आज मैले भाइ-टिकाको दिनमा भाइ भाइको बीचमा हुनुपर्ने भ्रातृ प्रेम, यस दिव्य सद्गुणको सम्बन्धमा लेख्ने प्रेरणा पाएँ; किनकि आज नेपालभरि दाजुभाइ दिदीबहिनीहरूको निम्ति यस ठूलो पर्वको दिनमा प्रायः सबै रीतिहरू यही कुरामाथि केन्द्रित रहेका छन्। आजको दिनमा दिदीबहिनीहरूले दाजुभाइहरूलाई टिका लगाउने, मीठो भोजन खुवाउने र सट्टामा दामी दामी कपड़ा पाउने सद्गुणले युक्त, सुन्दर दस्तुर मानिन्छ; किनकि यसरी नै यिनीहरूले तिनीहरूलाई भ्रातृ प्रेम देखाउँछन्। अनि यस विषयमा विचार गर्दा मेरो मननमा मेरो ध्यान परमेश्वरको वचनको निम्न खण्डमा पर्न गयो, जसमा अर्को प्रकारको भ्रातृ प्रेमको कुरा गरिएको छ, जुनचाहिँ शारीरिक नाताभन्दा अझ महत्त्वपूर्ण हुन्छ। यसकारण आउनुहोस्, हामी यस विषयमा केही क्षण विचार गरौं!
“तर जब मानिसको पुत्र आफ्नो महिमामा आउनेछन्, र सबै पवित्र दूतहरू पनि उनको साथमा आउनेछन्, तब उनी आफ्नो महिमाको सिंहासनमाथि बस्नेछन्। अनि सबै जातिहरू उनको सामु भेला हुनेछन्; अनि जसरी एउटा गोठालाले भेड़ाहरू बाख्राहरूबाट अलग पार्छ, त्यसरी नै उनले तिनीहरूलाई एक-अर्काबाट अलग पार्नेछन्। अनि भेड़ाहरूचाहिँ उनले आफ्नो दाहिने हातपट्टि राख्नेछन्, तर बाख्राहरूचाहिँ आफ्नो देब्रे हातपट्टि राख्नेछन्। तब राजाले आफ्नो दाहिने हातपट्टि हुनेहरूलाई भन्नेछन्: “मेरा पिताका धन्य हुनेहरूहो, आओ, संसारको उत्पत्तिदेखि तिमीहरूको निम्ति तयार पारिएको राज्यका अधिकारी होओ, किनभने म भोकाएको थिएँ, र तिमीहरूले मलाई खान दियौ; म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र लग्यौ, म नाङ्गो थिएँ, र तिमीहरूले मलाई वस्त्र पहिराइदियौ; म बिरामी थिएँ, र तिमीहरू मलाई भेट्न आयौ म झ्यालखानामा थिएँ, र तिमीहरू मकहाँ आयौ।” तब यी धर्मी जनहरूले उनलाई यसो भन्दै जवाफ दिनेछन्ः “हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाउनुभएको देख्यौं र खुवायौं? अथवा तपाईंलाई कहिले तिर्खाउनुभएको देख्यौं र पिउन दियौं? हामीले तपाईंलाई कहिले परदेशी हुनुभएको देख्यौं र भित्र लग्यौं? अथवा तपाईंलाई नाङ्गो हुनुभएको देख्यौं र तपाईंलाई वस्त्र पहिरायौं? अथवा हामीले तपाईंलाई कहिले बिरामी हुनुभएको र झ्यालखानामा हुनुभएको देख्यौं, र हामी तपाईंकहाँ आयौं?” अनि राजाले जवाफ दिएर उनीहरूलाई भन्नेछन्ः “म तिमीहरूलाई साँचो भन्छुः मेरा यी भाइहरूमध्ये सानोभन्दा सानो एकजनालाई तिमीहरूले जेजस्तो गरयौ, त्यो तिमीहरूले मलाई नै गर्यौ”
