संसारका ख्रीष्टिय शहिदहरू
अध्याय ५
रोबर्ट बार्नस
लुभेन यूनिभर्सिटीबाट स्नातक उपाधि प्राप्त गरेपछि रोबर्ट बार्नस क्याम्ब्रिजमा अगस्तिनीहरूको मठ-अधिकारी र अधिपति बनाइए। त्यस समयमा क्याम्ब्रिजमा साहित्यको विषयमा कम्ती सिकाइन्थ्यो। तर बार्नसले साहित्यको अध्ययन-कार्य शुरु गरेर बढ़ाए, अनि टेरेन्स, प्लटस, सिसेरो र अरू लेखकहरूका साहित्यहरूसित परिचित भएका धेरै शिक्षित जवान मानिसहरूलाई तयार गरे। साहित्यको अध्ययन सुव्यवस्थित भएपछि बार्नसले प्रेरित पावलका पत्रहरू सिकाउने काम शुरु गरे, अनि मण्डलीका निम्ति धेरै असल मानिसहरूलाई प्रस्तुत गरे।
आफ्ना अध्ययन, तर्क-वितर्क र प्रचारद्वारा बार्नस तिनको धर्म- शास्त्रीय ज्ञानमा प्रसिद्ध भए; तिनले सधैँ बिशपहरू र लोकाचारीहरूको विरुद्धमा प्रचार गरे, तथापि तबसम्म मण्डलीको मूर्तिपूजामा समर्थन दिन रोकेनन्, जबसम्म श्री बिल्नीद्वारा तिनी प्रभुमा आएनन्।
बार्नसले एक प्रोटेस्टेन्टको रूपमा क्याम्ब्रिजको सेन्ट एड्वर्ड चर्चमा आफ्नो पहिलो उपदेश प्रचार गरे र लगत्तै तिनलाई विधर्मी भनी दोषारोपन गरियो। कार्डिनल वोल्सीको अघि पेस गरिँदा तिनलाई तिनका मित्रहरूले शपथ खाएर आफ्नो मत त्याग गर्न लाए, अनि तिनले डेढ़ वर्ष झ्यालखानामा थुनिनुभन्दा पहिले सेन्ट पल्स गिर्जामा सबैको सामुन्ने प्रायश्चित्त गरे। झ्यालखानाबाट छुट्टिएपछि बार्नस एउटा छुटकारा दिइएको कैदीको रूपमा लण्डनका ओस्टिनी मठवासीहरूकहाँ पठाइए, तर तिनी- हरूले झट्टै तिनको विरुद्धमा अझ धेरै आरोपहरू लगाए; तब तिनलाई एन्ट्वर्पमा लुथरकहाँ भागिजान कर लाग्यो।
एन्ट्वर्पमा हुँदा तिनी लुथर, मेलाङ्कथन, सेक्सोनीयका ड्यूक र डेन्मार्कका राजाका मित्र बन्न पुगे, जसले तिनलाई लुबेकीहरूसित अष्टम् हेनरीकहाँ राजदूतको रूपमा पठाए। सर थोमस मोरले बार्नसलाई तिनी देशभित्र छँदै पक्रन चाहन्थे, तर राजाले तिनलाई त्यसो गर्न दिएनन्; किनभने राजाका मित्र र सल्लाहकार रहेका क्रमवेल प्रोटेस्टेन्टहरूका रक्षक भएका थिए। बार्नसलाई बिशपहरूसित वाद-विवाद गर्ने र जहिले मन लाग्छ, तहिले देश छोड्ने अनुमति दिइएको थियो। तिनी आफ्ना पुस्तकहरू प्रकाश गर्नलाई लुथरकहाँ विटेम्बर्गमा आए; त्यसपछि रानी एन्न् बोलिनको राज्यकालको शुरुमा इङ्गल्याण्डमा फर्किगए; जहाँ तिनी एक खूबै आदरणीय प्रचारक भए।
स्टीफन गार्डिनर फ्रान्सबाट आइपुग्ने बित्तिकै प्रोटेस्टेन्टहरूमाथि फेरि पनि सङ्कष्ट आइपरयो। त्यस समयदेखि प्रोटेस्टेन्ट - धर्मले दुःख पायो - रानी एन्न् र क्रमवेलले पनि दुःख पाए। बार्नस लण्डन टावरमा, क्रमवेलको देहान्त भएको दुई दिनपछि अर्थात् जुलाई ३० तारिखमा नजलाइएसम्म कैद गरिएर राखिए। अरू दुईजना प्रोटेस्टेन्टहरू पनि तिनीसितै जलाइए - जेर्राण्ड र जेरोम, अनि अरू तीनजना क्याथोलिकहरू पनि तिनीसँग जलाइए। एउटै समयमा प्रोटेस्टेन्ट र क्याथोलिक दुवैले आफ्नो विश्वासको खातिर दण्ड पाएको देखेर सारा देशका जनताहरू अन्योलमा परे। तर यो त राजाको राज्य सभामा आधा भाग क्याथोलिक र अर्को आधा भाग प्रोटेस्टेन्ट भएको कारणले तिनीहरूको बीचमा भएको फूटको राजनैतिक परिणाम थियो।
६ सूत्रको विधान
१५३६ सालमा अष्टम् हेनरीको उकसाइमा संसद्ले ६ सूत्रको विधान पारित गरयो। यस विधानले पुरोहिती अविवाहित जीवन र प्रभु- भोजको तत्त्व - परिवर्तनको सम्बन्धमा क्याथोलिक सिद्धान्तहरू कायम राख्यो। यो विधान भङ्ग गरेमा मृत्यु - दण्ड दिइनेथियो; विरोधी मत त्यागेर उम्कने मौका पनि दिइएको थिएन; तर १५४४ सालमा संसद्ले यो विधान केही हल्का बनायो। दुईपल्टसम्म आफ्नो विरोधी मत त्यागेर प्रायश्चित्त गर्ने सुविधा दिइयो, तर तेस्रो पल्ट पनि यस्तै दोष भएमा मृत्यु - दण्ड नै दिइने भयो।
यसै समयमा संसद्ले यो ६ सूत्रको विधान भङ्ग गर्ने टिण्डेलका जम्मै पुस्तकहरू र गीतहरू, नाटकहरू र अंग्रेजीमा लिखित पुस्तकहरू जम्मैमा प्रतिबन्ध अर्थात् नबेच्ने र नपढ़ने आदेश लगायो। सबै स्त्रीहरू, कारिगरहरू, काम सिक्ने प्रशिक्षित व्यक्तिहरू, यात्रा गर्नेहरू, नोकर- चाकरहरू, बस्तीवालहरू, खेतीवालहरू र श्रमिकहरूका निम्ति बाइबल राख्न र पढ्न बन्द गरियो। उच्च कुलीन व्यक्तिहरू र तिनीहरूका पत्नीहरूलाई चाहिँ बाइबल पढ्ने अनुमति दिइयो, तर त्यसलाई एकान्तमा पढ़िनुपर्थ्यो र व्याखा गर्न पाउँदैनथियो।
६ सूत्रको विधानले विधर्मी भनी दोष लाइएको कुनै पनि व्यक्तिलाई आफ्नो विरुद्धमा लगाइएका गवाहीहरूको संख्या बराबरको संख्यामा वा त्यसभन्दा पनि धेरै संख्यामा आफ्नो पक्षमा बोल्ने गवाहीहरू ल्याउन पाउने भयो। अघि कहिल्यै कसैलाई विधर्मीहरूको न्याय - जाँचमा यस्तो गर्ने अनुमति दिइएको थिएन।
कर्बी र क्लार्क
कर्बी र क्लार्क १५४६ सालमा इस्विचमा पक्रा परे, र न्यायिक जाँचको निम्ति लर्ड वेन्ट्वर्थ र अरू अधिकारीहरूको सामु ल्याइए। त्यस समयमा तिनीहरूलाई 'तिमीहरू प्रभु - भोजको तत्त्व - परिवर्तनमा विश्वास गर्छौं कि गर्दैनौ' भनी सोधियो। हामी विश्वास गर्दैनौं भनी स्वीकार गर्दै दुवैले के भने भने : ख्रीष्टले त्यो अन्तिम भोज पापको क्षमाको निम्ति क्रूसमा भएको उहाँको मृत्युको सम्झनाको निम्ति स्थापना गर्नुभएको थियो; यस पवित्र विधिमा साँच्चीकै देह र रगत हुने कुरा थिएन।
कर्बीलाई भोलिपल्ट इस्विचमा जलाइने दण्ड - आज्ञा दिइयो; क्लार्कचाहिँ आउँदो सोमबार बरी भन्ने ठाउँमा जलाइने भयो। दण्ड-आज्ञा सुनेपछि कर्बी भक्तिसाथ निहुरे, आफ्नो हातहरू उचालेर 'सर्वशक्तिमान् परमेश्वरलाई प्रशंसा होस्' भनी घोषणा गरे।
भोलिपल्ट कर्बी बिहान १० बजे बजारको बीचमा ल्याइए, जहाँ खाँबा, दाउरा र पराल ठीक पारिएका थिए। तिनले कमेजबाहेक पहिरेका अरू लुगा फुकाले; अहिलेसम्म राति ओढ्ने टोपी लाइराखेकै थिए; र तिनलाई फलामको साङलाले खाँबामा बाँधियो। लर्ड वेन्ट्वर्थ लगायत प्राय: दुई हजार मानिसहरू त्यहाँ उपस्थित थिए। डाक्टर रुग्हामले उपदेश दिए; रुग्हामको कुरासित सहमत वा असहमत हुँदा कर्बीले आफ्नो टीका- टिप्पणी भेला भएका मानिसहरूलाई सुनाए; त्यसपछि तिनलाई प्रार्थना गर्ने समय दिइयो। तिनको प्रार्थनाले लर्ड वेन्ट्वर्थलाई लगायत सबैलाई प्रभाव पाश्यो। सबैका आँखामा आँसु थियो। आगो सल्काइयो; कर्बीले छाती पिट्दै र सकेसम्म मास्तिर हातहरू उठाउँदै परमेश्वरलाई पुकारे। उपस्थित भएका सबैले कर्बीको अन्तिम घडीसम्मको विश्वासयोग्यताको निम्ति परमेश्वरलाई स्तुति - धन्यवाद चढ़ाए।
आउँदो सोमबार रोजर क्लार्कलाई बरीमा जलाइने ठाउँमा ल्याउँदै गर्दा बाटोमा एउटा प्रभु-भोजको पातलो बिस्कुटरूपी रोटी बोक्दै लाने जात्रासित उनीहरूको भेट भयो। क्लार्कले त्यो लस्कर तिनीबाट पार गइरहेको बेलामा निहुर्न वा टोपी खोल्न मानेनन्; तर बरु जोड़सित यस्तो मूर्तिपूजा गरेको खातिर भीड़लाई हप्काउँदै तिनले वरिपरिका अधिकारीवर्गलाई रिस उठाइरहेका थिए।
अष्टम् हेनरीको मृत्यु
धेरै दिन रोगले ग्रस्त भएर १५४७ सालको जनवरीको अन्ततिर राजा हेनरी मर्दैछन् भन्ने कुरा तिनका डाक्टरहरूलाई पक्का थाहा भयो। राजाले आफ्नो स्वास्थ्यको अवस्था थाहा पाउनुपर्छ भनी तिनीहरूले बुझे, तर कसैलाई सो भन्ने आँट भएन। राजालाई बिग्रिँदो स्वास्थ्यको बारेमा जानकारी दिने भार मास्टर डेन्नीलाई दिइयो, जसले साहसपूर्वक राजा हेनरीलाई भने: 'हजुर, तपाईं मर्दै हुनुहुन्छ'; साथै तिनले उनलाई अनुग्रह र कृपा पाउनको निम्ति ख्रीष्टमाथि भरोसा राखेर परमेश्वरलाई पुकार्दै मृत्युको निम्ति तयार हुने आग्रह गरे।
राजाले डेन्नीको कुरा सुनेर आफ्ना पापहरू सम्झेर पश्चात्ताप गरे, तथापि अन्तमा उनले यसो भने: 'हो, ख्रीष्टको अनुग्रह मेरा जम्मै पापहरू क्षमा गर्न पर्याप्त छ - ती मेरा पापहरू धेरै खराब र घृणित भए ता पनि।' हेनरीले त्यस्तो विचार गरेकोमा खुशी हुँदै डेन्नीले उनलाई 'के तपाईं कसैसित बोल्न चाहनुहुन्छ' भनी सोधे। हेनरीले भनेः 'म डाक्टर क्रान्मरसित भेट गर्न चाहन्छु।' तर डाक्टर क्रान्मर आइपुग्ने बेलासम्ममा हेनरी बोल्न नसक्ने भइसकेका थिए, र अलि-अलि मात्र होशमा थिए। जे भए पनि राजा हात पसारेर क्रान्मरको हात पक्रन सबल भए। क्रान्मरले राजालाई ख्रीष्टमाथि भरोसा गर्ने र उहाँको अनुग्रह पाउन दुहाई गर्ने अनुरोध गरे; अनि हेनरीले त्यसै गर्दैछु भन्ने सङ्केत गर्दै क्रान्मरको हात दबाए; त्यसपछि उनी मरे। हेनरीले सैंतीस वर्ष नौ महिना राज्य गरेका थिए, अनि एड्वर्ड, मेरी र एलिजाबेथ तीनजना छोराछोरीहरूलाई छोडिराखे।
पेट्रीक हेमिल्टन
प्रथम स्कटीश शहीद थिए - पेट्रीक हेमिल्टन। तिनी फर्न भन्ने ठाउँको मठको अध्यक्ष थिए। तिनका बाबु सर पेट्रीक हेमिल्टन किन्केभिलका बासिन्दा थिए। तिनकी आमा अल्बानीका ड्यूककी सुपुत्री केथरिन् स्टेवर्ट थिइन्। जवान हेमिल्टनले सेन्ट एण्ड्रूज विद्यालयमा जोन मेयरका स्वतन्त्र - उदार दर्शन - शास्त्रमा शिक्षा प्राप्त गरेका थिए; त्यसपछि तिनले लुथरका पुस्तकहरू पढ़ेका थिए। तिनी उदार - चित्तका छन्, र तिनले सारा हृदयले प्रोटेस्टेन्ट धर्म - विज्ञान ग्रहण गरेका छन् भनी प्रायः सबैले जानेका थिए। तर तिनी माण्डलिक सभासद्को सामु बोलाइँदा भागेर विटेम्बर्ग गए।
विटेम्बर्गमा हेमिल्टन लुथर र मेलाङ्कथनका मित्र भए, जसले तिनलाई मार्ग यूनिभर्सिटी/विश्यविद्यालयका अध्यक्ष ल्याम्बर्टकहाँ पठाए। ल्याम्बर्टले हेमिल्टनलाई प्रोटेस्टेन्ट सिद्धान्तहरूको बारेमा अझ धेरै शिक्षा दिए, र त्यस शिक्षाले तिनमा ठूलो परिवर्तन ल्यायो। पहिले तिनी सन्देह गर्ने र डरपोक थिए; तर अब तिनी साहसी, प्रायः जल्दबाजी गर्ने भए। अनि तिनले स्कटल्याण्ड फर्कने र प्रोटेस्टेन्ट - विश्वास प्रचार गर्ने निर्णय गरे।
१५२७ सालमा तिनी स्कटल्याण्ड आइपुगे, अनि पक्रा पर्नु र कैद गरिनुभन्दा पहिले केही समयको निम्ति खुल्लमखुल्ला मानिसहरूलाई भाषण दिए। २८ वर्ष मात्र पुगेका व्यक्ति, तिनको युवा अवस्था र तिनका खूबै मनमोहक, भद्र स्वभावले प्रभाविक हुँदा धेरैजस्ता मण्डलीका अगुवाहरूले हेमिल्टनको मन परिवर्तन गर्ने प्रयत्न गरे - कम्तीमा तिनलाई आफ्नो विश्वासको प्रचार गर्नदेखि रोक्न र मण्डलीलाई व्याकुल नपार्न प्रयास गरे। तर हेमिल्टन एकदमै स्थिर भई बसे, यहाँसम्म कि तिनको कोठरीमा आइरहने एलेश नाम भएका क्याथोलिक पुरोहितलाई तिनले प्रोटेस्टेन्ट बनाए। समयमा आफ्नो नयाँ विश्वासको निम्ति सतावट सहेर एलेश जलाइए।
फाँसीको तख्तामा चढ़ेपछि हेमिल्टनले आफूले लाएका लुगाहरू आफ्नो नोकरलाई दिएर तिनलाई सान्त्वना दिँदै भनेः 'प्रिय भाइ, म जुन सङ्कष्ट भोग्न लागेको छु, सो यस शरीरको लागि दुःखमय र भयानक छ; तर याद राख, यो त अनन्त जीवनको द्वार हो, जुन जीवन प्रभुलाई इन्कार गर्नेहरूले पाउनेछैनन्।' फाँसी दिने जल्लादले आफ्नो काम ठीकसँग गर्न नसक्दा हेमिल्टनले लामो समयसम्म दुःख भोग्नुपरयो, तापनि तिनी आफ्नो छेउमा उभिएका मानिसहरूलाई प्रचार गर्न रोकिएनन्। 'कहिलेसम्म हे परमेश्वर, यो राज्य अन्धकारले ढाकिराख्नेछ? कहिलेसम्म तपाईं यो निरङ्कुश शासन चल्न दिनुहुन्छ?' भन्दै तिनी कराए। 'येशू प्रभु, मेरो आत्मा ग्रहण गर्नुहोस्' भनेर आफ्ना ओठले उच्चारण गर्दै तिनी मरे।
