मेर्री ख्रीष्‍टमस !

आज पच्‍चीस डिसेम्बरको दिन हो; आजै सारा संसारमा प्रभु येशूको जन्मोत्‍सव मनाइन्छ। आजै इसाईहरूको बड़ादिन हो। आज यस खुशीयालीमा सबै मानिसहरूले 'मेरी ख्रीष्टमस्!', 'मेर्री ख्रीष्टमस्!' भन्दै एक-अर्कालाई अभिवादन गर्दछन्। आज सबैजना साह्रै खुशी हुँदछन्; सबैले खूबै आनन्द मनाउँदछन्; किनकि आज संसारका मुक्तिदाताको जन्म भएको हो। 

यस घटनाको विषयमा हामी पवित्र शास्त्र बाइबलमा निम्न चाखलाग्दो वर्णन पाउँछौं: 

'अनि त्यही इलाकामा केही गोठालाहरूले राति आफ्नो बगालको हेरचाह गर्दै गरेका र खुला मैदानमा बसिरहेका बेलामा हेर, परमप्रभुका एक दूत तिनीहरूकहाँ आए, र परमप्रभुको तेज तिनीहरूको वरिपरि चम्क्यो; तिनीहरू साह्रै डराए। तब ती स्वर्गदूतले तिनीहरूलाई भनेः “नडराओ! किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको शुभ समाचार सुनाउँदछु, जो सबै मानिसहरूका निम्ति हो। किनकि आज तिमीहरूका निम्ति दाऊदको शहरमा एकजना मुक्तिदाता जन्मनुभएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। अनि तिमीहरूका निम्ति चिन्ह यही हुनेछः तिमीहरूले लपेट्ने लुगामा बेरिएका बालकलाई एउटा डुड़मा सुतिरहेका भेट्टाउनेछौ।” अनि एक्कासि ती स्वर्गदूतको साथमा परमेश्वरको प्रशंसा गर्दै गरेको स्वर्गीय सेनाको भीड़ देखा पर्‍यो, जसले यसो भन्योः “परमधाममा परमेश्वरको महिमा र पृथ्वीमा शान्ति! मानिसहरूप्रति शुभेच्छा!" " 

हामी स्वर्गबाटको यस दिव्य वाणीमा एकक्षण ध्यान दिऔं! सबै मानिसहरूका निम्ति हुने, तिनीहरूलाई आनन्द दिने समाचार के थियो? बेतलेहेम राजा दाऊदको त्यस शहरमा संसारका एकमात्र मुक्तिदाताको जन्म भएको रहेछ। प्रभु येशूको जन्ममा परमेश्वरको महिमा भएको छ भने प्रभु येशूको जन्ममा हामी मानिसहरूप्रति परमेश्वरको शुभेच्छा पनि प्रकट भएको छ। अबदेखि उसो प्रभु येशूको नाममा पृथ्वीको जुनसुकै ठाउँका सबै जातिका मानिसहरूलाई स्वर्गका परमेश्वरसित मेलमिलाप राख्ने सुअवसर दिइएको छ। यस पृथ्वीभरि सबैलाई शान्ति!! आज तपाईंप्रति परमेश्वरको शुभकामना यस प्रकारको छ। यस शुभ अवसरमा तपाईंलाई हाम्रो विनम्र अनुरोध छः आजै प्रभु येशूको नाममा परमेश्वरको शान्ति ग्रहण गर्नुहोस्! 

