संसारका ख्रीष्टिय शहिदहरू
अध्याय ७
थोमस वाट्स
थोमस वाट्स एस्सेक्सको बिल्लेरिके भन्ने ठाउँमा बस्थे; तिनी लुगाफाटाका व्यापारी थिए। चाँडै पक्राउ पर्नेछु भनी जानेर तिनले पसल/दोकानका जम्मै लुगाहरू बेचे, आफूसँग भएका सबै थोक आफ्नी पत्नीलाई र छोराछोरीहरूलाई दिए, रहेका थोरै गरिब दुःखीहरूलाई दिए। त्यसपछि तिनी पर्खिबसे। १५५५ सालको अप्रिल २६ तारिखमा वाट्स पक्रा परे, अनि मासमा नगएको आरोपमा तिनलाई केम्स्फोर्डमा लर्ड रीच र अन्य व्यक्तिहरूको सामु पेस गरियो।
न्यायाधीश एन्थोनी ब्राउनले वाट्सलाई 'तिम्रो यो धर्म तिमीले कहाँ सिक्यौ' भनी सोधे। जवाफमा तिनले भनेः 'तपाईंबाट नै, हजुर/महाशय। राजा एड्वर्डको पालामा तपाईंले क्याथोलिक धर्मको निन्दा गर्नुहुन्थ्यो। त्यस बेला तपाईंले जति बोल्नुभयो, त्यसभन्दा धेरै अरू कसैले भन्न सकेनन्। तपाईंले मास घृणास्पद छ भन्नुभयो र हामीलाई ख्रीष्टमाथि मात्र विश्वास गर्नुपर्छ भन्दै मासमा विश्वास नगर्नू भन्ने अर्ती दिनुभयो। तपाईंले भन्नुभयोः यहाँ विदेशी धर्म ल्याउने जो कोहीचाहिँ देशद्रोही हो।'
ब्राउनले लर्ड रीचतिर फर्केर भने: 'हजुर, यसले त मेरो निन्दा पो गर्दैछ। यो त कस्तो अपराधी रहेछ! यसले मेरै सामु यस्तो कुरा भन्छ भने सम्झनुहोस् त... यसले मेरो ढाड़को पछाड़िमा कस्तो कुरा गर्दो हो!'
अन्तमा वाट्सदेखि वाक्कै भएर ती प्रतिनिधिहरूले तिनलाई लण्डनका बिशपकहाँ पठाए। बिशपले तिनको विरुद्ध निम्न आरोपहरू लाए:
- थोमस वाट्स बिल्लरिकेमा लण्डनका बिशपको अधिकार- क्षेत्रभित्र बस्थे।
वाट्सले भनेः हो, यो कुरा सत्य हो। - तिनी पवित्र विधिहरूमा विश्वास गर्दैनथे, अथवा ती विधिहरूमा सहभागी हुँदैनथे।
वाट्सले उत्तर दिए: तिनी सबै पवित्र विधिहरूमा, प्रभु येशूले स्थापना गर्नुभएअनुसार विश्वास गर्थे; तर क्याथोलिक चर्चको सिद्धान्त अनुसार चाहिँ विश्वास गर्दैनथे। अघि तिनी क्याथोलिक थिए र त्यसअनुसार विश्वास गरेका थिए, तर चर्चले मानिसहरूलाई धोका दिइरहेको थियो।
- तिनी विश्वास गर्थे र अरूलाई सिकाउँथे कि प्रभु - भोजचाहिँ ख्रीष्टको मृत्युको स्मरण गर्ने विधि हो, अरू केही पनि होइन।]
वाट्सले भनेः ख्रीष्टको शरीरचाहिँ अरू कहीं होइन, तर स्वर्गमा मात्र छ भन्ने कुरामा विश्वास गर्थे। प्रभु - भोजका सामग्रीहरूमा ख्रीष्टको शरीर छ भन्ने कुरा तिनी कहिल्यै विश्वास गर्नेथिएनन्।
- तिनी विश्वास गर्थे कि ख्रीष्टको शरीरको सत्य उपस्थिति प्रभु - भोजको रोटी र दाखमद्यमा होइन, तर स्वर्गमा छ।
वाट्सले स्वीकार गरे: हो, तिनी ठीक त्यस्तै विश्वास गर्थे। * तिनको विश्वासअनुसार मासचाहिँ मूर्तिपूजा, घृणा र दुष्टताले पूर्ण छ रे; प्रभु येशूले मास स्थापना गर्नुभएन, नियुक्त पनि गर्नुभएन, यो विधि असल छ भनी तिनी विश्वास गर्दैनथे।
वाट्सले भनेः तिनी अझै पनि त्यही विश्वास गर्थे, अनि तिनी आफ्नो मन कहिल्यै बदल्नेथिएनन्।
- तिनको विश्वासअनुसार पुरोहितकहाँ पाप-स्वीकार गर्नु आवश्यक छैन रे, अनि मानिसले गर्नुपर्ने विशेष काम छः परमेश्वरमाथि विश्वास राख्नु र उहाँकहाँ नै पाप स्वीकार गर्नु।]
वाट्सले उत्तर दिँदै भने: कुनै पनि पुरोहितले मानिसलाई उसका पापबाट छुटकारा दिन सक्दैनन्, तर पुरोहितलाई कुनै विषयमा अर्ती र सल्लाह माग्नुचाहिँ असल कुरा हो भनी मान्थे।
- तिनी विश्वास गर्थे कि लुथर, विक्लिफ, बार्न्स र प्रभु-भोजको सम्बन्धमा आफ्नो विश्वासको निम्ति मारिने अन्य व्यक्तिहरू असल मानिसहरू थिए। उनीहरू ख्रीष्टका विश्वासयोग्य सेवक र शहीदहरू थिए।
वाट्सले भनेः तिनीहरूले सूचित गरेका मानिसहरूको धर्म-सिद्धान्तको विषयमा तिनलाई केही थाहा हुँदैनथ्यो, तर यदि ती व्यक्तिहरूले प्रभु-भोजको विधिमा ख्रीष्टको शरीर र रगत शारीरिक रूपमा हुँदैन भनेर विश्वास गर्थे भने उनीहरू असल ख्रीष्टियान थिए।]
- तिनको विश्वासअनुसार उपवास बस्नु, प्रार्थना गर्नु र दान दिनु व्यर्थ हो रे। उद्धार पाएको मानिस हो भने उसले यी सबै गर्नुपर्दैन। उद्धार पाएको छैन भने यी सब गरे पनि उसैले उद्धार पाउनेथिएन रे।
वाट्सले भनेः तिनले त्यसो भनेका थिएनन्। तिनी उपवास, प्रार्थना र दान दिनुमा विश्वास गर्थे। यी सबै जीवित विश्वासका कामहरू थिए।] - तिनी खुलस्त स्वीकार गर्थे कि तिनी गिर्जा जान र प्रभु-भोज लिन इन्कार गर्छन्; किनभने मासको सेवा घृणास्पद छ। गिर्जामा उपस्थित मानिसहरूको निम्ति एउटा खराब उदाहरण भएर तिनले अरू भूल र घमण्डी कुराहरू पनि भनेका थिए।]
वाट्सले उत्तर दिए: यो कुरा सत्य थियो, र तिनी यही कुरामाथि विश्वास गर्दै मर्नु पनि तयार हुनेथिए।
- तिनी सरासर एक विधर्मी हुन्; चर्चले सराप्न र दण्ड दिइनलाई सरकारी अधिकारीवर्गको हातमा सुम्पिइनु योग्यका छन्।]
वाट्सले भनेः मानिसहरूद्वारा श्रापित भए तापनि परमेश्वरले तिनलाई आशिष दिनुहुनेछ भन्ने कुरामा भरोसा गर्दै तिनी कानुनको अधीनता स्वीकार गर्थे।
- तिनी भन्थे कि रोमको क्याथोलिक चर्च शैतानको सभाघर हो।
वाट्सले भने: तिनी पोपचाहिँ ख्रीष्ट र उहाँको मण्डलीको महाघातक शत्रु हो भनी विश्वास गर्थे।
उपरोक्त सबै अपराधहरू बिल्लेरिकेका सबैले जान्दथे।
वाट्सले भनेः तिनले अघि भनेका सबै कुरा सत्य थिए।
मई १० - १७ तारिखभित्र वाट्सले एकपछि अर्को मण्डली- अगुवाहरूलाई भेटे, तर तिनीहरूमध्ये कसैले पनि तिनलाई तिनी अहिलेसम्म उभिएको ठाउँबाट एक इन्च यताउता सार्न सकेनन्। तिनलाई लण्डनका शासन-अधिकारीहरूको जिम्मामा सुम्पिदिइयो, र तिनी न्यूगेटको झ्यालखानामा मई २२ वा जून ९ तारिखसम्म राखिए। त्यसपछि तिनी चेम्स्फोर्डमा सारिए, जहाँ तिनले जलाइन ल्याइएका हक्स र अरूसित बेलुकीको खाना खाए। तिनलाई आफ्ना पत्नी र छजना छोराछोरीसित बात मार्ने मौका दिइयो। तिनले उनीहरूलाई जेसुकै भए तापनि आफ्नो विश्वासप्रति विश्वासयोग्य भइरहने प्रोत्साहन दिए। तिनका छोराछोरीमध्ये दुईजना त्यति नै बेला बाबुसितै जलाइमार्ने खाँबामा जान तयार भए।
वाट्सले पहिले त्यस खाँबालाई म्वाइ खाए, त्यसपछि लर्ड रीचपट्टि फर्केर यसो भन्दै उनलाई चेताउनी दिए: 'हजुर, होशियार हुनुहोस्! यस कुरामा तपाईंले आफ्नो विवेकको विरुद्ध कारवाही गरिरहनुभएको छ; पश्चात्ताप गर्नुभएन भने प्रभुले त्यसको साटो फर्नुहुनेछ; किनभने मेरो मृत्युको कारण तपाईं नै हुनुहुन्छ।'
पुस्तकहरूको विरोधमा लेखिएको घोषणा-पत्र यसै समयतिर इङ्गल्याण्डमा एउटा पुस्तक ल्याइयो, जुन पुस्तकले अंग्रेजहरूलाई स्पेनका मानिसहरूको विषयमा सावधान गर्दै चेताउनी दियो, अनि चर्चले अघिबाटै अधिकरण गरिएका आफ्ना मठका जमिनहरू फिर्ता गराइने गुप्ती योजनाहरू प्रकट गरयो। त्यस पुस्तकको शीर्षक थियोः ए वार्निङ्ग फर इङ्गल्याण्ड अर्थात् इङ्गल्याण्डको निम्ति चेताउनी।
१५५५ सालको जून १३ तारिखमा राजा र रानीले क्याथोलिक धर्मको सिद्धान्तसित नमिल्ने सबै पुस्तकहरू, विशेष गरी मार्टिन लुथर, ओकोलाम्पाडियस, ज्विङ्गली, जोन क्याल्भिन, पोमेरेन, जोन अलाक्सो, बुल्लिङ्गर, बूसर, मेलाङ्गटोन, बर्नार्डिनस, ओकिनस, इरास्मस, सर्सेरियस, पीटर मार्टीर, हग लाटिमर, रोबर्ट बार्न्स (अर्थात् फादर बार्न्स), जोन बेल (अर्थात् फादर बेल), जस्टस, जोनास जोन हूपर, माइल्स कोभर्डेल, विलियम टिन्डेल, थोमस क्रान्मर, विलियम टर्नर, थियोडोर बेसिल (अर्थात् थोमस बीकन), जोन फ्रिथ र रोय नामक लेखकहरूले लेखेका पुस्तकहरू अवैध/गैर कानुनी छन् भनी तीमाथि प्रतिबन्ध लगाए। त्यसबाहेक राजा एड्वर्डका राज्यकालमा प्रयोग गरिएका अंग्रेजीमा लेखिएका 'द बुक अफ कम्मन् प्रेयर'मा अर्थात् प्रार्थनाको विषयमा सामान्य तरिकाहरू दिने पुस्तकमा पनि प्रतिबन्ध लगाइयो।
कसैसँग यीजस्ता पुस्तकहरू भए उसलाई पन्ध्र दिनभित्रमा सबै पुस्तकहरू सरकारको हातमा सुम्पने आदेश दिइयो, अनि सबै सरकारी अधिकारीवर्गलाई घर-घरमा खोज - तलाशी गर्ने र त्यस्ता पुस्तकहरू राख्ने जो कसैलाई पक्रने अनुमति दिइयो।
केटाकेटीहरूलाई मरियम र सन्तहरूलाई प्रार्थना चढ़ाउन सिकाउने प्राइमर इन इङ्गलिश अर्थात् अंग्रेजीको प्रारम्भिक शिक्षामाला नाम भएको शीर्षक भएको पुस्तक र भजनहरूमा परमेश्वरको नामको सट्टामा मरियमको नाम लेखिएको 'आउवर लेडीज् साल्टर' अर्थात् प्रभुकी आमा मरियमको नाममा चढाइने भजनहरूको पुस्तक शीर्षक भएको पुस्तक लगायत क्याथोलिक चर्चको समर्थन गर्ने पुस्तकहरूचाहिँ राख्न- पढ्न पाइन्थ्यो।
प्रेरितहरूले हामीलाई सिकाएका छन्, कि हामी सम्पूर्ण रूपले ख्रीष्टमा पूर्ण भएका छौं र हामीलाई हाम्रा पापहरूको निम्ति अन्तर्विन्ती गर्ने ख्रीष्ट येशूबाहेक अरू मध्यस्थकर्ताको खाँचो छैन। यदि मूर्ति बनाएर त्यसलाई ईश्वर मानेर पुज्नु नै मूर्तिपूजा हो भने के मरियमलाई पुज्नु त्यही मूर्तिपूजा होइन र? परमेश्वरले हामीलाई उहाँको इच्छा स्पष्टसित नबताउनुभएको भए र स्पष्टसँग के-के विश्वास गर्नुपर्छ र कसरी मुक्ति पाइन्छ, हामीलाई नभन्नुभएको भए सायद क्याथोलिक धर्मले प्रयोग गर्दै गरेका मध्यस्थकर्ताहरू चलाउँदा केही अर्थ हुनेथ्यो, तर अब परमेश्वरको वचनले हामीलाई स्पष्टसित बताएको छः मुक्ति र पाप मोचन केवल ख्रीष्ट येशूद्वारा हुन्छ। उहाँले प्रतिज्ञा गर्नुभएको कुरामा विश्वास नगर्नु अविश्वास, नास्तिकता हो; अन्य कुनै धर्मको अनुसरण गर्नु मूर्तिपूजा हो। तथापि रोमको क्याथोलिक चर्चले परमेश्वरद्वारा सित्तैंमा दिइएको कुरा ग्रहण गर्न अस्वीकार गर्छ र ख्रीष्टद्वारा पाइने मुक्तिको खोज गर्दैन, तर त्यसका सन्तहरू र अन्धविश्वासका कुराहरूद्वारा मुक्ति पाउन खोज्दछ।
जोन ब्राड्फोर्ड
जोन ब्राड्फोर्ड म्यान्चेस्टरमा जन्मेका थिए र लौकिक दुनियामा जीविका गरिखानु योग्यको नभएसम्म त्यहीं शिक्षा प्राप्त गरेका थिए। केही वर्ष तिनले लौकिक दुनियामा सफलतापूर्वक जीविका चलाए; त्यसपछि तिनले सुसमाचार-अध्ययन गर्नलाई आफ्ना व्यापार-धन्धा छोडिदिए। तिनले लण्डनमा गरिरहेको सांसारिक ऐन-व्यवस्थाको अध्ययन बन्द गरे, अनि क्याम्ब्रिजमा धर्म - विज्ञानको छात्र भई भर्ना भए। तिनले यति धेरै उद्यम र परिश्रमको साथ अध्ययन गरे कि एक वर्षभित्रमा तिनले एम० ए० डिग्री प्राप्त गरे।
त्यसपछि लगत्तै तिनलाई पेम्ब्रोक-हलको सदस्यता (फेलोशिप) दिइयो, जहाँ मार्टिन बूसरले तिनलाई प्रचारक हुने प्रोत्साहन दिए। ब्राड्फोर्डले भनेः मैले प्रचारक बन्ने योग्यको शिक्षा प्राप्त गरेको छैनँ।' तब बूसरले भनेः ' मानौँ तिमीसित राम्रो मैदाको पाउ-रोटी छैन भने गरिब दुःखीहरूलाई जौको रोटी अर्थात् प्रभुले तिमीलाई जे दिनुभएको छ, त्यही देऊ!' अन्तमा राजा एड्वर्डको राज्यकालमा प्रचार गर्न निश्चित हुँदा ब्राड्फोर्डले बिशप रिड्लीबाट डिकनको उपाधि ग्रहण गरे, र तिनलाई प्रचार गर्ने अनुमति दिइयो, साथै सेन्ट पल्समा एउटा पद/अभिभारा पनि दिइयो।
तीन वर्षसम्म ब्राड्फोर्डले विश्वासयोग्य भई सुसमाचार प्रचार गरे। तिनले पापलाई तीखो दोष लाउँथे, ख्रीष्टको क्रूसको मृत्यु आकर्षक ढङ्गले प्रचार गर्थे, झूटा शिक्षा र भूलहरूको विरोधमा जोरदार वचन दिन्थे अनि मानिसहरूसित भक्तिसाथ जीवन जिउने आग्रह गम्भीरतापूर्वक गर्थे। जब रानी मेरीले सिंहासन अधिकार गरिन्, तब पनि ब्राड्फोर्डले आफ्नो काम गरि नै रहे।
१५५३ सालको अगस्त १३ तारिखमा बाथका बिशप श्री बर्नले लण्डनको सेन्ट पल्स क्रस चर्चमा रानी मेरीको पालोमा क्याथोलिक धर्म फेरि स्थापना गर्ने समर्थनमा उपदेश दिए। उनको उपदेश सुनेर सारा मण्डली यति साह्रो रिसायो कि मानिसहरूले बर्नलाई प्रवचन - मञ्चबाट तानेर निकाल्ने धम्कीसम्म दिए। बिशप बोन्नर र लण्डनका मेयरले मानिसहरूलाई जति जति शान्त पार्ने चेष्टा गरे, उति उति नै उनको जीवन खतरामा पर्ने डर भयो, र उनले ब्राड्फोर्डलाई मानिसहरूसित बोल्ने आग्रह गरे।
