सम्पूर्ण ब्रह्माण्डहरूको सृजनहार परमधन्य परमेश्वरलाई धन्यवादको भक्ति चढ़ाउँदै म आफ्नो जीवनको गवाही शुरु गर्दछु। सर्वशक्तिमान् परमदेव परमेश्वरले मेरो जीवनमा गर्नुभएका कार्यहरू अवर्णनीय छन्, जुन कार्यहरू उहाँले सृष्टि गर्नुभएका मानिसहरूको बीचमा सुनाउन पाउनु मेरो निम्ति सौभाग्य हो।
मेरो नाम वेदान्ताचार्य माधव उपाध्याय हो। मेरो जन्म सन् एकाइस जनवरी १९६२ सालमा पश्चिम नेपालको धनगढ़ी स्थित लक्ष्मी- नारायणको मन्दिरमा भएको हो। मेरा पिताको नाम रघुनाथ उपाध्याय हो। म उहाँको ज्येष्ठ पुत्र हुँ। हरिद्वार, अयोध्या र नालन्दाका हिन्दू विश्वविद्यालयहरूमा चौध वर्षसम्म विस्तृत रूपले वेदाध्ययन गरेपछि प्राप्त गरेको यस उपाधिले मलाई ईश्वरतुल्य तुल्यायो। 'आचार्य देवोभवः' अर्थात् आचार्य नै देवता हुन्। यसरी नै म मानिसहरूको बीचमा र आफ्नो गुरुकुलमा ईश्वरतुल्य भएँ, र मैले एउटा ठूलो उपाधि प्राप्त गरें; अनि मैले मानिसहरूलाई धर्माचरणको शिक्षादीक्षा दिन थालें। सबैजनाले मलाई पूर्ण अधिकारवान् भएको व्यक्ति सम्झेर 'स्वामीजी' भनेर सम्बोधन गर्न लागे। तर म भने मेरो ईश्वरको दृष्टिमा केवल एउटा निरीह, हतोत्साहित मानिस थिएँ। त्यसपछि श्री वैष्णव परिषद्सँग संलग्न भएर मैले आफ्नो धर्म-सम्प्रदायको प्रचारप्रसार गरेर धर्म रक्षा गर्ने निर्णय गरें; 'धर्मो रक्षति रक्षित'को महान् वाणी शोरोपर धरेर म युद्धभूमिमा ओर्लिएँ। यस सिलसिलामा हिन्दुस्तानका प्रान्त - प्रान्तका प्रायः सबै मन्दिरहरूमा 'परधर्म भयावह' को महामन्त्र स्मरण गराउँदै मैले भ्रमण गरें।
भ्रमण गर्ने क्रममा मलाई विद्वान् महापुरुषहरूसँग सङ्गति गर्ने मौका मिलेको थियो; अनि मैले प्रख्यात तीर्थहरू दर्शन गर्ने सुअवसर पाएँ। यसरी नै भ्रमणको क्रममा हाम्रो प्रसद्धि भूमि हिन्दमा तपोरत सर्वमान्य धर्मगुरु श्रीतीन शंकराचार्य महाराजजीसँग भेटवार्ता मेरो निम्ति रोचक र मुख्य हुन गएको छ। यस भेटवार्ताको बयान यहाँ प्रस्तुत गर्न उपयुक्त देखिन्छ।
हरिद्वार हिन्द भूमिको मुटु हो, साथै सुप्रसिद्ध तीर्थस्थल पनि हो। यस तीर्थस्थलमा हिन्द भूमिका प्रायः सबै प्रान्तहरूबाट धर्मानुरागीहरू ईश्वर प्राप्त गर्न दर्शनार्थीको रूपमा आउने गर्छन्। यहाँ ठूला-ठूला मठ- मन्दिरहरू छन्। यहाँ विद्वान् पुरुषहरू, साधु-सन्न्यासीहरू, तत्त्व- दर्शीहरूको भीड़ सधैं लाग्ने गर्छ नै। यस सुप्रसिद्ध तीर्थस्थलमा महाराज श्रीतीन शंकराचार्यजीको पदार्पण भएको थियो। उहाँ यस पवित्र भूमिमा आफ्नो दिव्यवाणीको पुष्पवृष्टिरूपी प्रवचन बोल्न लाग्नुभएको थियो। यस बेलामा म चौध वर्ष भएको थिएँ, र मैले यहाँको वेद पाठशालामा वेदाध्ययन गरिरहेको थिएँ।
उहाँ हाम्रो विद्यापीठमा हामी विद्यार्थीहरूसँगै रहनुहुने र हामी विद्यार्थीहरूलाई तत्त्वत्रयको त्रिएकत्वको बोध गराउनुहुने योजना थियो। म हृदयबाट हर्षित थिएँ; किनभने यो महत्त्वपूर्ण समय पाउनु मेरो निम्ति ज्यादै फाइदाको कुरा थियो। मनमनै मैले सोचें र यसो अठोट पनि गरेंः 'अँ, मौका यही हो; यो मुक्ति भन्ने कुरा कसरी पाइँदो रहेछ, सो म अब उहाँबाट जान्नेछु।'
मैले ठानेजस्तो हुन आयो। उहाँ हाम्रो आश्रममा आउनुभयो। मेरो अनुरोधमा महाराजको सेवा गर्ने मौका मलाई नै दिइयो। भक्तिसाथ मैले उहाँको सेवा गरें। पाँचौं दिनमा निक्कै आँटिलो भएर मैले उहाँको चरण स्पर्श गर्दै आफ्नो प्रश्न बिछ्याएँ: 'महाराज, मुक्ति का मार्ग बताकर मुझपर कृपा करें ! मुझे मुक्ति कैसे मिलेगा ?' मलाई ठिटो देखेर या यो प्रश्न ससाना ठिटाहरूले गर्ने प्रश्न नै होइन भन्ने सम्झेर होला, उहाँले हप्काउने स्वरले मलाई भन्नुभयोः 'तुम विद्यार्जन के लिए यहाँ हो! विद्यार्जन करो! जो बात तुम्हारे बस की नहीं है, वह बात के लिए ऐसी उल्झन में न रहो! मैं तुम्हें आशीर्वाद देता हूँ; विद्वान् बनो, धर्म धारण करो, धर्म की रक्षा करो!' इत्यादि।
यत्तिमै मेरो जिद्दी स्वभावलाई तृप्ति भएन। उहाँसँग मेरो विन्ती फेरि दोहोरियोः 'महाराज, मुझपर दया करें! मुक्ति का मार्ग बताकर मुझे सन्तुष्ट करें!' उहाँको निश्छल उत्तर यस प्रकारको भयो। गम्भीर मुद्रामा मेरा आँखामा आफ्नो दृष्टि गढ़ाउँदै उहाँ यसो बोल्नुभयोः 'बेटा, महासागर को देखा है?' मैले उत्तरमा शिर हल्लाउँदै यसरी स्वीकृति जनाएँः ‘जी, महाराज।' 'तो जा, उस महासागर के किनारे बैठ, और हर रोज अंगुल डुबाकर एक बूँद पानी पिया करना! जिस दिन उस अथाह सागर को पीकर सुखाओगे, उसी दिन तुम्हे मुक्ति मिलेगा। जा बेटा, मेरा उत्तर यही है!!'
