड्याएर किद्रोन खोल्सापारि जैतुन डांड़ातिर हेरेर टोलाइरहेको नभेट्टाए- सम्म त्यस रात भविष्यवक्ताको अरू बढ़ी कुरा भएन। 

"तिनीहरूले, त्यहीं पारि एउटा बगैंचामा उहाँ पक्राउ पर्नुभएको हो भन्छन्,” कुराकानी अझ नटुङ्गिएझैं योएलले भन्योः “हामी त्यहाँ पारि गएर बगैंचा भेट्यौं भने कसैले न कसैले त हामीलाई केही न केही बताउनेछ।" 
“मलाई लाग्छ त, कसैले पनि हामीलाई केही पनि बताउनेछैन,” मैले हरेश खाँदै उसलाई भनें, “र उनलाई मानिसहरूले त्यस बगैंचामा पक्रेका थिए भन्ने कुरा तिमीले कसरी थाह पायौ?” 

“ओहो, म त मानिसहरूसँग बात गर्छु नि,” योएलले ताल न बेतालसँग भन्यो। “अनि गलगथामा त्यस माग्नेलाई पनि थाह थियो; सबैलाई थाह छ नि; तर तिनीहरू यो कुरा गर्ने डराइरहेका छन्। फिलो, हामीले उहाँलाई भेट्टाउनैपर्छ।" 

तर म निराश र निद्राले झुम्म, अँ पूरै रूपमा खिन्न भइसकेको थिएँ। 
"तिमीले जहिले पनि यसकै कुरा गरिरहन्छौ भने त तिमी आफै भएभरको सास्ती बेसाउँछौ,” मैले प्याच्च भनिदिएँ। “अनि तिमीले भोलि केही पत्ता लगाउन सक्दैनौ; हामीले दिनभरि नै बजारमा माछा बेच्नुपर्छ। त्यसैको लागि नै तिमी यहाँ आएका हौ, यो नबिर्स त।" 

भोलिपल्टको दिन भ्याइ नभ्याइ एउटा मारामारको दिन भयो; किनकि हाम्रो भारीको थुप्रै हिस्सा माछा व्यापारीहरूलाई बिक्री गरिसकेको भए तापनि अझै केही बजारमा घुम्दै बेच्नुपर्ने थियो। मेरा मामाले एउटा सानो खोपी बनाउनुभयो; उता उहाँले पैसा लिनुभयो, अनि यता योएल र मैले भने सुकेका माछाहरू निगालोमा झुण्ड्याउँदै र ग्राहकहरूलाई दिँदै गर्‍यौं। व्यापार जोड़तोड़सँग चलेको थियो र त्यहाँ यताउति हेर्ने फुर्सदै थिएन; तर बीचमा सामसुम्म भएर एकछिन यसो ट्वाँ परेर मैले तल बजारतिरको अचम्मलाग्दो चहलपहल हेर्न सकें। यहूदीहरू होऊन् वा 'यहूदी धर्म अपनाउनेहरू होऊन् - थाह भए जति सारा संसारबाट तिनीहरू भेला भएका जस्तै देखिन्थ्यो; साथै अन्य जातिहरू पनि, जो यरूशलेमका रमणीय दृश्यहरू हेर्न आएका थिए; यिनीहरूको भीड़ले सड़कहरू खचाखच भरियो। त्यस बिहान बजारहुँदो थुप्रै भाषाहरूमा बोलियो; मैले थुप्रै अँधेरा अनुहारहरू र बिराना भेषहरू देखें। समय छिटो-छिटो बित्दै गयो र दिनको अन्ततिर हाम्रो बाँकी रहेका सबै माछा बेचिसकेर योएल र म हामी बस्तुभाउहरूलाई पानी खुवाउन पठाइयौं। 

"मैले दिनभरि नै हेरें, तर उनी त त्यहाँ थिएनन्, " योएलले उसको गधाको माथिबाट प्याट्ट भन्यो। 
"त्यत्रो भीड़भित्र उनलाई तिमीले देख्यौ भने पनि चिन्न सक्छौ?" "अँ, सक्छु तिमी उनलाई देखेर झुकिनै सक्दैनौ। उनी अरूले जस्तै लुगा लगाउँछन्, तर पनि उनी एकदम फरक छन्।” 
"कसरी?" 

"मलाई थाह छैन, म बताउनै सक्दिनँ। मानिसहरू सधैं उनको छेउमा पुग्न चाहन्छन्।" 
मैले यसलाई छोड़िदिएँ। यस्तो विशाल भीड़को खैलाबैलामा मैले उनलाई भेट्टाउने सम्पूर्ण आशा मारिसकेको थिएँ; अनि बिन्यामिन र तालका सुनसान क्षणहरूदेखि टाढा भई यी सब कुराहरू एउटा ठूलो फ्वांकको हल्ला पो थिए कि भन्ने मेरो मनमा कुरा खेल्न थालेको थियो। 

चाड़को दिन हामी सबेरै उठ्यौं। योएल एउटा यहूदी स्त्रीको छोरो भएको नाताले, उसका दाजुभाइहरूसँगै मन्दिरमा जानुपर्थ्यो। शहरको कांठमा दाजुभाइका खेतबारीहरू थिए; अनि नयाँ बालीका राम्रा- राम्रा रोटीहरू पकाइसकेका थिए। उनीहरू बाहिरी चोकबाट छिर्नेछन् र भित्री चोकतिर पुग्ने सुन्दर मूल ढोकाबाट भित्र जानेछन्; तर मलाई त अन्य जातिहरूको चोकसम्म मात्रै जान दिइयो। मेरा मामा, जसले अघि- अघि पनि यी सब धेरै पटक देखिसक्नुभएको थियो, उहाँ माछा उद्योगमा एउटा साथी भेट्न निस्कनुभयो। 

यसकारण म मन्दिरतिर खचाखच गर्ने ठूलो भीड़भाड़मा एक्लै ठेलमठेल गर्दैथिएँ र म मन मनै रमाइरहेको थिएँ। पेन्टेकोस्टको चाड़ निस्तार-चाड़जस्तो गम्भीर चाड़ थिएन। यो चाड़चाहिँ जौको खेती भित्र्याएकोमा मनाइन्थ्यो, र यस बखतमा दाख - बाली नपाकुन्जेल देशका मानिसहरूको केही समय फुर्सद भएको र तिनीहरूको खल्तीमा केही पैसा भएको हुन्थ्यो। छाप्राछाप्रीहरूले सड़क छपक्कै ढाकेको थियो, जो गर्मी-यामका फूलहरूले सिंगारिएका थिए; अनि त्यहाँ रमाहट र रमझमको खुसबु मगमग थियो। तेस्रो घड़ी अर्थात् बिहानको नौ बजे भएको थियो, र जैतुन डाँड़ामाथि उदाएको घामको किरण शहरमा पुगिसकेको थियो; यसले गर्दा दोकानहरू - बीचका साना गल्लीहरू घामका किरण र छायाहरूले छिर्केबिर्के भएका थिए। भीड़को हल्ला र बलि चढ़ाइने पशुहरूको मायालाग्दो भ्याँ-भ्याँ आवाजले कान नै बहिरो बनाउला जस्तो थियो; अनि यस्तो भए पनि एउटा भयङ्कर हुरी चले जस्तै हुरूरूरू आवाजले हामी सबै अचानक चनाखा भयौं। 

यो आवाज राम्ररी सुनिन्थ्यो; मानिसहरू सड़कहरूमा अकमक्क परेर उभिए र पशुहरूसमेत एकछिनको लागि शान्त भए; एकछिनपछि सबैजना एकातिर फर्किए, तिनीहरूका अनुहारहरूमा डर छाएको थियो; किनकि हुरी बतासको ठूलो गड़बड़ी बढिरहेको र शहरको एक भागमाथि भुमरी परिरहेको थियो र अर्को एकछिनमा त सबैजना त्यतातिर नै तछाड़- मछाड़ गरिरहेका थिए। 

पानीको छालमाथिको एउटा पातर्फे सहाराबिहिन भएर म तिनीहरूसँगै बगें। अहिले एउटा अग्लो ठिटो भएकोले म आफू कहाँ गइरहेको छु भन्ने म देख्न सकें; अनि एउटा माथिल्लो कोठा भएको ठूलो घरको अघि भेला हुँदा त्यस घरमाथि त्यो अचम्मको हावाको हुरूरूरू अझै भुमरी खेल्दैथियो; संयोगले म निक्कै अगाड़ि थिएँ। हामी त्यहाँ आइपुग्न लाग्दा माथिल्लो कोठाको ढोका खोलियो र एक हूल मानिसहरू बाहिरी भस्याङ्गबाट ओर्ले; उनीहरूले तीर्थ-यात्रीहरूले गरे जस्तै भजन गाउँदैथिए र परमेश्वरको स्तुति गर्दैथिए, कोही त मैले पहिले कहिल्यै नसुनेको भाषामा। तर उनीहरूका अनुहारमा छाएको चमक एक झलकले त्यसलाई मैले चिनें। यसमा कुनै शङ्का नै छैन, मेरी दिदी इल्लिरिका, गादराको त्यो मान्छे, मेरी र सानी अस्टरती, जसका आँखाहरू खोलिएका थिए, तिनीहरू सबै नै यहाँ यस हूल मानिसहरूसँगै खूब मिल्नेथिए; किनकि तिनीहरू पनि उनीहरूका थिए। उनीहरूको संख्य सयभन्दा बढी थियो होला; कुनै नौलो युगका हाँसिला दूतहरूझैं उनीहरू सड़कमा निस्किरहेका थिए। “उहाँ फेरि हामीकहाँ फर्केर आउनुभयो," उनीहरू कराए। “उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो।” 

ट्वाँ परेर उभिरहने जमात तुलबुलियो। साह्रै अचम्मलाग्दो कुरा भइरहेको थियो। थुप्रै नौला मानिसहरू, मिस्र र मेसोपोटामियाबाट आएकाहरू, र अरबी ऊँट चालकहरूसमेत तिनीहरूले कुरा बुझेझैं अगाडि ठेलमठेल गर्दैथिए। सबैले नै बुझेका र अचम्म मानेका जस्ता देखिन्थे। के हुँदैथियो? को आएको थियो? 