त्यसपछि उनले ती देब्रे हातपट्टि हुनेहरूलाई पनि भन्नेछन्ः “हे श्रापित हुनेहरूहो, मदेखि त्यस अनन्त आगोभित्र गइहाल, जुन आगोचाहिँ शैतान र त्यसका दूतहरूको निम्ति तयार पारिएको छ; किनभने म भोकाएको थिएँ, तर तिमीहरूले मलाई खान दिएनौ, म तिर्खाएको थिएँ, तर तिमीहरूले मलाई पिउन दिएनौ; म परदेशी थिएँ, तर तिमीहरूले मलाई भित्र लगेनौ; म नाङ्गो थिएँ, तर तिमीहरूले मलाई वस्त्र पहिराएनौ; म बिरामी थिएँ र झ्यालखानामा थिएँ, तर तिमीहरू मलाई भेट्न आएनौ।” तब तिनीहरूले पनि उनलाई यसो भन्दै जवाफ दिनेछन्: “हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाउनुभएको, तिर्खाउनुभएको, परदेशी हुनुभएको, नाङ्गो वा बिरामी हुनुभएको अथवा झ्यालखानामा हुनुभएको देख्यौं र तपाईंको सेवा गरेनौं?” तब उनले यसो भन्दै तिनीहरूलाई जवाफ दिनेछन्ः “म तिमीहरूलाई साँचो भन्दछुः यिनीहरूमध्ये सानोभन्दा सानो एकजनालाई तिमीहरूले जेजस्तो गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।” अनि तिनीहरू अनन्त दण्डमा जानेछन्, तर धर्मी जनहरूचाहिँ अनन्त जीवनमा प्रवेश गर्नेछन्” (मत्ती २५:३१-४६)।
म तपाईंलाई परमेश्वरको वचनको यस खण्डमा लेखिएको कुरामाथि एक क्षण विचार गर्नुहुन अनुरोध गर्छु; किनभने यो खण्ड प्रभु येशूले आफ्नो विषयमा र उहाँका चेलाहरूको विषयमा बोल्नुभएको हो; उहाँले दृष्टान्तको रूपमा होइन, तर एउटा सुनिश्चित, चाँडै पूरा हुने भविष्यवाणीको रूपमा यो कुरा भन्नुभएको हो। यसकारण संसारभरि परमेश्वरका जनहरूले प्रभु येशूको निकट दोस्रो आगमनको निम्ति पर्खिरहेका छन्। चाँड़ै उहाँ निश्चित फेरि आउनुहुनेछ। अनि जब उहाँ आउनुहुनेछ, तब उहाँ आफ्नो स्वर्गीय प्रतापको साथ आउनुहुनेछ, अँ, स्वर्गदूतहरूको साथमा आउनुहुनेछ, र सबै जातिका मानिसहरूले उहाँको सामु आफ्ना घुड़ा टेक्नुपर्नेछ र आफ्नो मुखले उहाँलाई 'प्रभु' भनी स्वीकार गर्नुपर्नेछ।
त्यस बेलामा उहाँले यस संसारमा आफ्नो राज्य स्थापित गर्नुहुनेछ। अनि राजा भईकन उहाँ आफ्नो महिमित सिंहासनमाथि बस्नुहुनेछ, र सबै मानिसहरू न्यायको निम्ति उहाँको सामु भेला हुनेछन्। गोठालाले भेडा र बाख्राहरू छुट्ट्याएझैं उहाँले सबै जातिका मानिसहरूलाई दुईवटा झुण्डहरूमा छुट्ट्याउनुहुनेछ। त्यस घडीमा कुनै तेस्रो समुदाय हुनेछैन। मानिसहरू कि त उहाँको दाहिनेपट्टि राखिनेछन्, कि त उहाँको देब्रेपट्टि राखिनेछन्।
