संसारका ख्रीष्टिय शहिदहरू
अध्याय ३
जोन विक्लिफ
जोन विक्लिफचाहिँ १३७१ सालमा, तृतीय एड्वर्डको राज्यकालमा जीवित थिए। तिनी अक्सफोर्डको युनिभर्सिटी/विश्वविद्यालयमा धर्म - विज्ञानका आचार्य अर्थात् प्रोफेसर थिए। शिक्षित व्यक्तिहरू थोरै भएको त्यस युगमा तिनी दर्शन - शास्त्र र धर्म - विषयका क्षेत्रमा तिनको विद्वत्ताका निम्ति खुबै प्रसिद्ध थिए।
त्यस युगमा ख्रीष्टियान धर्मको अवस्था दुःखलाग्यो थियो। सबका सबले ख्रीष्टको नाम जान्दथे, तर थोरैले मात्र उहाँको शिक्षा- सिद्धान्त बुझेका थिए। विश्वास, सान्त्वना, व्यवस्थाको प्र्योग, ख्रीष्टका कार्यहरू, हाम्रा मानव कमजोरीहरू, पवित्र आत्मा, पापको शक्ति र प्रभाव, अनुग्रहका कार्यहरू, विश्वासद्वारा पाप मोचन पाई धर्मी ठहराउने काम र ख्रीष्टियान स्वतन्त्रता - यी कुराहरूको विषयमा गिर्जाघरहरूमा कहिल्यै केही सुनिँदैनथ्यो।
त्यस बेलाको चर्च अफ इङ्गल्याण्डले मुख्यतः बाहिरी विधिहरू र मानिसले रचेका परम्परा, रीति-रिवाजमा विशेष चासो लिन्थ्यो। उद्धार/मुक्ति सित्तैंमा विश्वासद्वारा प्राप्त गरिन्छ भन्ने कुरा नजानेका कारणले मानिसहरूले आफ्ना सम्पूर्ण जीवन उद्धार/मुक्ति पाउने आशामा एउटा धार्मिक कार्यपछि अर्को धार्मिक कार्य थप्दै विधिहरूको थुप्रो लाउनमा बिताउँथे। साधारण, अशिक्षित मानिसहरूसित पवित्र शास्त्रको ज्ञान थिएन; उनीहरू आफ्ना पाष्टरहरूले भनेका कुराहरू मात्र जान्नुमा सन्तुष्ट थिए; अनि ती पाष्टरहरूले चाहिँ रोमबाट जुन कुरा आउँथ्यो, त्यही मात्र सिकाउँथे - जुन कुरा धेरैजसो तिनीहरूकै धर्मसघंहरूको फायदाका निम्ति थियो, ख्रीष्टको महिमाको निम्ति होइन।
यी बिशपहरू र मठवासीहरूका झूटा शिक्षा र विचार- धाराहरूद्वारा ख्रीष्टको सुसमाचार दूषित पारिएको देखेर विक्लिफले त्यस स्थितिमा जति सक्दो सुधार ल्याउने र मानिसहरूलाई सत्य शिक्षा सिकाउने निर्णय गरे। तिनको एकमात्र उद्देश्य मण्डलीलाई मूर्तिपूजाबाट, विशेषतः प्रभु-भोजको पवित्र विधिको सम्बन्धमा भएका भूलविचारबाट छुटकारा दिने थियो भनी सर्वसाधारण मानिसहरूलाई बताउन तिनले ठूलो कष्ट उठाए।
यस कुराले देशका इसाई मठवासी र सन्यासीहरू खूब रिसाए; किनकि आफ्ना धार्मिक थोकहरू बेचेर, साथै आफ्नो सेवाको निम्ति पैसा लिएर तिनीहरूको धर्म-संगठन धनी भएको थियो। चाँडै तिनीहरूको साथमा पुरोहित र बिशपहरूले यस होहल्ला र विरोधनमा साथ दिएः आर्च-बिशप साइमन सड्बरीले पनि यस विरोधमा साथ दिँदै सबै कुरा आफ्नो हातमा लिए; अक्सफोर्डमा विक्लिफको तलब खोसिदिए अनि तिनलाई चर्च अफ इङ्गल्याण्डको विरुद्धमा प्रचार गर्ने काम बन्द गर्ने आदेश दिए। यी सबै कुरा असफल हुँदा सबरीले पोपकहाँ अपिल गरे।
तथापि आफ्ना उपदेशहरूमा आफ्ना मनका कुराहरू मानिसहरूलाई भन्ने काम विक्लिफले गरि नै रहे। राजा एड्वर्ड तिनका प्रचार-प्रसार मन पराउँथे। तिनलाई जोन अफ गण्ट, ल्याण्काष्टरका ड्यूक, राजाका सुपुत्र र लर्ड हेनरी पर्शीसहित अरू धेरै उच्च स्तरका व्यक्तिहरूले पनि सहयोग दिए।
तिनका उपदेशहरूबाट टिपेका निम्न कुराहरूले विक्लिफको शिक्षाको सार प्रस्तुत गर्छन्:
* प्रभु-भोजको समर्पण गरिएको पवित्र वस्तुचाहिँ ख्रीष्टको
वास्तविक शरीर कहिल्यै बन्दैन।
रोममा अवस्थित मण्डलीचाहिँ अरू कुनै मण्डलीभन्दा धेरै महत्त्वपूर्ण होइन; अनि ख्रीष्टले पत्रुसलाई अरू प्रेरितहरूलाई भन्दा धेरै अधिकार दिनुभएको पनि होइन।
* पोपसित अरू कुनै पुरोहितको भन्दा धेरै अधिकार छैन।
हरेक मानिसको निम्ति सुसमाचार पर्याप्त छ। यहाँ मानिसहरूले बनाएका रीति-विधिहरूको कुनै स्थान छैन; यी रीति-विधिहरूले सुसमाचारमा कुनै कुरा थप्नुहुँदैन।
पोपलाई अथवा मण्डलीका अन्य अधिकारीहरूलाई अपराधी- हरूलाई दण्ड दिने कुनै अधिकार दिइएको छैन। १३७७ सालमा विक्लिफलाई तिनका बिशपहरूको सामु उपस्थित हुने र तिनीहरूले गरेका दोषारोपनप्रति आफ्नो सफाइ र उत्तर दिने आदेश दिइयो, किनभने तिनले प्रचार नगर्नू भनेका उपरोक्त विषयहरूमा प्रचार गरि नै रहेका थिए। १३७७ सालको फरवरी ९ तारिख विहिबारको दिन चारजना विज्ञान मठवासीहरू, अनि ल्याण्काष्टरका ड्यूक, र इङ्गल्याण्डका सर्वोच्च सेनापति लर्ड हेनरी पर्शीको साथमा विक्लिफ ती बिशपहरूको सामु हाजिर भए।
त्यस कार्यावली हेर्न र सुन्न एउटा ठूलो भीड़ सेन्ट पल्स चर्च - भवनको वरिपरि थुप्रेको थियो। विक्लिफ र तिनका दललाई त्यस भीडबाट छिरेर 'आवर लेडीस च्यापल'मा पुग्न धेरै समय लाग्यो। त्यही च्यापलमा चर्चका अधिकारीवर्ग बसेको थियो। क्षणभरमा यता विक्लिफलाई चौकीमा बस्ने अनुमति दिइनुपर्छ भन्ने ल्याण्काष्टरका ड्यूक र लर्ड पर्शी अनि उता तिनी उभिएरै रहनुपर्छ भन्ने बिशपको बीचमा आवेशपूर्ण तर्क- वितर्क चल्यो। एकैछिनमा तर्क बढ़ेर धम्का - धम्कीमा परिणत भयो; सारा सभासद्मा हरेकले एक पक्ष लिएर अर्को पक्षको विरोध गर्न लाग्यो; बिहानको नौ बज्नुभन्दा अघि नै सभा बर्खास्त गरिनुपर्यो। विक्लिफ आफ्नो विश्वासको निम्ति दण्डित हुनुदेखि बाँचे।
लगत्तै राजा तृतीय एड्वर्डको देहान्त भयो, र द्वितीय रिचार्ड राज-सिंहासनमा बसे। ल्याण्काष्टरका ड्यूक र लर्ड पर्शीले आफ्ना सरकारी काम-प्रतिष्ठाहरू त्यागेर साधारण जीवन बिताउन थाले। तर विक्लिफ अझै पनि धेरै प्रभावशाली उच्च-कुलका व्यक्तिहरूको सहयोग पाइ नै रहे। १३७७ सालमा पोप ग्रेगरीले विक्लिफको सिद्धान्त जरा हाल्ने अनुमति र मौका दिएकोमा अक्सफोर्डको युनिभर्सिटी/विश्वविद्यालयलाई हप्काउँदै र तिनलाई अब चुप पार्ने माग गर्दै यूनिभर्सिटीका अधिकारीहरूकहाँ एउटा सन्देश पठाए। यसले आर्च बिशप अफ कान्टरबरी र अन्य बिशपहरूलाई प्रेरणा दियो; तिनीहरूले आपसमा भेट्ने र विक्लिफलाई दण्ड दिन तिनीहरूले के गर्नुपर्छ भन्ने विषयमा सहमत हुने निर्णय गरे।
विक्लिफको जाँच हुने दिनमा लेविस क्लिफोर्ड, जो राजकुमारको दरवारको सदस्य, तथापि विशेषतः कुनै शक्ति वा प्रभाव नभएका व्यक्ति थिए, बिशपहरू भएको ठाउँमा गएर विक्लिफको विरोधमा कुनै दण्ड- आज्ञा नसुनाउनू भनी कड़ा चेतावनी दिए। ती बिशपहरू यति साह्रो चकित भए कि तिनीहरूले विक्लिफको विरुद्धमा कुनै कारवाइ गरेनन्।
विक्लिफको पन्थ-मत, चर्चको विरोध हुँदा-हुँदै पनि बढ्दै गयो। अक्सफोर्डका कति अधिकारीहरूले तिनलाई चुप पार्ने प्रयत्न गरे; अरूहरूले तिनलाई आफूले सक्दो गोहार दिए; चर्चले तिनलाई विधर्मी ठान्यो र तिनका अनुयायीहरूलाई चर्चबाट बहिष्कृत गर्ने धम्की दियो। केही समयसम्म विक्लिफ कि त देश - निकाला भए अथवा लुकी बसे, तथापि १३८४ सालमा तिनी मर्नको निम्ति आफ्नै लुटरवर्थको चर्चमा फर्के।
१४१५ सालमा जर्मनीको कन्स्टान्सको मण्डली - सभाले जोन विक्लिफलाई आफ्नो अधर्ममा मर्ने कुख्यात विधर्मी भनी घोषणा गर्यो र तिनका हड्डीहरू चर्चको कबरस्तानको त्यस पवित्र भूमिबाट हटाइयोस् भनी हुकुम गर्यो। १४२५ सालमा विक्लिफको लासलाई खनेर निकालियो, तिनका हड्डीहरू जलाइए र नदीमा फालिए। हो, तिनीहरूले जोन विक्लिफलाई धूलो-खरानी तुल्याए; यसो भए पनि सत्यता लुक्न सदिँदैन, जो त्यस खरानी पारिएका जोन विक्लिफबाट अझ बोल्छ। परमेश्वरलाई धन्यवाद होस्! तिनीहरूले जोन विक्लिफका हड्डीहरू जलाएर तिनको खरानी नदीमा फाले तापनि परमेश्वरका वचन र जोन विक्लिफले प्रचार गरेको शिक्षाको सत्यता कहिल्यै नाश भएन।
राजा रिचर्डचाहिँ अर्बन र नौवाँ बोनिफेस नामक पोपहरूद्वारा प्रभावित भए तापनि र तिनले नयाँ प्रोटेस्टेन्ट सिद्धान्तहरूको विरुद्धमा केही राज-आदेशहरू निकाले तापनि तिनको राज्यकालमा कुनै व्यक्ति ती सिद्धान्तहरू अपनाएका हुनाले मारिएको कुनै अभिलेख/रिकर्ड छैन।
सर विलियम सात्रे
द्वितीय रिचर्ड १३९९ सालमा पदच्युत गरिए र चतुर्थ हेनरी राजा भए। १४०० सालमा वेस्ट मिन्टरमा भई बसेको संसद्/पार्लमेण्टको सभामा सर विलियम सात्रे, एक असल व्यक्ति र विश्वासयोग्य पुरोहितले स्वदेशको भलाइको निम्ति केही भन्ने- बोल्ने अनुमति मागे। तिनी धर्मको सम्बन्धमा बोल्न चाहन्छन् भनी शङ्का गर्दै उपस्थित बिशपहरूले यो कुरा चर्चको महा-सभालाई सुम्पियोस् भनी संसद्लाई मनाए। यसकारण १४०० सालको फरवरी १२ तारिखमा क्यान्टरबरीको आर्च बिशप थोमस अरुन्डेल र उनका प्रान्तीय परिषद्ले सात्रेको सुनवाइ गरे।
तिनीहरूले सात्रेलाई यस्तो आरोप लाए: तिनले अघि कतिओटा विधर्मी-भ्रान्तमा पार्ने विचारहरू त्यागेका थिए, तर ती विचारहरू तिनले सिकाइरहेका र प्रचार गरिरहेका थिए। लण्डनको 'सेन्ट साइथ, द भर्जिन' नामक चर्चका पुरोहित सानेको विरुद्धमा निम्न आरोपहरू लगाइए:
* तिनी ख्रीष्टले कष्ट भोग्नुभएको क्रूसलाई पुज्न चाहँदैनथे। * तिनी क्रूसलाई भन्दा बरु एउटा मरणशील राजालाई, सन्तहरूका शरीरहरूलाई वा कुनै नम्र व्यक्तिलाई ढोग्न चाहन्थे।
* तिनको विचारमा, एउटा पुरोहितको निम्ति धर्म-विधानअनुसार दिनमा सातपल्ट केही प्रार्थनाहरू रटेर भन्नुभन्दा त परमेश्वरको वचन सिकाउनु नै महत्त्वपूर्ण छ।
* समर्पण गरिएको प्रभु - भोजको रोटी रोटी नै रहन्छ; त्यो रोटी शारीरिक रूपले कहिल्यै ख्रीष्टको शरीर बन्दैन भन्ने तिनको विश्वास थियो।
सात्रेलाई यी आरोपहरूको विषयमा आफ्नो उत्तर तयार गर्ने समय दिइयो। तिनी आउँदो शुक्रबार, फरवरी १८ तारिखको दिन महा - सभाषद्को सामु हाजिर हुनुपर्थ्यो। तिनले आफ्नो विश्वास त्याग्न मानेनन्। तब आफ्ना सबै अवस्थाको बारेमा विचार गर्न तिनलाई अझै एक दिनको म्याद दिइयो। १९ तारिख पनि तिनी आफ्नो विश्वासमा अटलै बसे; तब सात्रेबाट चर्चले दिएका सबै कार्यभारहरू जस्तै पुरोहित, डिकन, सब-डिकन, प्रभु -भोजको सेवा, अपदूत - निरासक (एक्सॉर्सिष्ट), प्रवाचक (बाइबल - रीडर), गिर्जाको देखरेख गर्ने वा घण्टी बजाउने पाले अथवा ढोकेको कार्यभार जम्मै खोस्ने - छिन्ने हुकुम दिइयो। एउटा साधारण व्यक्तिमा परिणत गरिएपछि सात्रेलाई सांसारिक कानुनी अधिकारीवर्गकहाँ सुम्पने काम भयो। चर्चले राजाकहाँ तिनलाई मृत्यु-दण्ड दिने अपिल गस्यो; किनकि चर्च आफैले तिनलाई मृत्यु-दण्ड दिन सक्दैनथ्यो। राजा हेनरी सजिलै सहमत भए, र यसरी उनी कुनै विधर्मीलाई मृत्यु-दण्ड दिने प्रथम अंग्रेज राजा भए; अनि सर विलियम सात्रे राजा हेनरीको शासन- कालमा शहीद भएका प्रथम अंग्रेज भए।
सात्रेको मृत्युपछि तिनीजस्तै विश्वास गर्नेहरूले धेरै कष्ट सहँदै आफैलाई लुकाउने काम गरे; अनि त्यसै बेलाचाहिँ अप्रिय राजाले चर्चको इच्छाअनुसार सबै काम गर्दै समर्थन र सहयोग बटुल्न लागे; तिनले कानुनको तहमा प्रोटेस्टेन्ट विश्वासका पुस्तकहरूको निन्दा गरे र विधर्मी/झूटो शिक्षकको नाममा दोषी ठहराइएको कुनै पनि व्यक्तिलाई जलाउने काम इङ्गल्याण्डमा कानुनी ठहराए।
जोन बाबी