ब्राड्फोर्ड प्रवचन-मञ्चमा चढूने बित्तिकै धुइरो यसो भन्दै कराइउठ्योः ‘ब्राड्फोर्ड! ब्राड्फोर्ड!! परमेश्वरले तपाईंलाई बचाऊन्, ब्राड्फोर्ड!' ब्राड्फोर्डले भीडलाई शान्त गरेर चाँडै सबैजना शान्तिसित आ-आफ्नो घर गए।
बर्नलाई घरसम्म सुरक्षासाथ पुरयाउनलाई त्यहाँ मेयर र शासन- अधिकारीहरू हुँदा-हुँदै पनि ब्राड्फोर्ड उनीसितै हिँडेर जान सहमत नभएसम्म उनले चर्चबाट निस्कन मानेनन्। यसकारण आफ्नै शरीरले बर्नलाई खतराबाट जोगाउँदै ब्राड्फोर्ड उनको पछि-पछि हिँड़े।
ती दिनपछि काउन्सिलले ब्राड्फोर्डलाई बोलायो, र तिनीमाथि राजद्रोहको आरोप थोपस्यो बर्नलाई बचाएको कारण हो कि? ब्राड्फोर्डलाई गैर कानुनी प्रचार गरेको दोष पनि लगाइयो - यद्यपि तिनलाई बोल्ने आग्रह त बर्न आफैले गरेका थिए। तिनलाई प्रायः डेढ़ वर्ष कैद गरियो। त्यसपछि १५५५ सालको जनवरीमा लर्ड च्यान्सलरको सामु तिनको सुनवाइ भयो। त्यहाँ अघि धेरै प्रचारकहरूले गरेझैं तिनले पनि आफ्नो प्रोटेस्टेन्ट विश्वास त्यागेर फेरि क्याथोलिक चर्चमा फर्किआए भने तिनको सामु क्षमा दिने प्रस्ताव राखियो। जुलाई २९ तारिखमा फेरि यो प्रस्ताव दोहोरयाइयो। ब्राड्फोर्डले काउन्सिलसित निर्दोषलाई दण्ड नदिने आग्रह गरे; तिनको विचारमा, कान्सिलले तिनलाई दोषी पायो भने काउन्सिलका मानिसहरूले तिनलाई दण्डको आज्ञा दिनुपर्छ, तर दोषी पाएन भने उनीहरूले तिनलाई छोडिदिनुपर्छ।
उत्तरमा च्यान्सलरले ब्राड्फोर्डलाई भने कि सेन्ट पल्स क्रस चर्चमा तिनले गरेका कामहरू ढीठपूर्ण र अहङ्कारी थिए – त्यहाँ तिनले मानिसहरूलाई नेतृत्व दिने काम गरेका थिए। तिनीमाथि राजद्रोही पत्रहरू लेखेका आरोप पनि लगाइयो।
भोलिपल्ट श्री थोमस हिस्से र डा० सेटनले झ्यालखानामा ब्राड्फोर्डलाई भेटे। तिनीसित दुवैजनाले विद्वान व्यक्तिहरूसित तिनको धार्मिक विश्वासको विषयमा बहस गर्ने आग्रह विन्तीपूर्वक गरे। यसो गरेमा तिनीमाथि आइलागेको खतरा टर्नेछ र काउन्सिलको नजरमा पनि तिनी असलै देखा पर्नेछन् भन्ने राय तिनीहरूले प्रकट गरे। ब्राड्फोर्डले त्यसो गर्न यसो भन्दै इन्कार गरे: 'मैले त्यसो गरें भने मानिसहरूले सम्झनेछन् कि मैले मानेको सिद्धान्तमा अब म शङ्का गर्न थालेको छु। त्यस्तो शङ्का त म गर्दै गर्दिनँ।'
तिनी फेरि काउन्सिलको सामु ल्याइए। काउन्सिलले तिनलाई क्याथोलिक चर्चमा फर्किआऊ भन्यो। यसमा ब्राड्फोर्डले उत्तर दिए: 'हिजो मैले “म पोपको निम्ति कहिल्यै कुनै काम गर्न राजी हुँदिनँ " भनें; आज म त्यही कुरा नै भन्छु।' तब तिनलाई प्राण - दण्ड दिइने फैसला सुनाइयो र फेरि झ्यालखानामा फर्काइयो।
झ्यालखानामा बसेका समयमा ब्राड्फोर्डले आफ्नो काम गरि नै रहे। दिनमा दुईपल्ट तिनलाई भेट्न आएका मानिसहरूलाई तिनले प्रवचन सुनाउँथे र प्रभु-भोजको पवित्र विधि सम्पन्न गर्दैथिए। प्रचार गर्नु, अध्ययन गर्नु र प्रार्थना गर्नुमा नै तिनको सारा जीवन बित्थ्यो। तिनी दिनमा एकपल्ट मात्र अलिकति खान्थे, र खाँदै गर्दा पनि तिनी विचार मग्न हुन्थे। ब्राड्फोर्डको देखरेख गर्ने मानिसहरूमा तिनीप्रति यति ठूलो आदर र आस्था थियो कि तिनीहरूले 'म ठीक समयमा आइपुग्छु' भन्ने तिनको वचनमा विश्वास गरेर तिनलाई तिनका मण्डलीमा भएका बिरामीहरूलाई हेर्न झ्यालखानाबाट बाहिर जाने अनुमति दिन्थे। तिनी आफ्नो वचन पूरा गर्न यति निश्चित - पक्का थिए कि तिनी प्रायः सधैँ आफैले दिएको समयभन्दा अघि नै आइपुग्थे
ब्राड्फोर्ड अग्ला, पातला, सुनौलो दाह्री भएका व्यक्ति थिए। तिनी चार घण्टाभन्दा धेरै कहिलेकहीं मात्र सुत्थे; तिनी आफ्नो समय लेख्नमा, प्रचार गर्नमा अथवा पढ्नमा खर्च गर्न चाहन्थे। हप्तामा तिनी एक-दुई पल्ट झ्यालखानामा साधारण अपराधीहरूलाई हेर्न भेट्न जान्थे अनि तिनीहरूलाई खानेकुरा किन्न वा अन्य आराम दिने थोकहरू किन्न पैसा दिन्थे।
एकपल्ट तिनका एक मित्रले तिनलाई सोधे कि तिनी झ्यालखानाबाट मुक्त गरिए भने तिमी के गर्नेथिए? ब्राड्फोर्डले भनेः तिनी विवाह गर्नेथिए र इङ्गल्याण्डमा लुकेर बस्नेथिए, तर मानिसहरूलाई सुसमाचार प्रचार गर्ने र शिक्षा दिने काममा चाहिँ अटुट लागिरहनेथिए।
एकदिन, १५५५ सालको जुलाई महिनामा झ्यालखानाको पालेकी पत्नीले ब्राड्फोर्डलाई 'तिमी भोलि जलाइनेछौ' भनेर सावधान गराइन्।
'परमेश्वरलाई धन्यवाद होस्!' तिनले भने, 'मैले यही दिनलाई धेरै अघिदेखि पर्खिरहेको थिएँ। परमेश्वरले नै मलाई यसको योग्यको बनाऊन्!
ब्राड्फोर्डलाई त्यही रातमा ११-१२ बजेतिर न्यूगेटको झ्यालखानामा सारियो। अधिकारीवर्गले सोचेका थिए कि त्यस बेला कोही पनि तिनलाई हेर्न उठ्नेछैन, तर त्यस रातको समयमा पनि मानिसहरूले भीड़ लागेर तिनी गएका हेरे, तिनको निम्ति प्रार्थना गरे, अनि तिनलाई बिदा गरे।
तिनको मृत्यु-दण्ड बिहान चार बजे सम्पन्न गरिने घोषणा भयो। यस्तो नमिल्दो समय किन चुनियो-त्यो कसैले भन्न सकेन। तर त्यस्तो समयमा मानिसहरूको भीड़ हुनेछैन भन्ने आशा अधिकारीवर्गले गरेका थिए भने तिनीहरूको आशा निराशामा परिणत भयो। मानिसहरूले आशा र धैर्यसाथ स्मिफिल्ड भन्ने ठाउँमा ब्राड्फोर्डलाई नल्याएसम्म - बिहान नौ बजेसम्म – पर्खिबसे। ब्राड्फोर्डको अघि-अघि हात-हतियार भिरेका थुप्रै सिपाहीहरू थिए। तिनले प्रार्थना गर्नलाई जमिनमा घुँडा टेके; त्यसपछि बीस वर्षका जवान जोन लीफसँगै दहनको खाँबामा गए।
जोन लीफ
जोन लीफलाई ब्राड्फोर्डसँगै जलाइएको थियो; तिनी योर्कको कर्बी - मोसाइड भन्ने ठाउँमा जन्मेका थिए। तिनी लण्डनको क्राइस्ट चर्चको अधिकार-क्षेत्रभित्र बस्ने एउटा मैन - बत्ती बनाउने मानिसकहाँ काम सिक्दैथिए।
बिशप बोन्नरको सामु पेस गरिँदा लीफले स्वीकार गरे: हो, तिनी रोटी र दाखमद्य ख्रीष्टको मासु र रगत हुन् भनी विश्वास गदैनथे, तर ती सबै उहाँको मृत्युको स्मृति-चिन्ह मात्र हुन् भनी विश्वास गर्थे। तिनले यसो पनि भने: क्याथोलिक धर्ममा गरिने पाप स्वीकारको खाँचो छैन, र कुनै पनि पुरोहितसित पापको क्षमा दिने अधिकार छैन।
लीफ जून १० तारिखसम्म झ्यालखानामा पठाइए। त्यहाँ बोन्नर फेरि पनि तिनीकहाँ आए र विन्ती -भाव गरेर त्यस जावन मानिसको मन बदलाउने प्रचेष्टा गरे। केही गर्न नसक्दा बिशपले लीफलाई 'तिनी रोजर्सका विद्यार्थी थिए कि ' भनेर सोधे। लीफले उत्तरमा भनेः तिनी रोजर्सका विद्यार्थी थिए, अनि तिनी रोजर्स, हूपर, कार्डमेकर र अरूजस्तै आफ्नो विश्वासको साक्षीका निम्ति हालैमा मारिएकाहरू सबैको सिद्धान्तमाथि विश्वास गर्थे; अनि तिनी त्यही सिद्धान्तको निम्ति मर्न पनि तयार थिए। तिनले भने: 'हजुरहो, तपाईं मेरो विचारलाई विधर्म भन्नुहुन्छ। तर यो त परमेश्वरको वचनको साँचो प्रकाश हो।' केही गर्न नसक्दा बोन्नरले तिनलाई दोषी ठहराएर झ्यालखानामा फर्काइपठाए।
यस्तो भनिन्छ कि त्यसको केही समयपछि लीफकहाँ दुईटा पत्र ल्याइयोः एउटामा विश्वास त्यागेको र अर्कोमा पाप स्वीकार गरेको। पहिलो पत्र पढेर सुनाइएपछि त्यसमा सही गर्न तिनले अस्वीकार गरे। दोस्रो पत्र पढेर सुनाइएपछि तिनले एउटा आलपिन लिए, आफ्नो हातमा घोंचेर रगत त्यस पन्नाभरि छरे। यसो गरेर तिनले बिशपलाई तिनी आफ्नो रगतले आफ्नो विश्वासमा छाप लाउन तयार थिए भन्ने कुरा प्रकट गरे।
ब्राड्फोर्ड र लीफ सँगसँगै जलाइमार्ने खाँबातिर गए; ब्राड्फोर्डले एकापट्टि प्रार्थना गर्न घुँडा टेके; लीफले अर्कोपट्टि घुँडा टेके। ती दुईजनाले एक घण्टाजति चुपचापसित प्रार्थना गरिसकेपछि एउटा शासन अधिकारीले ब्राड्फोर्डलाई भनेः ‘उठ र काम सिद्ध्याऊ! यहाँ भीड़ थाम्न मुस्किल परिसक्यो।' तब ती दुवैजना उठे। भीड़लाई केही भन्नुअघि ब्राड्फोर्डले एउटा दाउरा चुम्बन गरे, त्यसपछि खाँबालाई पनि चुम्बन गरे।
तब ब्राड्फोर्डले चर्को सोरमा भने: ' हे इङ्गल्याण्ड! आफ्ना पापहरूको पश्चात्ताप गर! मूर्तिपूजादेखि होशियार बस! झूटा ख्रीष्ट- विरोधीहरूदेखि पनि होशियार रह! सावधान - तिनीहरूले तिमीलाई धोका दिन नपाऊन्!' त्यसपछि तिनले तिनलाई सताउनेहरूलाई क्षमा दिए, अनि भीडलाई तिनको निम्ति प्रार्थना गरिदिने आग्रह गरे। लीफतिर शिर फर्काएर ब्राड्फोर्डले भने: ' शान्त होऊ, भाइ! आज राति हामी प्रभुसित आनन्दको भोज खानेछौं।' जुन इनाम पाउन भनी उनीहरू धेरै अघिदेखि प्रभुको दौड़ दौडिरहेका थिए, सो इनाम प्राप्त गर्ने आशा गर्दै ती दुवैजनाले निर्भयतासाथ जीवन समाप्त गरे।
जेम्स ट्रेभीसाम
जेम्स ट्रेभीसाम मरणान्त रोगी, सहाराहीन र लङ्गड़ा थिए; तिनी यति साह्रो बिरामी थिए कि तिनी पलङ छोड्न सक्दैनथे। एक साँझ तिनको नोकर जोन स्मलले ट्रेभीसाम र तिनकी पत्नीलाई, अरू दुईजना पुरुषहरू र एउटा स्त्रीलाई बाइबल पढेर सुनाउँदैथ्यो। तब एउटा सरकारी मानिस तिनको घरभित्र पसे र ट्रेभीसामबाहेक अरू जम्मैलाई लगेर झ्यालखानामा बन्द गरे। यदि केही छिमेकीहरूले नरोकेका भए उनले ट्रेभीसामलाई पनि लैजानेथिए, तर उनले ट्रेभीसामलाई 'सरकारले डाक्यो भने म आउनेछु' भन्ने दुईटा बन्ध-पत्रमा सही गर्न लाइछोड़े।
केही दिनपछि चर्चको पुरोहित श्री फार्थिङ्गले ट्रेभीसामसित कुरा गरे। तिनको उत्तरमा सन्तोष भएको जस्तो देखा पर्दै पुरोहित तिनको घरबाट निस्के। बाटोमा आउँदै गर्दा तिनले श्री टल्लर भनिने मानिसलाई भेटे; टल्लरले ट्रेभीसामलाई तिनी मास - विधिमा विश्वास नगर्ने दोष लाए। तब ती पुरोहित फर्केर ट्रेभीसामकहाँ गए र टल्लरले भनेको कुरा सत्य हो भनी पत्ता लगाए। यो कुरा उनले लण्डनका बिशपलाई जनाए।
१५५५ सालको जुलाई ३ तारिख, आइतबारको दिनमा ट्रेभीसाम स्वभाविक कारणवश मरे। पुरोहितले श्रीमती ट्रेभीसामलाई आफ्नो पतिको मृत-शरीर कफिन बक्समा राख्न वा चर्चको कबरस्तानमा दफन गर्न दिएनन्। उनले श्रीमती ट्रेभीसामलाई त्यो लास एउटा टेबलमाथि राखेर मूरफिल्डस् भन्ने जग्गामा बोकेर लान कर लगाए, जहाँ त्यो लास एउटा चादरमा बेह्रेर गाड़ियो। त्यही रात ट्रेभीसामको शरीरलाई खानेर निकालियो, चादर चोरियो र तिनको शरीर नाङ्गो अवस्थामा भुइँमा फ्याँकियो। जब त्यस जमिनको मालिकले भोलिपल्ट त्यो लास भेट्टायो, तब उसले त्यो फेरि गाड्यो, अनि दुई हप्तापछि उसलाई ऊमाथि लाएका आरोपहरूको सम्बन्धमा स्पष्टिकरण दिन बोलाइयो। त्यस जमिनको मालिकलाई के-कसो गरियो, सो कसैलाई थाहा भएन।
जोन ब्लाण्ड
जोन ब्लाण्ड केन्टमा रल्भेन्डन भन्ने ठाउँको मण्डलीको उप- बिशप हुनुभन्दा पहिले एक शिक्षक थिए। रानी मेरीको राज्यकालमा सुसमाचार प्रचार गर्दा तिनी झ्यालखानामा हालिए; तथापि तिनका साथीहरूले अर्जविन्ती-पत्र हाल्दा एक - दुई पल्ट जेलबाट छुटे। तर जेलबाट छुट्टिने बित्तिकै तिनी फेरि प्रोटेस्टेन्ट - प्रचारको काममा लागि- हाल्थे। तेस्रो पल्ट थुनिँदा तिनले आफ्ना साथीहरूलाई 'म अब उसो मेरो विश्वास प्रचार गर्दिनँ' भन्ने वचन दिन मानेनन्। यसकारण अब उप्रान्त ती साथीहरू तिनलाई हार - गोहार गर्न नसक्ने भए।
नोभेम्बर २६ तारिखको दिन ब्लाण्डको मण्डलीका दुईजना सदस्य रिचर्ड र थोमस अस्टेन मण्डली - सभा सकेपछि तिनीकहाँ आए।
'पादरी, साहेब!' रिचर्ड अस्टेनले भने; 'तपाईंले त्यो पवित्र डेरा, जहाँ क्रूस झुण्डिएको थियो र अरू थोकहरू उतार्नुभयो। रानीले भनेकी छिन् कि ती सबै फेरि निर्माण गरिनुपर्छ। अनि हाम्रो विचारमा, तपाईंले नै त्यो सबै खर्च बेहोर्नुपर्छ। यी सबै थोक घृणास्पद हुन् भन्दैमा तपाईं रानीको आज्ञाको विरोधमा जानुहुन्छ।'
'अस्टेनज्यू', ब्लाण्डले उत्तर दिए; 'यदि मैले भनेको कुरा त्यही हो भने म फेरि पनि त्यसो भन्नेछु।'
थोमस अस्टेनले उत्तर दिए: 'त्यसो भए हामीलाई भन्नुहोस् त! मासमा त्यस्तो शैतानिक कुरा के छ?'
