अध्याय ९
आर्च बिशप क्रान्मर
थोमस क्रान्मर एउटा पुरानो परिवारबाट आएका थिए। नोर्मन आक्रमणको समयमा (१०६६) यस परिवारको शुरु भएको थियो। तिनको जन्म नटिङ्गहाम प्रान्तको अस्ल्याक्टन भन्ने ठाउँमा भएको थियो; बाल्यकालदेखि नै तिनीलाई स्कूलको शिक्षा दिई तिनी हुर्किए। क्याम्ब्रिज यूनिभर्सिटीमा अध्ययन गरेर तिनले एम० ए० डिग्री हासिल गरे अनि जीजस कलेजमा प्रोफेसरको रूपमा नियुक्त गरिए। एक भद्र मानिसकी छोरीसित विवाह गरेपछि तिनले क्याम्ब्रिजको संसर्ग त्यागेर बकिङ्गहाम कलेजका रीडर भए।
क्रान्मरकी पत्नी प्रसव- कालमा, नानी जन्माउँदा मरिन्; तब तिनी क्याम्ब्रिजमा फर्केर आए। ' डक्टर अफ डिभिनिटी' को रूपमा तिनी जाँच- परीक्षा गर्नेहरूमध्ये एक बने, जसले ती छात्रहरूको परीक्षा तिनीहरूले व्याच्लर/स्नातक वा डक्टरेट उपाधि पाउनुभन्दा अघि लिए। तिनको दृढ़ विश्वास थियो कि धर्म - विज्ञान/ डिभिनिटीका छात्रहरूसित धर्म-शास्त्र बाइबलको ज्ञान हुनैपर्छ; यसर्थ धर्म - शास्त्रको ज्ञानचाहिँ धर्म - विज्ञानको स्नातक तहको एक आवश्यक विषय हुन गयो। यसको अर्थ यही भयो कि कोही मठवासी र इसाई सन्यासीहरू जसले चर्चका लेखकहरूको विषयमा अध्ययन गरेका थिए, तर धर्म - शास्त्रचाहिँ एकदमै थोरै जानेका थिए, उनीहरूलाई उपाधिहरू दिन अस्वीकार गरियो। यस्ताहरूले क्रान्मरलाई मन पराएनन्, यद्यपि कतिले बाइबल पढ्ने समय लिएर सफल पनि भए।
प्रसिद्ध विद्वान भएका हुनाले क्रान्मरलाई अक्सफोर्डका कार्डिनल वोल्सीको 'न्यू कलेज'मा विशेष स्थान दिइयो, तर सो नियुक्ति वोल्सीले ग्रहण गरेनन्। त्यसै समयमा पोपले कार्डिनल काम्पेजिओ र कार्डिनल वोल्सीलाई राजा अष्टम् हेनरी र तिनकी पत्नीको बीचमा चलिरहेको मामलाको विषयमा छलफल गर्ने काम दिए। उनीहरूले फसल बटुल्ने समयमा आत्मिक विषयहरूको न्याय छलफल गर्नु गैरकानुनी हो भन्दै त्यस गृष्म ऋतुभरि सबै जाँचका कुराहरूमा ढिलो गरे, र अगस्त महिनामा सारे। किनकि यो एक यस्तो विषय थियो, जसको फैसलाको निम्ति कसैले जिम्मेवारी लिन चाहँदैनथिए। ढिलो गरेकोमा क्रोधित भएका राजा हेनरीले काम्पेजिओलाई रोममा फर्किजाने हुकुम दिए।
राजाका सल्लाहकारहरूमध्ये दुईजनाले संयोगवश एकरात वाल्टहामको त्यही घरमा बिताए, जहाँ क्याम्ब्रिजमा फैलिरहेको महामारी/ प्लेगबाट बाँच्नलाई क्रान्मर पनि बसेका थिए। बेलुकीको भोजनमा ती तीनजनाको भेट भयो; त्यहाँ क्रान्मरलाई राजाले विवाह विच्छेद गरेका र पुनः विवाह गरेको विषयमा तिनको मन्तव्य सिधियो।
क्रान्मरले उत्तर दिँदै यही भने कि यस विषयमा तिनले राम्ररी अध्ययन गरेका छैनन्, तर तिनको विचारमा तिनीहरूले धेरै समय मण्डलीका नियम-कानुन पढ्नमा - जाँच्नमा बिताइरहेका छन्। तिनको विचारमा यो प्रश्न बाइबलमुताबिक छलफल गरिनुपर्छ। यसो गरे राजा हेनरी सन्तुष्ट हुनेथिए, छलफल गर्ने कुरा महिनौं टल्नेथिएन, अनि इङ्गल्याण्डका पढ़े-लेखका मानिसहरूले पनि यस प्रश्नको उत्तर सजिलै बाइबलमा पाउन सक्नेथिए।
ती दुई सल्लाहकारहरूलाई क्रान्मरको कुरा ठीक लाग्यो र यो कुरा हामी राजालाई भन्नेछौं भने। भोलिपल्ट तिनीहरूले यो कुरा राजालाई भने।
'यो डा० क्रान्मर भन्ने मान्छे कहाँ छन्?' राजाले सोधे, 'के तिनी यहीं वाल्टहाममै छन्?'
ती दुईजनाले भने: 'अघि बिहान हामीले तिनलाई वाल्टहाममा देखेका थियौं।'
'म तिनीसित कुरा गर्न चाहन्छु। तिनलाई बोलाइपठाओ! मेरो विचारमा, तिनले ठीक कुरा भनेका छन्। यो कुरा दुई वर्षअघि मात्र मैले जानेको भए मेरो लाखौं धन बाँच्नेथ्यो, र मेरो मनमा पनि शान्ति हुन्थ्यो।'
क्रान्मर राजाकहाँ जान चाहँदैनथे; 'मैले यो कुरा राम्ररी अध्ययन गरेको छैनँ' भन्दैथिए। तर अन्तमा तिनलाई राजाकहाँ उनको दरवारमा जान करै लाग्यो।
'मेरो विचारमा, तिम्रै मन ठीक छ,' राजाले क्रान्मरलाई भने; 'तिमीले बुझ्नैपर्छ कि मेरो विवेकले मलाई धेरै लामो समयसम्म चिन्तामा पारयो, र यो तिम्रो विचारले कुनै न कुनै प्रकारले त्यो मेरो चिन्ता हटाउन सक्छ। म तिमीलाई आज्ञा गर्छुः जति सक्दो तिमीले मेरो हित र भलाइको काम गर! यदि हाम्रो विवाह परमेश्वरको नियमको विरुद्ध छैन भने म रानीसित छुटानाम गर्न चाहन्नँ। कुनै पनि शासकले मेरी पत्नीजतिको कोमल, आज्ञाकारी र मायालु जीवन-साथी पाएका छैनन्। यदि हाम्रो विवाह परमेश्वरको कानुनको विरोधमा छ कि भन्ने शङ्का नउठेको भए सर्वशक्तिमान परमेश्वरको इच्छा र चाहनाअनुसार म मेरी रानीसितै बस्न-जिउन सन्तुष्ट हुनेथिएँ।'
क्रान्मरले भने कि यो कुरा क्याम्ब्रिज र अक्सफोर्डका सर्वोत्तम व्यक्तिहरूले बाइबलअनुसार जाँच-बुझ गरे असल हुनेथ्यो।
'त्यो असल कुरा हो, तर म तिमीले पनि यस विषयमा आफ्नो विचार लेखेर दिएको चाहन्छु,' राजाले सहमत हुँदै भने। तिनले विल्टशायरका अर्ललाई 'क्रान्मरलाई डरहाम प्लेसमा भएको आफ्नो भवनमा राख' भन्ने आदेश दिए। डरहाममा अर्लकै भवनमा बसेर क्रान्मरले त्यस विषयमा अध्ययन गरे। क्रान्मरको निर्णय यही थियो कि पोपसित चाहिँ परमेश्वरको वचन र धर्म - शास्त्रबाट विमुक्त हुने अधिकार थिएन।
'के तिमी रोमका बिशपको सामु पनि यही सिद्धान्तमा दृढ़ भई
रहनेछौ,' राजा हेनरीले तिनलाई प्रश्न गरे।
'परमेश्वरको अनुग्रहमा म त्यस्तै गर्नेछु, यदि हजुरले मलाई रोम पठाउनुभयो भने, ' क्रान्मरले उत्तर दिए।
क्रान्मरको तर्फबाट विद्वान व्यक्तिहरू त्यस समयका ख्रीष्टियान देशहरूमा भएका प्रायः सबै विश्वविद्यालयहरूमा यस विषयमा तर्क- वितर्क गर्न पठाइए, साथै अक्सफोर्ड र क्याम्ब्रिजमा पनि पठाइए। सबैको निर्णय यही भयो कि आफ्नो भाइकी पत्नीसित भएको राजा हेनरीको विवाह परमेश्वरको वचनअनुसार गैर कानुनी थियो; यसकारण उनीहरूको छुटानाम हुनुपर्छ। एउटा प्रतिनिधि - मण्डललाई पोपसित भेट गर्न रोम पठाइयो। त्यसमा थिए: अर्ल अफ विल्टशायर, डा० क्रान्मर, डा० स्टोक्स्ली, डा० कार्न, डा० बेन्नेट र अन्य व्यक्तिहरू।
प्रतिनिधिहरूले पोपसित भेट गर्ने समय हुँदा पोप सानदार, भव्य वेश-भूषा लाएर र खुट्टामा स्याण्डल लाएर बसे, अनि प्रतिनिधिहरूले चुम्बन गरोस् भनेर आफ्नो खुट्टा पसारे। अर्ल अफ विल्टशायरले पोपको खुट्टामा चुम्बन गर्ने तरखर गरेनन् यसैले अन्य प्रतिनिधिहरूले पनि केही गरेनन्। उनीहरूले यस विषयमा कुनै पनि व्यक्तिले कानुनी तौरले आफ्नो भाइको पत्नीलाई विवाह गर्न सक्दैन, साथै पोपले यस सम्बन्धमा परमेश्वरको नियम-कानुनलाई पर सारेर यसको सट्टामा अर्को नियम-कानुनको प्रबन्ध गर्न सक्दैनन् भन्ने आफ्नो विश्वास पुष्टि गर्ने तरखर गरे। त्यस प्रतिनिधि-मण्डललाई यस विषयमा पोपसित बहस गर्ने समय दिइने प्रतिज्ञा गरिए तापनि फेरि कहिल्यै पोपसित देखादेख नहुने गरी ती प्रतिनिधिहरूलाई बर्खास्त गरियो।
क्रान्मरबाहेक अरू सबैजना इङ्गल्याण्ड फर्के। तिनीचाहिँ राजा- रानीको छुटानामको विषयमा समर्थन गर्न सम्राटको परिषद्कहाँ गए; तर तिनले परिषद्का सदस्यहरूबाट छुटानामको विरुद्धमा कुनै तर्क ग्रहण गरेनन्।
'छओटा सूत्र' नामक कानुन पारित हुँदा क्रान्मरले त्यो कानुन पारित नहोस् भन्दै तीन दिनसम्म सारा पार्लमेन्टको विरोध गरे, पारित नहोस् भनी तर्कहरू राखे; अन्तमा राजा हेनरीले त्यो कानुन पारित होस् भनेर तिनलाई सभा छोड़ी जाने हुकुम दिए।
जब लर्ड क्रमवेल पक्रा परे, र क्याथोलिकहरूले सबै कुरा आफ्नो इच्छाअनुसार भइरहेको देखे, तब तिनीहरूले दस - बाह्रजना बिशपहरूलाई क्रान्मरकहाँ गएर तिनलाई धर्मको सम्बन्धमा केही नयाँ कानुनहरू बुझाउन र यसको विषयमा समर्थन दिन लाउन नियुक्त गरे। तिनले भरोसा गरेका व्यक्तिहरू - बिशप हीथ र बिशप स्किपले पनि क्रान्मरसित यस विषयमा राजा हेनरीको इच्छा शिरोपर गर्ने आग्रह गरे, तर तिनले मानेनन्। त्यसो गर्नुको सट्टामा तिनी राजाकहाँ गए, प्रस्तावित कानुनहरूको विरुद्ध तर्कहरू राखे, राजालाई आफूपट्टि ढल्काए, र ती कानुनहरू पारित गरिएनन्।
धेरै दिन नबित्दै विन्चेस्टरका बिशप र अरूहरूले राजा हेनरीलाई भने कि आफ्ना विचारहरू प्रचार गरेर क्रान्मरले मानिसहरूलाई उक्साइरहेका छन् र धर्म-विरोधी छन् कि छैनन् भनी तिनको जाँच हुनैपर्छ। राजाले अनिच्छासाथ त्यो जाँच स्वीकार गरे, अनि आफैले त्यो कुरा क्रान्मरलाई भने।
जब क्रान्मरले धर्म-विरोधी विचारधाराको सम्बन्धमा तिनको जाँच हुनेछ भनी सुने, तब तिनले भने: 'म तपाईं महाराजलाई दीनतापूर्वक धन्यवाद टक्राउँछु; किनकि मेरो बेइज्जत गर्ने मानिसहरू छन्, र अब म आफैलाई निर्दोष भएको प्रमाण गर्ने आशा गर्दैछु।'
'के तिमीलाई तिम्रा शत्रुहरू कति जना छन्, सो थाह छैन?' राजाले प्रश्न गरे; 'सम्झ त! तिम्रो विरोधमा गवाही दिने तीन-चारजना झूटा गवाही निकाल्न कति सजिलो छ। के तिम्रो भाग्य तिम्रा गुरु ख्रीष्टको भन्दा असल हुन्छ र? मैले तिमीलाई छोडिदिएँ भने तिमी सोझै मृत्युको मुखमा पर्नेछौ। भोलि, जब परिषद्ले तिमीलाई डाक्छ, तब तिमी तिनीहरूकहाँ जाऊ! यदि तिनीहरूले तिमीलाई गढ़ीमा पठाउन खोजे भने तिम्रा आरोप लाउने व्यक्तिहरूलाई तिमीलाई कैद नगरीकन तिम्रो सामु ल्याइदिने माग गर! तिमी पनि परिषद्को एउटा सदस्य हौ, र यो तिम्रो अधिकार हो। यदि तिनीहरूले 'तिमी कैद गरिनैपर्छ' भने भने तिनीहरूलाई यो मेरो औंठी देऊ, र मकहाँ अपिल गर! तिनीहरूले मेरो औंठी देख्ने बित्तिकै मैले यो मामला आफैले विचार गर्न स्वीकार गरेको र तिनीहरूलाई बर्खास्त गरेको रहेछु भनेर तिनीहरूले थाह पाउनेछन्।'
भोलिपल्ट क्रान्मरले राजाले सिकाएझैं गरे। तिनले जेजति नै भने पनि तिनीहरूले तिनी कैद गरिने नै छन् भनी निश्चय गरेपछि तिनले राजाकहाँ अपिल गरे र तिनीहरूलाई त्यो औंठी दिए। छक्क परेको सारा परिषद् झट्टै जस्याकजुरुक उठे र सारा मामला राजाको हातमा समर्पण गर्दै त्यो औंठी उनीकहाँ पुर्याए।
राजाले यसो भन्दै सारा परिषद्लाई सम्बोधन गरे : 'अहो, मेरा शासन-सहयोगीहरूहो, मैले सम्झेथें, मेरो परिषद्मा बुद्धिमानी व्यक्तिहरू छन्। तपाईंहरूले क्रान्मरलाई एउटा साधारण नागरिकको रूपमा होइन, तर एउटा परिषद्को सदस्यको रूपमा जाँच गर्नुहुनेछ भनी म ढुक्कै थिएँ, तर अहिले म देख्दैछु कि तपाईंहरूले क्रान्मरसित निष्ठुर व्यवहार गर्न लाग्नुभएको रहेछ। शासकलाई एउटा नागरिकको रूपमा हेरिन्छ भने म पनि लर्ड क्यान्टरबरीको रूपमा हेरिन सक्छु।'
