परिचय

एन.बी.सी.आई.को शुरूआत

इस्वी सम्वत् १८७० सालमा स्कोटल्याण्डबाट प्रेस्बिटरियन मिसनले भारतको दार्जीलिङ्ग जिल्लामा आफ्ना प्रचारकहरूलाई पठाउने क्रम शुरू गरे। त्यसपछि अरू मिसनहरूले त्यसै गरे; तीमध्ये WEC मार्फत श्री वानडाईक पनि पठाइए। इस्वी सम्वत् १९१५ सालमा उनले दार्जीलिङ्ग बाइबल करेस्पण्डेन्स इन्स्टिच्यूट (डी.बी.सी.आई.) नामक पत्राचार-केन्द्र शुरू गरे, किनभने त्यस समयमा विभिन्न रेडियो कार्यक्रमबाट प्रभु येशूको सुसमाचार सुनेर अझ बुझ्न चाहनेहरूका निम्ति उनले यो ठूलो खाँचो महसुस गरेर केही शिक्षाक्रमहरू तयार गरे। इस्वी सम्वत् १९६६ सालसम्म लगभग दस हजार विद्यार्थीहरूले यस इन्स्टिच्यूटमा भर्ना भई यी पाठ्यक्रमहरू अध्ययन गरिसकेका थिए। अनि ती वर्षहरूमा यस प्रकारको बाइबलको शिक्षा पाउन चाहनेहरूका सङ्ख्या निक्कै बढ़िरहेका थिए।

पछि, यी विदेशबाट आएका प्रचारकहरूले भारतलाई छोड्ने बेलामा डी.बी.सी.आई.को जिम्मा श्रीमती जील जेम्स कूकलाई सुम्पिदिइयो, जसले २० वर्षसम्म बिहारको मोतिहारीबाट यो पत्रचार-केन्द्र ठूलो बोझसित चलाउनुभयो। यसको अवधिभित्र अरू दस हजार विद्यार्थीहरू यस इन्स्टिच्यूटमार्फत परमेश्‍वरको वचन पवित्र बाइबलका यी एकदम सरल, तर प्रभावकारी, अमूल्य आत्मिक शिक्षाक्रमहरू अध्ययन गर्न सफल भए। त्यसबेला पत्राचार-केन्द्रको नाम एन.बी.सी.आई. बदली गरियो; किनकि अब भारतमा मात्र होइन, तर नेपालमा, खास गरी सारा संसारमा बसेका नेपाली भाषीहरूलाई यी पाठहरूमा सिकाइएका अमूल्य सत्यताहरू उपलब्ध गराउने उहाँको इच्छा थियो।

श्रीमती कूक वृद्धा हुनुभएको कारणले गर्दा इस्वी सम्वत् १९९४ सालदेखि एन.बी.सी.आई. कालिपोङ्गमा, त्यसपछि काठमाडौंमा सारियो। त्यस समयदेखि हाम्रा सेवाहरू यहाँबाट सबै नेपाली दाजुभाइ-दिदीबहिनीलाई उपलब्ध गरिएका छन्। परमेश्‍वरलाई धन्यबाद होस्! अब यस वेबपेजसित एन.बी.सी.आई.का निम्ति एउटा नयाँ युग शुरू भएको छ; किनकि अबदेखि उसो विश्‍वभरिका मानिसहरूले इन्टरनेटमार्फत हाम्रा पाठ्यक्रमहरू अध्ययन गर्न पाउँदछन्। अब यसरी धेरै साल अघि हाम्रा मनमा उठेको दर्शन पूरा हुनेछ। इन्टरनेटको सहायता लिएर संसारको कुनैपनि ठाउँबाट तपाईंले एन.बी.सी.आई.का पाठ्यक्रमहरू अध्ययन गर्न र यिनका अमूल्य शिक्षा हासिल गरी कहिल्यै नाश नहुने आशिषहरू उठाउन सक्नुहुनेछ भन्ने हाम्रो दृढ़ आशा छ।

एन.बी.सी.आई.बाट उपलब्ध हुने सेवाहरू यस प्रकारका छन्।

  • बाइबल अध्ययन पाठ्यक्रमहरूः

१.बाँच्ने उपाय

२.प्रभु येशूका उखानहरू

३.प्रभु येशू ख्रीष्ट को हुनुहुन्छ ?

