ह्‍याप्‍पी बर्थ-डे!

ह्‍याप्‍पी बर्थ-डे!

के आज तपाईंको जन्मदिवस हो? यस सुदिनमा हाम्रो सम्पूर्ण हृदयदेखि तपाईंलाई शुभकामना छ! के आजको दिनमा तपाईंका छोराको वा तपाईंकी छोरीको जन्म भएको छ? हाम्रो तर्फबाट तपाईं यस नवबालक / नवबालिकाका बुवाआमालाई हार्दिक शुभेच्छा छ! ईश्वरले तपाईंलाई, तपाईंका छोरालाई, तपाईंकी छोरीलाई प्रशस्त आशिष दिऊन्! यस्तो शुभ अवसरमा हामी तपाईंसित खुशी हुन्छौं; तपाईंसँग मिलेर हामी आनन्द मनाउँछौं; किनकि एउटा सुन्दर सृष्टि भएको छ। विन्ती छ, हाम्रो सल्लाह ग्रहण गर्नुहोलाः यस शुभ दिनमा आफ्नो छोरा वा आफ्नी छोरीलाई उसको जीवनको शुरुमै परमेश्वरको हातमा सुम्पि- दिनुहोला र उहाँकहाँ समर्पण गर्नुहोला; किनकि तपाईंको नानीचाहिँ उहाँको महिमाको पात्र बन्नुपरेको छ, अँ, यस दुष्ट संसारमा ताराझैं चम्केर एक सुकुमार, एक सुकुमारी बन्न परेको छ। 

के आज तपाईंको छोरा एक वर्ष पुगेको हो? अथवा के एक वर्षअगाड़ि तपाईंकी छोरी जन्मेकी छ। तब रमाउनुहोस्! शायद आजै तपाईंको सम्पूर्ण सम्झना र तपाईंको ध्यान उसैमा, तपाईंको त्यस स्नेहको पात्रमा केन्द्रित रहन्छ होला। तपाईं उसका गर्वीत बुवाआमा हुनुहुन्छ र त्यो नानीचाहिँ तपाईंको मुटुको टुक्रा, तपाईंको आनन्दको पात्र हुन्छ। हो, ईश्वरको कृपाले तपाईंलाई गर्भको यो सुन्दर, अति सुन्दर फल मिलेको छ। एक वर्षभरि तपाईंले आफ्नो सबै माया र प्रेम उसमाथि लगाउनुभएको छ। नानी बढेको छ, र ऊ कति राम्रो भएको छ। परमेश्वरलाई धन्यवाद होस्! आजको दिनमा आफ्नो यस नानीलाई फेरि पनि परमेश्वरको हातमा सुम्पिदिनुहोस्; किनभने उहाँले मात्र उसलाई संसारका सब खराबीबाट रक्षा गर्न सक्नुहुन्छ। 

पहिलो वर्षको यो जन्म - दिन तपाईंले खूबै धुमधामसित मनाउनुहुन्छ होला, बर्टडे केक काट्नुहोला, भोज लगाउनुहोला, सबैसँग खुशी हुनुहोला। तर याद राख्नुहोस्ः तपाईंको त्यो छोरा, तपाईंकी त्यो छोरी सधैं सानै रहँदैन; त्यो छिट्टै बढ़िहाल्छ र एक दुई वर्षभित्र स्कूल जान थाल्छ। यसैले आफ्नो छोरासितको, आफ्नी छोरीसितको यो अमूल्य समय बितेर जान्छ, कहिल्यै फर्केर आउँदैन। यसकारण छोराछोरीसँग पाउने यो छोटो विशेष अवधि पूरा उपभोग गर्नुहोला। उसको जीवनको सबभन्दा मूख्य समय यी पहिलेका दुई वर्ष हुन सक्छन्। तपाईंको नानीलाई भोजन मात्र नदिनुहोला; यति बेला तपाईंले उसलाई बढ़ी ममता देखाउनुपर्छ, उसलाई सुमसुमाउनुपर्छ, उसलाई स्पर्श गर्नुपर्छ, उसलाई आफ्नो अँगालोमा हाल्नुपर्छ, उसको गालामा म्वाई खानुपर्छ। यति बेला तपाईंले उसको मनमा विश्वास र आशा समेत हाल्नुपर्छ; किनकि तपाईंको नानी उद्देश्यहीन भई जिउनुहुँदैन; तपाईंको नानी पछि बिग्रिनुहुँदैन। यसैले तपाईंले आफ्नो यस प्रेमको पात्रलाई होशियारसाथ र ध्यानपूर्वक हुर्काउनुहोला, अनि उसलाई एउटा योग्य पुरुष वा योग्य स्त्री तुल्याउनुहोला। यो जिम्मेवारी स्कूलको वा समाजको होइन; यो ता तपाईंको परमकर्तव्य हो। 

