अध्याय एघार : मेरा कप्तान
मेलरोस म्यासच्यूसेट्सको एक सरकारी स्कूलमा एकजना शिक्षिकाले आफ्ना विद्यार्थीहरूलाई विलियम ए. हेन्लीले लेखेको ‘इन्विक्टस्' नामक कविता कण्ठस्त गर्न र क्लासमा सुनाउने काम दिइन्। यो कविता अङ्ग्रेजी साहित्यको पौराणिक उत्कृष्ठ कृति मानिएको छ; यसकारण ती शिक्षिकाले आफ्नो सम्पूर्ण विद्यार्थी- वर्गलाई यस कवितासित सुपरिचित राख्ने विचार गरेकी थिइन्। यस कविताले आफ्नो शक्ति, स्वतन्त्रताको आत्मा र साहसद्वारा सोचविचार नगरेका मानिसहरूलाई अभिप्रेरित गर्छ रे। 'इन्विक्टस्' यसको शीर्षक थियो, जो ल्याटिन भाषा हो र जसको अर्थ अजय हुन्छ।
वास्तवमा ‘इन्विक्टस्’ नामक कविता सम्पूर्ण रीतिले नास्तिक हो। यसले परमेश्वरको अस्तित्वमा शङ्का पैदा गर्छ र परमेश्वर हुनुभयो भने उहाँको ठट्टा गर्छ। कविले आफ्नो आत्मनिर्भरतामा घमण्ड गर्छ। उसलाई परमेश्वरको खाँचो पर्दैन रे। आफ्नो भाग्य उसको हातमा छ, र उसले के गर्नुपर्ने हो, सो उसलाई भन्नपर्दैन अरे। उसले सर्वशक्तिमान्को निन्दा गर्छ। उसको कविता यस प्रकारको छः
अजय
मलाई छोजे रातमा म उठेर
एक कुनादेखि अर्को कुनसम्म अलकत्रजस्तो घोर अँध्यारो रातमा म उठेर
कोही ईश्वरहरू छन् भने, उनीहरूलाई धन्यवाद दिन्छु, मेरो अजय आत्माका निम्ति।
परिस्थितिहरूको पन्जामा फसेको बेलामा मैले ऐया आत्था गरिनँ, न ता जोड़ले चिच्च्याएँ; भाग्यका लाठाहरूले पेलिएको बेलामा मेरो रक्तामे शिर झुकेन।
क्रोध र आँसुहरूले भरिएको यस दुनियाँ पार भएपछि अन्धकारको त्रास मात्र ढुकेर बसिरहेको छ; तर आगामी कैयौं वर्षहरूका धम्कीहरूमा पनि मलाई निडर, अँ, निडरै अवस्थामा पाइने भयो।
ढोका जति साँघुरो किन नहोस्, त्यसको पर्वाह छैन; भाग्यको पुस्तकभरि जति नै दण्ड लेखिए ता पनि मचाहिँ आफ्नो भाग्यको मालिक हूँ,
म ता आफ्नो आत्माको कप्तान हुँ।
त्यस क्लासमा पढ्ने एडिथ वैल एउटी ख्रीष्ट्यान केटी रहेछ। उसको सामु यस कविताका शब्दहरूले एउटा निक्कै ठूलो समस्या खड़ा गरे। यो कविता क्लासका विद्यार्थीहरूको सामु सुनाउनु र उसले विश्वास गरेको प्रभुलाई इन्कार गर्नु उसका निम्ति एउटै कुरा भएको थियो। यसो गर्दा उसले आफ्नो जीवनका मालिक र कप्तानको अपमान गर्नेथिई। उसको विचारमा, उसले यस कविताद्वारा आफ्ना प्रभु र मुक्तिदाताको निन्दा गर्नेथिई।
उसले आफ्नो यो समस्या हल गर्न एउटै मात्र उपाय देखी। ऊ आफ्नी शिक्षिकाकहाँ गई, र शिष्टतापूर्वक आफ्नो समस्या खुलस्त पारी। उसले आफ्नो जिद्दी गरिन; ऊ रूखो पनि भइन। उसकी शिक्षिकाले उसलाई सम्झाउने कोशिश गरिन्। तिनले एडिथलाई उसले यस कविताको भावसित सहमत हुनुपर्दैन, तर यसलाई महासाहित्यको रूपमा जान्नुपर्छ भनेर बुझाइदिइन्, तर भएन। एडिथले आफ्नो विवेकको सीमा नाघ्न सकिन। उसको विश्वास सम्झौता गरिन सक्ने किसिमको थिएन।
ती शिक्षिकाको विचारमा, एडिथको मामिला अनाज्ञा- कारिताको मामिला थियो। यसकारण तिनले उसलाई स्कूलको प्रशासनकहाँ पेस गरिन्, तर कुरा यतिमा टुङ्गो भएन किनभने कुनै व्यक्तिले यो कुरा स्थानीय समाचार - पत्रिकाहरूमा जनायो, अनि चाँडै यो एक विवादस्पद विषय बन्यो। समाचार- पत्रिकाहरूमा 'एउटी छात्रीले आफ्नो क्लासकी शिक्षिकाको आज्ञा नटेर्ने भयो' नामक शीर्षकमा यो कुरा प्रथम पृष्ठमा छापिएको समेत भएको थियो। मानिसहरूले एडिथलाई यहोवाका साक्षी - हरूसित तुलना गरे, जुन यहोवाका साक्षीका सदस्यहरूले राष्ट्र झण्डाको नाममा शपथ खान मान्दै-मान्दैनन्। मानिसहरूको विचारमा, पक्का पनि यो केटी एउटा देशद्रोही समुदायकी सदस्या हुनुपर्छ, कि त एउटा खतरा विधर्म मानेकी हुनुपर्छ। कुरा त्यहाँसम्म पुग्यो।
त्यस इलाकाभरिका ख्रीष्ट-विश्वासीहरूले एडिथका निम्ति निरन्तर यत्नपूर्वक प्रार्थना गरिरहेका थिए। त्यस बेला एकजना विश्वासी बहिनी एउटा अति राम्रो सुझाउ लिएर ऊकहाँ आई। त्यसले उसलाई डोरोथी डेले श्री हेन्लीको कविताको ख्रीष्टिय रूपान्तर गरेको कुरा सुनाई। हुन सक्छ, उसकी शिक्षिकाले उसलाई निन्दात्मक कतिवाको सट्टामा यसको रूपान्तर प्रस्तुत गर्ने अनुमति दिनेथिइन्। अनि त्यस्तै पनि भयो। एडिथले यस कविताको इसाई रूपान्तर लिएर आफ्नी शिक्षिकालाई देखाई, र अचम्म! उसकी शिक्षिकाले उसको यो प्रस्ताव मान्ने भइन्। परमेश्वरलाई धन्यवाद होस्! एडिथ आफ्नो क्लासका विद्यार्थी- वर्गको सामु उभिई, र निम्न कविता प्रस्तुत गरी।
मेरा कप्तान
मलाई तिरमिर गर्ने ज्योतिमा उठेर
एक कुनादेखि अर्को कुनासम्म सूर्यजस्तो चम्केको उज्यालो ज्योतिमा उठेर
मैले चिनेका परमेश्वरलाई म धन्यवाद चढ़ाउँछु -
मेरो आत्मालाई जित्नुहुने विजेता ख्रीष्ट येशूका निम्ति।
परिस्थितिहरू उहाँकै नियन्त्रणमा भएका हुनाले,
म ऐया आत्था गर्दिनँ, न ता जोड़ले चिच्च्याउँछु;
तर मानिसहरूले भाग्य ठानेको ईश्वरीय व्यवस्थाको
अधीनतामा आफूलाई सुम्पेर
आनन्द र भक्तिसाथ म आफ्नो शिर झुकाउँछु।
पाप र आँसुहरूले भरिएको यस दुनियाँ पार भएर
आहा, उहाँसितको त्यो जीवन!! अनि उहाँको मद्दत पाई आगामी कैयौं वर्षहरूको धम्कीहरूमा पनि
उहाँले मलाई निडर राख्नुहुन्छ र निडरै राख्नुहुने नै छ।
ढोका जति साँघुरो किन नहोस्, मलाई डरै छैन; किनकि न्यायको पुस्तकबाट उहाँले दण्ड हटाइसक्नुभयो; मेरो भाग्यका मालिक ख्रीष्ट येशू हुनुहुन्छ;
