विषय सूचिः
अध्याय १
खोजी हृदयको माग
अध्याय २
के ईश्वर सर्वशक्तिमान् हुनुहुन्छ?
अध्याय ३
के ईश्वर सर्वज्ञानी हुनुहुन्छ?
अध्याय ४
के ईश्वर सर्वव्यापी हुनुहुन्छ?
अध्याय ५
के ईश्वर निष्कलङ्क र निष्पाप हुनुहुन्छ?
अध्याय १
खोजी हृदयको माग
हामीले पढेका कथाहरू
अहिलेको इस्राएल देशको हाइफा शहरको दक्षिणपूर्वतिर भूमध्यसागरको छेउमा पर्ने कर्मेल पहाडमाथि घटेको घटना हो यो। त्यहाँ हजारौं मानिसहरू भेला भएका छन्। सबै उत्तेजित देखिन्छन्। अनिकालले करङ निस्किसकेका र आँखा भासिसकेका भएता पनि आज ती मन्द आँखाहरू बल्न खोजिरहेछन्; किनकि आज यस पहाडमा अग्नि परीक्षा छ। राजाको रथ पनि शाही शानका साथ आइपुग्यो। जय-जयकारको नारा लगाएर जनताले राजालाई स्वागत गरे। पहाड रमितालाग्दो भयो। पुष्ट छाती र मोटा गर्दन भएका साढे चार सय पहलमानझैँ देखिने मानिसहरू पनि रथमा आइपुगे। अनिकालले सुकेका मानिसहरूका बीचमा तिनीहरू किन यति खाइलाग्दा? अँ, तिनीहरू त राजारानीका निज पूजाहारीहरू रहेछन् नि त! ती खाइलाग्दाहरूमध्ये कसै–कसैले भन्दैछ—‘त्यस जाबो भुसुनो एलियालाई ह्याँकुलाले मिचिन्छ!’ ती मरन्च्याँसे मानिसहरूले ती मोटाहरूलाई रमिता बनाउँछन्, घुमी–घुमी हेर्छन्।
अलिक परतिर भाङ्ग्राको लुगा लाउने मानिस देखा पर्छन्। यिनी नै हुन् एलिया भन्दै मानिसहरू मुखा-मुख गर्छन्। आज यिनै एकला मानिस एलिया र यी साढे चार सयका बीचमा अग्नि परीक्षा छ। चारैतिर हेर्दै बुलन्द स्वरमा एलिया बोल्छन्—‘हे बालका सेवकहरूहो, आज तपाईंहरू र मेरा बीचमा आफ्ना ईश्वरहरूका विषयमा परीक्षा छ। आफ्ना ईश्वरलाई सत्य प्रमाणित गर्नका निम्ति तपाईंहरूले पहिलो मौका लिनुहोस्, किनकि तपाईंहरू धेरै हुनुहुन्छ। वेदी बनाउनुहोस्, र वेदीमाथि बलिको पशुलाई चढाउनु-होस्। तर वेदीमा आगो सल्काउने अनुमतिचाहिँ म तपाईंलाई दिन्नँ। परीक्षा यही हो, तपाईंहरूको ईश्वरले नै आगो झारी, बलिलाई भष्म पारी आफ्नो ईश्वरत्वलाई प्रमाणित गर्नुपर्छ। तपाईंहरूका पछि म पनि त्यसै गर्नेछु। तिनीहरू भाग्यमानी रहेछन्, किनकि तिनीहरूले मानेका बाल ईश्वर नै अग्निदेव अर्थात् सूर्यदेव थिए। बालको मन्दिरमा ठूला–ठूला सूर्यका प्रतिमाहरू बनाई तिनीहरू पूजा गर्थे।
बिहानै कामधन्दा सुरु भयो। वेदीमाथि बलि चढाएर तिनी-हरू बिन्ती–विनय चढाउँदै घुम्न लागे वेदीका वरिपरि। तर घाम छिप्पिसक्दा पनि आगो बर्सिएन। यसो हुँदा तिनीहरू राँकिएर हुइँ–हुइँ उफ्रन लागे वरिपरि। दुःखको कुरा बाह्र बज्दा पनि आगो झरेन। यसो हुँदा तिनीहरूका विपक्षी एलियाले तिनीहरूलाई खिसी गर्दै भने—‘अझै चर्को सोरले पुकार्नुहोस्, उनी ईश्वर हुन्। हुन सक्छ, सुतेका होलान्, जगाउनुपर्छ।’ तब यो सुनेर तिनीहरू हातमा छुरी, भाला लिएर आफैलाई काट्दै, घोच्दै झन् कहाली–कहाली पुकार्न लागे। बरु साँझ पर्यो, तर आगो झरेन। तब एलियालाई मौका दिनलाई बालका पूजाहारीहरू बिस्तारै पन्सिए।
त्यहाँ दुईवटा प्राकृतिक ओडारहरू छन् भनी पहिलेदेखि नै सुनेका थियौं। बल्ल–बल्ल त्यहाँ पुग्ने अवसर पायौं। हामी रमाउँदै भित्तामा चढ्यौं, र सानोचाहिँ ओडारमा पुग्यौं। ओडारभित्र भुइँबाट सेता–सेता ढुङ्गाहरू बाँसका तामाझैँ पलाएका रहेछन्; छानाबाट पनि बाँसकै तामाझैँ उँधोमुन्टो भएर झुन्डिरहेका रहेछन्। मैले यस्तो कहिल्यै देखेको थिइनँ। मैले एउटा भाँचिएको मुन्टो चिनाका निम्ति बोकें। त्यसपछि ठूलो ओडारमा गयौं। त्योचाहिँ धेरै नै ठूलो रहेछ। हामी पस्दा चमेराहरू चारैतिर उडेर हामीलाई तर्साइदिए।
देउता भाग्दै-भाग्दै आए। पछिपछि दानवहरू लखेट्दै आए। यहाँ आएर भगवान् कान्छी औंलीले लुक्नलाई यो ओडार बनाए। तर चित्त नबुझ्दा यहाँबाट निस्केर गई त्यो ठूलो ओडार बनाए भन्छन्—गाउँका बूढापाकाहरू गर्वसाथ। यसैकारण ठूलो ओडार भएको ठाउँमा बर्सेनी मेला लाग्छ; अनि देउताको दर्शन गर्न हजारौं मानिस आउँछन्।
ईश्वर सर्वशक्तिमान हुनैपर्छ
वैज्ञानिकहरूले एउटा तारादेखि अर्को ताराको मुलुक (Galaxy) सम्म देखिने अति नै शक्तिशाली दूरबीन यन्त्रहरू बनाइसके। रातदिन आकाशतिर तेर्साएर ताराका मुलुकहरूलाई अध्ययन गर्छन्, तर आजसम्म पनि अथाह आकाशको सीमानालाई देखेका छैनन्। यस अपार आकाशलाई नाप्नका लागि एक सेकेण्डमा १,८६,२८४ माइलको गतिमा घुइँकिने गाडीमा चढेर पूर्वतिर लाग्यौं भने करोडौं वर्ष बितिसक्छ, तर आकाशको सीमाना आइपुग्दैन। फेरि सीधा उकालो आकाशतिर लाग्यौं भने करोडौं वर्ष बितिसक्छ, तर आकाशको टुप्पो वा छानो भेटिँदैन।
यस अथाह आकाशमा ताराको जन्म हुनुभन्दा पहिले यो आकाश शून्य थियो; घोर अन्धकार थियो। न आकाशमा बादल उड्थ्यो, न त तारा चम्कन्थ्यो। यही आकाशलाई अब चमचम चम्किने ताराहरू, न्यानो ज्योति दिने सूर्य, कोमल प्रकाश फैलाउने चन्द्रमा र ग्रहहरूले भर्नुपरेको छ। शून्यबाट कसैले केही चीन निकाल्न सक्तैन। हरेक चीज सृजिएको थोकबाट नै बनिन्छ: टाउकाको टोपी भेडाको ऊनबाट; लेख्ने कागत बाँसबाट; फुटेको गालामा लाइने महलम पेट्रोलियमबाट। तर यस अथाह आकाश-लाई सब थोक शून्यबाट ल्याएर भर्नुपर्छ; किनकि कहीं केही छैन। अब कसले भर्ला?
एकपटक कसैले जगत्विख्यात खगोलविद्याविद् (Astronomer) डा. जीनलाई ‘आकाशमा कति ताराहरू होलान्’ भनी सोधेछ। तब उत्तरमा उनले यसो भनेछन्—‘संसारभरका समुद्र-किनार (beach) हरूमा जति बालुवाका कणहरू छन्, त्यति नै ताराहरू आकाशमा छन्।’ डा. जीन भेडा-गोठाला होइनन्; उनी हुन् जगत्विख्यात खगोलविद्याविद्, जसले आफ्नो दूरबीनद्वारा आकाशका पारिसम्म हेर्दछन्। भारतस्थित मद्रासको मेरिना बीचमा उभिनुहोस्। परसम्म फैलिएको बालुवाको मैदानलाई हेरिपठाउनुहोस्। दुई हातले बालुवा उठाएर बिस्तारै भुइँमा झार्नुहोस्, अनि अनुमान लाउनुहोस्। एउटै मेरिना बीचमा कतिवटा बालुवाका कणहरू होलान्, यसो भए आकाशमा झन् कति ताराहरू होलान्।
अपरिमित आकाशमा असंख्य ताराहरू मात्र छैनन्, तर ती अति सुव्यवस्थित पनि छन्। आकाशका यी गणहरू अत्यन्त तेज गतिमा दगुरिरहेका छन्, चक्कर मारिरहेका छन्, र पनि ती कहिल्यै एक दोस्रासँग टक्कर खाँदैनन्। हाम्रै सौर जगत् (Solar family) रुपी परिवारलाई लिऊँ: आफ्ना दशवटा ग्रहहरूलाई लिएर सूर्य घुमिरहेको छ। सूर्य ठूलो चक्कर मार्दै घण्टाको ११,५८,६९६ किलो-मिटरको रफ्तारमा दगुरिरहेको छ। हाम्रो देशको राजमार्गमा हानिएर दगुरिरहने गाडीभन्दा प्राय: पन्ध्र हजार गुणा बढी रफ्तारमा सूर्य दगुरिरहेको छ। यही दगुरिरहने सूर्यका वरिपरि घण्टाको १,०७,०१८ किलोमिटरको रफ्तारमा हाम्रो पृथ्वी दगुरिरहेको छ, फेरि यस पृथ्वीका वरिपरि पनि चन्द्रमा दगुरिरहेको छ। पृथ्वीबाहेक अरू नौओटा ग्रहहरू पनि आ–आफ्ना चन्द्रमाका साथमा यसरी नै सूर्यका वरिपरि घुमिरहेका छन्। बडो सुव्यवस्थित ढंगले, ठीक बाटामा, एक मिनट ढिलो–छिटो नगरीकन घुमिरहेका हुनाले खगोलविद्याविद्हरूले पहिले नै हिसाब गरेर औंसी, पूर्णिमा र ग्रहण लाग्ने घडीहरू बताउन सक्छन्। यी बाहेक अनेकौं पुच्छ्रेतारा (comet) हरू पनि आकाशमा भारी रफ्तारले दगुरिरहेका छन्। केही समय अघि ७० वर्षमा एकचोटि घुमेर आइपुग्ने ह्याली पुच्छ्रेतारा (Halley's comet) पृथ्वीसँग ठोकिन्छ भनी वैज्ञा-निकहरूले भनेका हुनाले सारा पृथ्वीका थाहा पाउने मानिसहरू डरले थरथर कामे। तर ६ घण्टा अघि-पछि भएकाले पृथ्वीसँग ह्याली पुच्छ्रे तारा ठोकिएन। ठोकिएको भए पृथ्वीका सबै मानिस-हरूको बेहाल हुन्थे। कसले यी आकाशका गणहरूलाई एकअर्कासँग टक्कर नलाग्ने गरी दगुराइरहेछ?
यस पृथ्वीको सतहमा तीन भाग पानी र एक भाग जमीन छन्। यही एक भागमा यूरोप, अमेरिका, अस्ट्रेलिया, एशिया र अफ्रिका छन् भने यो पृथ्वी सानो छैन। तर विद्वान्हरू भन्छन्, यो सूर्य घ्याम्पाजस्तो छ र पृथ्वीलाई टिपेर यसभित्र हाल्न सकिन्छ भने यसभित्र १३ लाख पृथ्वी अँटाउनेछन्। हेर्नुहोस्, सूर्य झन् कति विशाल रहेछ त! तर सूर्यभन्दा ठूला ताराहरू आकाशभरि छन्। यस्ता विशाल थोकहरूलाई आकाशमा लाखौं वर्षदेखि कसले सम्हालिरहेको छ? पृथ्वीका दुईवटा गति छन्: (क) पृथ्वीले सूर्यका वरिपरि एक सालमा एक चक्कर लाउँदछ। यसरी सूर्यका वरिपरि २३.५ डिग्रीमा चक्कर लाउनाले पृथ्वीमा ऋतु परिवर्तन हुन्छ। झरी पर्छ, गौंथली आउँछ, न्याउलाले गाउँछ। धान, कोदो रोप्छौं, कटानी गछौं, हिउँदमा गाई चराउँछौं। (ख) पृथ्वी चौबीस घण्टामा एक फन्को लाउने गरेर आफ्नै धुरीमा लट्टूझैँ फनन घुम्छ। यसरी घुमिदिँदा दिन र रात हुँदछन्; हामी दिनभर परिश्रम गर्छौं, अनि रातभरि विश्राम लिन्छौं। मान्छेका निम्ति यी सबै कुराको प्रबन्ध कसले गरिरहेछ? जसले शून्य आकाशमा उभिएर बढो अधिकार सहित ‘ए ताराहरूहो, तिमीहरू आओ, र अन्धकार आकाशलाई झिलिमिली पारिदेओ’ भनी हुकुम गर्दा, बालुवासरह ताराहरू शून्यबाट आएर आकाशलाई झिली-मिली पारिदिन्छन् भने; जसको आज्ञा पाएर ती ग्रहहरू, ती सिताराहरू ठहराइएका बाटामा निरन्तर दगुरिरहन्छन् भने; जसको हुकुम पाएर यो विशाल पृथ्वी मानिसहरूका लागि हिउँद, वर्ष, दिन र रात ल्याउनालाई ठीक गतिमा घुमिरहन्छ भने उहाँ निस्सन्देह अपार सामर्थ्यधारी सर्वाधिकार सम्पन्न परमेश्वर हुनैपर्छ, हुनैपर्छ। मानिसको मस्तिष्कका सारा तर्कले यस कुराको माग गर्दछ; किनकि यस्ता कुराको सृजना गर्नलाई अपार सामर्थ्यको आवश्यकता पर्छ, अपार ज्ञानको खाँचो पर्छ।
म गम्भीर भएर सोच्छु, ईश्वर यस्ता हुनुहुन्छ भने के उहाँलाई दानवहरूले खेद्न सक्लान्? खेद्न सक्छन् भनी कल्पना गर्नुचाहिँ धत्याएको बेलाको सपना हो। बालका पूजाहारीहरू लाजले लुके। मानिसहरू उत्तेजनाले रमाइरहेका थिए। त्यसपछि एलियाले बाह्रवटा ढुङ्गाहरू बटुली त्यसमाथि वेदी बनाई बलिपशु राखे। उनले त वेदीको वरिपरि खाडल पनि खन्न लाए, अनि त्यो खाडल पानीले नभरुन्जेल वेदीमाथि गाग्राका गाग्रा पानी ओइ-राइयो। त्यसपछि तिनले प्रार्थना गरे—‘हे यहोवा परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्, र यिनीहरूले तपाईं नै यहोवा परमेश्वर हुनुहन्छ भनी जानून्।’ तब सृष्टिकर्ताको आगो आकाशबाट प्रकट भयो। वेदीमाथि राखिएको बलि मात्र होइन, वेदीसहित ढुङ्गा, माटो र पानी सबै आँखाको निमिषमा जलेर अलप भए।1
सृष्टि गर्नु सजिलो छ भनी कसैले आफ्नो मूर्खतामा सम्झन्छ भने उ बाहिर निस्कोस्, र ‘आकाशमा अझै थप ताराहरू आओ’ भनी चिच्च्याओस्। यदि ताराहरू आए भने ‘सृष्टि गर्नु सजिलो रहेछ’ भनी स्वीकार गरौंला। तर ताराहरू आएनन् भने चाहिँ सृष्टिकर्ता परमेश्वर ‘झुसेमुसे परमेश्वर’ हुनुहुन्न भनी हरेकले स्वीकार गर्नैपर्छ। योचाहिँ बुद्धि भरिएको विचार हो।
संयुक्तराज्य अमेरिकाले पठाएको अन्तरिक्षयान (Space Craft) अपोल्लो एघार, जुलाई २० तारीख १९६९ को दिन चन्द्रमामा पुग्यो। त्यसपछि अरू पाँचवटा अपोल्लो यानहरू चन्द्रमामा पठाइए। मान्छेहरू पुगे। अपोल्लो १३ मात्र कलकाँटामा गडबडी भएको हुनाले चन्द्रमामा पुग्न सकेन। पृथ्वीमा फर्कदा पृथ्वीदेखि २ लाख ५ हजार माइल माथि अपोल्लोले बाटो बिरायो। त्यो बाटो पहिल्याउनलाई वैज्ञानिकहरू हतार–हतार हिसाब गर्न थाले। त्यस घडी एउटा नयाँ कम्प्युटरलाई प्रयोग गरे, जसले हिसाब गरेर ८४ मिनेटमा फर्कने बाटो पत्ता लगायो। पुरानो जमानामा झैँ खाता पेन्सिल लिएर हिसाब गर्नुपर्ने हो भने एउटा मानिसलाई १० लाख ४० हजार २५६ वर्ष लाग्नेथ्यो भनी वैज्ञानिकहरू भन्छन्। मान्छेको कत्रो बुद्धि! तर मानिसको खोपडीभित्र यस्तो बुद्धि हालिदिनुहुने परमेश्वर नि झन् कति बुद्धिमान् हुनुहुन्छ होला? देख्ने आँखालाई हेर्छौं, सुन्ने कानलाई हेर्छौं, अवाक् हुन्छौं। पृथ्वीको हरेक कुराले उहाँको अपार ज्ञानको विषयमा सन्देश दिन्छ।
पृथ्वीभित्र धेरै बहुमुल्य कुराहरू छन्—सुन, तामा, फलाम, कोइला, तेल आदि। मानिसलाई सभ्यताको सम्बन्धमा यहाँसम्म पुर्याउने कुराहरू नै यी हुन्। तर यिनलाई पृथ्वीको पेटभित्र कसले हाल्यो? मानिसलाई चाहिन्छ भनेर पहिल्यै जानीकन सृष्टि गर्नुहुँदा नै उहाँले यी कुरालाई पृथ्वीको पेटभित्र हाल्नुभएको होइन र? सृष्टिकर्ता अपार ज्ञानी हुनैपर्छ। सृष्टिको हरेक कुराले यस कुरालाई देखाउँदछ।
ईश्वर सर्वज्ञानी हुनुहुन्न भने?
एकदिन उत्पत्तिको दिनदेखि आजसम्मका मानिसहरू भेला हुनेछन्। भीडका वल्लो छेउ र पल्लो छेउ देखिँदैनन्। पल्लो छेउसम्मका मानिसहरूलाई देख्न र सुन्नका लागि दूरबीन नभई हुँदैन। रङबिरङका मानिसहरू हुन्छन्: कोही काला, कोही गहूँगोरा, कोही पहेंला, कोही सेता, कोही राता। अब ईश्वरले यी बालुवासरह मानिसहरूको न्याय गर्नुपर्छ। यो एउटा जटिल काम ईश्वर सामु उभिन्छ। यो ईश्वरले नै गर्नुपर्ने काम हो। जो होचो उसैको मुखमा घोचो भनेझैँ पृथ्वीमाथिका करौडौं निर्धाहरूले दुःख भोगेका छन्। उनीहरूले आँसुको घुट्को पिएर, ‘हे ईश्वर!’ भनी पुकारेका छन्। यी बलियाहरूले ममाथि गरेका अत्याचारलाई कसैले नदेखे तापनि ईश्वरले त देखेका छन् भन्दै सान्त्वना पाउने प्रयास गरेका छन्। साँच्चै ईश्वरले देखेको हुनैपर्छ। मानिसले बाहिर मुस्कानको ओढनी ओढेर हृदयभित्र इबि, डाहा, लोभ, घमण्ड, छललाई पोस्याएर राखेका हुन्छन्। बाहिर मीठा–मीठा कुरा गरेर भित्रचाहिँ छुरा चलाएका हुन्छन्। यो कुरा ईश्वरले देखेको हुनैपर्छ।
हेर् फलाना, तँ अफ्रिकाको फलाना जङ्गलमा एउटा झोपडीमा बस्छस्। तैंले एक बजे, दुई बजे, अढाई बजे यस्तो–यस्तो पाप गरिस् भन्दै पापको लामो लिस्ट बताउनु सक्नैपर्छ ईश्वरले—न्यायको दिनमा। धर्मदास दाहाल, तँ पश्चिम नेपालको स्याङ्जामा बस्दा चैत्र तीन गते राती एक बजेसम्म फलानाको छोराले बी. ए. पास गर्यो भनेर सुन्दा पीरले सुत्न सकेको थिइनस् भन्दै प्रत्येकको जीवनको गुप्त हाल बताउन सक्नैपर्छ ईश्वरले—न्यायको दिनमा। यसैकारण ईश्वर सर्वज्ञानी वा सर्वान्र्यामी हुनैपर्छ। सत्य ईश्वर यो भन्दा कम हुँदैहुँदैन।
ईश्वर सर्वज्ञानी छैनन् भने कसरी न्याय गर्न सक्छन् त? बालुवासरह मानिसहरूका सामु देउता रातापीरा हुनुपर्छ। न्याय गर्नुपर्ने, तर कसरी न्याय गर्नू? चिने पो! ती चौपट्टै काला, ओठ फर्केकाहरू को हुन्? ती राता–राताचाहिँ को हुन्? कहाँ बस्छन्? यसरी मनमा सोच्दा–सोच्दै देउता आत्तिन्छन्। तर आत्तिएको भावलाई भुइँतिर हेरेझैँ गरी लुकाउन्छन्। यी को हुन्? यिनले के–के गरेका छन्, म केही जान्दिनँ; अब म कसरी न्याय गरुँ?! यसरी अन्योलमा बस्दाबस्दै आठ घण्टा बितेको थाहै हुँदैन देउतालाई। उभिँदा-उभिँदा थाकेर मानिसहरू लखतराम भइसकेका हुन्छन्। यसकारण देउताले शिर झुकाइरहेका बेला एउटा आँटिलोले ‘ढिलो भयो!’ भनेर कराउँछ। उसको आवाज देउताको कानमा पुग्छ, तर नसुनेर्झैँ गर्छन्। यो देखेर अर्को पनि आँटिलो बन्छ र ‘देरी हो रही है!’ भन्छ। यो भाषालाई पनि देउता सुन्छन्, बुझ्छन्; र पनि लाजले रगत चुहुलार्झैँ भएको अनुहार देखाउन नसकी घोप्टिरहेकै हुन्छन्। तब अर्को पनि आँटिलो भएर ‘इट्स गेटिङ्ग लेट!’ भन्दै कराउँछ। लौ हेर, अर्को पनि कराउँदै छ; उसले पनि ‘ढिलो भयो’ भनेकै होला, अब कसो गरुँ नि? भन्दै देउता आत्तिन्छन्। भीडलाई छोडेर भाग्न मन लाग्छ देउतालाई, तर आँट आउँदैन। ‘अब जे त होला, गर्नैपर्यो’ भन्दै अनुहारको रातोपनलाई दबाउँदै पसीना पुछी मुख ठाडो पार्छन्।
अघिल्लोतिर हेर्दा एउटा ग्वाँजेलाई देख्छन्, जो आँबा न काँबाको देखिन्छ। ‘यही ग्वाँजको न्याय गरिहेर्नुपर्यो, बाठाको त सकिँदैन।’ आफैलाई सम्झँदैं देउता मनमनै भन्छन्, ‘आखिर धर्मी त कोही हुँदैन।’ यसकारण त्यस ग्वाँजतिर औंला उचाल्दै भन्छन्—‘एइ, सेतो टोपी लाउने (नाम थाहा नभएकोले), यसो विचार गर्दा तँचाहिँ पापीजस्तो लाग्दैछ है।’ वाक्य पूरा नभईकनै सेतो टोपी लाउने जङ्गीहाल्यो। त्यो मान्छे वकिललाई समेत छेर लाउने खालको रहेछ, तर अत्यन्तै थाकेकोले ग्वाँजे देखा परेको रहेछ। कराइहाल्यो—‘हे साथीहरूहो, तिमीहरूलाई राम्ररी थाहा छ, के म पापी हुँ?’ मुठ्ठी बाँधेका हात आकाशतिर फ्याँक्दै हजारौं कराए—‘पापी होइन! पापी होइन!!’ अनुहारको छालालाई च्यातेर भुइँमै पोखिउँला झैँ गरी रगत उम्लन थाल्यो देउताको; अनि लाजले देउता थ्याच्च बस्छन्। यो कल्पना मात्र हो, तर ईश्वर सर्वज्ञानी छैनन् भने योभन्दा बढी हुन्छ, कम हुँदैन। सम्पूर्ण सृष्टिले, सारा कामले सृष्टिकर्ता सर्वज्ञानी हुनैपर्छ भनी माग गर्दछ। यसकारण मेरो आत्माले अति नै उच्च ईश्वर र सर्वज्ञानी ईश्वरको खोज गर्दछ।
हामीले पढेका कथा
पहाडजत्रो टाउको भएको भयङ्कर राक्षस थियो, जसको नाम दुन्दुभि थियो। त्यो राक्षस एकदिन देउताको साथीको दाईकहाँ जोरी खोज्दै आएछ। त्यसले पनि दुन्दुभिलाई पक्रेर टाउँको चुँडाइदिएछ। त्यसपछि त्यसले त्यो टाउको घुइँक्याउँदा प्राय: चौध किलोमिटर टाढामा खसेछ।
आफ्ना दाइले मार्छन् भनी देउताका साथी अत्यन्तै डराउँथे, यसकारण देउताले भनेछन्—‘तपाईंको दाइलाई मारेर म तपाईंलाई छुटकारा दिन्छु। जानुहोस्, दाइसँग जोरी खोज्नुहोस्। दाइ तपाईंसँग लड्न आउँदा म वाण हानेर मारिदिन्छु।’ साथी चौपट्टै रमाउँदै गए, र आफ्ना दाइलाई धम्की दिए। दाइ निस्केर आयो, पिटेर रगत छादुन्जेल पारिदियो; तर आशा गरेको वाण आउँदै आएन। यसकारण तिनी प्राण लिएर भागे, अनि देउतालाई रुँदै भने—‘मलाई दुश्मनको हातमा पारी मर्नुभन्दा बरु तपाईंले नै मार्नुहोस्।’ तब देउताले आँखाभरि आँसु पार्दै भने—‘तपाईंहरू दुई भाइको अनुहार बिलकुलै एउटै रहेछ, यसकारण दुश्मन सम्झी हिर्काउँदा तपार्इंलाई पो लाग्ला कि भनी वाण चलाइनँ।’
यस कथाले स्पष्ट पार्छ, देउतालाई पनि मान्छे चिन्नु गाह्रो पर्दोरहेछ। सृष्टिको दिनदेखिका सारा मानिसलाई चिन्नु झन् कति कठिन छ! सारा मानिसहरूलाई चिने पनि तिनीहरूका हृदय-भित्र भएका हजारौं गहिरा–गहिरा कुराहरू कसरी थाहा पाउने? मुखमा देउता नाम लिँदै छुरी चलाउनेलाई कसरी चिन्ने? यसकारण हामीलाई स्पष्ट हुन्छ, सारा दुनियाँको न्याय गर्नुहुने परमेश्वर अपार ज्ञानी हुनैपर्छ। यो कुरा अकाट्य छ।
यस्ता सर्वज्ञानी, सर्वशक्तिमान् परमेश्वरलाई पछिल्तिर राखेर देब्रे–दाहिने घुम्दै जेसुकैलाई ढोग गरिहिँड्नुचाहिँ हाम्रो बुद्धिहीनता हो, समझको अभाव हो। यसैलाई आत्मिक व्यभिचार (Spiritual adultery) भनिन्छ। सृष्टिकर्ता परमेश्वर नै स्वर्गका सर्वेसर्वा सर्वाधिकार सम्पन्न मालिक हुनुहुन्छ। उहाँ यस्तो कुरा चाहनुहुन्न। स्वर्ग उहाँको वासस्थान हो—निजी सम्पत्ति हो। उहाँले नै तयार पार्नुभएको मुक्तिलाई प्राप्त गरेर उहाँकै उपासना गरिरहनाले हामी स्वर्गमा प्रवेश गर्छौं, तर स्वर्गका मालिक सृष्टिकर्ताको उपासना गर्न छाडेर सृष्टिका थोकहरूलाई ढोगि-हिँड्दा, भक्ति गरिहिँड्दा के अर्काको स्वर्गमा पस्न पाइएला त? स्वर्ग त तिनीहरूको होइन। मूर्ख पनि टाटा कम्पनीको चाकरी गरेर बिड्लाकहाँ ज्याला थाप्न जाँदैन; यो कुरा बुझ्नु गाह्रो छैन। यसैकारण स्वर्गमा प्रवेश गर्नलाई सर्वाधिकार सम्पन्न परमेश्वरलाई नै चिन्नु र उहाँकै उपासना गर्नु हामीलाई साह्रै खाँचो छ।
अब रातदिन भक्ति गरेर पनि स्वर्गमै पस्न पाउँदिनँ भने परमप्रधान परमेश्वरभन्दा कमको भक्ति म किन गरुँ? स्वर्ग दुईवटा छैनन्। नाक रगेडी–रगेडी भक्ति गर्दा पनि मैले नरक नै जानुपर्छ भने म किन भक्ति गरुँ? एक रुपियाँको धूपधरि बाल्दिनँ, म आफै खान्छु; दुई रुपियाँको फलधरि चढाउँदिनँ, म आफै खान्छु, अनि नरक जान्छु। तर पनि भक्ति गरी-गरी नरक जानेहरूभन्दा म नै भाग्यशाली मानिन्छु। किनकि पृथ्वीमाथिको भक्ति गर्ने टन्टाबाट म उम्केको हुन्छु। आफ्नो पेट खाली राखी-राखी देउतालाई चढाउनु-पर्दैन। त्यो खानेकुरा पनि आफैले खाएर पेट डम्म भएको स्वाद लिन पाउँछु। होइन, मैले भक्ति गर्नैपर्छ भने म केवल सृष्टिकर्ताकै भक्ति गर्छु। कम दुःख भोग्छु, मिहिनेत गर्छु; किनकि सृष्टिकर्ताको स्वर्ग हर प्रकारको दुःख भोगेर पनि प्राप्त गर्नु योग्यको छ।
ईश्वर सर्वव्यापी हुनुहुन्न भने?