हुन सक्छ, तपाईंको जन्मचाहिँ पन्ध्र बीस तीस वा चालीस, अँ, अझ बढ़ी वर्षअघि भएको हुन सक्छ। यसो भए तापनि आउनुहोस्, आज पनि हामी तपाईंको बर्टडे मनाऔं! तपाईंले आफ्नो जन्मको त्यो सुदिन बिर्सनुभएन होला। यसैले आजको दिनमा तपाईंका परिवार र साथीहरूसँग आनन्दित हुनुहोस्! आनन्द मनाउनुहोस्, तर रम र बियरको साथमा होइन! होइन, यस खुशीको दिनमा आफ्नो जीवन नियालेर आफ्नो यस अमूल्य जीवन दानका निम्ति आफ्ना सृष्टिकर्ता परमेश्वरलाई धन्यवाद चढ़ाउनुहोस्! 

हुन त तपाईंको जीवन आनन्दै आनन्द मात्र होइन होला; त्यसमा अरू थुप्रै कुराहरू र बोझहरू, नमीठा, तीता कुराहरू थपिएका छन् होलान्; तपाईंका आफन्त र इष्टमित्रहरूले तपाईंको जन्ममा खूबै रमाएका थिए; तर त्यो शुरुको रमाहट कहाँ गयो? त्यति बेला तपाईं उनीहरूको मायाको केन्द्र हुनुहुन्थ्यो। तर के त्यो प्रेम तपाईंको जीवनमा अझै आलो छ? के तपाईं अझै त्यो प्रेम पाउँदै हुनुहुन्छ? किनभने यस जीवनमा पाउन सक्ने सर्वोत्तम कुरा प्रेम हो। 

आजको दिनमा, तपाईंको जन्म भएको त्यस खुशी र रमाहटको दिनमा, यस उपलक्ष्यमा मैले तपाईंलाई केही न केही दिनुपर्छ। तपाईंलाई ससाना कुरा दिन मलाई मन लाग्दैन। संसारको सबैभन्दा ठूलो कुरा प्रेम हो। यसैले म तपाईंलाई ईश्वरीय प्रेम प्राप्त गर्ने बाटो देखाउन चाहन्छु। पहिले म तपाईंलाई के भन्न चाहन्छु भने, तपाईं संयोगको फल हुनुहुन्न; तर तपाईंचाहिँ तपाईंलाई प्रेम गर्ने बुवाआमा, यी दुई व्यक्तिको सुन्दर रचना हुनुहुन्छ। अझ गम्भीर सोच्नु हो भने तपाईंचाहिँ तपाईंलाई अनन्त प्रेमले प्रेम गर्नुहुने ईश्वरको सृष्टि हुनुहुन्छ। उहाँले तपाईंलाई चाहनुभयो, यसैले तपाईं हुनुभयो। यसमा उहाँको महान् योजना छ। पक्का पनि उहाँले तपाईंलाई बिनसित्ति आफ्नो प्रतिरूपमा बनाउनुभएन। उहाँको इच्छाविना तपाईंले जन्म लिनुभएन। यसैले मानिलिनुहोस्ः तपाईंको जीवनमा उहाँको सुन्दर उद्देश्य छ; किनभने तपाईंलाई रच्नुहुने परमेश्वर प्रेम हुनुहुन्छ। उहाँ तपाईंलाई प्रेम गर्नुहुन्छ। यसैले आज तपाईंप्रति मेरो शुभेच्छा यही हो : उहाँको न्यानो प्रेम अटुटसँग मिलिरहने उहाँको अनन्त प्रेम पाउनुहोस् र यस सर्वोत्तम उपहारमा सहभागी हुनुहोस्! 