'मैले प्रायः सधैं यो कुरा तपाईंहरूलाई प्रचार गर्दै भनेको छु। त्यति बेला तपाईंहरूले मेरो कुरामा विश्वास गर्नुभएन, अब पनि गर्नुहुन्न नै।' 'तपाईंले अल्टर भत्काउनुभयो। के तपाईंले त्यसलाई फेरि बनाउनुहुन्छ?'
अहँ, जबसम्म मलाई बनाउने आदेश दिइँदैन, तबसम्म म बनाउनेछैनँ; किनकि पहिले पनि मलाई त्यो भत्काउने हुकुम दिइएको थियो, ' ब्लाण्डले आग्रहपूर्वक भने।
डिसम्बर २८ तारिखको दिन अस्टेनहरूले मासको विधि सम्पन्न गर्नलाई स्टड्मार्शका पुरोहितलाई निम्त्याए। ती पुरोहितले ब्लाण्ड आइपुग्दा बिहानपखमा रीतिपूर्वक पढ़िने प्रार्थनाहरू प्रायः सिद्ध्याइसकेका थिए। ती प्रार्थनाहरू सिद्ध्याएपछि पुरोहितले ब्लाण्डलाई भनेः 'तिम्रा छिमेकीले मलाई बिहानका प्रार्थनाहरू चढ़ाउने र मास गर्ने आग्रह गरे। म आशा गर्छु, तिमी रानीको नियम - कानुन भङ्ग गर्नेछैनौ।'
अहँ, ' ब्लाण्डले उत्तर दिए; 'परमेश्वरले इच्छा गर्नुभयो भने म रानीको नियम - कानुन भङ्ग गर्नेछैनँ।'
ब्लाण्डको उत्तर नसुनेजस्तो बहना गर्दै पुरोहितले त्यो प्रश्न अझै दुईपल्ट सोधे। तब ब्लाण्डले यति चर्को र ठूलो सोरमा उत्तर दिए कि सारा मण्डलीले तिनको उत्तर सुन्न सक्यो। तब पुरोहित चौकीमा थचक्क बसे, ब्लाण्डचाहिँ मण्डलीलाई भाषण दिन ढोकामा उभिए। ब्लाण्डले रोटी र दाखमद्यको विषयमा भएको आफ्नो विश्वासको स्पष्टिकरण दिए; यो पवित्र विधि ख्रीष्टले कसरी स्थापना गर्नुभयो र यस विधिलाई क्याथोलिक चर्चले कसरी बिगारयो - यी सब स्पष्ट बुझाए। एकछिनमा सिपाही र चर्च - वार्डनले तिनलाई चुप पारे र मास नसिद्ध्याएसम्म तिनलाई छेवैको प्रार्थनालयमा थुनेर राखे।
फरवरी २३ वा २४ तारिखमा ब्लाण्डलाई दस हप्ताको निम्ति क्यान्टरबरीको गढ़ीमा बन्द गरेर राखियो। त्यसपछि तिनलाई जमानत गर्ने अनुमति दिइयो। मई १८ तारिखमा तिनी क्यान्टरबरीका आर्च - डिकनकहाँ देखा परे। आर्च- डिकनले ब्लाण्डले प्रभु - भोजको विषयमा कस्तो प्रचार गर्थे, सो जान्न चाहे। ब्लाण्डले उत्तर दिन इन्कार गरे। तिनले भनेः तिनीहरू तिनको विरोधमा प्रयोग गर्ने कुराहरू जम्मा गर्न कोशिश गरिरहेका थिए, अनि अंग्रेजी नियम-कानुनअनुसार तिनले आफ्नै विरोधमा केही भन्नुपर्दैन।
जून २८ तारिखमा आदेश दिइएअनुसार ब्लाण्डले आफैलाई सरकारी अधिकारीवर्गको सामु पेस गरे। अधिकारीवर्गले तिनीहरूसित तिनको विरोधमा केही छैन भने, अनि तिनलाई सात सातापछि फेरि हाजिर हुने आदेश दिए। तर जब तारिख आइपुग्यो, तब ब्लाण्ड त चर्चको अधिकारीवर्गको सामु उपस्थित थिए र कोर्ट-कचरीमा जान पाएनन्। यसकारण तिनी फरवरी १८ वा १९ तारिखसम्म कोर्टको हुकुममा मेड्स्टोनको झ्यानखानामा थुनिए। तिनले सुध्रने र असल क्याथोलिक हुने प्रतिज्ञा नदिँदा ब्लाण्डलाई मार्च २ तारिखसम्मको निम्ति क्यान्टरबरीको गढ़ीमा पठाइयो।
ब्लाण्ड लगातार यहाँदेखि वहाँ, यता र उता एउटा झ्यालखानादेखि अर्को झ्यालखानामा, एउटा सेशनदेखि अर्को सेशनमा पठाइँदैरहे; अन्तमा जून १३ तारिखको दिनमा तिनी डोभरका बिशप रिचर्ड थर्नटन, कमिसार रोबर्ट कल्लिन्स र क्यान्टरबरीका आर्च- डिकन निकोलस हार्ल्सफिल्डको सामु पेस गरिए। यी तीन व्यक्तिको अधिकारमा क्यान्टरबरीमा धेरै-धेरै प्रोटेस्टेन्टहरूसित निर्दयतासाथ व्यवहार गरियो र तिनीहरू मारिए। तीमध्ये जोन ब्लाण्ड प्रथम थिए। त्यस दिन तिनीसितै निम्न व्यक्तिहरूको पनि न्याय गरियो : जोन फ्रन्केश, थोमस थ्याकर, हम्फ्री मिडल्टन र विलियम कोकर ब्लाण्डले निम्न आरोपहरू स्वीकार गरे :
- तिनी विश्वास गर्थे कि ख्रीष्टको वास्तविक शरीर स्वर्गमा छ, प्रभु-भोजको रोटी र दाखमद्यमा होइन।
तिनी विश्वास गर्थे कि ल्याटिन भाषामा पवित्र विधिहरू सम्पन्न गर्नु परमेश्वरको वचनको विरोध हो। कसैले पनि उसले बुझ्न नसकेको भाषा चलाएर सम्पन्न गरिएको विधि ग्रहण गरिँदैन।
जून २५ तारिखमा ब्लाण्ड अन्तिम पल्ट अधिकारवर्गको सामु देखा परे, अनि पोपको अधिकारलाई ग्रहण गर्न मानेनन्। तिनलाई विधर्मी/झूटा शिक्षक भनी दण्डको आज्ञा दिइयो र जलाएर मारिन सरकारी अधिकारीवर्गको हातमा सुम्पिइयो।
क्रिस्टोफर वायड
क्रिस्टोफर वायड केन्टको डार्टफोर्ड भन्ने गाउँको लुगा बुन्ने मानिस/जुलाहा थिए, जसलाई रोचेस्टरका बिशप मोरिसले मृत्यु - दण्ड दिएका थिए। जुलाई महिनामा तिनको मृत्यु - दण्ड हुने दिनमा तिनलाई जलाउने आगोका निम्ति खाँबा, सुकेका स्याउला र दाउराहरू डार्ट्फोर्ड गाउँदेखि बाहिर भएको ब्रीम्थ भनिने रोड़ाको खाडल भएको ठाउँमा लगियो।
त्यस दिन बिहान १० बजे वायड र टन्ब्रिज भन्ने ठाउँको मार्जरी पोल्ली शासन- अधिकारीहरूको साथमा जलाइने ठाउँबाट भएर डार्ट्फोर्डतिर गए। ब्रीम्थमा भेला हुँदै गरेको भीडलाई देखेर मार्जरीले वायडलाई भने: ‘खुशी हेऊ, वायड! आज तिम्रो विवाहको उत्सव मनाउन भेला भएको भीडलाई हेर त!'
शहरमा शासन- अधिकारीको वायडसितको बातचित समाप्त नभएसम्म मार्जरीलाई एक ठाउँमा थुनेर राखियो। वायडले एउटा पौवामा आफ्ना लुगाहरू खोले अनि तिनको पत्नीले ल्याइदिएको एउटा लामो कमेज लगाए। त्यसपछि तिनी बाँधिए र बीम्थतिर लगिए। खाँबासम्म गएर तिनले त्यसलाई अँगाले, आफ्नो पीठ खाँबामा टँसाए र अलकत्राको पिपाभित्र पसे। तिनी एउटा लोहारेद्वारा फलामको पट्टीले खाँबामा बाँधिए।
सबै कुरा ठीकठाक पारिएपछि वायडले भजनसंग्रह ८६ को अन्तिम पद चर्को सोरमा भने: 'मलाई शुभ लक्षण देखाउनुहोस्, र मलाई घृणा गर्नेहरू त्यो देखेर शर्ममा परून्; किनभने हे परमप्रभु, तपाईंले मलाई सहायता गर्नुभएको छ, र सान्त्वना दिनुभएको छ।२'
खाँबाको छेउमा एउटा सानो डाँड़ा थियो, जहाँ एउटा काम- चलाउ प्रवचन-मञ्च बनाइएको थियो। वायडले प्रार्थना गर्दै गर्दा एउटा पुरोहित हातमा एउटा पुस्तक लिएर प्रवचन - मञ्चमा चढ़े। तर वायडले मानिसहरूलाई क्याथोलिक चर्चको सिद्धान्त नसुन्नुहोस् भनेर सावधान गरे। तिनले मानिसहरूसित, त्यसको सट्टामा राजा एड्वर्डको पालोको प्रोटेस्टेन्ट - धर्मलाई अँगाल्ने आग्रह गरे। वायड बोल्दै गर्दा त्यो पुरोहित प्रवचन-मञ्चमा चुपचाप उभिरहे; तिनी बोलिसकेपछि ती पुरोहित केही नबोली त्यहाँबाट निस्के।
सुकेका स्याउलाहरू तिनको वरिपरि राखिएपछि वायडले ती स्याउलाहरू आफ्नो नजिकमा ताने - आफ्नो अनुहारको अघि चाहिँ खुला राखे, तिनी बोल्न सकून् भनेर। आगो सल्काइयो, अनि वायडले यसो भनेको सुनियो: 'प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्! ' उप्रान्त केही बोल्न नसक्ने हुँदा पनि वायडले आफ्ना हातहरू आफ्नो शिरभन्दा माथि स्वर्गतिर उठाइ नै रहे।
कार्भर र लण्डर
१५५५ सालको जुलाई २२ तारिखमा डिरिक कार्भरलाई सस्सेक्सको लिवेस नामक गाउँमा जलाइयो; त्यसको भोलिपल्ट जोन लण्डरले स्टेनिङ्ग भन्ने गाउँमा त्यही कष्ट भोगे। यी दुईजना व्यक्ति १५५४ सालको अक्टोबर महिनाको अन्ततिर कार्भरको घरमा प्रार्थना गर्दै गरेका अरू मानिसहरूसितै पक्राउ परे। जाँचबुझ गरिएपछि ती दुईजनालाई न्यूगेटको झ्यालखानामा तिनीहरूको सुनवाइ नभएसम्म पर्खिरहन पठाइयो। तिनीहरूको सुनवाइ लण्डनका बिशप बोन्नरको सामु १५५५ सालको जून ८ तारिखको दिनमा भयो।
त्यहाँ धर्मको विभिन्न प्रसङ्गको बारेमा तिनीहरूलाई आफ्नो धार्मिक विश्वासको सम्बन्धमा लिखित रूपमा सहीको साथ स्वीकार - पत्र लेख्न लगाउँदै ती दुईजनाको न्यायिक जाँच गरियो। तिनीहरूसित बिशपले केही समय कुराकानी गरिसकेपछि अर्थात् बिशपले ती दुईजनालाई आफ्नो विश्वास त्यागेर क्याथोलिक चर्चलाई ग्रहण गर्ने बनाउन प्रयास गर्दै कुराकानी गरिसकेपछि ती दुईजनालाई त्यहाँबाट बर्खास्त गरियो र जून १० तारिखसम्म न्यूगेटमा फर्काइयो।
डिरिक कार्भरले निम्न कुराहरू स्वीकार गरे:
- तिनी प्रभु-भोजमा ख्रीष्टको वास्तविक शरीर उपस्थित हुन्छ भनी विश्वास गर्दैनथे।
- तिनी मासमा कुनै बलिदान हुन्छ र ल्याटिन भाषामा सम्पन्न
गरिएको मासमा उद्धार छ भन्ने कुरा विश्वास गर्दैनथे।
तिनी अर्ती र सरसल्लाहको निम्ति कुनै असल पुरोहितकहाँ जाने कुरामा विश्वास गर्थे, तर पाप स्वीकार गर्नलाई पुरोहितकहाँ जाने कुरामा विश्वास गर्दैनथे; किनभने यस्तो पाप स्वीकारले मानिसलाई बचाउनको निम्ति केही पनि गर्न सक्दैनथियो।
- तिनी क्याथोलिक सिद्धान्तले परमेश्वरको वचनसित मेल खान्छ भन्ने कुरा पनि विश्वास गर्दैनथे। तिनी के विश्वास गर्थे भनेः बिशप हूपर, कार्डमेकर, रोजर्स र हालैमा जलाइएका अरूचाहिँ सबै असल ख्रीष्टियानहरू थिए। उनीहरू ख्रीष्टको सत्य सिद्धान्त प्रचार गर्ने शहीदहरू थिए।
रानीको राज्याभिषेक भएको दिनदेखि कार्भरले आफुसित अंग्रेजीमा छापिएको बाइबल र भजनसंग्रह राखेका थिए र ती पढ्दैथिए। तिनीसित अंग्रेजीमै लेखिएका प्रार्थनाहरूको पुस्तक थियो र तिनी घरैमा अंग्रेजीमा सेवा - सँगतिहरू चलाउँथे। थोमस इभ्सन, जोन लण्डर र विलियम भेसी - तिनीहरू तिनीसितै न्यूगेट झ्यालखानामा थुनिएका थिए - तिनीहरू कार्भरको घरमा अंग्रेजीमा सुसमाचार पढ़िएको सुन्दै गर्दा तिनीसँगै पक्रा परेका थिए।
जोन लण्डरले निम्न कुराहरू स्वीकार गरे:
- तिनी शहरमा काम विशेषले आउँदा र यस्तो सेवा - सँगति हुँदैछ भन्ने खबर सुनेपछि अरू बाह्रजनासँग अंग्रेजीमा सेवा चलाइएको र प्रार्थना गरिएको सुन्न कार्भरको घरमा उपस्थित भए। तिनी विश्वास गर्थे कि क्याथोलिक चर्चका सबै सभाहरू, बलिदानहरू र धार्मिक समारोहहरूमा भूलै भूल थिए; ती व्यर्थका र परमेश्वरको वचनको विरुद्धका थिए।
- तिनी विश्वास गर्थे कि प्रभु - भोजको रोटी र दाखमद्य त ख्रीष्टको मृत्युको स्मृति-चिन्ह मात्र हुन्, उहाँको लौकिक मासु र रगत होइनन्।
- तिनी के विश्वास गर्थे भनेः मास सरासर ख्रीष्टको वचन र
मण्डलीको विरोधमा छ। - तिनको विश्वासअनुसार कुनै पुरोहितलाई गरिएको पाप स्वीकार व्यर्थ छ। कुनै मानिसले अर्को मानिसलाई त्यसका पाप क्षमा गर्न सक्दैन। एउटा पापी मानिस, जसले परमेश्वरको सामु पापको पश्चात्ताप गर्छ, र उप्रान्त पाप गर्दैन, उसलाई क्षमा-दान गरिन्छ।
१५५५ सालको जून १० तारिखमा कार्भर र अरूहरू फेरि बिशपकहाँ ल्याइए। कार्भरसित 'तिमी आफ्नो विश्वास त्याग्छौ कि आफ्नो विश्वासमा दृढ़ रहन्छौ' भनी प्रश्न गरियो। तिनले उत्तरमा भनेः ‘तपाईंहरूको सिद्धान्त विष हो, जादु-टुना हो। ख्रीष्ट यहाँ हुनुहुँदो हो त तपाईंहरूले उहाँलाई अघिको भन्दा अझ नराम्रो गरी मृत्यु - दण्ड दिएर मार्नुहुनेथियो। तपाईंहरू भन्नुहुन्छ कि तपाईंहरू ईश्वरलाई बनाउन सक्नुहुन्छ। त्यसो हो भने तपाईंहरू पुडिङ्ग पनि बनाउन सक्नुहन्छ। तपाईंहरूको चर्चमा सम्पन्न गरिने धार्मिक कार्यक्रमहरू भिखारीपन हुन्, ती विष हुन्; पाप - स्वीकार गर्ने रीति-विधि पनि परमेश्वरको वचनको विरोधमा छ। यो विष हो।'