बेतलेहेम गाउँमा त्यस गाईको गोठमा, एउटा डुड़मा सुतिरहेका ती बालकसित के भयो त? उहाँ सधैं त्यही नवबालक रहनुभएन, उहाँ कदमा बढ्नुभयो; उहाँ पूरा बढ़ेका पुरुष हुनुभयो। तीस वर्षको उमेरमा परमेश्वरको अभिषेक पाएर उहाँले आफ्नो सेवा शुरु गर्नुभयो। तीन वर्षसम्म उहाँले इस्राएल देशका विभिन्न गाउँठाँउहरूमा सुकर्महरू गर्दै र धेरै बिरामी मानिसहरूलाई निको पार्दै परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नुभयो। अन्तमा आफ्नो जातिका धर्मनेताहरूले उहाँलाई डाहा गरे, उहाँलाई मार्ने मतो गरे र निर्दोष प्रभु येशूलाई रोमी सरकारको हातमा सुम्पिदिए। यसरी नै उहाँले दुष्ट मानिसहरूको हातबाट क्रसको क्रूर मृत्यु सहनुपर्‍यो। त्यसपछि उहाँको मृत शरीरलाई एउटा चिहानमा गाड़ियो; तर तीन दिनभित्र प्रभु येशू यस चिहानबाट बौरेर उठ्नुभयो। परमेश्वरको प्रतापी शक्तिले उहाँ फेरि जीवित हुनुभयो। त्यसपछि चालीस दिनसम्म उहाँ घरिघरि आफ्ना चेलाहरूकहाँ देखा पर्नुभयो, र तिनीहरूलाई आफू फेरि जीवित हुनुभएको अनेक अचूक प्रमाणहरू दिनुभयो; त्यसपछि उहाँ तिनीहरूका आँखाको सामु स्वर्ग चढ़िजानुभयो र अहिले उहाँ परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। अब येशूचाहिँ पूरा अधिकारसित परमेश्वरको सिंहासनमाथि बस्नुहुने ख्रीष्ट प्रभु हुनुहुन्छ। उहाँको नाममा सारा संसारका मानिसहरूलाई पापहरूको क्षमाको प्रचार गरिएको छ। के तपाईंले आफ्ना पापहरूको क्षमा पाइसक्नुभएको छ? यस ख्रीष्टमस्को उपलक्ष्यमा स्वर्गका परमेश्वरसित मेलमिलाप राख्नुहोस्! येशूको नाममा मुक्ति, अँ, हामीले गरेका सबै पापहरूको क्षमा छ; येशूको नाममा तपाईंलाई स्वर्गीय शान्ति छ! 

तर मलाई के लाग्छ भने, कतिपय मानिसहरूले आजको दिनसम्म ख्रीष्टमस्‌को खास अर्थ बुझ्न सकेका छैनन्, कि के हो? तिनीहरूले पवित्र परमेश्वरसित मेलमिलाप राख्न पाएकोमा र येशूको नाममा सित्तैंमा आफ्ना पापहरूको क्षमा पाएकोमा तिनीहरूकै आनन्द मनाउने एकमात्र कारण पाएका होइनन्, तर येशूको जन्मदिनमा आफ्ना पापहरूमाथि अझ बढ़ी पापहरू थप्ने अवसर पो पाएका छन्। आफ्ना पापबाट मुक्ति पाउने कुरा परै जाओस्! हाय! ख्रीष्टमस्, त्यो पवित्र ऐतिहासिक क्षण त भक्तिहीन मानिसहरूका निम्ति येशूको नाममा मोजमज्जा गर्ने चाड र रक्सी धोक्ने रमाइलो अवसर बनेछ!! येशूको नाममा खानु र पिउनु, यो कुरा कहाँबाट आयो, जब प्रभु येशूका प्रेरित पावलले परमेश्वरको वचनमा भन्दछन्ः परमेश्वरको राज्यचाहिँ खानु र पिउनु होइन, तर धार्मिकता, शान्ति र आनन्द हो, पवित्र आत्मामा? तब त्यस पवित्र ऐतिहासिक घटनालाई के भएको हो? विचरा, त्यो त इसाई धर्मका खोक्रा रीतिहरूले पूर्ण दस्तुर, अँ, एक सांसारिक पर्व पो भएछ। 

बड़ादिन हुनुभन्दा केही हप्ताअगाडिबाट नै पूर्वदेखि लिएर पश्चिमसम्मका सबै इसाईहरू ख्रीष्टमस्को तयारीमा व्यस्त हुन थाल्छन्। तिनीहरूले आ-आफ्नो घरमा नयाँ रङ लगाउँछन्। तिनीहरूले पालिरहेका मोटा-मोटा सुँगुर काट्नलाई तयार भएका छन्। बजारभरि दोकानहरूहुँदो 'जिङ्ल बेल, जिङ्ल बेल' गाउँदै गरेको क्रिस्मस् क्यारलका रमाइला-रमाइला धुनहरू गुञ्जायमान् हुँदछन्, र ख्रीष्टमस्का निम्ति चाहिने सबै झिलिमिली सामानहरू सजाइएका हुन्छन्, जस्तै क्रिस्मस् ट्री, ठूलासाना ताराहरू र झिलिक- झिलिक चम्किने बत्तीहरू आदि। किनकि ख्रीष्टमस मनाउनलाई यी सबै चीजहरू चाहिन्छ, नत्र ख्रीष्टमस् खल्लो हुन्छ अरे। अनि परिवार-परिवारको हरेकलाई, विशेष हाम्रा नानीहरूलाई नयाँ कपड़ा, कि त अरू कुनै न कुनै उपहार चाहिएको छ