अभागिनीको कोही सहारा छैन। उनीसितै हाँस्ने र उनीसितै रुने उनका पति नै उनका जीवनका बलिया सहारा र खुशीका स्रोत थिए। आफ्ना पति मात्र भए पुग्यो भन्ने लाग्थ्यो उनलाई। उनको छाती ठूलो हुन्थ्यो। तिनलाई रोगले पक्र्यो। एकदिन मृत्युले चुँडेर लैजान खोज्दा आफ्नो मायालुको मायाले ‘मलाई चुँडेर लैजान नदेऊ’ भन्दै आफ्नी पत्नीतिर तिनले दुवै हात फैलाएका थिए। उनले पनि दुवै हातलाई छातीभित्र अँठ्याएकी थिइन्। तर मृत्युले तिनलाई लगिसकेछ, निष्प्राण हातलाई मात्र पक्रिराखेकी रहिछिन्। छाती चिरियो, आँसुको भल बग्यो। भल थामिसकेकै थिएन, साहू आइपुग्यो, ‘धेरै दिन छोडिदिएँ, अब त यो गाई लानैपर्यो’ भन्दै। ‘तिम्रा पतीले पाँच हजार लगेका छन्, नपत्याए हेर यो तमसुक। पच्चीसकै दरले पनि पाँच हजारको एक महिनामा साढे ६ हजारजस्तो भइहाल्छ; उसो त ऋण लगेको ६ महिना भइसक्यो।’ पतीको सम्झनामा तोते बोल्ने बालक थियो, त्यसले पनि दूध खान नपाउने भयो अब। ऋण लिएका थिए कि थिएनन्, सो उनलाई थाहा छैन। तमसुकचाहिँ? तमसुक त्यसैले बनायो होला, जाली तमसुक! गाई तानेर लग्यो साहूले। मायाले मुसार्दै, आँसु तरर झार्दै गाईलाई बिदा दिइन्। त्यसपछि दुःखको कुरा हृदयविदारक छ।
अभागिनीले एकदिन देउतालाई भेटिन्। पाउ पक्रेर आँसुले भिजाउँदै भनिन्—‘हे देउता, मैले हजुरलाई कति पुकारें। किन निष्ठुर हुनुभयो? मेरा पतिले छाडेर जानुभयो, साहुले गाई लग्यो, मैले हजुरलाई कति पुकारें कति!’
‘हे नारी, कहिलेको कुरा गरेकी तिमीले?’ ‘देउता, असार दुई गतेको।’ ‘साहूले गाई तानेको?’ ‘असार बीस गतेको कुरा।’ ‘तिमीले कहिले बिन्ती गर्यौ?’ ‘महिनाभरि, हे देउता।’ ‘उफ, दुःखको कुरा! त्यस घडी म यहाँ थिइनँ, जापानमा थिएँ।’ जेठ, असार र साउन तीन महिना त म जापानमै थिएँ। तिम्रा पतीको कुरा र साहूको कुरा त आजै सुन्दैछु।’
यो पनि कल्पना मात्र हो, तर ईश्वर सर्वव्यापी छैनन् भने यस्तो हुन्छ नै। एउटै समयमा ईश्वर सम्पूर्ण पृथ्वीभरि हुनुपर्दैन र? ईश्वर यो भन्दा कम हुनैहुँदैन।
भाइटीकाको दिन अन्तिम देउसी खेलिसकेपछि ‘अब गए रमाहटका दिन’ भन्ने सम्झेर न्यास्रो लाग्थ्यो। म खिन्न हुन्थें। धेरै दिन बितेर जान्थे। अर्को साल लाग्थ्यो। स्कूलबाट घर फर्कंदा कुनै दिन दैलामाथि कुशको सानो मुठो सिउरिराखेको भेट्थें। तब ‘अहो दशैं आउँदैरहेछ’ भन्ने सम्झेर म रमाउँथे। यसरी त्यस कुशे औंसीको त्यस कुशले रमाहटको दिनको सम्झना ल्याएर मलाई खुशी पार्थ्यो। यही कुशलाई पवित्र मानिन्छ। यही कुश समातेर यही कुशको औंठी लगाएर धार्मिक कार्य सम्पन्न गर्थ्यौं। यस कुशले मैले पढेको एउटा कथाको सम्झना गराउँछ:
देउता आफै कुश भई जन्मेको हुनाले कुशलाई पवित्र मानिएको हो। जुन दिन देउता ‘तिमीले घाँस बन्नुपरोस्’ भनी श्राप पाए, त्यस दिन उनी एकजना अत्यन्तै सुशीला र पवित्र स्त्रीको सतीत्व लुट्न गएका थिए। पातिव्रत्य जगत्मा बिरलै पाइने मनोहरता हो। प्राणीमा यस्तो गुण भएकामा देउतालाई चौपट्टै हर्ष लाग्नुपर्छ। जे होस्, त्यो दिन त्यस पतिव्रता स्त्रीका पतिको रुप धारण गरेर देउता त्यस स्त्रीकहाँ गए। त्यस स्त्रीले तिनलाई आफ्नै पति हुन् भन्ने सम्झी हार्दिक स्वागत गरिन्, अनि चौरासी व्यञ्जन खुवाइन्। त्यही दिन ईश्वर त्यस स्त्रीले जिन्दगीभरि अमूल्य धनसरह सम्हालेर राखेको शुद्धता वा पातिव्रत्यलाई नष्ट गरिदिए—सतीत्व लुटिदिए। जब तिनले त्यस धोकालाई थाहा पाइन्, तिनी मरेतुल्य बनिन्; तब त्यस व्यथित स्त्रीको मुखबाट यी कुरा निस्के—‘तिमीले घाँस बन्नुपरोस्! तिमीले रुख बन्नुपरोस्! तिमीले ढुङ्गा बन्नुपरोस्!’ तिनी साँच्चै पतिव्रता रहिछिन्, र त्यो श्राप लाग्यो। परिणामस्वरुप देउता घाँस अर्थात् कुश बने, रुख अर्थात् पीपल बने; अनि ढुङ्गा अर्थात् शालिग्राम बने।
हामीले सुनेका कथाहरूमा देउताहरूले पवित्रताको वास्ता गरेको देखेनौं, यसैकारण हामी पनि वास्ता गदैनौं; तर ईश्वरको मूल गुण नै परम पवित्रता हो। मानिसलाई यो कुरा मन परोस् वा मन नपरोस्, ईश्वरको मौलिक गुण नै पवित्रता हो, यो कुरा अकाट्य छ।
एकदिन दाजु बख्त सिंह रेलमा यात्रा गरिरहेका थिए। प्रत्येक स्टेशनमा मानिसहरू उनलाई भेट्न आउँथे। उनीहरूले ल्याइदिएका फलफूलहरू उनका वरिपरि राखिएका थिए। एउटा स्टेशनमा एउटी स्त्री आफ्नो बालकलाई लिएर भित्र पसिन्, अनि नजिकैमा बसिन्। अरू मानिसहरू त्यहाँ थिएनन्। उनलाई पढ्नमा तल्लिन देखेर त्यस सानो बालकले उनका छेवैमा राखिएको फलतिर बिस्तारै हात बढायो। दाजुले आँखाको कुनाबाट देखे, र अलिक चल्मलाए। यसो हुनसाथ त्यस बालकले हात फुत्त तान्यो। उनले फेरि पढ्नमा तल्लिन भएझैँ गरे। फेरि त्यस बालकले बिस्तारै हात पसार्यो। त्यस घडी दाजुले ‘अहम्’ गरेर खोके। फेरि नानीले हात फुत्त तान्यो। यस घटनाले देखाउँछ—परमेश्वरले मान्छेभित्र ‘यस्तो गर्नुहुन्छ, यस्तो गर्नुहुँदैन’ भनी संकेत दिने विवेक हाल्नुभएको छ। यही विवेकद्वारा ‘चोर्नुहुँदैन’ भन्ने चेताउनी पाएर त्यस नानीले फुत्तफुत्त हात तानेको हो। पाप गर्ला भनेर गार्ड गर्ने, चेताउनी दिने मेशिन सृष्टिकर्ताले हामीभित्र हालिदिनुभएको छ। जुन परमेश्वरले ‘पाप गर्नुहुँदैन’ भनेर यसरी धीमा स्वरमा बोल्ने विवेकरुपी मेशिन हाम्रो छातीभित्र हाल्नुभएको छ, के उहाँले नै पाप गर्नुहुन्छ त? यो हुनै नसक्ने कुरा हो। ईश्वरको मौलिक गुण नै पवित्रता हो।
एकचोटि गान्तोकको वेस्ट पोइन्ट स्कूलमा कुश्ति प्रतियोगिता भएको थियो। अखाडाभित्र कछाड मात्र लाएका पहलमानहरू अलिक निहुरेर घुमीघुमी दाउ हेर्थे अनि एक-अर्कासँग भिडिन्थे; भूइँमा पछारिन्थे। त्यही मैले एउटाले मरीमरी उत्तानो पार्न खोजेको र अर्काले मरीमरी घोप्टै रहन खोजेको देखें। घोप्टो रहिरहन नसक्दा स्प्रिङजस्तो बुरुक्कै उफ्रेर उभिएको देख्थें। त्यही मैले दशपल्टसम्म पछारेर पनि उत्तानो पार्न सकेन भने जितेको होइन भन्ने कुरा थाहा पाएँ। यसैकारण उत्तानो पर्नु नै पूर्णतया पराजित हुनु हो, हार्नु हो।
यसैकारण यस उक्तिलाई हामी नेपालीहरूले औधी नै प्रयोग गछौं। हामी भन्छौं—‘त्यस बसन्तेले खत्रीलाई साहूको ऋणबाट उकास्ने रे! कठै, यो के सुन्नुपरेको नि लै लै! त्यो बसन्ते आफै ऋणमा टुप्पीसम्म चुर्लुम्मै डुबिसकेको छ। त्यसका घरखेत कुर्की गर्नलाई सरकारमा यसै घडी कागत तयार हुँदैछ। हिजो बसन्तेले खत्रीलाई भन्नु रे—‘त्यस जाबो चालीस हजारका निम्ति नरोऊ खत्री दाइ; तुरुन्तै चेक काटी उकासीदिन्छु तिमीलाई।’ खै, यस कलियुगमा के–के पो सुन्नुपरेको! आफै त महादेव उत्तानो पर, कसले देला वर?’
एउटा ऋणीले अर्को ऋणीलाई उकास्न सक्तैन; एउटा अधर्मीले अर्को अधर्मीलाई बचाउन सक्तैन। यसैकारण एउटा पापीलाई बचाउनाका निम्ति ईश्वरको पवित्रता त्यति नै उच्च हुनुपर्छ, जति ताराको मुलुक (Galaxy) पृथ्वीभन्दा उच्च छ। पृथ्वीदेखि सबैभन्दा नजिकको ताराको नाम हो, अल्फा सेन्टरी (Alpha Centaury), दोस्रोको नाम सिरिअस (Sirius), तेस्रोको नाम अल्डरबारन (Alderbaran)। ज्योति एक सेकेण्डमा २,९९,३२९ कि. मि. दगुर्छ भने एक मिनटमा कति दगुर्ला? एक दिनमा? तर त्यही रफ्तारमा दगुर्दा पनि सबैभन्दा नजिकको तारा, अल्फा सेन्टरीमा पुग्न ज्योतिलाई ४ वर्ष ६ महिना लाग्छ। सिरिअसमा पुग्न ८ वर्ष ६ महिना, अल्डरबारनमा पुग्न ५५ वर्ष। त्यसो भए ताराहरूको मुलुक पृथ्वीभन्दा कति उच्च होला। ईश्वरहरूको पवित्रता यति नै उच्च हुनुपर्छ।
मानिस र परमेश्वरको पवित्रतामा कति फरक हुनुपर्छ भने, ईश्वरमा पाप गर्ने स्वभाव नै हुनुहुँदैन। मानिसमा पाप गर्ने स्वभाव छँदैछ; यसैकारण जङ्गलमा वास लिए पनि पाप हुन्छ नै, बोराभित्र पसेर बसे पनि पाप हुन्छ नै। जमिनबाट सलल पानी निस्किरहे झैँ मानिसको मनबाट पाप अविराम गतिले बगिरहन्छ; तर ईश्वरमा यही पाप गर्ने स्वभाव हुनुहुँदैन।
हजार वर्ष घुँडा धसेर पाप गर्ने चेष्टा गरे पनि ईश्वरले पाप गर्न नसक्नुपर्छ। पापको सम्बन्धमा ईश्वरको स्तर (standard) यही हो। ईश्वरले एउटा मात्र पनि पाप गरेमा भित्र पाप गर्ने स्वभाव रहेछ भन्ने कुरा प्रमाणित भइहाल्छ। पाप गर्ने स्वभाव भएपछि ईश्वर मानिस बराबर भइजान्छन्। मानिस बराबर भएपछि तिनी-बाट मुक्ति पाउँला भनी आशा गर्नुचाहिँ सियोको नाथ्रीबाट छिर्न खोज्नु बराबर हो। यसैकारण पवित्रताको सम्बन्धमा मेरो आत्माले स्वर्गसम्मै उच्च परमेश्वरको खोज गर्दछ। यसमा मैले अपराध गरें कि बुद्धिमानी देखाएँ?
मानिसलाई किन ज्ञान, बुद्धि र विवेक दिइए?
हामीलाई ज्ञान, बुद्धि र विवेक किन दिइए? यी तीनैओटा कुराहरू पशुलाई दिइएका छैनन्। यी तीनवटा कुरा दिइएकाले नै सबै मानिसहरू यी कुरा दिनुहुने सृष्टिकर्ताका सामु हिसाब बुझाउनलाई हाजिर हुनुपर्छ। कम्प्युटरले दुनियामा धूम मच्चाएको छ। यही कम्प्यूटरको सहारामा एकदिन एकजना तानाशाहले सारा संसारमाथि राज्य गर्नेछ। जुन हिसाब गर्नु एकजना मानिसलाई दश हजार वर्ष लाग्छ, त्यही हिसाबलाई कम्प्यूटरले एक घण्टामा गरिदिँदछ। कम्प्यूटरमा यस्तो क्षमता भए पनि कम्प्यूटरमा ज्ञान, बुद्धि र विवेक छैन। यही प्रणालीको आधारमा रोबट (Robot) ले पनि काम गर्छ। विकसित देशमा प्राय: सबै काम रोबटले गर्छ। गाडी बनाउँदा रङ लाउने, पेच कस्ने, ढलाइ गर्ने काम रोबटले गर्छ; तर बुद्धि र ज्ञान छैन। कम्प्यूटर र रोबटलाई जे कुरा गराउन मन लागेको छ, त्यही कुराको निर्देशन त्यसभित्र हालिदिनुपर्छ, प्रोग्राम फीड (program feed) गर्नुपर्छ, तब त्यही निर्देशन वा प्रोग्राम-अनुसार ती चल्छन्। बुद्धि लाईकन घटाएर काम गर्ने पनि होइनन्, बढाएर गर्ने पनि होइनन्, न त अर्को काम नै गर्न सक्छन्।
यही प्रकारले जीवनका विभिन्न काम गर्नलाई पशुहरू र पक्षीहरूका दिमागमा पनि परमेश्वरले निर्देशन (program) हालिदिनुभएको छ। त्यहीमुताबिक ती चल्छन्। बुद्धि लाएर तिनीहरूले एक छेस्को केही गर्न सक्तैनन्। युगौंदेखि सुँगुर हिलोमा खेल्दै आएको हो। मालिकको काखमा म्याउम्याउ गर्दै लुटुपुटु गर्ने सुग्घर बिरालोलाई देखेर ‘अब म पनि त्यो सुन्दर बिरालोजस्तै सुग्घर बन्छु, जीउ सफा राख्छु, चुलाको छेउमा बसेर सधैं मुख सफा गर्छु; अनि हिलोलाई देख्दा ‘छि हिलो’ भन्दै पर–पर टक्टकिन्छु। अब मेरो जातिको पनि फोहोर, हिलो र गरीबीको दहबाट निस्केर अरू जातिझैँ सभ्यता र विकासको सिँढीमा चढ्ने समय आयो’ भन्दै प्रगतिको पथमा हिँड्ने सुँगुर एउटै जन्मेको छैन। तर मान्छेले गर्छ। मान्छे दासत्वको जुवाबाट उम्केर अरू जातिले झैँ आफ्नो जातिको बहुमुखी उन्नति गर्न चाहन्छ। गौंथलीले बडो सीप लगाएर आफ्नो घर बनाउँछ। यसले आफ्नो फिस्टाजस्तो फुचुनाले तलैतला भएको घर बनाएको देखेर काग आफू ठूलो र बलवान् भएर पनि तिनीहरूको भन्दा सुन्दर र मनोहर घर कहिल्यै बनाएन। ज्ञान, बुद्धि लगाएर नयाँ–नयाँ कुराको सृजना गर्ने, प्रगति गर्ने रोबटजस्ता मात्र हुन्; सम्झेर, बुझेर उन्नति गर्ने होइनन्।
धूर्त स्यालले कुखुराको खोरै रित्तो पारिदिन्छ। पेटभरि खान नपाएर सुकिसकेकी विधवा आमाले आफ्नी छोरीलाई हेरिपठाउँछिन्। जीउमा लुगा नभएर त्यान्द्रा मात्र भिरेकी छ बिचरीले। पहेंली देखिन्छ। मासु नभएर गालाका हड्डीहरू अग्ला–अग्ला देखिन्छन्; अनि हात खुट्टाहरू बाँसजस्ता छन्। आमाका आँखा आँसुले रसिन्छन्। ‘म यही पोथी बेचेर मेरी अभागी छोरीलाई लुगा हालिदिन्छु’, भनी तिनी मन-मनमा संकल्प गर्छिन्। एक्कासी खोरमा पोथी हच्किन्छे। विधवा हतासिँदै खोरतिर दगुर्छिन्। धनको नाममा बाँचेको एउटै पोथीलाई पनि मुखले गाँजेर स्याल दगुर्छ। स्यालले विधवालाई देख्छ, पछि-पछि दगुर्ने थाङ्ना भिरेकीले पनि देख्छ। लौन गोहार! गोहार! भन्दै चिच्च्याइरहेकी पोथीलाई बचाउने शक्ति बिचरी त्यस विधवामा हुँदैन, बरु हतास भएर थ्याच्चै बस्छिन्। आज तिनको सर्वनाश भएको छ।
यस्तो ठूलो अपराध, यस्तो ठूलो अत्याचार त्यस धूर्त स्यालले गरेको छ; तर त्यसको हृदय पश्चात्तापको आगोले जल्दैन। ‘हाय! मैले टुहुरीलाई मारें नि!’ भन्दै छाती आँसुले भिजाउँदैन। ‘अब म कुमार्गलाई छोड्छु, धर्मको बाटोमा हिँड्छु’ भन्ने निर्णय गरी नयाँ बाटोमा हिँड्दैन। त्यसले यी सब कुरा बुझ्नै सक्तैन। त्यो एउटा जिउँदो रोबट मात्र हो। उता चर्चा चलेको छ—भेडाको पाठाको। कति नम्र, कति दीन; अत्याचार सहने, तर हात नउठाउने; धीरजसाथ सहिरहने, कसैको हानि नगर्ने, मिलनसार इत्यादि। तर सुमार्गमा हिँड्ने निर्णय गरी स्याल कहिल्यै पाठाजस्तो हुन सक्तैन, न त बिग्रन चाहँदा पाठो स्यालजस्तो हुनसक्छ। तर मानिसलाई ज्ञान, बुद्धि, समझ र विवेक दिइएका हुनाले मानिस सप्रन पनि सक्छ; बिग्रन पनि सक्छ।
इंगल्याण्डकी भिक्टोरिया रानी अरू नानीहरूझैँ धेरै गुडिया-हरू बटुलेर खेलिरहेकी थिइन्। एउटी नर्सले नभन्नुपर्ने, तथापि त्यो दिन त्यस नर्सले त्यस बालिकालाई भनिन्—‘भिक्टोरिया, एकदिन तिमी यस देशको राजगद्दीमा बस्नेछ्यौ।’ ‘के म एकदिन रानी हुन्छु? के यो साँचो हो?’ ‘ज्यू साँचो हो।’ तब बालिका भिक्टो-रियाले भनिन्—‘मैले रानी हुनु छ भने, असल रानी हुनुपर्छ; यसकारण गुडियासँग खेल्ने समय छैन।’ त्यही दिन उनले गुडिया-हरू थन्क्याइन्, अनि असल रानीमा हुनुपर्ने गुण बटुल्न थालिन्। पछि १८ वर्षकी हुनसाथ उनी रानी भइन्। यसरी मानिसले सोच्छ, बुझ्छ; केही छोड्छ र केही लिन्छ।
यस संसारको न्यायलयमा न्यायका निम्ति रोबट, पागल र पशुपक्षी उभिनुपर्दैन। पागलले मान्छे नै मार्यो भने पनि न त त्यसको न्याय गरिन्छ, न त त्यसलाई दण्ड नै दिइन्छ। अझै धेरैलाई मार्ला भनेर बाँधेर राख्लान्; तर त्यो दण्ड होइन। तिनीहरूसँग समझ, बुद्धि र विवेक नभएका हुनाले न्याय नगरिएको हो। मान्छेको बुद्धिले त त्यहाँसम्म भ्याउँछ, र न्याय गर्दैनन् भने परमेश्वरले झन् किन न्याय गर्नुहुन्छ त! यसैकारण मृत्युपश्चात् पशुपक्षीहरू न्यायका निम्ति परमेश्वरका सामु खडा हुनुपर्दैन। तर मानिसलाई परमेश्वरले समझ, ज्ञान, बुद्धि र विवेक दिएर पठाउनुभएको हुनाले मानिस परमेश्वरका सामु उभिनुपर्छ, एक–एकजना उभिनुपर्छ; अनि परमेश्वरबाट उचित न्याय गरिनेछ। सृष्टिकर्ताले हरेक मानिसको गुप्त चाल जान्नुहुन्छ। उहाँ सर्वज्ञानी हुनुहुन्छ। उहाँले हरेकको जीवनको पूरा हिसाब राख्नुभएको छ। ‘त्यस दिन परमेश्वरले मानिसहरूको गुप्त कुराको न्याय गर्नुहुनेछ।’1
यही समझ र बुद्धि भएकाले नै ‘मैले साँचो ईश्वरलाई चिन्न सकिनँ’ भनी न्यायको दिन एउटै पनि मानिसले भन्न पाउनेछैन; किनभने सृष्टिकर्ताले भन्नुभएको छ—‘उहाँको नदेखिने गुण, उहाँको सनातन सामर्थ्य र परमेश्वरत्व उहाँकै कामद्वारा जगत्को सृष्टिको समयदेखि नै देखा परिरहेछन्। यहाँसम्म कि मानिसहरू निरुत्तर छन्।’2 ‘साँचो सृष्टिकर्तालाई हामीले चिन्न सकेनौं’ भन्छन् भने त्यो खोपडीभित्र हालिएका समझ र बुद्धि केका लागि? त्यो विवेक केका लागि? केही कारणहरू छन्, जसले गर्दा मानिसले सृष्टिकर्ता परमेश्वरलाई चिन्न सक्तैनन् : (क) पहिलो, मानिसले समझ र बुद्धि लाएर खोज्नै चाहँदैनन्। (ख) दोस्रो, पितापुर्खाले मान्दै ल्याएका कुरामै ढुक्क मानेर बसिरहेका हुन्छन्। साँचो परमेश्वरका विषयमा अनजान रहेर हामी उम्कँदैनौं। जब कुनै गल्ती गर्छौं, हामी पक्राउ पर्छौं, अनि न्यायधीशका सामु उभ्याइन्छौं। त्यस समय ‘हे माननीय न्यायधीश साहब, हाम्रो देशको संविधान वा कानूनमूताबिक यस्तो काम गर्नुहुँदैन भन्ने कुरा मलाई थाहा थिएन। वास्तवमा मलाई संविधान नै थाहा छैन। यसकारण यही आधारमा मलाई निर्दोष तुल्याउनुहोला’ भनेर यदी हामीले बिन्ती गर्यौं भने न्यायधीशले भन्नेछन्—‘कानूनको सम्बन्धमा ‘म अनजान छु’ भन्नु नै अपराध हो, यो देशप्रतिको अभक्ति हो। प्रत्येक नागरिकले संविधान जान्नैपर्छ; जानिनँ भन्ने बहानै चल्दैन।’ परिणाम? संविधान जानोस् वा नजानोस्—दण्ड भोग्नैपर्छ। ‘ढुक्कै रहें, अनजान छु। हे परमप्रधान परमेश्वर!’ नभने पनि हुन्छ। कुनै बहाना चल्दैन। हातखुट्टा सुक्ने पोलियो भनिने रोगको उपचार बच्चा जन्मनेबित्तिकै गरिहाल्नुपर्छ। थाहै भएन; यसकारण आमा-चाहिँले पनि पोलियोको रोकथामका लागि उपचार गरिनन्। पछि बच्चाका खुट्टा सुक्नथाले; तब ‘म अनजान थिएँ, थाहा पाइनँ’ भन्दै विलाप गर्नाले ती सुकेका हातखुट्टा निको हुँदैनन्। यसकारण अनजान रहनु नै मूर्खता हो, अनजान रहन खोज्नुचाहिँ दुर्भाग्य हो। (ग) तेस्रो, घमण्डको कारणले मानिसले, ‘म भूलमा रहेछु, तिमी साँचो रहेछौं’ भनी भन्न सक्तैन। भूल स्वीकार गर्नु मान्छेलाई फलामको चिउराझैँ कठिन लाग्छ। यो छातीमा लुकेर बसेको घमण्डको कारणले हो। साँचो ईश्वरको सम्बन्धमा पनि मानिसले आफ्नालाई त्यागेर अर्कालाई ग्रहण गर्न सक्तैनन्। बरु नभएका कुराहरू बटुली अर्कालाई असत्यै ठहराउने कोशिश गरिरहन्छन्। यसैकारण घमण्डी मानिस स्वर्गमा पस्नै सक्तैन। सत्य परमेश्वरका निम्ति घमण्ड अत्यन्तै गन्हाउने पाप हो।
यसकारण साँचो सृष्टिकर्ता परमेश्वरलाई चिन्नका लागि हामी बुद्धि चलाऔं, समझ चलाऔं। यही कामका लागि हामीलाई समझ, बुद्धि र विवेक दिइएका हुन्। खान र मोज गर्नलाई मात्र हामीलाई सृष्टि गरिएको भए बुद्धि, समझ र विवेक दिनुपर्ने खाँचो थिएन। किनकि यी कुराहरूबिना नै बनका पशुहरूले खूब खाईमोज गरिरहेका छन्। त्यसो भए केका लागि मानिसलाई सृष्टि गरिएको हो त? साँचो सृष्टिकर्तालाई चिनेर उहाँलाई उचित उपासना दिन सकौं भनेर हो; साथै उहाँसँगै उहाँको देश स्वर्गको अपार आनन्दमा रहन पाऔं भनेर सृष्टि गरिएको हो।
लौ त अब बुद्धि चलाऔं। अब सबै ईश्वरहरूलाई कसी लगाएर हेरौं। कसी लाउनलाई हामी डराउनुहुँदैन; कारण यो प्रश्न हाम्रो जीवनको प्रमुख प्रश्न हो। गहना पसलमा झुन्ड्याइराखेका सबै झुम्के बुलाकीहरूलाई कसी लगाई–लगाई नजाँचेसम्म कुनचाहिँ असल र कुनचाहिँ कमसल कसरी थाहा पाइन्छ र? जाँचेर हेरौं, ईश्वर सर्वशक्तिमान्, सर्वज्ञानी, सर्वव्यापी र निष्पाप छन् कि छैनन्। नत्र नरकमा रातदिन तड्पी–तड्पी अनन्त कालसम्म पछुतो मान्नुपर्नेछ।
अध्याय २
के ईश्वर सर्वशक्तिमान् हुनुहुन्छ?