जोन लण्डर पनि आफ्नो विश्वासमा दृढ़ बसे, अनि दुवैजनालाई मृत्यु - दण्डको फैसला सुनाइयो।
जब डिरिकलाई अग्नि- दण्ड दिइने खाँबामा ल्याइयो, तब तिनको पुस्तक तिनीसितै जलोस् भनी अलकत्राको पिपामा फ्याँकियो, तर तिनी घोप्टिए, त्यो पुस्तक टिपे र त्यस पुस्तकलाई भीड़को बीचमा हुत्त्याइपठाए। शासन-अधिकारीले त्यो पुस्तक फर्काउने, नत्र मृत्युको दण्ड भोग्ने हुकुम दिए, तर झट्टै डिरिकले भीडलाई यसो भने: 'प्रिय दाजुभाइ, दिदीबहिनीहरूहो, आज म यहाँ मेरो रगतले ख्रीष्टको सुसमाचारमा छाप लाउन खड़ा भएको छु, किनभने यो सुसमाचार सत्य हो, म जान्दछु। तपाईंहरूले ख्रीष्टको सुसमाचार जान्नुहुन्छ - यो सुसमाचार तपाईंहरूको निम्ति र सारा इङ्गल्याण्डभरि प्रचारिएको छ, यद्यपि आज यो सुसमाचार प्रचार गर्न दिइएको छैन। मान्छेले बनाएको नियमकानुन मान्नलाई म परमेश्वरको सुसमाचार इन्कार गर्दिनँ; यसकारण मलाई मृत्यु-दण्ड दिइन्छ। प्रिय दाजुभाइ, दिदीबहिनीहरू, यदि तपाईंहरू पिता, पुत्र र पवित्र आत्मामा विश्वास गर्नुहुन्छ भने यस विश्वासअनुसारको काम गर्नुहोस्, र तपाईंहरूले अजम्मरी/अनन्त जीवन पाउनुहुनेछ। यदि तपाईंहरूले पोप र उनले बनाएका नियम कानुनमा विश्वास गर्नुहुन्छ भने तपाईंहरू अनन्त दण्डमा पर्नुहुनेछ। परमेश्वरले तपाईंहरूमाथि कृपा गर्नुभएन भने तपाईंहरू अनन्तसम्म आगोमा जलिरहनुहुनेछ।'
शासन-अधिकारीले उपहास गर्दै भने : 'तिमी पोपमा विश्वास गर्दैनौ भने तिमी शरीर र आत्मासमेत नरकवास गर्नेछौ। तिम्रो ईश्वरसित कुरा गर! ऊसित तिमीलाई छुटकारा दिने अथवा मलाई उदाहरण - स्वरूप प्रहार गर्ने प्रार्थना गर!'
डिरिकले भने: ‘यस्ता शब्दहरू बोलेकोमा प्रभुले तपाईंलाई क्षमा देऊन्! हे प्रिय दाजुभाइहरूहो, यदि मैले वचन वा कामद्वारा तपाईंहरूमध्ये कसैलाई चोट पुरयाएको छु भने म तपाईंहरूसित क्षमा माग्छु। अनि म पनि विचार, वचन र कामद्वारा मलाई ठेस खुवाउने तपाईंहरू सबैलाई क्षमा दिन्छु।'
'हे परमप्रभु, मेरा परमेश्वर, तपाईंले यसरी लेख्नुभएको छः जसले बाबु वा आमालाई मलाई भन्दा बेसी माया गर्छ, त्यो मेरो योग्यको छैन; अनि जसले छोरा वा छोरीलाई मलाई भन्दा बेसी माया गर्छ, त्यो मेरो योग्यको छैन। अनि जे आफ्नो क्रूस उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको छैन (मत्ती १०:३७ - ३८ )। तर तपाईं जान्नुहुन्छ: तपाईंकहाँ आउनलाई मैले सबै थोक त्यागेको छु। प्रभु, ममाथि दया गर्नुहोस्! किनकि म मेरो आत्मा तपाईंकहाँ सुम्पन्छु, र मेरो मन तपाईंमा रमाउँदछ।'
थोमस इभ्सन
थोमस इभ्सन त्यही महिना चिचेस्टर भन्ने ठाउँमा जलाइए। तिनी कार्भर र लण्डरसितै पक्रा परेका र न्याय गरिएका थिए।
बिशप बोन्नरले तिनको विश्वास त्याग गर्ने कर लाउँदा इभ्सनले भने: 'म मेरो विश्वास लण्डनका सबै थोकहरू दिइए तापनि त्याग्दिनँ। मैले परमेश्वरको दयाको सहारा/शरण लिएको छु, र तपाईंको मण्डलीको कुनै पनि कुरा मलाई चाहिँदैन। तपाईंको मण्डलीको अधीनतामा म आफूलाई सुम्पनेछैनँ। मैले अघि जे भनेको थिएँ, त्यही म फेरि दोहोरयएर भन्छु। मलाई अर्को सिद्धान्त सिकाउन स्वर्गबाट स्वर्गदूतै आए भने पनि म त्यस स्वर्गदूतलाई विश्वास गर्नेछैनँ।'
इभ्सन दण्ड पाउन योग्यको ठहराइए। अन्तसम्म विश्वासको जगेरा गर्दै तिनी जलेर मरे।
जेम्स एब्बीस
ती कष्टमय दिनहरूमा आफ्नो विवेकलाई सफा राख्न प्रयास गर्नेहरूमा अर्को एकजना थिए - जेम्स एब्बीस। तिनी आफ्नो विश्वासअनुसार जिइरहेको खातिर पक्राउमा नपर्न भनी एक ठाउँदेखि अर्को ठाउँमा भाग्दै लुक्दै घुमिहिँड्ने जवान मानिस थिए। तर समय आयो, जब परमेश्वरले तिनको निम्ति सेवकाइ गर्ने अर्को तरिका निकाल्नुभयो। तब एब्बीस पक्रा परे र नरविचका बिशप डा० हप्टनकहाँ पेस गरिए।
धम्की र प्रतिज्ञाहरू दुवै प्रयोग गर्दै बिशपले धर्मको सम्बन्धमा एब्बीसको जाँच गरे। अन्तमा तिनी बिशपले भनेझैं गर्न राजी भए। जब तिनी बर्खास्त गरिए र बिशपदेखि बिदा हुनै लागेका थिए, तब एब्बीसलाई फेरि डाकियो र केही पैसा दिइयो; तर त्यहाँबाट निस्केपछि तिनको विवेकले तिनलाई दोष दिन थाल्यो; किनकि तिनलाई थाहा थियो कि तिनले जे गरेका थिए, त्यसद्वारा तिनले परमप्रभुलाई बेखुशी तुल्याएका थिए।
तुरुन्तै एब्बीस फर्केर बिशपकहाँ गए, पैसा उनको सामु फ्याँकेर उनलाई भने कि तिनले मत-त्याग गरेर त्यो घूस - बराबरको पैसा लिएकोमा पछुताए। तब बिशप र उनका सहकर्मी पुरोहितहरूले फेरि तिनको न्याय गर्ने काम सम्हाले, तर यसपालि एब्बीस अटल रहे, अनि १५५५ सालको अगस्ट २ तारिखको दिनमा तिनलाई जलाएर भस्म पारियो।
जोन डेन्ली
परमेश्वरको बगाललाई तितर-बितर पार्ने अत्याचारीहरूको बीचमा यस्ता धेरैजना थिए, जो धर्मगुरु अथवा पुरोहितहरू थिएनन्, तर तिनीहरू सामान्य व्यक्तिहरू थिए, जसले प्रोटेस्टेन्टहरूलाई सताउने काममा सहायता गर्दैथिए। तिनीहरूमा एकजना थिए - एड्मण्ड टिरेल, जो वकिल थिए र एस्सेक्समा 'जस्टिस अफ द पीस' अर्थात् मेल- मिलापका न्याय- अधिपति भएर काम गरिरहेका थिए।
एकदिन केही शहीदहरू जलाइएको ठाउँबाट फर्कंदै गर्दा टिरेलले जोन डेन्ली, एक सज्जन व्यक्तिलाई र जोन न्यूम्यानलाई भेटे; ती दुवैजना केन्टको मेड्स्टोन भन्ने ठाउँका बासिन्दा थिए। ती दुईजना त्यस दिन केही परमेश्वरको भक्ति गर्ने मित्रहरूलाई भेट्न गइरहेका थिए। टिरेललाई यी दुईजना सन्देहजनक लागेर उनले तिनीहरूलाई रोके, तलाशी गरे र दुवैजनाको साथमा तिनीहरूको विश्वास प्रमाणित गर्ने केही लेख भेट्टाए। उनले ती दुईजनालाई रानीका प्रतिनिधिहरूकहाँ पठाए; तिनीहरूले ती दुईजनालाई फेरि बिशप बोन्नरकहाँ पठाए। जून २८ तारिखको दिन डेन्लीले तिनको विरोधमा लाइएका आरोपहरूको विषयमा निम्न उत्तर दिए:
- तिनी लण्डनको धर्म-प्रदेशमा पर्ने सदस्य थिए।
डेन्लीले भनेः हो, यो सत्य हो।
यस धरतीमा ख्रीष्टको क्याथोलिक चर्च छ भन्ने कुरामा तिनी विश्वास गर्दैनथे।
डेन्लीले उत्तर दिँदै भनेः यो कुरा सत्य होइन। तिनी विश्वास गर्थे कि भविष्यवक्ताहरू र प्रेरितहरूको शिक्षाअनुसार स्थापना गरिएको एउटा मण्डली छ, जसको शिर ख्रीष्ट आफै हुनुहुन्छ। यस मण्डलीले साँचो प्रकारले परमेश्वरको वचन प्रचार गर्छ अनि बप्तिस्मा र प्रभु-भोजका पवित्र विधिहरू वचनअनुसार सम्पन्न गर्छ।
- चर्च अफ इङ्गल्याण्ड क्याथोलिक चर्चको एक अङ्ग हो भन्ने कुरामा तिनको विश्वास थिएन।
तिनले भनेः चर्च अफ इङ्गल्याण्ड हालमा प्रभुको सत्य मण्डलीको अङ्ग होइन। यो अहिले ख्रीष्ट - विरोधीको चर्च भएको छ; किनभने यसले परमेश्वरको करार परिवर्तन गरेको छ, अनि ईश्वर - निन्दा पैदा गर्ने र झूटा कुराहरूले पूर्ण भएको आफ्नै विधान तयार गरेको छ।
- तिनको विश्वासअनुसार मास मूर्तिपूजा हो, दुष्ट कुरा हो र
परमेश्वरको वचनको विरोधमा छ।
डेन्लीले भनेः अहिलेको अवस्थामा मास मूर्तिपूजा भएको छ; किनकि त्यसको रोटी र दाखमद्यको पूजा गरिन्छ। ख्रीष्टको शरीर स्वर्गमा छ, तर प्रभु-भोजको रोटी र दाखमद्य उहाँको शरीर होइनन्; यसैले यी कुराहरूको पूजा गर्नुहुँदैन।
- तिनको विश्वासअनुसार पुरोहितको सामु पाप - स्वीकार गर्नुपर्ने नियम परमेश्वरको वचनको विरुद्ध छ।
डेन्लीले भनेः चर्चसित तिनलाई तिनका पापहरूको खातिर सजाय दिने अधिकार छ, तर तिनका पापहरू क्षमा गर्ने अधिकार छैन। केवल परमेश्वरले पाप क्षमा दिन सक्नुहुन्छ।
तिनी विश्वास गर्थे कि कुनै पुरोहितले तिनलाई निरपराधी ठहराउन सक्दैनन्। तिनले यो आरोप स्वीकार गरे
- बप्तिस्मा दृढ़करण, पूजाहारी पद, बिहान र बेलुकीका वन्दना- हरू, बिरामीहरूको निम्ति गरिने तेल - घसाइ वा निरपराधी ठहराउने विधि अथवा प्रभु-भोजका रोटी र दाखमद्य पवित्र पार्ने विधिहरू हालमा जसरी सम्पन्न गरिन्छन्, त्यसरी नै तिनले तीमाथि विश्वास गर्दैनथे।
डेन्लीले उत्तरमा भने: चर्चले थपथाप गरेर बप्तिस्मा र अरू पवित्र विधिहरूमा परिवर्तन ल्याएको छ।
- तिनले विश्वास गर्थे कि चर्चमा केवल यी दुईटा पवित्र विधि छन्ः बप्तिस्मा र प्रभु- भोज।
डेन्ली यस कुरामा सहमत भए। - तिनको विश्वास थियो कि ख्रीष्ट स्वर्गमा हुनुहुन्छ; प्रभु-भोजको रोटी र दाखमद्यमा उपस्थित हुनुहुन्न। अनि मासको रूपमा सम्पन्न गरिएको प्रभु-भोज तिनले ग्रहण गर्नुहुँदैन। डेन्लीले यो आरोप पनि सत्यै हो भनी माने।
जुलाई ५ तारिखको दिन डेन्लीलाई मृत्यु - दण्डको फैसला सुनाइयो र शासन - अधिकारीहरूको जिम्मामा सुम्पिइयो। अगस्ट ८ तारिखको दिन जलाइने खाँबातिर जाँदा र पछि तिनको वरिपरि ज्वालाहरू दन्किरहेको बेलमा पनि तिनी आनन्दसाथ एउटा भजन गाइरहे। तिनलाई सास्ती दिनेहरूमा एकजनाले तिनीतिर एउटा दाउराको झटारो हान्यो र दाउरा तिनकै अनुहारमा लाग्यो। डेन्लीले भनेः 'साँच्ची नै तिमीले एउटा पुरानो, मीठो गीत बिगारिदियौ।' तिनले फेरि पनि आफ्ना हातहरू पसारे र नमरुन्जेल स्तुति गाइरहे।
अगस्ट २८ तारिखतिर पेट्रिक प्याकिङ्गहाम अक्स्ब्रज भनिने ठाउँमा मरे। तिनलाई मास हुँदै गर्दा टोपी खोल्न नमानेको दोष लगाइएको थियो। जब बोन्नरले तिनलाई तिनको मत त्याग्ने आग्रह गरे, तब प्याकिङ्गहामले बिशपलाई यही भने कि क्याथोलिक चर्च शैतानको चर्च हो; यसैले तिनी कहिल्यै त्यस चर्चमा फर्किजानेथिएनन्।
जोन न्यूम्यानलाई साफ्रोन - वाल्डेन भन्ने ठाउँमा अगस्त ३१ तारिख जलाइयो; त्यही समयमा रिचर्ड हूकले पनि चिचेस्टर भन्ने ठाउँमा प्रभुको निम्ति आफ्नो प्राण दिए।
वार्न, ट्यान्करभिल र अरूहरू
यसपछि प्रभुका अरू दसजना सत्य दास र पवित्र जनहरूको सतावट भयो। यहाँ हामीले पोपले बनाएका सन्तहरूको कुरा गरेका होइनौं, न ता 'द लिजेन्ड अफ द सेन्टस्' वा 'द लाइफ्स अफ दी फादर्स' भन्ने किताबहरूमा उल्लेखित सन्तहरूको कुरा गछौं, तर प्रकाशको पुस्तकमा वर्णन गरिएका पवित्र जनहरू हाम्रो ध्यानको विषय हो; 'ख्रीष्ट- थुमा जता जता जानुहुन्छ, उहाँलाई त्यतै त्यतै पछ्याउनेहरू यिनीहरू नै हुन्। यिनीहरूले थुमाको रगतमा आफ्ना वस्त्रहरू धोएर तिनलाई सेता पारेका छन् (प्रकाश १४:४ र ७:१४)।' एक प्रकारले पोप आफैले यी मानिसहरूलाई पवित्र जन तुल्याए; किनकि उनले यिनीहरूलाई नमारेका भए यिनीहरू शहीद हुनेथिएनन्।