मेरो आत्माका कप्तान ख्रीष्ट येशू हुनुहुन्छ।
यसरी नै परमेश्वरले मानिसहरूको क्रोध आफ्नो प्रशंसाको कारण तुल्याउनुभयो। उहाँले एडिथजस्ती साहसी विश्वासी बहिनीको मुद्दा लड्नुभयो र उसलाई निर्दोष ठहराउनुभयो; किनकि ऊ आफ्ना प्रभुप्रति विश्वासयोग्य रहनका निम्ति बरु कुवचन, गाली र निन्दा भोग्न तयार भई। उसले धेरै मानिस- हरूलाई ख्रीष्ट येशूको आमुन्ने- सामुन्ने ल्याई। उहाँको सामुबाट भाग्न सकिँदैन रहेछ।
सारा संसारका मानिसहरू हाम्रो विरोधमा उठेको बेलामा प्रभु येशूप्रति विश्वासयोग्य र सत्य रहन हामीलाई निक्कै ठूलो हिम्मत चाहिन्छ। अनि बहिनी एडिथ वैलसित यस प्रकारको हिम्मत थियो।
अध्याय बाह्र : श्री ज्याक विर्जेन - समाजद्वारा बेकम्मा मानिएको मानिसको एक मित्र
श्री ज्याक विर्जेनचाहिँ न्यू योर्कमा अवस्थित भएको श्रन लेक नामक तालमा वर्ड ऑफ लाइफ क्याम्पका संस्थापक र निर्देशक थिए। गृष्म - कालभरि नै त्यहाँ बाइबल - सम्मेलनहरू, युवाहरूका शिविरहरू आदि गतिविधि र क्रियाकलापहरू हुन्थे। ती कार्यक्रमहरूमा हराएका मानिसहरूलाई ख्रीष्ट येशूकहाँ डोस्याएर ल्याउने, ख्रीष्ट-विश्वासीहरूलाई तिनीहरूको विश्वास विकास गराउने र स्थानीय मण्डलीहरूलाई बलियो तुल्याउने उद्देश्य थियो। भाइ ज्याकचाहिँ त्यहाँका आत्मिक अगुवा हुनुको साथै साह्रै फुर्तिलो मानिस पनि थिए। उनको प्रत्येक दिन प्रशासनिक कामकुराहरूले साथै प्रवचनहरूको तयारी, अतिथि- हरूसितका भेटघाटहरू र सुचारु रूपले क्याम्प चलाउने अन्य कामहरूले भरिएको हुन्थ्यो।
एक पल्ट इसाई प्रौढ़हरूको सम्मेलनमा शारीरिक दुर्बलताले ग्रस्त र कुरूप भएको एकजना ख्रीष्ट - विश्वासी आएको थियो। अनि उसको यो शारीरिक दुर्बलता खाना खाने बेलामा बढ़ी देखा परयो। किनकि खाना खानुभन्दा अघि कसैले उसको चिउँडोमा समाचार-पत्रिकाको एक पन्ना घुसार्नुपरेको थियो, जुन कागजले उसको छाती र काखलाई छोप्नु थियो। किनभने जब उसले आफ्नो मुखमा खाना लगाउँथ्यो, तब उसले त्यसको अलिकति मात्र निल्न सक्थ्यो। उसको मुखका नशाहरू कमजोर भएका हुनाले मुखमा नरहेको जति रहल खाना त्यस कगाजबाट भएर तल झर्थ्यो। यसो नहुनका निम्ति केही सकिँदैनथियो। यो त उसका अन्य शारीरिक दुर्बलताहरूमध्ये एक मात्र थियो। तर परमेश्वरको वचनमा त्यस दयनीय विश्वासीको ठूलो रुचि थियो, र परमेश्वरको वचन सुन्ने उद्देश्यले ऊ यस सम्मेलनमा आएको थियो।
अरू अतिथिहरूले ऊसित एउटै टेबलमा बस्न सकेनन्, तर ऊ बसेको टेबल तर्के। हुन पनि हो, शिष्टतापूर्वक खाना खान चाहनेहरूलाई आकर्षण गर्न उसको यस दृश्यले अवश्य साथ दिएन। कतिलाई अमन हुन्थ्यो र बान्ता आउला जस्तै हुनेथियो, कतिको भोक हराउनेथियो होला। फलस्वरूप परमेश्वरको यो अमूल्य छोरा जहिल्यै एकलै टेबलमा बस्नुपरेको थियो।
भाइ ज्याक आफ्ना धेरै कामहरू भएकोले विरलै समयमै खाना खान आउँथे। प्रायः जसो उनी आइपुग्दा अतिथिहरूले अघि नै खाना खान शुरु गरिसकेका हुन्थे, अनि खाना खाने कोठा फुर्तिलो बातचितले थर्किरहेको हुन्थ्यो। अतिथिहरूले उनलाई आइपुगेको देखेर उत्तेजित भई सबैजनाले हातको इसाराले उनलाई तिनीहरूको टेबलमा आएर बसिदिने आग्रह गर्थे। तर भाइ ज्याक कहिल्यै तिनीहरूको टेबलमा जाँदैनथे। उनी सधैं त्यस टेबलमा जान्थे, जहाँ त्यो अवहेलित, छुद्र भाइ एकलै खाना खाएको थियो। प्रभु येशूले पनि त्यही गर्नुहुनेथियो। अनि यसो गरेर भाइ ज्याकले आफ्नो सबैभन्दा उत्तम प्रवचन प्रचार गरे। विनाशब्द नै उनले उपस्थित मानिसहरूलाई यो कुरा याद दिलाए, कि मुक्तिदाता प्रभु सबैभन्दा तुच्छ गनिएकाहरू, सबैभन्दा पछाड़ि परेका, पुच्छर ठानिएका, दलित मानिएकाहरूकहाँ जानुभयो; अनि ती नीच गनिएका मानिसहरूकहाँ जान हाम्रो बोलावट भएको हो। हामीले ठूला-बड़ाहरूको निगाह पाउने इच्छा गर्नु- हुँदैन, तर हामी नम्रहरूतिर झुक्नुपर्छ र तिनीहरूको सँगत गर्नुपर्छ (रोमी १२ः१६)।
सम्मेलनमा आएका ती मानिसहरूलाई भाइ ज्याक तिनीहरूसित एकै टेबलमा बसेकोमा आफ्नो इज्जत बढेको लाग्थ्यो; किनभने भाइ ज्याकचाहिँ रेडियोमा बोल्ने प्रख्यात प्रचारक र वर्ड ऑफ लाइफजस्तो बढ्दो ख्रीष्टिय संस्थाको निर्देशक थिए। उनीसँगै बस्न पाए घरमा गएर आफ्ना साथी- हरूलाई ‘म ज्याक विर्जेनलाई व्यक्तिगत रूपले चिन्छु' भनेर घुर्की लगाउने मौका मिल्नेथियो। तर भाइ ज्याक नम्र ख्रीष्ट - विश्वासी थिए, जसले ख्रीष्ट येशू कस्तो हुनुहुन्छ, सो जिएर देखाउँथे। यसकारण उनीसँग बसेको मान र सौभाग्य त्यस सम्मेलनमा भाग लिनेहरूमध्ये सबैभन्दा तुच्छ गनिएको भाइलाई पो भएछ।
अध्याय तेह्र : भाइ ओस्कार क्यूबास - घृणाको सट्टामा भलाइ गर्ने मानिस14)
क्यूबास नाम गरेको एकजना भाइ थिए। उनको नाम सुन्दा क्यूबा देशको नागरिक हुनुपर्छ जस्तै लाग्न सक्छ। तर भाइ ओस्कार क्यूबासचाहिँ होन्डुरी मानिस थिए। उनले निकुरागुआ देशभित्र सिमानाको नजिकै इलाकामा प्रभुको सेवा गर्दथिए। होन्डुराका मण्डलीहरूबाट उनी प्रभुको पूर्णकालिक सेवा गर्नलाई उठेको पहिलो देशी प्रचारक हुन्। प्रभु येशूले उनलाई तक्विल भन्ने गाउँमा नयाँ नियमअनुसारको मण्डली स्थापित गर्न प्रयोग गर्नुभयो।