"तिनीहरू मद्यले मातेका छन्!" कोही चिच्च्यायो; अनि कति लाज नभएकाहरू गलल्ल गर्जेर हाँसे। तर तिनीहरूको हँस्सीदिल्लगी सुनेर उनीहरूमा अगुवा भएका देखिने एकजना भर्‍याङ्गमा उक्लिए र चुप लाग्न हातले इसारा दिए। अरू एघारजना उनको ठीक मन्तिर सिँढीमा उभिए; अनि उनीहरूको बीचमा त जब्दिका छोरा यूहान्ना पनि रहेछन् भनी चिन्नासाथ मेरो खुशीको सीमा नै रहेन। त्यसपछि के भयो, मैले सबै कुरा बिर्सिदिएँ; मेरो पूरा ध्यान बोल्ने वक्तामाथि थियो। किनकि उनको खस्रो बक्खु र धोत्रो लबजसँग म चिरपरिचित थिएँ। उनी गालीली रहेछन्। अनि उनको सोर सिरसिरे बिहानी हावामा घन्किन थालेपछि हाँसो बन्द भयो, र भीड़हरू सामसुम्म भए। 

"हामी मद्यले मातेका होइनौं, " बोल्ने वक्ताले ठूलो सोरले कराए। "बिहानै यस घडीमा कसैले पनि पिउँदैन। 
मानिसहरूले सही थाप्दै टाउको हल्लाए; किनकि त्यो मानिस ठीक कुरा भनेका थिए। 

“के तपाईंहरूलाई अन्तिम दिनमा हुने चिन्ह र चमत्कारहरूको बारेमा योएलको भविष्यवाणीको सम्झना आउँदैन?" यी गालीलीले भन्दै गए, र महत्त्वपूर्ण, पुराना शास्त्रका वचनहरू उनको मुखबाट निस्कँदा तर्सिएको भीडलाई डरले छोप्यो। अब के हुने हो? 

"इज्राएलका मानिसहरूहो, यी वचनहरू सुन्नुहोस्; नासरतका येशू मुखमा लिन मनाही गरिएको नामले गड्याङगुडुङ् बिजुली चम्के जस्तै आभास भयो। रोमी सिपाहीहरू के हुँदैछ भनेर हेर्न चारैतिरबाट ओइरिरहेको बेलामा त्यो नाम खुल्लमखुल्ला उच्चारण गर्न के यी मानिस कतै बेहोशी थिएनन् र? येशूको बारेमा केही थाह पाउने सबैलाई चुप लगाउन के मोटा-मोटा घूस खुवाइएका थिएनन्? पक्कै हो, खासखुस त कसैले रोक्न सकेन, तर खुल्लमखुल्ला येशूको प्रचार गर्नु! 

तर यी गालीली मानिसलाई कसले पनि रोक्न सकेन। एउटा नलरबराइएको भलझैं उनको मुखबाट येशूको समाचार उर्लिरहेको थियो। अन्तिम आफ्नो निचोरमा नपुगेसम्म कुरा अघि बढ़ाउँदै उनी भन्दै गए। 

“येशू क्रूसमा टाँगिनुभयो, ... बौराइनुभयो, ... परमेश्वरको दाहिने बाहुलीद्वारा उच्च पारिनुभयो ...; इज्राएलको सारा घरानाले निश्चय गरी जानोस्, कि त्यही येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, उहाँलाई नै परमेश्वरले प्रभु र ख्रीष्ट अर्थात् अभिषेक गरिएको जन तुल्याउनुभएको छ।” 

सबै मरेझैं सुनसान थियो। रोमी सिपाहीहरूसमेत त्यही ठाउँमै जरा गाड़ेर उभिएका थिए। मैले केही वर्षपछि हिब्रूहरूका पवित्र शास्त्रहरू नपढ़ेसम्म यही मान्यताले उनीहरूमा किन यति अत्यास उत्पन्न गर्‍यो भन्ने 
कुरा मैले बुझिनँ। धेरै शताब्दी - पहिलेदेखि यहूदीहरूले परमेश्वरले पठाउनेछु भनेर प्रतिज्ञा गर्नुभएको छुटकारा दिने मसीह अर्थात् ख्रीष्टलाई पर्खिरहेका र उहाँको बाटो हेरिरहेका थिए; अनि अचानक एकै निमिषमा तिनीहरूले भइरहेका कुराहरू बुझे र आफ्नो ठूलो दोष स्पष्ट देख्न सके। मसीह अर्थात् ख्रीष्ट आइसक्नुभएको थियो; तर तिनीहरूले उहाँलाई नचिनेकोले क्रूसमा टाँगेका थिए; अनि अब उहाँ मृत्युमाथि विजयी भएर उठ्नुभयो र उहाँलाई पठाउनुहुने परमेश्वरकहाँ फर्केर गइसक्नुभएको थियो। तिनीहरूले यति ठूलो मौका गुमाएका थिए; तिनीहरूको म्याद सिद्धिइसकेको थियो; श्रापित जाति भई तिनीहरू छोड़िएका थिए। तिनीहरूका छेड़िएका मुटुहरूबाट निस्केको एउटा चीत्कार सुनियो: "हामीहरू के गरौं त?" 

तिनीहरूका झुकेका शिरहरू र अँधेरा अनुहारहरूमाथि यी गालीली मानिसको सोर फेरि गुँजियोः “पश्चात्ताप गर्नुहोस्; र तपाईंहरूका पापहरूको क्षमाका निम्ति येशूको नाउँमा बप्तिस्मा लिनुहोस्; अनि तपाईंहरूले पवित्र आत्मा पाउनुहुनेछ।" 

यसो भए म्याद अझ सकिसकेको रहेनछ; परमेश्वरले तिनीहरूलाई दोस्रो मौका पनि दिँदै हुनुहुन्थ्यो। प्रभु येशू फेरि आफ्नो चुनिएको जातिकहाँ आउनुहुँदो रहेछ; तर तिनीहरूले क्रूसमा टाँगेको मानिसको रूपमा, त्यही शरीरमा होइन, तर उहाँ पवित्र आत्माद्वारा आउनुहुँदो रहेछ। मृत्यु-दण्ड पाउन योग्य ठहस्याइएका मानिसहरूले मुल्तबी सुने जस्तै गरी तिनीहरूले आफ्ना अनुहारहरू उठाए। तिनीहरू उनको वरिपरि झुत्तिए, र यी रूखा गालीली मानिस आफ्नो समाचार जोशका साथ बताउँदै र तिनीहरूलाई सम्झाउँदै तिनीहरूतिर लहसिए। 

अनि मचाहिँ? म यताउति केही नहेरीकन फरक्क फर्के; अनि ठेल्दै ठेल्दै मैले भीडबाट निस्कने बाटो बनाएँ। म कता जाँदैथिएँ भन्ने मलाई न थाह थियो, न होश नै थियो; म छिन छिनै ठेस खाँदै अधि बढिरहें। हावा गर्मीले हपक्क हुँदैथियो। म शहरको मूल ढोकाबाट निस्के र बेंसीतिर लागें। मेरो तालुमा तातो रन्कियो, अनि मलाई छहारीमा बस्न मन लाग्यो। मैले उँभो हेरे, र मेरो अगाड़ि उठेको जैतुन डाँड़ाको गरोगर भएको पाखा देखें; म एउटा ढुङ्गे गोरेटोमा चढ़ें र जैतुनका रूखहरू लगाइएको, सेपिलो बगैंचामा आइपुगें। यस ठाउँमा घाँस चिसो र हरियो थियो, अनि छाया बाक्लो थियो। म भुइँमा जोतिएँ र मेरो बल्झिरहेको टाउको बिसाएँ। 

“इज्राएलका मानिसहरूहो, ... येशू ख्रीष्ट।" यसो भए उहाँ फेरि बौरिउठ्नुभएको रहेछ र मृत्युमाथि विजयी हुनुभएको रहेछ; उहाँ हराउनुभएको रहेनछ। तर उहाँ आफ्ना मानिसहरूकहाँ फर्केर आउनुभएको छ, ती मानिसहरूकहाँ, जसले आफ्ना मसीहको बाटो हेरिरहेका थिए। उहाँ दुष्ट आत्माहरूमाथि, सबै रोगबिमार र मृत्युमाथि जय पाउनुभएको विजेता हुनुहुँदो रहेछ। उहाँ तिनीहरूकहाँ फर्केर आउनुहुनेछ, तिनीहरूको बीचमा आफ्नो राज्य स्थापित गर्नुहुनेछ र त्यस हर्षित दलले उहाँलाई चिनेझैं तिनीहरूले पनि उहाँलाई चित्रेछन्। 
तर मचाहिँ एक अन्यजाति कुकुर, मैले उहाँलाई कहिल्यै चिन्न पाउनेछैनँ; मैले थामिरहेको आशा र देखेको सपना सबै चकनाचूर भए। उहाँले सिकर्मी भई काम गर्नुभएको कुरा सुन्दाखेरि म अचम्ममा परेको थिएँ, तर धरमराएको त थिइनँ। सुरोफोनिसियामा पनि सिकार्मीहरू छन्; अनि संसारभरि नै लखतरान परेका बस्तुभाउहरू, मर्मत गर्नुपर्ने घरहरू र केटाकेटीहरूका भाँचिएका खेलौना हुन्छन्। तर यहूदीहरूका मात्र मसीह भईकन उहाँको इज्जत घटेको देखियो अनि उहाँको प्रेम र सामर्थ्य एउटा सानो जातिको निम्ति सीमित राखेकोले उहाँ एक साधारण व्यक्ति हुनुभएको देखा पर्नुभयो। 

तर उहाँले त इल्लिरिका, गादरेनी र अस्टरतीलाई समेत छुनुभएको थियो; उहाँले किन यस्तो गर्नुभएको थियो? मलाई अचम्म लाग्यो। मेरो विचारमा, टीठ लागेको बेलामा उहाँ एकछिनको लागि बाहिरतिर पुग्नुभएको, त्यसपछि उहाँ फेरि आफ्नै सम्प्रदायमा फर्किनुभयो होला। 

मेरो विचारमा, व्यवस्थाको रीतिथिति पूरा गरेर एउटा यहूदी बन्न सकिन्छ होला; तर मैले त्यो विचार रद्द गरिदिएँ। उहाँ दाऊदको वंशको लागि आउनुभएको थियो; अनि सांचो भन्ने हो भने म यहूदीहरूलाई मन पराउँदिनथें। मेरो दृष्टिमा तिनीहरू घमण्डी, अरूलाई तुच्छ ठान्ने र सानोतिनो कुरामा कट्टर थिए; अनि तिनीहरूले मलाई कुकुर भन्ने गर्थे। मैले आफ्नो टाउको अँगालोमा लुकाएँ र कोक्किंदै रोएँ। 

अध्‍याय : २० 

उत्तेजित र चम्किरहेका आँखा लिएर योएल आफ्नो दाजुभाइहरूसँग त्यस साँझ घर आइपुग्यो। दाजुभाइहरू सधैँ येशूको बारेमा ताजुप हुन्थे र उहाँको क्रूसको मरणमा विलौना गर्थे; तर उनीहरू आफ्नो विचार पोख्न भने साह्रै डराएका थिए। तर अब उनीहरू निश्चिन्त भए; योएल पनि त्यस्तै भयो र अरू हजारौं पनि त्यस्तै भए। यरूशलेमभरि धनी मानिसहरूले आफ्ना बगैंचाहरू खोलेका थिए र सयौं नयाँ विश्वासीहरूले तिनीहरूका तलाउहरूमा बप्तिस्मा लिए। योएल र उसका दाजुभाइहरूले जब्दिका छोरा यूहन्नाको हातबाट बप्तिस्मा लिएका थिए, जसले आफ्नो गाउँको फुच्चे छिमेकीलाई चिनेका थिए। 