क्रान्मरका शत्रुहरूले यही निर्णय गरे कि तिनको विरुद्ध जाँच- कार्यवाही गर्नभन्दा अघि तिनको र राजाको बीचमा भएको असल सम्बन्ध तोडिनुपर्छ। तिनीहरूले क्रान्मरकै मण्डलीका पुरोहितहरू र त्यस प्रान्तका प्रसिद्ध न्याय-अधिपतिहरूद्वारा क्रान्मरलाई तिनले भूल सिद्धान्तहरू प्रचार गरेको आरोप लाउने कुरा सबै ठिक्क पारे; त्यसपछि तिनीहरूले सम्पूर्ण आरोप-पत्र राजाकहाँ पुर्याए।
राजा हेनरीले आरोपहरू पढ़े, कागजात खल्तीमा हाले, त्यसपछि शान्त हुन टेम्स नदीको किनारमा नौका चढून गए। लामबेथ पुलको छेउमा नदीको किनारमा क्रान्मरलाई भेट्दा राजाले तिनलाई बात मार्न नौकामा आउन अह्राए।‘मसित तिमीलाई भन्न केन्टबाट आएको खबर छ, राजाले कुरा शुरु गरे।
'राम्रै खबर होला; म आशा गर्छु,' क्रान्मरले उत्तर दिए।
'खबर यति राम्रो छ कि अब केन्टमा भएको सबैभन्दा ठूलो धर्म-विरोधीलाई म चिन्दछु।' राजाले खल्तीबाट आरोपहरू लेखिएको नालिस-पत्र निकाले अनि सो पढ्न क्रान्मरलाई दिए।
मित्र सम्झेका व्यक्तिहरूले नै तिनलाई त्यसो दोष लाएका देखेर क्रान्मरको हृदयमा गहिरो चोट पस्यो; तथापि तिनले राजालाई ती आरोपहरू छानबिन गर्ने एउटा आयोग/ कमिशन नियुक्त गर्नुहोस् भनी विन्ती गरे।
'मैले त्यसै गर्ने इच्छा गरेको छु,' राजाले भने, 'अनि त्यस आयोगको प्रमुख तिमी नै हुनेछौ; जुन आयोगमा तिमीले नै दुई - तीनजना सदस्यहरूलाई पनि नियुक्त गर्नेछौ।'
'यदि मैले नै मेरो न्याय गरें भने मानिसहरूले यो आयोग निष्पक्ष भएन भन्नेछन्,' क्रान्मरले प्रतिवाद गरे।
तीन साताभित्रमा ती आरोपहरू क्याथोलिकहरूले क्रान्मरको विरोधमा गरेका षड्यन्त्र थियो भन्ने कुरा प्रत्यक्ष थाहा भयो। राजाले तिनलाई बाह्र वा सोह्रजना मानिसलाई नियुक्ति गरेर ती षड्यन्त्र गर्ने व्यक्तिहरूको र तिनीहरूको घर-घरको खोजतलाश गर्न लाउने र भेट्टाएको कुनै पनि कुरा तिनीकहाँ ल्याउने आज्ञा गरे। प्रायः चार घण्टा खोजतलाश गरेपछि विन्टेस्टरका बिशप र अरूहरूले लेखेका पत्रहरू हात पारिएपछि सारा षड्यन्त्र खुलस्त पारियो।
षड्यन्त्रमा फसेकाहरूमध्ये दुईजना - डोभरका अनुधर्माध्यक्ष बिशप र डा० बार्बर, एक सामान्य व्यक्ति क्रान्मरका विशेष असल मित्रहरू थिए। एकदिन क्रान्मरले ती दुवैलाई आफ्नो अध्ययन-कक्षमा डाकेर यसो भने: 'मलाई तपाईंहरूबाट केही असल सल्लाह चाहिएको छ। मैले विश्वास र भरोसा गरेका एक-दुईजनाले मेरा गुप्त कुराहरू उदाङ्गै पारेका छन् र मलाई धर्म-विरोधी भन्ने दोष लाएका छन्। मैले तिनीहरूप्रति कस्तो व्यवहार गर्नुपर्ने हो? तपाईं दुईजना मेरा मित्रहरू हुनुहुन्छ, र जब- जब मलाई सरसल्लाह चाहिन्थ्यो, तब-तब म सधैं तपाईंहरूसित कुरा गर्थे।'
'यस्ता बदमाश - दुष्टहरू झुण्ड्याइनैपर्छ! ' डा० बार्बरले भने। 'झुण्ड्याएर मार्नु नै तिनीहरूको निम्ति ठीक दण्ड हुनेछ! म त तिनीहरूलाई आफै झुण्ड्याउनेथिएँ!' अनुधर्माध्यक्षले पनि भने।
क्रान्मरले दुवै हात स्वर्गतिर उठाएर भनेः 'हे प्रभु र कृपालु परमेश्वर, आज कसले कसमाथि विश्वास गर्न सक्छ र?' चिट्ठी-पत्र खल्तीबाट निकाल्दै तिनले भने: 'के तपाईंहरूलाई यी चिट्ठी-पत्रको बारेमा केही थाहा छ?'
ती दुवैजनाले घुँडा टेकेर क्षमा माग्दै यसो भने, कि अरूहरूले तिनीहरूलाई ती पत्रहरू लेख्न प्रलोभनमा पारे।
क्रान्मरले भनेः 'लौ त, परमेश्वरले तपाईं दुईजनालाई असल व्यक्तिहरू बनाऊन्! म कहिल्यै तपाईंहरूबाट यस्तो व्यवहार पाउनु योग्यको थिइनँ; अब तपाईंहरूले परमेश्वरसित क्षमा माग्नुपर्छ। यदि म तपाईंहरूको भरोसा गर्न सक्दिनँ भने त अब मैले के- कसो गर्नुपर्छ? अब म बुझ्दछु कि मानिसहरूको बीचमा कुनै भरोसा छैन। मलाई त मेरो देब्रे हातले मेरो दाहिने हातलाई दोष लाउनेछ भन्ने डर पो लाग्दैछ। यस विषयमा म अचम्म मान्नुपर्दैन, किनकि हाम्रा मुक्तिदाता येशू ख्रीष्टले हामीलाई अन्तको समयमा यस्तो दिन आउनेछ भनी सावधान गराउनुभएको छ। म उहाँको महान् अनुग्रहमा यस्तो समय चाँड़ै बितिहालोस् भनी उहाँलाई विन्ती - प्रार्थना गर्छु।'
अष्टम् हेनरीको राज्यकालमा क्रान्मरको विरुद्ध गरिएको यो अन्तिम षड्यन्त्र थियो। छैटौं एड्वर्डको पालामा क्रान्मरको प्रभाव अझ धेरै थियो (तिनी जवान राजाको धर्म - पिता थिए)। एड्वर्डकै राज्यकालमा क्रान्मरले बिशप रिड्लीसित तर्क-वितर्क गरेका थिए, र यही तर्कले धर्म- विज्ञानको सम्बन्धमा तिनका विचारधाराहरू दृढ़ र पक्का गरयो। मासको मूर्तिपूजाको विषयमा तिनले सारा प्रोटेस्टेन्ट सिद्धान्तको पक्ष लिएर यसलाई पुष्टि गरे - यस विषयमा चर्च अफ इङ्गल्याण्डको निम्ति पाँचओटा पुस्तकहरू लेखेर।
सोह्र वर्षको उमेरमा राजा एड्वर्ड बिरामी परे; तब उनले आफ्नै बहिनी मेरी, जो क्याथोलिक थिइन्, तिनलाई राज-सिंहासन दिने इच्छा नगरेर राजा हेनरीकी भान्जी लेडी जेन ग्रेहलाई राज - सिंहासन प्रदान गरे। सबै उच्च कुलीन व्यक्तिहरूले यो कुरा स्वीकार गरे; तब उनीहरूले क्रान्मरलाई डाकिपठाए, र तिनलाई लेडी जेनलाई सहयोग दिन तिनी उनीहरूसित मिल्छन् कि भनी प्रश्न गरे, तर क्रान्मरले उनलाई सहयोग दिन इन्कार गरे। तिनले हेनरीको इच्छा - पत्रअनुसार सबै काम गर्ने प्रण/ प्रतिज्ञा गरेका थिए; त्यस इच्छा- पत्रले मेरीको नाम उल्लेख गरेको थियो, लेडी जेन ग्रेहको नाम होइन। क्रान्मरले राजा एड्वर्डसित यस विषयमा कुरा गरे, त्यसपछि लेडी जेनले राज - सिंहासन प्राप्त गर्नु कानुनी हुन्छ भन्ने कुरा तिनलाई ठीक लाग्यो। अझ यस कुराको विषयमा तिनले केही वकिलहरूसित पनि कुराकानी गरेपछि क्रान्मर पनि सहमत भए।
एड्वर्डको मृत्यु हुँदा कुलीन व्यक्तिहरू/लर्डहरूले यस्तो आदेश दिए कि यद्यपि लेडी जेन रानी हुन चाहँदिनन्, ता पनि उनले नै राज-सिंहासन ग्रहण गर्नुपर्छ। मेरीलाई मन पराएर वा तिनको पक्ष लिएर होइन, तर लेडी जेनका कति समर्थकहरूप्रतिको घृणाले गर्दा हाउस अफ कम्मन्स/लोकसभाले यस आदेशको विरोध गरयो। विरोधीहरूको सहयोगद्वारा मेरीले सिंहासन आरोहण गरिन्; तिनी लण्डन आइन् र लेडी जेनले क्याथोलिक भई सेवा - आराधना गर्न अस्वीकार गर्दा तिनले उनको शिर काटिदिइन्।
कुलीन व्यक्तिहरू, जसले लेडी जेनलाई समर्थन गरेका थिए, तिनीहरूले जरिमाना तिर्नुपरयो, र तिनीहरूलाई क्षमा दिइयो, तर नर्थ- उम्बरल्याण्ड र सफ्फोकका ड्यूकहरू र आर्च बिशप क्रान्मरलाई यस्तो गरिएन। क्रान्मरले क्षमा पाउने इच्छा गरे, तर रानी मेरीले तिनलाई भेट्न अस्वीकार गरिन्; किनकि तिनले राजा हेनरी र रानी मेरीकी आमाको छुटानामको विषयमा प्रमुख भूमिका लिएका थिए। रानी मेरीले एड्वर्डको राज्यकालमा इङ्गल्याण्डमा प्रोटेस्टेन्ट सिद्धान्त ग्रहण गरिएको विषयमा पनि क्रान्मरलाई नै उत्तरदायी ठहराइन्।
चाँड़ै एउटा यस्तो होहल्ला फैलिइयो कि रानी मेरीको कृपादृष्टि प्राप्त गर्न क्रान्मर राजा एड्वर्डको मृत्यु संस्कारमा मास सम्पन्न गर्न तयार छन्। एउटा चिट्ठीमा मासको सम्बन्धमा आफ्नो विचार व्यक्त गरेर तिनले झट्टै यो होहल्ला बन्द गरे। तर त्यो चिट्ठी कसैले प्रकाशित गरेर चारैतिर बाँडिदियो। क्रान्मरलाई कमिस्नरहरूको सामु देखा पर्ने आदेश दिइयो। तिनको सुनवाइपछि तिनलाई जाने अनुमति दिइयो, तथापि तिनी चाँडै पक्रा परे, टावर गढ़ीमा थुना परे, अनि तिनलाई देशद्रोही ठहराइयो।
रानी मेरीले बुझिन्, कि एड्वर्डको पालोमा दोषी भएका सबैलाई उनले क्षमा दिएकी थिइन्, साथै एड्वर्डले लेडी जेनलाई राज - सिंहासन दिन चाहँदा अरू सबैले भन्दा धेरै समयसम्म क्रान्मरले नै उनको पक्ष लिएका थिए; यसकारण उनले तिनको देशद्रोहीको दोष क्षमा गरिन्, तर धर्म-विरोधीको आरोपचाहिँ कायम राखिन्।
समयमा धर्माचार्यहरू र धर्मगुरुहरूसित आफ्नो धर्म-सिद्धान्तको विषयमा बहस र तर्क गर्न क्रान्मरलाई अक्सफोर्डमा लगियो। रानी र उनका बिशपहरूले क्रान्मरलाई के-कसो गर्नुपर्छ, सो अघिबाटै निर्णय गरिसकेका थिए, तर यस बहसतर्कले चाहिँ तिनको हत्या-काण्ड ढाकछोप गर्नमा सहायता पुरयाउनेथियो।
१५५५ सालको सेप्टेम्बर महिनाको १२ तारिखमा क्रान्मर सेन्ट मेरीज चर्चमा बिशप ब्रूक्स, डा० मार्टीन, डा० स्टोरी, रानीका कमिस्नरहरू र अन्य कोही पदाधिकारीहरूको सामु देखा परे। न्याय - विचार गर्ने सभाको सामु पेस गरिँदा क्रान्मरले आफ्नो टोपी खोले, अनि रानीका कमिस्नरहरू प्रत्येकप्रति शिर झुकाए। त्यसपछि पोपको प्रतिनिधिको आँखामा आँखा जुझाउँदै तिनले टोपी ओढ़े र उनको अधिकार स्वीकार गर्न तयार नभएर सीधा भई उभिए।
'म मेरो विश्वासको सम्बन्धमा यही घोषणा गर्छु, ' क्रान्मरले भन्न थाले; 'म तपाईंहरूले यो याद गरेको चाहन्छु कि रोमको बिशपसित यस देशमाथि कुनै अधिकार छैन। मैले राजाको सामु शपथ खाएको थिएँ, कि यस देशमा कुनै विदेशी उहाँभन्दा ठूलो हुन सक्दैन। पोप राजाको विपरीत छन्, र म यी दुवैको सेवा गर्न सक्दिनँ।
रोमका बिशप पनि परमेश्वरको व्यवस्थाको विरुद्धमा छन्। परमेश्वरको व्यवस्थाले हप्ताको एक दिन अलग गरेको छ, जुन दिनमा सबै मानिसहरूले आफ्नै भाषामा परमेवरको व्यवस्थाका कुरा सुन्नुपर्छ र बुझ्नुपर्छ। तर पोपले सेवा-आराधना ल्याटिन भाषामा गरियोस् भन्ने आदेश दिन्छन्, जुन भाषा कसैले बुझ्दैन। परमेश्वरको इच्छा अर्कै छ।
प्रभु-भोजको पवित्र विधिको बारेमा मैले झूटा सिद्धान्त सिकाएको छैनँ। यदि कुनै धर्माचार्यले ख्रीष्टको शरीर प्रभु-भोजमा साँच्ची नै उपस्थित हुन्छ भन्ने प्रमाण गर्छन् भने म त्यो स्वीकार गर्नेछु।
ख्रीष्टले सबैलाई कचौराबाट पिउने आज्ञा दिनुहुन्छ, तर पोपले सर्वसाधारणबाट सो कचौरा खोस्दैछन्। ख्रीष्टले राजाको आज्ञापालन गर्नू भन्नुहुन्छ, तर पोपले चाहिँ हामीलाई उनैको आज्ञापालन गर्नू भन्छन्। मैले पोपको आज्ञापालन गरें भने म ख्रीष्टको आज्ञापालन गर्न सक्दिनँ।
प्रभु येशूले ख्रीष्ट-विरोधी देखा पर्नेछ भन्नुभयो। त्यो ख्रीष्ट- विरोधी को होला? त्यो त्यही हुनेछ, जसले आफैलाई अरू सारा सृष्टिभन्दा माथिको सम्झन्छ। जबसम्म कसैले आफैलाई पोपभन्दा ठूलो भनी पेस गर्दैन, तबसम्म पोप नै ख्रीष्ट - विरोधी हुन्।'