ती दसजना थिए: एलिजाबेथ वार्न, जर्ज ट्यान्करभिल, रोबर्ट स्मिथ, स्टिफन हावूड, थोमस फस्ट, विलियम हेल, थोमस लेयस, जर्ज किङ्ग, जोन वेड र जोअन लास्फोर्ड।
अब लण्डनका झ्यालखानाहरू पूरापूर भरिएका हुँदा र अझै धेर कैदीहरू ओइरिँदा काउन्सिल र प्रतिनिधिहरूले यी दसजनालाई झट्टै बोन्नरकहाँ पठाए – अरूका निम्ति ठाउँ खालि पार्नको निम्ति।
एलिजाबेथ वार्न अघिबाटै विधर्मी भनी जलाइएका जोन वार्नकी पत्नी थिइन्। तिनी जनवरी १ तारिखको दिनमा लण्डनको बाउ - चर्चयार्ड नामक गाउँको एउटा घरमा अरूसितै पक्रा परेकी थिइन्। तिनी त्यस घरमा अरूसित प्रार्थना गर्न भेला भएकी थिइन्। त्यसपछि तिनी जून ११ तारिखसम्म कैद गरिए; त्यसपछि तिनी न्यूगेटमा सरुवा भइन्। त्यहाँ तिनी जुलाई २ तारिखसम्म बसिन्। जुलाई ६ तारिख एलिजाबेथ बिशप बोन्नरकहाँ देखा परिन् - अरू नौजनाको साथमा, जसका नामहरू हामीले अघि बताइसकेका छौं।
तिनीहरूको विरोधमा लगाइएको मुख्य आरोपचाहिँ यही थियो: ख्रीष्टको वास्तविक शरीर र रगत प्रभु - भोजको रोटी र दाखमद्यमा हुन्छ भन्ने कुरा तिनीहरूले विश्वास गर्दैनथे। तिनीहरूमाथि लगाइएका अरू दोषहरू यस प्रकारका थिएः तिनीहरू चर्च जाँदैनथे, तिनीहरू मासको विरुद्ध बोल्दथे, तिनीहरूले क्याथोलिक धर्मानुष्ठान र विधिहरूलाई घृणा गर्थे।
बोन्नरको सामु धेरैपल्ट ल्याइएपछि एलिजाबेथ वार्नले उनलाई भनिन्ः 'तपाईंलाई जे जे गर्न मन पर्छ, गर्नुहोस्! यदि ख्रीष्टले भूल गर्नुभएको छ भने मैले पनि त्यस्तै भूल गरेँ हुँला।' जुलाई १२ तारिख तिनलाई विधर्मीको दण्ड - आज्ञा दिइयो र स्ट्राट्फोर्ड-ले-बाउ भन्ने ठाउँमा अगस्ट महिनामा जलाइयो।
जर्ज ट्यान्करभिल योर्क शहरमा जन्मेका थिए, अनि लण्डनमा जीवन बिताइरहेका थिए। तिनी राजा एड्वर्डको समयमा क्याथोलिक थिए, तर रानी मेरीको शासन - कालमा सतावट शुरु हुँदा ट्यान्करभिल सतावटहरूको कारणले विरक्त भए, अनि चर्च अफ इङ्गल्याण्डको विषयमा शङ्का गर्न थाले। तिनले परमेश्वरसित प्रभु-भोजका रोटी र दाखमद्य उहाँकै शरीर र रगतमा परिणत हुने कुराको बारेमा सत्य बताइदिनुहुन विन्ती - प्रार्थना गरे। यस विषयमा तिनको मनमा सधैं शङ्का उठ्न थाले। आफैले आफ्नो निम्ति बाइबल पढ्न थालेपछि ट्यान्करभिल चाँड़ै सम्पूर्ण तवरले क्याथोलिक चर्चबाट तर्किगए र आफ्ना मित्रहरूको मन परिवर्तन गर्ने काममा प्रयत्नशील हुन थाले। यस कुराले तिनलाई चाँड़ै लण्डनका बिशपको सामु ल्यायो, अनि ती बिशपले तिनलाई मृत्यु-दण्ड दिने न्यायको फैसला दिए।
अगस्त २६ तारिखको दिन ट्यान्करभिललाई मृत्यु-दण्ड भोग्न अल्बान्स भनिने ठाउँमा ल्याइयो र एउटा पौवामा बन्द गरेर राखियो। त्यस दिन शासन-अधिकारीहरूचाहिँ त्यहीं भइरहेको विवाहमा गए। तिनलाई बाहिरकाहरूसँग भेट्ने र कुराकानी गर्ने अनुमति थिएन; यसकारण तिनले अलिकति अङ्गुरको रस र रोटीको टुक्रा पाऊँ भनी विन्ती गरे र पाए। परमेश्वरकहाँ पाप स्वीकार गर्न घुँडा टेकेर तिनले बाइबलका सुसमाचारको पुस्तिकाबाट 'अखिरी भोज'को स्थापना भएको खण्ड पढ़े। तिनले यस्तो प्रार्थना गरे: 'परमप्रभु, मैले कसैको अधिकार छिन्न वा तपाईंका सेवकहरूलाई अपमान र घृणा गर्दै यसो गरेको होइन, तपाईं जान्नुहुन्छ; तर यी सब कुरा तपाईंको वचनअनुसार नगरिएको कारणले मात्र मैले यसो गरिरहेको छु।' जब तिनले यो प्रार्थना गरिसके, तब तिनले धन्यवादसाथ रोटी र दाखमद्य ग्रहण गरे।
तब ट्यान्करभिलले तिनको सत्कार गर्ने पौवादारलाई तिनको निम्ति आगो राम्रो प्रकारले फुकिदिने विन्ती गरे। त्यसपछि तिनले आफ्नो लुगा र मोचाहरू खोलेर एउटा खुट्टा आगोतिर तेर्साए; ज्वालाले त्यसलाई भेट्ने बित्तिकै तिनले खुट्टा आफूतिर ताने। यसरी तिनले तिनको शरीरले एउटा कुरा र तिनको आत्माले चाहिँ अर्को कुरा चाहन्थ्यो, सो स्पष्ट देखाए।
दुई बजेतिर शासन - अधिकारीहरूले ट्यान्करभिललाई रोम्ल्याण्ड भन्ने जग्गामा ल्याइपुरयाए; त्यो हरियो - परियो जग्गा एब्बी चर्चको पश्चिम किनारमा थियो। तिनको वरिपरि दाउरा मिलाउँदै गर्दा एउटा पुरोहित तिनको सामु आए; तब ट्यान्करभिलले चिच्च्याएर भनेः 'म बेबिलोनकी वेश्यालाई विरोध गर्छ। धिक्कार त्यस घृणित मूर्तिलाई! प्रिय भद्र जनहरूहो, पुरोहितको कुरामा विश्वास नगर्नुहोस्! ' आगोलाई अँगाल्दै तिनी आफै त्यस आगोमा डुबे र प्रभु येशूको नाम लिँदै तिनी त्यस कष्टबाट चाँड़ै पार भए।
रोबर्ट स्मिथलाई नोभेम्बर ५ तारिखको दिनमा न्यूगेटमा ल्याइयो; तिनी एक अग्ला, सिकुटे मानिस थिए; तिनी धेरै कामकुरामा सक्रिय थिए, विशेष गरी चित्रकलामा, जुन काममा तिनी विश्राम - आराम अनुभव गर्थे। एकपल्ट श्री टर्नर र अरूहरूको प्रचार- प्रसारद्वारा तिनको मन परिवर्तन भएपछि तिनी आफ्नो विश्वासमा जोश र उत्साहपूर्ण भए। जब रानी मेरीले सिंहासनमा आसन जमाइन्, तब स्मिथ विन्ड्सर कलेजमा भएको किरानी/क्लर्कको कामबाट निकालिए। तिनी पक्राउमा परे र बिशप बोन्नरकहाँ लगिए। स्मिथले बोन्नरसित चार पल्ट सामना गरे, साहससाथ उनका सबै प्रत्युत्तरहरूको उत्तर दिए, निडरसाथ धर्म-विज्ञानको सम्बन्धमा तर्क गरे सायद केही हदसम्म सोचविचार नगरी कुरा गरे - जबसम्म बोन्नरले बुझेनन्, कि जे-जति गरे पनि स्मिथलाई परिवर्तन गर्न सकिँदैन। बोन्नरले स्मिथलाई जुलाई १२ तारिखको दिनमा मृत्यु-दण्ड दिने फैसला सुनाए।
झ्यालखानामा हुँदा परमेश्वरले स्मिथलाई तिनीसितै कष्ट भोगिरहेकाहरूलाई सान्त्वना दिने काममा प्रयोग गर्नुभयो। अगस्त ८ तारिख जलाइने खाँबामा लगिँदा तिनले त्यसै गर्ने अठोट गरे, त्यहाँ भएका सबैलाई 'मेरो शरीर निश्चय नै बौरेर उठ्नेछ' भने। तिनले अझ यसो भने: 'मलाई पक्का विश्वास छः परमेश्वरले तपाईंहरूलाई त्यसको केही चिनो देखाउनुहुनेछ।' तिनी प्रायः आधासरो जलिसकेपछि र आगोले कालै भएपछि सबैले सोचे कि अब स्मिथ मरे; तर तिनी अचानक जुरुक्क उठे, जलेर ठूटे भइसकेका हातहरू उठाएर आनन्दसाथ ती हातहरूले थप्पड़ी मारे; त्यसपछि तिनी ज्वालाहरूको बीचमा बिस्तारै ढले।
स्टिफन हावूड र थोमस फस्ट प्रायः रोबर्ट स्मिथ र जर्ज ट्यान्करभिल मरेकै समयमा उनीहरूसितै न्याय गरिएर र मृत्यु-दण्ड दिइएर मरे। एकजना स्ट्राट्फोर्डमा जलाइए, अर्कोचाहिँ बेयरमा। विलियम हेलचाहिँ वार्नेटमा मरे। एकैपल्टमा दसजना मानिस बोन्नरकहाँ पठाइएकाहरूमध्ये छजनालाई विभिन्न ठाउँमा प्राण - दण्ड दिइयो। अरू तीनजना किङ्ग, थोमस लेयस र जोन वेड झ्यालखानामा यति साह्रो बिमारी भए कि उनीहरूलाई लण्डनका घरहरूमा राखिए, जहाँ उनीहरू सबैजना मरे। उनीहरूका मृत शरीर बाहिर कुनै खुला जमिनमा फालिए, तर विश्वासी जनहरूले राति गुप्त तवरले उनीहरूलाई दफन गरे। ती दसजनामा अन्तिमचाहिँ जोअन लाइस अर्थात् जोअन लास्फोर्ड थिइन्। तिनको मृत्यु- दण्ड केही समयको निम्ति स्थगित राखियो, तर अन्तमा तिनलाई पनि शहीदको रूपमा मारियो।
अध्याय ८
ग्लोभरहरू
जोन, रोबर्ट र विलियम ग्लोभरचाहिँ दाजुभाइहरू थिए। तिनीहरू लिचफिल्ड र कोभन्ट्रीको धर्म-प्रदेशमा बस्थे। जेठा जोन ग्लोभर भद्र जन थिए, म्यान्चेस्टर शहरमा भएको आफ्ना बाबुको धन-सम्पत्तिको उत्तराधिकारी थिए। तिनले निक्कै ठूलो जमिन र धन उत्तराधिकारमा प्राप्त गरेका थिए; तर जब तिनले र तिनका भाइहरूले परमेश्वरको पवित्र सुसमाचार ग्रहण गरे, तबदेखि नै तिनीहरू परमेश्वरका अनुग्रह र सद्गुणहरूमा धनी बनाइए। तिनीहरूले त्यही अनुग्रह र सद्गुणहरू उत्साहसाथ प्रदर्शन गर्दै जिए।
जोनले आफ्नो विश्वास खूबै गम्भीरतापूर्वक लिएका थिए; जब- जब तिनले आफ्नो कामधन्धाको विषयमा पूरा ध्यान दिनुपर्थ्यो, तब-तब तिनी आफूले परमेश्वरलाई निराश तुल्याएझैं सम्झन्थे र आफ्नो मुक्तिको विषयमा हताश हुन्थे। यस्ता भित्री शङ्का र निराशले तिनी पाँच वर्षसम्म कष्टग्रस्त थिए। जबसम्म परमेश्वरले तिनलाई तिनको कष्टबाट छुटकारा दिनुभएन, तबसम्म तिनलाई भोजन, निद्रा र आफ्नो जीवनमा समेत कुनै आनन्द भएन। अन्तमा जोनले आफ्नो धेरैजसो जमिन ख्रीष्टमा पाएका आफ्ना भाइबहिनीहरूलाई प्रयोग गर्न दिए; र रहेको जमिनचाहिँ तिनले आफ्ना नोकरचाकर र म्यानेजरहरूलाई दिए, ताकि तिनी सुसमाचारको अध्ययनमा लागिरहन सकून्। यो कुरा राजा अष्टम् हेनरीको राज्यकालको अन्ततिर भएको थियो, र राजा एड्वर्डको राज्यकालको धेरै भागसम्म यसरी चलि नै रहयो।
रानी मेरीको पालामा सतावट शुरु हुँदा र कोभन्ट्रीका बिशपले जोनको नाम चलेको सुन्न पाउँदा उनले कोभन्ट्रीका मेयर र अफिसरहरूलाई जोनलाई पक्रने आदेश दिए। तर परमेश्वरले आफ्ना वृद्ध र भरपर्दो दासले धेरै वर्षअघिदेखि नै भित्री कष्ट भोग्दै आएका जान्नुभयो; यसैले उहाँले तिनलाई शारीरिक कष्ट भोग्न दिन चाहनुभएन। मेयरले जोनलाई सावधान गराए; तब तिनी घरबाट भागे र भाइ विलियमकहाँ गएर लुके। अभाग्यवश, रोबर्ट निक्कै साह्रो बिरामी भएर ओछ्यानमा परेका थिए र तिनलाई यताउता लान समय थिएन कि उनीहरू डराए; जे होस्, जब खोजतलाश गर्नेहरू घरमा आए, तब तिनीहरूले भाइ रोबर्टलाई मात्र भेट्टाए र तिनलाई शासन-अधिकारीकहाँ लगे।
शासन - अधिकारीले भने कि रोबर्टलाई पक्रने हुकुम भएको थिएन; र उनले तिनलाई छोडिदिने जति सक्दो कोशिश गरे। तर उनलाई आफ्नो इच्छाको विरुद्ध रोबर्टलाई कैद गर्न जबरजस्ती गरियो - बिशप शहरमा आएर अन्तिम फैसला नगरुन्जेलसम्मको लागि।
झ्यालखानामा हालिएपछि रोबर्टका साथीहरूमध्ये कतिजना तिनलाई भेट्न आए; तिनका यी साथीहरूले तिनीसित आफ्नो छुटकाराको निम्ति एउटा बन्धन- पत्र लेखेर पठाउने आग्रह गरे। उनीहरूले तिनलाई धरौटी गुमाउनु नपर्ने गरी तिनी कसरी भाग्न सक्छन् - त्यो पनि स्पष्ट बताए। तर रोबर्टले उनीहरूले भनेझैं गर्न मानेनन्। 'यदि मैले मेरो घिच्रो फाँसीको डोरीबाट बचाउने कोशिश गरें भने मैले ख्रीष्टमा भएका मेरा कमजोर दाजुभाइहरूलाई ठेस खुवाउनेछु र परमेश्वरको वचनको अपमान गर्नेहरूलाई चाहिँ लाभ हुने काम गर्नेछु। तब यसो भनिनेछ कि मैले अरूहरूलाई संसारका सङ्कष्टहरू ग्रहण गर्ने, सामना गर्ने उत्साह दिएँ, तर आफैचाहिँ त्यसो गर्न तयार भइनँ' भन्दै तिनले आफ्नी पत्नीलाई सम्झाए। तिनलाई पक्रने आदेश पत्र/ वारण्टबिना र तिनको विरुद्ध कुनै दोष - पत्र नभई पनि रोबर्ट कोभन्ट्रीको झ्यालखानामा दस - एघार दिन थुनिए। तब त्यस शहरमा कोभन्ट्रीका बिशप आइपुगे। मासको विषयमा उनीहरूको बीचमा एकक्षण मतभेद चल्यो; तब बिशपले शहरमा आफ्नो काम नसिद्ध्याएसम्म रोबर्टको जाँचबुझ गर्ने काम स्थगित राख्ने निर्णय गरे। भोलिपल्ट रोबर्टलाई लिचफिल्डको झ्यालखानामा सारियो।
