१
एउटा घोड़दौड़ र त्यसबाट
सी. टी. स्टडका बुबाको
जीवनमा आएका नतिजाहरू
डब्लिनमा एउटा ठूलो घोड़दौड़ सिद्धिएको थियो, र दर्शकहरू सबै आ-आफ्नो घरतिर फर्केका थिए। तिनीहरूमध्ये श्री विन्सेन्ट पनि थिए, जो ठूलो बगानको मालिक थिए। अन्तिम फेरीमा चढून ढिलो भएको हुनाले तिनी त्यस दिनमा घर फर्कन सकेनन्, तर शहरमा वास बस्नुपरयो। समय काट्ने हिसाबले तिनी साँझमा डब्लिनका सड़कहरूहुँदा यताउता डुलिरहेका थिए र यसरी झुकेर एउटा इसाई सभामा पुगे। यस सभामा डी. एल. मूडीको सजीव प्रचारको प्रभावमा परेर तिनले केही समय डब्लिनमा रहेर त्यहाँ आयोजना गरिएका जम्मै सभाहरूमा उपस्थित हुने र सुसमाचार सुन्ने निर्णय गरे। अनि यी सुसमाचारीय साँझहरूमा तिनले आफ्नो जीवन प्रभु येशूको हातमा सुम्पे र आफ्नो बाँकी जीवन उहाँको सेवा गर्ने प्रण गरे।
श्री एड्वार्ड स्टडचाहिँ श्री विन्सेन्टको घनिष्ठ साथी थिए। उनले भारतमा इन्डिगो-बगानको मालिक भई काम गरेका थिए र निक्कै धन कमाएका थिए। यूकेमा फर्केर उनले आफ्नो धनसम्पत्तिको ब्याजको भरमा आफ्नो जीविका चलाउन चाहेका थिए। उनी आफ्नो जीवनको चरमसीमामा पुगेका थिए; उनको स्वास्थ्य राम्रो थियो; उनी बलिया थिए; एउटा सुखचैनको जीवनको निम्ति उनको धन प्रशस्त थियो। मोजमज्जा गर्नुबाहेक उनको अरू काम नै थिएन। उनलाई फुर्सदैफुर्सद थियो। तब उनको निम्ति के गर्न ठीक हुनेथियो होला? उनले खेलकुद गर्ने निर्णय गरे, अनि खेलकुद उनको सोख बन्यो। उनी क्रिकेटको जोशिला खेलाड़ी भए। तर क्रिकेटभन्दा घोड़दौड़मा उनको चासो बढी थियो। उनको घोड़शालामा सबैभन्दा फूर्तिला, तेजिला घोड़ाहरू हुन्थे, जुन घोड़ाहरूद्वारा उनले कति दौड़हरूमा विजय हासिल गर्थे।
उनका छोराहरूको शिक्षादीक्षामा खेलकुदले पनि महत्त्वपूर्ण भूमिका खेल्थ्यो। यसकारण पाँच वर्षको उमेरदेखि तिनीहरूलाई घोड़ा चढून सिकाइयो। अनि केही समयपछि राता लबेदाहरू पहिरेर तिनीहरूले स्यालहरूको शिखार खेल्नमा भाग लिन्थे।
जे होस्, श्री डी. एल. मूडी डब्लिनमा उक्त सुसमाचार-प्रचारको कार्यक्रम सिद्ध्याएपछि लण्डनमा आए। अनि श्री विन्सेन्टले एड्वार्ड स्टड आफ्ना साथीलाई मूडीका सभाहरूमध्ये एउटामा साथमा लैजान खोजे, तर रिसाएका स्टडले तिनको निमन्त्रणा इन्कार गरे, तर पछिबाट श्री विन्सेन्टको जिद्दीले जित्यो। अनि एउटा सभामा सहभागी भएपछि एड्वार्ड स्टडले यसो भन्दै फेरि आउने इच्छा प्रकट गरे: 'मैले श्री मूडीको कुरा फेरि एक पल्ट सुन्नुपर्छ; किनकि मैले जीवनमा पूरा गरेका सबै कामहरू यिनले जानेका छन् र मलाई यिनले केवल मेरै विषयमा बोलेको जस्तै लागेको छ।' एड्वार्ड स्टडले आफ्नो वचनअनुसार गरिछाड़े, र उनको जीवनमा ठूलो परिवर्तन आयो। उनको यस परिवर्तनको विषयमा उनका छोरा- हरूमध्ये एकजनाले पछि यसो लेखे:
'त्यस दिनको कुरा गर्नु हो भने, दिउँसो मेरा बुबाको सोख अझै घोड़- दौड़को निम्ति थियो; तर त्यस दिनको साँझमा उहाँ अर्को मानिस बन्नभयो। उहाँले अबदेखि उसो बितेको समयमा व्यातित गरेको व्यर्थ जीवनअनुसार जिउन चाहनुहुन्नथियो। यसकारण उहाँले डी. एल. मूडीकहाँ जाने र यिनको सरसल्लाह लिने निर्णय लिनुभयो।
उहाँले यिनलाई निम्न प्रश्न सोध्नुभयो: “मूडीजी, म तपाईंसँग खुला रूपले कुरा गर्नुपर्छ; किनभने अब म ख्रीष्टको चेला भएँ; तब भन्नुहोस्ः के मैले घोड़दौड़मा भाग लिन, शिखार खेल्न, नाटक हेर्न र नाच गर्न छोड्नुपर्छ?” तब यिनले मेरा पितालाई यस प्रकारको उत्तर दिएः 'भाइ, तपाईंले मसँग खुला रूपले कुरा गर्नुभयो; यसकारण म पनि तपाईंसँग खुला रूपले कुरा गर्छु। घोड़दौड़ भनेको पैसाको निम्ति बाजी थप्नु हो,
र यो जुवा खेल्नु हो। अनि मेरो विचारमा, एउटा इसाईले जुवा खेल्नै सक्दैन।” तब मेरा पिताले यिनीसँग नाटक हेर्ने र तास खेल्ने कुरा उठाउनुभयो। तब डी. एल. मूडीले यस प्रकारले जवाफ दिएः “भाइ, तपाईंका छोराछोरीहरू होलान्, अँ, अन्य प्रिय जनहरू पनि होलान्, जसलाई तपाईंले प्रेम गर्दै हुनुहुन्छ। तपाईंले मुक्ति पाउनुभयो, र तपाईं यसमा सुनिश्चित हुनुहुन्छ। तब तपाईंको हृदयमा आफ्ना आफन्तहरूले मुक्ति पाऊन् भन्ने चाहना अवश्य हुन्छ। मेरो विचारमा, परमेश्वरले तपाईंलाई तिनीहरूमध्ये कतिजनालाई प्रभुको निम्ति जित्ने आनन्द दिनुहुनेछ। अनि यस आनन्दको खातिर अरू सबै कुराहरूमा तपाईंको चासो हराउनेछ।”
अनि ठीक यस्तै हुन आयो पनि। अनि यस कुरामा उहाँका छोरा- छोरीहरू र इष्टमित्रहरूले अचम्म माने। किनकि उहाँलाई एउटै बोझले मात्र प्रेरणा दिएको देखिन्थ्योः अबदेखि उसो उहाँले केवल परमेश्वरको निम्ति कुनै न कुनै मानिसलाई जित्न चाहनुहुन्थ्यो। कुनै घोड़दौड़मा उहाँ फेरि देखा पर्नुहुन्नथियो। अनि आफ्ना छोराहरूलाई उहाँले सबैभन्दा उत्तम घोड़ाहरूमध्ये एक-एक दिए, तर बाँकी घोड़ाहरू उहाँले बेच्नुभयो। उहाँले आफ्नो बैठक कोठा खाली गरे र त्यसमा कुर्सीहरू र बेन्चहरू राखे; किनकि त्यो कोठा अब सुसमाचार प्रचारको निम्ति थियो। त्यसपछि घोड़ा चढ़ेरै उहाँले वरिपरिको जम्मै भूभागभरि घुमफिर गर्नुभयो र मानिसहरूलाई सुसमाचार सुन्ने निमन्त्रणा दिनुभयो। अनि सयौं मानिसहरूले उहाँको निम्तो स्वीकार गरे।'
मुक्ति पाएपछि श्री एड्वार्ड स्टड केवल दुई वर्ष बाँचे। उनको मृत्यु यस प्रकारको भयोः उनी डी. एल. मूडीको एउटा सभामा जाँदैथिए, जब उनलाई अचानक याद भयो कि उनले आफ्नो गाईगोठको एकजना नोकरलाई साथमा लैजान बर्सेछन्। उनले आफ्नो घोड़ा गाड़ा रोक्न लगाए र उनी त्यसबाट उत्रे; अनि उनले अरूलाई त्यस सभामा जाने इसारा दिए; किनभने ढिलो भइसकेको थियो। त्यसपछि उनी हिँडेरै सारा बाटो फर्के; यसले गर्दा उनको खुट्टामा एउटा रगतको नाली फुट्यो। यो उनको असमयको मृत्युको कारण थियो। उनको मृत्यु - संस्कारमा सभा संचालन गरेका पाष्टरले उनको जीवन - साक्षीको रूपमा यसो भनेः 'उनले दुई वर्षभित्र प्रभुको निम्ति जेजति गरे, यति धेरै अरू इसाईहरूले बीस वर्षभित्र पनि पूरा गर्दैनन्।'
२
एकै दिनमा तीनजना दाजुभाइहरू प्रभुकहाँ फर्के
श्री एड्वार्ड स्टडका उमेर पुगेका छोराहरू इटनको विश्वविद्यालयमा पढ्दैथिए। यसले गर्दा उनीहरू आफ्ना बुबाको मनमा र जीवन - शैलीमा आएको परिवर्तनको विषयमा अनजान थिए। तर उनीहरूको सेमेस्टर चलिरहेको बेलामा उनीहरूले एक दिनमा आफ्ना बुबाबाट एउटा चिट्ठी पाए, जसले उनीहरूलाई लण्डनमा आओ भन्ने विन्ती गरे। उनीहरूको विचारमा, उनले उनीहरूलाई एउटा नाटकमा वा कुनै मनोरञ्जन - कार्य- क्रममा लैजान चाहे होलान्। तर उनको निम्तो यो त एउटा धार्मिक कार्य- क्रमको निम्ति पो रहेछ; यस कुरामा उनीहरू तीनछक परे; किनभने उनीहरूका बुबाले उनीहरूलाई डी. एल. मूडीको कुनै सभामा लगेछन्।
चार्लस टी. स्टडले पछि यसको विषयमा निम्न कुरा लेखेः ‘इसाई धर्म हाम्रो निम्ति आइतवारको कुरा मात्र थियो; लुगा फेरेझैं हामीले त्यो धर्म र हाम्रो इसाई भक्ति सोमवारमा फुकाल्थ्यौं, र हप्ताभरि त्यसको लागि हाम्रो जीवनमा कुनै ठाउँ हुँदैनथियो। हो, हाम्रो हुर्काइबढ़ाइअनुसार हामी आइतवार गिर्जा जान्थ्यौं, तर हाम्रो व्यक्तिगत भक्ति व्यर्थ र खोक्रो थियो।
आइतवारमा हाम्रो मनमुद्रा बिग्रिन्थ्यो; अनि सोमवार भएपछि हाम्रो साहस बढ्थ्यो। हाम्रो निम्ति आइतवारजस्तै बोरिङ्ग भएको दिन अरू कुनै दिन थिएन। किनकि विश्वासको सम्बन्धमा हामी बिराना थियौं।तर एक दिनमा एकजना साँचो इसाईसित भेटघाट हुने हाम्रो सौभाग्य भयो; अनि त्यो साँचो इसाई हाम्रा बुबा हुनुहुन्थ्यो! तर त्यस बेलामा त्यो कुरा हामीले आफ्नो सौभाग्य कहाँ मान्थ्यौं र? होइन, होइन; यो सुनेर डरले हाम्रा रौंहरू ठाड़ा खड़ा भए। अनि हाम्रो विचारमा इसाई - जीवन कुकुरको योग्य जीवन थियो। यसकारण यसमा कसले राजीखुशीले आत्मसमर्पण गर्ला? अनि मेरो विषयमा कुरा गर्नु हो भने, हरेक साँझमा मेरा बुबा मेरो कोठामा आएर मलाई “हे साहिला, के तैंले मुक्ति पाइस्' भन्ने कुरा सोधिरहनुभएको कुरा मेरो लागि साह्रै अप्ठ्यारो कुरा हुन्थ्यो। यसकारण उहाँ मेरो कोठामा आउनुहुँदा मैले आफूलाई निदाएको पारें, अनि दिनमा जब मैले उहाँलाई आइरहनुभएको देखें, तब म तर्केर घरको अर्को कुनैतिर भागिहालें।'
यसरी एक वर्ष बित्यो। चार्लस र उनका दाजुहरू गर्मीको छुट्टीमा घरमा आए, र उनीहरूले प्रायः क्रिकेट खेल्ने गर्थे। तर शनिवार र आइतवारमा उनीहरूका बुबाले पाहुनाहरूलाई सत्कार गर्ने गर्थे, जुन पाहुनाहरूले घरको सङ्गतिमा परमेश्वरको वचन बोल्थे। एक समयमा दुईजना मानिसहरू आए; तीमध्ये एकजना थिए, जसलाई ती छोराहरूले मन पराएका थिए। तर दोस्रो व्यक्तिलाई चाहिँ उनीहरूले मन पराएनन्। उनीहरूको दृष्टिमा यिनी एक डरछेरुवा थिए, जसले कुनै घोड़ा हाँक्न जान्दैथिए। तर यिनले 'म घोड़ा हाँक्न सक्छु नि' भने। यसकारण उनीहरूले यिनको खिल्ली उड़ाउने मौका खोजे। उनीहरूले यिनलाई आफ्ना बुबाको साथमा शनिवार - बिहान आ- आफ्नो घोड़ा चढ़ेर सवारी गर्ने निम्तो दिए। पहिले यी तीनजना छोराहरूले आफ्ना बुबा र तिनको पाहुनाका घोड़ाहरूको पछाड़ि घोड़ा - सवार गर्दैथिए, तर अचानक उनीहरूले आफ्ना घोड़ाहरूसित सरपटको चाल अपनाएर अघिकाहरूलाई उछिने। तब अरू दुईवटा घोड़ाहरूले सरपट नगरे असम्भव थियो। ती घोड़ाहरूलाई रोक्न सकिँदैनथियो। तर यी पाहुनाको घोड़ाले यिनलाई कठीबाट फाल्न सकेन। यसमा ती छोराहरू छक्क परे। यो आफ्नो दाउ उनीहरूले फेरि र फेरि दोहोरयाए, तर उनीहरूका बुबाले उनीहरूलाई मनाही गरेनन्। किनकि तिनी हाँस्दै यसबाट आफैले मज्जा लिइरहेका थिए।
तर त्यस दिनमा दिउँसो उनीहरूले यी पाहुनालाई अर्को प्रकारले चिन्न पाए। यिनले उनीहरूको एक-एकजनासित व्यक्तिगत रूपले बातचित गर्ने बन्दोबस्त मिलाए। अनि तीनैजनाले यस बातचितको समयमा आफ्नो जीवन प्रभु येशूको हातमा सुम्पे। तर उनीहरूले त्यो कुरा एक अर्कोको विषयमा जान्दैनथिए।
यो घटना श्री चार्लस स्टडले पछि यसरी बयान गरेः 'म क्रिकेट खेल्न निस्किरहेको थिएँ, जब अचानक यी बाहुनासित मेरो झम्काभेट भयो। अनि यिनले मलाई सोधेः " चार्लस, के तिमी एक इसाई हौ?” तब मैले यिनलाई जवाफ दिएँः “ म एक इसाई त हुँ, तर तपाईंले बुझ्नुभएअनुसारको इसाईचाहिँ होइनँ। किनभने म सानो उमेरदेखि येशू ख्रीष्टमाथि विश्वास गर्दै आएको हुँ।” यस प्रकारको उत्तर दिएर मैले यिनको चित्त बुझाउन खोजें, तर भएन।
यिनले मसँग यसरी बातचित गर्दै रहे: “भाइ, सुन! परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो र यस हेतुले आफ्ना एकमात्र पुत्रलाई पठाउनुभयो र उहाँलाई दिइहाल्नुभयो कि उहाँमाथि विश्वास गर्ने हरेक मानिस नष्ट नहोस्, तर उहाँमाथि विश्वास गर्ने हरेक व्यक्तिले अनन्त जीवन पाओस्। के तिमीले प्रभु येशू मर्नुभएको कुरा विश्वास गर्छौ?”
"हो, म विश्वास गर्छु।”
"के प्रभु येशू तिम्रो लागि मर्नुभएको कुरा तिमी विश्वास गर्छौ?” “हो, म विश्वास गर्छु।”
“तब परमेश्वरको वचनको यस पदको दोस्रो खण्डमा अनन्त जीवनको विषयमा लेखिएको कुरा तिमीले विश्वास गरेका छौ?”
“अहँ, मैले यो कुरा विश्वास गरेको छैनँ।” यो मेरो इमानदार उत्तर थियो।
“अनि योचाहिँ तिम्रो भूल हो। अनन्त जीवन दिन्छु भन्ने परमेश्वरको यो प्रतिज्ञा जारी छँदैछ। मलाई भन्न तः के परमेश्वर झूट बोल्न सक्नुहुन्छ?”
“अहँ, उहाँ झूट बोल्नुहुन्न।”
“तब तिमीले केवल यस पदको आधा भाग मात्र विश्वास गर्ने कारण के हो त? त्यो त विश्वासयोग्य व्यवहार ठहरिँदैन।”
“हजुर, तपाईंको राय ठीक होला।”
“के तिमी यस प्रकारको अधूरो विश्वासको अवस्थामा रहन चाहन्छौ?”
“होइन, हजुर, म यसो गर्न चाहन्नँ।”
“यसो हो भने, आज, अहिले नै सठीक निर्णय गर!”
मेरो निम्ति कुनै उम्कने ठाउँ कहीं नदेखेर मैले मनमनमा यसो विचार गरेंः ‘म यसरी निर्णय नलिईकन यस कोठाबाट निस्कन सक्दिनँ, नत्र ता म आफ्नो दृष्टिमा अयोग्य ठहरिनेछु।' यसकारण मैले भनें: “हो, म निर्णय गरेर छाड्छु।”
तब यिनले मलाई सोधे: “के तिमीलाई थाहा छ? अनन्त जीवन एउटा उपहार हो। बड़ादिनमा कसैले तिमीलाई एउटा उपहार दिएमा तिमीले के गर्छौ?”
मैले जवाफ दिएँः “म यो उपहार ग्रहण गर्छु र दिने दातालाई धन्यवाद चढ़ाउँछु।”
"तब ढिलो नगरी अनन्त जीवनरूपी उपहार ग्रहण गरेर परमेश्वरलाई यसको निम्ति धन्यवाद चढ़ाऊ!”
तत्कालै मैले घुड़ा टेकें र परमेश्वरलाई यस उपहारको निम्ति धन्यवाद चढ़ाएँ; तब मेरो हृदय शान्ति र आनन्दले भरियो। अनि नयाँ जन्म भनेको यही रहेछ भन्ने कुरा मैले बुझें। अनि अघि मेरो निम्ति स्वादहीन भएको परमेश्वरको वचन पवित्र बाइबल अबदेखि उसो मेरो निम्ति सबै भयो।'
चार्लस स्टडले यस अनुभवको विषयमा आफ्ना दाजुहरूसित कुरा गर्दैनथिए। तर इटनमा फर्केपछि उनीहरू हरेकले आफ्ना बुबालाई एक- एक चिट्ठी लेखे। अनि केही दिनपछि उनीहरूले सँग बसेर बिहानको खाजा खाइरहेको बेलामा उनीहरूले आफ्ना बुबाले लेखेको पत्र पाए, जसले आफ्नो पत्रमा तीनैजना छोराहरूलाई एकसाथ सम्बोधन गरेका थिए। उनीहरूले विश्वास गरेको निर्णयले तिनको निम्ति ठूलो आनन्दको कारण भएको थियो। अचम्म त्यही शनिवारको दिनमा तीनैजनाले आ-आफ्नो जीवन परमेश्वरको हातमा सुम्पेका रहेछन्! अनि यी पाहुना, जसको खिल्ली घोड़ा चढूने सम्बन्धमा उड़ाएर मज्जा लिन उनीहरूको मनसाय थियो, यी पाहुना प्रभु येशूको निम्ति आत्माहरू जिनमा साह्रै निपुण भएका रहेछन्!
३
चार्लस स्टडको जीवनमा
आएको आपद्काल र यसको नयाँ शुरुआत
चार्लस स्टडचाहिँ साह्रै सिपालु क्रिकेट खेलाड़ी थिए। सानो उमेरदेखि क्रिकेटमा उनको ठूलो रुचि हुन्थ्यो। अनि उनी यस खेलमा कति सफल थिए, सो कुरा १८७९ सालमा दैनिक पत्रिकाको निम्न समाचारको टुक्काबाट बुझ्न सकिन्छः 'निश्चय नै हेरोहको विरोधमा इटनको यस म्याचमा इटन- कलेजको क्रिकेट टीमका कप्तान श्री चार्लस स्टडचाहिँ सबैभन्दा बढ़िया खेलाड़ी थिए। भविष्यमा तिनको नाम अवश्य फेरि सुनिनेछ।' अनि यो कुरा सत्य ठहरियो; किनभने क्याम्ब्रिजमा उनी झन् प्रख्यात खेलाड़ी बने। विशेष गरी उनले अष्ट्रेलियाको अजय टीमको विरोधमा ठूलो वीरता देखाए। त्यसपछि उनले आफ्नो टीमको निम्ति एक विजयमाथि अर्को विजय हासिल गर्थे। खेलकुदको दुनियाँ उनमा मग्न हुन्थ्यो; किनकि त्यस समयमा उत्कृष्ट खेलाड़ी उनी हुन्थे।
उनले क्रिकेट खेलेकोमा कहिल्यै पछुतो मान्दैनथिए, तर उनले क्रिकेटमा यति साह्रै सोख लिएकोमा मात्र उनको अफसोस हुन्थ्यो; किनकि क्रिकेट झन्डै उनको भगवानतुल्य थोक बन्यो। तर क्रिकेट खेल्दाखेरि उनले धेरै असल कुराहरू सिके, जस्तैः साहस, संयम, धीरज आदि। अनि यी सद्गुणहरूले पछि उनलाई प्रभुको सेवा गर्नमा पूरा साथ दिन्थे। किनकि त्यही मानिस, जसले अहिले क्रिकेटको उत्कृष्ट खेलाड़ी बन्नको निम्ति आफ्नै साह्र बल लगाउँथे, त्यही मानिसले भविष्यमा आफ्ना मुक्तिदाता ख्रीष्ट येशूको महिमा र परमेश्वरको राज्य बढ़ाउनको निम्ति उत्तिकै आफ्नो पूरा तनमन लगाउनेथिए।
तर यसको निम्ति समय पर्खनुपरेको थियो। किनकि उनको जेठा दाजु मात्र विश्वासमा दरो रहे। चार्लसको विश्वासमा केही ढलपल आयो; यसको विषयमा उनले पछि यसो लेखेः ‘त्यस बेलामा म कति स्वार्थी थिएँ; किनकि अरू मानिसहरूलाई परमेश्वरको प्रेमको विषयमा भन्नुको सट्टामा मैले आफ्नो विश्वास आफूमा लुकाइराखें। यसकारण ममा प्रभुप्रति मेरो प्रेम सेलाउँदै गयो, र संसारले मलाई फेरि खिच्न थाल्यो। यसरी मैले छ वर्ष बिताएँ।'
तर जुन समयमा उनको भाइ सिकिस्त बिरामी परे, त्यस समयमा उनको जीवनमा दोस्रो मोड़ आयो। उनी घण्टौंघण्टा आफ्नो बिरामी भाइको पलङमा कुरे, जुन प्यारो भाइ मर्न लागेका थिए र मृत्युसँग संघर्ष गरिरहेका थिए।
उनले सोच्न थालेः ‘मानिस मर्न लागेको छ र परलोकमा परमेश्वरलाई भेट्न जान्छ भने, यस संसारको वाह-वाहमा उसलाई के लाभ होला? उसलाई मानिसहरूबाट सम्मान र प्रशंसा पाउनमा के मतलब होला? धेरै धनसम्पत्ति हासिल गर्नमा उसलाई के लाभ होला त नि?' अनि उनको मनमनैमा एउटा वाणीले उनलाई यसो भन्योः 'यो सबै व्यर्थ हुन्छ।' चार्लस स्टडले पछि यस महत्त्वपूर्ण क्षणको बयान यसरी गरेः 'यस घड़ीमा यी सबै कुराहरू मेरा भाइको निम्ति व्यर्थ भए; किनकि यस सिकिस्त अवस्थामा तिनको एकमात्र सहारा प्रभु येशू हुनुहुन्थ्यो, र पवित्र बाइबल तिनको एकमात्र चाहना हुन्थ्यो। तब परमेश्वरले मलाई देखाउनुभयोः उहाँले मेरो जीवनमा प्रथम स्थान पाउनैपर्छ। अनि उहाँको प्रेम र ठूलो दयाले गर्दा मेरा भाइ मरेनन्, तर फेरि निको भए। अनि मेरा भाइलाई रुँघ्ने जिम्माबाट छुट्टी पाउनासाथ म डी. एल. मूडीका सभाहरूमा उपस्थित भएँ। अनि त्यहाँ परमेश्वरको कृपामा मैले मेरा प्रभुसित मेरो विश्वासको सम्बन्ध फेरि सुदृढ़ पार्न सकें। मेरो जीवन फेरि आनन्दित भयो, र मैले आफ्ना साथीहरूलाई सुसमाचार सुनाउनुपर्छ र तिनीहरूसँग तिनीहरूको आत्माको मुक्तिको विषयमा कुरा गर्नुपर्छ भन्ने आफ्नो कर्तव्य फेरि देख्न सकें।
अनि जब म पहिलो पल्ट मेरा साथीहरूमध्ये एकजनालाई प्रभु येशूकहाँ डोरयाउन सफल भएँ, तब मेरो आनन्दको सीमा रहेन। त्यस समयसम्म मैले यस संसारका प्रायः सबै सुखहरू उपभोग गरिसकेको थिएँ; तर अब मेरा साथीले मुक्ति पाएको आनन्द मेरो निम्ति परम आनन्द भयो।
क्रिकेट खेल्ने नयाँ साल शुरु भएको बेलामा म फेरि क्रिकेट खेल्न गएँ, एउटा नयाँ मानिस भएर। बितेको समयमा क्रिकेट मेरो उत्कृष्ट सोख हुन्थ्यो। तर अहिले मेरो जीवन प्रभुको हातमा थियो; अनि यही कुरा सर्वोत्तम थियो। अब यस खेलमा मेरो चासो हराएको थियो; किनकि प्रभु येशूको निम्ति हराएका मानिसहरूलाई बचाउनु मेरो लक्ष्य भएको थियो। किनभने मैले स्पष्टसँग बुझें: जुन कुरा अनन्त - कालमा गनिन्छ, त्यस कुराको निम्ति हामीले जिउनुपर्छ; अन्य सबै कुराहरू व्यर्थ छन्।'
त्यस समयदेखि चार्लस स्टडले आफ्ना साथीहरूलाई प्रभुको निम्ति जित्न सकभर प्रयास गरे। अनि समयमा धेरै मानिसहरू यसको निम्ति प्रत्यक्ष साक्षी बने; किनकि तिनीहरूको जीवनमाथि उनको प्रभाव स्मरणीय थियो; तिनीहरूले यो कहिल्यै भुल्न सकेनन्।
तर जब उनले आफ्नो भविष्यको विषयमा सोच्न थाले, तब उनको मनमा ठूलो हलचल मच्चियो। अनि यस निर्णयक समयको विषयमा उनले यस प्रकारको वर्णन गरेः
'प्रभु येशूलाई कुन प्रकारले सेवा गर्ने हो, मैले यस सम्बन्धमा उहाँको अगुवाइ खोज्दैथिएँ। उहाँले मलाई सुस्पष्ट मार्गदर्शन दिऊन्; यो मेरो प्रार्थना थियो। तर यस विषयमा मैले एउटा गल्ती गरें; किनभने मैले यसमा खालि परमेश्वरमाथि भरोसा गर्नुपर्नेथियो; तर यसो गर्नुको सट्टामा मैले मानिसहरूको सहारा लिएँ र मेरा साथीहरूबाट परमार्श लिएँ, अनि परमेश्वरको अगुवाइ पाउन म आफ्नो दिमागमाथि भर परें। यसकारण उहाँको इच्छाको ज्ञान स्पष्ट भएन, तर मेरो मनमाथि एउटा अँध्यारो छाया पस्यो। अशान्ति र डरले मलाई छोप्यो; अनि मेरो स्वास्थ्य बिग्रियो, र केही समयको निम्ति म स्वास्थ्य लाभको लागि देहातमा बस्नुपरयो। तीन महिनासम्म मैले पवित्र बाइबल पढ्दैथिएँ र परमेश्वरबाट मार्गदर्शन पाउन खोज्दैथिएँ। त्यसपछि म घर फर्के। म फेरि स्वस्थ थिएँ, तर म कुन बाटो लाग्नुपर्ने हो, सो अझै जान्दैनथिएँ।'
चार्लस स्टडले यति जान्दथिएः उनले पैसा कमाउन कुनै व्यवसाय अपनाउनेथिएनन्। उनको विवेकले उनलाई यसो गर्न स्वतन्त्रता दिएन। किनभने उनीसँग प्रशस्त धन छँदैथियो। तर उनले आफ्नो जीवनको सबैभन्दा असल भाग आफ्नै लागि, आफ्नो मान र इज्जत बढ़ाउन वा यस संसारका सुखहरू उपभोग गर्न जिउन सक्दैनथिए। किनभने दिनदिनै हजारौं, लाखौं मानिसहरू ख्रीष्ट येशूमा भएको मुक्ति नपाई मर्दैथिए। के तिनीहरूले प्रभु येशूको विषयमा सुसमाचार सुन्नुपर्दैनथियो र?
त्यस समयमा अज्ञात नास्तिक मानिसको एउटा लेख उनको हातमा पस्यो। यस पर्चामा यस्तो लेखिएको थियो ः 'लाखौं इसाईहरूले दाबी गरेअनुसार हाम्रो परलोकको अनन्त भाग्य प्रभु येशूसितको हाम्रो सम्बन्धमा भर पस्यो भने, र परमेश्वरको वचनप्रति हाम्रो आज्ञाकारिता यसमा प्रमुख भूमिका खेल्यो भने त मैले यो मेरो परम धर्म सम्झनेथिएँ र म केवल यसको निम्ति जिउनेथिएँ। संसारका सुखहरू के, यस जीवनका चिन्ताहरू के, मेरो लौकिक जीवनका लक्ष्य र गन्तव्यहरू के यी सबै यी सबै कुराहरू मैले फोहोर मैला सम्झनेथिएँ, मैले मूर्खता ठान्नेथिएँ, मैले बिलकुल व्यर्थै व्यर्थ गन्नेथिएँ। तब बिहान बिउँझँदा प्रभु येशू, दिनभरि उहाँ नै र राति ननिदाएसम्म पनि उहाँचाहिँ मेरो ध्यानको केन्द्र हुनुहुनेथियो। म उहाँको निम्ति मात्र मरिमेटेर परिश्रम गर्नेथिएँ; अनि मेरो एकमात्र चिन्ता केवल मानिसहरूको परलोकको अनन्त भाग्य हुनेथियो। एकजना मानिसको अमूल्य आत्मा अनन्त नरकबाट बचाउन म जीवनभरि अनेक प्रकारका दुःखकष्टहरू उठाउन तयार हुनेथिएँ। मानिसहरूले मेरो वचन र मेरो काममा जेसुकै दोष भेट्टाऊन्, मलाई केही पर्बाह हुनेथिएन। तिनीहरूले मेरो जोश र उमङमा कुनै लगाम लगाउन सक्नेथिएनन्। संसार, यसका दु:ख र यसका सुखहरूको के मतलब? यी कुराहरूसित मेरो के सरोकार? होइन, मेरो दृष्टि केवल अनन्त - कालमाथि लगाइरहनेथियो; मेरो वरिपरि जिउने मानिसहरू मेरो फिक्रीचिन्ताको एकमात्र बिन्दु हुनेथिए। किनकि तिनीहरूले मुक्ति पाएनन् भने, तिनीहरू अनन्तसम्म नाश हुनेथिए। यसकारण म मुक्तिको सन्देश सारा संसारमा प्रचार गर्नेथिएँ – मानिसहरूले सुनून् वा सुन्न इन्कार गरून्। प्रभु येशूको निम्न वचन मेरो जीवनको आदर्श- वाक्य हुनेथियोः “किनकि मानिसले सारा संसार प्राप्त गरे ता पनि आफ्नो आत्माचाहिँ गुमायो भने त्यसलाई के लाभ भयो?" '
यस लेखका यी शब्दहरूले उनलाई गहन प्रभाव पारे। किनकि उनको जीवनमाथि यी शब्दहरूको छापको बारेमा उनले निम्न बयान लेखेः
‘अचानक मैले एउटा इसाई जीवन कस्तो किसिमको हुनुपर्छ, सो छरलङ्ग देख्न सकें। त्यस दिनसम्म मेरो जीवन यस उच्च बोलावट- अनुसारको थिएन। अनि म निम्न निष्कर्षमा आइपुगेंः आजै दुईवटा नाउमा टेकिरहेको मेरो दुईधारे जीवन समाप्त भयो। अबदेखि उसो मैले परमेश्वरको इच्छा र केवल उहाँको इच्छा पालन गर्न चाहन्थें। यसपालि मैले मानिसहरूको राय लिइनँ, तर परमेश्वरको अगुवाइको निम्ति पर्खे।'
उनले यस समयमा अर्को एउटा महत्त्वपूर्ण पाठ सिके, जुन पाठको शिक्षा उनको बाँको जीवन-कार्यको निम्ति आधारभूत थियो। प्रभुको हातमा एउटा कामलाग्दो यन्त्र बन्नको निम्ति जोश मात्र पुग्दैन। किनकि ख्रीष्ट येशूको सेवकलाई परमेश्वरको शक्तिको खाँचो छ। उनले परमेश्वरको निम्न वचनमा दिइएको प्रतिज्ञा याद गरेः 'तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू मेरा साक्षी हुनेछौं' ( प्रेरित २:८ )। किनभने जब उनी आफ्नो जीवनमा परमेश्वरको इच्छा खोज्न र उहाँको बोलावटको विषयमा गम्भीर हुन थाले, तब उनले आफ्नो अयोग्यता सफासँग बुझे; अनि उनको अयोग्यताको पूर्ति केवल पवित्र आत्माले गर्न सक्नुहुन्छ, यो पनि उनलाई सुस्पष्ट थियो। अनि उनको जीवनमा पवित्र आत्माको भरपूरीको अनुभव यस प्रकारले भयोः
'तीन दिनपछि मेरो घनिष्ठ साथी मलाई भेट्न आए, अनि तिनले मलाई एउटा घराउ-सभामा लगे। पवित्र बाइबलमा केही पदहरू पढ़ेर हामीले त्यस खण्डमा पढेको कुराको विषयमा आपसमा केही छलफल गरेपछि तिनले मलाई सोधे: “चार्लस भाइ, के प्रभु येशूले फलाना दिदीको जीवनमा धेरै आशिष दिनुभएको सुन्यौ?” “अहँ, मैले सुनिनँ" तिनको प्रश्नको मेरो जवाफ थियो। तब मेरा साथीले निम्न शब्दले मलाई यी दिदीको जीवनको छोटो गवाही सुनाइदिएः “ख्रीष्ट येशूको निम्ति यिनको जीवनभरको उमङ र अथक परिश्रम तिमीलाई थाहै छ। तर यिनको जीवन कठिन नभएको होइन। बितेको समयमा यिनले धेरै दुःखकष्टहरू सामना गर्नुपरयो। तर अहिले परमेश्वरको भारी आशिष यिनीमाथि आयो, यहाँसम्म कि कुनै कुराले पनि यिनको मनको शान्ति भङ्ग गर्न सक्दैन। यिनको न्यानो शान्तिको प्रभाव चारैतिर फिंजिन्छ।”
यतिमा हामी दुईजनाले पवित्र बाइबलमा प्रतिज्ञा गरिएको यस आशिषको रहस्य र शर्त पत्ता लगाउन खोजी गरे। अनि नभन्दै हामीले परमेश्वरको एक विशेष वचन भेट्टायौं, जुन वचनमा परमेश्वरले उहाँमाथि विश्वास गर्नेहरूको निम्ति शान्तिको प्रतिज्ञा गर्नुभएको रहेछ (फिलिप्पी ४:७)। बाइबलको अर्को एक खण्डमा बयान गर्न नसकिने आनन्दको कुरा गरिएको छ (१ पत्रुस १:८ )। हामीले आफ्नो जीवन नियालेर हेस्यौं र यस प्रकारको शान्ति र आनन्द नभएको - नपाएको महसुस गरयौं, रपनि हामीले परमेश्वरको सर्वोत्तम आशिष पाउने तीव्र चाहना गरयौं। यसकारण हामीले घुड़ा टेक्यौं, र प्रभुलाई यो आशिष पाऔं भन्ने प्रार्थना चढ़ायौं। त्यसपछि हामी छुट्यौं र आ-आफ्नो घर फर्कयौं।
उक्त प्रार्थनाको विषयमा म गम्भीर थिएँ। यसकारण घरमा आएपछि मैले फेरि पनि यही प्रार्थना चढ़ाएँ: “प्रभु, तपाईंको शान्ति र तपाईंको अवर्णनीय आनन्द मलाई दिनुहोस्!” अनि यही दिनमा एउटा असल आत्मिक किताब मेरो हातमा पस्यो। यस किताबको सार यस प्रकारको थियोः परमेश्वरले आफ्नो आशिष जोसुकैलाई दिन चाहनुहुन्छ, हरेक जो उहाँको आशिष पाउन तयार छ। यसैबाट मैले उहाँको आशिष नपाएको मेरो घटीकमी बुझिहालें। मैले उहाँको आशिष पाउने प्रबन्ध र ठावैं गरेको थिइनँ। म केही क्षण एकलै बसिरहे र मनमनै विचार गरें। तब मलाई स्पष्ट भयोः मैले परमेश्वरबाट उहाँलाई दिनुपर्ने कुरा बाँकी राखेको थिएँ। प्रभु येशूले मलाई आफ्नो अमूल्य रगतले दाम तिरेर छुटाउनुभयो। तर मैले चाहिँ आफूलाई उहाँबाट बाँकी राखें र आफूलाई उहाँको हातमा पूरा रूपले समर्पण गरेको थिइनँ। अनि यस ज्ञानको प्रकाशमा म आज्ञाकारी भएँ र मैले घुँड़ा टेकेर आफ्नो जीवन प्रभुको हातमा सुम्पें: “हे प्रभु, तपाईंको निम्ति अर्पेको यो मेरो जीवन ग्रहण गर्नुहोस्!”
त्यसपछि मैले अरू के गर्नुपरेको थियो? मेरो विश्वास एउटा नानीको जस्तै हुनुपरेको रहेछ। मैले आफ्नो जीवन परमेश्वरको हातमा सुम्पिसकें; अनि उहाँले मेरो जीवन ग्रहण गर्नुभयो, र उहाँले यो मेरो जीवन सम्भालि- राख्नुहुनेथियो र अनन्त-अनन्तसम्म रक्षा गर्नुहुनेथियो। मैले मेरो अमूल्य आत्मा उहाँको जिम्मामा लगाइदिएँ; अनि उहाँले त्यसको निम्ति जिम्मा लिनुहुनेथियो र त्यो सुरक्षित राख्नुहुनेथियो। तब के उहाँले मलाई र मेरो साथमा मेरो सम्पत्ति यस संसारमा रक्षा गर्न सक्नुहुन्नथियो, कसरी? होइन, होइन! मैले अरू केही नगरेर उहाँलाई विश्वास गर्नु थियो, यो मेरो हिस्सा र मेरो जिम्मा थियो। मैले उहाँमाथि भरोसा गर्नुपरेको थियो; म उहाँको भरमा रहनुपरेको थियो, तब उहाँले ममा आफ्नो उद्देश्य र आफ्नो शुभेच्छा पूरा गर्नुहुनेथियो। यस क्षणदेखि मेरो जीवन अर्कै भयो; किनभने परमेश्वरले मलाई मेरो सारा समझ माथ गर्ने शान्ति र वर्णन गर्न नसकिने आनन्द दिनुभयो।'
४
सी. टी. स्टडले मिसन कार्यकर्ताको निम्ति
बोलावट पाए
चार्लस स्टडले आफ्नो मातृभूमि छोड्ने कल्पना धरि कहिल्यै गरेका थिएनन्। हर हिसाबले यूके उनको निम्ति यथेस्ट थियो। तर अबदेखि उसो उनको मन र उनका विचारहरू घरिघरि प्रभुको विश्वव्यापी मिसन- कार्यप्रति आकर्षित हुने गर्थे।
त्यस अवधिमा चार्लस स्टड एउटा मिसन-सभामा उपस्थित भए, जुन सभामा मिसनकर्ता श्री म्याक - कर्थीको बिदाईको कार्यक्रम भइरहेको थियो। तिनी चीन देशमा सेवारत हुन्थे। उक्त सभाको विषयमा श्री स्टडका शब्द सुनौंः ‘म यो अविस्मरणीय सभा कहिल्यै भुल्न सक्दिनँ। म श्री म्याक-कर्थीका गहकिला शब्दको प्रभावमा परें: ओहो, सारा संसारमा गएर ख्रीष्टको सुसमाचार प्रचार गर्ने प्रचारकहरू कति आवश्यक परेको!! अनि को जान तयार छ?