४.प्रभु येशू ख्रीष्टले मेरो निम्ति के गर्न सक्नुहुन्छ ?

५. 'चेला बनाऔं'

हालैमा एन.बी.सी.आई.को पत्राचार–केन्द्रबाट पाँच शिक्षाहरू उपलब्ध गरिएका छन्। पहिला चार पाठ्यक्रमहरूले हाम्रो आत्मिक जीवनमा बलियो जग बसाल्दछन्, किनभने यिनमा आधारभूत विषयहरू लिएर तपाईंलाई शिक्षा दिइन्छ। प्रथम शिक्षाक्रममा संसार र मानिसको सृष्टि कसरी भयो? पाप गरेर मानिसको आत्मिक र नैतिक पतन कसरी भयो, र हामी सबै मानिसहरूले भोग्नुपर्ने त्यसका नतिजाहरू के के हुन्? साथै आफ्ना पापहरूबाट मानिसले कसरी मुक्ति पाउँछ भन्ने मुख्य विषयहरू सिकाइन्छ भने दोस्रो पाठ्यक्रममा प्रभु येशूले सिकाउनुभएका दृष्टान्तहरूको अर्थ खोलेर बताइन्छ। तेस्रो पाठ्यक्रममा तपाईंले प्रेरित यूहन्नाले लेखेको प्रभु येशूको जीवनको अध्ययन, र चौथो पाठ्यक्रममा नयाँ नियम बाइबलबाट तपाईंले व्यवहारिक शिक्षाहरू पाउनुहुन्छ।

हरेक पाठ्यक्रमको आ–आफ्नै प्रमाण–पत्र दिइन्छ; र अरू आत्मिक पुस्तकपुस्तिकाहरू सित्तैंमा पठाइन्छ। यी चारवटा अध्ययनक्रम सफलतापूर्वक पूरा गर्नेहरूलाई हामी उपहार–स्वरूपमा पवित्र बाइबलको एक प्रति हुलाकमार्फत पठाउनेछौं। यसरी तपाईं संसारको जुनैसुकै ठाउँमा बसेर पनि तपाईंलाई एन.बी.सी.आई.को रेखदेख र अगुवाइमा धर्मशास्त्र पवित्र बाइबलको अतुलनीय शिक्षा नि:शुल्‍क उपलब्ध गराइन्छ।

पाँचौ शिक्षाक्रमको नाम 'चेला बनाऔं' हो, र चेलापनको विषयमा अर्थात् प्रभु येशूलाई प्रभु र मुक्तिदाताको रूपमा अपनाएर कसरी उहाँको शिक्षा अनुकरण गरेर उहाँको विश्वासी अनुयायी बन्न सकिन्छ, सो सिकाइन्छ। यो पाठ्यक्रम विशेष यस्ताहरूका निम्ति तयार गरिएको छ, जो कुनै इसाई मण्डली वा चर्च जान सक्दैनन्, र जसको सङ्गति वा सम्पर्क कुनै ख्रीष्टिय साथी वा मण्डलीसँग छैन।

हामीबाट यी पाँचवटा पाठ्यक्रमहरूको अध्ययन गर्नको साथै तपाईंले आत्मिक किताबहरू र अन्तमा धर्मशास्त्र पवित्र बाइबलको एक प्रति नि:शुल्‍क उपहारको रूपमा पाउनुहुन्छ। तपाईंले दस पल्टमा हाम्रा अध्ययनक्रमहरू पूरा गरेर पवित्र बाइबल पाउनुहुनेछ। बाइबल–अध्ययनबाट मनमा उठेका प्रश्नहरूको जवाफ हामीलाई सोध्नुहेस् र हामी तपाईंलाई यिनका उत्तरहरू इमानदारीपूर्वक दिने प्रयास गर्छौं, र तपाईंलाई सकभर आत्मिक सहायता दिनलाई हामी सधैं तत्पर रहनेछौं। एन.बी.सी.आई.का पाठ्यक्रमहरू अध्ययन गर्न यहाँले हाम्रो वेबसाइटबाट क्रमैसँग डाउनलोड गर्नुहोस्। त्यसपछि आफ्नो सुविधाअनुसार इमेल वा हुलाकको माध्यमद्वारा प्रेशित गर्नुहोला।  