उपरोक्त भाषण दिइसकेपछि क्रान्मरले आफ्नो विरोधमा लगाइएको हरेक आरोपमा उत्तर दिए।
- पुरोहितको रूपमा नियुक्त हुनुभन्दा अघि तिनले क्याम्ब्रिजकी जोअन ब्लाक कि ब्राउनलाई विवाह गरेका थिए।
क्रान्मरले उत्तर दिँदै भनेः तिनले जोअनसित विवाह गरेका थिए, तर तिनको नाम ब्लाक कि ब्राउन थियो, सो तिनलाई पक्का थाहा थिएन। - जोअनको मृत्युपछि क्रान्मर पुरोहितको रूपमा नियुक्त भए, र तिनी
पोपद्वारा आर्च बिशप बनाइए।
क्रान्मरले भनेः तिनले पोपबाट एउटा पत्र पाएका थिए, र त्यो तिनले राजालाई दिए, अनि राजाले नै तिनलाई आर्च बिशप बनाए। - पुरोहित हुँदा तिनले एउटी एन् नाम भएकी स्त्रीसित विवाह गरे।
क्रान्मरले भने: हो, यो कुरा सत्य थियो। - अष्टम् हेनरीको शासनकालमा तिनले आफ्नी पत्नीलाई गुप्तमा
राखे, र नानीहरू जन्माए।
क्रान्मरले भनेः त्यो कुरा सत्य थियो। अरू पुरोहितहरूले गरेजस्तै गर्नु र अर्काका पत्नीहरू चोर्नुभन्दा त आफ्नै पत्नी हुनु असल थियो। - एड्वर्डको समयमा तिनी आफ्नी पत्नीसित खुल्लमखुल्ला सँगै
बसे।
क्रान्मरले भनेः तिनले त्यसै गरे; किनभने इङ्गल्याण्डको कानुनले तिनलाई यसो गर्ने अनुमति दियो। - तिनी आफ्नी पत्नीको बारेमा लज्जित थिएनन्।
क्रान्मरले भनेः त्यसमा लज्जित हुने कुनै कारण थिएन। - तिनले मण्डलीको अधिकारलाई अस्वीकार गरे। अल्टरमा सम्पन्न गरिएको पवित्र विधि/ प्रभु - भोजको बारेमा धर्म-विरोध गरे र आफ्नो विश्वासको सम्बन्धमा पुस्तकहरू लेखेर प्रकाशन गरे। क्रान्मरले पुस्तकहरू लेखेको कुरा स्वीकार गरे। ती पुस्तक- हरूका नाम सभामा बताइएको थियो।
- तिनले अरूलाई, उनीहरूको इच्छाको विरोधमा तिनको कुरामा
सहमत हुनु कराकर र जबरजस्ती गरे।
तिनले आफूसित सहमत हुनेहरूलाई सम्झाए - बुझाए, तर कसैलाई जबरजस्ती आफूसित सहमत हुन कर लएनन्। - यस्ता ठूला-ठूला अपराध गरिरहन नछोड्दा नै तिनलाई टावर - गढ़ीमा थुनेर राखियो।
क्रान्मरले उत्तरमा भनेः तिनले ठूला-ठूला अपराध गरेका कुराहरू तिनलाई थाहा छैन। - अक्सफोर्डमा तिनलाई धर्म - विरोधको सम्बन्धमा दोषी ठहराइयो। क्रान्मरले तिनलाई दोषारोपण गरेको कुरा स्वीकार गरे, तर म अधर्मी र धर्म-विरोधी होइनँ भनी दाबी गरे।
- तिनले क्याथोलिक चर्चलाई त्यागेर राजा र उनका प्रजालाई त्यसै गर्न लाउने प्रयास गरे।
क्रान्मरले स्वीकार गरे: हो, तिनले पोपलाई त्यागे, तर त्यसमा कुनै विच्छिन्नता थिएन। - तिनले दुई पल्ट पोपप्रति आज्ञाकारी हुने शपथ खाएका थिए।
तिनले उत्तर दिँदै भने: त्यसो गरेर तिनले देशको नियम पालन गरिरहेका थिए। - तिनले बिशपहरू र पुरोहितहरूलाई नियुक्त गर्दै पोपको अधिकार
हड़प गरेका थिए।
क्रान्मरले भनेः तिनले बिशपहरू र पुरोहितहरूलाई नियुक्त गरे, र त्यसो गर्ने अधिकार तिनलाई देशको कानुनले दिएको थियो। - सारा देशले पोपको अधिकारलाई मान्यता दिएको थियो, तथापि तिनले मान्यता दिएनन्।
क्रान्मरले मानिलिए: हो, तिनी पोपको अधिकारलाई मान्यता दिँदैनथिए, तर पोपको अधिकार स्वीकार नगर्दा तिनलाई आफूले ठीक गरेको लागेको थियो।
१५५६ सालको फरवरी महिनाको १४ तारिखको दिनमा क्रान्मरलाई फेरि नयाँ कमिशनको सामु डाकियो, र दण्डको आज्ञा सुनाइयो, तिनको माण्डलिक कार्यभारहरू पनि खोसियो र तिनलाई सरकारी अधिकारीवर्गकहाँ सुम्पिइयो।
क्रान्मर कैद गरिएको अब प्रायः तीन वर्ष भइसकेको थियो। अक्सफोर्डका सबै धर्माचार्यहरू र धर्मगुरुहरूले तिनलाई आफ्ना विश्वास त्याग्ने अनेक चेष्टा गरे; तिनलाई तिनीहरूसित बहस र तर्क गर्दा डीनको घरमा बस्ने अनुमति पनि दिए; तर अन्तमा क्रान्मरले तिनीहरूका कुरा माने र सबै कुरामा पोपको अधिकार मानिलिँदा आफ्नो विश्वासलाई इन्कार गर्ने कागजमा सही गरे। तिनले यसरी आफ्नो सिद्धान्त त्यागेकोमा रानी खुशी भइन्, तर क्रान्मर मर्नैपर्छ भनी उनले अझ निश्चय गरिन्। क्रान्मर जेलमै बसिरहे।
इमानदारीसित मर्न नसक्दा अथवा बेइमानदारीसित जिउन नसक्दा क्रान्मर दुःखी भए। त्यही समयमा रानी मेरीले गुप्तमा डा० कोललाई मार्च २१ तारिखमा क्रान्मरलाई जलाउने समयमा प्रचार गर्न एउटा उपदेश तयार गर भनिन्। मार्च २० तारिख कोल महोदय क्रान्मरकहाँ तिनी आफ्नो विश्वासको त्यागमा दृढ़ छन् कि छैनन् भनी जाँचबुझ गर्न गए। तिनी त्यसमा अटल रहेकोमा डा० कोल ढुक्क भएपछि मार्च २१ तारिख क्रान्मरलाई गरिब - दुःखीका निम्ति केही पैसा दिन बिहानै फर्केर आए। तब क्रान्मरले अब चाँडै तिनलाई के हुनेथियो, सो बुझे। एउटा स्पेनको मठवासी कैदखानामा आएर क्रान्मरलाई दुईपल्ट तिनले आफ्ना हातले मत - त्याग गरेको कुरा लेखेको र सही गरेको कागजात मागे। त्यो माग तिनले पूरा गरे। त्यसपछि क्रान्मरले एउटा प्रार्थना र उपदेश लेखे, अनि यी लेखहरू गुप्त रूपले आफ्नो कमिजको गोजीमा लुकाएर पर्खिबसे।
दिन चिसो थियो, र पानी परिरहेको थियो; यसकारण सबै कुलीन व्यक्तिहरू, न्यायाधीशहरू र भेला भएको धुइरोसितै क्रान्मरलाई सेन्ट मेरीज चर्चमा ल्याइयो। डा० कोलले यसो भन्दै उपदेश दिए कि क्रान्मरले आफ्ना भूलधारानाहरूको बारेमा पश्चात्ताप गरे, तथापि रानीसित तिनलाई मृत्यु - दण्ड दिने अरू कति कारणहरू थिए। उनले क्रान्मरका कामहरूको प्रशंसा गरे र तिनी मारिनु योग्यका थिएनन् भने, तर अक्सफोर्डमा भएका सबै चर्चहरूमा तिनको आत्माको निम्ति मासहरू चढ़ाइनेथिए पनि भने। त्यसपछि कोलले क्रान्मरलाई तिनको विश्वासको घोषणा पढून अह्राए, ताकि तिनी असल क्याथोलिक थिए भनी सबैले जानून्।
क्रान्मरको प्रार्थना र विश्वासको घोषणा प्रायः अन्तसम्म क्याथोलिक चर्चको सिद्धान्तअनुसारका थिए; तर अन्तमा तिनले यसो भनेः ‘अनि अब म त्यो ठूलो कुरा बताउन चाहन्छु, जुन कुराले मैले जीवनमा आजसम्म गरेको वा भनेको अरू सबै कुराले भन्दा ज्यादै मेरो विवेकलाई सताउँछ ; त्यो हो मैले लेखेको एउटा लेख, जो सत्यको विरुद्ध छ। अनि अब म यहाँ त्यो मैले मेरै हातले मृत्युको डरमा लेखेको, तर मेरो सम्पूर्ण हृदयले विश्वास गरेको सत्यताको विरोधमा लेखेको भन्दै त्यो मेरो लेखलाई परित्याग गर्छु, इन्कार गर्छु। जब म आगोमा हुन्छु, पहिले यही हात जलाइनेछ। पोपको बारेमा केही भन्नु हो भने म तिनलाई ख्रीष्टको शत्रु र ख्रीष्ट - विरोधी भन्दै तिनका जम्मै झूटा सिद्धान्तका साथमा इन्कार गर्छु। अनि प्रभु - भोजको पवित्र विधिको विषयमा चाहिँ म मैले मेरो पुस्तकमा भनेको र सिकाएको अनुसार विश्वास गर्छु, .....
सारा मण्डली क्रान्मरका शब्दहरू सुनेर छक्कै परे, अनि उपस्थित क्याथोलिक चर्चका गुरुजन र अगुवाहरू रिसाए, कुढ़िए र क्रोधित भए; किनभने तिनीहरूसित अब तिनलाई धम्काउने अरू केही कुरा थिएन; किनकि तिनी केवल एकपल्ट मात्र मारिन सक्थे।
तिनीभन्दा अघि हग लाटिमर र रिडली जलाइएको ठाउँमा आइपुगेपछि क्रान्मरले केही क्षण प्रार्थना गर्न घुँडा टेके, त्यसपछि कमिजमाथिका लुगाहरू खोले; तिनको कमिज तिनको खाली खुट्टासम्म पुगेको थियो। तिनको शिर, टोपी खोल्ने बित्तिकै एउटा केश पनि नभएको चिण्डो देखियो। तिनको दाह्री लामो, बाक्लो थियो, अनुहारै ढाक्ने थियो; तिनको अनुहार यति गम्भीर थियो कि सो देखेर तिनका मित्रहरू साथै शत्रुहरू पनि प्रभावित भए।
आगो जल्दै आउँदा क्रान्मरले आफ्नो दाहिने हात ज्वालाहरूको बीचमा हाले र त्यो हात सबैले तिनको शरीरभन्दा पहिले जलेको नदेखेसम्म त्यत्तिकै राखे। आफ्नो प्राण त्याग्नुभन्दा अघि तिनी घरीघरी 'यो अयोग्य दाहिने हात!' भन्दै कराए।
अध्याय १०
गर्टड क्रोखे
गट्टैड क्रोखे आफ्नो दोस्रो पतिसित टावर अफ लण्डनको नजिकमा सैन्ट क्याथ्रिन्स् चर्चको अधिकार क्षेत्रमा बस्थिन्। १५५८ सालमा एउटा केटाले सेन्ट निकोलस अभिनय गर्दै त्यस चर्चका परिवार- परिवारमा घुम्यो, तर श्रीमती गर्छुडले त्यस केटालाई आफ्नो घरभित्र पस्न दिइनन्। भोलिपल्ट डा॰ माल्लेट र अन्य बीसजना व्यक्तिहरू तिनको घरमा आए, र श्रीमती गर्नुडसित ‘'किन तिमीले सेन्ट निकोलसलाई घरभित्र पस्न र उनीबाट आशिष ग्रहण गर्न मानेनौ' भनी सोधे।
'महाशय, यहाँ सेन्ट निकोलस आएका मलाई थाहा भएन, ' तिनले उत्तर दिँदै भनिन्।
'हो, हिजो निकोलस भएर आउने केटा यही हो।'
'मेरो छिमेकीको छोरा यहाँ आएको थियो, तर सेन्ट निकोलस भने आएका थिएनन्; किनकि सेन्ट निकोलस स्वर्गमा हुनुहुन्छ। मलाई त त्यस केटाले मेरो चीजबीज चोर्छ होला भन्ने डर लाग्यो; किनभने सेन्ट निकोलसका क्लर्कहरूले मानिसहरूलाई लुटेको कुरा मैले सुनेको थिएँ। ' तिनलाई छोडेर डा० माल्लेट त्यहाँबाट हिँड़े; उनले श्रीमती गडलाई यस्तो केही भन्न लाउन सकेनन्, जसको आधारमा तिनलाई धर्म-विरोधको दोष लाउन सकिन्थ्यो।
१५५९ सालमा श्रीमती गर्हुड क्याथोलिक चर्चमा बप्तिस्मा दिइरहेको एउटा बालकको धर्ममाता भइन्; तर त्यो बालक अघिबाटै प्रोटेस्टेन्ट तरिकाले गुप्तमा बप्तिस्मा गरिएको थियो। जब तिनका शत्रुहरूले यो कुरा सुने, तब तिनीहरूले गर्टूडलाई धुइँधुइँती खोजे, तर तिनी त समुद्र पारि गुल्डरल्याण्ड भन्ने ठाउँमा तिनका पहिलो पतिले तिनका छोराछोरीहरूको निम्ति छोडिराखेको केही जमिन हेर्न गएकी थिइन्। तीन महिनापछि तिनी एण्ट्वर्प भएर घरतिर लागिन्। त्यहाँ तिनलाई जोन जोन्सन् भन्ने मानिसले देखे, जो डच अर्थात् नेडरल्याण्डको बासिन्दा थिए, र जसको गर्टूडको लोग्नेसित एउटा बील/हुण्डीको विषय लिएर झगड़ा भइरहेको थियो। उनले गर्टूडलाई 'यिनी एना - ब्याप्टिस्ट (फेरि बप्तिस्मा दिने) हुन्' भन्ने आरोप लाए र तिनलाई, तिनका लोग्नेसित बदला लिने मनसायले कैदखानामा हालिने परिपाटी मिलाए।
गर्टूड दुई सातासम्म कैदखानामा बसिन्। त्यस बेला तिनले कति कैदीहरूलाई रक्सीका पिपाहरूमा पानी हालेर गुप्तमा डुबाएर मारिएका र नदीमा फ्याँकिएका देखिन्। तिनलाई पनि अन्तमा त्यस्तै गरिनेछ भन्ने विचार गर्टुडलाई भयो; त्यही डरले गर्दा तिनी बिरामी परिन्, र पछि त्यही बिरामीले मरिन्।
आखिरमा एना-ब्याप्टिस्टको दोषारोपणमा तिनको न्याय गरिँदा गर्हुडले आफ्नो विश्वासको घोषणा डच भाषामा यति साहससित गरिन्, किँ तिनी कैदखानाबाट मुक्त गरिए र तिनलाई इङ्गल्याण्ड फर्किजाने अनुमति दिइयो।
स्पर्जहरू, केभिल, आम्ब्रोज, ड्रेक र टिम्स
