Happy New Year !

Happy New Year!.png

आज जब तपाईंले यी पन्नाहरू पढ्दै हुनुहुन्छ, तब तपाईं कि त नयाँ वर्षको मुखमा उभिनुभएको छ, कि त तपाईंले नयाँ वर्षमा एक-दुई पाइला टेकेर बर्खरै मात्र त्यसभित्र प्रवेश गर्नुभएको छ। एउटा नयाँ वर्षभित्र प्रवेश गर्दा सबै मानिसहरूले 'ह्याप्पी न्यू यीर!', 'ह्याप्पी न्यू यीर!' भन्दै एक-अर्कालाई शुभकामना चढ़ाइरहने चलन छ। हामी यहाँ, यस ठाउँमा पनि यो मौका छोपेर तपाईंलाई नयाँ वर्षको हार्दिक शुभकामना टक्राउँदछौं। 

नयाँ वर्ष हाम्रा निम्ति केकस्तो हुने हो, सो हामीमध्ये कसैलाई थाहा छैन; ता पनि नयाँ सालमा आफ्नै निम्ति र एक-अर्काका निम्ति हामी सदैव सुस्वास्थ्य, सफलता र समृद्धिको अपेक्षा गर्दछौं। यत्तिखेरै हामीमध्ये कतिजनाले बितेको वर्षमाथि आफ्नो नजर लगाउँदै आफ्नो निक्कै 'बिग्रेको' जीवन नियाल्ने गर्दछन्, र अबदेखि उसो आफ्नो व्यवहारमा केही सुधार ल्याउने चेष्टा गर्दछन्, अनि यति बेला अधिक रक्सी धोक्ने र चुरोट पिउने जस्तै नराम्रो बानीबेहोरा वा अरू कुनै कुलत तत्कालै छोड़ेर आफ्नो जीवनमा नयाँ, असल आदतहरू स्थापित गर्न माग्दछन्। यस्ताहरूलाई हामी यहाँ याद दिलाउन चाहन्छौंः यसमा धीरज धार्नुहोस्! किनकि कुनै नयाँ आदत स्थापित गर्न तपाईंलाई विज्ञानको भनाइअनुसार कम्तीमा छ हप्ता लाग्नेछ। 

तर हामी आफ्नो जीवनमा कुनै न कुनै सुधार आएको देख्न चाहने हरेक मानिसलाई यो प्रश्न सोध्न चाहन्छौंः के कसैको पुरानो जीवनबाट केही नयाँ कुरा निस्कन सक्छ र? के कुनै बिग्रेको मानिसबाट केही असल कुरा निस्कन सक्छ? होइन, यस्तो कुरा हामीले कहीं पनि देखेका छैनौं। मानिसमा आफूलाई नयाँ तुल्याउने शक्ति नै छैन। आफ्नो कोशिशले न हामीले आफ्नो केशको रङ बदल्न सक्छौं, न आफ्नो कदमा एक हात थाप्न सक्छौं। 

‘के हब्सीले आफ्नो छालाको रङ बदली गर्न सक्छ? अथवा के चितुवाले आफ्ना थोप्लाथोप्लीहरू बदल्न सक्छ त? तब तिमीहरू जो खराबी गर्नुमा अभ्यस्त हुन्छौ, तिमीहरूले चाहिँ असल गर्न सक्नेछौ।’ यर्मिया १३:२३

इमानदार हुनु हो भने हामीले स्वीकार गरेर मान्नुपर्छः हामी प्रायः सबैजना खराब गर्नुमा अभ्यस्त भएका मानिसहरू हौं; दिनदिनै हामीले आफ्नो परिवार र आफ्नो समाजमा आ-आफ्ना आदतहरूअनुसार ती एकै किसिमका नराम्रा नराम्रा कामहरू र व्यवहारहरू देखाइरहेका हुन्छौं। तब मलाई भन्नहोस्, हामीबाट कुनचाहिँ नयाँ कुरा निस्कन सक्छ त? यो त हब्सीको छालाको रङ फेरेको जत्तिकै हो। हामीमा नयाँ कुरा आउनु - यो ता हाम्रो स्वभावको विपरीत जानु हो; किनकि हामी स्वभावैले पापी मानिस हौं। यो नमीठो अनुभव चाहे छोटो, चाहे ढिलो, हामी सबैले कतै आफ्नो जीवनमा गर्नुपस्यो। यसैले नयाँ सालको शुरुमा ' आजदेखि म यो गर्छु,' 'अबदेखि म त्यो छोड्छु' भन्ने कबुल गर्ने जुनसुकै मानिसलाई थोरै समयभित्र के थाहा लाग्नेछ भने, यस प्रकारको प्रतिज्ञा गर्दा मानिस जत्तिकै इमानदार भए पनि अहिलेसम्म कसैले पनि आफ्नो प्रतिज्ञा पूरा गर्न सकेको छैन। अहँ, तर कुनै मानिस नयाँ हुनु हो भने ऊ 'ख्रीष्टमा' हुनुपर्छ। ख्रीष्टमा भएको हेरक व्यक्तिचाहिँ एउटा नयाँ सृष्टि हुनेछ; उसको जीवनका पुराना कुराहरू बितिजान्छन्। 'ख्रीष्टमा' मात्र सबै कुराहरू नयाँ हुनेछन् (२ कोरिन्थी ५:१७ )। 