आज तपाईंको विशेष दिन हो; आज तपाईंलाई उत्तम उत्तम कुराहरू चाहिएको छ। यस जीवनभरि तपाईंमाथि आइपर्ने सबै समस्याहरू र सबै संघर्षहरूमा सफल हुनु हो भने तपाईंमा विश्वास हुनुपर्छ। तर आफूमाथि र अरू तपाईंजस्तै कमजोर मानिसहरूमाथि राखिएको भरोसा व्यर्थे हो। आजको दिनसम्म यही तपाईंको नमीठो अनुभव भएको हुनुपर्छ; किनभने मानिसमाथि भरोसा गर्ने व्यक्ति श्रापित हुन्छ। परमेश्वरमाथि तपाईंको विश्वास छ कि छैन, सो मलाई थाहा छैन। तर म तपाईंलाई यहाँ मेरो अनुभव बताउँछु। परमेश्वरको महान् प्रेम प्राप्त गर्ने बाटो यस्तो छः उहाँको अनन्त प्रेम उपभोग गर्नलाई हामीलाई पहिले सत्यको ज्ञान चाहिन्छ; हामीले आफ्ना सृष्टिकर्ता परमेश्वरलाई व्यक्तिगत रूपले चिन्नुपर्छ। हामी उहाँको छोरा वा उहाँकी छोरी भएका हुनुपर्छ। हाम्रा सबै पापहरू क्षमा भएका हुनुपर्छ; हामीले उहाँसँग मेलमिलाप राखेका हुनुपर्छ; तब उहाँको प्रेम पवित्र आत्माद्वारा हाम्रो हृदयभित्र खनिन्छ, तब त्यो दिव्य प्रेम हामीमा बगिरहन्छ, र यो ईश्वरीय प्रेमको अनुभव हाम्रै हुनेछ। उहाँको प्रेम कहिल्यै टुट्नेछैन; अनन्त अनन्तसम्म हामीले उहाँको चोखो प्रेमको अनुभव गर्ने नै छौं 

आज तपाईंको जन्मदिवसमा तपाईंलाई जीवित आशा चाहिएको छ। हुन सक्छ, तपाईंका बुवाआमाहरूले तपाईंलाई छोडिसके; होइन भने एक दिन उनी- हरूले मात्र होइन, तपाईंलाई माया गर्ने सबै तपाईंलाई अवश्य छोड़िजानेछन्। तपाईंका इष्टमित्रहरूले तपाईंलाई बिर्सनेछन्; तर उहाँ, जो प्रेम हुनुहुन्छ, उहाँचाहिँ तपाईंलाई कहिल्यै निराश तुल्याउनुहुन्न। यसैले जसरी घामको नाममा तपाईंले सूर्यका किरण, त्यसको उज्यालो र न्यानोपन खुशीसाथ ग्रहण गर्नुहुन्छ, ठीक त्यस्तै तपाईंले खुला हृदयले येशूको नाममा परमेश्वरको प्रेम ग्रहण गर्नुहोला; किनभने परमेश्वरले तपाईंलाई यस्तो प्रेम गर्नुहुन्छ, कि उहाँले आफ्नो एकमात्र पुत्रलाई यस हेतुले दिनुभयो कि प्रभु येशूमाथि विश्वास गरेर तपाईं नाश नहुनुहोस्, तर अनन्त जीवन पाउनुहोस्! प्रभु येशूचाहिँ परमेश्वरको प्रेमको उपहार हुनुहुन्छ। परमेश्वरको महान् प्रेम तपाईंका निम्ति उहाँको क्रूसको बलिदानमा प्रकट भएको छ। यस बर्टडेमा तपाईंका निम्ति परमेश्वरको सुन्दर उपहार येशू नै हुनुहुन्छ, जसले तपाईंका सबै पापहरू तपाईंलाई सित्तैंमा क्षमा गर्नुहुन्छ र तपाईंलाई पवित्र परमेश्वरसित मेलमिलाप गराउनुहुन्छ। आजै उहाँको यो सुन्दर, सर्वोत्तम उपहार खुशीसाथ विश्वासद्वारा ग्रहण गर्नुहोस्, र तपाईंले उहाँको अपार कृपामा मुक्ति र अनन्त जीवन पाउनुहुन्छ। 

अन्तमा हामी तपाईंको बर्टडेमा तपाईंसित जीवनको शुरुको कुरा मात्र गर्नुहुँदैन, किनकि तपाईंको जीवनको अन्त पनि हुन्छ। यसैले उपदेशकले दिव्य बुद्धिले कहकेका वचन सुन्नुहोस्ः भोजको घरमा जानुभन्दा शोकको घरमा जानु उत्तम हो; किनभने सबै मानिसहरूको अन्त यही हुँदो रहेछ; अनि जिउँदो मानिसले यो कुरा आफ्नो हृदयमा राख्नेछ; बुद्धिमान् मानिसहरूको मन शोकको घरमा हुन्छ, तर मूर्खहरूको हृदय हर्षउल्लासको घरमा हुन्छ। उपदेशक ७:२ र ४ पद 