भाइ ओस्कार अनपढ़ थिए; उनी एक साधारण विश्वासी थिए। उनले परमेश्वरको वचनमा गहिरो विश्वास राख्थे, र अरू मानिसहरूको बीचमा वचन बाँड्ने उनको तीब्र चाहना थियो, साथै उनले पवित्र बाइबलमा जे पढ्थे र सिक्थे, त्यो कुरा उनले व्यवहारमा ल्याउने कोशिश गर्थे। उनको जीवनका सर्वोत्तम गुणहरू यी थिए। उनी नम्र, धीरजी, प्रेमी र दयालु थिए।
तक्विल गाउँमा कम्युनिस्टहरूको अड्डा थियो। मानिसहरू सन्दिनिस्ताहरूका समर्थक थिए र तिनीहरूप्रति निष्ठा राख्थे। तर मानिसहरू बढ़ी सङ्ख्यामा प्रभुमा आएका हुनाले त्यहाँको मण्डली बढ्न थाल्यो। फलस्वरूप त्यस गाउँका मानिसहरूमाथि कम्युनिस्टहरूको पकड़ कम हुँदै गयो। विश्वासीहरू राजनीतिमा लागेको कारणले यस्तो भएको होइन; उनीहरू प्रायः राजनीतिबाट अलग बस्थे। उनीहरू नुन र ज्योति भएका हुनाले उनीहरूको सकरात्मक नैतिक र आत्मिक प्रभाव जनजीवनमा देखा पर्न लाग्यो।
एक समय भाइ ओस्कारले एउटा समस्याको सामना गर्नुपरेको थियो। प्रभुको हरेक साँचो दास यस प्रकारको समस्यामा पर्दा रमाउँछ। उनको समस्या के थियो भने, प्रभुको काम बढ्दैथियो, र मण्डलीलाई भेला हुन एउटा भवनको खाँचो पस्यो। त्यस बेलासम्म विश्वासीहरू घर-घरमा भेला हुन्थे, तर अबचाहिँ यसो गर्न असम्भव भयो; किनभने विश्वासीहरूका घरहरू प्रायः ससाना थिए। यसकारण मण्डलीले जमिन किन्यो। त्यस जमिनको आधा भागमा मण्डली - भवन र रहल भागमा ओस्कार र उनको परिवारको घर हुने भयो।
तर त्यस बेला ती विश्वासीहरूलाई थाहा थिएन, कि उनीहरूले भर्खर किनेको आफ्नो जमिनको सिमाना गाउँको कम्युनिस्टको प्रमुख नेताको जमिनसित पर्दथियो। त्यस नेताको नाम सन्तोस थियो। उसले प्रभुको सुसमाचार प्रचार गर्ने विश्वासीहरूलाई मन पराउँदैनथियो। तक्विलमा कम्युनिस्टहरूले केही मात्रामा आफ्नो प्रभाव गुमाएको कुरा उसलाई मन लाग्दैनथियो। यसैले उसले भाइ ओस्कारलाई सताउन थाल्यो। एकपल्ट यस्तो भयोः सुक्खा रूख काटेको हाँसउठ्दो आरोप लगाएर ऊ उनलाई झ्यालखानामा समेत हाल्न सफल भयो। तर जब अधिकारीवर्गले छानबिन गरेर ओस्कारमाथि लगाइएको यो आरोप झुटो रहेछ भनी थाहा गरे, तब तत्कालै तिनीहरूले ओस्कारलाई छोडिदिए।
के भाइ ओस्कारले बदला लिने विचार गरे? के उनले आफ्नो छिमेकीको बदनाम गरे? के उनले निर्दोष हुँ भनेर आफ्नो सफाइ गरे? अहँ, उनले यसो गरेनन्। उनले ती सबै दुर्व्यवहारहरू ख्रीष्टका निम्ति र उहाँले गर्नुभएजस्तो सहे। उनले आफ्नो अलौकिक व्यवहारद्वारा गाउँलेहरूलाई चकित पारे। तक्विलका मानिसहरू प्रायः यस्ता थिएनन्।
मण्डली भवनको निर्माण कार्य समाप्त भयो। त्यसपछि भाइ ओस्कारले आफ्नो घर बनाउन थाले। उनको र सन्तोसको जमिन सँगसँगै परेको थियो र एउटा बारले मात्र छुट्टयाइएको थियो। अनि ओस्कारको भान्सा कोठाचाहिँ सन्तोसको घरपट्टि फर्केको, त्यसको सबभन्दा नजिकै परेको थियो। के खोज्छस् कानो आँखा! यसले त रिसाएको छिमेकीलाई अझ खराबी गर्ने मौका पो दिएको रहेछ। सन्तोसले सिमानाको छेवैमा एउटा नयाँ पाइखाना बनायो, र त्यहाँबाट निस्किरहेको दुर्गन्ध सीधा क्यूबासको भान्सा-कोठाभित्र पस्थ्यो। यस दुर्गन्धले खाना खाने आनन्द सधैँ बिगार्थ्यो।
भाइ ओस्कारले केही भनेनन्। उनी सन्तोससित सधैं मिलनसार भइरहन्थे, र उसलाई आदरपूर्वक अभिवादन गर्दैथिए। उनले खराबीको बदलीमा खराबी गर्ने एउटै विचार गरेनन्। उनको सरल विश्वासमा उनले यो परमेश्वरको युद्ध हो भन्ठाने। शान्त भएर उनले प्रभुको उद्धारको कार्य हेर्न चाहे।
सन्तोसको पाइखाना मजबुत बनाइएको थिएन। एक दिनको कुरा होः सन्तोस पाइखानामा गएको बेलामा त्यो भत्किहाल्यो। अनि यस अशोभन दृश्यमाथि पर्दा हाल्नु उचित होला। त्यस होच्याइएको व्यक्तिले आफू परमेश्वरको विरुद्ध लड्दै गरेको र नराम्रो घतले हार्दै गरेको कुरा थाहा गरयो। टार्ससका शावलले जस्तो उसले पनि काँडाहरूमा लात हानिरहेको रहेछ। उसले त्यस दिनको अनुभव र त्यसभन्दा खराब अनुभव आफ्नो जीवनमा फेरि पनि गर्न चाहेन।
आउनुहोस्, अब एउटा असल खबर सुनौं! त्यस नरामाइलो घटनाको रमाइलो अन्त छ। यस घटनाले सन्तोसलाई ख्रीष्ट येशूकहाँ ल्यायो। हामीलाई यो सत्य कथा सुनाउनेले यसो भनेका थिएः 'अचम्मको कुरा के थियो भने जब सन्तोसले आफूलाई प्रभुमा सुम्पे, तब तिनले आफूलाई सम्पूर्ण रूपले समर्पण गरे। अहिले तिनी हाम्रो सानो मण्डलीमा सक्रिय रूपले सङ्गति गर्दैछन् र अरू मानिसहरूलाई सुसमाचार सुनाउँदैछन्। साँच्चै तिनी प्रभुमा एक भक्त भाइ बनेका छन्।'
भजन लेखकले भनेः 'परमप्रभु आफ्नो प्रजासँग खुशी हुनुहुन्छ' (भजन १४९:४)। उहाँले भाइ ओस्कार क्यूबासजस्ता मानिसहरूमा आनन्द लिनुहुन्छ भन्ने कुरा बुझ्न सजिलो छ। यी साधारण विश्वासीले प्रभुको प्रदर्शन गरे। भलाइको लागि दुःख भोग्दा पनि उनले धीरज गरेर सहे। उनले आफ्ना अधिकारहरूका निम्ति खड़ा भएर लड्नुभन्दा कुव्यवहार सहन छाने। उनले उनका सताउनेहरूका निम्ति प्रार्थना गरे र उप्रान्तको नतिजा प्रभुको हातमा राखिछोड़े। उनले कुनै हालतमा पनि बदला लिएनन्।
यति भनिसकेपछि हामी आफूलाई यो प्रश्न सोध्नुपर्छः 'ख्रीष्ट-विश्वासीहरूले किन बदला लिनुहुँदैन? यसको खास कारण यही होः बदला लिँदा हामी अरू मानिसहरूजस्ता हुन्छौं र हामी बेग्लै किसिमको एउटा पवित्र जाति हौं, हामी एक राजकीय समाज हौं भन्ने आफ्नो गवाही गुमाइपठाउँछौं। ख्रीष्ट येशू र उहाँको मुक्ति दिलाउने अनुग्रहको गवाहीको एक हिस्सा हाम्रो नम्र व्यवहार पनि हो। अर्को शब्दमा भन्न हो भने, ख्रीष्ट- विश्वासीहरूले बदला लिने वा साटो फेर्ने काम गरे भने ख्रीष्टको मण्डलीको सम्पूर्ण उद्देश्यमा र सुसमाचारको गवाहीमा कति नराम्रो असर पर्दछ।15)