यसैकारण हामी यहाँ तपाईंलाई अर्को प्रश्न गर्छौंः हामीमध्ये कसले आफ्नो जीवनका पुराना कुराहरूसित व्यवहार गरेको छ? किनकि परमेश्वरको वचनबाट कुरा स्पष्ट हुन्छः आफ्नो जीवनका पुराना कुराहरूसित व्यवहार गर्ने मानिसको जीवन मात्र नयाँ हुन सक्छ। पुरानो जीवनसित व्यवहार गर्नुको अर्थ के हो? हामी आफूले गरेका पाप र अधर्महरू मानिलिनुपर्छ। जसले आफ्ना अधर्महरू परमेश्वरको सामु लुकाउँदछ, त्यस मानिसको सफलता कहिल्यै कुनै हालतमा पनि हुनै सक्दैन। यो एक आत्मिक नियम हो, जो हामीलाई यस नयाँ सालको शुरुमै जान्न खाँचो छ, नत्रता हामी आफ्नो जीवनमा केही सुधार ल्याउने हाम्रो प्रयासमा फेल खान्छौं - खान्छौं। जसरी प्राकृतिक नियमहरू जान्ने मानिसले सजिलैसित आकाशमा उड्न सक्छ, ठीक त्यसरी नै हामीले केही आधारभूत आत्मिक नियमहरू जान्यौं भने हाम्रो जीवन नयाँ हुँदै जान्छ; तब निश्चय नै असल ढङ्गले हाम्रो जीवनमा सुन्दर सुधाररूपी परिवर्तन आउँछ। हामी कुनै नराम्रो आदतको बन्धनमा रहनेछैनौं। 

प्रभु येशूको नाममा स्वर्गका परमेश्वर तपाईंका सबै अधर्म र पापहरू क्षमा गर्न तयार हुनुहुन्छ। यसकारण आजै यस सालको शुरुमै आफ्नो जीवनको सम्बन्धमा एउटा नयाँ मोड़ अपनाउनुहोस्, र आफ्ना सृष्टिकर्ता परमेश्वरसित मेलमिलाप राख्नुहोस्! किनभने हाम्रो जीवनको आनन्द र साँचो सफलता उहाँबाट आउँछ; अनि हाम्रो स्वास्थ्य उहाँको वरदान हो। उहाँको इच्छाअनुसार उहाँको अधीनतामा जिउने मानिस अवश्य सुखी हुन्छ। के यस संसारमा पाप र मृत्युभन्दा ठूलो शक्ति छैन? 

के हामीलाई सधैंभरि तल, झन् तल गिराइदिने अनि हामीलाई विभिन्न पापहरू र खराब बानीहरूभित्र डुबाइराख्ने शक्तिको विरोधमा कुनै नियम, कुनै धर्म छैन? के तपाईंलाई यस्तो लाग्दैछ? तब तपाईंले मरेको अवस्थाबाट बौरिउठ्नुहुने प्रभु येशूलाई विचार गर्नुपर्छ! मानिसको जीवन जति बिग्रेको किन नहोस्, उहाँको शक्तिमा त्यो नयाँ हुन्छ। मेरो अनुभव यही हो। के आजको दिनसम्म तपाईंको जीवनमा तपाईंले नयाँ हुने कुनै अनुभव गर्नुभएको छैन? तब अहिले नै आफ्नो जीवन प्रभु येशूको हातमा सुम्पनुहोस्! उहाँ जीवन परिवर्तन गर्नुमा पूरा सक्षम हुनुहुन्छ भन्ने कुरामा सम्पूर्ण हृदयभरि विश्वास लिएर उहाँको नाम पुकार गर्नुहोस्, र उहाँबाट एउटा नयाँ जीवन सित्तैंमा ग्रहण गर्नुहोस्! यो तपाईंलाई एउटा सानोभन्दा सानो शुरुआत लाग्न सक्छ, तर येशूको बाटोमा अघि बढ्ने र उहाँबाट यस सम्बन्धमा अरू आत्मिक नियमहरू सिक्ने मानिस पक्का पनि नयाँ हुँदै जाने नै छ। यसैले हामी तपाईंलाई उत्साह दिएर भन्न चाहन्छौं : तपाईंको जीवनका सबै कुराहरू नयाँ नभएसम्म येशू प्रभुसितको विश्वासको सम्बन्धमा बढ्दै जानुहोला। 