मैले तुरुन्तै यसको विषयमा आवेगमा कुनै निर्णय गर्न चाहँदिनथिएँ। मेरो निर्णय आवेगको फल भएको - अहँ, यसको दोष मलाई कहिल्यै नलागोस्! यस मिसन - सभापछि मैले परमेश्वरलाई उहाँको वचनबाट मलाई स्पष्ट अगुवाइ दिने विन्ती गरें। किनभने मलाई प्रेम गर्ने मेरी आमा मिसनरी हुने मेरो निर्णय ममा पल्टाउन सक्ने एकमात्र कारण हुन सक्थिन्। तर यस विषयमा पवित्र बाइबलमा मैले निम्न वचन पढ़ेंः “जसले बुबा वा आमालाई मलाई भन्दा बढ़ी माया गर्छ, त्यो मेरो योग्यको हुँदैन” (मत्ती १०:३७)।'
तर अब उनले मिसनरी बन्ने आफ्नो यस निर्णयको विषयमा सबैभन्दा ठूलो जाँच सामना गर्नुपस्यो। किनभने उनको परिवार र उनका आफन्त- हरूबाट यसको घोर विरोध आयो। तिनीहरूको निम्ति चार्लसका बुबाले प्रभु येशूलाई पाएको घटना एउटा अझै नपचिएको ठूलो झटका थियो। तर यिनका छोराहरूमध्ये एकजना मिसनरी हुनु, अहँ, यो तिनीहरूको निम्ति अति भएको थियो र तिनीहरूले यो सहन सक्दैनथिए। यसकारण उनका आफन्तहरूले उनलाई यो कदम चाल्नदेखि रोक्न सकभर कोशिश गरे। यसो गर्न तिनीहरूले प्रचारकहरूको धरि सहारा लिए, जसले उनलाई मिसनरी नहुने सल्लाह दिए। यो एक साँझको कुरा हो ः बितेको समयमा उनको निम्ति आशिषको कारण बनेका एकजना नातेदारले उनलाई यसो भनेः ‘चार्लस, मलाई डर छ, कि तिमीले एउटा ठूलो गल्ती गर्न लागेको छ। किनभने तिमी दिनदिनै इसाई सभाहरूमा धाइरहेका छौ, र आफ्नी आमालाई बेवास्ता गर्दैछौ। तर मैले यिनलाई भर्खरै भेटें। अनि मेरो विचारमा, तिमीले यस तिम्रो जिद्दीले गर्दा तिम्री आमाको हृदय तोडून लागेका र साह्रै दुखाएका छौ। अनि मेरो दृष्टिमा यो गलत हो।'
तर कुनै मानिसको सरसल्लाह र परमार्शले पनि चार्लस स्टडलाई आफ्नो निर्णयदेखि हट्न मनाउन सक्दैनथियो। यसकारण उनले आफ्नो नातेदारलाई उत्तर दिएः 'आउनुहोस्, हामी परमेश्वरबाट मार्गदर्शन र सर- सल्लाह मागौं! म जिद्दी गर्न चाहन्नँ। आफ्नै इच्छा पूरा गर्ने मेरो इच्छा छैन, म त परमेश्वरको इच्छा र केवल उहाँको इच्छा पूरा गर्न चाहन्छु।' किनभने उनले आफ्ना नातेदारको कुरा काट्न चाहँदैनथिए; किनकि बितेको समयमा उनले तिनीबाट ठूलो सहायता पाएका थिए। यसकारण यी दुईजनाले घुँड़ा टेके र यो सबै कुरा परमेश्वरको हातमा सुम्पे। तर यस रातमा चार्लसलाई निद्रा अलिकति पनि लागेन; किनकि एकजनाले सदैव उनीसित एकै वचन बोलेको उनलाई लाग्दैथियो: 'मबाट माग, र म तिमीलाई तिम्रो हकको सम्पत्तिको रूपमा अन्यजातिहरू र तिम्रो अधिकारको रूपमा सारा पृथ्वी दिनेछु' (भजन २:८)। चार्लस स्टडले यो अलौकिक क्षण यसरी बयान गरेः ‘परमेश्वरले मसित बोल्नुभएको मलाई स्पष्टसँग थाहा लाग्यो। यो मेरो लागि चीनमा जाने उहाँको आदेश थियो।'
धेरैजना साथीहरूको रायअनुसार उनीजस्तै मानिसको निम्ति चीन देशको अन्तर्देशीय भागमा जानु बिलकुल बेठीक थियो; यो तिनीहरूले उनको चिहान ठान्थे। होइन, बरु इङ्गल्याण्डमा रहेर देशका युवाहरूमाथि उनको ठूलो प्रभाव पर्न सक्नेथियो। हुन सक्छ, मोशाले परमेश्वरको बोलावट पाएपछि सायद शैतानले उस्तै प्रकारले तिनलाई मनाउन खोजेको थियो होलाः ‘फाराओको दरबारमा रहेर तिम्रो प्रभाव कति बढ़ी हुनेछ'; तर त्यस बेलामा परमेश्वरले मोशालाई देखाउनुभएको बाटो मोशाको निम्ति सय बाटो ठहरियो। तिनले सबै त्यागे; तिनी देशनिकाला भए; अनि अन्तमा तिनी आफ्नो जातिको उद्धारक बने। अनि चार्लस स्टडले पनि मोशाले गरेजस्तै सठीक काम गरे। अनि उनको मिसनरी बन्ने यस समर्पणको पहिलो फल के थियो भने, विद्यार्थीहरूको बीचमा ठूलो आत्मिक जागृति आयो, यस प्रकारको जागृति अघि कहिल्यै भएको थिएन; किनकि अङ्ग्रेजी-जगत्को एक-एक विश्वविद्यालयमा यो जागृति पुग्यो। यसकारण चीन देशको अन्तर्देशीय मुलुकमा आफ्नो जीवनको प्रभाव सीमित राख्ने कुरा कहाँ गयो त?
अनि परमेश्वरले जवानहरूलाई कुनै दुर्गम क्षेत्रमा उहाँको सेवा गर्न बोलाउनुभएको बेलामा धेरैजना यस कुरामा गल्ती गर्छन्। किनकि परिवार र आफन्तहरू यसको विरोधमा उठ्लान्। परमेश्वरलाई धन्यवाद होस्! चार्लस स्टडलाई प्रेम गर्ने उनकी भक्त आमाका आँसु र विन्तीहरूले उनको चीनमा जाने मनसाय बदली गर्न सकेनन्। यस कष्टपूर्ण संघर्षमा उनी डगमगाउन लागेका थिए; तर त्यस बेलामा उनले परमेश्वरबाट एउटा निर्णयक वचन पाए। किनभने रात परेको साँझमा रेलवे स्टेशनमा उभिरहेको र रेलको लागि पर्खिरहेको बेलामा उनले प्रभुलाई पुकारे र आफ्नो मनको चिन्ता उहाँको सामु पोखाए। त्यसपछि उनले नयाँ नियमको पुस्तक खोले, जहाँ उनले निम्न पद पढ़ेः 'मानिसका शत्रुहरू आफ्ना परिवारकाहरू हुनेछन्' (मत्ती १०:३६ )। अनि यस क्षणदेखि उनले कहिल्यै पछाड़ि फर्काएर हेरेनन्, तर उनी दृढ़ भई अघि बढ़े।
आफ्नो निर्णयको विषयमा सुदृढ भएको केही दिनपछि उनले इन्टरव्यूमा श्री हड्सन टेलरलाई भेटे, जो 'चाइना अन्तर्देशीय मिसन'का निर्देशक थिए। अनि यस मिसनमा उनको भर्ती भयो। अनि यही समयमा उनको साथी श्री स्टण्ली स्मिथले पनि परमेश्वरको बोलावट सुने, जो क्याम्ब्रिजको रोवर थिए। अनि तिनको साथमा अरु पाँचजनाले मिसनरी हुन आफ्नो नाम दर्ता गरे। यसकारण यी सातजना 'क्याम्ब्रिजका सातजना' भन्ने नामले सुपरिचित भए।
छोटो अवधिभित्र यो खबर सबै धार्मिक पत्रिका र अन्य समाचार- पत्रिकाहरूद्वारा फैलियोः अरे, खेलकुद - जगत्मा सुप्रख्यात भएका सातजना जवानहरू मिसनरीको रूपमा चीनमा जान कसरी तयार भएका?! मिसनको इतिहासमा यी सातजनाले जस्तै पछि कहिल्यै अरू कुनै झुण्डले फेरि मानिसहरूको बीचमा यत्रो हलचल मच्चाएन होला।
इस्वी संवत् १८८५ सालमा यी सातजनाले चीनतर्फ आफ्नो पानी जहाजको यात्रा शुरु गरे। तीन महिनापछि उनीहरूको बाहिर रूप धेरै बदली भएको थियो; उनीहरू अबदेखि ब्रिटिश होइन, तर पहिरन र केशको लटअनुसार चीनका मानिसहरू भइसके। किनकि योचाहिँ 'चाइना अन्तर्देशीय मिसन'को नीति थियो, जुन मिसन-संस्थाले यसरी नै चीनका मानिसहरूकहाँ सुसमाचार पुरयाउन खोज्यो। चीनका मानिसहरूको निम्ति उनीहरू चीनका मानिसजस्तै हुनुपरयो। अनि अर्को चार महिनापछि उनीहरू चीनको भित्री भागमा आ-आफ्नो काम गर्ने ठाउँमा पुगिसके। कच्चा, हिलो बाटोमा लामा-लामा पैदल यात्रा, घोड़ामाथि र नाउ- यात्राहरू गरेपछि चार्लस स्टड उत्तर चीनका पिङयङ्ग र ताई - युएन शहरहरूमा आइपुगे। उनले केही महिना यी शहरहरूमा समय बिताए र चीन भाषा सिक्न शुरु गरे। उनले दिन प्रतिदिन प्रार्थना गर्दै र बाइबल पढ्दै परमेश्वरसित घनिष्ठ सम्बन्ध राखे। यसरी उनले चीनमा, सुसमाचार नपुगेका यी ठाउँहरूमा पहिलो डेढ़ वर्ष बिताए। अनि त्यस समयमा उनी बाइबलको मानिस बने। किनकि त्यस समयदेखि उनले प्रायः पवित्र बाइबलबाहेक अरू कुनै पुस्तक पढ़ेनन्। तर बाइबल पढ्नु नै उनको जीवनको प्रमुख सिद्धान्त र सोख भयो। उनले आफ्नो बाइबलमा धर्का र चिन्हहरू लगाउने गर्थे, र एउटा नानीको तयारी मनले झैं वचन ग्रहण गर्थे। बाइबलको पढ़ाइ हुँदा परमेश्वरले उनलाई जे भन्न चाहनुभयो, यसमा उनी पूरा रूपले पवित्र आत्मामाथि भर पर्थे; किनकि उहाँले उनलाई वचनको अर्थ बुझाउनुहुन्थ्यो। यस विषयमा उनको सिद्धान्त एकदम सरल थियो।
५
सी. टी. स्टडले आफ्नो सारा
धनसम्पत्ति दान गरे
तर इङ्गल्याण्ड छोड्नुभन्दा अघि चार्लस स्टडले श्री हड्सन टेलरसँग बातचित गरेका थिए; किनभने उनका बुबाको मृत्युपछि उनले अंशको रूपमा ठूलो सम्पत्ति पाएका थिए। तर हकको सम्पत्ति उनको हुनको निम्ति समय तोकिएको थियोः उनी पच्चीस वर्ष पुगेका हुनुपर्यो।
पवित्र बाइबल पढ्दाखेरि चार्लस स्टडले निम्न वचनहरू पढ़ेका थिएः 'तिमी परिपक्व हुन चाहन्छौ भने, जाऊ, जे तिमीसँग छ, बेच र गरिबहरूलाई देऊ, र स्वर्गमा तिम्रो धन हुनेछ' (मत्ती १९:२१), अनि ‘आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार!' (मत्ती ६:१९)। त्यसपछि उनले शुरुका इसाईहरूको विषयमा पवित्र बाइबलको नयाँ नियममा यसो लेखिएको भेट्टाएः 'अनि तिनीहरूले आफ्नो सम्पत्ति र आफ्ना सामानहरू बेचेर हरेकलाई खाँचो परेअनुसार ती सबै मानिसहरूलाई बाँडिदिन्थे' (प्रेरित २:४५)। अनि अन्तमा उनले त्यस धनी जवानको विषयमा पढ़ेका थिए, जसलाई प्रभु येशूले यसो भन्नुभयोः ‘तिमीमा एउटा कुराको घटी छः जाऊ, तिमीसँग जे छ, त्यो बेच र गरिबहरूलाई देऊ, र स्वर्गमा तिम्रो धन हुनेछ; अनि आऊ, क्रूस उठाएर मेरो पछि लाग!' (मर्कूस १०:२१)। अनि यी वचनहरूको प्रकाशमा उनले आफ्नो सम्पत्तिको विषयमा सुनिश्चित, गम्भीर निर्णय गर्न लागेका थिए। किनकि उनको विचारमा, यी पवित्र वचनहरूद्वारा प्रभु येशूको समयमा बाँचेका मानिसहरू मात्र होइन, तर उनी पनि बाँधिएका र बाध्यतामा परेका थिए। यसकारण उनले आफ्नो सारा सम्पत्ति प्रभु येशूलाई दिने निर्णय गरे। अनि जुन शुभ अवसरको सम्बन्धमा त्यस धनी जवानले प्रभुको समयमा चुकिपठाएको थियो, त्यो शुभ अवसर उनले जुनै हालतमा पनि छोप्न चाहे।
उनको यो निर्णय आवेगको फल थिएन। तर श्री हड्सन टेलरले उनलाई यो निर्णय दुई वर्षपछि मात्र गर्ने सल्लाह दिए; किनभने उनको उमेर दुई वर्षमा मात्र पच्चीस वर्ष पुग्नेथियो र त्यस बेलामा त्यो अंश उनको हुनेथियो। तर यो कुरा उनको मन मान्न तयार थिएन; किनकि उनी आफ्नो जोशको शिकार थिएनन्, तर उनले केवल परमेश्वरको स्पष्ट लेखिएको वचनप्रति आज्ञाकारी हुन खोजे। अनि यी दुई वर्ष बिते। अनि पच्चीस वर्षको जन्मदिन चार्लस स्टडचाहिँ चुङ्गकिङ्ग शहरमा एकलै थिए। यस अवधिको विषयमा उनले आफ्नो डायरीमा यसो लेखे:
'म क्रमिक रूपले बाइबल पढ्दाखेरि एक दिन फेरि सुसमाचारको पुस्तकमा त्यस धनी जवानको वृत्तान्तमा पुगें। अनि परमेश्वरले मलाई मैले आफ्नो सम्पत्तिको विषयमा दुई वर्षअघि गरेको प्रणको सम्झना दिलाउनुभयो। अनि केही दिनपछि हुलाकीले मलाई एउटा पत्र दियो, जुन पत्रचाहिँ मेरो वकील र मेरो ब्यङ्कको अधिकारीले लेखेका थिए र मलाई मेरो अंशको विषयमा मेरो अधिकार हासिल गर्ने अवधि आइसकेको जानकारी दिए। अनि परमेश्वरले मलाई त्यस बेलामा आफ्नो प्रणको विषयमा विश्वासयोग्य रहने शक्ति दिनुभयो। अनि मैले अब के गर्नुपर्ने हो, सो मैले जानें। अनि म यति बेलामा किन चुङ्गकिङ्गमा रहेको थिएँ, सो कुरा मैले अहिले बुझें; किनकि यस दान-पत्रको निम्ति मलाई एउटा राजकीय अधिकारीको सहीको खाँचो परेको थियो। तर जब ब्रिटिश राजदूतले मेरो यो दान-पत्र देखे, तब तिनले मलाई यसो भने: “म यस कागजमा सही गर्दिनँ।” अन्तमा तिनले मलाई दुई हप्ताको म्याद दिए, त्यसपछि, मेरो इच्छा बदली भएन भने, तिनी यस दान - पत्रमा सही गर्न राजी भए। अनि दुई हप्तापछि म फेरि यी राजदूतको सामु उपस्थित भएँ, र मैले यो दान-पत्र फेरि तिनको सामु राखें; अनि तिनले यसमा आफ्नो सहीछाप मारे। हल्लेलूयाह! परमेश्वरले उहाँलाई दान दिने दातालाई यसको सय गुणा बढ़ी दिन्छु भन्ने प्रतिज्ञा गर्नुभएको छ। अनि सय गुणा भनेको दस हजार प्रतिशत हो।'
चार्लस स्टडको अंशचाहिँ लगभग उनतीस हजार पाउण्ड थियो। ( अनि त्यस समयको एक हजार पाउण्ड हिजोआज एक लाख बाइस हजार पाउण्ड हुँदो रहेछ)। इस्वी संवत् १८८७ सालको जनवरी महिनाको तेह तारिखको दिनमा उनले पच्चीस हजार पाउण्ड दान गरे। यस सम्बन्धमा उनी एक विचारशील, निपुण व्यापारीले जस्तै काम गरे। उनले आफ्नो दान स्वर्गको ब्यङ्कमा भएको आफ्नो खातामा लगाइदिए, जहाँबाट उनले यो धन ठूलो सुदसित फिर्ता पाउने आशा गरे। यो कुनै मूर्ख काम थिएन; तर उनले परमेश्वर र मानिसहरूको सामु आफ्नो गवाही दिन चाहेः उनको निम्ति यस पृथ्वीमा परमेश्वरको वचन सबैभन्दा पत्यारलाग्दो कुरा थियो। अनि उनको विश्वास के थियो भने, परमेश्वरले वचनमा प्रतिज्ञा गर्नुभएको सय गुणा बढ़ी उनको हुनेथियो, यस युगमा र आउँदो युगमा पनि। उनको सुदृढ़ परिकल्पना यही थियो, अनि यो एउटा सजीव वास्तविकता ठहरियो।
चार्लस स्टडले पाँच हजार पाउण्ड श्री डी. एल. मूडीलाई पठाए; किनभने बिहारको तिरहुत जिल्लामा, जहाँ उनका बुबाले आफ्नो धन- सम्पत्ति कमाएका थिए, त्यहाँ मूडीज्यूले नजिक भविष्यमा एउटा मिसन- शाखा खोल्नेछन् होलान् भन्ने आशा थियो। अनि मूडीले स्टडको इच्छाअनुसार गर्न खोजे, तर तिनी सफल भएनन्। यसकारण तिनले यो रकम लिए र शिकागो शहरमा पछि सुप्रख्यात भएको 'मूडी बाइबल इन्स्टिचूट' शुरु गरे। तिनले यसको विषयमा आफ्नो अभिप्राय यसरी व्यक्त गरेः ‘यो रकम लिएर मैले कुनै मिसन - शाखा खोल्न सकिनँ, तर म योसित मिल्ने सुयोग्य अर्को काम गर्नेछुः म एउटा विद्यालय खोल्नेछु, जहाँ भाइ- बहिनीहरूले बाइबलको उच्च तालिम प्राप्त गर्नेछन्, र त्यसपछि तिनीहरू सारा संसारमा सुसमाचार प्रचार गर्न निस्किजानेछन्।'
अनि चार्लस स्टडले अर्को पाँच हजार पाउण्ड श्री जर्च मुल्लरलाई पठाए। यसमा चार हजार पाउण्ड तिनको संस्थाको निम्ति र एक हजार पाउण्ड तुहुरा नानीहरूको निम्ति निर्धारित गरिएको थियो। अनि व्याइटच्यापलको निवासी श्री जर्च होलाण्डले अर्को पाँच हजार पाउण्ड पाए; किनकि तिनले लण्डनका गरिबहरूको बीचमा सामाजिक काम गर्दैथिए। तिनले यो रकम स्टडका बुबाको नाममा ग्रहण गर्नुपरेको थियो। किनभने बितेको समयमा श्री होलाण्डबाट चार्लस स्टडका बुबाले धेरै आत्मिक सहायता पाएका थिए। अनि अर्को पाँच हजार पाउण्ड श्री फ्रेड्रिक बूट-ठक्करले पाए, जो सल्वेशन-अर्मी अन्तरगत भारतमा सेवारत थिए। सल्वेशन-अर्मीलाई यो रकम एकदम खाँचो परेको थियो; किनभने तिनीहरूले पचासजना नयाँ कर्मचारीहरू पठाउन लागेका थिए, तर तिनीहरूसित यसको खर्च नभएको हुनाले तिनीहरूले रातभरि प्रार्थना गरेका थिए। अनि प्रार्थना गरेको रातको भोलिपल्ट प्रार्थनाको उत्तरमा चार्लस स्टडले पठाएको यो रकम तिनीहरूको हातमा परेको थियो।
त्यसपछि उनले लण्डनकी सुश्री एन्नी म्याक-फेरसोनलाई एक हजार पाउण्ड, डब्लिनकी सुश्री एल्लन स्मिलीलाई एक हजार पाउण्ड, सल्वेशन-अर्मीका प्रधान श्री विलियम बूटलाई एक हजार पाउण्ड, लण्डन- पूर्वमा सेवारत श्री अर्किबाल्ड ब्राउनलाई एक हजार पाउण्ड र श्री थोमन जोन बर्नारडोको संस्थालाई एक हजार पाउण्ड पठाए। केही महिनापछि चार्लस स्टडले आफ्नो पैतृक सम्पत्तिको विषयमा पक्का जानकारी प्राप्त गरेपछि उनले 'चाइना अन्तर्देशीय मिसन'लाई केही हजार पाउण्ड दान दिए, बाँकी तीन हजार चार सय पाउण्ड उनले आफ्नो निम्ति राखे। अनि उनको विवाहको पवित्र विधि सुसम्पन्न हुनुभन्दा ठीक अगाडि उनले यो रकम आफ्नी दुलहीलाई दिए। तर त्यस बेलामा उनकी पत्नीले उनलाई यसो भनिन्ः ‘चार्लस, प्रभु येशूले त्यस जवान मानिसलाई के भन्नुभएको थियो?' उनले जवाफ दिए: 'उहाँले “तिमीसँग जे छ, त्यो सबै बेच" भन्नुभयो।' ‘यसो हो भने, हाम्रो विवाहको दिनमा, हाम्रो वैवाहिक जीवनको शुरुमा प्रभु येशूसित हाम्रो हिसाबकिताब सठीक पारिहालौं!' यसकारण उनीहरूले यो बाँकी रकम पनि सल्वेशन-अर्मीलाई दान गरे।
६
आइरल्याण्डकी तन्नेरी र
यिनको दिव्य दर्शन
इस्वी संवत् १८८७ सालमा सुश्री प्रिसिल्ला लिविङस्टन स्थूएर्थ अरू सङ्गी-मिसनरीहरूको साथमा शाङ्घाईमा आइपगिन्। यिनी आइरल्याण्डको लिस्बर्न भन्ने ठाउँबाट आएकी थिइन्, जुन लिस्बर्नचाहिँ बेलफास्टको नजिक अवस्थित थियो। यिनको बाहिरी रूपदेखि लिएर भित्री मनसम्म सबको सब आइरिश थियो। यिनी हँसमुखी, आनन्दित, फूर्तिलो र सुस्वस्थ तन्नेरी थिइन्। चीनमा आइपुग्दा यिनी तेइस वर्षकी थिइन्, जसले अठार महिनाअघि मात्र प्रभु येशूलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा अपनाएकी थिइन्। त्यस समयभन्दा अघि यिनले धर्ममा चासो लिँदैनथिइन्, तर मनोरञ्जनको निम्ति जिउने गर्थिन्। तर अब प्रभु येशूले यिनलाई जित्नुभयो र यिनलाई बचाउनुभयो। अनि त्यस दिनदेखि उसो यिनले आफ्नो सम्पूर्ण हृदय उहाँलाई दिइन् र उहाँको नाम लिनदेखि अलिकति पनि लजाइनन्, तर खुला रूपले निडरको साथ आफ्नो गवाही दिइन्।
प्रभु येशूकहाँ फर्केको केही समयपछि प्रिसिल्लाले आफ्नो जीवन प्रभुको सेवामा दिइहालिन्। यिनका आफ्ना शब्दअनुसार यिनी नियमित रूपले सल्वेशन-अर्मीका सभाहरूमा उपस्थित थिइन्, र यिनले उनीहरूको सुसमाचारीय जुलुसहरूमा भाग लिइन्। अनि यी जुलुसहरूमा तिनीहरूले विरोधी मानिसहरूबाट थोत्रा जुत्ता, ढुङ्गा र कुहेका अण्डा र फलफूलको वर्षापात सहनुपरेको थियो। यिनका साथीहरूले यिनलाई चिन्न छोड़े र यिनलाई देख्दा तिनीहरू तर्केर गए।
एक दिनमा प्रिसिल्लाले बाइबल पढ्दैथिइन्, र प्रभुबाट आफ्नो जीवनको निम्ति विशेष निर्देशन पाउने आशा गर्दैथिइन्। तब यिनले बाइबलको पन्नाको किनारमा 'चीन, भारत, अफ्रिका' भन्ने तीनवटा शब्दहरू सुनौलो अक्षरमा लेखिएको देखिन्। अनि यी तीनवटा भविष्यवाणीरूपी शब्दहरू यिनको जीवनमा अक्षरशः रूपले पूरा भए।
जुन बेलामा प्रिसिल्ला शाङ्घाईमा अइपुगिन्, त्यस बेलामा चार्लस स्टड पनि अर्को कामले शाङ्खाईमा आउँदैथिए। त्यस दिनसम्म उनले प्रिसिल्ला स्थूएर्थ नामक स्त्रीको विषयमा केही पनि जान्दैनथिए, र त्यस समयसम्म यिनको नाम धरि सुनेका थिएनन्। उनले यिनको विषयमा यसरी लेखेः
'मेरो भाइ जी.बी. शाङ्खाईमा आउन लागेको खबर मैले सुनेको थिएँ। अनि म तिनीभन्दा दुई हप्ता पहिले त्यहाँ आइपुगें। शाङ्घाईमा मानिसहरूले मैले नजानेको अर्को भाषा बोल्दैथिए; यसकारण मैले चीनका मानिसहरूको बीचमा काम गर्न सकिनँ। तर म ब्रिटिश नाविकहरूको बीचमा काम गर्न थालें। यसको निम्ति हामीले एउटा नाविक - गृहमा बेलुकी सभाहरू आयोजना गर्यौं, जसमा दिन प्रतिदिन मानिसहरूले बढ़ी चासो लिइरहेका थिए।
त्यस नाविक-गृहमा दुईजना स्त्रीहरू थिए। त्यस गृहकी प्रबन्धिका सुश्री ब्लाक थिइन् -- एक रमणीय व्यक्ति। अनि त्यहाँ यसका उप संचालक श्री स्टेवेनसन थिए, जो सबैका बुबा हुन्थे। अनि अन्तमा त्यहाँ एकजना तन्नेरी स्त्री थिइन्, जसको मुटुको समस्या भएको रहेछ; यसकारण यिनी हालैमा चीनका भित्री इलाकाहरूमा जान सकिँदैनथिइन्। अनि केही दिनपछि श्री स्टेवेनसनले यी स्त्रीको विषयमा मेरो राय सुन्न चाहे। मेरो विचारमा यिनलाई मिसन- क्षेत्रमा पठाउनुमा मिसनको गल्ती निर्णय भएको थियो। किनभने यिनी साह्रै कमजोर भएकी देखा परिन्, र सायद यिनले कहिल्यै चीनको कड़ा वातावरण र जन-जीवन सहन सक्दिनन् होलिन्। यो मेरो राय थियो; किनकि यिनी सिढ़ी चढ्नेसम्म असमर्थ थिइन्। पछि मैले यिनको विषयमा यो मेरो राय बदली गर्नुपस्यो। किनभने एक रात यिनी नाविकहरूको सभामा उपस्थित भइन्। अनि दोस्रो सभामा उपस्थित भएको दिनदेखि यिनी एउटा नयाँ मानिस बनिन्; किनकि यिनी यस मिटिङ्गमा सक्रिय भइन्।
त्यति बेला भारतमा सेवारत भएका श्री फ्रेड्रिक बूट ठक्करबाट एउटा चिट्ठी आइपुग्यो, जसले हामी सबैलाई साह्रै प्रभावित पास्यो। यस पत्रले सुश्री स्थूएर्थलाई पनि प्रभावित पारेको हुनुपर्छ। किनकि यिनले ‘सोल्जर्स- रेष्ट' नामक गृहका सभाहरूमा भाग लिइन्। अनि जब म यी सभाहरूको विषयमा मनन गर्छु, तब मलाई दुईजना मानिसहरूको आलो सम्झना आउँछ। एकचाहिँ ‘सफाइर' नामक पानीजहाजको खाद्यपदार्थको प्रबन्धक अफिसर थिए, जसले यी नाविकहरूको देखरेख र अगुवाइ गरे। अनि दोस्रोचाहिँ सुश्री स्थूएर्थ थिइन्। यिनका सुसमाचारका प्रवचनहरू जोशले पूर्ण थिए, ती प्रवचनहरूमा आत्माहरूलाई स्पर्श गर्ने आगो थियो। म यी सभाहरूको सञ्चालक त थिएँ, तर वास्तवमा यी दुईजनाले खास काम गरे। रातैरात नाविकहरू प्रभुमा आए; अनि प्रभुमा आएका मानिसहरूको निक्कै ठूलो टोली बन्दै गयो। तिनीहरू राति, सभापछि आफ्नो जहाजमा फर्कन्थे र भोलिपल्ट आफ्ना साथीहरूलाई लिएर अर्को सभामा आउँथे। अनि तिनीहरूका साथीहरूमध्ये फेरि कतिले प्रभुलाई पाए।
शाङ्घाईमा बिताएका यी दिनहरूले मलाई निक्कै प्रभावित पारे; किनभने परमेश्वरको आत्माले त्यस जगहमा काम गर्नुहुन्थ्यो। राति सड़कमा ड्यूटी गर्ने प्रहारीहरूमा समेत तिनीहरूले आफ्नो आत्माको मुक्तिको विषयमा फिक्री गरेको वातावरण मैले महसुस गरें। अनि सुश्री स्थूएर्थको स्वास्थ्यमा पनि सुधार आयो। अब यिनी सिढ़ी चढ्नु त के, यिनले सिढ़ीका तीन-तीन कदम एकैपल्ट चढ्ने गरी माथि-तल गर्थिन्। यिनले बितेको समयमा सल्वेशन - अर्मीमा सिकेका आत्मिक गीतहरू गाउने गर्थिन्। अरू मानिसहरूलाई यो अनौठो लाग्यो होला, तर हामीले ठूलो सोरले प्रभुको प्रशंसा गर्दै रह्यौं, जसले हाम्रो बीचमा प्रत्यक्ष रूपले काम गर्नुहुन्थ्यो।'
अनि केही महिनापछि चार्लस स्टडले आफ्नी आमालाई निम्न कुरा लेखेः ‘केही समयअघि सुश्री स्थूएर्थ चीनमा आइपुगिन्। अनि परमेश्वरले यिनको सेवकाईमाथि आफ्नो अनुमोदनको छाप लगाउनुभयो। किनभने यिनको खातिर जताततै सुसमाचार कहिल्यै नसुनेका मानिसहरूको बीचमा ढोकाहरू खोलिए; यिनले ती मानिसहरूको निम्ति तिनीहरूको उपस्थितिमा प्रार्थना गरिन् र तिनीहरूलाई प्रभुकहाँ डोस्याइन्। म अति हर्षित छु; किनभने प्रभु येशूले मलाई साहसको साथ उहाँको सेवा गर्ने अनुग्रह दिनुभएको छ। प्रभुको स्तुति होस्, मैले उहाँको सेवामा आफ्नो सम्पूर्ण जीवन खर्च गर्न पाएको छु। इसाई जीवन कति धन्यको हो, यसको साध्य छैन। योजस्तै सुखी जीवन अरू कुनै जीवन छैन।'
७
चार्सल र प्रिसिल्लाले प्रभु येशूको लड़न्त सँगै गर्न पाए
प्रसिल्ला स्थूएर्थ अरू तीनजनासँग चीन - आन्तरिक ताकुताङ्ग शहरमा गए। अनि चार्लस स्टडचाहिँ ताई - युएन-फूमा फर्के। अनि आउँदा दिनहरूमा उनीहरूको बीचमा गहन पत्राचार भइरह्यो। अनि यस पत्र- व्यवहारको एउटै उद्देश्य थियो। तर प्रिसिल्लालाई सजिलोसँग जिल सकिँदैनथियो। किनकि चार्लसले यिनलाई जूनको ९ तारिखमा पहिलो चिट्ठी लेखे, र उनीहरूको बीचको मगनीचाहिँ अक्टूबरको ५ तारिखमा भएको हो। अनि उनीहरूको बीचमा प्रेमको सम्बन्ध कसरी बढ्यो र विवाहमा टुङ्गियो, सो कुरा चार्लसले यसरी बयान गरेः
'हाम्रो बीचको मगनी कसको प्रस्ताव थियो, सो कुरा
सधैं एउटा विवादको विषय रहला। किनभने यिनको विचारमा, मैले यिनलाई पत्र लेखेर मगनीको कुरा उठाएँ अरे। तर मेरो विचारमा, यिनले मसँग मगनीको कुरा उठाइन्। वास्तवमा यिनले यो आफ्ना आँखाहरूको इसाराले होइन, यिनको मुखका शब्दहरूले पनि होइन, तर यिनले आफ्ना कामहरूले गरिन्। मैले यिनलाई यिनको सुन्दर रूपले गर्दा विवाह गरिनँ। तर यिनले आफ्नो सम्पूर्ण जीवन प्रभु येशूको निम्ति अर्पण गरेकी हुनाले मैले यिनलाई विवाह गरें। यिनमा साँच्चै हराएका मानिसहरूको निम्ति तिनीहरूले मुक्ति पाऊन् भन्ने बोझ छ।
यो क्षण मलाई याद छ, जब म ताई - युएनमा अर्को सहकर्मी मिसनरीसँग बसेर बातचित गर्दैथिएँ, अनि तिनले मलाई भिस्क्याएर भनेः “चार्लस, के तिमीलाई थाहा छ, कि शाङ्घाईकी सबैभन्दा सुन्दर अप्सारासित तिम्रो मगनी भएको छ?” अनि यो कुरा वास्तवमा मेरो लागि एउटा ठूलो झटको थियो; किनकि मैले त्यस दिनसम्म यिनको सुन्दर रूपमाथि ध्यान दिएको थिइनँ। तर आज रूपवानताको विषयमा मेरो राय यस प्रकारको छः परमेश्वरले मानिसहरूलाई दिनुभएका सबै असल दानहरूमध्ये सुन्दरताचाहिँ सबैभन्दा सानो हुँदो रहेछ।'
चार्लसका प्रेम-पत्रहरू प्रिसिल्लासँग छँदैथिए, र प्रत्यक्षसाक्षी थिए। उनका यी पत्रहरूमध्ये एउटामा यसरी लेखिएको थियोः
सन् १८८७, जुलाई २५ तारिखको दिनः मैले एकलै एक हप्ता उपवास र प्रार्थनामा बिताएँ, अनि मलाई के लाग्यो भने, तिमीले आफ्नो नकार्ने विचार बदली गर्नुपर्छ र यस कुरामा परमेश्वरको मनसाय र इच्छा बुझ्न कोशिश गर्नुपर्छ। अनि मलाई आशा छ, कि प्रभुले यो तिमीलाई देखाइदिनुहुन्छ। मेरो लागि सबै सुस्पष्ट भइसक्योः म तिमीलाई विवाह गर्न चाहन्छु। मेरो निम्ति यो प्रभुको इच्छा हो। जुन दिनमा मैले तिम्रो चिट्ठी पाएँ, त्यस दिनदेखि मैले आफ्नो काम पन्साएँ, मैले खाना खान र सुत्न छोड़ें, मैले प्रार्थनामा परमेश्वरको खोजी गरें, र मैले उहाँको इच्छा जान्न खोजें। अनि यस कुरामा मैले उहाँको अगुवाइ पाएको मलाई लागेको छ; उहाँ मसँग बोल्नुभएको मलाई लाग्छ। यसकारण हिम्मत बाँधेर म भन्छुः म तिमीलाई विवाह गर्न माग्छु।
तिमीले मसँग विवाह गरेपछि पक्का पनि तिम्रो जीवन सजिलो हुनेछैन, एउटा सुख र ऐशले पूर्ण जीवन हुनेछैन। यस प्रकारको जीवन म तिमीलाई दिन सक्दिनँ। तर हाम्रो जीवन परिश्रम र कठिनाइले पूर्ण हुनेछ। तिमी परमेश्वरकी साहसी स्त्री नभएकी भए मैले तिमीसित तिमीलाई विवाह गर्ने प्रस्ताव गर्नेथिइनँ। किनभने परमेश्वरको सेनामा मलाई एउटा सह- सिपाहीको खाँचो छ। हाम्रो जीवन विश्वासको भरमा जिउने जीवन हुनेछ। हाम्रो जीवन लड़न्तको जीवन हुनेछ। याद राख, यहाँ हाम्रो रहिरहने शहरै छैन, हाम्रो घरै छैन। हाम्रो अनन्त घर स्वर्गमा छ, परमेश्वर पिताको घरमा हाम्रो घर हुनेछ। हाम्रो जीवन यस्तो हुनेछ। प्रभु येशूले तिमीलाई यस कुरामा सठीक अगुवाइ गरिदिऊन्!'
'अक्टूबर ८ तारिखको दिनः प्रिया, म तिमीसँग कुरा अघि बढ़ाउन चाहन्छु। म तिमीलाई विन्ती गर्छुः परमेश्वर हाम्रा पितासँग दिन प्रतिदिन निम्न प्रार्थना चढ़ाऊ; हाम्रो जीवनको हरेक दिनमा उहाँको इच्छाअनुसार हामी चाहे सँग हौं, चाहे एक-अर्काबाट अलग बस्नुपर्छ, हामी एक- अर्कालाई प्रभु येशूको हातमा अर्पण गरौं! हामी कहिल्यै एक-अर्काको निम्ति मूर्ति नबनौं!'
अक्टूबर १४ तारिखको दिनः म तिमीलाई प्रेम गर्छु; किनकि तिमीले प्रभु येशूलाई प्रेम गछौं। म तिमीलाई प्रभु येशूप्रति तिम्रो विश्वासको खातिर प्रेम गर्छु। म तिमीलाई उहाँको निम्ति भएको तिम्रो जोशको खातिर प्रेम गर्छु; म तिमीलाई हराएका मानिसहरूको निम्ति भएको तिम्रो प्रेमको खातिर प्रेम गर्छु। म तिमीलाई प्रेम गर्छु, किनकि तिमीले मलाई प्रेम गछ्र्यौ। म तिमीलाई प्रेम गर्छु, सदा-सर्वदा प्रेम गर्छु; किनकि प्रभु येशूले तिमीलाई प्रयोग गरेर मलाई आशिष दिनुभयो र मेरो मनमा आत्मिक जोशको आगो सल्काइदिनुभयो। म तिमीलाई प्रेम गर्छु; किनकि तिमी मलाई सधैं प्रेरणा दिने गुलाफ हुनेछ्यौ, जसको सुवासनाले मलाई सधैं अघि बढ़ाउँदै लाने साहस र उत्साह दिन्छ। हे प्रभु येशू, म तपाईंलाई यस सुन्दर उपहारको निम्ति मुरी मुरी धन्यवाद चढ़ाउँछु!'