(के तपाईंले हामी सर्वसाधारण मानिसहरूका निम्ति हृदयस्पर्शी तथा मर्मान्तक उहाँको उत्तर सुन्नुभयो?)
'असम्भव ...' मैले नचाहँदा नचाहँदै मेरो मुखबाट फुत्तै निस्केको शब्द यो थियो। अनर्थ शब्द निकालेकोमा म लज्जित भएँ, तर यसैबाट मेरो मनमा अचम्मको र निराशाको मिश्रण - भाव प्रष्टै भयो। म घोत्लिएर निहुरिएको देखेर महाराजजीले मप्रति आफ्नो दयाभाव यसो भन्दै प्रकट गर्नुभयोः ‘देखो, बेटा! मोक्ष शब्द हम मनुष्यों की समझ से बाहर है; यह शब्द ऋषिओं-महर्षिओं के अपने सिद्धान्तों से रचा हुआ अप्राप्य, दुर्लभ, दुर्गम बात है, दर्शनशास्त्र का महाजाल है। जिन्होने मोक्ष - मार्ग की रचना की, वे भी मोक्षरहित मर गए। बेटा, मैं स्वयम् भी मोक्ष ढूँढ़ रहा हूँ, परन्तु अभी तक तो मोक्ष नहीं मिला; आगे और क्या मिलेगा? मैं मोक्षरहित हूँ, तो तुम्हें मैं क्या दे सकता हूँ?
उहाँले दिनुभएको निश्छल उत्तरबाट मैले बुझेको सारांश यही हो: मुक्ति अर्थात् मोक्ष संसारका धर्मगुरुहरूसँग माग्ने कुरा होइन रहेछ। सन्त-महात्माहरू पनि मोक्षरहित, निराशाले पूर्ण जीवन व्यतित गरिरहेका छन् भने हामी सर्वसाधारण मानिसहरूको के- कस्तो हालत हुने हो? हाम्रो विश्वासअनुसार धर्मगुरुहरू त मोक्षदायी महापुरुषहरू हुन्। तर 'यिनीहरूले पक्कै पनि हामीलाई मोक्ष - मार्गमा डोहोरयाउनेछन्' भन्ने आशा राख्नु सठीक होइन रहेछ। मेरो विचारमा, मोक्ष, लोभनाशक शक्ति तथा ईश्वरीय ज्ञान प्राप्त गर्न सकिन्छ भने अथवा यस्तो दिव्य शक्ति कतै छ भने मलाई मेरी आमाको कोखमा जीवन दिनुहुने र मांसपिण्डलाई जिउँदो क्रियाशील मानिस तुल्याएर यस संसारमा पठाउनुहुने जो हुनुहुन्छ, उहाँले मात्र मुक्तिदान दिन सक्नुहुन्छ। अन्य सम्पूर्ण कुराहरू काल्पनिक मात्र हुन्।
एकमात्र सत्य, जीवित परमेश्वरलाई मेरो अन्तस्करणबाट धन्यवाद चढ़ाउँछु। मोक्ष अर्थात् मुक्तिचाहिँ परमेश्वरको वरदान नै हुँदो रहेछ। वास्तवमा, उहाँको सत्य वचनप्रति आज्ञाकारी भएर जसले विश्वास गर्छ, उसले परमेश्वरको एकमात्र पुत्र येशूलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा अपनाएकोमा मुक्ति पाउँदो रहेछ। मेरो निम्ति मुक्ति भन्ने कुरा अप्राप्य, दुर्लभ, भेट्नै नसकिने आकाशको फल होइन रहेछ, तर त्यो उद्धार, त्यो मुक्ति मानिसले सहजै पाउन सक्ने परमेश्वरको प्रेमको प्रमाण पो रहेछ, जुन मुक्तिचाहिँ येशू ख्रीष्टसँगै स्वर्गबाट मानिसहरूकहाँ ओर्लिआएको छ।
हाम्रा पुर्खाहरूले पाउन नसकिने, दुर्लभ वस्तु ठानेर निराश हुँदा आफ्नो शरीरलाई यातना दिएर कठोर तपस्या गरेर पनि पाउन नसकेको त्यो मुक्ति मैले ईश्वरीय दानस्वरूप सहजै पाउन सकें। मेरो विश्वासको दृष्टि खोलेपछि मैले परमपितालाई देख्न थालें, र उहाँको एकमात्र पुत्र प्रभु येशूलाई यसरी पुकारें: 'हे प्रभु येशू, मलाई बचाउनुहोस्!' अनि प्रभु येशूले मलाई मेरा पुर्खोली सबै बन्धनहरूबाट मुक्त गर्नुभयो, र मैले मुक्ति पाएँ। यो त उहाँमा सित्तैंमा पाइने वरदान हो।