अनि यस विभाजनमा छुट्टाउने न्यायको कसीचाहिँ एउटै कुरा हो, अनि त्योचाहिँ भ्रातृ प्रेम हुने रहेछ। किनभने भोकाएकोलाई खाना दिनु, तिर्खाएकोलाई पिउने पानी दिनु, परदेशीलाई भित्र ल्याउनु, नाङ्गोलाई वस्त्र लगाइदिनु, बिरामीलाई भेट्न जानु र झ्यालखानामा भएकोलाई भेट्नु—यी सुकर्महरू त्यस न्यायको समयमा भ्रातृ प्रेमको सद्व्यवहार गनिन्छन्। तर यहाँ यस्ता-यस्ता कल्याण-कार्यहरू कसलाई गरिएका थिए, यो मुख्य विषय पो हुन जानेछ। प्रभु येशूले यो कुरा स्पष्ट पार्नुभयो र यसको विषयमा कुनै शङ्का छैन: 'म तिमीहरूलाई साँचो भन्छुः मेरा यी भाइहरूमध्ये सानोभन्दा सानो एकजनालाई तिमीहरूले जेजस्तो गरयौ, त्यो तिमीहरूले मलाई नै गरयौ।' यसकारण बुझ्नुहोस्, हाम्रो भ्रातृ प्रेम हामीले प्रभु येशूका भाइहरूलाई पो देखाएको हुनुपर्छ, नत्र न्यायको दिनमा गनिँदैनन्। प्रभु येशूका भाइहरू को होलान् त नि? उहाँ आफैले सुसमाचारको पुस्तकमा यसको उत्तर दिनुभयोः 'जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्छ, उही मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन्' (मत्ती १२:५०)। अनि यस विषयमा यो पनि पवित्र बाइबलमा लेखिएको छः 'अनि परमेश्वरको आज्ञा यही हो ः हामीले उहाँको पुत्र येशू ख्रीष्टमाथि विश्वास गर्नुपर्छ, अनि उहाँले हामीलाई आज्ञा गर्नुभएअनुसार हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ' (१ यूहन्ना ३:२३)। यसकारण याद गर्नुहोस्, प्रभु येशूका चेलाहरूको बीचमा सानोभन्दा सानो कुनै भाइ वा कुनै बहिनीसित हाम्रो व्यवहारबाट हामी कस्ता किसिमका मानिसहरू रहेछौं, सो छरलङ्गै बुझिन्छ। अनि न्यायको दिनमा यो सद्व्यवहार र सत्धर्म गनिन्छ। ‘म तिमीहरूलाई साँचो भन्छु, जुन मानिसले यी सानाहरूमध्ये एकजनालाई मेरो चेला भएको नाताले एक कचौरा चिसो पानी मात्र भए पनि पिउन देला, त्यस मानिसले कुनै हालतमा पनि आफ्नो इनाम गुमाउनेछैन' (मत्त १०ः४२)। यस्ता सुकर्म गर्ने मानिसहरू धन्यका हुनेछन्, किनभने उनीहरूको निम्ति परमेश्वरले यस संसारको उत्पत्तिदेखि एउटा अनन्त राज्य तयार गर्नुभयो, जसको अधिकार गर्न उनीहरूको हक हुनेछ।
