साधुनी चन्द्रलीलाको जीवन गवाही
चन्द्रलीलाको जन्म, तिनको बाल-विवाह, विधवापन र बिछोड़
नेपालको एउटा पहाड़ी गाउँमा एक ब्राम्हण बस्थे, जो राजपुरोहित थिए। उनको भाग्य उज्यालो थियो; किनकि उनलाई धनसम्पत्ति र इज्जतको केही कमी थिएन। धेरै समय अघिदेखि नै उनका पिता-पुर्खाहरू पनि नेपालका राजपुरोहित थिए। यो पद्वी मानिसहरूको दृष्टिमा अति उच्च र पवित्र थियो।
विक्रम संवत् १८९६ साल अर्थात् इस्वी संवत् १८४० सालको कुरा होः यी ब्राम्हणको परिवारमा एउटी छोरीको जन्म भयो, जसको नाम चन्द्रलीला राखियो। सात वर्षकी चन्द्रलीलाको विवाह एक पुरोहितका एकमात्र छोरासित धुमधामसँग भयो। यी हाम्रा छोराका सन्तानद्वारा राजपुरोहितको पद्वी सदा हाम्रै घरानामा रहिरहनेछ भन्ने आशा दुलाहाका मातापिताले गरेका थिए। तर यो आशाचाहिँ आशै मात्र रह्यो; किनकि विवाह भएको दुई वर्षभित्र चन्द्रलीलाले कलिलै उमेरमा विधवाको वस्त्र पहिरनुपरयो। तिनी सबैको दृष्टिमा अति अभागी ठानिइन्। तेह्र वर्षको उमेरसम्म तिनी माइतमा बसिन्। चन्द्रलीलासँग आफ्ना पिताप्रति अटुट भक्ति थियो। ती विद्वान बुवा आफ्नी सुपुत्रीलाई अनेक शिक्षा दिक्षा दिने गर्थे।
एकदिन छोरी चन्द्रलीलालाई साथमा लिएर ती पुरोहितचाहिँ जगन्नाथको तीर्थ-यात्रा गर्न हिँड़े। यात्रा धेरै लामो र पट्टाइलो थियो। जगन्नाथ पुगेपछि चन्द्रलीलाका बुवा बिरामी परे। हजारौं अन्य यात्रीहरूको हालत पनि यस्तै थियो। चन्द्रलीलाका पिताले तिनलाई छेउमा बोलाएर भनेः 'छोरी, अब म बिसेक हुन्नँ नै; तिमीसँग मेरो चिरकालको बिछोड़ हुँदैछ। यो चाबी लेऊ! तिमी घर पुग्यौ भने त्यहाँ भएका बाकसहरू खोल! तिनमा सुन, चाँदी, पैसा आदि जे-जति छन्, ती सबै धनसम्पत्ति तिम्रै हुन्; तिम्रा स्वर्गवासी पतिले ती तिम्रा निम्ति छोड़ेका थिए।' यो सुन्दा चन्द्रलीलालाई असीम दुःख लाग्न थाल्यो; तिनका आँखाहरूबाट वेदनाको अश्रुधारा बहिरह्यो; तर त्यस बिरानो देशमा तिनका आँसु कसले पुछिदिने? हेर्दा-हेर्दै तिनका बुवाको प्राणपखेरु संसारको बन्धन तोड़ेर अज्ञात दिशातिर उड़ेर गयो। कण्ठमा भक्कानो, चिरै-चिरा परेको हृदय लिएर तिनले आफ्ना स्नेही पिताको अन्तिम संस्कार गरिन्। अब चन्द्रलीलाको आफ्नो भन्ने कोही पनि रहेन। तिनी पूर्णतया टुहुरी भइन्।
परमेश्वरको खोजको शुरुआत
केही समयपछि तिनी अरू यात्रीहरूसँग स्वदेश फिरिन्। अब चन्द्रलीलाको समय धर्म ग्रन्थहरू पढ्न र कण्ठस्थ गर्नमा बित्न लाग्यो। 'के गरेमा पापको क्षमा पाइएला?' तिनको हृदयमा यस प्रश्नले घरिघरि चियाइरहन्थ्यो। पक्का पनि आफू विधवा भएको कारण कुनै पापको फल हुनैपर्छ – तिनको धारणा यही थियो। धर्मशास्त्रअनुसार चार धामको तीर्थ गरेर पाप काटिन्छ अरे। यसैले चन्द्रलीलाले चारै तीर्थ गरेर आफ्नो यस पापबाट मुक्त हुने अठोट गरिन्। तिनले सबै गरगहना र सुनका मोहरहरू कम्मरमा बाँधिन् र आफ्ना वस्त्रहरू पोको पारिन्; तिनले आफ्ना दुई विश्वासी दासीहरूलाई आफ्नो इच्छा प्रकट गरिन्; अनि तिनीहरू तिनीसँग जान राजी भए; किनकि तिनले 'तिमीहरूले धेरै दिनसम्म काम लाग्ने लाभ उठाउन पाउँछौ' भनेर तिनीहरूलाई लोभ्याइन्। यसैले ती दुईजना सहमत भए।
एकरात यस्तो भयो – जब घरमा हुने सबैजना सुतिरहेका थिए, तब चन्द्रलीला उठिन्, आफ्ना यी दुई दासीहरूलाई सुस्तरी उठाइन् र आफ्नो घरबाट बिदा भई परमेश्वरको खोजमा हिँडिन्। पहाड़ी बाटो उत्रँदा - उत्रँदै सात दिन बिते, तर यो त वर्षहरू लाग्ने तीर्थ-यात्राको थालनी मात्र थियो। ज्यादै थकित हुँदा तिनी भाड़ाको बैलगाड़ीमा चढ़िन्। हर समय तिनी आफ्नो माला गन्थिन्, प्रार्थना गर्थिन् अनि वेद र अन्य धर्मशास्त्रबाट कण्ठस्थ गरेका खण्डहरू दोहोरयाउँथिन्। प्रसिद्ध, पवित्र र निर्भर नदीहरू भेट्दा तिनी स्नान गर्थिन्, मन्दिरहरूमा पूजा गर्थिन्, देवी- देवताहरूसँग भाकल गर्थिन् र ब्राम्हणहरूलाई दान-दक्षिणा दिन्थिन्।
कति दिनपछि थकाइ र गोड़ाको पीड़ाले लखतरान भएर तिनी कोलकत्ता पुगिन्। तिनले कालीघाटको प्रसिद्ध मन्दिरमा पूजा गरिन्, र गंगामा नुहाइन्। उहिले यो मन्दिर गंगाको किनारमा अवस्थित थियो। तर आज नदी यस मन्दिरदेखि अलि पर बहन्छ। त्यस समय नदीमा बाढ़ी आउँदा घाटमा पानी आउँथ्यो र मानिसहरू यसमा स्नान गर्थे। बंगालमा कालीको यो मन्दिरचाहिँ सबैभन्दा पवित्र मानिन्छ, र प्रतिवर्ष हजारौं - हजारौं यात्रीहरू यहाँ आउँछन्। यस मन्दिरको निर्माण प्रायः तीन सय वर्षअघि भएको हो। यसको जग ज्यादै सुदृढ भएको हुनाले भुइँचालोले पनि यसलाई आजको दिनसम्म केही हानि गर्न सकेको छैन। कालो चेहरा र रगत चुहुन लागेको जिब्रो भएकी काली देवी 'खुनी देवी'को नामले प्रसिद्ध छिन्। विशेष चाड़हरूमा निर्दोष पशुहरूको रगतको खोला बहन्छ अरे भन्ने जनश्रुति छ। यहाँ ठूला-ठूला डाकाहरू यसको अघि आएर आफ्ना हतियारहरू उध्याउँदै आफ्ना निर्दयी कामका निम्ति आशिष् माग्थे अरे। एक साल अगाड़ि चन्द्रलीला आफ्ना बुवासँग यहाँ आएकी थिइन्। अघिल्लो वर्षमा भएझैं यसपालि पनि मानिसहरू खचाखच थिए।
बाटोमा आउँदाखेरि तिनले कयौं मानिसहरूलाई देखिन्, जो भोकै थिए, जो रोगी थिए, र जसले एकै कदम पनि बढ़ाउन सक्दैनथिए। तिनीहरूमध्ये अधिकांश व्यक्तिहरू देवीको दर्शन गर्न नपाईकन बाटोमै मरिहाले। चन्द्रलीला यस्ता दुःखीहरू देख्न अभ्यस्त भएकी थिइनन्। यसैले तिनी कहिलेकहीं साह्रै भयभीत हुन्थिन् ; तर तिनले जगन्नाथको यात्रा स्थगित गरिनन्। हिँड्दै जाँदा तिनका कोमल पाउहरू पटपटी फुटे, र यही अवस्थामा तिनी जगन्नाथमा आइपुगिन्।
जगन्नाथको मन्दिर
भारतवर्षको उड़िसा नामक प्रान्तमा जगन्नाथको अत्यन्तै प्रसिद्ध मन्दिर छ। जगन्नाथको अर्थ हो 'जगतको अधीश्वर। यस मन्दिरको स्थापना भएको विषयमा कथा यस प्रकारको छः
प्राचीनकालमा उड़िसामा एउटा विशाल वन थियो; त्यहाँ अति खतरनाक जङ्गली पशुहरू हुन्थे। यस मन्दिरमा एउटा मन्दिर थियो, जसको विषयमा डरलाग्दा - डरलाग्द कुराहरू सुनिन्थे, र मानिसहरूलाई त्यसको नजिक जान निषेध थियो। जब यी कुराहरू एक राजाका कानमा पुगे, तब तिनले यस मन्दिरको दर्शन गर्ने निश्चय गरे। तिनले आफ्ना निम्ति पूजाको सरजाम तयार गर्न एउटा अत्यन्त भक्त पूजाहारीलाई त्यहाँ पठाए। जब यी पूजाहारी त्यस ठाउँमा पुगे, तब त्यहाँ एक अति अद्भुत घटना घट्यो। एक्कासि त्यो वन र त्यो मन्दिर दुवै लुप्त भए। अवशेष रह्योः
एक मरुभूमि। राजाको आश्चर्य लाग्ने सीमा रहेन। तिनले यसको खास कारण आफ्नो पाप सम्झे। 'मैले यसको गहिरो रहस्य खोल्नु नहुने रहेछ' भनेर तिनको हृदय डरले काम्न लाग्यो। तिनले अनेक पूजा गरे र भेटीहरू चढ़ाए; तब देवता प्रसन्न भए, र तिनलाई भनेः 'हे मनुष्य! तैंले अर्को मन्दिर निर्माण गर्! एक दैवी कालिगड़ले त्यस हराएको मूर्तिको सट्टामा अर्को बनाइदिनेछ।' जब यस कालिगड़ले काम शुरु गरयो, तब उसले त्यस नीमको वृक्षको एउटा हाँगा लियो, जुन वृक्षमनि महाराज कृष्ण कुनै एक शिकारीद्वारा मारिएका थिए। यस कालिगड़ले भन्योः 'यस मूर्तिको निर्माण हुँदाखेरि कसैले पनि मलाई कुनै प्रकारको बाधा हाल्यो भने म यस कार्यलाई अधूरै छोड़िदिनेछु।' काम शुरु भयो, र असल रूपमा यस मूर्तिको आकृति कोरिन लाग्यो। पन्ध्र दिनमा ती राजाको हृदयमा यस मूर्तिलाई हेर्ने इच्छा जाग्यो। ती राजालाई देखेर यस कालिगड़ले त्यो काम छोड़िहाल्यो। फलस्वरूप त्यो मूर्ति अधूरै रह्यो। यसैकारण जगन्नाथ देवताका हातखुट्टा बनिएनन्। अब ती राजालाई बड़ो खेद लाग्यो। तिनले कृष्णका हाड़हरू खोजेर त्यस मूर्तिमा लगाए।
जगन्नाथ देवता छली छन्, ता पनि देवताहरूमा प्रसिद्ध छन्। तिनको मन्दिर अति सुन्दर छ। यसको वरिपरि आठ माइलको भूमि ज्यादै पवित्र मानिन्छ। अनेकौं यात्रीहरू यहाँ आउँछन्, आउँदाखेरि तिनीहरूको असीम दुःखकष्ट हुन्छ, र तिनीहरूमध्ये धेरैजसो बिमारी भई मर्छन्; यसरी नै यहाँ आइपुग्नभन्दा अघि धेरैले आफ्नो प्राण गुमाउनुपर्छ। चन्द्रलीलाचाहिँ पन्ध्र दिनसम्म जगन्नाथको पूजा गर्नमा मग्न भइन्। तिनले ब्राम्हणहरूलाई भोजन गराइन् र एउटा गाई पनि दान गरिन्। दुईपल्ट तिनले यस मूर्तिको सामु पच्चीस रुपियाँ चढ़ाइन्। त्यहाँका रीतिथितिहरू सम्पूर्ण रूपले पूरा गरेर तिनले सुदूरमा रहेको अर्को मन्दिरतिर कदम बढ़ाइन्।