हेनरी फर्रेस्ट
पोट्रीक हेमिल्टनको मृत्यु भएको केही वर्षपछि हेनरी फर्रेस्टले 'हेमिल्टन एक शहीद थिए, र तिनले जे घोषणा गरे, सो सत्य थियो' भन्ने प्रचार गरे। तिनी सेन्ट एण्ड्रूज चर्चका आर्च बिशप जेम्स बीटनद्वारा झ्यालखानामा हालिए। आर्च बिशपले मठवासी वाल्टर ल्याण्डलाई फर्रेस्टको पाप - स्वीकार सुन्न झ्यालखानामा पठाए। तिनको कथित गुप्ति पाप-स्वीकारमा फर्रेस्टले हेमिल्टन र तिनले गरेका सबै काममा भएको आफ्नो विश्वास स्वीकार गरे। त्यो मठवासी झट्टै बिशपकहाँ गएर फर्रेस्टले स्वीकार गरेका सबै कुरा बताए, जुन कुराहरू तिनको न्यायिक जाँच हुँदा प्रयोग गरिए।
मृत्यु-दण्ड दिइने दिनमा चर्चका अधिकारीहरूको सामु फर्रेस्टलाई चर्चले दिएका सबै पदहरू खोसियो; त्यति बेला तिनले ठूलो सोरले कराएर भने: 'झूटोपनलाई हाय! झूटा मठवासीहरूलाई हाय! पाप - स्वीकार गर्दा भनेका कुराहरू प्रकट गर्नेहरू! आजदेखि उसो कसैले कहिल्यै यस्ता मठवासीहरूमाथि विश्वास नगरोस्! तिनीहरू परमेश्वरको वचनको निन्दा गर्छन् र मानिसहरूलाई धोका दिन्छन्।' सेन्ट एण्ड्रूज चर्चको उत्तरपट्टि भएको सिँढीको छेउमा फर्रेस्टले आफ्नो विश्वासपूर्ण साक्षीको निम्ति मृत्यु-दण्ड भोगे।
जेम्स हेमिल्टन, क्याथरिन् हेमिल्टन, स्ट्रेटन र गुर्ली
१५३४ सालमा जेम्स हेमिल्टन, क्याथरिन् हेमिल्टन, डेविड स्ट्रेटन र नोर्मन गुर्लीलाई एडिन्बर्गमा राजा पञ्चम् जेम्सका सम्मुख देखा पर्ने आदेश दिइयो। जेम्स हेमिल्टनलाई आफ्नो भाइ पेट्रीकको विचार ग्रहण गरेकोमा चर्चले दोषारोपन गरेको थियो। राजा जेम्सले तिनलाई केही सहायता गर्न नसकेका हुनाले न्यायिक जाँचको निम्ति उपस्थित नहोऊ भन्ने चेतावनी दिए। राजाले तिनलाई आफ्नो प्राण जोगाउनलाई देश छोड्ने र आफ्ना सबै जग्गाजमिन र सम्पत्ति त्याग्ने सल्लाह दिए।
क्याथरिन् हेमिल्टनचाहिँ जेम्सकी बहिनी र राजा जेम्सकी छ्यामा थिइन्। तिनलाई तिनी कर्महरूद्वारा मुक्ति पाइन्छ भन्ने कुरामा विश्वास गर्दैनन् भन्ने दोष लगाइएको थियो। जोन स्पेन्ट नाम भएको एउटा वकिलसित लामो तर्क गरेपछि क्याथरिन्ले भनिन्ः 'यहाँ काम गर! त्यहाँ काम गर! यो कस्तो किसिमको काम हो? म राम्ररी जान्दछु कि ख्रीष्ट, मेरा प्रभु र उद्धारकर्ताका कामले बाहेक अरू कुनै कामले मलाई मुक्ति मिल्नेछैन।'
तिनको उत्तर सुनेर राजा एकपट्टि फर्केर हाँसे, त्यसपछि तिनलाई आफ्नो छेउमा डाकेर सन्तानको भलाइको निम्ति तिनलाई आफ्नो विचार त्याग्न मनाइछाड़े। त्यसपछि तिनी बन्धन - मुक्त भइन्।
स्ट्रेटन एक असल कुलबाट आएका भलाद्मी थिए, तर तिनले आफ्नो दशांशाको विषयमा मोरे भन्ने ठाउँको बिशपसित झगड़ा गरे। एकदिन चर्चको दशांशा - संग्रह गर्ने अधिकारीहरूले आएर तिनलाई चुनौती दिँदा स्ट्रेटनले आफ्ना नोकरहरूलाई तिनीहरूले पक्रेका माछाहरूबाट १० प्रतिशत माछा समुद्रमा फ्याँक्ने हुकुम दिए, अनि ती दशांशा-संग्रहकर्ताहरूलाई समुद्रमा आफ्नो कर खोज्न जाओ भने। यस घटनापछि तिनी शान्त भए अनि धर्म-सुधारको आन्दोलनको एक सच्चा भक्त भए। विधर्मीको दोष लाउँदा स्ट्रेटनले आफ्नो विश्वास त्यागेनन्, दोष स्वीकार गरेनन्, र १५३४ सालको अगस्ट २७ तारिखमा गुर्लीसँगै जलाइए।
सङ्काय - अध्यक्ष थोमस फर्रेस्ट
हरेक आइतबार डीन/सङ्काय - अध्यक्ष थोमस फर्रेस्टले सुसमाचारबाट उपदेश दिन्थे; यस्तो काम प्रायः मठवासीहरूले मात्र गर्थे। त्यसमा विरोध गर्दै अरू मठवासीहरूले तिनलाई बाइबलका रहस्यमय कुराहरू साधारण मानिसहरूको सामु खुलस्त गरेका, चल्ती भाषामा बाइबल पढेर सुनाएका र पुरोहितवर्गलाई मानिसहरूको दृष्टिमा घृणित पारेका दोषहरू लाए।
डन्केल्डका बिशपले डीन थोमसलाई बोलाए, अनि तिनलाई हरेक आइतबार मानिसहरूलाई प्रचार नगर्ने सल्लाह दिए। यदि तिनी त्यसरी प्रचार गर्न चाहन्छन् भने तिनी मठवासी हुनुपर्छ।
डीन थोमसले उत्तर दिँदै यसो भने: 'सुसमाचारबाट सातामा एकपल्ट मात्र प्रचार गर्दा एकदमै कम्ती हुन्छ।' तर बिशपले दृढ़तापूर्वक भने: 'तिमीहरू प्रचार गर्न अभिषेक गरिएका छैनौ।' बिशपले यस्तो पनि स्वीकार गरे कि तिनी आफैले पनि पवित्र बाइबलका पुरानो नियम र नयाँ नियम जानेका थिएनन्, केवल मासको किताब र धर्माध्यक्षले जान्नुपर्ने पाठहरू जानेकोमा उनी सन्तुष्ट थिए। यसपालि डीन थोमसलाई केही गरिएन - यद्यपि तिनले आफ्नो विचार त्यागेनन्, अनि पवित्र बाइबलबाट प्रचार नगर्ने आदेश मान्न पनि इन्कार गरे।
केही समयपछि डीन थोमसचाहिँ केइलोर र बेभ्रीज नाम भएका दुई मठवासीहरूसँगै, साथै डन्कन सिम्प्सन नाम भएका एक पुरोहित, रोबर्ट फोर्रेस्टर नाम भएका एक सज्जन र तीन - चारजना अरूको साथमा स्टर्लिङ्ग भन्ने शहरदेखि पक्रेर ल्याइए। उनीहरू जम्मैलाई प्रमुख विधर्मीहरू र मानिसहरूलाई झूटा कुराहरू सिकाउने शिक्षकहरू हुन् भन्ने दोष लगाइयो; यिनीहरूमा कसैलाई पनि आफ्नो विचारधारा वा विश्वास त्याग्ने मौका दिइएन। उनीहरूको विरुद्ध लगाइएको मुख्य दोष यही धियोः उनीहरू एउटा पुरोहितको विवाहमा उपस्थित थिए, अनि त्यस विवाहमा अर्थात् ईष्टरको ४० दिनअघिदेखि कायम राखेको उपवासको समयमा मासु खाए। १५३८ वा १५३९ सालको फेरवरीमा उनीहरू सबै एडिन्बर्गमा जलाइए।
जर्ज विशार्ट
१५४३ सालमा जर्ज विशार्ट क्याम्ब्रिज यूनिभर्सिटी/विश्वविद्यालयमा पढाउँदैथिए। तिनी एक अग्ला, कता कता उदासी देखिने, कालो केश र लामो दाह्री भएका मानिस थिए। स्कटल्याण्डका आदिवासी भए पनि तिनी एक मनपर्दो, भद्र र शिष्ट मानिस थिए। तिनी यात्रा गर्न, नयाँ कुरा सिकिरहन र सिकाउन खूब मन पराउँथे। तिनी साधारणतः कालो वस्त्र लाउँथे, र प्रायः सधैं आफ्ना पुराना लुगाहरू गरिबहरूलाई दिन्थे।
विशार्ट ख्रीष्ट्यान सद्भावना र परोपकारको निम्ति, साथै सरल र कठोर जीवन-शैली अपनाएको निम्ति प्रसिद्ध थिए। दिनमा तिनी दुईपल्ट मात्र भोजन गर्थे, अनि चार दिनमा एक दिन उपवास बस्थे। तिनी परालको डसनामाथि पालको च्यादरमा सुत्थे। त्यो च्यादर तिनले ओछ्यान बदली गर्दा अरूलाई दिन्थे।
विशार्ट, तिनको सिद्धान्तको निम्ति पक्रा परे, साङलाले बाँधिएर सेन्ट एण्ड्रू नाम गरेको गढ़ीमा कैद गरिए। सेन्ट एण्ड्रूज चर्चका कार्डिनलको सामु उपस्थित हुन बोलाइएको दिनमा तिनलाई एक सय हात - हतियार बोकेका सिपहीहरूले रक्षा गरेर लगे। एकछिन रोकिएर तिनले आफ्नो पैसाको थैली ढोकाको छेउमा लडिरहेको एउटा गरिब मानिसलाई दिए; त्यसपछि तिनलाई कार्डिनलकहाँ लगियो। डीन जोन विन्राइमले झूटो शिक्षाको विषयमा उपदेश दिन प्रवचन-मञ्चमा चढ़े; तब विशार्ट त्यस मञ्चको छेउमा उभिएर सुनिरहे र अन्तमा जोन लडरले तिनलाई लगाइएका दोषहरू पढ़ेको सुन्नुपर्यो।
मीठो, असल भोजन खाएर मोटाएका पुरोहितले अनुहारभरि पसिना बगाउँदै र भालुले जस्तो मुखभरि फींज काड्दै जम्मै दोष- पत्र पढ़ेर सुनाएपछि उनले जर्ज विशार्टको मोहोडामा थुकेर तिनलाई सोधे: 'यी सबै दोषहरूको बारेमा तेरो भन्नु के छ हँ, तँ विश्वासघाती र चोर!'
मास्टर विशार्टले प्रार्थना गर्नलाई एकछिन प्रवचन - मञ्चमा घुँड़ा टेके, त्यसपछि तिनले शान्त र भद्र प्रकारले उत्तर दिए; तिनलाई निम्न तीन कारणको खातिर आफ्नो सिद्धान्तको व्याखा गर्ने अनुमति मागे:
'पहिलो कारण - परमेश्वरको वचनको प्रचारद्वारा उहाँको महिमा प्रकट गरिन्छ। यसकारण तपाईंहरूले मैले सिकाइरहेको परमेश्वरको शुद्ध वचन सुन्नुहोस्! परमेश्वरको महिमा बढ़ाउनको निम्ति यो यथोचित छ।
दोस्रो कारण तपाईंहरूको उद्धार परमेश्वरको वचनबाट आउँछ। यसकारण तपाईंहरूले मैले परमेश्वरको वचन सिकाएको सुन्नुभएन भने त्यसो गर्न तपाईंहरूको निम्ति अधर्म गनिनेछ।
तेस्रो कारण - तपाईंहरूको सिद्धान्त शैतानपट्टिबाट आएको ईश्वर-निन्दा र घृणित शब्दहरूले पूर्ण छ। अन्यायमा परेर म नमरूँ भन्ने हेतुले तपाईंहरूले मेरो सिद्धान्त सुन्नैपर्छ, नत्र ता तपाईंहरूको प्राण खतरामा पर्नेछ।
यस देशमा आएको दिनदेखि मैले मातृ-भाषामा परमेश्वरका आज्ञाहरू, विश्वासको सारका बाहओटा अनुच्छेदहरू र प्रभुको प्रार्थनाबाहेक अरू कुनै कुरा सिकाइनँ। डण्डीमा मैले प्रेरित पावलले रोमीहरूलाई लेखेको पत्र सिकाएँ। कसरी मैले सिकाएँ, सो अब म तपाईंहरूलाई देखाउनेछु. ...।'
तिनलाई दोष लाउनेले बीचैमा अचानक ठूलो सोरले कराउँदै भनेः ‘तँ विधर्मी, विश्वासघाती र चोर! तैंले प्रचार गर्न न्यायसङ्गत थिएन। चर्चको अनुमति प्राप्त नगरी तैंले त्यो अधिकार आफ्नो हातमा लिइस्।'
त्यहाँ भेला भएका धर्माधिकारीहरूले कराउँदै भनेः 'यदि हामीले त्यसलाई यहाँ प्रचार गर्न दियौं भने त्यो यस्तो धूर्त छ र त्यसको धर्मशास्त्रीय ज्ञान यति बिघ्न छ, कि त्यसले मानिसहरूलाई हाम्रो विरुद्धमा पार्नेछ।'
धर्माधिकारीहरूले के योजना गर्दैछन्, त्यो थाहा पाएर जर्ज विशार्टले 'म मेरो मामला गभर्नरकहाँ लगियोस् भनी अपिल गर्छु' भनी विन्ती गरे। किनभने सर्वप्रथम त गभर्नरले नै तिनलाई पक्रेका थिए, र तिनको न्याय गभर्नरकै कानुनी अधिकारीहरूले गर्नुपर्छ, चर्चले होइन।
अपिल गर्दै-गर्दा पनि अठार बुँदाहरू - सम्पन्न विधर्मीको दोष- पत्र विशार्टको विरुद्धमा पढ़ियो। तिनले धर्म - शास्त्रको आधारमा आफ्नो सिद्धान्तको समर्थन गर्दै स्पष्ट बुझाएर हरेक बुँदाको उत्तर दिए। सबै कुरा सिध्याएपछि बिशपहरूले विशार्टले दिएका उत्तरहरू अस्वीकार गर्दै तिनलाई विधर्मीको रूपमा जलाएर मार्ने दण्ड - आज्ञा दिए, र भेला भएको मण्डली समुदायलाई घर जाने आदेश दिए।
गढ़ीको झ्यालखानामा फर्काइएपछि विशार्टले तिनको पाप- स्वीकार सुन्न आएका दुईजना मठवासीहरूको सामु पाप - स्वीकार गर्न मानेनन्; तिनीहरूको सट्टामा विशार्टले तिनको सामु प्रचार गर्ने डीन जोन विन्राइम आऊन् भन्ने अनुरोध गरे।
आगोको इन्तजाम भयो, फाँसी दिने खाँबा खडा गरियो। कार्डिनललाई 'विशार्टलाई तिनका मित्रहरूले छुड़ाउनेछन्' भन्ने डर थियो; यसर्थ उनले गढ़ीका जम्मै बन्दुकहरू सजाय दिने मञ्चमा ताकेर राख्ने हुकुम दिए। विशार्टका हातहरू तिनको पछाडिपट्टि बाँधिएका थिए, अनि तिनलाई डोरीले घिच्रोमा बाँधेर र तिनको कम्मरमा फलामको साङला बाँधेर तान्दै आगोतिर लगियो।
तिनले वरिपरि उभिएको भीड़लाई, तिनको मृत्युको कारणले तिनीहरूले परमेश्वरको वचनबाट नतर्कून् भन्ने आग्रह गरे। तिनले भनेः 'म तपाईंहरूलाई परमेश्वरको वचनलाई प्रेम गर्ने आग्रह गर्छु, साथै परमेश्वरको वचनको निम्ति सुखद हृदयले धैर्यसाथ दुःख भोग्ने प्रोत्साहन दिन्छु, किनभने यी वचनहरू तपाईंहरूको उद्धार र अनन्त सान्त्वनाको निम्ति दिइएका हुन्।' त्यसपछि तिनले भीडलाई तिनका अनुयायीहरूलाई तिनको शिक्षामा स्थिर रहन सहायता गर्ने निवेदन गरे। तिनले भनेः 'म यस निष्ठर आगोदेखि डराउँदिनँ। परमेश्वरको वचनको खातिर तपाईंहरूमाथि कुनै सतावट आइपरयो भने शरीरलाई मार्ने, तर प्राण/आत्मालाई मार्न नसक्नेहरूदेखि नडराओ! आज राति म प्रभुसित बेलुकीको खाना खानेछु।'