तर हाय ती मानिसहरूलाई, जो यस न्यायको दिनमा प्रभु येशूको सिंहासनको देब्रेपट्टि उभिनेछन्, किनकि तिनीहरू श्रापित हुनेछन्; प्रभु येशूले तिनीहरूलाई आफ्नो उपस्थितिबाट निकालेर त्यस अनन्त आगोभित्र पठाउनुहुनेछ, जुन नरकको आगोचाहिँ कुनै कल्पनाको फल होइन; तर त्यो त खास गरी शैतान र त्यसका दूतहरूको निम्ति तयार पारिएको छ। उहाँले ती मानिसहरूलाई किन नरकको ननिभ्ने आगोमा हाल्नुहुनेछ? यसको खास कारण के हो त? तिनीहरूले प्रभु येशूका चेलाहरूलाई भ्रातृ प्रेम देखाएनन्। यसकारण भ्रातृ प्रेम कति महत्त्व कुरा हुँदो रहेछ, सो हामीले बुझ्नुपर्छ; नभए हामी एक दिन नरकको ननिभ्ने आगोमा तड्पिनुपर्ला।
तर भ्रातृ प्रेमचाहिँ यस्तो एउटा सद्गुण हो, जुन सद्गुण वर्तमान समयमा हराइरहेको छ, र मानिसहरूको बीचमा गन्तीमा आउँदैन। किनभने अन्तका दिनहरूमा मानिसहरूको बीचमा भक्तिहीनता र अधर्म ज्यादा बढ्नाले आपसमा प्रेम सेलाउँछ भन्ने कुरा स्वाभाविक हो। यस सम्बन्धमा परमेश्वरको वचनले के भन्दछ? समय बित्दै जाँदा मानिसहरू आफूलाई मात्र प्रेम गर्न जान्ने हुनेछन्, र मानिसहरू रुपियाँपैसा चाहिएको भन्दा धेरै मन पराउने धनको लोभी हुने रहेछन्। बुबाआमा र छोराछोरीहरूको बीचमा, लोग्ने र स्वास्नीको बीचमा स्वाभाविक स्नेह कम देखिन्छ। मानिसहरूले असल कुरा घृणा गर्छन् र खराब कुरा मन पराउँछन्। तिनीहरूले परमेश्वरलाई प्रेम गर्ने होइन, तर त्योभन्दा बरु मोजमज्जा बढ़ी रुचाउँछन् र निको मान्छन्। तब के गर्ने?
परमेश्वरको वचन सिरोपर गर्नुहोस्! उक्त पवित्र बाइबलको खण्डबाट असल र लाभदायक शिक्षा ग्रहण गर्नुहोस् र भ्रातृ प्रेम गर्न सिक्नुहोस्, यस कुरामा निपुण र पोख्त हुँदै जानुहोस्! तपाईंले भ्रातृ प्रेम सिक्न चाहनुभयो हो भने, तपाईंले पवित्र बाइबलका निम्न वचनहरू ख्याल गर्नुहोलाः
“दाजुभाइहरूलाई निष्कपट प्रेमले प्रेम गर्ने उद्देश्यले तिमीहरूले आत्माद्वारा सत्यताको आज्ञापालन गरेर आफ्ना मनहरू शुद्ध पारेका हौ; यसकारण एक-अर्कालाई चोखो हृदयले गहिरो प्रमेले प्रेम गर!" १ पत्रुस १:२२
तपाईंले निष्कपट प्रेमले प्रेम गर्न चाहनुभयो भने, तपाईंले एउटा काम गर्नुहोस्ः तपाईंले यहाँ प्रभु येशूको प्रेरित पत्रुसको आदेशअनुसार गर्नुहोस्ः तपाईंले सत्यताको आज्ञापालन गर्नुहोस् र यसरी नै तपाईंको हृदय शुद्ध पार्नुहोस्! किनभने शुद्ध हृदयले मात्र हामीले एक-अर्कालाई प्रगाढ़ प्रेम गर्न सक्छौं। पापले भरिएको हृदयले हामीले प्रेम गर्न सक्दैनौं। तर परमेश्वरलाई धन्यवाद होस्! प्रभु येशूमा पाप चोख्याउने धारा बाग्दैछ। उहाँ यसको निम्ति क्रूसमा मर्नुभयो। उहाँमा पापको क्षमा छ। यसकारण सुसमाचारको वचन पालन गर्नुहोस् र उहाँबाट पापको क्षमा ग्रहण गर्नुहोस्! त्यसपछि अघि बढ्नुहोस् र निष्कपट प्रेमले प्रेम गर्दै जानुहोस्!
