मुक्ति, निश्‍चयता र आनन्‍दको सुरक्षा

मुक्तिको आनन्‍द

हामी सबैजना यात्रा गरिरहेका छौं, अँ, हामी परलोकतिर लम्किरहेका छौं। अनि हामीमध्ये कसैले पनि यो यात्रा कहाँ र कहिले टुङ्गिन्छ, सो जान्दैन। तर हुन सक्छ, यो हाम्रो यात्रा अचानक सिद्धिएला, हामी झसङ्ग हौंला। तब हाम्रो जीवनको यात्रा कहाँ टुङ्गिएला, के यस महत्त्वपूर्ण विषयमा सोच्न हामीलाई एकक्षण फुर्सद छैन? 

संसारका मानिसहरूलाई तीनवटा श्रेणीहरू विभाजन गर्न सकिन्छः पहिलो श्रेणीमा ती मानिसहरू छन्, जसले मुक्ति पाएका छन्, जससँग मुक्तिको निश्चयता पनि छ। तिनीहरूले प्रभु येशूमाथि विश्वास गर्छन्, जो तिनीहरूका पापहरूको निम्ति क्रूसमा मर्नुभयो। यसकारण तिनीहरू स्वर्ग जाने आशामा पूरा निश्चित छन्। दोस्रो श्रेणीमा ती मानिसहरू छन्, जसले मुक्ति पाउन चाहन्छन्, तर जससँग मुक्तिको निश्चयता छैन। अनि तेस्रो श्रेणीमा ती मानिसहरू छन्, जसले मुक्ति पाएका छैनन्। तिनीहरू आफ्नो आत्माको निम्ति कुनै फिक्री गर्दैनन् र अनन्तकाल कहाँ बिताउने हो, यसको विषयमा कुनै वास्ता गर्दैनन्। तिनीहरू प्रभु येशूमाथि विश्वास नगर्ने मानिसहरू हुन्, जसको विचारमा मृत्यु- पार तिनीहरूको अस्तित्व छैन र जो यसको विषयमा अनजान रहन चाहन्छन्। 

यी तीनवटा श्रेणीहरूमध्ये कुनै एउटामा तपाईं र म, हामी छँदैछौं। तपाईं यी श्रेणीहरूमध्ये कुन श्रेणीमा हुनुहुन्छ, के तपाईंले देख्नुभएको छ, के तपाईंले जान्नुभएको छ? यो कुरा जान्न महत्त्वपूर्ण छ। किनकि अनन्तकाल कहाँ बिताउनुपर्ने हो, यस विषयमा अनजान रहन चाहने मानिस मूर्ख मानिस हो। लाखौं, करोडौं मानिसहरूले दैनिक जीवन धाउन र आफ्नो रोजीरोटी कमाउनको निम्ति परिश्रम गरिरहेका छन्; तिनीहरू केवल भौतिक कुराहरूमा चासो लिन्छन् र यी क्षणिक कुराहरूको निम्ति मरिमेटेर नित्य प्रयास गर्छन्। तर तिनीहरूले आफ्नो अनन्त भाग्य बेवास्ता गरिरहेका छन्। यस विषयमा तिनीहरू पूरा अन्धा छन्। के परमेश्वरले हामी पापी गानिराहरूप्रति आफ्नो अपार प्रेम ख्रीष्टको क्रसमा प्रकट गर्नुभएन र? के परमेश्वरले हाम्रो हरेक पापलाई घोर घृणा गर्नुहुन्न? के हामीले यस छोटो जीवनपछि उहाँको सामु आफ्नो जीवनको लेखा दिनुपर्दैन र? के उहाँको न्यायमा पर्न हामीलाई डर लाग्दैन? प्रायः सबै मानिसहरू निष्फिक्रीसाथ आफ्नो बाटोमा लागिपरेका छन् र भयानक विनाशतिर लम्किरहेका छन्। तिनीहरूको अन्त अचानक आउँछ। तिनीहरूमध्ये एकजना नहुनुहोस्! के तपाईंको निम्ति सृष्टिकर्ता परमेश्वर हुनुहुन्न? के हाम्रो मृत्यु आउँदैन? के हामी उहाँको न्यायमा पर्नेछैनौं र? के स्वर्ग र नरक छैन? परमेश्वरले हामीमाथि निगाह राखून् र हाम्रा आँखाहरू खोलिदिऊन्! हामीले आफ्नो आत्मिक हालत बुझ्न सकौं; किनभने हुन सक्छ, तपाईं र म, हामी अनन्त विनाशको खाड़लको मुखमा उभिरहेका छौं, र हाम्रो निम्ति त्यसभित्र परिजान एकै कदम मात्र बाँकी रहेको होला। 

पत्याउनुहोस् वा नपत्याउनुहोस्, तर तपाईंको अवस्था गम्भीर छ। आफ्नो अनन्त नियतिको विषयमा फिक्री गर्नुहोस्, ढिलो नगर्नुहोस्! किनकि तपाईंको आत्माको शत्र शैतानले तपाईंलाई धोका दिन र तपाईंलाई तपाईंको अमूल्य आत्माको बारेमा ठग्न खोज्दैछ। त्यसले तपाईंलाई अलमलाउन चाहन्छ; त्यसले तपाईंलाई व्यस्त बनाउँछ र तपाईंलाई आफ्नो आत्माको मुक्तिको विषयमा सोच्ने फुर्सद दिँदैन। तर यस विषयमा यो सत्य उखान सुन्नुहोस्ः ‘पछि गर्छु' भन्नु 'कहिल्यै गर्दिनँ' भन्नु हो। यसकारण हाम्रो प्रेमको अर्ती ग्रहण गर्नुहोस्, धोकामा नपर्नुहोस् र विनाशमा पुरयाउने बाटो झट्टै छोड्नुहोस्! ‘किनभने कृपादृष्टिको समय अहिले हो, हेर्नुहोस्, मुक्तिको दिन आज हो!' (२ कोरिन्थी ६:२)। 

हुन सक्छ, तपाईं आत्मिक कुरामा चासो राख्ने मानिस हुनुहुन्छ। हुन सक्छ, तपाईंले मुक्ति खोजिरहनुभएको छ, तर तपाईंले पापको क्षमा र मुक्तिको निश्चयता पाउन सक्नुभएन। तब ढाढ़स गर्नुहोस्, किनभने तपाईंको निम्ति आशा छ। तर यस सम्बन्धमा तपाईंले पहिले बुझ्नुपर्छः आत्मिक कुराको बेवास्ता गर्ने मानिसको पाप अविश्वास हो भने, मुक्तिको निश्चयता नभएको मानिसको समस्या पनि अविश्वास नै हो। हामी सबै मानिसहरू पापी हौं; हामी पवित्र परमेश्वरको सामु दोषी छौं; हामी उहाँको न्यायमा पर्न र दण्ड पाउन योग्य छौं। के तपाईंले यो कुरा बुझ्नुभएको र विश्वास गर्नुभएको छ? के तपाईंले परमेश्वरले ख्रीष्ट येशूमा तपाईंको निम्ति तयार गर्नुभएको मुक्तिको बाटो जान्नुभएको छ? तब शङ्का नगर्नुहोस्, अविश्वास नगर्नुहोस्, तर निर्धक्क भई यस बाटोमा आफ्ना खुट्टा टेख्नुहोस्! म तपाईंको समस्या बुझ्दैछु, किनकि म पनि एक समयमा यही अवस्थामा छँदैथिएँ। यसकारण मुक्तिको खोजी गर्नुहोस्! यसमा गम्भीर हुनुहोस्! किनकि इमानदारपूर्वक आफ्नो आत्माको मुक्ति खोज्ने मानिस एक दिन मुक्तिको निश्चयतामा आइपुग्नेछ। अनि जीवनको सबैभन्दा महत्त्व कुरा त्यही हुँदो रहेछ। किनभने प्रभु येशूले भन्नुभयोः ‘किनकि मानिसले सारा संसार प्राप्त गरे ता पनि आफ्नो आत्माचाहिँ गुमाउँछ भने उसलाई के लाभ हुन्छ र?' (मत्ती १६:२६)। 

यसकारण यस विषयमा प्रभु येशूको निम्न वचन पनि सुन्नुहोस्ः 'साँघुरो ढोकाबाट भित्र पस; किनकि विनाशमा पुरयाउने ढोका फराकिलो र त्यसको बाटो चौड़ा हुन्छ; अनि त्यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। तर जीवनमा पुरयाउने ढोका साँघुरो र यसको बाटो पनि साँघुरो हुन्छ, र यो भेट्टाउने थोरै हुन्छन्' (मत्ती ७:१३ - १४)। मानौं हामी त्यही मानिसजस्तै छौं, जसले आफ्नो बाटो बिराएको छ, जो लखतरान र थकित भएको छ, जसलाई भोक लागेको छ, अनि जो बल्ल एउटा दोबाटोमा आइपुगेको छ। ऊ अलमल्ल परिरहेको छ, किनकि कुनचाहिँ बाटोमा लाग्नुपर्ने हो, सो उसलाई थाहा छैन ऊ दोधारमा परिरहेको छ। यस अवस्थामा उसले पक्का र सुनिश्चित निर्देशन पाउनुपर्छ। उसले सय बाटो भेट्टाउनुपर्छ; अनि ऊ यसमा पूरा निश्चित हुनुपर्छ। तब याद गर्नुहोस्ः चौड़ा बाटो विनाशमा पुरयाउँछ। झसङ्ग हुनुहोस्, र विनाशको बाटो झट्टै छोड्नुहोस्! मुक्तिको बाटो साँघुरो छ, तर जीवनमा पुरयाउँछ। प्रभु येशू नै मुक्तिको बाटो हुनुहुन्छ; किनभने उहाँले यसो भन्नुभएको छः ‘बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि परमेश्वर पिताकहाँ पुग्दैन' (यूहन्ना १४:६)। यसकारण ठीक बाटो रोज्नुहोस्, यसमा गल्ती नगर्नुहोस्; किनकि यसको विषयमा गल्ती गरेमा यसको नतिजा गम्भीर हुनेछ। तपाईं अनन्त विनाशमा किन पर्नुहुने? 