यी छजना मानिसहरू एस्सेक्स नामक प्रान्तमा बस्थे। धर्म- विरोधी भन्ने आरोप लगाइसकेपछि उनीहरू जम्मै पक्रा परे, अनि लण्डनका बिशप गार्डिनरकहाँ पठाइए। गार्डिनरले पहिलेका चारजनालाई मार्शल्सी कैदखानामा पठाए, रहल दुईजनालाई चाहिँ किङ्गस् बेन्च नामक उच्च न्यायालयमा पठाए।
एक वर्षसम्म थुनामा परेपछि ती सबै बिशप बोन्नरद्वारा न्याय गरिनलाई सेन्ट पल्स चर्चमा ल्याइए। बोन्नरले पहिले टिम्सको जाँच गरे, जसलाई उनले मूल नेता ठाने। उनको भनाइमा, टिम्सले अरूहरूलाई धर्म-विरोधी कुराहरू सिकाएर तिनीहरूलाई आफूजत्तिकै दोषी तुल्याएका थिए। केही समय यसरी कुराकानी गरेपछि बिशपले टिम्सलाई 'आफूलाई चर्चको अधिकारको सामु समर्पण गर' भने।
त्यसको उत्तरमा टिम्सले बिशपलाई यो याद गराए कि बिशप आफैले अगाड़ि अष्टम् हेनरीको पालामा उनले अहिले खूब प्रेम गरेको चर्चलाई त्यागेका थिए। 'हजुर, तपाईंले पोपको परम - अधिकारको विरोधमा जे लेख्नुभएको छ, त्यो बाइबलअनुसार सत्य हो भनी प्रमाण गर्न सकिन्छ। आज तपाईंले जे गरिरहनुभएको छ, त्यो परमेश्वरको वचनको विरोधमा छ भनी म स्पष्ट गर्न सक्छ।' यो सुनेर बोन्नरले टिम्सलाई ढिपी गर्ने धर्म-विरोधी भनेर दण्डको आज्ञा दिए।
त्यसपछि ड्रेकको जाँच गरिने पालो आयो। तिनले स्पष्टसँग घोषणा गरे कि तिनले पोपको अधिकार मान्दैनथिए, र तिनीसित जे-जस्तै गरे पनि तिनले आफ्नो मन बदल्दैनथिए। तब ड्रेकलाई दण्डाज्ञा सुनाएर तिनलाई दण्ड दिन सरकारकहाँ सुम्पने काम पूरा गर्न धेरै समय लिइएन। तब अन्य रहल चार कैदीहरू - थोमस र रिचर्ड स्पर्ज, जर्ज आम्ब्रोज र जोन केभिल – उनीहरूलाई पनि 'आफ्ना धर्म - विरोधी कुराहरू त्याग्छौ कि त्याग्दैनौ, अनि मण्डलीमा फर्कि आउँछौ कि आउँदैनौ' भनी सोधियो। ती चारजनाले भूल गयौं भनी स्वीकार गर्न मानेनन् र आफ्नो विश्वास बदली गर्न अस्वीकार गरे।
१५५६ सालको अप्रिल १४ तारिखमा ती छैजनालाई स्मिथुफिल्डमा लगियो, सबैलाई एउटा खाँबामा बाँधियो र एउटै आगोमा जलाइयो। उनीहरूले बड़ो धैर्यसाथ आफू - आफूलाई ज्वालाहरूमा सुम्पिदिन अनि जुन मुक्तिदाताका निम्ति आफ्ना शरीर जलाइन समर्पण गरेका थिए, उहाँकहाँ आफ्ना प्राण/ आत्मा शान्त भावले अर्पण गरे।
हग लेभरक र जोन एप्राइस
हग लेभरक व्यवसायअनुसार एक चित्रकार थिए; एस्सेक्सको बार्किङ्ग नामक गाउँमा बस्थे। पक्रा पर्दा तिनी अठसट्ठी वर्षका थिए, खूबै अशक्त थिए। केही छिमेकीहरूले धर्म-विरोधी भनी आरोप लाउँदा तिनी र जोन एप्राइस, जो एक गरिब, नेत्रहीन व्यक्ति थिए, दुवैजना जाँच गरिन बोन्नरको सामु पेस गरिए।
बोन्नरले कैदीहरूलाई सधैँका जस्तै प्रश्नहरू सोधे, जुन प्रश्नहरूको उत्तर उनीहरूले आफ्ना मन्तव्य लुकाउने अलिकति पनि प्रयत्न नगरी खुलस्तसँग दिए। दण्डाज्ञा दिइएको एक सातापछि उनीहरूलाई स्ट्राटफोर्ड - ले-बाऊ नामक स्थानमा लगियो, जुन स्थानमा उनीहरूलाई मृत्यु-दण्ड दिइयो। मारिने ठाउँमा आइपुग्ने बित्तिकै लेभरकले आफ्ना बैशाखी फ्याँके अनि एप्राइसलाई यसो भने: 'भाइ, हिम्मत बाँध्नुहोस्; किनभने लण्डनका बिशप हाम्रा असल वैद्य हुनुहुन्छ। उहाँले चाँड़ै हामी दुईजनालाई निको पार्नुहुनेछ - तपाईंलाई तपाईंको अन्धोपनाबाट र मलाई चाहिँ यो लङ्गड़ेपनाबाट।' त्यसपछि ती दुवैजनाले घुँडा टेकेर जोडसँग परमेश्वरलाई प्रार्थना चढ़ाए, कि उहाँले उनीहरूलाई ख्रीष्टका चेलाहरूलाई सुहाउँदो दृढ़ताको साथ त्यस अग्नि परीक्षाबाट भएर जान दिऊन् र विजयी तुल्याऊन्। यी दुई मायालाग्दा वृद्ध मानिसहरू - एकजना अपङ्ग, अर्कोचाहिँ नेत्रहीन – एउटै खाँबामा साङलाले बाँधेर राखिए। त्यसपछि दाउरामा आगो लगाइयो। ती दुईजनाले बड़ो धैर्यसाथ कष्ट सहे र आफ्नो विश्वासको निम्ति खुशीसाथ आफ्ना प्राण/ जीवन अर्पण गरे।
क्याट्रिन हट, जोअन होर्न्स र एलिजाबेथ थ्याक्भिल
यी तीन स्त्रीहरू धर्म-विरोधी आशङ्कामा पक्रा परेका थिए, र एस्सेक्स प्रान्तका न्यायकर्ताहरू सर जोन मोरडण्ट र मिस्टर टिर्रेलकहाँ पेस गरिए। सुनवाइपछि क्याथोलिक चर्चका सभाहरूमा हाजिर हुन इन्कार गरेका हुनाले उनीहरूलाई लण्डनका बिशपकहाँ कैदीको रूपमा पठाइए।
तीनैजना कैदी बिशपको सामु पेस गरिए र सधैं सोधिने प्रश्नहरू उनीहरूको सामु राखिए। प्रश्नहरूको उत्तरमा उनीहरूले भने कि उनीहरू सुधार - वादी विश्वास मान्थे। नयाँ सुधारवादी विश्वास त्याग्न तयार नभएका हुनाले उनीहरूलाई जलाएर मार्ने फैसला गरियो। अब उनीहरू लण्डनका शासन-अधिकारीकहाँ पठाइए, जसले उनीहरूलाई मृत्यु- दण्ड नदिउन्जेल न्यूगेट कैदखानामा राखे। तोकिएको दिनमा उनीहरू स्मिफिल्ड लगिए, एउटै खाँबामा बाँधिए र उनीहरूको विश्वासको खातिर सँगसँगै जलाइए।
तेह्रजना मानिसहरू
एस्सेक्स प्रान्तमा बस्ने यी तेह्रजना मानिस १५५६ सालको मई महिनामा गिरफ्तार गरिए अनि न्यायिक जाँचको निम्ति लण्डनमा बिशप बोन्नरकहाँ पठाइएः राल्फ ज्याक्सन, हेनरी एड्लिङटन, लियोन काव्च, विलियम हल्लिवेल, जर्ज सीर्ल्स, जोन राउथ जोन डेरिफल, हेनरी वाई, एड्मण्ड हर्स्ट, लरेन्स पर्नाम, थोमस बावर, एलिजाबेथ पेप्पर र एग्नेस जर्ज।
फैसला भएपछिको पहिलो आइतबारको दिन सेन्ट पल्सका डीन डा॰ फेक्नामले भने कि ती तेह्रजनामा हरेकको अनुहार जसरी एक- अर्काको भन्दा भिन्दै छ, ठीक त्यस्तै उनीहरूले भिन्दा भिन्दै किसिमको विश्वास गर्थे। यो कुरा उनीहरूलाई सुनाइँदा उनीहरूले आफू सबैले सही गरेको एउटा विश्वासको सार तयार गरे। १५५६ सालको जून २८ तारिखको दिन बिहान सखारै ती तेह्रजनालाई न्यूगेटबाट स्ट्राट्फोर्ड-ले- बाऊमा लगियो। त्यहाँ शासन - अधिकारीले उनीहरूलाई दुई झुण्डमा छुट्ट्याए र हरेक झुण्डलाई अर्को झुण्डले आफ्नो विश्वास त्याग्यो भनी भने। यो चालबाजी काम लागेन भनी जानेपछि उनले यही जलाइमार्ने काम अघि बढ़ाए।
तीमध्ये एघारजना तीनटा खाँबामा बाँधिए, दुईजना स्त्रीहरूचाहिँ कुनै खाँबामा नबाँधिएर सबैको बीचमा राखिए। सबैजना एउटै आगोमा एकसाथ जलाइए।
जुलियस पाल्मर
जुलियस पाल्मर कन्भेन्ट्री शहरमा बस्ने एउटा व्यापारीका सुपुत्र थिए। तिनले प्राथमिक शिक्षा त्यहाँको एउटा पब्लिक स्कूलमा प्राप्त गरेका थिए; त्यसपछि तिनी अक्सफोर्डमा पढ्न पठाइए, जहाँबाट तिनी स्नातक/ ग्राजुएट भए अनि मागदलेन कलेजको सदस्य/ शिक्षक भनी निर्वाचित गरिए।
पाल्मर एक क्याथोलिकको रूपमा हुर्काइएका थिए, र तिनले छैटौं एड्वर्डको पालोमा शुरु गरिएका धार्मिक परिवर्तनहरूअनुसार चल्न मानेनन्। यसकारण तिनी कलेजबाट बहिष्कृत गरिए। तब तिनी अक्सफोर्ड शहरमा एउटा स्कूलको शिक्षक भई काम गर्न थाले। जब रानी मेरीले अधिकार र शक्ति प्राप्त गरिन्, तब पाल्मरलाई फेरि धार्मिक सुधार ल्याउन चाहने पर्टीका केही अगुवाहरूसित सम्पर्क गरेका थिए, अनि एउटा असल ख्रीष्टियान हुनको निम्ति पोपको आज्ञा मान्नैपर्छ र' भन्ने कुरामा शङ्का गर्न थालेका थिए। सतावट शुरु भएपछि तिनले बन्दी तुल्याइएका व्यक्तिहरूका मामलाहरूको विषयमा हेरविचार गर्न थाले, अनि यी कैदीहरूले दण्ड-आज्ञा दिइँदा र जलाएर मारिँदा सब समयमा के- कस्तो व्यवहार देखाए, सो विचार गर्न थाले; यहाँसम्म कि तिनले आफ्नो एउटा छात्रलाई 'बिशप हूपरलाई जलाएर मारिएको घटना हेरेर ठीक रिपोर्ट ल्याउनू' भनी पठाए।
यसभन्दा अघि पाल्मरले सोचेका थिए कि आफ्नो धर्मको निम्ति साहससित जलेर मर्नेहरू एकदम थोरै छन्; तर जब तिनले हूपरको साहस र वीरताको बारेमा सुने र रिड्ली र लाटिमरको सुनवाइमा पनि तिनी हाजिर भए, तब तिनले आफ्नो मन पूर्ण रूपले बदली गरे। त्यहाँदेखि उप्रान्त तिनले धर्म-शास्त्र असल प्रकारले अध्ययन गरे र एक जोशिला धर्म-सुधारक बने।
पाल्मर अब मासमा नजाने भए, अन्य समारोहहरूमा पनि सामेल हुन छोड़े। यसो हुँदा सबैले तिनीमाथि शङ्का गर्न थाले। तब तिनलाई के लाग्यो भने अब तिनी कलेजबाट निस्कनुपर्छ। तिनले बर्कसायरको रेडिङ्गमा एउटा ग्रामर-स्कूलको शिक्षकको काम लिए। त्यस स्कूलमा शत्रुहरूले तिनलाई तिनको प्रोटेस्टेन्ट विश्वासको खातिर सरकारमा पेस गर्ने धम्की नदिएसम्म तिनी काम गरिरहे।
पूरा निस्सहाय हुँदा, चार वर्ष अघि तिनका बाबुले आफ्नो मृत्यु हुँदा तिनको निम्ति छोडिराखेको धन-सम्पत्ति पाउँछु कि भन्ने आशा गर्दै पाल्मर आफ्नी आमाकहाँ गए। तर तिनकी आमा निर्दयी र कट्टर थिइन्, अनि धर्म-सुधारकहरूलाई घृणा गर्थिन्, अनि धर्म- विरोधी छोरालाई घरमा राखेकी कारणले दोषारोपण हुने कुराले भयभीत थिइन्। छोरालाई घरको ढोकामा उभिएका देख्नासाथ हात हल्लाउँदै उनी यसो भन्दै कराइउठिन् : 'गइहाल धर्म-विरोधी! तँ गइहाल्!' भने।
आमा, मसित यस्तो व्यवहार नगर्नुहोस्!' पाल्मरले उत्तरमा
'तँ अक्सफोर्ड र रेडिङ्गबाट धर्म-विरोधी भनी बहिष्कार गरिएको छस्।'
पाल्मरले भनेका कुनै पनि कुराले तिनकी आमाको हृदय बदल्न सकेन। यसैले तिनले बाँकी रहेको तलब प्राप्त गर्ने आशामा रेडिङ्ग जाने निर्णय गरे। तर त्यहाँ तिनी पक्रा परे, अनि थोमस आस्किन र जोन ग्विनसित कैदखानामा हालिए। न्यायिक जाँच र सुनवाइमा स्थिर र दृढ़ रहेपछि यी तीनैजनालाई धर्म - विरोधी ठहराई मृत्यु - दण्ड दिने फैसला दिइयो।
कैदखानामा बसेर मृत्यु-दण्ड भोग्ने दिन पर्खिरहँदा पाल्मरले तिनका दुई सँगी, दुःख भोग्नेहरूलाई सान्त्वना दिए अनि आफ्नो विश्वासमा दृढ़ भइरहने उत्साह दिए। जब आगो सल्काइयो र आगोको ज्वालाले ती तीन शहीदहरूको शरीर लपेट्न थाल्यो, तब उनीहरूले आफ्ना हात स्वर्गतिर उचालेर यसो भन्दै कराइउठे : 'हे प्रभु, हामीलाई शक्ति दिनुहोस्! प्रभु, हाम्रो आत्मा/ प्राण ग्रहण गर्नुहोस्!' यसरी उनीहरू केही संघर्ष नगरी हात उचालिराखेर, प्रभुलाई पुकार्दै नमरेसम्म जलिरहे।
जोअन वेस्ट
यी साधारण, गरिब स्त्रीले सुधार - वादी विश्वास ग्रहण गरेकी थिइन्। तिनले एउटा नयाँ नियम बाइबल किनिन्, तर तिनीकहाँ आई त्यो बाइबल पढेर सुनाउने एउटा वृद्ध मानिसलाई प्रत्येक दिन केही पैसा दिन्थिन्; किनभने तिनी अन्धी थिइन्। यसरी पढ़िएको बाइबलको कुरा सुनेर, साथै तिनको स्मरण शक्ति असाधारण भएको हुनाले तिनी बाइबलसित यति सुपरिचित भइन् कि धेरै अध्यायहरू तिनी मुखस्त भन्न सक्थिन्। जब तिनले क्याथोलिक सभाहरूमा उपस्थित हुन मानिनन्, तब जोअनलाई लिच्फिल्ड र कन्भेन्ट्रीका बिशप डा० राल्फ बयन र च्यान्सलर/ सचिव डा० ड्रेकटकहाँ पेस गरियो, जसले तिनलाई धर्म-विरोधी भन्ने आरोप लगाए, अनि डर्बिको झ्यालखानामा बन्द गरे।