“जसले आफ्नो दाजुभाइलाई प्रेम गर्छ, ऊ ज्योतिमा रहिरहन्छ, र उसमा ठेस लाग्ने कनै कारण हुँदैन; तर जसले आफ्नो दाजुभाइलाई घृणा गर्छ, त्यो अन्धकारमा छ, अनि त्यसले अन्धकारमा हिँड्डुल गर्छ र आफू कहाँ जाँदैछु, जान्दैन; किनभने अन्धकारले त्यसका आँखाहरू अन्धा पारिदिएको छ।” १ यूहन्ना २:१०-११
जुन मानिसले प्रेम गर्छ, त्यो मानिस ज्योतिमा रहिरहन्छ—यो कति सुन्दर वचन हो! तब तपाईं र ममा कुनै ठेस लाग्ने कारण हुँदैन, परमेश्वरलाई धन्यवाद होस्! तर जसले आफ्नो दाजुभाइलाई घृणा गर्छ, त्यो अझै पापको अन्धकारमा छँदैछ। त्यो अझै अविश्वासको बन्धनमा छ। त्यसले आफै कहाँ जाँदैछ, यसको पत्तै पाएको रहेनछ; तर त्यो त नरकको आगोमा पुरयाउने बाटोमा हिँड्दै अघि बढिरहेको छ। त्यसले यो ख्याल गर्दैन; किनकि अन्धकारले त्यसका आँखाहरू अन्धा तुल्याएको हुन्छ। यसकारण आफ्नो जीवनमा त्यो आत्मिक अन्धकार तोड्नुहोस् र ज्योतिमा आउनुहोस्! प्रभु येशूलाई अपनाउनुहोस् र प्रेमको बाटोमा हिँड्न सिक्नुहोस्!
“हामी जान्दछौं, हामी मृत्युबाट जीवनमा सरिसकेका छौं; किनभने हामी दाजुभाइहरूलाई प्रेम गर्छौं। जसले आफ्नो दाजुभाइलाई प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ।” १ यूहन्ना ३:१४
शुरुको वचनले भनेजस्तै यस पदमा पनि यही कुरा दोहोरिएको छः भ्रातृ प्रेम न्यायको कसी हो। जसले दाजुभाइलाई प्रेम गर्छ, ऊ जीवनमा सरिसकेको हुन्छ; तर जसले आफ्नो दाजुभाइलाई प्रेम गर्दैन, त्यो आत्मिक मृत्युमा रहिरहन्छ। अनि त्यो कुरा यस न्यायको भावी दिनमा प्रत्यक्ष रूपले प्रकट हुनेछ।
“अनि भक्तिमाथि भ्रातृ प्रेम र भ्रातृ प्रेममाथि प्रेम थप!” २ पत्रुस १:७
प्रभु येशूका प्रेरित पत्रुसको उक्त पदको शिक्षा अनुसार ईश्वरको साँचो भक्ति गर्ने मानिस भ्रातृ प्रेम गर्ने स्तरमा आइपुग्छ र परमेश्वरको दृष्टिमा सिद्ध हुन त्यहाँबाट हाम्रो निम्ति एउटा मात्र कदम बाँकी रहन्छः अन्तिम चरण र चरमसिमा प्रेम हो, जसरी लेखिएको छः
“तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा मनले प्रेम गर! योचाहिँ प्रथम र सबैभन्दा ठूलो आज्ञा हो। अनि दोस्रोचाहिँ योजस्तै छः तिमीले आफ्नो छोमेकीलाई आफूलाई झैं प्रेम गर!” मत्ती २२:३७-३९
यसकारण आउनुहोस्, हामी परमेश्वरको इच्छा पूरा गरौं र हाम्रा भाइबन्धुहरूलाई प्रेम गरौं!
यस सम्बन्दमा तपाईंले कुरा अझ बढ़ी बुझ्न र सिक्न चाहनुभयो भने अथवा तपाईंलाई तपाईंको जीवनमा आत्मिक सहायताको खाँचो परेमा निम्न ठेगानामा हामीसित सम्पर्क राख्नुहुन अनुरोध गर्छौं। 
धन्यवाद। 
प्रिय पाठक मित्र, आज सुनौलो मौका छोप्नुहोस्, र अडियो पोडकास्ट, रोचक किताबहरू र अन्य आत्मिक पुस्तक-पुस्तिकाहरू सित्तैंमा हाम्रो निम्न web page बाट डाउनलोड गरेर पढ्नुहोस्ः
email: [email protected]