हामी आशिषित मानिस हौं; किनकि हाम्रो हातमा विश्वासयोग्य र पूरा भरपर्दो मार्ग-दर्शिका छ। परमेश्वरको वचन पवित्र बाइबल त्यो कहिल्यै धोका नदिने मार्ग-दर्शिका हो। अनि यस दिव्य मार्ग दर्शिका अनुसार हामी यहाँ तीनवटा मुख्य बुँदाहरू प्रस्तुत गर्न लागिरहेका छौंः 

क) हामीले एकमात्र मुक्तिको बाटो जान्नुपर्छ। 
ख) हामीले मुक्ति पाएको कुरा निश्चित रूपले जान्नुपर्छ। 
ग) हामीले मुक्तिको निश्चयताबाट आनन्द लिन सक्नुपर्छ। 

यी तीनवटा कुराहरूको विषयमा विचार गरेर हाम्रो मननमा अघि बढ्दै जाँदा के स्पष्ट हुन्छ भने, कुनै मानिसले मुक्तिको बाटो जान्न सक्छ, र पनि उससँग मुक्तिको निश्चयता नभएको सम्भव छ। अनि यो पनि बुझिन्छ, कि कोही मानिस होला, जसले मुक्ति पाएको छ, तर उसले मुक्तिको निश्चयताबाट आनन्द लिन सकेको छैन। 

क) हामीले एकमात्र मुक्तिको बाटो जान्नुपर्छ। 

मुक्तिको बाटोको विषयमा हामी प्रस्थान १३:१३ पदमा एउटा सुन्दर चित्रण देख्छौं र आफ्नो निम्ति एउटा सुस्पष्ट आदेश पाउँछौं। त्यहाँ यसरी लेखिएको छः 'गधाको हरेक पहिले जन्मेको बछेरालाई तिमीले भेड़ाको पाठो दिएर छुटाउनू! अनि यदि तिमीले त्यसलाई छुटाउन चाहँदैनौ भने, तिमीले त्यसको गर्दन भाँचिदिनू! तर तिम्रा सन्तानहरूको बीचमा मानिसको हरेक जेठा छोरालाई चाहिँ तिमीले छुटाउनू!' 

यसकारण मसँग आउनुहोस्, हामी उक्त पदले भन्न खोजेको कुरा स्पष्टसँग बुझ्न यो दृश्यस्थल कल्पना गरौं, जहाँ तीन हजार वर्ष अगाड़ि दुईजना मानिसहरूको बीचमा एउटा गम्भीर छलफल चलिरहेको थियो। त्यहाँ एकजना पूजाहारी उपस्थित थिए, र एकजना गरिब इस्राएली मानिस थियो। तिनीहरूले आपसमा निक्कै बहस गरिरहेका जस्तै देखिन्थ्यो। तिनीहरूको सामु एउटा गधाको बछेरा थियो, जसको विषयमा तिनीहरूले उत्तेजित भई बातचित गरिरहेका थिए। 
हामी यस गरिब इस्राएली मानिसको कुरा सुनौं, जसले यसो भन्दै आफ्नो तर्क पेश गस्योः 'हजुरलाई विन्ती छ, कृपया हजुरले आज मलाई एकपल्ट छुट दिनुहोला। यो गधाको बछेरा मेरो एकै गधाको पहिलो जन्मेको बच्चा हो। अनि मलाई थाहा छ, कि व्यवस्थाअनुसार मैले यो पशु छुटाउनुपर्छ। तर मलाई आशा छ, परमेश्वरले आज मलाई कृपा देखाउनुहुन्छ र यस पशुको बारेमा आफ्नो माग छोड्नुहुन्छ होला; किनभने म एउटा गरिब मानिस हुँ; अनि मसँग यो गधाको बछेरा छुटाउने औकात छैन।' तब यी पूजाहारीले उसलाई यस प्रकारको उत्तर दिए: 'परमेश्वरको व्यवस्थाको नियम सुस्पष्ट छ र यसको विषयमा कुनै शङ्का छैनः गधाको हरेक पहिले जन्मेको बछेरालाई तिमीले भेड़ाको पाठो दिएर छुटाउनू! अनि यदि तिमीले त्यसलाई छुटाउन चाहँदैनौ भने, तिमीले त्यसको गर्दन भाँचिदिनू! यसकारण तिम्रो भेडाको पाठो खोई, कहाँ छ?' 'मेरो भेड़ाको पाठो छैन।’ ‘तब जाऊ, एउटा किनेर यहाँ ल्याऊ! नत्र ता तिम्रो गधाको बछेराको गर्दन भाँच्नुपरेको छ। कि त तिमीले एउटा भेड़ाको पाठो बलि गर्नुपर्छ, कि त त्यो गधाको बछेरा मर्नुपर्छ।' दुःखी भई यस गरिब मानिसले सुस्केरा छोड्योः 'ओहो, यसो भए कुनै आशा छैन; किनभने एउटा भेडाको पाठो किन्न मेरो लागत छैन।' 

बीचमा एकजना वृद्ध मानिस त्यहाँ आइपुगे, जसले यस गरिब मानिसको निराशाको चीत्कार सुने। एकक्षण तिनले चुपचापसित चिन्तन- मनन गरे, त्यसपछि उसतिर फर्केर तिनले मिलनसार भावले उसलाई भनेः 'भाइ, साहस गर! म तिमीलाई मद्दत गर्न सक्छु। किनकि मेरो घरमा एउटा निष्कलङ्क भेड़ाको पाठो छ; हामी त्यसलाई खूब माया गर्छौं; तर म त्यो ल्याउँछु र तिम्रो गधाको बछेराको निम्ति बलि गर्नेछु।' नभन्दै ती मिलनसार मानिस गइहाले र छोटो समयमा एउटा भेडाको पाठोको साथ फर्केर आए। अनि यी पूजाहारीले तिनको हातबाट त्यो पाठो लिए र बलि गरेर होमवेदीमाथि चढ़ाए। त्यसपछि उनले अवाक भई यो सब हेरिरहेको गरिब मानिसलाई यसो भने: 'अब तिम्रो गधाको बछेरा लैजाऊ! किनकि त्यो भेडाको पाठो यस गधाको बछेराको निम्ति यसको सट्टामा बलि गरिएको छ; अनि यसरी यो गधाको बछेरा छुट्टाइयो।' यो गरिब मानिस साह्रै खुशी भयो र यो गधाको बछेड़ा लिएर घर फर्क्‍यो। 

यो कति सुन्दर चित्रण हो। यस उक्त कथाबाट एउटा पापी मानिसले कसरी मुक्ति पाउँछ, सो कुरा छरलङ्गै बुझिन्छ। परमेश्वरले एउटा पापी मानिसमाथि त्यसका पापहरूको खातिर आफ्नो धर्ममय न्याय ल्याउनुपर्छ। अनि यस ईश्वरीय न्यायबाट उम्कन केवल एउटै उपाय छः परमेश्वरले निर्धारित गर्नुभएअनुसार उहाँको दृष्टिमा ग्रहणयोग्य र निर्दोष भएका व्यक्तिले पापी मानिसको स्थान लिनुपर्छ। तर यस प्रकारको व्यक्ति कहाँ पाइन्छ? हामी उक्त गरिब इस्राएली मानिसजस्तै छौं। हाम्रा पापहरू प्रायश्चित्त गर्न परमेश्वरले निर्धारित गर्नुभएको बलिदान ल्याउन हाम्रो लागत छैन। परमेश्वर यो जान्नुहुन्छ। यसकारण परमेश्वर आफैले यसको निम्ति प्रबन्ध गर्नुभयो; उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो। प्रभु येशू उहाँको प्रिय पुत्र हुनुहुन्छ, जो त्यो निर्दोष र निष्कलङ्क पाठो हुनुहुन्छ। उहाँको विषयमा बप्तिस्मा दिने यूहन्नाले यस प्रकारको साक्षी दिएः 'हेर, परमेश्वरको थुमा, जसले यस संसारको पाप उठाइलैजानुहुन्छ' (यूहन्ना १:२९)। प्रभु येशूकहाँ औलाएर तिनले हामीलाई प्रभु येशूमा परमेश्वरको पापबलि देख्ने आह्वान दिए। 