सन् १८८८ सालमा उनीहरूको बीचमा विवाह सुसम्पन्न भयो। यसको निम्ति उनीहरू समुद्र-तटमा अवस्थित टिन्टसिन शहरमा जानुपस्यो; किनभने त्यहाँ ब्रिटिश राजदूत बस्थे, जसले उनीहरूको बीचको विवाह औपचारिक रूपले दर्ता गरे। तर उनीहरूको मण्डलीको विवाह ताकुताङ्गमा सुश्री स्थूएर्थको मिसन - केन्द्रमा स्थानीय पाष्टर शीले सुसम्पन्न गरे, जो प्रख्यात चीनको प्रचारक थिए। यसरी नै उनीहरूले चिनियाँहरूलाई खुशी तुल्याए र तिनीहरूको मन जिते। दुलहीको वस्त्रमा एउटा सेतो फिता बाँधिएको थियो, जसमाथि 'प्रभु येशूको लड़न्तमा एक भएको' लेखिएको थियो। अनि विवाहको सेवाको अन्तमा दुवैजनाले घुड़ा टेकीकन परमेश्वरको सामु गम्भीरतासाथ प्रण दिए: 'हामी एक-अर्कालाई कहिल्यै तपाईंको सेवा गर्न बाधा दिनेछैनौं।'
८
यी दुईजनाले मध्यचीनमा सामना गर्नुपरेका जोखिम र कठिनाइहरू
यो नयाँ दम्पत्ति सीधा लुङ्गाङ्ग -फूमा गयो, जहाँ उनीहरूले प्रभुको निम्ति एउटा नयाँ काम शुरु गरे। उनीहरूको साथमा सुश्री बुर्रोज, श्रीमती स्टडकी साथी र सहकर्मी, साथै सुश्री इडिथ बेवेस थिए। त्यस समयको चीन वर्तमान चीनभन्दा धेरै फरक हुन्थ्यो। चिनियाँहरूकहाँ मुक्तिदाता प्रभुको परिचय दिनेहरूले यसको निम्ति अनेक जोखिमहरू उठाउनुपरेको र धेरै पल्ट विरोध, निन्दा र शहीदपनको दाम चुकाउनुपरेको थियो।
प्रिसिल्ला स्टडले यस सम्बन्धमा निम्न प्रतिवेदन लेखे:
'हामीले भाड़ामा लिएको पहिलो घरचाहिँ एउटा तर्साउने घर थियो। त्यस शहरमा अरू कुनै घर भाड़ामा लिन पाइँदैनथियो; किनकि हामीले कुनै युरोपेली नभएको जग्गामा जाने तय गस्यौं। तर राक्षस मानिएका विदेशीहरूलाई कसैले पनि आफ्नो घर दिन चाहँदैनथियो। तर अन्तमा एकजना दुष्ट, वृद्ध मानिसले हामीलाई आफ्नो तर्साउने घर दियो। घरका भित्ताहरूमा चुना लगाइएको थियो, त्यसको भुइँचाहिँ इँटले जसोतसो छापिएको थियो, अनि कोठाको बीचमा एउटा अगेनो र इँटले बनाइएको पलङ थियो। हाम्रो डस्ना एक इन्च मोटो कपास थियो। तीन वर्षसम्म हाम्रो सुत्ने ठाउँ यस प्रकारको थियो। तर पछि यो यति बढ़ी बिच्छीको अड्डा भयो कि हामीले यो तोड्नुपरयो। त्यसपछि हाम्रो पलङ एउटा खाट भयो।
पाँच वर्षसम्म घरबाट निस्कँदा हामीले सधैं हाम्रा छिमेकीहरूबाट मुखभरिको श्राप सुन्नुपर्थ्यो। तर बिस्तारै तिनीहरू हामीसँग मिलनसार भए अनि हामीले तिनीहरूको निम्ति आफ्नो घर खोलेर तिनीहरूलाई हाम्रो डेरा देखायौं। तिनीहरूले सबै कुराहरू नियालेर हेरे र हाम्रा सरसामानहरूमा चासो लिए। त्यसपछि जब तिनीहरूको जिज्ञासो मेटेको थियो, तब तिनीहरूका घरहरूमा जाने हाम्रो पालो आयो।'
यस शहरका मानिसहरू आत्मिक हिसाबले बाँझो जमिन ठहरिए ता पनि उनीहरूले सुसमाचारको अद्भुत शक्तिले काम गरेको देख्न पाए; किनभने अचम्म प्रकारले सुसमाचारको प्रचारले मानिसहरूको कठोर हृदय पगाल्न सक्यो र परमेश्वरका यस्ता शूरवीरहरूलाई जन्माए, जसले जुनसुकै सतावट सामना गर्न सके।
चार्लस स्टडले यसको विषयमा आफ्नो प्रतिवेदनमा निम्न बयान लेखे:
'एक समयमा मेरी पत्नीले एउटा चिनियाँ स्त्रीसित कुरा गरिन्, जसले यिनलाई सुसमाचार सुनाउन बोलाई। यस स्त्रीले सुनेको वचनमा निक्कै चासो लिई। यसकारण प्रिसिल्लाले उसलाई क्रूसमा टँगिनुभएको प्रभु येशूको नक्सा देखाइन्। अनि जब उसले गलगथामा प्रभु येशूको पापबलि हुनुभएको कथा सुनी, तब उसका गालाबाट भलभली आँसु झरे।
एक दिन हाम्रो सभा सकिएको थियो, र मानिसहरू घर जाँदैथिए; तब एकजना चिनियाँ कोठाको पछाड़ि बसिरह्यो। हामी त्यस मानिसकहाँ गएपछि त्यसले हामीलाई अर्थहीन बकवाद गरेको दोष लगाइहाल्यो। त्यसले हामीलाई यसो भन्योः “म एक हत्यारा हुँ, र एउटा व्यभिचारी पनि। मैले परमेश्वरका सबै आज्ञाहरू र देशको कानुन घरिघरि भङ्ग गरेको। अफीम धुम्रपान गर्दै गरेको मेरो लत छ। म कहिल्यै मुक्ति पाउन सक्दिनँ।” तब हामीले उसलाई प्रभु येशूले गर्नुभएका अचम्मका कामहरू सुनायौं अनि उहाँको त्राणात्मक मृत्युको सुसमाचार र उहाँको शक्तिको वर्णन दियौं। अनि अचम्म, यस मानिसले प्रभु येशूलाई तत्कालै ग्रहण गरयो। त्यसपछि उसले हामीलाई भन्योः “म आफ्नो गाउँमा जानुपर्छ, जहाँ मैले यी सबै दुष्ट कामहरू र अधर्महरू गरेको थिएँ। म त्यस जग्गाका मानिसहरूलाई मुक्तिको सुसमाचार सुनाउनुपर्छ।” अनि उसले यसो गरिछाड्यो। उसको गाउँमा भी भीड़ मानिसहरू भेला भए। अनि अन्तमा त्यो भाइ न्यायिक अधिकारीको सामु ल्याइयो र उसले बाँसको छड़ीको पिटाइ खायो, यहाँसम्म कि त्यसको पिठ्यूँ पूरा रक्तम्मे, पूरा चिया-चिया परेको थियो। ऊ बेहोश भयो, र मानिसहरूले उसलाई मरेको ठाने। तर उसका साथीहरूले उसलाई अस्पतालमा ल्याए र त्यहाँ इसाई नर्सहरूले उसलाई निको पारे, र ऊ फेरि हिँड्ने भयो। तब उसले भन्योः “म फेरि त्यहाँ फर्केर जानुपर्छ र त्यहाँका मानिसहरूलाई सुसमाचार प्रचार गर्नुपर्छ।” हामीले उसलाई सकभर रोक्न कोशिश गर्यौं। तर केही समयपछि ऊ सुटुक्क भागिहाल्यो, र उसले आफ्नो ठाउँमा सुसमाचार प्रचार गरयो। अनि त्यो भाइ फेरि न्यायकर्ताको सामु ल्याइयो। तर तिनीहरू उसलाई फेरि बाँसको छड़ीले पिट्न लजाए। यसकारण तिनीहरूले उसलाई झ्याल- खानामा हाले, जसको कोठाको भित्तामा ससाना झ्यालहरू थिए। अनि उसले यी झ्यालहरूबाट बाहिरका त्यहाँबाट आउजाउ गरेका मानिस - हरूलाई सुसमाचार प्रचार गरयो, र भीड़ मानिसहरू भेला भए। अनि उसले झ्यालखानाभित्र बाहिर भन्दा बढ़ी प्रचार गर्ने मौका पायो। पछि तिनीहरूले उसलाई छोड़े; किनकि तिनीहरूले उसको विश्वास र मन बदली गर्न सकेनन्। त्यो निष्ठावान् भाइ तिनीहरूको निम्ति अजय भएको थियो।'
चार्लस स्टडले आफ्नो धेरै समय अफीमको लत भएका मानिसहरूको निम्ति खर्च गर्दैथिए; किनकि उनले यस्ता लत परेकाहरूको निम्ति एउटा ‘रेहाब’-गृह खोले। अनि कहिलेकाहीं पचास मानिसहरूसम्म त्यहाँ बस्थे उनले यस सेवकाईको विषयमा लेखे: 'हामीले अफीमको लत भएका मानिसहरूलाई भर्ना गर्न र निको पार्न थाल्यौं। पहिले दुईजना आए। एक महिनापछि तिनीहरू अचम्म प्रकारले निको भए, र तिनीहरूले अफीमको लतबाट छुटकारा पाए। धेरैजनाका आँखाहरूको निम्ति यो एउटा अद्भुत काम थियो। त्यसपछि निको हुन खोज्ने मानिसहरूको धुइरो लाग्यो। सात वर्षभित्र जम्मा लगभग आठ सयजना पुरुष र स्त्रीहरू हाम्रो रेहाब - गृहमा बसे, कतिजनाले मुक्ति पाए, धेरैजना निको भए।'
यस समयमा स्टडको परिवारमा चारजना छोरीहरू जन्मे, जसले उनीहरूको घर उज्यालो पारे। तर पाँचौं नानीचाहिँ केवल एक दिन बाँच्यो; किनकि तिनीहरूको जन्ममा कहिल्यै कुनै डाक्टर उपस्थित भएनन्। अनि सन् १८८९ सालमा उनीहरूकी जेठी छोरी जन्मिँदा प्रभु येशूको दिव्य स्पर्शमा मात्र प्रिसिल्ला स्टडको ज्यान बाँच्यो।
यस दुःखको घड़ीको विषयमा चार्लस स्टडले यसो लेखे:
‘चार-पाँच दिनको बाटोको परिधिमा कुनै डाक्टर, कुनै नर्स थिएनन्। यसैले डाक्टरको सेवा पाउन के हामी नानीको जन्म हुने मितिभन्दा तीन महिनाअघि आफ्नो काम गर्ने क्षेत्र छोड़ेर जाऔं कि नजाऔं भन्ने प्रश्न उठ्यो। त्यसपछि प्रिसिल्ला फेरि तन्द्रुस्ती हुन के हामी अझै दुई महिना पखेँ? के हामी पाँच महिना हाम्रो मिसनको काम छोड़ौं? हामीले यसो नगर्ने निर्णय गरयौं, तर हामी येशू नाम गर्नुभएको वैद्यमाथि भर पस्यौं। यो हाम्रो अन्तिम फैसला थियो।'
उनले यस विषयमा आफ्नी आमालाई लेखेः 'प्रसव पीड़ा लागेको बेलामा प्रिसिल्लाको शरीरमा केही गड़बड़ी आयो। यिनले आफ्नो पहिलो नानी जन्माउँदा धेरै दुःख पाइन्। सुश्री केर्रले सुँड़िनीको भूमिका निभाइन् र यिनलाई सकभर मद्दत त गरिन्, तर यसको केही सीप लागेन। यसैले सुश्री केर्रले मलाई भनिन्ः “प्रिसिल्ला यस भारी व्यथले गर्दा मरिनन् भने र यसपालि बाँचिन् भने, मेरो विचारमा, यिनी फेरि कहिल्यै चीनमा जिउन सक्नेछैनन्। तपाईंले यिनलाई यूकेमा लानुपर्छ।” तिनको यी शब्दहरूले मलाई मेरो निद्राबाट बिउँझाए, मेरो शोक र फिक्रीबाट बिउँझाए र मेरो भारी थकावटबाट जगाए। मैले भनें “हामी यहाँ हाम्रो जीवन खर्च गर्न आएका हौं, हामी घर फर्कनेछैनौं; प्रभुले हामीलाई अर्को निर्देशन नदिनुभएसम्म हामी यहाँ रहने नै छौं।”
मलाई के लाग्यो भने, प्रभुले हाम्रो प्रार्थना सुन्नपर्छ र यिनलाई निको पार्नुपर्छ; किनभने हामीले उहाँमाथि भरोसा गरेका छौं; अनि उहाँ विश्वास- योग्य हुनुहुन्छ। यसकारण मैले प्रिसिल्लालाई तेलले अभिषेक गर्ने र परमेश्वरलाई “यिनलाई उठाउनुहोस्” भन्ने पुकार गर्ने निर्णय गरें। सुश्री केर्रले यस कुरामा मलाई साथ दिइनन्; यसकारण म यस पवित्र कार्यमा एकलै भएँ, तर प्रिसिल्ला मसँग राजी भइन्। तब मैले घुँड़ा टेकें र यिनलाई प्रभुको नाममा तेलले अभिषेक गरें। तत्कालै यिनको समस्या समाधान भयो। भोलिपल्ट जब सुश्री केर्र यिनको स्याहार गर्न आइपुगिन्, तब तिनले यिनलाई सोधिन्ः “के भयो? अरे, तिमी त निको भएकी, कसरी?” प्रिसिल्लाले तिनलाई जवाफ दिइन् : “ चार्लसले मलाई प्रभुको नाममा तेलले अभिषेक गर्नुभयो र प्रार्थना गर्नुभयो।” तब तिनले मानिन् र स्वीकार गरिन्ः “ओहो, एउटा अचम्मको काम भएको हुनुपर्छ।” हो, हामी आफूमा, आफ्नो शारीरिक अवस्थामा लाचार भएका पापी मानिस हौं, तर प्रभुले हाम्रो पुकार सुन्नुहुँदो रहेछ।'
श्रीमती स्टडले यसो लेखिन्ः 'मैले पाँचजना नानीहरू जन्माएँ, तर तिनीहरूको जन्ममा कुनै डाक्टर उपस्थित भएनन्। परमेश्वरले मेरो जीवनमा अद्भुत काम गर्नुभयो।'
परमेश्वरले उनीहरूलाई विवाह गरेका पहिला पाँच वर्षमा कसरी जिउन र जीविका चलाउन आवश्यक खाँचो जुटाइदिनुभयो, सो विस्तृत जानकारी हामीसँग छैन। तर उनीहरूको विवाहको दिनमा उनीहरूसँग भएको सारा सम्पत्ति केवल पाँच पाउण्ड र केही कपड़ा थियो, सो जान्नमा आएको छ। यहाँ चार्लस स्टडको डाइरीबाट निम्न बयान उद्धृत गर्न लायक छः
'इङ्गल्याण्डमा मेरो परिवार यति जान्दथियो, कि हामीले चीनको अन्तर्देशमा प्रभुको सेवा गरिरहेका। अनि एक दिन हामीले हाम्रो अन्तिम पैसा खर्च गरिसकेका थियौं। अनि यस अवस्थामा मानिसको दृष्टिले हेर्ने हो भने कहींबाट कुनै मद्दत पाउन असम्भव देखिन्थ्यो। किनभने हुलाकी आउन दुई हप्ता बाँकी थियो।
आफ्ना छोरीहरूलाई सुताएपछि मेरी पत्नी मेरो कोठामा आइन्। अनि यस विषयमा हामीले कुरा गर्नुपर्दैनथियो; किनभने हामी दुईजनालाई स्पष्ट थियोः हाम्रो अवस्था नाजुक थियो। कसैको सहायता पाएनौं भने हामी भोकै बस्नुपर्छ। यसकारण हामीले यस साँझमा प्रार्थनामा समय बिताउने निर्णय गरयौं। हामीले घुँड़ा टेक्यौं र लगभग बीस मिनिटजत्ति प्रार्थना गर्दैथियौं। यस अवधिमा हामीले परमेश्वरको सामु हाम्रो सारा फिक्री पोख्यौं, र हाम्रो मन हल्का भयो। किनभने उहाँको निम्न वचनबाट हामीले ढाढ़स पायौंः “तिमीहरूले उहाँबाट माग्नुभन्दा पहिल्यै, तिमीहरूलाई के- के खाँचो छ, सो तिमीहरूका पिताले जान्नुहुन्छ” (मत्ती ६:८)।
अनि परमेश्वरले सठीक समयमा हामीलाई हाम्रो प्रार्थनाको उत्तर दिनुभयो। किनकि हुलाकी निर्धारित समयमा आइपुग्यो। हामीले चिट्ठीको थैली खोल्यौं, सबै चिट्ठीहरू नियालेर हेस्यौं, तर त्यहाँ कुनै रकम थिएन। वल्ल परेर हामीले एक-अर्कालाई हेर्दैथियौं। त्यसपछि मैले त्यो थैली फेरि एक पल्ट उठाएर हल्लाएँ। तब एउटा लिफा भस्यो। यसो हेर्दा यसको लेखक हाम्रो निम्ति अपरिचित थियो। हामीले उसको पत्रमा निम्न शब्द पढ्यौंः
“प्रभुमा प्रियहरूहो, मैले परमेश्वरबाट तपाईंहरूलाई एक सय पाउण्ड पठाउने आदेश पाएँ; यसको खास कारण मलाई थाहा भएन। किनकि तपाईंसित मेरो भेट कहिल्यै भएको थिएन। मैले तपाईंको विषयमा सुनेको थिएँ। तर बितेको रातमा मैले निद्रा पाइनँ; अनि परमेश्वरले मलाई आफ्नो यो सुस्पष्ट आदेश दिनुभयो। उहाँले किन यसो गर्नुभयो, यसको विषयमा म अनजान छु। तर मेरो आशा छ, कि यो रकम तपाईंहरूलाई काम लाग्ला। प्रभुमा भाइ फ्रान्क क्रोसली।" यस अज्ञात लेखकको पत्रले हाम्रो अनुहार कति उज्यालो पारयो, यसको साध्य छैन।'
सन् १८९४ सालमा चार्लस स्टडको परिवार इङ्गल्याण्डमा फर्क्ष्यो। उनीहरूले चीनमा दस वर्ष प्रभुको सेवा गरेका थिए। एक वर्षअघि झन्डै चार्लसको मृत्यु भएको थियो। हामीले फेरि प्रिसिल्लाको डाइरीको सहारा लिएर निम्न जानकारी पाउँछौं:
'सन् १८९३, मार्च २७ तारिखको दिनः चार्लस आज दिनभरि सिकिस्त बिरामी हुनुहुन्थ्यो। अनि प्रभुले आजको दिनमा उहाँलाई उठाइलानुहुन्छ कि मलाई लाग्यो। हामीले सकभर उहाँको पीड़ा कम गर्ने कोशिश गस्यौं, तर भएन। साढ़े चार बजेतिर उहाँले हामीलाई 'मलाई तेलले अभिषेक गर' भन्ने विन्ती गर्नुभयो। अनि त्यो पवित्र कार्य उहाँका घनिष्ठ साथीहरू र उहाँका सहकर्मीहरूले पूरा गरे। अनि मध्यरातदेखि उहाँलाई सास फेर्न हलका भयो, अनि बिहानै उहाँ निक्कै बिसेक भइसक्नुभयो।'
सन् १८९३, एप्रिल २ तारिखको दिनः मैले चार्लसलाई सोधें: “चीन छोड़ेर जाने र घर फर्कने सम्बन्धमा तपाईंको विचार के हो?” “मैले यसको विषयमा प्रभुबाट कुनै निश्चित निर्देशन पाएको छैन; प्रभुले खटाउनुभएको ठाउँ आदेशविना छोड्नु एउटा गम्भीर कुरा हो; म यस कुरामा परमेश्वरको अगुवाइमाथि भरोसा गर्न चाहन्छु;” यो उहाँको उत्तर थियो।
तर एक वर्षपछि प्रभुको आदेश आयो। उनीहरूले आफ्ना चारजना छोरीहरूलाई लिएर चीनको अन्तर्देशबाट शङ्खाईको बन्दरगाहतर्फ लामो र कष्टदायक यात्रा गरे। अनि पौलिनचाहिँ भर्खर जन्मेकी दुधे बालिका थिई।
आउँदा पाँच वर्ष स्टडको परिवार यूके र यू. एस. ए.मा बस्यो। उनीहरूको स्वास्थ्यले साथ दिएसम्म उनीहरूले सुसमाचार - धावाहरूमा भाग लिए। यस समयमा उनीहरूले इसाईहरूको बीचमा मिसनको निम्ति तिनीहरूको चासो बढ़ाउन कोशिश गरे।
९
छ वर्ष भारतमा
'तिमी यस चर्चको सभामा जानुहुँदैन, नत्र ता तिमी क्रिस्तान हुन्छौ - हुन्छौ।” यो कुरा ऊटीको मण्डलीको विषयमा भनिन्थ्यो, जुन समयमा चार्लस स्टड यस मण्डलीको पास्टर हुन्थे। किनकि दक्षिण भारतको यस शहरमा उनी सन् १९००-१९०६ सालमा यूनियन - चर्चमा सेवारत थिए।
उनले प्रभु येशूलाई ग्रहण गरेको समयदेखि उनको परिवारसँग भारतमा सुसमाचार प्रचार गर्ने कर्तव्य छ भन्ने उनलाई लाग्थ्यो। अनि उनको मर्न लागेका बुबाको अन्तिम इच्छा पनि यो थियो। अनि यसको विषयमा उनले आफ्नी आमालाई चीनबाट निम्न पत्र लेखेका थिएः
जी.बी.ले मलाई भन्दैथिएः उत्तर भारतमा, बिहारको तिरहुतमा स्टडको नाम सुपरिचित छ। अनि हाम्रा पिताजी त्यहाँ बस्दा उहाँलाई हेर्न मानिसहरूको धुइरो लाग्थ्यो। अनि यी मानिसहरूले हाम्रा पिताजीमा के देख्न पाएका थिए त? तिनीहरूले एकजना इन्डिगो - फार्मको मालिकलाई पो देख्थे, जसले त्यहाँ आफ्नो धन कमाउनुहुन्थ्यो। तर तिनीहरूले स्टडमा कहिल्यै तिनीहरूको मुक्ति खोज्ने भलादमीलाई देख्न पाएका थिएनन्। तब मेरो मनको प्रश्न छः के तिनीहरूले ख्रीष्टको राजदूत भएको स्टडलाई कहिल्यै देख्न पाउनेछैनन् त?'
अनि अहिले उनलाई यो मौका मिल्यो। किनकि उनका बुबाको पुरानो साथी श्री विन्सेन्टले उनलाई उनका बुबाको अन्तिम इच्छा पूरा गर्ने हौसला दिएः तिरहुतमा गएर उनले इन्डियो-बागानका मजदूरहरूको निम्ति सुसमाचारका सभाहरू आयोजना गरून्। उनले तिनको यो प्रस्ताव ग्रहण गरे र तिरहुतमा छ महिनासम्म सुसमाचार प्रचार गरे। त्यसपछि उनले एङ्लो- इन्डियन गोस्पल सोसाइटीबाट ऊटीमा यूनियन चर्चको पास्टरको बोलावट
पाए।
ऊटीमा उनले विभिन्न मानिसहरूको बीचमा सेवा गर्न पाउँथे। यहाँ मैसूर र मद्रास जिल्लाका चिया - बागानका श्रामिकहरू बस्थे, यहाँ यूरोप र एसियाका बासिन्दा हुन्थे, अनि ऊटीको नजिकै एउटा सैनिक विश्राम गृह पनि हुन्थ्यो; त्यहाँका सिपाहीहरूको बीचमा उनी लोकप्रिय हुन्थे। सैनिक अफिसरहरू र सरकारी अधिकारीहरू र तिनीहरूका परिवारहरू, अँ, मद्रासको गवर्नर र यिनकी पत्नीले समेत ऊटीमा गर्मी महिनामा बस्ने गर्थे।
उनको आदतअनुसार उनले यूनियन चर्चमा र चिया - बागानहरू हुँदो पूरा तनमनले प्रचार गर्थे। अनि उनको प्रचार धेरैले ग्रहण गरे। श्रीमती स्टडले यसो लेखेः ‘हरेक हप्तामा एकजनादेखि तीनजनाले प्रभु येशूलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्ने गर्थे। मेरो विचारमा यस्तो कुनै हप्ता नै थिएन, जुन हप्तामा कोही पनि प्रभुकहाँ फर्केर आएन।'
प्रभु येशूकहाँ फर्कने मानिसहरूको बीचमा सैनिक कार्यालयका मुख्य हाकिम थिए। तिनले तेइस वर्षसम्म बाइबल खोलेकै थिएनन्, पढ़ेकै थिएनन्। तर एक दिनमा तिनको कान्छो छोराले तिनलाई यूनियन चर्चको सभामा जाने प्रोत्साहन दियोः 'बुबा, तपाईंले श्री स्टडको प्रवचन सुन्नुपर्छ; किनकि प्रचारको मञ्चबाट उहाँले चपाती र घीको कुरा गर्नुहुन्छ।' किनभने प्रभु येशूले स्टडको परिवारको दैनिक आवश्यकताको निम्ति कसरी प्रबन्ध गर्नुभएको थियो, सो कुराको उदाहरण चार्लस स्टडले एकपल्ट प्रचारमा दिएका थिए। जे होस्, यी कार्यालयको मुख्य हाकिम चर्च गए, अनि फेरि गए। केही समयपछि तिनले चार्लस स्टडलाई निम्न पत्र लेखेः 'हरेक आइतवार मलाई चर्च जान गाह्रो, झन् गाह्रो भयो। अनि बितेको हप्तामा म निर्णयको मोड़मा आइपुगें। मेरो मनमा ठूलो संघर्ष चलिरहेको थियो, किनकि म परमेश्वरसित र शैतानसित लड़ाइँ गर्दैथिएँ। परमेश्वरलाई धन्यवाद होस्, उहाँको जीत भयो।' तिनको जीवनको परिवर्तन यति सुस्पष्ट थियो, कि आदिवासी नोकरले अचम्म मानेर तिनको जीवन यसरी बयान गरयोः 'मेरा मालिकलाई के भयो? पहिले उहाँले गाली र अपशब्दहरू खूबै प्रयोग गर्नुहुन्थ्यो; तर अहिले उहाँ केवल चर्च धाउनुहुँदो रहेछ।' तिनले मानिसहरूलाई सुसमाचार प्रचार गर्दा सीधा तिनीहरूको हृदय ताके। यो तिनको अति सफल भएको तरिका थियो। तिनले आफ्नी पत्नीलाई एउटा चिट्ठी लेखे: 'मानिसहरूले मलाई सोध्ने गर्छन्ः अरूले किन यति सरल र यति स्पष्ट प्रचारै गर्दैनन्?'
तर चार्लस स्टडको निम्ति यो सेवकाई सजिलो थिएन; किनकि उनलाई दमको बिमार लागेको थियो। भारतमा आएर मात्र कहाँ हो र, योभन्दा अघि केही वर्षदेखि दमको रोगले उनलाई सताइरहेको थियो। उनलाई निद्रा लाग्दैनथियो, उनले राति दुई बजेदेखि चार बजेसम्म मात्र सुत्ने गर्थे; किनकि राति उनले एउटा कुर्सीमा बसेर अति गाह्रोसँग मात्र सास लिन सक्थे। प्रिसिल्ला स्टडले उनको स्वास्थ्यको विषयमा यसो लेखे: 'चार्लसको स्वास्थ्यचाहिँ पूरा बिग्रेको छ; उहाँ अलिकति मात्र चल्न थाल्नुभयो भने दमको जब्तीले उहाँलाई सताउँछ।' तर यी व्यक्ति अझै पनि अठार वर्ष आन्तिरक अफ्रिकामा प्रभु येशूको सेवा गरे। कसरी? उनले विश्वासको कदम उठाए, जुन कदम शुरुमा उनकी पत्नीले समेत विरोध गरिन्। तर पछि यिनले यस कदमबाट निम्न आदर्श वाक्य बनाइन् र पछिसम्म प्रयोग गरिन्ः ‘परमेश्वर असम्भव सम्भव तुल्याउनुहुने परमेश्वर हुनुहुन्छ।'
सन् १९०६ सालमा स्टड-परिवार फेरि यूकेमा फर्थ्यो। त्यस समयमा परमेश्वरले उनीहरूप्रति आफ्नो विश्वासयोग्यता देखाइदिनुभयो; किनकि उनीहरूका चारजना छोरीहरूले स्कूल जानुपर्थ्यो। अनि यसको निम्ति सबैभन्दा असल उपाय एउटा बोर्डिङ्ग स्कूल हुनेथियो। तर उनीहरूसँग यसो गर्नको निम्ति पुग पैसा थिएन।
अठार वर्ष अघि, जब उनीहरूले भर्खरै विवाह गरेका थिए, उनीहरूले आफूलाई सम्पूर्ण रूपले अर्थात् तन-मन-धनले प्रभु येशूको हातमा अर्पण गरेका थिए। परमेश्वरप्रति उनीहरूको भरोसा अधूरो थिएन, तर आफ्नो सारा धन उहाँलाई दिएर उनीहरूको आड़भरोसा चरमसीमामा पुगेको थियो। उनीहरूको भरोसा विश्वासयोग्य परमेश्वरमाथि राखिएको थियो। अनि हालैमा उनीहरूलाई थाहा थियो, कि प्रभुले उनीहरूको खाँचोको निम्ति प्रबन्ध गर्नुहुन्न भने, उनीहरूका छोरीहरूले असल शिक्षा हासिल गर्न सक्दैनथिए, जसरी उनीहरू आफैले पाएका थिए। तर उनीहरू यस कुरामा परमेश्वरमाथि भर परे। उनीहरूले यो कुरा प्रार्थनामा उहाँको हातमा सुम्पे। अनि उहाँले दिनुभएको उत्तर यस प्रकारको भयोः उहाँले उनीहरूका छोरीहरूलाई ठीक त्यही प्रकारको शिक्षाको प्रबन्ध गर्नुभयो, जुन शिक्षा उनीहरूले आफ्ना छोरीहरूलाई दिन चाहन्थे। उहाँले एकजना मानिसलाई प्रेरणा दिनुभयो, र ती मानिसले शेरबोर्नमा देशको उत्तम स्कूलमा उनीहरूका तीनजना छोरीहरूको निम्ति सबै खर्च बेहोरे। छुट्टीमा यिनीहरू बजैकोमा बस्थे। अनि अन्तमा यिनीहरू स्वीजरल्याण्डको लोसन शहरमा उच्च शिक्षामा उत्तीर्ण भए।
यिनीहरूको निम्ति यो अलौकिक प्रबन्ध कति ठूलो थियो! तर यिनीहरूका बुबाआमाको निम्ति योभन्दा ठूलो कुरा अझ पनि थियोः यिनीहरूको आत्माको मुक्ति। यो सबैभन्दा ठूलो आशिष थियो, र यो चार्लस र प्रिसिल्लाले आफ्ना छोरीहरूको निम्ति चाहन्थे। दुई वर्षपछि चार्लस स्टडले यसो लेखे:
‘मेरा चारजना छोरीहरूले प्रभु येशूको पक्ष लिएका र उहाँलाई प्रभु र मुक्तिदाताको रूपमा अपनाएको कुराचाहिँ मेरो निम्ति सबैभन्दा ठूलो आनन्दको कारण बनेको छ। मेरा परमधन्य मुक्तिदाता प्रभुलाई मुरीमुरी धन्यवाद! यसको निम्ति उहाँ मेरो सारा प्राण र मेरो शरीरको एक-एक थोपा रगत, अँ, मेरो हृदयको सम्पूर्ण प्रेमको योग्य हुनुहुन्छ। मेरा प्रभुले गर्नुभए- जस्तै म जोशको लबेदा ओढ्न सकूँ!'
सन् १९०६-१९०८ सालमा विभिन्न वाई.एम.सी.ए., भाइचारा- सङ्घहरू, पोलिस संस्थाहरू र सम्मेलनहरूको निम्ति यो स्वर्ण मौका थियो। किनकि तिनीहरूले प्रभुमा फर्केको खेलकुदको शूरवीर चार्लस स्टडमा मानिसहरूकहाँ सुसमाचार पुरयाउने माध्यम र उपयोगी यन्त्र देखे | यी दुई वर्षमा उनले हजारौंहजार मानिसहरूलाई प्रचार गरे, जुन मानिस- हरूमध्ये धेरैजनाले चर्च वा गिर्जाभित्र कहिल्यै खुट्टा टेक्नेथिएनन्। तर तिनीहरूले यी नाम चलेका खेलाड़ीको प्रचार सुन्न चाहन्थे। उनको प्रचारले भीड़का मानिसहरूमाथि ठूलो प्रभाव पार्थ्यो। तिनीहरू यसको पकड़मा पर्थे, यो तिनीहरूलाई मनमनैमा घत लाग्थ्यो; तिनीहरूमध्ये धेरैजनाले ख्रीष्ट येशूलाई ग्रहण गरे। जब चार्लस स्टडले प्रचार गर्थे, तब उनले मानिस-मानिसको बीचमा झैं बोल्थे, सरल र सीधा बोल्थे। उनले साधारण मानिसहरूको चल्ती भाषा प्रयोग गर्थे, अनि यही कुराले तिनीहरूलाई सबैभन्दा बढ़ी प्रभाव पार्थ्यो।
बिर्मिङ्गहेमको एउटा समाचार पत्रिकामा, जसमा प्रायः मिसनरीहरूको उपहास र इसाई क्रियाकलापहरूको निन्दा गरिन्थ्यो, एक दिनमा निम्न कुरा पढ्न पाइयोः
‘श्री चार्लस स्टड एक मिसनरी हुनुहुन्छ, जसले हाम्रो मन उत्तेजित पार्न जान्नुभएको छ। ह्याण्ड्सवोर्थका विद्यार्थीहरूले पनि यी सुकुटे जीउ र अझै जवान देखिने अनुहार भएका यी मानिसको वाहवाही गरे। उहाँले मिसन- क्षेत्रमा बीस वर्ष संघर्ष गरेपछि पनि उहाँको हास्य छँदैछ र उहाँ अझ पनि फूर्तिलो हुनुहुन्थ्यो। उहाँ निराशावादी हुनुहुन्नथियो; उहाँमा मनतातो कुरा केही पनि छैन। परमेश्वरप्रति श्री स्टडको प्रेम, समर्पण र आज्ञाकारिता उदाहरणीय छ। उहाँ जे सिकाउनुहुन्थ्यो, उहाँ त्यही शिक्षाअनुसार जिउनु- हुन्थ्यो। उहाँले सात कठिनाइहरू पार गर्नुभयो, र पनि उहाँको मनमुद्रा उज्यालो छ; उहाँ साहसिलो हुनुहुन्छ। अनि कुनै जटिलताले पनि उहाँलाई विचलित पार्न सक्दैन। उहाँको प्रवचन छर्लङ्गै बुझिन्छ; उहाँको भाषा सरल छ; अनि उहाँको विश्वास अटल र सुदृढ़ छ।'
१०
सबैभन्दा ठूलो बहादुरी कार्य
अब हामी चार्लस स्टडको जीवनको मुख्य भागमा आइपुगेका छौं। पहिले उनी चीनमा गएका थिए, त्यसपछि भारतमा; तर अब उनी अफ्रिकामा जाँदैथिए। भारतमा फर्कने कुरा उनको मनमा भएको बेलामा उनले अचानक अफ्रिका जाने बोलावट पाए। यो सन् १९०८ सालको कुरा होः उनी लिवरपूलमा थिए, अनि उनले एउटा अनौठो सूचना पढ़ेः 'नर- भक्षक आदमखोरीहरूलाई मिसनरीको खाँचो छ।' यस सूचनाले उनको चासो खिच्यो र उनको हास्य उठायो। उनले मनमनै निम्न कुरा गरेः 'हो, तिनीहरूलाई मिसनरीहरूको खाँचो किन नहुने? यसका धेरै कारणहरू छन्।' कसले यो सूचना टाँग्यो होला भनेर उनी पढ्न नजिक गए। यसको लेखक डा. कार्ल कुम्म रहेछन्। अनि तिनले आयोजना गरेको सभामा परमेश्वरले चार्लस स्टडलाई उनको महान् जीवन-कार्यको बोलावट दिनुभयो। उनले यस बोलावटको विषयमा पछि यसो लेखे:
'बितेका दिनहरूमा श्री कार्ल कुम्मले अफ्रिकाको एक छेउदेखि अर्को छेउसम्म यात्रा गरेका थिए, र यस सभामा तिनले आफ्ना अनुभवहरू बयान गरे। यस महादेशको भित्री भागमा विभिन्न जातिका मानिसहरू जिउँथे, जसले प्रभु येशूको नाम समेत कहिल्यै सुनेका थिएनन्। ती जातिहरूकहाँ खोजकर्ताहरू, शिकार खेल्नेहरू, अरबहरू, व्यापारीहरू, यूरोपेली अधिकारी र वैज्ञानिकहरू पुगिसके, तर कुनै इसाई तिनीहरूकहाँ येशूको सुसमाचार लिएर पुगेको थिएन। तत्कालै यसको लाज मलाई पूरा लाग्यो। मैले मनमनै प्रश्न गरेंः “ इसाईहरू किन त्यहाँ नगए होलान् त नि?” अनि परमेश्वरले यो कुरा लिएर मलाई सोध्नुभयो: “अनि तिम्रो विषयमा कसो हो? तिमी किन तिनीहरूकहाँ नगएका हँ?” यसमा मेरो जवाफ थियोः “डाक्टरहरूले मलाई जान दिँदैनन्।” तब उहाँले मलाई भन्नुभयोः “मजस्तो असल वैद्य अरू को होला र? के म तिम्रो स्वास्थ्य ख्याल गर्न सक्दिनँ र? म तिमीलाई सम्भाल्न सक्छु नि!” तब म निरुत्तर भएँ। मेरा अरू बाहनाहरू रहेनन्। यसकारण मैले उहाँको यो इच्छा र चाहना पूरा गरेर छाड्नुपर्यो।'
तर उहाँको यो चाहना कसरी पूरा गर्न सकिन्थ्यो? उनीसँग पैसा थिएन। उनी पचास वर्ष पुगिसकेका थिए। अनि उनको स्वास्थ्य बिग्रेको पन्ध्र वर्ष भइसक्यो। तब उनी कसरी उष्णदेशीय अफ्रिकामा जान सक्नेथिए? श्री कार्ल कुम्मको सुझाउ यस प्रकारको थियो: उनीहरू सँगै नाइजेरबाट यात्रा शुरु गरेर सम्पूर्ण अफ्रिका पार गर्नुथियो। उनीहरूले सकभर छिटो चारैतिर मिसन-केन्द्रहरू स्थापित गर्नु थियो; किनभने त्यहाँ इस्लाम धर्म अघि बढिरहेको थियो। तर तब उनी मलेरिया रोगले बिमार परे, र उनी जान सकेनन्। दोस्रो योजनाअनुसार कार्तुम शहरदेखि हजार माइल दक्षिण सुडानमा गएर त्यहाँको खास अवस्था बुझ्नु थियो। तर यसको निम्ति उनका डाक्टरहरूले अनुमति दिएनन्। तर के गर्ने? केवल यस शर्तमा इसाई व्यापारहरूको संघ उनलाई सहायता दिन राजी थियो। यसकारण यो योजना पनि विफल भयो।
विनापैसा भएको अवस्थामा, डाक्टरहरूले उनलाई रोकिरहेका र इसाई व्यापारहरूको संघले उनलाई प्रतिज्ञा गरेको आफ्नो सहायता नदिने भएको बेलामा के गर्नु थियो? किनकि परमेश्वरले उनलाई जाने आदेश दिनुभएको थियो। यसपालिमा पनि उनको एकमात्र उपाय थियोः परमेश्वरप्रति उनको आज्ञाकारिता र त्याग सम्पूर्ण हुनुपरेको थियो। जवान मानिस भएको बेलामा उनले आफ्नो व्यवसाय बलिदान गरेका थिए। अनि चीनमा गएर उनले आफ्नो सारा धन बलिदान गरेका थिए। अनि अहिले चाहिँ? उनले आफ्नो जीवन समेत बलिदान गर्नुपरेको थियो। उनले हिब्रू एघार अध्यायमा अब्राहाम, मोशा र अन्य शूरवीरहरूको विषयमा पढ़े। 'यी मानिसहरूले हाम्रा प्रभु येशू ख्रीष्टको नामको खातिर आफ्नो ज्यान खतरामा हालेका छन्' (प्रेरित १५:२६)। अनि परमेश्वरको निम्ति उनी पनि आफ्नो ज्यान बाजीमा हाल्न तयार भए। उनले आफ्नो विषयमा यसो लेखे: 'तास वा जुवा खेल्ने मानिसको शौक ठूलो छ। तर प्रभु येशूको निम्ति आफ्नो ज्यान खतरामा राख्ने मानिसको शौक अझै ठूलो, अँ, सबैभन्दा ठूलो शौक हुँदो रहेछ। परमेश्वरलाई धन्यवाद होस्! यस प्रकारको शौक एउटा यस्तो लत हो, जसबाट हतपत छुटकारा पाइँदैन।' यसकारण उनले मिसन-समितिलाई लिखित रूपले आफ्नो निर्णय सुनाएः 'आदरणीय दाजुभाइहरूहो, परमेश्वरले मलाई जाने आदेश दिनुभयो। यसकारण म जाने नै छु। हुन नै सक्छ, यस लक्ष्यतिर मेरो यो प्रारम्भिक प्रयास केवल एउटा दुर्बल कोशिश ठहर्ला, तर त्यसले मेरो मृत्यु भएपछि जवान मानिसहरूलाई मेरो देखासिकी गर्ने प्रेरणा देला। मेरो चिहान तिनीहरूको निम्ति एउटा निशान भएको होस्।' उनले आफ्ना प्रभुका निम्न शब्दहरू अक्षरशः लिएः 'जसले मेरो निम्ति र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउँछ, उसले त्यो प्राप्त गर्नेछ' (मत्ती १०:३९)। अनि आउँदा बीस वर्षसम्म उनी यस सत्यताको प्रत्यक्ष गवाही बनेः उनले वास्तविक जीवन भेट्टाए।
उनको यात्रा शुरु गर्न तीन हप्ता बाँकी थियो; तर उनीसँग पैसा थिएन। यस हालतमा उनले के गरे ठीक हुनेथियो? भोलिपल्ट बिर्मिङ्गहेममा उनको निम्ति एउटा सभा आयोजना गरिएको थियो। उनले र डा. जोवेटले बोल्नुपरेको थियो। अनि उनी केही हप्ताभित्र समुद्र - यात्रा शुरु गर्न लागेको जानकारी चारैतिर फैलिसकेको थियो। अनि उनले हिजो मात्र सुनेको उनको सहायताको विषयमा सामना गर्नुपरेको नकारात्मक निर्णयको विषयमा कसैले पनि थाहा थिएन। मानिसको दृष्टिकोणले हेर्ने हो भने, उनको अवस्था नाजुक थियो।
उनले यस सभाको बयान गरेर यसो लेखेः 'म मञ्चमा चढ़ें; तर मैले यस हालतमा के बोल्नुपर्ने हो, सो मलाई थाहा भएन। यता सभापति अझ बोल्दैथिए। तब अचानक मेरो मनमा परमेश्वरले मसँग बातचित गर्न थाल्नुभयो। उहाँले मलाई सोध्नुभयो: “तिमी किन अफ्रिकामा जाँदैनौ?" यस प्रश्नको मेरो जवाफ थियोः “किनकि मसँग पैसा छैन।” “के तिमी यसको निम्ति ममाथि भर पर्न सक्दैनौ?” ओहो, मेरो हृदयमाथि लागेको अँध्यारो बादल फोरियो र घामको किरणले मेरो मन उज्यालो पारयो। अनि मैले उहाँलाई भनेंः “ अवश्य म यसको लागि तपाईंमाथि भर पर्न सक्छु तब उहाँको दिव्य वाणी थियोः “तब तिम्रो समस्या के पो भयो त?”
'अनि ठीक यस क्षणमा सभापति बोल्न सके, अनि म खड़ा भएँ। अनि मैले सहायता भएको अवस्थामा जोश र हिम्मतसित जे बोल्नेथिएँ, ठीक त्यही कुरा बोलिछोड़ें। अनि भोलिपल्ट म अर्को मिटिङ्गको निम्ति लिवरपूलमा गएँ। अनि यस सभाको अन्तमा एकजना साथीले दस पाउण्ड मेरो हातमा थाम्याए। मेरो आनन्द र हर्ष असाध्य भयो। अनि यही दस पाउण्ड लिएर मैले मिस्र देशको पोर्ट सैडसम्म मेरो यात्राको अग्रिम रकम तिरें। हो, यस टिकटको निम्ति दस पाउण्ड पुग्दैनथियो, कार्तुमको कुरा छोडूं, अँ, दक्षिण सुडानको कुरा नगरे हुन्छ। तर परमेश्वरले अलौकिक प्रकारले यसको निम्ति प्रबन्ध गर्नुभयो, र म गइहालें।'
सन् १९१० सालको डिसेम्बर १५ तारिखको दिनमा उनले यात्रा शुरु गरे। उनकी पत्नीले समेत उनको यो योजना अनुमोदन गरिनन्। तर प्रभु येशू उनको साथमा रहनुभयो। अनि उहाँले उनको मन ठूलो शान्तिले भरिदिनुभयो। उनले अफ्रिकामा के-के गर्न लागेका थिए, यस महान् कामको विषयमा उनको मन ईश्वरीय दर्शनहरूले भरियो। हो, उनी एकलै थिए; अनि मिसन-क्षत्रमा अग्रदूतको काम गर्नको निम्ति उनको उमेर निक्कै ढल्किसकेको थियो। अनि उनका सँगी-विश्वासीहरूले उनलाई यस काममा साथ दिन चाहँदैनथिए। तब उनले के आशा गर्न सक्नेथिए? यो योजना विफल हुनु अनिवार्य थियो। यस हालतमा उनले प्रभुबाट के सुन्ने अपेक्षा गर्न सक्नेथिए? उहाँले उनलाई केकस्तो आश्वासन दिनुभयो? यस जहाजको यात्राको शुरुको दिनमा परमेश्वरले उनलाई एउटा अचम्मको प्रकाश दिनुभयो। उनले यस दिव्य वाणीको विषयमा यसो लेखे: 'लिवरपूलको बन्दरगाहबाट जहाज हिँड्दैथियो, अनि म अफ्रिकातर्फ यात्रा गर्दैथिएँ, र यस कमरामा पहिलो रात बिताउँदैथिएँ, जब परमेश्वरले मलाई अद्भुत कुरा भन्नुभयोः “यो मिसन - यात्रा सुडानको निम्ति मात्र होइन, तर सारा संसारका मानिसहरूको निम्ति हो, जतिले सुसमाचार सुनेका छैनन्।” मानिसको दृष्टिमा यो हाँसउठ्दा सुनिन्थ्यो, तर प्रभु येशूमाथि विश्वास राख्ने मानिसको निम्ति यो केही पनि होइन; किनकि उसको निम्ति असम्भव भएका कुराहरू सम्भव हुन्छन्।
चार्लस स्टडले सुडानको कुनाकप्चातर्फ यात्रा गरेको कुरा र सारा संसारका सुसमाचार नसुनेका मानिसहरूको बीचमा के सम्बन्ध छ र? तर बीचमा बीस वर्ष बिते, अनि हाम्रो सामु ‘विश्वव्यापी सुसमाचार-धावा’ खड़ा भयो, जुन मिसन संस्थाले ख्रीष्ट येशूको सुसमाचार अफ्रिका, एशिया र दक्षिण अमेरिकामा पुरयाउँदैथियो। अनि योचाहिँ उनको यस यात्राको प्रत्यक्ष प्रतिफल थियो। के यहाँ हाम्रो निम्ति सिक्न सक्ने कुनै पाठ छैन? परमेश्वरले यस्तो मानिसको निम्ति पर्खनुहुन्छ, जुन मानिसले उहाँमाथि पूरा भरोसा गर्छ र तन- मनले उहाँको आज्ञापालन गर्छ। के तपाईं त्यो मानिस हुनुहुन्छ? किन हुनुहुन्न र?