'श्री जेफकटले मलाई त्यस रात थुनामा राखे, जहाँ म एउटा साँघुरो, बलियो गारो भएको, एकदमै चिसो, थोरै उज्यालो भएको र पलङको सट्टामा परालको थाक भएको कोठामा मलाई दण्डको आज्ञा नदिएसम्म बसें।' अझ पनि साह्रै बिरामी अवस्थामा भएका रोबर्टलाई एउटा पलङ किन्नुबाहेक अरू कुनै अनुमति दिइएन। 'म साह्रै बिरामी थिएँ, र पनि मलाई दिनमा र रातको समयमा कुनै सहायता मिलेन वा कुनै साथी राख्ने अनुमति दिइएन - कागज, कलम र मसी पनि दिइएन; ल्याटिन भाषाको नयाँ नियम बाइबलबाहेक अरू कुनै किताब राख्न दिइएन। एउटा प्रार्थनाको पुस्तक पनि मैले आफ्नो निम्ति किन्नुपरयो।'
दुई दिनपछि च्यान्सलर रोबर्टलाई भेट्न तिनको कोठरीमा आए, तिनीसित फेरि क्याथोलिक चर्चमा फर्केर आउने आग्रह गरे। 'परमेश्वरको वचनद्वारा अनुशासित र सन्चालित नभएको मण्डलीको अधीनमा रहन म अस्वीकार गर्छु,' भन्दै तिनले जवाफमा च्यान्सलरलाई भने। च्यान्सलरले त्यस समय धर्मको सम्बन्धमा तर्क-वितर्क नगर्ने निर्णय गरे र बिशप नफर्केसम्म आठ दिनभरि उनले रोबर्टलाई त्यसै एक्लै राखे।
तब रोबर्ट बिशपकहाँ लगिए। बिशपले तिनलाई 'तिमीलाई झ्यालखानामा राखिएको कस्तो लाग्यो' भनेर सोधे, त्यसपछि तिनीलाई मण्डलीमा फर्केर आउने आग्रह गरे; 'तिम्रो मण्डली राजा एड्वर्ड हुनुभन्दा अघि कहाँ थियो?' भन्दै उनले खिसी गरे।
रोबर्टले यसो भन्दै उत्तर दिए: 'मेरो मण्डली प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालिएको हो, जसको कुने - ढुङ्गो प्रभु येशू आफै हुनुहुन्छ। अनि यही मण्डली शुरुदेखि नै थियो, यद्यपि यो मण्डली संसारको दृष्टिमा त्यति महिमित देखिँदैन; किनकि यो सधैं दुःखकष्ट सहिरहेको र सतावट भोगिरहेको दशामा छ।'
बिशपले रोबर्टलाई पाप - स्वीकार र पवित्र विधिहरूको सम्बन्धमा सधैँ सोधिने प्रश्नहरू गर्दै जाँच गरे; रोबर्ट आफ्नो विश्वासमा अटल र स्थिर रहे। तिनलाई चाँडै मृत्यु-दण्ड दिइयो र जलाइयो।
आफ्नो भाइ तिनको सट्टामा मरेपछि जोन ग्लोभर आफ्नो जीवनको अझ धेरै बेवास्ता गर्ने भए, तर तिनका साथीहरूले तिनलाई लुकेरै बस्न मनाए; किनकि तिनी मरे तापनि तिनले आफ्नो भाइलाई बचाउन सक्नेथिएनन्। मानसिक र शारीरिक कष्ट सहनुपरे तापनि जोन दृढ़ भइबसे। तब रानी मेरीको राज्यकालको अन्तमा तिनको बारेमा नयाँ खोज शुरु भयो।
जब शासन-अधिकारी र उनका अफिसरहरू त्यस घरमा आए, त्यति बेला जोन आफ्नो कोठामा एक्लै थिए। होहल्ला सुनेर तिनले चुपचाप बिस्तारै ढोकामा आग्लो लाए। जब एकजना अफिसरले ढोका तोड्नै आटेका थिए, तब त्यस कोठाको तलाशी अघिबाटै भइसक्यो भन्ने अर्को अफिसरले उनलाई त्यहाँबाट अन्यत्र लगे। तर ती अफिसरहरूले जोनकी पत्नी एग्नेसलाई भेट्टाए। तिनी बिशपकहाँ लगिए: तिनलाई आफ्नो विश्वास त्याग्न जबरजस्ती गरियो र अन्तमा तिनी छोड़िए, तर जोनलाई चाहिँ बनहरूहुँदो लुकी छिपी बस्न कर लाग्यो। पत्नीको चिन्ताफिक्रीले र मौषमको नराम्रो प्रभावले जोन पनि साह्रै कमजोर भए तिनलाई ज्वरोले पक्र्यो र तिनी चाँड़ै मरे। पुरोहितको सेवा र रीति-विधिबिनै तिनका मित्रहरूले तिनको मृत शरीर गिर्जाको कबरस्तानमा गाड़े।
६ हप्तापछि च्यान्सलर डा० ड्राकोटले त्यस चर्चको पास्टरलाई बोलाएर उनलाई 'किन एउटा धर्म-विरोधी व्यक्तिको मृत शरीर चर्चको कबरस्तानमा गाड़ियो' भनी सोधे। ती पास्टरले उत्तरमा भनेः त्यस बेला तिनी बिरामी थिए, र त्यस दफनको बारेमा तिनलाई केही थाहा थिएन। ड्राकोटले जोनको शरीर खनेर निकाल्ने र बाटोमा फ्याँकिदिने माग गरे; तब ती पास्टरले भनेः अब त्यो शरीर यति साह्रो गन्हाउने भइसक्यो; यसैले कसैले पनि त्यस्तो काम गर्न मान्दैनथ्यो।
ड्राकोटले भनेः 'त्यसो भने यो पत्र लैजाऊ र पुल्पिटबाट जोनलाई “नरकको योग्य आत्मा हो" भनी घोषणा गर! अबको एक वर्षपछि त्यसको मासु कुहेर गएपछि त्यसका हड्डीहरू निकाल र बाटोमा फ्याँकिदेऊ, जहाँ घोड़ा गाड़ीहरू र घोड़ाहरूले ती हड्डीहरू कुल्चीमिल्ची पारून्। तब म आउनेछु र जोन पस्त्रिरहेका त्यस चर्चको कबरस्तानलाई अर्थात् त्यस चर्चको आँगनलाई प्रभुको नाममा शुद्ध पार्नेछु।'
विलियम पनि चाँड़ै मरे। जब वेमका मानिसहरूले तिनको मृत- शरीरलाई चर्चमा गाडून भर्खरै मात्र ल्याइपुरयाए, तब सहकारी पुरोहित/क्यूरेट घोड़ामा चढेर बिशपकहाँ गए र यस्तो दफन कसरी रोक्न सकिन्छ भन्ने विषयमा अर्ती, सर-सल्लाह मागे। त्यो मृत शरीर एक दिनभरि नै चर्चमा राखिएपछि रिचर्ड मरिस नाम भएका एउटा दर्जीले आफैले त्यो मृत -शरीरलाई राति गाडूने निर्णय गरे, तर ती सब गर्नदेखि जोन थोर्लिन र अन्य व्यक्तिहरूले तिनलाई रोके।
एकदिनपछि त्यो क्यूरेट/सहकारी पुरोहित बिशपको चिट्ठी लिएर फर्किआए; त्यस चिट्ठीमा भनिएको थियो, कि विलियम ग्लोभरलाई ख्रीष्टिय दफन दिइँदैन र तिनको शरीर तिनका साथीहरूले लैजानुपर्छ। त्यस बेलासम्म तिनको शरीर कुहुन थालेको थियो। कोही त्यसको नजिक जान सक्दैनथियो। यसकारण तिनको शरीरलाई घोडाहरूले तानेर एउटा बारीमा पुस्याए, र त्यो त्यही गाड़ियो।
ठीक त्यस्तै अवस्था चेष्टरको वकिल एड्वर्ड बर्टनको भयो। तिनको मृत्यु रानी एलिजाबेथको राज्याभिषेक हुनुभन्दा एक दिन अघि भयो। स्थानीय क्यूरेट जोन मार्शलले तिनको शरीर चर्चको आँगनमा दफन गर्न दिएनन्। यसकारण बर्टनलाई तिनको बगैंचामा दफन गरियो।
विलियम वोल्सी र रोबर्ट पिगोट
९ अक्टोबर १५५५मा विस्बीचका बासिन्दा विलियम वोल्सी र रोबर्ट पिगोटलाई एली भन्ने ठाउँमा बिशपका च्यान्सलर जोन फुल्लर, तिनका अनुधर्माध्यक्ष डा० श्याक्सटन, एलीका डीन रोबर्ट स्टेवर्ट र नोर्विकका डीन जोन क्रीष्टोफर्सनले मृत्यु - दण्डको आज्ञा दिए।
विलियम वोल्सी वेल्ल्स शहरको पुलिस/ प्रहरी थिए। तिनलाई न्यायाधीश रिचर्ड इभरार्डले दोषारोपण गरेका थिए, र तिनी झ्यालखानामा थुनिएका थिए।
वोल्सी दण्डित हुनुभन्दा अघि डा० फुल्लर र अरूहरू तिनलाई भेट्न आए र तिनलाई फेरि क्याथोलिक चर्चमा फर्केर आउने आग्रह गरे, तर उनीहरू असफल भए। झ्यालखानाबाट निस्कनुभन्दा अघि फुल्लरले वोल्सीलाई लिन्कल्नका बिशप डा० बाट्सनले लेखेका पुस्तक दिए। उनले त्यस किताबले वोल्सीलाई तिनको धर्म-सिद्धान्त कहाँ भूल-भ्रान्तिमा छ, सो देखाउनेछ र तिनले हालमा स्वीकारेका धर्म सिद्धान्तअनुसारको विश्वासलाई त्याग्नेछन् भन्ने आशा गरेका थिए। उनले शङ्का गरेझैं वोल्सीले त्यो पुस्तक धर्मशास्त्रको विरोध गर्ने मन्तव्यहरूले पूर्ण भएको पाए। यसकारण त्यो पुस्तक तिनले ती च्यान्सलरलाई उनको अर्को भेटघाटमा फर्काइदिए।
त्यस रात, जब डा॰ फुल्लरले त्यो पुस्तक हेरे, तब त्यसमा वोल्सीले मसीले टिप्पणी/ नोटहरू लेखेका भेट्टाए। 'यस ढीठ धर्म- विरोधीले मेरो पुस्तक बिगारेको छ,' भन्दै उनले गनगनाए। रपनि वोल्सी अदालत/कोर्टमा देखा पर्ने समय नजिक - नजिक आउँदा फुल्लर फेरि तिनलाई भेट्न आए। फुल्लरले भनेः 'तिमीले मेरो विवेकलाई परेशान गरिरहेछौ। तिमी जाऊ, तर बोल्नुमा होशियार गर; र कसैले मकहाँ आएर सिकायत नगरोस्। तिमीलाई मन परेको समयमा गिर्जामा आऊ; अनि यदि कोही मकहाँ आएर तिम्रो विषयमा सिकायत गरयो भने म तिनीहरूलाई तिनीहरूको कुरा नसुनी पठाइदिनेछु।'
वोल्सीले उत्तर दिए: ‘डाक्टर, मलाई कानुनले यहाँ ल्याएको हो, र कानुनले नै मलाई छुटकारा दिनेछ।' जाँच गरिएपछि वोल्सी केही समयको निम्ति विस्बीचको किल्लामा कैद गरिएर राखिए।
यसै बेला एक चित्रकार रोबर्ट पिगोटमाथि गिर्जा नगएको दोष लगाइयो। विस्बीचको न्यायाधीशको सामु देखा पर्दा तिनलाई गिर्जा नगएको कारण के हो, सो सोधियो।
उत्तरमा तिनले भने: 'महाशय, म मण्डलीबाट कहिल्यै निस्केर गएको छैनँ। म त परमेश्वरमा भरोसा राख्दैछु।'
'तर यो त कुनै गिर्जा होइन यो त एउटा भवन मात्र हो नि।' 'हजुर, यो कुरा साँचो हो, तर जसले प्रभु येशूमाथि साँचो गरी विश्वास गर्दछ, ऊ त सधैं नै मण्डलीभित्रै हुन्छ।'
'अहो, तिमी त मभन्दा धेरै जान्ने भयौ। म तिमीसित अझ बोल्दिनँ, तर तिमीलाई विद्वानहरूकहाँ पठाउनेछु।'
पिगोट वोल्सीसँगै न्यायालय/कोर्टको जाँच नसकिन्जेल सँगसँगै झ्यालखानामा बसे। उनीहरूलाई एलीको कोर्टमा पठाइयो। १५५५ सालको सेप्टेम्बरको ९ तारिखमा उनीहरू दुवैलाई डा० फुल्लरले उनीहरूको धार्मिक विश्वासको बारेमा, विशेषतः प्रभु-भोजको दाखमद्य र रोटी ख्रीष्टकै रगत र शरीरमा परिणत हुने-नहुने विषयमा जाँच गरे। उनीहरूको दण्ड - आज्ञा सुनाएपछि र एउटा उपदेश प्रचार गरिएपछि उनीहरूलाई जलाइने खाँबामा साङ्लाले बाँधियो। आफ्नो विश्वासको सम्बन्धमा भूल- विचार त्याग भनी भनिँदा वोल्सीले यस प्रकारले उत्तर दिए: 'मैले पवित्र बाइबलको कुनै पनि विषयमा भूल-धारणा लिएको छैन; परमेश्वर साक्षी हुनुहुन्छ। मैले बाइबलको खाँटी शिक्षा अपनाएको छु, र म पक्का जान्दछु, कि संसारको अन्तसम्म यो मेरो उद्धारको निम्ति साथै अरूहरूको उद्धारको निम्ति दिइएको हो। मेरा शत्रुहरूले जेसुकै भने पनि परमेश्वरले उनीहरूलाई क्षमा गरिदिऊन् भनी म विन्ती गर्छ।'
आगो सल्काइनुभन्दा केही क्षण पहिले कसैले उनीहरूसितै जलाउनलाई एक थाक अंग्रेजी नयाँ नियम बाइबलहरू ल्यायो। वोल्सीले भनेः 'अहो, तीमध्ये एउटा मलाई दिनुहोस्!' पिगोटले पनि त्यसरी नै एउटा बाइबल मागे, र ती दुवैजना भजनसंग्रह १०६ अध्याय गाउँदै र ती बाइबलहरू छातीमा आफ्ना मुटुमाथि अँगाल्दै सँगसँगै जलेर मरे।
बिशप रिड्ली
१५५५ सालको अक्टोबर महिनाको १६ तारिख अर्थात् त्यही दिन जब एलीमा वोल्सी र पिगोट मरेका थिए, मण्डलीका अरू दुईजना विशिष्ट अगुवाहरू अक्सफोर्डमा मरे। उनीहरू थिए : लण्डनका बिशप रिड्ली र वरचेस्टरका बिशप हग लाटिमर।
रानी मेरीको समयमा ख्रीष्टको साँचो सुसमाचारको निम्ति शहीद भएकाहरूमा आत्मिक प्रेरणा र धार्मिक शिकाको विषयमा डा० रिड्ली एक उत्तम नमुना थिए। नोर्थ-उम्बेरल्याण्डमा जन्मेका रिड्लीले बालककालमा न्यूक्यासलको स्कूलमा व्याकरण सिके; त्यसपछि क्याम्ब्रिजमा तिनले अध्ययन गरे। क्याम्ब्रिजमा चाँडै तिनी तिनको ज्ञान बुद्धिको खातिर प्रसिद्ध भए, अनि चाँड़ै उन्नति गर्दै गए। धर्म - विज्ञानको सम्बन्धमा तिनले डाक्टरको उपाधि प्राप्त गरे, अनि पेम्ब्रोक - हलको अध्यक्ष भए। त्यसपछि तिनी पेरिस गए। फर्केर आएपछि तिनी अष्टम् हेनरीको पुरोहित बनाइए अनि राजाद्वारा रोचेस्टरका बिशपको रूपमा नियुक्त गरिए। राजा एड्वर्डको पालोमा तिनले लण्डनका बिशप भई सेवा गर्थे।