सन्त पावलले भन्दछन्ः 'परमेश्वर हाम्रा मुक्तिदाताको आज्ञाअनुसार मलाई जिम्मा लाएको प्रचारद्वारा उचित समयमा उहाँले आफ्नो वचन प्रकट गर्नुभयो।' (पवित्र बाइबल, तीतसको पत्र १:३ पद)। यस पदको अर्थअनुसार परमेश्वरको हुकुम भएपछि प्रभु येशू ब्रह्मवचनको रूपमा संसारमा प्रकट हुनुभएको छ।
'अनि हामीले देखेका छौं र गवाही दिन्छौं, कि पिताले आफ्ना पुत्रलाई संसारको मुक्तिदाता हुन पठाउनुभएको हो। जसले येशूलाई परमेश्वरको पुत्र भनी स्वीकार गर्छ, उसमा परमेश्वर रहिरहनुहुन्छ र ऊचाहिँ परमेश्वरमा रहिरहन्छ। हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौं र विश्वास गर्दछौं।' पवित्र बाइबल प्रथम यूहन्ना ४:१४-१६
याद गर्नुहोस्ः श्रीतीन शंकराचार्य महाराजजीले दिनुभएको उत्तरबाट यसरी आफ्ना धर्मकर्मप्रतिको विश्वासको धरोहर भत्किरहेकै बेलामा गुरुवादभित्रको धर्म-सम्प्रदाय समातेर ईश्वर प्राप्त गर्ने धोको बोकेर मैले आफूले मन पराएर पुजेका देवताहरू र गुरुहरूलाई रिझाउन निरन्तर भक्ति-पूजन गरिरहेकै थिएँ। यसरी आशाको धरोहर - धरातल गर्लम्म भत्किँदा मेरो आत्मिक अवस्था कस्तो भयो होला, सो हजुर आफैले विचार गर्नुहोला। मलाई अब स्पष्ट थाहा भयो, कि म र मजस्ता सम्पूर्ण आस्तिक सज्जनहरूले भक्ति-पूजन गरेको र राखेको आशा सबै व्यर्थ
रहेछ।
सर्वसाधारण हिन्दू समाजमा म देवतुल्य ठहरिएँ। वेदले भन्छः ‘आचार्य देवोभवः' अर्थात् आचार्य नै देवता हुन्। मैले बालककालदेखि पढ़ेर आएका यी धर्मग्रन्थहरूले मलाई वेदान्ताचार्यको नाताले गुरु, स्वामी र देवताको स्थानमा उचाले, मलाई सम्मान दिलाए, मलाई धनसम्पत्तिले भरिपूर्ण पारे, तर मलाई चाहिएको मुक्तिको मार्ग देखाइदिन सकेनन्। मभित्रको मानिसले मलाई बारम्बार भनिरहन्थ्यो: 'झूटो आश्वासन दिएर यसरी मानिसहरूलाई झुक्याउनु पाप हो। ऋषि-महर्षिहरू, साधु- सन्तहरूजस्ता महापुरुषहरूको पनि लक्ष्यरहित जीवन व्यतित गरेर आशाहीन अन्त्य हुन्छ भने मेरो र मेरा अनुयायीहरूको अन्त्य के हुन्छ होला?' यसरी म भित्रभित्रै भयातुर रहने गर्दथिएँ। जब म आफ्नो मन्दिरमा एकलो हुन्थें, तब श्री शंकराचार्यजीसँग भएको वार्ताले मलाई निरन्तर व्याकुल बनाइरहन्थ्यो। एक रात मलाई निद्रा लागेन; म ओछ्यानमा पल्टिरहेको बेलामा सोचिरहँदा मलाई पुराणहरूका केही श्लोकहरूको स्मरण भयो, जुन श्लोकहरू यस प्रकारका छन्ः
न योगेन न सांख्येन कर्मणा नो न विद्यया। ब्रह्मात्मैकत्व बोधेन मोक्षः सिध्यते नान्यथा।। विवेक चुडामणि ५:६
यस श्लोकको भावार्थ यस प्रकारको छः
ब्रह्मत्वको चिन्तनद्वारा, योगतत्त्वद्वारा, कर्म तथा विद्यालाभद्वारा मोक्ष/मुक्ति प्राप्त गर्न सम्भव छैन, तर परम ईश्वर र जीवात्मारूपी मनुष्यको बीचमा हुने एकत्वको ज्ञान भएपछि मात्र प्राप्त गर्न सकिन्छ, अन्य उपाय
छैन।
यहाँ, यसो लेखिएको छ भने, परमात्मा र जीवात्मारूपी मानिसको बीचमा सम्भाव हुने एकत्वको ज्ञान पाउन म कहाँ जाऊँ? कसले यो ज्ञान प्रदान गर्छ?