अजेय शक्ति
यस संसारमा बडे–बडे बलवान्हरू जन्मे। हामीले दारा सिंहको विषयमा खूबै सुनेका छौं। त्योभन्दा पहिले भारतमा गामाको खूबै चर्चा भएको थियो। यिनको विषयमा धेरै समय अघि एउटा पत्रिकामा यस्तो लेखिएको थियो—“त्यस बेलामा ओलम्पिक खेलमा भाग लिन गएका थिए। त्यहाँ कुनै विषयमा चित्त नबुझ्दा तिनलाई चौपट्टै रिस उठ्यो। तब तिनले मैदान नै थर्कने गरी कराउँदै भने—‘म सबै देशका बीसजना पहलवान्-हरूलाई एकैचोटि चुनौती दिँदछु। उनीहरू एक–एकजना गरेर मसँग भिड्न आऊन्। हरेकलाई पछार्दा ५ मिनटभन्दा बढी समय लाग्यो भने म हारें भनी स्वीकार गर्नेछु।’ यो अनौठो चुनौती थियो, तर घमण्ड चूर पार्नलाई बीसजनाले मिलेर त्यस चुनौतीलाई स्वीकार गरे। तिनीहरू एक–एक गर्दै आए, तिनले पनि एक–एक गर्दै बीसैजनालाई चित पारे। कतिलाई त पाँच सेकेण्ड पनि लागेन उत्तानो पार्न।
तिनले कसरत गर्दा चलाउने वस्तुहरू अहिले अजायब घरमा राखिएका छन्। तीन मनको फलामको चक्का घिच्रोमा भिरेर कसरत गर्थे। हामी सबैले टार्जनको नाम सुनेका छौं। सबैभन्दा पहिले सन् १९२७ सालमा अमेरिकामा, टार्जन फिल्म बनाउँदा टार्जनको रोल खेल्नलाई १५० भन्दा बेसी बलवान्हरू भेला भएका थिए। जोन्नी बेइसमुलर (Jonny Weissmuller) नामका २३ वर्षका बलवान् १५० जना वीरहरूलाई जितेर आफूलाई टार्जन फिल्मका हिरो बनाए। तिनी साँच्चै सामर्थी थिए। तिनले २३ वटा विश्व रेकर्डहरू तोडे। अनेकौं सुनका मेडलहरूले छाती सिँगारे।
ती वीरहरू कहिल्यै कसैका सामु झुकेनन्। तर एकदिन तिनीहरूका सामु एकजना महासामर्थी खडा भए। त्यसघडी तिनीहरू मुक्का उठाएर, पाखुरा सुर्केर भिडिन गएनन्; तर थर–थर काम्दै त्यसका चरणमा परे। त्यस पराक्रमीले चीलले चल्ला टिपेझैँ गरी ती वीरहरूलाई टिपेर लग्यो। त्यस महासामर्थीको नाम हो, मृत्यु। पृथ्वीको उत्पत्ति भएको दिनदेखि आजको दिनसम्म यस पृथ्वीले अनेकौं वीरहरूलाई जन्म दिसकेकी छन्; तर त्यस परा-क्रमीले एउटैलाई पनि जिउन दिएको छैन। आजसम्म पनि पृथ्वीको काख खाली नै छ।
पृथ्वीले अनेकौं ईश्वरहरूलाई पनि जन्म दिएकी छन्। ती ईश्वरहरूले जीवनमा अनेकौं सामर्थी काम गरे। भक्तहरू अवाक् हुन्थे। भक्तिमा लीन हुन्थे। तर एकदिन चारैतिर भय छर्दै पराक्रमी मृत्यु हाजिर भयो। ईश्वर, जो कसैका सामु झुकेका थिएनन्; मृत्युका सामु लम्पसार परे, र आफूलाई मृत्युको हातमा सुम्पिदिए। यसरी मृत्युले पृथ्वीबाट हरेक वीरलाई, हरेक ईश्वरलाई चुँडेर लग्यो, र आफूलाई महासामर्थी तुल्यायो—प्रमाणित गरेर देखायो।
जिउँदा हुँदा पनि समय–समयमा मृत्युसँग कथित ईश्वरहरूको टक्कर भएकै थियो। त्यस घडी पनि मृत्यु नै विजयी ठहरियो। एक समय किशा गौतमी नामकी अभागी विधवा थिई। आफ्नो एउटै मात्र छोरालाई दोबर माया दिएर हुर्काई। त्यो उसको हृदयको टुक्रै थियो। तर मृत्युले त्यसलाई पनि टिपेर लग्यो। छोरालाई मानिसले श्मशान घाटमा लैजालान् भन्ने ठानी किशाले मरेको छोरालाई बोकी, अनि बजार–बजार जीवन भिक्षा माग्दै हिँड्न थाली। ‘तिम्रो छोरा मरिसक्यो, घाटमा लैजाऊ’ भनी कसैले भनिदिँदा तिनी भागेर पर पुग्थी। धेरैले उसलाई पागल्नी भने।
अन्त्यमा तिनी जेतवन भन्ने ठाउँमा ईश्वरकहाँ गई, अनि ‘हे भगवान्, मेरो छोरालाई जीवित पारिदिनुहोस्’ भन्दै जीवन भिक्षा मागी। त्यसो हुँदा ईश्वरले भने—‘गौतमी, तिमीले त्यस घरबाट अलिकति तोरी ल्याऊ, जहाँ कहिल्यै मृत्यु भएको छैन।’ तिनी छोरालाई बोकेर घरघर र गाउँगाउँमा गई, तर मृत्यु नभएको घर कहीं पनि पाइन। अन्त्यमा ईश्वरकहाँ फर्केर आई। ‘किशा, तोरी ल्यायौ?’ ईश्वरले सोधे। ‘पाइनँ ईश्वर’, किशाले जवाफ दिई। तब ईश्वरले भने—‘देवी, कुलको धर्म, गाउँको धर्म, जनपदको धर्म, देशको धर्म, वेदहरूसहित समस्त लोकको धर्म एउटै छ—त्यो हो अनित्यता!’ छोरा मरेको मर्यै भयो। ‘छोरा, बाबु’ भन्दै किशाले कहिल्यै छोरालाई अँगालो हाल्न पाइन।
आज इतिहास साक्षी छ: घाम, जून साक्षी छन्। मृत्युको हातबाट कोही पनि उम्केनन्। खोइ ती वीरहरू? खोइ ती दैत्यहरू? खोइ ती ईश्वर भनिनेहरू? मृत्युले आफूलाई तिनीहरूको पनि ईश्वर तुल्यायो। यस महापराक्रमी मृत्युलाई जितेर आफूलाई सर्वोच्च सृष्टिकर्ता तुल्याउन सक्ने कोही छन् यहाँ? कोही छन् भने, समझ र बुद्धि भएकाहरूले उनैलाई नै साँचो परमेश्वरको रुपमा ग्रहण गर्नुपर्दैन र?
अजेय शक्ति पराजित
प्यालिस्टाइन देशको नाइन नामको नगरमा एउटी विधवा थिइन्। आफ्ना पतिको मृत्युपछि तिनले नै एउटै मात्र छोरालाई हुर्काएर जवान् पारेकी थिइन्। आफ्ना पतिप्रतिको प्रेम पनि उही छोरामाथि खन्याएकी थिइन्। एकदिन मृत्यु आयो र त्यही एकलो छोरालाई पनि टिपेर लग्यो। तिनको संसार अँध्यारो भयो। कति रोइन्, कति कराइन्, तर छोरा फर्केर आएन। तिनका सबै छिमेकी-हरू भेला भए। रोएर आफ्नो सहानुभूति प्रकट गरे, अनि तिनका छोरालाई खटमा हालेर दफन गर्नलाई समाधि क्षेत्रतिर लगे। तिनी पनि रुँदै पछि–पछि हिँडिरहेकी थिइन्। अरू स्त्रीहरूले तिनलाई डोर्याइरहेका थिए। त्यो शवयात्रा नगरको फाटकबाट निस्कँदै गर्दा प्रभु येशू पनि आफ्ना चेलाहरूका साथमा त्यहीं आइपुग्नुभयो। त्यस स्त्रीका वेदना र पीरलाई देखेर उहाँको हृदय मायाले भरियो। यसकारण उहाँले त्यस स्त्रीलाई भन्नुभयो, ‘हे नारी, नरोऊ!’ त्यसपछि अघि बढेर उहाँले त्यस खटलाई छुनुभयो। ती बोक्नेहरू पनि टक्क अढिए, तब प्रभुले भन्नुभयो—‘हे जवान्, म तिमीलाई भन्छु, उठ!’ तब त्यो मुर्दा उठेर बस्यो, अनि बोल्न थाल्यो। विधवा हुनु, विस्तृत संसारमा एकलै जिउनु, सबैको निन्दा र पेलाइ सहनु साँच्चै हृदय रुवाउने कुरो हो। विचरी त्यो विधवा आफ्नो छोरालाई फिर्ता पाएर कति खुशी भई होली।*
त्यही देशको बेथानी गाउँमा मार्था, मरियम र उनीहरूका भाइ लाजरस बस्थे। उनीहरूका बुबाआमा थिएनन्। लाजरस दिदीहरूका मायाका टुक्रा थिए। एक दिन लाजरस बिरामी भए। अनेक दवाई–पानी गर्दा पनि लाजरस निको नहुँदा यी दिदीहरूले प्रभुलाई बोलाइ पठाए। त्यस घडी येशू प्रभु प्राय: दुई दिन टाढामा, यर्दन नदीपारि हुनुहुन्थ्यो। खबर पाएर पनि प्रभुले दुई दिनसम्म ढिला गर्नुभयो। त्यसपछि बेथानीतिर लाग्नुभयो। त्यहाँ पुग्नुहुँदा लाजरसका दुवै दिदीहरू आएर प्रभुलाई दण्डवत् गरी भने—‘प्रभुजी, तपाईं यहाँ हुनुभएको भए हाम्रा भाइ मर्ने थिएन।’ लाजरस मरेको चार दिन भइसकेको रहेछ। उनका दिदीहरू रोइरहेका थिए। उनीहरूका छिमेकी मित्रहरू पनि रोइरहेका थिए। उनीहरूका मनका दुःखलाई देखेर प्रभुले पनि आँसु झार्नुभयो। त्यसपछि प्रभु लाजरसलाई राखिएको ठाउँमा आउनुभयो। लाजरस-लाई एउटा गुफामा राखिएको रहेछ। यहूदीहरूले लासलाई माटामा गाड्दैनन्, तर पहरा भित्तामा खोपेर सानो कोठा बनाउँछन्, अनि त्यहाँ राख्छन्।* कतिले आफ्ना लागि चिहान आफै बनाएर राख्थे।
लाजरसको लासचाहिँ प्रकृतिले तयार पारेको कोठा अथवा गुफामा राखिएको थियो। ढोकामा ठूलो ढुङ्गा गुडाएर राखिएको थियो। तब प्रभुले भन्नुभयो—‘ढोकाबाट त्यस ढुङ्गालाई हटाओ।’ यो सुनेर दिदी मार्थाचाहिँ आइन् र प्रभुलाई बिन्ती गरिन्—‘हे प्रभु, अब त उसबाट दुर्गन्ध निस्कन थालिसकेको छ, किनकि ऊ मरेको चार दिन भइसक्यो।’ उनले यो कुरा आफ्नो भाइको मायाले भनेकी थिइन्। चिहानको ढुङ्गा हटाउनसाथ भित्रबाट ह्वास्स दुर्गन्ध निस्कनेछ, र ती मानिसहरू ‘छि: छि: गनायो’ भन्दै पछिल्तिर फर्केर पिच्च-पिच्च थुक्नेछन् भनी तिनले सोचिन्। यसरी मेरो भाइ तुच्छ मानिएको म कसरी हेर्न सकूँ भनेर दिदीले ‘ढुङ्गा नहटाऔं’ भनी बिन्ती गरेकी थिइन्। तर प्रभुले त्यो कुरा सुन्नुभएन।
तिनीहरूले ढुङ्गा हटाए। तब प्रभुले के गर्नुभयो? के भागेर डाँडा काट्नुभयो? होइन, प्रभु येशूले ठूलो सोरले कराउनुभयो—“हे लाजरस, बाहिर निक्लेर आओ!” त्यस गरम ठाउँमा, चार दिनमा लाजरसको लास पूरै कुहिसकेको थियो। आँखाभित्रका ती विभिन्न तत्वहरू कुहेर बाक्लो मैलो पानीझैँ भइसकेका थिए। मानिसको सोच्ने, बुझ्ने सारा ज्ञान बुद्धिको केन्द्र, त्यो गिदी खोपडीरुपी भाँडाभित्र कुहेर लाताक्-लितिक् भएको थियो। शरीरभरि छ्याप्पै बुनिएका देखिने र नदेखिने नसाहरू सब कुहेका थिए। मुटुदेखि सारा शरीर घुमीवरी फेरि मुटुमै आइपुग्नु रगतलाई प्राय: २३ सेकेण्ड लाग्छ। रगतले यसरी घुमेर प्रत्येक अङ्गमा जीवन पुर्याउने काम गर्छ। लाजरसभित्रको यही जीवन नदी अर्थात् रगत कुहिसकेको थियो। के यो कुहेको मानिस उठेर आउला त? नकुहेको मान्छे त उठेर आउन सक्तैन भने कुहेको मान्छे त झन् के आउँथ्यो! यो असम्भव कुरा हो। हुनै नसक्ने कुरा हो!! तर “निस्केर आओ!” भनी आज्ञा गर्दा यदि कुहेको मान्छे जुरुक्क उठेर आउँछ भने; कुहेको रगत रातो भई शरीरभरि सलल बहन थाल्छ भने; कुहेको गिदी जस्ताको तस्तै भई सोच्न, बुझ्न थाल्छ भने; लाताक्-लितिक् भई कुहेको आँखाले देख्न थाल्छ भने; सेतो, पहेंलो चिन्न थाल्छ भने यहाँ साँचो सृष्टिकर्ता छोडेर अरू कोही हुनुहुन्न।
‘हेर न, कुहेको मान्छेलाई बोलाउँदै छ, पागल!’ भनेर कसैले येशूलाई भने होलान्। तर सारा भीडलाई अवाक् पार्दै लाजरस चिहानबाट बाहिर निस्के लम्र्याङ–लम्र्याङ! के होला? भनी सास बाँधेर हेरिरहनेहरू कति अवाक् भए; कति कहालिए, कति भागे। चारैतिर कोलाहल मच्चियो। आज संसारभरि आफ्नो महासामर्थ्यको प्रदर्शनी गरेर ईश्वरहरूको ईश्वर भएर बसेका मृत्युले “प्रभु येशू, तपाईं मालिक हुनुहुन्छ” भन्दै प्रभु येशूको आदिपत्यलाई स्वीकार गर्दछ। जिउँदा–जाग्दा लाजरस आश्चर्यचकित भीडका सामु खडा हुन्छन्। पूरै कुहिसकेको मानिसले खडा भएर प्रभु येशू को हुनुहुन्छ भन्ने कुराको परिचय दिँदछन्। त्यो उठेर आउने व्यक्ति लाजरसको आत्मा वा हंस थिएन, तर लाजरस आफै थिए। दिदीहरू दुई हातले ताली मार्दै रमाउँछन्; अनि एक्कासि कुदेर गई भाइलाई अँगालो हाल्छन्। मानिसहरू एक-अर्कालाई हेर्छन्, अनि अवाक् हुन्छन्। चिहानलाई रित्तै छाडेर लाजरस भारी घुइँचाका बीचमा दिदीहरूसित घर जान्छन्।
एक समयमा पृथ्वी थिएन, न सूर्य थियो, न त चन्द्रमा। सम्पूर्ण आकाश खाली थियो। त्यस घडी जसरी प्रभु येशूले लाजरसलाई ‘बाहिर आओ’ भनी हुकुम गर्नुभयो, उसरी नै परमे-श्वरले ‘आकाशलाई ताराहरूले भरिदिऊन्!’ भनी हुकुम गर्नुभयो; तब अकस्मात् ताराहरू शून्यबाट आएर आकाशलाई भरिदिए। ‘ताराहरू आओ!’ भन्ने आवाज गुञ्जँदा आकाशमा भएका ताराहरू आउँछन् भने, ‘बाहिर आओ’ भन्ने आवाज गुञ्जँदा पनि लाजरस बाहिर आउनेछन्। पसीना बहाएर, नेप्टो–चेप्टो भएर, मालसामान ओसारेर परमेश्वरले विश्वको सृष्टि गर्नुभएको होइन। जसरी जर्नेलले ‘क्याप्टन!’ भनेर पुकार्दा क्याप्टन तत्काल थर्थराउँदै हाजिर हुन्छ, उसरी नै जब परमप्रधान परमेश्वरले ‘पृथ्वी!’ भनी पुकार्नुभयो, तब पृथ्वी शून्यबाट हाजिर भयो।
यो उहाँको अपरिमित सामर्थ्यको प्रदर्शनी हो। परमेश्वर यस्तै हुनुहुन्छ। परमेश्वरका अथाह सामर्थ्य र अपार अधिकारद्वारा विश्वको सृजना गरिएको हो भनी परमेश्वरको शास्त्र बाइबलले खुल्लमखुल्ला भनेको छ—(क) जब उहाँले भन्नुभयो, तब भइगयो।
आफ्नो मृत्युको विषयमा प्रभु येशूले यसो भन्नुभयो—(क) त्यसरी नै मानिसका पुत्र पनि सेवा गरिनलाई होइन, तर सेवा गर्न र धेरैको सट्टामा छुटकाराको दामका निम्ति आफ्नो प्राण दिन आए।”5 (ख) अनि उहाँले रोटी लिनुभयो, र धन्यवाद दिएर भाँच्नुभयो, र यसो भन्दै तिनीहरूलाई दिनुभयो: “यो मेरो शरीर हो, जो तिमीहरूका निम्ति दिइन्छ; मेरो सम्झनामा यो गर!”’6 (ग) ‘म आफ्नो प्राणलाई दिँदछु, त्यसलाई फेरि फिर्ता लिनलाई; कसैले त्यो (मेरो प्राण) मबाट खोस्दैन, तर त्यसलाई म आफै दिँदछु; त्यसलाई दिने अधिकार पनि मसँग छ, त्यसलाई फिर्ता लिने अधिकार पनि मसँग छ।’1 (घ) मैले यरुशलेम जानैपर्छ, अनि महापूजारीहरू, शास्त्रीहरूका हातबाट दुःख भोग्नैपर्छ, मारिनुपर्छ, अनि तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ।2
उहाँले आफ्ना प्राणका विषयमा भन्नुभएका अनेकौं कुराहरूमध्ये केही यी पनि हुन् : (क) पापी मानिसहरूका निम्ति म आफ्नो प्राण दिन्छु (ख) कसैले मेरो प्राण मबाट खोस्दैन (ग) म मेरो प्राणलाई फिर्ता लिन्छु; अनि तेस्रो दिनमा बौरेर उठ्छु। उहाँले बारम्बार भन्नुभएमुताबिक नै आफ्नो प्राण दिनुभयो। मानिसले घिच्रोमा झुन्ड्याईराखेको क्रूसले पनि यस कुराको प्रमाण दिँदछ। तर फेरि उहाँले आफ्नो प्राणलाई फिर्ता पनि लिनुभयो। कसरी? तेस्रो दिनमा चिहानबाट जुरुक्क उठेर।
त्यस जमानाका धर्मका गुरुहरूले प्रभु येशूलाई क्रूर रोमीहरूका हातमा सुम्पेर मार्न लगाए। ‘यसैको मात्र चारैतिर नाम चलिसक्यो; यस कुरालाई हामी कसरी खपौं?’ भन्दै तिनीहरू दाह्रा किट्थे। एकदिन मौका पाए, र उहाँलाई क्रूसमा चढाएर उहाँलाई आफ्ना सामुबाट हटाए। तर उहाँले घरी–घरी भन्नुभएको कुरालाई सम्झना गरेर ती फरिसीहरू र पूजाहारीहरू राज्यपाल पिलातसकहाँ गए, र उनलाई बिन्ती गरे—‘माननीय राज्यपाल, यस मान्छेले ‘म तेस्रो दिनमा बौरेर उठ्छु’ भन्ने गर्थ्यो। उसका चेलाहरूले लास चोर्लान् र ‘जीवित भई उठ्नुभयो’ भनी हल्ला फिँजाउँलान्, यसकारण तीन दिनसम्म चिहानको रखवाली गरियोस्।’
राज्यपालको हुकुममुताबिक तिनीहरूले सिपाही लगे, र तिनीहरूले चिहानको रखवाली गरे। तीन दिनपछि भूइँचालो गयो, स्वर्गदूत झरे। चिहानको ढोकाको ढुङ्गा हटाइयो। सिपाहीहरू मुर्दासरह भएर लडिबसे।3 प्रभु येशू चिहाबाट निस्कनुभयो। आजसम्म पनि इस्राएल देशको यरुशलेम शहरमा उहाँको रित्तो चिहान छँदैछ। चालीस दिनसम्म प्रभु येशू ख्रीष्ट आफ्ना चेलाहरूकहाँ देखा परिरहनुभयो; उनीहरूसँग खानुभयो। चालीसौं दिनमा सबै चेलाहरूले हेर्दाहेर्दै उहाँ आकाशतिर उठाइनुभयो। अनि माथि आकाशमा बादलले उहाँलाई ढाक्यो।4
यसरी मृत्युलाई बारम्बार जितेर उहाँले आफूलाई सर्व-शक्तिमान् ठहराउनुभएको छ। साँचो ईश्वर यो भन्दा कम हुनै हुँदैन। बुद्धि चलाऔं, हामी कसको भक्ति गरिरहेछौं। ख्रीष्टियान धर्म प्रभु येशूको जीवित उठाइमाथि बसालिएको छ। पावल, जसले आफ्ना प्रभुका निम्ति आफ्ना शिर दिए। ऊनी भन्छन्—‘यदि ख्रीष्ट येशू जीवित भएर उठ्नुभएको छैन भने हामीहरूको प्रचार पनि व्यर्थै हो, अनि तिमीहरूको विश्वास पनि व्यर्थै हो’1
प्रभु येशू जीवित भई उठ्नुभयो भन्ने कुराका केही प्रमाणहरू
चेलाहरू: येशूको साथमा हिँड्दा बाह्रजना चेलाहरूमध्ये एघारजनाले उहाँका निम्ति आफ्ना प्राण दिए। त्यस जमानामा ख्रीष्टियान हुनुचाहिँ दुःख भोग्नु र काल खोज्नु बराबर थियो। प्राणै दिनु परे तापनि साँचो परमेश्वरकै भक्ति गर्छु, र स्वर्ग जान्छु भनी कम्मर कस्नेहरूले मात्र प्रभु येशूलाई ग्रहण गर्थे।
जमाना खराब भएको हुनाले सबै चेलाहरू मारिए। पत्रुस-लाई काँटीले ठोकेर उँधोमुन्टो झुन्ड्याए। याकूबलाई लाठोले कुटेर मारे। थोमालाई भालाले घोचेर मारे। बाह्रौं चेला, जसले मर्नुपरेन, जो यूहन्ना थिए। यिनलाई पनि विरोधी रोमन सरकारले उम्लेका तेलमा हालेका थिए; तर धुवाँ आइरहेको तेलले पनि यूहन्नालाई एक छेस्को केही गर्न नसक्दा तेलबाट निकाले; र पछि समुद्रको बीचमा एउटा पत्मोस भनिने टापुमा वनवास पठाए। यसरी ९५ वर्षको उमेरतिर उनी एकान्त ठाउँमा वनवासी भएर बसे।
यसरी प्रभुका चेलाहरूले आफ्नो रगतै पोखीकन, प्राणै दिई-कन ‘प्रभु येशू साँच्चै जीवित भई उठ्नुभएकै हो’ भनी ठोस प्रमाण दिँदछन्। प्रभु येशूका कुरा झूटा हुँदा हुन् त के चेलाहरूले प्राण दिन्थे होलान् त? सत्य कुराका लागि ता मानिसले प्राण दिँदैनन् भने झूटा कुराका लागि प्राण दिन्छन् त? यसकारण प्रभु येशूको पुनर्जीवित-चाहिँ मुटुको रगत बहाएर ‘सत्य हो’ भनी प्रमाणित गरिएको कुरा हो।
बाइबल: प्रभु जीवित भई उठ्नुभयो भनी बाइबल धर्म-शास्त्रले भन्दछ। ‘मसीह येशू हाम्रा पापहरूका निम्ति मर्नुभयो, गाडिनुभयो अनि तेस्रो दिनमा पुनर्जीवित पनि हुनुभयो। अनि पाँच सयभन्दा बढी भाइहरूकहाँ देखा पर्नुभयो, जसमा धेरैजना अझै जीवित छन्, कतिचाहिँ मरे।’1 ख्रीष्ट पुनर्जीवित हुनुभयो भनी बाइबलमा सैकडौंपटक लेखिएको छ।
इतिहास: (क) प्रभु येशू क्रूसमा टँगाइनुभएको समयमा रोमी राज्यमा एकजना योग्य ग्रीक मानिसको जन्म भइसकेको थियो। तिनी डाक्टर थिए; त्योभन्दा बढी तिनी एक योग्य इतिहासकार बने। परमेश्वरको डर छातीभरि भएका हुनाले तिनले लेखेका ऐतिहासिक तथ्यहरू सत्यताले परिपूर्ण छन्। तिनको नाम हो, लूका। तिनी भन्छन्—‘सबै कुराका सम्पूर्ण हाललाई शुरुदेखि नै ठीक-ठीक जाँचें।2 सबै कुरा ठीक–ठीक जाँचेपछि तिनी भन्छन्—‘उहाँ प्रभु येशूले अनेकौं पक्का प्रमाणहरूद्वारा आफूलाई उनीहरूकहाँ जीवित देखाउनुभयो; अनि चालीस दिनसम्म उनीहरू-कहाँ देखा परिरहनुभयो।’
प्रभु येशूकै समयका यस इतिहासकार लूकाले लेखेका कुराहरू ठीक नहोलान् भनी शंका गर्ने एकजना मानिसको नाम हो, सर विलियम राम्जे (Sir William Ramsay)। लूका घुमेका ठाउँहरू र तिनले लेखेका सबै कुराहरूलाई जमीनबाट निकालिएका कुराहरू जाँचे। त्यसबाट प्रशस्त प्रमाणहरू पाएपछि तिनले एउटा किताब लेखे। त्यसको नाम हो, ‘The bearing of Recent discovery on the Trustworthiness of the New Testament’ अनेकौं जाँच गरेर बाइबलका कुराहरू एक–एक सत्य रहेछ भन्ने निश्चयता भएपछि यस प्रोफेसरले यसरी लेखे—“विश्वसनीयताको सम्बन्धमा लूकाको इतिहास अद्वितीय छ। लूकाको कुरालाई जतिकै कडा कसीमा लगाएर जाँचे पनि असत्य ठहरिँदैन।”
(ख) यसरी पहिलो शताब्दीमै जन्मेका अरू पनि इतिहासकार र लेखकहरू छन्। तर तिनलाई छोडेर केवल जोसेफस फ्लाभिअस (Josephus Flavius) को नाम लिन मलाई चौपट्टै असल लाग्यो। यिनको जीवन–कहानी नै अचम्मको छ, जसले हामीलाई आकर्षित नगरी छोड्दैन। यिनी विद्वान् मानिस थिए। धर्मको सम्बन्धमा भनूँ भने यिनी फरिसी थिए; प्रभावकारिताको सम्बन्धमा भनूँ भने यिनी थिचोमिचोमा परेकाहरूका निम्ति न्याय दिलाउन रोमका राजाको अदालतसम्म पुगे। बहादुरीको विषयमा कुरा गरौं भने ६६ सालको विद्रोहमा रोमजस्तो राज्यसँग लड्नका निम्ति गालील इलाकाबाट तिनी सेनापतिको पदमा खटिए। लडाइँमा हारेपछि एक ठाउँमा चालीसजना सिपाहीहरू रोमी फौजलाई माया र दया नराखी मार्नेछन् वा कमारा बनाउन लुकेर बसेका थिए।
यसरी निर्ममतापूर्वक मारिनु अथवा कमारा हुनुभन्दा आत्महत्या गर्नु असल हो भन्ने ठानी गोला अर्थात् चिठ्ठा हालेर मार्ने र मर्नेलाई चुन्न थाले। यस प्रकारले अठतीसजना मरिसकेपछि दुईजना बाँकी रहे। ती दुई चिठ्ठा निस्केअनुसार अर्कालाई मारेर आफू बाँच्ने यिनै जोसेफस भए। गोला हाल्दा यिनको भागमा मार्नेमा पर्यो, तापनि यिनले साथीलाई भने—‘मलाई मार, र बाँच।’ साथीले मानेनन्, यसकारण तिनी साथीलाई मार्न बाध्य भए। यिनको सत्यवादीताको विषयमा कुरा गरौं भने यिनले फरिसी भएर पनि प्रभु येशूका विषयमा सत्य–सत्य कुरा लेखे। प्रभुलाई पागलसरह विरोध गर्ने र क्रूसमा चढाउनेहरू फरिसीहरू नै थिए। प्रभु येशूको चिहानमा पहरा राखेर उहाँको चिहानबाट बौरिने कुरा-लाई रद्द तुल्याउन खोज्नेहरू फरिसीहरू नै थिए। (मत्ती २७:६२–६६)। जोसेफसले पनि फरिसी भएका हुनाले ‘येशू तेस्रो दिनमा पुनर्जीवित हुनुभयो’ भनी भन्नु नपर्ने हो, तर तिनका छातीमा मानवता भएको हुनाले तिनले सेतोलाई कालो भन्न सकेनन्, र आफ्नो पुस्तकमा सत्य कुरा लेखे।
संयोगवश कैदी जोसेफस रोमी सम्राटमा धर्मपुत्र हुन पुगे। अनि उनले सम्राटको निजी पारिवारिक नाम फ्लाभिअसको उपाधि समेत पाए। यसरी तिनी जोसेफस फ्लाभिअस भए। यिनै फरिसी जोसेफसले प्रभु येशूको विषयमा आफूले लेखेको किताब एन्टि-क्विटिज (ANTIQUITIES) मा यसरी लेखेका छन्—‘उहाँलाई मानिस भन्नु उचित (Lawful) छ भने, येशू नामका एकजना बुद्धिमान् मानिस हुनुहुन्थ्यो। उहाँ ‘ख्रीष्ट’ हुनुहुन्थ्यो। हामीहरूका मध्यका ठूला–ठूलाका दोषारोपनका कारणले गर्दा पिलातसले उहाँलाई क्रूसमा टँगायो। तर सुरुदेखि नै उहाँलाई प्रेम गर्नेहरूले उहाँलाई त्यागेनन्। किनकि उहाँ तेस्रो दिनमा तिनीहरूकहाँ जीवित देखा पर्नुभयो। अहिले पनि उहाँकै नाम (ख्रीष्ट) द्वारा ख्रीष्टियान भनिने जाति मेटिएको छैन।’*
अनुसन्धान: (क) सन् १६३० तिर इंगल्याण्डमा एकजना प्रख्यात वकिल थिए। तिनले आफ्नो वकालतको दक्षताद्वारा ‘प्रभु येशू बौरेर पुनर्जीवित हुनुभएको कुराचाहिँ दन्त्य कथा मात्र हो’ भनी प्रमाणित गरेर एउटा गतिलो किताब लेख्नलाई कम्मर कसे। किताबका निम्ति तिनले अनेकौं तथ्यहरू संग्रह गरे। तर ती तथ्यहरूले प्रभु येशू पुनर्जीवित हुनुभएको हो भन्ने कुराको प्रमाण दिरहेका थिए। यसो हुँदा तिनले अर्कै किताब लेख्न कर लाग्यो, र तिनले ‘Who moved the stone’ ढुङ्गा कसले हटायो? भन्ने किताब लेखे, जसले कानूनी ढङ्गद्वारा प्रभु येशू पुनर्जीवित हुनुभएकै हो भनी खण्डन गर्नै नसकिने हिसाबले प्रमाण दिँदछ। तिनको नाम फ्र्याङ्क मोरिसन (Frank Morison) हो। यस किताबको पहिलो अध्यायको शीर्षक नै यस किताबले छापिन चाहेको थिएन (The Book that refused to be written) भनेर राखिएको छ।
(ख) माइकल ग्रीन, गिलबर्ट वेस्ट भनिने विद्वान्को विषयमा यसरी लेख्छन्—‘गिलवर्ट वेस्टले प्रभु येशू चिहानबाट पुनर्जीवित हुनुभएको हुँदै होइन भनी प्रदर्शनी दिन खोजेका थिए। तर अनुसन्धानद्वारा वेस्टले यस्ता प्रमाणहरू पाए, जसले प्रभु येशू मरेकाहरूबाट पुनर्जीवित हुनुभएकै हो भन्ने तथ्यलाई निश्चयता-पूर्वक औल्याउँथे। ती प्रमाणहरूलाई नै सँगालेर तिनले ‘Observations on the History and Evidences of the Resurrection of Jesus Christ’ भन्ने किताब सन् १७४७ मा लेखेका थिए। त्यस किताबको पहिलो पानामै तिनले ‘सत्यलाई जाँच गर्नुभन्दा पहिले दोष नदेऊ’ भन्ने कुरा छपाएका छन्। नजाँचीकन दोष दिने मान्छे तिनी नै थिए।*
प्रभु येशूको कुरा उहाँको पुनर्जीवित हुनुभएको कुरा ‘उहिले नै नहुनेको देशमा मिथ्या राजा, मिथ्या रानी बस्थे’ भन्ने दन्त्य कथा होइन। प्रभु येशू ऐतिहासिक व्यक्ति हुनुहुन्छ। उहाँले इतिहासलाई दुई भागमा विभाजित गर्नुभएको छ। संसारभरिको कुनै पनि भाषामा इतिहास पढ्दा साल, शताब्दीको सम्बन्धमा प्रभुको नाम लिनुपर्छ। B.C. भन्छौं, जसको अर्थ हो—Before Christ; नेपालीमा ख्रीष्टपूर्व। A.C. भन्छौं, जसको अर्थ हो—Anno Domini; नेपालीमा प्रभु येशूको साल। लाजरसलाई चिहानबाट जीवित, फेरि आफै पनि मरेकाहरूबाट पुनर्जीवित हुनुभई ‘उहाँ परमप्रधान परमेश्वर हुनुहुन्छ’ भन्ने कुरालाई प्रमाणित हुनुभएको छ। उहाँका अनेकौं नामहरूमध्ये एउटा नाम हो—‘राजाहरूका राजा, प्रभुहरूका प्रभु।’1 मानिसहरूका ईश्वर देवताहरू हुन्, देवताहरूका ईश्वर मृत्यु हो; किनकि मृत्युले देवताहरूलाई मर्याकमुरुक पारेर लग्यो। मृत्युको सामना गर्ने तिनीहरूसँग ताकत थिएन। तर मृत्युका ईश्वर प्रभु येशू हुनुहुन्छ; किनकि ठाँटसँग प्रभु येशू हुकुम दिनुहुन्छ। अनि मृत्युले लुरुक्क भएर थपक्क मान्नुपर्छ। यसरी उहाँ प्रभुहरूका प्रभु ठहरिनुभयो। मेरो आत्माले सत्य ईश्वरको मात्र खोज गर्थ्यो। अनि आज मेरा आत्मा तृप्त छ; किनकि मेरो आत्माले आफ्ना सृष्टिकर्ता परमेश्वरलाई भेट्टाएको छ।
Footnotes :_________
1 He spoke and it was done. (ख) उहाँ सबै (घाम, जून, तारा) को नाम लिँदै बोलाउनुहुन्छ; उहाँको सामर्थ्यको महान्ताको कारणले तिनमा एउटै पनि नआई छोड्दैन।
2 He calls them all by name; because of the greatness of his might not one of them missing. (ग) जब म उनीहरू-लाई बोलाउँछु, तब ती एकसाथ हाजिर हुन्छन्।
3 When I call them they stand together. (घ) उहाँले पृथ्वीलाई आफ्नो सामर्थ्यले बनाउनुभयो।
4 It is he who made the earth by his power. उहाँ हुकुम गर्नुहुन्छ, अनि ती तुरुन्त हाजिर हुन्छन्, उहाँका सामर्थ्य र अधिकार अपरिमित छन्।
अध्याय ३
के ईश्वर सर्वज्ञानी हुनुहुन्छ?