यी प्रभु येशू परमेश्वरको पुत्र हुनुहुन्छ, जसको विषयमा यसो लेखिएको छः मारिन लगिएको भेडाको पाठोझैं उहाँ क्रूसमा मर्नुभयो (यशैया ५३:७)। किन? क्रसमा उहाँले हाम्रा पापहरूको खातिर दुःखकष्ट भोग्नुभयो। १ पत्रुस ३: १८ पदअनुसार यी धर्मी जनले हामी अधर्मी पापीहरूको निम्ति दु:ख भोग्नुभयो र हामीलाई परमेश्वरकहाँ पुरयाउन यी कष्टहरू सहनुभयो। प्रभु येशू हाम्रा अपराधहरूको खातिर क्रूसको मृत्युमा सुम्पिनुभयो र हामीलाई धर्मी ठहराउने हेतुले मरेकाहरूको बीचबाट बौरिउठ्नुभयो (रोमी ४:२५)। यसकारण परमेश्वरले ख्रीष्ट येशूमाथि विश्वास गर्नेहरूलाई ग्रहण गर्न र धर्मी ठहराउन आफ्ना धर्ममय र पवित्र मागहरूमध्ये एउटा पनि खारिज गर्नुपर्दैन (रोमी ३:२६)। ख्रीष्ट येशू हाम्रा मुक्तिदाताको निम्ति परमेश्वरलाई मुरी मुरी धन्यवाद होस्! यति महान् मुक्तिको निम्ति सदा-सर्वदा धन्यवाद भइरहोस्! 

किनभने जब एकजना मानिसले प्रभु येशूमाथि विश्वास गर्छ, अर्थात् उहाँलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्छ, तब उसले आफ्नो जीवन उहाँको हातमा सुम्पन्छ र उहाँले पूरा गर्नुभएको उहाँको त्राणको काम आफ्नो निम्ति ग्रहण गर्छ। अनि तब ख्रीष्ट येशूको त्राणको कामको मूल्य र पुण्यफल उसको हिसाबमा लगाइन्छ। यति मात्र होइन, तर परमेश्वरले अबदेखि उसो हामीलाई हाम्रो पापी अवस्थामा देख्नुहुन्न, तर ख्रीष्ट येशूमा पूरा योग्य भएका देख्नुहुन्छ। उहाँको योग्यता हाम्रो योग्यता भएको छ। 

ख्रीष्ट येशूमा परमेश्वरको मुक्तिको योजना कति महान् छ, तपाईं आफै भन्नहोस्! उहाँबाहेक अरू कसैले पनि यस प्रकारको उपाय रच्न सकेन। किनभने उहाँ मात्र सत्य परमेश्वर हुनुहुन्छ। उहाँले आफ्नो अभिप्राय पूरा गर्नुभयो। उहाँले आफ्नो प्रेम देखाउने उपाय भेट्टाउनुभयो। उहाँले आफ्नो पुत्रलाई दिनुभयो, उहाँलाई बौराएर उठाउनुभयो र उहाँलाई स्वर्गको उच्च महिमा दिनुभयो। अबदेखि उहाँले येशूको नाममा पाप मानिसहरूलाई ग्रहण गर्नुहुन्छ र तिनीहरूलाई अनन्त मुक्ति दिनुहुन्छ। अनि तिनीहरू ख्रीष्ट येशूमा अनन्तसम्म सुरक्षित हुन्छन्। हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पितालाई धन्यवाद होस्! किनभने उहाँले आफ्नो एकमात्र पुत्रलाई बाँकी राख्नुभएन, तर उहाँलाई यस धरतीमा पठाउनुभयो र उहाँलाई हाम्रो निम्ति दिइहाल्नुभयो। अनि उहाँले क्रूसमा हामीलाई मुक्ति दिलाउने त्यो महान् काम पूरा गर्नुभयो। 

परमेश्वरको तर्फबाट मुक्तिको प्रबन्ध तयार भएको छ, र सबैको निम्ति उपब्ध भएकै छः हामीजस्तै पापी मानिसहरूले प्रभु येशूमाथि राखिएको विश्वासद्वारा अपार आशिषहरू प्राप्त गर्नको साथसाथै अनन्त - अनन्तसम्म उहाँसँग मीठो सङ्गति पाएका छौं। 'मसँग परमप्रभुको बढ़ाइ गर्नुहोस्! सँग मिलेर हामी उहाँको नाम उच्च पारौं!' (भजन ३४:३)। 

तर हुन सक्छ, तपाईं मलाई यसो भन्न खोज्नुहुन्छ: 'मैले आफूमाथि र मेरा धर्मकर्महरूमाथि भरोसा नगर्न सिकेको छु; अनि म केवल ख्रीष्ट येशूमाथि र उहाँको त्राणको काममाथि भरोसा गर्छु। तर परमेश्वरसित मेरो सम्बन्ध ठीक छ कि छैन, यसको विषयमा कतै मलाई अलिक शङ्का छ। किनकि एक दिन म येशूमा हर्षित छु र परमेश्वरले मलाई मैले प्रभु येशूमाथि राखेको विश्वासद्वारा ग्रहण गर्नुभएकोमा साह्रै आनन्दित छु, तर भोलिपल्ट डर र शङ्काले मलाई सताउन खोजिरहेका छन्। यसको कारण के होला त नि?' 

यस प्रश्नको उत्तर म यस प्रकारले दिन्छुः पानीजहाजको चालकले आफ्नो लङ्गर हानेर आफ्नो जहाजभित्र लगाएको के तपाईंले कहीं कतै सुन्नुभएको छ? अवश्य होइन नि। किनकि यो एउटा मूर्ख काम ठहरिनेथियो। जहाजको कप्तानले यो लङ्गर सधैं जहाजभित्र होइन, तर समुद्रमा फ्याँक्छ। के मैले भन्न खोजेको कुरा तपाईंले बुझ्नुभयो? हो, सायद तपाईंले प्रभु येशूको क्रसको मृत्युमा परमेश्वरको न्यायबाट उम्कने एकमात्र मुक्तिको उपाय देख्नुभएको, तर मुक्तिको निश्चयता तपाईंले आफ्नो मनभित्र खोज्नुभएको रहेछ। मुक्तिको निश्चयताको निम्ति आफूदेखि बाहिर हेर्नको सट्टामा तपाईं आफूभित्र हेर्दै हुनुहुन्छ। यसकारण तपाईं आफ्ना भावनाहरूको तरङ्गमा उथलपुथल हुनु स्वाभाविक कुरा हो। किनकि एक क्षणमा मुक्ति पाएकाहरूले उपभोग गरेको शान्ति र आनन्दमा तपाईं उचालिनुहुन्छ भने, एकै क्षणमा मनको शान्ति र आनन्द हराएकोले आँधीबेह्रीका छालहरूमा हुत्तिएझैं गाथि तल र यता उता हुत्तिनुहुन्छ। यसकारण तपाईंले दोस्रो बुँदामा प्रस्तुत गर्न लागेको कुरामाथि पूरा ध्यान दिनुपर्छ। 

ख) हामीले मुक्ति पाएको कुरा निश्चित रूपले जान्नुपर्छ। 

आउनुहोस्, हामी पवित्र बाइबलमा १ यूहन्ना ५:१३ पद पढ़ौं, जहाँ यसो लेखिएको छः ‘मैले तिमीहरू परमेश्वरको पुत्रको नाममाथि विश्वास गर्नेहरूलाई यी कुराहरू यस हेतुले लेखेको छु कि तिमीहरूसँग अनन्त जीवन भएको कुरा तिमीहरूलाई थाहा भएको होस्।' यहाँ लेखिएको कुरामाथि हामीले ध्यान दिनुपर्छ; किनभने मुक्ति पाएको कुरा जान्न सकिन्छ। कसरी? मुक्तिको निश्चयता हाम्रो मनका भावनाहरूको फल होइन, तर हाम्रो विश्वासको फल हुँदो रहेछ। किनकि 'मैले तिमीहरूलाई हर्ष र आनन्द दिएको छु; यसकारण तिमीहरूले मुक्ति पाएको कुरा जान्न सक्छौ' भन्ने कुरा लेखिएको छैन। अनि 'मैले तिमीहरूलाई यस उद्देश्यले लेखें, कि तिमीहरूले आफ्नो मनको भावनामा आनन्त जीवनको आशा गर्न सक' भनेर पनि लेखिएको छैन। 

इस्राएलीहरूले मिस्र देश छोड्न लागेको बेलामा भएको कुरा होः त्यस बेलामा परमेश्वरले मिस्रीहरूमाथि अन्तिम प्रहार लगाउनुभयो र तिनी- हरूमाथि सबैभन्दा ठूलो महामारी ल्याउनुभयो। उहाँले एकै रातमा तिनीहरूका सबै जेठा छोराहरूलाई मार्नुभयो। यो कुरा प्रस्थान १२ अध्यायमा पढिन्छ। इस्राएलीहरूका जेठा छोराहरूले यस रातको डरलाग्दो न्यायबाट उम्कने निश्चयता कहाँबाट पाए त? आउनुहोस्, हामी यसको निम्ति कल्पनामा त्यस समयमा फर्कों, र दुईवटा इस्राएली परिवारहरूमा गएर तिनीहरूको बातचित सुनौं। 