अर्को ग्रन्थमा पनि यसरी उल्लेख छः
तर्कोऽ प्रतिष्ठा श्रुतयो विभिन्ना-
नैको ऋषिर्यश्य मतं प्रमाणं।
धर्मस्य तत्वं निहीतं गुहायां-
महाजनो येन गतः स पन्थ्या।।
महाभारत वनपर्व ३१३:११७
यस श्लोकको अर्थ यस प्रकारको छः
तर्कहरू अस्थिर छन्, श्रुतिग्रन्थहरू अनेकौं हुन्छन्। अनि यस्तो एउटै पनि ऋषि पाइँदैन, जसका मतहरू अथवा शिक्षाहरू प्रमाणित ठानेर स्वीकार गर्न सकिन्छ। धर्महरूका असल तत्त्वहरू ता पहाड़ी गुफा- हरूभित्र लुकेर रहेका छन्; अनि महापुरुषहरूले जे भेट्टाए, त्यसलाई मुक्ति-मार्ग भन्न पुगेको छ, तर वास्तवमा तिनीहरूले मुक्ति-मार्ग प्रकाशमा ल्याउन सकेनन्।
महाभारतमा राजा दुर्योधनले आत्तिएर यसरी विलौना गरेका थिएः
जानामि धर्म न च मे प्रवृत्ति-
जानाम्य अधर्म न च मे निवृत्ति।
केनापि देवेन हृदिस्थितेन-
यथा नियुक्तोऽस्मि तथा करोमी।।
यसको भावार्थ यस्तो छः
पाण्डव गीता धर्म म जान्दछु, तथापि त्यसमा मेरो सम्बन्ध छैन;
अधर्म पनि म जान्दछु, तर त्यसबाट मलाई छुटकारा छैन।
कसरी हो, म बुझ्नै सक्दिनँ,
बाध्य भएर म जे गर्न चाहन्छु, त्यो गर्नै सक्दिनँ, तर जे म गर्न चाहन्न, त्यही म गरिरहेकै हुन्छु। मेरा निम्ति अघिबाटै तयार भएर रहेजस्तो।
यी श्लोकहरूको अर्थ निकाल्ने प्रयास गर्दा सारांश यसरी निस्कन्छः धर्मकर्मको आड़ लिएर र विद्याबुद्धिमा भरोसा गरेर मानसिक व्यायामद्वारा मुक्ति पाउने प्रयासचाहिँ हावालाई समात्न खोजेको कोशिश मात्र हो।
जब शास्त्रहरूले ठोकुवा गर्छन्, कि कुनै पनि ऋषि-महर्षि वा साधु- महात्माका मत र सिद्धान्तहरू मुक्ति-मार्ग होइनन् भने हामी मानिस जातिले यी हामीजस्तै मानिसहरूमाथि भर परेर मुक्तिको मार्ग खोज्न किन चाहेको होला? के आफूले आफूलाई अल्मल्याएर राख्नु ठीक हो? पाठक महाशय, आउनुहोस्, समय छँदै हामी आफ्नो सृष्टिकर्ता परमेश्वरलाई चिनिहालौं, र उहाँको आराधना गर्न पनि आरम्भ गरिहालौं! स्मरण रहोस्: हाम्रा सृष्टिकर्ता परमेश्वरले हामीलाई पूरापूर चिन्नुहुन्छ, तर हामीले पो उहाँलाई चिन्न र उहाँकहाँ फर्कन मन गरेनौं कि के हो? यस्तै देखिन्छ। पुनः अर्को ठाउँमा पनि यस्तो विडम्बना पाइन्छः
वदन्तु शास्त्राणि यजन्तु देवान्
कुर्वन्तु कार्मणि भजन्तु देवताः।
आत्मैक्यबोधेन विना विमक्ति-र्न सिध्ययि ब्रह्मशनान्तरेऽपि।।
विवेक चूड़ामणि १:६
यसको अर्थ यस प्रकारको छः
मानिसहरू धेरै शास्त्रहरू पढे पनि, देवतालाई यज्ञहरू अर्पण गरे, धेरै असल कर्महरू गरे, भजन-कीर्तन प्रशस्त गरे ता पनि चतुर्मुखी ब्रह्माजीको शतान्तर दिनहरूमा पनि मुक्ति मिल्नेछैन, अँ, जबसम्म परमात्मासित एकत्वको ज्ञान हुँदैन, तबसम्म मुक्ति मिल्नेछैन। (ब्रह्म शतान्तर भनेको त्यस कालमानको नाम हो, जुन नापअनुसार चतुर्मुखी ब्रह्माजीको एक दिनचाहिँ हामी मानिसहरूका निम्ति आयुगणना ४३,२०,००,००० अर्थात् त्रिचालीस करोड़ बीस लाख वर्ष हुन्छ।)
त्यसो भए के मैले महाराज शंकराचार्यजीसँग मोक्षको आशा राख्नु कति उचित थियो त? अहँ, यो मेरो पराश्रयवादी आत्मिक रोग मात्र थियो। तर उहाँले मलाई जे उत्तर दिनुभयो, त्यो उत्तर छलरहित विद्वान् पुरुषले दिने उत्तर थियो। उहाँप्रति म कृतज्ञा छु; किनकि यस उत्तरबाट मैले नचिनेको, तर मलाई मेरी आमाको कोखदेखि नै चिन्नुहुने र निरन्तर मेरो माया र वास्ता गरिरहनुहुने परमेश्वरतिर आकर्षित हुने मलाई प्रेरणा मिल्यो। मेरा पुर्खाहरूले खोजेको मोक्ष अर्थात् मुक्तिचाहिँ मलाई उहाँको एकमात्र पुत्र प्रभु येशूको नाममा उहाँको अवतरण बलिदान र मृत्युञ्जयको दिव्य शक्तिद्वारा अनुग्रहको वरदानको रूपमा सित्तैंमा प्रदान गरियो। यसरी नै एक असल धर्मगुरुले सठीक उत्तरले गर्दा मलाई मुक्तिदाताको खोजी गर्ने प्रेरणा मिल्यो।