परमेश्वरको अनुपम सृष्टि—कान
दक्षिण भारतको कोलार गोल्ड फिल्ड भनिने ठाउँमा दर्जनौं सुनका खानीहरू छन्। एउटा खानीको नाम हेनरी शाफ्ट रहेछ। लिफ्टजस्तै डब्बामा चढ्यौं। एकजना गाइड थिए। हामी सबैले टाउकोमा हेल्मेट लायौं। खानीभित्र कर्मीहरूले चहकिला बल्ने ब्याट्रीले चल्ने बत्ती निधारमा बाँधेर काम गर्दारहेछन्। हामीलाई पनि त्यस्तै बत्ती दिएका थिए सुरुङ्गभित्रका निष्पट्ट अँध्यारोमा बत्ती बालेर हिँड्नलाई। जमीनभित्र एक सय, दुई सय गर्दै चार हजार आठ सय फिट गहिरोमा पुगेर हाम्रो लिफ्ट रोकियो।
यसरी जमीनभित्र तलतिर जाँदाहुँदि गाइडका इन्टरप्रेटरले बेलाबेलामा हामीलाई “Swallow your Saliva” (आफ्नो थूक निल्नोस्) भन्दै कराउने गर्थ्यो। जति-जति भित्र पस्थ्यौं, उति कान बन्द हुन्थ्यो। थूक निलेपछि फेरि कान खोलिन्थ्यो। तर यति जाबो कुरालाई जान्नलाई दक्षिण भारत नै जानुपर्दैन। हाम्रै ठाउँमा पनि अनुभव गर्न सक्छौं। कालिम्पोङ्गबाट टिस्टा झर्दा मुख बन्द गरेर बसेका छौं भने टिस्टा पुग्नलाग्दा हाम्रो कान धेरै बन्द भएको हुन्छ, डम्म भएको हुन्छ। थूक निलेपछि कान छ्याङ्ग खोलिन्छ। त्यस-पछि मात्र टिस्टा नदी सुसाएको आवाज सुनिन्छ।
ज्ञान र सीप लगाएर बनाएका परमेश्वरका लाखौं काम-हरूका सामु यो कानको कुरा त चौपट्टै सानो कुरा हो; तर यस्तो सानो कुरामा पनि परमेश्वरको अद्भुत ज्ञानलाई देख्दा हामी छक्क नपरी रहन सक्दैनौं। जति बेसी अग्ला ठाउँहरूबाट हामी मधेस झर्छौं, उति नै बेसी हाम्रा कानहरू बन्द हुन्छन्। किन? यसको कारण थाहा पाउनु नै मानिसलाई हजारौं वर्ष लाग्यो। हजारौं वर्ष बितेपछि मात्र मान्छेले पृथ्वीलाई ढाकेर बसेको वायु मण्डलमा प्रेसर (चाप) हुँदोरहेछ भन्ने कुरा थाहा पाए। कान किन बन्द भएको? बोलिरहँदाचाहिँ किन बन्द नभएको? थूक निल्दाचाहिँ किन कान खुलेको? यस्ता कुराहरूका कारणहरू पत्ता लगाउनु मात्र पनि मान्छेलाई हजारौं वर्ष लाग्यो। तर यो जाबो कुरा ता सृष्टि गर्नुभन्दा पहिल्यै परमेश्वरलाई थाहा थियो। पहाडबाट ठाडै मधेस झर्दा मानिसको कान बन्द हुन्छ भनेर नै थूक निल्दा खोलिने व्यवस्था पनि परमेश्वरले पहिल्यै गर्नुभएको हो।
बन्द भएका कानहरूलाई खोल्ने व्यवस्था परमेश्वरले नगर्नु भएको भए हामी पहाडवासीहरूको हालत के हुन्थ्यो होला? हाँ! हाँ!! गर्दै हातको इशाराले बात गर्नेहरूको भीड हुन्थ्यो मधेसका बजारहरूमा। कुरा नबुझेर, कुरा बुझाउन नसकेर हल्लाखल्ला, समस्या, कुटाकुट हुनेथ्यो बजारमा। मधेशका व्यापारीहरूले जिस्केर ‘ए पहाडे बहिराहरूहो, तिमीहरू त मधिसेका A B C D हौ!’ भन्यो भने पनि बिचरा बहिरो पहाडवासीले नसुनेर ‘हुन्छ नि किन नआउनु र?’ भन्दै हात उठाउँदै बाटो लाग्थ्यो। धेरै दुःख भोगेपछि पहाडवासीहरू मिलेर भगवान्लाई उजुर चढाउँछन्—‘हे भगवान्, किन हो कुन्नि’, हामी गरीब पहाडवासीहरू मधेस झर्नसाथ बहिरा भइहाल्छौं। मोटर, रिक्सा आदिको हर्न नसुनेर एक्सिडेन्टमा परी धेरै पहाडवासीहरू लङ्गडा, खँजाहा, अन्धा भइसकेका छन्; धेरै त मरिसकेका पनि छन्। अब हजुरले हामी गरिब पहाडवासीको निवारण गर्नुपर्यो।’ तब भगवान् सोचमा पर्छन्—‘यिनीहरू बहिरा हुनको कारण के छ? मधिसेका कान र पहाडेका कानमा केही भित्रता त छैन। हैन, के भयो? अन्त्यमा भगवान्ले अन्जाम लाएर भन्छन्—‘मनुवाहो, तिमीहरूका कानका दुलाहरू ठूलो पार्यौ भने शायद बहिरा नहौला कि?’ भगवान्को यो सल्लाह पाएर अर्कोपटक सबै पहाडवासीहरू दुवै कानका दुलालाई दुईगुणा ठूलो पारेर टिनका टुटीहरू घुसारेर मधेस झर्छन्। मधिसेहरू ताँतो लागेर टुटी हेर्छन्; तर रोग बीसको उन्नाइस हुँदैन। सबै बहिरा। उता भगवान्लाई समस्या समाधान गर्न चर्को पर्छ। धेरै सोचेपछि क्रोधित भईकन भगवान् भन्छन्—‘हे मनुवाहो, यो निश्चय पनि मधेसका दानव, असुरहरूको काम हो!! तिमीहरू गईकन तप गरेर फलाना भगवान्लाई प्रसन्न गराओ, र भगवान्को बरदानले त्यस्तो हुनेछैन।’ पहाडवासीहरू सबै हिमालतिर लागे। हड्डी छालासम्म भएर भगवान्लाई प्रसन्न गराई घर फर्के, अनि मिलेर सबै मधेस झरे, फेरि कान त ड्याम्मै बन्द।
यसपाली त पहाडवासी मनुवाहरू बहिरा नहोलान् कि भन्ने ठूलो आशा राखेर माथिबाट भगवान्ले हेरिरहेका थिए । हेर्छन् त पहाडवासीहरू फेरि पनि हाँ! हाँ! गर्दै हातको इशाराले कुरा गरिरहेका देख्छन्। भगवान्को चेहराको रङ उड्छ, होश उड्छ। मनुवा आईकन फेरि प्रश्न गर्लान् भन्ने ठानेर भगवान् डाँडाकाँडा नाघ्दै बेग हानेर भाग्छन् । माफ गर्नुहोला, यो त एउटा कल्पना मात्र हो। यसो भनेर यहाँ कुनै ईश्वरप्रति उपहास गरिएको होइन। यदि भगवान् सर्वज्ञानी वा सर्वान्तर्यामी छैनन् भने निश्चय नै यस्तो हुनेछ। यसकारण सृष्टिको प्रत्येक वस्तुले ‘ईश्वर सर्वज्ञानी हुनैपर्छ’ भनी मुटु थर्काउने माग गर्दछ। यसकारण योभन्दा कमको भक्ति गर्नुचाहिँ व्यर्थको दुःख भोगाइ मात्र हो।
तर जसले सृष्टिको सृजना गर्नुभयो, उहाँको ज्ञान अपार थियो। उहाँले फिजिक्स, केमिस्ट्री, बायोलोजी, म्याथमेटिक्स र साइन्स जान्नुहुन्थ्यो। यति मात्र होइन, तर यी सबैलाई जन्माउनुहुने अर्थात् स्थापित गर्नुहुने नै उहाँ हुनुहुन्थ्यो। ज्योति एक सेकेण्डमा १,८६,२८४ माइल दगुर्छ; आवाजाचाहिँ एक घण्टामा ७६० माइल दगुर्छ। H2O दुई भाग हाइड्रोजन र एक भाग अक्सिजनले पानी बनिन्छ भन्ने स्थापित तथ्य (Established fact) हरूमाथि नै विज्ञान बसालिएको छ। तर त्यो तथ्य (fact) को सृजना नै सृष्टिकर्ता परमेश्वरले गर्नुभएको हो। उहाँले चाहनुभएको भए ज्योति एक सेकेण्डमा एक करोड माइल दगुर्न सक्ने, र पानी H5O ले बनिने बनाउन सक्नुहुन्थ्यो। एटम बम पड्किँदा परमेश्वर तर्सनुभएन; किनकि एटमको जटिल–जटिल न्यूक्लिअस र इलेक्ट्रन्स (Complicated and Nucleus electrons) आदि-लाई परमेश्वरले सृष्टि गर्नुहुँदा नै सृजना गर्नुभएको थियो। तर मान्छेलाई पो त्यो पत्ता लगाउन १९४५ A.D. सम्म लाग्यो। यसकारण मान्छेले अर्थात् वैज्ञानिकले आफूलाई परमेश्वरभन्दा ज्ञानी नसम्झे पनि हुन्छ। बरु वैज्ञानिकको खोपडीमा अलिकति समझ छ भने घोप्टो परोस् र नाक रगडी–रगडी अपार ज्ञानी सृष्टिकर्ताको तारीफ गरोस्।
हावाको तौल अर्थात् वजन हुन्छ भन्ने तथ्यलाई ग्यालि-लिओ (Galileo) ले १६३० A.D. मा पत्ता लगाए। त्यस बेलासम्म मानिसहरूले हावाको तौल हुन्छ भन्ने कुरा जानेका थिएनन्। ग्यालिलिओले हावाको वजन पत्ता लगाएको केही समयपछि फेरि अर्का एक वैज्ञानिक इभान्जेलिस्टा टोर्रिसेल्ली (Evangelista Torrielli) ले १६४३ A.D. मा वायुचाप Atmospheric Pressure को पत्ता लगाए। वायुका अर्थात् हावाको वजन भएकोले नै वायु्चाप उत्पन्न भएको हो। ढुङ्गाको २० फिट अग्लो थाकले मान्छेलाई थिच्यो भने पीँधमा पर्ने मान्छेलाई सयौं ढुङ्गाले थिचेको जस्तो हुन्छ, तर टुप्पानिर थिच्नेलाई चाहिँ एक-दुईटा ढुङ्गाले मात्र थिचेको जस्तो हुन्छ। यसरी नै पहाडको टुप्पानिर हावाको चाप अर्थात् थिचाइ कम्ती हुन्छ, तर पहाडको फेदमा अर्थात् मधेसमा भने बेसी हुन्छ।
सृष्टिकर्तालाई वायुचाप पता लगाउने कामै छैन; किनकि उहाँले नै वायुको वजन र चाप बनाउनुभएको हो। मान्छेले त केवल सृष्टिकर्ताले बनाइसक्नुभएको कुरालाई पता लगाउँछन्, तर पनि मानो आफैले बनाएझैँ घमण्ड गर्छन्। एकपटक ठूलो हात्तीले पुल पार गरेछ। पार गर्दा पुल लच्याक्कै भएछ। यसकारण पार गरिसकेपछि हात्तीको कानमा लुकेर बसेको किर्नाले गर्वसाथ भनेछ—‘अरे हौ, हामीले त यस्तो पुललाई पनि लच्याक्कै पारिदियौं!’ किर्नाको यो कुरा सुनेर समझदार मानिसहरू मुख छोपेर मुसुमुसु हाँस्छन्। तर छुच्चाले चाहिँ मुख फोरिहाल्छ—‘तैँले नै लच्याक्कै पारिछस्!’
सीधै ओरालो झर्दा वायुचापले मान्छेको कान बन्द हुन्छ भन्ने कुरा राम्ररी थाहा गरेर नै थूक निल्दा कान खोलिने व्यवस्था भएको कान परमेश्वरले बनाउनुभएको छ। कान तीन भागमा बाँडिन्छन्: एकदमै भित्री भाग, बीचको भाग र बाहिरी भाग। बाहिरी भाग र मध्यम भागको बीचमा कानको पर्दा (Ear-Drum) हुन्छ। हावाको लहर लहरिँदै गएर कानको रेशमी पर्दामा ठोकिँदा पर्दा स–र–र हल्लिएझैँ, कुनै पनि आवाज निस्कँदा आवाजको लहर लहरिँदै गएर कानको पर्दामा ठोकिन्छ। यो कानको पर्दा यति संवेदनशील हुन्छ कि मधुरो आवाजले पनि यो पर्दा स्पन्दित हुन्छ; कम्पित (Vibrated) हुन्छ। बस, यो स्पन्दन; यो हल्लाइको खबर स्नायु (Auditory Nerve) द्वारा मगजमा पुग्छ; तब मगजले यो केको वा कस्तो आवाज हो भनी विश्लेषण (Analysis) गरेर खुट्ट्याउँछ।
कंक्रिटको हावा नछिर्ने किसिमको घर छ। त्यसका भित्र-पट्टिको र बाहिरपट्टिको कोठाको बीचमा एउटा पर्दा लगाइएको छ, जसका चारै छेउ भित्तामा ठोकिएका छन्। मन्द हावा चल्दा पनि त्यो पर्दा फर–फर हल्लिन्छ। तर बाहिरपट्टिको कोठामा चाप बढ्यो भने अर्थात् बेसी हावा भयो भने त्यो पर्दा भित्रपट्टिको कोठातिर घचेटिन्छ। यस्तो घचेटिएको वा तन्किएको अवस्थामा त्यहाँ मन्द हावा चल्यो भने त्यो पर्दा अघिझैँ फर्फरिँदैन। तर भित्रपट्टिको कोठामा हावाको चाप बढेर बाहिरपट्टिको चापसँग बराबर भयो भने, त्यो भित्रपट्टि घचेटिएको पर्दा फेरि आफ्नो ठाउँमा आउनेछ; अनि मन्द हावाको तरंगमा पनि हल्लिन थाल्छ। यही नियममुताबिक कान बनाइएको छ।
हावाको चाप पहाडमा कम हुन्छ। यही वायुवीय चापमा कान सुनिरहेको मानिसले मधेस पुगेपछि सुन्न छोड्छ; किनकि मधेसमा वायुको चाप बेसी हुन्छ। कानको पर्दामा यो बेसी चाप आउँदा हाम्रो कानको पर्दा पनि दुई कोठाको बीचमा भएको पर्दाझैँ भित्रपट्टि ठेलिएर नहल्लने हुन्छ। नहल्लिएपछि सुनिने कुरै भएन। बेस्सरी कराउँदा चाहिँ ध्वनि लहरीमा तिब्रता आउनाले पर्दालाई केही मात्रामा हल्लाउँछ र मानिसले अलि–अलि सुन्न सक्छ।
अहिले हामीलाई मधेसमा कान सुन्नु गाह्रो छैन; यसकारण किन सुन्न सक्यौं भनेर खोज पनि गर्दैनौं। पहाडको टाकुराबाट गाडीमा एक्कासि पहाडको फेदीमा पुग्दा, अनि सुन खानीको लिफ्टमा बसेर एक्कासि ५–६ हजार फिट जमिनभित्र तल झर्दा हाम्रो कान बन्द हुन्छ। त्यस घडी मात्र ‘यस्तो किन भयो?’ भनी हामी सोच्छौं। त्यस घडी थूक निल्दा पनि हाम्रा कान खोलिएनन् भने हाम्रो के अवस्था हुन्छ? अर्कोले सुनोस् भनेर घाँटी चिरुन्जेल चिच्च्याउँछ एकजना, ‘ए साहिँला, नून कसरी पाइस् हौ?’ साहिँला पनि उसरी नै बल गरेर कराउँछ ‘खाजा? मैले त खाइसकें है!’ पूरा गडबडी। मधिसेको सातो जान्छ पहाडेको हल्लाले।
अहिले लाखौं पहाडवासीहरू भारतमा नोकरी गरिरहेछन्, हजारौं छन् पढ्न जानेहरू। तर कान खोलिएन भने भारत नगए पनि भयो। तर हाम्रा सर्वज्ञानी परमेश्वरलाई सब थोक, सब समस्या पहिलेबाट नै थाहा छ। ‘ए है, कान बनाउँदा यहाँनिर भूल भएछ नि हौ’, भन्दै परमेश्वरले आफ्नो सृष्टिलाई बारम्बार सुधारिरहनु पर्दैन।
कानको बाहिरपट्टिको कोठामा चाप बढ्दा भित्रपट्टिको कोठामा पनि चाप बढाएर बीचमा हल्लने पर्दालाई खुल्ला राख्ने प्रबन्ध उहाँले पहिल्यै गरिसक्नुभएको छ। भित्रपट्टिको कोठामा हावा पुर्याउनलाई एउटा नली बनाउनुभएको छ। त्यो नली घाँटीबाट शुरु भएर कानको भित्रपट्टिको कोठासम्म पुगेको छ। यसकारण थूक निल्दा मधेसको चाप भएको वायु हु-रू-रू भित्री कोठामा पस्छ। दुवैपट्टिको चाप बराबर भएपछि पर्दा खुल्ला हुन्छ, तब हल्का ध्वनिको लहरीले पनि पर्दालाई स्पन्दित पार्छ। खबर दिमागमा पुग्छ स्नायुद्वारा, अनि हामी गजबले सुन्छौं।
तपाईंको बिचारमा यस्तो कानलाई बुद्धि लाएर बनाउनुपर्छ कि आफै बनिन्छ? यस संसारका विकासवादी (evolutionist) हरूले आफै बनिएको अर्थात् evolve भएको हो भन्छन्, तर बुद्धिमान् र समझदार मानिसले भन्नेछ—‘कान निश्चय नै विकसित भएको अर्थात् आफै बनिएको होइन, तर धेरै सोची–बिचारी खटाएर बनाइएको हो।’
परमेश्वरको अनुपम सृष्टि—आँखा
आँखा मूल्यवान् अङ्ग हो। बहूमूल्य मेशिनको चौपट्टै स्याहार-सुसार भएझैँ हाम्रा आँखाको पनि निरन्तर स्याहार–सुसार हुँदछ।
(क) दूरबीनले टाढो नजिक हेर्नुपर्दा निरन्तर लेन्सलाई मिलाउनु-पर्छ। झन् आँखाले त नजिक, एकदमै नजिक; टाढो, एकदमै टाढो हेर्नुपर्छ। त यसको लेन्स कसले मिलाउँछ? यो लेन्स मिलाईरहने जटिल काम हाम्रा आँखाहरू आफैले गर्छन्। यो हाम्रो सृष्टिकर्ताको बुद्धिको अपूर्व सीप हो।
(ख) हाम्रो आँखाले रातदिन आफ्नो खोपिल्टामा घुमिरहनु-पर्दछ। यदि घुम्ने वस्तुमा तेल (lubrication) लगाइरहेनौं भने त्यो घुम्न मान्दैन, साथै चाँडै खिइन्छ। आँखामा कसले तेल लगाउने? यस कुराको प्रबन्ध नभएको भए मान्छेले वरपर, तलमाथि आँखा घुमाउनुपर्दा ‘ऐय्या हौ! मरें! मरें’ भन्दै चिच्च्या-उनुपर्थ्यो। मान्छेको एक प्राण छुट्नेथ्यो; अनि उ प्रशस्त गनगना-उनेथ्यो, ‘नघुमाउँदा पनि नहुने, घुमाउँदा पनि प्राण जाने; हन दैवले पनि के यस्तो आँखा बनाको, छि!!’ भन्दै।
तर परमेश्वर अपार ज्ञानी हुनुभएको हुनाले धुनालाई र चिप्लो पार्नालाई कहिल्यै नसक्ने पानीको कुवाको प्रबन्ध आँखा-भित्र गर्नुभएको छ, जहाँबाट निरन्तर पानी निस्किरहन्छ। यस पानीले तेलको काम गर्छ, र आँखा घुकाउँदा कुनै पीडा हुँदैन।
(ग) हाम्रा कोमल गालामा धुवाँको थाकै लागे पनि पोल्दैन न त बिझाउँछ, तर आँखामा छ्यास्स धुवाँ पसे पनि भतभती पोल्छ। धूलोको त कुरा छाडौं धुवाँको कणधरि आँखालाई असह्य हुन्छ। हाम्रा आँखा कति सुकोमल! यी बहुमूल्य अंग हुन्। यसकारण सृष्टि गर्नुहुँदा नै परमेश्वरले यी आँखालाई धोई–धोई निरन्तर सफा र स्वच्छ राख्नलाई दुई विश्वासयोग्य खलासीको प्रबन्ध गर्नुभएको छ। ती हुन्, झिझिम गरिरहने दुई आँखीझ्यालहरू। तर एउटा प्रश्न उठ्छ—‘यसरी चिप्लो पार्दा र धुँदा प्रयोग गरिएको पानी कहाँ जान्छ? परमेश्वरले यस पानीलाई फ्याँक्ने प्रबन्ध गर्नुभएको हुनुपर्छ, नत्र त त्यो पानी आँखाबाट गालैगाला ओरालो झर्नेछन्।
एकदिन मानिसहरू पीरमर्का बोकेर भगवान्कहाँ जान्छन्, र यसरी उजुर चढाउँछन्, ‘हजुरले बनाउनुभएको आँखामा कहीं न कहीं कमी हुनैपर्छ। हेर्नुहोस् हाम्रा गालाहरू! रातदिन बगेको आँसु पुछ्दा-पुछ्दा घावैघाउ भइसके। रातदिन झरेको आँसुले कमिज र ब्लाउज भिजाइदिन्छ। सुकिलो लुगा लाउन कहिल्यै पाइएन!’ गम्भीर भएर भगवान् भन्दछन्—‘ मनुवाहो, हो रहेछ, मैले देखें।’ केही बेर आँखाहरू जाँचेपछि भगवान् भन्छन्—‘अहो! नाली बनाउन बिर्सेछु। आँखा धोएको पानी बग्ने नाली नभएकोले गालै–गाला आरालो झर्दोरहेछ।’ यो पनि एउटा कल्पना मात्र हो। के सृष्टिकर्ताले हर कुरालाई पहिल्यै सोचेको हुनुपर्दैन र? यसैकारण सृष्टिको हरेक क्षुद्र कुराले पनि परमेश्वर सर्वज्ञानी हुनैपर्छ भनी माग गर्दछ। तर परमेश्वरको ज्ञानलाई कसले माथ गर्न सक्तछ र? उहाँले दुई आँखाका नाकपट्टिका कुनामा मुखसम्म पुग्ने दुईवटा नलीहरू बडो सीपसँग बनाउनुभएको छ। ती नलीहरूबाटै आँखामा भएको सबै पानी बगेर मुखभित्र पुग्छ र आँखा सुकसुकाउँदो र सुन्दर भइरहन्छ। यसैकारण आँखामा तीतो औषधी लगाउँदा केही समयपछि मुखलाई तीतो पार्दै त्यो औषधी मुखभित्र पुग्छ। ‘यो तीतो कहाँबाट आयो?’ भन्दै हामी अचम्म मान्छौं; तर यो त्यही नलीबाट छिरेर आएको औषधी हो।
कसै–कसैलाई आँसु बहने रोग लागेको हुन्छ। नरोएको बेलामा वा कसिँगर नपसेको बेलामा पनि आँसु झरिरहन्छ। रुमालले पुछेर आँखा र गाला रातै पार्छन्। यो कस्तो बिमारी हो? आँखामा भएका ती दुई नालीहरू कहिलेकाहीं कुनै कारणवश बुजिन्छन्, र आँसु आँखामा जमिन्छ अनि बाहिर झर्छ। आँखाका डाक्टरले नाली सफा गरिदिएपछि आँसु बहनु बन्द हुन्छ।
ताप र शीत
तातोले हरेक कुरालाई फुलाउँदछ, ठूलो पार्छ। यो एउटा प्राकृतिक नियम नै हो। गरमले औंला फुल्दा औंठी पस्दैन, अनि गोडामा जुत्ता पस्दैन। यस प्राकृतिक नियमले मानिसलाई धेरै सहायता गरेको छ। गोरुगाडा वा भैंसीगाडाको चक्काको वरिपरि फलामको घेरा लगाउँदा मानिसहरू यस नियमलाई काममा लगाउँछन्। तिनीहरू काठको चक्का बनाउँछन्, अनि फलामको घेरा पनि। तर चक्कालाई फलामको घेराभन्दा अलिक ठूलो बनाउँछन्, यसो हुँदा चक्का फलामको घेराभित्र पस्दैन। अब त्यस फलामलाई आगोमा तताउँछन्। तातिँदा त्यो घेरा ठूलो हुन्छ। त्यस बेला त्यस काठको चक्कालाई फलामको घेराभित्र हाल्छन्, अनि पानी खन्याउँछन्। चिसो हुँदा फलाम घटेर आफ्नो वास्तविक आकारमा आइपुग्छ। त्यसो हुँदा फलामको घेराले चक्कालाई कहिल्यै नफुस्कने गरी क्र्याप्प पक्रेर राख्छ।
कुनै बेला फाउन्टेन पेनको ढकनी कसिएर बसेको हुन्छ। कतिपटक निब पटक्कै ननिस्कने गरी होल्डरमा अँठ्याइएको हुन्छ। त्यस बेला नानीहरूले दाँतले टोकेर निकाल्न खोज्छन्। फाउन्टेन पेन बिग्रन्छ, र नयाँ किनिदिनुपर्छ। त्यस बेला यस नियमलाई काममा लगायौं भने ती कुरा सजिलै निस्कन्छन्। पेनको ढकनीलाई तातो पानीमा चोप्नुपर्छ; त्यो फुलिन्छ, र सजिलै निस्किहाल्छ। यसकारण तातोले बढाउँछ, चिसोले घटाउँछ, यो प्राकृतिक नियम (law) नै हो।
ग्रीनल्याण्ड, अलास्का, क्यानाडा, उत्तर यूरोप र उत्तर एशियाका हजारौं नदीनालाहरू हिँउले डम्मै ढाकेको हुन्छ; तर भित्रपट्टिको न्यानो पानीमा सामुद्रिक जीवजन्तुहरू खेलिरहेका हुन्छन्—बाँचिरहेका हुन्छन्। त्यस्ता ठण्डा ठाउँका मानिसहरूले तिनै माछाहरूलाई मारी सहजसँग जीविका निर्वाह गर्छन्। हिउँमा दुलो पार्छन्; त्यस घडी भित्रका माछाहरू उज्यालो हेर्न आउँछन्। त्यही समयमा तिनलाई पक्रेर हिउँका पशुहरू र मानिसहरू बाँच्छन्। तर सबै थोकमा लागू भएको कक्रिने र फुलिने नियम पानीमा पनि लागू भइदिएको भए पृथ्वीमाथि ठूलो विपत्ति आउनेथ्यो। अरू चीज-हरूझैँ पानी पनि चिसोले कक्रिँदा आकार घटेर सानो भइदिने हो भने चिसाले बरफ बनेका टुक्राहरू पानीभन्दा गह्रौँ भईकन ढुङ्गा डुबेझैँ डुबेर समुद्र वा नदीका पीँधमा पुग्नेथिए। सतहको पानी कक्रिँदा डुब्दै गर्नेथ्यो। निरन्तर यसो भइरहँदा समुद्रभित्र बरफ बाक्लो हुँदै जानेथ्यो। अनि माथिबाट पानी पातलो, अन्त्यमा सम्पूर्ण समुद्र र नदी ठोस हिउँमा परिवर्तित हुनेथिए। तब समुद्रभित्रका अरबौं माछाहरू कसरी बाँच्छन् त? अनि त्यहाँका मानिसहरू र पशुहरू के खान्छन् त?