अध्याय चौध : अर्को गाला पनि थाप्ने सिपाही 16)
हर पल्ट जब कहीं लड़ाइँ शुरु हुन्छ र पुरुष र स्त्रीहरूलाई सेनामा भर्ती हुने आह्वान गरिन्छ, तब यो कथा सुनिन्छ। यस कथाको शुरु कहाँ र कुन समयमा भएको हो, सो पत्तो पाइएन। तर यस प्रकारको घटना धेरैपल्ट घटिसके, यसमा शङ्का छैन।
ब्रिटिस प्रचारक डा. जे. स्टूवर्ट होल्डनले यस पुस्तकमा प्रस्तुत गरिएको कथाको वृतान्त दिए। अनि हामीलाई थाहा छ, कि उनले दिएको वृतान्त सत्य हो; किनभने वृतान्तको त्यस घटनामा सहभागी भएका मानिस आफै त्यसको प्रत्यक्ष साक्षी थिए र तिनैले उनलाई त्यो कथा सुनाएका थिए।
दोस्रो विश्व युद्धको अन्तमा, श्री होल्डनले मिस्र देशमा एकजना ब्रिटिस हबलदारलाई भेटे, जो एक असाधारण ख्रीष्ट- विश्वासी थिए। जब श्री होल्डनले तिनलाई तिनले कसरी प्रभु येशूमाथि विश्वास गरे भन्ने प्रश्न सोधे, तब ती हबलदारले यसको कहानी बताए। मिस्र देशमा आउनुभन्दा अघि तिनको नोकरीको जगह माल्टामा थियो। तिनको दलमा एक ख्रीष्ट-विश्वासी थिए, जो अरू मानिसहरूलाई ख्रीष्टको गवाही दिनदेखि लजाउँदैनथिए। अरू सिपाहीहरू उनलाई खेलठट्टामा उदाउन खूब रमाउँथे। तिनीहरूले उनलाई सताउँथे, तर उनलाई यसको केही प्रवाह थिएन।
ती हबलदारको प्रत्यक्ष साक्षीको विवरण यस प्रकारको छः 'एक रात हामी सबैजना पानीले लुथ्रुक्क भिजेर ब्यारेकमा आइपुग्यौं। हामी थाकेर लखतराण भएका थियौं। तर ती सिपाहीचाहिँ आफ्नो ओछ्यानमा गएर सुत्नुभन्दा अघि घुँडा टेकेर प्रार्थना गर्न लागे। मैले उनलाई एक प्रहार दिइहालें। मेरा जुत्ताहरू हिलोले गह्रौं भएका थिए। अनि मैले एउटा जुत्ताले उनको गाला हिर्काएँ। त्यसपछि मैले अर्को जुत्ता पनि खोलेर उनको अर्को गालामा हानिपठाएँ। तर उनले निरन्तर प्रार्थना गरिरहे।'
ती हबलदारले अझ थपेर यसो भन्दैथिए : 'भोलिपल्ट बिहान मैले हेरें; अनि हेर, मेरा यी दुईवटा जुत्ताहरू पालिस लगाइएको र टल्केको अवस्थामा मेरो ओछ्यानको छेउमा राखिइएका रहेछन्! मेरो क्रूर व्यवहारप्रति ती सिपाहीको प्रतिक्रिया यही थियो। मेरो हृदय चूर्ण भयो; मेरो हृदय टुक्रा-टुक्रा भयो। त्यही दिन मैले मुक्ति पाएँ।'
ती हबलदारको सतावटप्रति यी सिपाहीको प्रतिक्रियाले मुक्तिदाता प्रभुको निम्न वचन चरितार्थ गर्दछ, जो यस प्रकारको छः 'जसले तिमीलाई एउटा गालामा हिर्काउँछ, त्यसैलाई अर्को पनि थापिदेऊ!' (लूका ६:२९)। साँच्ची नै यी ख्रीष्ट- विश्वासीले व्यर्थैमा आफ्ना मालिकको अनुसरण गरेका थिएनन्।
यहाँ, यस ठाउँमा म एउटा सतर्क गराउने शब्द थाप्न चाहन्छु। सिपाहीहरूको बीचमा ख्रीष्ट येशूका निम्ति दिएको बल्दो गवाहीले सधैं शारीरिक दुर्व्यवहार निम्त्याउँछ भन्ने हामीले ठान्नुहुँदैन। तर मेरो विचारमा, धेरैजसो संसारका मानिसहरूले यस्तो विश्वासी जनको कदर गर्छन्, जसको विश्वासका दृढ़ धारणाहरू छन् र जो आफ्नो विश्वासका निम्ति खड़ा हुन तयार छन्। हुन सक्छ, कुनै सिपाहीले एउटा ख्रीष्ट-विश्वासी सिपाहीलाई सताउला, तर प्रायः के हुने हो भने, अरू अइसाई मानिसहरूले छिट्टै उसको बचाउका निम्ति आउँदा रहेछन्। प्रभु येशूले ऊन कत्रिएको भेड़ाका निम्ति केवल उसले खप्न सक्ने किसिमको हावा बहन दिनुहुन्छ। उहाँले कहिल्यै, अँ, कहिल्यै हामीले खप्न नसक्ने कुरा हाम्रो जीवनमा आइपर्न दिनुहुन्न नै।
अध्याय पध्र : सबैभन्दा न्यानो आगो 17)
श्री मर्डोक क्याम्पबेलले 'अनुग्रहदेखि महिमासम्म' नामक आफ्नो पुस्तकमा एकजना भक्त प्रचारकको कुरा उल्लेख गर्छन्, जो उत्तर स्कटल्याण्डमा बस्थे, अनि जसको पत्नी उनमा भएको जस्तो खाँटी आत्मिकता थिएन। कुरा स्पष्ट छः उनकी पत्नीले न प्रभु येशूलाई न उहाँको वचनलाई औधि प्रेम गर्थिन्।
एक दिनको कुरा हो : ती प्रचारक आगो तापिरहेका र बाइबल पढिरहेका थिए। त्यस बेला उनकी पत्नी त्यस कोठाभित्र आइन्, रिसले चूर भएर। तिनले उनको हातबाट त्यो बाइबल खोसिन् र त्यस आगोभित्र हुत्त्याइन्।
यस्तो साह्रै गलत, अपवित्र काम र यस प्रकारको रिसप्रति ख्रीष्ट-विश्वासीले कस्तो प्रतिक्रिया जनाउनुपर्ने हो? उनकी श्रीमतीले उनीप्रति यस्तो भक्तिहीन व्यवहार देखाएकोमा के उनले तिनलाई जोड़ले हप्काउनुपर्ने हो त? अथवा के उनले यो मौका छोपेर आफ्नो व्यवहारले ख्रीष्ट येशूसित समान भएको आत्मा प्रकट गर्नुपर्ने हो?
ती प्रचारकले माथि उल्लेख गरिएका व्यवहारका विकल्प- हरूमा पछिल्लो व्यवहार अप्नाए। उनले आफ्नी पत्नीतिर हेरेर शान्त भावले भनेः ‘मेरो विचारमा, मैले अहिलेसम्म योभन्दा न्यानो आगो कहिल्यै तापेको थिइनँ।'
हितोपदेश १५:१ पदको सर्वोत्तम उदाहरण उनले यसरी नै पेस गरेका थिए, जहाँ यस्तो लेखिएको छः 'मीठो जवाफले क्रोधलाई शान्त पार्छ।' श्री क्याम्पबेलले यस सम्बन्धमा आफ्नो टिप्पणी दिएर यसो लेखे: 'श्रीमानको यस उत्तरमा तिनको रिस मेट्यो, र त्यो उत्तर तिनको जीवनका निम्ति नयाँ मोड़ बन्यो; किनकि त्यस दिनदेखि तिनको जीवन नयाँ र अनुग्रहले सुशोभान्वित भयो। येजेबेलचाहिँ लिडिया बनिन्; हेर, त्यो काँड़ाचाहिँ लिली फूल पो भएछ!