विशार्टले प्रभुसित 'तिनलाई मृत्यु - दण्ड दिनेहरूलाई क्षमा दिनुहोस्' भनी विन्ती गरेपछि तिनलाई झुण्ड्याउने व्यक्तिले तिनको सामु घुँड़ा टेकेर भने: 'महाशय, कृपया मलाई क्षमा गर्नुहोस्; म तपाईंको मृत्युमा दोषी छैनँ। '
'यता आऊ!' विशार्टले उत्तरमा भने। जब जल्लाद तिनीकहाँ गए, तब विशार्टले उसको गालामा चुम्बा खाएर भने: 'मैले तिमीलाई क्षमा दिएको चिन्ह यही हो। तिमी आफ्नो काम गर!' विशार्टलाई झुण्ड्याइयो, त्यसपछि जलाइयो। तब भीड़ले एउटा निर्दोष पाठोरूपी मानिस मारिएकोमा शोक मनायो र गुनासो गरयो।
एडम वाल्लेस
एडम वाल्लेसलाई पुरोहितहरू, बिशपहरू, आर्च - बिशपहरू, प्रफेसरहरू र सरकारी अधिकारीवर्गको एउटा ठूलो जमघटको सामु एडिन्बर्गमा ब्ल्याक-फ्रायरर्स चर्चमा न्यायिक जाँच गरियो। तिनलाई दोष लाउने व्यक्ति मार्बटलका पल्ली - पुरोहित जोन लडर थिए, जसले कमेज र रातो शिरोवस्त्र/टोपी लाएका थिए।
न्याय गरिने ठाउँमा ल्याइँदा वाल्लेस एक साधारण, गरिब मानिसजस्तो देखिए।
लडरले भने: 'एडम वाल्लेस, तिमीलाई निम्न अपधर्मका दोषहरू लगाइएका छन्। प्रथम दोष - तिमीले सिकाएका छौ कि समर्पण गरेपछि अल्टरमाथि राखिएका रोटी र दाखमद्य ख्रीष्टका शरीर र रगत होइनन्।'
वाल्लेसले न्यायकर्ताहरूतिर हेर्दै भनेः 'यो पुस्तक परमेश्वरको वचन हो; यसभित्र पाएका कुराहरूबाहेक अरू कुनै कुरा मैले सिकाएको वा भनेको छैनँ। मैले भूल गरेको छु भने तपाईंहरूले दिनुभएको दण्ड म ग्रहण गर्नेछु, तर मैले भनेको प्रत्येक कुरा बाइबलमा भएकै कुरा हो।' यति भनेर तिनले मत्ती २६:२६ - २८ र लूका २२:१९ पढेर सुनाए।
दोषारोपन फेरि पढ़ियो र वाल्लेसलाई त्यसको विषयमा 'हो' वा 'होइन' भनेर उत्तर दिन लाइयो। तिनले भने: 'मैले तिनीहरूलाई मात्र सिकाएँ, जसले सिकाइमागे; त्यो पनि घरिघरि होइन। मैले यति मात्र भनेंः जीवित परमेश्वरका पुत्रले स्थापना गर्नुभएअनुसार साँचो तवरले प्रभु-भोजको पवित्र विधि सञ्चालन र प्रयोग गरिँदा प्रभु-भोजको सेवामा परमेश्वर उपस्थित हुनुहुन्छ।'
त्यही प्रश्न फेरि पनि एकपल्ट सोधिँदा पवित्र - शास्त्र प्रयोग गरेर वाल्लेसले आफैले किन ती चीज सम्भवतः ख्रीष्टको भौतिक शरीर र रगत हुन सक्दैनन् भन्ने कुरामा विश्वास गर्थे, सो बुझाए।
दोष लाउनेले अब दोस्रो बूँदा पढ़े: 'मासचाहिँ परमेश्वरले घृणा गर्नुभएको मूर्तिपूजा हो भनी तिमीले सिकायौ।'
उत्तरमा वाल्लेसले भनेः 'मैले परमेश्वरको वचन तीनटा भाषामा पढ़ेको छु, तर मैले कहीं पनि एकपल्ट पनि मास/मिस्सा भन्ने शब्द भेट्टाइनँ। यदि मासको स्थापना वचनअनुसार भएको छैन भने यो मूर्तिपूजा हो, जसलाई परमेश्वरले घृणा गर्नुहुन्छ। तर कसैले यो शब्द मलाई धर्म- शास्त्रमा लेखिएको देखाउँछ भने म मेरो भूल स्वीकार गर्नेछु, अनि जस्तै सुधार र दण्ड पाउनको निम्ति पनि तयार छु।'
दोष लाउनेले अझ भने: 'तिमीले खुल्लमखुल्ला सिकायौ कि परमेश्वरचाहिँ माटोमा उम्रेको अन्नबाट बनाइएको र मान्छेले पकाएको रोटी मात्र हो। अब अरू दोष लगाइएको छैन।'
वाल्लेसले भनेः 'म त पिता, पुत्र र पवित्र आत्मा - तीन व्यक्ति एक ईश्वरलाई पुज्दछु, उहाँले आकाश र पृथ्वी सृष्टि गर्नुभयो र त्यसमा भएका सबै थोकहरू बनाउनुभयो। म जान्दिनँ, तपाईंहरू कस्तो ईश्वरलाई पुज्नुहुन्छ, तर तपाईंहरूले मलाई तपाईंहरूको ईश्वरलाई देखाउनुभयो भने उहाँ कस्तो किसिमको ईश्वर हुनुहुन्छ, म त्यो बताउन सक्छु।'
वाल्लेस आफ्नो साक्षीमा दृढ़ र स्थिर बसे; तिनलाई दण्ड-आज्ञा दिइयो र झ्यालखानामा फर्काइलगे। तिनको मृत्युको दिनमा तिनलाई रक्षा गर्ने सिपाहीहरूले तिनलाई भीड़सित केही कुरा नभन्नू भनी चेताउनी दिए, तर धेरै मानिसहरूले तिनलाई छेउबाट भएर जाँदा 'परमेश्वरले तपाईंमाथि दया गरून्' भन्दै हिँड़े। मञ्चमा उभिँदा तिनले भीडलाई भने : 'सत्यताको निम्ति म मरेको देखेर तपाईंहरू ठेस नखानुहोस्! चेला आफ्नो गुरुभन्दा महान् हुँदैन।' सिपाहीहरूले तिनलाई त्यसरी बोल्दा धम्काए; यसकारण तिनले स्वर्गतिर आँखा उचालेर भने: 'यिनीहरूले मलाई बोल्न दिँदैनन्।' तब आगो जलाइयो, अनि एडम वाल्लेस विश्वासयोग्य प्रकारले परमेश्वरसित मिल्न गए।
वाल्टर मिल्न्
स्कटी शहीदहरूमा वाल्टर मिल्न् मूल व्यक्ति थिए; किनकि तिनको खरानीबाट तिनको जस्तै विचार र मन भएका अरू हजारौं मानिसहरू खड़ा भए। यसो हुँदा स्कटल्याण्डको चर्चलाई फ्रेन्च र क्याथोलिक चर्चसित साँचो धर्मको बारेमा तर्क-वितर्क गर्न करै लाग्यो।
मिल्न् लुनानको पल्ली-पुरोहित थिए; तिनले धर्म-सुधारक आन्दोलनका सिद्धान्तहरू ग्रहण गरे, अनि तिनलाई श्री बीटनको समयमा मृत्यु-दण्डको आज्ञा दिइयो। झ्यालखानाबाट तिनी सुरक्षित अवस्थामा उम्कन सके र विधवा रानीको दयादानमा फेरि प्रचार गर्ने अनुमति नपाएसम्म तिनी स्कटल्याण्डको गाउँ बस्तीमा लुकेर बसे। तिनलाई दोस्रो पल्ट पनि त्यसरी नै लुकिहिँड्न कर लाग्यो; तिनी पक्रा परे र ८२ वर्षको उमेरमा सेन्ट एण्ड्रूज गिर्जाघरमा अपधर्मको दोषको निम्ति तिनको न्याय गरियो।
१५५१ सालको अप्रिल महिनामा मिल्न् र एण्डु ओलिफन्टको बीचमा, जो बिशपका पुरोहितमध्ये एक थिए, तिनको न्यायिक जाँचमा यस्तो बातचित भयोः
ओलिफन्टले सोधेः ‘पुरोहितहरूले विवाह गर्ने विषयमा तिम्रो के विचार छ?'
'मेरो विचारमा, विवाह एउटा आशिषित पवित्र बन्धन हो; किनभने ख्रीष्ट स्वयम्ले यस्तै भन्नुभयो, साथै विवाह मञ्जुर गर्नुभयो र सबै मानिसहरूका निम्ति विवाहको बन्दोबस्त उपलब्ध गराउनुभयो। तर तपाईंहरूचाहिँ यो विवाह तपाईंको निम्ति सुलभ छैन भन्ठान्नुहुन्छ। तपाईंहरू विवाहको करारलाई घृणा गर्नुहुन्छ, र परमेश्वरले जोड्नुभएको बन्धनलाई आदर नगरी अरू मानिसहरूका पत्नी र छोरीहरूलाई आफ्नो बनाउनुहुन्छ। तपाईंहरू अविवाहित रहेर शुद्ध जीवन बिताउने प्रतिज्ञा गर्नुहुन्छ, तर त्यो प्रतिज्ञा भङ्ग गर्नुहुन्छ। प्रेरित पावल 'जल्नुभन्दा विवाह गर्न असल' सम्झन्छन्; अनि मैले त्यसै गरेको छु; किनकि परमेश्वरले कुनै मानिसलाई विवाह गर्नदेखि मनाही गर्नुहुन्न।'
'तिमी भन्छौ, पवित्र विधिहरू सातओटा छैनन्।'
'मलाई प्रभु-भोज र बप्तिस्माका विधिहरू दिनुहोस्; रहेका अरू विधिहरू तपाईंहरू आफ्नै बीचमा बाँड्नुहोस्! यदि सातओटा छन् भने एउटाचाहिँ विवाहको विधि हो; तब किन तपाईंहरूले विवाहको विधिलाई छोडिदिनुभयो र आफैलाई व्यभिचारमा लगाउनुहुन्छ?
'के तिमी अल्टरको पवित्र विधिको विरोधमा छौ; मास/ मिस्साको विधि मूर्तिपूजा हो भनी तिमी भन्छौ।'
'एउटा मालिक वा राजाले धेरैलाई बेलुकीको खानामा डाक्छन्, र जब भोज-भवन तयार हुन्छ, तब तिनी भीड़लाई डाक्न घण्टी बजाउँछन्, अतिथिहरूतिर पीठ फर्कन्छन्, आफै एकलै खान्छन् र तिनीहरूलाई हँस्सीमा उड़ाउँछन्।'
'के तिमी अल्टरको पवित्र विधिचाहिँ ख्रीष्टको वास्तविक शरीर हो भनी विश्वास गर्छौ, वा इन्कार गर्छौ?'
'परमेश्वरको पवित्र - शास्त्रलाई भौतिक दृष्टिकोणले लिनुहुँदैन, तर त्यसलाई आत्मिक तवरले लिनुपर्छ, र हाम्रो विश्वासद्वारा नै हामीले त्यसलाई दिनुपर्ने मान्यता दिन्छौं। मास/मिस्साको विषयमा भनौं भने यो भूल हो। ख्रीष्ट मानिसका पापको निम्ति एकैपल्ट मात्र क्रूसमा चढाइनुभयो र फेरि कहिल्यै क्रूसमा चढाइनुहुनेछैन। उहाँले सबै बलिदानहरूको अन्त गरिदिनुभयो।'
'के तिमी बिशपको पद र कार्यभार अस्वीकार गर्छौ?'
'तपाईंहरूले बिशप भनेका व्यक्तिहरूले प्रेरित पावलले तिमोथीको पत्रमा बयान गरेका कर्तव्यहरू पूरा गर्दैनन्। तिनीहरू भोगविलासका निम्ति जिउँछन्, र आफ्ना भेडाहरूको वास्ता गर्दैनन्। तिनीहरूले परमेश्वरको वचनको आदर गर्दैनन्; तिनीहरू आफ्नै सम्मान पाउन खोजिहिँड्छन्।'
'के तिमी तीर्थयात्राहरूको विरोधमा बोल्छौ?'
'पवित्र - शास्त्रमा 'तिमीहरूले तीर्थयात्राहरू गर्नू' भनिएको छैन। तपाईंहरूले पालन गरिआएका तीर्थयात्रा गर्ने ठाउँहरूमा सबभन्दा ठूलो अनैतिकता र भ्रष्टता छ।'
'के तिमी घर घरमा गुप्तमा प्रचार गर्छौं, र खेतबारीहुँदो खुलस्त
प्रचार गर्छौ?'
'हो, समुद्रमा पनि म जहाजमा प्रचार गर्दछु।' 'के तिमी आफ्नो विचारधारा त्याग्छौ? होइन भने म तिमीलाई दण्ड दिन्छु।'
'मलाई मेरो जीवनको दोष लगाइएको छ। म जान्दछु, म एकपल्ट मर्नैपर्छ; यसकारण ख्रीष्टले यहूदा इस्करयोतिलाई भन्नुभएझैं म पनि भन्छुः तपाईंहरू जे गर्न चाहनुहुन्छ, सो चाँडै गर्नुहोस्! म सत्यतालाई त्याग्न सक्दिनँ, म अन्न हुँ, भूस होइनँ। म बतासले उड़ाएको जस्तो र ओखली कुट्ने मुसलीले उछिटाएको जस्तो हुँदिनँ। म बतास र ओखली यी दुवै किसिमको कुरा सामना गरेर बाँच्नेछु।'
एण्डु ओलिफन्टले मिल्नुलाई एक विधर्मीको रूपमा जलाइनु कुनै एउटा सरकारी न्यायकर्ताकहाँ पठाइने आदेश दिए, तर त्यस शहरको अध्यक्ष न्यायाधीश पेट्रीक लीर्मोण्टले बिशपका प्रबन्धकले झैं मिल्नुको सरकारी न्यायाधीश हुन अस्वीकार गरे। सारा शहरवासीहरू त्यस दण्ड- आज्ञामा यति साह्रो बेखुशी भए कि तिनीहरूले बिशपका नोकरहरूलाई मिल्नुलाई खाँबामा बाँध्ने डोरी वा अलकत्राको पिपासम्म पनि बेच्न मानेनन्। आखिरमा अरूभन्दा अनजान र निर्दयी व्यक्ति अलेक्जाण्डर सम्मर्वेलले सरकारी न्यायाधीशको काम गरे, अनि मिल्लाई बाँधेर जलाउने खाँबामा पठाइदिए।
मृत्यु-दण्ड भोग्न जब मिल्न् आए, तब ओलिफन्टले तिनलाई दहनको खाँबासम्म चढेर जाने हुकुम दिए। मिल्न्ले उत्तर दिए: 'अहँ, म जान्नँ; तपाईंले नै मलाई त्यहाँसम्म पुरयाउनुहोस्, र मेरो मृत्युमा सहभागी हुनुहोस्! परमेश्वरको कानुनले मलाई आफैलाई मार्न मनाही गर्छ। तर तपाईंले मलाई त्यहाँसम्म पुरयाउनुभयो भने म आनन्दसाथ जान तयार छु।'
ओलिफन्टले ती वृद्ध मानिसलाई खाँबासम्म पुर्याए।
तब मिल्नुले यसो भन्दै भीड़लाई सम्बोधन गरे: 'प्रियहरूहो, आज म प्रभु येशू ख्रीष्टमाथि राखिएको विश्वासको रक्षा गरेको खातिर कष्ट सहिरहेको छु, जुन विश्वास पुरानो नियम र नयाँ नियममा बताइएको छ। म परमेश्वरको स्तुति-प्रशंसा गर्छु; किनभने उहाँले मलाई आफ्नो जीवनले उहाँको सत्यतामा छाप लाउन बोलाउनुभयो। यो जीवन मैले उहाँबाट पाएको छु, र आज म यो मेरो जीवन स्वेच्छापूर्वक उहाँको महिमाको निम्ति अर्पण गर्छु। तिमीहरू अनन्त मृत्युबाट उम्कन चाहन्छौ भने पुरोहितहरू, मठवासीहरू, सन्यासीहरू, मठ-अधिकारीहरू, मठ-अध्यक्षहरू, बिशपहरू र ख्रीष्ट-विरोधी सम्प्रदायका अरूहरूका झूटा कुराहरू सुनेर नबहकिओ! मुक्ति पाउनको निम्ति केवल प्रभु येशू ख्रीष्टमाथि र उहाँको निगाहमाथि/कृपा-दयामाथि मात्र भरोसा राख!'