ख्रीष्टमस्को समयमा कैयाँहरू खूब रमाउँदछन्; किनभने यस अवधिभरि तिनीहरूको व्यापार राम्रो हुन्छ। अहो, ख्रीष्टमस् कति व्यस्त रहने समय भएको हो रहेछ! आम्मै, ख्रीष्टमस्मा कत्तिको पैसा चाहिएको छ!! अनि यो सब किन गरिन्छ? 

कसैलाई थाहा छैन; अनि कसैले जान्न पनि चाहँदैन; किनभने ख्रीष्टमस् एउटा रमाइलो गर्ने समय हुनुपर्छ; ख्रीष्टमस्मा जसो भए पनि आनन्द मनाउनैपर्छ। ख्रीष्टमस्मा टन्नै मासु नै मासु खानुपर्छ, र भरसक मोज गर्नुपर्छ, येशूकै नाममा!! मेर्री ख्रीष्टमस्‌को अर्थ यही हुनुपर्छ, कि कसो? 

येशूको जन्मको रूपमा मानिने त्यस ख्रीष्टमस्‌को पवित्र क्षणलाई के भयो? त्यो त एक शताब्दीदेखि अर्को शताब्दीमा विस्तारै-विस्तारै पापी मानिसहरूको हातमा पर्न गयो; अनि अब तिनीहरूले येशूकै पवित्र नाममा मोज गर्दछन् र उहाँलाई संसारको अघि हाँसोको पात्र तुल्याउँदछन्। तब मेरो मनमा यो प्रश्न उठ्छः उहाँले हाम्रो यो दुष्ट व्यवहार कहिलेसम्म सहनुहुन्छ होला? किनभने हामीले येशू प्रभुबाट पाउने आत्मिक आनन्दको सट्टामा यस संसारका भौतिक थोकहरूबाट आनन्द लिइरहेका छौं, अनि येशूको जन्म सम्झना गरिरहेको बेलामा उहाँको स्वर्गीय उपहारको विषयमा खेलाँची गरेका छौं। हामीले उहाँलाई हाम्रो सम्पूर्ण जीवन समर्पण गर्नुको सट्टामा हामीले एक-अर्कालाई चाहिने नचाहिने उपहारहरू दिन्छौं, जसको विषयमा हामीले कुनै ईश्वरीय आज्ञा पाएकै छैनौं। 

प्रभु येशूको जन्ममा सृष्टिकर्ता परमेश्वर मानिस हुनुभयो। उहाँ जन्मनुहुँदा सबै पापी मानिसहरूलाई अमूल्य मुक्तिको दान दिन सक्ने सक्षम र सुयोग्य मुक्तिदाता यस संसारमा आउनुभयो; किनभने हाम्रो त्राणको काम उहाँले क्रूसमा आफू हाम्रा निम्ति पापबलि भएर पूरा गर्नुभयो। हामी मानिसहरूप्रति परमेश्वरको शुभेच्छा उहाँ नै हुनुहुन्छ। परमेश्वरको शान्ति येशू नै हुनुहुन्छ। तब उहाँलाई प्रभु र मुक्तिदाताको रूपमा ग्रहण नगर्ने मानिसले कसरी योग्य प्रकारले ख्रीष्टमस् मनाउन सक्छ र? झन् आफ्ना पापहरूमा जिउन चाहने मानिसहरूले ख्रीष्टको जन्मको सम्झनामा के रमाइलो देख्न सक्छन्, सो बुझ्न गाह्रो पर्छ। होइन, हामी भोज र मोजको कुरा छोड़ौं! आउनुहोस्, हामी आज नै आफ्ना पापहरूबाट एकमात्र सत्य, जीवित परमेश्वरकहाँ फर्कों, र येशूको नाम पुकारेर पवित्र परमेश्वरसित मेलमिलाप राखौं! उहाँको शुभेच्छामा लात हानौं! तर आफ्नो जीवन उहाँका हातहरूमा सुम्पौं; किनकि हामीलाई हाम्रा पापहरू बचाउन सक्ने एकमात्र मुक्तिदाता येशू ख्रीष्ट हुनुहुन्छ। 