तर त्यस कुरालाई सही रूप दिन हामीले तुरुन्तै यो थपिहालौंः दाजुभाइहरूभन्दा प्रायः दिदीबहिनीहरू पो रिसको शिकार बनेका छन्। प्रायः दाजुभाइहरूको रिस कड़ा छ। यसको उदाहरण बहिनी लिन्डा'8) हुन्। तिनले मुक्ति पाउनुभन्दा अघि नै विवाह गरेकी थिइन्। तिनका पतिको नाम टोनी थियो, जो तिनको विचारमा एक सुन्दर केटा र मिलनसार मानिस थियो।
तिनीहरूको जेठा छोरा जन्मिँदा लिन्डाचाहिँ एक ख्रीष्ट- विश्वासी भइसकेकी थिइन्। टोनी तिनले सोचेको जस्तो मानिस थिएन। तिनले उसको बाहिरी रूप मात्र नहेर्नुपर्नेथियो। किनभने ऊ महाअल्छे र आफ्नो जिम्मेवारीदेखि भाग्ने मानिस रहेछ। ऊ मतवाला र स्त्रीलम्पट रहेछ। कहिलेकहीं ऊ महिनौंसम्म हराउँथ्यो, र त्यसपछि फेरि घर फर्किन्थ्यो, र केही भएको छैन जस्तो तिनको लोग्ने भएर बस्थ्यो। दोस्रो नानी जन्मिँदा टोनी घर छोड़ेर हिँड़िहाल्यो, र परिवारको सम्पूर्ण अभिभारा लिन्डाको हातमा छोड्यो।
लिन्डा एक भक्तिपूर्ण पत्नी भएकी हुनाले तिनले १ पत्रस ३:१-२ पदमा दिइएको शिक्षा पालन गर्न खोजिन्, जहाँ लेखिएको छः 'यही प्रकारले हे पत्नीहरूहो, तिमीहरू आ-आफ्ना पतिको अधीनतामा बस, र कसैकसैले वचन पालन गर्दैनन् भने पनि पत्नीहरूको चालचलन अर्थात् तिमीहरूको डरसहितको पवित्र चालचलन देखेर उनीहरू विनावचन नै जितिएका होऊन्।'
बदला नलिईकन र मुख नलाईकन लिन्डाले अलौकिक व्यवहार र आफ्नो धार्मिक चालचलनले आफ्नो पतिलाई जित्ने प्रयास गरिन्। यस्ता स्त्रीहरूको विषयमा कैयौं किताबहरू लेख्न सकिन्थ्यो, जसले प्रेरित पत्रसको सल्लाह माने र जसले आफ्नो समयमा आ-आफ्ना पतिलाई ख्रीष्ट येशूकहाँ फर्केर आएको देख्न
पाए।
अध्याय सोह्र : आफ्ना शत्रुहरूलाई प्रेम गर!
प्रभु येशूले आफ्ना चेलाहरूलाई 'आफ्ना शत्रुहरूलाई प्रेम गर!' भन्ने कुरा सिकाउनुभएकै हो; यसमा शङ्का छैन; नत्र तपाईंले लूका ६:२७ पद पढ्नुहोला। तर के उहाँले जस्तो सिकाउनुभयो, उहाँले त्यो कुरा अक्षरशः लिनुभयो? अथवा के उहाँले यो शिक्षा केवल एउटा आदर्श शिक्षाको रूपमा पेस गर्नुभयो, जुन शिक्षाको स्तरमा आइपुग्न हामी जीवनभरि पछि लाग्नुपर्छ? आफ्ना शत्रुहरूलाई प्रेम गर्नु मानिसको स्वभावको विपरीत कुरा हो। तिनौहरूलाई हामीले किन प्रेम देखाउनुपर्ने हो? के त्यस प्रकारको प्रेमले तिनीहरूको शत्रुता अझ बढ़ाउँदैन र? हामीलाई घृणा गर्नेहरूलाई प्रेम गर्नु असम्भव!! यसकारण हाम्रा प्रभु येशूको यस आज्ञामा हामीले प्रायः अर्को अर्थ लगाएर यो पढ्ने गर्छौ, नत्रता हाम्रो विवेकले यस आज्ञाको घोचाइ सहन सक्दैन।
तर हाम्रो हृदयको तहमा हामीलाई थाहा भएकै हुन्छ, कि प्रभु येशूले जे भन्नभयो, त्यसमा ईश्वरीय एउटै अर्थ मात्र हुन्छ नै। तर हामी प्रायः के भुल्छौं भने जुन बेला उहाँले हामीलाई आज्ञा गर्नुहुन्छ, तब उहाँले हामीलाई त्यो आज्ञा पालन गर्ने शक्ति पनि दिनुहुन्छ। मानिसको दृष्टिमा आफ्ना शत्रुहरूलाई प्रेम गर्नु डाँड़ा-पल्लोपट्टिको कुरा हो। आफ्नो शक्तिले इसाई जीवन जिउनु असम्भव हुन्छ। तर यस प्रकारको जीवन ख्रीष्ट-विश्वासीहरूभित्र वास गर्नुहुने पवित्र आत्माको शक्तिले मात्र जिउन सकिन्छ।
हाम्रा मुक्तिदाता प्रभुका वचनहरूमा तिनको लाग्ने धार भुत्ते पार्ने हाम्रो बानी तब अन्त हुन्छ, जब हामीले अर्को ख्रीष्ट- विश्वासीको जीवनमा प्रभुको आज्ञा पूरा भएको देख्छौं। पवित्र धर्मशास्त्र बाइबलका कतिपय पदहरू हाम्रा निम्ति तब मात्र जीवित भएर आउँछन्, जब हामीले तिनलाई कसैको व्यवहारमा उतारिएका देख्न पाउँछौं। यो कुरा काट्न सकिँदैन। नत्र मलाई एउटा ख्रीष्ट-विश्वासीलाई देखाउनुहोस्, जसले आफ्ना शत्रु- हरूलाई प्रेम गरेको हुन्छ, र म तपाईंको वितर्क स्वीकार गर्नेछु।
मेरो जीवनमा यस्तो भयो। मैले लूका ६ : २७ पदले मानिसको रूप धारण गरेको देखें। मैले त्यो कुरा श्री थेयो म्याक कुल्लीमा देखें। उनका छोराको नाम एड थियो। ती छोरा एक्वाडोरमा शहीद भएका पाँचजनामध्ये एक थिए, साथै जुन बाइबल स्कूल म प्रशासक थिएँ, त्यस बेला थेयो म्याक कुल्ली त्यस स्कूल समितीका अध्यक्ष थिए।
एक रात थेयो म्याक कुल्ली र म, हामी स्कूलका कतिपय तत्कालीन विषयहरू लिएर र हामीले गर्नुपर्ने केही निर्णयहरूको सम्बन्धमा छलफल गर्न भेला भएका थियौं। श्री म्याक कुल्लीले मलाई मैले गर्नुपर्ने कामकुराहरू कहिल्यै अह्राउँदैनथिए। उनको भनाइ सधैं यस प्रकारको हुन्थ्योः 'आउनुहोस्, हामी यसको बारेमा प्रार्थना गरौं!' त्यस समय कुरा पनि यस्तै थियोः छलफल गरिसकेपछि हामीले घुँडा टेकेर हाम्रो स्कूलसित सम्बन्धिक कुराहरू लिएर निक्कै समयसम्म प्रार्थना गर्यौं।
थेयो आफ्नो प्रार्थनाको अन्तमा आइपग्न लागेका थिए, तब उनको मन दक्षिण एक्वाडोरमा त्यस कुरारय नदीको किनारमा पुग्यो, जहाँ असभ्य आदिवासीहरूले उनको छोरा एडलाई भालाले घोचेर मारेका थिए, जुन छोरा तिनीहरूलाई मुक्तिको सुसमाचार प्रचार गर्न त्यहाँ गएका थिए। एड एक आदर्श छोरा थिए। एडका बुवाले मलाई तिनको बारेमा एकपल्ट भनेका थिए, कि तिनले एक पल्ट पनि आफ्ना बुवाआमालाई पिरोलेनन्, र फिक्रीमा पारेनन्। अनि अहिले थेयोले यसो प्रार्थना गर्दैथिए : 'हे प्रभु येशू, हाम्रा छोराहरूलाई मार्ने ती मानिसहरूले मुक्ति पाएको म एक दिन देख्न पाऊँ! त्यस दिनसम्म मलाई जीवित राख्नुहोस्! तब म तिनीहरूलाई मेरो अङ्गालोमा हाल्नेछु र तिनीहरूलाई “म तिमीहरूलाई प्रेम गर्छु” भन्नेछु; किनभने तिनीहरूले एक दिन तपाईंलाई प्रेम गर्नेछन्।'