मिल्न् मर्दा भीड़को बीचमा ठूलो शोक/क्रन्दन र रुवाइ भयो; तिनको मृत्युले तिनीहरूको हृदय यति साह्रो उत्तेजित पारियो कि तिनी नै स्कटल्याण्डमा मर्ने अन्तिम शहीद भए।
अध्याय ६
जोन रोजर्स
जोन रोजर्सले क्याम्ब्रिज यूनिभर्सिटी/विश्वविद्यालयमा शिक्षा प्राप्त गरेका थिए। त्यसपछि तिनले नेडरल्याण्डको एन्ट्वर्पमा भएका अंग्रेज व्यापारीहरूको पुरोहित भएर काम गरे। त्यहाँ तिनले विलियम टिण्डेल र माइल्स कभरडेललाई भेटे, जो अघि इङ्गल्याण्डबाट भागेर त्यहाँ आएका थिए। प्रोटेस्टेन्ट भएपछि रोजर्सले ती दुईजनालाई बाइबल अंग्रेजीमा उल्था गर्न सहायता गरे, विवाह पनि गरे र विटेम्बर्गमा सरुवा भए, जहाँ तिनलाई आफ्नै मण्डली चलाउन दिइयो।
रोजर्सले राजा छठवाँ एड्वर्डका राज्यकालमा इङ्गल्याण्ड फर्कनुभन्दा पहिले धेरै वर्षसम्म आफ्नो मण्डलीको सेवा गरे। एड्वर्डले इङ्गल्याण्डबाट क्याथोलिक धर्म-सिद्धान्त निकालेर प्रोटेस्टेन्ट धर्म-सिद्धान्तलाई राष्ट्र-धर्म बनाएका थिए। रोजर्सले पछि रानी मेरीले राज-सिंहासन अधिकार नगरेसम्म सेन्ट पल्स गिर्जाघरमा सेवा गरे; किनकि रानी मेरीले सुसमाचार प्रचार रोकिन्, अनि इङ्गल्याण्डमा फेरि क्याथोलिक धर्मलाई अधिकार दिइन्।
तथापि रोजर्सले रानीको घोषणाको वास्ता नगरी प्रचार गरि नै रहे। अन्तमा परिषद्ले तिनलाई तिनकै घरमा बन्दी भइरहने आदेश दियो। तिनले त्यो हुकुम शिरोपर गरे - यद्यपि तिनले सजिलैसित देश त्याग्न सक्थे। प्रोटेस्टेन्ट धर्म - सिद्धान्त रानी मेरीको अधीनतामा फस्टाउन सकेन; रोजर्सलाई थाहा थियो तिनी जर्मनीमा काम पाउन सक्थे; तिनले ख्याल राख्नुपर्नेहरू तिनकै पत्नी र दशजना छोराछोरीहरू थिए, तर तिनले प्राण जोगाउनलाई आफ्नो उद्देश्य त्याग्न इन्कार गरे। तिनी धेरै लामो समयसम्म आफ्नै घरमा बन्दी भएर बसे, तर अन्तमा लण्डनका बिशप बोन्नरले रोजर्सलाई न्यूगेटको झ्यालखानामा चोर र हत्याराहरूसित कैद गरे। अनि विन्चेस्टरले तिनलाई मृत्यु-दण्डको आज्ञा दिए। फ
फेब्रुवरी ४, १५५५ सालमा, सोमबार बिहानै झ्यालखानाका प्रमुख प्रभारीकी पत्नीले रोजर्सलाई उठाइन् र तिनलाई छिटो-छिटो तयारी हुनुहोस् भनिन्। त्यो दिन तिनी जलाइने दिन थियो। तिनका पत्नी र एघारजना छोराछोरीहरूले तिनलाई स्मिथुफिल्ड जाँदै गर्दा भेटे, तर रोजर्सले अझ पनि आफ्नो विश्वास त्याग्न मानेनन्। स्मिफिल्डमा आइपुगेपछि तिनलाई आफ्नो विचारधारा बदल्ने अन्तिम मौका शासन-अधिकारी वूफले दिए।
'जे-जे मैले प्रचार गरेको छु, ती सबमा म मेरो रगतको छाप लाउनेछु, ' रोजर्सले भने।
'त्यसो हो भने, ' वूफले भने; 'तिमी विधर्मी हौ! '
'त्यो त न्यायको दिनमै थाहा हुनेछ।'
'लौ, लौ! म तिम्रा लागि कहिल्यै प्रार्थना गर्नेछैनँ।'
'तर म त तिम्रा लागि प्रार्थना गर्नेछु।'
जलाइनुभन्दा अलिकति अघि क्षमादान दिइएको पत्र आइपुग्यो, तर रोजर्सले आफ्नो विश्वास त्यागेर क्षमा-दान ग्रहण गर्न इन्कार गरे। यसरी तिनी रानी मेरीको राज्यकालमा शहीद बन्ने प्रथम व्यक्ति भए।
लरेन्स स्यान्डर्स
रानी मेरीले आफ्नो शासनकालको प्रथम वर्षमा प्रोटेस्टेन्ट प्रचार बन्द गरेपछि पनि कति पुरोहितहरूले स्वावलम्बी पास्टरको रूपमा सुसमाचार प्रचार गरि नै रहे। तीमध्ये एकजना लरेन्स स्यान्डर्स थिए।
धनी उच्च कुलका स्यान्सर्डले इटन र क्याम्ब्रिजको किङ्गस् कलेजमा अध्ययन गरे। तिनकी विधवा आमाले तिनी व्यापारी भएका चाहन्थिन्। यसकारण तिनी सर विलियम चेस्टर नामक व्यापारीसित व्यापार-धन्धा सिक्न गए, तर चाँडै स्यान्डर्सले महसुस गरे कि तिनी वास्तवमा प्रचारक हुन चाहन्छन्। र तिनका व्यापारी - गुरु, जो एक भद्र मानिस थिए, उनले स्यान्डर्सलाई आफ्नो ठेकादारीबाट/ठेका-बन्धनबाट मुक्त गरिदिए, यस हेतुले कि तिनी फर्केर गई क्याम्ब्रिजमा धर्म विज्ञानको छात्र बन्न सकून्।
स्यान्डर्सले राजा एड्वर्डको राज्यकालमा प्रचार गर्न शुरु गरे; किनभने एड्वर्डको पालामा प्रोटेस्टेन्ट-धर्म इङ्गल्याण्डको सरकारी धर्म भयो। कतिवटा पद सम्भालेपछि तिनी लिचेस्टर-प्रान्तको बस्तीपाखाको प्रचारक भए, जहाँ तिनले परिश्रमसाथ सिकाए - पढ़ाए। केही समयपछि तिनलाई लण्डनमा अल्- ह्यालोज् नामक चर्चको अभिभारा दिइयो। तिनले लण्डनको यस मण्डलीमा एकाग्र भई काम गर्नलाई बस्तीको पद-अधिकार छोड्नै आँटेको समयमा रानी मेरीले सिंहासनको दाबी गरिन्। मेरीले सारा प्रोटेस्टेन्टहरूमाथि कठिनाइ ल्याउनेछिन् भनी बुझेर स्यान्डर्सले दुवै पद लिइराखे। तिनले दुई पदमा एक पद छोड़ेका भए निश्चय पनि तिनको सट्टामा कुनै क्याथोलिक पुरोहितले त्यो लिने नै थिए।
यसकारण जबसम्म सुसमाचारको प्रचार गर्न गैर कानुनी भएन, तबसम्म तिनी दुईटै मण्डली चलाउने काममा लागिरहे, एउटा मण्डलीदेखि अर्को मण्डलीमा यात्रा गरिरहे। स्यान्डर्सले तिनलाई जबरजस्ती मनाही नगरुन्जेल आफ्नो बस्तीको मण्डलीमा प्रचार गर्न छोडेनन्। पछि त्यहाँ काम गर्न नसक्दा तिनी फर्केर लण्डन आए।
अक्टोबर १४ तारिखमा शानिबारको दिन, शहरभित्र पस्दै गर्दा स्यान्डर्सलाई सर जोन मर्डण्टले भेटे। मर्डण्ट रानी मेरीका सल्लाहकार थिए, जसले तिनलाई भोलिपल्टको मण्डली - सेवामा प्रचार नगर्ने चेतावनी दिए। स्यान्डर्सले उनको सल्लाहमा ध्यान दिएनन् र बिहानको उपदेश दिए। त्यसपछि बेलुकीको उपदेश तयार गर्दै गर्दा तिनलाई गिर्जाबाट निकालियो, र बिशप सर जोन मर्डण्ट र केही पुरोहितहरूको सामु ल्याइयो। बिशपले तिनलाई प्रभु-भोजको सामाग्री ख्रीष्टका शरीर र रगतमा परिणत हुने-नहुने विषयमा तिनको विश्वास के छ, सो लेखेर दिनू अह्राए, अनि तिनलाई लर्ड च्यान्सलरलाई भेट्न जानू भने। तब च्यान्सलरले तिनलाई पक्रेर झ्यालखानामा हाले।
पन्ध्र महिना झ्यालखानामा बिताएपछि जुन कैदको समयमा तिनी आफ्नो विवेक र विश्वासप्रति इमानदार बसे; स्यान्डर्सलाई राजद्रोह, अपधर्म र देशद्रोहको अपराधमा लर्ड च्यान्सलरको सामु न्यायिक जाँचको निम्ति ल्याइयो। प्रभु-भोजको विषयमा तिनले अघिबाटै लेखेका कुराहरू तिनको सामु पेस गरिँदा स्यान्डर्सले भने: 'मैले जे लेखें, लेखें। म अरू कुनै विषयमा आफैमाथि कुनै दोष ल्याउन चाहदिनँ, र तपाईंहरूले मेरो विरुद्ध कुनै पनि कुरा ल्याउन सक्नुहुन्न।'
तिनी मण्डलीबाट बहिष्कृत गरिएर कानुन अधिकारीवर्गकहाँ सुम्पिएपछि फरवरी ४ तारिखको दिन स्यान्डर्सका पदहरू उतार्नको निम्ति लण्डनको बिशप झ्यालखानामा आए। ती सब भएपछि स्यान्डर्सले बिशपलाई भनेः ‘म परमेश्वरलाई धन्यवाद चढ़ाउँछु कि मचाहिँ तपाईंको मण्डलीको सदस्य होइनँ।' फरवरी ८ तारिखको दिन स्यान्डर्सले दहनको खाँबालाई अँगालेर यसो भन्दै त्यसलाई चुम्बा खाए: 'ख्रीष्टको क्रूसलाई स्वागत छ! अनन्त जीवनलाई स्वागत छ!!'
जोन हूपर
राजा एड्वर्डको राज्यकालमा जोन हूपरले दुईटा धर्म - प्रदेशका बिशप भई काम गरे। तिनी सधैं पावलले तिमोथीलाई लेखेका पत्रमा बिशपहरूले जसरी काम गर्नुपर्छ, सो विषयमा शिक्षा दिए, ठीक त्यसरी नै काम गरे। तिनले कहिल्यै व्यक्तिगत लाभ खोजेनन्, केवल आफ्नो बगालको हेरचाह र तिनीहरूको उद्धारको मात्र ख्याल राखे; तिनले पाएको पैसा सबै दान दिए। दुईपल्ट म लेखक आफैले हूपरको घर माग्ने र गरिबहरूले भरिएको देखें। ती सबैले एउटा टेबलभरि राखिएर मासु खाइरहेका थिए। एउटा नोकरको भनाइअनुसार यस्तो घटना हरेक दिन बेलुकी हूपर आफ्नो भोजन खानु बस्दा हुन्थ्यो रे।
हूपरले एड्वर्डको अधीनतामा दुई वर्षभन्दा बढ़ी बिशपको काम गरे। एड्वर्डको मृत्युपछि र मेरी रानी भएपछि लण्डनमा जाऊ भन्ने हुकुम पाएर तिनी त्यहाँ जाँदा झ्यालखानामा हालिने मानिसहरूमा हूपर पहिलो व्यक्ति थिए। तिनी अठाह्र महिना धेरैजसो बिरामी भएरै र भोजन पनि आफ्नै पैसाले किन्ने करमा पारिएरै कैदखानामा रहे। १५५४ सालको मार्च १९ तारिखमा हूपरलाई विन्चेस्टर, लण्डन, डर्हाम, ल्यान्डाफ र चेस्टरका बिशपहरूको सामु बोलाइयो र तिनका बिशप - पदहरू खोसिए।
१५५५ सालको जनवरी २२ तारिखमा विन्चेस्टरका बिशपले तिनलाई तिनको प्रोटेस्टेन्टको विश्वास त्याग्न र पोपलाई चर्च अफ इङ्गल्याण्डको शिर मानिलिन लाउन बोलाए। तिनले त्यसै गरे भने अरु धेरै अंग्रेज गुरुजनहरूले झैं तिनले पनि क्षमा- दान पाउनेथिए। हूपरले त्यसो गर्न अस्वीकार गरे।
१५५५ सालको जनवरी २८ को दिन हूपर विन्चेस्टर र अरूको सामु देखा परे, र तिनलाई क्याथोलिक चर्च ग्रहण गर्ने अर्को मौका दिइयो। यो त्यही दिन थियो, जुन दिन रोजर्स पनि न्यायकर्ताहरूको सामु देखा परेका थिए; र त्यहाँ ती दुईको भेट, दुवैजना सिपाहीहरूको साथ गिर्जाबाट बाहिर जाँदा भयो।
'रोजर्स भाइ, 'हूपरले कराउँदै भने, 'के हामी यो कुरा आफ्नै हातमा लिएर यी दाउराहरू पोलौं?'
