NBCI ले मलाई आत्मिक जीवन जिउन सिकाएको छ
रमेश चौधरी, गुञ्जनगर, चनौली, चितवन
सम्पूर्णमा मेरो ख्रीष्टिय अभिवादन छ!
मेरो नाम रमेश चौधरी हो। मेरो घर चितवनको गुञ्जनगर, चनौलीमा पर्दछ। यहाँहरूको माझमा मेरो जीवन गवाही बताउन पाउँदा अत्यन्तै खुशी लागेको छ। परमेश्वरलाई धन्यवाद होस्!
त्यो अतित क्षणलाई सम्झन्छु – मलाई जहाँ जान मन लाग्थ्यो र जे गर्न मन लाग्थ्यो, ती सबै कुराहरू आफ्नो खुशीअनुसार गर्थें र जिउँथें। आकाशमा चराहरू स्वतन्त्रपूर्वक उडेझैं म पनि धरतीमा आफ्नै इच्छानुसार स्वतन्त्रपूर्वक हिँड्थें, डुल्थें र खेल्थें। तर अब ती दिनहरू मेरा लागि अतीत भइसकेको छ। सायद अब ती रमाइला दिनहरू मेरो निम्ति फेरि फर्केर आउँदैनन्!
झण्डै ७ वर्ष अघि बिद्युतीय दूर्घटना परेको थिएँ। बिजुलीको पोलमा लाइन मिलाउने क्रममा अचानक शरीरमा विद्युत प्रवाहित हुँदा म भुइँमा पछारिन पुगें। मलाई तत्काल उपचारको लागि अस्पतालमा लगियो। चिकित्शकहरूले सक्दो प्रयास गरे, तर उनीहरूको प्रयास मिथ्या रह्यो। दुर्घटनाको कारणले गर्दा मेरो मेरूदण्ड भाँचिएको रहेछ। जसको कारणले मेरा दुबै गोडाहरू चल्न नसक्ने भए। नेपालमा उपचार सम्भव नहुने भएपछि भारतको नाम चलेका अस्पतालहरूमा मलाई लगियो। त्यहाँ पनि चिकित्शकहरूले सक्दो प्रयास गरे। उपचारको क्रममा धेरै खर्च भयो। घरखेत बेचियो, लाखौं खर्च गरियो, तर पनि कुनै सुधार भएन। त्यसपछि हार खाएर मेरा आफन्तहरूले मलाई नेपाल फर्काए।
यसरी मेरा जीवनका बाँकी दिनहरू ओछ्यानमै पल्टिरहनुपर्ने बाध्यता भयो। दिनहरू यसरी नै कष्टकासाथ बितिरह्यो। यसैक्रममा एकदिन मैले प्रभु येशूको बारेमा सुसमाचार सुनें। सुसमाचार सुनेर निको होइन्छ कि भन्ने एउटा झिनो आशा मनमा पलाएर आयो। शारीरिक चङ्गाइ पाउने आशामा म विभिन्न इसाई सभाहरूमा गइरहें। तर पनि मेरो शरीरमा त्यस्तो कुनै सुधार आउन सकेन। निको भएर पुनः पहिले जस्तै हिँड्ने प्रबल आशा मनमा व्याप्त रहिरहेको थियो। चङ्गाइका सभाहरूमा मलाई मेरा आफन्तहरूले निरन्तर लगिरहे। तर निको भएन।
समयहरू यसरी नै बित्दैगयो। एक साँझ म एउटा स्थानीय एफ.एम रेडियो सुनिरहेको थिएँ। उक्त रेडियोमा NBCI द्वारा प्रायोजित “आशाको किरण” नामक एक इसाई कार्यक्रम बजिरहेको थियो। उक्त रेडियो कार्यक्रममा ‘हामी सारा मानव जाति पापको दासत्वमा छौं, यसकारण सबैभन्दा पहिले हाम्रो हृदयको पापरूपी रोगबाट हामी निको पारिनुपर्छ’ भन्ने रोचक प्रस्तुतिका साथ प्रसारण भइरहेको थियो। यस कार्यक्रममा प्रसारण गरेको कुरा मेरो लागि एउटा नयाँ कुरा भयो। म धेरै समयदेखि शारीरिक चङ्गाइ पाउने आशा मात्र राखेर चर्चमा धाउँथें। तर मैले आफ्नो आत्माको विषयमा त्यति गम्भिर भएर सोचेकै रहेनछु। उक्त रेडियो कार्यक्रमलाई मैले नियमित रूपमा सुन्न थालें, साथै NBCI मा पत्राचारद्वारा बाइबल अध्ययन पनि गर्न थालें। यसरी रेडियो कार्यक्रम नियमित सुन्दै गएँ, र पत्राचारलाई पनि निरन्तरता दिँदै गएँ। यसैक्रममा मैले जीवनका धेरै आत्मिक कुराहरू सिक्ने मौका पाएँ। NBCI द्वारा उपलब्ध हुने सबै बाइबल पाठ्यक्रम पनि अध्ययन गरेर सिद्धाएँ। हो म हाल अपाङ्गता जीवन जिइरहेको छु, तर पनि जीवनप्रति अब मेरो केही गुनासो छैन। प्रभु येशूको न्यानो उपस्थितिको साथ शान्तिको जीवन जिइरहेको छु। पावलको जीवनबाट मलाई उत्साह मिल्दछ। उनले आफ्नो शरीरमा भएको कमजोरी अथवा कष्टबाट मुक्त हुन धेरै पटक परमेश्वरसँग प्रार्थना गरे, तर पनि उ निको हुन सकेन। बाइबलको नयाँ करारको २ कोरिन्थी १२:९ पदमा पावलले यसरी भनेका छन् – “मेरा अनुग्रह तिम्रा निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा मेरो सामर्थ्य सिद्ध हुन्छ।” यसरकारण ख्रीष्टको सामर्थ्य ममाथि रहोस् भनेर बरू मेरा दुर्बलताहरूमा ज्यादै खुशीसित म गर्व गर्नेछु। हो, मलाई पनि यस्तै अनुभव भइरहेको छ।
परमेश्वरको महिमा होस् ! साँच्चैनै NBCI ले मलाई वास्तविक आत्मिक जीवन जिउन प्रेरणा दिएको छ। शरीरमा म अशक्त भए पनि आत्मामा पूर्ण जोश परमेश्वरले मेरो हृदयमा हालिदिनु भएको छ। शरीरमा चङ्गाइ नपाए पनि केही मन दु:खी छैन। तर शारीरिक चङ्गाइभन्दा पनि मनको चङ्गाइ ठूलो कुरा हो। मैले मेरो हृदयको पाप रोगबाट पूर्ण रूपमा चङ्गाइ पाइसकेको छु। परमेश्वरको इच्छाअनुसार मेरो जीवनमा होस् भनी उहाँसँग मेरो अन्तर्विन्ती यही छ। हवस् त आजलाई बिदा चाहन्छु, जय मसीह!
[नोट: १० वर्ष अघि आशाको किरण रेडियो कार्यक्रम प्रसारण भइरहेको बेला प्राप्त भएको गवाही हो।]