१४०९ सालको मार्च महिनाको १ तारिखमा जोन बाड्बी, एक सामान्य व्यक्तिलाई क्यान्टरबरीका आर्च बिशप थोमस अरुन्डेल र कोही अन्य बिशपहरूको सामु जाँच गरियो। तिनको विरुद्धमा लगाइएको मुख्य आरोप यही थियो: समर्पण गरिएको प्रभु - भोजको रोटी ख्रीष्टको वास्तविक शरीरमा परिणत हुँदैन भन्ने तिनको विश्वास थियो।
जाँच समाप्त भएपछि र सम्पूर्ण निर्णय अंग्रेजीमा पढ़िएपछि आर्च बिशपले बाड्बीलाई यसो भन्दै सोधे: 'के तिमी आफ्नो विश्वास त्याग्छौ र क्याथोलिक विश्वासको सिद्धान्तमा फर्केर लागिरहन्छौ?' तिनको भनेः 'म आफ्नै विश्वासमा लागिरहनेछु।' बाड्बीलाई मठवासीहरू बस्ने निवासमा मार्च १५ तारिखसम्म ताला - बन्द गरेर राखियो, जसको चाबी आर्च बिशपको हातमा रह्यो। त्यस दिन तिनलाई विधर्मी/झूटो शिक्षक भनी घोषणा गरियो र दण्डको आज्ञा दिइन सरकारी अधिकारीहरूकहाँ सुम्पिइयो।
त्यस दिन, दिउँसो, जोन बाबीलाई स्मिफिल्ड भन्ने ठाउँमा ल्याइयो, एउटा रित्तो पिपामा हालियो; त्यसपछि साङलाले खाँबामा बाँधेर त्यस पिपाको वरिपरि सुखा दाउराको थाक लगाइएको थियो। तिनी त्यहाँ त्यसरी उभिरहेको समयमा राजाका जेठा छोरा त्यहीं आइपुगे। उनले बाड्बीलाई समय हुँदै आफूलाई बचाउने प्रोत्साहन दिए, तर बाड्बीले आफ्नो विचार बदल्न इन्कार गरे। तब पिपा तिनीमाथि घोप्टाएर राखियो र आगो लगाइयो।
आगोको राप थाहा पाएपछि बाड्बी 'दया गर्नुहोस्, प्रभु !' भन्दै ठूलो सोरले पुकारे; तब जेठा राजकुमारले झट्टै आगो निभाउने हुकुम गरे। उनले बाड्बीलाई तिनी क्याथोलिक चर्चको विश्वासमा फर्केर आए भने राजाको तर्फबाट तिनलाई वार्षिक भत्ता मिलाइदिने प्रतिज्ञा गरे। तथापि बाड्बी मृत्युपर्यन्त दृढ़ बसे।
बाड्बीको मृत्युपछि ती बिशपहरूले तिनको सिद्धान्त सदा- सर्वदाको निम्ति दबाउने इच्छा गरेर र राजाले तिनीहरूकै इच्छाअनुसार काम गर्ने नै छन् भनी जानेर ती विधर्मीहरूले लेखेका पुस्तकहरू रद्द गर्ने कानुन तयार गरे, अनि जम्मै धर्म - प्रान्त/डायसिसहरूमा खूब उत्साहपूर्वक विधर्मीहरूको विरोधमा कारवाइ गर्ने आदेश दिए। आफ्नो विश्वास नत्याग्ने जुनै पनि विधर्मीको भाग्य जलाएर मारिने हुन्छ भनी घोषणा गरियो। त्यसपछि क्यान्टरबरीका आर्च बिशपले पनि ठीक त्यस्तै कठोर नियमहरू प्रोटेस्टेन्टहरूको विरोधमा घोषणा गरे।
यी जम्मै आदेश र कानुनहरू प्रोटेस्टेन्टहरूको विरोधमा थिए। तब प्रोटेस्टेन्टहरू सम्पूर्ण तौरले नष्ट-भ्रष्ट भइसक्नुपर्ने ! तर परमप्रभुका कामहरू अचम्मका हुन्छन्: हार्नुको सट्टामा ती प्रोटेस्टेन्टहरू गन्तीमा दिन प्रतिदिन बढ्दै गए। उनीहरूको संख्या विशेषतः लण्डन, लिन्कोल्न - प्रान्त, नर्फोक, हेर्फोर्ड - प्रान्त, श्रूस्बरी र कलेसमा बढेर गयो। तथापि कतिले आफ्ना मत त्यागे। यस्ताहरूमा थिएः जोन पर्भे, जसले 'पल्स क्रस' भन्ने ठाउँमा आफ्नो मत त्यागे; साथै जोन एड्वर्ड, जो लिन्कल्न धर्म - प्रान्तका पुरोहित थिए; अनि लण्डनका रिचार्ड हर्बर्ट र एम्मट विल्ली; अनि लण्डनकै जोन बेकेट र लिन्कल्न - प्रान्तका जोन सेइनोन्स।
विलियम थोर्प
विलियम थोर्प ख्रीष्टको झण्डी बोकी अघि बढ्ने एक वीर योद्धा थिए। तिनी १४०७ सालमा क्यान्टरबरीका आर्च बिशपद्वारा जाँच गरिए; तिनीमाथि २० वर्षसम्म मानिसहरूलाई आफ्ना धर्म-सुधारका सिद्धान्तहरू सुनाउँदै-प्रचार गर्दै इङ्गल्याण्डभरि घुमेको आरोप लगाइएको थियो।
आर्च-बिशपले केवल थोर्पले आफ्ना सिद्धान्तहरू इन्कार गरेका र क्याथोलिक चर्चमा फर्की आएका मात्र चाहेनन्, तर भविष्यमा तिनले झैं धर्म-सुधारक विश्वास र सिद्धान्त लिएको कुनै मानिसलाई तिनले भेट्टाए भने तिनले उनीहरूलाई पक्रेर बिशपकहाँ ल्याउने माग गरे। साथै आर्च- बिशपलाई साँचो रूपमा तिनको मन परिवर्तन भएको पक्का विश्वास नभएसम्म तिनलाई प्रचार गर्ने अनुमति नदिने निर्णय गरियो।
'हजुर/महाशय!' उत्तर दिँदै थोर्पले भने, 'यदि मैले यस्तै गर्ने सहमती दिएँ भने त म इङ्गल्याण्डको हरेक बिशपको जासुस हुनुपर्नेछ।' थोर्पले क्याथोलिक चर्चप्रति सर्तविना समर्पण गर्नुपर्ने कुरा स्वीकार गरेनन्। 'म परमेश्वर र उहाँको व्यवस्थाप्रति, साथै ख्रीष्टसित मिल्ने पवित्र मण्डलीको हरेक सदस्यप्रति आज्ञाकारी रहनेछु,' तिनले भने।
तिनलाई कैदमा राख्ने निर्णय भएपछि थोर्पलाई के- कसो भयो, त्यो कसैलाई थाहा भएन। तिनलाई जलाएर मारेको अभिलेख छैन; यसकारण सायद तिनी कैदखानामा नै मरे, कि त गुप्तमा उम्केर बाँचे।
विचरा साँचो इसाईहरू चारैतिर सताइँदैथिए; तर त्यस बेला विशेषतः राजाले क्याथोलिक चर्चलाई सहायता गरिरहेको इङ्गल्याण्डमा सताइँदैथिए। क्याथोलिक चर्च यति धेरै शक्तिशाली थियो कि कोही पनि त्यसको विरुद्धमा खड़ा हुन सक्दैनथियो; त्यसले जे हुकुम दिन्थ्यो, त्यो सबैले मान्थे।
जोन हस
द्वितीय रिचर्डले बोमियाको युवतीलाई विवाह गरेका थिए, र तिनकै नोकर-चाकरहरूद्वारा विक्लिफका पुस्तकहरू बोमिया देशमा लगिए र प्राग शहरका बासिन्दा जोन हसद्वारा यी पुस्तकमा लेखिएका सबै कुराहरू प्रचार गरिए। तेइसवाँ पोप जोनले बोमियाका मानिसहरूलाई दबाउने विचार गरेर हसको के प्रचार गर्दैछन्, सो जाँच्न र तिनको प्रचारमा विधर्मी कुरा भेट्टाएमा उचित कदम उठाउन भनी कार्डिनल डी- कोलुम्बालाई नियुक्त गरे। यसकारण कोलुम्बाले हसलाई रोममा आई उनको सामु देखा पर्ने दिन र तारिख तोके।
हस कहिल्यै तोकिएको दिनमा देखा परेनन्, तर बोमियाका राजा वेन्तेसलाउसले राजदूतहरू पठाएर कोलुम्बालाई यस्तो आश्वासन दिए कि राजा आफैले आफ्नै खर्चमा आफ्नो देशमा प्रचार गरिएका झूटा सिद्धान्तको जाँच र रोकथाम गर्नेछन्। त्यसै बेला हसले पनि तिनी विधर्म अपनाएको दोषी छैनन् भनी कार्डिनललाई आश्वासन दिन आफ्नै प्रतिनिधिहरू पठाए। कोलुम्बाले तिनीहरूका जम्मै निवेदन र तर्कहरू ग्रहण गर्न मानेनन्, र तोकिएको दिनमा हाजिर नभएको हुनाले हसलाई बहिष्कार गरे।
बोमियाका नागरिकहरूमा हसलाई बहिष्कार गरिएको घोषणाले कति पनि असर पारेन। हसद्वारा प्रभु परमेश्वरको बारेमा जे- जति ज्ञान अर्जन गर्दै गए, उत्ति नै थोरै तिनीहरूले पोप र पोपका नियम र आदेशहरूको विषयमा चासो राखे; किनकि त्यस बेला क्याथोलिक चर्च भाग - भाग हुँदैथ्यो - तीनजना व्यक्तिले पोपको पद दाबी गर्दै वाद-विवाद गरिरहेका थिए। बोमियामा भएका क्याथोलिक चर्चका उच्च पदाधिकारी- हरू हसलाई प्राग शहरबाट बहिष्कार गर्न सफल भए तापनि तिनले आफ्नो काम गरि नै रहे, मानिसहरूको बीचमा विक्लिफका शिक्षा - सिद्धान्त प्रचार गरि नै रहे, र चर्चका धन-सम्पत्ति र दुष्कार्यहरूको बारेमा ठूलो कोलाहल मच्चाए।
राजा वेन्तेसलाउसले प्रजाको मन स्थितिबाट लाभ उठाउँदै बोमियामा पुरोहितवर्गको मुख बन्द गरिदिए, पुरोहितवर्गलाई धेरै ठूल्ठूलो कर तिर्न लाए र आफ्नो राजकोषमा धन थुपार्न थाले।
१४१४ सालमा तीनजना पोपको समस्या समाधान गर्न र बोमियाका मानिसहरूको सम्बन्धमा विचार गर्न कन्स्टान्स भन्ने ठाउँमा क्याथोलिक चर्चको एउटा महा सभा गरियो। जर्मन सम्राट सिगिसमुण्ड र ती पोपमध्ये एकजनाबाट सुरक्षाको आश्वासन पाएर हसले त्यस सभामा उपस्थित हुन यात्रा शुरु गरेर कन्स्टान्समा नोभेम्बर ३ तारिख आइपुगे। २६ दिन पर्खेपछि आफ्नो बचाउको निम्ति सफाइ दिन तिनी बिशपहरूको सामु उपस्थित भए, तर तिनलाई बोल्ने अनुमति दिइएन। तिनलाई दिइएका प्रतिज्ञा र वचनहरू भङ्ग गर्दै बिशपहरूले तिनलाई सुरक्षाको निम्ति झ्यालखानामा राख्ने आदेश दिए, अनि तिनलाई विधर्मको सम्बन्धमा आठ सूत्री आरोप लगाइयो।
१४१५ सालको जून ७ तारिखमा हसलाई एउटा परिषद्को सामु ल्याइयो, र तिनले विक्लिफको धर्म - सिद्धान्तलाई इन्कार गर्न नमान्दा तिनलाई विधर्मी भनी दोषी ठहराइयो। तिनका सबै माण्डलिक पदहरू खोसिए, तिनलाई महा- विधर्मी भनी लेखिएको कागजको टोपी लाउन लगाइयो र तिनका पुस्तकहरू जलाइँदै गरेको आगोको छेउबाट भएर तिनलाई तान्दै लगियो।
१४१५ सालको जुलाई महिनाको ६ तारिखमा जल्लादले हसका लुगाहरू खोलिदियो, तिनका हातहरू पछाडिपट्टि बाँधिदियो; त्यसपछि तिनको घिच्रोमा बाँधेको साइलीलाई खाँबामा कस्यो। त्यति बेला हसले यस जल्लादलाई ‘म त्यो साङली परमप्रभुको खातिर ग्रहण गर्न खुशी छु' भनी भने। तिनको चेप्पुसम्म वरिपरि पराल र दाउराहरू थुपारिएपछि आगो सल्काइयो। ज्वालाहरू तिनको वरिपरि उठेपछि हसले ज्वालाले तिनलाई निसासि नदिएसम्म घरिघरि यसो भनेका आवाज सुनियो: 'येशू ख्रीष्ट, जीवित परमेश्वरका पुत्र, ममाथि दया गर्नुहोस् !' सम्पूर्ण दाउरा जलिसकेपछि तिनको शरीरको माथिल्लो भाग अझै पनि साङलामा झुण्डिरहेकै थियो; यसकारण तिनीहरूले त्यो भाग भुइँमा झारे, नयाँ आगो सल्काएर तिनको शिरलाई स-साना टुक्रा पारेर त्यो भाग जलाए। पूरै जलिसकेपछि हसको खरानी जतनसाथ जम्मा गरियो र रोन नदीमा फ्याँकियो।
प्रागका जेरोम
जोन हसप्रति गरिएको छली व्यवहारले विचलित हुँदै र सुरक्षा दिइने प्रतिज्ञा पाए मण्डलीको महासभाको सामु हाजिर हुने स्वेच्छा प्रकट गर्दै प्रागका जेरोम १४१५ सालको अप्रिल महिनाको ४ तारिखमा कन्स्टान्समा आइपुगे। तिनलाई सुरक्षा दिने कुरा इन्कार गरियो; यसकारण जेरोमले महासभाले हसप्रति गरेको झूटो व्यवहारको विषयमा आफ्ना विचारहरू लेखेर ती लिखित रूपमा कन्स्टान्सका मूल ढोकाहरूमा र गिर्जाहरूका ढोकाहरूमा झुण्ड्याए। त्यसपछि तिनी बोमिया फर्के, जहाँ तिनी पक्रा परे र महासभाको सामना गर्नलाई कन्स्टान्समै फर्काइल्याइए।
जेरोमले तिनका दोषारोपन गर्नेहरूलाई दृढ़तापूर्वक, तर शान्त रूपले उत्तर दिँदै चर्चको विरुद्धमा तिनले केही गरेका छैनन् भन्ने कुरा दाबी गरे। तिनी ११ दिनसम्म कैद गरिए, कुर्कुच्चामा साङला लाएर सारा समय झुण्ड्याइए। फेरि तिनलाई महासभाको सामु हाजिर गराइयो; अन्तमा तिनले आफ्नो प्राण बचाउनलाई, तिनीहरूका धमासको अघि हार खाएर जोन हसलाई उचित रूपले विधर्मी भनी दोषी ठहराइयो भन्ने कुरामा सहमत भए। तथापि तिनलाई मुक्त गरिएन, तर केही राम्रो बन्दोबस्त गरेर तिनलाई फेरि काराबासमा ल्याइयो। चाँड़ै प्रत्यक्ष भयो कि जेरोम आफ्नो प्राण बचाउनलाई मात्र तिनीहरूको कुरा मान्ने भए; तिनले खास महासभाको बारेमा आफ्नो मन्तव्य बदली गरेका थिएनन्। यसकारण तिनको विरुद्धमा प्र्योग गर्नलाई विधर्मको विषयमा नयाँ सूत्रहरू तयार गरिए।
१४१६ सालको मई महिनाको २५ तारिखमा ३४० दिनको कैदमा बसेपछि जेरोमलाई कन्स्टान्सको महासभाको सामु पेस गरियो। तिनलाई १०७ ओटा अपराधको आरोप लगाइयो। तिनले आफ्नो परमेश्वरको व्यवस्थाका शक्ति र ज्ञानद्वारा ती प्रश्नकर्ताहरूको मुख बन्द गर्दै यी जम्मै अपराधहरू अस्वीकार गरेर खण्डन गरे। तर जेरोमले जे- जस्तै भने तापनि त्यो जाँचको परिणाम के हुने हो, त्यसमा कहिल्यै कुनै शङ्का थिएन।
स्वर्गारोहण दिवसको अघिको शनिबारको दिन जेरोमलाई जाँचको फैसला सुनाइनको लागि सभाको सामु ल्याइयो। तिनलाई जोन विक्लिफ र जोन हसप्रतिको समर्थन त्याग्न अझै अर्को मौका दिइयो, तर तिनले त्यसो गर्न मानेनन्। महासभाले तिनलाई विधर्मी भनी दोषी ठहरायो र तिनलाई मण्डलीबाट बहिष्कार गर्यो, त्यसपछि तिनलाई सरकारी अधिकारीहरूकहाँ सुम्पियो।