मानिसहरूले भन्छन्ः ‘पण्डितजीले धर्म परिवर्तन गर्नुभयो!!' यो तिनीहरूको विचार हो; तर वास्तवमा मेरो स्वभाव परिवर्तन भयो। मेरो जीवनको लक्षित विषय नै परिवर्तन भयो। मभित्र आएको परिवर्तन पनि निस्केर मानिसहरूमा पनि प्रष्ट भयो, र मानिसहरूले यसरी भन्न थालेः 'पण्डितज्यू पविर्तन हुनुभयो; किनकि उहाँले धर्म परिवर्तन गर्नुभयो।' मभित्रको मनुष्यत्व परिवर्तन गरेर परमेश्वरले मलाई आफ्नो उपासक तुल्याउनुभयो। उहाँ जसले मलाई परिवर्तन गर्नुभयो, उहाँ त मेरा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मेरा स्वामी र विधाता हुनुहुन्छ। उहाँले मलाई आफ्नै दिव्य इच्छाअनुसार पुनः स्थापित गर्नुभयो। उहाँ मेरा असल गुरु हुनुहुन्छ, अनि म उहाँको शिष्य भएको छु। मेरा परमेश्वर पिताले आफ्नो एकमात्र पुत्र येशूको पवित्र, निर्दोष रगतले मलाई धोएर, चोख्याएर मेरो शुद्धीकरण गर्नुभयो। अब म सत्य परमेश्वरको साँचो आराधक भएको छु।
म परिवर्तन भएँ र एक नयाँ मानिस बनें; मभित्र एउटा नयाँ स्वभावले राज गर्न थाल्यो। मेरो जीवन - प्रवृत्ति, मेरो आचारण र मेरो क्रियापलाप एक-एक गर्दै परिवर्तन भयो। मजस्तो धूर्त, लुब्ध पुरोहित परिवर्तन भयो। सर्वसाधारण समाजको भलाइ भयो। यस्तो दिव्य शक्ति परमेश्वरको पुत्र प्रभु येशूमा रहेछ। यसकारण मलाई के लाग्छ भने, मजस्ता सबै पण्डितहरू, गुरु-पुरोहितहरू, साधु-सन्तहरू यसरी परिवर्तन हुन सके हाम्रो देश नयाँ, स्वच्छ तीर्थभूमिमा परिणत हुनेथियो।
बोल्न, सोच्न र आफूलाई लागेको कुरा व्यक्त गर्न सबैको अधिकार हो। मानिसहरूले जे भन्छन्, त्यो तिनीहरूको अधिकार हो। तर मेरो परिवर्तन कसरी भयो, सो मलाई थाहा छ। प्रभु येशूले मेरो हृदयमा जे कार्य गर्नुभयो, त्यो अवर्णनीय छ।
मेरो पृष्ठभूमि हेर्दा मैले आफूलाई प्रायः तीन सय वर्ष पुरानो श्री वैष्णव परिषद्को गुरुकुलभित्र, लक्ष्मीनारायनको मिन्दिरमा पाएँ। मेरो जन्म यसै मन्दिरमा भएको हो। यस मन्दिरको संस्थापक मेरा पिताजी हुनुहुन्थ्यो। यो मन्दिर र यहाँ भएको सबै थोक मेरो थियो। वैष्णव परिसद् र गुरुकुलको शिक्षादीक्षा र सम्प्रदायको पर्खाल मेरो अड़ेस र आश्रय थियो। सम्प्रदायको सीमा भङ्ग गर्न महापाप हुन्थ्यो। वैष्णव सम्प्रदाय मात्र सर्वश्रेष्ठ सम्प्रदाय हो; अन्य सबै समाजहरू तमगुणी, मांस-मदिरा भक्षी, राक्षसी प्रवृत्तिका हुन् भनेर मैले जानेको थिएँ। छुवाछूत तथा वर्णभेद अर्थात् कालो-गोरो, उच्च-नीच जातिको साँघुरो विचार मैले आफ्नो पुर्खौली धर्म सम्झेर मानेको थिएँ। आफ्ना गुरुको मनपर्दो शिष्य ठहरिन, आफ्नो सम्प्रदायमा पारङ्गत ठहरिन सके पुग्यो। मसँग यस्तो सङ्कीर्ण विचार थियो। देवताहरू, मठ-मन्दिरहरू, धर्मग्रन्थहरू, ऋषि-महर्षिहरूभन्दा पनि माथि हाम्रै गुरु हुन्। गुरुभन्दा माथि अरू कोही पनि छैन। गुरु मात्र सर्वेसर्वा हुन् भन्ने शिक्षा मेरो कलिलो उमेरदेखि नै मैले सिकेको थिएँ।
वेद-पुराणहरू, ठूला-साना सबै उपनिषदहरू र विद्वान् पुरुषहरूले लेखेका साना-ठूला ज्ञानवर्द्धक पुस्तकहरूको अध्ययन गरेर मैले आफ्नो शरीरका सम्पूर्ण इन्द्रियहरूमा र रक्तसञ्चार-प्रणालीमा प्रवाहित गरेको थिएँ। मैले चौध वर्षसम्म बनारस र हरिद्वारमा विद्यार्थी जीवन बिताएको थिएँ। वेदान्ताचार्यको उपाधि प्राप्त गर्न मैले हरिद्वार र नालन्दामा जम्मा गरेर सोह्र वर्ष पढ़ेको थिएँ। मेरो बोली, मेरो स्वभाव, मेरो दृष्टि, मेरो आचरणचाहिँ वैष्णव सम्प्रदायअन्तर्गत पर्ने गुरुकुलबाट उत्पन्न भएको थियो। भागवत गीताले यसो भन्छः 'परधर्म भयावहः' अर्थात् अरूको धर्म भयत्रासले भरिएको हुन्छ।