पहिलो घरमा पसेपछि हामीले त्यहाँ बसेको परिवारका सबै सदस्यहरूलाई डरत्रासमा आतङ्कित भएका भेट्टायौं। तिनीहरूका अनुहारहरूबाट रङ्ग उड़ेको थियो; तिनीहरू बाबुआमा-छोराछोरीहरू सबका सब कामिरहेका थिए। अनि जब हामीले तिनीहरूबाट यो डरत्रासको कारण के थियो, सो जान्न चाह्यौं‍, तब तिनीहरूका जेठा छोराले हामीलाई बतायोः आउँदो रातमा न्यायका दूत देशको एक छेउदेखि अर्को छेउसम्म पार जानेथिए र तिनले सबै जेठा छोराहरूलाई मार्नेथिए। अनि त्यस डरलाग्दो रातमा उसको हालत केकस्तो हुने हो, सो उसले निश्चित रूपले भन्न सक्दैनथियो। उसले आफ्नो मनको कुरा यस प्रकारले व्यक्त गस्योः ‘न्यायका दूतले राति हाम्रो घर नछोई छोडेर गएको भोलिपल्ट मात्र हामी तिनले मलाई बचाइराखेको कुरा जान्दछौं। यसकारण हामी डराइरहेका छौं। तर हाम्रा छिमेकीहरू पूरा ढुक्कै छन् र “हामी अवश्य उम्कनेछौं” भन्ने कुरा दाबी गर्छन्। तर मेरो विचारमा यो तिनीहरूको दुःसाहसको फल हो। म यसो भन्न सक्दिनँ। यसकारण यो डरलाग्दो रातभरि म जागा रहनुपर्ला र हामीले आशा गर्नुपर्ला।' 

'तर के, के परमेश्वरले तिम्रो जीवन कसरी बचाइन्छ, सो कुरा स्पष्टसँग भन्न भएन र?' भनेर हामी उसलाई प्रश्न गर्छौं। 

'हो, हो! हामीले उहाँको आदेश पालन गरेर उहाँले हामीलाई आज्ञा गरेका सबै कुराहरू पूरा गरेका छौं। हामीले एउटा एकवर्षे निष्कलङ्क भेड़ाको थुमा मास्र्यौं; हामीले त्यसको रगत बाहिर हाम्रो घरको ढोकाका खाँबाहरूमा लगायौं। तरै पनि यतिले पुग्छ भन्नेमा हामी निश्चित छैनौं।' 

आउनुहोस्, अब हामी दोस्रो परिवारलाई पनि भेटौं! यहाँको वातावरण एकदम फरक छ। यहाँ शान्तिको छाया छ। तिनीहरूको अनुहारबाट देखिन्छः तिनीहरू निर्धक्क छन्। सारा परिवार टेबलको वरिपरि भेला भएको छ; तिनीहरूको एक-एकजनाको हातमा एउटा लौरो छ। अनि तिनीहरूले आगोमा पोलिएको भेडाको थुमाको सेकुवा - मासु खाइरहेका छन्। तिनीहरू सबैजना यति ढुक्कै हुने कारण कहांबाट आयो त? के यस रातमा सारा देशमाथि यो डरलाग्दो न्यायको प्रहार आइपर्नेछैन र? यो रहस्य जान्न हाम्रो चिज्ञासो निक्कै बढेको छ। तिनीहरू यात्रा गर्न तयार भई टेबलको वरिपरि उभिने कारण के हो, सो हामीले जान्न चाहेका छौं। तिनीहरूले हामीलाई यस प्रकारको जवाफ दिए: 'हामी परमप्रभुबाट हिँड्ने आदेश पाउन पर्खेका छौं। उहाँको आदेश सुन्नासाथ हामी मिस्र देश र त्यसको दासत्व सधैंको निम्ति छोड्नेछौं।' 

यसमा हाम्रो आपत्ति के थियो भने, 'तर आज राति परमेश्वरको न्यायका दूत मिस्र देश पार जानेछन् र सबै जेठा छोराहरूलाई मार्नेछन् भन्ने कुराको विषयमा के हो त?' 

'हामीलाई थाहा छ, हाम्रो जेठा छोरालाई केही हानि हुनेछैन; किनभने परमेश्वरको आज्ञाअनुसार हाम्रो घरको ढोकाका खाँबाहरूमा हामीले त्यो भेडाको रगत लगाएका छौं।' 

तब हाम्रो प्रश्न थियो: 'तर तिमीहरूका छिमेकीहरूले पनि यसो गरे र पनि तिनीहरू दुःखी छन् र डराइरहेका छन्; किनभने तिनीहरूको जेठा छोरा बचाइनेछ भन्ने कुरामा तिनीहरू निश्चित छैनन्।' 

तब तिनीहरूको जेठा छोराले हाम्रो कुरा काटेर बीचमा निर्धक्कताको साथ यसो भन्योः 'हामीसँग हाम्रो घरको ढोकाका खाँबाहरूमाथि लगाइएको रगतको साथसाथै परमेश्वरको वचनको प्रतिज्ञा पनि छ। किनभने उहाँले यसो भन्नुभयोः “जब म त्यो रगत देख्छु, तब म तिमीहरूलाई नछोई छोड़ेर जानेछु।” यसैले जब उहाँ हाम्रो घरको ढोकाका खाँबाहरूमा त्यो रगत देख्नुहुन्छ, तब उहाँ पूरा सन्तुष्ट हुनुहुन्छ। यसकारण हामी ढुक्कै छौं; किनभने उहाँ आफ्नो वचन कदर गर्नुहुन्छ।' 

अनि कुरा ठीक यस्तै थियोः परमप्रभुको दूत तिनीहरूको जेठा छोरालाई नछोई छोडेर गए। अनि हाम्रो विषयमा? हो, हाम्रो विषयमा कुरा पनि उस्तै छः परमेश्वरको थुमाको रगत हाम्रो निम्ति बगाइयो र त्यो रगत हामीलाई बचाउँछ। अनि परमेश्वरको वचनको प्रतिज्ञाले हामीलाई अकाट्य निश्चयता दिन्छ। किनभने उहाँले भन्नभएको हो: 'जब म त्यो रगत देख्छु, तब म तिमीहरूलाई नछोई छोडेर जानेछु।' अरू कुनै कुराले हामीलाई त्योभन्दा बढ़ी निश्चयता दिन सक्दै सक्दैन। हामी परमेश्वरको न्यायबाट उम्कनेछौं; किनकि प्रभु येशूको रगत हाम्रो निम्ति बगाइएको छ। अनि परमेश्वरको वचनको प्रतिज्ञाले हामीलाई यसको विषयमा पूरा निश्चयता दिन्छ। 

उक्त दुईजना जेठा छोराहरूमा कुनचाहिँ बढ़ी सुरक्षित थियो? के दोस्रो परिवारको जेठा छोराको सुरक्षा बढ़ी भएको थियो; किनकि यस परिवारको वातावरणमाथि शान्तिको छाया थियो? होइन; दुवै परिवारका जेठा छोराहरू उस्तै प्रकारले सुरक्षित थिए। किनभने यी दुईजनाको सुरक्षा तिनीहरूको भावनामा निर्भर गर्दैनथियो, तर पूरापूर त्यस रगतमाथि निर्भर गर्थ्यो, जुन रगतचाहिँ बाहिर तिनीहरूका घरको ढोकामा लगाइएको थियो। अनि परमेश्वरले आफ्नो प्रतिज्ञाद्वारा तिनीहरूलाई यसको बन्धकरूपी अकाट्य प्रण दिनुभयो। हामी पनि आफ्नो मुक्तिको विषयमा पूरा निश्चित हुन सक्छौं, किनकि हामीले यस सम्बन्धमा आफ्नो मनका भावनाहरूमा निर्भर गर्नुपर्दैन, तर परमेश्वरको वचनको कहिल्यै अदलबदल नहुने प्रतिज्ञागाथि भर पर्न सक्छौं। किनकि प्रभु येशूले भन्नुभयोः 'साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, उससँग अनन्त जीवन हुन्छ, र ऊ न्यायमा पर्नेछैन, तर ऊ मृत्युबाट जीवनमा सरिसकेको हुन्छ' (यूहन्ना ५:२४)। 

दैनिक जीवनबाट मलाई यहाँ एउटा उदाहरण प्रस्तुत मन लाग्छ। एउटा कृषक थियो, जसले आफ्नो फार्मको छेउमा एउटा फलाइलो जमिन भाड़ामा लिन पाइन्छ भन्ने सुनेछ। धेरै समय अगाडिदेखि नै उसले त्यो जमिन पाउने इच्छा गर्दथियो; किनकि उसको गाईवस्तुको निम्ति घाँस पुग्दैनथियो। तब उसले जग्गाको धनीलाई लिखित रूपले आफ्नो प्रस्ताव पेश गरयो; तर उसले निक्कै समयसम्म यसको कुनै जवाफ पाएन। एकदिन एउटा छिमेकी उसको घरमा आइपुग्यो, जसलाई उसले बातचित गर्दा यसको कुरा बतायो। अनि त्यसले ध्यानसित सुनेपछि यसो भन्योः 'तिमीले यो जमिन अवश्य पाउँछौ, किनकि जमिनको धनीले तिमीलाई मन पराउँछ।' अनि यो आश्वासनले त्यस कृषकलाई ढुक्कै तुल्यायो। भोलिपल्ट अर्को छिमेकीसित उसको झम्काभेट भइहाल्यो, जसले बातचित गर्दा आफ्नो राय सुनायोः ‘मेरो विचारमा, यो जमिन पाउने तिम्रो आशा निक्कै कम हुन्छ; किनकि मैले आफ्ना कानले सुनेको छु; यो जमिन भाड़ामा लिने अर्को व्यक्ति पनि छ, र त्योचाहिँ जमिनको धनीको साथी हुँदो रहेछ।' यति सुनेमा त्यो कृषक निराश भयो; खिन्न भई ऊ घर फर्क्‍यो। 