जेरोम साहससाथ मरे - स्तुति, महिमागान र भजनहरू गाएर, अनि अन्तमा तिनलाई जुन जोन हसको चित्रसित बाँधिएको थियो, त्यही चित्र अँगालेर। दाउराको थाकमा आगो सल्काइनुभन्दा अघि तिनले भेला भएको भीड़लाई भनेः ‘मैले अहिले जे-जति गाएँ, ती कुरामा म विश्वास गर्छु। यो धर्म-सिद्धान्त मेरो सम्पूर्ण विश्वास हो; तर आज म मरिरहेछु; किनभने म जोन हस येशू ख्रीष्टको सुसमाचारका एक सत्य प्रचारक थिए भनी अस्वीकार गर्न म इन्कार गर्छु।'
जब तिनका चारैतिर आगोको ज्वाला बलिउठ्यो, तब जेरोमले स्तुति, भजन र महिमागान गाइ नै रहे; तिनको सोर सुन्न नसक्दो पनि तिनका ओठहरू र शिर पन्ध्र मिनिटसम्म चलि नै रहे, हल्लि नै रहे। अन्तमा जलेर मरेपछि झ्यालखानाबाट ल्याइएका तिनका जम्मै चीज - बीजहरू आगोमा जलाइए अनि तिनको खरानी रोन नदीमा फ्याँकियो।
विलियम वाइट
थोमस अरुन्डेलपछि हेनरी चिसेस्ली क्यान्टरबरीका आर्च- बिशप भए, जसले सतावटको कार्य-प्रणाली जारी नै राखे। उनकै अधीनस्थ राजा छठवाँ हेनरीले जोन एक्सेटर र कोल्चेस्टर क्यासलका पहरादार जेकोलेट जर्मेनलाई विलियम वाइट र तिनीजस्तै अरू सन्देह गरिएका विधर्मी वा धर्म-विरोधीहरूलाई पक्रने अधिकार दिए। तब चाँड़ै जोन एक्सेटरले नोरविचको बर्गे नामक शहरमा ६ जना मानिसहरूलाई हमला गरेर तिनीहरूलाई नोरविचको गढ़ीमा/किल्लामा पठाए।
पुराना विवरणहरूले यो पनि बताउँछन् कि बेक्लेस, अर्शाम र लुड्नीजस्ता शहरहरूबाट धेरै - धेरै मानिसहरू झ्यालखानामा कैद गरिए, र त्यस्ता व्यक्तिहरूले आफ्ना मत - सिद्धान्त त्यागेपछि तिनीहरूलाई खुल्लमखुल्ला लज्जित पारिए। १४२८ सालदेखि १४३१ सालसम्म प्रायः १२० जना स्त्री र पुरुषहरू पक्रा परे। कति त केवल उपवास-दिवसहरूमा मासु खाएको कारणले मात्र पनि पक्रिएका थिए। अरू कतिलाई अझ निर्दयतासाथ व्यवहार गरियो; कतिलाई जलाइयो। ७८ जनालाई आफ्नो मत-सिद्धान्त त्याग्ने कराकर गरियो। ती मानिसहरूको विरुद्धमा लगाइएका आरोपहरू धेरैजसो असत्य थिए वा प्रमाण - दाताहरूले भूल विवरण दिएका थिए। प्राय: जसो साधारण, अशिक्षित व्यक्तिहरूले उनीहरूको विरुद्धमा लगाइएका दोषहरू बुझ्न सक्दैनथे, अथवा ती आरोपहरू खण्डन गर्न के-कसो भन्नुपर्छ, सो जान्दैनथे। त्यस्ता व्यक्तिहरूमा धेरैजसो त विश्वासको सम्बन्धमा विलियम वाइटद्वारा शिक्षा पाएकाहरू थिए; अनि विलियम वाइटचाहिँ जोन विक्लिफका चेला थिए।
विलियम वाइट खूबै शिक्षित, इमानदार, शिष्ट पुरोहित थिए; तिनी पनि जोन विक्लिफका चेला भए। तिनले एउटी ईश्वर - भक्त जवान स्त्रीसित विवाह गर्न आफ्नो पुरोहितपन र तनखा त्यागे, तर तिनले विक्लिफका सिद्धान्तहरू अध्ययन गर्न, लेख्न र ती सबै सारा नोर्फोक अञ्चलमा प्रचार गर्न छोडेनन्; यसरी तिनले धेरै मानिसहरूलाई परमेश्वरतर्फ खिच्दैथिए, र तिनी एक असल, इमानदार व्यक्ति हुन् भन्ने ख्याति बढ्दै गयो।
तिनको सिद्धान्तका मुख्य सूत्रहरू यिनै थिए, जो निम्न लिखित छन्:
* मानिसहरूले पुरोहितहरूबाट होइन, तर केवल परमेश्वरबाट पापको
क्षमा पाउने प्रयत्न गर्नुपर्छ।
* पोपको भ्रष्ट जीवन-निर्वाहले नै उनलाई ख्रीष्टको शत्रु बनाएको छ।
* मानिसहरूले मूर्तिहरू, अन्य चित्रहरू वा सन्तहरूलाई पुज्नुहुँदैन।
* रोमन क्याथोलिक चर्चले सत्य सिद्धान्त प्रस्तुत गरेको छैन।
* सारा इसाई मठवासी, सन्यासी र पुरोहितहरू लुसिफरका सिपाहीहरू
हुन्, र नरकको दण्डको योग्यका छन्।
१४२४ सालमा आर्च बिशप हेनरी चिसेस्लीको सामु पेस गरिँदा श्री वाइट केही समयसम्म आफ्नो सिद्धान्तमा अडिग भएर बसे, त्यसपछि विवश भएर तिनले आफ्नो विश्वास त्यागे। तिनी नोर्फोक फर्की आए अनि त्यहाँ मानिसहरूलाई शिक्षा दिन र ख्रीष्टको सत्य सिद्धान्ततर्फ ढल्काउन छोड़ेनन्। तिनलाई पक्रेर नोरविचका बिशप विलियमकहाँ लगेर तिनको न्याय गरियोः तिनलाई ३० ओटा सूत्रहरूअनुसार दोषी ठहराइयो, अनि १४२४ सालको सेप्टेम्बर महिनामा तिनीहरूले तिनलाई जलाएर मारे। तिनको मृत्युपछि तिनकी पत्नीले तिनको काम जारी राखिन् र अझ धेरै मानिसहरूलाई तबसम्म परमेश्वरकहाँ फर्काएर ल्याउँदैथिइन्, जबसम्म तिनी पनि पक्रा परिनन् र त्यही बिशपकै फैसलाद्वारा दण्डित भइनन्।
जोअन बग्टन
सप्तम् हेनरीको राज्यकालको नवौं वर्षको अप्रिल महिनाको २८ तारिखको दिन अस्सी वर्षकी विधुवा जोअन बग्टनलाई विक्लिफका आठओटा विचारधाराहरू अपनाएकी कारणले जलाएर मारिए। तिनले विक्लिफका १० ओटा विचारधारामा ८ ओटाचाहिँ यति दृढ़तासाथ लिएकी थिइन्, कि लण्डनका जम्मै विद्वानहरूले जतिकै कोशिश गरे तापनि तिनलाई तीमध्ये एउटा विचारधारासम्म पनि त्याग्न लाउन सकेनन्। तिनको ढीठपनाले गर्दा तिनी जलाइनुपर्छ भनिँदा पनि श्रीमती बग्टनले ‘परमेश्वरले मलाई यति धेरै प्रेम गर्नुहुन्छ कि म आगोदेखि डराउँदिनँ' भन्दै त्यस धम्कीको विरोध गरिन्।
१४९७ सालको जनवरी महिनाको १७ तारिखको दिन रिचर्ड मिल्डरडेल र जेम्स स्टर्डिले सेन्ट पल्स गिर्जाघरको धार्मिक जात्राको अघि-अघि ठूलो काठ / मुढा बोक्ने र उपदेश - कालभरि प्रचारकको सामु उभिरहने तपस्या गरे। अर्को आइतबार अरू दुईजना मानिस उपदेशभरि सेन्ट पल्स गिर्जाघरको क्रूसमनि उभिरहे। दुःख - भोग नामक आइतबारको दिन हग ग्लोभरले धार्मिक जात्राको अघि-अघि एउटा ठूलो काठ/मुढ़ा बोके अनि उपदेश भइरहँदा उभिरहे - अरू चारजनाले अर्को आइतबार त्यस्तै गरे।
१४९८ सालको अप्रिल महिनाको शुरुमा राजाको सामु क्यान्टरबरीमा एउटा पुरोहितलाई ल्याएर उभ्याइयो। ती पुरोहितले राजाको मागमा आफ्नो विश्वासलाई त्यागे तापनि तिनलाई जलाएर मारियो। १४९८ सालमा पनि अर्ल अफ वारविक एड्वर्ड प्लान्टाजेन्टको शिर काटिएपछि एकजना बाब्रम नामक व्यक्तिलाई जुलाई महिनामा जलाएर मारियो अर्को एकजना वृद्ध व्यक्तिलाई पनि स्मिफिल्ड भन्ने ठाउँमा जुलाई २० तारिखको दिन जलाएर मारियो।
जेरोम सभोनारोला
सभोनारोला इटालीका मठवासी थिए तिनी खुबै शिक्षित पनि थिए। तिनले आफ्नै संघभित्र प्रत्यक्ष देखिएको पापमय जीवन- निर्वाहको विरुद्धमा सुधारको माग गर्दै मानिसहरूलाई प्रचार गर्न थाले। सभोनारोलाको ख्याति बढ्दै जाँदा पोप छठवाँ अलेक्जाण्डरले आफ्नो प्रतिनिधिलाई मठवासी सभोनारोलालाई चुप पार्नको निम्ति चाहिँदा सुधारहरू ल्याउन कार्य शुरु गर्ने आदेश दिए।
जब पोपले साभोनारोलाको साक्षी - घोषणाको भर्त्सना गरे, अनि तिनलाई चुप रहने आदेश दिए, तब नै अन्तमा साभोनारोलाले आफूमाथि आइपरेको खतरा बुझे र केही समयको लागि प्रचार- प्रसार गर्ने काम बन्द गरे। तर १४९६ सालमा परमेश्वरको वक्ता सुन्न र जान्न चाहने मानिसहरूको अनुरोधमा तिनले फेरि पनि फ्लोरेन्स शहरमा आफ्नो विचारधारा र सिद्धान्त प्रचार-प्रसार गर्न शुरु गरे।
साभोनारोलालाई १४९८ सालमा तिनको मठबाट तिनलाई सहारा दिने दुईजना मठवासीहरूसित पक्रेर लगियो, र १४९९ सालको मई महिनाको २४ तारिखमा तिनलाई जलाएर मारियो।
अध्याय ४
त्यस बेलाको इङ्गल्याण्डको धार्मिक अवस्था
यो इतिहास पढ़ेर कुनै पनि व्यक्तिले बुझ्नुपर्छ कि प्रभु येशूको शिक्षा जो आत्मामा र सत्यतामा पालन गर्नुपर्छ, त्यही धर्म - शिक्षालाई मानिसहरूले इङ्गल्याण्डमा परिवर्तन गरेर रद्द तुल्याए। त्यो त बाहिरी रीति-विधिहरू, धर्मकर्महरू र मूर्तिपूजामा जोड़ लाउने धर्म बनाइएको थियो। हाम्रा धेरै-धेरै सन्तहरू, धेरै-धेरै देवी-देवताहरू, धेरै-धेरै मठ- विहारहरू र धेरै-धेरै तीर्थयात्राहरू भइसकेका थिए। हामीसित थुप्रै थुप्रै गिर्जाहरू, सत्य र झूटा स्मृति-चिन्हहरू, अनेकौं असत्य चमत्कारहरू भए। एकमात्र जीवित परमप्रभुको सेवा-आराधना गर्नुको सट्टामा हामीले मरेकाहरूका हड्डीहरू पुज्न थाल्यौं; अनन्तसम्म जीवित रहने ख्रीष्टको सट्टामा हामीले क्षणिक रोटीलाई मान-आदर दिन थाल्यौं।
पुरोहितहरूको पालन-पोषण भए भइगयो; जनसाधारणलाई कसरी मार्ग-दर्शन गरिँदैछ, त्यसको बारेमा केही चिन्ता - फिक्री थिएन। परमेश्वरको वचनको सट्टामा मानिसको वचन पालन गरिन्थ्यो। ख्रीष्टको करार पालन गरिनुको सट्टामा पोपको नियम- कानुन मानिन्थ्यो। परमेश्वरको व्यवस्था कहिलेकहीं मात्र पढिन्थ्यो र प्रायः कहिल्यै बुझिँदैनथ्यो। यसकारण ख्रीष्टको उद्धार दिने कार्य र मानिसमा भएको विश्वासले कस्तो कार्य - परिणाम ल्याउनुपर्ने हो, सो विषयमा पूछताछ गरिएन। यस्तो अज्ञानताको कारणले झूटा शिक्षाहरू र विभिन्न दलबन्दीहरू विस्तारै मण्डलीमा पसिआए; किनकि हामीलाई हाम्रा पापहरूबाट छुटकारा दिनलाई प्रभु येशू खुशीसाथ मर्नुभयो, र प्रभुबाट त्यो मुक्ति पाउनको निम्ति हामीले कुनै मोल चुकाउनुपर्दैन, तर त्यो हामीलाई सित्तैंमा दिइन्छ भन्ने सत्यताको निम्ति कुनै जग बसालिएको थिएन।
परमेश्वरले लामो समयसम्म आफ्नो मण्डलीलाई यताउता घुमिहिँड्ने अनुमति दिनुभयो, तर अन्तमा परमेश्वरलाई त्यस मण्डलीलाई त्यसको मूल आधारतिर फर्काइल्याउने इच्छा भयो। अनि यस ठाउँमा हामीले परमेश्वरको ज्ञान बुद्धिको कदर गर्नैपर्छ; किनभने मण्डलीका शिक्षकहरूको अज्ञानताको कारणले त्यसको पतन भइरहेको समयमा अर्थात् तिनीहरूले जोन हस र जेरोमलाई जलाएर मारेको काण्डको थोरै समयपछि परमेश्वरले मानिसलाई किताब छाप्ने कला दिनुभयो, जुन कलाद्वारा मण्डलीमा ज्ञानको पुनर्स्थापन भयो।
परमेश्वरको अनुग्रहद्वारा ज्ञान - बुद्धि पाएका व्यक्तिहरू आफ्ना विचारधाराहरू ठीक प्रकारले र विस्तृत रूपले अरूकहाँ पुरयाउन सबल भए; मानिसहरूले अब अन्धकार र ज्योति, झूटो शिक्षा र सत्यता, अन्धविश्वास र प्रभुको बाटोको बीचमा छुट्टयाउन सके। विज्ञान र भाषाहरूको ज्ञान बढ्यो, यसले संसारको निम्ति ज्योतिको झ्याल उघारयो र मण्डलीको सुधारको निम्ति बाटो खोलिदियो। तर त्यो सुधार- कार्य पूरा हुनुभन्दा अघि अझ पनि धेरैले दुःखकष्टहरू भोग्नुपरेको थियो।
जोअन क्लर्क
राजा सप्तम् हेनरीको समयमा, १५०६ सालको कुरा हो, लिन्कन धर्म-प्रदेशमा एउटा विश्वासी स्त्री जोअन क्लर्कलाई आफ्नै बाबु विलियम टाइल्स्वर्थलाई जलाइमार्ने आगो लाउन कर लगाइयो। त्यसै समयमा तिनको लोग्ने जोन क्लर्कले ठूलो मुढ़ा बोकेर आफ्नो पाप काट्न तपस्या गरे। अरू तेईसदेखि साठीजनाले पनि त्यस्तै तपस्या गरे। टाइल्स्वर्थलाई जलाएर मारेको दिनमा ती तपस्या गर्नेहरूलाई ब्याज/बिल्ला लाउन कर लगाइयो र अरू सात वर्षसम्म अझै तपस्या गर्दै अरू शहरहरूकहाँ यात्रा गर्न वाध्य गराइयो। तीमध्ये कतिको गालामा तिनीहरूको दोष - अपराधको दाग पनि डामेर लगाइयो। तीमध्ये एकजना रोबर्ट बार्टलेट नाम भएका एक धनी बस्तीवाला थिए; तिनी सात वर्षको निम्ति ओफ्रिजको मठमा थुना पर्नुभन्दा अघि तिनका खेतबारी र सबै सम्पत्ति तिनीबाट खोसिए।