यसैले तपाईंले यो कुरा आफ्नो मनमा राख्नुहोलाः कोही पनि अमर हुँदैन; एक दिन हामी सबैले यस धरतीलाई छोड्नुपर्छ। जसरी जन्मको दिन आउँछ, त्यसरी नै मृत्युको घड़ी पनि आउँछ। तर तपाईंसित मेरा एक दुई प्रश्न छन्ः के आफ्नो जीवनको अन्तको घड़ीका निम्ति तपाईं तयार हुनुहुन्छ? अथवा त्यो कुदिन तपाईंले कसरी सामना गर्नुहुनेछ? आफ्नो मृत्यु भएपछि न्यायमा उभिँदा र परमेश्वरको सामु आफ्नो जीवनको लेखा दिनुपर्दा तपाईंले उहाँलाई के जवाफ दिनुहुनेछ? त्यो दिन हुन आउनुभन्दा अघि नै तपाईंलाई साथ दिनेहरू सबैले तपाईंलाई छोडिसकेका हुनेछन्। तर उहाँ, जो तपाईंका निम्ति क्रूसमा मर्नुभयो, उहाँ, जो मरेको तेस्रो दिनमा बौरिउठ्नुभयो र सधैंभरि जीवित रहनुहुन्छ, उहाँ, जसले तपाईंलाई अनन्त प्रेमले प्रेम गर्नुहुन्छ, उहाँ मात्र त्यति बेला तपाईंको साथमा रहनुहुनेछ, यदि तपाईंले उहाँमाथि विश्वास गर्नुभयो भने प्रभु येशू तपाईंको साथमा हुनुहुँदा तपाईंले आफ्नो जीवनमाथि परिआउने जुनै समस्याको सामना गर्न सक्नुहुनेछ, र आजको दिनदेखि अनन्त - अनन्तसम्म उहाँको दिव्य प्रेम तपाईंको हुनेछ। यसैले यहाँ हामी तपाईंलाई प्रेमसाथ भन्दछौंः समय छँदै परमेश्वरको प्रेम ग्रहण गर्नुहोस्! तपाईंको यस जन्म दिनमा परमेश्वरको यो महान् उपहार आफ्नो तुल्याउनुहोस्! प्रभु येशूमाथि राखिएको विश्वासद्वारा यो ईश्वरीय प्रेम तपाईंलाई सदा-सर्वदा मिलिरहोस्! 

तपाईंको बर्टडेमा परमेश्वरको आशिषको साथसाथै तपाईंलाई हार्दिक शुभकामना छ! 

यस सम्बन्धमा तपाईंलाई अझ बुझ्ने इच्छा भएदेखि तपाईंले तल दिइएको ठेगानामा अथवा वेबपेचमा वा ईमेल आई.डी. मा हामीसँग सम्पर्क गर्नुहोला। धन्यवाद! हामी तपाईंलाई 'हिमालझैं अचल सत्य यो अपार' नामक पुस्तक सित्तैंमा पठाउनेछौं। 
 

our webpage : www.nbcinepal.org 
our e-mail ID : [email protected] 

पवित्र बाइबलका निम्न परमेश्वरको प्रेम बुझाइदिने यी वचनहरूमा तपाईंले ध्यान दिनुहोला, मनन गर्नुहोला र आफ्ना निम्ति विश्वास गर्नुहोलाः 

प्रेम यसैमा छः हामीले परमेश्वरलाई प्रेम गरेकोमा ता होइन, तर उहाँले पो हामीलाई प्रेम गर्नुभएको हो, र प्रभु येशू आफ्ना पुत्रलाई हाम्रा पापहरूका निम्ति प्रायश्चित हुन पठाउनुभएको हो। १ यूहन्ना ४:१० 
अनि हामीले देखेका छौं र यहाँ गवाही दिन्छौंः हो, परमेश्वर पिताले प्रभु येशू आफ्ना पुत्रलाई यस संसारका मुक्तिदाता हुन पठाउनुभएको हो। येशूचाहिँ परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुरा जसकसैले स्वीकार गर्छ, उसमा परमेश्वर रहनुहुन्छ र ऊ परमेश्वरमा रहन्छ। अनि हामीले परमेश्वरको प्रेम, जो हामी मानिसप्रति हुन्छ, जानेका र विश्वास गरेका छौं। परमेश्वर प्रेम हुनुहुन्छ; अनि जो मानिस प्रेममा रहन्छ, ऊ परमेश्वरमा रहन्छ, र परमेश्वर उसमा रहनुहुन्छ। १ यूहन्ना ४:१४-१६ 

परमेश्वरले यस संसारका मानिसहरूलाई यस्तो प्रेम गर्नुहुन्छ, कि उहाँले तिनीहरूलाई प्रभु येशू आफ्ना एकमात्र पुत्र यस हेतुले दिनुभयो, कि प्रभु येशूमाथि विश्वास गर्ने कुनै पनि व्यक्ति नाश नहोस्, तर उहाँमाथि विश्वास गर्ने हरेकले अनन्त जीवन पाओस्। यूहन्ना ३:१६ 

यस पृष्‍ठलाई सेयर गर्नुहोस्‌

तपाईंको प्रोत्साहन हाम्रो लागि बहुमूल्य छ

तपाईंको कथाहरूले वेबसाइटहरूलाई यो सम्भव बनाउन मदत गर्दछ।