बिशपका आधिकारिक कर्मचारी पीटर फिन्चले जोअनलाई धेरैपल्ट न्यायिक जाँच गरे; त्यसपछि बिशप, तिनका च्यान्सलर र रानीका कोही प्रतिनिधिहरूको सामु सर्वसाधारण आम - जाँचको निम्ति तिनलाई पेस गरे। जोअनले उत्तरमा भनिन् कि तिनी सत्यतालाई त्याग्न सक्दिनथिन्। यसकारण ' अब मलाई दुःखकष्ट नदिनुहोस्' भन्दै तिनीहरूको अघि तिनले नम्र विनय बिछाइन्। साथै अरू कुनै कुरा तिनले भन्नेछैनन् भनी जानेपछि अन्तमा तिनको मृत्यु-दण्ड घोषणा गरियो र तिनलाई शासन-अधिकारीको जिम्मामा दिइयो। १५५६ सालको अगस्त १ तारिख तिनी मारिने ठाउँमा लगिइन्। त्यस ठाउँमा आइपुग्ने बित्तिकै तिनले घुँड़ा टेकिन् र प्रार्थना गरिन्। तिनले दर्शकवर्गले पनि तिनको निम्ति प्रार्थना गरिदिऊन् भन्ने इच्छा गरिन्। प्रार्थना चढ़ाएपछि तिनी उठिन् ; तब तिनलाई खाँबामा बाँध्ने काम भयो। जब दाउराहरूमा आगो लगाइयो, तब चाँडै तिनको सोर र जीवन ती ज्वालाहरूले समाप्त गरिदिए।
एलिस बेन्डन
एलिस बेन्डन श्री एड्वर्ड बेन्डनकी पत्नी थिइन्। तिनी केन्टको स्टेबलहर्स्टको गाउँमा बस्थिन्। एउटा न्यायाधीशकहाँ ल्याएर धर्म- विरोधको दोषारोपण लगाइएपछि तिनलाई ' किन तिमी चर्च नगएकी ' भन्ने प्रश्न गरियो। 'किनकि त्यस चर्चमा अति बिघ्न मूर्तिपूजा गरिन्छ, ' तिनले उत्तर दिइन्। यस जवाफको निम्ति तिनलाई क्यान्टरबरीको गढ़ीमा पठाइयो। तिनका पतिले तिनलाई छोड़िदिने विन्ती डोभरका बिशपको सामु राख्दा बिशपले 'एलिस गिर्जामा जाओस्' भन्ने सर्तमा तिनलाई छोड़िदिए। तिनी पतिसितै गिर्जा जानेछिन् भन्ने पतिको अपिल हुँदा-हुँदै पनि एलिस गिर्जामा गइनन्। यसैले तिनी फेरि पक्रा परिन् र झ्यालखानामा हालिन्। तिनी झ्यालखानामा नौ हप्ता बसिन्; तिनलाई भेट्ने कसैले अनुमति पाएन; लाएको लुगासितै तिनी परालमा सुतिन्, अनि हरेक दिन अलिकति रोटी खाएर र पानी पिएर बाँचिन्। तिनी चाँडै यति साह्रो कमजोर र रोगी भइन् कि तिनी हिँड्नै नसक्ने भइन्। तर प्रथम पल्ट तिनी बिशपकहाँ गएपछि चाहिँ तिनीप्रति अलिकति राम्रो व्यवहार गरियो।
एलिस र अरू छजना अप्रिल महिनाको अन्ततिर कमिशनरहरूको सामु पेस गरिए। उनीहरू सबैजना आफ्नो विश्वासमा स्थिर रहँदा उनीहरूलाई मृत्यु-दण्ड दिने फैसला दिइयो र शासन - अधिकारीको जिम्मामा दण्ड दिन सुम्पिइयो। एलिस बेन्डनले जलाइने ठाउँमा अनौठा साहस देखाउँदै अलिकति पनि हताशपन र संघर्ष नदेखाईकन आफ्नो जीवन अर्पण गरिन्।
रिचर्ड वूड्मन
वूड्मनको गाउँका फेयरब्याङ्क नाम भएका पुरोहितले तिनलाई चर्च-सभामा उपस्थित हुन मनाउन अनेक चेष्टा गरे, तर सफल भएनन्। यस असफलतामा रिसाएर फेयरब्याङ्कले तिनको विरोधमा धर्म - विरोधको आरोप लाउने र तिनलाई सस्सेक्स काउन्टीका न्यायकर्ताहरूकहाँ पेस गर्ने मन गरे। ती न्यायकर्ताहरूले तिनलाई निक्कै लामो समयसम्म किङ्गस् बेन्चको उच्चन्यायालयको झ्यालखानामा थुनिराखे।
अन्तमा वूड्मन र अरू चारजनालाई न्यायिक जाँचको निम्ति लण्डनका बिशप बोन्नरकहाँ पेस गरियो। बोन्नरले उनीहरूलाई साँचो मण्डलीको सदस्य हुने सल्लाह दिए। उनीहरूले यही उत्तर दिए कि उनीहरूले आफैलाई मण्डलीका सदस्य सम्झन्थे। तब उनीहरूको उत्तरमा सन्तुष्ट भएर बोन्नरले ती पाँचजनालाई छोड़िदिए।
वूड्मन घर फर्किआएको धेर भएको थिएन, जब तिनी क्याथोलिक चर्च जान थालेका छन् भन्ने एउटा होहल्ला फैलियो। यो होहल्ला तिनले प्रायः घरीघरी र खुल्लमखुल्ला इन्कार गर्दा तिनलाई पक्रने एउटा वारण्ट/पक्राउपुर्जी जारी गरियो। एक दिन वूड्मनले आफ्नो बाबुको माल-गोदाममा काम गरिरहेको समयमा तीनजना मानिस तिनी भएको ठाउँमा यसो भन्दै आए: 'तपाईं हामीसित लर्ड च्याम्बरलेनकहाँ जानुपर्छ।' यस्तो अचानक आइपरेको आक्रमणले चकित र भयभीत भएका वूड्मनले 'पहिले घर गई स्वास्नीलाई यस गिरफ्तारको विषयमा भन्न पाऊँ र न्यायालयमा जानलाई ठीक लुगा लाउन पाऊँ' भनी नम्र निवेदन गरे। यस विषयमा ती अफिसरहरू राजी भए र तिनीहरू वूड्मनसितै तिनको घरमा गए। घर पुगेपछि वूड्मनले ती अफिसरहरूलाई 'वारण्ट देखाउनुहोस्' भने।
'वारण्ट यहाँ हामीसित छैन। त्यो मेरो घरमा छ। तपाईंले चाहनुभयो भने म घर गई त्यो लिएर आउँछु, ' तीमध्ये एकजनाले भने।
'वारण्ट छ भने ल्याउनुहोस्,' वूड्मनले माग गरे; 'वारण्ट नल्याउन्जेल तपाईंहरू मेरो घरबाट जानुहोस्!' तब तिनले घरको ढोका ढ्याम्मै बन्द गरे। तिनीहरू चाँडै आउनेछन् भनी जानेर वूड्मन घरको पछिल्तिर भएको झ्यालतिर दगुर्दै गए, अनि नजिकैको बनमा भागेर त्यहीं लुके। ती अफिसरहरू वारण्ट लिएर आए, र तिनको घरमा माथिदेखि तलसम्म तलाशी गरे, तर वूड्मनचाहिँ बनमा सुरक्षित थिए।
वूड्मनलाई थाहा थियो कि तिनीहरूले तिनलाई देशभरि खोज्नेछन्, समुद्रको किनारसम्मै खोज्नेछन् र तिनलाई देश छाड्न असम्भव हुनेछ। यसकारण तिनले यही निर्णय गरे कि कतै नगएर घरको छेउछाउमै बसे सबभन्दा बेस हुनेछ। तिनी यसरी घरकै छेउको बनमा लुकिबस्नेछन् भनी कसैले सोच्ने पनि छैन होला। घरबाट बाइबल, कलम, मसी र अरू चाहिने चीजबीज ल्याएर वूड्मन छेवैको बनमा एउटा रूखमनि छ-सात हप्ता लुकेर बसे। तिनकी पत्नीले प्रत्येक दिन तिनलाई खानेकुरा ल्याइदिइन्। अन्तमा तिनी फ्लान्डर्स भन्ने ठाउँमा देखा परे भन्ने खबर आयो; तब स्थानीय ठाउँमा तिनको खोजतलाश गर्ने काम बन्द भयो। तब वूड्मनले भागेर फ्लान्डर्स गएर त्यहाँबाट फ्रान्स पुग्ने मौकाको फाइदा उठाए। तर घर र परिवारको अति नै माया लाग्दा तिनी धेरै दिन बाहिर बस्न सकेनन्, र फेरि लुकीछिपी स्वदेश फर्के। तब तीन साताभित्र तिनलाई पक्रने अर्को वारण्ट जारी गरियो, र दुई महिनाभरि नै प्रत्येक सातामा प्रायः दुईपल्ट तिनको घरमा खोजतलाश भइ नै रहयो।
आखिरमा वूड्मनलाई तिनको आफ्नै भाइले धोका दिए। भाइचाहिँले अधिकारीवर्गलाई 'वूड्मनले साँझमा घरमा सुत्न आफ्नो लुक्ने ठाउँ छोड़े' भन्ने खबर दिए। जब ती अफिसरहरू तिनको घरमा आए, तब वूड्मन घरको छप्परमनि भएको गुप्त कोठामा लुकेर बसे, जुन कोठा अघि धेरैपल्ट खोजतलाश गरिँदा पनि कसैले भेटेको/ देखेको थिएन। तिनी घरैमा कहीं न कहीं हुनैपर्छ भनी जाने ता पनि अफिसरहरूले तिनलाई कहीं कतै भेट्टाउन सकेनन्। वूड्मनको भाइलाई त्यस्तो गुप्त कोठा छ भनी थाहा थियो, तर त्यो कहाँ छ, सो ठीक जानेका थिएनन्। यसकारण त्यस्तो कोठाको खोजी भइ नै रह्यो, र अन्तमा एकजनाले त्यो कोठा पत्तो लाइछोड्यो, तर वूड्मन त्यहाँबाट भागे।
वूड्मनले यसो भनेका थिए: 'जब म त्यस कोठाबाट हाम फालें, तब म भाग्न थालें, र तीखा - तीखा कोइलाका छेस्का र ढुङ्गाहरू छरिएको एउटा सानो बाटोमा दगुर्दै म ओरालो लागें। ती मानिसहरू मेरो पछि-पछि दगुर्दै आए। म हतपतिँदै अघि बढ्न फनक्क फर्के; त्यति बेला म एउटा खुट्टाले एउटा तीखो ढुङ्गोमा टेक्न पुगें; त्यो खुट्टा जोगाउने कोशिश गर्दा म एउटा हिलैहिलो भएको दुलोमा चिप्लेर लड़ें, अनि उठेर भाग्नभन्दा अघि ती अफिसरहरू ममाथि आइलागे। त्यसपछि तिनीहरूले मलाई बाँधे र तान्दै लगे।'
वूड्मन लण्डन लगिए र चर्चका कोही अधिकारीहरूले तिनको न्यायिक जाँच गरे, तर तिनले बाइबलको अधिकारमा स्थापित नभएको कुनै पनि कुराको सामु आत्मसमर्पण गर्न अस्वीकार गरे। दण्डको आज्ञा दिइएको प्राय: दुई सातापछि वूड्मन र अन्य नौ कैदीहरूका साथमा सस्सेक्सको लूइस नामक शहरमा लगियो। १५५७ सालको जुलाई २२ तारिखमा ती दसैजनालाई मृत्यु - दण्ड दिने स्थानमा ल्याइयो। त्यहाँ उनीहरूलाई केही खाँबाहरूमा बाँधियो, र एउटै आगोमा जलाइयो। उनीहरूको खास अन्तिम न्यायाधीश, जो महिमित मुक्तिदाता हुनुहुन्छ, उहाँकहाँ अन्तिम शब्दहरूमा आफ्ना प्राण/ आत्मा समर्पण गर्दै ती दसैजनाले आश्चर्यमय साहस र अर्पण/ भक्तिसाथ मृत्युको सामना गरेको कुरा इतिहासमा लेखिएको छ।
जोन हुल्लियर
जोन हुल्लियर एक इज्जतदार परिवारका सदस्य थिए; तिनी क्याम्ब्रिजका इटन र किङ्गस् कलेजमा पढ्न पठाइए, जहाँ तिनले आफैलाई मण्डलीका पास्टर हुने इच्छामा धर्म-विज्ञानको अध्ययनमा आफूलाई दिइहाले। स्नातक भएपछि तिनी क्याम्ब्रिजदेखि तीन माइल टाढोमा भएको बाब्राम नामक गाउँमा एक सहायक पुरोहित भए। केही समय त्यहाँ बसेपछि तिनी लीन नामक स्थानमा गए, अनि त्यहीं अधिकारीवर्गसँग तिनका केही वादविवाद भयो। तिनीहरूले हुल्लियरले भनेका कुराहरूको रिपोर्ट धर्म- प्रदेशका बिशप डा० थार्ल्बीकहाँ पठाए। थार्ल्बीले हल्लियरलाई डाकिपठाए, र छोटो न्यायिक जाँच गरेपछि तिनलाई क्याम्ब्रिजको गढ़ीमा बन्दीको रूपमा पठाए।
केही समय बितेपछि तिनलाई सेन्ट मेरीज चर्चमा कानुन र धर्म-विज्ञानका केही प्रसिद्ध विद्वानहरूको सामु पेस हुन बोलाइपठाए। ती विद्वानहरूद्वारा तिनलाई निन्दा गर्ने र हकार्ने काम गरियो। तिनको जाँच सिद्धिएपछि तिनलाई उनीहरूको विचारमा, तिनका भूल र भ्रान्तिपूर्ण विचारधारा सबै त्याग्ने आदेश दिइयो। यसो गर्न तिनले इन्कार गरे। तब अलिकति पनि समय खेरो नफाली तिनी पदच्युत गरिए, दोषी ठहराइए र शासन-अधिकारीको जिम्मामा लगाइए। शासन - अधिकारीले झट्टै तिनका जम्मै पुस्तक, कागजपत्र र लेख आदि सबै जफ्त गरे।
हुल्लियरलाई मृत्यु - दण्ड दिइने दिनमा तिनलाई शहरदेखि बाहिर तयार गरिएको दण्ड दिने ठाउँमा लगियो। तिनले दर्शकवर्गसित तिनको निम्ति प्रार्थना गर्ने र तिनी सत्यताको निम्ति मरेको घटनाको गवाही बन्ने आग्रह गरे। यूनिभर्सिटीका अधिकारीहरूमध्ये एकजना र ट्रिनिटी कलेजका कोही शिक्षाविद्हरू हुल्लियरले सर्वसाधारण मानिसहरूलाई भाषण दिएकामा नाराज भए र तिनलाई त्यसरी बोल्ने अनुमति दिएकोमा मेयरलाई पनि गाली - धम्की दिए। हुल्लियरले त्यो सबको कुनै वास्ता गरेनन्, तर खाँबामा बाँधिएको अवस्थामै तिनले त्यस अग्नि सङ्कटको सामना गर्ने शक्ति पाऊँ भनी परमेश्वरसित गम्भीरतापूर्वक प्रार्थना गरे। दाउराहरू जल्न थाल्ने बित्तिकै ज्वालाहरूको बीचमा तिनका धेरै पुस्तकहरू फ्याँकिए; ती पुस्तकहरूमध्ये प्रभु - भोजको सम्बन्धमा लेखिएको एउटा पुस्तक हुल्लियरले आनन्दसाथ पक्रे, त्यो आफ्नो हातमा राखे र जतिसक्दो त्यसमा हेरिबसे।