प्रायः त्यसै बेलातिर बकिङ्गहाममा फादर रोबर्टस् जलाइए र अरू बीसजनाले तपस्याको निम्ति ठूला-ठूला काठका मुढा बोके। त्यसपछि दुई-तीन वर्षभित्रमा थोमस बर्णार्ड र जेम्स मोर्डन मारिए; तीसजनाभन्दा धेरै व्यक्तिहरूका दाहिने गालामा मूर्तिपूजाको विरोधमा बोलेको र आफ्ना निम्ति पवित्र शास्त्र पढ्छौं भन्ने जिद्दी गरेको कारणले डामेको दाग लाउने काम गरियो। दाग लगाइनुपर्ने व्यक्तिहरूलाई घिच्रोमा डोरी बाँधेर खाँबामा बाँधिन्थ्यो, तिनीहरू दुवै हात चलाउन नसकिने प्रकारले समातिन्थ्यो र एउटा तातो-तातो फलामले तिनीहरूको गालामा डामिन्थ्यो।
थोमस चेस
ख्रीष्टको सुसमाचार र परमेवरको वचनको निम्ति सताइनेहरूमा एकजना थिए - अमर्सहामका बासिन्दा थोमस चेस। तिनी एक असल व्यक्ति थिए; तिनी प्रायः जसो मूर्तिपूजा र अन्धविश्वासको विरुद्धमा बोल्थे। तिनलाई वोबर्नका अन्धा/दृष्टिहीन बिशपको सामु ल्याइयो र पूछताछ गरियो; अनि हामीसित तिनको जाँचको विषयमा कुनै लिखित विवरण नभए तापनि निश्चय पनि तिनले मूर्तिपूजाको विरुद्धमा बोलेर ख्रीष्टको साँचो सुसमाचारको पक्ष लिई आफ्नो विश्वास प्रकट गरे; किनकि तिनी वोबर्नमा भएका बिशपको घरमा थुनिएका थिए। त्यहाँ तिनी साङला, हातकड़ी र फलामहरूले बाँधिएर राखिएका थिए; यी सबै तिनले विश्वासी भएर शान्त भावले तबसम्म सहे, जबसम्म ती दुष्टहरूले तिनीप्रतिको धैर्य गुमाएनन् र एकदिन तिनलाई गुप्तमा घोक्रो अँठ्याएर मारेनन्।
थोमस चेस कसरी मरे, सो सत्य थाहा पाएका भए जनतामा एउटा भयङ्कर होहल्ला मच्चिने सम्भावना थियो; यसकारण चर्च अफ इङ्गल्याण्डका अधिकारीवर्गले 'चेसले आफै झुण्डेर आत्महत्या गरे' भन्ने हल्ला फैलाए। तिनले आत्महत्या गर्नु असम्भव थियो; किनभने तिनी एक यस्तो सानो ठाउँमा साडलाले बाँधेर राखिएका थिए कि तिनी त्यहाँ बस्न र उठ्न सक्दैनथे। यो कुरा तिनलाई मरेको अवस्थामा देखेकी एक स्त्रीले आफ्नो गवाहीमा भनेकी थिई। कसैले त्यो मृत शरीर छुन र जाँच्न नसकोस् भनेर चर्चका अधिकारीवर्गले गुप्तमा वोबर्न र लिटल - मार्लोको बाटोको छेउमा चेसको मृत शरीरलाई दफन गरे।
लरेन्स घेष्ट
लरेन्स घेष्ट एक अग्ला, हेर्नमा असल मानिस थिए, जसका केही प्रभावशाली साथीहरू थिए। अनि उनीहरूकै प्रभावमा बिशपहरूले तिनलाई केही समयसम्म जलाएर मार्न सकेनन्। तिनलाई तिनको विश्वास त्याग्न लाउने प्रयत्न गर्दै दुई वर्षसम्म कैदखानामा बन्द गरियो। तिनले आफ्नो मन बदल्न नमान्दा तिनलाई जलाइमार्ने दिन तोकियो।
घेष्ट सातजना छोराछोरी भएका विवाहित मानिस थिए। जब तिनी जलाइने ठाउँमा ल्याइए, तब अन्तिम समयमा आफ्नो जीवन बचाउने कुरामा तिनलाई विश्वास दिलाउने आशामा अधिकारीवर्गले तिनको परवारलाई तिनको सामु राखे। तिनकी पत्नीले घेष्टलाई आफ्नो जीवन बचाऊ भनी विन्ती गरिन्। तर तिनले मानेनन्, तर आफ्नी पत्नीलाई बाधा नदेऊ भने; किनभने तिनी उद्धारको निशानातिर असल दौड़मा दौडिरहेका थिए। ख्रीष्टलाई पछ्याउनको निम्ति घेष्टलाई आफ्नै जीवन मात्र त्याग्ने होइन, तर तिनले माया-प्रेम गरेको परिवारलाई पनि त्याग्ने कर गरियो।
एउटी भक्त स्त्री
ख्रीष्ट र उहाँको सत्यताको निम्ति सतावट सहने व्यक्तिहरूमा चिप्पिङ्ग - सोड्बरी भन्ने ठाउँको एउटा भक्त स्त्री थिइन्, जसलाई मृत्य-दण्ड दिइयो। तिनी नै एक प्रशंसनीय व्यक्ति थिइन्। तिनको स्थिरता हेर्नको निम्ति मनोहर थियो, विशेषतः तिनलाई दण्ड-आज्ञा दिन डा० विटिङ्गटन नाम भएका अधिपतिको चरित्रसित तिनको चरित्र तुलना गर्दा।
जब तिनलाई विधर्मीको दोष लाएर प्राण- दण्ड दिइयो, र मारिने ठाउँमा ल्याइयो, तब डा॰ विटिङ्गटन लगायत त्यहाँ एउटा ठूलो धुइरो जम्मा भयो। प्रभुकहाँ आफ्नो मुद्द अर्पण गर्दै र आफ्नो विवेक शुद्ध राख्न जुनै पनि दुःखकष्ट सहन तयार भई यी विश्वासी स्त्री आफ्नो सत्य कथन र साक्षीमा अन्तसम्म दृढ़ रहिन्। तिनको कष्ट समाप्त भएपछि भेला भएका मानिसहरू आ-आफ्ना घरतिर लागे।
त्यही समयमा गाउँदेखि बाहिर चर्चले निर्दोष पाठोरूपी यी स्त्रीलाई हत्या गरिरहेको समयमा एउटा कसाईले त्यस बस्तीभित्र एउटा गोरु मार्ने तयारी गरिरहेको थियो। गोरुलाई डोरीले बाँधेपछि त्यस कसाईले त्यस गोरुको टाउकोमा हिर्काएर मार्ने कोशिश गरयो, तर उसले हिर्काएको लागेन, शायद ऊ मार्ने काममा चर्चका अत्याचारी मानिसहरूजस्तो सिपालु थिएन होला। जे होस्, मानिसहरू मृत्यु - दण्ड दिइएको ठाउँबाट फर्कंदै गर्दा त्यो गोरु, हिर्काइएकोले तर्सेर डोरी चुँडाएर त्यस बस्तीका मानिसहरूलाई छरपस्ट पार्दै, तर कसैलाई कुनै चोटपटक नलगाई भाग्यो। तर अन्तमा जब त्यो गोरु डा० विटिङ्गटनकहाँ आइपुग्यो, तब त्यसले सबैलाई अचम्मित पार्दै उनलाई सिङले हानेर मारयो।
जोन ब्राउन
जोन ब्राउन १५१७ सालमा एउटा जनसाधारण चढ्ने नौकामा एउटा पुरोहितको छेउमा बस्दा नै चर्चसितको समस्यामा परे।
'म को हुँ, के तिमी जान्दछौ? तिमी मेरो लुगामाथि बसेका छौ!' भन्दै ती पुरोहितले भने।
'अहँ! तपाईं को हुनुहुन्छ, सो म जान्दिनँ,' ब्राउनले उत्तर दिँदै 'म एक पुरोहित हुँ! '
'ए! त के तपाईं पाष्टर हुनुहुन्छ? कि पल्ली - पुरोहित अथवा उच्च परिवारको कुल-पुरोहित हुनुहुन्छ?'
'होइन, म आत्माको पुरोहित हुँ। म आत्माको निम्ति गीत गाउँछु,' पुरोहितले भने।
'ए, त्यसो पो गर्नुहुन्छ! गजबको कुरा रहेछ!' ब्राउनले भने; 'तर मास गर्न जाँदा तपाईंले त्यस आत्मालाई कहाँ भेट्टाउनुहुन्छ त?'
'मलाई थाह छैन।'
'अच्छा! अन्तमा, मास सिद्धिएपछि तपाईंले त्यस आत्मालाई कहाँ छोड़िराख्नुहुन्छ?' ब्राउनले भने।
'त्यो म जान्दिनँ।'
‘तर यदि तपाईं त्यस आत्मालाई कहाँ भेट्टाउन र कहाँ छोड़िराख्न, सो जान्नुहुन्न भने तपाईं त्यसलाई कसरी बचाउन सक्नुहुन्छ?'
'तिमी यहाँबाट निस्केर गइहाल!' पुरोहितले चर्को सोरमा भने; 'तिमी विधर्मी हौ ; म तिमीलाई ठीक पार्नेछु!'
नौकाबाट उत्रने बित्तिकै ती पुरोहित आर्च बिशप वारहामकहाँ गए। तीन दिनपछि जोन ब्राउनलाई तिनको घरबाट पक्रेर लगियो र क्यान्टरबरीमा कैद गरियो; त्यहाँ तिनी 'लो सण्डे' देखि 'वाइट सण्डे 'को अघिको 'गूड-फ्राइडे'सम्म रहे। यसको विषयमा तिनको परिवारलाई केही थाह भएन।
विधर्मीको रूपमा जलाएर मारिनुभन्दा अघिको रातमा ब्राउनलाई तिनी बसेको केन्टको एश्फोर्ड भन्ने ठाउँमा हिँगुरोमा बन्द गरेर राखिएको थियो। त्यही तिनकी पत्नीले तिनलाई भेटिन् र तिनको वृत्तान्त सुन्दै त्यस रातभरि तिनकै छेउमा बसिन्। ब्राउनले तिनलाई आफ्ना खुट्टाहरू देखाए, जुन खुट्टाहरू वारहाम र फिशर नाम भएका बिशपहरूले रातो जल्दो आगोमा हड्डीसम्म जलाइएका थिए। ब्राउनले भने: 'यी खुट्टाहरू जलाए, मैले मेरो प्रभुलाई इन्कार गरूँ भनेर; तर म कहिल्यै इन्कार गर्नेछैनँ। विन्ती गर्छु, एलिजाबेथ, कृपया सबै कुरा अघि गरेझैं गर्दै जाऊ र परमेश्वरको भय मान्दै छोराछोरीहरूलाई इमानदारीपूर्वक हुर्काऊ - बढ़ाऊ!'
भोलिपल्ट ब्राउनलाई दाउराको थाकमाथि खाँबामा जलाइयो। तिनी यसो भन्दै जल्दै मरे: 'म मेरो आत्मा तपाईंको हातमा समर्पण गर्छु, हे सत्य परमप्रभु! तपाईंले मलाई मोल तिरेर उद्धार गर्नुभएको छ। '
१५२०-१५२१ सालको विवरण
सुसमाचारको ज्योति देखा पर्न र समर्थकहरूको संख्या पनि बढ न थालेपछि देशमा धेरै दुःख कष्ट सृष्टि गर्दै बिशपहरू विभिन्न सतावटहरू ल्याउनुमा अझ प्रबल भए। विशेष रूपले प्रभावित क्षेत्रहरू थिए - लण्डन धर्म-प्रदेशका बकिङ्गहामशायर, अमर्शहाम, अक्सब्रिज र न्यूबरी क्षेत्रहरू, साथै एस्सेक्स, कल्चेस्टर, सफोक र नरफोक क्षेत्रहरू।
यो बुझ्नुपर्छ कि धर्म-सुधारतर्फको यो आन्दोलनचाहिँ लुथरको नाम प्रचलित हुनुभन्दा अघिबाटै शुरु भएको थियो। इङ्गल्याण्डमा सधैँ परमेश्वरको वचनप्रति समर्पित भएका भक्त जनहरू थिए, जसले रातभरि- भरि बाइबल पढ्थे र सुन्थे, अनि आफ्नै भाषामा पाइने केही बाइबलका पुस्तकहरू धेरै मोल तिरेर किन्थे। केही मानिसहरू याकूबले लेखेको पत्र वा प्रेरित पावलले लेखेका पत्रहरूका केही अनुवादित अध्यायहरूको निम्ति एक भारी परालसम्म मोल स्वरूप दिन्थे। त्यस समयसम्म पुस्तकहरू र शिक्षकहरूको अभाव थियो। यसो भए पनि सत्यको वचन कसरी चारैतिर फैलिँदै गयो, सो विचार गर्दा खूबै अचम्म लाग्छ। त्यस्तो समयमा छिमेकीले छिमेकीलाई सिकाउँदै र एक-अर्कामा पुस्तकहरू र सत्यता बाँड्दै परमेश्वरको ज्ञान बढ्दै गयो।
निम्न चार मुख्य विषयमा ती पहिले/पहलका धर्म-सुधारकहरू रोमको क्याथोलिक चर्चसित मिल्दैनथिएः
* तिनीहरू तीर्थयात्राहरूको महत्त्व इन्कार गर्थे।
* तिनीहरू सन्तहरूको पूजा-उपासना गर्न अस्वीकार गर्थे। *तिनीहरू आफैले आफ्नो निम्ति पवित्र बाइबल पढ्नुपर्छ भन्थे। * समर्पण गरिएको प्रभु भोजको रोटीमा ख्रीष्टको शरीर उपस्थित हुन्छ भन्ने कुरामा तिनीहरू विश्वास गर्दैनथे।
ती धर्म-सुधारकहरू साधारण, इमानदार मानिसहरू थिए; उनीहरू बाइबल अध्ययन गर्थे र आफ्नो विश्वासको विषयमा खुलस्त कुरा गर्थे। यसैले उनीहरूलाई तिनीहरूले प्रायः नबुझेका विधर्मी भनाइहरूमा फसाउन, साथै उनीहरूसितै परमेश्वरको वचन अध्ययन गर्ने गराउनेहरूको त्रुटि देखाउन पनि चर्चका परीक्षकहरूको निम्ति सजिलो भयो।
लिन्कल्न धर्म - प्रदेशमा बिशप जोन लोङ्गल्याण्डले अघिबाटै आफ्नो विश्वास त्यागेका एक-दुईजनालाई फेरि पक्रिल्याउने र त्यस्ताहरूलाई फेरि न्याय-जाँच गर्ने काम गरेर उहिलेकै सतावट दोहोरयाउन थाले। ती दुईजनाले अरूहरूलाई पोल लगाए; यसो गर्दा एकै ठाउँमा भेला भई उनीहरूसित पवित्र बाइबल पढ्ने अपराधको खातिर धेरै मानिसहरूलाई बिशपको सामु ल्याइयो। अघि आफ्नो विचारधारा त्यागेर फेरि त्यही पुरानै विश्वासमा फर्किगएकाहरूलाई जलाइयो; अरूहरूलाई चाहिँ तपस्या र पश्चात्ताप गर्नको निम्ति यति धेरै बोझ लदाइयो कि तिनीहरू शोक - चिन्ताले मरे, अथवा लाज र शर्ममा परेर जिए।
राजा अष्टम् हेनरीले उनको सारा कानुनी अधिकारीवर्गलाई 'बिशपलाई चाहिएको कुनै पनि सहयोग र गोहार दिनू' भन्ने आदेश दिएर बिशप लिन्कल्नलाई काम गर्न अझ सजिलो पारिदिए। अब देशको कानुन र मण्डलीको कानुन दुवै पवित्र बाइबल अध्ययन गर्ने र त्यसको सत्य सिद्धान्तलाई समर्थन गर्नेहरूको विरुद्धमा भए।
मार्टिन लुथर
स्याक्सोनीयको इस्लेबेन भन्ने ठाउँमा १४८३ सालमा जन्मेका मार्टिन लुथरलाई एरफुर्थ यूनिभर्सिटी/विश्वविद्यालयमा पठाइयो। त्यहाँ तिनले अगष्टिय मठवासीहरूको आश्राममा प्रवेश गरे। त्यहीं तिनी आफ्नै संघको एउटा वृद्ध व्यक्तिसित भेट भयो, जससित तिनले धेरै विषयहरूमा, विशेषतः पापहरूको क्षमाको विषयमा बहस र तर्क गरे।
त्यहाँ तिनले पावलको 'विश्वासद्वारा हामी निर्दोष/धर्मी ठहराइएका छौं' भन्ने भनाइको पूरा अर्थ बुझे। भविष्यवक्ताहरूका र प्रेरितहरूका लेखोटहरू अध्ययन गरेर अनि विश्वास र प्रार्थनाको अभ्यासले लुथरले पावलको उक्त भनाइको सत्यतामाथि विश्वास गरे, साथै चर्चका शिक्षकहरूले सिकाएको शिक्षामा भएको भूल बुझे। एफर्थमा बिताएको चार वर्षमा लुथरले अगस्टीन, गब्रिएल, क्यामेरासेन्सिस, ओक्काम, एक्विनस, स्कोटस र गेर्सनका लेखोटहरू पनि पढ़े, तर अरू लेखकहरूलाई भन्दा अगस्टीनलाई धेरै रुचाए।