रामेश्वरको मन्दिर
भारतवर्षका चार प्रसिद्ध मन्दिरहरूमध्ये रामेश्वर पनि एउटा हो। त्यो लङ्का टापुको नजिकै एउटा द्वीपमा अवस्थित छ। त्यसको घेरा चार सय हात लामो र एक सय पाँच हात चौड़ा छ; त्यसको दैलो सतसट्ठी हात अग्लो छ। त्यस मन्दिरको मुख्य आकर्षणचाहिँ त्यसको बरण्डा हो।
यसको लमाइ दुई हजार छ सय सतसट्ठी हात र यसको चौड़ाइ प्रायः बीस हात र यसको उचाइ बीस हात छ। त्यो मन्दिर स्थापना गरिएको १७०० वर्ष भइसक्यो। यहाँ एउटा पत्थर छ, जसलाई हिन्दूहरूले 'लिङ्गम' भन्छन्, र राजा रामचन्द्रद्वारा यहीं राखिएको थियो भन्ने अनुमान छ। त्यस लिङ्गमलाई पखालिएको गंगाजल बिक्री गरिन्छ। यहाँ श्री रामचन्द्रले आफ्नी पत्नी सीतालाई बचाउन भनी लङ्का र भारतको बीचमा भएको सागरमाथि एउटा साँघु थापेका थिए। रामको विजयको उपलक्ष्यमा र पतिव्रता सीताको धुमधामसितको पुनरागमनको स्मरणमा रामेश्वरको यो ठूलो मन्दिर रचना भएको हो। हिन्दू धर्म मान्नेहरूले आजपर्यन्त त्यस कथामा विश्वास गर्छन्; किनकि रामचाहिँ उनीहरूका सर्वप्रिय र सर्वमान्य देवता हुन्। यसकारण लाखौं मानिसहरू पूजा गर्न यहाँ आउँछन्। चन्द्रलीलाले यस यात्रामा महिनाहरू मात्र होइन, तर वर्षौं बिताइन्। अन्तमा रामेश्वरको मन्दिरमा आई तिनले दस दिनसम्म रामेश्वरको पूजा गरिन्, ब्राम्हणहरूलाई खुवाइन् र रामेश्वरका देवताहरूलाई दूध पियाउन एउटा गाई समेत दान गरिन्। बाटोमा आइपर्ने दारुण दुःखकष्ट र भयहरूदेखि बाँच्न तिनले रामेश्वरको एउटा सानो मूर्ति पनि किनिन्।
चन्द्रलीलाले पुनः तीर्थ-यात्रा शुरु गरिन्। हातमा आफ्नो जपमाला लिएर आफूले किनेको देवताको मूर्ति पूजा गर्दै तिनी हिँड्न थालिन्। त्यस समय यात्रा गर्न अति नै कठिन भयो। तर चन्द्रलीला ती सबै कठिनाइ- हरूको सामना गर्दै अन्तमा द्वारिकानाथमा आइपुगिन्। यो नामी मन्दिर भारतको पश्चिमपट्टि अवस्थित छ।
द्वारिकानाथको मन्दिर
द्वारिकाको अर्थ 'ढोकाहरूको नगर' हो। द्वारिकानाथको मन्दिर काठियावाड़को पश्चिमपट्टि रहेको छ। श्रीकृष्णले यो मन्दिर बनाएका हुन् भन्ने कुरा पुराणमा लेखिएको छ। यो मन्दिर खूबै सुरक्षित रीतिले बनाइएको छ। यसको वरिपरि सुन्दर सुन्दर पोखरी र बगैंचाहरू छन्। महाराज कृष्णको मुख्य क्रीड़ास्थल यही थियो। यो मन्दिर एकै रातको मायाले बनाइएको थियो भन्ने भनाइ छ। यहाँ देवताको मन्दिर, साथ- साथै एउटा ठूलो सभागृह पनि छ, जो अति सुदृढ़ छ। यस मन्दिरको उचाइ एक सय तेह्र हात छ। यहाँ यस सभागृहमा मानिसहरू कथा सुन्न भेला हुन्छन्। श्रीकृष्णको मृत्यु हुँदा समुद्र सामनगरलाई पनि डुबाउने गरी उर्लेर आयो, तर यस मन्दिरलाई केही हानि भएन रे। यस पवित्र मन्दिरमा, श्रीकृष्णले राज्य गरेको यस स्थानमा तीर्थ गरे सब पापहरूबाट मुक्त हुन सकिन्छ अरे। यहाँ पुगेर चन्द्रलीलाले आफ्नो शरीरभरि खूबै चन्दन लगाइन् र देवीदेवताको पूजा गरेर ब्राम्हण साधुहरूलाई दान दिएर पन्ध्र दिन बिताइन्।
बद्रीनाथको तीर्थ-यात्राका अघोर दुःखहरू
यहाँबाट चन्द्रलीला भारतको उत्तरमा भएको बद्रीनाथतिर लागिन्। बद्रीनाथको मन्दिरचाहिँ ती चार तीर्थस्थानहरूमध्ये पनि एउटा हो। यो मन्दिर विष्णुको नाममा बनाइएको हो। यस देवको मूर्ति अलखनन्द नदीबाट निक्लेको अरे। ताँबाको पूजा घर भएको यो मन्दिर गोलाकार छ। बद्रीनाथको मन्दिर हिमालको हिउँले ढाकेको एउटा अग्लो न अग्लो पहाड़मा बनेको छ; यसको छेउमा केदारनाथको मन्दिर पनि छ। नैनीतालबाट मसुरी जाने बाटोबाट यी दुवै स्थलहरू देखिन्छ। थाकेको शरीर लिएर चन्द्रलीला आफ्ना दुईजना साथीहरूसँग डरलाग्दा-डरलाग्दा पहाड़ी गोरेटा-डोरेटाहरूबाट भएर यस मन्दिरतिर अघि बढ़िन्। तिनको हृदय अब चाड़ै मोक्ष पाउने आशाले पूर्ण थियो। तर केही समयपछि तिनका नाङ्गा पाउहरू जाड़ोले कत्रिए; अनि ढुङ्गामा पजार्दै र हिउँमा ठोकर खाँदै ती रगतपिच्छे हुन थाले। आफ्नो पोकाबाट तिनले थोत्रा लुगा झिकिन् र खुट्टा बेरिन्; त्यसपछि तिनी फेरि पनि लक्ष्यतिर अघि बढ़िन्। थकाइ र जाड़ोले तिनी अधमरो भइसकेकी थिइन्, तैपनि तिनले हिम्मत हारिनन्। यो बाटो अत्यन्तै भयानक थियो; कहिले भीरको बाटो भएर, कहिले सेताम्य हिउँमा बाटो बनाएर तिनी बल्लतल्ल यस मन्दिरमा पुगिन्। यस रमणीय स्थानमा तिनले पाँच दिन बिताइन्। तिनले बाटोमा सामना गरेकी दारुण दु:खकष्टहरूमा निश्चय नै देवतागण प्रफुल्लित भएका हुनुपर्छ; यसैले तिनीहरूले अरूलाई भन्दा तिनैलाई अधिक कृपा गर्नेछन् भन्ने विश्वासले तिनको हृदयमा अड्डा जमायो। तर कुन्नि किन हो, तिनको हृदयचाहिँ दु:खले पूर्ण भइरह्यो। घर छोड़ेको सात वर्ष भइ- सक्यो; तिनी सबै प्रसिद्ध मन्दिरहरूमा परमेश्वरको खोजी गरिसकिन्। तर तिनको मोक्ष पाइने सबै चेष्टा माटोमा मिल्न गए।
केदारनाथ र हरिद्वारमा
तिनी बद्रीनाथको छेउमा भएको केदारनाथको बाटो लागिन्, र त्यहाँ आइपुगेर तिनले गंगाजल चढ़ाइन्। केदारनाथबाट चन्द्रलीला हतार-हतार यो कठिन यात्रा सिद्ध्याउँदै हरिद्वारको नामी तीर्थस्थानतिर जान लागिन्। यस स्थानबाट गंगा नदी हिमालबाट निस्कन्छ।
यस्तो भनाइ छः गंगा नदी अघि केवल बैकुण्ठमा बहिन्थ्यो, तर कुनै एक धर्मी जनको प्रार्थनाको फलस्वरूप यस नदीले पृथ्वीतलमा बहने आदेश पायो अरे। तर जब गंगा नदी पृथ्वीमा झर्न लाग्यो, तब यसको क्रोधको सीमा रहेन। गंगाको क्रोधले पूर्ण धाराको प्रकोपबाट बचाउन शिवजी बीचैमा एउटा पहाड़मा उभिएर आफ्ना जटा थापे, र यसरी नै गंगाको प्रचण्ड प्रवाह निक्कै बेरसम्म रोकिराखे। त्यहाँबाट एक थोपा पानी यस पहाड़माथि चुह्यो। यसैले गंगाचाहिँ यस संसारका सबै नदीहरूभन्दा पवित्र मानिन्छ।
हिन्दू धर्म मान्नेहरूले आफ्ना पापहरू पखाल्न गंगामा स्नान गर्छन्। हरिद्वारमा एउटा प्रसिद्ध ठाउँ छ, जसको भित्तामा एउटा ढुङ्गा छ, जसमा विष्णुका पाउहरूको चिन्ह खोपिएको छ। हरिद्वारमा स्नान गर्न आउने हजारौं-लाखौं मानिसहरूले यस ढुङ्गाको पूजा गर्छन्। यात्रीहरूमध्ये प्रत्येकमा सर्वप्रथम त्यहाँ पुग्ने तीव्र इच्छा हुन्छ; अनि ढोकाभित्र पस्दा यति भीड़ हुन्छ कि कति मानिसहरू किचिएर मर्छन्। यी मानिसहरूको ठेलमठेला गर्ने यस असभ्य व्यवहार त्याग्न अझ समय लाग्छ; यति टाढ़ाबाट यहाँसम्म आइपुग्दाखेरि यस मूर्खताले गर्दा मानिसहरू मृत्युको मुखमा किन पर्नुपर्ने? हिन्दूहरूको नयाँ सालको शुरुमा तिनीहरूले गंगा नदी पृथ्वीमा झरेको सम्झना गर्छन्, र त्यस दिन हरेक सालमा गंगाको किनारमा ठूलो मेला लाग्छ।
यहाँ चन्द्रलीलाले अरू मानिसहरूसँग स्नान गरिन्। कति यात्रीहरूले आफ्नो दुःख पोख्दै गरेको कहानी तिनले सुनिन्, र तिनीहरूको दुःखमा तिनको हृदय दु:खित भयो।
कश्मीर, मथुरा, प्रयाग, काशी र अयोध्या
हरिद्वारबाट चन्द्रलीला कश्मीरतिर बाटो लागिन्। बाटोमा तिनी पुराणमा लेखिएका स्थानहरूको दर्शन गरिन्, हरेक मन्दिरमा पूजा गरिन् अनि ब्राम्हणहरूलाई खुवाइन्। कश्मीरबाट तिनी मथुरामा आइन्, र त्यस स्थानको दर्शन गरिन्, जहाँ श्रीकृष्णले एक औंलामाथि पर्वतलाई उचालिराखेका थिए अरे। तर यहाँ पनि तिनले कुनै शान्ति पाइनन्, कुनै शान्तिको कुरा सुनिनन्, अहँ, कहीं देखिनन्। प्रयागमा गएर तिनले गंगा र यमुनाको सङ्गममा स्नान गरिन्। त्यहाँ तिनले जमिनभित्र बनेको मन्दिरको दर्शन गरिन् र त्यसमा भएको वृक्षको एउटा पात पनि लिइन्, जो त्यस गुफामा हावा र प्रकाशरहित भएको ठाउँमा उम्रियो। त्यस पातले कैयौं बिमारीहरूलाई बिसेक गराउँछ रे। तर वास्तवमा त्यस मन्दिरका पूजाहारीले यस रूखलाई बाहिरबाट काटेर लगेछन् र राति त्यहाँ रोपिदिएका रहेछन्। यात्रीहरू यस छलदेखि पूर्णतया अनभिज्ञ छन्, र यो रूख त्यहीं अँध्यारो ठाउँमा उम्रन्छ भनी विश्वास गर्छन्।