  • एन.बी.सी.आई. को भेटघाटका कार्यक्रमहरूः

नेपालमा बस्ने एन.बी.सी.आई.का विद्यार्थीका निम्ति हामी बेला–बेलामा तीनचार दिने भेटघाट कार्यक्रम र सम्मेलनहरू गर्ने गर्छौं। यस्तो भेटघाट वा सम्मेलनमा भाग लिन चाहेमा हामीसित सम्पर्क राखी विस्तृत जानकारी पाउनुहोस्; तपाईं बसेको ठाउँमा प्रभु येशूलाई मान्ने साथी वा इसाई मण्डलीसित सम्पर्क राख्न चाहेमा हामी तपाईंलाई सम्बन्धित मानिस वा संस्थासित मिलाउने प्रयत्न गर्नेछौं।

एन.बी.सी.आई.मार्फत उपहार स्‍वरूप प्राप्‍त हुने पुस्‍तिका तथा पर्चाहरू:

हाम्रा एन.बी.सी.आई.का पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थी वा मण्‍डलीहरूका निम्ति निम्न सुसमाचारका पर्चाहरू तपाईंको व्यक्तिगत सेवकाइका निम्ति उपहार स्‍वरूप नि:शुल्‍क पठाउनेछौं।

⇒ पैसा ! पैसा !! पैसा !!!
⇒ मदिरा क्‍या मीठो! त्‍यसको नतीजा क्‍या नमीठो!!
⇒ के ख्रीष्‍टियन धर्म विदेशी धर्म, गाई खाने धर्म हो?
⇒ विकास! विकास!! नाश हुने विकास पो हो कि?
⇒ सत्‍ययुग आउँदैछ!
⇒ प्रख्‍यात मानिसहरूका अन्‍तिम शब्‍द
⇒ आफूलाई केही हानी नगर्नुहोस्‌
⇒ एकै कदम मात्र बाँकी हुँदा
⇒ विवेक भनेको के हो?
⇒ हाम्रो मुक्तिको सत्आधार के हो?
⇒ के तपाईं बिरामी हुनुहुन्‍छ?
⇒ हाम्रो मुक्ति सुनिश्‍चित र सुरक्षित छ
⇒ पास भयो?
⇒ मुक्ति, निश्‍चयता र आनन्‍दको सुरक्षा
⇒ शुभ विवाह
⇒ शिखर आरोहण
⇒ वास्‍तवमा ख्रीष्‍टमस के हो?
⇒ ह्‍याप्‍पी ईस्‍टर!
⇒ पेन्‍टेकोष्‍ट
⇒ गूड फ्राइडे
⇒ वास्‍तविकताको एक झलक
⇒ अबको चालीस दिनमा
⇒ पैसाले किन्‍न सकिन्‍छ, तर...

यी सुसमाचारीय पर्चाहरू तपाईंलाई चाहेमा हामीसँग सम्पर्क राख्नुहोला, वा पढ्‍नको लागि अन्‍य विषयहरूका शिर्षकसँगै माथि सिरान [साना पुस्‍तिकाहरू] मा जानुहोला। धन्यवाद!

यस पृष्‍ठलाई सेयर गर्नुहोस्‌

तपाईंको प्रोत्साहन हाम्रो लागि बहुमूल्य छ

तपाईंको कथाहरूले वेबसाइटहरूलाई यो सम्भव बनाउन मदत गर्दछ।