१५०८ सालमा २६ वर्षको उमेरमा आफ्नो विद्वत्ताले धेरै शिक्षित मानिसहरूको मनमा प्रभाव पार्दै लुथरले विटेम्बर्गको यूनिभर्सिटीमा पढ उन र प्रचार गर्न थाले। तीन वर्षपछि तिनी मठवासीहरूको माझमा उठेको मतभेदको विषय लिएर रोम गए। फर्केपछि तिनलाई स्याक्सोनीयका ड्यूकको खर्चमा डक्टरेटको पदवी प्रदान गरियो। लुथरले चाँड़ै व्यवस्था र सुसमाचारको बीचको भिन्नता मानिसहरूलाई प्रष्ट देखाउँदै रोमीहरूलाई लेखिएको पत्र र भजनसंग्रहको तुलना गर्ने काम शुरु गरे। तिनले यस्तो भूल - शिक्षाको विरुद्धमा पनि तर्क र विवाद गर्न थाले, जुन भूल - शिक्षाले भन्थ्यो कि सुकर्म गरेर मानिसहरूले आफ्ना पापको क्षमा कमाउन सक्छन्। यसरी तिनले आफ्ना कुरा सुन्ने र तिनका पुस्तक पढ्नेहरूलाई दण्ड-मोचन (इन्डल्जेन्स) वा तीर्थयात्राहरूद्वारा नहुने, तर येशूको प्रेमद्वारा हुने पाप क्षमातिर अगुवाइ गरे, जो परमेश्वरबाट विश्वासद्वारा सित्तैंमा पाइन्थ्यो।
यस्तो काम गरिरहेको समयमा लुथरले होशियारीसाथ आफ्नो संघका नियमहरू पालन गर्दैरहे र पालन गर्नुपर्ने धार्मिक क्रिया- अनुष्ठानहरूमा कुनै परिवर्तन गरेनन्। यस एउटै कुरामा मात्र अरू मठवासीहरूसित तिनको मतभेद थियोः तिनी पाप-क्षमा पाउनको निम्ति विश्वासको भूमिकाको महत्त्वमा विशेष जोर दिन्थे।
१५१६ सालमा पोप दशम् लेयोले क्षमा-दान बेच्न थाले। यसो गरेर उनले आफ्ना प्रियजनहरूको आत्मा बाँचोस् भन्ने इच्छा गर्नेहरूबाट धेरै - धेरै पैसा प्राप्त गरे। उनका पैसा संग्रह गर्ने व्यक्तिहरूले मानिसहरूलाई यसो भन्दै आश्वासन दिए: 'हरेक दस शिलिङ्गले एउटा विशेष आत्मालाई सोधन-स्थान (परगेटोरी) को दु:खहरूबाट छुटकारा दिनेछ।' जर्मनीमा पैसा उठाउने पोपको व्यक्ति एउटा डोमिनी मठवासी थिए, जसको नाम टेट्जेल थियो।
१५१७ सालको सेप्टेम्बर महिनाको ३० तारिखमा विटेम्बर्गको किल्लाको छेउमा भएको गिर्जाघरमा लुथरले यस प्रथाको विरुद्धमा आफ्ना आपत्तिहरू लेखेर टाँगे। टेट्जेलले तत्कालै तिनलाई विधर्मी भनी घोषणा गरिहाले, दण्ड- मोचनको विषयमा तिनले लेखेका विरोधात्मक उपदेशहरू र आपत्तिहरू जम्मै जलाइदिए। लुथरले उत्तर दिँदै के भने भने तिनी सम्पूर्ण तौरले दण्ड-मोचनको विरुद्धमा छैनन्, तर तिनी चाहन्थे कि यो प्रथा केही आत्मा-नियन्त्रण र संयमीसाथ प्रयोग गरियोस्।
झट्टै जर्मनी सम्राट मेक्सिमिलियन स्पेनका राजा चार्लस र पोपले सेक्सोनीयका ड्यूक फ्रेडरिकसित सम्पर्क गरे, अनि लुथरलाई चुप पार भने। ड्यूकले यस समस्याको बारेमा धेरै शिक्षित मानिसहरूसित सरसल्लाह गरे, इरास्मससित पनि बातचित गरे। इरास्मसले लुथरलाई समर्थन गर्थे। उनले लुथरलाई आफ्ना लेखोट र प्रवचनहरूमा अलिक आत्म-नियन्त्रण र संयमी हुने आग्रह गरे। ड्यूक फ्रेडरिकले लुथरलाई आफ्नो चिन्ता प्रकट गरे, तर तिनलाई चुप पार्ने कुनै कदम उठाएनन्। तर्क- वितर्क भइ नै रह्यो, तर १५१८ सालमा लुथरले पोपलाई 'म सम्पूर्ण रूपले पोपको अधीनस्थ छु' भनी पत्र लेखिपठाए।
१५१८ सालको अगस्त महिनाको ७ तारिखमा लुथरलाई रोममा पोपको सामु देखा पर्ने आदेश दिइयो। तब विटेम्बर्गको यूनिभर्सिटी/विश्वविद्यालयले र ड्यूक फ्रेडरिकले झट्टै लुथरको सुनवाइ अग्स्बर्गमा कार्डिनल काजेटनको सामुन्ने होस् भनी लेखिएको अनुरोध-पत्र पोपकहाँ पठाए। तब पोपले काजेटनलाई लुथरलाई अग्स्बर्गमा तिनको अघि डाक्ने र आवश्यक परेमा शक्ति प्रयोग गरेरै पनि लुथरलाई रोममा ल्याउने आदेश दिए।
अक्टुबरको शुरुतिर लुथर कार्डिनलको निवेदनमा अग्स्बर्ग गएर त्यहाँ तीन दिनसम्म सम्राटबाट तिनीसित सठीक सुरक्षापूर्ण व्यवहार गरिने वचन प्राप्त गर्न पर्खे। जब लुथर काजेटनको सामु देखा परे, तब उनले खूबै भद्रतासाथ तिनलाई निम्न तीन कुरा गर्ने आग्रह गरे:
*तिनले पश्चात्ताप गरून् र आफ्ना भूलहरू सुधारून्।
तिनले फेरि त्यही भूलहरू नदोहोरयाउने प्रतिज्ञा गरून्। *तिनले चर्चलाई सङ्कष्टमा पार्ने कुनै काम नगरून्।
जब मार्टिन लुथरले 'मैले कहाँ, केमा बिराएँ' भनी सोधे, तब कार्डिनलले तिनलाई दण्ड - मोचनको विषयमा भएको पोप क्लेमेन्टको आदेश-पत्र देखाए, साथै प्रभु-भोजको पवित्र थोक ग्रहण गर्ने मानिससित विश्वास आवश्यक छैन भन्ने कुरा निश्चयतापूर्वक बताए।
कार्डिनललाई दिएका लिखित उत्तरमा लुथरले यही बताए कि पोपले भनेका कुराहरू पवित्र - शास्त्रसित मिल्छन् भने ती पालन गरिनुपर्छ; तर पोपले पनि भूल गर्न सक्छन्, र त्यस बेला हरेक विश्वासीसित पोपसँग सहमत नहुने अधिकार छ - यदि त्यस विश्वासीसित आफ्ना मन्तव्यहरू पुष्टि गर्ने उचित कारण वा अधिकार छ भने। तिनले यसो पनि भने: कोही पनि मानिस धर्मी छैन; र प्रभु - भोजको पवित्र थोक ग्रहण गर्ने व्यक्तिमा विश्वास हुनैपर्छ।
कार्डिनलले लुथरलाई 'जबसम्म तिमी पश्चात्ताप गर्न तयार हुँदैनौ, तबसम्म जाऊ' भने। लुथरले तीन दिन अग्स्बर्गमा पर्खे, त्यसपछि कार्डिनलकहाँ यस्तो खबर पठाए: यदि तिनका विरोधीहरू पनि चुप लागेर बस्छन् भने क्षमा-दानको विषयमा तिनी चुप रहनेछन्। अरू कुनै परस्पर नमिल्ने कुराको फैसलाको निम्ति पोपकहाँ पठाइयोस् भनी तिनले निवेदन गरे। अरू तीन दिन पर्खेपछि लुथरले अग्स्बर्ग छोड़े, तर जानुभन्दा अघि तिनले एउटा स्पष्टिकरण- पत्र कार्डिनलकहाँ पठाए। तिनले पोपकहाँ पठाएको अपिल पनि त्यही पत्रसित थियो, जुन अपिल तिनले शहर छोड्नुभन्दा पहिले छापेर निकालेका थिए।
१५१९ सालको जनवरी महिनामा सम्राट मेक्सिमिलयन मेर। १५२० सालको अक्टोबर महिना उनीपछि स्पेनका राजा चार्लस सम्राट भए। चार्लसले ड्यूक फ्रेडरिकको प्रयासमा मुकुट प्राप्त गरे। त्यही वर्षको नोभेम्बर महिनामा पोप लेयोको तर्फबाट दुईजना कार्डिनल फ्रेडरिककहाँ आएर उनीबाट निम्न दुई कुराको माग गरे:
* लुथरका सबै पुस्तकहरू जलाइनुपर्छ, र
* लुथरलाई कि त मारियोस् वा रोममा पठाइयोस्
फ्रेडरिकले त्यस्तो गर्न अस्वीकार गरे। उनले शिक्षित व्यक्तिहरूद्वारा लुथर साँच्ची नै झूटको दोषी छन् कि छैनन् भन्ने जाँच- पत्ता लाउने अनुमति मागे। तिनी दोषी ठहरिए अनि तिनले आफ्नो भूल त्याग्न इन्कार गरे भने फ्रिडरिकले लुथरलाई सुरक्षा दिनेछैनन्; तर त्यसो नभएसम्म उनले लुथरलाई सुरक्षा दिनेछन्।
१५२१ सालमा सम्राटको निवेदनमा र तिनलाई सुरक्षा दिइने आश्वासनमा लुथर वर्म्सको राज्य सभामा उपस्थित भए। आएको चौंथो दिनमा तिनलाई सम्राट र जर्मनीका अन्य उच्च प्रभावशाली व्यक्तिहरूको सामु उपस्थित हुने आदेश दिइयो र तिनी उपस्थित भए। बोल्ने आदेश नदिएसम्म चुप बस्ने आदेश लुथरलाई दिइएपछि तिनको अघि यी दुई प्रश्न पेस गरियो:
त्यहाँ जम्मा गरिएका पुस्तकहरू तिनकै हुन् कि होइनन्?
के तिनी ती पुस्तकहरूमा भएका सबै त्रुटि त्याग्न तयार छन्? कि आफैले जे लेखेका छन्, त्यसैमा तिनी दृढ़ रहन्छन्?
लुथरले पहिलो प्रश्नको उत्तर दिँदै यसो भने: ती पुस्तकहरू तिनले लेखेका छन्, तर दोस्रो प्रश्नको निम्ति तिनले उत्तर दिने समय मागे। भोलिपल्ट सभामा उपस्थित गराइएपछि लुथरले भनेः तिनले जे लेखेका छन्, ती सबैको विषयमा सुस्पष्ट सफाइ दिन र समर्थन गर्न असम्भव छ; किनकि तिनी जान्दथे कि तिनी आफैचाहिँ भूल-भ्रममा पर्न सक्ने व्यक्ति थिए; तथापि तिनले जहाँ-जहाँ भूल गरे, सो तिनलाई देखाइएमा सुधार्न तयार थिए। उपरोक्त दुवै प्रश्नको उत्तरमा साधारणतः हो वा होइन भनी उत्तर दिने आग्रह गरिँदा लुथरले भनेः जबसम्म तिनले लेखेका कुराहरू पवित्र-शास्त्र बाइबलले झूटा हुन् भनी प्रमाण गरिँदैन, तबसम्म तिनी तिनैमा दृढ़ भई रहनेछन्।
तिनलाई हल्लाउन नसक्दा त्यस राज - परिषद्ले लुथरलाई सुरक्षासाथ घर पठायो। केही समय तिनी लुकेर बसे, तर अन्तमा तिनी विटेम्बर्ग फर्के, जहाँ तिनी अझ २९ वर्षसम्म लेख्दै र प्रचार गर्दै रहे; अनि ६३ वर्षको उमेरमा तिनी परलोक भए।
उलरिक ज्विङ्गली
उलरिक ज्विङ्गली १५१९ सालतिर जुरिक गए, अनि मठवासीहरूसित तिनीहरूको मठमा बसे, जहाँ तिनीहरूका जम्मै धार्मिक कामकाजै, रीति-रिवाज पालन गर्दै र मानिसहरूलाई पवित्र शास्त्रको शिक्षा दिँदै तिनी दुई-तीन वर्ष बसे।
त्यही वर्षमा पोप लेयोले सारा संसारमा आफ्ना क्षमा- दानहरू (पार्डन्स) फेरि प्रारम्भ गरे, तर बाइबलमा भएका प्रमाणहरूअनुसार ती सबै भूल छन् भनी बताउँदै ज्विङ्गलीले विरोध गरे। तिनले मण्डलीमा साधारणत: चलिआएका अरू भ्रष्ट आचारणहरूको पनि विरोध गरे। अन्तमा कन्स्ट्यान्सका बिशप ह्यूगोले जुरिकको राज्यसभालाई र विङ्गली बसेका कलेज अफ क्यानन्सलाई ज्विङ्गलीको विरोधमा आरोप लाउँदै र सबैलाई तिनको शिक्षा-सिद्धान्तमा नलाग्ने चेतावनी दिँदै पत्रहरू लेखे। ज्विङ्गलीले जुरिकको राज्य - सभाको सामु आफ्नो विश्वासको व्याखा दिए; राज्य- सभाले १५२२ मा बिशप ह्यूगोलाई यसो भन्दै उत्तर लेखे: बिशपले पुरोहितहरूलाई घिनलाग्दो र घृणित जीवन जिउनदेखि रोक्नुपर्छ, र सुसमाचारको स्वतन्त्रतामा बाधा पुरयाउने कुनै काम गर्नुहुँदैन।
ज्विङ्गली आफैले पनि सम्पूर्ण स्वीस जातिलाई पत्र लेखे। त्यस पत्रमा तिनले उनीहरूसित शुद्ध सिद्धान्तको वृद्धि र प्रचारमा विरोध नगर्ने अथवा विवाह गर्न चाहने कुनै पनि पुरोहितलाई केही आपत्ति नदिने आग्रह गरे। स्वीस प्रथाअनुसार पुरोहितहरूलाई उपपत्नी/रखैलीहरू राख्ने अनुमति थियो, तर ज्विङ्गलीले त्यस प्रथाको सट्टामा पुरोहितहरूलाई कानुनी विवाह गर्ने अनुमति दिने आग्रह गरे।
ज्विङ्गलीले अझ अरू निक्कै वर्षसम्म प्रभुको वचन सिकाउने काम जारी राखे; डोमिनी मठवासीहरूले पनि जबसम्म विङ्गली उनीहरूसित बहस र तर्क गर्न राजी भएनन्, तबसम्म तिनको विरुद्धमा प्रचार गरि नै रहे। त्यसो हुँदा जुरिकका न्यायकर्ताहरू र राज्य सभाले सबै पुरोहितहरूलाई जुरिकमा १५२३ सालको जनवरी महिनाको २९ तारिखमा राखिएको सभामा डाके। त्यस सभामा हरेक व्यक्तिले स्वतन्त्र तवरले आफ्नो विचार पोख्न पाउने भयो। कन्स्ट्यान्सका बिशपले जोन फेबरलाई आफ्नो मुखपात्र बनाई पठाए। यस सभाको अन्तमा जुरिकको राज्य-सभाले यही घोषणा गरयोः ख्रीष्टको सुसमाचार पवित्र बाइबलबाट सिकाउनुपर्छ, र मानिसहरूको प्रथा परम्परालाई त्याग्नुपर्छ।
तत्कालै कन्स्ट्यान्सका बिशपले क्याथोलिक चर्चको रक्षा र समर्थन गर्न पत्रहरू लेखे; जून महिनाको १३ तारिखतिर राज्यसभाले उनको सिद्धान्त अस्वीकार गरयो र जुरिक शहरमा भएका जम्मै क्याथोलिक मूर्तिहरू जलाउने आदेश दियो। आउँदो अप्रिल महिनामा जुरिक शहरले प्रभु-भोज, भविष्यवक्ताहरूको पुस्तक पठन, प्रार्थना र सुसमाचार प्रचार कार्य स्थापना गरयो, र क्याथोलिक मास उठाइदियो।