चन्द्रलीला प्रतिदिन धर्मशास्त्रहरू पढूथिन् र त्यहीअनुसार काम गर्थिन्। अन्तमा तिनी पवित्र नगरी काशी पुगिन्। तिनले सत्यानाश गर्ने देवता शिवको सामु प्रणाम गरिन् र चढ़ाउनुपर्ने भेटी चढाइन्। ब्राम्हणहरूलाई पर्याप्त दान दिएर तिनले गंगामा फूल चढ़ाइन्। आफ्नो र अरू मानिसहरूले चढ़ाएका फूलहरू पानीमा पौडिरहेका तिनले हेरिरहिन्। यो दृश्य बड़ो सुन्दर थियो, तर चन्द्रलीलाचाहिँ पटक्क खुशी भइनन्, बरु भयभीत भइन्, असन्तुष्ट भइन्। तिनले यस नगरको प्रत्येक मन्दिरमा पूजा गरिन्। तिनले श्रीरामचन्द्रजी जन्मेको स्थान अयोध्यालाई दर्शन गरिन्, र पूजा गरेर प्रायः एक महिना त्यहाँ बिताइन्। सीताले भोजन गरेका भाँड़ाहरू पनि तिनले त्यहाँ देखिन्। यहाँ तिनकी एउटी सहेलीलाई हैजा भयो। चन्द्रलीलाले जाने-बुझेसम्म उसको औषधी गरिन्, तर सबै व्यर्थ भयो। उसको मृत्यु भयो, अनि उसको लास र वस्त्रहरू आगोमा जलाइए। केही दिनपछि यसकै बिमारीले चन्द्रलीलाकी अर्की सहेलीलाई पनि खोस्यो। चन्द्रलीला फेरि पनि एकलै भइन्। अब तिनले अघि कहिल्यै नगरेका कामहरू गर्नुपरयो। अब तिनी खाना पकाउँथिन् र भाँड़ाहरू माभिथन्। तिनी एकदमै निराश भइन्। कहाँ जाने, के गर्ने, तिनी कुनै निश्चय गर्न सकिनन्। तिनमा उदास र शिथिलताले अड्डा जन्माए।
एकदिन तिनी गहिरो विचारमा मग्न थिइन्। तिनको दृष्टि एक्कासि यात्रीहरूको एक दलमाथि पर्न गयो। तिनले तिनीहरूलाई कहाँ जाने हो भनेर प्रश्न गरिन्। तिनीहरू जगन्नाथतिर गइरहेका रहेछन्। चन्द्रलीलाले तिनीहरूसँग जाने आफ्नो इच्छा प्रकट गरिन्, तर बाटोमा असीम दु:ख- कष्टहरूको विषयमा सुनाएर यी यात्रीहरूले तिनलाई इन्कार गरे। तर चन्द्रलीलाले आफ्नो हठ छोड़िनन्, र तिनी यिनीहरूसँग गइन्। तिनले यस यात्रामा धेरै कष्ट सहनुपरयो। तिनको धनसम्पत्ति प्रायः सबै खर्च भइसकेको थियो; किनकि यसबाट तिनी अनेक धर्मकर्म गर्थिन् र भेटी चढ़ाउँथिन्, साथै आफ्ना दुई सहेलीहरूलाई भरण-पोषण गर्थिन्। त्यस बेलासम्म चन्द्रलीलाले कसैको दान पनि स्वीकार गरेकी थिइनन्।
चन्द्रलीला साधुनी बनेकी एकदिन यो यात्री दल, जसमा चन्द्रलीला पनि थिइन्, मेदिनीपूरदेखि बीस माइल टाढाको एउटा नगरका राजाकहाँ पुग्यो। यहाँ तीर्थ-यात्रीहरूका निम्ति यी राजाको एउटा धर्मशाला थियो। यहाँ आउने सबै तीर्थ-यात्रीहरूका निम्ति यी राजामार्फत भोजनको प्रबन्ध गरिन्थ्यो। सबै यात्रीहरू यसमा बसे। चन्द्रलीलाचाहिँ पनि यहाँ बसिन् र धर्मशास्त्र पढ़िरहेकी थिइन्, जब राजाका चाकरहरू भोजन लिएर आइपुगे; यात्रीहरूले आवश्यक भोजन लिए; तर चन्द्रलीलाले केही पनि लिइनन्। तिनले यसो भनिन्ः ‘म कसैको दान थाप्न चाहन्नँ; म आफ्नै धन खान्छु।' राजाका चाकरहरू छक्क परे, र यो कुरा राजाकहाँ पुरयाए। उनले चन्द्रलीलालाई बोलाए, र आफ्नी रानीकहाँ पठाइदिए। रानीले तिनलाई सोधिन्ः ‘तिमी कहाँबाट आएकी हौ? हामीले सबै यात्रीहरूका निम्ति पठाएका भोजन तिमीले किन अस्वीकार गरयौ?' चन्द्रलीलाले उत्तर दिइन्ः ‘मेरा मातापिताको घर नेपाल हो; म आफ्ना निम्ति आफूले खर्च गर्छु।' रानीले तिनलाई यति टाढाबाट यहाँ आउने कारण के हो, सो सोधिन्। ‘म परमेश्वरको खोजमा छु; उहाँलाई भेटेर म आफ्नो पापको क्षमा चाहन्छु' भनेर चन्द्रलीलाले उत्तर दिइन्। त्यसपछि तिनले रानीलाई आफ्नो विगत जीवनका दु:खको कहानी सुनाइन्, र रानीको हृदयमा तिनीप्रति ठूलो दया जाग्यो। राजाले तिनलाई पुत्रीवत् व्यवहार गर्न थाले, र तिनलाई पुरोहितको सर्वोत्कृष्ट आसनमाथि बसाए।
अब चन्द्रलीलाका निम्ति अलग एउटा घर बनाइयो, र तिनका निम्ति नोकरचाकरहरू नियुक्त गरिए; तिनी राजघरानाको एउटा सदस्य बन्न पुगिन्। तिनी धर्मशास्त्र पढ़ाउँथिन्, धार्मिक पुस्तकहरू पढ़ेर सुनाउँथिन् र उनीहरूका निम्ति पूजापाठ गर्दथिन्। यसबाहेक त्यहाँ रहेर तिनले बंगाली र उर्दू भाषा बोल्न र पढ्न सिकिन्।
सबैजना चन्द्रलीलालाई एउटी धर्मी र पवित्र स्त्री सम्झन्थे, र तिनको आदर गर्थे। यसरी नै तिनले सात वर्ष सुखमा बिताइन्। त्यसपछि राजारानी दुवैको मृत्यु भयो, र उनीहरूका जेठा छोरा सिंहासनमा बसे। अब त चन्द्रलीला अट्ठाइस वर्ष पुगेकी थिइन्। तिनको हृदय अत्यन्त चिन्तित थियो। यसैले तिनले बहाना गरेर राजाबाट घर जानलाई बिदा माग्ने निश्चय गरिन्। राजाले तिनलाई अनुमति मात्र होइन, तर बीस रुपियाँ पनि दिए। तिनी घर गइनन्, तर तीर्थतिर लागिन्। शरीरलाई कष्टहरू दिएर देवताहरू प्रसन्न हुन्छन् भन्ने कुरा धर्मशास्त्रमा लेखिएको रहेछ। तिनले तीन वर्षसम्म आफ्नो शरीरलाई सकेसम्म कष्ट दिने अठोट गरिन्। रामगञ्जमा गएर तिनी साधुहरूको झुण्डसित मिलिन्। तिनले आफ्नो जीउमा खरानी घसिन् र निधारमा बिगुतको टीका लगाइन्। तिनले आफ्ना सुन्दर केशमा गोबर मोलेर लेपिन्; तिनले ठूला-ठूला रुद्राक्षले बनेको जपमाला लगाइन्; तिनको शरीरमा धोती र पाउहरूमा खराउ मात्र थियो। सुत्नलाई तिनको एउटा मृग-छाला थियो, र हातमा एउटा चिम्टा लिएर तिनी वैरागी भइन्। छ महिनासम्म दिनभरि नै भतभती पोल्ने प्रचण्ड घामको तापमा त्यस मृग- छालामा बसेर पञ्चाग्नि ताप्ने तिनको प्रण थियो। अनि तिनले त्यस्तै गरिछोड़िन् पनि। पसिनाको धारा बग्न थाल्यो।
फेरि तिनी मध्यरातदेखि बिहानसम्म मूर्तिहरूको सामु हात जोडेर एक खुट्टाको भरमा उभिरहन्थिन् र मन मनै यसो भन्थिन्ः 'हे राम! तपाईं साँचो परमेश्वर हुनुहुन्छ भने मलाई, यस अभागीलाई दर्शन दिनुहोस्!' यसरी नै साधुनी बनेर तिनी मन्दिर-मन्दिरमा पूजापाठ गर्थिन् र प्रत्येक मन्दिरमा तीन-तीन महिना रहन्थिन्। तिनी जहाँ-जहाँ जान्थिन्, त्यहाँ- त्यहाँ के धनी, के गरिब, सबैले तिनलाई बड़ो श्रद्धाले प्रणाम गर्थे। कति मानिसहरूले तिनका निम्ति दाउरा ल्याइदिन्थे, र यसो गरेर ठूलो धर्म गरेको सम्झन्थे। जाड़ोमा तिनी रातभरि पानीमा बसेर माला जप्दैथिन्।
यसको विषयमा चन्द्रलीला स्वयम्ले भन्छिन्ः 'ती रातहरू मेरा निम्ति कति लामा हुन्थे; कसैले सम्झन सक्दैन होला। रातभरि मैले ठूलो कष्ट सहनुपर्थ्यो। मेरो मालामा एक सय आठ दाना थिए, र मैले एक हातले माला फेर्थे र हरेक मालामा देवताका नाम लिन्थें, त्यसपछि अर्को हातले मैले माला फेर्थे र यसको हिसाब राख्थें। रातभरिमा एक सय पल्ट माला फेरिन्थ्यो, र मैले दस हजार आठ सय पल्ट देवताको नाम जप्थें। यसरी नै रातभरि म प्रभातको प्रतिक्षा गरिरहन्थें। कहिले उज्यालो होला, कहिले रात समाप्त होला भनेर म सम्झिरहन्थें। भुकभुक उज्यालो हुँदा म बड़ो कष्टले विस्तारै पानीबाट निस्कन्थें। रातभरि पानीमा बसेकोले मेरो शरीर अति अस्वस्थ हुन्थ्यो; पानीबाट निस्केर आउँदा भुइँमा घत्रँदै म ती मूर्तिहरूको सामु पुग्थें। फेरि दिनभरि मैले पूजा गर्नुपर्थ्यो, र कतिपल्ट त थकाइले म त्यसै झुल्न पुगें। यसरी नै मैले महाकष्ट सहेर रामको पूजा गरें, तर मलाई केही शान्ति मिलेन।'
चन्द्रलीला परमेश्वरलाई भेट्टाउन र पापबाट मोक्ष पाउनका निम्ति यी सबै कष्टहरू उठाएकी थिइन्। तीन वर्षसम्म तिनले न कुनै अन्न, न कुनै नुन नै आफ्नो मुखमा हालिन्; फलफुलबाहेक तिनले अरू कुनै खाद्य पदार्थ प्रयोग गरिनन्। तिनी मूर्तिहरूको सामु ज्यादै विनयी भएर यसो भन्थिन्ः ‘यदि तपाईं साँचो हुनुहुन्छ भने मलाई दर्शन दिनुहोस्! हात फैलाएर मेरो भेटी ग्रहण गर्नुहोस्! म तपाईंको रूप देख्न सकूँ! तपाईं मसँग प्रसन्न हुनुहुन्छ, र मेरा सबै पापहरू क्षमा भए भने मसँग बोल्नुहोस्, मप्रति दिव्य वाणी फर्काउनुहोस्!' तर अफसोस! चन्द्रलीलाको मनमा शान्ति-सुधा छर्किने कुनै उत्तर आएन अथवा तिनलाई कुनै ईश्वरीय दर्शन प्राप्त भएन। बिचरी चन्द्रलीला! तिनले पापबाट मुक्ति पाऊन् भनेर के नगरेकी? तीन वर्षसम्म तिनले आफ्नो शरीरलाई अति नै कष्ट दिइन्, रुपियाँ नष्ट गरिन्, तर तिनले रत्तिभर शान्ति र अलिकति सन्तुष्टि पनि हात पारिनन्।
तर त्यो समय आयो, जब सृष्टिकर्ता परमेश्वरको कृपादृष्टि ती दु:खी, अभागी नारीमाथि पस्यो; उहाँको अपार निगाह र प्रेमले तिनलाई यस्तो एउटा ठाउँमा पुस्र्याए, जहाँ तिनले आफ्ना साँचो मुक्तिदातालाई प्राप्त गरिन्। यी मुक्तिदाताले तिनीसँग प्रेम र दयाले भरिएका यी शब्द बोल्नुभयोः
'हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरूहो, मकहाँ आओ! म तिमीहरूलाई विश्राम दिनेछु' मत्तीको सुसमाचार ११:२८
चन्द्रलीलाका निम्ति एउटा भेद खोलिन्छ
चन्द्रलीलाचाहिँ मुर्शिदाबादमा पञ्चाग्निको पूजा गरिरहेको बेलाको कुरा हो: तिनको सामु एउटा मूर्ति थियो, अनि मानिसहरूले तिनलाई प्रणाम गर्दथिए र तिनको चरणमा परेर म्वाइँ खाँदैथिए; त्यति बेला मणिपुरकी रानी आसामबाट त्यहाँ आइपुगिन्। यी रानीका कतिपय साथीहरू आसाम फर्कन्छन् भन्ने कुरा चन्द्रलीलाको कानमा पुग्यो। तिनले रानीलाई यिनका नोकरहरूसँग जाने अनुमति मागिन्; किनकि आसाममा कैयौं पवित्र स्थानहरू छन् भन्ने कुरा तिनले धर्मशास्त्रहरूमा पढ़ेकी थिइन्। रानीले तिनको यो निवेदन स्वीकार गरिन्, र चन्द्रलीलाको हातमा आफ्ना पुत्रका निम्ति एउटा पत्र पनि पठाइन्। त्यस पत्रको तत्पर्य यही थियोः 'तिमीले यस साधुनीको हेरचाह गर्नू, र तिनी जहाँ-जहाँ जान चाहन्छिन्, त्यहाँ-त्यहाँ तिनलाई पुरयाइदिनू!' यसपालिको यात्रा चन्द्रलीलाले एउटा डुङ्गामा गर्नुपस्यो। यति बेला पनि आफ्नो आदतअनुसार तिनी पञ्चाग्निको पूजा गर्थिन्। तर यस डुङ्गामा आगो बाल्न असम्भव थियो। यसैले तिनले आफ्नो वरिपरि चारवटा भाँड़ाहरू राखिन्, जस-जसमा एक-एक आगो बलेको थियो। आसाममा नपुगुन्जेल तिनले यसरी नै पूजापाठ गरिरहिन्। तिनीप्रति रानीका पुत्रको व्यवहार अति राम्रो थियो। उनले चन्द्रलीलालाई आदर-सत्कारको साथ स्वागत गरे, र तिनलाई पन्ध्र दिनसम्म महलमा राखे। उनको सौजन्यले चन्द्रलीलाको यात्रा सजिलो भयो। तिनले ब्राम्हपुत्र नदीमा स्नान गरिन्। एउटा प्रसिद्ध मन्दिरका पूजाहारीद्वारा तिनलाई के ज्ञात भयो भने 'यस वर्षको फलाना दिनमा यस मूर्तिबाट रगतमा मुछिएको एउटा सानो लुगाको टुक्रा जसले आफ्नो घर लान्छ, उसको मनोरथ पूरा हुन्छ नै।' चन्द्रलीलाले त्यो बहुमूल्य वस्तु प्राप्त गर्ने संकल्प गरिन्। यसका निम्ति तिनले प्रायः छ महिना त्यहाँ बिताउनुपस्यो। यस समयमा शीतकालभरि तिनी पानीमा बस्थिन्। गर्मीको यामभरि तिनी आगो ताप्थिन्। यहाँ तिनले ब्राम्हण कन्याहरूलाई खुवाउँथिन्; तिनले यस मूर्तिको समक्ष सुन चढाइन्।
चन्द्रलीलाले एउटा तलाउको विषयमा पढ़ेकी थिइन्, जसमा पार्वतीको आँखा खसेको थियो, जो आजको दिनसम्म बल्दो बत्ती देखा पर्छ रे। यो आश्चर्यजनक कुरा हेर्न तिनले लामा यात्रा गरिन्; त्यहाँ पुगेपछि त्यस ठाउँको चौकिदारले पानीको बीचमा एउटा प्रकाश देखायो। चन्द्रलीलाको आश्चर्य लाग्ने सीमा नै रहेन। तिनी तीनछक परिन्; यसैले तिनी यस तलाउको वरिपरि घुम्न लागिन्। कसैको आँखा पानीमा खसेर पनि यसरी बल्न र चम्कन सक्छ, कसरी? तिनलाई ज्यादा अचम्म लाग्दैथियो; तिनले यस उदेकको कुराको भेद जान्ने निश्चय गरिन्।
राति, अँध्यारो भइसकेपछि तिनले एउटा पूजाहारीलाई एउटा डुङ्गामा चढ़ेर यस तलाउँको बीचमा त्यस प्रकाश आएको जग्गातिर गइरहेको देखिन्। ती पूजाहारीले बल्दै गरेको ज्योतिमा तेल थपे। त्यस दृश्यले चन्द्रलीलामा आफ्नो धर्म र धर्मशास्त्रप्रतिको विश्वास डगमगाइ- दियो। यसो भए पनि कुनै न कुनै दिन आफ्नो मनोरथ पूरा हुनेछ भन्ने आशाले प्रेरित भई तिनले धर्मशास्त्रका शिक्षाहरू पालन गरिरहिन्।
अब चन्द्रलीलालाई कोलकत्ता जाने इच्छा भयो। अनि कुनै एकजना धनवान् व्यक्तिले तिनलाई कोलकत्तासम्म पुग्ने खर्च दिए। तर जब पानीजहाजका कप्तानले तिनको मलिन भेषभूषा, तिनको फोहोर आकृति र तिनका हातमा भएका माटाका भाँडाहरू देखे, तब उनले तिनलाई जहाजमा चढून दिएनन्। अन्त्यमा अरू यात्रीहरूले भन्दा अधिक भाड़ा दिने सर्तमा मात्र तिनले यस जहाजमा चढून पाइन्। पानीको यात्रा शुरु भयो। तर केही समयपछि बाटोमा डरलाग्दो आँधी चल्न थाल्यो। नदीका छालहरू पहाड़समान उर्लन लागे; यस अवस्थामा जहाज पथहीन भई यताउता हुत्तियो। यात्रीहरू सबै भयभीत भए; तब जहाजमा उपस्थित भएका कतिजनाले रामलाई पुकारेर गुहार मागे। चन्द्रलीला तिनीहरूमध्ये एक थिइन्। कप्तानले त्यो हल्ला सुनेर त्यहाँ आए, र तिनीहरूलाई भनेः 'चुप लाग! यसरी चिच्च्याएर केही काम हुँदैन।' स्वर्गतिर उनले आफ्ना औंलाले देखाएर तिनीहरूलाई भनेः 'परमेश्वर हाम्रा रक्षक हुनुहुन्छ; उहाँले नै हामीलाई आँधीबाट बचाउनुहुनेछ।' चन्द्रलीलाले अघि कहिल्यै यस्ता वचनहरू सुनेकी थिइनन्। अरे, आफूले सदैव पूजापाठ गरेका मूर्तिहरूभन्दा महान् र आदरयोग्य अरू कोही हुनुहुँदो रहेछ!! यो कुरा ता तिनले आजै सुनिन्। एक क्षणपछि यो आँधी शान्त भयो। यस कुराको विषयमा चन्द्रलीलाले गम्भीर भावले सोच्न थालिन्।
कोलकत्ता पुगेपछि तिनले सात दिन गंगामा स्नान गरिन्। त्यसपछि नै रुपियाँमा तिनले एउटा टट्टू किनेर आफ्ना सबै मालमत्ता त्यसमाथि चढ़ाइन् र चालीस माइल टाढा स्थित भएको मेदिनीपुरतिर लागिन्। त्यहाँ पुगेर पनि तिनले पञ्चाग्निको पूजा गरिरहिन्।
तिनले आफ्नो प्रतिज्ञाअनुसार तीन वर्ष यसरी नै बिताइन्। जब तिनको तीन वर्ष पूरा भए, तब तिनी कोलकत्तामा फर्किन्, र गंगामा स्नान गरिन्, त्यसपछि तिनले आफ्ना लामा केश मुड़ाइन्, जसलाई तिनले तीन वर्ष धोएकी थिइनन्, न कोरेकी थिइन्। तिनले ती केशको रास गंगामा बगाइदिइन्। गंगालाई तिनका अन्तिम शब्द यही थिए : 'हे गंगा! पापीहरूले जे गर्नु उचित छ, ती सबै कामहरू मैले पूरा गरें; मानिसले जति दु:खकष्ट उठाउन सक्छ, मैले ती सबै सहें; तर यसको बदलामा मलाई केही मिलेन। अहँ, मैले रत्तिभर शान्ति हात पार्न सकिनँ।'
चन्द्रलीला आफ्नो धर्मदेखि विमुख भइन्
चन्द्रलीला मेदिनीपुरमा फर्किन्; त्यहाँ तिनका अनेक शिष्यहरू थिए। चन्द्रलीलाले तिनीहरूमध्ये विशेष एउटा बालकलाई प्यार गर्थिन्। केही समयदेखि यो बालक तिनीसँग बस्न थाल्यो।
यस बालकको कहानी यस प्रकारको छः एकदिन एउटी स्त्री तिनीकहाँ आई, तिनलाई प्रणाम गरी, तिनका पाउमा म्वाइँ खाई र आफ्नो मनको दुःख पोखी। उसबाट छोरा नभएको हुनाले उसका पतिले फेरि विवाह गर्न लागेका रहेछन्। यस स्त्रीले चन्द्रलीलालाई पुत्रवती हुने उपाय सोधी। तिनले उसलाई यसो उत्तर दिइन्: 'बहिनी, म अरू कुनै उपाय जान्दिनँ, तर म एउटा औषधी जान्दछु। यहाँ एउटा कानो रूखको जरा छ; तिम्रो यो अवस्था कुनै रोगको कारणले अथवा कुनै शारीरिक निर्बलताले गर्दा भएको हो भने यो औषधी सेवन गर, र तिमी स्वस्थ हुनेछौ।' यो स्त्री अति प्रसन्न भई, र उसले त्यो औषधी सेवन गर्न थाली अनि केही समयपछि उसको छोराको जन्म भयो। यस बालकलाई लिएर यस स्त्री चन्द्रलीलाकहाँ आई र त्यो बालक चन्द्रलीलालाई दिई। यसरी यस बालकको शिक्षादिक्षा तिनीबाट भयो।
त्यस शहरको एउटा मानिसले चन्द्रलीलालाई कतिपल्ट बाटोमा बसेर भजन गरिरहेकी र कहिले आफ्ना शिष्यहरूलाई उपदेश दिइरहेकी देख्यो। त्यसकी पत्नीले चन्द्रलीलालाई डाकी, र तिनलाई धर्मशास्त्रका कुराहरू सुनाउने आग्रह गरी। चन्द्रलीलाका निम्ति एउटा कोठा पनि खाली गरियो। त्यहाँ बसेर तिनले धेरै स्त्रीहरूलाई धर्मशास्त्र सिकाइन्। मूर्तिहरूमाथि अब तिनको विश्वास थिएन; तापनि तिनले ती स्त्रीहरूका निम्ति पूजापाठ गरिन्। यहाँ बसेर तिनको परिचय अनेक ठूला-ठूला घरानाहरूसँग भयो। तिनी उनीहरूकहाँ आउजाउ गर्न लागिन्, र यसरी तिनको पूरा समय हिन्दू मत सिकाउनुमा बित्यो। तर चन्द्रलीलाको हृदय यी सबै कुराहरूदेखि विमुख हुन गयो। तिनको हृदयमा अब आफ्ना यी सबै मूर्तिहरू लिएर एउटा गरिब व्यक्तिलाई दिने इच्छा जाग्यो। तिनले त्यस्तै गरिन्, र यी सबै मूर्तिहरू यस स्त्रीलाई दिएर भनिन्ः ‘तिमीलाई मन लाग्यो भने यी देवीदेवताहरूको पूजा गर! मैले निक्कै कष्ट सहेर यी मूर्तिहरू जम्मा गरें, यिनको पूजा गरें, तर आज यी सबै कुराहरू मलाई व्यर्थमा गरेको जस्तै लाग्दैछ। अबउसो म कहिल्यै यी देवीदेवताहरूको पूजा गर्नेछैनँ। हिन्दू धर्म केही होइन रहेछ; यदि यो केही भएको भए त्यो मलाई प्रकट हुनेथियो, अनि मैले शान्ति लाभ गर्नेथिएँ।'
यति भनेपछि तिनी त्यहाँबाट हिँडिन्।
नयाँ धर्मप्रति चन्द्रलीलाको चासो कहाँबाट आयो?