मैले जानेका र बुझेका कुराहरू यस प्रकारका छन्ः हिन्दू धर्म अन्तर्गत पर्ने सबै सम्प्रदायहरूमा सर्वश्रेष्ठ सम्प्रदायचाहिँ वैष्णव सम्प्रदाय नै हो। अन्य सम्प्रदायका मानिसहरूले गरेका धर्मकार्यहरू वैष्णव- मार्गीहरूले स्पर्श गरिदिनाले मात्र सम्पन्न हुन्छ, नत्रता व्यर्थ हुनेछन् इत्यादि। यस्तो सिद्धान्तमा जन्मेर हुर्केको मजस्तो मानिसलाई मुक्तिदाता प्रभु येशूले सम्पूर्ण प्रकारले परिवर्तन गर्नुभयो। मेरो परिवर्तनको सम्बन्धमा मैले स्पष्टीकरण दिएर यसो भन्न सक्छुः मेरा प्रभु येशूले आफ्नो पवित्र, निर्दोष र मेरा सम्पूर्ण पापहरू नाश गर्न सक्ने रगतले मलाई चोख्याएर परिवर्तन गर्नुभयो। पुर्खोली रीतिथितिहरू र अनेकौं सम्प्रदायिक संस्काररूपी बन्धनहरूको साङ्लाले लौह रज्जुले जस्तो मलाई हल न चल पारेर राखेको थियो। तथापि संसारका उद्धारकर्ता प्रभु येशूले आफ्नो पवित्र रगतले मलाई धोएर शुद्ध, चोखो तुल्याउनुभयो।
मैले स्पष्ट बुझेका कुराहरू यस प्रकारका छन्ः मानिस अपरिपक्व छउन्जेल संसारका दैविक शक्तिहरूको दासत्वमनि रहन्छ, तर जब मानिस परिपक्वतामा आउँछ, तब ऊभित्र भएको अन्तर्दृष्टि खोलिन्छ र ऊ स्पष्ट देख्न थाल्छ।
प्राचीनकालमा हाम्रा पितापुर्खाहरूसँग परमेश्वर अगमवक्तारूपी सन्त, ऋषि- महर्षिहरूद्वारा धेरै पल्ट र विभिन्न किसिमले बोल्नुभयो, तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्र येशू ख्रीष्टद्वारा हामी मानिसहरूसँग बोल्नुहुन्छ। पुत्र येशूलाई नै उहाँले सम्पूर्ण सृष्टिको उत्तराधिकारीको रूपमा नियुक्त गर्नुभयो; उहाँद्वारा नै समस्त सृष्टिरूपी ब्रह्माण्डहरू रचिए। येशू नै परमेश्वरको महिमाको प्रतिबिम्ब र परमेश्वरको स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ। उहाँले सारा सृष्टि आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। उहाँले हाम्रा पापहरूको शुद्धि गर्नुभयो, त्यसपछि उहाँ महिमित परमेश्वरको दाहिने बाहुपट्टि उच्च स्थानमा विराजमान हुनुभयो।
पवित्र बाइबल, हिब्रको पुस्तक १:१-३ अनुसार परमेश्वरले प्रभु येशूलाई समयको पूर्णतामा अर्थात् तोकिएको समयमा यस पृथ्वीमा पठाउनुभयो। उहाँ एउटी शुद्ध कन्ये केटी, मरियम नाम भएकी चोखी युवतीको कोखबाट अलौकिक तवरले जन्मनुभयो। उहाँ व्यवस्थाको अधीनतामा जन्मनुभयो अर्थात् उहाँले मानवीय नियमभित्र जन्म लिनुभयो। व्यवस्थाको अधीनतामा रहनेहरूलाई अर्थात् मानवीय नियम सर्वोपरि ठान्नेहरूलाई मोल तिरेर छुटाउने उद्देश्यले उहाँ पठाइनुभयो। हामी मानिसहरूले स्वर्गीय सन्तान भई पुरोहितको उपाधि प्राप्त गरून्। (पवित्र बाइबल गलातीको पत्र ४:४-५ अनुसार)
यसरी धर्म-नियमको कर्मबन्धनभित्र जन्मेको मानिस अर्थात् मलाई सबै बन्धनहरूबाट मुक्ति दिन परमेश्वरको पुत्र येशू आफ्नो निस्खोट, पवित्र र अमूल्य रगतको मूल्य चुकाउन मेरो निम्ति कलभरीको क्रसमा पीड़ित भई बलिदान हुनुभयो। उहाँले दिनुभएको बलिदानले मजस्ता मानिसहरूको उद्धार भयो, तिनीहरूको कल्याण भयो। सहस्रौं - सहस्रौं धन्यवाद चढ़ाउँछु मेरा मुक्तिदाता प्रभु येशूलाई। यो वचन हर प्रकारले ग्रहणयोग्य छ, कि पापीहरूको उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो, तीमध्ये मुख्य मै हुँ। पवित्र बाइबल, १ तिमोथी १:१५a
‘पण्डितज्यू, के हिन्दू धर्ममा तपाईंले मुक्ति पाउनुभएन?' प्रचारप्रसारको बेलामा कसै-कसैले मलाई यसरी प्रश्न गर्छन्। उनीहरूको निम्ति मेरो उत्तर यस प्रकारको छः यो प्रश्न सोध्नुभएकोमा हजुरलाई धन्यवाद ! हिन्दू धर्ममा मात्र होइन, तर अरू सबै धर्मग्रन्थहरूमा मुक्तिका कुराहरू उल्लेख गरिएका छन्; किनभने सबै धर्मका मानिसहरूलाई मुक्तिको खाँचो छ। संसारका साना-ठूला सबै ग्रन्थहरूमा मुक्ति- मार्गसम्बन्धी दाबी गरिएकै छ। तर तपस्वी - योगीहरू र तत्त्वदर्शीहरूको बुझाइ एउटै हुँदैन। मतहरू अनेकौं छन्, जसका आ-आफ्नै सिद्धान्तहरू हुन्छन्। अनि ग्रन्थ लेखकहरूले मुक्ति-मार्ग भेट्टाएर मोक्ष यसरी पाइन्छ भनेर पङ्क्तिबद्ध उपाय बताएका छैनन्। जसले मुक्तिको मार्ग रचना गरे, जसले कर्म-व्यवस्थाको चक्र सृजना गरे, उनीहरू आफैले त्यस महाजालको भुँवरीबाट उम्कन सकेकै छैनन्। तब तपाईं-हामीजस्ता सर्वसाधरण भक्तजनहरू, जसले आफूलाई हिन्दू हुँ भन्न मात्र जान्दछौं, कसरी मुक्ति पाउन सक्छन् र?