यसैकारण त्यस्तो हुन नदिनालाई परमेश्वरले अरू चीजमा लागू हुने नियमलाई पानीमा लागू हुन दिनुभएन। फलस्वरुप पानी कक्रिँदा आकार धेरै बढ्छ। यसैकारण हुस्स फुलिएको बरफ हल्का भएर पानी माथि–माथि ढकनी भएर बस्दछ। यसरी बरफरुपी ढकनीले भित्रपट्टिको पानीलाई बाहिरपट्टिको कक्र्याउने चिसो र हावाबाट बचाउँछ। यसरी पानी न्यानो रहँदछ, जसले गर्दा पानीमा जिउने प्राणीहरू बाँच्छन्। बाहिरमा पशु र मानिसहरू पनि तिनलाई खाएर बाँच्छन्।
यस्तो हुँदा त्यस्तो हुन्छ भनेर सुदूर भविष्यमा हुने कुराको ज्ञान परमेश्वरलाई कसले दियो? सृष्टि हुँदा कक्रिने र फुलिने काम भएकै थिएन! अपार बुद्धि लगाएर पृथ्वी बनाइएको छ। सृष्टिको कण–कणमा बुद्धिको प्रर्दशनी देखिन्छ। परमेश्वरले भन्नुभयो—‘अरू कुरामा लागू हुने नियम पानीमा लागू हुँदैन। चिसोले पानी फुलिनेछ र घट्नेछैन! बस नियम (law) स्थापित भयो। परमेश्वरले स्थापित गर्नुभएको यही नियममुताबिक पृथ्वी सुचारु रुपले चलिरहेछ। उहाँको ज्ञान कति अपार!!
प्राणीलाई सुरक्षाको हतियार
मानिसलाई परमेश्वरले प्रशस्त दिनुभएको छ: संसार-भरका खानेकुरा दिनुभएको छ। शिकार गर्नलाई चाहिने हतियार बनाउने ज्ञान दिनुभएको छ। कसैले हमला गर्दा बचाउने ज्ञान पनि दिनुभएको छ। तर परमेश्वरले मसिना–मसिना किरालाई धरि बिर्सनुभएको छैन। हर किसिमका प्राणीका लागि हर किसिमका खाद्य बस्तुको प्रबन्ध परमेश्वरले गर्नुभएको छ। खाने कुरा खोजेर खाने साधनका साथसाथै कसैले हमला गर्दा रक्षा गर्ने साधन वा ज्ञान परमेश्वरले हर प्राणीलाई दिनुभएको छ।
यस कुरालाई विचार गर्दा स्कूलमा पढाइने विकासवादको सिद्धान्त (Evolution Theory) लाई खुट्टाबिनाको वस्तुजस्तो लाग्छ। लाटा बुद्धिले हेर्दा पनि त जगत्लाई जता पायो त्यतै जङ्गली घाँस झैँ (evolve) भएको जस्तो लाग्दैन। तर बढो बुद्धि पुर्याएर, सोचेर र सम्झेर सृष्टि गरिएको देखापर्छ। सृष्टि गर्नसाथ त्यसले के खान्छ भन्ने प्रश्न उठिहाल्छ; अनि कुनै किराले आजसम्म खानेकुरा नपाई मर्नुपरेको छैन। सामान्य बनभात खान जाँदा त रातभरि योजना बनाउनुपर्छ भने सुन्दर ढङ्गले चलिरहेको यो विशाल जगत् बिनायोजना र बिनाबुद्धि यस्तो भएको होइन। यो कुरा बुझ्नु ठूलो टाउको चाहिँदैन। त्यसो भए विकासवाद (Evolution Theory) किन प्रख्यात भयो त? मान्छेमा झूटा कुरा मन पराउने एउटा विकृत गुण छ; विकासवादप्रतिको रुचिचाहिँ त्यही गुणको प्रर्दशनी (Display) हो। झूटा कुरालाई रुचाएर विनाशमा जानु मानिसलाई कत्रो रहर रहेछ!
हरेक जन्तुका लागि परमेश्वरले शिकार गर्ने साधन र हमला हुँदा बचाउने साधनको प्रबन्ध गर्नुभएको छ। कति चराहरूले लाब्रे किरा खान्छन्। यसकारण त्यस्ता चराहरूबाट बाँच्नका लागि रुखको रङ जस्तो छ, त्यस्तै रङ धारण गर्ने शक्ति परमेश्वरले ती असहाय लाब्रेहरूलाई दिनुभएको छ। शिरिषका रुखमा शिरिषकै रङका लाब्रेहरू हुन्छन्। भोकटेका रुखमा त्यही रङका लाब्रेहरू हुन्छन्। यसो हुँदा चराहरूले ती लाब्रेहरूलाई देख्तै देख्तैनन्। यही प्रकारले परमेश्वरले कतिलाई बेस्सरी उड्ने, कतिलाई बेस्सरी दगुर्ने शक्ति दिनुभएको छ। कतिलाई सिङ, कतिलाई नङ्रा, अनि कतिलाई चाहिँ लात्ती हान्ने बलियो खुट्टा दिनुभएको छ।
धेरै पशुहरू र किराहरूलाई दुर्गन्ध निकाल्ने शक्ति दिनु-भएको छ। बलियो पशुले दुर्बल पशुको घिच्रो निमोठ्न लाग्दा त्यस दुर्बलले रन्थन्याउने दुर्गन्ध निकालिदिन्छ। बस, बलियोले तुरुन्तै छोडिदिन्छ। कसैका निम्ति लुक्नलाई कछुवाको जस्तो बलियो ढकनीको प्रबन्ध गरिदिनुभएको छ।
यही प्रकारले आ-आफ्नो बच्चालाई रक्षा गर्ने सम्बन्धमा पनि सृष्टिकर्ताले हरेक प्राणीलाई उदेकको युक्ति दिनुभएको छ। यस विषयमा सी.भी. शमूएल ज्यू आफ्नो किताब (God in creation and Redemption) मा लेख्छन्—‘आफ्नो बच्चालाई जन्म दिइ-सकेपछि माउ मृग पहिलेभन्दा तीनचार गुणा बढ्ता दगुर्न सक्ने हुन्छे; साथै देख्ने शक्ति पनि बढ्दछ। भर्खरै जन्मिएको बच्चाको गन्धले गर्दा हिंस्रक जन्तुहरू नजिक आउँछन्। धेरै टाढामै मृगले सिंहलाई देख्दछे, अनि त्यो सिंहको छेउ–छेउ जान्छे। मृगलाई देखेर सिंहले खेद्न थाल्दछ। यसरी सिंहलाई आफ्नो पछि–पछि दगुराउँदै मृगले त्यसलाई जङ्गलको अर्कै भागमा पुर्याउँछे। त्यसपछि सिंहलाई अन्यत्र अलमल बनाइछोडेर मृग हावाको वेगमा आफ्नो बच्चाकहाँ आइपुग्छे।’
चरा र साँपको विषयमा एकजना शिकारीको कुरा पनि लेख्छन्, ‘दक्षिण अमेरिकामा हुँदा एक आइतबार बिहान म जङ्गलमा शिकार खेल्न गएँ। केही समयपछि म एउटा मूढामा बसें। त्यस घडी छेवैको रुखबाट आएको अत्तालिरहेको चराको चिरबिर–चिरबिर गरिरहेको थियो। मैले कारण खोज्नलाई वरिपरि हेरें। तब एउटा साँपलाई त्यस चरा र गुँडतिर हेर्दै रुखमा बेहेरिँदै गइरहेको मैले देखें। त्यस घडी भाले चरालाई केही उपाय खोज्न गएझैँ गरी त्यहाँबाट उडेर गएको देखें। केही छिनपछि त्यो चरा पातैपात भएको एउटा रुखको सानो हाँगा लिएर आयो, अनि गुँडको छेउमा बसेर त्यसले त्यो हाँगा बचेराहरूलाई छोपेर बसेकी पोथी चरामाथि राम्ररी छोपिने गरी राखिदियो; अनि रुखको माथिल्लो हाँगामा गई बसेर शत्रुको बाटो हेर्न थाल्यो। त्यस बेलासम्म त्यो साँप पनि त्यस रुखमा आइपुगिसकेको थियो। त्यो रुखमा बेरिँदै चढ्यो र त्यस गुँडतिर घस्रिँदै जानथाल्यो। गुँडनेर आइपुगेपछि चरालाई ठुङ्नलाई त्यसले टाउको उठायो। तर एकछिनसम्म छक्क पर्दै हेरेपछि एक्कासि टाउको झट्कारेर त्यो पछिल्तिर फक्र्यो, अनि हत्तारिँदै रुखबाट ओर्लेर भाग्यो। त्यसपछि त्यो कस्तो पात रहेछ भनी जान्नलाई म रुखमा चढें। त्यो सानो हाँगा साँपका लागि विष मानिएको पोथ्राबाट भाँचेर ल्याएको रहेछ। त्यसलाई छुनुहुँदैन भनी पछि सबैले भने।
दक्षिण अमेरिकाको जङ्गलमा बस्ने त्यो सानो चराधरि उहाँको आँखाबाट लुकेको छैन। त्यसलाई बचाउने प्रबन्ध र ज्ञान परमेश्वरले त्यसलाई दिनुभएको छ। उहाँका सामु सृष्टिका सम्पूर्ण कुराहरू छ्याङ्छ्याङ्ती छन्। उहाँलाई सबै थोक थाहा छ।1 के साँचो परमेश्वर यस्तै हुनुपर्दैन र?
एकचोटि भगवान् घरमा आइपुगे। घरमा आफ्नो धर्मपत्नी-लाई नभेट्दा उनी अत्यन्तै चिन्तित भए। आफ्नो प्रियमाथि निश्चय नै आपत्ति आइपरेको छ भन्ने आशंकाले उनको हृदय विचलित भएको थियो। तिनले धेरै आँसु बहाए; सबैलाई आफ्नो प्राणप्रियका विषयमा सोधे। भगवान्को कोमलताद्वारा स्पर्शित भएका हुनाले रुखपात र पशुपंक्षी सबैले उनका प्राणप्रियका विषयमा जानेसम्म कुरा बताइदिए। अनि उनीप्रति हार्दिक सहानुभूति प्रकट गरे। भगवान्को यो दुःखद कहानी प्राय: सबैलाई थाहा छ।
तर म उहाँको खोजी गरिरहेको थिएँ, जसको आँखाबाट संसारको कुनै वस्तु छोपिएको वा छिपेको हुँदैन। सब कुराहरूलाई शुरुमै जानीकन सब थोकको पूर्ण प्रबन्ध गर्नुहुने एकजना सृष्टिकर्ता निश्चय नै हुनुहुन्छ भनी सृष्टिको हर थोकले बताइरहेको छ। यसरी म उहाँकै खोजमा लागिरहेको थिएँ।
प्रभु येशू सर्वज्ञानी हुनुहुन्छ
जक्कैको चाहना
प्रभु येशूको समयमा महसूल उठाउनेहरूलाई सबैले घृणाको दृष्टिले हेर्थे। विशेष दुईवटा कारणले गर्दा तिनीहरू घृणित ठहरिएका थिए—(क) यहूदीहरूमाथि रोमीहरूले शासन गरिरहेका थिए। यस्तो कुरा यहूदीहरूले सहनै सक्तैनथे। रोमीहरूलाई यिनीहरू शत्रुसमान ठान्थे। तर महसूल उठाउनेहरूले ती रोमीहरूकै चाकरी गरिरहेका थिए। यसो हँदा महसूल उठाउनेहरू घृणाको पात्र बने। (ख) चीजबीज बिक्री गर्नेहरूबाट बढी पैसा उठाएर तिनीहरू आफू मोटाउने गर्थे; यसैकारण तिनीहरू घृणित ठहरिए। ती यहूदीहरू महसूल उठाउनेहरूलाई ‘पापी’ भन्थे, र तिनीहरूसँग बिल्कुलै सँगत गर्दैनथे। तर प्रभु येशू यस्ता पापीहरूसँग बस्नुहुन्थ्यो, खानुहुन्थ्यो अनि भन्नुहुन्थ्यो—‘रोगीहरूलाई डाक्टरको खाँचो छ।’ यसकारण महसूल कार्यालयमा प्रभु येशूको रातदिन चर्चा हुन्थ्यो। एकजना मत्ती भन्ने महसूल विभागका कर्मचारी त नोकरी नै छोडेर प्रभु येशूको पछि-पछि हिँडिरहेका थिए। जक्कै भन्ने मानिस यस्तै महसूल कार्यालयका हाकिम थिए। तिनका कारिन्दाहरूले रातदिन कुरा गरेकाले फेरि मत्ती पनि कामै छोडी उहाँका पछि लागेकाले जक्कैको मनमा पनि प्रभु येशूलाई हेर्ने चौपट्टै ठूलो इच्छा जागेको थियो। उहाँ हामीलाई छुटकारा दिनुहुने ख्रीष्ट (मसीह) नै हुनुपर्छ भन्ने पनि मनमा लागेकाले प्रभुलाई भेट्ने मौका खोजिरहेका थिए।
एकदिन प्रभु येशू तिनकै शहर जेरिकोमा पस्नुभयो। ‘येशू आउनुभयो, येशू आउनुभयो’ भन्ने हल्ला शहरभरि फैलियो। सबै मानिसहरू उहाँलाई भेट्न दगुरे। असल मौका दखेर जक्कै पनि प्रभु येशूलाई भेट्न गए। प्रभुलाई सधैं नै हजारौं मानिसले घेरिराखेका हुन्थे। यसो हुँदा फेरि तिनी पुड्का पनि भएकाले—थाकुन्जेल कोसिस गर्दा पनि तिनले प्रभुको मुहारको दर्शन पाएनन्। तिनको सब प्रयत्न असफल हुँदा बुद्धि खियाउँदै तिनले मनमनमा भने—‘प्रभुलाई नदेखीकन छोड्दै छोड्दिनँ। म अगाडि जान्छु, र रुखमा चढ्छु, अनि माथिबाट म उहाँलाई धीत मरुन्जेल हेर्छु।’ यस्तो विचार गरेर तिनी त्यहाँबाट दगुरे, र धेरै अघि गई एउटा नेभाराको रुखमा चढे। एउटा अफिसरले सबैका सामु रुखमा चढ्नु, र ग्वाँजे मान्छेझैँ खुट्टा हल्लाउँदै हाँगामा बस्नु लाजमर्दो कुरो मानिने हुनाले तिनी सबैको आँखा बचाउँदै रुखमा चढे, र रुखका पातहरूभित्र लुकेर बसे।
बिस्तारै–बिस्तारै भीड तिनी बसेका रुखको फेदतिरै आइरहेथ्यो। उहाँलाई राम्ररी देख्ने लालसाले जक्कैको हृदय फट्फटिरहेको थियो। प्रभु रुखमुनि आइपुग्नुभयो; अनि अघि बढ्नुभएन, तर उभिएर माथि रुखतिर हेरी भन्नुभयो—‘जक्कै, हे जक्कै, झट्टै ओर्लेर तल आऊ; किनकि आज मलाई तिम्रो घरमा रहनु खाँचो छ।’ सबैले रुखतिर हेरे। पातहरूका बीचबाट महसूल विभागका हाकिम निस्के। कोही मरी–मरी हाँसे; कोही गम्भीर बने। तर बुद्धि चलाउनेहरूले चाहिँ यसो भने—‘हाकिम साहेब रुखमा छन् भनी यहाँले कसरी थाहा पाउनुभयो?’ ‘त्यो कुरा त छोडिदिऊँ न, नाम पो जक्कै हो भनेर कसरी थाहा पाउनुभयो?’ ‘के उहाँलाई सबै थोक थाहा छ??’ हो, उहाँलाई सबै थोक थाहा छ।
जक्कैले झैँ जसले उहाँलाई भेट्न चाहन्छ, त्यससँग प्रभुले भेट गर्नुहुनेछ, र त्यस पापका रोगीलाई उद्धार दिनुहुनेछ। जक्कैको घरमा आएपछि प्रभुले भन्नुभयो—‘आज यस घरमा उद्धार आएको छ।’2 जक्कैले प्रभुलाई कहिल्यै देखेको थिएनन्, तर प्रभुलाई जक्कैको नाउँ, तिनको गाउँ सबै थाह थियो। उहाँ यसरी सब थोक जान्नुहुने सर्वज्ञानी प्रभु मात्र हुनुहुन्न, तर पापीहरूलाई उद्धार दिन चाहनुहुने प्रेमी उद्धारकर्ता पनि हुनुहुन्छ।
प्रकृतिको हर कुरा उदाङ्ग छ
२२ किलोमिटर लम्बाइ र ११ किलोमिटर चौडाइ भएको एउटा ठूलो ताल थियो। अहिले पनि छँदै छ। त्यसलाई मानिसहरूले ‘गालिलको समुद्र’ भन्थे, किनभने त्यो त्यस समय गालील भनिने प्रान्तमा अवस्थित थियो। यही समुद्रको टुप्पानेर देब्रेपट्टि कपर्नहुम भनिने शहर थियो। मैले यहाँ भन्न लागेको घटना यिनै कर्पनहुम र गालील समुद्रमा घटेको घटना हो। त्यस घडी वारिपारि गर्दा डुङ्गामै चढेर मानिसहरू यात्रा गर्थे।
त्यस समयमा बीस वर्षदेखि माथिको हरेक जनबाट मन्दिरको करको रुपमा आधा शेकेल लिइन्थ्यो। प्रभु र उहाँका चेलाहरू त्यस शहरमा पुग्दाहुँदि यही कर उठाइँदैथ्यो। कर्पनहुम आइपुगेपछि उहाँहरू कुनै घरमा जानुभयो। जहाँ–जहाँ प्रभु जानुहुन्थ्यो, त्यहाँ खूबै ठूलो भीड जम्ने गर्थ्यो। हजारौं मानिस प्रभुका पछि-पछि हुन्थे। यसकारण रीतिबमोजिम त्यहाँ ठूलो भीड जमेको छ। प्रभु उनीहरूसँग स्वर्गका राज्यका विषयमा कुरा गरिरहनुभएको छ। पत्रुस नामका चेलाचाहिँ कुनै कारणले शहर गएका थिए। त्यसै घडी मन्दिरको कर उठाउनेहरूसँग उनको भेट भयो। ‘के तपाईं मन्दिरको कर दिनुहुन्छ?’ तिनीहरूले प्रश्न गरिहाले। त्यस घडी पत्रुसले पनि केही नसोचीकनै ‘दिनुहुन्छ’ भनिहाले।
नसोचीकन बोलेकामा पछुतो गरेर कुरा खेलाउँदै पत्रुस घर आइपुगे, अनि प्रभुलाई करको विषयमा भन्न चाहन्थे; तर करको विषयमा प्रभुसँग केही बोल्नुभन्दा पहिल्यै प्रभुले पत्रुसलाई सोध्नुभयो—‘पत्रुस, पृथ्वीका राजाहरूले महसूल वा कर कसबाट उठाउँछन्? छोराहरूबाट कि पराईहरूबाट?’ बजारमा भएको कुरा-कानी प्रभुको आँखाबाट लुकेको छैन। पत्रुसले छक्क पर्दै जवाफ दिन्छन्—‘प्रभु, पराईबाट’ ‘उसो भए त छोराहरू उम्के! तर तिनीहरूलाई ठक्कर नदिऔं। तिमी झिलको किनारमा गएर बल्छी थाप। अनि जुन माछा पहिले पर्छ, त्यसको मुख खोल्दा तिमीले एक शेकेल भेट्टाउनेछौ; त्यसैलाई लगेर तिम्रा र मेरा लागि दिहाल।’3
स्वच्छ आकाशमुनि माइलौं माइल फैलिएको गालील समुद्रको नीलो जलमाथि एउटा डुङ्गा बिस्तारै–बिस्तारै किनारतिर आइरहेको छ। किनारमा आइपुग्नलाग्दा यात्रीहरू भाडा तिर्नलाई आफ्नो पैसाका थैली खोल्न थाल्छन्। कुन्नि किन हो, सबैका सामु थैली खोलेर पैसा निकाल्न धेरैलाई अपठ्यारो लाग्छ। यसैकारण सर्माएर हो वा डराएर हो, अर्कोपट्टि अर्थात् पानीपट्टि फर्केर थैलीबाट पैसा निकाल्दा निकाल्दै एउटा सिक्का पानीमा झरिहाल्छ। बिचरा यात्री, ‘ज्या है! गयो है!...सर्वनाश भयो!’, भन्दै दुःख प्रकट गर्छ। यो सुनेर अरू यात्रीहरूले सोध्दछन्—‘कति खस्यो हँ? कति?’ बिचरा यात्रीले भन्न सक्तैन। कसैले भन्न सक्तैन। तर त्यसै घडी टिलिलि टल्किँदै पानीभित्र झर्ने पैसाचाहिँ एक शेकेल हो भनी कसैलाई एक किलोमिटर टाढामा थाहा भइरहेछ। सिक्काजस्तो गह्रौं चीज पानीमा खसेपछि सीधै त्यो समुद्रको पीँधमा पुग्छ। यो प्राकृतिक नियम नै हो। अनि सबै यात्रीहरूले पनि भन्छन्—‘हो, त्यो सिक्का पीँधमै पुग्यो।’ तर उहाँलाई थाहा भइरहेछ। सिक्का-लाई एउटा चञ्चले माछाले निलेको छ; अनि त्यो त्यसको घाँटीमा अल्झिएको छ। उहाँले दूरबीन तेर्साएर हेरिरहनुभएको छैन। उहाँ त सैकडौं मानिसहरूका बीचमा बोलिरहनुभएको छ। फेरि त्यस घडी दूरबीन दुनियामै थिएन। दूरबीन त सोह्र सय वर्षपछि १६०८ A.D. मा ग्यालिलियोले आविष्कार गरे।
समुद्रभित्र के भइरहेछ, कसले जान्दछ? पानीभित्र टाउको गाडेर बसे तापनि कसले पो समुद्रभित्रको सम्पूर्ण हाललाई जान्न सक्छ र? समुद्र त ठाउँ–ठाउँमा १२ किलोमिटर जति गहिरो हुन्छ, अनि घोर अन्धकार हुन्छ। तर पनि शहरभित्र सैकडौं मानिसहरूका बीचमा बोलिरहनुहुनेले अँध्यारो समुद्रभित्र माछालाई आउँदैगरेको र पैसा निलेको देख्नुहुन्छ। घाँटीमुनि छिरिसकेपछि त्यस चीजको विषयमा कसले जान्दछ र? तर पनि पैसा माछाको घाँटीमै अल्झिएर बसेको छ भनी उहाँलाई राम्ररी थाहा हुन्छ। यी व्यक्ति को हुनुहुन्छ? उहाँ हुनुहुन्छ, प्रभु येशू ख्रीष्ट। मान्छे त मान्छे नै भइहाल्यो; अँध्यारो समुद्रमा यताउता कुदिहिँड्ने जन्तु पनि उहाँको आँखाबाट लुकेको छैन। झन् अचम्मको कुरा, निर्जीव धातु, चाँदीको टुक्रा पनि, जसलाई राम्ररी नहेरेसम्म त्यसको मूल्य थाहा पाइँदैन, उहाँका आँखाका सामु छ्याङ–छ्याङ्ती छ। यसैकारण बाइबलमा उहाँको विषयमा यस्तो लेखिएको छ—‘सृष्टिको कुनै पनि वस्तु उहाँबाट लुकेको छैन, तर जससँग हाम्रो काम छ, उहाँका आँखाका सामु सबै वस्तुहरू नाङ्गा र खुला छन्।’4
उहाँलाई बितेका कुरा र हालका कुरा मात्र थाहा हुने होइन, तर भविष्यमा के हुनेछ, त्यो पनि थाहा छ। यसैकारण उहाँ भन्नुहुन्छ—‘म त अन्तका कुरालाई शुरुदेखि नै, अनि आजसम्म नभएका कुरालाई उहिलेदेखि नै भन्दै आइरहेछु।5 साँचो ईश्वरका लागि वर्तमान्, भूत, भविष्य सब एकै हुन्। यसैकारण उहाँ पत्रुसलाई भन्नुहुन्छ—‘झीलमा बल्छी थाप। पहिले परेको माछाको मुख खोल्दा तिमीले एक शेकेल पैसा पाउनेछौ।’ भरे के हुन्छ, त्यो उहाँलाई थाहा छ। बल्छी थाप्दा बल्छीलाई टोक्न को आउँछ; त्यो उहाँलाई थाहा छ। उहाँको आँखाबाट साँच्चै वर्तमान्, भूत, भविष्य कुनै काल लुकेको छैन; न त कुनै वस्तु नै छिपेको छ। यसकारण उहाँ भन्नुहुन्छ—‘के कुनै मानिस यस्तो गुप्त स्थानमा लुक्न सक्छ, जहाँ म देख्न सक्तिनँ? के स्वर्ग र पृथ्वी दुवै मद्वारा ढाकिएको छैनन् र?’6 मैले यस्तै साँचो ईश्वरको खोज गरेको थिएँ। आज म कति खुशी छु!!’