चन्द्रलीलाचाहिँ अघि उल्लेख गरिएको सानो बालक जन्मेको त्यस घरमा बसिरहिन्; त्यत्ति बेला त्यस बालककी दिदीको विवाह भयो, तर ऊचाहिँ माइत आइरहन्थी। त्यस घरको नजिकै एउटा मिसन - चौकी थियो, जहाँ त्यस समय डाक्टर फिलिपचाहिँ त्यसका देखरेख गर्ने मिसनरी कार्यरत थिए। उनले यस बालककी दिदीलाई र अरू स्त्रीहरूलाई पवित्र बाइबलका उपदेश सुनाउने गर्थे। मेमसाहेबचाहिँ पार्वती नाम गरेकी यस सानी दुलहीलाई पढ़ाउन त्यहाँ आइरहन्थिन्।
एकदिन चन्द्रलीला पार्वतीलाई भेट्न गइन्। पार्वतीले इसाई धर्मका पुस्तकहरू पढ़िरहेकी देखेर चन्द्रलीलाको उत्सुकता जाग्यो; किनकि तिनले यस्ता पुस्तकहरू कहिल्यै देखेकी थिइनन्। यसैले तिनले पार्वतीलाई सोधिन्ः ‘पारु! तिमीले यी पुस्तकहरू कहाँबाट पायौ?' उत्तरमा कुरा बुझियोः पार्वतीकी गुरुमा, यी मेमसाहेबले नै यी पुस्तकहरू उसलाई दिएकी रहिछिन्। चन्द्रलीलाले पार्वतीलाई फेरि सोधिन्ः ‘के म मेमसाहेबलाई भेट्न सक्छु?' तब पार्वतीले भनीः 'भोलि उहाँ हाम्रो घरमा आउनुहुन्छ। तपाईं यहाँ आउनुभयो भने म तपाईंलाई उहाँसँग भेट गराइ- दिन्छु।'
भोलिपल्ट चन्द्रलीला आइपुगिन्, तर केही कारणवश मेमसाहेब आउन सकिनन्। यिनको सट्टामा एउटी बूढ़ी - आमा र एउटी युवती त्यहाँ आए। यी दुई इसाई दिदीबहिनीहरूले चन्द्रलीलालाई देखेर अचम्म माने, र आफ्नो घरमा फर्केर मेमसाहेबलाई चन्द्रलीलाको विषयमा यसो सुनाएः ‘आज एउटी गजवकी साधुनीसँग हाम्रो बातचित भयो; तिनीचाहिँ पुस्तक पढ्न र तपाईंसँग भेट गर्न ज्यादै उत्सुक छिन्।' भोलिपल्ट मेमसाहेब ती दुईजनासँग पार्वतीको घरमा आए; त्यस दिन चन्द्रलीलाले पहिलो पल्ट पवित्र बाइबलबाट केही वचन सुन्न पाइन्। तिनले बंगाली भाषा पढ्ने प्रथम पुस्तक मागिन्, र त्यसको मूल्य पनि तिरिदिइन्। मेमसाहेबले यसो भनेर तिनलाई अर्को एउटा पुस्तक दिइन्ः 'यो हाम्रो धर्म - पुस्तक हो; यसलाई पढ्ने गर ल!’
चन्द्रलीलाले यो पुस्तक लिइन् र दिनरात यसमा पढिरहिन्। तिनले मेमसाहेबका निम्ति एउटा सानो पाठशाला पनि तयार गरिदिइन्, र ती इसाई स्त्रीहरूले यो पाठशाला सञ्चालन गर्न थाले। तर अहिलेसम्म चन्द्रलीलालाई शान्ति भएन। एक-दुई दिनपछि तिनी मेमसाहेबको कोठामा जान थालिन्। आफूले पवित्र बाइबलमा पढ़ेका कुराहरूको अर्थ बुझाइमाग्न तिनी त्यहाँ जान्थिन्। उनले तिनलाई ठूलो प्रेम र धीरजको साथ सिकाउँथे र तिनको प्रत्येक प्रश्नको उत्तर दिन्थे। केही समयपछि चन्द्रलीलालाई यो धर्म-पुस्तक बाइबल अति प्रिय लाग्न थाल्यो।
तिनी आफैले यसलाई मात्र पढ़्दिनथिइन्, तर तिनले आफ्ना शिष्यहरूलाई पनि पवित्र बाइबलको कुरा सिकाउन थालिन्। जब तिनीहरू रामायन र अरू धर्मशास्त्रहरूबाट केही सुन्न र सिक्न आए, तब तिनले ‘मैले यी पुराना पुस्तकहरू पढ़्न छोड़ेकी छु; आज म तिमीहरूलाई एउटा नयाँ पुस्तकबाट केही पढेर सुनाउँछु ल' भनिन्। तिनका शिष्य- हरूले तिनलाई पुराना धर्म - पुस्तकहरूबाट पढेर नसुनाएको कारण सोधे। तिनको उत्तर यस प्रकारको थियोः 'यो नयाँ पुस्तक अति उत्तम हो।' स्त्रीहरूले यस नयाँ पुस्तकबाट बड़ो आनन्दको साथ सुन्थे, तर पुरुषहरूले चाहिँ यसो भन्न थालेः ‘राम, राम! तिमीले पढेर सुनाएको यो के हो? यो त इसाईहरूको पुस्तक पो हो। तिमी त इसाई हुन आँटिछ्यौ; मेमसाहेबको घरमा जान छोड़िदेऊ! हामी तिमीलाई बंगाली भाषा सिकाउने अर्का गुरुलाई बोलाएर ल्याउँछौं।' चन्द्रलीलाले तिनीहरूलाई उत्तर दिइन्ः ‘म अरू कुनै गुरुसँग पढ्न चाहन्नँ; म मेमसाहेबसँग नै पढ्न चाहन्छु; मलाई जे-जति सिक्नु छ, त्यो म तिनैबाट सिक्नेछु।' तिनीहरूले चन्द्रलीलालाई डर देखाए, र तिनलाई धम्की दिएर भनेः 'तँ इसाई भइस् भने हामी तँलाई यहाँबाट निकालिदिन्छौं। मानिसहरूले तँलाई बौलाही भन्नेछन्, र तँलाई कुटेर पिटेर ढुङ्गा र मुढ़ा गर्नेछन्। इसाईहरूले तँलाई धोका दिएर अलपत्र पारे तँ मर्न कहाँ जान्छेस्?' तर तिनले तिनीहरूलाई उत्तर दिइन्ः 'प्रभु मेरो येशूले मलाई निश्चय छोड्नुहुन्न। उहाँको नाममा मर्न पाए मेरो मुक्ति हुनेछ।' यसो भन्दा तिनको चेहरामा स्थिरता र गम्भीरता देखा परेको थियो। तब चन्द्रलीलाले तिनीहरूलाई प्रभु येशूको कथा सुनाउन र यस नयाँ धर्मको शिक्षा दिन थालिन्। मेमसाहेबले तिनलाई लगभग दुई महिना शिक्षा दिइन्, तब चन्द्रलीलाले येशू ख्रीष्टलाई ग्रहण गर्ने इच्छा प्रकट गरिन्।
चन्द्रलीलासित इसाई मिसनरीको अन्तर्वार्ता
एकदिन तिनको भेट इसाई मिसनरी र उनकी पत्नीसँग भयो। यस भेटमा उनले तिनलाई केही प्रश्नहरू सोधे; पहिले उनले तिनलाई यो प्रश्न गरेः 'तिमी पापरहित छ्यौ कि पापी छ्यौ?' चन्द्रलीलाले उनलाई उत्तर दिइन्ः ‘मेरा आमाबुवा पापमा उत्पन्न हुनुभयो, यसैले म पनि पापमा उत्पन्न भएँ। मैले भारतवर्षका सबै मूर्तिहरूको पूजा गरिसकें, मैले कतिपल्ट झूट बोलें, मैले धेरैलाई धोका दिएँ। तब म आफूलाई पवित्र कसरी भन्न सक्छु; म त एउटी पापी मानिस हुँ?' यी मिसनरीले तिनलाई फेरि सोधेः ‘मैले सबै देवी-देवताहरूलाई पूजा गरिसकें भनेर तिमी भन्छ्यौ; तब मलाई भन! के तिनीहरूमध्ये कसैबाट तिमीले पापको क्षमा पाउँछु भन्ने आशा देखेनौ त?' चन्द्रलीलाले जवाफमा यसो भनिन्ः ‘मैले तीर्थ गरें, मैले व्रत गरें, कति हो कति, यसको साध्य छैन; तर मैले कहीं पनि पापको क्षमा हुने उपाय भेट्टाउन सकिनँ; मेरो हृदयमा मैले कहिल्यै कुनै प्रकारको शान्ति पाइनँ।' उनले तिनलाई अर्को प्रश्न सोधेः 'तिम्रा यी सबै देवी- देवताहरूमध्ये कसैले पनि तिमीलाई पापको क्षमा दिन सकेनन्, किन होला नि? तिनीहरूले त दिन सकेनन्; अब तिमी कसरी र कहाँबाट पापको क्षमा पाउन सक्छ्यौ त?' चन्द्रलीलाले यस प्रश्नको उत्तर यस प्रकारले दिइन्ः ‘मैले पापीहरूका एकमात्र मुक्तिदाताको विषयमा पढ़ेकी छु; उहाँ येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मेरा निम्ति क्रसमा मर्नुभयो; यसैले उहाँले मेरा पापहरू क्षमा गर्न सक्नुहुन्छ। मैले उहाँको विषयमा सिकें; यसैले मेरो पूरा विश्वास उहाँमाथि छ। म इसाई हुन चाहन्छु।'
यही समयमा यी मिसनरीकी बहिनी त्यस कोठामा आइपुगिन्, र यिनले पनि चन्द्रलीलासँग बातचित गर्न लागिन्। यिनले भनिन्ः 'तिमीले धेरै मन्दिरहरू देखेकी छ्यौ, तर के? के तिमीले गिर्जा कहिले देखेकी छ्यौ?' चन्द्रलीलाले यिनलाई भनिन्ः 'अहँ, मैले गिर्जा कहिल्यै देखेकी छैनँ, तर गिर्जा हेर्न मेरो ठूलो इच्छा छ।' तब यी मेमसाहेबले तिनलाई साथमा लगेर तिनलाई गिर्जा देखाइन्, र तिनलाई भनिन्ः ‘आजका आठ दिनमा यस गिर्जा-घरमा भजन र प्रार्थना हुन्छ; तिम्रो इच्छा छ भने तिमी आएर सुन्न सक्छ्यौ।'
चन्द्रलीला पहिलो पल्ट चर्चमा गएकी
चन्द्रलीला स्वयम्ले तिनी पहिलो पल्ट गिर्जामा गएर त्यहाँ गरेको अनुभव यसो वर्णन गर्छिन्ः 'जुन दिन म पहिलो पल्ट गिर्जा - घर गएँ, त्यस दिनसम्म मेरो केश फेरि बढिसकेको थियो र कुमसम्म पुगेको थियो। म धोती मात्र लाउने गर्थे। जब म गिर्जाभित्र पसें, तब मैले धोतीको एक भाग तानेर आफ्नो शरीरलाई ढाकिदिएँ। मिसनरी साहेब एक ठाउँमा उभिएर प्रभु येशूको विषयमा प्रवचन सुनाइरहेका थिए। जति कुरा मैले सुन्दैथिएँ, उत्ति नै यी सुनेका वचनहरूले मलाई घोच्न लागे; मलाई अचम्म लाग्दैथियो; अहो! यो ता त्यही कुरा हो रहेछ, जुन कुरा पाउन मैले यत्रो दुःख र कष्ट सहेथें, जसका निम्ति मैले यति वर्ष बिताएकी र जसलाई मैले निरन्तर खोजिरहेकी थिएँ; त्यो कुरा त आज मैले भेट्टाएकी छु, आजै हात पारेकी छु। मलाई यति खुशी लाग्यो, कि मैले भनें “म अहिले नै हिन्दू धर्मलाई त्यसका जम्मै फन्दा र झमेलाहरूसमेत परित्याग गरिदिन्छु।”
चर्चमा सभा समाप्त भएपछि मिसनरी साहेब र इसाई बन्धुहरू मलाई भेट्न आए। त्यत्ति बेला मैले मिसनरी साहेबलाई भनेंः “म बप्तिस्मा लिन तयार छु।” तर साहेबले मलाई भने: “तिमी इसाई भयौ भने तिमीले धेरै कष्ट भोग्नुपर्नेछ। तिम्रा समाजका दाजुभाइहरूले तिमीलाई अवहेलना गर्नेछन्। त्यति बेला, जब तिमीले भोजन पाउँदैनौ, तब तिमीले के गछ्र्यौ त?” तिनले उनलाई यस प्रकारले उत्तर दिइन्ः “पशुहरूले परमेश्वरबाट भोजन पाउँछन् भने के म पाउन सक्दिनँ र? प्रभु येशू मेरो हेरचाह गर्नुहुन्छ, तब मलाई मानिसहरूको डर रत्तिभर लाग्दैन।”