तर घरमा पुगेको बेलामा उसको निम्ति जमिनको धनीबाट एउटा चिट्ठी पर्खिरहेको रहेछ। हतारसँग उसले त्यो लिफा खोल्यो र यो पत्र पढ्यो। अनि यो चिट्ठी पढ़ेपछि उसको अनुहार उज्यालो भयो। आनन्दित भई उसले आफ्नो पत्नीलाई तुरुन्तै यो खुशीको खबर सुनायोः 'ए मीना, सुन, तिनले हामीलाई यो जमिन भाड़ामा दिएका, सस्तोमा, र चाहेजति वर्षहरूको निम्ति! मेरो चिन्ता व्यर्थ थियो। अब म ढुक्कै छु; किनकि मसँग तिनको लिखित वचन छ। अरू मानिसहरूले जेसुकै भनून्।' 

हामीमध्ये धेरैजना यो कृषकजस्तै चञ्चल छन्। तिनीहरू मानिसहरूका रायहरू सुन्छन् र यसकारण कि त तिनीहरूको मन माथि-तल, यता-उता हुत्तिन्छ, कि त तिनीहरू आफ्ना चिन्ताफिक्री र भावनाहरूका शिकार हुन्छन्। यसरी मुक्तिको निश्चयता पाइँदैन, किनकि हाम्रो हृदयले हामीलाई धोका दिन्छ। यसकारण बुझ्नुहोस्ः हाम्रो मन तब मात्र विश्राम पाउँछ, जब हामी परमेश्वरको वचनमाथि भरोसा राख्छौं; किनभने उहाँको वचन अचूक छ। तब हाम्रा डरहरू हट्छन् र हाम्रा फिक्रीहरू हराउँछन्। जुन कुरा परमेश्वरले भन्नुभएको छ, त्यो कुरा बिलकुल सत्य र पूरा विश्वास गर्न योग्य छ; अनि उहाँको वचनमाथि राखिएको भरोसामा हाम्रो निश्चयता निर्भर गर्छ। पवित्र बाइबलमा उहाँले आफ्ना विचारहरू प्रकट गर्नुभएको छ। के उहाँले अधर्मी र भक्तिहीन मानिसहरूको न्याय गर्नुहुन्छ र तिनीहरूलाई नरकको आगोको दण्ड दिनुहुन्छ? के उहाँले प्रभु येशूमाथि विश्वास गर्नेहरूलाई मुक्ति र अनन्त जीवन दिनुहुन्छ? परमेश्वरको वचनमा यो सब लेखिएको छ। अनि विश्वास गर्ने मानिसको निम्ति परमेश्वरको वचन अन्तिम अधिकार हो। गन्ती २३:१९ पदमा यसो लेखिएको छः ‘परमेश्वर मानिस हुनुहुन्न; यसैले उहाँ झूट बोल्नुहुन्न। उहाँ मानिसको सन्तान हुनुहुन्न, यसैले उहाँले पछुतो गर्नुपर्दैन। के उहाँले भन्नभएपछि यसो गर्नुहुन्न र? के उहाँ बोल्नुभएपछि त्यो पूरा गर्नुहुन्न र?” यसकारण हामीले परमेश्वरले भन्नुभएको कुरामाथि भरोसा गर्नुपर्छ; हाम्रो कर्तव्य यो हो र मुख्य कुरा यही हो। 

कस्तो किसिमको विश्वास ठीक किसिमको विश्वास होला त? जुन विश्वास प्रभु येशूमाथि राखिन्छ, त्यो विश्वास सठीक विश्वास ठहिरन्छ; किनभने उहाँ परमेश्वरको परमधन्य पुत्र र संसारको अनुग्रहकारी एकमात्र मुक्तिदाता हुनुहुन्छ। उहाँ हाम्रो भरोसाको योग्य हुनुहुन्छ। उहाँ हाम्रा पापहरूको निम्ति क्रूसमा मर्नुभएको हो। तपाईंको विश्वास रायाको दानाजत्ति सानो किन नहोस्, त्यो विश्वास प्रभु येशूमाथि राख्नुहोस्! उहाँ तपाईंको विश्वास कदर गर्नुहुन्छ र तपाईंलाई बचाउनुहुन्छ। पानीमा डुब्न लागेको मानिसले हतारसँग जीवन-रक्षकको डोरी समातेझैं प्रभु येशूलाई पक्रनुहोस्! प्रभु येशूतिर आफ्नो हात पसार्नुहोस् र उहाँलाई छुने आँट गर्नुहोस्! उहाँबाट बचाउने शक्ति निस्कन्छ। आफूमाथि विश्वास नगर्नुहोस्, आफ्ना धर्मकर्महरूमाथि भर नपर्नुहोस्! प्रभु येशू र उहाँको त्राणको काममाथि विश्वास गर्नुहोस्, पूरा भर पर्नुहोस्! तब तपाईंको अमूल्य आत्मा अनन्तसम्म बचाइन्छ; किनभने प्रभु येशूले भन्नभयोः 'साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्छ, उससँग अनन्त जीवन हुन्छ' (यूहन्ना ६:४७)। 

तपाईंको विश्वास ठूलो होला, तर तपाईंले विश्वास गर्नुभएको वस्तु वा विश्वास लगाउनुभएको व्यक्ति दुर्बल र बचाउन नसक्ने भयो भने, त्यस ठूलो विश्वासको के मतलब होला त? धर्मकर्महरूले बचाउँदैनन्। धर्मविधिहरूले बचाउँदैनन्। अन्य देवीदेवताहरूले बचाउँदैनन्। तपाईंको भक्तिले तपाईंलाई बचाउँदैन। संसारभरि मानिसहरूलाई आफ्ना पाप- हरूबाट बचाउन सक्ने केवल एकजना मुक्तिदाता हुनुहुन्छ, र उहाँको नाम येशू हो। उहाँको नाम पुकार्नुहोस्, र मुक्ति तपाईंको हुनेछ। किनभने मुक्ति तपाईंको काम होइन, तर परमेश्वरको निगाहको दान हो, जुन अनुग्रहको दान हामीले विश्वासद्वारा ग्रहण गर्नुपर्छ। 

प्रभु येशू हाम्रो विश्वासको योग्य हुनुहुन्छ। उहाँको विषयमा परमेश्वरले निम्न गवाही दिनुभयोः 'यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अत्यन्तै प्रसन्न छु' (मत्ती ३:१७)। उहाँले यहाँ हामीलाई के भन्न खोज्नुभयोः 'आफ्नो हृदयमाथि विश्वास नगर, तर सारा हृदयले प्रभु येशूमाथि विश्वास राख; उहाँ मेरो विश्वासको योग्य हुनुहुन्छ, तब झन् बढ्ता गरी तिम्रो विश्वासको योग्य किन हुनुहुन्न र?" 

हाम्रो हृदय कति छली छ। एउटी युवतीले मलाई यसो भनेकी मलाई याद छः ‘म साँच्चै प्रभु येशूमाथि विश्वास गर्छु, तर मैले मुक्ति पाएको कुरा निश्चयतासाथ भन्न सक्दिनँ।' यिनी गाईवस्तु किनबेच गर्ने व्यापारकी छोरी थिइन्। अनि मलाई थाहा थियो, कि त्यस दिनमा यिनका बुबाले दुईवटा गोरुहरू किनेछन्। यसकारण मैले यी युवतीसित निम्न तर्क गरे। 'मानौं तिम्रो बुबाले घरमा आएर “आज मैले दुईवटा राम्रा राम्रा गोरु किनें” भनेर भन्लान्, तर केही समयपछि कसैले तिमीलाई “आज तिम्रा बुबाले कति गोरु किन्नुभयो” भनेर सोध्लान्, र तिमीले “उहाँले दुईवटा गोरु किनें भनेर भन्नुभयो, तर उहाँले यसो गर्नुभयो कि गर्नुभएन, यो म निश्चित भन्न सक्दिनँ” भनेर भन्यौ भने यो के हो त? के यो उत्तर सरासर झूट ठहरिँदैनथियो र, अनि यस कुराले तिम्रा बुबालाई झूटा ठहराउँदैनथियो र? हो, यसरी तिमीले आफ्ना बुबालाई झूटा ठहराउनेथियौ।' अनि ठीक यस्तै यी युवतीको उक्त भनाइले जानी नजानी परमेश्वरलाई झूटा ठहराउँछ; किनभने परमेश्वरले भन्नुभयो कि प्रभु येशूमाथि विश्वास गर्ने हरेकसँग अनन्त जीवन छ; किनकि यसो लेखिएको छः 'जसले परमेश्वरलाई विश्वास गर्दैन, त्यसले उहाँलाई झूटा तुल्याएको छ; किनभने त्यसले परमेश्वरले आफ्नो पुत्रको विषयमा दिनुभएको गवाही विश्वास गर्दैन' (१ यूहन्ना ५:१०)। 