"उनी र याकूब हाम्रो सड़कमा अलि तलतिर बस्थे,” हामी त्यस रात आफ्ना डसनाहरूमा सँगै पल्टँदै गर्दा योएलले भन्यो। “उनीहरू मेरा बाबासँगसँगै माछा मार्ने गर्थे; त्यस बेला उनीहरू हाम्रो घरमा आइरहन्थे; यसकारण मैले उनलाई, मलाई बप्तिस्मा दिनुहोस् भनें।" 

"तर यो केको लागि हो?” मैले अलि कड्केर सोधें। 
"यो एउटा चिन्ह हो," योएलले भन्यो, “अनि येशूले हामीलाई यस्तै गर्नू भन्नुभएको हो। यो त मेरा पापहरू क्षमा गरिएका छन् र अब उसो म एउटा नयाँ, चोखो जीवन शुरु गर्न लागिरहेको छु भनेर सबैलाई देखाउनको निम्ति हो।" 

"तर के तिम्रा थुप्रै पापहरू थिए त? " 
“कहिलेकहीं बजारमा माछा बेच्दा मैले केही सिक्का लुकाउँथें र गुलिया मह-बिस्कुटहरू किन्थें, अनि बाबालाई मोल ढाँट्थें। मैले आज राति उहाँलाई यो कुरा भनें; अनि उहाँले मलाई क्षमा दिनुभएको छ। म अब फेरि कहिल्यै यस्तो गर्नेछैनँ।" 

म अँध्यारोमा मुस्कुराएँ। यस्तो कुरा स्वीकार गरेमा योएलका हुजुरबाले उसलाई पातीको सिरेटो नभाँचुन्जेल चुट्नेथिए होलान्; तर मेरा मिलनसार मामाले थोरै मह - बिस्कुट ठूलो कुरा गम्भीर लिनुहोला मलाई लागेन। 
“अनि के तिमीले उनीहरूले कुरा गरेका पवित्र आत्मा पायौ त?” योएलले अलि लाज मान्दै टाउको हल्लाएर स्वीकार्‍यो। "तिमीले कसरी थाह पायौ?" 

"म फेरि कहिल्यै झूट बोल्न वा चोर्ने मन गर्दिनँ; मैले यस्ता - यस्ता काम घृणा गर्न थालें, र म साह्रै दुःखित भएँ किनभने मैले यस्ता काम गरेको थिएँ। त्यसपछि म साह्रै साह्रै खुशी भएँ; अनि मैले नयाँ जीवन जिउने मन गरें। फिलो, तिमी पनि एउटा यहूदी भए कस्तो मजा हुन्थ्यो हगि।" 

"भो, पर्दैन," मैले अलि नरमाइलोसँग जवाफ दिएँ, “म जस्तो छु, मलाई त्यही नै ठीक छ। तर मलाई यही एउटा कुरा भन; उहाँ तिमीहरूको उदेकको मसीह हुनुहुन्छ भने किन उहाँले आफूलाई रोमीहरूको हातद्वारा क्रूसमा टाँग्न दिनुभयो त? " 

योएल धक मान्दै अकमकायो। “यो कुरा पत्रुस र यूहन्नाले हामीलाई बताए,” उसले बिस्तारै भन्यो, “तर यो खण्ड अझै म आफूले राम्रोसँग बुझेको छैनँ। उनले भने उहाँको क्रूसको मृत्युचाहिँ सम्पूर्ण बलिदानहरूको अन्त हो। उनले भने- सारा संसारका पापहरूका निम्ति येशूले आफैलाई ठूलो बलिदानको रूपमा अर्पण गर्नुभयो।” 

"तिमीले भन्न खोजेका, यहूदीहरूका पापहरूका निम्ति?” "होइन; उनले भनेको त्यो होइन। उनले त सारा संसारका पापहरूका निम्ति भने।" 

मैले कुम हल्लाएर ढाड़ ऊतिर फर्काएँ; किनकि उसले बिहान नहोउन्जेलसम्म कुरा गरिरहनेछ भन्ने मलाई पक्का थाह थियो। मैले, म आधारातसम्म त जागा नै बस्छु होला भनेर सोचें; तर म एक झिमिकमै पर्लक्कै निदाएँ र घरको सपना देखें। मैले मेरी आमा र दिदीबहिनीहरूलाई शिला उठाउने बारीबाट फर्केर आउँदा गर्मीले आलस - तालस र राता अनुहार लिएर सँगै घरको ढोकामा उभिरहेका देखें। उनीहरू मलाई हातको इसाराले बोलाउँदैथिए; उनीहरूसँगै मलाई भन्नुपर्ने कुनै गोप्य कुरो भएझैं लाग्यो। मलाई तिनीहरूकहाँ दौड़ेर जान मन लाग्यो; तर मेरा खुट्टाहरू सिसाजस्तै गाह्रौं थिए। तिर्साउने सपनाबाट बिउँझे झैं म असिन पसिन र उकुस मुकुस हुँदै बिउँझें। यतिखेर बिहान सबेरै थियो; म उठेर बसें अनि पूर्वतिर हेरें, जहाँ जैतुन डाँड़ाको पछाड़िबाट घामले ज्योतिको जगमगाउँदो शिखा पहिरेको थियो; अनि मैले के गर्ने हो, यसमा म पूरा निश्चित भएँ। 

म माथिल्लो कोठामा हामीसंगै सुत्नुभएको मेरा मामा ओछ्यानबाट उठेर तल्लो तलामा नभरेसम्म चुपचाप कल्पना गर्दै पल्टिरहें। मलाई थाह थियो, उहाँ सोझै मुख धुन आगनतिर जानुहुन्छ र त्यहाँबाट बस्तुभाउहरू भएको ठाउँमा जानुहुन्छ। म केही समय पर्खे; त्यसपछि उहाँको पछि पछि लागें। उहाँ गधाको टाप नियालेर हेर्दै हुनुहुन्थ्यो; तर उहाँले आँखा माथि उठाउनुभयो र मलाई शुभ प्रभात भन्नुभयो। 

“मामा,” मैले भनें, “म सकेसम्म छिटो घर जान चाहन्छु। पक्कै, म तपाईंलाई गधाहरूसँगै फर्किन सघाउनेछु नै; तर त्यसपछि त मामा, म जान्छु ल?” 

"तर हामी एकदुई दिनभित्र यहाँबाट फर्केर जानेछैनौं। शहरमा एकजना साथीले मलाई बसेर कामधन्दाको बारेमा कुरा गरौं भनेका छन्; अनि योएलले उसलाई भाइभतिजाहरूसँग जान र यस नयाँ शिक्षा अझ धेरै सुत्र दिइयोस् भनेर खूब ताकिता गर्दैछ। ऊ साँच्ची नै एउटा नयाँ केटो बनेको रहेछ। यस शिक्षाले उसलाई इमानदार र साहसी हुन सिकायो भने त मलाई यसको विरोधमा भन्नु केही छैन। वास्तवमै मलाई यो त कहिल्यै नटुङ्गिने हात धुवाइ र ज्वानुको पनि दशौं अँशा दिनुभन्दा कैयौं गुणा राम्रो लाग्छ। तर उसकी आमा र हजुरबाले उसलाई के भन्लान्, त्यो मलाई थाह छैन।" 

उहाँले कुनै कुराको ख्याल गर्नुभएझैं लाग्यो; शायद आफ्नी पत्नीको विषयमा सोचेकोले उहाँको बातचितले अर्को मोड़ लियो। अब यरूशलेमको त्यस यात्रा सकिएको थियो; अनि मलाई थाह थियो - उनीहरूलाई अब कामधन्दाको लागि तीनजना केटाको आवश्यकता छैन; अनि मलाई यो पनि थाह थियो कि घरमा मेरो उपस्थितिले गर्दा मेरी माइजुलाई झन् साह्रो के गरौं, के गरौं जस्तो भइरहेको थियो। 

"मलाई लाग्छ – तिमीले ठीक भन्यौ, बाबु,” उहाँले भन्नुभयो। “उनीहरू कसरी जीवन निर्वाह गर्दारहेछन्, सो कुरा बुझ्न तिमी जानुपर्छ; र अब पर्खनुपर्ने खाँचो पनि छैन। गधाहरू रित्तै घरतिर हिँड्छन्; यसो हुँदा योएल र मैले सम्हाल्न सक्छौं। तिमी चाहन्छौ भने आजै जान सक्छौ! समुद्रको किनारतिर र उत्तरतिर फर्केर जाने तीर्थ-यात्रीहरू बाटोमा हिँडिरहेका हुनेछन्; अनि तिमीले तिनीहरूसँगै लाग्न सकिहाल्छौ। तिम्रो लागि माथिको बाटोमा सामरिया भएर जानु साह्रै राम्रो हुन्छ।” 

एकदम अचानक नै सबै कुरा मिल्न आयो, र अब मलाई कुनै कुराले रोकेन। हामी राम्रै मिलेमतोमा छुट्टिदैथियौं र यरूशलेममा बस्ने मेरा सब इच्छाहरू मरिसकेका थिए। मेरा मामाले, तिमीले राम्ररी काम गरेका छौ भन्नुभयो र मलाई यात्राको लागि खर्च अनि आमाको लागि कोसेली दिनुभयो। “अनि यो मह - बिस्कुट किनेर नसक्नू नि,” उहाँले दिल खोलेर हाँस्दै थप्नुभयो। 

पश्चिमतिर स्कर्पस-पर्वतमा घामका किरण अघि नै तल झर्दै मन्दिरको छानामा तिर्मिराउने गरी छाइसकेका थिए। आजको दिन असाध्य गर्मी हुनेछ, र अब यताउता गर्ने समय नै थिएन। मैले हतार- हतारसँग खाना खाएँ, मेरो पानीको भाड़ो, बाहिर लगाउने कपड़ा र खानाको पोको काँधमा गाँठो पारें, आफ्नो लौरी हातमा लिएँ र हिँड़ें। मेरा मामा र योएल शहरको सिरानसम्म मसँगै उकालो चढ़े र उत्तरी राज-मार्गमा पुर्‍याउने दामस्कंस-द्वार नामक मूल ढोकामा हामी बिदा भयौं। म घर जाँदैथिएँ। 

सियोन-पर्वतको स्याँठबाट म बेंसीको गुम्म हावामा डुबें। यहूदियाका होचा पहाड़हरूतिर बाटो मोड़ियो, र ओरालो- उकालो भयो; सबै साना डाँडाहरूका थुम्कामा एक-एक गाउँ थियो। पेन्टेकोष्टको उत्साह र गाइँगुइँपछि यति छिटो थोरै मानिसहरूले राजधानी छोड़े; अनि उत्तरतिर यात्रा गर्ने यहूदीहरू प्रायः यरिहोको बाटो भएर घर जान रुचाउँथे। यसो भए पनि म एउटा यात्री दलमा मिसिएँ; तर यो दल सानो थियो। हामीले एउटा ठाँटीमा रात बितायौं र घाम झुल्कनुअघि नै हिँड्यौं; दोस्रो दिनमा सिमाना पार गरेर सामरियाभित्र पस्यौं। 

मध्यान्हमा हामीले आराम गर्‍यौं, र साँझतिर सुखार गाउँको नजिकै याकूबको इनारमा हामी पानी पिउन र बस्तुहरूलाई पानी खुवाउन अड़ियौं। यस्तो धूपमा धपेड़ी गर्नु असम्भव थियो; तापनि प्रायः जसो तीर्थ-यात्रीहरू भने सकेसम्म छिटो सामरिया नाघेर जान पाए हुन्थ्यो भनेर तातिएका थिए र त्यस रात बाहिर बिताउने हिसाबले हतार गर्दै अघि बढ़े। म त्यहाँ छोड़िएँ; मजाले इनारको चिसो पानी पिउन र अझ एकछिन आराम गर्न म बसें। केही समय पर्खेपछि पक्कै पनि अर्को यात्री दल यही बाटो भएर आउनुपर्थ्यो। 

मैले एउटा डोरीमा झुन्ड्याएको मेरो पानीको भांड़ो ओरालें; तर मैले पानी भेट्न सकिनँ। मैले अब के गर्ने होला भनेर दङ परिरहेको बेलामा मेरो पछाड़ि एउटा यसो भन्ने आवाज सुनियोः " इनार त गहिरो छ। के तिमीलाई पानी उघाउने भांड़ो चाहिन्छ?” 