गरौं! '
'हो, हजुर,' रोजर्सले उत्तर दिए; 'परमेश्वरको अनुग्रहमा यसै 'विश्वास गर! परमेश्वरले बल दिनुहुनेछ।'
हूपर जनवरी २९ तारिख छ दिनको निम्ति न्यूगेट झ्यालखानामा फर्काई पठाइए; फरवरी ४ तारिखको दिन लण्डनका बिशपले चर्चका सबै पद र अधिकारहरू तिनीबाट खोसे। त्यसपछि हूपर जलाइन ग्लोचेस्टर पठाइए।
फरवरी ५ मा हूपर जलाइने खाँबाकहाँ ल्याइए। तिनलाई सिपाहीले, तिनको मृत्यु छिटो होस् र कष्ट कम होस् भनेर बारुदका थैलाहरू दिए। ती थैलाहरू तिनले काखीमा र खुट्टाको बीचमा राखे। तीनटा साडला तिनलाई खाँबामा बाँध्न ल्याइए - एउटा घिच्रोमा बाँध्न, एउटा कम्मरमा कस्न र अर्कोचाहिँ खुट्टामा बाँध्न।
तर ती जरुरत छैनन् भनी हूपरले भने। तब एउटा साङ्ला मात्र तिनको कम्मरमा बाँधियो। हूपरले आगो बाल्ने मानिसलाई क्षमा दिएपछि आगो सल्काइयो। दाउरा काँचै थियो, ढिलो जल्यो। निक्कै जलेपछि बतासले आगोको ज्वालाहरू हूपरदेखि अर्कैतिर लगिदियो। दोस्रो पल्ट आगो जलाउँदा ज्वालाहरू तलतिरै जलिरहे, माथि-माथि उठेनन्। तेस्रो पल्ट आगो जलाउँदा हूपरको शरीरमा भएको बारुद पड्क्यो, तर त्यसले पनि हुनुपर्ने काम भएन, किनकि बतास चलिरहेकै थियो।
हूपरको मुख कालो भइसकेको थियो, तिनको जिब्रो सुनिएको थियो, ता पनि तिनका ओठहरू, ती गिजामा नटाँसुन्जेलसम्म चलि नै रहे।
एउटा हात नझरेसम्म तिनले दुवै हातले आफ्नो छाती पिटिरहे। त्यसपछि एउटा हातले पिट्न थाले बोसो, पानी र रगत तिनका औंलाका टुप्पाहरूबाट तप्किरहेका थिए। अन्तमा तिनको हात कम्मरको फलाममा अड्क्यो।
हूपर पौंतालीस मिनटभन्दा बढी समयसम्म जलिरहे - शरीरको तल्लो भाग जलिसकेर आन्द्रा-भुँडी फुटिनिस्केसम्म धैर्यसाथ कष्ट सहँदैरहे। आज तिनी स्वर्गका आनन्दमा एउटा आशिषित शहीदको रूपमा राज गर्छन्, जुन आनन्दहरूचाहिँ प्रभुमा विश्वासयोग्य भक्त जनहरूका निम्ति तयार गरिएका छन्।
रोल्याण्ड टेलर
थोमस बिल्नीबाट परमेश्वरको वचन पहिले सुन्ने इङ्गल्याण्डका शहरहरूमध्ये सफ्फोकको ह्याड्ली थियो। तिनको प्रचारको कामद्वारा त्यस मण्डलीका धेरै-धेरै पुरुष र स्त्रीहरू पवित्र - शास्त्रको ज्ञानमा शिक्षित भए; धेरैले पूरा बाइबल पढ़ेका थिए। कतिले प्रेरित पावलका धेरैजस्ता पत्रहरू कण्ठस्थ सुनाउन सक्थे। धेरैजसो विश्वासीहरूचाहिँ वाद-विवादको कुनै पनि विषयमा आत्मिक छलफल गर्न सक्षम थिए। शहरका केटाकेटीहरू र नोकरचाकरहरू पनि परमेश्वरको वचनमा हुर्काइएका र तालिम प्राप्त भएका थिए। यसकारण ह्याड्ली शहर श्रमिकहरूको शहर नभएर शिक्षित मानिसहरू भएको यूनिभर्सिटी शहरजस्तो देखा पर्थ्यो। त्यसभन्दा मुख्यतः शहरमा भएका मानिसहरू आफ्ना दैनिक जीवनमा परमेश्वरको वचन पालन गर्ने विश्वासीहरू थिए।
ह्यालीका पास्टर थिए डा० रोल्याण्ड टेलर; तिनी देश र चर्च दुवैका कानुन पढ़ेका-जानेका डाक्टर थिए। त्यति बेला धेरैजस्ता पास्टरहरूले आफ्ना जीवन चलाउन एउटा घर र जमिन पाउँथे, तर धेरैजस्ताले पाएको जमिनचाहिँ खेतालाहरूलाई किरायमा दिन्थे, र सेवा पुरयाउने शहरमाथि कुनै अशिक्षित पुरोहितलाई नियुक्त गर्थे, आफूचाहिँ अन्यत्र गई बस्थे र आफ्ना जिम्मामा भएका मानिसहरूलाई कुनै वास्ता र सहायता गर्दैनथे। तर टेलरचाहिँ शहरमा आफ्ना मण्डलीसित बस्थे, र प्रभु येशूले 'पत्रुस, के तिमी मलाई प्रेम गर्छौं? मेरा भेड़ाहरूलाई चराऊ!' भनेर पत्रुसलाई दिनुभएको अभिभारा तिनी तिनीहरूको बीचमा रहेर पूरा गर्दैथिए। तिनी आफ्ना मानिसहरूलाई एक ठाउँमा भेला गरेर तिनीहरूलाई मुक्तिको विषयमा शिक्षा दिने हरेक मौका प्रयोग गर्थे।
टेलरको सम्पूर्ण जीवन शहरको निम्ति आशिष नै थियो। तिनी नम्र थिए; सहायता पाउन सबै गरिबहरू सहजै तिनीकहाँ जान सक्थे। तिनी एउटा असल पास्टरले झैं धनीहरूलाई उनीहरूको दोष देखाउन कहिल्यै हिच्किचाएनन्। तिनी सधैँ भद्र मानिसझैं व्यवहार गर्थे तिनी दोष र कुइच्छा नभएका, सबैको भलो गर्नलाई सदा तयार भएका, शत्रुहरूलाई क्षमा दिने र कहिल्यै कसैको खराबी गर्न कोशिश नगर्ने मानिस थिए। गरिब, लङ्गड़ा, बिरामी अथवा थुप्रै नानीहरू भएको जसकसैले पनि टेलरलाई बाबुजस्तो एक विश्वासयोग्य प्रबन्धक पाउँथे। तिनी आफ्नो मण्डलीका सबैले गरिबहरूलाई ठूलो/खुला हातले सहायता गरेका चाहन्थे, र त्यसो गर्ने सल्लाह सबैलाई दिने गर्थे। तिनी आफै पनि प्रत्येक वर्ष दान-पेटिकाभित्र उदार चित्तले प्रचुर दान दिन्थे।
टेलरले छठवाँ एड्वर्डको राज्यकालभरि ह्याड्ली शहरमा काम गरे। तर एड्वर्डको मृत्युपछि क्याथोलिकहरूले अष्टम् हेनरी र एड्वर्डको समयमा भएका धार्मिक सुधारहरू खुल्लमखुल्ला बेवास्ता गरे। तिनीहरूले सुसमाचारको बारेमा उल्टो शिक्षा दिए र ज-जसले धर्म- सुधारको आन्दोलनबाट प्राप्त गरेका लाभहरू त्यागेर पोपलाई चर्च अफ इङ्गल्याण्डको शिर मान्न इन्कार गरे, तिनीहरूलाई सताए।
चाँड़ै फस्टर नाम भएका एक वकिल, जो अदालतका अकुशल प्रबन्धक थिए, उनले जोन क्लर्कसित मिलेर ह्याड्ली शहरमा फेरि क्याथोलिक धर्म फिर्ता ल्याउने षड्यन्त्र रचे। तिनीहरूले पैसाको निम्ति मरिमेट्ने र अनैतिक भएका जोन एभर्थ नाम गरेका एकजना मानिसलाई ह्याड्लीमा आएर मास- विधि फेरि स्थापना गर्न पैसा दिएर ल्याए। तिनीहरूले यस कामको लागि शहरको चर्चमा हतार-हतार एउटा अल्टर बनाए, जुन अल्टर भोलिपल्ट डाङडुङ भत्काइयो। तिनीहरूले फेरि पनि त्यो अल्टर बनाए; यसपल्ट रातभरि अल्टरको रक्षा गर्न तिनीहरूले चौकिदारहरू राखे। भोलिपल्ट फस्टर, क्लर्क र एभर्थले मासको निम्ति चाहिने सबै साधन र लुगाहरू ल्याए अनि त्यहाँ कसैले बाधा दिन नसकोस् भनेर हातहतियार भिरेका पालेहरू राखे।
चर्चको घण्टी बजेको सुनेर डा० टेलरले अफिसमा तिनको जरुरत पस्यो होला भन्ठाने, तर चर्चका ढोकाहरू सख्त - बन्द गरिएका भेट्टाए। भेस्ट्रीपट्टिको ढोकाबाट भित्र पस्दा एभर्थले नाङ्गो तरवार हातमा लिएका पालेहरूको घेराभित्र रहेर मास - विधि सम्पन्न गरिरहेको डा० टेलरले देखे।
'हे शैतान!' टेलर कराइउठे 'तैंले कसरी यस ख्रीष्टको सेवालयमा पस्ने र यस्तो घृणित मूर्तिपूजा गरेर यस भवनलाई दूषित र अपवित्र पार्ने आँट गरिस?'
फस्टर उठेर भने: 'तँ विश्वासघाती! तँ किन रोमको कार्यवाहीमा बाधा हाल्छस्!'
'म विश्वासघाती होइन; म यस बगालको गोठाला हुँ। म यहाँ हुनु मेरो पूरा अधिकार छ। म तँलाई हुकुम गर्छु : हे पोपको ब्याँसो, परमेश्वरको नाममा तँ यहाँबाट निस्की! तेरो मूर्तिपूजाले ख्रीष्टको बगाललाई विष नला!'
' के तँ यहाँ होहल्ला मच्चाउँछस् र बलमिचाइले रानीको कार्यवाही रोक्छस्?' फस्टरले भने।
'मैले होहल्ला मच्चाएको छैनँ। तिमी पोपका समर्थकहरू नै यसो गर्छौ। म त तिमीहरूका मूर्तिपूजाहरूको विरोध गर्छु, जुन मूर्तिपूजाचाहिँ परमेश्वरको वचनको र रानीको इज्जतको विरुद्ध छन्, र देशको बिगार गर्छन्। अनि मासको निम्ति समर्पण नगरिएको अल्टरमा मासको विधि चलाउनुहुँदैन भन्ने नियम तैंले किन भङ्ग गरिरहेको छस्।'
यस्तो कुरा सुनेपछि एभर्थ त्यस अल्टरबाट पर सर्न थाले। जोन क्लर्कले तिनलाई मास गर्दै जाने आदेश दिए; फस्टरका पालेहरूले चाहिँ टेलरलाई जबरजस्ती चर्चबाट बाहिर निकाल्दै लगे।
श्रीमती टेलरले आफ्नो लोग्नेलाई टेल्दै बाहिर निकालेको देखिन्; तब तिनले घुँडा टेकेर उच्च सोरमा भनिन्ः 'म दुहाई गर्छु, परमेश्वर! हे धार्मिक न्यायकर्ता! ख्रीष्टको रगतलाई बिटुलो पारेकोमा यस पोपसित लाग्ने मूर्तिपूजकसित बदला लिनुहोस्!' तिनीहरूले श्रीमती टेलरलाई पनि बाहिर निकाले, साथै बाहिर भेला हुँदै गरेका मानिसहरू भित्र नपसून् भनेर सबै ढोकाहरूमा आग्ला लगाए।
एक-दुई दिनपछि फस्टर र क्लर्कले विन्चेस्टरका बिशप स्टीफन गार्डिनरलाई टेलरको विषयमा उजुर गरे। जब तिनलाई बिशपको सामु देखा पर्ने आह्वान दिइयो, तब तिनी लण्डनमा गए भने दण्डित हुनेछन् भनी जानेर शहरका मानिसहरूले टेलरलाई शहरदेखि भाग्ने विन्ती गरे। तर टेलरले आफ्नो नोकरलाई साथमा लिएर आज्ञाकारी भई विन्चेस्टरकहाँ देखा परे।
विन्चेस्टरले उनको सदा गर्ने बानी भएझैं टेलरलाई 'धोखेबाज, देशद्रोही, विधर्मी' र त्यस्तै अनेक गालीहरू गर्दै - भन्दै स्वागत गरे।
'हजुर,' टेलरले जवाफ दिए, 'म न विश्वासघाती, न विधर्मी हुँ; तर एउटा इमानदार नाग्रिक र ख्रीष्ट्यान हुँ। म यहाँ हजुरको आदेश पाएर आएको हुँ। हजुरले मलाई किन बोलाउनुभयो?'
'तिमी आयौ, बदमास? तिमी कसरी मेरो अनुहारमा हेर्ने साहस गछौं? म को हुँ, के तिमी जान्दैनौ?
'हो, म जान्दछु, हजुर को हुनुहुन्छ। हजुर विन्चेस्टरका बिशप लर्ड च्यान्सलर, डा॰ स्टीफन गार्डिनर हुनुहुन्छ, तथापि एक मरणशील मानिस हुनुहुन्छ। यदि म हजुरको प्रतापी मोहोड़ामा हेर्न डराउनुपर्छ भने तपाईं आफैचाहिँ किन परमेश्वरसँग डराउनुहुन्न? तपाईं कसरी कुनै पनि ख्रीष्ट्यानको अनुहारमा हेर्न सक्नुहुन्छ, जब तपाईंले सत्यतालाई त्यागिसक्नुभएको छ, हाम्रा मुक्तिदाता येशू ख्रीष्टलाई र उहाँको वचनलाई इन्कार गर्नुभएको छ र आफ्ना शपथहरू भङ्ग गर्नुभएको छ? हजुर कस्तो देखा पर्नुहुनेछ-जब हजुर ख्रीष्टको न्याय-आसनको सामु उभिनुहुनेछ अनि राजा अष्टम् हेनरी र राजा छठवाँ एड्वर्डलाई दिएका शपथहरूको विषयमा लेखा दिनुहुनेछ?'
'ती शपथहरू तोड़ेकोमा र आफ्नी आमाकहाँ रोमको क्याथोलिक चर्चमा - फर्किआएकोमा मैले असलै गरेको छु। म तिमी पनि त्यसरी नै फर्किआएको चाहन्छु।'
टेलरले उप्रान्त दुई वर्ष झ्यालखानामा बिताए; तिनले पढ्दै, प्रचार गर्दै र त्यस समयमा देशका झ्यालखानाहरू भरि थुनामा राखिएका धेरै-धेरै परमेश्वरका भक्तिपूर्ण दासहरूलाई प्रेरणात्मक उपदेश दिँदैरहे। त्यस्ता प्रभुका दासहरूमा एकजना थिए- मास्टर ब्राड्फोर्ड। यति बिघ्न पुरोहितहरू एउटै ठाउँमा बन्द गरिएर राखिएका थिए कि झ्यालखानाहरू यूनिभर्सिटीहरूजस्तै देखिन थाले।
१५५५ सालको जनवरी महिनाको अन्ततिर टेलर, ब्राड्फोर्ड र स्यान्डर्सलाई विन्चेस्टर, नोरविच, लण्डन, स्यालिस्बरी र डर्हामका बिशपहरूको सामु डाकिए, र उनीहरूलाई विधर्मीको दोष लगाइयो। पोपको अधीनता स्वीकार गरेर आफ्ना भूलधाराहरू मानिलिने मौका दिइँदा ती तीनैजनाले इन्कार गरे। १५५५ सालको फरवरी ४ तारिखमा टेलरको माण्डलिक पद-अधिकारहरू खोस्न - उतार्न लण्डनका बिशप एडमण्ड बोन्नर झ्यालखानामा आए। तिनलाई पवित्र परिधान / वस्त्रहरू पहिरिने आग्रह गरिँदा टेलरले त्यसो गर्न अस्वीकार गरे।
'के तिमी पहिरिँदैनौ?' उपहास गर्दै बोन्नरले भने, 'त्यसो भए म तिमीलाई पहिरिने बनाउँछु!'
'तिमीले त्यसो गर्नेछैनौ, परमेश्वरको अनुग्रहमा।'
टेलरलाई जबरजस्ती पुरोहितका वस्त्रहरू पहिरयाइए, त्यो विधि पूरा गर्न सकियोस् भनेर। भोलिपल्ट राति टेलरकी पत्नी र तिनको छोरालाई तिनीसित बेलुकीको भोजन खाने अनुमति दिइयो; किनकि राजाका काराबास - पालेहरूले बिशपका काराबास-पालेहरूभन्दा जतिसक्दो दयालु हुने प्रयत्न गरे। तिनकी पत्नीलाई तिनी त्यही रात लगिनेछन् भन्ने शङ्का भयो। यसकारण तिनले तिनी र तिनका पालेहरू बिहानको २ बजेतिर देखा नपरेसम्म त्यस झ्यालखानालाई हेरिरहिन्। शासन-अधिकारीहरूले तिनीहरूलाई केही क्षण बिदावारी हुने समय दिए, अनि टेलरले उनीहरूलाई आफ्नो विश्वासमा स्थिर भइरहने उत्साह दिए। त्यस रात तिनलाई वूल्प्याक भनिने सरायमा लगियो, जहाँ तिनी एस्सेक्सका शासन अधिकारी नआउन्जेल भोलिपल्ट बिहान ११ बजेसम्म बसे।
टेलरलाई घोड़ामा चढाइयो र त्यस सरायको आगनबाट निकालियो; आगनमा तिनको नोकर जोन हल र टेलरका छोराले त्यस लस्करलाई भेटे। टेलरलाई आफ्नो छोरा समातेर उनलाई आशिष दिने र नोकरसित बिदा हुने समय दिइयो।
दिनभरि टेलर आनन्दित र खुशी थिए, पालेहरूलाई प्रचार गर्ने र तिनीहरूको मन - परिवर्तन गर्ने प्रयासमा व्यस्त रहे। केही दिनपछि तिनीहरू ह्याङ्ली शहरमा आइपुगे, जहाँ टेलर जलाइनु थियो। शहरका सड़कहरूहुँदा आफ्नो पास्टरको निम्ति रुने र विलाप गर्ने मानिसहरूको ताँत थियो, तर तिनीहरू पुग्नुपर्ने ठाउँमा नपुगुन्जेलसम्म टेलरको शिर ढाकिएको थियो। अनि एउटा पालेले टेलरलाई नभनेसम्म तिनीहरू कहाँ आइपुगे, सो तिनलाई पक्का थाहा भएन।
‘परमेश्वरलाई धन्यवाद होस्!' टेलरले उच्च सोरमा भने; 'म घर आइपुगें।' तिनलाई घोड़ाबाट उतारियो र शिरको ढाक्ने लुगा हटाइयो।
जब मानिसहरूले तिनको पुरानो - वृद्ध मोहोड़ा र लामो सेतो दाह्री देखे, तब तिनीहरू तिनलाई उत्साह र साहस दिन कराइउठे। तर टेलरले नबोल्ने प्रतिज्ञा गरेका थिए, शायद तिनको जिब्रो काटिदिने धम्की दिइएको कारणले होला। आफ्ना लुगाहरू अरूलाई दिइसकेपछि तिनले नजर उठाएर दुई वाक्य भने: 'भद्र जनहरूहो, मैले तपाईंहरूलाई परमेश्वरको पवित्र वचनबाहेक अरू केही सिकाइनँ; ती जम्मै पाठ मैले पवित्र बाइबलबाट तयार गरें। आज म त्यस शिक्षामा मेरो रगतको छाप लाउन आएको छु।' त्यति नै बेला एउटा सिपाहीले तिनको टाउकोमा हिर्कायो।
आफ्नो प्रार्थना गरिसकेपछि टेलर अलकत्राको पिपाभित्र पसे; प्रार्थना गर्न हात जोडेर आगो सल्काइँदा तिनी खाँबामा टाँसिएर उभिए। धुइरोको बीचबाट एकजनाले टेलरतिर जलिरहेको एउटा दाउरा झटारो हानिपठायो; त्यसले तिनको टाउकोमा लाग्यो र तिनको अनुहार रगतपच्छे भयो। टेलरले भनेः 'मेरो समस्या प्रशस्त छ, त्यसमाथि यो झटारो किन खाँचो परयो?' त्यसपछि तिनले भजनसंग्रह ५१ अध्याय कण्ठस्थ भनिरहे, जबसम्म सर जोन सेल्टनले तिनलाई मुखमा हिर्काएनन् र 'ल्याटिनमा बोल!' भनेनन्।
टेलरले हात उचालेर भनेः 'स्वर्गका कृपालु पिता, येशू ख्रीष्ट मेरा मुक्तिदाताको खातिर मेरो आत्मा ग्रहण गर्नुहोस्!' सोइस नाम गरेको मानिसले तिनको गिदी छरपस्त हुने गरी बन्चरोले तिनको टाउकोमा नहिर्काउन्जेल टेलर नचली - नकराई चुपचाप उभिरहे। त्यसपछि तिनको लास आगोमा ढल्यो।
विलियम हण्टर
१५५५ सालको मार्च २६ तारिखको दिनमा विलियम हण्टर उन्नाइस वर्ष मात्र पुगेका थिए। तिनी, एक ईश्वर -भक्त जवान मानिस शहीद भए। तिनको जीवन चरित्र सबै इसाई माता-पिताहरूको निम्ति उदाहरण हुनुपर्छ –ती माता-पिताका निम्ति जसको विश्वासले उनीहरूको मनोभावसित मेल खाँदैन; किनकि विलियमका बाबुआमाले तिनलाई आफ्नो विश्वासअनुसार जिउने र गर्ने अनुमति दिए, यद्यपि त्यसो गर्दा तिनी मृत्युमा पुगे।
विलियमलाई लण्डनमा एउटा रेशमको लुगा बुन्ने मानिससित काम सिक्न राखियो। रानी मेरीको राज्यकालको पहिलो वर्षमा, हण्टरको मण्डलीका पुरोहितले तिनलाई इस्टरको मासमा प्रभु-भोज लिने आदेश दिए; तर तिनले त्यसो गर्न इन्कार गरे। तिनका मालिक, विलियम हण्टर उनकै घरमा बसे उनी आफै खतरामा पर्न सक्छन् भनी डराए; यसकारण उनले विलियमलाई केही हप्ताको निम्ति ब्रेण्ट्वूडमा तिनका बाबुको घरमा जाने आग्रह गरे। तब तिनी बाबुकहाँ गए।
पाँच-छ हप्तापछि विलियमले ब्रेण्ट्वूडको गिर्जामा भेट्टाएको बाइबल हातमा लिए र सोर निकालेर पढ्न थाले। तर तिनी पढ्न रोकिए, जब फादर एट्वेल गिर्जामा आएर भने: 'के तँ बाइबलमा हात लाउँदैछस्? के तँ जान्दछस्, तैंले के पढिरहेछस्? के तँ धर्म-शास्त्रको अर्थ खोलेर व्याखा गर्न सक्छस्? '
'पवित्र - शास्त्रको व्याखा गर्ने काम म आफै त गर्दिनँ,' विलियमले भने, 'यो बाइबल मैले यहीं पाएर आफ्नो सान्त्वनाको निम्ति पढिरहेको थिएँ।'
फादर एट्वेलले मन्तव्य पोखे : 'यो बाइबल अंग्रेजीमा छापेर निकालिएदेखि यता यस संसारमा कहीं सुख छैन।'
'उफ! त्यसो नभन्नुहोस्! यो परमेश्वरको वचन हो, जुन पुस्तक पढ़ेर हामी कुन कुराले परमेश्वरलाई प्रसन्न पार्छ वा पार्दैन, सो जान्न सक्छौं।'
' के त्यो कुरा हामीले अघि जानेका थिएनौं र?'