अरू मानिसहरू पनि छन्, जसले प्रश्न गर्छन्: 'मैले ठीक प्रकारले विश्वास गरेको कुरा कसरी जानिन्छ? मैले विश्वास गर्न खूब कोशिश त गरें, तर म आफूभित्र विश्वासका लक्षणहरू देखेको छैनँ। त्यो विश्वास हराएर कहाँ गयो होला त नि?' तिनीहरूलाई म निम्न उदाहरण दिन चाहन्छुः मानिलिऔं, तपाईं एक साँझमा घरमा आराम गर्दै बस्नुभएको छ। अनि त्यस बेलामा घरको ढोकामा ढकढकको आवाज सुनिन्छ। अनि तपाईं 'भित्र आउनुहोस्' भन्दै ढोका खोल्नुहुन्छ। अनि नभन्दै तपाईंको छिमेकी बैठक-कोठामा आएर बस्दै-नबस्दै तपाईंलाई एउटा ताजा खबर सुनाउँछः एउटा डरलाग्दो दुर्घटना घटेछ। एउटा तीब्रो गतिमा आइरहेको गाड़ीले फलाना मानिसलाई खिचेर मारेको र तत्कालै उसको मृत्यु भएको अरे। तब के, के तपाईंले त्यस मानिसले तपाईंलाई सुनाएको खबर पत्याउनुहुन्छ कि पत्याउनुहुन्न? तब आफ्नो मनभित्र तपाईं यसको निम्ति अवश्य कुनै लक्षण खोज्नुहुन्न, तर त्यो मानिस पत्यारलाग्दो हो भने, तपाईं सरासर त्यसको खबर सुन्नासाथ पत्याउनुहुन्छ, होइन र? अनि परमेश्वरको वचनसित हामीले यस्तै गर्नुपर्छ। मुक्तिको सुसमाचार सुन्नासाथ हामीले यो खबर विश्वास गर्नुपर्छ र आफ्नो मनमा ग्रहण गर्नुपर्छ। किन? किनभने यो सुसमाचार सुनाउने व्यक्ति परमेश्वर स्वयम् हुनुहुन्छ, जो झूट बोल्न सक्नुहुन्न। उहाँ पूरा विश्वासयोग्य हुनुहुन्छ। आफूभित्र विश्वास खोज्नुभन्दा प्रभु येशूमाथि हाम्रो भरोसा राख्नु उचित छ। किनकि उहाँ हामीलाई धोका दिनुहुन्न नै। उहाँ हाम्रो विश्वास पाउन योग्य हुनुहुन्छ। यसकारण हामी यी पदहरू फेरि एकपल्ट पढ्नुपर्छः 

'हामी मानिसहरूको गवाही ग्रहण गर्छौं भने, परमेश्वरको गवाही झन् ठूलो छ; किनकि परमेश्वरको गवाही यही हो, जुनचाहिँ उहाँले आफ्ना पुत्र येशूको विषयमा दिनुभएको छ। जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्छ, उसभित्र त्यो गवाही हुन्छ; जसले परमेश्वरलाई विश्वास गर्दैन, त्यसले उहाँलाई झूटा तुल्याएको छ; किनभने त्यसले परमेश्वरले आफ्ना पुत्रको विषयमा दिनुभएको गवाही विश्वासै गर्दैन। अनि गवाही यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको हो, अनि त्यो जीवन उहाँको पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ, उससँग जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न, उससँग त्यो जीवन छैन।' १ यूहन्ना ५:९-१२ 

धेरै मानिसहरूको निम्ति तिनीहरूको विश्वास तिनीहरूको चञ्चल मनका भावनाहरूमाथि स्थापित भएको अनिश्चित कुरा हुँदो रहेछ। यसकारण तिनीहरू स्वर्ग जाने विषयमा निश्चित हुनै सक्दैनन्; किनकि तिनीहरू आफैभित्र यसको निम्ति प्रमाणहरू पाउन खोज्दैछन्। तर योचाहिँ पवित्र बाइबलअनुसारको विश्वास ठहरिँदैन। किनभने साँचो विश्वास गर्ने मानिस आफूभित्र हेर्दैन, तर प्रभु येशूतिर हेर्छ, जसले क्रसमा त्यो मुक्तिको काम पूरा गर्नुभएको हो। विश्वास गर्ने मानिसले परमेश्वरको गवाही ग्रहण गर्छ। उहाँ सत्य हुनुहुन्छ; उहाँ संसारको ज्योति हुनुहुन्छ। अनि जसले आफूभित्र होइन, तर प्रभु येशूमाथि हेर्छ, उसले मनमा शान्ति पाउँछ। किनकि जसको अनुहार घामपट्टि फर्केको छ, उसले आफ्नो छाया देख्दैन, देख्नै सक्दैन। ख्रीष्ट येशूमाथि आफ्नो दृष्टि लगाउनुहोस्, र तपाईं मुक्तिको विषयमा निश्चित हुनुहुनेछ। 

प्रभु येशू र उहाँले पूरा गर्नुभएको त्राणको काममा हाम्रो अनन्त सुरक्षा निर्भर गर्छ। अनि परमेश्वरको वचनले हामीलाई यसको सुदृढ़ आश्वासन र अचूक निश्चयता दिन्छ। यसकारण वुझ्नुहोस्ः प्रभु येशू संसारको एकमात्र मुक्तिदाता हुनुहुन्छ। अनि सुसमाचारको वचनले हामीलाई मुक्तिको बाटोको सत्यको ज्ञान दिन्छ। 

मुक्तिको निश्चयता पाएको मानिस हर्षिक हुनुपर्छ, असीमित आनन्दले रमाउनुपर्छ, होइन र? तर कतिजना विश्वास गरेको केही समयपछि मुक्तिको आनन्द गुमाउँछन्। किन होला? हामीले मुक्तिको आनन्दको विषयमा निम्न कुरा बुझ्नुपर्छ र सिक्नुपर्छ। 

ग) हामीले मुक्तिको निश्चयताबाट आनन्द लिन सक्नुपर्छ। 

विश्वासद्वारा प्रभु येशूलाई ग्रहण गर्ने हरेक मानिसले पापको क्षमा र वरदानको रूपमा पवित्र आत्मा पाउँछ; त्यस बेलादेखि पवित्र आत्मा उसभित्र वास गर्नुहुन्छ। अनि जसले आत्माको भरमा हिँड्न सिक्छ, उसले आनन्द र शान्तिको स्थाही अनुभव गर्छ। पवित्र बाइबलको शिक्षा यही हो। 

तर बाइबलको अर्को शिक्षा पनि छ; त्यो हामीले भुल्नुहुँदैन। हामी आदमका सन्तान भएका हुनाले हामीभित्र पापी स्वभाव पनि वास गर्छ। पवित्र आत्माले हामीलाई पापी स्वभावको सामना गर्न साथ दिनुहुन्छ, तर हामीले हाम्रो सोचविचारमा, हाम्रो बोलीवचनमा र हाम्रो काम र व्यवहारमा हाम्रो पापी स्वभावलाई ठाउँ दियौं भने हामी पवित्र आत्मालाई दुःखित पार्छौं। आत्माको भरमा हिँड्ने मानिसको जीवनमा मात्र पवित्र आत्माले आत्माको फल उत्पन्न गर्न सक्नुहुन्छ, जस्तै प्रेम, आनन्द, शान्ति आदि (गलाती ५:२२)। तर जो संसारको चलनअनुसार र आफ्नो पापी स्वभावअनुसार चल्छ, उसको चालद्वारा पवित्र आत्मा दु:खित हुनुहुन्छ र उसको जीवनमा आत्माको फल देखा पर्दैन। 

हाम्रो मुक्ति पूरापूर प्रभु येशूमाथि र उहाँको त्राणको काममाथि निर्भर गर्छ। तर हामीले उपभोग गर्ने हाम्रो आत्मिक आनन्दचाहिँ हाम्रो आत्मिक चालमाथि निर्भर गर्छ। परमेश्वरलाई धन्यवाद होस्, किनकि हाम्रो मुक्ति ख्रीष्ट येशूमा सुरक्षित र सुनिश्चित रहन्छ; किनभने उहाँ अनन्त-अनन्तसम्म जीवित रहिरहनुहुनेछ। तर हाम्रो आत्मिक चाल स्थिर छैन भने हाम्रो आत्मिक आनन्द हराउन सक्छ। शुरुका इसाईहरूको विषयमा यसो लेखिएको छः तिनीहरू प्रभुको डरमा र पवित्र आत्माको सान्त्वनामा हिँड़े (प्रेरित ९:३१)। अनि प्रेरित १३:५२ पदमा हामी यसरी पढ्छौंः ‘अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरिए।' यसकारण बुझ्नुहोस्: हाम्रो आत्मिक आनन्द हाम्रो आत्मिक चालमाथि निर्भर गर्छ। अनि यहाँ धेरैजनाले गड़बड़ गर्छन्। मुक्तिको निश्चयता र मुक्तिको आनन्द दुईवटा कुरा हुन्, भिन्न-भिन्नै कुरा हुन्। जसले आफ्ना कुइच्छाहरू पूरा गर्छ, जो रिसाउँछ वा सांसारिक हुन्छ, त्यसले पवित्र आत्मालाई दुःखित पार्छ र आफ्नो आनन्द हराउँछ, तर आफ्नो मुक्ति हराउँदैन। किनभने ... 