ख्रीष्टको सत्य शिक्षा - सिद्धान्त रिड्लीले आफ्नो बगालरूपी मण्डलीलाई यति परिश्रमसाथ प्रचार गरे र सिकाए कि मण्डलीका सदस्य- सदस्यहरूले तिनलाई एउटा बालकले आफ्नो बाबुलाई प्रेम गरेझैं प्रेम गरे। मौरीहरू महमा झुतिएझैं मानिसहरू तिनको उपदेश सुन्न झुतिन्थे, यही जानेर कि तिनीहरूका बिशपले ख्रीष्टको प्रचार मात्र गर्दैनथिए, तर एउटा शुद्ध र पवित्र जीवन पनि जिउँथे। तिनी अनौठा स्मरणशक्ति भएका एक असल, सुशिक्षित व्यक्ति थिए; तिनका शत्रुहरूले पनि तिनका शिक्षापूर्ण लेखोटहरू, प्रभावले पूर्ण उपदेश र भाषणहरू मन पराउँथे।
साथै रिड्ली कामकुरामा खूबै समझदार र विवेकी भएका हुनाले उत्तम सरसल्लाह दिन्थे। तिनी एड्वर्डको राज्यकालमा क्याथोलिक- हरूसित दयालु र होशियारी व्यवहार गर्थे, र यसरी तिनले तिनीहरूमध्ये धेरैलाई आफ्नो भद्र - सौम्य शिक्षाद्वारा जितेर प्रोटेस्टेन्ट बनाए।
रिड्ली एक आकर्षक/मनोहर व्यक्ति थिए। तिनी कहिल्यै कसैसित मनमुटाव/दुरभावना राख्दैनथे, र तिनको विरोधमा केही हानि गर्नेलाई सधैं नै क्षमा दिन्थे। तिनी आफ्ना आफन्तहरूप्रति दयालु र मायालु थिए, तर तिनीहरूबाट पनि मण्डलीकाहरूबाट आशा गरेको दैनिक जीवनको सुव्यवहारको आशा राख्थे। खराबी गर्ने कुनै पनि आफन्तले तिनीबाट विशेष व्यवहारको आशा गर्न सक्दैनथ्यो; इमानदारी, भक्तिपूर्ण जीवन जिउनेहरू जोसुकै होऊन्, उनीहरू नै तिनका भाइबहिनीहरू गनिन्थे।
रिड्ली नियन्त्रित/नियमित र संयमी जीवन जिउँथे। बिहान लुगासुगा लाइसक्ने बित्तिकै तिनी आफ्नो कोठामा घुँडा टेकेर आधा घण्टा प्रार्थना गर्थे। त्यसपछि तिनी अध्ययन - कोठामा जान्थे र त्यहाँ १० बजेसम्म काम गर्थे। बिहानको १० बजे पारिवारिक प्रार्थना हुन्थ्यो। प्रार्थनापछि तिनी भोजन लिन्थे। खाना खाँदा तिनी कम्ती बोल्थे। त्यसपछि बेलुकी ५ बजेको प्रार्थनासम्म तिनी अध्ययन - कोठामा काम गर्थे। बेलुकीको खाना खाइसकेपछि तिनी राति ११ बजेसम्म काम गर्न अध्ययन-कोठामा रहन्थे; त्यसपछि तिनी सुत्न जान्थे।
फुल्हाम भन्ने ठाउँमा रिड्लीको भव्य भवनमा तिनले प्रत्येक दिन आफ्नो परिवारलाई उपदेश दिने गर्थे - प्रेरितहरूका काम नामक पुस्तक- बाट शुरु गरेर पावलका पत्रहरूसम्म। तिनले आफ्नो परिवारमा पढ्न सक्ने हरेक व्यक्तिलाई नयाँ नियम बाइबल दिए। तिनको ठूलो चाहना यही थियो कि तिनको परिवारचाहिँ सद्गुण र इमानदारीको सठीक र असल उदाहरण बनोस। छोटकारीमा यसो भनौंः तिनी आफै यति भक्त र सद्गुणले युक्त थिए कि यी गुणहरू तिनको परिवारमा पनि परिपूर्ण थियो।
फुल्हाममा घरैमा छँदा रिड्लीले सधैँ आफ्नो छिमेकी श्रीमती बोन्नर र उनकी बहिनीलाई दिउँसो र बेलुकीको खानामा निम्त्याउँथे। अरू कुनै गण्यमान्य व्यक्ति उपस्थित हुँदा पनि तिनले उनैलाई टेबलको पल्लो छेउमा भएको मुख्य आसनमा बस्न दिन्थे। 'तपाईंको कृपामा, तिनी आफ्नो अतिथिलाई भन्ने गर्थे, 'यो ठाउँचाहिँ मेरी आमा बोन्नरको निम्ति हो।' श्रीमती बोन्नरचाहिँ पछि रानी मेरीको समयमा बिशप बोन्नर हुने मानिसकी आमा थिइन् – जुन व्यक्तिले रिड्ली लगायत अरू धेरै प्रोटेस्टेन्टहरूलाई मार्न लगाए।
डा० रिड्लीले पहिले बर्टरामले लेखेको पुस्तक 'बूक अफ द साक्रामेण्ट' पढेर अनि बिशप क्रान्मर र पीटर मार्टीरसित तर्कमय बहस गरेर सुसमाचार ग्रहण गरेका थिए। जब रानी मेरीले सिंहासन जमाइन्, तब तिनी पक्रा परे। पहिले तिनी टावर अफ लण्डनमा कैद गरिए, त्यसपछि क्यान्टरबरीका आर्च-बिशप र हग लाटिमरसित अक्सफोर्डको काराबासमा पठाइए। दोषी ठहराइएपछि तिनी १५५४ सालदेखि १५५५ सालसम्म, तिनको मृत्यु नभएसम्म मेयर आईरिशको घरमा थुनामा राखिए।
बिशप लाटिमर
बिशप लाटिमर लिचेस्टरको थरक्यास्टन भन्ने जगहको खूब नामी खेतीवाल हग लाटिमरका छोरा थिए। चार वर्षको हुँदा तिनी स्कूलमा भर्ना गरिए र साहित्यको अध्ययनमा लगाइए; चौध वर्ष पुग्दा धर्म - विज्ञानको अध्ययन गर्न तिनी यूनिभर्सिटी अफ क्याम्ब्रिजमा भर्ना भए र खूबै इमानदारीसाथ रीति-विधान पूरा गर्ने क्याथोलिक पुरोहित भए। पहिले लाटिमर प्रोटेस्टेन्टहरूको कट्टर विरोधी थिए, अनि फिलिप मेलान्क्थन र मास्टर स्टाफोर्डले लेखेका पुस्तकहरूको विरोध गरे। तर थोमस बिल्नीलाई लाटिमरको माया लाग्यो, र तिनलाई ख्रीष्टको विषयमा सत्य ज्ञान दिएर प्रभुमा ल्याउने निर्णय गरे। बिल्नीले लाटिमरलाई आफ्नो विश्वासको साक्षी सुनाए; बिल्नीको विश्वासको साक्षी सुनेर लाटिमर यति प्रभावित भए कि तिनले क्याथोलिक विद्वानहरूको अध्ययन त्यागेर सत्य धर्म-विज्ञानको अध्ययनमा लागे। पहिले तिनी ख्रीष्टका शत्रु थिए भने अब तिनी ख्रीष्टका जोशिला अन्वेषक/ खोजी गर्ने व्यक्ति भए, यहाँसम्म कि तिनले स्टाफोर्डलाई, उनको मृत्यु हुनुभन्दा अघि क्षमा पनि मागे।
१५२९ सालमा क्याम्ब्रिजमा भएका सबै स्कूलका धेरै मठवासीहरू र धर्म - विज्ञानका आचार्यहरूले लाटिमर र तिनको नयाँ विश्वासका सिद्धान्तहरूको विरोधमा प्रचार गर्न थाले। एलीका बिशप डा० वेस्टले तिनलाई त्यस विश्वविद्यालयका गिर्जाहरूमा प्रचार गर्न दिएनन्, तर अगस्तिनी मठका प्रमुख डा० बार्नेसले चाहिँ लाटिमरलाई आफ्नो चर्चमा प्रचार गर्ने अनुमति दिए। एउटा सत्य चेलाको रूपमा लाटिमरले आउँदो तीन वर्ष त्यस विश्वविद्यालयमा भएका दाजुभाइहरूलाई र आफ्नो मण्डलीका सदस्यहरूलाई प्रभुमा ल्याउने काम गर्दै बिताए - शिक्षितहरूसित लाटिनमा बोल्दै र साधारण मानिसहरूसित अंग्रेजीमा बोल्दै।
लाटिमर र बिल्नी दुवै केही समयसम्म आपस्तमा धेरै कुराकानी गर्दै क्याम्ब्रिजमै बसे; उनीहरू सँगसँगै हिँडेको त्यस ठाउँ चाँडै 'हेरेटिक्स हिल' अर्थात् ईश्वर-निन्दकहरूको डाँड़ा भनिन थाल्यो। ती दुवैले झ्यालखानामा कैदीहरूलाई भेटेर, खाँचोमा परेकाहरूलाई सहायता दिएर अनि भोकाएकाहरूलाई खानेकुरा दिएर ख्रीष्टियानहरूले दिनुपर्ने असल उदाहरण दिए।
तीन वर्षसम्म क्याम्ब्रिजमा प्रचार गर्ने र शिक्षा दिने काम गरेपछि लाटिमरलाई ईश्वर - निन्दक आरोपको निम्ति जाँच गर्न कार्डिनलको सामु पेस गरियो। यस समयमा तिनी मण्डलीको इच्छाअनुसार मोड़िए र तिनलाई विश्वविद्यालयमा फर्केर आउने अनुमति दिइयो - जहाँ अष्टम् हेनरीको डाक्टर र सहयोगी डा० बट्ससित तिनको भेट भयो। लाटिमरले केही समयको निम्ति राजा हेनरीका राजदरवारमा बट्ससित मिलेर काम गरे र लण्डनमा प्रचार गरे। तर राजदरवारको कामदेखि तिनी वाक्कै भए। यसकारण राजाले दिनुभएको वेस्ट किङ्गस्टनमा एउटा पद/काम ग्रहण गरे। त्यहाँ तिनले आफ्नो मण्डली - क्षेत्रमा र छेउ छेउका बस्तीहरूमा भएका सबैलाई खूब परिश्रम गरेर शिक्षा दिए।
सुधारको सम्बन्धमा तिनको विश्वास र सिद्धान्तहरूले गर्दा गाउँ - बस्तीका धेरै पुरोहितहरू र परम्परानिष्ठ धर्मगुरुहरूलाई क्रोधित तुल्याउन लाटिमरलाई धेरै समय लागेन। तिनलाई १५३१ सालको जनवरी महिनाको २९ तारिखमा क्यान्टरबरीका आर्च बिशप विलियम वारहाम र लण्डनका बिशप जोन स्टोक्स्लीको सामु उपस्थित हुने हुकुम दिइयो। तिनी केही समयको निम्ति लण्डनमा राखिए, हरेक सातामा तीन पल्ट न्याय- जाँच गर्न जकिए। अन्तमा तिनले आर्च बिशपलाई पत्र लेखेर भनेः तिनी साह्रै बिरामी परेका हुँदा अब उप्रान्त जाँचको निम्ति तिनी उपस्थित हुन सक्दैनथिए। त्यही पत्रमा तिनले यो दुःख पनि पोखाए कि मण्डलीभित्र भएको कति दुर्व्यवहारको विषयमा प्रचार गरेकामा, अरू कुनै खास उचित कारणबिना तिनलाई मण्डलीबाट टाढा राखिएको छ। अन्तमा लाटिमरले तिनलाई लाएका अभियोगहरू स्वीकार गरेझैं देखिन्छ (यद्यपि त्यस्तो कुनै प्रमाण पाइएको छैन), अनि बट्स, क्रमवेल र राजाको प्रयासमा तिनी जेल - नेलबाट मुक्त भए।
समयमा अष्टम् हेनरीले लाटिमरलाई वर्चेस्टरका बिशप बनाए, र त्यहाँ तिनले विश्वासयोग्य भई सेवा गरे। यद्यपि त्यस समयका खतराहरूले गर्दा तिनले मनले चित्ताएअनुसार सबै काम गर्न सकेनन्। तिनी आफ्नो धर्म-प्रदेशबाट अन्धविश्वासहरू हटाउन सफल भएनन्। तर आफ्नो मण्डलीका मानिसहरूलाई तिनीहरूको जीवन र सेवा - आराधनाहरूबाट जतिसक्दो अन्धविश्वास हटाउन सहायता गर्दै लाटिमरले क्याथोलिक चर्चभित्र रही सकभर काम गरे; र पनि पुरोहितवर्गका कति व्यक्तिहरूले तिनलाई सताइ नै रहे।
जब 'सिक्स आर्टिकल्स' अर्थात् ६ धर्म -सूत्र पारित भए, तब लाटिमरले स्याल्सबरीका बिशप स्याक्सटनले झैं आफ्नो पद- भारबाट स्वेच्छापूर्वक अवकाश लिए। तिनी लण्डन गए, जहाँ तिनलाई बिशपहरूले सताए र राजा एड्वर्डले राज - सिंहासन आरोहण नगरेसम्म टावर अफ लण्डनमा कैद गरे। कैदबाट छुट्टिएपछि लाटिमर फेरि काम गर्न थाले। प्रत्येक आइतबार तिनी दुईपल्ट प्रचार गर्थे, साताको बीचमा पनि दिनदिनै एकपल्ट प्रचार गर्थे, जब कि अरू धेरै पुरोहितहरूले एड्वर्डका राज्यकालमा आ-आफ्ना कर्तव्यहरू अवहेलना गर्थे। तिनी ६७ वर्ष पुगेका थिए, अनि एउटा रूख लड्दा तिनले पाएको चोटको कारणले कष्ट भोगिरहेका थिए।
राजा एड्वर्डको मृत्युपछि चाँड़ै लाटिमर रानी मेरीको हुकुममा पक्रा परे र फेरि लण्डनको टावरमा थुनामा परे। त्यहाँ तिनले ठूलो कष्ट सहे। विन्चेस्टरका बिशप गार्डिनरले लाएका दोषारोपनको उत्तर दिनलाई तिनी क्यान्टरबरीका आर्च बिशप क्रान्मर र लण्डनका बिशप रिड्लीसित अक्सफोर्डको कदैखानामा सारिए। उमेरको कारणले लाटिमरले कैदखानामा छँदा रिड्ली र क्रान्मरले भन्दा कम्ती नै लेखे; तिनी धेरै समय प्रार्थनामै बिताए। तिनले विशेषतः यी तीन मुख्य विषयमा प्रार्थना गरेः
- परमेश्वरले तिनलाई प्रचारकको काममा नियुक्त गर्नुभएको थियो; यसैले लाटिमरले ' म तपाईंको शिक्षा - सिद्धान्तका निम्ति मृत्यु - पर्यन्त खड़ा रहन सकूँ' भनी अनुग्रह पाउनको निम्ति परमेश्वरलाई प्रार्थना गरे।
- तिनले परमेश्वरसित, 'इङ्गल्याण्डमा तपाईंको सुसमाचार प्रचार गर्ने ढोका फेरि एकपल्ट खोलिदिनुहोस्' भनी प्रार्थना गरे।
- तिनले 'एलिजाबेथ इङ्गल्याण्डकी रानी होऊन्' भनी प्रार्थना गरे; 'रानी एलिजाबेथलाई इङ्गल्याण्डको शान्तिहीन राज्यमा शान्ति र सान्त्वनाका पात्र बनाइदिनुहोस्' भनी परमेश्वरसित विन्ती - प्रार्थना गरे।
समयमा लाटिमरका यी तीनटै प्रार्थनाको उत्तर दिइनेथियो।
रिड्ली र लाटिमर
१५५५ सालको सितम्बर ३० तारिखको दिनमा रिड्ली र लाटिमर उनीहरूको विरोधमा लाइएको विधर्मको आरोपको सम्बन्धमा उत्तर दिन अक्सफोर्डमा बिशपहरूको दलको सामु एकैसाथ देखा परे। पहिले रिड्लीको जाँच गरियो।