हामी प्रार्थनाबाट उठ्यौं अनि हेर, थेयो म्याक कुल्लीका गालाहरूबाट आँसुहरू बहिरहेका रहेछन्! यो कस्तो पवित्र क्षण थियो! म यसलाई कहिल्यै बिर्सन सक्दिनँ। यस्तो अनुभव फेरि कहिल्यै गरिंदैन पनि। मेरो उपस्थितिमा एकजना मानिस थिए, जसले आफ्नो प्यारो छोराको हत्या गर्ने दोषी हत्याराहरूलाई साँच्चै प्रेम गर्दथिए। उनका छोरा एडले आउका जातिका आदिवासीहरूकहाँ ख्रीष्टको सुसमाचार पुरयाउन वकीलको पेसा छोड़ेका थिए। आउका जातिलाई पछि वाओरानी भन्ने नाम दिइयो र अचेल तिनीहरूलाई त्यस नयाँ नामले चिनिन्छ।
अनि हामीलाई अचम्म लाग्नुपर्दैन। थेयोको यो प्रार्थना परमेश्वरको अनुग्रहको सिंहासनको सामु पुग्यो। अन्तमा सुसमाचारका अन्य प्रचारकहरू वाओरानी जातिका मानिसहरूसित सम्पर्क राख्न सफल भए। अनि केही समयभित्र उनीहरूले कति हत्याराहरूलाई ख्रीष्ट येशूकहाँ ल्याए। यो थेयोको प्रार्थनाको उत्तर थियो। अनि उनी एक्वाडोर गए, र प्रमको साथ ती नयाँ विश्वासीहरूलाई आफ्नो अङ्गालोमा लिए र तिनीहरूलाई 'मेरा प्रभु तिमीहरूको मुक्तिदाता हुनुभयो; यसैले म तिमीहरूलाई प्रेम गर्छु' भने।
हो, प्रभु येशूले जस्तो भन्नभयो, उहाँले आफ्नो वचन त्यही अर्थमा भन्नुभयो। यसकारण हामीले आफ्ना शत्रुहरूलाई प्रेम गर्नुपर्छ। जब हामी आफ्ना शत्रहरूलाई प्रेम देखाउँछौं, तब हामी संसारका मानिसहरूलाई प्रभाव पाछौं। जब हामी परमेश्वरको आज्ञा शिरोपर गर्छौं, तब हामी आफ्नो आज्ञाकारिताले अन्य विश्वासीहरूलाई व्यवहारिक शिक्षा दिएका हुन्छौं। यसरी नै हामी प्रभु येशूका कति अप्ठ्यारो-अप्ठ्यारो वचन जीवनमा उतारि- दिन्छौं। अनि यसो गरेर हामी प्रभु येशू को हुनुहुन्छ, त्यसको सय परिचय दिन्छौं, उहाँको सत्य रूप पेस गर्छौं। उहाँले हामीलाई, आफ्ना शत्रुहरूलाई प्रेम गर्नुभयो। परमेश्वरलाई धन्यवाद होस्, उहाँको प्रेम हाम्रा निम्ति पर्याप्त थियो। उहाँ हाम्रा निम्ति मर्नुभयो; हल्लेलूयाह!!
अध्याय सत्र : पापको क्षमा गर्नु एक ईश्वरीय सद्गुण हो 19)
नेडरल्याण्डमा श्री टेन बूमको परिवार एक भक्त इसाई परिवार थियो। दोस्रो विश्व युद्धमा उनीहरूको घर जर्मन- नाजीहरूबाट लुक्न खोज्ने यहूदीहरूको शरणस्थान थियो। त्यस समयमा पक्राउ परेका यहूदीहरूलाई नजरबन्दी शिविरमा हालिन्थ्यो, तिनीहरूलाई अवर्णनीय पीड़ा दिइन्थ्यो र मारिन्थ्यो। अनि जजसले यहूदीहरूलाई शरण दिए, उनीहरूलाई पनि नजरबन्दी शिविरमा हालिन्थ्यो।
धेरै समयसम्म श्री टेन बूमको परिवार यहूदीहरूलाई लुकाउनुमा सफल भए; तर एक दिन उनीहरू पक्राउ परिगए। रेल-गाड़ीमा अरू अन्य मानिसहरूको साथमा टेन बूम र तिनका दुई छोरीहरू, जसका जेठीको नाम कोर्री र कान्छीको नाम बेट्सी थियो, राभेन्स्ब्रक क्याम्पमा लगिए। त्यस शिविरको अवर्णनीय क्ररता र अमानवीय सतावटले गर्दा त्यो ठाउँ आजको दिनसम्म बिर्सिएको छैन, तर त्यसको सम्झना आलो छ। अन्तमा श्री टेन बूम र तिनकी कान्छी छोरी बेट्सी त्यस शिविरमा मरे। जेठी छोरी कोर्रीचाहिँ बाँचिन् र युद्धको अन्त भएपछि उनको रिहाइ भयो।
शान्तिको घोषणा भएपछि बहिनी कोर्री जर्मनी गइन्। गर्मनीमा हुँदा उनले एक दिन एउटा मण्डली भवनमा बोलिरहेका थिए। उनले विभिन्न विषयहरूमा बोलिन्, तर बोल्दाखेरि तीमध्ये उनका निम्ति एउटा अद्भुत कुरामा अडिरहिन्, जो यही थियोः जब हामीले आफ्ना पापहरू स्वीकार गर्छौ, तब प्रभु येशूले हाम्रा पापहरू सबैभन्दा गहिरो समुद्रमा फालिदिनुहुन्छ। त्यसपछि उहाँले एउटा सूचक पाटी लगाउनुहुन्छ, जसमा लेखिएको छः ‘यहाँ माछा मार्न मनाही छ!'
त्यो सभा भर्खरै मात्र सकिएको थियो, अनि मानिसहरू चुपचापसित निस्किरहेको बेलामा एकजना मानिस बिस्तारै भीड़को बीचबाट आएर कोर्रीको सामु उभिए। तिनले निलो रङको उर्दीपोशाक लगाएका थिए र तिनको हातमा खोपड़ी र हड्डीहरू क्रसको रूपमा जोडिएको नक्सा भएको टोपी थियो। कोर्रीले तिनलाई तत्कालै चिनिहालिन्। तिनी ता राभेन्स्ब्रक शिविरको एक पाले रहेछन्।
जब तिनी कोर्रीको छेउमा पुगे, तब तिनले हात मिलाउन आफ्नो हात बढ़ाएर भनेः 'हजुरको सन्देश कति राम्रो! तपाईंले भन्नुभएअनुसार हाम्रा सबै पापहरू समुद्रको गहिराइमा फालिएका छन्; यो जान्न कति असल! यो एउटा ठूलो आशिष हो।' ती मानिसको क्ररताका केही झलकहरू कोर्रीको मनमा आलो हुन लागे र उनको खून उम्लियो।
ती मानिस यसो भन्दै गए: 'हजुरले राभेन्सब्रुकको कुरा गर्नुभयो। त्यस शिविरमा म पाले थिएँ। तर त्यस समयदेखि मेरो जीवन बदली भयो र म एक ख्रीष्ट - विश्वासी भएको छु। मलाई थाहै छ, त्यस शिविरमा मैले गरेका सबै क्रूरता परमेश्वरले मलाई क्षमा गर्नुभयो। तर तपाईंको मुखबाट “मैले तपाईंलाई क्षमा गरेको छु” भन्ने शब्द सुन्न मेरो ठूलो चाहना छ। के हजुरले मलाई क्षमा गर्नुहुन्छ?'