क) हाम्रो मुक्ति ख्रीष्ट येशू र उहाँको त्राणको काममाथि निर्भर गर्छ। उहाँले हाम्रो निम्ति मुक्तिको काम पूरा गरिसक्नुभयो। 

ख) हाम्रो मुक्तिको निश्चयता परमेश्वरको वचनको आश्वासनमाथि निभर गर्छ; उहाँले हामीलाई पवित्र बाइबलमा मुक्ति र अनन्त जीवन दिन्छु भन्ने प्रतिज्ञा गर्नुभएको छ। 

ग) तर हामीभित्र वास गर्नुभएको पवित्र आत्मामाथि हाम्रो मुक्तिको आनन्द निर्भर गर्छ। हामीले उहाँलाई दुःखित पारेका छौं कि छैनौं, हाम्रो आनन्द यसैमाथि निर्भर गर्छ। 

परमेश्वरका छोराछोरीहरूले अनाज्ञाकारी भएर पवित्र आत्मालाई दु:खित पारे भने त्यस कुराले परमेश्वरसित उनीहरूको सङ्गति नराम्रो असर गर्छ। तर जब उनीहरूले आफ्नो पाप स्वीकार गर्छन्, तब त्यो सङ्गति फेरि स्थापित हुन्छ र उनीहरूले फेरि आत्मिक आनन्द उपभोग गर्न पाउँछन्। 

म यहाँ यसको निम्ति बुबा-छोराको उदाहरण दिन्छु। केही क्षणअघि बुबा-छोरा आपसमा मीठो कुराकानी गर्दै, हाँस्दै र आनन्द गर्दै एकसाथ बारीमा डुल्दैथिए। तर अहिले छोराको टाउको निहुरिएको र उसको मनमा अँध्यारो छाया आएको देखिन्छ; किनकि उसले एउटा काम बिगारयो; किनभने ऊ अनाज्ञाकारी भयो। उसले आफ्ना बुबाको आज्ञा उल्लङ्घन गश्यो। यसैले उसले आफ्नो बुबाको नजिक जान चाहँदैनथियो। ऊ दु:खित थियो; अनि आफ्ना बुबासित उसको सङ्गत बिग्रिएको थियो। यही कारणले उसको मनबाट त्यो आनन्द हरायो। अनि जबसम्म उसले आफ्नो गल्ती मानिलिँदैनथियो, तबसम्म उसले शान्ति र आनन्द पाउँदैनथियो, आफ्नो बुबासितको सङ्गति फेरि स्थापित हुँदैनथियो। तर के, के ऊ कहीं, कतै एकैक्षणको निम्ति छोरा हुन छोडेको थियो? होइन नि! किनभने छोराछोरी हुने हक व्यवहारको फल होइन, तर जन्मसिद्धि अधिकार हो; तर बुबासितको सङ्गतिचाहिँ छोराको व्यवहारमाथि निर्भर गर्छ। अनि जब परमेश्वरको छोराछोरीले आफ्नो गल्ती मानिलिन्छ, तब परमेश्वर पितासित उसको सङ्गत पुनर्स्थापित हुन्छ। उसको सङ्गत टुटेको थियो, तर उसको छोराछोरीको नाता कहिल्यै टुटेको थिएन, कहिल्यै टुट्दैन। 

राजा दाऊदले ऊरियाहकी पत्नीको सम्बन्धमा घोर पाप गरे। पश्चात्ताप गरेको बेलामा उनले के प्रार्थना गरे? 'तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्!' (भजन ५१ः१२ )। उनले 'मलाई फेरि पनि मुक्ति दिनुहोस्' भनेर प्रार्थना गरेनन्। 

अब बुबाछोराको उदाहरणको दोस्रो भाग सुन्नुहोस्! मानौं, छोरा अँध्यारो मुख गरेर आफ्नो कोठामा एकलै बसिरहेको बेलामा यस घरमा आगलागी भयो। उसको हालत के हुनेथियो? के उसका बुबाले उसलाई आगोद्वारा भस्म लागिरहेको त्यस घरभित्र छोडिराख्नेथिए? अवश्य होइन नि! मलाई के लाग्छ भने, उसका बुबाले उसलाई सबैभन्दा पहिलो बचाउनेथिए। किनकि यो प्रेमको सवाल हो। तर सङ्गतबाट उपभोग गरिएको आनन्द अर्को कुरा हो। 

एकजना ख्रीष्ट-विश्वासीले पाप गरयो भने परमेश्वर पितासित उसको सङ्गति टुट्छ, र उसको आनन्द हराउँछ। तर जब टुटेको हृदय लिएर ऊ परमेश्वर पिताकहाँ फर्कन्छ र आफ्नो पाप मानिलिन्छ, तब उसले पापको क्षमा पाउँछ, परमेश्वरको वचनको निम्न पद र प्रतिज्ञाअनुसार, ‘हामीले आफ्ना पापहरू स्वीकार गरयौं भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सब अधर्मबाट शुद्ध पार्न उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।' १ यूहन्ना १:९ 

प्रिय भाइबहिनीहो, परमेश्वरको सन्तान भएको नाताले तपाईंले दुईवटा कुराहरू सधैँ याद गर्नुपर्छः परमेश्वरसित तपाईंको छोराछोरीको नाता अटुट छ; त्योजस्तै बलियो, सुदृढ़ अरू कुनै कुरा छैन। तर परमेश्वरसित हाम्रो सङ्गति अति कोमल कुरा हो; त्योजस्तै नरम, कलिलो अरू कुनै कुरा छैन। यस संसारमा कुनै यस्तो शक्ति र तत्त्व छैन, जसले परमेश्वर पिता र उहाँसित हाम्रो छोराछोरीको नाताको सम्बन्ध टुटाउन सक्छ। तपाईं सधैं परमेश्वरको छोरा, सदैव उहाँकी छोरा रहिरहनुहुन्छ। तर हामीले सोचेको हाम्रो एउटै अशुद्ध विचार र हाम्रो मनको अपवित्र एउटै भावनाले अथवा हामीले बोलेको एउटै व्यर्थ शब्दले परमेश्वरको सङ्गतिमाथि एउटा कालो छाया पार्न र यो मीठो सङ्गति बिगार्न सक्छ। 

के तपाईंले परमेश्वरको सङ्गतिबाट आफ्नो आनन्द गुमाउनुभयो? तब समय निकाल्नुहोस्, आफूलाई जाँच्नुहोस् र यसको कारण पत्ता लगाउनुहोस्! आफूलाई परमेश्वरको सामु नम्र तुल्याउनुहोस्, आफूलाई जाँच्न दिनुहोस् र आफ्नो पाप स्वीकार गर्नुहोस्! आफ्नो चाल जाँच्नुहोस् र तपाईंको आत्मिक आनन्दको चोर तत्कालै पक्रनुहोस्! यस कुरामा आफूसित कड़ा व्यवहार गर्नुहोस्, र एउटा अपराधीसित गरेझैं आफूसँग अलिकति पनि दयामाया नगर्नुहोस्! किनभने तपाईं परमेश्वरसितको सङ्गतिको विषयमा होशियार रहनुभएन, तर तपाईंले लापरबाही गर्नुभएको रहेछ। यसो भए पनि हामीले मुक्तिको निश्चयता मुक्तिको आनन्दसित गड़बड़ गर्नुहुँदैन। 