तर हामीमध्ये अरू मानिसहरू पनि छन्, जसले यस्तो समयमा गम्भीर हुन मान्दैनन्, तर नयाँ वर्षको उपलक्ष्यमा चाहिँ मोजमज्जा र मनोरञ्जन गर्ने अर्को एक सुन्दर मौका देख्छन्, र पिकनिकको नाममा बनभतेर, पार्टी र प्रीतिभोजजस्तै रमाइला - रमाइला रमरमिताहरू आयोजन गरेर नयाँ वर्षको शुरुमा केवल नाच्न, पिउन, रमाउन र सकेसम्म आफ्ना सबै भोगविलासहरू पूरा गर्न खोज्दछन्। यस्ताहरूलाई हामी यहाँ अर्ती दिएर तिनीहरूको हितका निम्ति पवित्र शास्त्रबाट एक-दुई उपदेश राख्न चाहन्छौं, जस्तैः 

‘के तिमीले उहिलेदेखिको अर्थात् पृथ्वीमाथि मानिस बसालिएको समयदेखिको यो कुरा जान्दैनौ, कि दुष्ट मानिसहरूको रमाहट छोटो हुन्छ र भक्तिहीन मानिसहरूको आनन्द क्षणभरको हुन्छ?” अय्यूब २०:५ 

संसारको आनन्द अति छोटो, अँ, दुई दिनको मात्र हुँदो रहेछ; तर त्यस प्रकारको खुशीयालीले हाम्रा निम्ति हामीले अनन्त - अनन्तसम्म भोग्नुपर्ने पीड़ा कमाउन सक्दो रहेछ। यस प्रकारको भोगविलास र पापले पूर्ण हाँसो र हर्षउल्लासको अन्त्य अवश्य खिन्नता हुन्छ नै; यसका निम्ति हामीले तिर्नुपर्छ; यसका निम्ति हामी एक दिन धुरुधुरु रुनुपर्छ। यो कुरा तपाईंले याद राख्नुहोला; किनभने जुन कुराबाट हामीले रमाइलो गरेर आनन्दै आनन्द पाउने आशा गर्दछौं, त्यस कुराबाट हामीले साँचो आनन्द पाउँदै पाउँदैनौं। यसको विषयमा हाम्रो होश कहिले खोल्छ? कहिले हामी बुझ्छौंः पापबाट मज्जा उठाउने खोज्ने मानिस नरकको कहिल्यै ननिभ्ने आगोमा पर्न जानेछ। हुन सक्छ, आजको मोजमज्जाले परमेश्वरको अगाड़ि तपाईंको पापको नाप पूरा रूपले भरिदिन्छ, र यस भोगविलासले गर्दा तपाईं उहाँको न्यायमा पर्नुहुनेछ। कसले यो जान्दछ? यसकारण भक्तिहीन जीवनदेखि होशियार बसौं! समय छँदै एकमात्र सत्य, पवित्र र धर्मी परमेश्वरकहाँ फर्कनुहोस् र आजको दिनमा आफ्ना पापको सम्बन्धमा साँचो गरी पश्चात्ताप गर्न सिक्नुहोस्! किनभने यसो लेखिएको छः 

‘भोजको घरमा जानुभन्दा शोकको घरमा जानु उत्तम हो; किनभने सबै मानिसहरूको अन्त त्यही हो। अनि जीवित मानिसले यो कुरा आफ्नो मनमा राख्नेछ। हाँसोभन्दा शोक असल हो; किनकि चेहराको उदासीपनले हृदय असल बनिँदो रहेछ। यसैले बुद्धिमान् मानिसहरूको हृदय शोकको घरमा हुन्छ, तर मूर्ख मानिसहरूको हृदय हर्षउल्लासको घरमा हुन्छ। मानिसका निम्ति मूर्खहरूको गीत सुन्नुभन्दा बुद्धिमान् मानिसको हप्की सुन्नु असल हो; किनकि भाँड़ामनि काँडाहरू पड्केको आवाज जस्तै हुन्छ, मूर्ख मानिसको हाँसो पनि ठीक यस्तै हुन्छ, अँ, कति व्यर्थै हुन्छ!!' उपदेशक ७:२-६ 