राम्रो बान्की परेको, मेरो उमेरको एउटा केटो उसको पछि-पछि केही भेड़ाहरू पछि लगाउँदै त्यहाँबाट गइरहेको थियो। ऊ सुखारतिर घर जाँदैथियो। ऊ एउटा काँड़ैकाड़ा भएको झाड़ीमा गयो र लामो डोरी भएको एउटा माटोको भाँड़ो निकाल्यो। “मेरी आमाले त्यो तिर्खाएका बटुवाहरूको लागि भनेर त्यहाँ राख्छिन्; " उसले यसलाई सीप लगाएर तलतिर छोड्दै बतायो। “के तिमी यरूशलेमबाट घरतिर हिँड्दै गरेको?" “अँ," मैले भनें। "चाड़मा तल यरूशलेममा माछा लिएर बेज जाने एउटा गालीलीकोमा म काम गर्छु। अब म आफ्नै बाटो फर्केर टायरतिर जान्छु। के यहाँ सुखारमा कुनै पौवा छ त?" 

ऊ झसङ्ग भयो। “यसो भए त तिमी यहूदी होइनौ?" "होइन, म त एउटा सुरोफोनिसी हुँ " मलाई त्यस्तै लाग्यो। कुनै यहूदी पनि यता वास बस्न माग्दै माग्दैन। तिनीहरूले हामीलाई घृणा गर्छन्। पानी परे पनि तिनीहरू बरु बाहिर सुत्छन्। तर तिमीलाई पौवा नै चाहिँदैन; मेरी आमाले तिमीलाई हाम्रो घरमा ओछ्यान नै दिन्छिन्। तिनी जहिले पनि यरूशलेमको हालखबर सुन्न पाउने रहर गर्छिन्।" 

मैले आफ्नो पोको टिपें र धन्यवादी भई म उसको पछि लागें; समतल, घाँसे चौर पार गरेर म एउटा माटे घरहरूको बस्तीमा पसें। त्यो बस्ती ढुङ्गे गेरिजिम पर्वतको पींधमा अवस्थित थियो, जुन पहाड़माथि सामरीहरूले उपासना गर्थे। हामी अलि छेउतिरको एउटा घरमा आइपुग्यौं; अनि केटोले धकेलेर ढोका खोल्यो। ऊ र भेडाबाख्राहरू भित्र पसे, भेड़ाहरू दूध दुहुनलाई पखँदै कोठाको तल्लो भागमा बसे। 

"मैले एउटा बटुवालाई घर लिएर आएको छु, आमा,” केटोले भन्यो। " के ऊ आज रात यही बसेर भोलि आफ्नो बाटो लाग्न सक्छ?" "परमप्रभुको नाउँमा उसलाई स्वागत छ," ती स्त्रीले भनिन्। "खाना पाक्नै आँटेको छ।" 
मैले उनलाई नियालेर हेरें। म एउटा जवान भइसकेको ठिटो थिएँ; मैले उनको सौन्दर्य एकै पटकमा देखें; तर यो सुन्दरता फिर्दै गएको, ओइलिएको सुन्दरता थियो, जुनचाहिँ उनको मिल्दो आकृति, मोहित पार्ने आँखाहरू र उनको अनुहारमा देखिने शान्तिले गर्दा मात्रै टिकेको थियो। यस परिवारमा कुनै लोग्ने देखिँदैनथियो; छोरो भेड़ाहरूतिर र घर- पछाड़िका दाखहरूमा पानी लाउन हिँड्यो; अनि ती स्त्रीले मलाई हात र खुट्टाहरू धुन पानी ल्याइदिइन्। त्यसपछि हामी दाल, रोटी र खुर्पानीका फलहरूको साधारण खाना खान जम्मा भयौं; अनि हामीले खान मात्रै के शुरु गरेका थियौं, तब उनले उनकै छोराले सोधेको जस्तै नै सोधिन्, "मलाई भन, यरूशलेमको सबभन्दा ताजा खबर के छ?" 

उनलाई कति थाह थियो होला भनेर म दोधारमा परेर अलि धक मानें; तर उनी नै सजिलै र सोझै कुराको फेरमा आइपुगिन्। " ख्रीष्ट अर्थात् मसीह, जसलाई तिनीहरूले क्रूसमा टाँगे, उहाँ फेरि बौरिउठ्नुभयो भनेर तिनीहरू भन्छन्। के कसैले उहाँलाई देखेको छ? के उहाँको बारेमा अरू कुनै नयाँ खबर छ?" 

मैले अचम्म मान्दै उनीतिर एकोहोरो हेरें। उनी एउटी सामरी स्त्री मैले भेटेको पहिलो व्यक्ति थिइन्, जसले बिनासङ्कोच उहाँलाई त्यही नाम दिएकी थिइन्। त्यहाँ अब लुकाउनुपर्ने कुनै कुरै रहेन। मैले उनलाई मैले जानेजति सबै ताल छेउमा जब्दिका छोरा युहन्नालाई भेटेको कुरादेखि लिएर चाड़को अचम्मलाग्दा घटनाहरूसम्मै बताइदिएँ; अनि उनले सुन्दै गर्दा उनको मुहार आनन्द र कुतूहलले फेरि जवान, रसिलो हुँदै गयो। "यसो हो भने उहाँ साँच्चै फर्केर आउनुभएको हो,” उनले गुनगुनाइन्। “मलाई थाह थियो, हामी सबैलाई यो कुरा थाह थियो। उहाँ जिउँदो पानीको मुहान हुनुहुन्छ। मृत्युले उहाँलाई रोक्न सकेन। अब सारा संसारभरि पानीका खोलाहरू बग्नेछन्।" 

उनले के कुरा गरिरहेकी थिइन्, त्यो त मैले बुझिनँ; तर मैले अन्तिम खण्डचाहिँ पक्रे। 
"संसारको लागि होइन," मैले अति तीतोसँग भनें, “यहूदीहरूको लागि मात्र। तपाईं बुझनुहोस्, उहाँ तिनीहरूका मसीह हुनुहुन्छ। यसैले गर्दा म घर जाँदैछु। मैले सोचें...; ओहो, मैले के सोचें, मलाई नै थाह छैन; तर अब पर्खिनुपर्ने कुनै कुरा नै छैन।" 

उनी गलल्ल हाँसिन्, अनि त्यो हँसाइ साँचो आनन्दको प्रस्फुटन थियो।  
"यहूदीहरूको लागि मात्रै?” उनले भनिन्। “होइन, होइन, मेरा बाबु; त्यो साँचो हुन सक्दैन। लौ, मकहाँ, एउटी सामरी स्त्रीकहाँ त उहाँ आउनुभयो। मसँग एउटी पापी आइमाईसित उहाँले जिउँदो पानीको कुरा गर्नुभयो। सिर्फ मलाई भेट्न उहाँ येरूशलेमदेखि त्यत्रो बाटो हिँड्नुभयो।” 
मैले आँखा अड़ाएर हेरिरहें। “यसो भए तपाईंले उहाँलाई देख्नुभयो?" 
"देख्नुभयो रे? उहाँ त यहाँ, यस सामरी गाउँमा दुई दिनसम्म बस्नुभयो। उहाँका चेलाहरूलाई बिचारा! तिनीहरू कहाँ पस्रिने भन्ने ठेगान भएन।" उनी फेरि हाँसिन् र त्यसपछि गम्भीर भइन्। 

"मैले तिमीजस्तो एउटा केटालाई मेरो लाजलाग्दो जीवन कथा भन्नु हुन्छ कि हुँदैन, मलाई थाह छैन; तर यसले तिमीलाई विश्वास गर्न सहायता पुर्‍याउँछ भने त म त्यसै गर्नेछु। मेरा आमाबुवा म सानै हुँदा नै मरे; अनि मैले जहाँ सकें, त्यहीं काम गर्दै म हुर्किएँ। म एकदमै सुन्दरी थिएँ; र यो नै मेरो बिग्रिने कारण थियो।" 

अब अँधेरो हुँदैथियो र उनको अनुहारमा छाया परेको थियो। उनको छोरो बाहिर निस्क्यो र हामी एक्लै भयौं। 
"पुरुषहरू साह्रै निर्दयी हुन्छन्। एकपछि अर्को गर्दै तिनीहरूले मलाई लगे, उपभोग गरे, छोड़े। म प्रेम र वास्ताको तिर्सना गरिरहन्थें; तर तिनीहरूले त्यो मलाई कहिल्यै दिएनन्। आखिरमा म एउटी नोकर्नी केटी मात्र थिएँ। कलिलैमा मैले एउटा बालक जन्माएँ; त्यो केटो जो अहिले मसँगै छ। मोशाको व्यवस्थाअनुसार त गाउँलेहरूले मलाई ढुङ्गाले हान्थे होलान्; तर त्यस घड़ी म एउटा धनाढ्य, प्रतिष्टित मानिसको निगाहमा थिएँ; उनले मलाई र मेरो बालकलाई जोगाए। तर म एउटी भतुवी पापीनी थिएँ; र मेरो एकलोपना नरकजस्तै थियो। मैले तिनीहरूलाई हेपें; अनि तिनीहरूले मलाई छिः छिः दुरदुर गरे। तिनीहरू- देखि छलिन म दिउँसोको रापमा एक्लै इनारमा जान्थें; अनि त्यहीं नै मैले उहाँलाई भेटें।"

"भविष्यवक्तालाई?" 
 “ख्रीष्ट अर्थात् मसीह, संसारका मुक्तिदातालाई। मैले उहाँका चेलाहरूलाई गाउँतिर खानेकुरा किन्न गइरहेका भेट्टाएँ; अनि तिनीहरूले मलाई नदेख्यै गरेर हिँड़े; तर उहाँ त तिर्खाले प्याक प्याक पर्दै र थकित हुँदै इनारमा बसिरहनुभएको थियो; उहाँले मलाई पानी पिउन माग्नुभयो। मैले कति अचम्म मानें। तब उहाँले अनन्त जीवन दिनका निम्ति उम्रिरहने जिउँदो पानीको बारेमा बताउनुभयो; उहाँले मैले फेरि कहिल्यै तिर्खाउनु पर्नेछैन भन्नुभयो।

“उहाँले के भन्न खोज्नुभएको थियो?" 
"मलाई निश्चित थाह त थिएन तर जे भए पनि, मैले त्यसको इच्छा गरें। त्यसपछि उहाँले मलाई मेरा पतिलाई बोलाउनू भन्नुभयो। एउटी विधवा हुँ भनेर मैले ढाँटें; तर मेरो बिग्रेको, दाग लागेको जीवनका सम्पूर्ण कुराहरू उहाँलाई थाह थियो। मैले झूट बोलेका र लुकाउन खोजेका सम्पूर्ण कुराहरू एउटा तस्बिर उहाँले मेरो अघि छर्लङ्ग राखिदिनुभयो। उहाँलाई ती सब कुरा थाह थियो; तापनि उहाँले मलाई प्रेम गर्नुभयो।" 
"उहाँले यी कुरा कसरी जान्नुभयो?" 