त्यसपछि म घर फर्के; तर रातभरि मैले सुत्न सकिनँ; संसारका सबै बन्धनहरूबाट विमुक्त भएर म आफूलाई प्रभु येशूको चरणमा समर्पण गर्ने सोचमा डुबिरहें।'
चन्द्रलीलाको बप्तिस्मा
चन्द्रलीला सात दिन मेमसाहेबसँग पढ़िरहिन्, र अझ धेरै कुराहरू सिकिन्। त्यसपछि तिनी मिसनरीकहाँ गइन्, र यसो भनिन्ः 'हजुर, म हिन्दू धर्मबाट अलग हुन चाहन्छु। तर मेरा कति पित्तलका भाँड़ावर्तनहरू र केही रुपियाँ छन्, जो एकजनाको घरमा छन्; तर उसको घर निक्कै टाढ़ा छ। तपाईंले आदेश दिनुभयो भने म गएर ती चीजहरू ल्याउनेछु।' तर मिसनरी साहेबले भने : 'तिमीलाई अनुमति दिनुमा मलाई शङ्का लाग्दैछः किनकि शैतानले तिमीलाई परीक्षामा पार्ला, र त्यस मानिसले तिमीले पाउनुपर्ने धनसम्पत्तिलाई निहुँ पारेर तिमीलाई त्यहाँ बस्न आग्रह गर्ला कि?' यो सुनेर चन्द्रलीलाले त्यहाँ नजाने निर्णय गरिन्।
चन्द्रलीलाले मिसनरी साहेबलाई अर्को कुरा पनि बताइन्; तिनले अर्को मानिसको घरमा छोडिराखेका आफ्ना मूर्तिहरूको विषयमा के-कसो गरून्? साहेबले तिनीसँग एउटी स्त्रीलाई ती मूर्तिहरू लिन पठाए। तिनीहरूले ती मूर्तिहरू ल्याए, र चन्द्रलीलाको एउटा शिष्यको घरमा राखे। त्यस घरकी आमाले प्रश्न गरीः 'आज राति तिमीले यी मूर्तिहरूको पूजा गरयौ, कि कसो?' तर चन्द्रलीलाले उसलाई उत्तर दिइन्ः ‘मैले पूजापाठ गर्न छोड़ेकी अहिले हो र?' चन्द्रलीलाले आफ्ना जम्मै धर्म- पुस्तकहरू र सबै मूर्तिहरू साहेबको हातमा सुम्पिन्। यी मूर्तिहरूमा रामको मूर्ति पनि थियो, जसलाई तिनले अघिको समयमा अत्यन्त आदरभाव गर्थिन् र सदा आफैसँग राख्थिन्। मिसनरी साहेबले तिनका यी पुस्तकहरू र यी मूर्तिहरू ग्रहण गरे, र यस प्रकारका वस्तुहरू कहिल्यै नदेखेका अंग्रेजहरूलाई देखाउन भनी सुरक्षित राखे।
मङ्गलबारको दिन आयो। यस दिन चन्द्रलीलाले आफ्ना सबै मालमत्ताहरू साहेबको घरमा पठाइन्। तब चन्द्रलीला आफू बसेकी त्यस घरबाट निस्केर गएकी कुरा सबैले थाहा पाए। सबैजना तिनका शिष्यहरूसित मिलेर तिनलाई फर्काउन आए। तिनका शिष्यहरूले हात जोड़ेर तिनलाई फर्कने विन्ती चढ़ाए। चन्द्रलीलाले दृढ़ता झल्काएर तिनीहरूलाई भनिन्ः ‘अबदेखि उसो म हिन्दू होइनँ; हिन्दू धर्ममा मेरो विश्वास छैन।' त्यहाँ उपस्थित मानिसहरूलाई यसको पक्का प्रमाण दिन तिनले एउटी इसाई स्त्रीको हातबाट पानी लिएर पिइन्। जब तिनलाई फर्काएर लैजाने मानिसहरूले यो देखे, तब तिनीहरू अति उदास भए। तिनीहरू क्रोधित भएर भनेः 'यो बहिनी अब जातिभ्रष्ट भई; अब ऊ हाम्रा निम्ति मरेकी हो।' निराश भएर तिनीहरू फर्के।
केही दिनपछि जुन राजाको महलमा चन्द्रलीलाले सात वर्ष बिताएकी थिइन्, ती राजाका पुत्रले तिनी इसाई भएकी खबर सुने। तिनी राजालाई भेट्न आऊन् भन्ने हेतुले एउटा हात्ती तिनीकहाँ पठाइयो, तर जब राजाका नोकरहरूले चन्द्रलीलाले कसरी जातपात तोड़िन्, सो कुरा सुने, तब तिनीहरू तिनलाई नभेटीकन फर्के। पछिबाट कुनै समयमा चन्द्रलीला आफै ती राजाकहाँ गइन्, र उनलाई प्रभु येशूको विषयमा सुनाइन्। राजाले ती कुराहरूमा विश्वास गरे, तर मानिसहरूको डरले गर्दा र राजगद्दी गुमाउने भयले उनले बप्तिस्मा लिएनन्।
चन्द्रलीलाले अझ एक महिना मिसनरी साहेबकी पत्नीसँग बिताइन्। त्यस बेला तिनले इसाई धर्मको विषयमा सिकेर अझ बढ़ी जानकारी पाइन्। यस महिनाभरि तिनले उनलाई विभिन्न प्रश्नहरू सोध्थिन् र धर्म-पुस्तक बाइबल पथिन्; त्यसपछि तिनले यी मिसनरी साहेबको हातबाट प्रभु येशूको नाममा बप्तिस्मा लिइन्।
चन्द्रलीलाले प्रभु येशूलाई मानिसहरूको सामु खुल्लमखुल्ला स्वीकार गर्छिन् प्रभु येशूले भन्नुभएको छः 'जसकसैले मलाई मानिसहरूको सामु स्वीकार गर्ला, उसलाई म पनि स्वर्गमा हुनुहुने मेरा पिताको सामु स्वीकार गर्नेछु' (मत्ती १०ः३२)।
बप्तिस्मा लिएपछि चन्द्रलीला केही समय अरूसँग स्कूलहरूमा र घरहरूहुँदा पढ़ाउन जान्थिन्। तर अब तिनले साना नानीहरूलाई अक्षर चिनाउन वा स्त्रीहरूलाई सिकाउन मन पराउँदिनथिन्। प्रभु येशू ख्रीष्टले पापी मानिसहरूका निम्ति आफ्नो प्राण क्रसमा पाप बलिको रूपमा समर्पण गर्नुभएको सुसन्देश के साना, के ठूला, सबै मानिसहरूकहाँ पुरयाउन अब तिनको उत्कट एकमात्र अभिलाषा थियो। आफ्नो पवित्र बाइबल च्यापेर तिनी घर-घरमा र गल्ली-गल्लीमा घुम्थिन् र मानिस- हरूलाई सम्झाउँथिन्; धेरै मानिसहरू तिनको उपदेश सुन्न भेला हुन्थे। यसरी नै तिनले दिनभरि सुसमाचार प्रचार गरिरहेकी थिइन्; आफ्ना निम्ति तिनले अति थोरै समय राख्थिन्। अब तिनले आफ्नो जीवन सुसमाचार प्रचार गर्नमा र प्रार्थनामा बिताउँथिन्। येशूकी चेली भएपछि चन्द्रलीलाले तीन वर्षसम्म मेदिनीपुर र त्यसको छेउछाउका गाउँहरूमा प्रचारको काम गरिन्। त्यत्ति बेला तिनका भाइ नेपालबाट तिनलाई भेट्न आए।
त्यस बेला मिसनरी साहेबको भ्रमण गर्ने समय पनि आइपुग्यो। चन्द्रलीला उनलाई सबै सामानहरू तयार गर्न सघाउन आइन्। तब साहेबले तिनलाई भनेः ‘तिमी तलब नलिईकन काम गछ्य; यो मलाई ठीक लाग्दैन। जब तिमी साधुनी थियौ, तब तिमीले सहजै गाँसबासको प्रबन्ध गर्थ्यो; तर अबचाहिँ मानिसहरूले तिमीलाई भोजन दिनेछैनन्। तिमीलाई बड़ो कष्ट हुनेछ। यसैले मेरो सल्लाह मान, र एउटा काम गर! यस थैलीमा पुस्तकहरू हालेर तिनलाई बेच र यसरी नै आफ्नो आवश्यकता पूर्ति गर!' चन्द्रलीलाले उनको सल्लाह मानिन् र यसको आज्ञापालन गरिन्। तिनी पुस्तकहरू साथमा लिएर हिँडिन्।
चन्द्रलीलाका एक-दुई पुस्तकहरू बिके पनि; तर जब तिनी ठूला- ठूला शहरहरूमा प्रभु येशूको सुसमाचार प्रचार गर्थिन्, तब भीड़ैभीड़ मानिसहरू जम्मा हुन्थे; तब तिनी मानिसहरूलाई आत्मिक कुराहरू सुनाउन र सम्झाउनमा यति मग्न हुन्थिन्, कि तिनी पुस्तकहरू बेच्ने कुरा बिलकुलै भुलिहाल्थिन्। अन्तमा जम्मै पुस्तकहरू थैलीबाट चोरी भए। तिनले साहेबलाई यसको सबै हाल सुनाइन्, र थैली फर्काएर भनिन्ः 'हजुर, म दुईवटा काम गर्न सक्दिनँ। आफ्ना प्रभु र मुक्तिदाता येशूको आज्ञामा चलेर पापी मानिसहरूलाई मुक्तिको मार्ग चिनाउने मेरो एकमात्र कर्तव्य हो।'
यसरी चन्द्रलीला मेदिनीपुर र त्यसको छेउछाउका बस्तीहरूको प्रत्येक घरमा येशूको सुसमाचार प्रचार गरिन्। तिनी आफ्ना कामका निम्ति सधैं प्रार्थना गर्थिन्। छ महिना यसरी नै बिते। कति मानिसहरूले तिनको उपदेश सुनेर विश्वास गरे। प्रभु येशूमाथि विश्वास गर्नेहरूमध्ये कति भाइबहिनीहरू आ-आफ्ना घर र समाजबाट निकालिए। तर चन्द्रलीलाले उनीहरूको भार आफ्नो काँधमा लिएर उनीहरूको अरू कुनै उचित प्रबन्ध नभएसम्म उनीहरूको सेवा गरिन्।
केही दिनपछि तिनका भतिजा तिनलाई भेट्न आए। चन्द्रलीलाले यी केटालाई धर्म-पुस्तक बाइबलका कुराहरू सुनाइन्। तिनको प्रार्थना यही थियोः ‘हे प्रभु, उसलाई आफूतिर खिच्नुहोस्!' तिनको प्रार्थनाको उत्तरमा यी जवान केटाले प्रभु येशूमाथि विश्वास गरे, र तुरुन्तै बप्तिस्मा लिन चाहे। तर यिनको कलिलै उमेर भएको हुनाले यिनलाई घर फर्कन कर लाग्यो। केही दिनपछि अचानक यिनको मृत्यु भयो; तर चन्द्रलीलाको हृदयमा यिनले मुक्ति पाए भन्ने विषयमा अलिकति पनि शङ्का भएन।
अब चन्द्रलीलाको मनमा टाढा-टाढा गएर मुक्तिदाताको विषयमा सुनाउने तीव्र इच्छा जाग्यो; अब तिनी चारैतिर, अँ, टाढ़ेसम्म जान तयार भइन्।
चन्द्रलीलाले आफू पहिले गएका ठाउँहरूमा फर्केर प्रचार गरिन्
प्रभु येशूले आफ्ना चेलाहरूलाई भन्नभयो ः 'सारा संसारमा जाओ, र हरेक प्राणीलाई सुसमाचार प्रचार गर! जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ, उसले मुक्ति पाउनेछ; तर जसले विश्वास गर्दैन, त्यो दोषी ठहरिनेछ' (मर्कूस १६ः१५-१६)।