परमेश्वरको यस वचनले हामीलाई के भन्दछ? के तपाईंले उहाँको आवाज सुन्दै हुनुहुन्छ परमेश्वरको पवित्र आत्माले तपाईंलाई के भन्दै हुनुहुन्छ? हाँसोभन्दा शोकचाहिँ असल हो; हाम्रो उदासीपनाबाट हाम्रो हृदय असल बन्छ रे। मूर्ख मानिसको गीत अझ कति सुनिबस्ने? त्यसमा लाभ छ र? बरु बुद्धिमान् मानिसको हप्की सुनौं! योचाहिँ उत्तम हो। मूर्ख मानिसको हृदय हर्षउल्लासको घरमा हुन्छ; मूर्ख मानिसको हाँसो व्यर्थै हो!! यसैले बुझ्नुहोस्ः परमेश्वरको दृष्टिमा बुद्धिमान् हुने वा मूर्ख बन्ने सवाल छ, यहाँ। परमेश्वरको सामु आफ्ना पाप र अधर्महरूको विषयमा अफसोस मान्नु, दु:खी हुनु, शोकित भएर रुनु - हामी पापी मानिसहरूका निम्ति योजस्तै राम्रो अरू कुनै अभ्यास हुँदैन। तब यस नयाँ वर्षको शुरुमा हामी यसो गर्न किन नसिकौं! पापी मानिसहरूलाई हित गर्ने पहिलो दिव्य नियम हो: 'पश्चात्ताप गर!' अनि यसको साथसाथमा दोस्रो नियम पनि छः 'प्रभु येशूमाथि विश्वास गर, र आफ्ना पापबाट मुक्ति पाऊ!' 

आउनुहोस्, यस नयाँ वर्षको शुरुमा हामी अझ एउटा नयाँ कुरा सिकौं! प्रभु येशूले भन्नुभयोः ‘मानिसको जिन्दगीचाहिँ त्यससँग भएको प्रशस्त सम्पत्तिमाथि निर्भर रहँदैन।' 

यस सम्बन्धमा प्रभु येशूको चाखलाग्दो र ज्ञानबोधक दृष्टान्त यस प्रकारको छः 

'कुनै धनवान् मानिसको जमिनचाहिँ प्रशस्त प्रशस्त उब्जनी दिइरहन्थ्यो; तब त्यस मानिसले मनमनै विचार गरेर भन्योः “अहो, मसँग अन्न राख्ने ठावै छैन; अब म के गरूँ त?” अनि त्यसले भन्योः "म के गर्छु, सो जान्दछु; म यसो गर्नेछुः मेरा ढुकुटीहरू भत्काएर म यीभन्दा ठूला बनाउनेछु; तिनैमा मेरा सबै अन्न र अरू सबै मालहरू जम्मा गर्नेछु। त्यसपछि म मेरो प्राणलाई भन्नेछुः 'हे प्राण, हेर्! तँसँग धेरै वर्षका निम्ति पर्याप्त हुने थुप्रै धनसम्पत्ति रहेछ; यसैले आराम गर्! खा, पी र आनन्द गर्!” तर परमेश्वरले त्यसलाई भन्नभयोः “ए मूर्ख मानिस, आजको रातमै तेरो प्राण तँबाट फिर्ता लिइनेछ; तब ती थोकहरू, जो तैंले यसरी जोहो गरिरहेको थिस्, कसको हुने भए?" आफ्ना निम्ति धन थुपारिराख्ने, तर परमेश्वरप्रति धनी नहुने हरेक मानिसको हालत यस्तै हुनेछ।' 