अन्तमा तीतस ३:३-५ पदको खण्डमा परमेश्वरको वचन पवित्र बाइबलका यी अर्थपूर्ण शब्दहरू ध्यानसित पढ्नुहोस्, र आफ्ना निम्ति ग्रहण गर्नुहोस्ः 

'एक समय हामी आफै पनि मूर्ख, अनाज्ञाकारी र भ्रममा परेका मानिस थियौं; हामी किसिम- किसिमका अभिलाषाहरू र सुखविलासहरूका दास थियौं, हामी द्वेष र डाहामा जीवन बिताउँथ्यौं; हामी घृणित मानिसहरू थियौं, हामीले एक-अर्कालाई घृणा गर्दथियौं; तर जब हाम्रा मुक्तिदाता परमेश्वरको दया र हामी मानिसहरूप्रति उहाँको प्रेम प्रकट भयो, तब हामीले आफैले गरेका धर्मका कामहरूले होइन, तर उहाँकै कृपाअनुसार उहाँले हामीलाई मुक्ति दिनुभयो।' 

हो, येशूमा हामीजस्ता मूर्ख, अनाज्ञाकारी, भ्रममा परेका मानिसहरूका निम्ति परमेश्वरको दया प्रकट भएको छ। हामी किसिम-किसिमका अभिलाषाहरूको वशमा जिउने मानिसहरूप्रति परमेश्वरको सहनशीलता ठूलो र उहाँको प्रेम अपार छ। उहाँको प्रेमका योग्य बन्नलाई हामीले धर्मका कामहरू गर्नुपर्दैन; हामीले येशूलाई पो ग्रहण गर्नुपर्दछ। परमेश्वरको स्वर्गीय उपहार हामीले धन्यवादसाथ लिनुपर्छ र आफ्नै तुल्याउनुपर्छ। बस् यति नै काफी छ। तब हामीले येशूमा सधैं आनन्द मनाउन पाउनेछौं। 

ख्रीष्ट येशूमा सबै मानिसहरूकहाँ परमेश्वरको निगाह प्रकट भएकै हो ; उहाँको निगाहले हामीलाई सित्तैंमा मुक्ति दिलाउँदछ; अनि त्यसले हामीलाई के सिकाउन खोज्यो भने, हामीले सबै भक्तिहीन र सांसारिक अभिलाषाहरू इन्कार गरेर यस वर्तमान संसारमा आत्मसंयमी, धर्मी र भक्त मानिस भई जिउनुपर्छ। आफ्ना निम्ति परमेश्वरको अपार प्रेम र कृपा व्यर्थमा जान नदिनुहोला, तर यस बड़ादिनको सुअवसरमा आफ्ना निम्ति येशूको जन्ममा आनन्द मनाउने साँचो कारण भेट्टाउनुहोला। 

येशू नामको जय होस्! तपाईंलाई शान्ति! ख्रीष्टमस्को हार्दिक शुभकामना! 

अहो, कति रमाइलो, खुशीको दिन आयो, मुक्तिदाता प्रभुको बेतलेहेममा जन्म भयो! छन् जो मेरो हृदयमा, ख्रीष्ट राजा बसेका, जय, जय बालक राजाको, जय, जय होस् सदा!! 
ईश्वरका प्रिय पुत्र प्रभु ख्रीष्ट स्वर्गमा महिमित, 
बालकको रूपमा पस्रिए डुड़मा, विश्वमा अवहेलित। 
सुनचाँदी छैन, धूप पनि छैन; सम्पूर्ण जीवन लिनुहोस्! 
गोठरूपी हृदय धोएर आजै, प्रभुजी, राज गरिदिनुहोस्! 
published by NBCI

यस पृष्‍ठलाई सेयर गर्नुहोस्‌

तपाईंको प्रोत्साहन हाम्रो लागि बहुमूल्य छ

तपाईंको कथाहरूले वेबसाइटहरूलाई यो सम्भव बनाउन मदत गर्दछ।