सामरी स्त्रीको गुप्त जीवन
मैले भन्न लागेको घटना गालील र यहूदिया प्रान्तहरूका बीचमा पर्ने सामरिया प्रान्तको सुखार नामक गाउँको एउटा कुवानेर घटेको घटना हो।7 त्यो कुवाचाहिँ यहूदीहरूका पुर्खा याकूबले बनाएका थिए। एकदिन प्रभु येशू त्यही गहिरो कुवामा बसिरहनु-भएको थियो। प्रभुलाई त्यही कुवामा छाडेर सब प्रेरितहरू खानेकुरा किन्न सुखार बजारमा गएका थिए। बाह्र बजिरहेको थियो। दिन चौपट्टै गरम थियो। अहिले पनि स्त्रीहरू पानी भर्नलाई बिहान र बेलुकै धारामा जान्छन्। दिउँसो बाह्र बजे जाँदैनन्, झन् गरम ठाउँमा त जाँदै जाँदैनन्। तर यो स्त्रीचाहिँ ‘कसैले मलाई नभेटोस्’ भनेर बाह्र बजे पानी भर्न गई। उसलाई भीड मन पर्दैन। तिनी एकलै पानी भर्न मन पराउँछे; किनकि समाजमा उसको नाम त्यति राम्रो थिएन। ‘अरे! यति बेला पनि को मान्छे कुवामा?! तिनी प्रभुलाई टाढैबाट देखेर झस्किन्छे। तर साहस गर्दै अलिक नजिक आएपछि तिनको मनको भार हलुका हुन्छ। ‘ए...यो मान्छे त हाम्रो देशको होइन रहेछ; ठीकै भयो। यसले मेरो विषयमा के जान्दछ र!....यो मान्छे त यहूदी रहेछ। छि: ‘धर्मी हौं’ भन्ने यहूदी जातको पो रहेछ। यिनीहरूले हामीलाई सानो जातको भनेर कति हेप्छन्। हाम्रा तन्नेरीहरूले भेटे भने खेद्छन् नि!’ यस्तै कुरा मनमा खेलाउँदै तिनी कुवामा आइपुगी। जुम्सो यहूदीलाई भए एक–दुई वचन लगाउने नै थिई; तर प्रभुको व्यक्तित्वलाई देखेर उसले केही भन्न सकिन मात्र होइन, तिनको मनमा श्रद्धा पनि जाग्यो।
केही नभनी एक सय फिट गहिरो कुवामा पानी भर्नालाई तिनी तल ओर्ली। त्यो कुवा अझै पनि इस्राएल देशमा छँदै छ।* पानी लिएर आएपछि प्रभुले भन्नुभयो—‘मलाई अलिकति पानी पिउन देऊ न।’ यो सुनेर तिनी छक्क परी, अनि भनी—‘तपाईं यहूदी भईकन म सामरी स्त्रीसँग किन पानी माग्नुभएको?’ प्रभुले भन्नुभयो—‘पानी माग्ने को हो, सो तिमीलाई थाहा भएको भए तिमीले पो माग्ने थियौ; अनि म तिमीलाई ‘जीवनको पानी’ दिनेथें।’ त्यस स्त्रीले भनी—‘हे प्रभु, तपाईंसँग त पानी भर्ने भाँडा पनि छैन, फेरि कुवा गहिरो छ, त कसरी तपाईंसँग त्यो जीवनको पानी आयो?’ प्रभुले भन्नुभयो—‘जसले यो पानी पिउँछ, त्यो त फेरि तिर्खाउँछ; तर जुन पानी म दिन्छु, त्यो पानी पिउनाले त्यो फेरि तिर्खाउनेछैन; तर मैले दिएको पानी उसभित्र एउटा धारा बन्नेछ, जो अनन्त-अनन्तसम्म बहिरहन्छ।’ तब त्यस स्त्रीले उत्तेजित भएर भनी—‘त्यसो हो भने प्रभु, मलाई त्यो पानी दिनुहोस्, र मलाई कहिल्यै तिर्खा नलागोस्।’ त्यो सुनेर प्रभुले भन्नुभयो—‘जाऊ, आफ्नो पतिलाई यहाँ बोलाएर त्याऊ।’
प्रभुको त्यस कुराले उसका आँखाका सामु उसको सम्पूर्ण जीवन उभ्याइदियो। मनको सन्तुष्टको खोजमा एक–एक गर्दै पति बद्ली गर्ने जीवन; अहिलेसम्म पनि शान्ति नपाएको नीरस जीवन; जीवनका कति अँध्यारा पक्षहरू; मान्छेका आँखाबाट लुकाइरहेका कुराहरू। ‘जीवनका गुप्त कुराहरू बुबाआमालाई त थाहा हुँदैन भने अर्कै देशमा बस्ने यो मान्छेलाई के थाहा छ!’, उसले मनमनमा तर्क गर्छे, अनि निर्धक्कसँग प्रभुलाई भन्छे—‘हे प्रभु, मेरा पति नै छैनन्; म अविवाहित हुँ।’ तब प्रभुले भन्नुभयो—‘मेरा पति छैनन् भनेर तिमीले साँचो कुरा गर्यौ। तिम्रा पाँचजना पतिहरू भइसके; अनि अहिले जससँग तिमी बसेकी छौ, त्यो पनि तिम्रो पति होइन; तिमीले ठीक भन्यौ।’
यो सुनेर तिनी साह्रै नै छक्क परी, अनि लजाई; किनकि उसका गुप्त कुराहरूलाई एकजना परदेशीले उदाङ्गो पारिदिए। पाँच जनासँग बसिसकेकी छ भन्ने कुरा बुबा-आमालाई पनि थाहा थिएन। सायद तिनले तीनजना सम्मको नाम बताउन सक्थे होलान्। फेरि यो छैटौंचाहिँ मेरै पति हो भनेर सबैलाई थाह गराएकी थिई; तर आज यी परदेशीले भन्छन्, ‘त्यो पनि तिम्रो पति होइन।’ उसको होइन, कसैको हो; तर उसले भुल्याएर ल्याएकी हो। उसले वर्षौं–वर्षौं छातीमा लुकाएर राखेका गुप्त कुराहरूलाई प्रभु येशूले उदाङ्ग पारिदिनुभयो। अनि उसले विरोध गरिन, न त आफूलाई निर्दोष तुल्याउने अलिकति कोसिस नै गरी; तर नम्रतापूर्वक आफ्नो पापहरूलाई स्वीकार गरी, अनि उहाँचाहिँ मुक्ति दिनुहुने मसीह हुनुहुन्छ भनी विश्वास गरी। ‘हामीले आफ्ना पापहरूलाई स्वीकार गर्यौं भने हामीलाई क्षमा गर्न र हाम्रा पापलाई शुद्ध पार्न उहाँ विश्वासयोग्य हुनुहुन्छ।’8 प्रभुले भन्नुभएको थियो—‘जसले मलाई विश्वास गर्छ, उसको हृदयबाट जीवनका नदीहरू बहेर निस्कनेछन्।’9
तिर्खाले मर्न लागेको बेला पानी पिउनाले खरिएको छाती शीतल हुन्छ, तृप्त हुन्छ, सन्चो लाग्छ। यसकारण पानीले तृप्ति, सन्तुष्ट, शान्ति र चैनलाई देखाउँछ। मान्छे आज एक मुठी तृप्तिका लागि तिर्थ धाइरहेका छन्, यूरोपका पहाडहरू चढ्न पुग्छन्; काठमाण्डौका गल्लीहरूमा ड्रग सुघिँ हिँड्छन्। यही तृप्तिकै खोजमा त्यस स्त्रीले पाँचपल्ट लोग्ने बदली गरेकी थिई। नयाँ लोग्नेले तृप्ति र आनन्दको बहार लिई आउलान् भन्ने आशा गरी उसले नयाँ लोग्नेलाई अपनाउँथी, तर उसको आशा अधुरै रहन्थ्यो। हो, नयाँ लोग्ने अनेकौं कुराहरू लिई आए खानेकुरा, लुगाफाटा, सम्पत्ति। उसले पनि पेटभरि खाई, जीउभरि लगाई, तर हृदय अतृप्तै रह्यो; हृदयको एउटा कोठाचाहिँ साँचो परमेश्वरकै निम्ति रहेछ।
यसकारण जबसम्म हाम्रो हृदयमा साँचो परमेश्वर आउनुहुन्न, तबसम्म हृदयको त्यो भाग अतृप्तै र भोकै रहने रहेछ। तर तिनले यो कुरा जानिन, थाहा पाइन। यसैकारण नयाँ पतिले त निश्चय नै तृप्ति लिएर आउँछन् भन्ने सोची। तर यसपालि पनि तिनी भूलमै परी।
यसरी नै तिनले छोटो अवधिमा छजना पतिहरू बनाइ-सकेकी थिई। ‘जसले मलाई विश्वास गर्दछ, तिनको हृदय भित्रबाट जीवनका नदीहरू बहेर निस्कनेछन्।’ ‘तर मैले दिएको पानी उभित्र एउटा धारा बन्नेछ, जो अनन्त-अनन्तसम्म बहि-रहन्छ।’ के प्रभुका यी कुराहरू सत्य हुन्? त्यो दिन त्यस दुःखी स्त्रीलाई विश्वास गर्न कर लाग्यो।
कसैको जिन्दगीभित्र लुकेर बसेका कुराहरूलाई कसले नङ्ग्याउन सक्छ?! तिनी चौपट्टै छक्क परी। रिङ्टा चल्ने गरी छक्क परी। अनि बिस्तारै, ‘यही परदेशी नै हामीलाई छुटकारा दिन आउनुहुने मुक्तिदाता मसीह हुनुहुँदो रहेछ’ भनी विश्वास गरी। जति आफ्नो गुप्त कुरालाई सोची, उति नै त्यो विश्वास गहिरिँदै गयो। बस, अर्को क्षणमै उसको हृदयमा आनन्दको मुहान फुट्यो। हो रहेछ, उसको विश्वासद्वारा साँचो परमेश्वर उसको हृदयको त्यो कोठा भर्नलाई उसको हृदयभित्र प्रवेश गर्नुभएछ। बाइबलले भन्छ—‘विश्वासद्वारा मसीह तिमीहरूका हृदयमा बसून्’10 तिनी रमाई, चौपट्टै रमाई। तिनलाई त्यो उम्लिरहेको आनन्द पोख्न हतार लाग्यो। तिनी गाउँतिर दगुरिहाली। हतारमा तिनले पानी भर्न ल्याएको गाग्रो पनि त्यहीँ छोडिराखी।11
साँचो परमेश्वर सर्वान्तर्यामी हुनैपर्छ; अनि उहाँ प्रभु येशू हुनुहुन्छ; जसका आँखामा संसारको हर थोक उदाङ्गो छ। समुद्र-भित्रका माछा लुक्न सक्तैनन्, थैलोभित्रको पैसाको हिसाब उहाँसँग छ। जीवनका गुप्त–गुप्त कुराहरू उहाँका सामु छ्याङ्गै छन्। के हामी उहाँलाई साँचो परमेश्वरको रुपमा ग्रहण नगरौं? मैले ग्रहण गरें, फलस्वरुप मेरा पापहरू क्षमा भए, अनि म आनन्दित छु। त्यो स्त्री आनन्दित भई। सबै आनन्दित भए।
अध्याय ४
के ईश्वर सर्वव्यापी हुनुहुन्छ?
जङ्गलमा विषालु साँप
के परमेश्वर एउटै समयमा सबै ठाउँमा उपस्थित हुन सक्नुहुन्छ? आकाशमा, पातालमा, अमेरिकामा र भारतमा, एउटै समयमा? साँचो परमेश्वरको बुनियादी गुण सर्वव्यापकता हो। साँचो परमेश्वर एउटै समयमा सबै ठाउँमा हुनैपर्छ।
मान्छेको रुप धारण गरी आउनुभएको हुनाले प्रभु येशूले आफूलाई मानिसको पुत्र भन्ने नाम पनि दिनुभएको थियो। एकदिन निकोदेमस नाम भएको यहूदीहरूका सरदार प्रभुलाई भेट्न आए, अनि ‘स्वर्गमा कसरी पस्न सकिन्छ?’ भन्ने प्रमुख प्रश्न गरे। उत्तरमा प्रभुले भन्नुभयो—‘म तिमीलाई साँचो–साँचो भन्दछु, यदि कोही नयाँ गरी जन्मेन भने, उसले परमेश्वरको राज्यलाई देख्नै सक्तैन।’1 ‘स्वर्गमा प्रवेश गर्नलाई धर्मकर्म गर्नुपर्छ, तिर्थब्रत गर्नु-पर्छ’, भन्नुभएन, तर भन्नुभयो, ‘तिमीले नयाँ गरेर जन्म लिनु खाँचो छ।’2 कसरी नयाँ गरी जन्मिनु? भन्ने प्रश्नको उत्तरमा प्रभुले भन्नुभयो—‘पुराना जमानामा साँप अग्लोमा टँगाइएझैं, मानिसको पुत्र पनि क्रूसमा टँगाइनुपर्छ। जसकसैले विश्वास गर्दछ, उसैले उनमा अनन्त जीवन पाउँछ।’3 पुरानो जमानामा साँपको कुरा नजान्नेका निम्ति यस कुरालाई अलिक खोलेर बताउन चाहन्छु: पुरानो समयमा आजकालको सिनाई प्रायद्वीपमा, पापको परिणामस्वरुप विषालु साँपहरू निस्केर हजारौंलाई डसे। त्यस समय २०–३० लाख यहूदीहरू मिस्र देशबाट निस्केर अहिलेको इस्राएल देशतिर गइरहेका थिए। खेमामा बडो हाहाकार भयो। उनीहरूका अगुवा मोशाले परमेश्वरकहाँ गएर अन्तर्बिन्ती चढाए। त्यस घडी साँपको विषद्वारा हुने मृत्युबाट बाँच्नका निम्ति परमेश्वरले एउटा उपाय बताइदिनुभयो यसरी—‘मोशा, जाऊ, पीतलको एउटा अति विषालु साँपको मूर्ति बनाऊ, र एउटा अग्लो काठमा झुन्ड्याऊ। जतिलाई साँपले डसेको छ, तिनले त्यस साँपलाई हेरुन्, र ती बाँच्नेछन्।’ मोशाले बनाए, र त्यसलाई अग्लो खम्बामा टाँगे, अनि ‘हेर! हेर!’ भन्दै प्रचार गरे। धेरैले हेरे, अनि लेखिएको छ—‘जजसले त्यस पितलको साँपलाई हेर्यो, त्यो बाँच्यो।’ यो घटनाचाहिँ पापको विषबाट मानिसलाई बचाईकन स्वर्ग लैजानलाई परमेश्वरले जुन योजना बनाउनुभएको थियो, त्यसैको छाया थियो।
अहिलेचाहिँ शैतानले डसेको पापको विष लागेको मान्छे-लाई बचाईकन स्वर्गको राज्यमा प्रवेश गराउने प्रश्न छ। निकोदेमसको यही प्रश्नको उत्तरमा प्रभु येशूले त्यस साँपको घटना र अग्लामा चढाइएको कुरा गर्नुभएको हो। यहाँ प्रभुले सफासँग भन्नुभएको छ—‘त्यो साँपझैं म पनि क्रूसमा टँगाइनुपर्छ।’ पुराना जमानामा मर्न लागेकाहरूले आँखा उठाएर हेरेझैं, अहिलेका सबै मानिसहरूले पनि क्रूसमा टाँगिनुभएका प्रभुलाई विश्वासको आँखाले हेर्नुपर्छ, अर्थात् विश्वास गर्नुपर्छ। के कुरालाई विश्वास गर्नु? प्रभु क्रूसमा टँगाइनुभएको विषयमा बाइबलले जे भन्छ, त्यही कुरालाई विश्वास गर्नुपर्छ। बाइबलले भन्छ—(i) हामी पापी हुँदा–हुँदै येशू ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।4 (ii) प्रभु येशूले हाम्रा पापका निम्ति आफैलाई दिहाल्नुभयो।5 (iii) प्रभु येशू आफै हाम्रा पापहरूलाई शरीरमा बोकेर क्रूसमा टाँगिनुभयो।6 (iv) प्रभु येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्दछ।7 प्रभु येशूले मेरै पापका निम्ति क्रूसमा प्राण दिनुभएको हो, र उहाँकै रगतले मलाई शुद्ध पार्दछ भनी विश्वास गर्नुपर्दछ। यही विश्वासको आँखाले उहाँलाई हेर्नुपर्दछ। तब हाम्रो पाप शुद्ध हुनेछ, क्षमा हुनेछ; अनि प्रभुका आत्मा हामीभित्र आउनुहुनेछ। यही आत्माद्वारा हामी आत्मामा नयाँ गरी जन्मन्छौं। त्यसपछि हामी स्वर्गको राज्यमा प्रवेश गर्नेछौं।
पितलको साँपको विषयमा यस्तो लेखिएको छ—‘जस–जसले हेर्यो, त्यो बाँच्यो।’ हेर्नेहरू मात्र बाँच्यो, हेर्न मन नगर्नेहरू चाहिँ बाँचेनन्। यही नियममुताबिक पापको परिणामबाट बाँच्ने सम्बन्धमा पनि प्रभुलाई क्रूसमा हेर्नेहरू मात्र बाँच्दछन्। पूर्ण रुपले विश्वासको आँखाले हेर्नेहरू मात्र बाँच्दछन्। त्यस निकोदमसलाई प्रभुले यसो पनि भन्नुभयो—‘कोही स्वर्गमा उक्लेर गएको छैन; केवल उनी, जो स्वर्गबाट ओर्लेर आए—मानिसका पुत्र, जो स्वर्गमा छन्।’ यहाँ उहाँले अचम्मको कुरा गरीकन आफ्नो सर्वव्यापीपनाको सूचना दिरहनुभएको छ। उहाँ अहिले पृथ्वीमा निकोदेमससँग बात गरिरहनुभएको छ; तर उहाँ भन्नुहुन्छ—‘मानिसका पुत्र, जो स्वर्गमा छन्।’ यसलाई सरल भाषामा यसो भनिन्छ—‘स्वर्गदेखि ओर्लें, निकोदेमससँग छु, र म स्वर्गमा पनि छु।’ यसकारण प्रभु एकै समयमा स्वर्ग र पृथ्वीमा पनि हुनुहुन्छ।
नथानिएल
प्रभु येशू गालील प्रान्तमा आउनुभयो। त्यहाँ बेथसेदा भनिने शहरका फिलिपलाई प्रभुले आफ्ना चेला हुनका निम्ति निम्त्याउनुभयो। फिलिपले प्रभुलाई पछ्याए। उहाँसँग हिँड्न थाले-पछि प्रभु येशू साँच्चै छुटकारा दिनुहुने मसीह8 हुनुहँदोरहेछ भनी उनलाई निश्चयता भयो। उनलाई बडो आनन्द लाग्यो। तब तिनले यो हर्षको कुरो अरूलाई पनि बताउन थाले। एकदिन तिनले नथानिएल नाम भएको एकजना चिनारुलाई भेटे। तिनी पनि उद्धारकर्ता मसीहको बाटो हेर्ने मानिस नै थिए। यसकारण फिलिपले भने—“हेर नथानिएल, हामीले बाटो हेरेको उद्धारकर्ता मसीह त येशू पो हुनुहुँदो रहेछ।” तर तिनले यस कुरालाई पटक्कै पत्या-एनन्। त्यसकारण फिलिपले भने—“मेरो कुरा पत्याउँदैनौ भने तिमी आफै गएर हेर न।”
मसीहको बाटो हेर्ने कुनै पनि मानिसका निम्ति यो अत्यन्तै रुचिकर कुरा हो। यसकारण नथानिएल तुरुन्तै हिँडे। प्रभुसँग भेटेपछि, ‘तिमी कसका छोरा हौ? तिम्रो नाम के हो? भन्ने प्रश्न गर्नुको सट्टामा प्रभुले नथानिएललाई तिमी यस्ता मान्छे हौ, उस्ता मान्छे हौ’ भन्न थाल्नुभयो। आफ्ना विषयमा प्रभुलाई पूरा ज्ञान भएको थाहा पाएर तिनले प्रभुलाई भने—“हजूरले मलाई कसरी चिन्नुभयो?” प्रभुले भन्नुभयो—“फिलिपले तिमीलाई बोलाउनु-भन्दा पहिले तिमी नेभाराको रुखमुनि हुँदाखेरि नै मैले तिमीलाई देखें।” यो सुन्नसाथ नथानिएलले भनिहाले—“तपाईं मसीह हुनु-हुन्छ। तपाईं इस्राएलका राजा हुनुहुन्छ।”
नथानिएलजस्ता विश्वास नगर्ने मानिसले प्रभुको एउटै वाक्य सुनेर कसरी तपाईं मसीह हुनुहुन्छ भनी घोषणा गरे त? यसले यही देखाउँछ, कि नेभाराको बोटमुनि विशेष रहस्य लुकेको छ। तिनी मसीहको बाटो हेर्ने भक्त मानिस भएका हुनाले बिहानी-पख नेभाराको फेदमा बसेर तिनले आकाश र पृथ्वीका मालिकलाई प्रार्थना गरेका थिए—“हे मालिक, हे मसीह, म कहिलेसम्म तपाईंको बाटो हेरुँ?” तिनले नेभाराको फेदमा विशेष मसीहकै आगमनको विषयमा प्रार्थना गरेका थिए। त्यो घडी उनको विशेष घडी थियो। साथै, प्रभुबाट तिनले सान्त्वना पाएका थिए; अनि तिनी रमाएका थिए। अनि दिउँसो प्रभुले नेभाराको फेदमा कुरा गर्नसाथ अचानक तिनको आँखा खुल्यो। तिनले चिनीहाले—‘मसीह हुनुहुँदो रहेछ’ भनी चिनीहाले, अनि तुरुन्तै घोषणा गरिहाले—“तपाईं मसीह हुनुहुन्छ; तपाईं इस्राएलका महाराजा हुनुहुन्छ।” प्रभु यहाँ पनि हुनुहुन्छ, साथै नथानिएल बसेका ठाउँमा पनि हुनुहुन्छ। अनि नेभाराको फेदमा प्रार्थना गर्ने नथानिएललाई देख्नुहुन्छ। कसरी? कुरा स्पष्ट छ— प्रभु सर्वप्यापी हुनुहुन्छ।
प्रभु येशूको सर्वव्यापकताको विषयमा बाइबलमा लेखिएको छ—“म तपाईंको आत्माबाट भागेर कहाँ जाऊँ? म आकाशमा उक्लें भने पनि तपाईं त्यहाँ हुनुहुन्छ। मैले पातालमा ओछ्यान बिछ्याएँ भने पनि तपाईं त्यहाँ हुनुहुन्छ।”9 “के कुनै मानिस यस्तो गुप्त स्थानमा लुक्न सक्छ, जहाँ म देख्न सक्तिनँ? के स्वर्ग र पृथ्वी दुवै मद्वारा ढाकिएको छैनन् र?”10 प्रभु जहाँ पनि हुनुहुन्छ। सम्पूर्ण स्वर्ग र पृथ्वीलाई प्रभुको उपस्थितिले ढाकेको छ। कुनै पाप उहाँको आँखाबाट लुक्दैन। म आकाशमा जाऊँ, प्रभु त्यहाँ हुनुहुन्छ, पातालमा पसूँ प्रभु त्यहाँ हुनुहुन्छ। के साँचो ईश्वर यस्तै हुनुपर्दैन र? ज्यू, यस्तै हुनुपर्छ। के हामीले यस्तै साँचो ईश्वरको खोज गरिरहेका छैनौं? हेर्नुहोस, उहाँ यहाँ हुनुहुँदोरहेछ। मेरो सौभाग्यले गर्दा मैले उहाँलाई ग्रहण गरें। तपाईंले पनि गर्नुहोस्।
अध्याय ५
के ईश्वर निष्कलङ्क र निष्पाप हुनुहुन्छ?
सारा मानिस जाति एउटै मूलबाट हुन्
संसारका सम्पूर्ण मानिसहरू चाहे ती काला हुन्, चाहे गोरा, सबै एउटै मूल अर्थात् पिताबाट आएका हुन्। यसकारण ती सब एउटै पिताका सन्तान हुन् भन्ने कुरा विश्वास नगर्ने मानिस-हरू पनि पृथ्वीमा धेरै छन्। हब्सी विवान्, टोम स्किन्नर भन्छन्—‘एक समय काला हब्सीहरूचाहिँ मानिसजाति भन्दा तल्ला तहका (Sub–human) हुन् भनी कतिले भन्थे।’ अझै पनि कति मुसलमानहरू ‘स्त्रीजातिमा आत्मा छैन, ती पुरुषका सुखका निम्ति बनाइएका हुन्’ भनी भन्छन्। यस सम्बन्धमा बाइबलले स्पष्टसँग भनेको छ—‘परमेश्वरले एउटै रगत (मूल) बाट पृथ्वीमाथि वास गर्नका लागि मानिसहरूका सबै जातिहरू बनाउनुभयो।’1
बाइबलको यो कुरा सत्यताले पूर्ण छ, तथापि विज्ञानलाई पनि हामी यस विषयमा बोल्न दिऔं: (क) Ethnology (मानवजाति विज्ञान): डा. प्रिचार्ड (Dr. Prichard) मानवजाति विज्ञानका पिता हुन्; अनि उनले भनेका छन्—“सबै जातिहरू एउटै मूलबाटका हुन्; यसमा केही शंका छैन।” (ख) Anthropology (नरदेह–विज्ञान): यस विज्ञानले दुनियाँभरका सबै जातिहरूलाई एउटै मूल वा पिताबाट आएका हुन् भनी भन्दछ। कारणहरू: (i) शारीरिक बनावट (Anatomical Structure)। मुटुभित्रदेखि बाहिर छालासम्म मानिसको बनावट एकै किसिमको छ। (ii) सरदर समान आयु (Life span)। (iii) एउटै निम्नतम ताप (Mean Temperature)। (iv) सरदर समान धड्कन (Pulse)। (v) एउटै प्रसुति अवधि (Period of Pregnancy)।*
प्राण रगतमा छ
बाइबलमा लेखिएको छ—“शरीरको प्राण अर्थात् जीवन रगतमा छ।”2 यो कुरा प्राय: चारहजार वर्षअघि लेखिएको कुरो हो। जसले सृष्टि गर्नुभयो, उहाँलाई नै वास्तवमा प्राण कहाँ छ, थाहा हुँदछ। धेरैले भने, ‘प्राण मुटुमा छ।’; कतिले भने, ‘प्राण मिर्गौला (Kidney) मा हुन्छ।’, तर वर्षौं–वर्षौं अध्ययन गरेपछि प्राण वास्तवमा रगतमा रहेछ भन्ने निष्कर्षमा वैज्ञानिकहरू आइपुगेका छन्। मानिसको शरीर अरबौं–अरबौं सेल्स (Cells) द्वारा बनिएको छ। छड (rod), गिटी, बालुवा मिलेर बिल्डिङ बनिएको हुन्छ। त्यस बिल्डिङमा परेका मसिना–मसिना बालुवाका कणहरूलाई चाहिँ हामी हाम्रा शरीररुपी बिल्डिङका सेल्सहरूसँग तुलना गर्न सक्छौं। शरीरभरिका सारा सेल्सलाई आँखाको झिमिकभर नरोकिईकन खानेकुरा पुर्याउने कामचाहिँ रगतले गरिरहन्छ। यस तथ्यअनुसार सम्पूर्ण सेल्सलाई रगतले नै बचाइराख्छ अर्थात् प्राण भरिरहन्छ। डा. एम. आर. डीहान (एम. डी.) भन्छन्—“रगत बहनु बन्द हुनुभन्दा पहिले कुनै मानिस मर्दैन।”** यसकारण रगत बहन बन्द हुनु नै मर्नु हो। मान्छे मर्यो कि मरेन भनी थाहा गर्नलाई नाडी छाम्नुपर्छ। रगत मन्द गतिले चलेको बेला नाडीको धड्कन खस्रो हातले थाहा नपाइने हुनाले डाक्टरको घिच्रोमा झुन्ड्याइराखेको यंत्र, स्टेथेस्कोपलाई मुटुमाथि राखेर धड्कन आवाजलाई धेरै गुणा ठूलो पारिदिने हुनाले मुटुकै ढकढक गर्ने सानो आवाज पनि सुनिन्छ। डाक्टरले ओंठ लेपारेर धड्कन छैन भनेपछि मर्यो भनेर थाहा पाइन्छ। मुटु बन्द भएर मान्छे मरेको होइन, तर रगत बहन छोडेको हुनाले मान्छे मरेको हो। मुटुमा प्राण वा जीवन हुँदो हो त नकली मुटु लाउँदा मान्छे मर्नुपर्थ्यो। आजकाल मान्छेको मुटु थोत्रो भइदिँदा त्यस थोत्रोलाई फालेर एउटा बलियो मान्छेको तन्दुरुस्त मुटु गाँसिदिन्छन्। यस कामलाई अंग्रेजीमा हार्ट ट्रान्सप्लान्टेशन भनिन्छ।
सबैभन्दा पहिले दक्षिण अफ्रिकामा हार्ट ट्रान्सप्लान्टेशन गरियो। कसै–कसैले आफ्नो मुटु दान दिन्छन्। दुर्घटनामा पर्नेहरूका मुटु पनि दानस्वरुप पाइन्छ। यस्तै मुटु लगेर मुटु फालिएको रोगीको मुटुका ठुटाहरूमा गाँसिदिन्छन्। नयाँ मुटु नगासुन्जेल नकली मुटु, जो धातुले बनेको एउटा मेशिन हो, त्यसले काम गरिरहेको हुन्छ। यदि प्राण वा जीवन मुटुमा हुँदो हो त मुटु फाल्नसाथ मान्छे मरिहाल्थ्यो। यसकारण अनुभवले देखायो; आधुनिक चिकित्सा प्रणालीले देखायो, बाइबलले प्राण रगतमा छ भन्ने कुरा सत्य हो।
अमेरिकाको राष्ट्रपिता जर्ज वासिङ्टन हुन्। तिनी र अमेरिकी जनताको ठूलो बलिदानद्वारा सन् १७७६ मा अमेरिका स्वतन्त्र भयो। योभन्दा पहिले अमेरिका अंग्रेजको अधीनमा थियो। यिनै वीर वासिङ्टन एक दिन घोडा चढेर थकित भई घर आइपुगे। उनलाई धेरै खोकी लागेको थियो। भोलिपल्ट जरो पनि आयो। त्यस जमानाको उपचार विधिअनुसार तिनको शरीरबाट रगत निका-लियो; रगत बग्न दिइयो। फलस्वरुप अमेरिकाका प्रथम् प्रिय राष्ट्रपिताको मृत्यु भयो। रगतमा प्राण छ भन्ने कुरा मानिसलाई त्यस घडीसम्म थाहा थिएन। यसरी प्राण रगतमा हुन्छ भन्ने कुरा प्रमाणित भयो।
आजकाल सब थोक विकासे खाइरहेका छौं। विकासे अण्डा, विकासे कुखुरा, विकासे फलफूल, विकासे अन्नपात। जनवृद्धिका साथसाथै अन्न धेरै फलाऔं भन्ने आन्दोलन पनि मच्चियो। यसका लागि रासायनिक मल र ठिमाहा (Hybrid) बीउ मान्छेले उत्पादन गर्यो। साँच्चै ठूला–ठूला दाना र झुप्पा भएका फल फल्न लागे। कुखुराहरू चाँडै बढ्ने र धेरै अण्डा पार्ने भए। यस विकास आन्दोलनले उत्पन्न गरेका कुरालाई मानिसहरू विकासे भन्न थाले। अहिले विकासेले ताकत दिँदैन भन्ने कुरा सबैतिर फैलिएको छ। यो विचार हामी पहाडेहरूका मात्र होला भनी सम्झेका थियौं, तर अहिले पश्चिमी देशका मानिसहरूले पनि त्यसै भन्न थालेका छन्।
यस विकास संग्रामले भालेबिना नै पोथीहरूबाट अण्डा उत्पन्न गर्छ। यो विकासे अण्डा बजारभरि देखिन्छ—ठूला, सस्ता बजारभरि सेतै–सेतै। तर यस विकासे अण्डाबाट चल्लाहरू निस्कँ-दैनन्। बाईस दिन त के? एकसय बाईस दिन ओथ्रा बसे पनि चल्लाहरू निस्कँदैनन्। किन? किनकि सबै विकासे अण्डा भाले-बिनाका हुन्। यसकारण तिनमा जीवन नै हुँदैन। विकासे चिज कमसल र कम गुणस्तरकै हुन्छ।
त्रिवेणी अर्थात् टिस्टा रंगितको दोभानमा म पन्ध्रपल्ट जति मकर नुहाउन गएको छु। त्यस बेला मेला चौपट्टै राम्रो लाग्थ्यो। पूर्व नेपालबाट हाम्रा दाजुभाइ र दिदीबहिनीहरू सुन्तला बोक्नलाई आएका हुन्थे। तिनीहरू गीत गाउँदै–गाउँदै टिस्टा रंगित मल्लीका बाटामा हिँड्थे। त्यस बेला तिनीहरूका गीतले रनबन नै गुन्जन्थे। ती रमाइला दृश्यहरू अब छैनन्, अनि गीत गाउनेहरू पनि छैनन्। अब त केवल सम्झना मात्र छ; जुन सम्झनाले आँखा रसाइदिन्छ। दोभानमा सानो दुनामा अण्डा फुटाएर मेरा बुबा-बाजेहरू झूरुम्म भएर हेर्ने गर्थे। लौ रगत पो रहेछ भनेको सुन्दा म पनि दगुरेर हेर्न जान्थें। यसरी अनेकौं चोटि मैले पनि त्यस्ता अण्डाहरूमा रगतका साना–साना छिटाहरू देखेको छु। त्यो रगतचाहिँ रगतमा जीवन हुन्छ भन्ने कुराको प्रमाण हो। तर हजारौं विकासे अण्डालाई फुटाउनोस्, भेट्टाउनुहुनेछैन। दश दिन ओथ्रा राखेर फुटाउनोस्, भेट्टाउनुहुनेछैन। तर भालेबाट भएको अण्डालाई केही घण्टा ओथ्रा दिएर फुटाउनोस्, त्यहाँ तपाईंले जीवन शुरु भइसकेको देख्नुहुनेछ—रगतको छिटा आइसकेको हुन्छ।
बाइबलमा सन्तानको गणना हुँदा पुरुषबाट मात्र सन्तान चलेको देख्दा मलाई नराम्रो लाग्थ्यो। स्त्रीहरूमाथि अत्याचार भएको लाग्थ्यो। दुर्भाग्यवश विवाहित दम्पतिको सम्बन्ध-विच्छेद हुँदा सन्तानमाथि बुबाको हक लागेको देख्थें, र धेरैपल्ट चिढिएँ। ‘यो कानून बनाउनेहरूको बुद्धिहिनता हो’ भनें। तर जब रगत र जीवनको कुरा आउँछ, म गम्भीर भएर सोच्छु; अनि परमेश्वरले बाइबलमा जे भन्नुभयो उचित भन्नुभयो भनी सम्झन्छु। हुन त एउटा सृष्टि गरिएको व्यक्तिले सृष्टिकर्तालाई टाउको उठाएर के भन्न सक्छ र? तथापि मूर्खतामा हामीले भन्नेरहेछौं। हो, भालेको अंश आएपछि मात्र अण्डामा जीवन शुरु हुँदछ। पोथीले धेरै कुरा दिए तापनि जीवन भालेबाट नै आउनेरहेछ। यसकारण सन्तानमाथि पुरुषको हक लाग्नु मुनासिबै रहेछ।
विकासे अण्डामा सबै थोक होलान्। शायद सम्पूर्ण चल्लाहरू बन्दो हो, तर जीवन मात्र हुँदैन। जीवन हुनलाई भालेको अंश त्यहाँ हुनुपर्छ। यसरी नै पुरुषको अंशबाट जीवन बन्दछ। ठीक यही प्रकारले मनुष्य जातिमा पनि पहिलो पुरुष आदमबाट छोरामा, छोराबाट नातिमा, नातिबाट पनातिमा रगत सर्दै आयो अर्थात् जीवन सर्दै आयो। यसैकारण एउटै रगतबाट परमेश्वरले सबै जातिहरूलाई बनाउनुभयो3 भन्ने बाइबलमा लेखिएको वचन सत्यताले परिपूर्ण छ। तर एउटै रगतबाट परमेश्वरले सबै जातिहरूलाई बनाउनुभयो भन्ने कुरा मान्छेको टाउकोमा पस्न नसक्दा मानिसले त्यस कथनलाई अर्थ्याउन खोजे; फलस्वरुप नेपाली बाइबलको नयाँ नियममा एउटै मानिसबाट अनि हिन्दीमा एउटै मूलबाट भन्ने शब्दहरू प्रयोग गरिएका पाइन्छन्।
मानिसले आफ्नो सीमित बुद्धि लगाएर परमेश्वरको जीवित वचनलाई यसरी टेढा पार्छन्। त्यहाँ रगतबाहेक अरू कुनै शब्द हुनै सक्तैन। मूल भाषा ग्रीकमा हेमा (Haema) शब्द प्रयोग भएको छ, जसको अर्थ रगतबाहेक अरू केही हुँदैन। यो कुरा चित्तमा नपसे हामीले अंग्रेजीमा प्रयोग गरेको हेमा (Haema) शब्दले नै यस कुराको प्रमाण दिन्छ: Haemorrhage (हेमरिज = मसिना नसाहरू चुँडिएर रगत बहनु); Haemophilia (हेमफिलिया = अलिकति चोट लाग्दा पनि धेरै रगत बहने अर्थात् रगत नजामिने रोग)। Haemoglobin (हेमोग्लोबिन = रगतलाई रातो रंग दिने वस्तु) इत्यादि।
हाम्रा मूल पिता आदमद्वारा जीवन मात्र बहँदै हामीसम्म आइपुगेको होइन, तर जीवनका साथ–साथमा पाप पनि सबैमाथि राज्य गर्दै हामीसम्म बहँदै आइपुगेको छ। बाइबलले भन्छ—“एउटै मान्छे अर्थात् आदमद्वारा पाप जगत्मा आयो।”4
प्राणसँग पाप पनि बगिआयो
म यति राम्रो बोली लिएर आएँ। मैले नाइटिङ्गेलको स्वरले गाउन त सकिनँ, तर तोते बोलीमा आमालाई भन्थें—“आम्मा, पँप्, पँप् दान्थु नि!” आमाले मलाई अँगालोभित्र लिन्थिन्। गाउँका काहिँला दाइ, साँहिला दाइ सब खुशी हुन्थे; कान्छी दिदी पनि खुशी हुन्थिन्। अनि आइफलजस्तो गाला तान्दै भन्थिन्—“हाम्लो भाइ पँप्, पँप् दान्थ” बोलेर मैले सबैलाई खुशी पारें, तर कसरी यही मुखभरि गाली आयो? झूट बोलेर, निन्दा गरेर कसरी मैले अनेकौंका हृदयमा चोट पुर्याएँ? घोच्ने वचन बोलेर कसरी कति-लाई रुवाएँ? यी अत्यन्त असुन्दर कुरा कहाँबाट आए? घुमेका परेलाले मेरा आँखा सुन्दर देखिन्थे; आमाका साथीहरूले नानीको आँखा कति राम्रा भन्थे। तर कसरी यो आँखामा लोभ भरिएर यो लोभी आँखा बन्यो? डाहा र निर्दयता बोकेको आँखा भयो? के पाप पढाउने स्कूलमा गएर क ख ग सिके झैं मैले पाप सिकें त? स्कूलमा पाप सिकाएनन्, बरु पाप गर्दा कान निमोठिदिए। तब झूट कहाँबाट आयो? लोभ कहाँबाट? स्वार्थ, छल कहाँबाट आए? यो सोचेर छक्क पर्नुपर्ने कुरा हो। यस्ता कुराहरू कहाँबाट आए? यसको उत्तर एउटै मात्र छ—“एउटा मान्छे आदमद्वारा पाप जगत्मा आयो।”4 जीवन बोकी आउने रगतका साथ–साथमा पाप पनि सँगसँगै आयो।
यो पापको मूल हृदयमा भएकाले मैले पाप गरें। अब त मेरा पापहरू हिमालचुलीभन्दा अग्ला भइसके। सिरकले छोपेर मैले पापलाई दबाउन सकिनँ। कोठामा थुनेर पापलाई कैद गर्न सकिनँ। आँखा चिम्लिराखेर, मुखलाई सिलाएर, ऋषिले झैं हातलाई उचालिराखेर मैले पापलाई निष्क्रिय पार्न सकिनँ। पाप गर्ने मेरा छाउराहरू चारैतिर कुद्छन्; ती फुक्का छन्—मनपरी पाप गर्नलाई।साँझमा बसेर गन्ती गर्दा मेरा अंग–प्रत्यंगरुपी छाउराहरूले गरेका पाप पहाड बनिसकेको हुन्छ। एक दर्जन वर्ष, एक कोरी, दुई कोरी वर्ष थाहै नपाई काटिसकेछु। कपालमा कहीं–कहीं सेतो केश देखिन थाल्यो। अहिलेसम्म मेरा छाउराहरूले गरेका पापको कत्रो राश भयो होला? अब त साँच्चै मेरा पाप हिमालचुली भइसके। कसरी मेरो उद्धार होला? कसरी मैले छुटकारा पाउँला?