उनले डा. विल्कनसनलाई यसो लेखे: 'प्रभुको काम गर्न म जोश- उमङ्गले पूरा जल्छु, किनभने म प्रभुलाई मसँग बोल्नुभएको सुन्दैछुः “जाऊ, र यो संसार आफ्नो प्रतिज्ञा गरिएको उत्तम देश सम्झ! यसलाई अधिकार गर! किनकि हरेक जग्गा, जसमाथि तिम्रो पैतालाले टेक्नेछ, त्यो जग्गा म तिमीलाई दिन्छु।” परमेश्वरलाई धन्यवाद होस्, मेरा पैतालाहरू छँदैछन्।'
ठूला-ठूला यस यात्रामा चार्लस स्टडले आफ्नी पत्नीलाई चिट्ठीहरू लेख्ने गर्थे; किनभने उनले यिनलाई उत्साह, सान्त्वना र ढाढ़स दिन खोजे।
सन् १९१० सालको डिसेम्बर २० तारिखको दिनः परमेश्वरले मलाई के भन्दै हुनुहुन्छ भने, अहिलेसम्म जिएको मेरो जीवन केवल आउँदो दस- बीस वर्षको तयारी भएको रहेछ। यो एउटा कड़ा तालिम थियो। यसमा कत्रो संघर्ष र पीड़ा थियो। त्यस दम रोगले मलाई दिन-रात सताउँदै र मार्दैथियो। मेरो शरीर कति कमजोर थियो। अहो, मानिसहरूले हामीलाई कति छि-छि-दूरदूर गर्थे! मलाई हाम्रो गरिबीको आलो सम्झना छ। तब हामीलाई ख्रीष्टको काम छोडूं छोडूं किन नलाग्ने? यो स्वाभाविक कुरा हो, अनि म पनि यसको परीक्षामा परें। अनि डाक्टरहरू, आफन्तहरू, परिवार, इसाईहरूबाट आउने परीक्षाहरूको कुरा गर्न छोड़ौं। म यी सबै परीक्षाहरूमा उत्तीर्ण भएँ, किन? यो मेरो शक्तिको फल थिएन, तर मेरा प्रभु येशूले मलाई शक्ति दिनुभयो र मलाई यी परीक्षाहरू पार ल्याउनुभयो। यो मलाई पक्का थाहा छ। म त्यो अभागी, कमजोर कीरा हुँ, जसलाई परमेश्वरले छान्नभयो। उहाँले मलाई परीक्षाको भट्टीमा हाल्नुभयो, मलाई खार्नुभयो र मलाई उहाँको साथमा हिँड्न सिकाउनुभयो अनि मलाई परीक्षा पार ल्याउनुभयो। अनि अहिले उहाँ ममा शक्ति र मेरो शरीरमा स्वास्थ्य हाल्दै हुनुहुन्छ। अनि ममा ख्रीष्ट येशूको निम्ति र हराएका मानिसहरूको निम्ति जिउने जल्दो आगोरूपी तीव्र चाहना बलिरहेको छ। परमेश्वरलाई धन्यवाद होस्, उहाँलाई मुरी मुरी धन्यवाद होस्! यसो गर्नेचाहिँ मेरा प्यारो प्रभु येशू हुनुहुन्छ। मेरो पूरा प्रेम उहाँको निम्ति छ; उहाँ मेरा प्यारा मालिक हुनुहुन्छ। अनि मेरी प्रिया प्रिसिल्ला, मलाई के लाग्छ भने, हामी एक- अर्काबाट अलग भएको कुरा हाम्रो भलाइको निम्ति हुन्छ; किनभने यो हाम्रो स्वार्थ र स्वेच्छाको फल होइन, तर परमेश्वरको महिमा र ख्रीष्ट येशूको सम्मान बढ़ाउनको निम्ति भएको हो। अनि मलाई निश्चित विश्वास छ, कि क) तिम्रो स्वास्थ्य पुनर्स्थापित हुनेछ। ख) तिमी प्रभु येशूको निम्ति अझै ठूलो बल्दो साक्षी बन्नेछ्यौ; अनि यसमा तिमीले मलाई उछिन्नेछ्यौ। अनि ग) हाम्रा छोरीहरूले ख्रीष्ट येशूका जोशिला सिपाही भई उहाँको निम्ति वीरता देखाउनेछन्। यो सबै परमेश्वरको महिमाको निम्ति हुनेछ। मेरो मनमा घरिघरि एउटै कुरा खेल्दैछः एउटा नयाँ अभियान! यही एउटै कुराले मेरो मन र दिमाग वशमा लिएको छ। म ओछ्यानमा ढल्किरहेको बेलामा परमेश्वर घरिघरि मसँग बोल्दै हुनुहुन्छ। उहाँले मलाई आश्वासन दिँदै हुनुहुन्छः उहाँले हामीद्वारा एउटा अद्भुत काम गर्न लाग्नुभएको छ।'
सन् १९१० सालको डिसेम्बर २३ तारिखको दिनः प्रभु येशूको निम्ति हामीले आफ्नो जीवनको सबैभन्दा ठूलो काम गर्न लागेको बेलामा डाक्टरहरूले तिमीलाई स्वास्थ्यमा कमजोर र नाजुक भएकी दाबी गरेका छन् र तिमीलाई कुनै कामको निम्ति अयोग्य र निकम्मा ठहराएका छन्। अनि यो मानिसको दृष्टिकोण साँचो र बिलकुल सत्य पनि हो। तर याद गरः यो सब कुरा होइन, किनकि यहाँ अझ प्रभु येशू हुनुहुन्छ, जसले तिमीलाई जीवन र स्वास्थ्य दिन सक्नुहुन्छ। अनि मेरो विचारमा, तिम्रो निम्ति उहाँको हातमा एउटा ठूलो काम रहेको छ। तिमीलाई प्रभु येशूको स्पर्शको खाँचो छ। यसकारण डाक्टरहरूको कुरा सुन्न छोड़; किनभने तिनीहरूले तिमीलाई तन्द्रुस्त पार्न सक्दैनन्। प्रभु येशूबाट सरसल्लाह र परमार्श लेऊ! प्रिया, प्रभु येशूकहाँ जाऊ, र आफूलाई उहाँकहाँ अर्पण गर! किनकि तिमी मसँग मिलेर संसारभरि यात्रा गर्नु छ र हजारौं मानिसहरूलाई प्रभुकहाँ ल्याउनुपर्छ। तिमी र म हामी दुईजनाको निम्ति एउटै उपाय छः हामी प्रभु येशूमाथि विश्वास र भरोसा राखेर जिउनुपर्छ।
मेरो कुरा गर्नु हो भने डाक्टरहरूले मलाई अघिबाट मृत्युको योग्य ठहराइसके। तर मैले तिनीहरूको कुरामाथि ध्यानै दिइनँ। म अझै जीवित छु, म प्रभु येशूमाथि राखेको भरमा जिउँदैछ। म परमेश्वरको शक्तिले जिउँदैछु। अनि तिमीले पनि त्यही गर्नुपर्छ। तिमी उहाँमाथि भर परेर अघि बढ्नुपर्छ। किनकि हाम्रो सामु एउटा महान् कार्य छ। आऊ, मसँग यस सुसमाचार-धावामा लगिपर! हामी कमजोर हुँदा बलिया हुन्छौं। हामीले सबै इसाईहरूलाई यस संघर्षको निम्ति आह्वान गर्नुपर्छ। तिमी मेरो सहकर्मी र सहपति हुनेछ्यौ। तिमी त्यो बल्दो आगो हुनेछ्यौ, जसले मलाई सधैँ अझै ठूलो हिम्मत बाँध्ने प्रेरणा दिन्छ। अन्तिम साससम्म हामी संघर्ष गर्नेछौं। हामी परमेश्वरलाई महिमाको मुकुट पहिराउनेछौं। अनि त्यो महिमाको मुकुट मेरो होइन, तर तिम्रो हुनेछ। परमेश्वरले तिमीलाई आशिष दिऊन्, हे मेरी प्रिया! म तिमीलाई प्रेम गर्छु, तिमीलाई अहिले तिम्रो जवानीमा भन्दा बढ़ी प्रेम गर्छु।'
सन् १९११ सालको जनवरी महिनाः हामी आफूलाई फेरि एकपल्ट प्रभु येशूको हातमा समर्पण गरौं! उहाँले हाम्रो निम्ति ठूलो-ठूलो कुरा गर्नुभयो। चौबीस वर्षसम्म उहाँले हामीलाई उहाँको निम्ति काम गर्ने शक्ति दिनुभयो। उहाँले हाम्रा छोरीहरूलाई बचाउनुभयो र रक्षा गर्नुभयो। परमेश्वरले हामीलाई हाम्रो विवाहको रजत जयन्ती मनाउन दिऊन्, र हामी अफ्रिकामा उहाँको निम्ति केही बहादुरी कार्य देखाउन सकौं! हामी उहाँको सेवकाईमा मनतातो र चिसो भएको मलाई डर लागेको छ। आऊ, हामी सँगै मिलेर आउँदा दस-बीस वर्ष त्यहाँ प्रभुको सेवा गरौं, जहाँ घमासान लड़ाइँ चल्दैछ! हामी यसरी नै प्रभु येशूको निम्ति र हराएका मानिसहरूको निम्ति हाम्रो जिम्मेवारी पूरा गरौं! अरू कुनै कुरा हाम्रो जीवनको अन्तिम भागको योग्य हुँदैन। हाम्रो समापन प्रभु येशू र उहाँको सुसमाचारको योग्य हुनुपर्छ। तिमी र म हामीले प्रभु येशूप्रति आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। त्यसपछि अरूले हाम्रो देखासिकी गरून्। परमेश्वरले तिमीलाई आशिष दिऊन्, मेरी प्राणप्रिय!'
उनका यी पत्रहरूले आफ्नो उद्देश्य पूरा गरे। परमेश्वर उनको साथमा हुनुहुन्छ भन्ने विषयमा उनले आफ्नी पत्नीलाई मनाउन सके। अनि अब- देखि उसो यिनले फेरि जोश र उमङ्गको साथ उनलाई उनको काम र सेवकाईमा साथ दिइन्।
कार्तुममा आइपुगेका चार्लस स्टडले कति हप्ता धीरज धार्नुपरेको थियो। यस अवधिभित्र उनले केही पल्ट अङ्ग्रेजी मण्डलीमा प्रचार गरे; किनभने बिशप ग्वीनले उनलाई यसको निम्ति निम्तो दिए। उनले सुसमाचार प्रचार गरे; कतिजनालाई यसको घत लाग्यो। परमेश्वरलाई धन्यवाद होस्ः कतिले प्रभुलाई पाए, तिनीहरूमध्ये स्कोटल्याण्डका पाद्रीको छोरा पनि थियो!
त्यसपछि चार्लस स्टड बिशप ग्वीनको साथ दक्षिण सुडान गए। अनि त्यहाँ उनले सी.एम.एस. का प्रधान श्री शाहलाई भेटे (सी.एम.एस. भनेको चर्च मिसन सोसाइटी)। अनि यी तीनैजनाले बहर-एल-गजल जिल्लाभरि अढाइ महिना कच्चरमाथि र पैदलले यताउता यात्रा गरे, अनि उनीहरूको बाटो मलेरिया र अफ्रिकाको स्लीपिङ्ग सिक्नेसले ग्रस्त इलाकाबाट भएर गयो। यात्रा यति कठिन थियो, कि उनतीस कच्चरमध्ये पच्चीस कच्चर मरे। अनि बरसादको मौसम थियो। यसो भए पनि चार्लस स्टडको स्वास्थ्य एकदम राम्रो थियो। तर कार्तुममा फर्केपछि उनलाई मलेरियाको भारी प्रकोप भयो। यस सर्वेचन-ट्रेकिङ्गको सार यस प्रकारको थियोः यस क्षेत्रका मानिसहरूको खाँचो ठूलो थियो, तर त्यहाँ जिउने मानिसहरूको सङ्ख्या कम थियो, अनि सी. एम. एस. - संस्थाले त्यहाँ काम गरिरहेको थियो।
तर यस सर्वेचन-ट्रेकिङ्ग गर्दा-गर्दै उनीहरूले एउटा खबर पाएः सुडानको भन्दा बेल्जम अधीनस्त कॉन्गोमा अति धेरै मानिसहरू जिइरहेका छन्, जसको अवस्था अति नाजुक थियो र तिनीहरूको खाँचो सुडानका मानिसहरूको भन्दा अझ बढ़ी थियो; किनकि तिनीहरूले येशूको नाम कहिल्यै सुनेका थिएनन्। अनि यो खबर परमेश्वरले प्रयोग गर्नुभयो र यसद्वारा सी. टी. स्टडसित बोल्नुभयो; यो खबर उनको निम्ति त्यहाँ जाने दिव्य आदेश थियो, जसको विषयमा उनले निम्न कुरा लेखे:
'हामी नील नदीको किनारै किनार भएर सुडानको दक्षिणमा पुग्यौं र त्यहाँबाट फेरि कार्तुममा फक्र्यौं। अनि फर्किरहेको बेलामा परमेश्वर मसँग बोल्नुभयोः “के तिमी इङ्गल्याण्डमा फर्केर आफ्नो बाँकी जीवन बिताउने आँट गर्छौ, यो जानेर कि कॉन्गोमा लाखौं मानिसहरू छन्, जसले प्रभु येशूको सुसमाचार कहिल्यै सुनेका छैनन्? तिमी न्यायको दिनमा कसरी मेरो सामु उभिन र आफ्नो जीवनको लेखा दिन सक्छौ?” अनि यो परमेश्वरसित मेरो यस मामिलाको टुङ्गा भयो, र मलाई अरू केही अगुवाइ चाहिँदैनथियो; म इङ्गल्याण्डमा नफर्किने भएँ।'
अनि धेरै वर्षपछि दुईजना मानिसहरूले बेल्जम अधीनस्त कॉन्गोको सिमाना पार गरेर अफ्रिकाको आन्तरिक भागमा, त्यसको मुटुमा प्रवेश गरे। एकजना बाउन्न वर्षका सी. टी. स्टड थिए भने अर्को भाइ बीस वर्षको अल्फ्रेड बक्स्टन थिए। उनीहरू अफ्रिकाको अन्तर्देशीय मिसनका अग्रदूत थिए। अनि उनीहरूको पहिलो प्रवेशपछि नजिकको भविष्यमा एउटा ठूलो सुसमाचारको धावा शुरु भयो।
सी. टी. स्टड इङ्गल्याण्डमा फर्के त फर्के, तर यस नयाँ धावाको प्रेरणाले आगो भएर फर्के। उनले यस अभियान शुरु गरिहाले र उनी यसमा अग्रसर थिए। उनले यस सम्बन्धमा केही पर्चाहरू लेखे। यी पर्चाहरू यस सुसमाचार-धावाको निम्ति आधार बने। यी लेखहरूमा हराएका मानिस - हरूको निम्ति ख्रीष्ट येशूको ठूलो प्रेम झल्किन्थ्यो। अनि यी लेखहरूद्वारा दर्जनौं भाइबहिनीहरूले मिसनमा जाने बोलावट पाए।
यी पर्चाहरूमा उनले यसो लेखे: 'हामीले ख्रीष्ट येशूको निम्ति सुसमाचार-धावा गरेर आत्मिक लड़ाइँ गर्नुपर्छ; किनकि हामीसँग प्रशस्त स्रोतहरू छन्ः हामीसँग पर्याप्त मानिसहरू छन्, हामीसँग पैसा पनि छ र हामीसँग माध्यमहरू पनि छन्, जस्तैः बाफको शक्ति, विद्युत र लोह, जसद्वारा हामीले देश-देश जितेका र वशमा ल्याएका छौं र सात समुद्र पार गरेका छौं। हाम्रा परमेश्वरले हाम्रो निम्ति सारा संसारमा जान सक्न ढोकाहरू पूरा खोल्नुभयो। हामी निम्न गीतका शब्द प्रार्थना गछौं, प्रचार गर्छौं र गाउँछौं: “हे इसाई सैनिकहरूहो, लड़ाइँमा उत्रन अघि बढ़!” अनि त्यसपछि के? हामी बहाना गर्छौं र मसिना सोरले प्रार्थनामा भन्छौंः “प्रभु, म तपाईंलाई विन्ती गर्छु, मलाई माफ होस्!” हामी कति ठूला कपटी हौं!'
यहाँ गन्तीको कुरा आयोः संसारका पचास करोड़ अन्यजातिका मानिसहरूले सुसमाचार सुनेका छैनन्। तर हाम्रा ठूला मिसन-संस्थाहरू आफ्ना चरमसीमामा पुगेका छन्। अनि तिनीहरूमध्ये कतिको शक्ति घटेको जस्तै देखिन्छ; तिनीहरूले आफ्नो गतिविधि घटाउन लागेका छन्। यो अति गम्भीर कुरा हो।
गत् जून महिनामा कॉन्गो नदीको मुखमा स्थित भएको बन्दरगाहमा हजारौं पूर्वेक्षक, व्यापार र सुन खोज्नेहरू आइपुगे, जसले सरकारको अनुमतिको लागि पर्खेका थिए, किनभने तिनीहरूको कानमा त्यहाँ प्रशस्त सुन छ भन्ने खबर पुगेको थियो। यी मानिसहरूले सुनको निम्ति आफ्नो बोलावट छर्लङ्गै सुनेका रहेछन् र यस आह्वानप्रति आज्ञाकारी भएछन्; त के ख्रीष्टका सिपाहीहरूका कानहरू सुन्न नसक्ने गरी बहिरा भए त? किनकि तिनीहरूले न परमेश्वरको बोलावट, न हराएका मानिसहरूको गुहार सुन्छन्। सुनको खोजी गर्नेहरू यति धेरै, तर परमेश्वरका कामदारहरू यति कम, कसरी, अँ, कसरी, मलाई भन्नहोस्!'
यस सुदिनको उदय भए कति उत्तम हुनेथियो, जुन दिनमा परमेश्वरले शैतानलाई यसो भन्न सक्नुहुनेछः " के तैंले आज मेरा जनहरूलाई देखिस्? तिनीहरूले न धनसम्पत्ति, न सुनचाँदी खोज्छन्, न ता संसारका सुखहरूको खोजी गर्छन्; तिनीहरू न आदरको प्रेमी, न सुखभोगी, न आलस्यको शोखी हुन्छन्। होइन, तर अबदेखि उसो मेरा जनहरू ख्रीष्ट येशू मेरा प्राण - प्रिय पुत्रको प्रेमको खातिर आफ्नो रगत बगाउन तयार छन्; तिनीहरू उहाँको काममा संलाग्न भई उहाँको निम्ति आफ्नो प्राण अर्पण गर्न राजी छन्। तिनीहरू हराएका मानिसहरूले मुक्ति पाएको खूबै तृसना गर्छन्।” त्यो सुनौलो युग कहिले आउला, जब हामीले यस पृथ्वीमा ख्रीष्टको मण्डलीलाई संग्रमशाली भएको देख्नेछौं।'
उनले आफ्नो मिसन - संस्थाको निम्ति निम्न सिद्धान्तहरू स्थापित गरेः
'हामी अझ ढिलो गरे यो अवश्य हाम्रो पाप ठहरिनेछ। यसकारण हामी परमेश्वरको दृष्टिमा निकम्मा गनिएका व्यक्तिहरूले प्रभु येशू हाम्रा सर्वशक्तिमान् प्रभुमाथि भर परेर निम्न नियमहरू पालन गर्ने प्रण गरेका छौंः हामीले पवित्र बाइबलबाट निश्चित निर्देशण पाएका हुनाले सारा संसारमा सुसमाचार पुर्याउने आँट गर्छौ। अनि यो हाम्रो संस्थाको मुख्य उद्देश्य हो। यसको निम्ति हामी संयुक्त र एकबद्ध भएका छौं; अनि यसको निम्ति हामी अरू इसाईहरूलाई हामीलाई साथ दिने निम्तो दिन्छौं। अरू मिसन संस्थाहरूले पूरा गरेको कामको निम्ति हामी उनीहरूप्रति अभारी छौं। तर हाम्रो खास काम यो हो: संसारको कुन-कुन ठाउँमा ख्रीष्टको सुसमाचार पुगेको छैन, सो पत्ता लगाउनु र सकभर छिटो ती सुसमाचार नपुगेका मुलुकहरूमा मुक्तिको सुसमाचारको प्रचारप्रसार अघि बढ़ाउनु हो। यसको निम्ति हामीले प्रभु येशूमाथि आफ्नो विश्वास र भरोसा राखेका छौं। यसको निम्ति परमेश्वरप्रति हाम्रो प्रार्थना जारी छ। यस काममा हामी पवित्र आत्माको अगुवाइप्रति आज्ञाकारी हुनेछौं; हामी हिम्मत बाँध्नेछौं; यसमा हाम्रो संकल्प सुदृढ़ छः हाम्रो समर्पण अधूरो हुनेछैन। अनि हाम्रो मिसन- संस्थाको शिर, अगुवा र निर्देशक परमेश्वर स्वयम् हुनुहुन्छ।
दाऊदले खोलाबाट पाँचवटा चिल्ला ढुङ्गाहरू निकाले; अनि यसरी तिनले गोल्यतलाई जिते। यसकारण हामीले पनि निम्न पाँचवटा सिद्धान्त- हरू स्थापित गरेका छौं; अनि हामीसँग काम गर्न चाहने हरेक इसाई भाइ-बहिनीले पनि यी पाँचवटा सिद्धान्तहरू पालन गर्नुपर्छ, जस्तैः
क) हामी त्रीएक परमेश्वरको एक-एक व्यक्तिको ईश्वरत्वमाथि विश्वास गर्छौं।
ख) हामी पवित्र बाइबलको पुरानो नियम र नयाँ नियम पूरा रूपले पवित्र आत्माको प्रेरणाको फल भएको विश्वास गर्छौं ।
ग) हामी क्रूसमा टँगिनुभएको, बौरिउठ्नुभएको र फेरि आउनुहुने प्रभु येशू र उहाँको सुसमाचार बाहेक अरू कुनै कुरा प्रचार गर्नेछैनौं। यो हाम्रो सुदृढ़ प्रण र पवित्र प्रतिज्ञा हो।
घ) प्रभु येशूको आज्ञा शिरोपर गरेर हामी प्रभु येशूलाई प्रेम गर्ने सबैजनालाई प्रेम गर्नेछौं र सबै मानिसहरूलाई विनापक्षपात साँचो प्रेमले प्रेम गर्नेछौं।
ङ) हामी उहाँका सेवकहरूले प्रभुको बन्दोबस्त र प्रबन्धमाथि विश्वास गर्छौं। उहाँले हाम्रो खाँचो पूरा गर्नुहुनेछ र हामीलाई कुनै हालतमा पनि त्याग्नुहुनेछैन, हामीलाई छोड्नुहुनेछैन।
यस मिसन-कार्यको निम्ति आवश्यक हुने साधनहरू हामी परमेश्वरबाट पाउने आशा गर्छौं र यसको निम्ति केवल उहाँको बाटो हेर्नेछौं। हामी उहाँलाई बाहेक अरू कसैलाई अनुदान पाउन विन्ती टक्राउनेछैनौं। अनि हाम्रो मिसन संस्थाको निम्ति आयोजना गरेको कुनै सभामा हामी भेटी सङ्ग्रह गर्नेछैनौं। किनकि परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर्नेहरूको निम्ति ख्रीष्ट येशूको प्रतिज्ञा छः परमेश्वरले हामीलाई खाँचो परेका सबै थोकहरू हामीलाई दिनुहुन्छ। तर कतै हाम्रो विश्वास कमजोर हुन गयो भने, अनि उहाँको महिमा गर्न खोज्ने हाम्रो प्रयास शिथिल भयो भने, हामी मिसनरीको योग्य हुँदैनौं। तब हाम्रो निम्ति, संसारको निम्ति र ख्रीष्टको कामको निम्ति हाम्रो अस्तित्व नरहनु बेस होला।
जुन भाइबहिनीहरूले हामीसँग काम गर्न चाहन्छन्, ती भाइबहिनी- हरूको जीवनमा परमेश्वरको प्रभाव र छाप स्पष्ट देखिनुपर्छ। उनीहरू संसारको प्रभावदेखि अलग बस्नुपर्छ। हाम्रा मिसनरी भाइबहिनीहरू हाम्रो संस्थाको तलब खानेहरू होइनन्; उनीहरू ख्रीष्ट येशूका सेवक-सेविकाहरू हुन्। यसैले उनीहरूले उहाँसँग आफ्ना काम गर्ने शर्तहरू मिलाउनुपर्छ। उनीहरूले अर्का मालिकको सेवा गर्न जान्दैनन्। यसकारण उहाँले उनी- हरूलाई आवश्यक पर्ने कुराहरू दिनुहुन्छ भन्ने कुरामा कुनै शङ्का छैन। रणभूमिमा उनीहरूको अकाल मृत्यु भयो भने, यो ख्रीष्ट येशूको विशेष अनुग्रह हो; किनभने यो उनीहरूको सम्मान हुनेछ र यसरी स्वर्गमा उनीहरूको प्रवेश समयभन्दा अघि हुनेछ। हो, परमेश्वरले उनीहरूको खाँचो पूरा गर्नुहुनेछ; यति मात्र होइन, तर उनीहरू सधैं परमेश्वरको अगुवाइअनुसार चल्नेछन् र सदैव उहाँप्रति आज्ञाकारी हुनेछन्।
यस काममा अग्रसर हुने मानिसको निम्ति पर्खदा पर्खदै ढिलो भइसक्यो। अब अझ पर्खने समय छैन; किनकि परमेश्वरको घड़ी आइसक्यो। युद्धको उद्घोषणा गरिएको छ। परमेश्वरको पवित्र नाममा हामी हाम्रो काम शुरु गर्नेछौं। अनि स्वर्गको परमेश्वर हाम्रो निम्ति लड़ाइँ गर्नुहुने नै छ; किनभने हामी उहाँको निम्ति लड़ाइँ गर्दैछौं। हामी बलुवा- माथि हाम्रो कामको जग बनाउनेछैनौं, तर ख्रीष्ट येशूको वचनमाथि, यस सुदृढ़ चट्टानमाथि निर्माण गर्नेछौं। नरकका फाटकहरू र शैतानको सारा फौज हामीमाथि प्रबल हुनेछैनन्। हामीजस्ता मानिस कहाँ डराउने र! सारा संसारका मानिसहरूका आँखाको सामु र विश्वासहीन, शोखभोगी इसाईहरूको सामु हामी वीरता देखाउने नै छौं र परमेश्वरमाथि भरोसा गरिछाडूनेछौं। हामी उहाँको निम्ति सकभर बल लगाउनेछौं र बहादुरी काम गर्नेछौं। हामी उहाँको निम्ति जिउनेछौं र उहाँको निम्ति मर्नेछौं। यो हाम्रो निम्ति अवर्णनीय परम आनन्द हुनेछ; यो हाम्रो हृदयमा उहाँको गीतको धुन र राग भएको छ। हामी हाम्रा परमेश्वरमाथि भर पर्छौं, तर मानिसहरूमाथि कहिल्यै, अँ, कहिल्यै भर पर्नेछैनौं। हाम्रो दृढ़ संकल्प यही हो; अनि यसमा हाम्रो विजय भर पर्छ। हामी लड़ाइँबाट विजेता भई उत्रनेछौं। परमेश्वरले अनुग्रह गर्नुभयो भने हामी उहाँको निम्ति पवित्र भाँड़ा हुनेछौं; हामी केवल भक्तिको भेष धारण गर्नेछैनौं। हामी केवल कल्पनाको लड्डु घिउसँग खानेछैनौं। हामीलाई एउटा गहन पवित्र जीवनको खाँचो छ। हामी विश्वासले पूर्ण हुनुपर्छ। हामी प्रभु येशूको निम्ति जुनसुकै ठूलो र सानो काम गर्न तयार हुनुपर्छ।'
११
नरभक्षक जातिहरूको बीचमा
यसपालि इङ्गल्याण्डबाट बिदा लिएर अफ्रिकामा जाने बेलामा चार्लस स्टडलाई आफ्नी पत्नीबाट छुटिन गाह्रो लाग्यो। तर यिनी यसमा उनीसँग पूरा राजी थिइन्। यिनी यो ठूलो त्याग दिन तयार भइन्। अबदेखि उसो उनीहरू एक-अर्काबाट सात हजार माइल टाढा रहनेथिए, अनि उनीहरूले कहिलेकाहीं मात्र एक- अर्कोबाट पत्र पाउनेथिए। अनि यिनको पतिबाट कस्तो-कस्तो खबर आइपुग्ला त? तर उनको बिदा हुनु केही दिन बाँकी भएको बेलामा प्रभु येशूले यिनीसँग बोल्नुभयो।
यिनले यस विषयमा यसो लेखिन्ः 'यस विशेष रातमा म सुत्नुभन्दा अघि म आगो तापिरहेकी थिएँ, अनि म रुन थालें। रुन मेरो बानी थिएन, तर यस रातमा म साह्रै रोएँ। अनि मैले सोचें : “तिमी यति बढ़ी रुनुहुँदैन; यो भएन। यो कसैलाई कुनै फाइदा गर्दैन।” यस दिनमा मैले वटरलूतर्फ रेल-यात्रा गरिरहेको बेलामा मैले एउटा किताब पढ्दैथिएँ, जहाँ दुईवटा सन्दर्भ पदहरू दिइएका थिएः भजन ३४ र दानियल ३:२९। यसकारण मैले फुर्सद पाएको बेलामा मेरो बाइबल खोलें र मैले यी खण्डहरू पढ़ें। मैले पढ़ेका पहिला शब्दहरूले मलाई प्रहार गरेः " हर बखतमा म परमप्रभुलाई धन्यको भन्नेछु।” भजनलेखकको कत्रो सुदृढ़ संकल्प, कत्रो साहस, कत्रो पौरुष! ओहो, तिनले परमेश्वरलाई धन्यको भनेर खुशी तुल्याउने नै थिए; अनि मचाहिँ? म रोएर उहाँलाई अवश्य खुशी तुल्याउन सक्दिनँ। तिनले हर बखतमा परमप्रभुलाई धन्यको भन्नेथिए। अहिले पनि? हो; अनि यो पद पढ्दाखेरि मेरो आँसुको धारा सुकिगयो। अनि म निश्चयतापूर्वक भन्न सकें : म मेरा प्रभुलाई अहिले नै खुशी तुल्याउँछु।
त्यसपछि म यस भजनमा पढ्दै गएँ: “मैले परमप्रभुको खोजी गरें; अनि उहाँले मेरो विन्ती सुन्नुभयो र मलाई मेरा सबै डरहरूदेखि छुटकारा दिनुभयो” (भजन ३४:४)। “यस दु:खीले पुकारयो, अनि परमप्रभुले उसको विन्ती सुन्नुभयो र उसलाई उसका सबै कष्टहरूबाट बचाउनुभयो” (भजन ३४:६ )। अनि अन्तमा मैले यो पनि पढ़ें: “उहाँले उसका सबै हड्डीहरू रक्षा गर्नुहुन्छ; तिनमा एउटै पनि भाँचिदैन” (भजन ३४:२०)। अनि “यस प्रकारले छुटाउन सक्ने अरू कुनै ईश्वर छैन”(दानियल ३:२९)। यो प्रतिज्ञा मेरो थियो। तत्कालै मेरो डर हरायो। मेरो भारी एकलोपन, मेरा श्रीमान्को मलेरियाको प्रकोप र उहाँमाथि आइलाग्ने असभ्य मानिसहरूका विषले पूर्ण तीरहरूको वज्रपातको खतरा मेरा सबै समस्याहरू कहाँ गए? म आनन्दित भई सुत्न गएँ।'
छुटिने साँझमा उनीहरू दुवैका मनमा खेलिरहेका विचारहरूको सार चार्लस स्टडले एउटा वाक्यमा प्रस्तुत गरे र त्यो वाक्य यस मिसन- अभियानको आदर्श वाक्य बन्यो। किनकि उनको छेउमा बसेका एकजना मानिसले उनलाई सोधेः 'के तपाईं बाउन्न वर्षको उमेरमा आफ्नो देश, आफ्नो घर, आफ्नी पत्नीलाई र आफ्ना छोरीहरूलाई छोड्नुहुन्छ?' तब उनले तिनलाई जवाफ दिए: 'के प्रभु येशू परमेश्वर हुनुहुन्छ? के उहाँ मेरो लागि मर्नुभयो? तब उहाँको निम्ति मेरो कुनचाहिँ त्याग, मेरो कुनचाहिँ बलिदान बढ़ी हुन सक्छ र? मेरो विचारमा उहाँको निम्ति मैले दिन नसक्ने कुनै त्याग, कुनै बलिदान छँदैछैन।'
पानीजहाजमा अफ्रिकातिर यात्रा गरिरहेको बेलामा उनले आफ्नी पत्नी प्रिसिल्लालाई निम्न पत्र लेखेः
‘सन् १९१३ साल, फेब्रुअरी १ तारिखको दिनः मेरी प्राण- प्रिया, परमेश्वरले हामीलाई बितेको रातमा, हाम्रो बिदाइको रातमा व्यस्त तुल्याउनुभयो। अनि यो बढ़िया थियो; किनकि मैले अरू बढ़ी सहन सकिनँ। अनि यसरी उहाँले हामीलाई त्यस कठिन घड़ी पार ल्याउनुभयो र हाम्रो मनमा शान्तिको किरण चम्काउनुभयो। भयभीत नहोऊ, नडराऊ! प्रभु विजेता हुनुहुन्छ। उहाँले हामीलाई एउटा फराकिलो, फलाइलो ठाउँमा ल्याउनुहुनेछ। शङ्घाईका दिनहरूदेखि यता मैले अहिले जस्तै परमेश्वरको शक्ति अनुभव गरेको छैनँ। मेरी प्रिया, प्रिसिल्ला, जय मसिह! जब हामीले हाम्रो जीवन सँगै शुरु गरयौं, तब हामीले परमेश्वरको निम्ति हाम्रो सबै बाजीमा हाल्यौं, र जसरी हामीले वैवहित जीवन शुरु गस्यौं, त्यसरी हामी यो सिद्ध्याउनेछौंः हामी एक-अर्कालाई औधि प्रेम गरेर। प्रभु येशूलाई मात्र हामी एक अर्कोलाई भन्दा बढ़ी प्रेम गर्छौं।'
उनले डा. विल्कर्सनलाई एउटा पत्र लेखे, जुन पत्रमा उनले आफ्नो मनको जलन निम्न प्रकारले बयान गरेः
'मेरो सुविधा ठूलो छ; किनकि जुन समिति अधीनस्त म काम गर्दैछु, त्यो समिति सानो छ; अनि त्यो समिति धनी छ; अनि त्यो समिति उदारचित्तको पनि छ; अनि यसको बैठक सधैं बस्दैछ। किनकि पिता, पुत्र र पवित्र आत्मा यस समितिका सदस्य हुनुहुन्छ।
हाम्रो पक्षमा परमेश्वर, ती करोड़पति हुनुहुन्छ, जो संसारको सबैभन्दा धनाढ्य व्यक्ति हुनुहुन्छ। उहाँसित मेरो बातचित भयो, र उहाँले मलाई उहाँको चेकबुक दिनुभयो र मलाई खुला रूपले र राजीखुशीले यसका चेकहरू काट्ने आश्वासन दिनुभयो। उहाँको कम्पनीले मैदानको घाँस पहिराउँछ र चराचुरुङ्गीहरूको दैनिक आहारको निम्ति प्रबन्ध गर्छ; उहाँका छोराछोरीहरूका केश धरि गनिएका छन्। उहाँको कम्पनीका प्रमुख अधिकारी हाम्रा प्रभु येशूले हाम्रो सबै खाँचोको निम्ति बन्दोबस्त गर्ने कबुल गर्नुभयो। अनि उहाँको कम्पनीका दुईजना सदस्य सधैं हाम्रो साथमा जानुहुँदो रहेछः प्रभु येशू र पवित्र आत्मा। उहाँ हामीलाई कहिल्यै त्याग्नुहुन्न; उहाँ हामीलाई कहिल्यै छोड्नुहुन्न। उहाँले मलाई बितेको समयमा उहाँको अधीनस्त काम गरेका आफ्ना दुईजना कामदारहरूलाई उहाँको विश्वासयोग्यताको निम्ति साक्षी राख्नुभयो। पुरानो नियमको समयमा भविष्यवक्ता एलिया थिए, जसको खाँचो एक समयमा कागहरूले पूरा गरे, र अर्को समयमा एकजना स्वर्गदूतले पूरा गरे। अनि त्यहाँ प्रेरित पावल पनि थिए, जसको जीउभरि चोटका दागहरू थिए, जसले साक्षी दिएः “प्रभु येशूले मलाई धेरैपल्ट मृत्युबाट बचाउनुभयो।” प्रभु येशूको निम्ति जीवन गुमाउनेले त्यो प्राप्त गर्छ भन्ने प्रभुको प्रतिज्ञा तिनले सत्य साबित गर्न खोजे। तिनले मलाई आफ्नो जीवनबाट ‘अरबी रातहरू' नामक उपन्यासका कथाभन्दा अति चाखलाग्दा सत्य कथाहरू सुनाएः तिनी खतराहरूबाट उम्के कति-कति; तिनले कत्रा कठिनाइहरू सहे; तिनले कहाँ-कहाँ यात्रा गरे; तिनी आफ्नो प्रभुको निम्ति कतिपल्ट कालकोठरीमा बसे। तर तिनको आँखामा आगोको चमक थियो, र तिनले हाँसीखुशीको सोरमा मलाई भनेः “यी सबैबाट मेरा मालिकले मलाई छुटकारा दिनु- भयो।” तिनले मलाई भने: “प्रभु येशूको निम्ति अर्पेको जीवन संसारको सबैभन्दा उत्तम जीवन हो।” तिनको निम्ति अहिले बिसाउने समय आएको छ। तर प्रभुको सेवा गर्ने तिनको तृसना अझै मेटिको छैन। तर तिनी स्वार्थी हुनुहुँदैनथियो; तिनले प्रभुको आदेशअनुसार अरूलाई उहाँको सेवा गर्ने मौका दिनुपरेको थियो।
चार्लस स्टडको एकमात्र साथी अल्फ्रेड बी. बक्स्टन थिए, जो बार्ले बक्स्टनका छोरा थिए, जो उनको क्याम्ब्रिजको पुरानो विद्यार्थी मित्र थिए। अल्फ्रेडचाहिँ भर्खरै चिकित्साको विषयमा स्नातकको डिग्रीमा उत्तीर्ण भए, तर तिनले चार्लस स्टडसित जान आफ्नो पढ़ाइ स्तगित गरे। सँगै उनीहरू केन्या र युगान्डाबाट भएर ताल अल्बेर्टको किनारामा पुगे। यस समयमा चार्लस स्टडले निम्न कुरा लेखे:
'हाम्रो बाटोमा हामीमाथि आइपरेका कष्ट, कठिनाइ र बाधाहरू अनेक थिए। किनकि यस समयभन्दा अघि हामी यो बाटो कहिल्यै हिँडेका थिएनौं। हामीसँग यी आदिवासी जातिका मानिसहरूको भाषाको ज्ञान छैन; तर हामीले केही महिना तिनीहरूको इलाकामा यात्रा गर्दैथियौं। अनि बेल्जम कॉन्गोको चल्टी भाषा फ्रेन्च थियो, तर न मलाई न बक्स्टनलाई फ्रेन्च भाषा आउँथ्यो; किनकि हामीले स्कूलमा सिकेको थोरै फ्रान्सेली भाषा त्यस समयसम्म बिर्सिसकेका थियौं। हामीले बाटोमा धेरै पल्ट सिंहहरू देख्यौं, तीदेखि हामीलाई डर लाग्यो। तर त्यस बेलामा हामीलाई जोन बन्यनले लेखेको 'प्रगतिको यात्रा' को किताबमा बयान गरिएको 'क्रिस्तान' नाम गरेको भाइको सम्झना आयो, जसले सिंहहरूको सामना गरेको थियो, र पनि आफ्नो बाटोमा अघि बढेको थियो; किनकि ती सिंहहरू अदृश्य साङ्लोले बाँधिएका थिए।