धेरै मानिसहरूले जोन हुल्लियरको मृत्युमा ठूलो शोक प्रकट गरे। तिनीहरूले तिनको निम्ति प्रार्थना चढ़ाए र आँसु बहाउँदै आफ्नो सन्ताप प्रकट गरे; किनकि हुल्लियर एउटा दयालु र परोपकारी व्यक्ति थिए।
साइमोन मिल्लर र एलिजाबेथ कूपर
साइमोन मिल्लर लीन - रेगिस शहरका एक समृद्ध व्यापारी थिए। तिनी धर्म-सुधारकहरूका सिद्धान्तहरूका जोशिला समर्थक थिए कामधन्धा लिएर तिनी नोर्विक पुगे; त्यहाँ हुँदा तिनले सेवा - सँगति कहाँ छ भनेर खोजी गरे। यो कुरा च्यान्सलर डुन्निङ्गकहाँ पुगेको थियो। उनले मिल्लरलाई आफूकहाँ पेस हुने आदेश दिए। जब च्यान्सलरले तिनलाई सदाझैं प्रश्नहरू गरे, तब मिल्लरले धर्मको विषयमा भएका तिनका विचारहरू गुप्त राख्ने प्रयत्न नगरीकन सरासर उत्तर दिए। यसैले तिनलाई कैदीको रूपमा बिशपको महलमा पठाइयो।
केही समय जेलमा बिताएपछि मिल्लरलाई घर गई आफ्ना सबै कामकुराहरू मिलाउने अनुमति दिइयो। तिनी फर्केर आएपछि फेरि पनि च्यान्सलरले तिनको जाँच गरे। उनले मिल्लरलाई आफूले मानेका कुराहरू त्यागेर क्याथोलिक चर्चमा फर्केर आउने चेताउनी दिए। तर मिल्लर आफ्नो विश्वासमा स्थिर रहे, र तिनलाई धर्म-विरोधी भनी दण्डको आज्ञा दिइयो। एलिजाबेथ कूपर, जसलाई साइमोन मिल्लरसित जलाइयो, तिनी एक नोर्विक निवासी दोकानदार व्यापारीकी पत्नी थिइन्। तिनलाई पहिले आफ्नो धर्म-विरोधी धारणाहरू त्याग्न सहमत बनाइएको थियो, तर तिनको विवेकले तिनलाई महा चिन्ता - फिक्रीमा पायो। यसकारण तिनी एक दिन सेन्ट एन्डुज चर्चमा गइन्, र भेला भएको एउटा ठूलो मण्डलीको अघि 'मैले अघि त्यागेका मेरा धारणाहरू म आज फेरि सत्य हुन् भनी भन्छु र ती अब फेरि कहिल्यै इन्कार गर्दिनँ' भनिन्। त्यसको निम्ति तिनी झट्टै पक्रा परिन् र कैद गरिइन्। भोलिपल्ट तिनलाई बिशपको सामु पेस गरियो, र तिनको जाँचबुझ गरियो। यस पल्ट तिनी आफ्नो विश्वासप्रति साँचो र इमानदार भइबसिन्, र तिनी फेरि दोस्रोपल्ट धर्म-विरोधीको रूपमा दण्डित भइन्।
१५५७ सालको जुलाई ३० तारिखको दिन साइमोन मिल्लर र एलिजाबेथ कूपर दुवैजना जलाइने ठाउँमा लगिए - त्यो ठाउँ नोर्विक शहर-बाहिर, विशप्स - गेटको नजिकै एउटा टारमा तयार गरिएको थियो। आगो सल्काइँदा एलिजाबेथ भयभीत भइन्, र उच्च सोरमा कराइउठिन्। मिल्लरले आफ्नो हात एलिजाबेथतिर पसारे, र तिनलाई बलियो हुने र हिम्मत बाँध्ने उत्साह दिँदै यसो भने: 'साहसी होऊ; किनभने प्यारी बहिनी, यी कष्ट सहेपछि हाम्रो खुबै आनन्दपूर्ण भेट हुनेछ।' मिल्लरका शब्दहरू सुनेर ती स्त्रीले आश्वासन पाएकी देखा परयो, र ती दुवैले आफ्ना प्राण/आत्मा सर्वशक्तिमान परमेश्वरकहाँ अर्पण गरेर आफ्ना जीवन समाप्त नहोउन्जेल ती स्त्री दृढ़ र शान्त रहिन्।
नोर्विककी एउटी स्त्री
नोर्विक शहरका बासिन्दा एड्मण्ड ओर्म्सकी पत्नी सिस्ली ओर्म्सचाहिँ साइमोन मिल्लर र एलिजाबेथ कूपरलाई मृत्युदण्ड दिएकै दिनमा पक्रा परेकी थिइन्। तिनले ती दुई कैदीहरूलाई मृत्यु - दण्ड दिइने ठाउँमा लगिँदै गर्दा उनीहरूलाई उत्साह र साहस दिने शब्दहरू बोल्दै अफिसरहरूको ध्यान आफूतिर खिचेकी थिइन्। त्यसको निम्ति तिनी जेलमा हालिइन् र चाँडै जाँच गरिन च्यान्सलरको सामु लगिइन्।
च्यान्सलरले 'यदि तिमी चर्च गयौ र आफ्नो विश्वास आफूसितै राख्यौ भने' तिनलाई छोड़िदिने वचन दिए र तिनलाई 'तिमीले मन परेको जुनै पनि कुरामाथि विश्वास राख्न सक्छ्यौ ' पनि भने। तर तिनले भनिन्ः 'म तपाईंको चर्चमा पस्दै पस्दिनँ।'
तब च्यान्सलरले तिनलाई भने कि उनले तिनीसित आजसम्म अरू कसैलाई नगरेको कृपा देखाएका थिए र तिनलाई मृत्यु - दण्ड दिन चाहँदैनथे; किनकि तिनी एउटी समझहीन जवान स्त्री थिइन्।
सिस्लीले उत्तर दिइन् कि यदि तिनी मूर्ख, समझहीन स्त्री थिइन् भने उनले तिनको विश्वासको सम्बन्धमा कुनै चिन्ता गर्नुपर्दैनथियो। तिनी मूर्ख भइन् नभइन्, यस्तो उत्तम कारणको निम्ति आफ्नो प्राण दिन तिनी सन्तुष्ट थिइन्।
तब च्यान्सलरले मृत्यु - दण्डको फैसला पढ़े, र सिस्ली ओर्म्सलाई शहरका शासन अधिकारीको जिम्मा दिए। सिस्ली जवान स्त्री थिइन्, बढ्दो जवानीमा थिइन्, तर अशिक्षित थिइन्; तथापि आफ्नो उद्देश्य र लक्ष्यमा एकदमै गम्भीर र जोशिली थिइन्। तिनी पूर्वी डेरहाममा जन्मेकी थिइन् र लुगा सिलाउने थोमस हण्डकी सुपुत्री थिइन्। पहिलो चोटि अधिकारीको सामु पेस गरिँदा तिनले आफ्नो विश्वास त्यागेकी थिइन्, तर पछिबाट तिनको विवेकले तिनलाई दोष दिइरहँदा तिनले च्यान्सलरलाई 'मैले मेरो विश्वास इन्कार गरेकोमा म दुःखी छु र पछुताउँछु' भनी जनाएर एउटा पत्र लेखिन्। तर त्यो पत्र पुग्नुभन्दा अघि नै तिनी पक्रा परिन्, तिनको जाँच गरियो र दण्डको फैसला पनि दिइयो।
सिस्ली ओर्म्सलाई १५५७ सालको सेप्टेम्बर २३ तारिख, बिहान सात-आठ बजेभित्र जलाएर मारियो। जब तिनी जलाइने ठाउँमा आइन्, तब तिनले घुँड़ा टेकेर परमेश्वरलाई आफ्ना प्रार्थनाहरू चढ़ाइन्। त्यसपछि तिनी उठिन् र भनिन्ः 'प्रियहो, बाइबलबाट सिकाइएअनुसार मैले विश्वास गरेकी छु। म यसै गर्छु, र म मेरो मन कहिल्यै बदल्नेछैनँ। मेरो मृत्युचाहिँ यहाँ उपस्थित तपाईंहरू सबैको निम्ति मेरो विश्वासको गवाही हो। प्रियहो, तपाईंहरू जस-जसले मैले झैं विश्वास गर्नुहुन्छ, तपाईंहरूले मेरो निम्ति प्रार्थना गरिदिनुहोस्!' यति भनिसकेपछि तिनले आफ्नो हात खाँबामा राखिन्; तब तिनले त्यो खाँबो कालो रहेछ भनी थाहा पाइन्; किनभने तिनी त्यही जगहमा जलाइँदै थिइन्, जहाँ साइमोन मिल्लर र एलिजाबेथ कूपर जलाइएका थिए। त्यो हातको कालो तिनले आफ्नो लुगामा पुछिन्। तिनलाई खाँबामा बाँधेपछि आगो सल्काइयो। तिनले दुवै हात छातीमाथि राखिन्, मोहोड़ा उँभो आकाशतिर फर्काइन् र बिस्तारै अलि-अलि गर्दै तबसम्म दुवै हात मास्तिर उठाइन्, जबसम्म तिनी मरेर ती निस्सहाय हातहरू तल झरेनन्।
विलियम मण्ट, एलिस र रोज एल्लेन
विलियम मण्ट, तिनकी पत्नी एलिस र छोरी रोज एल्लेन लण्डनको नजिकै कोल्चेस्टर नामक शहरमा बस्थे। तिनीहरूले भर्खरै प्रभुलाई पाएका थिए, र क्याथोलिक चर्चको सभामा जानुहुँदैन भन्ने ठानेका थिए। यसरी रानीका आज्ञाहरू उल्लङ्घन गरिएको डरलाग्दो अपराध हो भन्ने चेतावनी उनीहरूलाई दिइएको ता पनि उनीहरूले त्यस्तै गरे। डर हुँदा-हुँदै पनि उनीहरूको कर्तव्यप्रतिको समर्पण ठूलो थियो; यसैले उनीहरूले गुप्त ठाउँहरूमा आफ्नै तरिकाले विश्वासमा मिल्ने कोही पुरुष र स्त्रीहरूसित मिलेर सेवा - आराधना तबसम्म गरिरहे, जबसम्म सर थोमस टाईले उनीहरूको विरुद्ध रिपोर्ट गरेनन्।
मण्ट परिवारलाई केही महिनाको निम्ति त्यस ठाउँबाट भागिजान कर लाग्यो, तर त्यो विषय केही साम्य भएपछि उनीहरू फेरि त्यही घरमा फर्किआए। केही दिनपछि एक अधिकारी एड्मण्ड टिर्रेल, दुईजना सिपाही र थुप्रै मानिसहरू उनीहरूलाई पक्रन बिहान २ बजे ढोकामा आए। अचानक त्यस्तो खतराको सङ्केत पाउँदा केही बिसन्चो भएकी श्रीमती मण्ट अत्तालिइन्। कमजोर भएको अनुभव गर्दै तिनले टिर्रेलसित जेल जानुभन्दा अघि तिनको निम्ति छोरी रोजलाई पानी ल्याउने अनुमति दिनुहुन अनुरोध गरिन्।
टिर्रेलले रोजलाई भाँड़ा लिएर कुवामा जाने अनुमति दिए; रोज बाहिर जाँदै गर्दा उनले भनेः 'छोरी, तिमीले आफ्ना बाबुआमालाई राम्ररी सम्झाऊ; उनीहरू असल ख्रीष्टियान भएर बसून्; धर्म-विरोधी नहोऊन्! तब उनीहरू चाँड़ै छोड़िनेछन्।'
रोजले टिर्रेललाई यस्तो जवाफ दिइन् : 'महाशय, उनीहरूसित मभन्दा खूबै असल सिकाउने व्यक्ति हुनुहुन्छ - एक यस्तो गुरु, जसले उनीहरूलाई भूल गर्न दिनुहुनेछैन भन्ने मेरो आशा छ।'
'त्यसो भए तिमीहरूजस्तै धर्म-विरोधी/ अधर्मीलाई जैलमा हाल्नैपर्छ,' टिर्रेलले जवाफ दिए। उनले ती ठिटीको हातबाट मैनबत्ती झिकेर तिनको हात बलियो गरी समाते र त्यस हातमनि जल्दो मैनबत्ती राखे अनि त्यस हातको छाला जलेर नफुटुन्जेल जलाइरहे। 'रो, करा, दुष्ट केटी! म तैंले रोइ-कराइ गरेकी सुन्न चाहन्छु, ' टिर्रेलले कराए। रोजले मुखबाट एउटा आवाज पनि निकालिनन्। तब टिर्रेलले उनीहरू सबैलाई जेल लानुभन्दा अघि रोजलाई हुत्त्याएर घरभित्र ठेलिपठाए।
त्यही बिहान तिनीहरूले अरू छजनालाई पनि पक्रे। उनीहरू थिए : विलियम बोङ्गोर, थोमस बेन्होट, विलियम पर्चेज, एग्नेस सिल्भरसाइड, हेलेन एव्रिङ्ग र एलिजाबेथ फोक। केही दिन थुनेर राखेपछि धेरै न्यायाधीश, पुरोहित र अफिसरहरूको सामु ती कैदीहरू जम्मै पेस गरिए।
सर्वप्रथम जाँच गरिने व्यक्ति थिए विलियम बोङ्गोर, जसले आफ्नो विश्वासको सम्बन्धमा जिरह गरिँदा भने कि तिनले प्रोटेस्टेन्ट विश्वास अपनाएका थिए। त्यसपछि थोमस बेन्होट पेस भए; तिनले पनि पोपको अधिकारलाई मानेनन्। विलियम पर्चेजले पनि त्यस्तै उत्तर दिए। एग्नेस सिल्भरसाइडले भनिन् कि तिनी पोपको नियुक्ति, ठाँटबाँट र क्याथोलिक चर्चका अन्धविश्वासलाई समर्थन गर्दिनन्। हेलेन एविङ्गले पनि क्याथोलिक चर्चका जम्मै अबाइबलीय सिद्धान्तहरू र संस्कारहरू इन्कार गरिन्। बाँकी रहेकाहरूले पनि त्यस्तै दृढ़तासाथ उत्तर दिए, आफ्नो विश्वास कायम राखेर कुनै हालतमा बदल्न मानेनन्। उनीहरू अटल रहँदा उनीहरूलाई दण्डको आज्ञा दिइयो।
न्यायिक जाँचको रिपोर्ट पाउनासाथ बिशप बोन्नरले १५५७ सालको अगस्त २ तारिख त्यस दण्डाज्ञाअनुसार उनीहरूलाई जलाइने दिन तोकेर ती दोषी ठहरिएका दसैजनालाई जलाइमार्ने वारण्ट पठाए। कैदीहरू विभिन्न ठाउँमा थुनिएका थिए; यसैले कतिजनालाई बिहान र कतिलाई दिउँसो जलाउने व्यवस्था गरियो। त्यो बन्दोबस्त अनुसार विलियम बोङ्गोर, विलियम पर्चेज, थोमस बेन्होट, एग्नेस सिल्भरसाइड, हेलेन एविङ्ग र एलिजाबेथ फोक बिहानै जलाइने ठाउँमा ल्याइए।
जलाइने खाँबाहरू कोल्चेस्टर शहरको बाहिर एउटा मैदानमा तयार गरिएका थिए। ती छजना कैदीहरूले घुँडा टेकेर प्रार्थना गरे। त्यसपछि उनीहरू उठे र आगोमा जलाइन तयार भए। जब छजना खाँबाहरूमा बाँधिए र उनीहरूको वरिपरि आगो दन्कियो, तब चारैतिर उभिएका हजारौं मानिसहरू 'प्रभुले तपाईंहरूलाई शक्ति दिऊन्! प्रभुले तपाईंहरूलाई सान्त्वना दिऊन्!' र यस्तै अन्य सान्त्वनाका वचनहरू भन्दै कराइउठे।