कोर्री टेन-बूम भित्रबाट तीतोपना र क्षमा नदिने भाव उठेको भए हामीले त्यो कुरा मानिसका निम्ति स्वभाविक भएर चिन्नेथियौं। यी भूतपूर्व-पाले लगायत शिविरका अन्य कर्म- चारीहरूले यहूदीहरूको विरोधमा गरिएका असभ्य दुर्व्यवहार र कोर्रीको परिवारप्रति देखाइएको अमनावीय व्यवहार उनले सम्झेकी भए निश्चय उनको मनमा पाचन - राल विषालु अम्लमा परिणित हुनेथियो।
बहिनी कोर्री केही बेर केही नबोली उभिरहिन्। त्यो पल उनलाई घण्टौंजस्तो लाग्यो; तर खास गरी केही सेकेन्ड मात्र बितेको थियो। त्यसपछि उनले जवाफ दिइन्। अन्तमा उनले आफ्नो कोटको खल्तीबाट आफ्नो दाहिने हात निकालिन् र ती भूतपूर्व पालेको हातसित मिलाइन्। उनका शब्द यी थिएः 'परमेश्वरले तपाईंलाई क्षमा गर्नुभयो भने, म तपाईंलाई क्षमा नदिई सक्दिनँ। दाजु, म तपाईंलाई मेरो पूरा हृदयले येशूको नाममा क्षमा गर्छु।'
निक्कै बेरसम्म उनीहरूले एक-अर्काको हात समातिरहे। ती भूतपूर्व पाले र यी भूतपूर्व कैदी ख्रीष्ट येशूमा एक भए। जब म ख्रीष्ट येशूसमान व्यवहारको विषयमा विचार गर्छु, तब मेरो मन टेन बूमको परिवारपट्टि गइहाल्छ। यो अनिवार्य हो। कति पीड़ा! कत्रो सास्ती!! कत्रो अपमान!!! तरैपनि यी सबै कुराहरू सहनुपरे पनि उनीहरूमा ख्रीष्टको मन थियो। उनीहरूले आफ्नो विषयमा होइन, तर अरू मानिसहरूको विषयमा सोचे। उनीहरू विषाक्त वा कुटिल भएनन्। उनीहरूले परमेश्वरको विरोधमा गनगन गरेनन्। यी सबै कुराहरूबाट गुज्रेर जाँदाखेरि उनीहरूले प्रभु येशूको प्रेम र अनुग्रहको गवाही दिए। उनीहरूले ती मानिसहरूलाई क्षमा गरे, जसले उनीहरूलाई जर्मन - नाजी क्रूरताको अग्नि ज्वालाभित्र होमेका थिए।
अध्याय अठार : इच्छा-पत्र जहाँ हुन्छ 20)
फिलिप्स् परिवारकी बजैले आफ्ना दुई छोराहरू र उनी- हरूका पत्नीहरूसित खूबै आनन्द लिन्थे; किनकि उनीहरूका परिवार कति सुखी, मिलीजुली बस्ने परिवारहरू थिए। छोराहरू, उनीहरूका पत्नीहरू र उनीहरूका छोराछोरीहरू सबै ख्रीष्ट- विश्वासीहरू थिए। जेठा छोराको नाम स्कट थियो, जसकी पत्नीको नाम सारा थियो। जेठा छोराबुहारी ती बजैकै शहरमा बस्थे, र हजुर आमाले राम्ररी खाना खाएकी छन् कि छैनन् र उनको घरको व्यवस्था मिलेको छ कि छैन भनेर नियमित रूपले उनलाई भेट्न आउँथे। कान्छा छोराको नाम रोन थियो, र तिनकी पत्नीको नाम रोज थियो। तिनीहरू बीस माइल टाढ़ामा बस्थे, पनि हजुर आमालाई लगातार भेट्न आउँथे। दुवै छोराहरूको असल जागिर भएको हुनाले दुवै परिवारको आर्थिक स्थिति राम्रो थियो। सम्पूर्ण फिलिप्स् परिवार थ्याङ्क्स गिभिङ र बड़ादिनमा अनि सालभरि अन्य विशेष दिनहरूमा सँगै भोज खान भेला हुन्थ्यो।
हृदय-गति बन्द भएको कारण अचानक फिलिप्स् परिवारकी बजैको मृत्यु भएको थियो। छोराहरूले उनलाई झोलुङ्गे कुर्सीमा बसिरहेकी र उनको काखमा खुला बाइबल भएको अवस्थामा भेट्टाए। उनको सम्पत्ति के थियो र? त्यो चितिक्क परेको साधारण घर र केही सेयर - पत्रहरू, अनि ब्याङ्कमा उनको खातामा दस हजार डलर थियो होला; अनि उनीसँग चाइनाका कपहरू केही मूल्यका थिए, बस यति। उनले कुनै इच्छा- पत्र छोड़ेकी थिएनन्, उनका छोराहरूले ती सरसामानहरू मिलेर सठीक रीतिले अंश बाँड़चुड़ गरून् भनेर।
तर उनले सोचेको जस्तो भएन। अचानक रोजी साह्रै लोभी भइन्; अनि त्यसमा रोनलाई आफ्नी पत्नीको होहोरेमा लाग्न करै लाग्यो। किनकि तिनले कुनै हालतमा पनि आफ्नो परिवारको शान्ति कायम राख्न चाहेका थिए। यति वर्षसम्म नङ र मासुझैं मिलेर आनन्दसाथ बसेका दुई परिवारहरूमा लोभले गर्दा फाटो आउन लाग्यो। चाइना कपहरूजस्तै मामुली कुराहरू आपसमा विवादको कारण बने। स्कट र साराले रोनको परिवारसँग सकेसम्म मेलमिलापमा रहने प्रयास गरे, तर केही सीप लागेन, बरु त्यस कोशिशबाट उनीहरूप्रति वैरभावको सृजना भयो।
स्कट र साराले जोड़सँग प्रार्थना गरेर शान्तिपूर्वक त्यो समस्या समाधान गर्ने उपाय खोजे। तब झट्टै स्कटले अब्राहाम र लूतको बाइबल - कथा सम्झे। मिस्र देशबाट निस्केर आउँदा उनीहरू कनान देशमा आएपछि त्यस जग्गामा ती दुईजनाका गाईवस्तुहरूका निम्ति पर्याप्त चरन भएन। अनि यही कारणले उनीहरूका गोठालाहरूको बीचमा झगड़ा भएको थियो। परिस्थिति बिग्रिँदै गयो र गम्भीर हुन पुग्यो। तब अब्राहामले लूतलाई यसो भने: “तिम्रो र मेरो बीचमा, साथै तिम्रा र मेरा गोठालाहरूको बीचमा झगड़ा नहोस्; किनभने हामी ता नातेदार हौं। सारा देश तिम्रो सामुन्ने छ। यसकारण म तिमीलाई भन्दछुः मबाट अलग होऊ! तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर लाग्नेछु; अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर लाग्नेछु।' लूतले प्रशस्त पानी भएको यर्दन नदीको बेंसी रोजे, जहाँ प्रचुर चरन थियो। यसकारण तिनी सदोम शहरमा बस्न लागे। अनि अब्राहामचाहिँ कनान देशमा बसे।
स्कटले यो कुरा आफ्नी पत्नी सारालाई सुनाए, अनि तत्कालै उनीहरूले निर्णय गरे कि रोन र रोजले सम्पूर्ण सम्पत्ति लिन चाहे सबै धनसम्पत्ति लैजाऊन् ; किनकि भौतिक थोकहरूको बारेमा झैझगड़ा गर्नुभन्दा परिवारिक शान्ति र एकता नै ठूलो हो।
स्टक र साराको मुखबाट यो कुरा सुन्दा रोन र रोज अक्क न बक्क भए। तिनीहरूले यस्तो कुरा सुन्ने आशा गरेका थिएनन्। अनि सबै सम्पत्ति लैजान तिनीहरू लजाए। रोजले लुगाफाटा, गहना र चाइना कपहरू र अन्य ससाना चीजहरू लिइन्। रहल सम्पत्तिचाहिँ बराबर भाग गर्ने आपसी सल्लाह भयो। यसरी समस्या शान्तिपूर्वक समाधान भयो र आपसमा फाटो आउने ठूलो डर हट्यो।