हाम्रो कत्रो पीर छ, हाम्रो कत्रो भार छ! तर प्रभुको स्तुति होस्! हाम्रा भार र हाम्रा समस्याभन्दा अनेकौं गुणा ठूलो छुट-काराको प्रबन्ध प्रभु येशूले गर्नुभएको छ। उहाँले तयार पार्नुभएको छुटकारा अर्थात् मुक्तिका दुईवटा पखेटाहरू छन्: (क) पापको क्षमा, र (ख) पापको शुद्धि। यी दुई कुराहरूद्वारा उहाँले हामीलाई दुई अनुपम वरदानहरू दिन चाहनुहुन्छ। ती हुन्: (क) पापलाई क्षमा गरेर नरकको दण्डबाट छुटाउनुहुन्छ, र (ख) पापको शुद्धिद्वारा स्वर्गको राज्यमा प्रवेश गराउनुहुन्छ। यसकारण हामी प्रभु येशूद्वारा नरकको दण्डबाट मात्र उम्कँदैनौं, तर स्वर्गमा पनि प्रवेश गर्छौं। पृथ्वीमा पापको क्षमा र पापको शुद्धि हामी कहीं पाउँदैनौं। यी अनुपम र अप्राप्य कुरा हुन्।
छुटकारा अर्थात् मुक्तिका निम्ति धेरैजना भगवान्मा भर पर्छन्। साँचो हो, उनमा भर पर्नाले सबै धर्मीहरूले मुक्ति पाउँछन्; सबै धर्मीहरूले उद्धार पाउँछन्, किनकि भगवान्ले भनेका छन्:
‘परित्राणाय साधुनाम् विनाशाय च दुष्कृताम्
धर्म संस्थापनार्थाय संभावामि युगेयुगे।’
अर्थात् “धर्मीहरूलाई मुक्ति दिन, पापीहरूलाई नाश गर्न र धर्मको स्थापना गर्नलाई म युग—युगमा अवतार लिन्छु।” यस देववाणी मुताबिक धर्मीले निश्चय नै मुक्ति पाउँछ, तर पापीचाहिँ विनाशका निम्ति तयार रहनुपर्छ।
ती दिनमा म स्कूलको एउटा शिक्षक थिएँ। स्कूलको भार उठाएर थकित भई सोफामा हात खुट्टा फ्याँकी बसिरहेको थिएँ। घरकी दिदी हाम्रा छिमेकी दिदी–बहिनीहरूसँग बसेर बात गरिरहेकी थिइन्। मसिना बामे सर्ने नानीहरू दुईपट्टिबाट बामे सर्दै आए। एक दोस्रालाई भेटेर दुवैजना आमने–साममे बसे, र एक–दोस्रालाई हेर्न थाले। एउटाले हात बढाएर बिस्तारै अर्कोलाई छोयो। अर्कोले पनि त्यस्तै गर्यो। त्यस रमाइलो दृश्यद्वारा प्रभावित भएर मैले एउटा-लाई काखमा राखें। त्यो खूबै रमायो, तर अर्कोचाहिँ मैले केही नगरिकनै रुन थाल्यो। रोएको आवाज सुनेर बातमा डुबिरहेका आमाहरूले मलाई पुलुक्कै हेरे। म अलिक सर्माएँ। त्यो नानी झन् रोयो। एक छिनमा बामे सर्दै आएर मेरो काखमा बसेको नानीलाई आफ्नो सिन्के हातले घचेट्न थाल्यो। मैले पनि नानीलाई भुइँमा राखिदिएँ; तब त्यो तुरुन्तै रुन छोडिहाल्यो।
मैले गाउँमा धेरैचोटि नानीहरू देवता हुन् भन्ने कुरा सुनेको थिएँ; तर मेरा अघिल्तिर त दुईजना देवताहरू होइन, दुईजना दानवहरू बसिरहेका म देख्छु। एउटालाई काखमा बस्न पाएर गमक्क भएको देख्छु—अर्काको हीन अवस्थाबाट स्वाद लिइरहेको देख्छु। मानिसहरू अरूलेभन्दा राम्रो खाँदा, राम्रो लाउँदा र विदेशी महँगा कारमा हिँड्न पाउनेले धेरै तृप्ति, खुशी र चैन पाइन्छ भनी सोच्छन्। तर त्यही मान्छेलाई लगेर धन–सम्पत्ति र इज्जतले भरिभराउ भएका ऊभन्दा गतिलाहरूका बीचमा राखिदियौं भने ती सबै खुशी र आनन्द बिलेर जान्छन्। किन? उसले त्यही खाना खाइरहेछ त? त्यही गाडीमा सैर गरिरहेछ त? के भयो? पहिलो ठाउँमा चाहिँ फाटेका, टालेका लुगा लाउनेहरू थिए; गाडी नभएकाले पसिना चुहाउँदै घण्टौं हिँड्नेहरू थिए। त्यस्ताहरूका सामु उसले आफूलाई माथिल्लो तहको मान्छे भेट्टाउँथ्यो, र रमाउँथ्यो।
अहिले त्यो कुरा नहुँदा उसको रमाहट बिलेर गएको छ। त्यो खुशी र त्यो चैनलाई उसले गरीबहरूका गरीबी र हीनताबाट निकालेको स्वाद थियो। त्यो आनन्द, त्यो खुशी दानवी हो। अर्काको दुःखबाट स्वाद निकाल्नु पाप हो।
अर्कोलाई डाहा लाग्छ। आफू सँगसँगै बसेकोलाई ठूलो पदमा पुगेको देख्दा उसको मनमा पीर पर्छ, देख्न सक्तैन; यस-कारण रोएर प्रतिवाद जनाउँछ। त्यसलाई काखमा बसेको देख्नै सक्तिनँ! देख्नै सक्तिनँ! देख्नै सक्तिनँ। त्यसलाई त्यहाँबाट निकाल्नैपर्छ! निकाल्नैपर्छ! निकाल्नैपर्छ! रोएर यस्तो प्रतिवाद गरेको रहेछ; तर मैले निकालिनँ। तब त्यसले भन्छ—“प्रतिवाद गर्दा भएन भने म खुद गएर आफ्नै हातले त्यसलाई तल झारिदिन्छु”, अनि आएर सिन्के हातले घचेट्न थाल्छ। निकालिदिएपछि त्यो खुशी हुन्छ। यस्ता डरलाग्दा पापहरू त छिप्पिएकाहरूले पो गर्छन्! जालझेल गर्छन्, जरा काट्छन्; तर मुखले म्याउ–म्याउ गर्छन्, तेल चुहाउँछन्। कति भयानक!! यस्तै भयानक काम बच्चाले गर्दछ, तर सानो रुपमा। यस घटनाले प्रमाणित गर्छ, कि आदमको वंशमा जन्मने कुनै मानिस धर्मी हुँदैन। बाइबलले भन्छ—“कोही धर्मी छैन, एउटै पनि छैन।”5 आमाकै गर्भमा मानिस पापमा हुन्छ—“हेर, पापैमा म मेरी आमाको गर्भमै रहें।”6
मानव–नदीमा पर्ने कोही प्राणी निष्पाप हुँदैन
यदी हामी एउटा कुनै व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल (International Airport) मा रमिता हेर्न बस्यौं भने त्यहाँ दिन वा रातभरि रमितै–रमिता देखिन्छ। संसारका विभिन्न भागबाट रंगविरंगका मानिसहरू आउँछन्। किसिम-किसिमका भाषाबोली बोल्छन्। प्रश्न उठ्छ, के यति धेरै किसिमका मानिसहरू संसारमा बस्छन्? हो, बस्छन्। अनि मानवजाति वैज्ञानिक (Ethnologist) हरूले ती सबै जातिहरूलाई अध्ययन गरिसकेका छन्; अनि तिनीहरू भन्छन्—“सबै जातिहरू एउटै मूलबाटका हुन्, यसमा केही शंका छैन।” ती सबै जातिहरूमा एउटा कुरा समान रुपले पाइन्छ; त्यो हो—बच्चैदेखि पाप गर्ने स्वभाव। आजसम्म पाप नजान्ने व्यक्ति पृथ्वीमाथि कोही जन्मेको छैन। एउटै पनि, बिर्सिएर पनि, उम्केर पनि आएको छैन। किनभने सम्पूर्ण पृथ्वीमा आदमको वंशले मात्र वास गरेको छ। आदमको वंशमा जन्मने मान्छे पापी नभई छोड्दै–छोड्दैन। सुन्तलाको वंशमा सुन्तलाको नै जन्म हुन्छ। तर युगौंयुग बितिसकेको छ; कुनै पनि दिन भूल भएर मकैको बोटमा फापर फलेको छैन। मकैले युगौंयुग सधैंभरि मकै मात्र जन्माउँछ। यसकारण आदमको वंशमा पनि आदमजस्तै पापी मात्र जन्मन्छ।
यसैकारण शास्त्रमा लेखिएका भगवान्हरूका लीलाहरू कुरीकुरी लाग्ने किसिमका हुन्छन्; तर बढी श्रद्धा भएकोले होला त्यस्ता कहानीहरू हामी लाज नमानी भन्थ्यौं, र सुन्थ्यौं। मेरो आफ्नो घरको दैलोमाथि त्यस्तै भगवान्को लीला भएको नक्सा थियो। गाउँका अनभिज्ञ मानिसहरूले सोध्दा मैले त्यस चित्रको विवरण बताइदिन्थें। चित्रमा भगवान् रुखमा चढेर तल नदीमा नुहाउने सुन्दरीहरूलाई हेरिरहेका थिए। नुहाइसकेर लुगा राखेको ठाउँमा जाँदा लुगा पाएनन्। उनीहरू पुरै नाङ्गा थिए। लुगा कहाँ गयो भन्दै छक्क परेर यताउता हेर्दा रुखमाथि त भगवान्लाई पो देख्छन्। लाजले ती सबै सुन्दरीहरू नदीभित्र कुद्छन्। तल नदीबाट तिनीहरूले यसरी बिन्ती चढाउँछन्—“हे भगवान्, लुगा दिइ-बक्स्योस्।” यो कुरा मैले लाज पचाएर लेखेको हुँ; म क्षमा चाहन्छु। तर पनि भगवान्लाई म खराब कुरा भन्न चाहन्नँ। यो त आदमबाट आएको फल हो—पापरुपी फल हो। आदमदेखि बहेको नदीमा जन्मँदा भगवान्हरू पनि पापी स्वभाव लिई जन्मन्छन्। म पापी जन्मन्छु भने भगवान् पनि पापी जन्मेका हुन्छन्। भगवान्हरूले आफूलाई निष्पाप छौं भन्ने दावी गर्छन् भने सायद हामी यसरी विरोध गर्छौं होला—‘आदमदेखि बहेको नदीमा जन्मँदा हामीचाहिँ सबै पापी जन्म्यौं भने त्यही नदीमा जन्मँदा भगवान्हरू चाहिँ कसरी निष्पाप जन्मे त? इन्कलाब! जिन्दाबाद!! बुबाआमाबाट जन्मँदा हामीचाहिँ पापी जन्म्यौं भने बुबाआमाकै माध्यमबाट जन्मँदा भगवान्हरूचाहिँ कसरी निष्पाप जन्मे त?? इन्कलाब! जिन्दावाद!!’’ यो हुनै नसक्ने कुरो हो भगवान्हरू र हामीबीच केही भिन्नता छैन; हामीहरू एउटै डुङ्गाका यात्री हौं। हामीले ‘पापोहं पापकर्माह पापात्मा पापसंभवः’ भन्नुपर्छ, भगवान्ले पनि त्यही भन्नुपर्छ—करै लाग्छ।
प्रभु येशू निष्पाप र निष्कलङ्क हुनुहुन्छ
तर यस्तै संसारमा एकजना आउनुभयो। उहाँको विषयमा बाइबलले भनेको छ—(क) उहाँले हुनै पाप गर्नुभएन।7 (ख) उहाँ पापै जान्नुहुन्नथ्यो।8 उहाँको स्वभावमा पापै थिएन।9
मान्छेको गुप्त कुरा थाहा पाउनको लागि उसका साथमा रातदिन हिँड्ने साथीलाई सोध्नुपर्छ। वास्तवमा मान्छे कस्ता छन्, सो कुरा जान्नका लागि उसकी पत्नीलाई सोध्नुपर्छ। यसैकारण बाहिर बैठकमा बसेर मानिसहरूका सामु आफ्नो बढिबढाइँ गर्दा भित्रपट्टि स्वास्नीचाहिँले ओंठ लेप्र्याउँछिन्। मानिसहरूले आफ्नो पतिको प्रशंसा गर्दा पत्नी सर्माउँछिन्; कारण पतिको खास गुप्त कुरा सँगै रहने पत्नीलाई राम्ररी थाहा हुन्छ। तर राम्रा पतिहरूलाई त पत्नीहरूले मायाको राशै थुपारिदिन्छिन्। यसकारण प्रभु येशूको विषयमा जान्नका लागि परदेशीलाई सोधेर भएन, तर उहाँकै साथमा हिँड्नेलाई सोध्नुपर्यो। फेरि मिलेर बस्नेलाई सोध्यौं भने तारीफै गर्लान्, पाप नदेखाउलान्। यसकारण छुट्टिएर जानेलाई सोध्नुपर्छ। उहाँलाई दुई जनाले धोका दिए—एउटाको नाम हो, यहूदा इस्करयोती, जसले उहाँलाई तीसओटा चाँदीको पैसामा बेचिदियो। अर्कोचाहिँको नाम हो, पत्रुस। उनलेचाहिँ ‘म चिन्दै-चिन्दिनँ’ भन्दै तीनपटक उहाँलाई अस्वीकार गरे।
(क) यहूदा इस्करयोतीको साक्षी
यहूदीहरूले डाहले गर्दा धेरैचोटि येशूलाई मार्न खोजेका थिए। उहाँको साथमा मलाई पनि मार्लान् कि भनी त्यो यहूदा पनि डरले छुलछुल भएकै हो। यसरी उहाँको अत्यन्तै माग हुँदा त्यसले उहाँलाई तीसओटा चाँदीको सिक्कामा बेचिदियो। उहाँलाई किन बेचियो? उहाँमा केही त्रुटि थियो कि? जे होस् प्रभु येशू बेचिनुभयो। अनि उहाँलाई मार्नैपर्छ भन्ने फैसला पनि भयो। पछि यहूदालाई खूबै पछुतो भयो भनेर बाइबलले भन्दछ। यसो हुँदा तीसओटा चाँदीको थैली नै बोकेर त्यो महापूजाहारीहरू र बुढा प्रधानहरूलाई भेट्न आयो, र भन्यो—“मैले निर्दोषलाई मृत्युका निम्ति सुम्पिदिएर पाप गरें।”10
त्यसले अनेकौं—अनेकौं बिन्ती चढायो, तर तिनीहरू डेग चलेन। त्यसकारण रिसले चूर भएर पैसाको थैलीलाई तिनीहरूकै सामु तर्सने गरी फ्याँकिराखेर फ्याँङ—फ्याङ हिँड्यो। यति गरेर पनि त्यसको मन शान्त भएन। ‘मैले निर्दोषलाई मार्न लाएर पाप गरें नि’ भन्दै बटारिन लाग्यो; छट्पटियो, टाउको ठोक्यो। छातीमा पछुतोको आगो दन्किन लाग्यो। खप्न नसकी छट्पटिन्थ्यो। अन्त्यमा पीर खप्न नसकी पीरबाट उम्कने एउटै उपाय निकाल्यो— घाँटीमा डोरी बाँधेर झुन्डिनलाई।
मानिसहरूले एउटा मान्छेलाई आन्द्राभुँडीमाथि घोप्टिरहेको भेट्टाए; त्यसलाई पल्टाए। भुँडी फुटेर आन्द्राहरू निस्केका रहेछन्। कसैले भन्यो—‘यो त यहूदा इस्करयोती रहेछ’ जसले येशूलाई तीसओटा चाँदीको टुक्रामा बेचेको थियो। अझै पनि घाँटीमा डोरीको टुक्रा रहेछ; चुँडिएर पछारिएको रहेछ। निकै सडेका हुनाले आन्द्रा-भुँडी निस्केका होलान्। प्रभुको आफ्नो परिवार थिएन। उहाँले चेलाहरूकै साथमा साढे तीन वर्ष काट्नुभयो। साढे तीन वर्ष नियालेर हेरेपछि त्यस यहूदाले भन्यो—“एउटा दोषरहित व्यक्ति।” अनि उहाँको निर्दोषता—उहाँको पापरहितता यति गहिरो थियो कि उहाँको विरोधमा कपट गर्नेले झुण्डिएर प्राण नत्यागुन्जेल शान्ति भएन। यस कुराले प्रमाण दिन्छ—प्रभु येशूको जीवन निष्कलङ्क थियो।
(ख) पत्रुसको साक्षी
अर्को मान्छे हो—पत्रुस। तिनले प्रभुलाई तीनपल्ट इन्कार गरेका थिए। जसलाई प्रभुले प्रेमसहित साढे तीन वर्षसम्म साथ दिएका थिए; उनैले उहाँलाई इन्कार गरे। “प्रभु भनेर उहाँको पछि लागें, चाखें, उति ठीक लागेन, यसकारण इन्कार गरिदिएँ। झुटो कुराको लागि कसले दु:ख भोग्छ? मैले जे गरें, त्यसमा म सन्तुष्ट छु” भनेर पत्रुसले यसो भनेनन्। बरु, केही समयपछि आफूले इन्कार गरेको ठाउँबाट तिनी बाहिर गए; अनि मन खोलेर धुरू-धुरू रोए—पश्चात्तापको आँशु बर्साए। पछिबाट उनले भने—“उहाँले कुनै पाप गर्नुभएन, न त उहाँको मुखबाट छलको कुरा निस्क्यो; गाली सुनेर उहाँ गाली दिनुहुन्नथ्यो।”11
जुन प्रभुलाई तिनले यसरी इन्कार गरे, त्यही सत्य प्रभुका निम्ति प्राण दिने रहर थियो। तिनी बूढा भएपछि तिनका सामु फेरि इन्कार गर्ने कि स्वीकार गर्ने? भन्ने चुनौती आयो। ‘इन्कार गर्यौ भने तिम्रो प्राण बाँच्छ। यस्तो मीठो जिन्दगी किन दिन्छौं? इन्कार गर र बाँच’ भनी उनका विरोधीहरू पत्रुसलाई लोभ देखाउँछन्। साँच्चै त्यो प्रलोभन अति ग्रहणीय थियो। जीउमा काँटी भसाउँछन्, झुन्ड्याउँछन्; बिस्तारै प्राण जान्छ। कसले यस्तो असह्य पीडा सहन सक्छ र? प्रभुका विरोधीहरू रमाए। तर पत्रुसले भने—“म पापीका निम्ति मेरा प्रभु क्रूसमा झुन्डिएर मर्नुभयो भने उहाँको निम्ति त्यसरी मर्नु मलाईं सुहाउँदैन; यसकारण मलाईं चाहिँ उहाँका निम्ति उँधोमुण्टो पारेर झुन्ड्याउनोस्।” पत्रुस आफ्नो निर्णयमा दृढ रहे। यसरी तिनीहरूले उनलाई झुन्ड्याए। प्रभुका साथमा पत्रुस साढे तीन वर्ष हिँडेका थिए; उहाँको जीवनलाई पत्रुसले नियालेर हेरेका थिए। अन्तमा पत्रुसले झुन्डिएर उहाँका निम्ति आफ्नो प्राण दिए। उहाँले कुनै पाप गर्नुभएन भनी आफूले भनेको यस कुरालाई पत्रुसले जीवन–रक्त बहाएर प्रमाणित गरे।
(ग) विरोधीहरूको मूक साक्षी
एकदिन यहूदीहरूसँग बुबाको विषय लिएर प्रभु येशूको विवाद भयो। ती यहूदीहरूले प्रभु येशूलाई मार्न खोजिरहेका थिए। यसकारण प्रभु येशूले तिनीहरूलाई भन्नुभयो—“तिमीहरू आफ्ना बुबाको जस्तै काम गर्छौं।” तिनीहरूले भने—‘हामी व्यभिचारबाट जन्मेका होइनौं। हाम्रा एक मात्र पिता हुनुहुन्छ, अर्थात् परमेश्वर।’ तब प्रभुले भन्नुभयो—“परमेश्वर तिमीहरूका पिता हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्ने थियौं; किनकि म परमेश्वरबाट निस्केर आएको हुँ। तिमीहरू त आफ्ना पिता शैतानबाटका हौ, अनि आफ्ना पिताको लालसा पूरा गर्न चाहन्छौ।” त्यो त शुरुदेखि नै हत्यारा हो, अनि सत्यमा स्थिर रहेन; किनकि त्यसमा सत्य छँदैछैन। जब त्यसले झूठ बोल्छ, तब त्यसले आफ्नो स्वभावबाट नै झूट बोल्छ; किनकि त्यो झूट हो, अनि झूटको पिता हो।”12 यो चुनौती अत्यन्तै अर्थपूर्ण र प्रमुख छ। यसैमा प्रभु येशूको ईश्वरत्व झुन्डेर बसेको छ। प्रभु निर्धक्क चुनौती दिनुहुन्छ—“कसले मलाई पापी ठहराउन सक्छ?” के कुनै मान्छेले यस्तो शब्द मुखबाट निकाल्न सक्छ?