जुरिक शहरले मात्र धर्म - सुधारको आन्दोलनमा भाग लियो; स्विजरल्याण्डका अरू बाह्रओटा शहरले भाग लिएनन् तिनीहरू क्याथोलिक चर्चसितै बसे। १५२७ सालको दिसम्बर महिनामा बर्न नामक शहरमा क्याथोलिक चर्च र धर्म-सुधारको विचारधाराका, दुवै थरिका व्यक्तिहरूलाई स्वतन्त्र तवरले विभिन्न विषयहरूमा तर्क-वितर्क गर्ने अनुमति दिँदै एउटा सभा राखियो। प्रोटेस्टेन्ट पक्षमा ज्विङ्गली, ओकोलम्पाडियस, बूसर, क्यापिटो र ब्लाउरेरस थिए। क्याथोलिकहरूको पक्षमा बोल्ने व्यक्ति अगस्टिनी मठवासी कन्राड ट्रेगेरस थिए, जसले आफ्नो कुरा पवित्र बाइबलदेखि बाहिरका स्रोत - आधारद्वारा प्रमाण गर्न प्रयत्न गरे। तिनलाई यसो गर्ने अनुमति दिइएन। बाइबल - आधारित रहनु विवश गरिँदा उनले त्यो सभा छोड़े। तर त्यो बहस र तर्क उनाइस दिनसम्म भइ नै रह्यो र अन्तिम फैसला यही भयोः बर्न शहर र त्यसको वरिपरि भएका अरू नगरहरूमा मास, अल्टर र क्याथोलिक मूर्तिहरू हटाइए।
१५३१ सालमा आफ्नो धर्मको सुधार गर्ने जुरिक र बर्न - यी दुईटा प्रान्तहरूलाई अरू पाँचओटा प्रान्तहरूले अपमान गरे। त्यसो हुँदा तिनीहरूको बीचमा युद्ध चल्यो। जब ती पाँचओटा प्रान्तहरूले धर्मको सम्बन्धमा स्वतन्त्रता दिन युद्ध-विरामको सन्धि मानेनन्, तब जुरिक र बर्नले तिनीहरूकहाँ आउने-जाने बाटाहरू बन्द गरिदिए: यसरी उनीहरूले तिनीहरूका बासिन्दाहरूलाई भोकै पारे र तिनीहरूलाई जुरिकमाथि आक्रमण गर्ने वाध्य तुल्याए। टुक्रिएका केही सिपाहीहरूकहाँ थप सेना लिएर जाने प्रयास गर्दा ज्विङ्गलीको देहान्त भयो। क्याथोलिक सिपाहीहरूले तिनका मृत - शरीरका हातखुट्टा काटिदिएर तिनलाई जलाइदिए। तिनी ४४ वर्षका हुँदा मरे।
वेण्डेलमूटा
१५२७ सालमा होल्याण्डमा वेण्डेलमूटा नाम भएकी एउटी भक्त स्त्री शहीद भइन्। तिनी प्रोटेस्टेन्ट विश्वासको खातिर पक्रा परेकी थिइन्। तिनी वेर्डेनको गढ़ी/किल्लामा होल्याण्डको महासभाको सामु देखा नपरुन्जेल कैद गरिए। केही मठवासीहरूलाई तिनलाई आफ्नो भूल स्वीकार गर्न लाउने अभिभारा दिइयो, तर तिनले त्यसो गर्न अस्वीकार गरिन्। तिनले आफ्नै घरकाहरूको अपिल र तिनलाई खुबै माया गर्ने एउटी उच्च कुलकी नारीसहित अन्य साथीहरूका अपिलहरू पनि मानेनन्। तिनी आफ्नो विश्वासमा दृढ़ रहिन्।
ती उच्च कुलकी स्त्रीले भनिन्ः 'वेण्डेलमूटा, किन तिमी चुप नलागेकी? र केवल आफ्नै हृदयमा मात्र विश्वास नगरेकी?' 'तिमी के भनिरहेकी छ्यौ, तिमी जान्दिनौ। बाइबलमा यसरी लेखिएको छः मानिसले हृदयले धार्मिकताको निम्ति विश्वास गर्छ, अनि मुखले उद्धारको निम्ति स्वीकार गर्छ।'
नोभेम्बर २० तारिखको दिन तिनलाई विधर्मी भनी दोषी ठहराइयो र जलाएर मार्ने आदेश दिइयो। दाउराको थाकमा आएपछि तिनीकहाँ कुनै मठवासीले ल्याएको क्रूसलाई चम्बन गर्ने तिनले अस्वीकार गरिन्। तिनले एक पोका बारुद छातीमा राखिन्, बाँधिनलाई आफ्नो घिच्रो थापिन् र आफैलाई परमेश्वरको हातमा समर्पण गरिन्। तिनको घिच्रो घोट्ने - दबाउने समय आइपुग्दा वेण्डेलमूटाले आफ्ना आँखा बन्द गरिन् र विनम्रतासाथ आफ्नो शिर झुकाइन्। त्यसपछि आगो झोसियो, र तिनी जलेर खरानी भइन्।
वाल्डेन्सीहरू
११६० सालतिर लियोन्स शहरमा नागरिक पीटर वाल्डोले अचानक आफ्नो जीवन-शैली / जिउने तरिका बदली गरे। तिनले धेरै- धेरै पैसा दान दिए, परमेश्वरको वचन अध्ययन गर्न थाले र अरूहरूलाई भक्तिपूर्ण जीवन जिउने तारिकाहरू सिकाए। समयमा तिनले फ्रेन्सेली भाषामा उल्था गरेका र पढ्न चाहनेहरूलाई तिनले बाँडिरहेका पवित्र- शास्त्रका खण्डहरू प्राप्त गर्न इच्छा राख्ने धेरै मानिसहरू तिनीकहाँ धुइरो लागे।
तब चाँड़ै अरू मानिसहरूलाई पवित्र शास्त्रको अर्थ नबुझाउने त्यस क्षेत्रका मण्डली - अगुवाहरूले वाल्डोलाई तिनको काम रोक्ने, नत्रभने मण्डलीबाट बहिष्कृत गरिने हुकुम दिए। वाल्डोले तिनीहरूका आज्ञाहरू पालन गरेनन्, तापनि तिनीहरूले तिनको पछि लाग्नेहरूलाई यति नराम्रो प्रकारले सताए कि उनीहरू सबैलाई शहर त्याग्नु कर लाग्यो। देशबाट निकालिएका ती वाल्डोको पछि लाग्ने वाल्डेन्सी मानिसहरू बोमिया, लोम्बार्डीय र अन्य फ्रान्सेली प्रान्तहरू र धेरै अन्य ठाउँहरूमा तितर- बितर भए। उनीहरू बाइबलको ज्ञानमा यति दक्ष थिए, कि अशिक्षित खेतीवालहरू अय्यूबको सम्पूर्ण पुस्तक कण्ठस्थ सुनाउन सक्षम थिए। अरूहरूले सम्पूर्ण नयाँ नियम जान्थे। उनीहरूलाई घोर सताउनेहरूमध्ये एकजनाले यसरी स्वीकार गरे: 'लियोनबासीहरूको यस पन्थ/सम्प्रदायमा पवित्रताको महान् प्रदर्शन छ। तिनीहरू मानिसहरूको दृष्टिमा उचित ढङ्गले जिउँछन्, सबै असल थोकहरू परमेश्वरबाट आउँछन् भनी विश्वास गर्छन्, अनि विश्वासको सारमा उल्लेख गरिएका सबै बुँदाहरू पालन गर्छन्। नराम्रो त्यति मात्र तिनीहरूले रोमको क्याथोलिक चर्चको निन्दा गर्छन् र त्यसलाई घृणा गर्छन्।'
आगामी चार सय वर्षसम्म जहाँ-जहाँ गएर उनीहरू जिए, ती सबै ठाउँमा यी वाल्डोका अनुयायीहरू अत्यन्त ठूलो सतावटमा परे, विशेषतः १५४७ सालमा। कैयौं युगसम्म धैर्यपूर्वक दुःख-कष्ट सहेपछि आखिरमा १५५९ सालतिर सभोइका ड्यूकको अधीनस्थ पिमण्ट क्षेत्रमा बसेका वाल्डोका अनुयायीहरूलाई सतावटबिना आफ्नो विश्वासअनुसार जिउने स्वतन्त्रता दिइयो।
थोमस बिल्नी
थोमस बिल्ली बालककालदेखि नै साधारण विज्ञान र कानुनी विद्या अध्ययन गर्दै क्याम्ब्रिज यूनिभर्सिटी/विश्वविद्यालयमा विद्या हासिल गरेर हुर्केका थिए। तर अन्तमा पवित्र आत्मामा एक असल शिक्षक प्राप्त गरेका हुनाले तिनले परमेश्वरको वचन सिक्न र बुझ्न आफ्नो कानुनी अध्ययन त्यागिदिए।
सत्य धर्म र भक्तिप्रतिको प्रेम/अनुरागद्वारा उत्तेजित भएका बिल्नीले अरूहरूकहाँ सुसमाचार फैलाइनुपर्ने अवश्यकताको अनुभव गरे। यस काममा तिनी सफल पनि भए। तिनले थोमस आर्थर, ह्यग लाटिमर र धेरै अन्य व्यक्तिहरूलाई प्रभुमा ल्याए। चाँडै तिनले चारैतिर यात्रा गर्न, शिक्षा दिन र प्रचार गर्न यूनिभर्सिटी/विश्वविद्यालयलाई छोड़े। यस काममा तिनलाई थोमस आर्थरले साथ दिए।
पुरोहितवर्गमा भएको ढीठपन, आडम्बर र घमण्डप्रति बिल्नीले गरेका विरोधले योर्कका कार्डिनल थोमस वोल्सीको ध्यान आकर्षण गरयो। वोल्सीले बिल्नी र आर्थरलाई कैद गर्ने आदेश दिए। १५२७ सालको नोभेम्बर महिनाको २७ तारिखमा बिल्नी र आर्थरलाई वेस्टमिन्स्टरमा कार्डिनल वोल्सी र एक झुण्ड बिशप, पुरोहित र वकिलहरूको सामु पेस गरियो।
मण्डलीको विरुद्धमा तिनले मार्टिन लुथर वा अरू कसैका विचारहरू गुप्तमा वा खुला रूपमा सिकाएका छन् कि छैनन् भनी प्रश्न गरिँदा बिल्नीले भने: 'मैले सिकाएको छैनँ।' 'तब के जहाँ-जहाँ यस प्रकारको शिक्षा भेटिन्छ, त्यहाँ-त्यहाँ त्यसको सक्रिय/सशक्त विरोध गर्नेछु भनी तिमीले अघि नै शपथ खाएका थियौ' भन्ने प्रश्न गरियो। बिल्नीले स्वीकार गरे: 'हो, मैले अघि यस्तो शपथ खाएको थिएँ, तर कराकरमा परेर मैले यसो गरेको थिएँ; अनि यस्तो करकाप कानुनअनुसारको थिएन।' आफ्ना भूलहरू मानिलिन लाइँदा त्यसो गर्न अस्वीकार गर्दै बिल्नीले यसो भनेः 'म आफ्नो विवेकको अडानमा स्थिर बस्नेछु,' तब तिनलाई धर्म- विरोधी हुन् भन्ने घोषणा गरियो।
दिसम्बर ५—७ तारिखसम्म बिल्नीले यही दृष्टिकोण राखिरहे: तिनले मण्डलीको सिद्धान्तको विरुद्धमा केही गरेका छैनन्, र यो कुरा प्रमाण गर्नलाई तिनले गवाहीहरू डाक्ने अनुमति मागे। तिनीलाई अघिबाटै विधर्मी भनी घोषणा गरिसकेका हुनाले साक्षीहरू डाक्ने अनुमति दिइएन, अनि दिसम्बर ७ तारिखमा दण्ड-आज्ञा दिइनुभन्दा पहिले तिनलाई अघि भनेका र गरेका कुराहरू फिर्ता लिने अन्तिम मौका दिइयो। मित्रहरूको सर-सल्लाहमा बिल्नीले त्यस्तै गरे, अनि बिशपले तिनलाई सबै अपराधहरूबाट मुक्त गरे। तिनी केही समयको निम्ति कैदमा थुनिए, त्यसपछि सेन्ट पल्स क्याथिड्रल/सन्त पावल स्मारक गिर्जाको जात्रामा काँधमा ठूलो मुढ़ा बोकेर र नाङ्गो टाउको लिएर हिँड्दै प्रायश्चित्त गर्न तिनलाई कर लाइयो; त्यसपछि तिनलाई गिर्जाभित्र उपदेश दिइरहेका प्रचारकको सामु उभिन पनि लाइयो।
१५२८ सालमा क्याम्ब्रिजमा फर्केपछि बिल्नीको जीवनमा जसो गरेर पनि नहट्ने गम्भीर निराशा छायो। तिनका मित्रहरू, तिनी एकलै भए आत्महत्या गर्न सक्छन् भन्ने डरमा रातदिन तिनीसितै बसे। यो निराशापन तिनीसित १५३१ सम्म रहयो। त्यस साल बिल्नीले अब उप्रान्त म परमेश्वरको सत्यतालाई अस्वीकार गर्न सक्दिनँ भन्ने निर्णय गरे, आफ्ना मित्रहरूसित बिदा लिएर नोरफोकमा सुसमाचार प्रचार गर्न निस्के। तिनले सबैसित तिनको उदाहरणबाट सिक्ने अनि विश्वास र विवेकसित सम्बन्धित कुराहरूमा आफ्ना साथीहरूको सल्लाहमा भर नपर्ने आग्रह गरे। तिनले आफ्नो जीवन जोगाउन एकपल्ट परमेश्वरको सत्यतालाई इन्कार गरेका थिए, तर अब उसो कहिल्यै त्यसो गर्नेछैनन्।
बिल्नी चाँडै पक्रा परे। तिनलाई मृत्यु-दण्ड दिन शहरका शासन- अधिकारीहरूको हातमा सुम्पिइयो। तीमध्ये एक शासन-अधिकारी थोमस नेक्टन तिनका घनिष्ट मित्र थिए। नेक्टनसित बिल्नीको मृत्यु-दण्ड रोक्ने शक्ति थिएन, तापनि उनी बिल्नीले मृत्यु-दण्ड पर्खनुपरेको समयमा धेरै सुविधाजनक बनाउन सबल भए। उनले बिल्नीको मृत्यु हुनुभन्दा पहिले तिनका मित्रहरूलाई तिनीसित भेट गर्ने अनुमति पनि दिए।
बिल्नी साधारण मानिसले लाउने लबेदा लाएर दाउराको थाकतिर गए। तिनका हातहरू तल झारेका थिए, अनि तिनको केश मण्डलीको नियमअनुसार पुरोहित-पद खोसिँदा तिनले लाएका पुरोहितका वस्त्र खोलिदिएको हुनाले छताछुल्ल भएको थियो। तिनलाई धुइरोसित केही बोल्ने अनुमति दिइयो, र तिनले मानिसहरूलाई तिनको मृत्युको निम्ति ती मठवासीहरूलाई दोष नलाउनू भने; त्यसपछि तिनले आफ्ना व्यक्तिगत प्रार्थनाहरू चढ़ाए।
अधिकारीवर्गले तिनको वरिपरि स्याउला र दाउराहरू राखेर आगो लगाए; आगो हुरूरूरू ज्वालामय भयो र उच्च सोरमा 'हे येशू' र 'म विश्वास गर्छु' भन्दै हातहरू स्वर्गतिर उठाएका बिल्नीका मोहोडालाई ज्वालाहरूले विकृत पारयो।
बिल्नीका यात्रा, शिक्षा र उदाहरण क्याम्ब्रिजमा खूबै प्रभावशाली थिए र धेरैलाई ख्रीष्टतिर आकर्षित गरे। यसरी प्रभावित भएकाहरूमध्ये हग लाटिमर, डाक्टर बार्न्स, डाक्टर थिस्टल, मास्टर फूक, डाक्टर वार्नर र मास्टर सुड थिए।
जोन टिउकेस्वरी
जोन टिउकेस्वरी टिन्डेलको बाइबल र 'द विकेड म्यामन' अर्थात् दुष्ट धन नामक पुस्तक पढेर प्रभुमा आएका थिए। १५२९ सालको अप्रिल महिनाको २१ तारिखमा लण्डनका बिशप कथ्बर्टको सामु पेस गरिँदा टिउकेस्बरीले एक हप्तासम्म आफ्नो विश्वास र सिद्धान्तको व्याख्या र समर्थन गरे। तिनका उत्तरहरू यति तत्कालिक र यथार्थ थिए कि तिनका अभियोगीहरू/दोष लाउनेहरू एउटा साधारण छालाका व्यापारीद्वारा शर्ममा पारिँदैछौं भनी डराए।
'द विकेड म्याम्मन' नामक पुस्तकमा उल्लेखित 'विश्वासद्वारा धर्मी ठहराइने' सिद्धान्तको आधारमा भएका भूलहरूको विषयमा तिनको जाँच भइरहेको समयमा टिउकेस्वरीले यसो भन्दै उत्तर दिए: 'यो पुस्तक लिएर पढ्नुहोस्! मलाई पक्का विश्वास छ - तपाईंहरूले यसमा कुनै भूल पाउनुहुनेछैन।'
बिशपले भने : 'म तिमीलाई भन्छु, यस पुस्तकमा भएका तर्कहरू झूटा र हाम्रो धर्मको विरोधमा छन्, र मण्डलीद्वारा न्याय गरिएर झूटा ठहरिसकेका छन्। अब भन, तिमी के भन्छौ?'