परमेश्वरको एकमात्र पुत्र येशू ख्रीष्टलाई व्यक्तिगत प्रभु र स्वामी स्वीकार गरेपछि मैले साँच्चै मुक्ति पाएँ। मेरो जीवनको सत्य साक्षी यही हो। यस गवाहीको लेखक म स्वयम्ले, साथै अरू विद्वान् पण्डितहरूले धर्मशास्त्रहरू अध्ययन गर्दा, वेदहरूका भेदहरू खोतलेर निरीक्षण गर्दा भेट्टाएका प्रमाणित सान्दर्भिक खण्डहरू, पङ्क्तिहरू, ऋचुहरू र श्लोकहरू त अकाट्य छँदैछन्। त्यत्ति मात्र नभएर मुक्तिको स्वाद पाएका प्रभु येशूका चेलाहरू विश्वभरि व्यापक छन्; उनीहरूले कर्मचक्रको महाजालबाट छुटकारा पाएर वास्तविकतामा आफ्ना उद्धारकर्तालाई पुज्दछन् र स्वर्गीय सुख उपभोग गर्दछन्।
अनेकौं धर्मग्रन्थहरूमा मुक्ति मार्गको सम्बन्धमा प्रत्यक्ष रूपमा वा अप्रत्यक्ष रूपमा उल्लेख गरिएकै छ। तर दुःखको कुरा के हो भने, मुक्तिको मार्ग कसले भेट्टायो, कसले चिनाउन सक्यो ? 'मैले मुक्ति पाएँ, मुक्ति यो रहेछ' भनेर कसैले भन्न सकेन। किनभने प्रभु येशू मात्र मुक्तिको मार्ग हुनुहुन्छ। उहाँले मात्र यसरी भन्न सक्नुभयोः 'बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिता परमेश्वरकहाँ आउनै सक्दैन। पवित्र बाइबल, यूहन्नाको सुसमाचार १४:६
फेरि म भन्दछुः वैदिक दर्शन मैले आफ्नो श्वास-प्रश्वासको प्रणाली तुल्याएको थिएँ। मेरो शरीरको रक्तसञ्चार नै वैदिक ग्रन्थहरू थिए। मसँग वैदिक ग्रन्थहरू प्रशस्त छन्। दही मथेर घिउ निकालेझैं मैले ती ग्रन्थहरूभित्र भएका रसिला - मीठा तत्त्वहरू निकालेर प्रस्तुत गरेको र रसस्वादन गरेको छु। पवित्र बाइबल मेरो जीवन हो; यसलाई म नित्य भोजनको रूपमा लिने गर्छु। अन्य धर्मशास्त्रहरू मेरो ज्ञानका भण्डारहरू तीबाट गाईले घाँस छानेर खाएझैं म खाने गर्दछु।
मैले निम्न कुराहरूबाट मुक्ति पाएँ:
कर्म-विधानहरूका बन्धनहरूबाट मैले मुक्ति पाएँ।
पापको दासत्वबाट मैले छुटकारा पाएँ।
अशुद्ध रगतबाट मेरो परिमार्जन भयो।
दैविक सराप र जातीय सरापबाट मेरो विमुक्ति भयो।
मुक्ति एउटा शब्द मात्र नभएर मैले अनुभव गरेको वास्तविक कुरा हो। मैले पाएको प्रकाशअनुसार मुक्तिचाहिँ मानिसले मृत्युभन्दा अघि यस जीवनमा प्राप्त गर्न सक्ने ईश्वरीय वरदान हो। संसारमा हामी मानव जातिका निम्ति परमेश्वरले आफ्नो स्वार्थरहित प्रेम आफ्ना एकमात्र पुत्रमा प्रमाणित गर्नुभयो। उहाँले आफ्नो पुत्रलाई संसारको उद्धारकर्ताको रूपमा दिनुभयो। प्रभु येशू ख्रीष्टमाथि, उहाँको बलिदानमा र उहाँको पुनरुत्थानमा विश्वास गर्नेहरू सबैले मुक्ति पाउँदछन्।
'हाम्रा निम्ति सराप बनेर प्रभु येशूले हामीलाई धर्म-नियमको सरापबाट मोल तिरेर छुटाउनुभयो; किनभने काठमा झुन्डिने हरेक श्रापित हुन्छ' भन्ने कुरा लेखिएको छ। पवित्र बाइबल, गलातीको पत्र ३:१३
मानिसहरू यसरी नै पुर्खोली पापको स्वभावबाट, दैविक सरापबाट र पृथ्वीमा उत्पन्न भएको सती सरापबाट मुक्ति पाउन सक्दा रहेछन्। जसरी मैले मुक्त हुन पाएँ, त्यसरी नै तपाईंहरूले पनि मुक्ति पाउनुहनेछ। तपाईं र मेरो जीवनमा यो सम्पूर्ण महान् मुक्तिको काम गरिदिनुहुने प्रभु येशू स्वयम् हुनुहुन्छ।
मेरो हृदयमा मुक्तिको खोजी गर्न प्रबल इच्छा वैदिक धर्मशास्त्रले उत्पन्न गरयो। तर मुक्तिको सत्य मार्ग प्रभु येशू हुनुहुन्छ। उहाँको चरणमा शरण पर्दा मैले मुक्ति पाएँ।
‘किनभने धर्म-नियमले कुनै कुरा सिद्ध तुल्याउँदैन, तर त्यसको बदलीमा भित्र ल्याएको उत्तम आशाले तुल्याउँदछ, जुन आशा मार्फत हामी परमेश्वरको नजिक पुग्छौं; प्रभु येशूमार्फत परमेश्वरको नजिक आउनेहरू जो-जो हुन्, उनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सक्षम हुनुहुन्छ; किनभने उनीहरूका निम्ति अन्तर्विन्ती गर्न उहाँ सधैँ जीवित रहनुहुन्छ।' पवित्र बाइबल, हिब्रको पुस्तक ७:१७ र २५ पद
'उहाँले मलाई सत्यानाशको खाडल र दलदले हिलोबाट तानेर निकाल्नुभयो; उहाँले मेरा खुट्टाहरू चट्टानमाथि बसालेर मेरा पहिलाहरू सुदृढ़ पार्नुभयो।' भजन ४०:३
उद्धारकर्ता येशू मेरो व्यक्तिगत प्रभु हुनुभएको अनुभव मैले गरें; त्यसपछि मैले आफ्नो जीवन उहाँको चरणमा अर्पण गरें। यसरी नै सत्यतालाई अँगाल्दा मेरो जीवनमा मैले भोग्नुपरेका शारीरिक र मानसिक दु:ख-सतावटहरू धेरै भए। सर्वप्रथम मेरी आमाबाट सतावट शुरु भयो। त्यसपछि मेरा आफन्तहरूले मेरो अन्त्येष्टि क्रिया गरे र मलाई धर्म, सम्प्रदाय र समाजबाट बहिष्कार गरे। मेरी आमाले भन्नभयोः 'जन्मनुभन्दा पहिल्यै तँ तुहेर मरेको भए झन्झट मेटिनेथियो।' समाजले भन्योः ‘गोराहरूले मान्ने, गोरुको मासु खाने धर्ममा पसेर पो मरेछ है, पण्डित त!' धर्मगुरुहरूले भनेः 'हाम्रो धर्म-सम्प्रदाय र राजधर्मको मानहानि र वेद; पुराणहरूको तिरस्कार भयो।' यसरी समाजले मलाई घृणा गरेर भन्योः 'वेदहरू, ऋषि- महर्षिहरू, साधु-महात्माहरू, कुल-पितृहरूलाई र हाम्रो जात र संस्कारलाई अस्वीकार गर्नुभयो, तपाईंले; पण्डितजी, यसको नतिजा राम्रो हुनेछैन।'