चन्द्रलीलाको यसपालिको यात्रा अति लामो थियो। तिनी आफूले पहिले जुन-जुन ठाउँहरूमा परमेश्वरको खोजमा तीर्थ गरेकी थिइन्, ती शहरहरूमा गइन्। प्रभुमा आएर तिनको हृदयमा शान्ति आयो; अब तिनमा ठूलो आनन्द थियो। तिनी जस-जसलाई भेट्थिन्, तिनीहरू सबैलाई मुक्तिको सन्देश सुनाउँथिन्।
प्रिय पाठक! चन्द्रलीलाको अवस्था बदली भएको कुरामा ध्यान दिनुहोला! अघि तिनी अन्धाधुन्धमा परमेश्वरको खोज गर्थिन्; त्यस बेला तिनी नेत्रहीनजस्ती थिइन्। तिनी सदा चञ्चल थिइन्; तिनमा अशान्ति थियो। तर अबचाहिँ तिनको हृदयभरि शान्ति थियो। तिनको मन सुस्थिर भयो। अब तिनी मानिसहरूलाई सत्य मार्ग देखाउँथिन्, तिनीहरूलाई सत ज्ञान सिकाउँथिन्। तिनको एउटै सन्देश थियो: 'पापीहरूलाई बचाउन सक्ने येशू ख्रीष्ट मात्र हुनुहुन्छ।' यस कुराको जिउँदो साक्षी तिनी स्वयम् नै थिइन्।
चन्द्रलीला प्रयागको मेलामा एक महिनासम्म प्रभु येशूको सुसमाचार प्रचार गरिन्। यस मेलामा प्रतिवर्ष लाखौं तीर्थ-यात्रीहरू भेला हुन्छन्। यहाँ ब्राम्हणहरू र पूजारीहरू चन्द्रलीलासँग अति क्रोधित भए; किनभने चन्द्रलीलाले तिनीहरूको भन्डाफोर गरिदिन्थिन्। तिनीहरूले चन्द्रलीला- लाई तिनलाई मार्ने धम्की दिए। तिनीहरूले बजारबाट दुष्ट मानिसहरूलाई बोलाए, जसलाई तिनीहरूले तिनलाई बेसरी पिट्न र त्यहाँबाट निकालिदिन सिकाए।
जब तिनी भुइँमा बसेर उपदेश दिन लागेकी थिइन, तब यी मानिसहरू तिनलाई आक्रमण गर्न आइपुगे। तिनले यी दुष्ट मानिसहरूको नेतालाई हिम्मतको साथ, तर बड़ो नम्र भई भनिन्ः 'भाइ, तिमी मलाई किन मार्न चाहन्छौ? म त परमेश्वरको क्रोधबाट बाँच्ने उपाय पो बताइ - दिन्छु।' तब यिनीहरूले ढुङ्गा टिपेर तिनलाई हान्न आँटे; चन्द्रलीलाले फेरि भनिन्ः ‘तपाईंहरूलाई जस्तो मन लाग्छ, तपाईंहरू त्यस्तै गर्नुहोस्! मलाई ढुङ्गाले हान्न चाहनुभयो भने ढुङ्गा हान्नुहोस्! तर चोटचाहिँ तपाईंहरूलाई लाग्नेछ, मलाई होइन। तपाईंहरूले परमेश्वरको दण्ड पाएको म हेर्न चाहन्नँ।' यसरी नम्र भई तर अति साहससित बोलेर तिनले तिनीहरूको कठोर हृदय पगालिदिइन्। तिनीहरूले तिनलाई छोड़े, र गइहाले। त्यसपछि तिनले बिघ्नबाधाविना वचन सुनाइरहिन्। प्रयागबाट तिनी आसाम गइन्, र तिनले ती रानीलाई पनि भेटिन्, जससित पञ्चाग्निको पूजा गर्दाखेरि तिनको परिचय भएको थियो। तिनी रानीको महलमा गइन्, र तिनले सबैको सामु विनाडर धर्म-पुस्तक बाइबलबाट पढेर सुनाइन्। यी कुराहरू सुनेर विशेष गरी ती रानीका पुत्र प्रभावित भए, तर उनलाई सर्वस्य छोड़ेर इसाई हुन डर लाग्यो। यहाँबाट चन्द्रलीला स्वदेश नेपाल गइन्।
चन्द्रलीला नेपाल फर्किन्
प्यारो नेपालसँग बिछोड़ भएको लगभग सत्ताइस वर्ष भएको थियो। आउने बित्तिकै तिनले घरको छेउछाउ र गाउँ-गाउँ चहार्दै सुसमाचार प्रचार गर्न शुरु गरिन्।
तिनी बरछटाको मेलामा गइन्, जहाँ नेपालभरिका मानिसहरू भेला हुन्छन्। त्यस मेलामा तिनले जस-जसलाई भेटिन्, तिनीहरू सबैलाई येशूको सुसमाचार प्रचार गरिन्। तिनी आफ्नो यस काममा निमग्न भइन्। अचानक पुलिसले तिनलाई पक्र्यो, र तिनलाई हाकिमको सामु उभ्यायो। हाकिमले प्रश्न गरेः 'तँ को होस्!' तिनले जवाफ दिएर भनिन्ः 'हजुर, मेरो घर नेपाल हो; म आफ्ना मानिसहरूलाई राम्रा-राम्रा पुस्तकहरू वितरण गर्दछु।' तब हाकिमले भनेः 'लौ जा, तर आफ्ना मानिसहरूको बीचमा मात्र बाडू!' चन्द्रलीला बजार फिरिन्, र मेला लागुन्जेल तिनले मानिसहरूलाई सुसमाचार सुनाइन्। तिनको काममा बाधा दिने कसैको साहस भएन।
चन्द्रलीलाका भाइले प्रभु येशूमाथि विश्वास गरेर उहाँको नाममा बप्तिस्मा लिए
अब चन्द्रलीला आफ्ना पिताको घर गइन्, र आफ्ना प्रिय भाइलाई, जो मेदिनीपुरमा तिनलाई भेट्न आएका थिए, अत्यन्त बिरामी भएको अवस्थामा भेट्टाइन्। तिनी बड़ो प्रेमले भाइको सेवा गर्न लागिन्। एकदिन भाइले तिनलाई छेउमा बोलाएर बड़ो गम्भीरतासाथ तिनलाई भनेः 'दिदी, प्रभु येशूमाथि मेरो विश्वास छ। तिमीले मलाई सिकाएकी समयदेखि नै मैले सम्पूर्ण मन-प्राणले उहाँलाई नै आफ्ना प्रभु र मुक्तिदाता सम्झन थालेको थिएँ। दिदी, तिमी के सम्झन्छ्यौ? के प्रभु येशूले मलाई ग्रहण गर्नुहुन्छ र मलाई बचाउनुहुन्छ? सपरिवार लिएर म मेदिनीपुर गएर आफ्ना सबै पापहरू स्वीकार गरीकन सबैको सामु येशूको नाममा बप्तिस्मा लिने र मेरो बाँकी जीवन प्रभुको काममा बिताउने मेरो उत्कट चाहना थियो। तर अब मलाई यो मेरो इच्छा पूरा होला जस्तै लाग्दैन; किनभने म मृत्युको मुखेन्जी पुगेको छु। तर मलाई इसाई भएर नै मर्ने इच्छा छ। दिदी, तिम्रो के विचार छ? के प्रभु येशूले मलाई बप्तिस्मा नलिईकन ग्रहण गर्नुहुन्छ?' चन्द्रलीलाले आफ्ना भाइलाई बड़ो प्रेमसाथ यसो भन्दै उत्तर दिइन्ः ‘भाइ! प्रभु येशूले तिमलाई अहिले नै, यसै घड़ी ग्रहण गर्नुहुन्छ। के तिमी आफूलाई उहाँको हातमा पूरा समर्पण गर्न तयार छौ?' भाइको यो जवाफ थियोः 'हो, म खुशीसाथ मेरो मन - तन, मेरो सर्वस्व उहाँको चरणमा चढ़ाउँदछु। प्रभु येशूचाहिँ मेरा मुक्तिदाता हुनुहुन्छ; उहाँले मलाई मुक्ति दिनुहुन्छ; मेरो विश्वास यही हो। तर ठूलो अफसोस मलाई यसैमा छः बप्तिस्मा नलिईकन म मर्न लागें।'
चन्द्रलीलाले सुस्केरा हालेर उनलाई भनिन्ः ‘भाइ, यहाँ वरिपरि कुनै इसाई धर्माधिकारी छैनन्; नेपालभरि नै तिमीलाई बप्तिस्मा दिन सक्ने कुनै यस्ता व्यक्ति छैनन्। जोजति छन्, उनीहरू सबै अति टाढा छन्। यस समय उनीहरूमध्ये एकजनाकहाँ पुग्न असम्भव छ।' तब भाइले तिनलाई भनेः 'हो, मलाई थाहै छ, तिमी यस समय कुनै धर्माधिकारीलाई बोलाउन सक्दैनौ; तैपनि इसाई भएर मेरो देह त्याग्ने मेरो ठूलो इच्छा छ।'
भाइको यो कुरा सुनेर चन्द्रलीला आफ्नो सोचमा डुबिन्। तिनले आफ्ना भाइको अनुहार एकोहोरो दृष्टिले हेरिरहिन्। यहाँ ती भाइ थिए, जसका निम्ति तिनले धेरै समयदेखि नै बोझसाथ प्रार्थना गरेकी थिइन्; हो, उनका निम्ति तिनले लगातार अश्रुधारा बहाएकी थिइन्। तब तिनी यस्तो निष्कर्षमा पुगिन्ः ‘यस्तो आपतकालीन समयमा मैले आफ्ना प्रिय भाइलाई बप्तिस्मा दिए स्वर्गमा हुनुहुने मेरा पिता निश्चय अप्रसन्न हुनुहुन्न। मैले मूर्तिहरूको सामु आफ्नो शिर निहुराएर पूजापाठ गर्दा धरि उहाँ क्रोधित हुनुभएन, तब साँचो प्रभुको नाममा म आफ्ना भाइलाई बप्तिस्मा दिँदाखेरि झन् बढ़ी उहाँले मलाई सहनुहुन्छ होला; किनकि यहाँ बप्तिस्मा दिने कोही धर्माधिकारी नै छैनन्।'
तब चन्द्रलीलाले आफ्ना भाइलाई प्रभु येशूको नाममा बप्तिस्मा दिइन्। बप्तिस्माको कार्य सिद्धिएपछि तिनले प्रार्थनामा केही क्षण बिताइन्। तब तिनका आँखाहरू भाइको अनुहारमा परे; अहिले तिनका भाइको अनुहारमा ठूलो आनन्द र शान्ति देखिन्थ्यो। उनी अब पापी थिएनन्; उनी प्रभु येशूका चेला, एउटा इसाई भएका थिए। प्रभु येशूले भन्नभयोः ‘मकहाँ आऊ! म तिमीलाई विश्राम दिनेछु।' यस वचन- अनुसार प्रभु येशूले तिनका भाइका सबै पापहरू क्षमा गर्नुभयो र उनको हृदयबाट समस्त डर र अशान्ति हटाइदिनुभयो। उहाँले उनलाई मनमा मुक्ति पाएको निश्चयता, अँ, अलौकिक विश्राम दिनुभयो।
चन्द्रलीलाका भाइको मृत्यु भएपछि मृतकका नातेदारहरूले उनको लास आफ्नै रीतिअनुसार जलाउन चाहे; तर चन्द्रलीलाले यसो भनेर मन- मनमा प्रार्थना गरिन्ः ‘हे प्रभु येशू, मेरा भाइको लास इसाई रीतिअनुसार दफन गरियोस्!' त्यसपछि हात जोडेर तिनले तिनीहरूबाट आफ्ना भाइको लास मागिन्। तर तिनीहरूले तिनलाई आफ्ना भाइको लासको छेउसम्म पर्न धरि दिएनन्; किनभने चन्द्रलीलाका भाइ इसाई भएर मरेको कुरा कसैलाई थाहा थिएन। तब सारा विनम्र भई तिनले तिनीहरूलाई यसो सम्झाइन्ः ‘मेरा भाइ इसाई थिए; उनी इसाई भएर मरे।' त्यसपछि तिनले तिनीहरूलाई आफ्ना भाइले बप्तिस्मा लिएको कुरा बताइन्; तर तिनीहरूले तिनको कुरा तिलभर विश्वासै गरेनन्। यति बेला चन्द्रलीला प्रार्थनामा लागिरहिन्, र प्रभुलाई भनिन्ः 'परमेश्वर पिता, मेरा भाइको लास जल्न नपरोस्!’