'मेरो विचारमा, यस पुस्तकमा कुनै झूट छैन,' टिउकेस्बरीले उत्तर दिँदै भने; तिनले सत्रह वर्षसम्म सुसमाचार पढ़ेका छन् र ऐनाले तिनको अनुहारमा भएका खोटहरू देखाएझैँ तिनले सुसमाचारका आधारमा आफ्नो आत्मामा भएका दोष र खोटहरू जानेका छन्। फेरि एकपल्ट आफ्ना भूलहरू मानिलेऊ भनिँदा टिउकेस्बरीले यसो भने: 'तपाईंहरूले आफैलाई सुधार्नुहोला भन्ने मेरो विन्ती छ। यस किताबमा केही भूल भए त्यो सुधारियोस्! मेरो विचारमा, यो पुस्तक ठीक छ।'
केही दिनको सोच्ने समय दिइएपछि टिउकेस्वरीले मित्रहरूको सुझाव ग्रहण गरे अनि भूल स्वीकार गरे, तर फेरि चाँडै तिनी आफ्नो पहिलेको दृढ़ विश्वासमा फर्के। दुई वर्षपछि तिनी फेरि पक्रा परे अनि सर थोमस मोर र लण्डनका बिशपको सामु ल्याइए, विधर्मी भनी दण्ड - आज्ञा दिइएर तिनी १५३१ सालको दिसम्बर महिनाको २० तारिखको दिनमा जलाइए।
जोन फ्रिथ
सतावट-कालको दुष्टताहरू विचार गर्दा एक जवान मानिस जोन फ्रिथप्रति गरिएको निरंकुश व्यवहार र तिनको मृत्युजस्तो दुष्ट घटना अरू कुनै देखिँदैन। तिनीलाई ज्ञान र भक्तिमा तिनका अरू साथीहरूभन्दा अझ उच्च स्तरमा पाइन्थ्यो। लौकिक संसारमा तिनको जस्तो प्रभा र प्रतापले तिनलाई मान र इज्जत दिन सक्नेथ्यो, तथापि फ्रिथले आफैलाई मण्डलीको निम्ति समर्पण गर्ने इच्छा गरे, यही विश्वासमा कि साँचो, भला मानिस आफ्नै निम्ति होइन, तर अरूहरूको निम्ति जिउनुपर्छ।
क्याम्ब्रिजमा अध्ययन गरिसकेपछि र खूबै असल शिक्षित व्यक्ति भएपछि फ्रिथको चिनापर्ची विलियम टिन्डेलसित भयो। अनि तिनको हृदयमा टिन्डेलले सुसमाचार र निष्कपट भक्तिको बीउ छरे।
त्यही समयतिर योर्कका कार्डिनल थोमस वोल्सीले अक्सफोर्डमा फ्राइट्स - वाइड नामक कलेज निर्माण गरे। यस कलेजलाई आज 'क्राइष्टस चर्च' भनिन्छ। यो कलेज उनले ज्ञान - विद्याप्रति भएको आफ्नो प्रेमको खातिर होइन, तर आफ्नै नाममा एउटा चिरकालीन स्मारक रहोस् भनेर बनाएका थिए। उनले देशमा पाइने सबैभन्दा असल पूजा- आराधनाका सामानहरू, भाँडाकुड़ाहरू र गर-गहनाहरू बटुले, र ती सबै कलेजलाई दिए। कलेजको निम्ति उनले असल-असल आचार्यहरू नियुक्त गरे। तीमध्ये एकजनाचाहिँ फ्रिथ थिए। जब यी आचार्यहरूले एक भएर मण्डलीका दुर्व्यवहारहरूको विषयमा बातचित गरे, तब तिनीहरू जम्मैलाई विधर्मी भनी दोषारोपन गरियो र झ्यालखानामा हालिए।
आखिरमा फ्रिथलाई तिनी अक्सफोर्डको दस माइलभित्र रहने र बाहिर नजाने सर्तमा मुक्त गरिए। दुई वर्षको निम्ति विदेश गएर तिनले त्यो सर्त झट्टै भङ्ग गरे। तिनी रेडिङ्ग मठका अध्यक्षलाई भेट्न गुप्तमा फर्किआए। त्यहाँ तिनी घुमन्ते -बदमास भनी पक्रा परे। फ्रिथ इमानदार व्यक्ति थिए; तिनलाई ढाँट्न आएन। तिनी छद्मभेषमा थिए, तापनि तिनी घुमिहिँड्ने घरनथरका व्यक्ति होइनन् भन्ने विचार अधिकारीवर्गलाई भइसकेको थियो; तथापि तिनीहरूले तिनलाई तिनको खास परिचय दिन लाउन सकेनन्। तिनको परिचय थाह नपाएसम्म तिनी केही भोजन गर्न नपाई रेडिङ्गको लिँगुरोमा भोकै बन्द गरिए। भोकले हैरान हुँदा तिनले स्थानीय स्कूल मास्टरलाई तिनीकहाँ बोलाइदिने विन्ती गरे।
लियोनार्ड कक्स आइपुग्ने बित्तिकै फ्रिले उनलाई ल्याटिनमा आफ्ना दुःख - सास्तीका कुराहरू सुनाउन थाले। तिनीहरूले ल्याटिन र ग्रीकका विभिन्न विषयमा कुरा गरे; तब कक्स शहरका न्यायकर्ताहरूकहाँ गए अनि त्यस्ता खूबै असल र शिक्षित जवान मानिसलाई यस्तो व्यवहार गरेकोमा ती न्यायकर्ताहरूको सामु विन्ती गरे। तब अरू दण्ड नदिई फ्रिथलाई लिँगुराबाट मुक्त गरियो।
तिनले स्वतन्त्रताको मोज लिन पाएनन्; किनभने त्यस समयका इङ्गल्याण्डको च्यान्सलर सर थोमस मोरले तिनको बारेमा सारा देशभरि खोजी गरिरहेका थिए; कसैले फ्रिथलाई पक्रे इनाम दिने वचन पनि दिएका थिए। तिनी एक ठाउँदेखि अर्को ठाउँमा सरिहिँड़े पनि र गुप्त भेषमा रहे पनि अन्तमा फ्रिथ पक्रा परे, अनि 'लण्डन टावर' नामक जेलमा कैद गरिए।
त्यहाँ बन्दी छँदा तिनी र मोरको बीचमा प्रभु-भोजको विधि र पर्गेटरी नामक शोधन-स्थानको विषयमा बहस र तर्क गर्दै धेरै चिट्ठी- चपेटाहरू लेख्ने काम भइरह्यो। फ्रिथले लेखेका पत्रहरू प्रायः सधैँ सन्तुलित, शान्त र पाण्डित्यपूर्ण हुन्थे। जहाँ तिनलाई तर्क गर्ने कर थिएन, त्यहाँ तिनी शान्ति बनाइराख्ने इच्छामा झुक्थे।
आखिरमा फ्रिथ पहिले क्यान्टरबरीका आर्च बिशपको सामु, त्यसपछि विन्चेस्टरका बिशपको सामु आफ्नो मामला लड्न पेस गरिए। अन्तमा तिनी लण्डनमा भेला भएका बिशपहरूको सामु हाजिर भए। तिनको जाँच विशषतः यी दुई विषयमा नै भयोः पर्गेटरी र प्रभु- भोजको पदार्थ। फ्रिथले आफ्ना मित्रहरूलाई यसरी लेखे: 'प्रभु-भोजको रोटी र दाखरस, तिनीहरूको रूप र आकार उस्तै रहे पनि हाम्रा मुक्तिदाता येशू ख्रीष्टको मासु र रगतमा परिणत हुन्छन् भन्ने कुरा हाम्रो विश्वासको सिद्धान्त - बुँदा हो, र सबैले यसमा विश्वास गर्नैपर्छ भन्ने कुरामा म धर्मका विद्वानहरू र उच्च धर्माधिकारीहरूसित सहमत हुन सक्दिनँ - नरकको दण्ड सहनैपर्छ भने पनि मिल्न सक्दै सक्दिनँ। यो कुरा सत्यै भएको भए पनि यसलाई कुनै हालतमा विश्वासको सिद्धान्त - बुँदा बनाउनुहुँदैन।'
१५३३ सालको जून महिनाको २० तारिखको दिनमा जोन फ्रिथ लण्डन, विन्चेस्टर र लिन्कल्नका बिशपहरूको सामुन्ने ल्याइए, र तिनलाई मृत्यु-दण्डको आज्ञा दिइयो। जुलाई ४ तारिख तिनी दहन-स्थानमा लगिए, जहाँ तिनले आफ्नै जीवनले सिद्ध- सत्य साक्षी दिँदै दाउरा र आगोलाई अङ्कमाल गरे। तेज हावाले आगोको ज्वालालाई तिनीबाट उड़ाएर तिनीसितै जलिरहेका एण्ड्रू हिवेटतिर लग्यो। यसकारण फ्रिथको मृत्यु केही ढिलो भयो, तर तिनी आफ्नो मित्रको कष्ट छिटो बितेकोमा खुशी भएको तथा आफ्नै मृत्यु-कष्टचाहिँ धेरै लामो रहेकोमा तिनलाई वास्ता नभएको जस्तो देखा पर्यो।
एण्ड्स हेवेट
एण्ड्रू हेवेट एउटा दर्जीकहाँ लुगा सिउन सिक्दै गरेका, चौबीस वर्ष मात्र पुगेका ठिटा थिए। एकदिन छुट्टीको दिनमा तिनले झूट बोल्नुमा प्रसिद्ध व्यक्ति विलियम हल्टलाई भेटे। हल्टले तिनीसित केही समय बातचित गरेपछि हेवेट प्रोटेस्टेन्ट रहेछ भनी अड्कल गरे। उनले हेवेटलाई पक्रा पारेर झ्यालखानामा हाले। कसैले तिनलाई एउटा रेती दियो र तिनी उम्के, तर लगत्तै फेरि पक्रा परे।
न्यायिक जाँच हुँदा हेवेटलाई समर्पित रोटी ख्रीष्टको सत्य शरीर हो भनी विश्वास गर्दैन भन्ने दोष लगाइयो। तिनी वास्तवमा के विश्वास गर्छन् भनी सोध्दा हेवेटले उत्तरमा यसो भने: 'जोन फ्रिथले जे विश्वास गर्छन्, म त्यही विश्वास गर्छु।'
'के तिमी त्यो रोटी कुमारी मरियमको कोखमा जन्मनुभएको ख्रीष्टको वास्तविक शरीर हो भनी विश्वास गर्छौ?' भन्दै तिनलाई दोष लाउनेहरूले खूब आग्रहसाथ सोधे।
'अहँ! '
'किन विश्वास गर्दैनौ?'
'किनभने ख्रीष्टले मलाई यस्तो हुकुम गर्नुभयो : हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ र त्यहाँ हुनुहुन्छ भन्ने सबै मानिसहरूलाई विश्वास नगर; किनभने धेरै झूटा भविष्यवक्ताहरू खड़ा हुनेछन्।'
तब ती बिशपहरू तिनलाई हेर्दै हाँसे; अनि लण्डनका बिशपले भने : 'फ्रिथ त विधर्मी हो, जसलाई जलाएर मारिने दण्डको आज्ञा अघिबाटै दिइयो। तिम्रो विचार तिमीले रद्द गर्दैनौ भने तिमी पनि तिनीसितै जल्नेछौ।'
'ठिक्कै छ।'
फेरि पनि आफ्नो विचार बदलिन्छौ कि भनी सोधिँदा हेवेटले भनेः तिनी फ्रिथले झैँ गर्नेछन्। १५३३ सालको जुलाई महिनाको ४ तारिख हेवेटलाई जोन फ्रिथसितै जलाइयो।
थोमस बेन्नट
थोमस बेन्नट क्याम्ब्रिजमा जन्मेका थिए, अनि त्यहीं शहरमा पढ र एम० ए० पास गरे। जति-जति तिनी परमेश्वर र उहाँको पवित्र वचनको ज्ञानमा बढ्दै गए, त्यही मात्रामा तिनी त्यस समयको क्याथोलिक धर्मको भ्रष्टतालाई घृणा गर्न लागे। अन्तमा अझै धेरै विवेकको स्वतन्त्रतामा बाँच्ने आशामा १५२४ सालमा तिनले यूनिभर्सिटी/विश्वविद्यालयलाई छोड़े, अनि एक्सेटर शहरमा गए। त्यहाँ तिनी शिक्षक भए।
बेन्नट शान्त स्वभावका मानिस थिए; उपदेशहरू सुन्नमा तिनले ठूलो आनन्द लिन्थे। फुर्सदको समयमा तिनी एकान्तमा बाइबल अध्ययन गर्थे, तर जबसम्म अरूहरूको विचारहरू तिनका विचारहरूसँग मिल्ने हुँदैनथे, तबसम्म तिनी आफ्ना विचारहरू अरू कसैलाई बताउँदैनथे। तर हरेक रूख र घाँसपातको फल फल्ने समय हुन्छ; बेन्नटको निम्ति पनि त्यस्तै थियो। परमेश्वरको महिमाको निन्दा भएको, मूर्तिपूजाले पूर्ण भएको क्याथोलिक धर्म कायम राखिएको तथा पोपको शक्तिको गुणगान गरिएको देखेर बेन्नटले आखिरमा तिनलाई दण्ड दिइनेछ भन्ने कुरा जान्दा जान्दै पनि यही निर्णय गरे कि तिनी अब आफ्नो विचार बताउनैपर्छ। अक्टबर महिनामा तिनले ठूलो गिर्जाघर अर्थात् क्याथिड्रलको ढोकाहरूमा यस्तो लेखिएको एउटा सूची झुण्ड्याएः 'पोपचाहिँ ख्रीष्ट - विरोधी हुन्, अनि हामीले सन्तहरूको होइन, तर परमेश्वरको मात्र उपासना गर्नुपर्छ।'
यस्तो कुरा थाह पाउने बित्तिकै मण्डलीका अधिकारीवर्गले यस्तो सूची टाँस्ने विधर्मीलाई खोजेर निकाल्ने प्रयत्न गरयो। बेन्नट चर्च- सभाहरूमा हाजिर हुँदै र छात्रहरूलाई शिक्षा दिँदै चुपचाप शान्त भावले जीवन बिताइरहेका थिए। मण्डली र सरकारी अधिकारीहरूचाहिँ दोषी व्यक्तिको खोजमा लागिपरे। तर बेन्नट यस्ता शान्त र विश्वासयोग्य मानिस थिए कि कसैले तिनीजस्ता व्यक्तिले यस्तो साहसपूर्ण खतरनाक काम गर्न सक्छन् भनी शङ्का गर्न सक्दैनथ्यो।
केही समयपछि त्यस विधर्मीलाई भेट्टाउन नसक्दा मण्डलीले त्यस दुष्ट व्यक्तिलाई बाइबल पढ्दै, घण्टी बजाउँदै र मैन बत्तीहरू बाल्दै खुल्लमखुल्ला जनसाधारणको सामु सराप्ने निर्णय गरयो। यसो गर्नुचाहिँ ती दिनमा सबैभन्दा डरलाग्दो श्राप मानिन्थ्यो। बेन्नट मण्डलीको सभामा बसे, आफैलाई मण्डलीबाट बहिष्कार गरिएको, शैतानको जिम्मामा लाइएको र पापहरूको निम्ति मण्डलीले दिने क्षमा- दानका सुविधाहरूबाट वञ्चित गरिएको सूचना सुने। भ्रष्ट मण्डलीको सम्पूर्ण शक्तिहरू - पोप, सन्तहरू, इसाई मठवासी र सन्यासीहरू - जम्मैको शक्ति तिनको विरुद्धमा प्रयोग गरियो; तिनीहरूलाई बेन्नटले व्यर्थका हुन् भनी सम्झन्थे।
अधिकारीवर्गको क्रोध प्रकट गरिएको देखेर र भूलले त्यो क्रोध तिनीहरूमाथि कदापि नपरोस् भन्ने आशा राखेर भयभीत मण्डली- समुदाय चुपचाप बसेको थियो। बेन्नटचाहिँ त्यस बेलाको व्यङ्ग्य / छनक बुझेर हाँस्न थाले। तिनी हाँसेपछि हाँसेका - हाँसेकै भए; तिनी रोकिन सकेनन्। नाटकीय ढङ्गमा मण्डलीले निन्दा गर्दै धिक्कारेको बेन्नट पक्रा परे। मित्रहरूले पछिबाट तिनलाई किन तिनले त्यसरी हाँसेर आफैलाई विश्वासघात गरे भनी सोध्दा बेन्नटले यसरी उत्तर दिए: 'तिनीहरूको त्यस्तो व्यर्थको अहङ्कार र तमाशा देखेर कसले पो हाँसो रोक्न सक्छ र?' न्याय-जाँच चल्दै गर्दा तिनले यसो भन्दै कबुल गरे: 'मैले नै ती पर्चाहरू टाँगें, अनि म फेरि पनि त्यस्तै गर्नेछु, किनकि मैले जे लेखें, त्यो सत्य छ।'
प्राण - दण्ड भोग्दै गर्दा बेन्नटले मानिसहरूलाई क्याथोलिक चर्चका युक्तिहरू, भ्रान्तिहरू र कल्पनाहरूलाई त्यागेर सत्य परमेश्वरलाई पुज्नू र चिन्नू भन्दै उपदेश- अर्ती दिए। तिनको मृत्यु दण्डको रिकर्ड राख्ने व्यक्तिलाई लगायत त्यहाँ भेला भएका धेरैजसो मानिसहरूलाई बेन्नट एक असल मानिस थिए, तिनी परमेश्वरका सेवक थिए भन्ने कुरामा विश्वास भयो।
विलियम टिण्डेल
विलियम टिण्डेल वेल्सको सिमानामा जन्मेका थिए, अनि अक्सफोर्ड यूनिभर्सिटी/विश्वविद्यालयमा पढेका थिए। तिनले त्यहाँ भाषाहरू, आर्टस् र पवित्र शास्त्र अध्ययन गरे। अझै क्याम्ब्रिज यूनिभर्सिटीमा अध्ययन गरेपछि तिनी ग्लोस्टर - प्रान्तका उच्च कुलीन व्यक्ति लर्ड वेल्चका छोराछोरीहरूको शिक्षक भए।
लुथर र इरास्मसका पुस्तकहरू, साथै धर्म - शास्त्र बाइबलको सम्बन्धमा प्रश्नहरूको बारेमा तर्क-वितर्क गर्न मठ-अध्यक्षहरू, डीनहरू, आर्च -डिकनहरू र अन्य सुशिक्षित व्यक्तिहरू लर्ड वेल्चकहाँ आउँथे। तिनीहरूका विचारहरूसित मेल नखाँदा जो प्रायः हुन्थ्यो–टिण्डेल कहिल्यै आफ्नो विचारधाराको विषयमा बाइबलको आधारमा सफाइ दिन हिच्किचाएनन्। एक साँझ बेलुकीको खाना खाने निम्तोमा भाग लिएर घर फर्केपछि लर्ड र लेडी वेल्चले त्यस खानाको समयमा भइरहेका कुराकानी र तर्कहरूको बारेमा टिण्डेललाई भने। टिण्डेलले कुरा स्पष्ट गर्दै तिनीहरूलाई उत्तरमा के भने भनेः तिनीहरूले सुनेको सबै कुरा भूल थियो। तिनका कुरा बीचैमा काटेर लेडी वेल्चले भनिन्ः 'त्यहाँ एउटा डाक्टर थिए, जसले एक सय पाउण्ड (अंग्रेजी पैसा) खर्च गर्न सक्थे; अर्को थिए, जसले सजिलैसित दुई सय पाउण्ड खर्च गर्न सक्थे र तेस्रोचाहिँ थिए, जसले तीन सय पाउण्ड खर्च गर्न सक्थे। हामीले त्यस्ताहरूलाई विश्वास नगरेर कसरी तिमीलाई विश्वास गर्नु?'