कति मानिसहरूले भनेः "बेल्जमका अधिकारीहरूले तिमी ब्रिटिशहरूलाई यस मुलुकमा पस्न दिँदैनन्।” तिनीहरूलाई मेरो जवाफ यस प्रकारको थियोः “यो देखिजाला; कम्तीमा मैले त्यहाँ पस्ने कोशिश गर्नुपर्छ नि।” बिशप ठक्करले पनि हामीलाई गम्भीरतासाथ आफ्नो राय सुनाउनुभयो: “मेरो विचारमा तिमीहरू सफल हुन सक्नेछैनौ; किनकि त्यहाँ तिमीहरूले घातक ज्वरो र अनेक खतराहरू सामना गर्नुपर्छ। तिमीहरू बाँच्नेछैनौ।” अनि नभन्दै ज्वरोरूपी सिंहले हामीलाई आक्रमण गरि- हाल्यो। मेरा एकाइस वर्ष पुग्न लागेका साथीको शरीरको स्वास्थ्य त्यति बलियो थिएन। अनि हामी अझ पनि ब्रिटिशको पूर्व-अफ्रिकामा थियौं, जुन भूभाग ज्वरोले ग्रस्त खास क्षेत्रभित्र परेको थिएन। तर यस ज्वरोको भारी प्रकोपले तिनलाई एक हप्तासम्म छोड़ेन। तर यतिमा हामी निराश भएनौं, तर हामी विश्वासको साथ अघि बढ्यौं; किनकि हामी आफ्नो दिमागमाथि भर परेनौं। हामी आफूलाई परमेश्वरको इच्छामा सुम्पेर र उहाँको शक्तिमा भर पर्दै हामी हिम्मत बाँधेर अघि बढ्यौं।
मसिन्दीमा छाउनी हालेको बेलामा हाम्रा तम्बूहरूमा आगलागी भयोः एउटा पाल नष्ट भयो र त्यसभित्र भएका सरसामानहरू पनि। त्यसपछि अर्को 'नरभक्षक सिंह' देखा परयो। मेरा साथीले आफ्ना आफन्तहरूबाट एउटा टेलिग्राम पाए, जसले तिनलाई इङ्गल्याण्डमा फर्कने आदेश दिए। अर्को मिसनरीको रायअनुसार तिनको कलिलो उमेरले गर्दा तिनी कॉन्गोमा जानको निम्ति अयोग्य थिए अरे। अनि मलाई लाग्छ, तिनले अहिले आफ्नो जीवनमाथि आइपरेको सबैभन्दा ठूलो परीक्षा सामना गर्नुपरेको थियो। तिनीभन्दा अघि धेरैजना यस प्रकारको परीक्षामा परेर उत्तीर्ण भएनन्, र यसैले तिनीहरूले अनन्त भारी महिमाको इनाम पाउन सकेनन्। तर यस परीक्षामा पर्दा एउटा निष्ठावान् विश्वासीको निम्ति एउटा प्रतिक्रिया मात्र सम्भव छः सांसारिक नाताभन्दा परमेश्वर पिताको नाता महत्त्वपूर्ण गनिन्छ। अनि मेरा साथीको निर्णय परमेश्वरको जनको योग्य भयो; तिनले आफ्नो निर्णयसित परमेश्वरलाई आदर गरे। तिनी फर्केनन्। अनि परमेश्वरले तिनको यस निर्णयमा अचम्म प्रकारले आफ्नो अनुमोदनको छाप लगाइदिनुभयो र तिनलाई आशिष दिनुभयो। आउँदा दुई वर्षमा तिनलाई एकै घण्टा धरि ज्वरो भएन। तिनीभन्दा बलिया अरू मिसनरीहरू आए र ज्वरोले तल परे, तर तिनी बिरामी भएनन्। अनि बाह्र महिनापछि तिनका आफन्तहरूले तिनलाई अर्को टेलिग्राम पठाएः तिनको भाइ बेल्जम कॉन्गोमा आएर हामीलाई साथ दिने रे। हाम्रो निम्ति यो कति खुशीको खबर थियो।'
मसिन्दीबाट हिँडेर उनीहरू तीन दिनमा ताल अल्बर्टमा पुगे। अनि उनीहरूले त्यो ताल पार गरे। अनि अर्को 'सिंह' को मुख बन्द भयो। किनकि उनीहरूले बेल्जमको अधिकारीबाट एउटा सिफारिस पत्र पाए। यसकारण उनीहरूले कॉन्गोभित्र प्रवेश गर्न सके। पारी आएर उनीहरूले तालको किनारामा आफ्नो पाल टाँगे। त्यहाँ पूरा मच्छर र झिङ्गा लाग्थ्यो। त्यहाँ गोहीहरूको आवाज सुनिन्थ्यो। तर उनीहरू साह्रै आनन्दित थिए।
चार्लस स्टडले यस अवधि यसो लेखे: 'मलाई थाहा छः मेरो जीवन परमेश्वरको हो। अनि उहाँको महिमा भएको र मानिसहरूले मुक्ति पाएको मेरो एकमात्र चाहना हो। अनि उहाँ यो जान्नुहुन्छ। हालैमा मेरो स्वास्थ्य बलियो छ; अघिका धेरै वर्ष यस्तो भएको थिएन। अनि परमेश्वर हाम्रो साथमा हुनुभएको निश्चयता सुनमाथिको सुगन्ध छ। उहाँ मसँग बोल्दै हुनुहुन्छ; अनि उहाँको पवित्र वचन मेरो निम्ति सुनभन्दा बहुमूल्य छ। त्यसले मलाई उहाँको निम्ति जोशिलो र साहसी तुल्याउँछ र उहाँको निम्ति कुनै न कुनै वीरता देखाउने प्रेरणा दिन्छ।
उनीहरूको यात्रा डरलाग्दो बलेन्डा जातिको इलाकाबाट भएर गयो; अनि यो जाति वरिपरिका जातिहरूको निम्ति डरत्रासको कारण थियो। यसकारण यी दुईजनाले मुस्किलले भारियाहरूलाई पाउन सके। किनकि केही समय अघि एकजना गोरो मानिस युगान्डाबाट यहाँ आएको थियो; अनि त्यो मानिस यस जातिको युलु नाम गरेका प्रमुखको सामु ल्याइयो। तिनको सामु तिनीहरूले त्यसलाई नाङ्गो पारे, त्यसलाई पिटे र त्यसलाई फिर्ता पठाए। अनि उनीहरू त्यहाँबाट भएर गएको केही महिनापछि यस जातिको मानिसले एकजना हात्तीको शिकार खेल्ने अङ्ग्रेजलाई विषालु तीरले हान्यो, र त्यो मर्यो।
हामीले यस इलाकामा एक दिन ठीक बाटो बिरायौं, र हामी हाम्रा भारियाहरूबाट अलग भयौं। हामीले एक जग्गामा बाटोको मोड़ याद गरेनौं। अनि हामी तीन घण्टाभन्दा बढ़ी यी पहाड़हरूमा उकालो-ओरालो लाग्यौं र धेरै बस्तीहरू पार भयौं। हामीसँग खानेकुरा केही पनि थिएन। अनि हामीले यी जातिका मानिसहरूको भाषा जान्दैनथियौं। हामी निक्कै लाचार र हैरान भयौं। किनभने हामीलाई साह्रै भोक लागेको थियो। अनि यस अवस्थामा एकजना आदिवासी मानिससित हाम्रो भेट भयो, जसले एउटा ढोकोमा मकैका गोगाहरू र शकरकन्द बोक्दैथियो। हामीले त्यस मानिसबाट केही खानेकुरा किन्ने इच्छा गर्यौं, तर यसको लागि कसरी तिर्ने? हाम्रो आवश्यकताले हामीलाई कुशाग्र बुद्धिमान् तुल्यायो। तुरुन्तै हामीले आफ्ना प्यान्टबाट केही बोटनहरू निकाल्यौं। अफ्रिकामा यो मुद्रा चाल्दो रहेछ। त्यस मानिसले मकै र शकरकन्दको निम्ति केही बोटनहरू लियो, र खुशी भई त्यो अघि बढ्यो। तर त्यसले ती बोटनहरू कसरी प्रयोग गर्छ, सो हामीले अनुमान लाउन सकेनौं, किनकि त्यो नाङ्गो थियो र त्यसको लाउने लुगा नै थिएन।
अर्को गाउँमा पस्दाखेरि हाम्रो आगमनले त्यहाँका मानिसहरूको बीचमा ठूलो हलचल मच्चायो; किनकि ती मानिसहरूले कहिल्यै लुगा लगाइएका गोरा मानिसहरूलाई देखेका थिएनन्। तर इसाराको भरमा हामीले भन्न खोजेको कुरा बुझियो; अनि थोरै समयभित्र एउटा आगो सल्क्यो, एकजना भान्से आयो र हाम्रो वरिपरि खुशीले गद्गद् भएका मानिसहरूको थुप्रो लाइयो। हाम्रो निम्ति पखाइएको खाना साधारण थियो; किनभने खाना पखाउन कुनै कराही वा भाँड़ा थिएन। तर खानेकुरा काइलामाथि राखिन्थ्यो, र बेला-बेलामा पल्टिन्थ्यो, अनि आधा घण्टाभित्र पाकियो। तर हाम्रो ज्यादा भोकले गर्दा खाना मीठो थियो; अनि हाम्रो जागर फेरि जाग्यो। हामीलाई बड़ो नामी होटलमा स्वादिष्ट खाना खाएर अघाएको जस्तै क्या ठूलो सन्तुष्टि लाग्यो!! अनि यस खानाको निम्ति फेरि केही बोटनहरू दिइए। अनि तिनीहरूका गालामा झुन्डिएका हारहरूले हामीलाई स्पष्ट देखाइदिएः यी मानिसहरू नरभक्षक थिए। किनभने यी हारहरूमा मणि वा बहुमूल्य पत्थर होइन, तर मानिसहरूका दाँतहरू हालिएका थिए। तर अल्फ्रेड र म हामी दुईजना दुब्ला-पातला थिए। यसकारण तिनीहरू हामीलाई मारेर खाने परीक्षामा परेनन् होला। परमेश्वरको निगाह हामी र तिनीहरूमाथि थियो; यसकारण मिल्ने साथी भएर तिनीहरूको तालीको साथ हामी एक-अर्कोबाट बिदा भयौं।
चार्लस स्टडको एउटा चिट्ठीमा यसो पढिन्छः
कीलो भन्ने ठाउँचाहिँ सुनको खानीको केन्द्र रहेछ। बरसादले गर्दा यातायात गर्न समस्या थियो र तीन महिनासम्म यहाँ रहने बाध्य भयो।
त्यसपछि हामीले अरेबीतर्फ यात्रा शुरु गरयौं। अनि हाम्रो बाटो इटुरीको ठूलो घनघोर जङ्गलबाट भएर गयो। श्री स्टन्ली जोह्नसले पनि बितेको समयमा यो जङ्गल पार गरेका थिए। अनि यस जङ्गलको ओराली- उकाली, अप्ठ्याराभन्दा अप्ठ्यारा चिप्ला गोरेतोहरूले गर्दा यसको नाम चलेको थियो। रूखहरूका हाँगाहरूले हामीलाई घरिघरि बाधा दिन्थे; अनि वन यति घना थियो, कि घाम देखिँदैनथियो। पानीका थप्काने थोपाको थपथप आवाजको तालमा हामी हिँड्थ्यौं। यस जङ्गलमा बस्ने जाति पिग्मीज थियो, जुन मानिसहरू लुकेका थिए, र कहीं पनि देखिँदैनथिए। बेला-बेलामा यो जङ्गल साह्रै सुन्दर थियो। यसका रूखहरू धेरै अग्ला थिए, र हामीलाई ढाक्थे, हामीलाई ठूला-ठूला क्याथेड्रलमा भएको लाग्थ्यो। बेला-बेलामा कालिच र अन्य चराहरूको आवाज सुनिन्थ्यो। तर ती चराहरू विरलै देखिन्थ्यो, र तुरुन्तै हाम्रो दृष्टिमा लोप हुन्थे। यसकारण हामीले तिनीहरूको मासुको सट्टामा केरा, रोटी र चिया खान्थ्यौं।
मेरो जीवनमा इटुरीजस्तै जङ्गलको जस्तो अप्ठ्यारो बाटो म अघि कहिल्यै गएको थिइनँ। हामीसँग बाख्राको खुर भए हुनेथियो। पहाड़- हरूहुँदो बाटो ठाड़ो थियो, घरि दूला, घरि लड़ेका रूखहरू र घरि रूखका जरा पार गर्नुपर्थ्यो। अनि बाटो यति चिप्लो थियो, कि शैतानले राति बाटोभरि साबुन लगाएको हुनुपर्ला जस्तै मलाई लाग्यो। हामी लाठीको भरमा एकदम होशियारसाथ हिँड्नुपरेको थियो; यसो गरे पनि हामी कतिपल्ट अचानक भुइँमा लड्यौं। यो जङ्गल पार गर्न हामीलाई एघार दिन कहाँ लाग्यो र! हाम्रा भारियाहरूले अघि बढ्न नमानेका हुनाले हामीलाई चौध दिन बढ़ी समय लाग्यो।
तर अन्तमा यी दुईजना अफ्रिकाको मुटुमा अवस्थित भएको नियाङ्गारामा, उनीहरूको गन्तव्य स्थलमा आइपुगे। उनीहरूको यो कठिन यात्रा नौ महिना लागेको थियो; यस समयभरि उनीहरू प्रायः सधैँ तम्बूमा बसे। यस समयको बारेमा उनले पछि यसो भने: 'हामी धेरै पल्ट अप्ठ्यारोभन्दा अप्ठ्यारो परिस्थितिमा पुगेका थियौं, तर यस अवस्थामा परमेश्वरले हामीलाई सधैं साथ दिनुहुन्थ्यो। यसकारण हामीले यस प्रकारका मौकाहरूको बाटो हेर्न र यस्ता कठिन परिस्थितिहरू खोज्न थाल्यौं। किनकि परमेश्वरले हामीलाई यी कठिनाइहरूबाट कसरी बचाउनुहुन्छ, सो हामीले देख्न खूब रहर गर्यौं।
परमेश्वरले उनीहरूलाई यस ठाउँमा ल्याइपुरयाउनुभयो, जुन ठाउँमा जाने उनीहरूको शुरुको योजना थिएन। किनकि उनीहरूले मिसनको काम फराजेबाट शुरु गर्न चाहन्थे। तर प्रभुले त्यहाँ जाने बाटो बन्द गर्नुभयो। अनि जुन कुरा पहिले उनीहरूको निराशाको कारण हुन्थ्यो, त्यो कुरा उनीहरूको निम्ति आशिष बन्यो। किनकि फराजे र डुङ्गुको बीचमा माइल प्रतिमाइल पाँच-दस-पन्ध्र फिट अग्लो जङ्गल-घाँसको बाँक्लो घारी थियो, जहाँ कताकतै थोरै मानिसहरू बस्थे। तर नियाङ्गारामा प्रकृति अर्को थियोः जङ्गलका अग्ला रूखहरूको बीचमा जताततै झुप्पा- झुप्पै खरले छापिएका माटोका घरहरू थिए, केराबारीहरू र खजुरका रूखहरू थिए। अनि कॉन्गोका सबैभन्दा बढ़ी मानिसहरू यही इलाकामा जिउँथे। अनि परमेश्वरले डुङ्गुमा बस्ने उच्च पद-अधिकारी काउन्ट डे ग्रनलाई प्रयोग गर्नुभयो, जसले उनीहरूलाई यस क्षेत्रमा काम गर्ने सरकारी अनुमतिहरू दिए। उनीहरूको विश्वासको यस प्रथम कदममा परमेश्वरको अगुवाइ र आशिष थियो।
१२
भित्री अफ्रिकामा
परमेश्वरलाई धन्यवाद होस्, उनीहरू सन् १९१३ सालको अक्टोबर महिनाको १६ तारिखमा नियाङ्गारामा आइपुगे। श्री अल्फ्रेड बक्स्टनले यस ऐतिहासिक क्षणको विषयमा यसो लेखेः
यस बेलामा हाम्रो सेवकाई उत्तरपट्टि वा दक्षिणपट्टि विकसित हुने हो, सो हामीलाई थाहा थिएन। तर पछिबाट स्टडज्यूलाई के लाग्यो भने, हामी नियाङ्गारामा नै हाम्रो मिसन-केन्द्र बनाउनुपर्ला। यसकारण हामीले त्यही जग्गामा एउटा जमिन लिने विचार गरयौं, तर हामीले कतै पाउन सकेनौं; किनकि गाउँका मुख्यले हामीलाई हामीले रोजेको ठाउँमा बस्न दिएनन्। अनि यो घरिघरि यस्तो भयो।
यसकारण हामीले दक्षिणपट्टि नाला भन्ने ठाउँसम्म पाँच दिनको यात्रा गर्यौं, जुन ठाउँ हामीलाई एउटा सुयोग्य केन्द्र लाग्यो; किनकि त्यसको वरिपरि कॉन्गोका सबैभन्दा धेरै मानिसहरू बस्थे। परमेश्वरको अगुवाइ कति अचम्मको छ! हामी ठीक ठाउँमा आइपुग्यौं, जहाँ प्रशस्त मानिसहरू बाँच्थे। हामीले शुरुको योजना कायम राखेका भए, हामी शायद कहिल्यै यहाँ आइपुग्नेथिएनौं होला।
स्टडज्यूले तुरुन्तै नालामा काम गर्ने परमिट पाउन खोजे, अनि उनले त्यो पाइहाले। अनि त्यस ठाउँका मुख्यले पनि हामीलाई हामीले चाहेको जग्गाजमिन लिने अनुमति दिए। अनि त्यो जमिन हाम्रै भयो। यसरी परमेश्वरले हामीलाई दक्षिणमा जान कर गर्नुभयो; किनकि नालामा काम गर्ने अनुमति नपाई उहाँले हामीलाई नियाङ्गारामा बस्न दिनुभएन।
यसरी शुरुमा उनीहरूलाई दुईवटा मिसन - केन्द्रको निम्ति जग्गा मिल्यो। अनि तत्कालै उनीहरूले नियाङ्गारामा जमिन फारेर एउटा घर बनाउन थाले। केही हप्तापछि त्यो घर बनियो; त्यसको खर्च केवल छ पाउण्ड लागेको थियो।
त्यस घरमा चार्लस् स्टड अद्भुत प्रकारले एउटा विषालु सर्पबाट बाँचे। यस घटनाको वृत्तान्त यस प्रकारको छः 'त्यस बिहानमा हामीले बिहानको खाँजा खाइसक्न लागेका थियौं, जब मेरो काम गर्ने केटा आयो, जसले हामीलाई भन्योः “साहिब, आउनुहोस् र हेर्नुहोस्, हजुरको पलङ्गमा एउटा सर्प रहेछ!” म हेर्न गएँ र साँच्चै मेरो कम्बलमनि एउटा सानो, हरियो सर्प थियो। अनि आदिवासीहरूको भनाइअनुसार त्यसको विष घातक थियो। अरे, मैले विगत रात त्यस विषालु सर्पसित सुतेछु! अनि तुरुन्तै मलाई भजन ९१ अध्यायको सम्झना आयो। बितेको जनवरी महिनामा दुई दिनभित्र विभिन्न विश्वासीहरूले भिन्ने अवसरहरूमा मलाई पाँचपल्ट यस भजनद्वारा उत्साह दिएका थिए। अनि साँच्चै परमेश्वरले मेरो विषयमा आफ्ना दूतहरूलाई हुकुम दिनुभयो, जसले मेरो जीवन रक्षा गरे।
त्यसपछि उनीहरूले नालामा दोस्रो मिसन-केन्द्र स्थापित गरे। दुई वर्षभित्र स्टड र बक्स्टनले अफ्रिकाको अन्तर्देशमा चारवटा काम गर्ने क्षेत्रहरू निर्धारित गरे। त्यसको क्षेत्र - फल केही सय वर्गमाइल थियो, जहाँ आठवटा जातिका मानिसहरू बस्थे। परमेश्वरले यी दुईजनाको विश्वास कदर गर्नुभयो र पवित्र आत्माको अगुवाइमा यस आशाजनक ठाउँमा ल्याउनुभयो।
अब यो भूमि परमेश्वरको निम्ति दाबी गर्ने समय आयो, र यहाँका बासिन्दाहरूलाई ख्रीष्ट येशूको निम्ति जित्नु थियो। किनकि चार्लस स्टडले पाँचजना मिसनरीहरू आइरहेको खबर पाएका थिए। यसकारण उनले अल्फ्रेड बक्स्टनलाई एकलै छोड़े र बम्बिलीबाट भएर उनले एक हजार माइल टाढ़ा अवस्थित भएको कॉन्गो नदीको मुखमा पुग्न खोजे, जहाँबाट उनले इङ्गल्याण्ड यात्रा गर्न चाहे; किनभने उनलाई अझ बढ़ी मिसनरीहरूको खाँचो थियो। तर अल्फ्रेड बक्स्टनले चाहिँ यो मिसनरी टोली स्वागत गरे, र तिनीहरूसित नालामा प्रभुको काम शुरु गरे। तिनीहरूले तत्कालै त्यहाँका बासिन्दाहरूको भाषा सिक्न थाले। अनि चार्लस स्टडको अनुपस्थितिमा तिनीहरूले १९१५ सालको जून १९ तारिखको दिनमा नियाङ्गारामा बाह्रजना नयाँ विश्वासीहरूलाई पानीको बप्तिस्मा दिन सके।
यस शुभ अवसरको विषयमा अल्फ्रेड बक्स्टनले यसो लेखेः 'पानीको बप्तिस्मा लिन लागेका विश्वासीहरूले हामीले तिनीहरूलाई सोधेका सबै प्रश्नहरूको सन्तोषजनक जवाफ दिए; त्यसपछि हामी नदीको किनारातर्फ अघि बढ्यौं। भाइ कोल्सले एक-एकजनालाई मकहाँ पठाए, म नदीको पानीमा खड़ा भएको थिएँ, र मैले तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा दिएँ। त्यसपछि हामीले प्रभु येशूको प्रेम बयान गर्ने मीठो भजन गायौं। यस आत्मिक गीतका शब्दहरू र त्यसको भाका कति घतलाग्दो थियो। यस पवित्र वातावरणमाथि शान्तिको छाया थियो। अनि कोल्स भाइको रिवाल्वरबाट निस्केको धमाकाले मात्र त्यो शान्ति भङ्ग गस्यो; किनकि तिनले यसरी नदीमा गोली हानेर हाम्रो नजिक आउन लागेका गोहीहरूलाई भगाए।'
अनि छ महिनापछि नालामा पनि अठारजनाले बप्तिस्मा लिएर प्रभु येशूमाथि राखेको विश्वासको सार्वजनिक गवाही दिए। अनि यी नयाँ विश्वासीहरूले नदीबाट एक-एक ठूलो ढुङ्गा निकालेर ल्याए र मिसन- केन्द्रमा आई ती ढुङ्गाहरू लिएर एउटा रास बनाए। यी नयाँ ख्रीष्ट- विश्वासीहरूले आफ्नो जीवन परमेश्वरको हातमा सुम्पे; अनि ती ढुङ्गाहरू यसको निम्ति साक्षी थिए। ती स्मारक -ढुङ्गाहरू अझै पनि त्यहाँ छन्। अनि ती ढुङ्गाहरूले चार्लस स्टडको नाति नोएल ग्रब्बको चिहान सिंगारिरहे, जो सन् १९२१ सालमा एक वर्षको उमेरमा त्यहाँ मर्यो।
नालामा सुसम्पन्न गरिएको हरेक बप्तिस्मा-कार्यक्रम इसाई पत्रिकाको मुख्य समाचारको योग्य हुनेथियो; किनकि असभ्य नरभक्षक जातिका मानिसहरू, मतवाला, चोर, हत्यारा, व्यभिचारी र जादुगरहरूले प्रभु येशूमाथि विश्वास गरे, र यसरी तिनीहरू परमेश्वरको राज्यका सदस्य बने। यस बप्तिस्मा-सभामा अचम्मको कुरा सुन्न पाइन्थ्यो। एकजना बप्तिस्मा लिनेले स्वीकार गरयो : 'मैले मेरो छातीमा नअटाउने धेरै पापहरू गरें।' अर्को एकजनाले मानिलियोः 'मेरा बुबाले एकजना मानिसलाई मारे र हामी दुईजनाले त्यसको मासु खायौं।' अनि फेरि अर्को एकजनाले गवाही दियोः 'मैले मुर्दाका नङ्गबाट विष बनाएँ र यससित एउटा मानिसलाई मारें।'
अल्फ्रेड बक्स्टनले प्रभुलाई खोज्ने हरेक व्यक्तिलाई सोधेः 'तिमी किन मकहाँ आएको? म तिमीलाई सफासँग भन्न चाहन्छुः हामीसँग पैसा छैन। हाम्रा मानिसहरूसँग जीवन चलाउन पुग नपुग छ। तर हामीबाट परमेश्वरलाई चिन्ने ज्ञान पाउन सकिन्छ; हामीसँग परमेश्वरको पवित्र वचन छ। के तिमीले त्यो सुन्न र जान्न चाहन्छौ?' तिनीहरूलाई अभिवादन गर्दा तिनीहरूले यस प्रकारको वचन सुनेर पनि तिनीहरूमध्ये हरेकले तिनलाई जवाफ दिएः ‘पैसा हामीलाई के पर्बाह! हामी पैसाको लागि आएका होइनौं; हामी परमेश्वरलाई चिन्न चाहन्छौं। हामीले उहाँको खोजी गरेका छौं; र यही कारण तपाईंकहाँ आएका हौं।
चार्लस स्टडले अफ्रिकामा पुग्न धेरै परीक्षाहरू सामना गर्नुपरेको थियो। तर उनको जीवनको सबैभन्दा ठूलो परीक्षा इङ्गल्याण्डबाट आएको खबर थियोः उनले इङ्गल्याण्डबाट यात्रा गरेको केही समयपछि उनकी पत्नी प्रिसिल्ला अचानक सिकिस्त बिरामी परिन्। यिनको मुटुको नाप निक्कै बढ्यो। केही दिनसम्म जीवन बढ़ाउने औषधिको भरमा यिनी मात्र बाँचिन्। त्यसपछि श्री रडस्टोकले यिनलाई भेटे र यिनको निम्ति विश्वासको प्रार्थना चढ़ाए। त्यस क्षणदेखि यिनको स्वास्थ्यमा सुधार आयो। तर यिनी पूरा निको भइनन्, अनि यिनी बाँकी जीवनभर अशक्त रहने डर थियो। डाक्टरको सल्लाहअनुसार यिनी अबदेखि उसो पूरा होशियार हुनुपरेको र यिनले बाँकी जीवन कुनै भारी काम गर्नुहुँदैनथियो, तर यिनले सधैँ आराम गर्नुपरेको थियो। यसकारण यिनले बेलुका सात बजेदेखि सुत्न जानुपरेको र बिहान खाना खाने समयसम्म आफ्नो कोठामा रहनुपरेको थियो।
तर कुनै डाक्टर यिनलाई मिसनको लागि केही काम नगर्ने पार्न सफल भएनन्। किनकि यिनीसँग आफ्ना पतिको उदाहरण छँदैथियोः उनी विश्वासद्वारा आफ्ना सबै शारीरिक दुर्बलताहरूमाथि प्रबल भए। यति मात्र होइन, तर यिनीसँग परमेश्वरको बोलावट थियो। यिनलाई पक्का गरी थाहा थियोः यस मिसन-अभियानमा परमेश्वरको हात थियो; उहाँले यो यिनका पतिद्वारा शुरु गर्नुभएको थियो। अनि यिनले उनलाई काँधमा काँधमा मिलेर साथ दिन चाहन्थे। यसकारण यिनले आफ्नो दुर्बलतामाथि नजर नराखी मिसन-कार्यालयमा कामको नेतृत्व गरिन्। शुरुमा यिनी डाक्टरको सल्लाहअनुसार छिटो सुत्थिन् र ढिलो उठ्थिन्। तर पछि यिनले आफूलाई बाँकी नराखी पूरा बलले काम गरिन्।
यिनी बिरामीको ओछ्यानमा हुँदा यिनले विभिन्न प्रार्थनाका झुण्डहरू स्थापित गरिन् र महिनापिच्छे नयाँ मिसन पर्चाहरू लेखिन्, जुनचाहिँ चारैतिर हजारौं मानिसहरूको हातमा पर्ने गर्थे। अनि त्यस समयमा दिनमा यिनले बीस-तीसवटा चिट्ठी लेख्थिन्। अनि यिनको नेतृत्वमा 'मध्य- अफ्रिका-मिसन'को पत्रिकाको प्रथम अंक छापियो। यसकारण जब १९१४ सालको अन्तमा चार्लस स्टड इङ्गल्याण्डमा आइपुगे, तब उनले मिसन- कार्यालय असल ढङ्गले चलेको भेट्टाए।
१ कोरिन्थी १:२५ पदमा लेखिएको 'परमेश्वरको मूर्खता मानिस- हरूभन्दा बुद्धिमान् हुन्छ' भन्ने वचन फेरि पनि सत्य ठहरियो। किनभने उता दुई वर्षभित्र एकजना रोगी र वृद्ध मानिसले मध्यअफ्रिकामा प्रथम मिसनको काम स्थापित गरेका थिए, अनि यता एउटी ओछ्यानमा परेकी अशक्त महिलाले मिसन-कार्यालय चलाएकी थिइन्। यसरी नै 'मध्यअफ्रिका- मिसन' शुरु भयो। परमेश्वरको परियोजना पूरा हुनु हो भने, यसको निम्ति एउटा कुरा अनिवार्य छः विश्वास। हो, यसको निम्ति शिक्षादीक्षा, प्रतिभा वा शक्ति होइन, तर सकली विश्वास नित्य आवश्यक छ।
चार्लस स्टड यसपालि अन्तिम पल्ट इङ्गल्याण्डमा पुगे। उनले देशको एक छेउदेखि त्यसको अर्को छेउसम्म परमेश्वरका जनहरूलाई मिसनको आह्वान दिइरहे। तिनीहरू जागिउठून्, र हराएका आत्माहरूलाई बचाउने संग्राममा ठूलो त्यागको साथ भाग लिऊन्। याद रहोस्ः त्यस समयमा प्रथम विश्व-युद्ध चलिरहेको थियो। घरिघरि यात्रा गरेकाले गर्दा उनी कमजोर भए, अनि उनी थाकेका थिए, तर उनले आराम गर्न छुट्टी लिन मान्दैनथिए। उनलाई घरिघरि ज्वरो आइरहेको थियो; किनकि उनलाई मलेरिया-रोगले सताइरहेको थियो। कहिलेकाहीं यस्तो हुन्थ्योः उनी बोल्न मञ्चमा चढ़िरहेको बेलामा उनलाई ज्वरो भइरहेको, तर मिसनको सम्बन्धमा बोल्दा-बोल्दै ज्वरोले उनलाई अचम्म प्रकारले छोड्ने गर्थ्यो।
केही समयको निम्ति चार्लस स्टड ‘मध्यअफ्रिका-मिसन' नामक पत्रिकाको संपादक भए; उनले यस पत्रिकामा हलचल मच्चाउने यो लेख हाले।
यूकेका चार करोड़ सुसमाचार सुनिसकेका मानिसहरूको निम्ति जति पास्टरहरू र अन्य इसाई कर्मचारीहरू छन्, यसको आधा सङ्ख्या मिसनरीहरू पनि छैन, जो एक सय बीस करोड़ सुसमाचार नसुनेका अन्य- जातिका मानिसहरूको बीचमा सेवारत छन्। तब 'ख्रीष्टका सिपाही' भन्ने नाम कसलाई सुहाउँछ, सो मलाई भन्नुहोस्! घरमा रहनेहरूलाई वा संग्राममा उत्रेकाहरूलाई? के म यी घरमा रहनेहरूको सेनाको यस विभागलाई एउटा नाम दिऊँ? यस्ताहरू “पहिले बेलायतले मुक्ति पाउनुपर्छ” भन्नेहरू हुन्; तर वास्तवमा यिनीहरू “म तपाईंलाई विन्ती गर्छु, मलाई माफ होस्” भन्नेहरूका चेला हुन्।
अघाएकाहरूलाई खाना दिनु होइन, तर भोकाएकाहरूकहाँ जीवनको रोटी पुर्याउनु प्रभु येशूमा हाम्रो बोलावट भएको हो। हठीहरूलाई होइन, तर हराएकाहरूलाई खोजेर बचाउनु हाम्रो काम हो। हामीले पापी मानिसहरूलाई पश्चात्ताप गर्ने आह्वान दिनुपर्छ, गिल्ला गर्ने मानिसहरूलाई होइन। हामीले उहाँबाट भव्य मण्डली भवन र ठूला-ठूला गिर्जाहरू निर्माण गर्ने आदेश पाएका छैनौं। इसाईहरूलाई समझ र ज्ञानले पूर्ण प्रवचनहरू, रीतिपूर्ण, कर्मकाण्डी प्रार्थनाहरू र सुन्दर कलात्मक गीतहरू सुन्नु के खाँचो छ? होइन, होइन, ख्रीष्टको मण्डली हामीले मुक्ति पाएका आत्मारूपी जीवित पत्थरहरूले बनाउनु छ। हामीले खाँचो परेकाहरूको बीचमा जानुपर्छ र तिनीहरूलाई शैतानको पन्जाबाट खोसेर निकाल्नुपर्छ। हामीले तिनीहरूलाई नरकको कहिल्यै ननिभ्ने आगोको मुखबाट बचाउनु- पर्छ। मानिसहरू नाश हुनुहुँदैन; तर मुक्ति पाएर उनीहरू प्रभु येशूको निम्ति जिउनुपर्छ। सर्वशक्तिमान् परमेश्वरको सेनामा उनीहरूको नामको दर्ता हुनुपर्छ। उनीहरूले ख्रीष्टका चेला हुने तालिम पाउनुपर्छ। तर यो कसरी र कहिले पूरा हुन्छ त? यो त केवल पवित्र आत्माको शक्तिले पूरा हुन सम्भव हुन्छ। के तपाईंको विश्वास तातो, रापिलो जोशले पूर्ण छ? के तपाईंले एउटा खोक्रो परम्पराबाट छुटकारा पाउनुभएको छ? के तपाईं पापको बन्धनबाट छुट्नुभएको छ? तब मसँग आउनुहोस्, हामी क्रसमा मर्नुभएको ख्रीष्ट येशूलाई र उहाँलाई मात्र प्रचार गरौं! अहँ, हामी न कुनै देशको, न कुनै जातको, न कुनै संकृतिको प्रचारप्रसार गरौं। हामी न मानिसहरूले रचेको सिद्धान्त, न मानिसहरूको परम्पराको भक्ति गर्छौं। हामी प्रभु येशूको एकमात्र भक्ति गर्ने उहाँका निष्ठावान् भक्त हौं। हाम्रो इसाईपन हाम्रो लुगाको रङ्गबाट देखा परेको कुरा होइन, गालामा लगाइएको क्रूसको मालाबाट देखिने कुरा पनि होइन। बाइबल हातमा बोकेर पनि काफी हुँदैन। हाम्रो त्याग परमेश्वरलाई सुहाउँदो एउटा योग्य बलिदान हुनुपर्छ। हाम्रो वीरता हामीले घरमा होइन, तर लड़ाइँको मैदानमा उत्रेर घमासान युद्ध चलेको भूमिमा देखाउनुपर्छ
हाम्रो भिड़न्त शैतान र संसारसित छ। तब यसको निम्ति कोजस्तो मानिस चाहिन्छ त? यस लड़न्तमा आफूलाई पूरा दिइहाल्ने मानिसको खाँचो पर्छ, जसले हावामा मुक्का हान्दैन, तर अलिकति पनि नडराईकन शत्रुलाई दाहिने-देब्रेपट्टि, चारैतिर प्रहार गर्न जान्दछ। यसमा पवित्र आत्माको भरमा हिँड्नु छ। शैतानलाई जित्न तर्क गर्ने दिमागी मानिसको के काम? के तपाईंको हृदय तातिएको छ? के तपाईंको आत्मा मुक्त भएको छ? तब तपाईंले शैतानलाई हार खुवाउन सक्नुहुन्छ। हे इसाई भाइ-बहिनीहो, प्रभुको बल्दो साक्षी हुनुहोस् र आफ्नो जीवनद्वारा ख्रीष्ट येशूको निम्ति चम्कनुहोस्! उहाँको निम्ति आफ्नो सारा लाज पच्नुहोस्! वीरता देखाएर उहाँको सेवाको योग्य हुनुहोस्! उहाँको सेवामा प्रथम श्रेणीमा उत्तीर्ण हुनुहोस्! उहाँको स्याबासी खोज्नुहोस्, मानिसहरूको खोक्रो प्रशंसा नखोज्नुहोस्!
मेरो दृढ़ संकल्प यही हो: हामी आफ्नो सेवकाईको क्षेत्र हाम्रो वरिपरि भएका ठाउँहरूमा सीमित राख्नुहुँदैन, तर हाम्रा प्रभुले भन्नुभएझैं हामी सारा संसारमा र हरेक प्राणीकहाँ जानुपर्छ। यसमा हाम्रो एकमात्र समस्या के हो भने, हाम्रो अविश्वास। के प्रभुले हामीजस्तै नीच मानिसहरूलाई प्रयोग गर्न सक्नुहुन्छ? हामी मूर्ख र निकम्मा किन नहोऔं, उहाँ हामीमा विश्वास खोज्नुहुन्छ। उहाँ हामीमा प्रतिभाहरू र सभ्यता खोज्नुहुन्न। परमेश्वर हाम्रो दिमाग होइन, तर हाम्रो हृदय पाउन चाहनुहुन्छ। हामी उहाँको निम्ति एउटा रित्तो भाँड़ा हुनुपर्छ। तब उहाँ हामीलाई पवित्र आत्माले भर्नुहुन्छ।
पवित्र आत्मा भिन्नता ल्याउनुहुन्छ। उहाँ कोमल, सुस्त, लुला इसाई - हरूलाई जोशले पूर्ण शूरवीर तुल्याउनुहुन्छ, जो डराउँदैनन्, जसले ढिलोसुस्ति गर्दैनन्, तर जो युद्ध गर्न अघि बढ्नेछन् र यस लडाइँमा मर्नेछन्। आउनुहोस्, हामी स्वर्ग हाम्रो लक्ष्य राखी निसानातर्फ यो दौड़ दौड़ौं! हामी यसमा पछि नपरौं! हामी यसको पुच्छरमा किन हुने?
ख्रीष्ट येशूले सम्भव हुने कुराहरू आँट गर्नेहरूलाई खोज्नुहुन्न, तर असम्भव हुने कुराहरू ताक्नेहरूलाई खोज्नुहुन्छ। तिनीहरूले सर्वशक्तिमान् परमेश्वरमाथि भरोसा राख्छन्। तिनीहरूले महान् आज्ञा दिनुहुने मुक्तिदाता प्रभुलाई तिनीहरूप्रति पूरा विश्वासयोग्य र पूरा सक्षम हुनुभएको ठान्छन्। उहाँजस्तै बुद्धिमान् अरू को छ र? के हाम्रो बाटोमा हाम्रो सामु कुनै नाघ्न नसक्ने बाधा, कुनै जित्न नसक्ने पर्खाल खड़ा छ? हाम्रा परमेश्वरसित हामी यो पर्खाल नाघेर जानेछौं। के हामीले बाटोमा आत्मिक सिंह र बिच्छीहरू सामना गर्नुपर्छ? हामी तिनीहरूलाई प्रभुको नाममा आफ्ना खुट्टाले कुल्चीमिल्ची पार्नेछौं। के हाम्रो सामु एउटा पहाड़ उठेको छ, जसले हाम्रो बाटो चेक्छ? तब हामी दृढ़तासाथ त्यसलाई भन्नेछौंः 'हट् र समुद्रभित्र फालिई!' त्यसपछि हामी अघि बढ्नेछौं। हे ख्रीष्टमा हाम्रा सह- सिपाहीहरूहो, कहिल्यै नहार्नुहोस्!