तर परमेश्वरको न्यायको विषयमा आफूलाई धोका नदिनुहोस्! किनभने उहाँ ख्रीष्ट-विश्वासीले गरेको पाप ख्रीष्ट येशूमाथि विश्वास नगर्ने मानिसको पापसित झैं कड़ा व्यवहार गर्नुपर्छ। उहाँले पापको न्याय गर्नुपर्छ र पापलाई त्यसको उचित दण्ड दिनुपर्छ। तर उहाँले न्यायमा पापसित दुई प्रकारले व्यवहार गर्नुहुन्छ, अनि भिन्नता यसैमा छः ख्रीष्ट-विश्वासीले गरेका सबै पापहरू परमेश्वरले लिनुभयो र आफ्ना एकमात्र प्रिय पुत्र येशूमाथि लदाउनुभयो। गलगथामा उहाँले क्रसमा हाम्रा सबै पापहरूको निम्ति परमेश्वरबाट दण्ड भोग्नुभयो। उहाँ हाम्रा पापहरू उठाइलैजाने परमेश्वरको थुमा हुनुहुन्थ्यो। यसकारण परमेश्वरले हामीलाई कहिल्यै अपराधी ठान्नुहुन्न; हाम्रा पापहरूको दोष हामीबाट सधैंको निम्ति हटेको छ। हाम्रो पापको ऋण पूरा चुक्ता भएको हो। किनभने न्यायको दण्ड हाम्रो स्थान लिनुहुने परमधन्य मुक्तिदातामाथि पस्यो। उहाँको विषयमा यसो लेखिएको छः ‘उहाँले आफ्नो शरीरमा हाम्रा पापहरू काठको क्रसमाथि बोक्नुभयो' (१ पत्रुस २:२४)। तर ख्रीष्ट येशूलाई सरासर इन्कार गर्नेहरू सबैले आफ्ना पापहरूको दण्ड आफैले भोग्नुपर्छ। नरकको कहिल्यै ननिभ्ने आगो तिनीहरूको निम्ति तयार छ। यसकारण जब एकजना ख्रीष्ट- विश्वासीले पाप गर्छ, तब उसको त्यो अपराध न्यायको जाँचको सवाल होइन, तर केवल परमेश्वरसितको सङ्गतिको विषय भएको छ। न्यायको सवाल क्रसमाथि समाप्त गरियो, तर पाप गरेपछि पवित्र आत्माले हाम्रो विवेकमा सधैं सङ्गतिको सवाल उठाउनुहुन्छ, किनभने हामीले हरेक पापसित पवित्र आत्मालाई दुःखित पाछौं। 

अन्तमा मलाई अर्को उदाहरण पेश गर्न दिनुहोस्! एउटा पूर्णिमाको रात थियो, र चन्द्रमाले आफ्नो चाँदीको उज्ज्वल, सुन्दर रोशनी दिँदैथियो। अनि एकजना मानिसले एउटा निक्कै गहिरो इनारमा तल त्यो जूनको प्रतिबिम्ब देख्दै आफ्नो साथीलाई भन्योः 'ओहो, आज राति जून कति सुन्दर हुँदो रहेछ!' तर नभन्दै उसको साथीले यस इनारमा एउटा सानो ढुङ्गा फ्याँक्यो र भन्योः 'ओहो, यस जूनको सुन्दर रूप कति छिटो बिग्रियो! हेर, त्यो कति चञ्चल रहेछ, त्यो पूरा हल्लिरहेको छ!' तर पहिलो मानिसले आफ्नो आपत्ति जानायोः 'हत्, मसित यस्तो मूर्ख कुरा नगर! आकाशमाथि आफ्ना आँखा उठाएर हेर! चन्द्रमाको रूपमा कुनै हेरफेर आएको छैन नि! इनारको पानी पो हल्लिएको छ।' 

प्रिय विश्वासी भाइबहिनीहो, यस साधारण उदाहरणबाट आफ्नो पाठ सिक्नुहोस्! तपाईंको हृदय त्यो इनारजस्तै छ। हाम्रो हृदयमा कुनै खराबीले ठाउँ पाएको छैन भने परमधन्य परमेश्वरको आत्माले हामीलाई ख्रीष्ट येशूको निगाह, उहाँको अपार प्रेम र उहाँका सद्गुणहरूको रोशनी दिँदै हुनुहुन्छ र हामीकहाँ यिनको अपार मूल्य प्रकट गर्दै हुनुहुन्छ; अनि त्यो हाम्रो आनन्द र सान्त्वनाको कारण हो। तर जुन क्षणमा हाम्रो हृदयमा कुनै अशुद्ध, अपवित्र भावना उठ्छ, अथवा हाम्रा ओठहरूले बेहोशी भई कुनै अनुचित शब्द बोल्छन्, तब पवित्र आत्माले हाम्रो इनाररूपी हृदय खलबलाउन थाल्नुहुन्छ, र हाम्रो हृदयमाथि एउटा अँध्यारो छाया पर्छ। अनि हाम्रो हृदयको आनन्द, हाम्रो मनको शान्ति चक्नाचुर हुन्छ। अनि जबसम्म परमेश्वरको सामु हाम्रो मन टुट्दैन र हामी आफ्नो मनको शान्ति हरण गर्ने आफ्नो पाप मानिलिँदैनौं, तबसम्म हामी मनमनैमा खिन्न, विचलित र व्याकुल हुन्छौं। अरू कुनै उपायले होइन, तर केवल हाम्रो पाप मानिलिएर नै परमेश्वर पितासित हाम्रो सङ्गति पुनर्स्थापित हुन्छ र फेरि हाम्रो हृदयमा शान्ति र आनन्द फर्केर आउँछ। 

तब मेरो तर्कको सार सुन्नुहोस्ः के यस प्रकारले खलबलिएको हाम्रो हृदयको अवस्थाले ख्रीष्ट येशूको त्राणको काम असर पार्न सक्छ? अहँ, यसले त्यो महान् मुक्तिको कार्य कुनै नराम्रो असर पार्न सक्दैन। यसो हो भने, हाम्रो मुक्ति सुरक्षित रहन्छ। के हाम्रो उक्त अवस्थाले परमेश्वरको वचनको प्रतिज्ञा अदलबदल गर्न सक्छ? अदलबदल गर्न सक्दैन भने परमेश्वरको वचनको प्रतिज्ञाअनुसार तपाईंको मुक्ति सुनिश्चित छ। तब यस खलबलिएको अवस्थामा कुन कुरा बदली हुन्छ त? हामीभित्र पवित्र आत्माले आफ्नो काम गर्ने तरिका बदली गर्नुहुन्छ। उहाँले हामीकहाँ ख्रीष्ट येशूको महिमाको शोभा प्रकट गरेर हाम्रो हृदय उहाँको योग्यताको ज्ञानले भर्नु र उज्ज्वल पार्नको सट्टामा हामीसित अर्को किसिमले व्यवहार गर्नुपर्छ। 

किनकि हाम्रो पापले गर्दा उहाँ हामीसित दुःखित हुनुहुन्छ। यसकारण उहाँले हामीलाई हाम्रो पापको विषयमा कायल पार्नुपर्छ र हामीलाई हाम्रो अयोग्यता देखाउनुपर्छ। अनि जबसम्म हामी उहाँको सामना गरेर आफ्नो हृदय कठोर पार्छौं र विनम्र भई आफ्नो पाप मानिलिँदैनौं, तबसम्म उहाँ हामीबाट हाम्रो हृदयको आनन्द र शान्ति हटाउनुहुन्छ। तर हामीले आफ्नो पाप मानिलिएपछि हाम्रो परमेश्वरसितको सङ्गति फेरि पुनर्स्थापित हुन्छ। यसकारण प्रभु येशूले हामीलाई अनुग्रह दिऊन्, र हामी आफ्नो विषयमा एकदम होशियार र पूरा सचेत बसौं! हामीले परमेश्वरको पवित्र आत्मालाई कुनै हालतमा पनि शोकित पार्नुहुँदैन, जुन पवित्र आत्माको छापले हामीलाई छुटकाराको दिनको निम्ति र त्यस दिनसम्म छाप लगाएको छ (एफेसी ४:३०)। 

हाम्रो विश्वास कमजोर होला, यसमा हेरफेर होला, तर हामी सधैं याद गरौंः जुन प्रभु येशूमाथि हामीले आफ्नो भरोसा राखेका छौं, उही हाम्रा विश्वासयोग्य प्रभु येशू कहिल्यै बदली हुनुहुन्न। किनभने 'हिजो, आज र सधैंभरि येशू ख्रीष्ट एकसमान हुनुहुन्छ' (हिब्रू १३:८)। अनि उहाँले पूरा गर्नुभएको उहाँको त्राणको काममा पनि कुनै परिवर्तन आउँदैन। किनभने यसो लेखिएको छः ‘म जान्दछु, परमेश्वरले जे गर्नुहुन्छ, त्योचाहिँ सदा- सर्वदाको निम्ति गरिन्छ। त्यसमा कुनै कुरा थप्न सकिँदैन, न ता त्यसबाट कुनै कुरा घटाउन सकिन्छ' (उपदेशक ३:१४)। अनि उहाँले हामीसित बोल्नुभएको वचनको प्रतिज्ञा बदली हुनेछैन नै। यसकारण हाम्रो विश्वासको सुयोग्य व्यक्ति कहिल्यै बदली हुनुहुनेछैन, अनि हाम्रो आत्माको सुरक्षाको सुदृढ़ जग र हाम्रो मुक्तिको निश्चयताको अटल आधार अनन्तसम्म बदली हुँदैनन्। 

मैले शुरुमा भनिहालेंः हामी सबैजना परलोकतिर यात्रा गरिरहेका हुन्छौं। अनि मलाई आशा छ, कि यस पुस्तकमा पेश गरिएका तीनवटा श्रेणीहरूमध्ये तपाईं मुक्तिको निश्चयता र मुक्तिको आनन्द उपभोग गरिने उच्च श्रेणीमा यात्रा गर्दै हुनुहुन्छ होला। प्रभु येशूले तपाईंलाई यसको निम्ति अनुग्रह दिएका होऊन्! 

यस पृष्‍ठलाई सेयर गर्नुहोस्‌

तपाईंको प्रोत्साहन हाम्रो लागि बहुमूल्य छ

तपाईंको कथाहरूले वेबसाइटहरूलाई यो सम्भव बनाउन मदत गर्दछ।