परमेश्वरको वचनको यस प्रकाशमा नजर राखेर 'यस नयाँ सालमा तपाईंलाई प्रशस्त धनसम्पत्ति मिलोस्’, ‘तपाईंको उन्नति, समृद्धि र भरपूरी होस्' भन्ने सुभेच्छाको विषयमा के भयो? हाम्रो जीवनको सुख हामीसँग भएको हाम्रो सम्पत्तिमाथि निर्भर हुँदैन, तर बिलकुलै परमेश्वरको निगाह र आशिषमा भर पर्छ। जुनै बेलामा पनि परमेश्वरले हाम्रो प्राण हामीबाट फिर्ता लिन सक्नुहुन्छ। यसो हो भने के हामी उहाँको डर नराख्ने? हाम्रो धनसम्पत्तिलाई के हुने भयो भन्ने प्रश्न मुख्य विषय होइन, तर हाम्रो आत्मालाई के हुनेछ, सो कुरा हाम्रो एकमात्र चिन्ताको कारण हुनुपर्छ। आफ्नो जीवनभरि धनमाथि धन थुपारिरहने, तर परमेश्वरको केही पनि वास्ता नराख्ने मानिस मर्ने बेलामा मूर्ख ठहरिनेछ; किनभने परमेश्वरले उसको न्याय गर्नुहुनेछ र उसलाई उसले गरेका कामहरूको प्रतिफल दिनुहुनेछ। यस नयाँ वर्षमा ‘जसोतसो गरेर धनवान् होऊँ' भन्ने कुरा तपाईंको लक्ष्य नबनाउनुहोस्! धनी हुने कुनै योजना नबनाउनुहोस्! किनभने परमेश्वरको राज्य धनी मानिसहरूका निम्ति होइन, अँ, आफूमाथि र आफ्नो बलमा भर पर्ने मानिसहरूका निम्ति पनि होइन। 

स्वर्गको राज्यचाहिँ यस संसारका गरिब मानिसहरूका निम्ति हो। परमेश्वरले यस्ताहरूलाई विश्वासमा धनी हुनका निम्ति छान्नुहुन्छ। अनि यदि उनीहरूचाहिँ उहाँको अनन्त राज्यका हकदारहरू हुनेछन् भने के हामी अझै पनि यस संसारको धन खोजिरहने र धनवान् हुने चाहना जारी राख्ने? कुरा यस्तो छः कि त अब चाँड़ै, निकट समयभित्र हाम्रो शरीरको मृत्यु हुनेछ, कि त यस संसारको अन्त हुनेछ; तब के हामी यस्तो हालतमा आफ्ना निम्ति अझ ठूला-ठूला कुराहरू खोजिहिँड़ौं त? मलाई भन्नुहोस्ः सारा संसारलाई प्राप्त गरेर तर यसो गर्दा आफ्नो अमूल्य आत्मा गुमाइपठाउने मानिसलाई के लाभ? त्यो मानिस धन्यको हो, जसको आत्मा गरिब छ; किनभने उसले समयमा परमेश्वरको राज्य प्राप्त गर्ने नै छ। 

तर नयाँ वर्षमा प्रवेश गर्दाखेरि हामीमध्ये कतिजनाको आर्थिक अवस्था राम्रो नहोला; तिनीहरूलाई हाम्रो सल्लाह के हो त? कुनै विषयमा सुर्ता नगर्नुहोस्! तर 'आफ्ना सारा फिक्री परमेश्वरमाथि राखिदिनुहोस्; किनकि उहाँले तपाईंहरूको फिक्री गर्नुहुन्छ' (१ पत्रुस ५:७ )। हामी तपाईंलाई फेरि भन्छौंः कुनै पनि कुराको विषयमा फिक्री नगर्नुहोस्, तर आफ्नो हरेक खाँचो परमेश्वरलाई पेस गरेर प्रार्थना र विन्तीको विषय बनाउनुहोस्! तपाईंको माग के हो? धन्यवादसाथ परमेश्वरलाई आफ्नो विन्ती चढ़ाउनुहोस्! तब परमेश्वरको शान्तिले तपाईंको हृदय हर फिक्रीचिन्तादेखि रक्षा गर्नेछ र उहाँले तपाईंको विचार सदोचित कुरामाथि लगाउनुमा तपाईंलाई साथ दिनुहुन्छ। 
प्रिय भाइबहिनीहो, यस नयाँ वर्षभरि नै तपाईंको आत्मिक उन्नति भएको होस्; अनि ठीक त्यस्तै अरू सबै कुराहरूमा तपाईंको समृद्धि र सुस्वास्थ्य भइरहोस्! 

एक बारको जुनी यो, लानु त के छ र, मरेर जाने हो; जीवन यहाँ यो अमर छैन नै, माटोमा मिल्ने हो। 
तर मृत्युपछि जीवन अर्को छ, विश्वासी सबैलाई; विश्वास गरौं न स्वर्गीय पितालाई। 
क्रसको निर्दयी मृत्युलाई सहनु प्रभु येशू नै आउनुभयो; उहाँले हाम्रा पापहरू उठाइलानुभयो। 
जस-जसले उहाँमाथि विश्वास गर्नेछन्, तिनीहरू नाश हुनेछैनन् नै; पाउनेछन् तिनीहरूले अनन्त जीवन। 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.