ठिक्कै छ, हामी आफ्नो दृष्टिमा कीरा मात्र हौं, हामी केवल फट्याङ्ग्रा हौंला। हामी येशूमाथि आफ्ना आँखाहरू लगाउनुपर्छ। हामीले आफूलाई उहाँका आँखाले हेर्नुपर्छ। किनकि हामी खास गरी शैतानको निम्ति त्यसलाई भगाउन सक्ने, त्यसलाई हार खुवाउने शूरवीर हौं।
तर यदि चार्लस स्टड मस्यो भने के हो त? यस प्रश्नको उत्तर म यस प्रकारको दिन्छुः त्यस दिनमा हामी सबैजना मिलेर परमेश्वरलाई ‘हल्लेलूयाह!' भन्नेछौं; किनकि यसबाट संसारलाई के पो हानि हुन्छ र? किनकि त्यस दिनमा संसारले केवल एउटा मूर्ख मानिसलाई गुमाउला। अनि परमेश्वरको विषयमा केकसो हो त? उहाँले मेरो मृत्युबाट के हानि उठाउनुहुन्छ? उहाँले मद्वारा पूरा गर्नुभएका कामहरूभन्दा अझ ठूला, अद्भुत कामहरू गर्नुहुनेछ। किनभने हाम्रा परमेश्वर मर्नुहुन्न, तर सधैं जीवित रहनुहुनेछ। अनि अरू कुनै कुरामा कुनै मतलब छैन। के मेरो मृत्युमा ‘मध्यअफ्रिका- मिसन'को दफन हुनेछ र? यो असम्भव हुनेछ। परमेश्वर र उहाँको मिसन - कार्य मर्नुहुन्न। यसकारण आउनुहोस्, 'हल्लेलूयाह' भन्दै हामी अघि बढौं! किनकि हाम्रो मृत्युमा कसैलाई कुनै हानि हुनेछैन।
कति मानिसहरू छन्, जो गिर्जाको परिधिभित्र जिउन चाहन्छन्, तर मचाहिँ नरकको मुखैमा एउटा उद्धारशाला चलाउन चाहन्छु।
सन् १९१६ सालको जुलाई महिनामा चार्लस स्टड फेरि अफ्रिका जान तयार भए। उनको साथमा आठजना मिसनरीहरू थिए। तिनीहरूमध्ये उनकी साहिली छोरी इडित पनि थिइन्, जसको विवाह अल्फ्रेड बक्स्टनसँग
हुन लागेको थियो। जुलाई चौध तारिखमा तिनीहरूको निम्ति एउटा ठूलो बिदा-सभा आयोजना गरियो। चार्लस स्टडलाई थाहा थिएन, कि उनी फेरि कहिल्यै इङ्गल्याण्डमा फर्कनेथिएनन्। अनि उनी र उनकी पत्नीको बीचको आउँदो भेट तेह्र वर्षपछि मात्र हुनेथियो।
१३
सी. टी. स्टड फेरि अफ्रिकामा फर्के
चार्लस स्टड र उनको टोलीले अफ्रिकाको पश्चिमी किनारै किनारामा पानीजहाजको यात्रा गरे, कॉन्गो नदीको मुखमा नपुगेसम्म, त्यसपछि उनीहरूले वाफको शक्तिले चल्ने स्टीमर - जहाजमा यस नदीमार्फत सात सय माइल यात्रा गरे, त्यसपछि उनीहरूले तीन सय माइल जङ्गल-पार पैदल यात्रा गरे। त्यसपछि उनीहरू नालामा आइपुगे। उनी नालाबाट निस्केर गएको दुई वर्ष भइसक्यो। त्यस बेलामा भर्खर मिसन - केन्द्र शुरु भएको थियो। त्यो केन्द्र के पो थियो र? त्यस बेलामा कजुरका रूखहरूको बीचमा केवल केही झुपडीहरू भएका थिए। उनले अहिले जे देखे, यसको विषयमा यसो लेखे:
नालामा आइपुगेपछि हाम्रो भव्य स्वागत भयो। यसको निम्ति धेरै मानिसहरू भेला भए, जसले हामीलाई न्यानो स्वागत गरे। तिनीहरूले हाम्रो निम्ति दुई वर्ष पर्खे। अनि कहिलेकाहीं तिनीहरूको हृदय निराशाले बिरामी भयो। किनकि कतिको मनमा हामी कहिल्यै फर्केर आउँदैनौं भन्ने धारणा गाड़िएको थियो। तर तिनीहरूको निराशामाथि आशाको जीत भयो। आदिवासीहरू र आदिवासी इसाईहरू ढोल र नरसिङहरू बजाउँदै र उच्च सोरले चिच्च्याउँदै टाढाबाट हामीलाई लिन आए। त्यहाँ भाइ सम्बो थिए, नालाको पहिलो इसाई! तिनले दिनभरि हामीलाई स्वागत गर्न पर्खे। हामी सीधा हाम्रो निम्ति बनाइएको घरको सामु आयौं, जहाँ हामी सबैजनाले परमेश्वरलाई धन्यवाद चढ़ायौं र उच्च सोरले डोक्सोलोजी गायौं।
त्यसपछि उनीहरू छिटो नियाङ्गारामा गए, जहाँ मध्यअफ्रिकामा पहिलो इसाई विवाह सुसम्पन्न हुने भयो। चार वर्ष अल्फ्रेड बक्स्टनले विश्वासयोग्यतासाथ आफ्नो कार्यभार सम्हालिरहे र आफ्नी दुलहीको निम्ति पर्खनुपरेको थियो
चार्लस स्टडले यस विवाहको विषयमा यसो लेखे: 'सरकारी कर्मचारीले अल्फ्रेड र इडितको बीचको विवाह गराउन नालामा आउन सकेनन्; यसकारण हामी नियाङ्गारामा गयौं, पाँच दिनको यात्रा गरेर। एउटा पुलमा नाला नदी पार गरेको बेलामा मलाई झट्टै याद भयोः चार वर्षअघि अल्फ्रेड र म, हामी एकलै थियौं, तर अब आदिवासी इसाईहरू र दसजना मिसनरीहरू हाम्रो साथमा थिए।
यस विवाहको सभा सरल, तर सुन्दर थियो। मण्डली भवनमा कचाकच थियो। ओहो, दुलहा र दुलही कति मनोहर थिए! त्यसपछि आदिवासीहरूले दुलहा दुलहीलाई शुभकामना चढ़ाए र एउटा भोज लगाए। त्यसपछि हामी डुङ्गामा चढेर फर्क्यौं।
त्यसपछि चार्लस स्टडले खुशीसित काम गर्न थाले; उनले नाला आफ्नो केन्द्र तुल्याए; तर उनले तीनवटा मुख्य ठाउँहरूमा, अर्थात् नियाङ्गारामा, पोकोमा र बम्बिलीमा यस जिल्लाभरि मिसनरीहरूलाई राखे। यसरी उनले यस क्षेत्रका चार कुनामा आफ्ना मिसन केन्द्रहरू स्थापित गरे, जसको क्षेत्रफल आधा इङ्गल्याण्डजतिको थियो, जहाँ दसवटा जातिहरू बस्थे।
सन् १९१७ सालको एप्रिल महिनामा उनले यसो लेखे: 'ओहो, हाम्रो मिसन-कार्यको विकास कति अद्भुत छ! हामीले यसको विषयमा सोच्नै सकेनौं। साढ़े तीन वर्षअघि आदिवासीहरूको हालत कस्तो थियोः तिनीहरू घोर पापहरूले ग्रस्त थिए। अनि हामीले तिनीहरूको भाषा सिक्नुपरेको थियो। तर अहिलेचाहिँ एक सयजनाले प्रभु येशूलाई ग्रहण गरिसके र पानीको बप्तिस्मा लिए। अनि गाउँका धेरै मुख्यहरूले गाउँ-गाउँमा हाम्रो निम्ति स्कूलहरू र सभा - भवनहरू यस हेतुले बनाउन थाल्छन्, कि हामी आएर तिनीहरूलाई र तिनीहरूका मानिसहरूलाई शिक्षा दिऊन्। जहाँ पनि हाम्रो निम्ति र हाम्रा आदिवासी इसाईहरूको निम्ति ढोकाहरू खोलिरहेका छन्।
बप्तिस्मा लिनेहरूको निम्ति हामीले केही दिनअघिदेखि तिनीहरूको मनको तयारीको निम्ति केही सभा-सङ्गतिहरू राख्यौं। अनि त्यस बेलामा हामीले बप्तिस्मा लिनेहरूको मुखबाट तिनीहरूको साक्षी सुन्यौं। तिनी- हरूमध्ये व्यभिचार नगर्ने मानिस कम पाइन्थ्यो। अनि जोखना हेर्नु र जादु गर्नु तिनीहरूको दैनिक कार्य हुन्थ्यो। ती जातिहरूको दृष्टिमा यी कुराहरू पाप हुँदैनथिए। तब यो कत्रो सार्वजनिक साक्षी थियो, जब तिनीहरूले एक पुस्तादेखि अर्को पुस्तासम्म गरिरहेका पापकर्महरू पाप भनेर स्वीकार गरे। किनकि केवल पापैपाप जान्ने मानिसको नैतिकता तल झर्छ र ऊ पशुभन्दा नीच हुँदो रहेछ। तब प्रभुकहाँ फर्केकाहरूको जीवनमा कति ठूलो परिवर्तन आउँछ! तिनीहरूको पुरानो जीवनमा सुधार मात्र आउँदैन, तर प्रेरित पावलले भनेअनुसार तिनीहरू एउटा नयाँ सृष्टि हुन्छन्। इङ्गल्याण्डमा प्रभुकहाँ फर्केको हरेक मानिस एउटा अलौकिक काम मानिन्छ भने, अफ्रिकाको पापको घोर अन्धकारबाट प्रभुकहाँ आउने मानिसलाई हामीले हजार गुणा बढ़ी एउटा अचम्मको काम मान्नपर्छ।
बप्तिस्मा लिने दिनमा तिनीहरूले फेरि पनि आफ्नो विश्वासको गवाही दिए र आफ्ना सबै पापहरू छोड्ने प्रण दिए। तिनीहरूले प्रभुको योग्य चालमा हिँड्ने प्रतिज्ञा गरे। यहाँ हामी भाइ यबोरीको गवाही सुनौं, जसको उपनाम 'मरेकाहरूबाट बौरेको' थियो। उसको उपनाम सुन्नासाथ हाम्रो ध्यान पूरा आकर्षित भयो। अनि हाम्रो सामु उसले आफ्नो अनौठो कथा सुनायो, जसको सक्षत् साक्षी अरू बसे। भाइ यबोरीको मुखबाट हामीले निम्न कथा सुन्यौं।
“म एउटा प्रसिद्ध योद्धा थिएँ। अनि बेल्जिमकाहरूले जुन गाउँहरू अधिकार गर्न चाहन्थे, मलाई ती गाउँहरू कब्जा गर्न र तिनका मुख्यहरूलाई जित्न पठाउने गर्थे। तर एक दिन म सिकिस्त बिरामी परें। म बेहोश भएँ र मरें। तब मेरा आफन्त र साथीहरूले मेरो निम्ति एउटा चिहान खने, र तिनीहरूले मलाई त्यस चिहानमा हाल्न खोजिरहेको बेलामा म बिउँझें। मैले तिनीहरूलाई भनेंः 'मैले परमेश्वरलाई देखेको छु। अनि उहाँले मलाई यसो भन्नुभएको छः “केही समयभित्र अङ्ग्रजहरू आउनेछन्, र यिनी- हरूले हामीलाई साँचो परमेश्वरको विषयमा सुनाउनेछन्। यिनीहरूले हामीलाई सत्य के हो, सो बताउनेछन्।” मैले जतिजनालाई यो कथा सुनाएँ, ती सबै मानिसहरूले अचम्म माने र त्यस दिनदेखि उसो तिनीहरूले 'परमेश्वर अङ्ग्रेज हुनुहुँदो रहेछ' भनेर भन्ने गर्थे। अनि त्यहाँ धेरै मानिसहरू उपस्थित थिए, जसले उसले भनेको कुरा साँचो हो भनेर साबित गरे। परमेश्वरलाई धन्यवाद होस्ः त्यस दिनमा एकासीजनाले पानीको बप्तिस्मा लिए।
गत जनवरीमा पन्ध्र- बीसजना आदिवासी इसाईहरू स्वेच्छाले यस इलाकामा प्रचार गर्न निस्के। हामी तिनीहरूको हातमा तीन रुपियाँ दियौं, तीन महिनाको खर्चपातको निम्ति। तर कतिजनाले फर्केको बेलामा एक रुपियाँ मण्डली-कोषमा फर्काए। त्यसपछि पचासजना प्रचार गर्न निस्के। अनि तिनीहरूबाट हामीले सुसमाचार प्रचारको सम्बन्धमा एउटा पाठ सिक्यौंः गोरो मिसनरीलाई आफ्नो सरसामान बोक्न पाँचजना भरियाहरू चाहिन्थ्यो भने, आदिवासी भाइले आफ्नो सरसामान आफैले बोक्थ्यो। तिनीहरूको गुन्द्री र सानो कम्बल थियो। तिनीहरूको पेटीमा एउटा छुरी र एउटा कप झुन्डिएको थियो। अनि तिनीहरूको परालको टोपी थियो। तिनीहरूको लगाउने लुगा एउटा लुङ्गी थियो। आदिवासी मिसनरी यस्तो थियो।
आँपको बोटमनि बसेर यी स्थानीय प्रचारकहरूको निम्ति एउटा विशेष सभा राखियो र तिनीहरूलाई अन्तिम सरसल्लाह दिइयोः
क) तिमीहरूले दिउँसो शैतानलाई सामना गर्नुपर्छ। यसकारण तिमीहरूले पहिले सबेरै प्रभु येशूलाई भेट्नु र उहाँसँग समय बिताउनुपर्छ।
ख) शैतानले तिमीहरूलाई प्रहार गर्नुभन्दा अघि तिमीहरूले त्यसलाई प्रहार गर्नुपर्छ। पूरा बल लगाएरै त्यसलाई हिर्काओ! त्यसलाई सिकिस्त घाइते बनाओ! वचन प्रचार गर! त्यस छड़ीबाट शैतानलाई पूरा डर लाग्छ; त्यसले वचन घोर घृणा गर्छ।
ग) तिमीहरू भुइँमा लड्न चाहँदैनौ भने मार्च गर्न सिक, र सिपाहीको सुदृढ़ चाल अपनाओ!
घ) अन्तमा हामीलाई खेद्न खोजेका शैतानका तीनवटा कुकुरबाट होशियार बसः फुलिएको दिमाग, अल्छीपन र कामुकता! तिनीहरूको निम्ति अन्तिम प्रार्थना चढ़ाइयो र तिनीहरूलाई प्रभुको हातमा सुम्पियो। त्यसपछि तिनीहरूले हामीलाई सोधेः “हामी कहिले फर्के ठीक हुन्छ होला, हामीलाई भन्नुहोस्!” “तिमीहरू थाक्यौ भने एक महिनामा फर्केर आओ। तिमीहरू सक्यौ भने, दुई महिनापछि फर्क! अनि तिमीहरूले तीन महिना प्रचार गर्न सक्छौ भने झन् राम्रो।” एकजनाले हँसाइलो मुख गरेर भन्योः “तपाईं मलाई एक वर्ष देख्न पाउनुहुन्न।” अर्को एकजनाले भन्योः “म त देढ़ वर्षपछि मात्र फर्कन्छु।” अनि यसरी तिनीहरू निम्न गीत गाउँदै निस्के:
म प्रभु येशूलाई प्रेम गर्छु; किनकि उहाँले मलाई प्रेम गर्नुभयो। यस संसारमा मुख्य कुरा यही हो; मेरो निम्ति अरू केही पनि गनिँदैन। अवर्णनीय आनन्द मेरो भयो; हल्लेलूयाह!
फर्केपछि तिनीहरूले हामीलाई आफ्नो यात्राको विवरण सुनाए। तिनीहरूले लगाएको लुगा च्यातिएको थियो र तिनीहरूले सहनुपरेका कठिनाइहरूको जीवित साक्षी थियो। तर भाइ सम्बोले स्वीकार गरेर भनेः “यो त केही पनि होइन। यी त बाहिरका कुराहरू मात्र हुन्, यी कुराहरूले हाम्रो मनको आनन्द कहाँ भङ्ग गर्न सक्छन् र!”
सन् १९१८ सालको अक्टोबर १० तारिखको दिनः ओहो, हाम्रो मिसनको कामको विकास कति अद्भुत रीतिले भइरहेको छ! चारैतिरबाट मानिसहरू हामीकहाँ आउने गर्छन्। तिनीहरू टाढाबाट आउँछन्। अनि प्रायः हप्तापिच्छे बप्तिस्मा - कार्यक्रमहरू भइरहन्छन्। अनि प्रभुमा आएका नयाँ विश्वासीहरूले नजिक-टाढा गएर अरूलाई मुक्तिको सुसमाचार सुनाउँछन्। धेरै गाउँका मुख्यहरूले हामीलाई आग्रह गर्छन्ः “हामीकहाँ शिक्षकहरूलाई पठाउनुहोस्!” यहाँसम्म कि तिनीहरूले हाम्रा निम्ति गिर्जा-घरहरू र बस्ने घरहरू धरि बनाएर छोड्छन्।
चारजना मानिसहरू बीस दिन पैदल यात्रा गरेर नालामा हामीकहाँ आए। अनि जब हामीले तिनीहरूलाई “तिमीहरू किन यहाँ आएका” भनेर सोध्यौं, तब तिनीहरूले हामीलाई निम्न जवाफ दिएः “नालामा परमेश्वरको ज्ञान पाइन्छ भन्ने कुरा सारा दुनियाँले जान्दछ।
एउटा दुर्गम यात्रामा चार्लस स्टडको अनुभव यस प्रकारको थियोः उनले गाउँका मुख्यहरूलाई भेट्न र तिनीहरूलाई सुसमाचार प्रचार गर्न एक ठाउँदेखि अर्को ठाउँमा यात्रा गरिरहेका थिए। उनले अबोरामसी नाम गरेका मुख्यलाई भेट्दा के-के भएको थियो, सो यसरी बयान गरेः
हामी भर्खरै अबोरामसीको गाउँमा पसेका थियौं। रात परिसकेको थियो, र हामी निक्कै थाकेका थियौं। हाम्रो एकमात्र विचार खाना खाएर सुत्नु थियो। तर परमेश्वरले हाम्रो निम्ति सुत्नुभन्दा असल कुराको प्रबन्ध गर्नुभयो। हामीले खाना खायौं, त्यसपछि ती मुख्य र तिनका मानिसहरू भेला भए। हामीले तिनीहरूलाई केही गीत सुनायौं, र प्रार्थना गरयौं। हामी बाहिर एउटा बलिरहेको आगोको वरिपरि बसिरहेका थियौं। अनि जून लागिरहेको थियो। ती गाउँका मुख्य र तिनका मानिसहरू ध्यान मग्न थिए। हामीले आफ्नो थाकेको अवस्था बिस्यौं र ती मानिसहरूलाई येशूको सुसमाचार सुनाइरह्यौं। अनि तिनीहरूले हाम्रो कुरा ग्रहण गरे। अन्तमा हामी सुत्न गयौं, रातको साढ़े एक बजे। तर हामी लार्कजतिकै आनन्दले हर्षित थियौं।
भोलिपल्ट ती मुख्य र तिनका भाइ, अनि भीड़ मानिसहरू हामी बसेको घरमा आए, र दिनभरि हामीले तिनीहरूसित बातचित गयौं। दिनभरि हामीले तिनीहरूसित आत्मिक कुराको विषयमा कुरा गर्दैथियौं र गीत सुनाउँदैथियौं। त्यसपछि बेलुकाको सभा भयो। मैले यो सभा सञ्चालन गरें। मैले नक्सा लिएर सुसमाचार सुनाएँ। अनि अन्तमा मैले प्रभु येशूलाई ग्रहण गर्ने आह्वान दिएँ। तर मेरो बङ्गाला बोल्ने सीप राम्रो थिएन; यसकारण मैले मेरा सँगी - मिसनरी श्री बोएमीलाई “अब तिम्रो पालो आयो” भनें; किनभने सायद ती मानिसहरूले मेरो कुरा बुझेनन् कि मलाई शङ्का लागेको थियो। अनि श्री बोएमीले यस प्रकारले आफ्नो कुरा शुरु गरेः “भाइहरूहो, म तिमीहरूलाई पनि एक-दुई कुरा भन्न चाहन्छु; किनकि हुन सक्छ, ब्वाना दाजुले भन्न खोज्नुभएको कुरा तिमीहरूले बुझेनौ होला।” तब ती मुख्य र तिनका मानिसहरूले “ वापी, वापी” भने, जसको अर्थ होः
'होइन, होइन, हामीले सबै सजिलोसँग बुझ्न सक्यौं।' तब मैले बुझें, यहाँ परमेश्वरको अचम्मको काम भएको हुनुपर्छ। किनभने उहाँले यी मानिस- हरूलाई आशिष दिन मेरो टुटेफुटे बोली प्रयोग गर्नुभयो। त्यसपछि ती मुख्य उठे र तिनले आफ्ना मानिसहरूसँग केही क्षण कुरा गरे। अनि तिनीहरू पनि झुरुक्क उठे। अनि अबको अमूल्य क्षण म कहिल्यै बिर्सन सक्दिनँः किनकि ती मुख्यले मलाई यसो भने: “ म र मेरा मानिसहरू, मेरा भाइ र तिनका मानिसहरू हामी तपाईंलाई भन्न चाहन्छौंः तपाईंले हामीलाई परमेश्वर र येशूको विषयमा र हाम्रा पापी अवस्थाको विषयमा भन्नभएको सबका सब हामी विश्वास गर्छौं। अनि हामी पनि तपाईंहरूजस्तै त्यो स्वर्ग जाने बाटोमा हिँड्न चाहन्छौं।”
त्यही समयमा परमेश्वरले उनको निम्ति इतुरी प्रान्तमा एउटा ढोका खोल्नुभयो, र उनले त्यहाँ एउटा नयाँ मिसन - केन्द्र स्थापित गर्न सके। अनि त्यस इलाकामा प्रभु येशूकहाँ फर्केर आएको पहिलो व्यक्तिचाहिँ न्डुबानी नाम गरेको भाइ थियो। ऊ अन्धा थियो। किनकि ऊ मुख्य हुनदेखि रोक्न उसका शत्रुहरूले उसका आँखाहरूमा मरीचको धूलो हालेका थिए। तर एक दिन उसले एउटा सपना देख्योः ऊ हिँडिरहेको बाटोको अन्तमा एउटा डरलाग्दो आगो बलिरहेको थियो। अनि उसले एउटा वाणी सुन्योः 'तिमीले यस ज्वालाबाट उम्कन चाहन्छौ भने ती गोरो मानिसको निम्ति पर्ख, जसको हातमा एउटा पवित्र पुस्तक छ। तिनले तिमीलाई आगोबाट उम्कने बाटो बताउनेछन्।' ऊ प्रभुकहाँ फर्केको दिनदेखि उसो उहाँको बल्दो साक्षी बन्यो। उसको छोराले उसलाई डोरयाउनुपर्थ्यो; तर ऊ चारैतिर गाउँहरूहुँदो सुसमाचार प्रचार गरिरह्यो।
त्यस प्रान्तका सबैभन्दा ठूला मुख्य अबिएङ्गामा थिए, जो नरभक्षक मानिस थिए, जसले भर्खरै चौधजना भरियाहरूलाई मारेर खाएका थिए। तर जब तिनकी पत्नीले परमेश्वर र ख्रीष्ट येशूमा उहाँको ठूलो प्रेमको विषयमा सुनिन्, तब यिनले मानिलिइन्ः ‘मलाई सधैं थाहा थियो, योजस्तो परमेश्वर हुनुपर्छ।
यसरी नै तीन वर्ष बित्यो। अनि त्यसपछि चार्लस स्टडले अल्फ्रेड बक्स्टनलाई बिदा गर्नुपरयो। उनीहरूले छ वर्ष सँगै काम गरिरहेका थिए। तिनीजस्तै जवान मानिस कहाँ पाइन्छ र? कलिलो उमेरमा तिनी असभ्य मध्यअफ्रिकामा आइपुगेका थिए र त्यहाँ दुई वर्ष एकलै छोड़िएका थिए।
तिनले त्यहाँको भाषा सिकेका र त्यो भाषा एउटा लिखित रूप दिएका थिए; तिनले यी भ्रष्ट, आधा नाङ्गा, जङ्गली आदिवासीहरूको बीचमा प्रभु येशूको नामको निम्ति पहिलो मण्डली स्थापित गरेका थिए।
अल्फ्रेडको साथमा तिनकी पत्नी र तिनीहरूको सुसन नाम गरेकी नानी अनि अरू चारजना मिसनरीहरू फर्के, जसलाई छुट्टी लिन खाँचो परेको थियो। तब तिनीहरूको ठाउँ खाली भयो, र मिसन कार्यमा निक्कै समस्या आयो। कोही पनि मिसन क्षेत्रमा निस्कन नसकेको अठार महिना भइसकेको थियो। किनभने विषण पहिलो विश्वयुद्ध चलिरहेको थियो। कतिजनाले मिसन-काम छोड़ेका पनि थिए। त्यो उनीहरूको निम्ति ठूलो जाँच थियो। कामदारहरूको कमी थियो। धेरैजनाको स्वास्थ्य बिग्रेको थियो। अनि ठूलो अफसोस, कतिजना आदिवासीहरू विश्वासबाट पछि हटे। आहा, कति इसाई अगुवाहरू पापमा फसे! तब चार्लस स्टडलाई थाहा भयो, कि मानिसहरूको हृदयमा परमेश्वरले एउटा नयाँ, गहिरो काम गर्नुपर्यो।
तर यी दिनहरूमा उत्साह दिने कुराहरू पनि घटे। किनकि उनले आयोजित गरेका प्रार्थना सभाहरूमा आदिवासी इसाईहरू हरेक बिहान प्रार्थनाको निम्ति भेला हुन्थे। प्रार्थना साढ़े पाँच बजेबाट शुरु हुन्थ्यो, तर तिनीहरू पाँच बजे भेला हुन्थे। तिनीहरूले त्यो प्रार्थना सभा गीत गाएर शुरु गर्थे, त्यसपछि तिनीहरूले प्रार्थनामा समय बिताउँथे। तिनीहरूका प्रार्थना- हरूमा फिका केही पनि थिएन; तिनीहरूले हृदयबाट जोशले पूर्ण अन्तर्विन्ती चढ़ाउँथे।
'मलाई के लाग्छ भने, यी मानिसहरूका अन्तर्विन्तीहरूले मलाई जीवित राख्दा रहेछन्। तिनीहरूको दिमागमा धेरै कुरा अटाउँदैन होला, तर तिनीहरूले प्रार्थनामा मेरो निम्ति विन्ती गर्न कहिल्यै बिर्संदैनन्। तिनीहरूले यसो प्रार्थना गर्ने गर्छन्ः “हे प्रभु, हाम्रा प्यारा ब्वाना दाजु वृद्ध भएका छन्, अनि उनलाई उनको बल पुग्दैन। यसकारण हे प्रभु, उनलाई तपाईंको बल दिनुहोस् र पवित्र आत्माको शक्तिले चलाउनुहोस्!” '
सन् १९२० सालको बसन्तमा सहायता आयो। श्रीमती स्टड र मिसन- समितिलाई थाहा भयो, कि मिसन - क्षेत्रमा रहेकाहरूलाई मद्दत गर्न खाँचो थियो। यसकारण तिनीहरूले प्रार्थना गर्न थाले, अनि कसैबाट कुनै आश्वासन नपाईकन तिनीहरूले विश्वासको भरमा एउटा तारको समाचार पठाएः ‘यही सालभित्र मद्दत आउँदैछ।' यो जुलाई महिनाको कुरा थियो। तर यो वर्ष बित्न लागेको थियो, र सात दिन मात्र बाँकी हुँदा परमेश्वरले प्रार्थनाको उत्तर दिनुभयो, अनि पहिलो टोलीले समुद्र- यात्रा शुरु गर्यो। यस टोलीमा चार्लस स्टडकी कान्छी छोरी र यिनका पति पनि थिए। दुई महिनाभित्र अर्का दुईवटा टोली मिसन क्षेत्रमा निस्के। अनि आउँदा तीन वर्षमा मिसनरीहरूको सङ्ख्या चालीस पुग्यो।
यही समयमा चार्लस स्टडले अरू सुसमाचार नपुगेका इलाकाहरूबाट अति जरुर बोलावट पाए। उनले शुरुमा इतुरीको घनघोर जङ्गलहुँदा यात्रा गरिरहेको बेलामा उनले त्यस बेलामा भेटेका र देखेका जातिहरूका धेरै मानिसहरूलाई बिर्सन सकेनन्। आदिवासी प्रचारकहरू र मिसनरीहरूबाट उनले घरिघरि समाचारहरू सुन्दैथिएः त्यहाँ हजारौं मानिसहरू छन्, जसले सुसमाचार सुन्न चाहन्छन्। अनि जब सन् १९२१ सालमा अल्फ्रेड बक्स्टन मिसन - क्षेत्रमा फर्के, र तिनले नालामा भएको मिसन केन्द्र आफ्नो जिम्मामा लिए, तब चार्लस स्टडले नयाँ मिसन क्षेत्रमा जान पाए। ठूलो उमङ्गको साथ उनले इतुरी प्रान्तमा प्रथम पल्ट सुसमाचार प्रचार गरे र एउटा ठूलो फसल भित्र्याए।
१४
अघि बढ़, पछि नहट! बढ़,
नालाबाट चार दिन दक्षिण, इतुरीको जङ्गलमा इबम्बी नामक मुख्य जिउँथे। तिनी एक ठूला मुख्य थिए। अनि तिनको गाउँ धेरै बस्तीहरूको केन्द्र थियो। त्यस गाउँमा पुग्न घण्टौंघण्टा निरा जङ्गलबाट भएर हिँड्नु- पस्यो। त्यसपछि सयौं गज फाडिएको वर्गाकार जमिन देखा पस्यो। अनि त्यहाँ ठूला-ठूला सुन्दर खजुरका रूखहरू थिए। अनि ती रूखहरूको छायामा केराहरू बढिरहेका थिए। अनि बीच-बीचमा जताततै हजारौं बाँसका झुपड़ीहरू देखिन्थे। अनि मानिसहरू अनगिन्ती थिए।
सन् १९२२ सालमा चार्लस स्टडले आफ्नो मिसन - केन्द्र इबम्बीमा स्थापित गरे। त्यस समयसम्म सबै मानिसहरूले उनको विषयमा सुनेका थिए; उनी चारैतिर प्रख्यात भइसकेका थिए। उनको जीउ पतला थियो। अनि उनले एउटा दारी पाल्थे। अनि उनको नाक चीलको जस्तै थियो। उनका शब्दहरू बल्दाजल्दा थिए, र उनको हँसमुख थियो। अनि यस क्षेत्रको निम्ति उनले प्रेरित पावलको भूमिका खेल्थे। मानिसहरूले उनको नाम ‘ब्वाना मुकुबा' भन्ने गर्थे। अरूले पनि 'ब्वाना' भन्ने नाम पाए। तर उनी मात्र ब्वाना मुकुबा थिए, जसको अर्थ 'महान् गुरु' थियो। इबम्बीचाहिँ उनको मिसन - केन्द्र भयो। सुसमाचार सुन्न चाहेका मानिसहरूको सङ्ख्या उनलाई भनेको जस्तै धेरै थियो। यसकारण उनले तनमनले यी मानिसहरूलाई सुसमाचार सुनाउन थाले। इबम्बीमा सयौं मानिसहरू आए, जसले इसाई शिक्षा पाउन र बप्तिस्मा लिन खोजे। दिन-दिनै मानिसहरूको धुइरो लाग्थ्यो, जसले पानीको बप्तिस्मा मागे। अनि चारैतिरबाट मानिसहरू आइरहेको कुरा थाहा लागिन्थ्यो, किनकि तिनीहरू बाटोमा आउँदाखेरि उच्च सोरले भजनहरू गाउने गर्थे।
चार्लस स्टडले यसो लेखे: 'यी गीतहरू थाकेका हृदय र मन्द कानहरू जागृत गराउने कस्ता-कस्ता गीतहरू थिए! भजन गाउँदै गरेका पुरुष र स्त्रीहरू हाम्रो मिसन-केन्द्रतिर आइरहेका सुनिन्थ्यो। त्यसपछि त्यो टोली देखा पस्योः पुरुषहरू, स्त्रीहरू र केटाकेटीहरू। परमेश्वरको वचन सुन्न तिनीहरू एक-दुई घण्टा, अरूचाहिँ आठ-दस घण्टा हिँड़ेका थिए। जब म तिनीहरूलाई हेर्न निस्कें, तब पन्ध्र सय मानिसहरू भेला भएका थिए। तिनीहरू जीउमा जीउ तासिएका थिए। तिनीहरू पालथी मारेर भुइँमा बसे। दिउँदो असाध्य गर्मी थियो। तर तिनीहरूले परमेश्वरको निम्ति भजनहरू गाए। तिनीहरू तालिम नपाएको ठूलो गायक- मण्डल थिए। तर हजारौं निपुण गायकहरूले भन्दा बढ़ी यी असभ्य आदिवासीहरूले परमेश्वरको महिमाको निम्ति गाए। तपाईंहरूले तिनीहरूलाई देख्नुपर्नेथियोः ओहो, प्रचारकको मुखबाट निस्केको एक-एक शब्द सुन्न र ग्रहण गर्न तिनीहरू कति ध्यान मग्न थिए! तिनीहरूले सुसमाचारको निम्ति तृषित थिए। सभा दुई घण्टा लाग्यो भने, तिनीहरूलाई केही पर्बाह हुँदैनथियो। तिनीहरूको निम्ति दुई घण्टा साह्रै छोटो लाग्थ्यो। त्यसपछि दुईवटा सभाको बीचमा एक घण्टा विराम हुन्थ्यो। त्यसपछि तिनीहरू फेरि भेला हुन्थे, दोस्रो सभाको निम्ति।'
तीन घण्टा टाढा अवस्थित अड्जङ्गभे बस्तीमा पनि यस्तै थियो। चार्लस स्टड र अरूले लामो समयसम्म बोले। अनि अन्तमा उनले तिनीहरूको धेरै समय लिएकोमा माफ मागे। तर तिनीहरूको बीचबाट एउटा वृद्ध मानिसको आवाज सुनियोः 'हजुरले आफ्नो प्रचार नरोक्नु- होला, तर बोल्दै गर्नुहोस्! किनभने हामीमध्ये धेरै छन्, जो मजस्तै वृद्ध भइसके। हामीले अघि योजस्तो अमूल्य वचन कहिल्यै सुनेका छैनौं। अनि हाम्रो सुन्ने समय धेरै रहेको छैन।
अरू छवटा गाउँहरूमा पनि यस्तै भयो। ब्वानाले यहाँ आफ्नो सुनौलो अवसर पाए। उनको निम्ति इङ्गल्याण्डमा फर्केर जाने धेरै ठोस कारणहरू थिए; तर उनले एउटा ठूलो फसल उठाउन लागेका थिए। अनि कुनै कुराले पनि उनलाई यसो गर्नदेखि रोक्न सक्दैनथियो। उनको मुखबाट सधैं एउटै कुरा सुनिन्थ्योः परमेश्वरले उनलाई मध्यअफ्रिकामा जाने आदेश दिनुभएको बेलामा सबैको आवाज उनको विरोधमा भएको थियो। यसकारण परमेश्वरले उनलाई घर फर्कने हुकुम दिनुभयो भने, त्यस बेलामा मात्र उनी घर जानेथिए।
उनले एउटा चिट्ठीमा यसो लेखे: 'मैले मानिसहरूको राय सुनेको भए, म कहिल्यै मिसनरी हुनेथिइनँ; अनि मध्यअफ्रिका-मिसन कहिल्यै स्थापित हुनेथिएन। भविष्यवक्ता मिकायाहले यसो भने: “परमप्रभुको जीवनको शपथ! परमप्रभुले मलाई जे भन्नुहुन्छ, म त्यही मात्र बोल्छु।” अनि मचाहिँ पनि त्यही भन्छुः परमेश्वरले मलाई अह्राउनुभएको काम कि त म पूरा गरेर छाड्नेछु, कि त उहाँको काम पूरा गर्दा-गर्दै मेरो मृत्यु हुनेछ। ठिक्कै छ, म जवानहरूजतिकै बलवान् र सक्षम होइनँ। ठिक्कै छ, म केही पनि होइनँ, तर मिसन - क्षेत्रमा नउत्रेकाहरूभन्दा बलवान् छु नि। अरूले नरकतिर गइरहेका पापी मानिसहरूको गुहार सुन्दैनन्, वास्ता गर्दैनन्। तर ती हराएका मानिसहरूले स्वर्ग जाने बाटो जान्न चाहन्छन्। तब तिनीहरूको निम्ति कम्तीमा मेरो उपस्थितिले केही फरक पार्ला ; किनकि ममा तिनीहरूले एकजना मानिसलाई देख्छन्, जसले तिनीहरूको आत्माको फिक्री गर्छ र तिनीहरूलाई बचाउन आफ्नो जीवन प्रिय मान्दैन। तिनीहरूको बहुमूल्य आत्माको मूल्य मेरो दृष्टिमा ज्यादा छ। तिनीहरूको निम्ति म जेपनि दिन तयार छु।
परमेश्वरले मेरो स्वास्थ्यको विषयमा सबै कुरा जान्नुहुन्छ र मलाई आराम लिन कति दरकार भएको, सो पनि जान्नुहुन्छ। यी इलाकाहरूमा जिउन सक्नको निम्ति मलाई के- के चाहिन्छ, यी नभई नहुने अनिवार्य कुराहरू उहाँलाई विदितै छ। यी अनिवार्य कुराहरूबाट वञ्चित हुनुपरेमा म खुशी छु, हाँस्छु, आनन्दित हुन्छु; किनभने मरणतुल्य जीवन जिउनमा अवर्णनीय आनन्द छ। किनकि यसरी अरूले छोड़ेको ठाउँ म ओगट्छु।'
१५
आश्चर्यकर्म गर्नुहुने परमेश्वर
यो सन् १९१६ सालको कुरा हो : भर्खर चार्लस स्टडले फेरि पनि अफ्रिकातर्फ आफ्नो पानीजहाजको यात्रा शुरु गरेका थिए। अनि भोलिपल्ट उनकी पत्नी प्रिसिल्लाले एउटा विश्वासको कदम चालिन्। एउटा पत्रमा उनका पतिले यिनलाई यिनको शरीरको स्वास्थ्यको निम्ति प्रभु येशूमाथि भरोसा राख्ने आग्रह गरे, जसरी यिनले बितेको समयमा चीनमा गरेकी थिइन्। अनि यिनले ठीक यही गरिछोड़िन्। यिनी विश्वासमा रोगको ओछ्यानबाट उठिन् र फेरि कहिल्यै त्यसमा फर्किनन्।
चार्लस स्टडले यसको विषयमा अल्फ्रेड बक्स्टनलाई एउटा पत्रमा यसरी लेखेः ‘मेरी जाहानको स्वास्थ्यको पुनर्स्थापना मेरो निम्ति एउटा ठूलो आश्चर्यकर्म हो। मैले अघि योजस्तै कुनै देखेको छैनँ। अनि यस कुराले मेरो हर्ष धेरै बढ़ाएको छ; यसको साध्य छैन। किनकि यिनी अघि चीनमा जस्तै थिइन्, अहिले फेरि त्यस्तै तगड़ा भइन्। ऊर्जामा, अन्तर्दृष्टिमा र विश्वासमा यिनीजस्तै शूरवीर मानिस मैले देखेको छैनँ।'
अनि यस विषयमा उनले पछि यसो लेखे: 'निश्चय नै परमेश्वरले हाम्रो तर्फबाट विश्वासको कदम कहिले, अँ, कहिले उठाइन्छ, सो कुराको निम्ति पर्खनुभयो; यसमा शङ्का छैन ; किनभने उहाँले मेरी पत्नीमाथि भारी आशिष बर्साउन चाहनुभयो। अनि ठीक यही कुरा मैले बिदा लिएको भोलिपल्ट पूरा भयो। त्यस दिनदेखि यिनी अर्को मानिस बनिन्। किनकि रोगबिमार सबै यिनीबाट हटिगयो। यिनी तुफानले झैं काम गर्न थालिन्; यिनले मिसन-कार्यालय आफ्नो हातमा लिइन्, र यिनी मिसनको प्रमुख प्रतिनिधि भइन्। अनि यस सिलसिलामा परमेश्वरले यिनलाई यू.एस.-ए.मा, कनाडामा, अस्ट्रेलियामा, न्यूसिल्याण्डमा, तस्मानियामा र दक्षिण अफ्रिकामा लानुभयो। अबदेखि उसो मानिसहरूले मुक्ति पाऊन्, यो यिनको एकमात्र चाहना थियो; योबाहेक यिनले हाम्रा छोरीहरूको फिक्री गर्थिन्।'
यिनले इङ्गल्याण्डमा आफ्नो मिसनको प्रतिनिधि असल प्रकारले पूरा गर्ने गर्थिन्। किनकि जब यिनले बोलिन्, तब आफ्ना पतिले अनुभव गरेका घटनाहरूको प्रत्यक्ष साक्षी भएजस्तै यिनले पूरा सजीव भई र जोशको साथ बोल्ने गर्थिन्। दिनदिनै यिनले प्रभु येशू र अफ्रिकाका जाति-जातिका मानिसहरूको निम्ति आफ्ना पतिको मीठो सङ्गत बलिदान गर्थिन्। दिन प्रतिदिन यिनले आफ्नो क्रस उठाउँथिन्। किनकि यिनी आफ्ना पतिको स्नेह, उनको सहानुभूति र सरसल्लाहदेखि वञ्चित भइरहन्थिन्। यिनले उनको निम्ति कति फिक्री गर्थिन्, जब उनले आफ्ना पत्रमा आफूले सहेका कष्टहरू, आफ्नो शारीरिक दुर्बलता र उनलाई नित्य लागेको ज्वरोको विषयमा लेखे; विचार गर्नुहोस्! यिनी उनको साथमा हुन नसक्नुचाहिँ यिनको भारी पीड़ा थियो।
मध्यअफ्रिका-मिसनको संस्थापक जोड़ीले त्यही कुरा पालन गरयो, जुन कुरा प्रभु येशूले निम्न शब्दमा भन्नुभयोः 'साँचो, साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना भुइँमा खसेर मरेन भने, त्यो एकलै रहन्छ, तर त्यो मस्यो भने त्यसले धेरै फल फलाउँछ' (यूहन्ना १२:२४)। शुरुमै उनीहरूले प्रभु येशूको निम्ति आफ्नो जीवनको उज्ज्वल भविष्य र आफ्नो सारा सम्पत्ति बलिदान गरेका थिए; पछि उनीहरूले उहाँको निम्ति आफ्नो स्वास्थ्य, आफ्नो देश, आफ्नो परिवार र आफ्नो सबै त्यागे। यसको विषयमा चार्लस स्टडको मुखको शब्द सुनौं: 'मैले आफ्नो जीवन जाँचेर हेरें र मैले प्रभु येशूको निम्ति बलिदान नगरेको कुनै कुरा पाइनँ।'
त्यसपछि मिसनको काम निक्कै बढ्यो। सन् १९१९ सालमा श्री जिल्बर्ट बार्लेले मिसन कार्यालय आफ्नो जिम्मामा लिए। तिनी प्रिसिल्ला स्टडको उपयोगी सहायक बने। अनि त्यस समयदेखि यस मिसन-संस्थाको निम्ति एउटा नयाँ युग शुरु भयो। त्यस बेलासम्म यसको पूरा ध्यान अफ्रिका हुन्थ्यो भने, अबदेखि चाहिँ सारा संसारमा सुसमाचार नपुगेका सबै ठाउँहरूतिर तिनीहरूको ध्यान सस्यो। परमेश्वर जसले तिनीहरूलाई आदेश दिनुभयो, उहाँले तिनीहरूलाई सक्षम तुल्याउनुभयो। यसकारण मिसनको नाम बदली हुने बेला आयो। अबदेखि मिसन- संस्थाको नाम ‘विश्वव्यापी सुसमाचार-धावा' भयो।
सन् १९२२ सालमा तीनजना जवानहरू दक्षिण अमेरिकाको अमेजनमा, दोस्रो मिसन - क्षेत्रमा निस्के। तिनीहरूले त्यस महानदीको घनघोर जङ्गलका दुर्गम ठाउँहरूमा तितरबितर भएका जातिहरूकहाँ सुसमाचार पुरयाउने कोशिश गरे; किनकि तिनीहरूको एक-एक आत्मा बहुमूल्य थियो। अनि यी जातिका मानिसहरूको निम्ति पनि प्रभु येशूले आफ्नो अमूल्य रगत बगाउनुभयो। यी प्रथम मिसनरीहरूले यी असभ्य जाति - हरूकहाँ सुसमाचार पुस्र्याउन ठूलो वीरता देखाए। अनि गुयाजारा जातिकहाँ मुक्तिको शुभ सन्देश ल्याउँदा श्री फेन्टन हॉलले आफ्नो ज्यान गुमाए। तर परमेश्वरलाई धन्यवाद होस्, तिनको बदलीमा तीनजना अस्ट्रेलियाका भाइहरू उठे। अनि दस वर्षपछि सुसमाचारका चार पुस्तकहरू र बाइबलका अन्य खण्डहरू गुयाजारा भाषामा अनुवाद गरिसकिए; अनि मुक्ति पाएका गुयाजारीहरूले जङ्गलमा तितरबितर छरिएका बस्तीहरूमा आफ्नो जातिका मानिसहरूलाई सुसमाचार प्रचार गरे।
त्यहाँदेखि बाह्र सय माइल टाढ़ा, अमेजन नदीको मुखमा जिउने परेनतिनतिन जातिकहाँ जाने केनथ ग्रब्ब र रोल्ड मोरिसलाई साह्रै यातना दिइयो र तिनीहरू झन्डै भोकले मरे। तर तिनीहरू दृढ़ रहे र यस ठाउँमा टिके। चार वर्ष यी मिसनरीहरू यस जातिमा बाँचे, त्यसपछि अर्को काम गर्ने क्षेत्रमा अघि बढ़े।
अमेजनको मिसन-क्षेत्रमा चार्लस स्टडको मृत्यु भएको सालमा सोह्रजना मिसनरीहरू सेवारत थिए, जसले तीनवटा जातिहरूको बीचमा मिसन-केन्द्रहरू स्थापित गरेर काम गर्दैथिए।
तेस्रो काम गर्ने क्षेत्र मध्येशिया थियो। दुईजना मिसनरीहरू हिमालय पार गरेर तिब्बतमा पुगे। यी मिसनरीहरू छोड़ेर त्यहाँ त्योभन्दा अघि कुनै यूरोपको मानिस जिएको थिएन। उनीहरू बलती जातिहरूसँग एउटा अति साधारण जीवन जिए। बलती जातिका मानिसहरू साह्रै गरिब थिए, मैला थिए, पहाड़हरूमा बारी लगाउने र खेती गर्ने कृषक जाति थिए। तिनीहरू मुसलमान थिए। सुसचमाचारमा चासो लिने धेरै थिए, तर तिनीहरूको बीचबाट केवल दुईजना प्रभुमा आए।
अर्को काम गर्ने क्षेत्र अरब थियो, पश्चिम अफ्रिका र कोलम्बिया थियो, जहाँ यस मिसन-संस्थामार्फत येशूको सुसमाचार पहिलो पल्ट पुग्यो।
यस मिसन-संस्थाको लागि कहिल्यै चन्द दिने आह्वान गरिँदैनथियो। मिसन-सभाहरूमा कहिल्यै कुनै भेटी संग्रह गरिँदैनथियो। कुनै हालतमा पनि मानिसहरूलाई मिसनको निम्ति दान दिन पारिँदैनथियो। शुरुदेखि नै यो मिसन-संस्था परमेश्वरको विश्वासयोग्यतामा भर पर्थ्यो, जसले भन्न- भयोः ‘पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै थोकहरू तिमीहरूलाई थपिनेछन्' (मत्ती ६:३३)। अनि बीस वर्ष- सम्म परमेश्वरको हात यस मिसनमाथि रहेको थियो। तिनीहरूलाई कहिल्यै ऋण लाग्दैनथियो। अनि चार्लस स्टडको मृत्युको सालसम्म परमेश्वरले तिनीहरूलाई लगभग देढ़ लाख पाउण्ड दिनुभयो; योचाहिँ चार्लस स्टडले परमेश्वरलाई दिनुभएको रकमभन्दा पाँच गुणा बढ़ी थियो।
१६
पवित्र आत्माका नयाँ प्रभावहरू
जुन बेलामा चार्लस स्टड अझै पनि चीनमा कार्यरत भएका थिए, त्यस बेलामा श्री फ्रेड्रिक बूट ठक्करले उनलाई एउटा पत्रमा यसो लेखेका थिएः ‘याद गरः मानिसहरूलाई प्रभुकहाँ ल्याउनु सजिलो, तर मुक्ति पाएकाहरूलाई पवित्रजन तुल्याउनु र अरू मानिसहरूलाई ख्रीष्ट येशूकहाँ ल्याउने सिपाही बनाउनु गाह्रो छ।' अनि यही चुनौती उनले मध्यअफ्रिकामा सामना गर्नुपरेको थियो; किनकि शुरुका दिनहरूमा उनी नालामा हुँदा धेरै मानिसहरूले प्रभु येशूलाई ग्रहण गरेका थिए र पानीको बप्तिस्मा लिएका थिए। तर त्यसपछि उनको आशा भङ्ग गर्ने र निराश तुल्याउने धेरै कुराहरू घटे। इसाई अगुवाहरू र सुसमाचार प्रचारकहरूको जीवनमा प्रत्यक्ष पापहरू थिए, अल्छीपन र स्वार्थीपन आयो। तिनीहरूको बीचमा पवित्र आत्माको एउटा नयाँ काम जरुरत थियो। अनि अहिले इतुरी प्रान्तमा पनि हालत यस्तै थियो। शुरुदेखि चार्लस स्टडले फिका काममा कुनै सन्तुष्टि पाउँदैनथिए। यसकारण जबसम्म पवित्र आत्माले उनीहरूको बीचमा एउटा नयाँ काम गर्नुहुन्नथियो, तबसम्म उनले परमेश्वरलाई र उहाँका जनहरूलाई कुनै आराम नदिने निर्णय गरे। अनि उनले पवित्र धर्मशास्त्र बाइबल लिएर कामहरू पैदा नगर्ने विश्वास सरासर झूटा साबित गरे।
उनले यस समयमा यसो लेखेः 'हामी यहाँको स्थानीय मण्डलीको अवस्थासित सन्तुष्ट छैनौं। मण्डली सभाहरूमा उपस्थित हुनु र भजनहरू गाउनु असल कुरा हो; यसको विरोधमा भन्न हाम्रो केही पनि छैन। तर हामीले इसाईहरूको जीवनमा आत्माको फल देख्न चाहन्छौं। तिनीहरूको जीवन र तिनीहरूको मनको परिवर्तन भएको हुनुपर्छ। तिनीहरूले पापलाई घृणा गर्नुपर्छ र धार्मिकतालाई प्रेम गर्नुपर्छ। यस प्रकारको परिवर्तन पवित्र आत्माको शक्तिको काम हो। उहाँको अनुग्रहकारी वातावरणमा यस्तो परिवर्तन सम्भव हुन्छ। किनकि प्रभु येशूले उहाँद्वारा परमेश्वरकहाँ आउने- हरूलाई पूरा रूपले मुक्त गर्न सक्षम हुनुहुन्छ (हिब्रू ७:२५ )। हाम्रो पवित्र जीवनले उहाँको महिमा गर्नुपर्छ। तर प्रभु येशूको चालमा र पवित्र आत्माको भरमा नजिउने इसाईहरू परमेश्वरको अनादर गर्छन्।
अफ्रिकाका मानिसहरूले नरकको आगो र शैतानको दासत्वबाट छुट्न मागे; तिनीहरूले जादुका घिनलाग्दा पापहरू छोड़े, जुन कुरा सानो कुरा थिएन। आत्मिक हिसाबले तिनीहरूले मिस्र देश छोड़ेका र लाल समुद्र पार गरेका र पारिपट्टि आएर छुटकाराको गीत गाएका थिए। तिनीहरू उजाड़स्थानमा आएका थिए, जहाँ तिनीहरू परीक्षामा परे र तिनीहरूले क्रस उठाउन सिक्नुपरेको थियो। अनि यही ठाउँमा आएर तिनीहरूले गनगन गर्न थाले। उदाहरणको लागि, एउटा इसाई अगुवाले आफ्नो विश्वासको निम्ति पिटाइ खाए। अनि सबैले डरले चिच्च्याए: 'ओहो, सबै इसाईहरूले पिटाइ खानुपर्दा रहेछन्!' तिनीहरूको डर यति ठूलो भयो, कि तिनीहरू- मध्ये कतिजनाले ख्रीष्ट येशूको पछि लाग्न छोड़े। अनि पिटाइ खाने अगुवाचाहिँ? तिनी ख्रीष्ट येशूको निम्ति दु:ख भोग्न पाएको कुरामा रमाएनन्, यद्यपि यो ख्रीष्टमा तिनको सौभाग्य थियो।
अनि विस्तारै अरू नकरात्मक कुराहरूको विकास भयो। तिनीहरूको बीचमा देखा परेको एउटा पापचाहिँ सुस्तीपन, भारी अल्छीपन थियो, जसले तिनीहरू ग्रस्त थिए। बिनसित्ति बसिरहनु र गपशप गर्नु – तिनीहरूको क्रियाकलाप बस यति थियो। परिश्रमसाथ काम गर्नु तिनीहरूले मूर्ख कुरा ठान्थे। अरूले तिनीहरूको निम्ति काम गरून् – यो तिनीहरूले बुद्धि ठान्थे। अनि ख्रीष्ट येशूकहाँ आएपछि तिनीहरूको यो खराब बानी हटेन, कसरी?