'त्यति धेरै जानेका थिएनौं, जतिको अहिले बाइबल पाएर जान्न पाएका छौं। मेरो विन्ती छ : यो बाइबल हामीसित नित्य रहोस्!' भन्दै विलियमले उत्तर दिए।
फादर एट्वेल रिसले आगो भए। 'म तँलाई चिन्दछु। तँ तीमध्ये एक होस्, जसले रानीको कानुन मन पराउँदैनन्। त्यसै कारणले तैंले लण्डन त्यागिस्। यदि तैंले तेरो कामकुरा सुधारिनस् भने तँ र तँजस्तै अरू धेरैजना विधर्मी रापमा/आगोमा पर्नेछन्।'
'जेसुकै होस्, परमेश्वरले मलाई उहाँको वचनमा विश्वास गर्ने र उहाँको नाम स्वीकार गर्ने अनुग्रह प्रदान गरून्, ' विलियमले प्रत्युत्तर दिए। फर्केर एट्वेल यसो भन्दै गिर्जादेखि बाहिर निस्के: ' म तँसित तर्क गर्न सक्दिनँ, र तँसित तर्क गर्न सक्ने कसैलाई साथमा लिएर आउँछु, तँ विधर्मी!'
एट्वेल साउथवेल्लका उप - बिशपलाई लिएर नआएसम्म विलियम गिर्जामा बसिरहे र बाइबल पढ़ि नै बसे। 'तँलाई कसले बाइबल पढ्ने र व्याखा गर्ने अनुमति दियो?' भन्दै उप-बिशपले सोधे।
'हजुर / महाशय! म बाइबलको अर्थ खोल्दिनँ। सान्त्वनाको निम्ति मात्र म यो पढ्दछु,' विलियमले भने।
'तँलाई चाहिँ, किन, यो पढ्न खाँचो परयो?'
'म यो पढ्छु – म बाँचुन्जेलसम्म। तपाईंहरूले बाइबल पढ्न चाहनेहरूलाई निराश पार्नुहुँदैन। तपाईंले उनीहरूलाई उत्साह दिनुपर्छ। '
'ए, त्यसो पो भन्छस्! तँ मलाई मेरो काम सिकाउँछस्?' उप- बिशपले गनगन गर्दै भनेः 'तँ विधर्मी होस्!'
'म सत्य बोल्दछु; यसैले म विधर्मी होइनँ।'
ती दुईजनाको बीचमा प्रभु-भोजको पवित्र विधिको सम्बन्धमा धेरै तर्क-वितर्क चल्यो; विलियमले आफ्नो दृष्टिकोण स्पष्ट बुझाए। विधर्मी भनी दोष्याइँदा तिनले उत्तर दिँदै भनेः 'मलाई इच्छा हुन्छ : तिमी र ममा कसले आफ्नो विश्वास सबैभन्दा लामो थामिराख्न सक्छ, सो प्रमाण गर्न तिमी र म दुवै एउटै जलाइने खाँबामा बाँधिए हुनेथ्यो। मेरो विचारमा, तिमी नै पहिले आफ्नो विश्वास त्याग्छौ।'
'हामी त्यो हेर्नेछौं!' उप - बिशपले भने र विलियमको बारेमा रिपोर्ट गर्न गइहाले।
ती उप-बिशप रिपोर्ट गर्न सोझै मास्टर ब्राउनकहाँ गए; ब्राउनले विलियमका बाबु श्रीमान् हण्टरलाई र स्थानीय पुलिस / प्रहरीलाई बोलाए अनि विलियमका बाबुलाई छोरा खोज्न पठाए; किनकि छोरा विलियम उप-बिशपसित तर्क-वितर्क गरेपछि बुद्धिमानी भएर शहरबाट निस्केका थिए।
श्रीमान् हण्टर, 'मैले छोरोलाई खोजें, तर पाइनँ' भनी रिपोर्ट दिन, साथै मास्टर ब्राउनलाई पनि सन्तुष्ट पार्न भनेर दुई-तीन दिनभरि घोड़ा चढेर डुले। तब अचानक बाबु-छोराको जम्को भेट भयो। श्रीमान् हण्टरले छोरालाई लुक्न लाए; तिनीचाहिँ फर्केर जाने र छोरालाई भेटिनँ भन्ने भए।
'अहँ, बाबु!' विलियमले भने, 'म तपाईंसितै घर जानेछु; तब तपाईं कुनै फसादमा नपर्नुहोला।' बाबु-छोरा शहरमा आइपुग्ने बित्तिकै विलियम पक्रा परे र ब्राउनको सामु लगिए। ब्राउनले तिनीसित प्रभु- भोजको सामग्रीको परिवर्तन हुने विषयमा बहस गरे। विलियम आफ्नो विश्वासमा यति स्थिर र दृढ़ थिए कि ब्राउन खूबै रिसाए र तिनलाई लण्डनमा बिशप बोन्नरकहाँ पठाए।
विलियमलाई लण्डनमा दुई दिनसम्म ठिङ्गुरोमा राखियो; खानलाई ब्राउन ब्रेडको कड़ा भाग र एक कप पानी मात्र दिइयो, त्यसपछि बिशपको सामु आफ्नो मामला पेस गर्न लगियो। केही गर्न नसक्दा बोन्नरले विलियमलाई तिनले थाम्न सक्ने जति धेरै साङलाहरूले बाँधेर झ्यालखानामा थुनेर राख्ने हुकुम गरे। 'तँ कति वर्ष पुगिस्?' बोन्नरले विलियमलाई सोधे।
‘उन्नाइस!’
'आज जे-जस्तो गरिस्, त्यसभन्दा राम्रो गरिनस् भने तँ बीस वर्ष नपुगी जलाइनेछस्।'
विलियमले नौ महिना जेलमा बिताए, र त्यस औधिभित्र बिशपको सामु छ पल्ट देखा परे। अन्तिम छैटौं पल्ट फरवरी ९ तारिखमा देखा पर्दा तिनलाई मृत्यु-दण्डको आज्ञा दिइयो। त्यस दिन बिशपले विलियमलाई यसो भन्दै अन्तिम मौका दिए : 'आफ्नो विश्वास त्याग्छौ भने म तिमीलाई स्वतन्त्र/मुक्त गरिदिन्छु, र कुनै व्यापार शुरु गर्नलाई चालीस पाउण्ड दिनेछु। अथवा म तिमीलाई मेरो घरको भण्डारे बनाउनेछु। मैले तिमीलाई मन पराएँ। तिमी साफ - सुग्घर, बाठो छौ; आफ्नो विचारधारा त्याग्यौ भने म तिम्रो देखभाल गर्नेछु।'
विलियमले उत्तर दिए: ' धन्यवाद, हजुर /महाशय! तर तपाईंले मेरो मनलाई बाइबलद्वारा परिवर्तन गर्नुभएन भने म परमेश्वरबाट तर्केर संसारको प्रेमतर्फ फर्कन सक्दिनँ। म संसारका सबै थोकलाई तुच्छ सम्झन्छु- ख्रीष्टको प्रेमसित तुलना गर्दै।'
'तिमी यस्तो विश्वास गरेर मस्यौ भने तिमीले अनन्तसम्म यसको दण्ड भोग्नुपर्छ,' बिशपले भने।
‘परमेश्वरले धर्ममय न्याय गर्नुहुन्छ; मानिसले अन्याय गरेर दण्ड दिइएको व्यक्तिलाई निर्दोष ठहराउनुहुन्छ, ' विलियमले निश्चयतापूर्वक भने।
विलियम एक महिनाको निम्ति फेरि न्यूगेट झ्यालखानामा पठाइए, त्यसपछि जलाइनलाई ब्रेन्ट्वूडमा लगिए। तिनका बाबुआमा तिनलाई भेट्न झ्यालखानामा गए, तिनलाई विश्वासमा स्थिर भइरहने उत्साह दिए। तिनीहरूले भनेः 'ख्रीष्टको निम्ति मर्न राजी हुने छोरा पाएकोमा हामी गर्व गछौं।'
जलाइने खाँबामा उभ्याइएपछि विलियमले मानिसहरूसित तिनको निम्ति प्रार्थना गरिदिने आग्रह गरे। मास्टर ब्राउनले खिसी गर्दै भने: ‘तेरो लागि प्रार्थना गर्नु रे? म तेरो लागि प्रार्थना गर्दिनँ, जस्तो कि म एउटा कुकुरको निम्ति पनि प्रार्थना गर्दिनँ।'
'म तपाईंलाई क्षमा दिन्छु।'
'मैले तँलाई क्षमा मागेको छैनँ!' ब्राउन चिच्याइउठे।
एउटा पुरोहितलाई हातमा बाइबल बोकेर आउँदै गरेको देखेर विलियमले कराएर भनेः 'यहाँबाट पर जाऊ, हे झूटा अगमवक्ता! हे प्रियहरूहो, यस्ताहरूदेखि होशियार बस्नुहोस्! तिनीहरूका विपत्तिहरूमा सहभागी नहुनुहोस्! '
पुरोहितले भने: 'जसरी तिमी यहाँ जल्छौ, त्यसरी नै तिमी नर्क- कुण्डमा जल्नेछौ।'
'तिमी झूट बोल्दैछौ, हे झूटा भविष्यवक्ता! ' विलियमले कराउँदै भने, 'तिमी यहाँबाट जाइहाल!'
भीड़को बीचमा एउटा मान्छे बोलिनिस्क्योः 'म प्रार्थना गर्छु परमेश्वरले यिनको प्राणमाथि दया गरून्! '
मानिसहरूले भने: 'आमेन! आमेन!!
आगो सल्काएपछि विलियमले आफ्नो भजन - पुस्तक आफ्ना भाइतिर फ्याँके। तिनका भाइले भनेः 'विलियम, ख्रीष्टको पवित्र अनुराग / दुःखभोगाइ सम्झ! मृत्युदेखि नडराऊ!'
'म डराएको छैनँ,' विलियमले आफ्ना हातहरू स्वर्गतिर उठाएर भने: 'हे प्रभु, प्रभु, हे प्रभु, मेरो आत्मालाई ग्रहण गर्नुहोस्!' ज्वाला र धूवाँभित्र शिर झुकाएर विलियम हण्टरले सत्यताको निम्ति आफ्नो प्राण दिए। यसरी तिनले परमेश्वरको प्रशंसाको निम्ति सत्यतामा आफ्नो रगतको छाप लगाए।
रलिन्स वाइट
रलिन्स वाइट धेरै वर्षअघिदेखि कार्डिफ शहरमा माछा मारेर जीविका चलाउँथे। तिनलाई छिमेकीहरूले खुबै मन पराउँथे। राजा अष्टम् हेनरीको पालामा तिनी एक असल क्यथोलिक थिए, तर जब एड्वर्ड राजा भए, तबदेखि तिनी सत्यताको खोज गर्ने प्रसिद्ध व्यक्ति भए। तिनी एकदमै अनपढ़ व्यक्ति थिए, पढ्न सक्दैनथिए, यसैले तिनले आफ्नो जवान छोरालाई स्कूल पठाए, र यस केटाले पढ्न सिक्यो, तबदेखि बाबुचाहिँले त्यस छोरालाई हरेक साँझमा बाइबल र अरू पुस्तकहरू पढेर सुनाउन अह्राए।
वाइटले पवित्र-शास्त्र पढ्न र अध्ययन गर्नमा यति ठूलो आनन्द उपभोग गरे कि तिनले माछा मार्ने धन्धा त्यागेर एक ठाउँदेखि अर्को ठाउँमा जान र अरूलाई सिकाउन थाले। तिनी छोरालाई साथमा लिएर चारैतिर जान्थे। वाइटसित असाधारण स्मरण शक्ति थियो; तिनी त्यस बेलाका धेरै शिक्षित व्यक्तिहरूले भन्दा अझ ठीकसित पवित्र-शास्त्रका अंशहरू कण्ठस्थ भन्न सक्थे। चाँडै तिनी प्रसिद्ध र सत्यको पक्षमा सफल विद्वान भए।
वाइटले यसो गर्न थालेका पाँच वर्षपछि रानी मेरी राज-सिंहासनमा चढ़िन्। वाइटले खुला प्रचार गर्न छोड़े, तर गुप्तमा प्रचार गर्ने काममा भने लागि नै रहे। यसरी तिनले धेरै मानिसहरूलाई प्रभुमा ल्याए। जब सतावटहरू बढ्न थाले, तब तिनका साथीहरूले तिनीसित आफ्ना सबै थोक बेच्ने, पाएको पैसा आफ्ना स्वास्नी र छोराछोरीहरूलाई दिने र आफूचाहिँ लुकिहिँड्ने आग्रह गरे। तर वाइटले त्यसरी ख्रीष्टलाई इन्कार गर्न मानेनन्।
शहरमा अधिकारीहरूले चाँड़ै वाइटलाई पक्रे, अनि ल्यान्डफका बिशपकहाँ लगे। बिशपले तिनीसित धर्म - विज्ञानको सम्बन्धमा धेरै बहस र तर्क गरिसकेपछि वाइटलाई झ्यालखानामा पठाए। तिनी एक वर्षभरि कार्डिफको गढ़ीमा कैद गरिए। वाइटले 'म अब सर्वनाश भएँ र मेरो परिवारले म मरेपछि घोर दुःख भोग्नुपर्छ' भनी जानेका थिए, तथापि तिनले त्यस सालभरि तिनीकहाँ नियमित रूपले भेट्न आउने मित्रहरूलाई प्रचार गर्न र तिनीहरूका निम्ति प्रार्थना गर्न छोडेनन्।
त्यस समयको अन्ततिर ल्यान्डफका बिशपको सामु वाइटको न्याय भयो। बिशपले किन वाइटको न्याय गरिँदैछ, सो स्पष्ट गर्दै एउटा लामो भाषण दिए। त्यसको जवाफ दिँदै वाइटले भने: 'हजुर / महाशय, परमेश्वरलाई धन्यवाद दिन्छु कि म ख्रीष्टको अनुयायी भएको छु, र मसित परमेश्वरको वचनको विरोधमा कुनै विचार - मन्तव्य छैन। यदि मैले त्यस्तो कुनै विरोधी मन्तव्य लिएको छु भने म परमेश्वरको वचनद्वारा सुधारिएको चाहन्छु, जस्तो एउटा ख्रीष्टियानको निम्ति गर्न आवश्यक छ।'
केही समयसम्म एक अर्कोको बीचमा दोषको विषयमा बहस र तर्क भएपछि बिशपले के सल्लाह दिए भनेः परमेश्वरले वाइटको मन परिवर्तन गरिदिऊन् भनी सबैले केही समय प्रार्थना गरून्। वाइटले चीत्कारसाथ भनेः 'अहो, तपाईंले ठीक कुरा गर्दै हुनुहुन्छ। तपाईंको विन्ती भक्तिपूर्ण र धर्ममय छ भने र तपाईंले ठीक तवरले प्रार्थना गर्नुभयो भने परमेश्वरले तपाईंको प्रार्थना सुन्नुहुनेछ। यसकारण लौ, प्रार्थना गर्नुहोस्! तपाईं आफ्नो परमेश्वरलाई प्रार्थना गर्नुहोस्! म आफ्ना परमेश्वरलाई प्रार्थना गर्छु; म जान्दछु, मेरो प्रार्थनाको उत्तर दिइनेछ।'
प्रार्थना गरिसकेपछि बिशपले भने : 'कसो त? के तिमी आफ्नो मन्तव्य रद्द गर्छौ, कि गर्दैनौ?'