समस्याहरू सधैं यसरी नै हल हुँदैनन्। एउटा भनाइ छ, जो यस सम्बन्धमा सत्य ठहरिएको छः 'इच्छा-पत्र हुन्छ जहाँ, अंसियारी आफन्तहरू धेरै-धेरै त्यहाँ!' जुन मानिसहरू अरू बेलामा उदारचित्त र शान्तिप्रिय हुन्छन्, ती मानिसहरू संसारका व्यर्थ र नाशवान् अंशरूपी थोकहरूको बारेमा वादविवाद गरेर आपसको मीठो प्रेमको सङ्गति तोडून तयार हुन्छन्। परमेश्वरको तरिका सर्वश्रेष्ठ तरिका हो। अब्राहामले सठीक काम गरे। उनले लूतलाई सम्पत्तिको पहिलो भाग छान्ने मौका दिए, र यसो गरेर उनी आफू धनी भए। लूतले सदोमको आसपासको चरन रोजेर आफूलाई ठूलो हानि गरे।
अध्याय उन्नाइस : श्री डिक फलक्नर - प्रभुका निम्ति सरम र थुकाइ सहने गायक
नयाँ नियमभित्र बयान गरिएका ठाउँहरूको ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने मण्डलीको झुण्डमा श्री डिक फलक्नर तिनीहरूको गान-नाइके थिए। भ्रमण गर्दा-गर्दै तिनीहरू पटमोस टापुमा आइपुगे, जुन टापु एगेयी समुद्रमा छ। तिनीहरूको गाइड तिनीहरूलाई त्यस ओड़ारमा लगे, जहाँ लोककथाअनुसार प्रेरित यूहन्नाले प्रकाशको पुस्तक लेखेका थिए। त्यस ओडारबाट निस्केर आएपछि तिनीहरू त्यसको नजिकको एउटा डाँड़ामा चढ़े, जहाँ यस भ्रमणका सञ्चालकले तिनीहरूलाई प्रेरित यूहन्ना कसरी रोमी सम्राट डोमिटियनद्वारा जेलमा हालिएका थिए, सो सम्बन्धमा प्रवचन दिए। त्यो प्रवचन सक्नेबित्तिकै तिनले भाइ डिकलाई एउटा आत्मिक गीत गाउन लगाए।
भाइ डिकको हातमा स्पीकरहरू भएको टेप रिकर्डर थियो, जुन लाउड स्पीकरमार्फत उनको स्वरको आवाज बढ़ाइइन्थ्यो। उनले गीत गाउन थाले; त्यो गीत प्रकाश ५:१२ पदअनुसार रचेको डोन विर्जेनको गीत रहेछ, जसका शब्द यस प्रकारको छः
मारिनुभएको थुमा, तपाईं योग्य हुनुहुन्छ, मारिनुभएको थुमा, तपाईं अति योग्य हुनुहुन्छ, अँ, तपाईं नै शक्ति, धनधौलत, बुद्धि र बल,
आदर, महिमा र धन्यवाद पाउनुको अति योग्य हुनुहुन्छ। मारिनुभएको थुमा तपाईं,
मारिनुभएको थुमा तपाईं,
अँ, मारिनुभएको तपाईं, तपाईं अति योग्य हुनुहुन्छ।
पटमोसको चट्टान- चट्टानले भरिएको त्यस पहाड़ी पाखामा त्यस गीतका अर्थपूर्ण शब्दहरू गुञ्जायमान भए।
भाइ डिकले यो गीत गाइरहेको बेलामा अर्को पर्यटन वाहन त्यहाँ आइपुग्यो। मानिसहरू त्यस वाहनबाट उत्रेर ओड़ारतिर आफ्नो बाटो लागे। तर तिनीहरूमध्ये एउटी स्त्री थिई, जो डिकको नजिक आएर उनलाई मुखमा थुकिहाली। त्यस स्त्रीले ताकेकै ठाउँमा थुकी, तर यस कुराले डिकलाई गाउनदेखि रोकेन। उनले गीतको अन्तिम शब्दसम्म गाइरहे।
त्यस इसाई भ्रमण टोलीका कतिपय मानिसहरूलाई त्यस प्रकारको ठूलो अपमानको विषयमा त्यस स्त्रीलाई केही भन्नैपर्छ जस्तो लाग्यो, तर तिनीहरूसित सहमत नभएका भाइ डिकले तिनीहरूलाई यसो गर्न दिएनन्। के संसारका मानिसहरूले हाम्रा प्रभु येशूको अनुहार अपमान र थुकाहरूले पुरिदिएनन् र? उहाँले त्यसको विरोध गर्नुहुन्नथियो। मानिसहरूले उहाँलाई गिला र निन्दा गरे, तिनीहरूले उहाँलाई थुकिदिए, तर उहाँले तिनीहरूको यो कुव्यवहार सहनुभयो र बदला लिनुभएन। जब मानिसहरूले प्रभु येशूलाई थुके, तब उहाँद्वारा सृष्टि गरिएका मानिसहरूले आफ्ना सृष्टिकर्तालाई के भन्न खोजेका थिए होला? वास्तवमा तिनीहरूले 'तपाईंको विषयमा हाम्रो राय यस्तै छ है!' भनेका थिए। तर जब तिनीहरूका सृष्टिकर्ता क्रसमा मर्नुभयो, तब उहाँले खास आफ्नो सृष्टि गरिएका मानिसहरूलाई यसो भन्नभयोः ‘अनि मचाहिँ - हेर म तिमीहरूलाई यति बिघ्न प्रेम गर्छ।'
उहाँको मनोभावना अप्नाउने हाम्रो बोलावट भएको हो। 'हे प्रियहरूहो, आफूले बदला नलेओ, तर बरु क्रोधलाई ठाउँ देओ! किनकि लेखिएको छः बदला लिने काम मेरो हो; म नै बदला दिनेछु, परमप्रभु भन्नुहुन्छ' (रोमी १२:१९)। याद गर्नुहोस्, हामी ‘परमप्रभुको ग्रहणयोग्य वर्षमा' जिइरहेका छौं, 'हाम्रा परमेश्वरको बदला लिने दिनमा' होइन।
अध्याय बीस : एक यहूदीसितको भेट, जसले टुटेफुटे भाँडाकुँडाको व्यापार गर्दथियो
यो कथा निक्कै अगाडिको कुरा हो, जब यू. एस. ए. का मानिसहरूले खबरकागज, पुराना कपड़ाहरू र फलाम आदि कुराहरू राख्ने गर्थे। यस्ता थोत्रा सामानहरू किनिदिने मानिस बेला-बेलामा तिनीहरू बसेको सड़कमा गाड़ी लिएर र केही सुपरिचित शब्दहरू कराएर आफ्नो उपस्थिति जनाउँदै आउँथ्यो।
एक दिन डाक्टर एच. ए. आइरनसाइडले त्यो सुपरिचित आवाज सुनिहाले, र हतार गरेर बाहिर आँगनमा निस्के। उनले त्यस टुटेफुटे भाँडाकुँडाको व्यापारीलाई आफ्नो गोदाममा बोलाएर लगे। यसपालि उनका थोत्रा सामानहरू किनिदिने मानिस यहूदी रहेछ। डा. आइरनसाइडले यहूदीहरूलाई खूब माया गर्थे, किनभने उनका मुक्तिदाता पनि यहूदी हुनुहुन्थ्यो।
उनको गोदाममा खबरकागजको निक्कै ठूलो थाक थियो, साथै फलामका पाइपहरू र अरू धातूका टुक्राटुक्री आदि कुराहरू पनि थिए। डा. आइरनसाइडले यी थोकहरूको सठीक दाम पाउन मित्रभावले त्यस व्यापारीसँग मोलतोल गर्न लागे। उनलाई दामसित त्यति सरोकार थिएन; किनकि उनले गोदाम खाली गरेर ती थोत्रा सामानहरू निकाल्न खोजे।
उनले आफ्ना थोत्रा सामानहरूको भाउ कस्न थाले, तर त्यो व्यापारी निक्कै चतुर थियो; यसैले त्यसले यस क्रयविक्रयमा जितिहाल्यो। त्यसले डा. आइरनसाइडको हातमा थोरै पैसा थमाएर ती सामानहरूरूपी जितको माल आफ्नो गाड़ीमा हाल्न लाग्यो।
अन्तमा, जब त्यस व्यापारीले अन्तिम सामान उठायो, तब डा. आइरनसाइडले त्यसलाई फेरि एकपल्ट बोलाएर त्यसको हातमा केही थप पैसा थमाउँदै भनेः 'त्यो बक्सिस लेऊ! येशूको नाममा म यो तिमीलाई दिन चाहन्छु।'
केही क्षण त्यो टुटेफुटे भाँडाकुँडाको भाँडाकुँड़ाको व्यापारी आश्चर्यचकित भयो। त्यसपछि 'अरे, अहिलेसम्म येशूको नाममा कसैले कहिल्यै मलाई केही दिएकै छैन!' भन्ने बरबराउँदै त्यो हिँडिहाल्यो। निश्चय नै डा. आइरनसाइडले त्यस व्यापारीलाई देखाएको उपकार हाम्रा प्रभु येशूले पनि गर्नुहुनेथियो, होइन र?