अब हामी परमेश्वरप्रतिको प्रेमको कुरा गरौं। तिनीहरूका गीतहरूमा र बातचितमा परमेश्वरको प्रेम तिनीहरूको विषयवस्तु त थियो, तर परमेश्वरको निम्ति कुनै बलिदानयुक्त त्याग, कुनै सेवा गर्नुपरेको बेलामा तिनीहरू पछि हटे। तिनीहरूको बीचमा परमेश्वरको डरको कमी पनि देखा परेको थियो। किनकि परमेश्वरको डर के हो? के दुष्ट पाप र हरेक अधर्मलाई घृणा गर्नु होइन र? अनि परमेश्वरलाई प्रेम गर्ने प्रेम के हो? के उहाँको धार्मिकता, उहाँको इच्छा प्रेम गर्नु होइन र? हुन त सबै मानिसहरू यस्ता थिएनन् होला। तर परमेश्वरको डर मान्ने इसाई विरलै पाइन्थ्यो। तिनीहरूको विचार यस प्रकारको थियोः तिनीहरूले प्रभु येशूलाई ग्रहण गरे, तिनीहरूले पानीको बप्तिस्मा लिए; येशूको रगलले तिनीहरू धोइए; यसकारण तिनीहरू स्वर्ग जाने भए। तर मतपान गर्ने, झगड़ा गर्ने, भूट बोल्ने, ठग्ने, छल्ने, चोरी गर्ने, व्यभिचार गर्ने विषयमा कसो हो? के तिनीहरूले यी पापहरूमा जिउन छुट पाए, कसरी?
यस्ता पापहरूमा जिउने मानिसको हालत के हुने हो? यसमा मलाई कुनै शङ्का छैन; किनभने परमेश्वरको वचनले भन्दछः 'तिनीहरूका फलहरूबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ' (मत्ती ७:१६ र २० )। यसकारण अन्यजातिका मानिसहरूलाई तिनीहरूको पुरानो जीवनबाट बचाउन ठूलो शक्तिको खाँचो पर्छ। तिनीहरूले एउटा नयाँ जीवन पाउनुपर्छ। तिनीहरूले परमेश्वरको दिव्य जीवन पाउनुपर्छ; किनकि तिनीहरू आफैमा यस्तो जीवन छैन। तिनीहरूले एउटा नयाँ, शुद्ध हृदय पाउनुपर्छ। तिनीहरू ख्रीष्टमा एउटा नयाँ सृष्टि भएको हुनुपर्छ। तिनीहरूमा दिव्य प्रेम हुनुपर्छ र तिनीहरूमा दिव्य घृणा हुनुपर्छ। इसाई जीवन जिउन चाहनेहरूले यो आफ्नो शक्तिले जिउन सक्दैनन्। तर उक्त कुराहरू उनीहरूमा अनिवार्य रूपले हुनुपर्छ।
त्यस समयमा एउटा ठूलो समस्या आयो। किनकि चार्लस स्टडले सबै साँचो विश्वासीहरूको जीवनमा पवित्रता हुनुपर्छ भन्ने कुरामा जोर दिने गर्थे; अनि यही कुरा सबैले मन पराउँदैनथिए, अनि कतिले सीधै विरोध गरे। नानीजस्तै सरल विश्वास र त्यागपूर्ण जीवनचाहिँ शुरुदेखि मध्यअफ्रिका- मिसनको सिद्धान्त थियो; तर अब थोरै मानिसहरू यस सिद्धान्तअनुसार जिउन तयार थिए। साधारण घरहरूमा बस्न, साधारण खाना खान, छुट्टीविना, मनोरञ्जनविना, केवल अन्यजातिका मानिसहरूको मुक्ति पाउने कार्यमा पूरा लीन हुन को राजी थियो र? यसकारण मिसनरीहरू र कर्मचारीहरूबाट भित्रभित्र चार्लस स्टडको नेतृत्वको विरुद्ध विरोध र विद्रोह उठ्यो। अन्तमा उनले दुईजना मिसनरीहरूलाई यस मिसनबाट निकाल्नु- परयो। अनि अरू कतिजनाले कामबाट राजीनामा दिए।
उनले यस विषयमा यसो लेखे: 'जबसम्म म यस मिसनको प्रमुख हुन्छु, तबसम्म मेरो हुकुम चल्छ; अनि अरूले यो मान्नुपर्छ; किनकि हामी फूलको मालाले सुसज्जित भएको ओछ्यानमा सुती - सुती स्वर्ग जानेछैनौं। हामी कि त “खाऔं र पिऔं; किनकि भोलि हामी मुर्दा हुन्छौं” भन्ने सिद्धान्तअनुसार जिउन सक्छौं, कि त हामी चाहे बाँचौं, चाहे मरौं, सारा तन-मन-धन दिएर हाम्रा प्रभु येशूको निम्ति अर्पेको जीवन जिउन सक्छौं। तर यहाँ हाम्रो मिसनमा हामीलाई गुनासो गर्नेहरूको आवश्यकता छैन, तर पूरा समर्पण गर्नेहरूको खाँचो छ। यसकारण गनगन गर्नेहरू घर जाऊन्।
हाम्रो बीचमा दिव्य आगो निभ्दैछ अनि धूवाँ र खरानी मात्र बाँकी रहन्छ भन्ने मलाई डर लागेको छ। किनकि खानेकुराहरू हाम्रो बातचितमा र हाम्रो दैनिक जीवनमा चाहिएको भन्दा बढ़ी स्थान पाउँदैछन्। शुरुमा आत्मत्याग हाम्रो मुख्य सिद्धान्त थियो भने, अहिले आत्मसुख हाम्रो प्रमुख सिद्धान्त भएछ। हामी गहन हुनुपर्छ र हाम्रो गम्भीरता अझै बढ्नुपर्छ। हामी सधैं छालको टुप्पामा तैरिन सक्नुपर्छ र समुद्रको तरङ्गको घाटीमा डुब्नुहुँदैन; किनकि हाम्रो चारैतिर पापको गहिरो सागर छँदैछ।
अचम्मको कुरा के हो भने, परमेश्वरले हामीलाई बलिदानयुक्त जीवन जिउने आह्वान गर्नुहुन्छ, र हामीलाई हामीले गर्नुपर्ने त्यागहरू खुशीसाथ गरिछाडूने मानिस तुल्याउनुहुन्छ, यहाँसम्म कि हामी उहाँको निम्ति अझै ठूलो त्याग दिन इच्छुक हुन्छौं। हामी परमेश्वरको थुमाको ठूलो विवाह- भोजमा सम्मेल मात्र होइन, तर उहाँको जस्तै सेतो वस्त्र पहिरन चाहन्छौं। तब हामीले हाम्रा हात र खुट्टाहरू क्रसमा टाँग्न सक्नुपर्छ। उहाँको निम्ति हाम्रो मन र हृदय टुक्रिनुपर्छ, तोडिनुपर्छ। ठिक्कै छ, हामी यस पृथ्वीमा मानिसहरूबाट कुनै आदर नपाऔंला, र हामी आफ्ना आँखाहरूमा आदरको योग्य नहोऔंला, तर हामी एक दिन उहाँको एकमात्र आदर र स्याबासी पाउनुपर्छ, जसले हामीलाई परमेश्वरको प्रेमले प्रेम गर्नुभयो।
यी दिनहरूमा भारी संघर्ष चलिरहेको थियो। किनकि इङ्गल्याण्डको मिसन-समितिका कति सदस्यहरू समेत चार्लस स्टडसित एक हुँदैनथिए। उनले उनीसँग नमिल्ने आफ्ना सहकर्मीहरूसित सम्झौता गर्नुपरेको, उनी यस हालतमा घरमा फर्केर आउनुपरेको र यस अवस्थाको छलफल गर्नुपरेको, उनले अरू मानिसहरूको राय लिनुपरेको अरे; तर उनले यसो गरेनन्। तिनीहरूको विचारमा, यो उनलाई नित्य सताइरहेको ज्वरोको फल थियो, कि त उनले लामो समयसम्म चाहिएको भन्दा ज्यादा काम गरेको उनको थकाइको फल थियो। सबैले उनलाई त्यागेर छोड़िजाऊन्, तर जुन सिद्धान्तहरूमा यो मिसन शुरुमा स्थापित भएको थियो, उनी आफ्नो मिसनका यी सिद्धान्तहरूमा अदिग रहे।
चार्लस स्टडको निम्ति यो गेत्समनीको अनुभव थियो। उनका चिट्ठीहरूमा यसको विषयमा घरिघरि पढ्न सकिन्थ्यो। किनकि अरूले उनलाई गलत सम्झे। उनले ठूलो दाम चुकाउनुपस्यो। अनि उनको एकमात्र चाहना थियो, कि उनीहरूको बीचमा पवित्र आत्माले एउटा नयाँ काम गर्नुपर्छ।
उनले यस सम्बन्धमा यसो लेखे: 'मलाई के लाग्छ भने, मैले बोक्नुपरेको क्रस ज्यादा ओजनदार, मैले बोक्न नसक्ने गह्रौं भएको छ। अनि एकदिन म थाम्न सक्दिनँ, र भारीले मलाई थिच्नेछ होला भन्ने मलाई डर लागेको छ। तर त्यसपछि फेरि ममा संघर्ष गर्ने हिम्मत जागिउठ्छ। मेरो मन थाकेको छ। म थिचोमिचोमा परेको छु। म निराश हुन्छु। म एकलै छु। अनि मलाई मर्न र प्रभुकहाँ जान मन लागेको छ। तर यसमा परमेश्वरको इच्छा सबैभन्दा बढ़िया कुरा हुन्छ। अनि उहाँले मलाई जे अह्राउनुहुन्छ, म त्यही पूरा गर्न तयार छु।
परमेश्वरको प्रेमले सबै कुराहरू बदली गर्छ। उहाँले हामीलाई आपसमा प्रेम गर्ने आज्ञा दिनुभयो; किनभने उहाँले प्रेमको शक्ति जान्नुभएको छ। तब हामीले एक-अर्कालाई प्रेम किन नगर्ने? हामीले एक अर्कोको शङ्का गर्ने बानी छोड्नुपर्छ। किनकि हाम्रा शङ्का-उपशङ्काहरूले सङ्ख्या घटाउँछन्, तर विश्वासले सङ्ख्या जोड्छ, तर प्रेमले सङ्ख्याको गुणा गर्छ। प्रेमको आशिष दुई गुणा हुन्छ; किनकि प्रेम पाउनेले आशिष पाउँछ र प्रेम दिनेले आशिष पाउँछ। यसकारण प्रेमले हामीलाई राज्य गरोस्। हामी एक- अर्कालाई प्रेम गर्ने होऔं, र एक - अरूको वास्ता गर्ने होऔं। प्रेरित पावलले पनि अरूका दु:ख र फिक्रीहरू आफ्नै तुल्याए र आफ्नै सम्झे। हाम्रो मिसनको सिद्धान्त प्रेम हुनुपर्छ। प्रेम गर्नु बाहेक हामीलाई अरू कुनै आज्ञा चाहिँदैन। किनकि अरू सबै आज्ञाहरू प्रेममा समावेश हुन्छन्। परमेश्वरले आफ्ना सेवकहरूलाई आगोको ज्वाला तुल्याउनुहुन्छ (हिब्रू १:७)। उहाँले तिनीहरूलाई धेरै ज्वालाहरू होइन, तर एउटै ज्वाला तुल्याउनुहुन्छ। यो कत्रो एकता हो! तर यो एकता अनिवार्य छ, नत्र ता प्रभुले हामीलाई चाहेको जति आशिष दिन सक्नुहुन्न र अरूको निम्ति आशिषको कारण तुल्याउन सक्नुहुन्न।
यो सन् १९२५ सालको कुरा हो। एउटा रातमा यो समस्या छेदियो; किनकि यस रातमा एउटा नयाँ मिसन संस्था जन्मियो ; हुन त खास पुरानो मिसन-संस्थाले एउटा नयाँ रूप लियो। किनभने परमेश्वरको जीत भयो। उहाँले एउटा नयाँ अजय फौज तयार गर्नुभयो, जसरी पुरानो नियमको समयमा अय्यूब, एस्तर र दानियलका साथीहरू - यी आत्मिक शूरवीरहरू हुन्थे, जसले आफ्नो मनको दृढ़ता निम्न शब्दले स्वीकार गरेः 'उहाँले मलाई मार्नुभए तापनि म उहाँमाथि भरोसा राख्ने नै छु' (अय्यूब १३ : १५ )। 'अनि म नाश भए नाश हुँली' (एस्तर ४:१६)। 'हाम्रा परमेश्वर जसको सेवा हामी गर्छौं, उहाँले हामीलाई त्यस जलिरहेको आगोको भट्टीबाट छुटाउन सक्नुहुन्छ, तर यस्तो भएन भने पनि हामी तपाईंका देवीदेवताहरूको पूजा गर्नेछैनौं' (दानियल ३ः१७-१८)।
यस विशेष साँझमा चार्लस स्टड गह्रौं हृदय लिएर इबम्बीमा संचालन गरिएको प्रार्थना-सभामा भेला भए। उनले कुनै न कुनै उपायको बाटो हेरिरहेका थिए, जसले यी बाधाहरू हटाउनेथियो। यसको निम्ति दिव्य शक्तिको बारुदजस्तैको विस्फोटन हुनु बाँकी थियो। त्यस बेलामा आठजना मिसनरीहरू भेला भएका थिए। अनि उनले आफ्नो मनपरेको अध्याय, हिब्र एघार अध्याय पढेर सुनाए।
के हामीजस्तै मानिसहरूको निम्ति यी विश्वासका वीरहरू हिँड़ेको सुनौलो सड़कमा चल्न सम्भव हुन्छ? यी उहिलेका शूरवीरहरूका साहसपूर्ण कार्यहरूले परमेश्वरको महिमा गरे। यसबाट हाम्रो हृदय र हाम्रो मन पोल्छ। हेर, उनीहरूका बलिदानहरू कति उत्तम, कति सम्पूर्ण थिए। परमेश्वरले उनीहरूको सम्मान गर्नुभयो र उनीहरूलाई आशिष दिनुभयो। उनीहरू आफ्नो जीवनकालमा अरूको निम्ति आशिषको कारण बने। अनि आज रातिचाहिँ यसको मतलब के हो त? यी मरणशील मानिस- हरूलाई कुन शक्तिले, कुन मनसायले विजय प्राप्त गर्न र मर्न तयार हुन सक्षम तुल्यायो? यो निस्सन्देह परमेश्वरको पवित्र आत्माको शक्तिको काम थियो। उहाँको शक्तिको चिनारीचाहिँ साहस, वीरता र परमेश्वरको निम्ति बलिदानयुक्त त्याग गर्ने तीव्र इच्छा र यसबाट आउने आनन्द हो। यसको निम्ति सबै मानवीय कमजोरताहरू र सबै शारीरिक इच्छाहरू क्रसमा टाँगिन्छन्। अनि आज राति यही कुरा हाम्रो अत्यावश्यकता हो। परमेश्वरले उनीहरूलाई दिनुभएको यो अनुग्रह हामीलाई पनि दिनुहुन्छ? अनि कुन शर्तमा उहाँले यो आशिष हामीलाई दिनुहुन्छ? उहाँको शर्त यस प्रकारको छः ‘सबै बेच!' यसको निम्ति केवल एकै दाम छ। यसमा कुनै छुट छैन। जस-जसले उहाँलाई सबै दिइहाल्छन्, यिनीहरूलाई उहाँ सारा अनुग्रह दिनुहुन्छ। सबै, सबै, सबै!! सारा संसारको लेखि हामी मर्नुपर्छ; सारा शारीरिकताको लेखि हामी मर्नुपर्छ; अनि सबैभन्दा ठूलो शत्रको लेखि हामी मर्नुपर्छ। अनि हाम्रो सबैभन्दा ठूलो शत्रु शैतान नहोला, तर हाम्रो अहम र आत्मनिर्भरता हो।
त्यसपछि हाम्रो बातचित पहिलो विश्वयुद्धतिर पुग्यो, जब ब्रिटिश सिपाहीहरूले अपूर्व वीरता देखाएका थिए, जसले सेनाको कप्तानको आदेश शिरोप्पर गरेका थिए र शत्रुको सेना हमला गरेका थिए। आफ्नो ज्यानको निम्ति आइपर्ने खतराहरू सबै जानेर नै तिनीहरूले यसो गरेका थिए। तिनीहरूको यो मनसाय हामी कसरी बयान गरौं? यो प्रश्न हामीले यस युद्धमा सिपाही भई भाग लिएका, उपस्थित भएका भाइलाई सोध्यौं। अनि तिनले यस प्रश्नको जवाफ निम्न शब्दले दिएः 'यस प्रकारको मनसाय सिपाहीहरूको भाषामा भन्न हो भने, तिनीहरूले अलिकति पनि आफ्नो ज्यानको फिक्री गर्दैनथिए, तर आफ्ना राजा, आफ्नो स्वदेश, आफ्नो मातृभूमि र आफ्नो सेनाको जीतको निम्ति सबका सब दिइहाले।
यी शब्दहरू सुन्नासाथ चार्लस स्टड उठे; उनले आफ्ना हात उठाए र भनेः 'हो, हामीलाई यस प्रकारको मनसाय चाहिन्छ। अनि म यही गर्न चाहन्छु। हे प्रभु, अबदेखि उसो मेरो जीवनमाथि जेजस्तो आइपरोस्, मलाई कुनै पर्वाह छैन। चाहे मेरो जीवनद्वारा होस्, चाहे मेरो मृत्युद्वारा किन नहोस्, जेजस्तो भए पनि मेरा प्रभु येशू ख्रीष्टको महिमा हुनुपर्छ।' सबै उपस्थित भएका भाइहरू एकपछि अर्को गर्दै उठे, र उनीहरूले पनि त्यही प्रण गरेः 'सुख वा दु:ख, स्वास्थ्य वा पीड़ा, जीवन वा मृत्यु ममाथि जेजस्तो आइपरे पनि यसमा मेरो पर्बाह छैन; मेरा प्रभु येशूको महिमा हुनुपर्छ।
उनीहरूले शिर झुकाएर प्रार्थना गरे, त्यसपछि उनीहरू घर गए। तर यस साँझमा एउटा नयाँ झुन्ड यस घरबाट निस्क्यो। उनीहरूको अनुहारमा एउटा हाँसो थियो। उनीहरूका आँखाहरूमा एउटा आनन्दको चमक चम्किरहेको थियो। उनीहरूको मनमा एउटा गहिरो प्रेम बलिरहेको थियो। उनीहरूमध्ये हरेक एउटा सिपाही भएछ। उनीहरू ख्रीष्ट येशूका निष्ठावान् भक्त भएछन्, जो आफ्ना मुक्तिदाता ख्रीष्ट राजाको महिमाको निम्ति मृत्यु- सम्म विश्वासी रहनेथिए; किनभने उहाँ उनीहरूको निम्ति मर्नुभयो। उनीहरू यस युद्धमा भाग लिने आनन्दको पकड़मा परे। प्रेरित पत्रसको शब्दमा भन्न हो भने, उनीहरूसँग बयान गरेर नसकिने आनन्द थियो।
अनि यो आत्माचाहिँ चारैतिर सबैभन्दा दुर्गम मिसन-केन्द्रमा पनि फैलेर गयो। अनि यस समयदेखि उसो मिसनरीहरूको बीचमा एकता, प्रेम र आनन्दले राज्य गर्थ्यो। उनीहरूले अन्यजातिका मानिसहरूको मुक्तिको निम्ति जुनै पनि त्याग, जुनै पनि बलिदान, जुनै पनि जोश र वीरता देखाउँथे। उनीहरू मध्यअफ्रिकाका शूरवीर योद्धा भए। त्यस दिनदेखि उनीहरूको बीचमा कुनै गनगन सुनिँदैनथियो, उनीहरूका समस्याहरू जतिसुकै ठूला किन नहोऊन्। तर उनीहरूको मुखबाट केवल स्तुति- प्रशंसाका शब्दहरू र परमेश्वरमाथिको भरोसा बयान गर्ने विश्वासका शब्दहरू सुनिन्थे। उनीहरूमध्ये कसैले पनि, कसैको स्वास्थ्यले बाध्य पारेको बाहेक, छुट्टी लिन चाहँदैनथियो। अनि स्वदेश फर्केपछि कसैले पनि ‘मेरा आरामका दिनहरू कति होलान्' भनेर सोध्दैनथियो, तर 'मेरो सहायता कहाँ खाँचो परेको छ' अथवा 'म कहिले मिसन - क्षेत्रमा फर्कन पाऊँ' भनेर सोध्थ्यो।
पतिपत्नीहरूको सुर्ताचाहिँ आफ्नो परिवार होइन, तर मिसनको काम हुन्थ्यो। यहाँ हामी यसको एउटा उदाहरण दिन्छौं। एउटा नयाँ दम्पतिमा यस्तो भयोः उनीहरूको विवाहको केही दिनपछि उनीहरू छुटिए, किनभने पर्याप्त कामदारहरू नभएका हुनाले उनीहरूले छुट्टै मिसन - केन्द्रहरू संचालन गर्नुपरयो। अनि पुरुषहरूको कमीले गर्दा कति अविवाहिता दिदीबहिनीहरू गाउँहरूहुँदो सुसमाचार प्रचार गर्थे। अनि एउटा जिल्लामा यस्तो भयो, जहाँ नरभक्षक जातिहरू बस्थेः मेमसाहिब मिसनरीले एउटा मानिसलाई प्रभुमा ल्याइन्, जसको पेटमा सयजना मानिसहरूको मासु पचिसकेको थियो। यिनले कसरी उसको गाउँमा जाने आँट गरिन्? अनि यहाँ एकजना जवान भाइको कुरा पनि गर्न उचित छ, जसले आफ्नो विवाहको केही महिनाभित्र आफ्नी पत्नीलाई अचानक गुमाउनुपरेको थियो। तिनको निम्ति यो कति ठूलो चोट र हानि थियो! तर तिनले यिनलाई दफन गरे र यिनले स्वर्गको महिमामा प्रवेश गरेकोमा परमेश्वरलाई प्रशंसा चढ़ाए। यसरी तिनले चिहानको सामु परमेश्वरको महिमा गरे। तिनले हिम्मतको साथ कुरा गरे, यहाँसम्म कि दुईजना क्याथोलिक ननहरूले स्वीकार गरे, कि तिनीहरूको धर्ममा यस प्रकारको साहस पाइँदैनथियो।
थोरै समयमा यस आत्माले स्थानीय मण्डलीलाई पनि आफ्नो पकड़मा ल्यायो। अनि यस प्रकारको गहन काम अघि कसैले कहिल्यै देखेको थिएन। परमेश्वरको डर विश्वासीहरूमाथि आयो। अनि तिनीहरू ख्रीष्ट येशूको पछि लाग्ने दाम चुकाउन राजी भए। तिनीहरूको बीचमा जागृति आयो। एकै समयमा सबैमा त होइन, तर यहाँ एकजनाको जीवनमा र त्यहाँ अर्को एकजनाको जीवनमा। अनि बिस्तारै तिनीहरूको बीचमा अर्पेका विश्वासीहरूको सङ्ख्या बढ्यो। किनकि जस-जसले आत्मिक चुनौती लिए, तिनीहरूको जीवनमा अचम्मको परिवर्तन आयो। त्यहाँ पवित्र आत्माको प्रभाव बढ़ी देखिन्थ्यो। तिनीहरूको अनुहार चम्किलो थियो। तिनीहरूले प्रार्थनामा बढी चासो लिन्थे। तिनीहरूले पापलाई घृणा गर्थे। तिनीहरूको जीवनबाट बेइमानी, अशुद्धता र अन्य पापहरू हटे। जुनै पनि पापको दोष भइरहन्थ्यो, र पाप हटाइन्थ्यो। अनि मिसन - केन्द्रहरूमा अह्राइएका कामहरू असल प्रकारले पूरा गरिन्थे। अनि परमेश्वरको आत्माले स्थानीय विश्वासीहरूलाई सुसमाचार प्रचार गर्ने प्रेरणा दिनुहुन्थ्यो। यस सिलसिलामा चार्लस स्टडले यसो लेखे: 'ओहो, अहिले पो मिसनको कामको असल जग बसालियो! अब काम गर्न मज्जा लाग्छ। प्रभु येशूको लड़न्तमा लड्न पाउनु हाम्रो सौभाग्य भएको छ।'
अड्जङ्गभेचाहिँ पहिले नरभक्षक मानिस थिए, जसको डर सबैलाई लाग्थ्यो; किनकि तिनी अति क्रूर मानिस हुन्थे। अनि पछिसम्म तिनको अनुहारमा तिनको बितेको जीवन अझै पनि पढ्न र देख्न सकिन्थ्यो। तिनी केही वर्ष विश्वासी भइसकेका थिए, जब तिनको जीवन अचम्म प्रकारले बदली भयो। तिनको चम्किरहेको अनुहार यसको साक्षी थियो। पछि तिनले एउटा ठूलो मण्डलीको अगुवा भए। अनि छिमेकी जातिहरूलाई सुसमाचार प्रचार गर्दा तिनी जेलमा हालिए। तर तिनको गवाहीले गर्दा झ्यालखानामा केही अपराधीहरूले प्रभुलाई अपनाए। अनि अड्जङ्गभे र स्टड घनिष्ठ साथी भए।
अड्जङ्गभेको यस उदाहरणले तिनको मण्डलीका पचासजना भाइहरूलाई प्रेरणा दिलायो, जो सुसमाचार प्रचार गर्न निस्के। तिनको मण्डलीले यिनीहरूलाई पठाउन त पठायो, तर स्थानीय विश्वासीहरूले यिनीहरूको खर्च बेहोरे। यिनीहरूमध्ये कतिजनाले दुर्गम जातिहरूको बीचमा प्रभुको सेवा गरे। चार्लस स्टडको मृत्युसम्म ख्रीष्ट - विश्वासीहरूको बीचमा यो उमङ्ग भइरह्यो। कति पल्ट तिनीहरूले रातभरि प्रार्थनामा बिताउँथे। तिनीहरूको भनाइ यस प्रकारको थियोः तिनीहरूले बितेको जीवनमा रातभरि शैतानको निम्ति नाच्थे। यसकारण तिनीहरूको निम्ति परमेश्वरको उपस्थितिमा प्रार्थनामा रात बिताउन आनन्दको कुरा हुन्थ्यो।
यसरी नै चार्लस स्टडको मनको चाहना पूरा हुन थाल्यो। मध्यअफ्रिकामा आत्माको भरपूरीमा एउटा योद्धा - मण्डली खड़ा भयो। आफ्नो जीवनका अन्तिम पाँच वर्षमा उनले आफूलाई सुसमाचार प्रचारको काममा दिइहाले। अनि उनले धेरै मानिसहरूलाई मुक्ति पाएका र पवित्र आत्माले भरिएका देख्न पाए। उनले सधैं ख्रीष्ट - विश्वासीहरूलाई प्रभु येशूको निम्ति युद्ध गर्ने चेताउनी दिन्थे। उनले ख्रीष्ट येशूको निम्ति र हराएका आत्माहरूको निम्ति आफ्नो जीवन खर्च गरे। उनले आफ्नो प्रतिज्ञा पूरा गरे। यी वर्षहरूको विषयमा साँचो थियोः उहाँको घरको जोशले उनलाई खायो। जुन कुराहरूले प्रायः मानिसको जीवनमा धेरै समय र धेरै ठाउँ पाउँथे, ती कुराहरूले उनको जीवनमा साह्रै कम्ति ठाउँ पाउँथे। उनले साधारण खाना खान्थे। उनले थोरै सुत्थे। उनले तेह्र वर्षमा एक दिन छुट्टी लिँदैनथिए। उनले सुख जान्दैनथिए। उनको लुगा एउटा खाकी कोट थियो र एउटा कमीज, एउटा प्यान्ट र मोजा थिए। अनि उनका किताबहरू प्रायः पवित्र बाइबलमा सीमित हुन्थे।
१७
सी. टी. स्टडको दैनिक जीवन
मध्यअफ्रिकामा इबम्बीचाहिँ सधैं चार्लस स्टडको घरको रूपमा सम्झिन्छ; किनकि यहाँ उनी इक्राले बनेको, खरले छाइएको र माटोले लिपिएको भुइँ भएको एउटा गोलो झुपडीमा बस्थे। अनि यस घरको एक छेउमा उनको खाट थियो। त्यसमाथि छ-सातवटा पुराना कम्बलहरू थिए, जसले डसनाको काम गर्थे। अनि त्यसको सिरानमा किर्मिचका केही तकियाहरू थिए। अनि त्यस खाटको छेउमा एउटा साधारण टेबल थियो, जसमा ससाना बक्सहरू थिए, जसमा विभिन्न चीजबीजहरू आ-आफ्नो ठाउँमा राखिएका थिए, जस्तैः कैंची, छुरी, औषधी, कागज, घड़ी, चश्मा, दूधका टिनहरू, कलम र पेन्सिलहरू आदि। अनि यस घरको अर्को पट्टि एउटा अलमारी थियो, जहाँ पढ्दा पढ्दै पुराना भएका बाइबलहरू थिए। किनकि उनको आदतअनुसार उनले हरेक सालमा बाइबलको नयाँ प्रति पढ्ने गर्थे। उनी पुराना टिप्पणीहरूमाथि भर पर्दैनथिए, तर उनले हरेक पल्ट पवित्र धर्मशास्त्र बाइबल नयाँ गरी पढ्न चाहन्थे। योचाहिँ चार्लस स्टडको एक कोठे घर थियो। अनि यहाँ, यस घरमा उनको पलङ्गको सामु धेरै बैठकहरू संचालन गरिन्थे। धेरै पल्ट उनले यहाँ मध्यरातसम्म आफ्ना मिसनरी साथीहरूलाई र आफ्ना स्थानीय कर्मीहरूलाई अर्ती उपदेशहरू दिने गर्थे; अनि यहाँबाट तिनीहरू फेरि नयाँ बल र उमङ्गको साथ काम गर्न निस्कन्थे। यस घरको बीचमा एउटा आगो बल्थ्यो। उनको आदिवासी नोकर थियो, जो उनीसँग यस झुपडीमा सुत्थ्यो र एउटी पत्नीले झैं उनको स्याहार गर्थ्यो। उसको एउटा खुट्टा लौरा झैं कड़ा थियो, यसकारण उसको नाम 'एकखुट्टे' भयो।
प्रायः बिहान तीन बजेतिर यस झुपडीमा उठ्न थालिन्थ्यो। किनकि त्यो काम गर्ने केटा सधैं एकै समयमा उठ्ने गर्थ्यो, र उसले उठ्नासाथ आगो बाल्थ्यो। त्यसपछि उसले चिया पकाउँथ्यो। यसरी नै चार्लस स्टड उठ्नेबित्तिकै चिया खान पाउँथे। त्यसपछि उनले तखताबाट आफ्नो बाइबल झिक्थे र परमेश्वरसित समय बिताउँथे। अनि सबेरै उहाँहरूको बीचमा कुन कुरा छलफलको विषय थियो, त्यो कुरा बिहानको सभामा स्थानीय विश्वासीहरूले थाहा पाउँथे। चार्लस स्टडले सभा चलाएको खण्डमा सभा तीन घण्टा लाग्थ्यो। अनि बेलुकामा सँगी - मिसनरीहरू सात बजेदेखि नौ-दस बजेसम्म उनको घरमा प्रार्थना र बातचित गर्नको निम्ति भेला हुन्थे। जुन आशिष उनले बिहानै परमेश्वरबाट पाउँथे, त्यो कुरा उनको हृदयमा जल्थ्यो र उनको मुखबाट जोशको साथ निस्कन्थ्यो। यी बिहानका घण्टाहरूमा बाहेक उनले आफ्नो प्रवचनको तयारीको निम्ति कुनै समय पाउँदैनथिए। उनले परमेश्वरसँग बातचित गर्थे, र उहाँले उनीसँग कुरा गर्नुहुन्थ्यो र आफ्नो सेवकलाई वचनको अर्थ खोल्नुहुन्थ्यो। उनले वचनको प्रकाशमा प्रभु येशूलाई देख्थे, र लाखौंलाख मानिसहरू नरकतिर गइरहेको आलो दृश्य पाउँथे। उनले घरिघरि एउटै कुरामाथि जोर दिन्थेः सुसमाचार प्रचार गर्नेले आफूलाई तयार गर्नुपर्छ, अनि यस तयारीको एकमात्र तरिका बिहानै परमेश्वरसँग एकलै प्रार्थनामा र बाइबल पढ़ाइमा समय बिताउनु हो। त्यसपछि दिनभरि दस - बाह्र पल्ट प्रचार गर्न सकिन्छ।
दिनभरि उनले थुप्रै कामहरूको देखरेख गर्थे। उदाहरणको लागि भन्न हो भने, उनले घरहरूको निरीक्षण गर्नुपरयो, जसको मर्मत गर्नुपर्थ्यो, किनभने धमीराहरूले यी घरहरूका काठका खाँबा र भित्ताहरूको काठ खाएर नाश गर्ने गर्थे। नयाँ घर बनाउँदा चार्लस स्टडले इन्जिनियरको काम गर्थे। हरेक खाँबाको सठीक नाप हुनुपर्थ्यो र सठीक जग्गामा लगाइन्थ्यो। यस कुरामा उनको एउटा विशेष उद्देश्य थियोः स्थानीय विश्वासीहरूले इसाई मतसित नमिल्ने कुरा सिक्नुपर्थ्यो। अल्छी भएको र काम सठीक ढङ्गले नगरेको कुरा इसाईको योग्य हुँदैनथियो। सफलता प्राप्त गर्नु हो भने, हामीले होशियार र परिशुद्धताको साथ काम गर्नुपर्छ र सरसामानहरूको सठीक प्रयोग गर्नुपर्छ। तब मात्र तिनीहरूले आत्मिक कुरा बुझ्न सक्नेथिए; किनकि परमेश्वरको सिंहासन धार्मिकतामाथि स्थापित भएको थियो।
काम गर्दा चार्लस स्टडले प्रवचन तयार गरेझैं पूरा ध्यानसित काम गर्थे, अथवा पहिले क्रिकेट खेलेझैं पूरा तनमनले काम गर्थे। कहिलेकाहीं उनले ध्यानसित काम गर्दा-गर्दै खाना खान भुल्थे। अनि एक समयमा उनले एउटा सानो केटालाई त्यसले हराएको कमीजको बटन खोज्न दिनभरि सहायता गरे। यस बटनको मूल्य के हुन्थ्यो र? यसमा केही मतलब थिएन, तर उनले त्यस केटालाई सानो कुरामा ध्यान दिनुपर्ने र होशियार हुनुपर्ने पाठ सिकाउन चाहे।
चार्लस स्टड मिसनको प्रमुख भएका हुनाले उनले इङ्गल्याण्डको मिसन-कार्यालयसित धेरै पत्र व्यवहार गर्नुपर्थ्यो। त्यसपछि उनले मिसनको पैसाको हिसाबकिताब गर्नुपर्थ्यो। अनि उनी सबै मिसन- केन्द्रहरूसित नजिकको सम्पर्कमा रहन्थे। तर सुसमाचार प्रचार गर्नुमा उनको परम आनन्द थियो। अनि जब इबम्बीबाट चारैतिर मिसनको काम फैलियो, तब उनले हरेक हप्तामा शनिवार र आइतवारका दिनहरूमा सुसमाचार-प्रचारको यात्रा गर्ने गर्थे। तर उनी प्रायः बुद्धवार वा विहिवार मात्र घर फर्कन्थे। यी प्रचार - यात्राहरू यस प्रकारका थिएः
उनको घरको सामु दसजना भाइहरू भेला हुन्थे, जो यस सेवाकाईको निम्ति छानिएका थिए। यी मानिसहरूले राजीखुशीले आफूलाई यस कठिन कामको निम्ति सुम्पे। किनकि यी दसजनाचाहिँ भरिया थिए। अनि विशेष राति तिनीहरूको काम गाह्रो र खतरा हुन्थ्यो। जङ्गलका गोरेटाहरू साँघुरा थिए; अनि तिनीहरूले भारीसित खोलानदीहरू र दलदले हिला र सिमसार जग्गा तार्नुपर्थ्यो र झोलुङ्गे पुलहरू पार गर्नुपर्थ्यो। शुरुको समयमा चार्लस स्टडले आफूलाई बोक्न दिएनन्। उनले पैदलमा वा साइकलमा सबै यात्राहरू गर्ने गर्थे। किनकि केवल सरकारी अधिकारीहरू र व्यापारहरूले आफूलाई पालखीमा बोक्न दिन्थे। तर उनको शारीरिक बल घटेपछि उनले आफूलाई बोक्न दिए।
अब सबैजना तयार भए; अनि तिनीहरू आफ्नो सफरमा निस्के। तिनीहरूको अघि तिनीहरूको नाइके थिए, जसको हातमा एउटा भाला र एउटा बत्ती हुने गर्थ्यो। अनि चारजनाले पलाखी बोके। त्यसपछि दुईजनाले उनको सामान बोके। अनि अन्तमा पलाखी बोक्ने फाल्तू भरिया हिँड़े। तिनीहरू राति चार-पाँच घण्टा हिँड्थे, लगभग एक बजेसम्म। चार्लस स्टडले राति अरू मिसनरीहरूलाई भार हुन र समस्या दिन चाहँदैनथिए; यसकारण तिनीहरूले बाटोमा रात बिताउन एउटा खाली झुपड़ी खोज्थे, जहाँ दिउँसो मानिसहरू घामको रापबाट बाँच्न र आपसमा बात मार्न शरण लिन्थे। त्यहाँ तिनीहरूले केही घण्टा आराम लिए।
आइतवार बिहान छ बजे तिनीहरू एउटा दुर्गम मिसन-केन्द्रमा आइपुगे। आज तिनीहरू इम्बाइ - बस्तीमा आइपगेछन्। सन् १९२२ सालसम्म यहाँ घनघोर जङ्गल थियो, जहाँ चितुवाहरू बस्थे। त्यसपछि त्यहाँ एउटा जग्गा फाड़ियो, र एउटा मण्डली - भवन र मिसनरीको निम्ति एउटा घर बनाइयो। तर अहिले यो सारा जग्गा बदली भयो; किनकि यस ठाउँमा एउटा सुन्दर मिसन केन्द्र स्थापित भयो, जहाँ एउटा स्कूल थियो र केही कार्यशालाहरू थिए, एउटा मण्डली - भवन र मिसनरीहरूका घरहरू थिए। अनि सड़कको देब्रे -दाहिनेमा आदिवासीहरू आ-आफ्ना घरहरूमा बस्थे, र केरा-बारीहरू थिए, र अरू बारीहरूमा अनानास, मकै, शकरकन्द र कासावा लगाइन्थ्यो।
यहाँ हामीले भाइ इम्बाइको कुरा गर्नुपर्छ, जो जोशिलो विश्वासी थिएन। तर उसले बेल्जियमको अधिकारी र न्यायकर्ताको सामु एउटा अचम्मको साक्षी कायम राख्यो। किनकि तिनीहरूले उसलाई यो जानकारी दिए, कि उसले कानुनअनुसार मिसनरीहरूबाट यस जमिनको निम्ति वर्षमा छ सय रुपियाँ भाड़ा लिन सक्नेथियो। यो रकम अफ्रिकाको बस्तीको निम्ति निक्कै ठूलो थियो। तर भाइ इम्बाइ यसमा फसेन। उसले मिसनरी- हरूबाट कुनै रकम नलिने प्रण गरयो। किनभने उसले यो जग्गा परमेश्वरलाई दिएको थियो। यी सरकारी अधिकारीहरूको कानमा यो कति अनौठो सुनिन्थ्यो! तिनीहरूले उसलाई फेरि पनि आफ्नो जमिनको निम्ति भाड़ा उठाउने सल्लाह दिए, तर उसले फेरि पनि त्यही जवाफ दियोः यो जमिन परमेश्वरलाई दिएको जग्गा हो। केही वर्षपछि यस जग्गाको मण्डलीबाट तीसजना सुसमाचार प्रचारकहरूलाई वरिपरिको इलाकामा पठाइयो, जसले टाढा-टाढासम्म सुसमाचार नपुगेका जातिहरूकहाँ सुसमाचार पुर्याए। अनि यी तीसजना प्रचारकहरूले स्थानीय विश्वासी- हरूबाट आर्थिक सहायता पाए।
चार्लस स्टड धेरै पल्ट इम्बाइ - बस्तीमा आउने गर्थे। काठका ढोलहरू बजाएर उनको आगमनको जानकारी चारैतिर पुग्थ्यो। त्यो आवाज सुन्नासाथ मानिसहरू केराको गुच्छा र एउटा गुन्द्री लिएर हिँड्न थाले। तिनीहरूले साथमा यूरोपेली लुगा बोक्थे, तिनीहरूको गर्व। के पुरुषहरू, के स्त्रीहरू, के नानीहरू – यसरी तिनीहरू सबैजना आइतवार बिहान इम्बाइ बस्तीतर्फ हिँड्न लागे र मण्डली-सभामा उपस्थित भए। कतिजना निक्कै टाढाबाट आए र घण्टौं हिँड्नुपस्यो अनि केवल दिउँसो आइपुग्न सके। तर चार्लस स्टडले आफ्ना मिसनरी साथीहरू र स्थानीय विश्वासीहरूसित दुई घण्टा बिहानको सभा संचालन गरे। त्यसपछि उनी आराम गर्न एउटा बाँसको झुपडीमा फर्के। त्यो झुपड़ी सधैं उनको निम्ति तयार बस्यो। त्यहाँ उनले मिसनरीहरूको उपस्थितिमा खाजा खाए, जसले उनको वरिपरि बसेर उनलाई ताजा खबरहरू सुनाए।
तर मुख्य सभा दिउँसो सम्पन्न भयो। सम्भव भए यो सभा बाहिर खजुरका रूखहरूको छायामा संचालन गरिन्थ्यो। थुप्रै मानिसहरू भेला हुन्थे, लगभग दुई हजार मानिसहरू। शुरुमा गीतहरू गाइन्थ्यो, अनि चार्लस स्टडले यी गीतहरूको राग आफ्नो ब्यान्जोमा साथ दिने गर्थे। एक घण्टासम्म गीत गाइन्थ्यो, किनभने तिनीहरूले गीत गाउन खूबै मन पराउँथे। चार्लस स्टडले लगभग दुई सयवटा गीत रचे। नयाँ गीत गाउँदा उनले पहिले गीतका शब्द र गीतको राग सुनाए, त्यसपछि उपस्थित भएकाहरूले यो गीत गाउन सिक्न थाले। अनि यो नयाँ गीत गाउँदा गाउँदै पूरा कण्ठस्थ हुन्थ्यो। तिनीहरूले प्रायः सबै गीतहरू सम्झनाबाट रट्न वा गाउन सके। अन्तमा चार्लस स्टड उठे, र उनले एउटा कोरस गाए, बीच- बीचमा हल्लेलूयाहको नारा सुनिन्थ्यो।
गीत गाइसकेपछि चालीस मिनेटसम्म प्रार्थना गरिन्थ्यो। प्रार्थना गर्न लागेको मानिस उठ्यो, र हात उठाएर प्रार्थना गरयो। पालोपिलो गरी प्रार्थना गरिन्थ्यो। एकजनाले प्रार्थना गरिसकेपछि अर्को भाइ उठ्यो र प्रार्थना गर्न थाल्यो। अनि हरेक प्रार्थनाको अन्तमा 'प्रभु येशूको नाममा आमेन' भन्ने शब्द सुनिन्थ्यो। अनि यी शब्दहरू सारा मण्डलीले सुन्ने गरी दोहोरायो।
यी प्रार्थनाहरू जोशले पूर्ण थिए। प्रार्थना चढ़ाउनेले प्रायः परमेश्वर र मानिसहरूको सामु अन्तसम्म प्रभु येशूको पछि लाग्ने आफ्नो तत्परता मानिलियो। अर्को भाइले प्रभु येशूको रगतद्वारा शुद्ध हुन पाऊँ भनेर आफ्ना पापहरू धोइमाग्यो र पवित्र आत्माले भरिन पाऊँ भन्ने विन्ती चढ़ायो।
प्रार्थनाको समयपछि फेरि सँगै मिलेर एउटा गीत गाइन्थ्यो, त्यसपछि परमेश्वरको वचनको पठन गरिन्थ्यो र दस आज्ञाहरू सबैद्वारा कण्ठस्थ हुने गरी सुनाइए। त्यसपछि चार्लस स्टड एउटा सानो थुम्कामाथि खड़ा भए र उनले प्रचार गर्न लागेका बाइबलको खण्ड सुनाए। त्यसपछि उनले आफ्नो प्रवचन प्रचार गरे। शुरुमा उनको सोर मधुरो थियो, उनले बाइबलको पदमा अर्थ लगाए, अथवा बाइबलको कहानी सुनाए। यसो गर्दा उनले कहानीमा भएका सबै मानिसहरूलाई अफ्रिकी बनाए। अनि तिनीहरूले खाएको खाना केरा हुन गयो। अनि ऊँटहरू हात्ती भए, अनि हिउँचाहिँ चूना भयो। उनले तिनीहरूलाई तिनीहरूको हृदयको अवस्था देखाउन खोजे, र तिनी- हरूका पापहरूका नराम्रा असरहरू के हुन्, सो बताए। उनले तिनीहरूलाई प्रभु येशूको प्रेम देखाए। उनले तिनीहरूलाई पश्चात्ताप गर्ने आह्वान दिए, प्रभु येशूमाथि विश्वास गर्ने निम्तो दिए र उहाँको पछि लाग्ने अर्ती दिए; तिनीहरू उहाँको निम्ति जिऊन्।
चार्लस स्टड देढ़ वा दुई घण्टा बोल्थे। त्यसपछि फेरि गीतहरू गाइन्थे र प्रार्थनाहरू चढ़ाइन्थे। अनि स्थाणीय मण्डलीले 'मानिसहरूले मुक्ति पाऊन्' भन्ने पुकारा गस्यो। सभाको अन्तमा सबैजना उठे र ठूलो सोरले चिच्च्याएः 'हाम्रा परमेश्वर जीवित हुनुहुन्छ; प्रभु येशू चाँडै आउनुहुन्छ; हल्लेलू- याह!' यसरी तिनीहरूको जयघोषको नारा थियो।
१८
चार्लस स्टड लक्ष्यमा पुगे
एक आइतवारमा स्थानीय विश्वासीहरूको बीचमा एउटा हलचल मच्चियो; किनकि चार्लस स्टड नयाँ, सेता, चम्किला नकली दाँतहरूसित मण्डलीको सभामा उपस्थित भए। लामो समयदेखि उनका दाँतहरूले उनलाई निक्कै समस्या दिइरहेका थिए। यसकारण उनले केवल खोले र सूप खान्थे। तब एकजना सहकर्मीले उनलाई भनेः 'तपाईं इङ्गल्याण्ड जानुपर्छ र तपाईंका दाँतहरूको उपचार गर्नुपर्छ।' तर उनले जवाफ दिएः ‘परमेश्वरले मलाई नयाँ दाँतहरू दिन चाहनुभयो भने उहाँले ती दाँतहरू यहाँ, मकहाँ ल्याउनुपर्छ।' तिनीहरूको विचारमा उनले मजाक गरेका र यो एउटा परिहासको विषय थियो, र तिनीहरू गललल हाँसे। तर परमेश्वरले उनको यो कुरा सुन्नुभयो। अनि केही महिनापछि एकजना दाँतका डाक्टरले मिसन-कार्यालयमा एउटा पत्र लेखे र आफ्नो खूबी मध्यअफ्रिका मिसनलाई दिने कबुल गरे। तर मिसनका कर्मीहरूको विचारमा तिनी अति वृद्ध थिए। यसकारण तिनीहरूले तिनको प्रस्ताव स्वीकार गरेनन्।
तर यी डाक्टर निराश भएनन्। तिनले आफ्नो क्लिनिक बेचे र यसको रकमसित अफ्रिकासम्म समुद्र- यात्रा तिर्न सके। कॉन्गो नदीको मुखमा तिनले केही महिना काम गरे र सरकारी अधिकारीहरू र व्यापारहरूका दाँतहरू मर्मत र उपचार गरे। यसरी तिनले फेरि पर्याप्त रकम कमाए र देशभित्र आफ्नो यात्रा अघि बढाए। ठीक त्यस बेलामा चार्लस स्टडकी कान्छी छोरी र यिनका पति नोर्मन ग्रब्ब इङ्गल्याण्डतर्फ यात्रा गरिरहेका थिए। तिनीहरूले एउटा डुङ्गामा अरुविमी नदीमा चौध दिन यात्रा गर्नुपस्यो र त्यसपछि तिनीहरू कॉन्गो नदीको मुखमा आइपगे। यात्रा गर्दा एक बिहान यस्तो भयोः तिनीहरूले अर्को डुङ्गा नदीमा आफूतिर आइरहेको देखे, अनि त्यस डुङ्गामा एउटा गोरो मानिस बसेका थिए। अनि तिनीहरूले आपसमा 'यी मानिस को होलान्' भन्ने प्रश्न गरे; किनकि यस इलाकामा गोरो मानिसलाई विरलै देखिन्थ्यो। त्यो डुङ्गा नजिक आइपुगेपछि तिनीहरूले एक-अर्कालाई अभिवादन चढ़ाए। अनि थोरै समयभित्र तिनीहरूलाई थाहा लाग्योः डाक्टर बकचाहिँ चार्लस स्टडलाई भेट्न जाँदैथिए। खाजा खाने समय भएको थियो; यसकारण तिनीहरू डुङ्गाबाट उत्रे, र तिनीहरूले यी डाक्टर बकसँग खाजा खाए र प्रार्थनामा केही समय बिताए। त्यसपछि डाक्टर बकले पोलिन ग्रब्बलाई एकातिर लगे र यिनलाई भनेः 'तपाईं चार्लस स्टडकी कान्छी छोरी भएका हुनाले म तपाईंलाई एउटा गोपनीय कुरा बताउन चाहन्छु; मैले यो कुरा अरू कसैलाई भनेको छैनँ। परमेश्वरले मलाई अफ्रिकामा पठाउनुभयो, सुसमाचार प्रचार गर्नको साथै तपाईंको बुबालाई नकली दाँतहरू दिनको निम्ति। मैले यसो गर्ने सबै सामानहरू साथमा ल्याएको छु। अनि म अहिले गएर उहाँलाई नयाँ दाँतहरू बनाउनेछु।
चार्लस स्टडले यस घटनाको बयान आफ्ना शब्दमा यस प्रकारले गरेः 'जब डाक्टर बक आइपुगे, तब तिनले भने: “परमेश्वरले मलाई तपाईंको निम्ति नयाँ दाँतहरू बनाउन कॉन्गोमा पठाउनुभयो।” यो पत्यार नलाग्ने कुरा हो, र हाम्रो कल्पनादेखि बाहिरको कुरा हो। परमेश्वरले एकजना दाँतका डाक्टरलाई आफ्नो सेवकको निम्ति मध्यअफ्रिकामा पठाउनुभएको रहेछ, जसले आफ्ना दाँतहरू मर्मत गर्न आफ्नो स्वदेश फर्कने समय पाएन। ओहो, उहाँले मेरो निम्ति कत्रो आश्चर्यकर्म गर्नुभएको!! अनि अब मेरो खातिर उहाँको अर्को आश्चर्यकर्म के होला त नि?'