वाइटले उत्तरमा भने: ‘निश्चय नै हजुर, तपाईंले मलाई रलिन्स नै छाड़िराख्नुभयो, र मलाई रलिन्स नै भेट्टाउनुभयो। परमेश्वरको अनुग्रहद्वारा म रलिन्स नै भइरहनेछु। निश्चय नै यदि तपाईंका प्रार्थनाहरू ठीक र धर्ममय भएदेखि परमेश्वरले ती प्रार्थना सुन्नुहुनेथियो, तर तपाईं झूटा ईश्वरको आदर गर्नुहुन्छ, र अनुचित रीतिले प्रार्थना गर्नुहुन्छ। यसकारण परमेश्वरले तपाईंको प्रार्थनाको उत्तर दिनुभएन। म त एउटा गरिब, साधारण मानिस हुँ, तर परमेश्वरले मेरो प्रार्थना सुन्नुभएको छ र मलाई उहाँको इच्छा/उद्देश्यमा बलियो पार्नुहुनेछ।'
क्रोधित बिशपले वाइटलाई दण्ड-आज्ञा दिनै आटेको समयमा कसैले वाइटको जीवनमा कतै चमत्कार हुन्छ कि भनेर मास-विधि सम्पन्न गर्ने सल्लाह दियो। रलिन्स वाइट गुप्तमा प्रार्थना गर्न त्यहाँबाट निस्के, अरूचाहिँ मास सम्पन्न गर्ने पट्टि लागे। उत्थापनको घण्टी सुनेपछि तिनी फर्केर आए - मासको पूजाको मुख्य क्षण यही थियो।
'हे प्रियहरूहो,' वाइटले कराउँदै समुदायलाई भने, 'न्यायको दिनमा तपाईंहरू साक्षी बस्नुहुनेछ: मैले यस मूर्तिलाई ढोग गरिनँ!' (घण्टी बज्दा मासको बिस्कुटरूपी रोटीलाई ढोग्नुपर्थ्यो।)
वाइटलाई मृत्यु-दण्डको आज्ञा दिइयो र कार्डिफको गढ़ीको झ्यालखानामा पठाइयो, जुनचाहिँ अँधेरो र डरलाग्दो ठाउँ थियो। तिनी मारिने ठाउँमा तिनको विवाहको कमिज, एउटा पुरानो गेरुवा कोट र एउटा पुरानो छालाको पतलुन पहिरयाइएर ल्याइए। त्यस ठाउँमा जाँदै गर्दा तिनले आफ्ना पत्नी र छोराछोरीहरूलाई भेटे। उनीहरूलाई देखेर तिनी पनि रोए, अनि हातले छाती पिट्दै भनेः 'हे शरीर, तँ मलाई बाधा दिन्छस्! के तँ बाँच्न चाहन्छस्? म तँलाई भन्छु, तँ जे गर्न सक्छस्, गर्! तर तँ विजयी हुन सक्दैनस्।'
वाइट खुशीसाथ जलाइने खाँबासम्म पनि गए; त्यसमा एकक्षिण अड़ेसिएपछि तिनले भीड़मा उपस्थित भएको एउटा साथीलाई भनेः 'मलाई मेरो शरीरले मेरो आत्मासित लड़ाइँ गरेझैं लाग्छ; कतै शरीरको पो जित हुन्छ कि भन्ने डर मलाई लागिरहेछ। मलाई परीक्षामा परेझैं देख्नुभयो भने मतिर तपाईंको औँला ठड़ाएर मलाई इसारा दिनुहोस्, र म सबै कुरा स्मरण गर्न सकूँ!' स्मिथले तिनलाई साङलाले अग्नि-दण्ड दिने खाँबासित बाँधेपछि वाइटले उनलाई ठीकसँग बाँध भने, र तिनको शरीरले तिनको आत्मासित संघर्ष गर्न नपाओस्।
मानिसहरूले वाइटको वरिपरि पराल र दाउरा थुपार्न थाले; वाइटले पनि तिनीहरूलाई सकेसम्म असल प्रकारले थाक लाउन सहायता गरे। जब एउटा पुरोहित भीड़लाई वचन - प्रचार गर्न तिनको छेउमा उभिए, तब पुरोहितले प्रभु-भोजको पवित्र विधिको विषयमा केही भन्नुभन्दा अघिसम्म वाइटले उनको प्रचार सुने, तर जब उनले प्रभु-भोजको विषयमा भन्न थाले, तब वाइट यसो भन्दै कराए : 'यस झूटा अगमवक्ताको कुरा नसुन्नुहोस्!'
आगो सल्काइयो। वाइटले आफ्ना हातहरू ज्वालाहरूको बीचमा पसारे - तिनका नशाहरू खुम्चिन थाले, बोसो तप्कन लाग्यो। एकैपल्ट मात्र तिनले जलिरहेको हात आफ्नो मोहोड़ा पुछ्न उठाए। दुःख सहँदै जलिरहेको बेला - जो अरू बेलाभन्दा लामो थियो – तिनी चर्को सोरमा कराइउठे: ‘हे प्रभु, मेरो आत्मालाई ग्रहण गर्नुहोस्! हे प्रभु, मेरो प्राणलाई ग्रहण गर्नुहोस्!' तिनी मुख खोल्न सकेसम्म यसो भन्दै कराए। अन्तमा आगोले तिनका खुट्टाहरू खतम गरेपछि तिनको सम्पूर्ण शरीर ज्वालाहरूको बीचमा ढल्यो। रलिन्स वाइट परमेश्वरको सत्यताको पक्षमा साक्षी दिँदै मरे, र तिनलाई अनन्त जीवनको मुकुट इनाम - स्वरूप प्रदान गरियो।
जर्ज मार्श
जर्ज मार्श आफ्ना पत्नी र छोराछोरीहरूसित बस्ती /गाउँमा एउटा फार्ममा धेरै वर्ष शान्तिसित जिइरहे। जब तिनकी पत्नी परलोक भइन्, तब तिनी पुरोहित बन्ने उद्देश्य लिएर क्याम्ब्रिज यूनिभर्सिटीमा पढ्न गए। केही समयसम्म लरेन्स स्यान्डर्सका सहयोगी पुरोहित भएर पनि काम गरे। पक्राउ पर्न र चेस्टरका बिशपद्वारा चार महिनासम्म कैद गरिनुभन्दा अघि मार्शले केही समय प्रचार गरे। बिशपले कसैलाई पनि तिनीकहाँ आउन दिएनन्, अनि जस-जसले मार्शसित भेट्न चाहे, तिनीहरूको नाम उनलाई बताउने हुकुम गरे।
मार्श धेरैपल्ट डा० कोट्सकहाँ ल्याइए, तर तिनले एड्वर्डको राज्यकालमा सिकाइएको धर्म-सिद्धान्त जोगाइराखे र कहिल्यै हल्लिएनन्। यद्यपि तिनले यसो भनेः 'म पनि तिमीझैँ जिउन चाहन्छु। तर म मेरा स्वामी ख्रीष्टलाई इन्कार गर्न सक्दिनँ; नत्र उहाँले मलाई उहाँको स्वर्गीय पिताको सामु इन्कार गर्नुहुनेछ।' मार्शलाई विधर्मी भनी दण्ड- आज्ञा दिइयो र शासन- अधिकारीहरूको जिम्मामा छोड़ियो।
कसैलाई झ्यालखानामा मार्शसित भेट गर्ने अनुमति दिइएन। यसकराण तिनका मित्रहरू झ्यालखानाको वरिपरि खड़ा गरिएका पर्खालको एउटा प्वाल - बाहिर उभिन्थे र मार्शलाई 'तिमी कस्ता छौ' भनी कराउँदै सोध्थे। तिनी सधैं 'ठीक छु' भन्थे। तिनी परमेश्वरको सत्यताको पक्षमा एउटा साक्षीको रूपमा मर्न उत्सुक थिए र यसो हुँदा आइपर्ने कष्ट साहसपूर्वक सहन सक्न उहाँको गोहारमा भर पर्दैथिए। तिनलाई मार्ने दिनमा मार्श साङलाहरूले बाँधिएको अवस्थामा झ्यालखानाबाट निकालिए। कति मानिसहरूले तिनलाई पैसा दिने चेष्टा गरे। यस्तो पैसा पाएपछि मृत्यु-दण्ड पाउने अपराधीहरूले पुरोहितलाई तिनीहरूको निम्ति मास गर्ने र प्रार्थना गर्ने विन्ती गर्दै घूस दिन्थे। तर मार्शले त्यस्ता पैसा दिने मानिसहरूलाई आफ्नो पैसा तिनलाई होइन, तर अरू कैदीहरूलाई अथवा गरिबहरूलाई दिनु भने।
शहरदेखि बाहिर स्पिटल - बूटनको नजिकैमा अग्नि- दण्ड दिइने खाँबाको छेउमा चेस्टरका उप-प्रबन्धकले मार्शलाई तिनले आफ्नो विश्वास त्यागे रानीबाट पाउन सकिने क्षमा- पत्र देखाए। मार्शले भनेः 'म त्यो क्षमा-दान खुशीसाथ ग्रहण गर्न तत्पर हुँ; किनकि म रानीलाई पनि माया गर्छु, तर म आफ्नो विश्वास त्याग्न सक्दिनँ।'
आगो राम्ररी तयार गरिएको थिएन; यसैले मार्शले धैर्यसाथ सहँदै भयानक कष्ट भोगे। तिनी आगोमा धेरै लामो समय जलिरहे। तिनको मासु डढ्यो र फुलिएर आयो, यहाँसम्म कि तिनको शरीरमा बाँधिएका साङलाहरू नदेखिने भए। तब अचानक तिनले आफ्ना हातहरू माथितिर फैलाएर कराउँदै भने : 'हे स्वर्गका पिता, ममाथि दया गर्नुहोस्!' त्यसपछि तिनी मरे। मार्शको मृत्यु हेर्ने- देख्ने धेरै गवाहीहरूले भने: तिनी धैर्यधारण र भक्तिसाथ मर्ने एक शहीद थिए। यसकारण 'मार्श विधर्मी थिए, र तिनलाई विधर्मीलाई झैं जलाइए; अनि अब तिनी नर्क -कुण्डमा एउटा जलिरहेको अगुल्टो भएका छन्' भन्ने उपदेश प्रचार गर्न बिशपलाई करै लाग्यो।
विलियम फ्लाउवर
विलियम फ्लाउवर, जो कहिलेकहीं ब्रान्च भन्ने उपनामअनुसार पनि भनिन्थे, क्याम्ब्रिजको स्नो - हिल भन्ने ठाउँमा जन्मेका थिए। तिनी एलीको मठमा भर्ना भए र १७ वर्षको हुँदा मठवासी भए; तिनले मठका जम्मै नियमहरू पालन गरे; तिनी पुरोहित भए र मासको विधि पनि सम्पन्न गर्न थाले। तर एक्काइस वर्षको उमेरमा फ्लाउवरले मठलाई त्यागे, आफ्नो अभ्यास रोके र एक सामान्य पुरोहित भई स्नो - हिलमा फर्केर आए। त्यहाँ तिनले मास सम्पन्न गर्न थाले र प्रायः छ महिनासम्म केटाकेटीहरूलाई पढ़ाए।
तिनी अरू धेरै ठाउँहरूमा गए; अन्तमा केही समयको निम्ति टूक्स्बरी भन्ने ठाउँमा बसे र विवाह गरे। त्यसपछि तिनी लण्डन गए। इष्टरको दिन बिहानै फ्लाउवरले एउटा पुरोहितलाई प्रभु-भोज दिइरहेको देखे। त्यस प्रभु-भोजको रीति-विधि र त्यस पुरोहितप्रति नाराज हुँदा फ्लाउवरले अचानक आफ्नो छुरी निकालेर त्यस पुरोहितको टाउको, पाखुरा र हातमा काटिदिए; तब त्यस पुरोहितको हातबाट समर्पण गरिएको रोटी र कचौरा भुइँमा खसे र ती सबै थोक पुरोहितको रगतमा मिसिए।
जब तिनी बिशप बोन्नरकहाँ ल्याइए, तब फ्लाउवरले स्वीकार गरे: हो, त्यस पुरोहितलाई यस प्रकारले हिर्काएर तिनले अइसाई व्यवहार देखाएर काम गरेका थिए, र तिनले त्यसको निम्ति दण्ड पाउनैपर्थ्यो। तर प्रभु-भोजको सम्बन्धमा तिनको जुन विश्वास थियो, त्यसमा हार मान्न चाहिँ इन्कार गरे। तिनले बिशपलाई के भने भने : बिशपले तिनको शरीरलाई जस्तो मन लाग्छ, त्यस्तै गर्न सक्थे, तर तिनको प्राण / आत्मामाथि बिशपको कुनै हक थिएन; त्यो परमेश्वरको थियो।
केही घण्टा विचार गर्ने समय पाएपछि फ्लाउवर बिशपकहाँ फर्कि आए। बिशपले तिनलाई प्रभु-भोजको सम्बन्धमा भएको तिनको मन्तव्यको बारेमा एकपल्ट सोचविचार गर्ने आग्रह गरे। 'मैले जे भनेको छु, म त्यस्तैमा अडिएर बस्छु। कानुनले मलाई दण्ड दियोस्,' भन्दै फ्लाउवरले उत्तर दिए। बिशपले तिनलाई भेटेको हरेक पल्ट नै तिनको उत्तर त्यही दोहोरिन्थ्यो: 'मेरो भन्नु केही छैन। भन्न चाहेको सबै कुरा मैले भनिसकेको छु। म त्यसमा केही पनि अदल-बदल गर्न चाहन्नँ।'
अप्रिल २४ तारिख फ्लाउवरलाई जलाइमार्न सेन्ट मार्गरेट चर्चको आगनमा ल्याइयो। पहिले तिनको देब्रे हात तिनको पछिल्तिर तानेर राखियो र दाहिने हातचाहिँ च्वाट्टै काटियो, त्यसपछि आगो सल्काइयो। जल्दै गर्दा तिनी तीनपल्ट यसो भन्दै कराइउठे: 'हे परमेश्वरको पुत्र, ममाथि दया गर्नुहोस्!' त्यसपछि तिनी केही बोलेनन् - केवल काटिएको हातको बाँकी भाग अर्को हातले समातेर सकेसम्म माथि उचालिराखे।
जोन कार्डमेकर र जोन वार्न
सबै क्याथोलिक मठहरू विघटन गरिनुभन्दा अघि जोन कार्डमेकर मठका परिदर्शन गर्ने मठवासी थिए। त्यसपछि तिनले एक विवाहित उप-पुरोहितको रूपमा काम गरे। त्यसपछि तिनी राजा एड्वर्डको राज्यकालमा सेन्ट पल्स चर्चको रीडरको रूपमा नियुक्त गरिए। त्यस चर्चका पोप - भक्तहरू कार्डमेकरको सिद्धान्तले यति साह्रो बिच्किए कि तिनीहरूले तिनको गाउन/ओढ्ने छुरीले काटेर नष्टभ्रष्ट पारे।
रानी मेरीको शासनको शुरुमा कार्डमेकरलाई लण्डनमा ल्याइयो र बाथका बिशप बार्लोसितै झ्यालखानामा हालिए। सचिवले/च्यान्सलरले ती दुवैको जाँच गरे र दुवैलाई असल विश्वासी क्याथोलिक हुन् भनी घोषणा गरे। सायद त्यसो गरेर उनी ती दुवैजनाको उदाहरणबाट अरूलाई पनि आफ्नो विश्वास त्याग्ने काममा प्रोत्साहन दिन चाहन्थे। सायद ती दुवैजना पनि विश्वासमा निक्कै कमजोर भइसकेका थिए होलान्। जे होस्, यस्तो पनि थाहा लागिएको छ कि त्यसपछिको हरेक न्याय - जाँचमा च्यान्सलरले बार्लो र कार्डमेकरलाई बुद्धिमानी शिक्षित व्यक्तिहरूको उदाहरणको रूपमा लिए। वास्तवमा जे जति भए तापनि बार्लो कैदबाट मुक्त गरिए; र रहल जीवनभरि तिनले ख्रीष्टको सुसमाचारको सत्यताको पक्षमा साक्षी दिने काम गरि नै रहे। कार्डमेकरचाहिँ फेरि झ्यालखानामै फर्काइए। लण्डनका बिशपले जनतालाई सूचित गरेर भने कि प्रभु - भोजका सामग्रीहरू प्रभुकै शरीर र रगतमा परिणत हुने सिद्धान्त र विश्वासको सम्बन्धमा अरू केही शिक्षा-सिद्धान्तहरू ग्रहण गरेपछि कार्डमेकर छोड़िनेथिए। तर तिनी कहिल्यै कैदबाट मुक्त गरिएनन्।