त्यस बेला टिण्डेलले इरास्मसको 'द म्यानुअल अफ अ क्रिश्चियन सोल्जर' नामक पुस्तक उल्था गर्दैथिए। त्यो पूरा उल्था गरिसकेपछि तिनले त्यसको एउटा कापि लर्ड र लेडी वेल्चलाई दिए। एकपल्ट खरखर त्यो पुस्तक पढिसकेपछि ती दुईजनाले मण्डलीका गुरुजनहरूलाई उप्रान्त खूबै कम भेटघाट गर्न थाले।
चाँड़ै त्यस अञ्चलका पुरोहितहरू होटेल-भोजनालयहरूमा र अन्य स्थानहरूमा टिण्डेलको बारेमा चुक्ली लाउन थाले। तिनीहरू भन्थे कि तिनका लेखहरू विधर्मी छन्। यसो भन्दै र कुरा थप्दै तिनीहरू टिण्डेललाई लगाएका दोषहरू सत्य हुन् भनी प्रमाण गर्न चाहन्थे। टिण्डेललाई बिशपका सचिवको सामु डाकियो, धम्काइयो र धेरै कुराहरूको अभियोग तिनीमाथि लगाइयो, तर तिनलाई कुनै चोटपटक नलगाई त्यस ठाउँबाट अरू कतै जाने अनुमति दिइयो।
त्यसपछि टिण्डेलले त्यो ठाउँ तिनले छोड़ेकै असल हुनेछ भनी निर्णय गरे; अनि लण्डनका बिशप कथ्बर्ट टन्स्टलसित कुनै पहिचान गरेर काम गर्ने मौका पाइन्छ कि भन्ने आशामा तिनले लण्डनतिर यात्रा गरे। त्यसो गर्न असमर्थ हुँदा तिनी जर्मनीतिर लागे।
टिण्डेलले केही हदमा जोन फ्रिथको प्रभावमा के निर्णय गरेका थिए भने पवित्र - शास्त्रको इमानदार र पूर्ण व्याखाको निम्ति मण्डलीका गुरुजनहरूमाथि भर पर्नुको सट्टामा मानिसहरू आफैले बाइबल - शास्त्र पढ्न सक्ने हुनुपर्छ। तिनको विश्वासमा, मानिसहरूले केही नजानेका हुनाले नै मण्डलीका गुरुजनहरूले गरिल्याएका भ्रष्टाचार अहिलेसम्म सहन गरेका छन्–अनि मण्डली पनि तिनीहरूलाई राम्रो शिक्षा दिन तत्पर थिएन, नत्रता मण्डली आफ्नो अधिकार र सुविधाहरू गुमाउँछ भन्ने जोखिममा पर्नेथियो।
१५२६ सालमा टिण्डेलले नयाँ नियम बाइबलको आफ्नो अंग्रेजी अनुवाद छापेर निकाले, अनि पुरानो नियमको अनुवाद पनि शुरु गरे हरेक पुस्तकको प्रस्तावना/भूमिका पनि लेखेर। त्यसबाहेक तिनले 'द विकेड म्याम्मन' र ‘द प्राक्टिस अफ प्रिलेट्स' नामक पुस्तकहरू छापेर निकाले, र तीनका केही प्रतिहरू इङ्गल्याण्डमा पठाए।
जर्मनी र सेक्योनीयमा गएर तिनले लुथर र अन्य विद्वान व्यक्तिहरूसित भेट गरे; त्यसपछि तिनी अन्तमा नेडरल्याण्डको एन्ट्वर्पमा बसोबासो गर्न लागे।
जब तिनका पुस्तकहरू, विशेषतः नयाँ नियम बाइबल इङ्गल्याण्डमा चारैतिर पढ़िन थाल्यो, त्यहाँ बिशपहरू र धर्माधिकारीहरूले भएभरको शक्ति प्रयोग गरेर ती सबै पुस्तकहरूको भर्त्सना र निन्दा गरे, अनि तिनमा भएका 'भूलहरू' देखाउन थाले। १५२७ सालमा तिनीहरूले राजालाई इङ्गल्याण्डमा टिण्डेलका पुस्तकहरूमाथि प्रतिबन्ध लाउन मनाइछोड़े।
त्यसै समयमा लण्डनका बिशप कथ्बर्ट टन्स्टलले ती अनुवाद गरिएका पुस्तकहरू जनसाधारणको हातमा पर्नदेखि रोक्ने कुनै एउटा उपाय निकाल्न सर थोमस मोरसित मिलेर काम गरे। त्यसो गर्दा अगस्टीन प्याकिङ्गटन नामक एक अंग्रेज व्यापारीसित बिशप जान - पहिचान भयो।
प्याकिङ्गटन गुप्त प्रकारले टिण्डेललाई समर्थन गर्थे, र तिनले बिशपलाई 'यदि बिशपले मलाई किन्ने पैसा दिए, अर्को संस्करणको प्रत्येक अनुवादित बाइबल किनेर म बिशपलाई दिनेछु' भनी वचन दिए। जब बिशप पैसा दिन राजी भए, तब प्याकिङ्गटनले त्यो बरताव टिण्डेललाई स्पष्टसित बताए। चाँड़ै बिशपले मागेका पुस्तकहरू पाए, प्याकिङ्गटनको नाम चल्यो, र टिण्डेलले जम्मै पैसा पाए। त्यस पाएको पैसाबाट केही अंश लिएर तिनले नयाँ संस्करण छापिनिकाल्न र पानी-जहाजमा इङ्गल्याण्डमा पठाउन प्रयोग गरे। रहेको पैसाले टिण्डेललाई केही समयसम्म सहायता भयो।
टन्स्टलले खुलेआम तिनले किनेका जम्मै पुस्तकहरू जलाए। तिनको यस काममा जनसाधारण साह्रै बेखुशी भए; यहाँसम्म कि चर्चले अब आफ्नै, कुनै भूल नभएको बाइबलको नयाँ अनुवाद-संस्करण निकाल्ने प्रतिज्ञा गरयो। तर यस प्रतिज्ञाअनुसार कुनै काम भएन। वास्तवमा, १५३० सालको मई महिनामा चर्चले अब यस्तो अनुवाद गर्ने कुनै आवश्यकता छैन भनी घोषणा गरयो। यस्तो घोषणा दिएपछि टिण्डेलका पुस्तकहरूको बिक्री भकाभक हुन थाल्यो।
टिण्डेललाई अन्तमा सम्राटले एन्टवर्पमा पक्रे, तिनका जम्मै पुस्तकहरू पनि कब्जा गरे; तब सम्राटले अग्सबर्गमा निकालेका आदेशअनुसार तिनलाई मृत्यु - दण्ड नदिइएसम्म टिण्डेल प्रायः डेढ़ वर्ष कैद गरिए। १५३६ सालमा भिल्भोर्डेन भन्ने ठाउँमा तिनी एउटा खाँबामा बाँधिएर तिनको घाँटी दबाइयो र तिनलाई जलाइयो। तिनी यसो भन्दै मरे: ‘हे प्रभु, इङ्गल्याण्डका राजाका आँखा खोलिदिनुहोस्!'
जोन ल्याम्बर्ट
जोन ल्याम्बर्ट बिल्नीद्वारा प्रभुलाई पाएका व्यक्ति थिए। तिनी त्यस बेलाको सतावटबाट बाँच्नको निम्ति विदेश भागे। विदेशमा तिनी टिण्डेल र फ्रिथसित मिलेर एन्ट्वर्पमा भएका ब्रिटिशहरूका च्याप्लेन भई काम गरे। प्रायः एक वर्षपछि तिनी १५३२ साल बन्दी भए। पैंतालीसओटा दोषारोपनको उत्तर दिन तिनी लण्डनमा क्यान्टरबरीका आर्च बिशप वारहामको सामु पेस गरिए, तर अगस्ट १५३२ सालमा आर्च बिशप मरे, र ल्याम्बर्ट छोड़िए।
यो घटना राजा अष्टम् हेनरीको शासन - कालमा भएको थियो; इङ्गल्याण्डका मठहरू भत्काइएको र राजाले रानी केथरीन्सित विवाह- विच्छेद गरेर फेरि विवाह गरेको केही समयपछिको कुरा हो। त्यस समयमा सुसमाचारका समर्थकहरू आफ्ना विश्वास मान्न सुरक्षित थिए।
बन्धन - मुक्त भएपछि ल्याम्बर्ट लण्डन फर्केर ग्रीक र ल्याटिन भाषाका शिक्षक भए। १५३८ सालमा तिनी सेन्ट पीटर्स चर्चमा डाक्टर टेलरले प्रचारेको उपदेश सुन्न उपस्थित थिए। डाक्टर टेलर प्रोटेस्टेन्ट थिए, जो कालान्तरमा लिन्कल्न -प्रान्तका बिशप भए, अनि रानी मेरीको राज्य- कालमा मरे। उपदेश समाप्त भएपछि ल्याम्बर्ट प्रभु -भोजको सम्बन्धमा कति कुरामा आफ्नो असहमति प्रकट गर्न डाक्टर टेलरकहाँ गए।
ल्याम्बर्टलाई सन्तोष पार्ने प्रयासमा टेलरले त्यस विषयमा डाक्टर बार्नससित विचार-विमर्श गरे। डाक्टर बार्नस सुसमाचार प्रचार गर्ने पक्षमा थिए, तर त्यो विषय उठाउँदा त्यस समयमा सुसमाचारको प्रचारमा बाधा आउन सक्छ भनी उनले सम्झे। यसकारण उनले टेलरलाई यस विषयमा आर्च-बिशप क्रान्मरसित कुरा गर्ने सल्लाह दिए।
दुई व्यक्तिको बीचको आपसी कुराकानी अब यसरी यति छिटो सार्वजनिक विषय हुन पुग्यो। क्रान्मरले प्रभु भोजको विषयमा आफ्नो विचार बदल्दैथिए। यसकारण उनले ल्याम्बर्टलाई आफ्नो मामलाको विषयमा/मुकदमा सफाइ दिन खुला अदालतको सामु आउनू भने। त्यस सभामा के-कसो भयो, सो हामीलाई थाह भएन; तर उनीहरूको बीचमा यस विषयबारे असहमति भयो भन्ने होहल्ला सारा न्याय -सभामा फैलियो।
विन्चेस्टरका बिशप स्टिफन गार्डिनर राजाका सल्लाहकार थिए। तिनी निर्दयी र धूर्त थिए; तिनी सधैं सुसमाचारमा बाधा दिने उपाय खोजिरहने व्यक्ति थिए। तिनी राजा हेनरीकहाँ गएर निम्न कति कारणवश मानिसहरूले राजालाई घृणा गर्छन् भनी भने: मठहरू भत्काएको, पोपको अधिकार समाप्त गरेको र पत्नीलाई विवाह-विच्छेद गरेको हुनाले। 'तर यदि राजाले मानिसहरूलाई अझ पनि विधर्मीहरूलाई दण्ड दिइन्छ भन्ने कुरा देखाए भने राजा हेनरीले मानिसहरूमा आफ्नो लोकप्रियता फेरि प्राप्त गर्नेछन्', गार्डिनरले भने। राजा झट्टै सहमत भए; उनी आफैले व्यक्तिगत रूपले देशको प्रत्येक विधर्मीको न्याय गर्नेछु भनी भने।
ल्याम्बर्टलाई हेनरीद्वारा न्याय गरिनको निम्ति सिपाहीहरूले घेरेर झ्यालखानाबाट ल्याए। सभामा सारा उच्च कुलीन व्यक्तिहरू र बिशपहरू उपस्थित थिए। बोल्ने अनुमति दिइएपछि ल्याम्बर्टले यसो भने: 'हजुर धार्मिक मामलाहरू सुन्न इच्छुक हुनुभएकोमा म खुशी छु किनकि हजुर एक असल न्यायिक विवेक र ज्ञान भएका राजा हुनुहुन्छ।'
'म यहाँ मेरो प्रशंसा गरिएको सुन्न आएको होइनँ। खास कुरा सोझै बताऊ,' भनेर हेनरीले बीचमै कुरा काटेर भने।
राजाका खस्रा शब्दहरू सुनेर छक्क पर्दै ल्याम्बर्ट चुपचाप बसे। 'तिमी किन त्यहाँ त्यसै उभिरहेको छौ?' हेनरीले कर गर्दै प्रश्न गरे; ‘अल्टरमा राखिएको प्रभु-भोजको सामाग्री ख्रीष्टकै शरीर हो कि होइन?'
'म सन्त अगस्टीनसित सहमत छु। त्यो सामाग्री केही दृष्टिकोणले ख्रीष्टको शरीर हुन सक्छ,' ल्याम्बर्टले भने।
'सन्त अगस्टीन वा अरू कसैको कुरा गरेर मलाई उत्तर नदेऊ! भन, तिम्रो भनाइ के छ?' हेनरीले ल्याटीनमा ल्याम्बर्टलाई भने।
'त्यसो हो भने त्यो ख्रीष्टको शरीर हो भन्ने कुरा म अस्वीकार गर्छु।'
हेनरीले त्यो प्रश्न अब क्रान्मरतिर तेर्साए। क्रान्मरले विन्चेस्टरका बिशप गार्डिनर साथै डरहामका बिशप टन्स्टलसित मिलर ल्याम्बर्टको विचार परिवर्तन गर्ने प्रयत्न गरे।
ल्याम्बर्टलाई हार खानुपर्यो। शक्तिशाली व्यक्तिहरूको उपहास र धम्कीहरूको घेरोमा पर्दा राजाको उपस्थितिले र त्यस ठाउँमा भएको महामहिमले चकित हुँदा तथा पाँच घण्टा उभिएकोले थकित हुँदा ल्याम्बर्ट नि:शब्द/मौन भए।
आखिरमा त्यो दिन बित्यो। राजा हेनरीले एकपल्ट फेरि ल्याम्बर्टतिर फर्केर भनेः 'यी विद्वानहरूका कुरा सुनेपछि अब तिमी के भन्छौ त? के तिमी खुशी छौ। तिमी बाँच्छौ कि मर्छौ? तिमी के भन्छौ? जस्तो मन लाग्छ, त्यस्तै गर!'
ल्याम्बर्टले उत्तर दिए: 'म आफैलाई सम्पूर्ण तवरले तपाईंको हातमा सुम्पन्छु, आत्मसमर्पण गर्छु।'
'आफैलाई मेरो हातमा होइन, परमेश्वरको हातमा समर्पण गर, ' राजाले उत्तरमा भने।
‘म मेरो आत्मा परमेश्वरको हातमा सुम्पन्छु, तर मेरो शरीरचाहिँ तपाईंको दयालु हातमा समर्पण गर्छु।'
'तिमीले आफैलाई मेरो न्यायको सामु अर्पण गर्छौ भने, तिमी मर्नेछौ। म विधर्मीहरूको संरक्षक हुँदिनँ नै,' हेनरीले भने। तब राजाले प्रोटेस्टेन्टहरूका प्रमुख मित्र क्रमवेलतर्फ फर्केर भनेः 'क्रमवेल, यिनको विरुद्धमा दिइएको दण्ड - आज्ञा पढ़ेर सुनाऊ!'
विन्चेस्टरका बिशपको परामर्शमा शैतानले टेलर, बार्नस, क्रान्मर र क्रमवेलजस्ता तिनका प्रोटेस्टेन्ट साथी-भाइहरूद्वारा ल्याम्बर्टलाई अपराधी ठहराउने काम गरयो। यी जम्मै मित्रहरूले पछिबाट सुसमाचारको निम्ति कष्ट भोगे। स्मिफिल्ड भनिने ठाउँमा जलाइएकाहरूमध्ये ल्याम्बर्टलाई जस्तो निर्दयता गरियो, त्यस्तै अरू कसैलाई गरिएको थिएन।
तथापि पीड़ा र कष्टको बीचमा आफ्ना जल्दै र बिग्रँदै गरेका हातहरू उठाउँदै तिनले ठूलो सोरले कराउँदै मानिसहरूलाई भनेः 'अरू कसैलाई होइन, तर ख्रीष्टलाई! अरू कसैलाई होइन, तर ख्रीष्टलाई! '