नयाँ दाँतहरू पाएर उनले फेरि सबै खानेकुराहरू खान सके। यसो भए पनि उनको स्वास्थ्य बिस्तारै बिग्रिरहेको थियो। कहिलेकाहीं अचानक उनलाई धेरै ज्वरो आयो; त्यसबाहेक उनको मुटुले बेला-बेलामा उनलाई समस्या दियो। अनि धेरै पल्ट उनको पेटमा खाना पचेन। त्यसपछि उनले एउटा अन्तिम काम शुरु गरे, जुन कामले उनको बाँकी बल खाइदियो। उनको विचारमा, उनले इबम्बीको इलाकामा रहेका हजारौं विश्वासीहरूको निम्ति परमेश्वरको लिखित वचन नभई हुँदैनथियो। उनले कामको ठूलो भार बोकिरहेका थिए, तर उनले नयाँ नियम किङ्गवाना भाषामा अनुवाद गर्ने संकल्प गरे। सत्तरी वर्ष पुगेका वृद्ध मानिसको निम्ति कत्रो आँट! उनी दिनरात यस अनुवादको कार्यमा लागिरहन्थे। उनले यसको विषयमा यसो लेखेः ‘प्रायः दिनमा मैले अठार घण्टा काम गर्थे, अनि खाना मैले बीचमा काम गर्दा खाइहालें।' अनुवादको काम उनले प्रायः बिहान दुई बजेदेखि छ बजेसम्म गर्ने गर्थे। अनि बेलुकातिर कहिलेकाहीं उनको गर्दन एकदम कड़ा हुन्थ्यो, यहाँसम्म कि उनलाई छोराले झैं स्याहार गर्ने श्री ज्याक हर्रिसनले उनलाई मालिस गर्नुपर्थ्यो, नत्र उनी सीधा कड़ा हुन सक्दैनथिए। उनले अनुवाद गर्दैथिए र श्री हरिसनले अनुवाद गरिएको खण्ड टाइपराइटरमा टाइप गर्दैथिए। उनले गरेको अनुवाद सरल भाषामा गरियो; किनभने पढ्न सक्ने हरेक आदिवासीले पनि यो अनुवाद बुझ्न सक्नुपर्नेथियो।
नयाँ नियम अनुवाद गरिसकेपछि उनले भजनसंग्रह र हितोपदेशका पुस्तकहरू अनुवाद गर्न थाले। तर त्यस बेलामा उनको बलले उनलाई छोड्यो। उनको कमजोर मुटुमाथि आघातमाथि आघात आयो र घरिघरि बन्द हुन्थ्यो, र उनी मृत्युको मुखमा पुगे। एक समयमा उनी पलङ्गमा पड़िरहेका र उनका आँखाहरू बन्द भएका थिए, र उनलाई सास लिन गाह्रो भइरहेको थियो। तर उनका मिसनरी साथीहरू बेल्जिमको रेडक्रसका डाक्टरलाई ल्याउन सफल भए, अनि तिनले उनलाई दिएका औषधीहरूले काम गरे, र उनी बिस्तारै फेरि जाती भए। तर त्यसपछि उनी साह्रै कमजोर भइरहन्थे र पलङ्गबाट उठ्न सक्दैनथिए। अबदेखि उसो उनले काम गर्न सकेनन्, र सभाहरूमा मोर्फिमजस्तै कड़ा औषधीको भरमा बाहेक बोल्न सक्दैनथिए। तर चार्लस स्टडको प्रार्थना सधैं यही थियो: 'हे प्रभु, सिपाहीको मृत्युअनुसार मलाई युद्धको रणभूमिमा मर्न दिनुहोस्! मलाई मेरा सहकर्मीहरूको निम्ति बोझ नतुल्याउनुहोस्! उनीहरूले म अशक्तलाई वर्षसम्म स्याहार गर्नु नपरोस्!' परमेश्वरलाई धन्यवाद होस्, औषधीको भरमा जिएर उनले अन्तिम साससम्म परमेश्वरको लड़ाइँ लड़े र मानिस- हरूको सेवा गरे।
तर उनले अन्तिम दुई वर्षमा कति दुःखहरू सहे, सो कुरा उनको नजिकमा भएकाहरूले मात्र बुझेः उनको शारीरिक दुर्बलता र वाकवाकी, उनको मुटुको रोग र त्यसका आघातहरू, अँ, सबैभन्दा बढ़ी उनको दमरोग र कामज्वरो, तब सास लिन गाह्रो हुँदा उनको शरीर पूरा नीलो हुन जान्थ्यो र उनको मुटुको गति झन्डै बन्द हुन्थ्यो।
तर यी वर्षमा उनको आनन्द उनले सहेका सबै दु:खहरूभन्दा ठूलो थियो; किनभने परमेश्वरले उनलाई उनको हृदयको चाहना दिनुभयोः एक, मिसनरीहरूको बीचमा मेल र ठूलो एकता थियो; अनि दुई, पवित्र आत्माले स्थानीय विश्वासीहरूको जीवनमा काम गर्नुभएको उनले देख्न सके। उनको साथमा चालिसजना मिसनरीहरू थिए, जसलाई उनले छोरा- छोरीहरूलाई झैं प्रेम गर्थे। परमेश्वरले उनको जीवनमा आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो। 'म तिमीहरूलाई साँचो भन्दछु, कोही यस्तो मानिस छँदैछैन, जसले मेरो निम्ति र सुसमाचारको खातिर घर, दाजुभाइ-दिदीबहिनीहरू, बुबा, आमा, पत्नी वा छोराछोरीहरू अथवा जग्गाजमिनहरू त्यागेको छ, र अहिले, यस समयमा सतावटहरूको साथमा सय गुणा घरहरू, दाजुभाइ- दिदीबहिनीहरू, आमाहरू, छोराछोरीहरू र जग्गाजमिनहरू पाउनेछैन, र आउने युगमा अनन्त जीवन पाउनेछैन' (मर्कूस १०:२९-३०)। परमेश्वरको आज्ञा शिरोप्पर गरेर चार्लस स्टडले आफ्नी पत्नीलाई र आफ्ना छोरीहरूलाई छोड़ेका थिए। अनि अहिले उनको बुड़ेसकालमा उनको मिसनरी-परिवारका चालिसजना थिए, जसले उनलाई आफन्तहरूले भन्दा बढ़ी प्रेम गर्थे र उनको स्याहार गर्थे। उनी र उनका सँगी - मिसनरीहरूको बीचमा ठूलो घनिष्ठता, ठूलो आत्मीयता थियो। मिसन-केन्द्रमा आइपुग्दा उनले कत्रो न्यायो स्वगत पाउने गर्थे। उनीहरू उनीप्रति निष्ठावान् र पूरा विश्वस्त थिए। इम्बमीमा आयोजित गरिएका सम्मेलनहरूमा उनीहरू एउटा परिवार हुन्थे, आपसमा घनिष्ठ स्नेह र प्रेमको व्यवहार हुन्थ्यो।
अनि मिसनरीहरूको निम्ति इबम्बीमा चार्लस स्टडले संचालन गरेका बेलुकाका प्रभावयुक्त सङ्गतिहरू स्मरणीय थिए। किनकि यी सङ्गति- हरूद्वारा मिसनको काम एउटा बलियो जगमाथि बसालियोः पवित्र बाइबलको शिक्षा र प्रार्थनामा। यी सङ्गतिहरूको समय अनिश्चित थियो।
चार्लस स्टडले आफ्नो बाइबल खोल्थे र दुई-तीन अध्याय पढेर सुनाउँथे, त्यसपछि उनले पढ़ेको खण्डको व्याख्या गर्थे। उनले नयाँ नियमका पत्रहरूमा बढ़ी चासो राख्थे; अनि उनले एक-दुई घण्टा बोल्थे, अनि सम्मेलनहरूमा यी बेलुकाका सङ्गतिहरू मध्यरातसम्म जाने गर्थे।
बेलुकापिच्छे यी सङ्गतिहरू चल्ने गर्थे। अनि यी सङ्गतिहरूको विषयमा मिसनरीहरूले साँचो भन्न सकेः 'उहाँले हामीसित कुरा गर्नुहुँदा र हामीलाई पवित्र शास्त्रहरूको अर्थ खोलिदिनुहँदा के हाम्रो हृदय हामीभित्रभित्रै जेलन र?' (लूका २४:३२ )। उनीहरूले यी सङ्गति- हरूबाट एउटा महत्त्वपूर्ण पाठ सिकेः मिसनका कार्यकर्ताहरूलाई सदैव दिव्य शक्तिको खाँचो पर्छ, नत्र ता तिनीहरू अरू मानिसहरूको निम्ति आशिषको कारण हुन सक्दैनन्। यसकारण तिनीहरूले दिन प्रतिदिन आपसमा भेला हुन समय लिनुपर्छ। एउटा छोटो सभाको निम्ति तिनीहरू भेला हुने होइन, तर तिनीहरूले लामो समय लिनुपर्छ, जुन समयमा परमेश्वरले तिनीहरूसँग आफ्नो वचनद्वारा बोल्न सक्नुपर्छ। यसरी तिनीहरूले सेवाकाईको कार्यभार उठाउन सक्नेथिए र आपसी एकता कायम राख्न सक्नेथिए। किनभने तिनीहरूले विश्वास र प्रार्थनाद्वारा परमेश्वरको नजिक जाने गर्थे। आत्मिक लड़न्त जित्ने चाबी यसैमा छ। परिश्रम गर्नुपर्छ, जोशको साथ प्रचार गर्नुपर्छ, तर यो मात्र पुग्दैन। हाम्रो आपसी सङ्गति र परमेश्वरसितको घनिष्ठ सम्बन्ध हामीले कायम राख्नुपर्छ।
सन् १९२९ सालमा उनले उनकी पत्नीको देहान्त भएको खबर पाए। यिनले स्पेनमा यात्रा गर्दैथिइन्, र अचानक यिनको मृत्यु भयो। एक साल अगाड़ि यिनी उनलाई दुई हप्ताको निम्ति अफ्रिकामा भेट्न आएकी थिइन्। तेह्र वर्षमा उनीहरूको बीचको एकमात्र भेटघाट यही थियो। त्यस बेलामा दुई हजार स्थानीय ख्रीष्ट - विश्वासीहरू यिनलाई स्वागत गर्न निस्केका थिए, जसको विषयमा तिनीहरूले केवल उनको मुखबाट 'मिसनरीहरूलाई भर्ती गर्न र अफ्रिकामा पठाउन यिनी साह्रै व्यस्त छिन्' भनेर सुनेका थिए। तर त्यस विशेष अवसरमा तिनीहरूले मेमसाहिबलाई आफ्नै आँखाले देख्न पाए। अनि तिनीहरूले अफ्रिकाका मानिसहरूको निम्ति यी दुईजनाको त्याग कति ठूलो हुनुपर्छ, सो बुझे। तब धेरैजनाले पहिलो पल्ट ख्रीष्ट येशूको महान् त्याग बुझ्न लागे, जसले तिनीहरूको मुक्तिको काम पूरा गर्नको निम्ति स्वर्गको महिमा छोड्नुभयो। अनि उहाँको यो महान् प्रेमको निम्ति तिनीहरूले उहाँप्रति जीवनभरि आभार हुन चाहन्थे।
प्रिसिल्ला स्टड चार्लसको बदलीमा धेरै जवान देखिएका थिइन्, उनकी छोरीजस्तै देखा परिन्। यिनले कति पल्ट अनुवादकको भारमा स्थानीय विश्वासीहरूलाई अर्तीउपदेश दिइन्। अनि यसरी नै यिनी प्रभुकहाँ फर्केको बेलामा यिनको बाइबलको पन्नाको किनारमा लेखिएका 'चीन, भारत, अफ्रिका' भन्ने भविष्यवाणीरूपी तीनवटा शब्दहरू पूरा भए। यी दुईजनाको बिदा कति हृदयस्पर्शी थियो! यिनले उनलाई छोड्न चाहँदैनथिइन, तर गर्मी याम शुरु भइसकेको थियो र घरमा जरुरत काम पर्खेको थियो। उनीहरूले एक-अर्काबाट बिदा लिँदा उनीहरूलाई थाहा थियो, कि उनीहरूले यस धरतीमा एक-अर्कालाई फेरि भेट्न पाउनेथिएनन्।
त्यसपछि चार्लस स्टडको एउटा चिट्ठीमा उनको जीवनका मुख्य घटनाहरूको विषयमा यसो पढ्न सकियोः
मलाई लाग्छ, यस धरतीबाट मेरो बिदा लिने समय आएको छ। तर मेरो आनन्दका निम्न कारणहरू छन्ः
क) परमेश्वरले मलाई चीनमा जाने बोलावट दिनुभयो, अनि मेरा आफन्तहरूमध्ये कसैले मलाई साथ नदिँदा, तर सबैजनाले विरोध गर्दा म यस दिव्य बोलावटप्रति आज्ञाकारी भएँ।
ख) अनि जब ख्रीष्ट येशूले मलाई 'तिम्रो सबै बेच' भन्नुभयो, तब म राजीखुशीले उहाँप्रति आज्ञाकारी भएँ।
ग) अनि सन् १९१० सालमा पानीजहाजको यात्रा गरिरहेको बेलामा जब मैले अफ्रिकाको निम्ति परमेश्वरको बोलावट सुनें, तब म यस बोलावटप्रति आज्ञाकारी भएँ। अनि उहाँको यो बोलावट सुडानमा मात्र सीमित थिएन, तर सुसमाचार नसुनेको सारा संसार समावेश गरियो।
यसकारण मेरो आनन्द के हो त? जब-जब परमेश्वरले मलाई कुनै काम अह्राउनुभयो, तब-तब मैले उहाँको बोलावट इन्कार गरिनँ। मेरो आनन्द यही हो।
चार्लस स्टडले आफ्नो मृत्युभन्दा केही महिना अघि मिसनको सर्वोच्च लक्ष्य पूरा भएको देख्न सके; किनकि स्थानीय मण्डलीले प्रभु येशूको महान् आज्ञा शिरोप्पर गरयो र वरिपरिका जातिहरूकहाँ मिसनरीहरू पठाउन थाल्यो। हुन त तिनीहरूले अघिबाट आफ्नो जातिका मानिसहरूलाई सुसमाचार प्रचार गरेका थिए, तर अहिले तिनीहरूले अरू जातिका मानिसहरूको निम्ति बोझ उठाए।
स्थानीय विश्वासीहरूमध्ये अड्जङ्गभेजस्तै अरू कोही थिएन, जसलाई चार्लस स्टडले बढ़ी प्रेम गर्थे। तिनी प्रभुकहाँ फर्कनुभन्दा अघि नरभक्षक मानिस थिए। अनि तिनले पनि उनलाई ज्यादा प्रेम गर्थे। अनि जब अड्जङ्गभे मर्न लागेका थिए, तब चार्लस स्टड तिनलाई भेट्न निस्के। यो तिनीसँग उनको अन्तिम भेट थियो। अड्जङ्ग भेको शरीर केवल हड्डी र छाला थियो। तिनी आफ्नो बाँसको झुपडीमा एउटा पलङ्गमाथि पड़िरहेका थिए।
पाँच वर्षअघि त्यो जग्गा एउटा जङ्गल थियो, तर तिनले त्यो जमिन परमेश्वरलाई दिए। तिनको चाहना थियो, कि यहाँ परमेश्वरको निम्ति एउटा घर हुनुपर्छ। एक दिन एकजना मिसनरी बहिनी तिनलाई भेट्न आइन्; किनकि तिनी बिमारी थिए। तब तिनले यिनलाई अभिवादन गरेपछि यसो भनेः ‘तपाईं मलाई भेट्न आउनुभयो, धन्यवाद! तर तपाईं मेरो निम्ति दु:खी हुनुपर्दैन; किनभने म पनि दुःखी छैनँ। किनकि पलङ्गमाथि पड़िरहेको समयमा म परमेश्वरसित कुरा गर्छु, र उहाँ मसँग कुरा गर्नुहुन्छ। यस झुपड़ीको पर्खालले मलाई चारैतिर घेरे प्रभु येशूले मलाई चारैतिर रक्षा गर्नुहुन्छ।' अनि तिनको हाँसिलो र आनन्दले चम्किरहेको अनुहारले साक्षी दियोः हो, तिनी पक्का पनि दुःखी र निराश भएका थिएनन्।
जे होस्, तिनको प्रेमी साथी चार्लस स्टड आइरहेको खबर जब तिनले सुने, तब तिनी आफ्नो झुपडीमा बस्नै सकेनन्, तर तिनी जति कमजोर किन नहोऊन्, छिमेकीहरूको सहायता पाएर तिनी एउटा कुर्सीमा बोकी- बोकी मिसन - केन्द्रमा ल्याइए, जहाँ चार्लस स्टड रहे। अनि तब मिसनरी- हरूले चार्लस स्टडको निम्ति अर्को कुर्सी ल्याए र तकियाहरू सज्जाए; तर उनले केही तकियाहरू लिएर आफ्ना साथीको वरिपरि मिलाए। तिनको निम्ति उनको ममता यति थियो।
यी दुईजनाको बीचमा यो उनीहरूको अन्तिम भेट थियो। चार्लस स्टडले केही महिना अघि अजङ्गभेलाई भनेका थिए: 'हामी दुईजना स्वर्ग जाने होड़बाजी गरिरहेका छौं। तर म तिमीभन्दा अघि, पहिले स्वर्गमा पुग्न चाहन्छु।' अनि तीन हप्तापछि चार्लस स्टडले आफ्नो दौड़ पूरा गरे।
उनको मृत्यु अचानक आयो। श्री हर्रिसनले यसको बयान यसरी गरेः
सन् १९३१ साल, जुलाई महिनाः जब तपाईंहरूले यो पत्र पढ्छौं, तब तपाईंहरूले मेरो तारको समाचार पाइसक्नुभयोः हाम्रो प्यारा चार्लस स्टड प्रभुमा सुत्नुभएको छ। तर म पहिले तपाईंहरूलाई भन्न चाहन्छुः उहाँको यस मृत्युमा ठूलो विजयको छाया छ।
बाह्र तारिखको दिन आइतवार चार्लस स्टडको स्वास्थ्य ठिक्कै थियो। अनि उहाँले हामीलाई प्रभुको दिनमा जिल्लाका विभिन्न मण्डलीहरूमा गएर सभा चलाउने आदेश दिनुभयो। उहाँ एकलै मिसन-केन्द्रमा रहनुभयो, र उहाँले स्थानीय मण्डलीको सभाको जिम्मा लिनुभयो। अनि दिउँसो तीन- चार बजेमा घर फर्किरहेको बेलामा पनि उहाँ ठिक्कै हुनुहुन्थ्यो। अनि हामी तीन छक परेको थियो, जब हामीले सुन्यौं, कि उहाँले संचालन गर्नुभएको सभा पाँच घण्टा लागेको थियो।
तेह्र तारिखको दिनमा दिउँसो उहाँले मलाई कुनेनको सुइ हान्ने आदेश दिनुभयो; किनकि उहाँलाई चिसो लागेको थियो, र उहाँलाई ज्वरो आउला जस्तै भएको थियो। अनि बेलुकातिर उहाँको स्वास्थ्य झन् बिग्रियो। अनि राति उहाँको पेटको दाहिने साह्रै दुखियो। अनि उहाँले मलाई “सायद पित्तमा पत्थर छ होला” भनेर भन्नभयो। अनि उहाँले मलाई “यस विषयमा स्वास्थ्य-पुस्तकमा के लेखिएको छ, सो पढ़ेर सुनाऊ” भन्नभयो। अनि स्वास्थ्य-पुस्तकमा लेखिएको विवरणअनुसार उहाँलाई पित्तका पत्थरहरू भएका हुनुपर्छ; किनभने यसको निम्ति सबै लक्षणहरू मिले। अनि मङ्गलवारको दिन बिहान उहाँ अझै कमजोर हुनुभयो, र उहाँको पीड़ा अझ बढ़ी भएको थियो। बिहिवारको दिन बिहान उहाँले दर्दबाट केही आराम पाउनुभयो। तर के गर्ने? उहाँ साह्रै गल्नुभयो र थाक्नुभयो; उहाँको सोर पनि कमजोर भयो। उहाँले घरिघरि बोल्ने प्रयास गर्नुभयो, तर हामीले उहाँले भन्न खोज्नुभएको कुरा बुझ्न सकेनौं। डाक्टर विलियम्सले उहाँलाई सोधेः “के तपाईंले हामीलाई छोड़िजाने समय आएको छ?” “मलाई थाहा छैन” उहाँको उत्तर थियो। त्यसपछि उहाँले भन्नुभयोः “मेरो बिदा गर्ने समय आएको छ।”
यस समयदेखि उहाँले हामीसँग बोल्न छोड्नुभयो, र उहाँको कमजोर सासले “हल्लेलूयाह, हल्लेलूयाह" भनिरहनुभयो। उहाँको आवाज कमजोर भएको हुनाले हामीले उहाँका अरू शब्दहरू बुझ्न सकेनौं, तर हल्लेलूयाह भन्ने शब्द स्पष्ट बुझिन्थ्यो। तर सात बजे बेलुकामा उहाँ बेहोश हुनुभयो। अनि राति साढ़े दस बजे उहाँको देहान्त भयो। यसरी उहाँको सुन्दर मृत्यु थियो। यसरी उहाँले आफ्नो विश्वासको दौड़ पूरा गर्नुभयो। पीड़ामा पनि उहाँको मुख सधैं हाँसिलो हुन्थ्यो। अनि उहाँले आफ्ना मिसनरीहरूलाई लेख्नुभएको अन्तिम शब्द “हल्लेलूयाह” थियो। अनि उहाँले बोल्नुभएको अन्तिम शब्द “हल्लेलूयाह” थियो।'
शुक्रवारको दिन चार्लस स्टडको दफन थियो। यसको निम्ति १५००- २००० जना स्थानीय मानिसहरू भेला भए। तिनीहरूको बीचमा कोटिनये, ओवेसी, अबय र सिम्ब नामक अन्यजातिहरूका मुख्यहरू उपस्थित थिए। यो तिनीहरूलाई सुसमाचार प्रचार गर्ने सुनौलो सुअवसर थियो। दफन- सभामा उपस्थित भएका मानिसहरूले घर फर्कन मानेनन्। यसकारण शनिवारको दिनमा एउटा सभा राखियो। यस सभामा चढाइएका प्रार्थनाहरू तपाईंले सुन्नुपर्नेथियो। स्थानीय विश्वासीहरूले यस्ता गहन प्रार्थनाहरू चढ़ाएका अघि कहिल्यै सिनिँदैनथियो। तिनीहरूको हृदयमा एकमात्र चाहना थियोः तिनीहरूले आफ्नो सम्पूर्ण जीवन एउटा जिउँदो बलिदानको रूपमा परमेश्वरलाई दिइहाले। तिनीहरूको विन्ती थियोः तिनीहरूका ब्वानाले तिनीहरूलाई छोड़िगए ता पनि तिनीहरूले प्रभु येशूको निम्ति अझै बढ़ी साहस र वीरता देखाउनेथिए। अनि आइतवारको दिनको सभामा अझै बढ़ी मानिसहरू भेला भए।
१९२८ सी. टी. स्टडले 'सुख वा दुःख, स्वास्थ्य वा पीड़ा, जीवन वा मृत्यु ममाथि जेजस्तो आइपरे पनि यसमा मेरो पर्बाह छैन; तर जसरी भए पनि मेरा प्रभु येशूको महिमा हुनुपर्छ' भन्ने सम्बन्धमा एउटा पर्चा लेखेः
इसाई भाइबहिनीहरूहो, यस प्रकारको शूरवीर योद्धाको मनसाय अपनाउनुहोस्! किनभने योभन्दा अरू कुनै मनसाय वा मनोभावना ख्रीष्ट- विश्वासीको योग्य हुँदैन। के स्वर्ग छैन? तब इसाई हुनु मूर्खता हो। के नरक छैन? तब हामी इसाई किन हुने? स्वर्ग र नरक छैन भने ख्रीष्ट येशूले झूट बोल्नुभयो। तर उहाँले यसो गर्नुभएन। उहाँ सत्य बोल्नुभयो। स्वर्ग र नरक छँदैछ। अनि हप्तापिच्छे लाखौंलाख मानिसहरू नरकतिर गइरहेका छन्। यसकारण ख्रीष्ट - विश्वासीहो, के तिनीहरूको निम्ति तपाईंको सहानुभूति, तपाईंको हमदर्द छैन? के तपाईंको स्वार्थ यत्रो होला त नि?
मानिसहरूलाई नरकबाट बचाउनु छ। यसको सकभर प्रयास गर्नुहोस्! तब ख्रीष्ट येशूको अनुयायी भन्ने नाम हामीलाई सुहाउँछ। आफ्ना राजा र आफ्नो स्वदेशको निम्ति मानिसहरूले कत्रो वीरता देखाउँछन्, सो विचार गर्नुहोस्! आहा, यस संसारको धन र क्षणिक सुखको निम्ति मानिसहरूले कुनचाहिँ भारी कोशिश नगरेका? तर यो पनि हाम्रो विचारको योग्य छः जुन मानिस समर्पित छ, त्यो मानिस अजय हुन्छ। मृत्युसम्मको समर्पण! ख्रीष्ट येशूको निम्ति र संसारका मानिसहरूकहाँ उहाँको मुक्तिको सुसमाचार पुरयाउनको निम्ति यस प्रकारको समर्पण चाहिन्छ।
प्रेरित पावल यस कुरामा हाम्रो उदाहरण हुन्, जसले मृत्युको घड़ीमा आइपुगेर तिमोथीलाई आफ्नो अन्तिम पत्र लेखे। उनका शब्दहरूमा प्रेम थियो, चेताउनीहरू थिए, अर्ती र विजय थियो, जस्तैः 'येशू ख्रीष्टको असल सिपाहीले जस्तै दुःख उठाऊ!' (२ तिमोथी २:३)। 'विश्वासको असल लड़न्त लड़!' (१ तिमोथी ६:१२)। 'परमेश्वरले हामीलाई डरको आत्मा दिनुभएको छैन' (२ तिमोथी १:७)। 'मैले असल लड़ाइँ लड़ेको मैले विश्वासको रखवाली गरेको छु; अब उप्रान्त मेरो लागि धार्मिकताको मुकुट राखिएको छ' (२ तिमोथी ४:७-८)। त्यस समयमा ख्रीष्ट येशूको निम्ति आफ्नो ज्यान दिनेहरू थिए, एपाक्रोडिटसजस्तै (फिलिप्पी २ः३०)। अरूको परीक्षाको जाँच भएको, तिनीहरूको गिल्ला गरिएको, तिनीहरूलाई कोर्राका चोटहरू दिइएको, तिनीहरू बन्धन र कैदमा परे, ढुङ्गाहरूले हानिए, आराले चिरिए, नाना परीक्षामा परे, अँ, तरवारले मारिए - संसार तिनीहरूको योग्य थिएन' (हिब्रू ११:३६-३७)। तिनीहरू सबैसँग शूरवीर योद्धाको समर्पण र मनसाय थियो। अनि वर्तमान इसाईहरूको बीचमा यस प्रकारको मनसाय प्रायः नभएको हुनाले आज संसारको अवस्था यस्तै छ; संसारका मानिसहरूले येशूको सुसमाचार सुनेकै छैनन्। अनि मलाई लाग्छ, जबसम्म हामी इसाईहरूले यस सम्बन्धमा शूरवीर योद्धाको मनसाय अपनाउँदैनौं, तबसम्म संसारका सबै मानिसहरूले सुसमाचार सुन्नेछैनन् नै। ख्रीष्ट येशूमा र उहाँका साँचो अनुयायीहरूमा यस प्रकारको मनसाय थियो।
यस सम्बन्धमा परमेश्वरको दिव्य वाणी सुन्नुहोस्ः 'हे मेरा जनहरूहो, निस्केर आओ!' हामी कातरता र डरका सबै बन्धनहरूबाट निस्कनुपर्छ, हामी आत्मामा स्वतन्त्र हुनुपर्छ; हामीलाई परमेश्वरका छोराछोरीहरूको महिमापूर्ण स्वतन्त्रताभित्र प्रवेश गर्नु छ।
हे परमेश्वरको डर मान्नेहरूहो, मृत्युदेखि नडराउनुहोस्, शैतान र मानिसहरूसँग नडराउनुहोस्, नरकबाट नडराउनुहोस्! डरको जीवनबाट निस्केर आउनुहोस्! प्रभु येशूको सेनामा भर्ती हुनुहोस्! उहाँको महिमाको निम्ति जिउनुहोस् र उहाँको निम्ति मर्नुहोस्! किनभने हामी उहाँलाई आफ्नो जीवनभन्दा बढ़ी प्रेम गर्छौं, अँ, अरू सबै कुराहरूभन्दा बढ़ी प्रेम गर्छौ।
'मेरा जनहरूहो, निस्केर आओ!' के तपाईं सधैं जिउन चाहनुहुन्छ? अनि तपाईं कहाँ जिउन चाहनुहुन्छ? यस संसारमा तपाईं सधैं जीवित हुन सक्नुहुन्न; केवल स्वर्गमा तपाईं सदा-सर्वदा जीवित रहिरहनुहुनेछ। यसो हो भने, आउनुहोस्, हामी प्रभु येशूको निम्ति मरौं! किनकि वास्तवमा मर्नु नै हाम्रो सच्चा जिउने तरिका हो। जो मर्छ, ऊ जिउँछ। किनभने जसले प्रभु येशूको खातिर आफ्नो ज्यान गुमाउँछ, उसले त्यो प्राप्त गर्नेछ (मत्ती १०:३९)।
यसकारण निस्केर आउनुहोस्! ख्रीष्ट येशूको निम्ति र अमूल्य आत्माहरू बचाउनको निम्ति वीरता देखाउनुहोस्! हामी आफ्नो जीवन किन खिया लाग्न दिने? हामी यस संसारमा किन एउटा अर्थहीन जीवन जिउने र कसैले थाहा नगरी हामी यस धरतीबाट किन बिदा हौं? हाम्रा परमधन्य मुक्तिदाताको निम्ति र उहाँको पक्षमा तुरही नफुकीकन र उहाँको झण्डा नफरफराईकन हामी परलोकमा जाने, कसरी? कम्तीमा शैतानले रणभूमिमा हाम्रो मृत्यु भएकोमा रमाउन पाओस्! त्यसले हाम्रो अपमान र निन्दाको थुक स्वयमले निल्नुपरोस्!
हाम्रा प्रभुको निम्ति हाम्रो मनको आगो सल्कोस्, बल्दोजल्दो भएको होस्! हाम्रो जोश उम्लोस्; हामी प्रभुको काममा खूबै परिश्रम गरौं, पूरा भस्म होऔं! आउनुहोस्, हामी प्रभु येशूको निम्ति र मानव-जातिको निम्ति कुनै न कुनै बहादुरी काम गरिछोड़ौं!'
यस्तै होस्, आमेन!
Copyright
Title of the English original:
'C.T. Studd: Cricketer and Pioneer' by Norman P. Grubb, published in 1932
प्रथम संस्करण २०२४
Publisher of the abridged Nepali edition:
जीवन मार्ग प्रकाशन
पी. ओ. बक्स नं. २३
पी. ओ. कालिम्पोङ्ग - ७३४३०१
पश्चिम बङ्गाल
भारत
© Copyright of Nepali translation: Jeewan Marg Prakashan, Kalimpong, W.B., India