जोन वार्नचाहिँ सोफा-साज र फर्नीचरका दोकानदार थिए। तिनी प्रभु-भोजका सामग्रीहरू ख्रीष्टका शरीर र रगतमा परिणत हुन्छन् भन्ने सिद्धान्तमा विश्वास गर्दैनथे र प्रभु भोज लिन इन्कार गर्थे भन्ने दोष तिनलाई लगाइयो। यी आरोपहरूअनुसार तिनी दोषी नै छन् भनी जोन वार्नले आफै पूर्ण रूपले स्वीकार गरे। बिशपले जे नै भनून् वा धमास देऊन्, वार्नले आफ्नो विश्वास अलिकति पनि ढलपल हुन मानेनन्।
मई ३० तारिखको दिन जोन कार्डमेकर र जोन वार्न सँगसँगै जलाइमार्ने खाँबामा लगिए; वार्नले आफ्नो प्रार्थना चढ़ाएपछि तिनी खाँबामा बाँधिए, र तिनको वरिपरि दाउरा र सुकेका स्याउलाहरू थुपारिए। अब केवल आगो सल्काउने राँको मात्र चाहिएको थियो। त्यसै बेला शासन-अधिकारीहरूले कार्डमेकरलाई एकातिर लगेर तिनीसित कुरा गर्न थाले; तब धुइरोलाई के विश्वास लाग्यो भनेः कार्डमेकरले आफ्नो विश्वास त्याग्न लागिरहेछन् कि क्या हो? तब कार्टमेकरले ती शासन- अधिकारीहरूलाई त्यहीं छोड़े, खाँबातिर गएर लुगा लगाएकै अवस्थामा प्रार्थना गर्न घुँडा टेके। अब मानिसहरूलाई पक्का विश्वास भयोः तिनी छोड़िनेथिए। तर प्रार्थना गरिसकेपछि कार्डमेकरले आफ्ना लुगाहरू खोले, खाँबालाई चुम्बन गरे र तिनीहरूले तिनलाई पनि खाँबामा बाँध्दै गर्दा वार्नलाई सान्त्वना दिए।
अब ती दुवैजनाको मन्तिर आगो लगाइयो। कार्डमेकरले आफूलाई बचाउन खोजेनन् भन्ने कुरा थाहा पाएपछि त्यस भीड़ले ठूलो सोरले कराउँदै तिनलाई आर्शीवाद दियो।
थोमस हक्स
१५५५ सालको फरवरी ८ तारिखमा यी छजना व्यक्तिलाई बिशप बोन्नरको सामु ल्याइयोः स्टिफन नाइट, विलियम पिगोट, थोमस टम्किन्स, जोन लरेन्स, विलियम हण्टर र थोमस हक्स। भोलिपल्ट ती सबैलाई प्राण-दण्ड दिइयो।
थोमस हक्स एक अग्ला, सुन्दर र उत्तम गुणहरूले सम्पन्न व्यक्ति एस्सेक्समा जन्मेका थिए र एक भद्र मानिसको स्तरमा हुर्काइएका थिए। तिनी अरूप्रति भएको तिनको भद्र व्यवहारको निम्ति, साथै सत्य धर्म र भक्तिप्रति भएको तिनको सर्मपणको निम्ति प्रसिद्ध थिए। हक्सले लर्ड अफ अक्सफोर्डबाट काम पाए त्यस सेवकाइमा छठवाँ एड्वर्डको जीवनकालभरि रहे। त्यस उच्च कुलीन परिवारमा तिनको सुनाम चले, साथै तिनी सबैको खुबै प्यारो पनि भए। तर एड्वर्डको मृत्युपछि सबै कुरा बिग्रियो। धर्मको पतन भयो, भक्त जनहरू खतरामा परे, र भद्र मानिसहरूका परिवारहरू सङ्कष्टमा परे। रानी मेरीको राज - दरवारी विश्वाससित र लर्ड अफ अक्सफोर्डको परिवारसित मिलेर बस्नुको सट्टामा हक्सले लर्डको सेवकाइ त्यागेर शान्तिसित उपासना गर्न पाउने आशामा घर फर्के।
चाँड़ै हक्सको एउटा छोरा जन्म्यो। क्याथोलिक चर्चमा छोरालाई बप्तिस्मा दिन नमान्दा तिनले बप्तिस्माको विधिलाई तीन साताको निम्ति पन्साए। पवित्र विधिको अपमान गरेको कारणले कसैले तिनको विरुद्ध अक्सफोर्डका अर्ल/भारदारकहाँ चुक्ली पुरयायो। ती भारदारले हक्ससँग धर्मको सम्बन्धमा तर्क गर्न चाहेनन्, अथवा सकेनन्। यसकारण उनले हक्सलाई लण्डनका बिशप बोन्नरकहाँ पठाए।
हक्सले बोन्नरलाई यसो भने: तिनी कति पनि बप्तिस्माको विधिको विरोधमा हुँदैनथे, तर यस विषयमा तिनी क्याथोलिक संस्कारमा विश्वास गर्दैनथे।
'के तिमी राजा एड्वर्डले प्रकाशित गर्नुभएको पुस्तकको आधारमा तिम्रो छोरालाई बप्तिस्मा दिन सहमत छौ?' भन्दै बिशपले सोधे।
'सहमत छु। म ठीक त्यसै गर्न चाहन्छु, ' हक्सले उत्तर दिए।
बोन्नरले हक्सलाई क्याथोलिक बप्तिस्माको सेवा प्रोटेस्टेन्ट बप्तिस्माको सेवाजत्तिकै प्रभावशाली छ भन्ने कुरामा विश्वास गर्ने तुल्याउन सकेनन्। यसकारण तिनले लण्डनका आर्च - डिकन श्री हार्ल्सफिल्डलाई डाकिपठाए।
हार्सफिल्डले भन्न थाले: 'ख्रीष्टले पनि धर्मविधिहरू प्रयोग गर्नुभयो। के उहाँले भुइँदेखि माटो टिपेर त्यसमा थुक्नुभएन? र त्यसरी त्यस अन्धा मान्छेलाई देख्ने बनाउनुभएन?'
'त्यो म जान्दछु, 'हक्सले भने; 'तर त्यही कुरा उहाँले बप्तिस्मामा प्रयोग गर्नुभएन। तपाईं त्यो प्रयोग गर्न चाहनुहुन्छ भने ख्रीष्टले झैं त्यो प्रयोग गर्नुहोस्!'
'मानिलेऊ! तिम्रो बालक ख्रीष्टियान नभईकन अर्थात् बप्तिस्मा नपाईकन मस्यो भने के हुन्छ?'
'तब के हुन्छ?'
'के हुन्छ र! तिमी र तिम्रो बालक दुवै नर्क-कुण्ड जानेछौ।'
अरू धेर न्याय नगर्नुहोस् - पवित्र - शास्त्रले दिएको सीमाभित्र रहनुहोस्!' भन्दै हक्सले प्रत्युत्तर दिए।
'के तिमीलाई थाहा छैन? तिम्रो बालक आदम - वंशमा सर्दै आएको मूल - पापमा जन्मेको छ?'
'हो, म जान्दछु।'
आदम-वंशमा सर्दै आएको मूल - पाप कसरी मेटिन्छ त?' 'प्रभु येशू ख्रीष्टमाथि साँचो विश्वास र भरोसा गरेर,' हक्सले उत्तर दिँदै भने।
'तिम्रो बालकले कसरी विश्वास गर्न सक्छ?'
'उसले पापदेखि पाइने छुटकारा आफ्ना माता - पिताको विश्वासमा आधारित छ।'
'त्यो कुरा तिमी कसरी प्रामणित गर्न सक्छौ?'
'प्रेरित पावलले पहिलो कोरिन्थीको पत्रको ७ अध्यायको १४ पदमा यसो भनेका छन्: किनभने विश्वास नगर्ने पतिचाहिँ पत्नीद्वारा पवित्र हुन्छ, नत्रता तिमीहरूका छोराछोरीहरू अशुद्ध हुनेथिए, तर अब उनीहरू पवित्र छन्।'
'आफ्नो विश्वास त्याग! त्याग!! के तिमीलाई ख्रीष्टले यसो भन्नुभएको थाहा छैन? तिमीहरूले बप्तिस्मा लिएनौ भने तिमीहरूको उद्धार हुन सक्दैन।'
छ?'
'के हाम्रा प्रभुको शिक्षा बाहिरी रीति-विधिहरूमा आधारित 'हो, केही हदसम्म त रीति-विधिहरूमा भर पर्छ। मासको विषयमा तिम्रो विचार के छ?'
हक्सले उत्तर दिएर भनेः 'मास घिनलाग्यो, घृणित र बेकम्मा छ।' ‘बेकम्मा छ रे? बाइबलका पत्रहरू र सुसमाचारको बारेमा तिमी के भन्छौ?'
'ती असल छन् यदि ख्रीष्टले जुन प्रयोगको निम्ति ती छोड़िदिनुभयो, ठीक त्यसरी नै प्रयोग गरिए भने। '
'पाप - स्वीकारणको विषयमा चाहिँ तिमी के- कसो भन्छौ?'
त्यो पनि दुष्ट र घृणास्पद छ। ख्रीष्ट येशूलाई बाहेक अरू कसैलाई पुकार्नु, भरोसा गर्नु अथवा विन्ती - प्रार्थना चढाउनु - त्यो त ईश्वर - निन्दा गरेको बराबर हो।'
'हामी तिमीलाई अरू कसैमाथि भरोसा राख भन्दैनौं, यति मात्र भन्छौं – तिनीहरूलाई (अर्थात् क्याथोलिक सन्तगणहरूलाई) पुकार र प्रार्थना गर! तिमी जान्दछौ, पहिले कसैसँग कुरा नगरीकन तिमी राजा वा रानीकहाँ जान सक्दैनौ।'
'तपाईंको भनाइअनुसार के मैले जसमाथि म विश्वास - भरोसा गर्दिनँ, उसैलाई पुकार्नुपर्छ? प्रेरित पावलले भनेका छन्ः जसमाथि तिनीहरूले विश्वास गरेकै छैनन्, उहाँलाई तिनीहरूले कसरी पुकारा गर्नेछन्?'
'तिमी मरेपछि, के कसैले तिम्रो निम्ति प्रार्थना गरेको चाहँदैनौ?' 'अहँ, म चाहन्नँ। मरेपछि कसैको प्रार्थनाले हामीलाई सहायता पुरयाउन सक्दैन-यो मेरो विश्वास हो; जबसम्म तपाईंले पवित्र-शास्त्र लिएर मलाई यसरी सहायता गर्न सकिन्छ भन्ने प्रमाण गर्नुहुन्न।'
'के कुनै धर्मी जनको प्रार्थना प्रबल हुँदैन र?'
'जीवितहरूका निम्ति मात्र उसका प्रार्थनाहरू प्रभावकारी हुन्छन्। दाऊदले भने: तीमध्ये कसैले पनि कुनै उपायले आफ्नो भाइलाई उद्धार गर्न सक्दैन, नता उसको छुटकाराको निम्ति परमेश्वरलाई कुनै मोल दिन सक्दछ।'
'तिमीसँग कुन-कुन किताबहरू छन्?'
'नयाँ नियम बाइबल, सुलेमानका पुस्तकहरू र भजनसंग्रह।' 'तिमी अरु किताबहरू पनि पढ्छौ?'
'निश्चय नै पढ्छु। मैले चाहेका किताबहरू तपाईंले मलाई दिनुभयो भने। '
'तिमीले चाहेका पुस्तकहरू कुन-कुन हुन् त? लौ, भन!' 'लाटिमरका किताबहरू, लर्ड क्यान्टरबरीका किताबहरू, ब्राड्फोर्डका उपदेशहरू र रिड्लीका पुस्तकहरू।'
'यसलाई लैजाऊ! यसले मागेका किताबहरूले यसकै विधर्मी सिद्धान्तहरूको पुष्टि गर्छन्।'
भोलिपल्ट फेक्म्यान नाम भएका व्यक्ति हक्ससित कुरा गर्न आए। उनले भनेः 'के जबसम्म जम्मै सेवा अंग्रेजीमा गरिँदैन, तबसम्म आफ्नो बालकलाई बप्तिस्मा दिन नचाहने तिमी नै हौ? अनि अरू कुनै रीति-विधि पनि तिमी चाहँदैनौ?'
'पवित्र बाइबलले “ गर्नू” भनेर दिएका सबै आदेशहरू पालन गर्न म तयार छु,' हक्सले भने।
तिनीहरू केही बेर यस्तै कुरा गरिरहे; हक्सले आफ्नो मूल- आधार त्यागेनन्, अनि तर्कको हरेक विषय प्रमाण गर्न बाइबलबाट पदहरू उद्धृत गरि नै रहे। त्यसको भोलिपल्ट डा० चेड्सी र बिशप बोन्नरले हक्ससित बातचित गरे; क्याथोलिक चर्चको बारेमा तिनीहरूले हक्सको विचार सुन्न चाहे।
क्याथोलिक चर्च त चरित्रहीन कार्डिनलहरू, पुरोहितहरू, इसाई मठवासीहरू र सन्यासीहरूको चर्च हो। यस चर्चलाई म कहिल्यै मान्यता दिँदिनँ, विश्वास पनि गर्दिनँ,' हक्सले उत्तर दिए।
बोन्नरले चेसीलाई स्पष्टिकरण दिँदै भनेः 'यो मेरो सेवालयमा आउँदैन, मास पढ़ेको पनि सुन्दैन। उसले चाहेका सेवा - विधिहरू अंग्रेजीमा हुनुपर्छ।'
ख्रीष्टले कहिल्यै अंग्रेजी बोल्नुभएन,' चेड्सीले भने।
'न ता उहाँले ल्याटिन नै बोल्नुभयो, ' हक्सले ठाडै उत्तर दिए; 'मैले नबुझेको भाषा सुनेर मलाई के फाइदा हुन्छ र?' तिनले अझै यसो भने कि क्याथोलिक चर्चले मूर्तिहरूको पूजा गर्छ, सन्तहरूलाई प्रार्थना चढ़ाउँछ, प्रभु-भोजको निम्ति समर्पण गरिएको रोटी र दाखमद्यलाई ढोग्छ आदि, जुन कुराहरू एउटै पनि पवित्र बाइबलमा लेखिएको वा आदेश गरिएको छैन, पाइँदैन। १५५५ सालको फरवरी ९ तारिखमा तिनलाई विधर्मी ठहराई प्राण-दण्ड दिने आदेश भयो। तिनी जून १० तारिखसम्म झ्यानखानामा बसे।
तिनको मृत्यु हुनुभन्दा केही अघि हक्सका केही मित्रहरूले तिनीसित कृपापूर्वक एउटा काम गरिदिने आग्रह गरे। उनीहरू आफ्नै जीवनको विषयमा भयभीत थिए; आगोको बीचमा तिनको विश्वास कति बेर दृढ़ /अटल र स्थिर रहन सक्छ भन्ने विषयमा उनीहरूलाई शङ्का हुन लागेको थियो। तब हक्स सहमत भएः जल्दाखेरिको कष्ट सहन सक्ने भए अनि तिनको मन पनि शान्तमय रहे तिनी आफ्ना हातहरू शिरभन्दा माथि उठाऊन्। तिनी आगोमा धेरै लामो समयसम्म जलिरहे र बोल्न पनि नसक्ने भए; तिनको छाला खुम्चिसकेको थियो र तिनका औँलाहरू जलिसकेका थिए। सबैजनाले तिनी अब मरिसके भन्ठानेको बेलामा हक्सले अचानक आफ्ना जल्दै गरेका हातहरू शिरभन्दा माथि उठाए, र तीनपल्ट थप्पड़ी मारे। तब थोमस हक्स आगोमा ढल्दा र तिनको आत्मा प्रभुमा सुम्पिँदा त्यहाँ भएका सबै मानिसहरूले, विशेषतः तिनको सङ्केत बुझ्ने मित्रहरूले थप्पड़ी मार्दै र प्रभुलाई स्तुति प्रशंसा चढ़ाउँदै ठूलो आवाज उठाए।