समाजले मलाई घृणा गर्यो, आमाको मन दुःख्यो, मित्रहरू सबै बैरी भए, सम्प्रदायका सबै धर्मगुरुहरू आक्रामक भए। मेरो आश्रयमा आएका चेलाहरू सबै भयभीत भए। मुक्तिदाता प्रभु येशूलाई मेरो व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा अपनाउँदा यहाँसम्म भयो। तर मैले चाहिँ सत्य के रहेछ, सो जान्न पाएँ, र प्रभु येशूरूपी सत्यताले मलाई स्वतन्त्र तुल्याउनुभयो।
मेरा मान्यजनहरू, साथै मेरा प्रिय मित्रहरू मेरो विरुद्धमा खड़ा भए। तिनीहरूले 'अब यो काँड़ा निकालेर फ्याँक्नुपर्छ' भने। त्यस बेला नेपालको कानुन - प्रशासन पञ्चायती राज अर्थात् राजतन्त्रले ख्रीष्ट येशूको मतमा जाने नेपाली नागरिकहरू धेरैलाई अत्याचार गरेर बेघर र पराश्रय तुल्यायो अनि तिनीहरूलाई आफ्ना ज्यान जोगाउनलाई विदेशमा आश्रय लिन विवश पारयो। त्यस क्रूर राजतन्त्रले मलाई पनि आफ्नो ज्यान बचाउन ख्रीष्टीय समाज खोज्दै नागाल्याण्ड पुग्ने बाध्य तुल्यायो।
जब म आफ्नो मन्दिरबाट निस्कें, तब यस मन्दिरमा भएको सबै धनराशि मैले मन्दिर-समितिलाई जिम्मा लाएँ, र सरकारलाई अब मन्दिर समितिको हातमा हस्तान्तरण भएको प्रष्ट जानकारी दिएँ। त्यसपछि म त्यहाँबाट एक सरो वस्त्रमा निस्कें। नेपालबाट नागाल्याण्ड जाँदा यात्रामा लाग्ने भाड़ा मेरी ठूली फुपूले मलाई दिनुभयो। गुठीको जमिन बयालीस ऐकड़ थियो भने मन्दिरको क्षेत्र मात्र नेपालको नापअनुसार तीन बीघा थियो। यहाँ फूलको बगैंचा र आँप, लिच्ची र अरू फलका प्रशस्त रूखहरू थिए। स्वर्णधातुका मूर्तिहरू साना-ठूला गरेर साढ़े सात किलोग्रामको थियो, जुन स्वर्णधातु नित्य पूजा गर्ने हेतुले विष्णु-लक्ष्मीको रूपमा राखिन्थ्यो। अन्य समानहरूको कुरा गर्ने हो भने तामा, पित्तल र चाँदीका ठूला-साना मूर्तिहरू प्रशस्तै थिए। त्यस्तै गरी तामा, पित्तलका ठूला-साना भाँड़ाहरू त गोदामभरि नै थियो। दैनिक मन्दिरको आयस्रोत दस हजारदेखि पन्ध्र हजार हुन्थ्यो भने चाड़- पर्वको बेलामा भएको आयव्ययको हिसाबकिताब राख्न हम्मे-हम्मे पर्थ्यो। येशू ख्रीष्टमा पाइने अवर्णीय अनुग्रहको अगाड़ि यो सबै सम्पत्ति मेरो निम्ति सूर्यको प्रकाशमा दीयो-बत्तीजस्तो देखिन्थ्यो, र अझ त्यस्तै देखिन्छ। यस संसारको सम्पत्तिले मलाई सुख र ऐश्वर्य दिन्थ्यो भने मुक्ति, अनुग्रह र शान्ति परमेश्वरको प्रेमले मलाई सित्तैंमा दियो। संसारको समृद्धि र धनसम्पत्तिले मलाई प्रभु येशू ख्रीष्टको अनुग्रहबाट चुड़ाएर अलग गर्ने प्रयास नगरेको त होइन, तर उहाँको अनुग्रह र प्रेम संसारको सबै वैभवभन्दा उच्च र सर्वश्रेष्ठ छन्। अनि यस दिव्य वरदानस्वरूप मलाई मुक्तिदान मिलेको छ। म अब जिउँछु येशूको निम्ति, र मर्छु भने म स्वर्गमा उहाँको महिमित राज्यमा जानेछु। अब बाँचुन्जेल म उहाँकै सेवा गर्दछु।
यसरी नै वैदिक दर्शनले मेरो अन्तस्करणरूपी भूमिलाई मलिलो तुल्यायो। यस आर्त, पीड़ित हृदयमा ब्रह्मवचनरूपी प्रभु येशू स्वर्गबाट अविनाशी बिउ भएर ओर्लनुभयो र मेरो अन्तरात्मामा तृप्ति र शान्तिको मूल भएर रहनुभयो। उहाँ मजस्ता सबै तृषित हृदयहरूमा अविरल बगिरहने जीवनको पानीको मूल भएर रहन चाहनुहुन्छ।
प्रिय पाठक, तपाईंको निम्ति यहाँ एउटा अमूल्य मुक्तिदानको उपहार छ। प्रभु येशूले तपाईंलाई भन्नुहुन्छः 'हे सबै थाकेका र बोझले दबिएकाहरूहो, मकहाँ आओ! म तिमीहरूलाई विश्राम दिनेछु।'
पवित्र बाइबल, मत्तीको सुसमाचार १२:२८
यसकारण परमेश्वरको दृष्टिमा ख्रीष्ट येशूको सुसमाचारअनुसार आज्ञाकारी जीवन व्यतित गर्ने हरेक मानिसको निम्ति परमधामबाट आशिषको वर्षा हुने नै भयो।
शान्ति! शान्ति!! शान्ति!!!
वेदान्ताचार्य माधव अपाध्याय
यस सम्बन्धमा तपाईंलाई अझ बुझ्ने इच्छा भएदेखि तपाईंले तल दिइएको ठेगानामा अथवा वेबसाइटमा वा ईमेल - आई.डी. मा हामीसँग सम्पर्क गर्नुहोला। धन्यवाद!
हामी तपाईंलाई पण्डित माधव उपाध्यायले लेखेको 'धार्मिकताले राष्ट्रलाई उचाल्छ' नामक पुस्तक सित्तैंमा पठाउनेछौं।