मध्यान्हपछि तिनीहरूले विलियम मण्ट, जोन जोन्सन, एलिस मण्ट र रोज एल्लेनलाई जेलबाट ल्याए। ती शहीदहरूले प्रार्थना गरिसकेपछि र उनीहरूलाई खाँबाहरूमा बाँधेपछि उनीहरूले यति साहससित आफैलाई आगोमा अर्पण गरे कि सारा दर्शकवर्ग छक्क परे।
श्रीमती जोइस लेविस
श्रीमती जोइस लेविस विकसायरको एक असल परिवारबाटकी थिइन्। तिनले असल शिक्षा प्राप्त गरेकी थिइन्, अनि परिष्कृत, सुसंस्कृत समाजमा चलहल गर्थिन्। तिनको पति थोमस लेविसचाहिँ त्यसै जिल्लाका थिए। तिनीजस्तै उनी असल कूलका थिए, तर कठोर हृदय भएका स्वार्थी मानिस थिए।
श्रीमती लेविस क्याथोलिक संस्कारमा हुर्केकी थिइन् तिनी सधैं चर्च जान्थिन्, मासको प्रार्थना सुन्थिन्, पाप-स्वीकार गर्थिन् र विश्वाससाथ चर्चका जम्मै समारोहमा भाग लिन्थिन्, त्यस समयसम्म जब तिनलाई प्रोटेस्टेन्ट विश्वासको सत्यतामा विश्वास भएन। जब तिनले लरेन्स सन्डर्सको दहन देखिन् र ग्लोभरबाट सल्लाह मागिन्, तब तिनको विश्वासमा परिवर्तन आयो। ग्लोभरले तिनलाई बाइबल अध्ययन गर्ने अनि बाइबलका शिक्षाअनुसार विश्वास गरेर व्यवहारिक जीवन बिताउने सल्लाह दिएका थिए।
एक दिन श्रीमती लेविस आफ्ना पतिसित क्याथोलिक चर्चको सभामा गएकी थिइन्, र त्यहाँ सम्पन्न गरिएको र देखेका कति समारोहको बारेमा अल्टरतिर पिठ्यूँ फर्काएर निन्दा गरिन्, र ठीक छैन भनिन्। कोही मानिसहरूले सो देखेर तिनको विरुद्ध लिचफिल्डका बिशपकहाँ रिपोर्ट पुरयाए। बिशपले तिनीलाई डाक्ने पत्र तिनीकहाँ पठाए। जब अफिसर त्यो वारण्ट लिएर तिनीकहाँ आए, तब श्रीमान लेविसले रिसले चुर हुँदै अफिसरलाई छुरी देखाएर त्यो वारण्ट त्यहीं च्यातचुत पार्न लाए, त्यसपछि मात्र उनलाई त्यहाँबाट जान दिए।
बिशपले झट्टै श्रीमान र श्रीमती लेविसलाई आफ्नो सामु देखा पर्ने पत्र पठाए। श्रीमान् लेविसले आफ्नो भूल स्वीकार्दै क्षमा मागे र उनी छोड़िए। श्रीमती लेविसलाई 'चर्चमा तिनले जे गरेकी थिइन्, त्यो तिनको भूल थियो भनी स्वीकार गरेमा तिनी घर जान पाउनेछिन् ' भनियो, तर तिनले 'मैले ठिक्कै गरेकी थिएँ, र म क्षमा माग्दिनँ' भनिन्। तिनी त्यहाँको एक गन्यमान्य व्यक्ति थिइन्; यसैले बिशपले तिनलाई सोचविचार गर्ने एक महिना मियाद दिए, अनि तिनका पतिले दिएको सर्त - पत्रको आधारमा तिनलाई छोड़िदिए।
जब श्रीमती लेविसको जाँच हुने समय आइपुगेको थियो, तब श्रीमान लेविसका धेरै साथीहरूले उनलाई बिशपकहाँ उनकी पत्नीलाई नलाने, तर कहीं भागेर जाने, र सर्तपत्र/बन्डको निम्ति धरेको १०० पाउण्डलाई माया मार्ने सल्लाह दिए। तर श्रीमान् लेविसलाई आफ्नी पत्नीको चिन्ताभन्दा बढ़ी त्यो १०० पाउण्डकै चिन्ता थियो, र उनले आफ्नी पत्नीलाई बिशपकहाँ पुरयाए; अनि बिशपले श्रीमती लेविसलाई जेलमा पठाए।
बिशपले धेरैपल्ट श्रीमती लेविसको न्यायिक जाँच गरे, र अन्तमा तिनलाई विधर्मी भनेर दण्डाज्ञा दिए, अनि जलाएर मार्ने हुकुम दिए। त्यसपछि तिनी जेलमा पठाइन्, जहाँ तिनी एक वर्षसम्म बसिन्।
तिनको मृत्युको घड़ी नजिक आइपुग्दा श्रीमती लेविसले तिनका केही साथीहरूलाई तिनको कोठरीमा अन्तिमपल्ट तिनले तिनीहरूसित बातचित गर्न सकून् भनेर आइदिने विन्ती गरिन्। त्यस सारा रात, मृत्यु- दण्ड दिइनुभन्दा अघि, तिनी खुशी - सुखी देखा परिन्, यद्यपि तिनको मनमा थोरै भए पनि केही अफसोस थियो।
भोलि बिहान आठ बजेतिर कुनै सूचना र चेताउनी नदिईकन शासन-अधिकारी तिनको कोठरीमा आए। ' श्रीमती लेविस, म तपाईंकहाँ रानीको हुकुमको खबर दिन आएको छु। अब तपाईंसित यस संसारमा जिउने केवल एक घण्टा मात्र छ। यसैले तपाईं तयार हुनुहोस्! ' शासन- अधिकारीले भने।
एक मिनटपछि श्रीमती लेविसले जवाफमा यसो भनिन्ः 'महाशय, म तपाईंले दिनुभएको खबर स्वागत गर्छु, अनि मलाई उहाँको सेवामा आफ्नो जीवन जोखिममा पार्ने योग्यको सम्झनुभएको निम्ति म परमेश्वरलाई धन्यवाद चढ़ाउँछु।'
श्रीमती लेविसलाई शहरको बीचबाट लगियो। तिनलाई एउटा ठूलो भीडले घेरेको थियो; तिनको साथमा जलाइने ठाउँसम्म तिनका दुईजना साथी पनि सँगसँगै गए। तिनलाई एउटा साङलाले खाँबामा बाँधियो। तिनले यस्तो आनन्द र निर्भयता देखाइन् कि उपस्थित सबैजना प्रभावित भए। आगो सल्काइएपछि तिनी न ता छटपटाइन् न चलमलाइन्। तिनले केवल आफ्ना हातहरू स्वर्गतिर उठाइन् र चाँड़ै जलेर मरिन्; किनकि शासन- अधिकारीले तिनको निम्ति राम्रो सुखा दाउराको बन्दोबस्त गर्न लगाएका थिए।
विलियम फेट्टी
विलियमको बाबु जोन फेट्टी एउटा विधर्मीको रूपमा जेलमा थुनिएका थिए; किनकि उनको विरुद्ध यस्तो कुरा उनकी पत्नीले पुरयाएकी थिई। उनलाई सर जोन मर्डन्टको सामु लगियो, जो रानीका प्रतिनिधिमध्ये एकजना थिए। जाँच गरिएपछि उनी लोल्लार्ड्स टावरमा पठाइए, जहाँ उनलाई एक पट्टि पानीको घड़ा/सुराही र अर्को पट्टि एउटा रोटी राखेर लिँगुरामा राखियो, यही देखाएर कि उनले पाउँछु भनी आशा गर्न सक्ने खानेकुरा त्यति मात्र थियो।
लोल्लास टावर, लण्डनमा बिशप बोन्नरको भव्य भवनमा भएको एउटा ठूलो कोठा थियो। यो कोठा प्रोटेस्टेन्टहरूलाई दण्ड दिने र बेला-बेलामा उनीहरूलाई सताउने काममा प्रयोग गरिन्थ्यो। जब- जब विधर्मको आरोप लागेका व्यक्तिहरू बिशपकहाँ ल्याइन्थे, तब-तब त्यस कोठामा दिइएका साधारण दण्डहरूमा कोर्रा लाउनु र हिँगुरामा राख्नु थियो, जुन लिँगुरामा कतिका हात बाँधिन्थे वा अरू कतिका खुट्टा बाँधिन्थे। उनीहरूलाई प्राय: स्टूलमा बस्ने अनुमति दिइन्थ्यो, तर कतिको दण्ड अझ बढ़ाउन उनीहरूलाई बस्ने चौकी दिइँदैनथ्यो। उत्तानो परेर जमिनमा लमतन्न पर्नुचाहिँ कैदीहरूका निम्ति एकदमै थकाउने र कष्टपूर्ण दण्ड थियो। यस्तो कालकोठरीमा कतिलाई केही दिनसम्म राखिन्थ्यो, अरू कतिलाई केही हप्तासम्म राखिन्थ्यो। रोटी र पानीबाहेक अरू कुनै खानेकुरा दिइँदैनथियो। त्यस्तो समयभरि उनीहरूले कसैसित भेट गर्न पाउँदैनथिए। त्यस टावरमा बन्दी हुँदा धेरै कैदीहरू मरे।
जोन फेट्टी लोल्लार्ड्स टावरमा पन्द्रह दिनसम्म धेरजसो लिँगुरामा राखिएपछि छोरो विलियमचाहिँ बिशपको भवनमा आफ्नो बाबुसँग भेट गर्ने अनुमति प्राप्त गर्न आए। त्यहाँ आइपुगेपछि बिशपको पुरोहितले तिनलाई ‘तिमी के चाहन्छौ?' भनी सोधे। रुँदै र दुःखी भएर टावरतिर हेर्दै ती केटाले यसो भन्दै उत्तर दिए: 'म आफ्ना बाबुलाई भेट्न चाहन्छु।' जब बिशपका पुरोहितले 'तिम्रा बाबु को हो' भनी तिनलाई सोधे, र जब ती केटाले बाबुको नाम बताए, तब ती पुरोहितले तिनको बाबु धर्म-विरोध गर्ने व्यक्ति हो भनी भने यसैकारण तिनलाई लिँगुरामा हालेर पाठ पढ़ाइँदैथियो पनि भने।
ती केटाले झट्टै यस्तो उत्तर दिए: 'मेरो बाबु धर्म-विरोधी होइनन्। तिमीहरू मान्छे मार्नेहरूको गुन्डा हौ।'
यस्तो भनिँदा ती क्रोधित पुरोहितले यी केटालाई हातमा पक्रे र तान्दै बिशपको भवनको अर्को कोठामा लगे। तिनलाई नाङ्गै पारेपछि ती पुरोहितले तिनलाई एकदमै निर्दयी प्रकारले कोर्रा लाउन लाए। त्यसपछि तिनको कुर्कच्चासम्म रगत बगिरहेको अवस्थामा तिनलाई तिनका बाबुसँग भेट गर्न लगियो।
आफ्ना बाबुलाई देख्नासाथ यी केटाले घुँडा टेके र बाबुलाई आफ्ना चोटहरू देखाए। 'यस्तो निर्दयता कसले तिमीमाथि गरयो?' बाबु कराइउठे। यी केटाले भने: 'म त तपाईंलाई खोज्दैथिएँ; तब एउटा हत्यारा गर्ने पुरोहितले मलाई बिशपको घरमा लगेर कुट्यो।'
पालेहरूमध्ये एकजनाले बाबु-छोराको कुरा सुन्यो। त्यसले केटालाई च्याप्पै समात्यो र तान्दै अघि कुटेकै कोठामा लग्यो। त्यहाँ तिनलाई प्रायः केही खानु नदिईकन तीन दिन राखियो र फेरि तिनलाई कुट्ने काम गरियो। बाबुचाहिँलाई पनि त्यस निर्दयताको विरोध गरेकोमा कुटपिट गरियो। आखिरमा विचरो ती जवान कैदी अमानवीय व्यवहारको कारण साह्रै कमजोर भए, र बिशप बोन्नरले तिनलाई छोडिदिने आदेश दिए। उनले बाबुचाहिँलाई पनि भोलिपल्ट बिहानै आफूकहाँ ल्याउने हुकुम दिए।
पहिले बिशपले बाबुचाहिँलाई तिनको विश्वासको खातिर दुर्व्यवहार गरे; तर छोराचाहिँलाई कुटेको हुनाले कुनै ठूलो समस्या आइपर्न सक्छ भन्ने विचार राखेर बाबु र छोरा दुवैलाई कैदबाट मुक्त गरियो। अभाग्यवश गहिरा चोटहरूको कारणले केही दिनपछि यी केटा मरे।
अलेक्जाण्डर गोघ र एलिस ड्राइभर
आफ्नै घरको छेउछाउमा विधर्मीको आरोप लाइएका दुईजना व्यक्ति लुकेर बसेछन् भन्ने कुरा सुनेपछि सफ्फोकका न्यायाधीश नूनले आफ्ना अफिसरहरू पठाए, जसले वूब्रिजका अलेक्जाण्डर गोघ र ग्रस्बरोका एलिस ड्राइभरलाई पक्रे। तिनीहरूले यी कैदीहरूलाई मेल्टन जेलमा राखे। त्यहाँ उनीहरू धेरै दिनसम्म राखिए; त्यसपछि अन्तमा उनीहरू न्यायिक जाँचको निम्ति बरी नामक शहरमा लगिए।
दुवै कैदीले आफ्नो विश्वास कायम राखेर स्वीकार गरे, र दुवै फेरि जेलमा पठाइए। जेलमा उनीहरू केही महिना बसे, र अन्तिम न्याय- सुनवाइको निम्ति उनीहरूलाई इस्विक भन्ने ठाउँमा ल्याइयो। त्यहाँ ती दुईजनाले आफ्नो विश्वास उद्घोषणा गरे र आफ्नो धर्म परिवर्तन गरेर आफ्नो प्राण बचाउन दृढ़तासाथ इन्कार गरे। ती दुवैलाई जलाएर मार्ने दण्डाज्ञा दियो र दण्ड दिइने दिन पर्खेर बस्न फेरि जेलमै पठाइए।
१५५७ सालको नोभेम्बर ४ तारिख बिहान सखारै अलेक्जाण्डर गोघ र एलिस ड्राइभरलाई मेल्टन जेलबाट निकालेर इप्स्वकमा ल्याइयो; उनीहरूलाई शासन- अधिकारी र उनका अफिसरहरूले लगे। उनीहरूलाई पछ्याउँदै मानिसहरूको एउटा ठूलो भीड़ पनि गयो। बिहान लगभग सात बजे उनीहरू इप्स्विक आइपुगे, र झट्टै ती दुईजनालाई दण्ड दिइने ठाउँमा लगियो। जलाइने ठाउँमा पुगेपछि ती दुईजनाले एउटा स्तुति गाए, त्यसपछि केही क्षण प्रार्थना गर्न घुँडा टेके। अधीर हुँदै शासन-अधिकारीले अफिसरहरूलाई उनीहरूको प्रार्थना बीचैमा रोक्ने आदेश दिए।
गोघ उठेर शासन-अधिकारीलाई भनेः 'हामीलाई केही क्षण अझ प्रार्थना गर्न दिनुहोस्; किनभने हाम्रो जिउने समय छोटो छ।'
तर ती अधिकारीले भनेः 'आओ, हामी यिनीहरूलाई जलाऔं!' तब गोघले उत्तर दिँदै भनेः 'होशियार, शेरीफ! यदि तपाईंले हामीलाई प्रार्थना गर्न दिनुभएन भने तपाईंको शिरमाथि परमेश्वरको बदला पर्नेछ।'
उनीहरू खाँबामा बाँधिदै गर्दा एलिस ड्राइभरको घिच्रोमा फलामको साङ्ला हालिँदै गर्दा तिनले भनिन्ः 'अहो, यो कति असल रुमाल रहेछ!'