भाइको मृत्यु हुँदा बर्साद चलेको थियो; मुसलधार पानी अविराम गतिले बर्सिरहेको थियो। भाइको लास मसानमा पुरयाइयो र सजाइएको चितामाथि राखियो, अनि मानिसहरूले आगो सल्काउन थाले। तर तिनी- हरूले जति सल्काए, त्यत्ति नै पानीले आगो निभाइदियो। चिता पनि निथ्रुक्क भिज्यो। रातको अँध्यारो चारैपट्टि फैलिन थाल्यो; तर चिता बल्दै बलेन। चन्द्रलीला, जसले अहिलेसम्म प्रार्थना गरिरहेकी थिइन्, अघि बढ़िन् र तिनीहरूलाई भनिन्ः 'के तपाईंहरू देख्नुहुन्न? परमेश्वरले मेरा आँसुले मुछिएको विनय सुन्नुभयो, र यो लास नजलाइयोस् भनेर यो झरी पठाइदिनुभयो। आफ्नो हठ छोडिदिनुहोस्! मेरा भाइको लास मलाई दिनुहोस्! त्यसलाई म इसाईको रीतिअनुसार दफन गर्नेछु। नत्र परमेश्वरले यो लास जल्न नदिनलाई तपाईंहरूमाथि कुनै विपत्ति पठाउनुहुन्छ।' यो सुनेर सबैजना डराए; तिनीहरूले तिनका भाइको लास तिनलाई दिए।
चन्द्रलीला आफ्ना भाइको लास लिएर गइन्। तब ती मानिसहरू पनि तिनको पछि-पछि आए र लास राख्ने ठाउँमा उभिएर हेरिरहे। चन्द्रलीलाले एउटा चिहान खन्न लगाइन्, र इसाई रीतिअनुसार आफ्ना भाइको लासको दफन गरिन्।
प्रिय पाठक, हेर्नुहोस्! चन्द्रलीलालाई आफ्नो प्रार्थनाको उत्तर कति चाँड़ै मिलेको, त्यसमा ध्यान दिनुहोला! तिनी प्रभु येशूमाथि विश्वास गर्थिन्; यसैले तिनले उहाँबाट यति चाँडै उहाँको आशिष् प्राप्त गरिन्; किनभने पवित्र बाइबलमा यसो लेखिएको छः 'विश्वास गरेर जेसुकै कुरा पनि तिमीहरूले प्रार्थनामा मागौला, ती सबै तिमीहरूले पाउनेछौं' (मत्ती २१:२२)।
मेमसाहेबले चन्द्रलीलाको जीवनको वर्णन गर्छिन्
मेमसाहेबले यसो भन्छिन्: 'जुन दिन चन्द्रलीला पहिलो पल्ट हाम्रो घरमा आइन्, त्यस दिन हामी तिनको विश्वास, तिनको असल चरित्र र आदर्श स्वभावमा छक्क पस्यौं। तिनी मन-प्राणले प्रभुको काम गर्दथिन्। तिनी बिहानै उठेर बाहिर जान्थिन् र जहींत्यहीं मुक्तिको सुसमाचार प्रचार गर्थिन्। कुन न कुनै राजाको महलमा गएर तिनी रानीको चरणमा बस्थिन् र महलमा भएका सबै स्त्रीहरूलाई धर्म - पुस्तक बाइबलबाट पढ़ेर सुनाउँथिन्। कहिलेकहीं तिनी बजारमा मानिसहरूलाई प्रचार गर्थिन्। हामीले चन्द्रलीलालाई धेरै पल्ट पढेलेखेका मानिसहरूसँग बातचित गरिरहेका देख्यौं। कहिलेकहीं मानिसहरूले तिनलाई खिसी गरे, तर चन्द्रलीलालाई कसैको पर्वाह थिएन। तिनी धैर्यपूर्वक प्रभुको वचन सुनाइरहन्थिन्। चन्द्रलीलालाई देखेर मानिसहरू अवाक् हुन्थे। तिनी हिन्दू धर्मका पुस्तकहरूसँग पूरा सुपरिचित थिइन्। कति खण्डहरू तिनलाई पूरा कण्ठस्थ थिए। मानिसहरू आफ्ना आसन छोड़ेर भुइँमा चन्द्रलीलाको नजिक बस्थे, र छक्क परेर तिनको मुखबाट अमृत वाणी सुन्थे। चन्द्रलीलाले तिनीहरूलाई स्पष्टसँग के देखाइन् भने, हिन्दू धर्ममा मुक्ति छैन।'
चन्द्रलीला चारवटा भाषा जान्दथिन्, र ती भाषामा प्रचार गर्दथिन्। तिनी अर्काको सेवामा मग्न थिइन्, र आफ्नो केही चिन्ता गर्दिनथिन्। तिनको मन अति सरल थियो। परमेश्वरमाथि तिनको पूर्ण विश्वास र भक्ति थियो।
अब तिनी पैंसट्ठी वर्ष पुगिसकेकी थिइन्; तिनको शरीर जर्जर भइसकेको थियो; तिनका आँखाहरू कमजोर थिए। तर तिनी प्रभुको वचन सुनाउन अझै पनि टाढा टाढासम्म यात्रा गर्थिन्। 'मानिसहरूले मुक्ति पाऊन्' भन्ने तिनको निरन्तर प्रार्थना हुन्थ्यो। तिनको वचन सुनेर कति मानिसहरूले प्रभु येशूलाई ग्रहण गरे, सो कुरा तिनलाई थाहा भएन, तर त्यो कुरा एक दिन स्वर्गमा सबैको सामु प्रकट हुनेछ।
एकपल्ट तिनी मिसनरी साहेब, मेमसाहेब र अरू केही इसाई भाइ- बहिनीहरूसँग कोलकत्ता गइन्। तिनले बड़ो धुमधामले एउटा ठूलो भीड़को सामु प्रचार गरिन्। तब साहेबले त्यहाँ उभिएका एउटा नम्बरदारलाई सोधेः 'यति प्रमाणिक कुराहरू सुनेर तिमीसित के उत्तर छ?' तब ती नम्बरदारले भनेः 'यो स्त्री के जान्दछे र? एक क्षण पर्ख, हामी हाम्रा पुरोहितको उत्तर सुन्दै जाऔं!' यति भनेपछि उनी गएर ती पुरोहितलाई ल्याए। ती पुरोहित साधुको भेषमा अहम झल्काएर मानिसहरूको सामु उभिए। जब उनी बोल्न थाले, तब चन्द्रलीलाले उनलाई उनको सोरबाट चिनिन्। उनीचाहिँ तिनका पुराना शिष्य पो रहेछन्। उनलाई अभिवादन गरेर तिनले मानिसहरूलाई भनिन्ः ‘यहाँले जेजति जान्नुहुन्छ, ती सबै कुराहरू यहाँले मबाट नै सिक्नुभएको हो।' तिनले ती पुरोहितलाई आफूले कसरी पहिले मानेका ती कुराहरू र रीतिथितिहरू मिथ्या भएका भेट्टाइन् र इसाई विश्वास साँचो हो, सो कुरा वर्णन गरिन्। त्यहाँ उपस्थित श्रोतागण चन्द्रलीलाको अमृत वाणीले ज्यादै प्रभावित भए।
'मलाई केही डर छैन किनभने मसँग दिव्य प्रकाश छ।' चन्द्रलीलाको भनाइ सदा यही थियो। तिनले तीस वर्षसम्म परमेश्वरको राज्यको प्रचार गरिन्। इस्वी संवत् १९०७ सालको नोभेम्बर महिनाको छब्बीस तारिख सदा स्मरणीय छ, किनकि यस दिन चन्द्रलीलाले देहत्याग गरिन्। तिनी मृत्यु-शय्यामा लोटेकी थिइन्। तिनका ओठबाट यी अस्पष्ट शब्दहरू निस्केः 'मलाई केही डर छैन; मेरो सामुन्ने सबै कुरा उज्यालो छ। हेर, चार स्वर्गदूतहरू मलाई मेरा प्रभुकहाँ पुरयाउन आएका छन्।' तिनका अन्तिम शब्दहरू यी हुन्:
प्रिय पाठक, विचार गर्नुहोस्! के तपाईं आफ्नो अन्तिम क्षणमा चन्द्रलीलाले झैं ‘मलाई केही डर छैन; मेरो सामुन्ने बाटो पूरा उज्यालो छ' भन्न सक्नुहुन्छ?
साधुनी चन्द्रलीलाले जस्तै के तपाईं प्रभु येशूमाथि विश्वास राख्न चाहनुहुन्छ? यदि तपाईं यसो गर्न इच्छुक हुनुहुन्छ भने हामी तपाईंलाई अनुरोध गर्छौंः तल उल्लेख गरिएको प्रार्थनाको नमुनाअनुसार एकमात्र सत्य र जीवित परमेश्वरलाई पुकार्नुहोस्!
प्रभु येशूकहाँ आफ्नो जीवन समर्पण गर्ने प्रार्थनाको एक नमुना
मुख खोलेर तपाईं निम्न प्रार्थना दोहोर्याउनुहोलाः
'हे मेरा सृष्टिकर्ता, हे मेरा परमेश्वर, प्रभु येशूमाथि विश्वास राखेर म तपाईंको चरणमा पर्छु, किनभने स्वभावैले र कर्मले म एउटा पापी मानिस हुँ; दिन प्रतिदिन मैले तपाईंका आज्ञाहरू उल्लङ्घन गरेको छु, तपाईंको विरुद्ध बारम्बार पाप गरेको हुँ। आज म ती पापहरू तपाईंको सामु मानिलिन्छु; मेरा सबै अधर्महरू क्षमा गर्नुहोस्!
प्रभु येशू मेरा निम्ति क्रसमा मर्नुभयो र मेरा पापहरूको सजाय भोग्नुभयो। तेस्रो दिन उहाँ मरेकाहरूबाट फेरि जिउँदो भएर उठ्नुभयो। उहाँ जीवित प्रभु हुनुहुन्छ। उहाँ तपाईंको दाहिने हातपट्टि बस्नुभएको छ। उहाँ संसारका एकमात्र मुक्तिदाता हुनुहुन्छ। उहाँको नाममा मुक्ति छ।
हे प्रभु येशू, म तपाईंलाई मेरा प्रभु र मुक्तिदाताको रूपमा अपनाउँछु। म अहिले नै आफ्नो जीवन तपाईंको हातमा समर्पण गर्दछु। अबदेखि उसो म बाँकी जीवनभरि तपाईंको साँचो चेला भई जिउन चाहन्छु। हे प्रभु येशू, मेरा सबै अधर्महरू क्षमा गर्नुहोस्, मलाई बचाउनुहोस्! मेरो हृदयमा आउनुहोस् र ममा राज्य गर्नुहोस्! मेरो जीवनमा तपाईंको इच्छा पूरा भएको होस्! आमेन!'
टिप्पणीः आमेन भनेको 'यस्तै होस्!'
प्रिय पाठक, यदि तपाईंले अघि उल्लेख गरिएको प्रार्थनाको नमुनाअनुसार प्रभु येशूलाई आफ्ना प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्नुभयो भने तपाईं हामीलाई यसको जानकारी दिनुहुन अनुरोध गर्छौं हामी तपाईंसँग रमाउन र परमेश्वरलाई धन्यवाद चढ़ाउन चाहन्छौं। हामी तपाईंका निम्ति प्रार्थना गर्नेछौं। तपाईंको आत्मिक उन्नतिका निम्ति हामी तपाईंलाई सकभर सहायता गर्नेछौं। हामीसँग सम्पर्क गर्नुहोस्, र हामी तपाईंलाई धर्मपुस्तक बाइबलको नयाँ नियम नामक पुस्तक सित्तैंमा पठाउनेछौं। धन्यवाद।।