ती दुईजना बामे सर्ने नानीहरूका विषयमा कुरा गरौं। भुइँमा बस्नेले डाहाले जलेर काखमा बस्नेलाई घचेटी–घचेटी निकाल्न खोजेको कुरा अघि गरिसकेको छु। “ए नानी, तँ यति साह्रो किन जल्छस्? भन् तेरो नाम के हो?” जान्दैन। “अघि बिहान के खाइस्?” जान्दैन। “पारिजात को थिइन्?” जान्दैन। “क ख भन् त।” जान्दैन। “एउटा गीत गा त” जान्दैन। त्यसले केही जान्दैन। राम्रो हेरेनौं भने आफ्नै गुहु पनि टिपेर खान्छ। यसो पछिल्तिर फर्किंदा दुई–चार दाना भुइँमा लडिरहेका देख्छ। टिप्छ, अनि आदतअनुसार सीधै मुखभित्र हाल्छ। त्यसले यसो सुँघेर, ‘छि: यो त मेरो गुहु पो रहेछ’ भन्दै फ्यात्त फाल्नधरि जान्दैन। गजबले खान्छ। मान्छे छ आफू यस्तो, तर पाप गर्नमा छ उस्ताद! दुनियाँको हरेक ठाउँमा पाप व्याप्त छ। बच्चा समेत पापदेखि उम्केको छैन। तर यस्तै परिवेशमा, अनि यस्तै दुनियाँमा उभिएर प्रभुले निर्धक्क भन्नुभयो—“कसले मलाई पापी ठहराउन सक्छ?” सबैभन्दा आश्चर्यको कुरा त यो भयो, कि यहूदीहरूले प्रभुलाई पापी ठहराउन सकेनन्।
मान्छेले सात दिन सातरात खोजेर पनि दुश्मनको भूल भेट्टाउन खोज्छन्। कहीं सक्खरखण्डजत्रो भूल भेट्टाए भने पनि त्यसलाई पहाड बनाउँछन्। यस कुरामा पनि पद्धतिलाई प्रयोग गरी एक राश कुरा अघिल्तिर राखिदिएर प्रभुलाई तिनीहरूले पापी ठहराउन सक्थे। तर तिनीहरूले एक राश त के? एउटा दोष पनि निकाल्न सकेनन्—उहाँलाई पापी ठहराउन। झिँगाको टाउको जत्रो दोष भेटे त पहाड बनाउने थिए, तर झिँगाको टाउकोजत्रो पनि भेटेनन्। एउटाले दोष भेट्टाउन नसक्ला, दुईजनाले नसक्लान्, तर सैकडौंले त निश्चय सक्छन्; तर यहाँ सैकडौंले पनि सकेनन्। यस प्रकारले प्रभुको त्यस महत्त्वपूर्ण चुनौतीले प्रभुलाई बिलकुलै पापरहित तुल्यायो।
(घ) पिलातसको साक्षी
प्रभु न्यायधीशका सामु उभिनुभएको छ। न्यायाधीश रोमी थिए भने प्रभुचाहिँ यहूदी। यहूदी जातिले रोमीलाई तुच्छ ठानेका हुनाले रोमीको दृष्टिमा पनि यहूदी घृणाका पात्रै थिए। यस्ता न्यायाधीशका सामु प्रभु उभिनुभएको छ।
त्यस घडी राज्यपाल (Governor) पिलातस आफै नै न्यायाधीशको आसनमा बसेका थिए। दोष लाउने महापूजाहारीहरू, शास्त्रीहरू र बूढा प्रधानहरूले सबै प्रकारका दोषहरू लाइसकेपछि त्यहीमुताबिक न्यायाधीशले प्रभुलाई जाँचे। त्यसपछि उनले महापूजाहारी र मानिसहरूलाई भने—“म यस मानिसमा कुनै दोष भेट्टाउँदिनँ”13 विरोधीहरूले नमान्दा फेरि पनि जाँचेर दोस्रो पटक भने—“तिमीहरूले यसलाई बहकाउनेवाला हो भनेर मकहाँ ल्यायौ; अनि हेर, मैले तिमीहरूकै सामु उसलाई जाँच गरें। तिमीहरू जुन कुराको विषयमा दोष लगाउँछौ, ती कुराहरूका विषयमा मैले उसमा केही दोष पाइनँ।”14 तर विरोधीहरू हूल उठाएर क्रूसमा चढाउनैपर्छ, चढाउनैपर्छ भनेर चिच्च्याउन थाले। त्यसकारण उनले तेस्रो पटक पनि तिनीहरूलाई भने—“किन? उसले कुनचाहिँ खराबी गरेको छ? मैले उसमा मृत्यु–दण्ड दिने लायकको कोही कुरा पाइनँ”15 उनले त्यसो भन्दा ती विरोधीहरू पागलझैं चिच्च्याउन लागे—क्रूसमा चढाउनैपर्छ, चढाउनैपर्छ भन्दै। जब पिलातसले आफ्नो केही नलागेको, अनि झन् दंगा मच्चिएको देखे, तब उनले पानी ल्याएर भीडका सामु आफ्नो हात धोएर भने—“म यस धर्मी मानिसको रगतबाट निर्दोष छु; तिमीहरू नै जान।”16 प्रभु येशू दोषी ठहरिनुभएकाले क्रूसमा टँगाइनुभएको होइन; अन्याय-साथ उहाँलाई क्रूसमा टाँगेका हुन्। राज्यपाल आफैले तीन-पटकसम्म ‘मैले केही दोष पाइनँ’ भन्दै छोडिदिने कोशिश गरे। तर मात्तिएको हूल (mob) का सामु तिनको केही नलाग्दा सबैका सामु हात धुन्छन्। “हात धोईकन उनले मानो यसो भनिरहेका छन्—“यी मानिस धर्मी हुन्, धर्मीको रगत बहाउँदा जुन दोष लाग्छ, त्यो ममाथि लाग्नेछैन, मैले हात धोइसकेको छु। यस अपराधमा मेरो हात छैन, म चोखो छु; धर्मीको रगतको हिसाबको विषयमा तिमीहरू आफै जान।” यस्तो–यस्तो काम गरेर ‘धर्मी मानिस’ भन्ने घोषणा गरीकन एकजना रोमी अधिकारीले प्रभु येशूको पाप-रहितताको परिचय दिए। प्रभु येशू निष्पाप हुनुहुन्छ भनेर गवाही दिने यी मानिसहरू प्रभुका आफ्ना मानिसहरू होइनन्। शूरुका दुईजना प्रभुका आफ्नै मानिसहरू थिए, तर तिनीहरूले प्रभुलाई त्यागेका थिए, अनि बेचेका थिए। यसकारण प्रभुका साथीहरूले होइन। मानौ शत्रुहरूले नै प्रभु निष्पाप हुनुहुन्छ भनी घोषणा गर्छन्। पक्षमा दिइएको गवाही साथीहरूको भन्दा शत्रुकै बलियो हुन्छ।
मैले प्रभु येशूको निष्पापपनाको विषयमा यति लामो कुरा गरिसकें। साँच्चै प्रभु निष्पाप हुनुहुन्छ; यसमा केही शङ्का छैन। सबै प्रकारका साक्षीहरू आईकन प्रभु निष्पाप हुनुहुन्छ भनी खण्डन गर्नै नसकिने गरी गवाही दिइसके। तर पृथ्वीमाथि हिँडने कुनै पनि मानिस चाहे ऊ राजा होस्, चाहे रानी; चाहे उनी भगवान् होऊन्, चाहे भगवती; चाहे ऊ धनी होस्, चाहे गरीब निष्पाप हुनै सक्तैन। पत्यार लाग्दैन भने अहिले हिँडौं; पृथ्वीको माथि टुप्पो आर्टिकदेखि लिएर तल पृथ्वीको फेद एन्टार्टिकसम्म जन्मेका सबै नानीहरूलाई जाँचौं, पापी स्वभाव हुन्छन् कि हुँदैनन्? हरेक दरबार र हरेक झोपडीको ढोका ढक्ढकाउनोस्, पापी स्वभाव नलिई जन्मने एउटै नानी पनि तपाईंले पाउनु हुनेछैन; किनकि एउटै रगतबाट सारा जातिहरू भए, अनि त्यही रगतबाट पाप हरेकमा सरेर आयो। यस नियममुताबिक प्रभु येशू पनि कुनै हिसाबले निष्पाप हुन सक्नुहुन्न। चाहे सम्पूर्ण संसारले नै निष्पाप हुनुहुन्छ भनी गवाही नदेओस्; किनभने आदमदेखि बहेको नदीमा बाबु आमाको माध्यमद्वारा जन्मने कुनै मानिस निष्पाप हुन सक्तैन।
एउटा पापीले अर्को पापीलाई कदापि मुक्ति दिन सक्तैन। एउटा डुबिरहेको मानिसले अर्को डुबिरहेको मानिसलाई कदापि बचाउन सक्तैन। एउटा लेख्न, पढ्न नजान्नेले अर्कोलाई कदापि लेख्न, पढ्नमा सिपालु पार्न सक्तैन। त्यसो भए के मनुष्य जातिका निम्ति कुनै आशा छैन? के सृष्टिकर्ता ईश्वर यति निष्ठुर!!
मेरो हृदय सधैं–सधैं रमाउँछ। कोही बेला खुशीले मेरो आँखाबाट आँसु आउँछ। मलाई खुशीले नाचूँ–नाचूँ लाग्छ। लाखौं–लाखौं बुद्धिमान्हरूले आफ्नो जीवनकालमा सत्य परमेश्वरलाई गुमाइपठाए, उम्काइपठाए। म उनीहरूभन्दा कुनै रीतिले असल छैनँ, न त ज्ञानी नै छु; तर मूर्ख हुँदा–हुँदै पनि मैले सत्य परमेश्वरलाई भेट्टाएँ। मेरा सत्य परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, सर्वशक्तिमान् हुनुहुन्छ; बिलकुल निष्पाप हुनुहुन्छ। म उहाँलाई कसरी पाउन सक्थें र? ममा के विशेषता थियो र? तर मैले पनि उहाँलाई पाएँ, वास्तवमा उहाँले मलाई पाउनुभएको हो। मेरो यही मृदु अनुभूतिले मेरो हृदयलाई पुलकित पार्छ, र म त्यसै–त्यसै रमाउँछु। यसकारण हर्ष र गर्वसहित म भन्छु—“मेरा प्रभु येशू बिल्कुल–बिल्कुल निष्पाप हुनुहुन्छ। उहाँको स्वभावमा पापै थिएन।” मेरा कुरा सुन्नसाथ ‘कसरी! कसरी!! भन्दै चिच्च्याउलान्। यस चिच्च्या-हटले पहाड, भन्ज्याङ गुञ्जित होलान्, तर म मुस्कुराउँदै भन्छु—“मेरा प्रभु साँच्चै निष्पाप हुनुहुन्छ; किनभने उहाँ आदमबाट बहेको नदीमा जन्मनुभएन।” यो सारा संसारलाई माथ गराउने कुरा हो। यही एउटा कुराले मात्र पनि उहाँ अति उच्च र अति जाज्वल्यमान् देखिनुहुन्छ। संसारसँग केही समझ छ भने, अनि केही ज्ञान छ भने आओस् र यस निष्पाप प्रभुलाई ग्रहण गरोस्—यस अद्वितीय प्रभुलाई अपनाओस्।
प्रभु येशू बिलकुल निष्पाप हुनुहुन्छ; किनकि उहाँ मानव नदीमा आउनुभएन
आजकल कहीं पनि शान्ति छैन; विरक्त लाग्छ। बिजुली घरी–घरी निभ्दा हैरान होइन्छ। धारामा पानी हुँदैन। महँगीले ढाड सेकिसक्यो। हड्डी घोटेर छोराछोरी पढायो; परीक्षाको दिन हलमै झगडा गर्छन् र परीक्षै हुँदैन। परीक्षा भएर पास भए पनि राम्रो कलेजमा ठाउँ पाइँदैन। पुलिस र पल्टनको भर्ना खुल्छ, लायक–लायकले जान पाउँदैनन्। हजारौं रुपियाँ तिरेर कुनचाहिँ भुन्टे बाङ्गे जान्छ। अब संसारमा के छ र? म यही संसारमा बाँचिरहेछु; तर मैले ग्रहण गरेको प्रभु नै मेरा लागि आनन्दका कारण हुनुभएको छ। म उहाँमा प्रशस्त सान्त्वना पाउँछु। बिग्रँदै गएको यस संसारलाई म कहिल्यै राम्रो बनाउन सक्तिनँ; कहिल्यै राम्रो हुँदैन पनि। तर म त मेरा सृष्टिकर्ताले तयार पार्नुभएको स्वर्गराज्यको आनन्दलाई उकुसमुकुस हुँदै प्रतीक्षा गर्दछु। मैले थोरै दिन मात्र पृथ्वीमाथि दुःख भोग्नु छ। त्यसपछि म मेरा प्रभुको मुलुकमा जानेछु। कसैले मलाई मनको लड्डू घीउसँग खाएको भन्ला अनि हाँस्ला; तर म भन्छु—“यस्तो आनन्द र यस्तो सान्त्वना पाइन्छ भने मनकै लड्डू मात्र भए पनि यही असल रहेछ।” तर यो मनको लड्डू होइन—कल्पनाको महल होइन, तर अत्यन्तै सत्य कुरा हो, झूटो बोल्नै नसक्नुहुने (तीतस १:२), मेरो निष्पाप प्रभुको प्रतिज्ञा हो। म त्यहाँ जान धेरै उत्सुक भइसकेको छु। संसारसँग केही समझ छ भने आओस् र यस सत्य र निष्पाप प्रभुलाई हृदयभित्र स्वागत गरोस्। प्रभु भन्नुहुन्छ—“म हृदयको दैलोमा उभिएर ढक्ढकाउँदछु। कसैले मेरो सोर सुनेर दैलो खोल्यो भने म भित्र उसकहाँ आउनेछु।”17 यस सर्वसामर्थी, सर्वज्ञानी र निष्पाप प्रभुका निम्ति हजारौंले ह्लदयको दैलो खोले; अनि तिनीहरूभित्र प्रभु आउनुभयो। फलस्वरुप जिउँदै हुँदा नै उनीहरूले आनन्द र शान्ति पाए—अनि मृत्युपश्चात् स्वर्गराज्य।
अब प्रभुको जन्म यसरी भयो—एक दिन एक जना स्वर्गदूत मरियम नाम भएकी कन्याकहाँ देखा परे। यो इस्राएल देशको नासरत भनिने गाउँमा घटेको घटना हो। स्वर्गदूतलाई देखेर मरियम चौपट्टै डराइन्। तब स्वर्गदूतले भने—“हे मरियम, नडराऊ; परमेश्वरको अनुग्रह तिमीमाथि भएको छ। हेर, तिमी गर्भवती हुनेछ्यौ, अनि तिमीबाट एउटा पुत्रको जन्म हुनेछ; तिमीले उहाँको नाम येशू* राख्नू...।” मरियमले स्वर्गदूतलाई भनिन्—“यो कुरा कसरी हुन सक्छ? म त कुनै पुरुषलाई जान्दै जान्दिनँ।” स्वर्गदूतले उनलाई उत्तर दिए—“पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, अनि परमप्रधानको सामर्थ्य तिमीमाथि छाया पार्नेछ; यसैकारण ती पवित्र, जो जन्मनुहुनेछ, परमेश्वरका पुत्र भनिनुहुनेछ।”18 बेथलहेम शहरमा बस्दा–बस्दै उनको जन्माउने समय पूरा भयो। अनि उनले आफ्नो जेठो छोरा जन्माइन्, र उहाँलाई लुगामा बेरेर एउटा डुँडमा राखिन्; किनकि पाटीमा उनीहरूका निम्ति ठाउँ थिएन।19
प्रभुले यसरी कन्या मरियमबाट जन्म लिनुभयो। अनि यो कुरा सत्य हो, तर पनि सम्पूर्ण संसारका निम्ति यो कुरा अचम्मलाग्दो भएको छ, यसैकारण उनीहरू भन्छन्—“मानव पिताबिना कसरी सन्तान उत्पन्न हुनसक्छ?” हो, तर परमेश्वरका निम्ति यो कुरा असम्भव छैन। मरियमको गर्भमा पवित्र आत्माद्वारा परमप्रधानको सामर्थ्यमुताबिक, प्रभु येशू वास गर्न आउनुभयो। यो कुरा मानिसका निम्ति कठिन भए तापनि परमेश्वरका निम्ति अति सहज छ।
प्रभु येशूलाई कन्या मरियमद्वारा जन्मने के आवश्यकता थियो र भनी एक समय म मेरो मूर्खतामा सम्झने गर्थे। तर वास्तवमा कन्याबाट जन्मनु त मुख्य कुरा रहेछ। कन्याबाट नजन्मनु-भएको भए मानिसहरू, देवताहरू र प्रभु येशूमा केही भिन्नता हुनेथिएन। सबै एउटै खाडलमा हुनेथिए—सबै पापी। सारा समस्याको मूल कारण नै पाप हो। संसारलाई पीडाको कराहीमा भुट्ने नै पाप हो। लोभ, स्वार्थ, डाहा, घमण्ड आदि पाप हुन्। पापकै कारण परमेश्वरले मानिसको न्याय गर्नुहुन्छ। अनि अनन्त नरक–कुण्डमा हाल्नुहुन्छ। तर परमेश्वर आफै सैकडौं फिट गहिरो पापको खाडलमा परिरहनुभएको छ भने कसरी अर्को पापीलाई त्यहाँबाट निकाल्न सक्नुहुन्छ? बचाउने व्यक्ति त्यस खाडलदेखि बाहिर हुनैपर्छ। सबै तर्कले यस कुराको माग गर्दछ।
आदमबाट बहेर आएको पापी स्वभावलाई हाल्नका लागि एउटा मानव पिताको आवश्यकता पर्छ; तर प्रभु येशूको जीवनमा यो मानव पिता छैन। पाप फलाउने आदमसँग प्रभु येशूको केही सम्बन्ध छैन। यसैकारण आदमका अरू सन्तानहरूमा झैं प्रभु येशूमा पापी स्वभाव हुनै सक्तैन। जसरी अरू निष्पाप हुनै सक्तैनन्, उसरी नै प्रभु येशू पापी हुनै सक्नुहुन्न। कारण यही हुनाले शत्रुले पनि उहाँलाई पापी ठहराउन सकेन।
भालेको अंशबाट अण्डामा जीवन आउँछ भन्ने कुरा अघि नै हेरिसकेका छौं। विकासे पोथीहरूले भालेबिना नै अण्डा त पार्छन्, तर ती अण्डाहरूबाट चल्लाहरू निस्कँदैनन्; किनकि ती अण्डाहरूमा जीवनै हुँदैन। भालेको अंश परेको अण्डामा मात्र जीवन हुने हुनाले चल्लाहरू निस्कन्छन्। केही समय ओथ्रामा राखेपछि ती अण्डा-हरूमा मान्छेले पनि जीवन देख्न सक्छन्—साना–साना रगतका छिटाहरू। ठीक यही प्रकारले गर्भ रहेपछि केही समयमा पुरुषको अंशबाट जीवनरक्त फुटी निस्कन्छ, अनि बढ्दै जान्छ। यसरी जीवन माथिबाट सरेर आउने हुनाले आदमको पापमय स्वभाव त्यहाँ बसेको हुन्छ। यसैकारण आदमको वंशमा जन्मनेहरू पापी नभई छोड्दै छोड्दैन; तर्क नगरे पनि हुन्छ। कसै–कसैले भन्छन्—“आदमको रगत माथितिरै कतै सुकिसक्यो।” सुकेको छैन; जसरी नदी जति बग्दै जान्छ, उति बढ्दै, फैलँदै जान्छ; उसरी नै आदमको रगत सुकेको छैन। बरु, बढ्दै र फैलँदै गएको छ।
हजार वर्ष घुँडा धसेर पाप गर्ने चेष्ट गरे पनि पाप गर्न नसक्नु नै साँचो ईश्वरको स्तर (Standard) हो। योभन्दा कम-लाई भक्ति गर्नु नै हाम्रो बुद्धिहीनता हो; महामूर्खता हो र व्यर्थको दुःख भोगाइ हो। मेरो आत्माले यस्तै पवित्र, साँचो ईश्वरको खोजी गरिरहेको थियो। उहाँलाई भेट्टाउने मेरो सौभाग्य रहेछ, र मैले भेट्टाएँ; आज म अति खुशी छु, म रमाउँछु।
आमाको रगत प्रभु येशूमा छैन
एउटा आरोप खडा हुन्छ: प्रभु येशू पिताको रगतको भागी नभए तापनि आमाको रगतको भागी त हुनुभएकै छ; किनकि उहाँ आमाकै देहभित्र बढ्नुभयो। यसैकारण यसले उहाँको जीवनमा कहीं पाप त ल्याएको छैन? शरीरको प्राण रगतमा छ,20 अनि त्यो रगतचाहिँ अण्डामा भालेबाट आएझैं मानिसमा पनि पिताबाट आउँदछ भन्ने कुरा हेरिसकेका छौं। प्रभु येशूका शारीरिक पिता नै नहुनुभएको कारण उहाँ कन्याबाट जन्म लिनुभयो। त्यसकारण पाप च्यापेर ल्याउने आदमको रगत नै प्रभु येशूमा छैन। यही तथ्यले उहाँलाई बिलकुल निष्पाप तुल्याएको छ। कहीं आमाको रगत पो प्रभुको रगतसँग मिसिएर अशुद्ध तुल्यायो कि भन्ने प्रश्न छ। यस प्रश्नको उत्तर विज्ञानले दिन्छ; जो अति विश्वसनीय छ।
मानव शरीर रचनाको विषयमा परमेश्वरको कला वा सीपलाई देखेर हामी उहाँको प्रशंसा नगरी रहन सक्तैनौं। अब आमाको रगतको विषयमा विज्ञानले के भन्छ, सो बुझौं। यस सम्बन्धमा डा.एम.आर.डीहान (Dr. M.R. Dehaan, M.D) को ‘द केमिस्ट्री अफ द ब्लड’ (The Chemistry of the Blood) नामक किताबबाट सानो उद्धरण दिन चाहन्छु—“आमाले नै पेटमा बढ्दै गरेको बच्चालाई उसको शरीरको वृद्धिका लागि पौष्टिक भोजनको प्रबन्ध गर्छिन्; तर जति पनि रगत बनिएको छ, त्यो बच्चाभित्र नै बाबुपट्टिकै अंशबाट बनिएको हो।
गर्भ बसेको क्षणदेखि जन्मेको दिनसम्म नै एक थोपा रगत पनि आमाबाट बच्चाकहाँ जाँदैन। आमा र नानीका बीचमा साल (Placenta) छ; त्यहींबाट आमा र बच्चाका बीचमा दोहोरो सम्बन्ध हुन्छ। आमापट्टिबाट सजिलैसँग बच्चालाई चाहिने प्रोटिन, चिल्लो पदार्थ (Fats), कार्बोहाइडेट्स, नूनहरू (Salts), धातुहरू (minerals) र एन्टिबडिजधरि सालबाट भएर बच्चाकहाँ जान्छन्। अनि बच्चाको शरीरबाट फालिने कुराहरू नानीपट्टिबाट आमाकहाँ आउँछन्। तर यो साल (Placenta) यस्तो अद्भुत प्रकारले बनिएको छ, कि एक थोपा रगत पनि यताबाट उता र उताबाट यता आउँदैन।
विज्ञानको साक्षी
अब यी कुराहरूलाई शंकाको दृष्टिले हेर्नेहरूका निम्ति विश्वासयोग्य प्राधिकारीहरू (Reliable authorities) बाट तथ्यका केही उद्धरणहरू, यहाँ छन्–
1. The Textbook of Physiology, By Howell (हवेलद्धारा लिखित शरीर–विज्ञान पाठ्यगन्थ्र) दोस्रो संस्करण, ८८५ पृष्ठ:
The foetal and the maternal blood do not come into actual contact. [पेटको नानीको रगत र आमाको रगत एक दोस्रासँग मिसिँदैनन्]
2. The Practice of Obstetrics. By Williams (विलियम्सद्धारा लिखित प्रसूति विज्ञानको पद्धति) तेस्रो संस्करण, १३३ पृष्ठ:
“The foetal blood in the vessels of the chorionic villae at no time gains access to the maternal blood in the inter villous spaces, being separated from one another by the double layer of chorionic epithelium um.”
[कोरिअनिक एपिथेलिअमका दोबर पत्रद्वारा अलग पारिएको खण्डमा नालमा भएको कोरिअनिक भिल्लेका नसामा भएको पेटको नानीको रगत कुनै पनि समयमा इन्टरभिल्लस स्पेसहरूमा भएको आमाको रगतसँग मिसिँदैन।
त्यही अधिकृत गन्थ्रको १३६ पृष्ठबाट: “Normally there is no connection between the foetal blood and the maternal blood. ”[पेटको बच्चाको रगत र आमाको रगतका बीचमा कुनै सम्बन्ध छैन।]
3. The Nurse's Handbook of Obstetrics. By Louise Zabriskie. (लोइस जाब्रिस्कीद्वारा लिखित नर्सका प्रसूति विज्ञान ग्रन्थ) पाँचौं संस्करण ७५ पृष्ठ:
“When the circulation of the blood begins in the embryo, it remains separate and distinct from that of the mother.” [गर्भको नानीमा जब रक्तसंचालन शुरु हुँदछ, तब त्यो आमाको रगतबाट छुट्टै र अलग्गै रहन्छ।] ८२ पृष्ठबाट: “the foetus receives its nourishment and oxygen from the mother's blood into its own through the medium of the placenta…This interchange is effected by the process of osmosis, and there is no direct mingling of the two blood currents. In other words, no maternal blood actually flows to the foetus, nor is there any direct foetal blood flow to the mother.
[नालको माध्यमद्वारा आमाको रगतबाट पेटको नानीले आफूभित्र पौष्टिक वस्तु र अक्सिजन पाउँदछ। अस्मसिस प्रणालीद्वारा यी वस्तुहरू यताका यतै नै, र उताका उतै हुन्छन्। अनि यी रगतका दुई धाराहरू कहिल्यै एक दोस्रोसँग मिसिँदैनन्। अर्को शब्दमा भनूँ भने, आमाको रगत कहिल्यै पेटको नानीको रगतभित्र पस्दैन; न त पेटको नानीको रगत आमाको रगतमा आउँदछ।”]
यी माथिका कुराहरू सत्य हुन् भनी प्रमाण दिन खोज्नु नै हाँसो उठ्दो कुरो हुनेछ। किनकि यी किताबहरू कुसुन्डाहरूलाई भुल्याउनका निम्ति बनाइएका कुनामा पढिने किताब होइनन्। तैपनि शब्दकोशबाट एउटा उद्धरण दिएर सत्यतामाथि सुन्दरता थप्न चाहन्छु। An Elementary Scientific and Technical Dictionary: By W.E. Flood, M.A PH.D: साल (Placenta) को अर्थ दिँदा लेखिएको छ—“यही सालमै नानीको रगतले आमाबाट खाद्य वस्तु पाउँदछ, तर रगतचाहिँ यताको उता, र उताको यता हुँदैन।”
जीवन यहाँ रहेछ त, म किन मरुँ
एकदिन एउटा मान्छे मरुभूमिमा हरायो। शरीर शिथिल नहोउन्जेल उ दगुर्यो, चिच्च्यायो; त्यसपछि खुट्टा घिसार्न थाल्यो। त्यसपछि भुइँमा लडेर घिस्रिन लाग्यो। तिर्खाले आकुल मात्र होइन, जिब्रो चिरा पर्न लागिरहेको थियो। पछि–पछि सारा बल झिकेर, बेला–बेला एक खेपमा दुई इन्चजति घिस्रिन थाल्यो। साथीहरूले उसको प्राणविहीन शरीर भेटे। घिस्रिएको ठाउँ देखे। कतै–कतै पाइने घाँसलाई उखालेर तिर्खा मेटाउने आत्तुरीमा चपाएको भेट्टाए।
मान्छे यसरी सत्य परमेश्वरको अभावमा तड्पेर मर्नु पर्दैन। सर्व-शक्तिमान्, सर्वज्ञानी र निष्कलंक प्रभु तपाईंको ढोकामा उभिएर ढक्ढकाइरहनुभएको छ।17 उहाँ असल–असल उपहारहरू (मुक्ति, शान्ति, आनन्द) लिएर आउनुभएको छ। उहाँ तपाईंको ढोका ढक्ढकाउनुहुन्छ, तर आग्लो हालेर तपाईं निश्चिन्त भइ बस्नुभएको छ। उठ्नुहोस्, उहाँका लागि आफ्नो हृदयको दैलो खोल्नुहोस्। अनि उहाँलाई सृष्टिकर्ता र उद्धारकर्ताको रुपमा ग्रहण गर्नुहोस्। त्यसपछि उहाँ आफ्नो जीवनदायक रक्तले तपाईंको हृदयलाई धोई, शुद्ध पारी तपाईंको हृदयमा बस्नुहुनेछ। उहाँले ल्याउनुभएका उपहारहरू तपाईंका हुनेछन्। लाखौंले यसो गरे, लाखौंले मुक्ति पाए, लाखौं आफ्ना सृष्टिकर्ताकहाँ स्वर्गको अपार आनन्द सागरमा हेलिनलाई गई पनि सके। के तपाईं उहाँलाई ग्रहण गर्नुहुन्न?
धेरै समयअघि एकजनाले मलाई यसो भनेका थिए—“तपाईं किन प्रभु येशूलाई प्रचार गर्नुहुन्छ? के अरू भगवान्हरूबाट उद्धार पाइँदैन?” मैले जवाफ दिए—“प्रभु येशूले पापीका उद्धारका निम्ति जे गर्नुभयो, ईश्वरहरूले पनि त्यही गरेका छन् भने उनीहरू-बाट पनि उद्धार पाउन सकिन्छ। पापीहरूका सट्टामा आफैले दण्ड भोगी पापीहरूलाई दण्डबाट उम्काउने बन्दोबस्त प्रभु येशूले गर्नुभएको छ। “हामी पापी हुँदा–हुँदै ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो” भनी बाइबलले भन्छ।21
प्रभु येशूले भन्नुभयो—“यो मेरो रगत हो, जो धेरैका पापहरूका छुटकाराका निम्ति बहाइन्छ।”22 तपाईं र म पापी नहुँदा हौ त हामीलाई हाम्रा पापहरूबाट शुद्ध पार्नलाई र छुटकारा दिनलाई उहाँले आफ्नो जीवनरक्त बहाउनुपर्ने थिएन। कुरा सफा छ, भगवान्हरूले पनि पापीहरूका सट्टामा यसरी नै प्राण दिएका छन् र रगत बहाएका छन् भने ठीक हो। उनीहरूबाट पापीको उद्धार हुन्छ, तर उनीहरूका नसाहरूमा आदमको रगत बगेको हुनुहुँदैन; जसरी प्रभु येशूको रगतमा न त बाबुबाटको रगत छ, न आमाबाटको। यही महान् तथ्यको कारणले नै सारा मानिसहरू, सारा देवी-देवता र सारा दैत्यहरूका बीचमा उहाँ निराला हुनुहुन्छ—आकाशभन्दा उच्च हुनुहुन्छ। उहाँ सर्वशक्तिमान् र सर्व-ज्ञानी हुनुहुन्छ। यो कति हर्षित र उत्तेजित पार्ने कुरा हो! मलाई नाचूँ–नाचूँ लाग्छ। के यस्ता प्रभुकहाँ तपाईं आउनुहुन्न?
पाप र परमेश्वरलाई चिनेर स्वर्ग जाऊन् भनेर नै ज्ञान, बुद्धि र विवेक मानिसलाई दिइएका हुन्। पेटै भर्नलाई चाहिँ बुद्धि र विवेक चाहिँदैन; किनकि ज्ञान र बुद्धिबिना पनि पशुहरूले प्रशस्त खाइरहेछन्, अनि निस्फिक्रि पनि छन्। खान पाएका छैनन् भने मानिसको बन्धनमा पर्ने पशु पक्षीहरूले नै खान पाएका छैनन्।
बाइबलले भन्छ—“यति ठूलो मुक्तिको वास्ता नराखे कसरी उम्कौंला त?” (हिब्रू २:३)। अझै एउटा कुरा थपौं—यति महान्, अपार सामर्थी र निष्कलंक प्रभुलाई वास्तै गरेनौं भने झन् कसरी उम्कौंला त? प्रभुले तपाईंलाई आशिष् दिऊन्।
यस विषयमा अझ बढी जान्न चाहनुभएको खण्डमा कृपया निम्नांकित ठेगानामा लेख्नुहोला। हामीसँग सम्पर्क गर्नुहुनेलाई उपहार स्वरूप विभिन्न पुस्तकहरू नि:शुल्क पठाउनेछौं। धन्यवाद!
NBCI
WhatsApp : 9818111318
Website : www.nbcinepal.org
Email : [email protected]