तब उनीहरूका कोही मित्रहरू त्यहाँ अघि आए र खाँबामा बाँधिएर उभिरहेका ती दुईजनाका हातहरू समाते। त्यो देखेर शासन- अधिकारीले आफ्ना मानिसहरूलाई यसो भन्दै बोलाए: 'पक्र तिनीहरूलाई! कोही पनि उम्कन नपाओस्!' जब मानिसहरूले यो हुकुम सुने र कैदीहरूका हात समात्नेहरूमाथि कस्तो खतरा आइपर्नेछ, सो बुझे, तब जम्मै मानिसहरू कुद्दै खाँबातिर अघि बढ़े र शहीदहरूका मित्रहरूलाई छेल्दै-लुकाउँदै त्यस जलाउने ठाउँको चारैतिर भीड़ लागे।
जब शासन-अधिकारीले त्यो काण्ड देखे, तब उनले तिनीहरूलाई छोडिदिए र कसैलाई पक्रेनन्। त्यसपछि दाउरामा आगो सल्काइयो र ज्वालाहरूको बीचमा ती दुईजना वीर-वीरांगनाका आत्माहरू मानव-निर्दयताको पहुँचदेखि टाढा भए।
थोमस हड्सन
थोमस हड्सन व्यवसायअनुसार ग्लोभ/छालाबाट पन्जा बनाउने मानिस थिए। तिनी नोर्फोकमा ऐल्स्हाम भन्ने शहरमा बस्थे। तिनले कम्ती पढ़ेका थिए, तथापि तिनी बाइबलका एक महान् अधययनकर्ता थिए र आइतबारैपिच्छे तिनी बाइबल पढ़ेको र त्यसको अर्थ खोलिएको सुन्न चाहने आफ्ना सबै छिमेकीहरूलाई प्रचार गर्थे, वचन सुनाउँथे।
जब रानी मेरीले राज्य-शासन गर्न थालिन्, तब लाइसेन्स/अनुमति-पत्र नदिइएका पुरोहितहरूले मानिसहरूलाई खुल्लमखुल्ला प्रचार गरेर वचन सिकाएमा उनीहरू सरकारको नजरमा छारो भए। हड्सन घरबाट नभागेका भए तिनी सायद पक्रा पर्ने र जेलमा हालिने पहिलो व्यक्ति हुनेथिए। तर तिनी सफ्फोक गए, र लगातार एउटा घरदेखि अर्को घरमा सर्दै र वास बस्दै पक्रा पर्नदेखि बाँचे।
तर समयमा हड्सनलाई आफ्नी पत्नी र परिवारलाई भेट्ने हेर्ने इच्छा भयो, र यो इच्छा हटाएर हटाइ नसकिने भयो। खतरा हुँदा-हुँदै पनि तिनी घर गए। चाँडै तिनी घरबाट निस्के र घरको छेउमा बनको बीचमा दाउराहरूको थाकहरूमनि एउटा कच्चा बस्ने जगह बनाए। तिनी त्यस ठाउँबाट रातको अन्धकारमा मात्र बाहिर निस्कन्थे। जबसम्म त्यस शहरको धर्मको उप-अध्यक्षले हड्सनलाई लुकाइरहेकीमा श्रीमती हड्सनलाई जलाइमार्ने धम्की दिएनन्, तबसम्म यो चालचक्र चल्यो। हड्सन लुक्ने ठाउँबाट निस्के, र खुलेआम शहरभित्र पसे। शहर पसेपछि तिनी पक्रा परे बिशपले हड्सनलाई धेरै - धेरै प्रश्नहरू सोधे। सबै प्रश्नको उत्तर तिनले इमानदारीसित दिए। तिनी शिक्षित व्यक्ति थिएनन्, ता पनि हड्सनका तर्कहरू प्रभावकारी थिए। जे गरे तापनि हड्सनलाई केही गर्न नसक्दा बिशपले अन्तमा तिनलाई मृत्यु-दण्डको फैसला दिए र जेलमा हाले।
१५५८ सालको मई १९ तारिखमा थोमस हड्सनलाई जेलबाट निकालियो, र लोल्लाईस पिट भन्ने ठाउँमा लगियो। यो ठाउँ नोर्विकको विशप्स - गेट भन्ने ठाउँदेखि बाहिर पर्थ्यो। हड्सनसितै अरू दुईजना दण्डित व्यक्तिहरू पनि लगिए। तिनको शरीरको वरिपरि लगाइएको साङला कसिनुभन्दा केही क्षणअघि हड्सन निहुरे, साङलाबाट निस्के र एक पट्टि अलिकति सरेर उभिए। यो देखेर धेरैले कतै हड्सनले आफ्नो विश्वासलाई इन्कार पो गर्छन् कि, अथवा कतै आफ्ना बाबुआमाको आशीर्वाद थाप्न पो अघि बढ्छन् कि भन्ने सोचे। तर कसैलाई खास कुरा थाहा थिएन। हड्सनलाई अचानक शङ्काहरूले छोपे, र तिनले आफ्नो विश्वासमा कमजोर हुँदै गएको अनुभव गरे। यसकारण यस्तो अनुभव गर्दै तिनी मर्न चाहेनन्। तिनले घुँडा टेकेर परमेश्वरसित प्रार्थना गरे। अनि परमेश्वरले तिनीकहाँ सान्त्वना पठाउनुभयो। तब तिनी ठूलो आनन्दसाथ नयाँ गरी जन्मेको मानिसजस्तै गरी उठे र यसो भन्दै कराइउठे: 'धन्यवाद, परमेश्वर! म अब बलियो भएँ; मान्छेले मलाई के गर्न सक्छ? यसमा म परवाह गर्दिनँ।' यसैले तिनी फेरि खाँबा भएको ठाउँमा गए, साङला उठाएर आफ्नो वरिपरि बेहे, अनि ती तीनजना सँगै जलाइए।
बिशप बोन्नरको इतिहास
लण्डनका बिशप एड्मण्ड बोन्नर वर्चेस्टरसायरको हेन्ली भन्ने ठाउँमा १५०० सालतिर जन्मेका थिए; उनले रानी मेरीको राज्यकालमा प्रोटेस्टेन्टहरूलाई सताउने काममा प्रमुख अभिभारा लिए। उनले अक्सफोर्ड यूनिभर्सिटीमा शिक्षा प्राप्त गरेका थिए; त्यसपछि पुरोहित - पदमा भर्ती भएपछि कार्डिनल वोल्सीको परिवारमा प्रवेश गरे।
राजा हेनरीको राज्यकालभरि बोन्नर पोपको विरोध गर्नमा खूब जोशिला र धर्म-सुधारको पक्षमा खूबै प्रभावशाली देखा परे। तर हेनरीको देहान्तपछि राजा एड्वर्डको परम अधिकारको पक्षमा शपथ खान उनले इन्कार गरे। तब उनी जबसम्म नयाँ राजाप्रति आज्ञाकारी हुँदैनन्, तबसम्म जेलमा हालिए। तब उनी जेलबाट मुक्त भए। तर पछि रानी मेरीले सिंहासन आरोहण नगरेसम्म उनी फेरि कैद गरिए।
रानी मेरीले बोन्नरमा उनलाई चाहिएकै कुरा देखे/पाए। बोन्नरले प्रोटेस्टेन्टहरूलाई सताउने काममा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरे। यस्तो भनिन्छ कि त्यस ताकको दुई सय शहीदहरूको न्याय उनी आफैले गरेका थिए, र दण्डाज्ञा पनि दिएका थिए। बोन्नर एउटा कठोर मन भएको जिद्दीदार व्यक्ति थिए, जसको सामु पेस गरिएका मानिसहरूप्रति कुनै दया वा सहानुभूति गर्दैनथे/राख्दैनथे। सम्पूर्ण समर्पणले बाहेक अरू कुनै कुराले बोन्नरलाई सन्तुष्ट पार्दैनथियो। यसो भनिन्छः धर्म-विरोधीहरूप्रति उनको रिस यति भयानक थियो कि, उनले फलामका छड़ीहरू माग्थे र केही पल्ट विश्वासमा दृढ़ रहेका गवाहीहरूलाई आफैले कुटेका थिए।
जब एलिजाबेथले सिंहासन आरोहण गरिन्, तब तिनले बोन्नरप्रति आफ्नो अरुचि/ घृणा प्रकट गर्न थालिन् अनि सिंहासनमा बसेकी दोस्रो वर्षमा तिनले आफूलाई चर्च अफ इङ्गल्याण्डको शिर नमान्ने बोन्नरलाई जेलमा हालिन्। बोन्नर खूबै दुःखकष्ट सहेर दयनीय अवस्थामा दस वर्षसम्म जेलमा बसेर सत्तरी वर्षको उमेरमा मरे।
दस वर्षभन्दा धेरै समयसम्म कसैले पनि बोन्नरलाई देखेका थिएनन्, तथापि उनको सम्झना सबैलाई जारी नै थियो, र उनलाई सबै मानिसहरूले यति साह्रो घृणा गर्थे कि कुनै होहल्ला र गोलमाल नहोस् भनेर उनलाई मध्यरातमा दफन गरियो।
रानी मेरीको मृत्यु
धेरै लामो बिरामी परेर आफ्नो जीवन प्रकृतिलाई समर्पण गर्दै र राज्यचाहिँ बहिनी एलिजाबेथलाई सुम्पँदै १५५८ सालको नोभेम्बर १७ तारिखको दिन बिहान तीन - चार बजेतिर रानी मेरी मरिन्।
मर्नभन्दा अघि रानी मेरीले गरेकी आह आह सुनेर तिनका पर्षादहरूले तिनलाई 'के हजुर आफ्ना पतिको मृत्युको सम्बन्धमा पो दुःखित हुनुहुन्छ कि' भनेर सोधे। 'साँच्ची नै त्यो एउटा कारण हुन सक्छ,' रानीले उत्तर दिइन्; 'तर त्यही चाहिँ सबभन्दा ठूलो चोट होइन, जसले मेरो पीड़ित मनलाई मर्माहत गर्छ।'
रानी मेरी शान्तिको समयमा चार वर्षभित्र असल ख्रीष्टियान अंग्रेजहरूलाई झुण्ड्याएर, शिर काटेर, जलाएर र कैद गरेर जेजति रक्तपात गरिन्, त्यस्तो इङ्गल्याण्डमा अरू कुनै राजा वा रानीले गरेनन्। पहिले त जब तिनले मुकुटको चाहना गरिन् र राजा एड्वर्डका विश्वास र धर्म कायम राख्ने प्रतिज्ञा गरिन्, तब परमेश्वरले तिनको साथमा हुनुभयो र प्रोटेस्टेन्टहरूको प्रयासद्वारा तिनलाई राजगद्दीमा बसाल्नुभयो। तर तिनले परमेश्वर र मानिसलाई दिएका वचन पूरा नगर्दा तथा स्टीफन गार्डिनरको पक्ष लिँदा र आफ्नो परम - अधिकार पोपकहाँ समर्पण गर्दा परमेश्वरले तिनलाई त्याग्नुभयो। त्यसपछि तिनले गरेकी कुनै काम सफल भएन।
प्रतिज्ञा पूरा गर्नुको सट्टामा तिनले राजा फिलिपसित विवाह गरिन्, र इङ्गल्याण्डलाई एउटा विदेशीको अधीनमा पारिन्। राजा फिलिपसितै इङ्गल्याण्डमा पोप र मास, मठवासीहरू र भिक्षुनीहरू आए; तथापि परमेश्वरले मेरीलाई तिनको इच्छा पूरा हुन दिनुभएन।
रानी मेरीभन्दा धेरै निराश कुनै स्त्री भएकी थिइन। तिनले छोराछोरी जन्माउनै सकिनन्, क्याथोलिक चर्चका प्रार्थनाहरूको सहयोग पाएर पनि सकिनन्। तिनी परमेश्वरको कृपादृष्टि प्राप्त गर्न असफल भएकी देखा परयो। तिनी प्रजाको हृदय जित्न अथवा आफ्नै पतिको प्रेम पाउन पनि असफल भएकी थिइन्।
आखिरमा जब कुनै पनि कुराले तिनलाई पुरोहितहरूको अत्याचार रोक्न लाउन सकेन अनि दिनहुँ मारिन लागिएका भेडाहरूझैँ आफ्नो प्रजा मारिने काम रोकेन, तब परमेश्वरले मेरीको मृत्युद्वारा तिनको शासनकालको अन्त गर्ने र तिनको सिंहासन अर्कोलाई दिने इच्छा गर्नुभयो। यो काण्ड तिनले पाँच वर्ष पाँच महिना शासन गरेपछि भयो।
मैले रानी मेरीको यस्तो अभागी राज्यकालको वर्णन गरेको छु - तिनको प्रतिष्ठा घटाउनलाई होइन, जुन प्रतिष्ठामा रहन परमेश्वरले तिनलाई आह्वान गर्नुभएको थियो; तर उच्च ओहदा - अधिकार प्राप्त गरेका पुरुष र स्त्रीहरूलाई चेताउनी दिन नै यो कुरा लेखेको हु। तिनीहरूले ख्रीष्टको मण्डलीलाई सताउँछन् र ख्रीष्टियानहरूको रगत बगाउँछन् भने यो कुरा याद गरून् तिनीहरू ख्रीष्टलाई र उहाँको मण्डलीलाई सताउने यहूदीहरूजस्तै नहोऊन्, जो त्यही ढुङ्गारूपी ठक्करमा ठेस खाएर नाश भए।
रानी एलिजाबेथ
रानी मेरीको मृत्युले इङ्गल्याण्डको आकाशमा पाँच वर्षसम्म पर्दाझैं छाएको कालो अन्धकारमय बादल हटाइदियो। एलिजाबेथको राज्याभिषेक प्रोटेस्टेन्टहरूले आनन्दसाथ स्वागत गरे, अनि अब असल दिनहरूको शुरु हुने आशामा उनीहरूले अघिको रक्तपातपूर्ण शासनलाई भुलिदिए।
तर एलिजाबेथ प्रोटेस्टेन्ट भए तापनि र धर्म-सुधारको हितैषी भए ता पनि तिनका पिता अष्टम् हेनरीले झैं शक्ति र अधिकार प्राप्त गर्न चाहन्थिन्। एलिजाबेथलाई चर्च र राष्ट्रको सर्वोच्च शिर तुल्याउने कानुनहरू भटाभट पारित गरिए। तिनलाई एउटा हाइ कमिशन/ सर्वोच्च समिति अथवा अदालत स्थापन गर्ने अधिकार दिइयो। यो समिति वा अदालत स्थापित चर्च अफ इङ्गल्याण्डका सेवाहरूमा सहभागी नहुने मानिसहरूको न्याय गर्नलाई स्थापना गरिन्थ्यो। यस अदालतको अधिकार सारा देशभरि लागू थियो। पुरोहितहरू र देशवासीहरू सबैजना यस अदालत अधीनस्थ थिए। यस अदालतका जुनै पनि तीन सदस्यहरूले गवाहीहरू डाकेर अथवा कनै पनि तरिका अपनाएर रानीको सर्वोच्चताको विरोधमा बोल्ने वा स्थापित चर्चको सेवाका रीतिहरूमा सहमत हुन इन्कार गर्ने कुनै पनि व्यक्तिको पत्ता लाउन सक्थे। तिनीहरूसित कसैले व्यक्त गरेको धर्म-विरोधी विचारहरूको बारेमा पूछताछ गर्ने, राजद्रोही पुस्तकहरू वा लेखहरूको खोज गर्ने, जानी - बुझी चर्च - सभाहरूमा हाजिर नभएका मामलाहरूको न्यायिक जाँच गर्ने अनि दोषीहरूलाई जरिमाना तिर्न लाएर दण्ड दिने अधिकार थियो।
हामी देख्दछौंः आज हामीले जानेको धार्मिक स्वतन्त्रता त्यस समयमा प्राप्त हुनु असम्भव थियो। एक शताब्धीभन्दा धेरै समय बितिसकेपछि मात्र धार्मिक सतावट समाप्त भयो र आखिरमा टोलरेशन एक्ट/ सहिष्णुता ऐन पारित भएपछि सारा इङ्गल्याण्डमा पूर्ण धार्मिक स्वतन्त्रता स्थापना भयो। तर जे होस्, रानी एलिजाबेथचाहिँ निर्दयी थिइनन्। रक्तपातप्रतिको घृणा एलिजाबेथको चरित्रको एक विशिष्ट लक्षण थियो। यो कुरा रानी मेरीको चरित्रमा ठीक उल्टा थियो। जलाइमार्ने डरलाग्दा आगाहरू केही समयसम्म स्पेनमा र स्पेन-अधिकृत ससाना प्रान्तहरूमा जलिरहे, तर रानी मेरीको शासनकालको अन्तसितै अंग्रेजी शहीदहरूको इतिहास पनि अन्त भयो।