"उहाँ सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। मैले कुरा गर्ने विषय बदल्न खोजें अनि सारा यहूदीहरू र सामरीहरूले जुन कुरामा जिद्दी गर्छन्, त्यही कुरा गर्न खोजें; उपासना गर्ने वास्तविक ठाउँ गेरिजिम-पहाड़ हो कि यरूशलेम? तर कुन ठाउँमा उपासना गरिन्छ भन्ने कुरामा उहाँले कुनै चासो लिनुभएन; तर उपासना कसरी गरिन्छ, त्योचाहिँ महत्त्वपूर्ण कुरा रहेछ। उहाँले भन्नुभयोः समय आउँदैछ, जुन बेला उपासना गर्ने कुनै निश्चित ठाउँ नै हुनेछैन; तर मानिसहरूले पवित्र र साँचो हृदय लिएर जताततै उहाँको उपासना गर्नेछन्। उहाँसँग कुरा छल्नै सकिँदैन। उहाँले विषय फर्काएर मेरै पापको कुरा गर्नुभयो।" 

"तब तपाईंले के गर्नुभयो?" 

"मैले उहाँलाई मसीहको बारेमा सोधें अनि उहाँले 'मसीह म नै हुँ' भन्नुभयो। मैले उहाँलाई विश्वास गरें। म दौड़ेर शहरतिर फर्के। म जसले कति वर्षदेखि आफ्नो लाज र एक्लोपनालाई ढाकछोप गरेकी र लुकाएकी थिई, म त्यही मान्छे सड़कमा उभिएर यसो भन्दै तिनीहरू सबैलाई विन्ती गरिरहेकी थिएँ: 'आओ, एउटा मानिसलाई हेर, जसले मेरो घिनलाग्दो जीवन जान्नुहुन्छ, रपनि मलाई प्रेम गर्नुहुन्छ।' तिनीहरू सबै गुटुटु इनारमा आएर जम्मा भए। तिनीहरूले उहाँलाई बस्न आग्रह गरे; र मलाई लाग्छ, गाउँका प्रायः सबैजनाले नै उहाँमा विश्वास गरे। यहूदी नभएकोले तिनीहरूले उहाँ मसीह हुनुभएको कुरामा चासो लिएनन्। तर उहाँ मसीह मात्र हुनुहुन्न; उहाँ संसारकै मुक्तिदाता हुनुहुँदो रहेछ।” 

आधीसरो मात्रै बुझेकोले म उनीतिर ट्वाँ परेर हेरिरहें। 
"उहाँले मलाई त्यो जिउँदो पानी दिनुभयो; त्यसपछि पहिले गएर मैले सबै कुराहरू ठीक-ठीक गरेर मिलाएँ र मेरो पुरानो, पापले भरिएको जीवन त्यागिदिएँ। अब म यहाँ मेरो छोरासँग मात्रै बस्छु तर पनि मेरा सब घृणा र एक्लोपन हराएका छन् र मेरो तिर्खा मेटिएको छ। मलाई लाग्छ - जिउँदो पानी र तिमीले कुरा गरेका पवित्र आत्मा एकै कुरा हुन्छन्; मलाई विश्वास छ, एकदिन सारा संसारभरि नै यी जीवन दिने खोलाहरू बही जानेछन्। तर पहिले हामीले उहाँसँगै आफ्ना पापहरू नियाल्नुपर्छ, मानिलिनुपर्छ; त्यसपछि ती पापहरू छोड्नुपर्छ। किनभने उहाँले एउटा फोहोर भाँडोमा त आफ्नो सफा पानी खन्याउनुहुन्न।" 

केटो फर्केर आयो; अनि हामीले आफ्ना गुन्द्रीहरू फिजायौं। निद्राले मलाई चाँडै छोप्यो अनि म बिहान सबेरै उठे; किनकि दिउँसोको चरक्क घाम चर्किनुअघि नै म सामरियाको सिमाना नाघ्न चाहन्थें। मलाई सत्कार गर्ने ती स्त्रीले यात्राको लागि मलाई खानेकुरो दिएर मलाई आशीर्वाद दिइन् अनि सोच्नुपर्ने थुप्रै कुराहरू लिएर म उत्तरी सड़कतिर लागे; यतिखेरै अझै अँधेरै थियो, तर बिहानीको तारा आकाशमा देखा परेको थियो, र डाँडाहरूको पछिल्तिर चाँडै झिसमिसेमा उज्यालो खस्नेथियो। मेरो हृदयमा पनि ज्योति चम्किन थालिरहेको थियो; ती ज्योतिका मसिना झिल्काहरूले मेरो मनको अन्धकारलाई पूरा रूपले निकाल्न सकेनन्, तर यिनले बिहानीको ताराले झैं आउनेवाला घामको झुल्कोको उद्घोष गरे। 

'सारा संसारका पापहरूको निम्ति,' योएलले भनेको थियो। 'शुद्ध, साँचो हृदय लिएर मानिसहरूले जताततै उपासना गर्नेछन्,' ती स्त्रीले भनेकी थिइन्। 'संसारको मुक्तिदाता ; उहाँ त्यत्रो बाटो हिँडेर मलाई भेट्टाउन सामरिया आउनुभयो; ... एकदिन सम्पूर्ण संसारभरि नै जीवन दिने नदीहरू बहनेछन्; तर पहिले तिमीले आफ्ना पापहरू नियाल्नुपर्छ।' 

के कुरा यस्तो हुन सक्थ्यो, कि मेरो इज्राएलको नागरिकता नभएर होइन, तर मेरो पापले नै मलाई उहाँसँगको सम्बन्ध टुटाएको छ? 

अध्‍याय : २१ 

यात्राको पाचौं रातमा म अबेरतिर घर पुगें। औंसी हुन दुई दिन बाँकी थियो र ठूलो अन्धकार थियो; मैले मेरो सामु बाटोको सेतोबाहेक केही देख्न सकिनँ; तापनि म निक्कै दूरिमा हुँदा नै मैले बालीका ठोसाहरूले भरिएका खेतबारीतिरबाट बहेको प्यारो, नुनिलो ताजा सुवास सुधें; तब मैले हतार-हतार पाइलाहरू अघि बढ़ाएँ। म घर जान डराएको थिइनँ। यदि कसैले मलाई शङ्का गरेको वा मेरी आमालाई प्रश्न गरेको भए मलाई यसको खबर पठाउन उहाँले कुनै न कुनै उपाय पत्ता लगाउनुहुनेथ्यो। 

घर सुनसान थियो, अनि परिवार सुतिसकेका थिए; तर मैले ढकढक्याएपछि भत्र्याक-भुत्रुक गर्दै उनीहरू उठे। अनि जब उनीहरूले मेरो सोर सुने, तब उनीहरू खुशीले रमाउँदै ढोकातिर दौड़ेर आए र मलाई भित्र ताने। उनीहरूले मलाई यति साह्रो स्वागत गरे; यस्तो स्वागत पाउन म योग्यको थिइनँ। इल्लिरिकाले मलाई पानी ल्याइदिइन्, र आमाले निभेका कोइलाखरानी फूँफूँ फुक्नुभयो र खाना पकाउनुभयो। घरमा केही कुरा पनि बदलिएको थिएन; तब कस्तो नराम्रोसँग मैले आफ्नो घर त्यागेको थिएँ भन्ने मैले महसुस गरें। टुकीको र बलिरहेको दाउराको उज्यालो मेरा दुई दिदीबहिनीतिर, उनीहरूका काला, लट्टा परेका केश र निद्राले राता भएका उनीहरूका गालाहरूतिर धिपधिप गर्दै भल्ल भयो; इल्लिरिका अलि लजाएकी र धक मानेकी; आयोन आफ्नै रमाहटमा आफै पूरै हराइरहेकी। मेरो अगाडि जे जस्ता समस्याहरू भए पनि म फर्केर घर आउन पाएकोमा अति खुशी थिएँ। 

मेरी आमा पातला रोटीहरू, तारेका अण्डाहरू र एक सुराही भेड़ाको दूधको साथमा देखा पर्नुभयो; अनि मैले टन्न खाएँ। केही समय हामीले कुरा गर्‍यौं, तर हामीले कुनै महत्त्वपूर्ण बातचित गरेनौं, खालि परिवारका हालखबर र गाउँघरतिरका चालामालाहरू मात्रै। तर मलाई सुन्न बाँकी थुप्रै कुराहरू छन् भन्ने थाह थियो; किनकि एक-एक छिनमा मेरी आमा र इल्लिरिका आपसमा पल्याक- पुलुक हेर्थे; अनि मेरी दिदीले आँखा निहुराउँथिन् र हाँस्थिन्। अच्छा, म पर्खिबस्न तयार थिएँ। म आफै पनि न पेन्टेकोष्टको बारेमा न ता क्रूसमा टंगाइएको बारेमा नै कुरा गर्न तम्सेको थिएँ। 

तर भोलिपल्ट बिहान, जब मेरा दिदीबहिनीहरू इनारमा पानी लिन गएका थिए, तब मेरी आमाले वास्तविक कुरो ओकल्नुभयो। उहाँ कोठाको कुनातिर जानुभयो, एक डल्लो माटो र भित्ताबाट कमेरो हटाउनुभयो र एउटा ठूलो पोको निकालेर प्रकट गर्नुभयो। 

"त्यो के हो, आमा?” मैले सोधें। 
"म तिमीलाई भन्छु।” उहाँ थपक्क बस्नुभयो र गुपचुपमा खिसिक्क हाँस्नुभयो। 
तिनी को हुन्?” 
"फिलो, इल्लिरिकाको त मगनी भयो।” 
“मलाई त अचम्म लाग्दैन; उनी त साह्रै सुन्दरी छिन्।  

"तिनी त अति धनी मानिस हुन्, फिलो; जसको पति कोरी थिए नि, हो उनै साइरेनी मालिक्नीका भाइ हुन्। आयोनले कसरी त्यत्रो गुन लगाइन् भन्ने उनले कहिल्यै बिर्सेकी छैनन्; अनि तिमीलाई थाह नै छ, उनले आयोनलाई आफ्नै छोरीलाई झैं व्यवहार गर्छिन् र उसलाई सानो केटालाई स्याहार गर्नमा सघाउन अथवा कुनै घरायसी कामधन्दा गर्न सधैं पठाइदिनू भन्छिन्। उनका पति निको भएदेखि यता हामीलाई साँच्चै कहिल्यै खाँचो परेन; तैपनि छोरीहरू केही समयसम्म शिला टिप्न गइरहे। कुरा यस्तो थियो – हामीले तयार पारेको ऊनको खबर दिन इल्लिरिका उनीहरूको घरमा गई; किनकि उनीहरूले आफ्ना भेडाको ऊन हामीलाई पठाएका थिए। तब आयोनले, जसलाई सुशील स्वभावले व्यवहार गर्न थाहै छैन, उसैलाई भित्र तानी। तिनीहरू सानो केटासँगै खेलिरहेका थिए, त्यसै बेला तिनी बाहिर आए र उसलाई देखे।" 
“के तिनले उनीसँग कुरा गरे?" 

“अहँ, गरेनन्; तिनी त भर्खरको, एकदम भलादमी मानिस हुन्। तिनले आफ्नी दिदीलाई उसको बारेमा सोधे, जसले हाम्रो दीन अवस्था भए पनि इल्लिरिकाको खूब तारिफ गरिन्। यो पहिलो नजरमा नै भएको प्रेम थियो; अनि त्यस ठूलो निवासमा मलाई बोलाएपछि पो बल्ल मैले यो कुरो थाह पाएँ। साइरेनी मालिक्नीले मसित अलिकति बात गरिन्; त्यसपछि यी जवान मानिसले मसँग इल्लिरिकालाई माग्ने काम गरे। तिनले यत्रो दाइजो दिने कबुल गरे कि त्यसले त मेरो होश ह्वास्स उड़यो। तर तिनी एकदम धनी पनि हुन् र तिनका प्रशस्तै जग्गाजमिनहरू पनि छन्। तिमीले तिनले उसलाई ल्याइदिएका लुगाफाटा र गरगहनाहरू हेर्नुपर्छ। ती माथि साइरेनी मालिक्नीको घरमा छन्; अनि अङ्गुर र जैतुनको कटनी सकिनासाथ तिनले उसलाई लैजानेछन्। 
"अनि के इल्लिरिका राजीखुशी थिइन्?" 

"ओहो थिई ऊ अब साह्रै वर्षकी भई, र धेरै पहिले नै उसको विवाह भइसक्नुपर्थ्यो। त्यस दिन पहिलोपल्ट देखेपछि उसले तिनलाई देखेकी छैन; तर उसलाई त्यस परिवारको बारेमा थाह छ, अनि तिनी शहरमा राम्रो सुनाम चलेका मानिस हुन्। तिनी उसका राम्रा पति हुनेछन्, र ऊ हाम्रो छेउतिरै बस्छे।" 
"म पनि खुशी छु; दाइजोको कुरा के छ नि?" 

आमाले उहाँको पोल्टाको थौलीमा छामछाम छुमछुम गर्नुभयो र चुप लाग्नुभयो। म पर्खिरहें। 
"फिलो,” अन्तमा मतिर आँखा उठाएर उहाँले भन्नुभयो, “मैले तिम्रा बाबाको डुङ्गाको कुरामा तिमीलाई ढाँटें। अलिकति पनि पैसा बचेको थिएन। उसले मलाई एकदम नगव्य मोल मात्रै दियो; तर के गर्नु, म उसको अनुग्रहमा नै थिएँ। मैले त्यो सब झाँक्रिनीलाई दिएँ।” 

अब चुप लाग्ने मेरो पालो थियो; मैले उनीहरूलाई त्यस्तो बेहाल गरिबीमा एक्लै छोडेर हिँडेको थिएँ। मेरा गालाहरू लाजले राता भए। 

"तर फिलो, अब म यस कुराको छिनोफानो गरिदिन्छु। मैले दाइजोको रकम जतन गरेको छु। तिमीले अब आफ्ना बाबाको डुङ्गा किनेर फिर्ता ल्याउन सक्छौ।" 
“हिरामले त्यो कुनै हालतमा पनि बेच्दैन होला," म ट्वाल्ल परें। 

"यसमा तिमी यति निश्चित नहोऊ न। यहाँ के भएको थियो भनेर तिमीले सुनेकै छैनौ। तिमी उता गएको रातमा नै उसका दुईटा डुङ्गा जले।" 
"दुईटा?" मैले उँभो हेर्दै दोहोर्‍याएँ। 

"अँ, दुईटा।" मेरी आमाका ओठहरूमा हल्का मुस्कान छाएको थियो; अनि उहाँले मलाई तँ किन भागेको थिइस् भनेर नसोध्नुको कारण मैले बुझें। “पहिलोचाँहिका ज्वाला यति साह्रो चर्को थियो कि त्यसले दोस्रोलाई पनि भेट्यो र वरपरको सब चीज खरानी बनाइदियो। कसो- कसो, तिम्रो बाबाको डुङ्गा मात्रै बच्यो।" 

'यसो भए त्यसमा मेरो बक्खु पनि पस्यो,' मैले मन मनै विचार गरें; तर ठूलो सोरमा यसो भनें “अँ, अहिले उसले किन त्यो बेज आँटेछ?" 

"मैले भनिसकेकै छैनँ। ऊ एउटा दुष्ट मान्छे हो, र उसका कामदारहरूले उसलाई घृणा गर्छन्। एक महिनाजति अघि होला, एक बिहान त्यहाँ बजारमा झगड़ा परेको थियो। तिनीहरूले भन्छन्, उसले तिनीहरूलाई ज्यालामा ठगेको थियो; यसैले उसले कुटाइ खायो। त्यस रात उसका कामदारहरूमा एउटै पनि फर्केनन्। उसले दुई-चारजना ठिटाहरू भाड़ामा लियो; तर बिहान उसले आफ्ना प्रायः सबै माछाहरू आफै ओसार्नुपरेको थियो। माछाको भारीले कुप्रो परेर ऊ समुद्र-तटमा हिँड्दैथियो; त्यतिखेर नै ऊ एउटो ठूलो, धारिलो बगरको ढुङ्गामा बजारियो। अनि तिनीहरूले उसलाई आइरहेको देखेर जानी जानी त्यो त्यहाँ राखिदिएका थिए भन्ने खासखुस सुनियो। जे भए पनि, उसको खुट्टा नराम्रोसँग भाँचियो। त्यहाँबाट हिँड्नेहरूले हावाकावा गर्दै उसलाई घरमा ल्याए; अनि आजसम्म ऊ त्यहीं पत्रिरहेको छ। डाक्टरले सकेसम्म गर्‍यो; तर तिनीहरू भन्छन्, घाउ पीपैपीपले भरियो, र यसले उसलाई कहिल्यै सोझो हिँड्न वा डुङ्गा हुँइक्याउन दिनेछैन।' 

ठूलो पापको बोझबाट मुक्त भएको मानिसजस्तो उहाँले मलाई यो पोको थमाउनुभयो र धेरै बेरसम्म म यसलाई हेरिबसें। त्यसपछि मैले उहाँलाई धन्यवाद दिएँ, यसलाई उहाँकै हातमा फर्काइदिएँ र तल किनारतिर गएँ। मेरा बाबाको डुङ्गा पानीको डोबदेखि निक्कै माथि राम्रोसँग भसाइराखिएको थियो। यसो हेर्दा त्यो बेवास्ता गरिएको र पुरानो देखिन्थ्यो; अनि मैले मेरा हात त्यहाँ पुर्‍याउने खूबै इच्छा गरें; तर एउटा केटाले यसको रक्षा गरिरहेको थियो, जसले यसमा ठाउँ ठाउँमा अलकत्राको पोतो लगाउँदैथियो। 

म त्यहाँबाट अघि बढ़ें; कहिले मेरो माझी भोटो एकातिर फालेर म सफा पानीभित्र लस्याक- लस्याक हिँड्दै, गालील तालको मनतातो, गहिराइ नभएको पानीपछि यसको नुनिलो चिसोपनमा रमाएँ, र कहिले गहिरिएर सोच्न आफै बालुवामा डङ्ग्रङ्ङ जीउ फालें। 

'पश्चात्ताप गर्नुहोस्, पापहरूको क्षमाका निम्ति बप्तिस्मा लिनुहोस्; अनि तपाईंहरूले पवित्र आत्मा पाउनुहुनेछ।' के पवित्र आत्माद्वारा प्रभु येशू म एउटा अन्यजातिको मानिसकहाँ आउनुहुन्छ होला? यो मलाई थाह थिएन; तर सामरियाको बाटोभरि नै त्यो पहिलो आदेशले ‘पश्चात्ताप गर, पश्चात्ताप गर!' मेरो दिमागमा समुद्र किनारको छालझैं ठोकिरहेको थियो। ‘तिमीले आफ्नो पाप नियाल्नुपर्छ; उहाँले एउटा फोहोर भएको भांड़ोमा आफ्नो सफा पानी खन्याउनुहुन्न। पश्चात्ताप गर पश्चात्ताप!' मैले गरेका गल्तीहरूको पूर्ति गर्ने मैले कुनै उपाय देखिनँ; तर अब सबै कुरा स्पष्ट भइसकेको थियो। मैले चाहें भने म पश्चात्ताप गर्न सक्थें; यदि म मूल्य चुकाउन राजी थिएँ भने। 

लामो समयसम्म मेरो पाप धिक्कार्दै, आफैलाई र सबभन्दा बढ़ी त्यस मान्छेलाई, जसले हाम्रो हानि गरेको थियो, उसैलाई धिक्कार्दै म त्यहीं बसिरहें। समुद्रपारि घामले उज्यालो रेखी नहालुन्जेल म त्यहीं बसिरहें; तब म उठें र घर दौड़ें। आयोन अझै माथि त्यस ठूलो निवासमा नै थिइन्, तर मेरी आमा र इल्लिरिका ऊन सम्म्याएर र धागो कातेर डल्लो - डल्लो पारिरहेका थिए। म उनीहरूको छेवैमा बसें र उनीहरूलाई सबै कुरा बताएँ; मैले मनमा बोकेको घृणा, अनि बदलाको मेख मारेको, डुङ्गा जलाएको र बेतोड़सित भागेको कुरा। त्यसपछि मैले प्रभु येशू क्रूसमा टँगाइनुभएको, उहाँको बौरिउठाइको हल्ला र अन्तमा पेन्टेकोष्टको दिनमा घटेको आश्चर्यकर्मको कुरा गरें; तर उनीहरू होलान् भन्ने मैले सोचेको जस्तै उनीहरू न आश्चर्य, न चकित भए, न ता आतङ्कित नै। अघिबाट नै उनीहरूले मेरो भगाइचाहिँ डुङ्गाहरू जल्नुसँगै सम्बन्धित छ भनेर शङ्का गरिसकेका थिए; उनीहरूले राजमार्गमा यात्रा गरी हिँड्नेहरूबाट प्रभु येशू क्रूसमा टँगाइनुभएको कुरा र उहाँको बौरिउठाइको हल्लासमेत सुनिसकेका थिए; उनीहरूले यी कुराहरू घण्टौंघण्टा छलफल गरेका थिए र आफ्नो निस्कर्षमा आइपुगेका थिए। पेन्टेकोष्टको घटना मात्रै उनीहरूको लागि एकदम नयाँ थियो, र उनीहरू मग्न भई ध्यानसित सुनिरहे। 

“पहिलो पटक त तिनीहरूले उहाँलाई तिनीहरूका मसीह हुनुहुन्छ भनेर चिनेनन्,” मैले तर्क गरें। " तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। तर अब तिनीहरूका परमेश्वरले तिनीहरूलाई दोस्रो मौका दिँदै हुनुहुन्छ; उहाँ अब पवित्र आत्माको रूपमा पश्चात्ताप गर्ने र पापहरूको क्षमाका निम्ति बप्तिस्मा लिनेको हृदयमा आउँदै हुनुहुन्छ ; त्यही नै पत्रुसले भने। तर यरूशलेममा त यो समाचार र प्रतिज्ञा यहूदीहरूलाई मात्रै दिइएको थियो; ता पनि ...” मैले उनीहरूलाई सुखारकी त्यस स्त्रीको बारेमा बताएँ। 

मेरी आमाले मेरो कुरा बीचैमा काट्नुभएन। मैले बोलिसकेपछि र कसैले पनि बत्ती बाल्ने ख्याल नराखी कोठा अँध्यारो भएपछि उहाँले बोल्न थाल्नुभयो। 

"त्यस स्त्रीले ठीक भनेकी थिई, फिलो। टायर र सिडोन - बीचको बाटोमा येशूको पछि कराउँदै हिँड्दा मैले यो कुरा थाह पाएँ। उहाँ हाम्रा मसीह होइन, तिनीहरूका मसीह हुनुहुन्छ; तर उहाँ मसीह मात्र हुनुहुन्न, तर उहाँ मसीहभन्दा कता हो कता महान् हुनुहुन्छ। उहाँको अर्को नाम छ; अनि उहाँले मैले त्यो पत्ता लगाउने इच्छा गर्नुभयो; 'प्रभु, मलाई सहायता गर्नुहोस्' भन्दै म चिच्च्याएँ; तब उहाँ तुरुन्तै मतिर फरक्क फर्किनुभयो। के दुष्ट आत्माहरू र आँधीबेहरीहरू, रोगबिमारहरू र मृत्यु यहूदीहरूका मात्रै पेवा हुन्छन् र? मलाई लाग्छ, हरेक जसले उहाँलाई प्रभ भनी स्वीकार गर्छ र आफ्नो जीवन उहाँको हातमा सुम्पिदिन्छ, उसैको हृदयमा उहाँ फर्केर आउनुहुन्छ। शायद त्यतिखेर र त्यहाँ नै उहाँको राज्यको शुरुआत हुने होला।" 

उहाँले बिस्तारै शब्दहरू खोज्दै बोल्नुभयो र ती शब्द धेरै घण्टाहरूको सोचाइको परिणाम हुन् भन्ने मैले थाह पाएँ। त्यसपछि इल्लिरिका बोलिन्, अनि उनी जहिले पनि बुद्धिमती नै ठहरिन्थिन्। 

"कहिलेकहीं त म यसो सोच्छुः वास्तवमा उहाँ कहिल्यै जानुभएन।" उनले शान्तसँग भनिन्। “उहाँबाट निको पारिएकाहरूलाई उहाँले आफ्नै केही दिनुभएको छ; मलाई त्यस्तै लाग्छ। जब मैले तिनीहरूले उहाँलाई क्रूसमा टाँगे भन्ने सुनें, तब म उहाँका कष्टहरूका खातिर रोएँ; तर उहाँ मरणान्त हुनुभएन भन्ने मलाई थाह थियो। मैले यसो विचार गरें शायद उहाँ निको पारिएको कोरी, पश्चात्ताप गरी फर्केको पापी र अन्धोपनाबाट मुक्त भई ज्योति देख्न सक्ने मानिसभित्र जिउनुहुन्छ होला। उहाँको जीवन कहिल्यै मर्न सक्दैन भन्ने मलाई थाह थियो। मृत्युबाट भएर जानुपरे तापनि त्यो जीवन सदा रहिरहन्छ; र हुन सक्छ, त्यो यहाँबाट टाढ़ा कहीं कतै सिद्धतामा आउँछ होला। तर तिमीले भनेको कुरा त झन् असल हो; हामीलाई फेरि भन त, फिलो।” 

“पश्चात्ताप गर्नुहोस्,” मैले भनें। “पापहरूको क्षमाका निम्ति बप्तिस्मा लिनुहोस्, र तपाईंहरूले पवित्र आत्माको दान पाउनुहुनेछ।" 

हामीले विस्तृत रूपमा यसको छलफल गर्‍यौं; पश्चात्ताप गर्नु भन्ने कुरा सोझै बुझिन्थ्यो; अनि यसको बारेमा आयोन पनि खूब गम्भीर भएकी थिइन्, जो घाम अस्ताउनुको अलि अघि मात्रै घर आइपुगेकी थिइन्। किनभने त्यहाँ तिनकी मालिक्नीको बगैंचामा विशेष जातिको एउटा खुर्पानीको रूख थियो, जसका फल तिनले आजसम्म टाढा राखिराख्न सक्दैनथिइन्। बाप्तिस्मा लिनु - यो कुरा पालन गर्न अलि गाह्रो देखिन्थ्यो; किनकि जहाँसम्म मैले बुझेको थिएँ, केवल उहाँका चेलाहरूलाई मात्रै बप्तिस्मा दिने आधिकार थियो। तर योएलले भनेको थियो, यो त एउटा चिन्ह, सबैको सामु गरिने गवाही हो। यसो भए हामी मानिसहरूलाई चिन्ह-भाषाको साथसाथै हाम्रा ओठहरूले हाम्रो जीवनमा के भएको थियो, सो बताउन सक्थ्यौं। 

"एक दिन " इल्लिरिकाले भनिन्, “मलाई लाग्छ, कोही आउनेछ र हामीले के गर्नुपर्छ, सो हामीलाई भनेछ। मेरो विचारमा, यो समाचार संसारको अन्तसम्मै फैलिनेछ।" 

"अनि साँच्चै उहाँ आफै हामीकहाँ आउनुहुन्छ भने ता, आयोनले जोशिलो भएर भनिन्, “तब उहाँले नै हामीलाई हामीले के गर्नुपर्छ, सो बताउनुहुनेछ।" 

यो पनि हामीलाई एउटा राम्रै विचार लाग्यो; हामी ठूलाहरूमा कसैले यो कुरा विचारै गरेका थिएनौं। तर पहिलो कदमचाहिँ दाइजोको केही रकम लिएर हिरामलाई फिर्ता गर्ने र खास के भएको थियो, सो उसलाई बताउने काम थियो; यसमा हामी सबै राजी भयौं। अनि यसो सोच्दा उसले मलाई राम्रोसँग चुट्न लाउनेछ र झ्यालखानामा हुत्त्याउनेछ भन्ने कुरा कल्पना गर्न सजिलो थियो। म साह्रै साह्रै नै डराएँ; तर अब पछि हट्ने कुनै ठाउँ नै रहेन। तर मैले कति पैसा लानुपर्ला भन्ने टन्टाचाहिँ थिएन। उसले नै आफ्नो मोल तोकिसकेको थियो। उसले मेरी आमालाई जति तिरेको थियो, मैले त्यसको दोब्बर गर्ने; र यसो गर्न मलाई एकदम न्यायसङ्गत कुरा लागेर मैले मन मनै हाँसें। 

उसको घर चित्रे मेरो राम्रो ज्ञान थियो। आँधीबेहरी चलेका र सबै डुङ्गाहरू पाखा लगाइएका रातहरूमा याविन र म, हामी उसको बानी-व्योहोरा र हिँड्ने बाटाहरू थाह पाउनलाई धेरैपल्ट पौवादेखि उसको घरसम्म पछि-पछि चियो गर्दै हिँडेका थियौं। उसको बाबु जीवित हुँदा त यो घरचाहिँ शहरका राम्रा राम्रा निवासहरूमा भएको टोलको एउटा धनी मानिसको घर गनिन्थ्यो; तर अहिले ढोकाको वरिपरि लेउ र सिस्नु उम्रेका थिए। मलाई यो पनि थाह थियो, उसकी पत्नी धेरै पहिले होइन, भर्खरै सुत्केरीसँग मरेकी थिई; यसकारण ऊ अब एक्लै थियो। 'उसले मेरो घाँटी निमठ्न सक्छ,' मैले नरमाइलो लागेर विचार गरें; तर पनि मैले ढोकामा ढकढक्याएँ। 
"त्यहाँ को हो?” ऊ रूखो सोरमा गर्जियो। मैले लामो सास तानें र भित्र छिरें। 

कोठा अँधेरो र फोहोर थियो; अनि उसको घाउको दुख्दुती गन् दिगमिगलाग्दो थियो। मैले डुङ्गामा देखेको केटो हिरामलाई खाना र पानी ल्याउन दिनमा दुई चोटि आउँथ्यो; तर ऊ मैले कहिल्यै देख्न नपाएको साह्रै पीड़ित, बेवास्ता गरिएको प्राणीजस्तै देखिन्थ्यो। उसले मलाई आँखा तरेर हेर्‍यो; उसका आँखाहरू तिरस्कार र त्रासले रन्किरहेका थिए। 

"तिमी केको लागि आयौ?" उसले बल्ल आवाज ओकल्यो। म ऊदेखि सकेसम्म टाढामा उभिएँ र टेबलमाथि पैसा राखें। “तिम्रा डुङ्गाहरू जलाउनेहरूमध्ये म पनि एक हुँ," मैले ठाडै भनिदिएँ। “म तिम्रो नोक्सानीको बिगो तिर्न आएको हुँ। तिमीले मेरी आमासँग एउटा डुङ्गाको मोल छिन्यौ र मैले त्यसको दोब्बर ल्याएको छु। म दुःखित छु, र क्षमा माग्छु।" 

" तिमीले... मेरा डुङ्गाहरू जलायौ! म तिमीलाई अदालतको हाकिमको अगाडि पुर्‍याउनेछु र बजार लाग्ने ठाउँमा नै तिमीलाई लट्ठी नै लट्ठीले चुट्न लाउनेछु ..." यदि उसले उठ्न सकेको भए, मलाई लाग्छ, उसले आफ्ना खाली हातले मेरो घाँटी निमोठ्थ्यो होला। म थर्र काँपें र फरक्क फर्के। उसको आकृति र उसको गन्ध दुवै मैले सहन सकिन; र मैले सकेसम्म छिटो ऊदेखि सकभर टाढा हुन खोजेको थिएँ। 

“म तिमीलाई ठीक पार्नेछु,” उसले फुङ्कार छोड्यो। “मलाई त्यो पैसा देऊ।" 
मैले त्यो पर ऊतिर हुत्त्याइदिएँ; अनि उसले मक्ख पर्दै पोको खोल्यो। सुनका टुक्राहरू मैलो कम्बलमा गुडुल्किँदै गर्दा उसको ताजुप मानेको अनुहार मैले देख्न सकें। 

“के तिमीले यो चोरेका छौ?” ऊ भुतभुतायो। 
म रिसाएँ; उसले मलाई होच्याएको मैले थाह गरें। “होइन, तँलाई पाखे मूर्ख," म कुर्लिएँ। “यदि तँ थाह पाउन चाहन्छस् भने सुन; यो मेरी दिदीको दाइजो हो। अब म गएँ, बिदा।" 

“पर्ख!” उसले आफ्नो दुष्ट अनुहार मतिर पूरै फर्कायो र म फेरि थर्र कामें। " सारा देउताहरूको नाममा कसम खाएर भन, किन तिमीले यो ल्यायौ?" 

पश्चात्ताप गर, क्षमा गर; यही नै मेरो मौका हो भन्ने मैले ठानें। " किनभने म त पापको छिनोफानो गर्न र एउटा नयाँ, शुद्ध जीवनको सुरुआत गर्न चाहन्छु।" मैले यति भनें, त्यसपछि मेरो पछाड़ि ढोका ढ्याम्म लगाउँदै र ताजा हावाको मुस्लोमा ठूलो निश्वास लिँदै उसलाई त्यहीं छोड़ें। 

अनि अब, के? म फेरि समुद्र किनारतिर मेरो जाने बानी परिसकेको मनपर्दो ठाउँमा गएँ। गालीली गर्मी- याम र बेंसीको गर्मी सहेपछि समुद्रको किनारदेखि म कहिल्यै अघाउन सक्दिनँ जस्तो लाग्यो। म छम्लङ्ग समुद्रमा हाम फालें र तैरिंदै त्यस कोठाको भ्रष्टता पखाल्दै, सोच्दै, सोच्दै बसें। 

मैले जानेसम्म मेरो काम गरिसकेको थिएँ। मैले पश्चात्ताप गरिसकेको थिएँ, हानिको पूर्ति गरिसकेको थिएँ, पाप स्वीकार गरिसकेको थिएँ। अब उहाँको पालो थियो। यदि उहाँ मतिर आउनु हो भने घड़ी यही नै थियो। म पखिँदै त्यहाँ पल्टिरहें; शायद म हावाको हुरूरूरू आवाज सुन्छु कि, अथवा उहाँका चेलाहरूले गरेजस्तै अन्य भाषामा परमेश्वरको स्तुति गर्छु होला कि। तर त्यस्तो केही पनि भएन। 

'तपाईंहरूले पवित्र आत्मा पाउनुहुनेछ,' शायद मैले मेरो गर्नुपर्ने काम राम्रोसँग गरिनँ कि? यस कुराले अचानक मलाई झस्कायो। एउटा दान ग्रहण गर्नुपर्छ। घामले आफ्ना किरण पृथ्वीमा पठाउँछ; तर फूलहरूले घामको उज्यालो र न्यानो पाउन आफ्ना मुखहरू खोल्छन् र त्यसरी नै सागरले छाया प्रतिबिम्ब गर्छ भने प्रभु येशूले, मैले बुझेंसम्म कहिल्यै कसैलाई आफ्ना दानहरू दिन जबरजस्ती गर्नुहुन्न। तर मानिसहरूको गुहार उहाँले सधैँ सुन्नुभयो; मानिसहरूले बोलाएको बखतमा उहाँ आउनुभयो। 

यसैले मेरो जीवनमा पहिलोचोटि मैले मानिस बन्नुभएको सर्वोच्च परमेश्वरलाई पुकार गरें। मैले उहाँलाई मभित्र आउनुहोस् भन्ने विन्ती चढाएँ। 

केही पनि भएन; अर्थात् मैले सोचेको कुनै कुरा भएन। तर तुरुन्तै खुला, नीलो आकाशमा आँखा टोलाएर बस्नुको सट्टामा मेरो दिमागभित्र एउटा स्पष्ट दृश्य आयो। मैले एउटा अँध्यारो कोठा र त्यस अन्धकारमा दुष्ट र त्रासित भएको एकजना निन्याउरो मान्छे पल्टिरहेको देखें। तर यसपालि मैले हिरामको घृणाको पछाड़ि उसको पीड़ा र एक्लोपन पनि देख्न सकें। मैले उसलाई नयाँ दृष्टिले अरू कसैको दृष्टिले हेरिरहेको जस्तै थियो। 
"फर्क," एउटा आवाज बोलिरहेकै लाग्यो, “अहिले नै फर्क।" 

सपनामा झैं पौड़ी खेलेर म किनारमा उत्रे र लुगा लगाएँ। 
दिउँसोको मध्यान्तरपछि साना छाप्रे दोकानहरू फेरि खुल्न थालिसकेका थिए। मेरो कम्मरमा एक सिक्का थियो; अनि मैले केही फलफूल र सानो एक भुँड्को दाखमद्य किनें; त्यस घरमा पुगेर मैले ढोका ढकढक्याइनँ। म सोझै भित्र पसें, र उसको घिनलाग्दो गुन्द्रीको छेउमा बसें। मैले मेरा उपहारहरू उसको छेउमा राखिदिएँ; अनि उसले मलाई आफूले भूत देखेझैं आँखा तरेर हेर्‍यो। ऊ आत्तिएको थियो। 

"हेर," मैले भनें, "तिम्रो खुट्टा त्यस्तो भएकोमा म दु:खित छु। के मैले तिंमीलाई सहायता गर्न सक्ने कुनै कुरो छ?" धेरै बेरसम्म हाम्रा आँखाहरू एक-अर्कासँग हेराहेर भइरहे; तब उसको घृणा र डर हटेर थकाइ, सङ्कष्ट र पीड़ा मात्रै रहेको मैले देखें। उसको हातले कम्बल थुत्त तान्यो। “मेरो विचारमा ..." उसले खासखुसे सोरमा बोल्यो र रोकियो। ऊ आफ्नो घमण्डसँग जुधिरहेको छ भन्ने मैले थाह पाएँ। 

"मेरो विचारमा उसले फेरि बल गर्‍यो। " मेरो विचारमा, के तिमीले त्यो डुङ्गा पानीमा निकाल्न सक्दैनौ र? तिमीसँग काम गर्न केही केटाहरू खोज र व्यापार चालू गर। हेर, तिनीहरू भन्छन्, म त अब कहिल्यै सोझो हिँड्न सक्दिनँ होला; तर यो कुरा कसलाई पक्का थाह छ र?" 

मेरा बाबाको डुङ्गा! एकैछिनको लागि मैले ओछ्यानमा मान्छे छ भन्ने बिर्से। म आफ्नो कल्पना सर्रर चिप्लो जालको डोरीको स्पर्श मेरा हातहरूमा चाल पाउन सकें; म डुङ्गाको अगाडिको चुच्चोमा चप्लाक- चप्ल्याक ठोकिइरहेको पानीको लप्का सुन्न र टायरी डाँडाहरूमाथि झिसमिसे उज्यालो झर्दै गरेको देख्न सकें। " पक्कै पनि म गर्छु,” मैले त्यत्तिकै भनें, “म आज बेलुकी जालहरू हेर्छु र केही ठिटाहरू खोज्छु। भोलि रातिदेखि हामी त्यसलाई पानीमा तैराउनेछौं र नाफाजति हामी दुईमा बराबर बाँड्नेछौं।” 

अनि अचानक नै यस मानिसप्रति मेरो हृदय उम्लेर आयो; अनि मैले उसलाई प्रभु येशू, मेरा परमेश्वरले उसलाई प्रेम, दया र क्षमाले भरिएका आँखाले हेर्नुभएझैं हेरिरहेको छु भन्ने मैले थाह गरें। 

हामीले लामो समयसम्म स्थायी हुने साझेदारी शुरु गरिरहेका थियौं भन्ने मलाई थाह लाग्यो। 
मैले यो पनि थाह पाएँ – मानिस बन्नुभएको परमेश्वरले, मृत्यु, दुष्ट आत्माहरू, रोगबिमार र पापहरूमाथि जय पाउनुभएको विजेताले मलाई जित्नुभएको थियो। उहाँ मकहाँ आउनुभएको थियो। परमेश्वरको राज्य मभित्र थियो। 

विजेता यो कथा हामीलाई फोनिसियामा लान्छ, जहाँ फिलो एउटा केटा, मछुवाको एकमात्र छोरा भूमध्यसागरको किनारमा अवस्थित भएको टायर- शहरमा हुर्किन्छ। उसको परिवारमा अन्धकारको शक्तिले काम गरेको छ; खास गरी इल्लिरिका उसको दिदीलाई डरलाग्दो डगडगी काम्ने व्यथा लागेको छ। फिलोको घरबाट यो अँध्यारो छाया हट्दैन; झन् आँधीबेहरी चल्ने रातमा उसको बुवा समुद्रमा डुबेर मर्दा उसले जीवनदेखि हरेश खान्छ। 

एकदिन उसको मामा गालीलबाट एउटा भविष्यवक्ताको गाइँगुइँ ल्याउनुहुन्छ, जसले रोगीबिमारीहरूलाई निको पार्छन्। शुरुमा उसले यो कुरा विश्वास गर्दैन; यस्तो कुरा सुन्न पनि चाहँदैन; किनभने यस भविष्यवक्ताको नाममा अनौठो शक्ति छ। 

पछि फिलो घर छोडेर भाग्छ; तर जहाँ गए तापनि उसले यस भविष्यवक्ताको विषयमा नयाँ, अचम्मलाग्दा कुराहरू सुन्दैछ। के यस संसारमा अन्धकारको शक्तिभन्दा ठूलो कुनै शक्ति छ? के इल्लिरिकालाई लागेको दुष्ट आत्मा धपाउन सक्ने कुनै सामर्थ्य छ? अनि के यस भविष्यवक्तासँग यस्तो शक्ति छ र? उसको मनमा उठेका यी प्रश्नहरूको जवाफ उसले पाउँदछ। यो कथा पढ्नुहोस्, र तपाईंले पनि यी उत्तरहरू पाउनुहुनेछ। किनभने यहाँ, यस कथामा तपाईंले हार खाएको जीवनमा विजय ल्याउने विजेतासित भेट्न पाउनुहुनेछ। 

यस पृष्‍ठलाई सेयर गर्नुहोस्‌

तपाईंको प्रोत्साहन हाम्रो लागि बहुमूल्य छ

तपाईंको कथाहरूले वेबसाइटहरूलाई यो सम्भव बनाउन मदत गर्दछ।