लिन्कल्नका बिशपले रिड्लीसित धर्म - विरोधी कुराहरू त्यागेर आफूलाई पोपकहाँ समर्पण गर्ने आग्रह गरे। 'आफ्ना भूलहरू त्याग्यौ भने, तिम्रा धर्म-विरोधी र राजद्रोही विचार र मन्तव्यहरू इन्कार गरयौ भने साथै सुसमाचारको निस्सन्देह विश्वास र सत्यतामा आफैलाई समर्पण गर्न राजी भयौ भने तिमीलाई ग्रहण गर्ने, मिलाप गराउने र पूरा पश्चात्ताप गरेवापत तिमीलाई ख्रीष्टको मण्डलीमा सदस्यको रूपमा ग्रहण गर्ने अधिकार हामीलाई दिइएको छ।' यी बिशपले निम्न तीन विषयमा विशेष जोड़ दिए:
- पोपले पत्रुसबाट, जो मण्डलीका जग थिए, तिनीबाटै उत्तराधिकार पाएका थिए।
- अघि-अघिका मण्डलीका गुरुहरूले आफ्ना लेखोटहरूमा पोपको सर्वाधिकार मानिलिएका थिए।
- रिड्ली आफैले पनि यो कुरा पहिले विश्वास गर्थे।
रिड्लीले यी तीन कुराको विषयमा यस प्रकारले उत्तर दिए: पहिलो, पत्रुस मण्डलीको जग थिएनन्, तर पत्रुसले स्वीकार गरे कि ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्थ्यो। यही विश्वासचाहिँ मण्डलीको आधार हो, कुनै मानिस होइन।
दोस्रो, शुरुको मण्डलीमा रोमको बिशप सर्वोच्च थिए; किनभने त्यस समयको संसारमा रोम शहर सर्वमहान् थियो; तर उनको अधिकार अरू बिशपहरूको भन्दा धेरै थिएन। जबसम्म रोमको धर्म - क्षेत्र सुसमाचारको सत्यता अडिएको थियो, तबसम्म त्यहाँका बिशप मण्डलीको हरेक सदस्यबाट आदर-सम्मान पाउनुको योग्य हुन्थे, तर जब तिनीहरूले आफैलाई आफ्नो मान - आदरको निम्ति राजाहरू र सम्राटहरूभन्दा माथि उच्च स्थानमा राख्न थाले, तब रोमका बिशपहरू ख्रीष्ट - विरोधी भए।
तेस्रो, अन्तिम विषयमा रिड्लीले स्वीकार गरे: हो, एकपल्ट तिनले यहाँ उपस्थित बिशपहरूले विश्वास गरेजस्तै विश्वास गर्थे; प्रेरित पावलले गरेजस्तै, जो अघि एकपल्ट ख्रीष्टका अभियोगी/ सताउने थिए।
लिन्कल्नका बिशपले रिड्लीको कुरा बीचैमा काटे, र तिनलाई मण्डलीमा फेरि ग्रहण गर्ने वा मण्डलीबाट बहिष्कृत गर्ने अधिकार त्यस जाँच गर्ने दलसित छ। त्यस दलले जे गर्छ, त्यसमा रानीको सहयोग हुन्छ नै; किनकि रानी मण्डलीको विश्वासयोग्य सदस्या थिइन् भनी तिनलाई स्मरण गराए। त्यसपछि निम्न अभियोग तिनको र लाटिमरको विरोधमा लगाइयो :
रिड्ली दृढ़तासाथ भन्थे कि प्रभु-भोजका रोटी र दाखमद्यमा येशूको साँचो शरीर हुँदैन।
- तिनी सिकाउँथे कि अर्पण गरेपछि त्यो रोटी र दाखमद्य केवल रोटी र दाखमद्य नै रहन्छन्।
- तिनको विश्वासअनुसार 'मास' जिउँदा र मरेकाहरूका निम्ति प्रायश्चितजनक बलिदान हुँदैन।
डा० बेस्टन र अरूहरूले यस प्रकारको विश्वास विधर्मी र भ्रमात्मक छ भनी घोषणा गरेका छन्।
- यहाँ माथि भनेका कुराहरू जम्मै सत्य र सुप्रसिद्ध छन्।
रिड्लीलाई केवल हो कि होइन भनेर सबै अभियोगको उत्तर दिने आह्वान दिइयो, र यी उत्तरहरूको विषयमा सोच्ने समय पाएपछि भोलिपल्ट तिनलाई आफ्ना उत्तरहरू संशोधन गर्ने मौका दिइने वचन पनि दिइयो। उत्तर दिनुभन्दा पहिले रिड्लीले यसो भन्दै आफ्नो विरोध जनाएः तिनले जे भन्दछन्, ती सब कुरा तिनले अनिच्छासाथ भन्दछन्, र तिनको उत्तर दिने कामले तिनीमाथि त्यस दलको वा पोपको अधिकार छ भन्ने कुरा स्वीकार गरे भन्ने अर्थ छैन।
पहिलो दोषारोपन/अभियोगको विषयमा तिनले यसो भने: ख्रीष्टको शरीर र रगत आत्मिक तौरले प्रभु - भोजको रोटी र दाखमद्यमा हुन्छन्, तर भौतिक तौरले हुँदैनन्। दोस्रो अभियोगको बारेमा तिनले भनेः रोटी र दाखमद्य समर्पण गरेपछि पनि रोटी र दाखमद्य नै रहनेछन्। तेस्रो अभियोगबारे तिनले भनेः सारा संसारका पापहरूको निम्ति ख्रीष्टले एउटा सिद्ध बलिदान चढ़ाउनुभयो। प्रभु - भोजचाहिँ प्रशंसा र धन्यवादको ग्रहणयोग्य बलिदान हो, तर यस भोजले मानिसका पापहरू क्षमा हुन्छन् भन्ने अर्थ लगाउँदा ख्रीष्टले क्रूसमा पूरा गर्नुभएको काम पर्याप्त/सिद्ध थिएन भन्ने शङ्का लाग्नेछ। चौंथो अभियोगमा रिड्लीले यही उत्तर दिए: तिनको विश्वासका विचारधाराहरू डा० वाट्सनले धर्म-विरोधी छन् भनी घोषणा गरे; यो काम डा० वाट्सनले अन्यायपूर्वक गरे। पाँचौं अभियोगमा तिनले उत्तर यस प्रकारको दिए तिनले मुखले जसरी भने, तिनले ठीक त्यसरी नै विश्वास गर्छन्; तर तिनले विश्वास गरेका कुराहरूको सम्बन्धमा अरूहरूले के-कस्तो विचार गर्छन्, सो तिनलाई थाहा छैन।
रिड्लीलाई भोलिसम्म बर्खास्त गरियो, र लाटिमरलाई प्रस्तुत गरियो। रिड्लीलाई झैं ती बिशपले लाटिमरलाई पनि आफ्नो विश्वास त्यागेर सर्वत्र स्वीकार गरिएको क्याथोलिक चर्चमा फेरि सामेल हुने आग्रह गरे। त्यसपछि तिनलाई रिड्लीलाई झैं त्यही अभियोगहरूको उत्तर दिन अह्राइयो।
पहिलो अभियोगको उत्तर दिँदै तिनले भनेः 'म इन्कार गर्दिनँ कि, प्रभु-भोजको विधिमा आत्मामा र अनुग्रहद्वारा ख्रीष्टका शरीर र रगत नै हुन्छन्। रोटी र दाखमद्य ग्रहण गर्ने प्रत्येक व्यक्तिले आत्मिक तौरमा ख्रीष्टका शरीर र रगत ग्रहण गर्छ। तर तपाईंहरूले भनेझैं प्रभु - भोजको विधिमा ख्रीष्टका शरीर र रगत हुन्छन् भन्ने कुराचाहिँ म इन्कार गर्छु।'
दोस्रो अभियोगमा उत्तर दिँदा तिनले भनेः ‘ती रोटी र दाखमद्यमा केही परिवर्तन हुन्छ, तथापि त्यो रोटी रोटी नै रहन्छ, र त्यो दाखमद्य दाखमद्य नै रहन्छ।'
'मास' पापहरू काट्ने बलिदान हो कि होइन भन्ने विषयमा लाटिमरले भने: 'मास बलिदान होइन। ख्रीष्टले एउटा सिद्ध बलिदान चढ ाउनुभयो। अब कसैले उहाँलाई फेरि बलिदान - स्वरूपमा चढ़ाउन सक्दैन, न ता कुनै पुरोहितले उहाँलाई मानिसका पापको निम्ति बलिदान - स्वरूप चढ़ाउन सक्छन्; किनभने यी पापहरू उहाँले आफूलाई एकैपल्ट क्रूसमा बलिदान गर्नुभएर उठाइलानुभएको छ। क्रूसमा बाहेक अरू कुनै कुरामा हाम्रा पापको पायश्चित हुँदैन।'
लाटिमरलाई तिनको विश्वास-धारणाहरू धर्म-विरोधी छन् भनिएकोमा तिनको भन्नु के छ भनी सोध्दा तिनले उत्तर दिँदै भनेः 'हो, मेरा विचार - धारणाहरू धर्म - विरोधी मानिन्छन्; तर हामी सबैको न्याय गर्नुहुनेलाई थाहा छ कि ती मेरा विचार धारणाहरू अन्यायपूर्वक धर्म- विरोधी मानिएका छन्। लाटिमर पनि भोलि बिहान आठ बजेसम्म बर्खास्त गरियो।
रिड्ली अक्टोबर १ तारिखको दिनमा सम्पूर्ण दोषारोपनको विषयमा लिखित उत्तर लिएर आइपुगे, र सेन्ट मेरीज चर्चमा भरिभराउ धुइरोको सामु त्यो लिखित उत्तर पढ़ी सुनाउने अनुमति मागे। तर पहिले तिनलाई ती लिखित कागज - पत्र बिशपहरूकहाँ पेस गर्ने कराकर गरियो; अनि यी बिशपहरूले ती जम्मै धर्म-विरोधी छन् भनी घोषणा गरेर ती पढेर सुनाउन अस्वीकार गरे। त्यसको बदलीमा रिड्लीले तिनीहरूका प्रश्नहरूको उत्तर दिन इन्कार गरेर तिनीहरूका प्रश्नहरूको उत्तर जम्मै लिखित कागज - पत्रमा दिइएको छ भने। तिनलाई धर्म - विरोधी भनी दण्डको आज्ञा दिइयो र दण्डको निम्ति तिनलाई सरकारी अधिकारीहरूकहाँ सुम्पिइयो।
लाटिमरलाई पनि पेस गरियो। तिनी फेरि पनि जाँच गर्ने दलका अभियोगहरूको उत्तर दिन राजी भए; तर तिनका उत्तरहरू हिजोका जस्तै थिए, अनि तिनले आफ्नो विश्वास त्याग्न मानेनन्। तिनी पनि मृत्यु- दण्डको योग्य ठहरिए अनि अधिकारीहरूकहाँ सुम्पिइए।
अक्टोबर १५ तारिखको बिहान ग्लोचेस्टरका बिशप डा० ब्रूक्स र अक्सफोर्ड विश्वविद्यालयका भाइस चान्सलर डा० मार्शल, विश्व-विद्यालयका अरूहरूसित मेयर आईरिशको घरमा आए। त्यहाँ रिड्ली कैद गरिएका थिए। रिड्लीलाई फेरि मण्डलीमा फर्केर आउने मौका दिइयो। त्यसो गर्न इन्कार गर्दा पुरोहितको पदबाट बहिष्कृत गरिने धर्म-विधि पालन गर्न तिनलाई कराकर गरियो। त्यो विधि समाप्त भएपछि रिड्लीले एउटा विन्ती - पत्र पढेर सुनाए, जुन विन्ती - पत्रमा तिनले रानीलाई जीविकाको निम्ति तिनीमाथि भर परेका तिनका बहिनीजुवाइँ र अरूहरूलाई सहायता गर्ने उजुर गरेका थिए। डा० ब्रूक्सले त्यो विन्ती - पत्र रानीकहाँ पठाइदिने वचन दिए, तर तिनको विन्ती - पत्रको कदर गरिने कुरामा शङ्का प्रकट गरे।
त्यस रात रिड्लीका दाह्री र खुट्टाहरू धोइए। बेलुकीको भोजन खाइरहेको समयमा तिनले मेयरको घरमा भएका सबैलाई साथै आफ्ना बहिनी र भाइलाई पनि तिनलाई जलाएको हेर्ने निम्तो दिए। जब मेयरकी धर्मपत्नी रुन थालिन्, तब रिड्लीले यसो भन्दै उनलाई सान्त्वना दिए: 'निराश नहुनुहोस्! मेरो बिहानको भोजन निक्कै तीतो/ पिरो र दुःखदायी हुने भए पनि मलाई विश्वास छ, बेलुकीको भोजनचाहिँ सुखदायी र मीठो हुनेछ।'
अक्सफोर्डको उत्तर भागमा बलियोल कलेजको छेउको खाड़लमा जलाइनको निम्ति रिड्ली र लाटिमर रानीको हुकुमअनुसार खूब सुरक्षित राखिए। सब थोक तयार भएपछि ती दुईजनालाई मेयर र केही कारिन्दाहरूले बाहिर ल्याए। रिड्लीले भुत्लै भुत्ला भएको कालो लबेदा, राति लाउने मखमली टोपी र चप्पलहरू लगाएका थिए। लाटिमरले चाहिँ पुरानो, छोटो लबेदा, टाँक लाएको टोपी र एउटा नयाँ लामो, खुट्टासम्म झुण्डिएको सालजस्तो लुगा ओढ़ेका थिए।
पछिल्तिर हेर्दा रिड्लीले लाटिमरलाई आफ्नो पछि-पछि आउँदै गरेका देखे। 'ए! तपाईं पनि यहीं हुनुहुन्छ?' तिनले लाटिमरलाई सोधे।
लाटिमरले जवाफ दिए: 'हो, म सकभर छिटो तपाईंको पछि- पछि आउँदैछु।'
रिड्ली पहिले जलाइने ठाउँमा पुगे। हात मास्तिर उठाएर तिनले पहिले स्वर्गतिर हेरे। लाटिमर आइपुगेपछि रिड्ली आनन्दसाथ तिनीतिर दुगुर्दै गए, तिनलाई अँगाले र चुप्पा खाए, अनि यसो भने: 'खूब खुशी हुनुहोस्, दाजु! किनभने परमेश्वरले कि त त्यस आगोको ज्वालाको रिसलाई कम पार्नुहुनेछ, कि त हामीलाई पोलेको पीर सहने शक्ति दिएर बलियो पार्नुहुनेछ।' आफ्नो प्रार्थना गरिसकेपछि ती दुवैले एकक्षिण सँगै बात मारे, तर उनीहरूले एक-अर्कालाई के भने, सो कसैले थाहा पाएन। अधिकारीवर्गले रिड्ली र लाटिमरलाई डा० स्मिथले दिएका उपदेशको बारेमा उत्तर - स्वरूप केही भन्ने अनुमति दिएनन्। उनीहरूले आफ्नो विश्वास त्याग्न मात्र बोल्न पाउनेथिए।
'अच्छा, त्यसै हो भने म हाम्रो मामला सर्वशक्तिमान् परमश्वरकहाँ सुम्पन्छु, जसले निष्पक्षसाथ सबैको जाँच गर्नुहुन्छ' भन्दै रिड्लीले भने।
लाटिमरले थपेः 'अँ, केही कुरा लुकेको हुँदैन, जो प्रकट गरिँदैन। सब प्रकट गरिनेछ।' रिड्लीले खुशीसाथ आफ्ना लुगाहरू र तिनीसित भएका अरू थोकहरू पनि दिइहाले; त्यसपछि लर्ड विलियमसित जिउनलाई तिनीमाथि भर परेकाहरूलाई जति सक्दो सहायता गरिदिनुहोला भनी विन्ती गरे। ती दुवैलाई वरिपरि साङ्लाले बाँधियो। 'प्रिय मित्र, कसेर बाँध्नुहोस् है; किनभने शरीर त कमजोर छ' भन्दै रिड्लीले मनको कुरा भनिहाले। त्यसपछि तिनका भाइले तिनको निम्ति घिच्रोको वरिपरि झुण्ड्याउने एक झोला बन्दुक पड्काउने पावडर ल्याइदिए। 'यो त परमेश्वरले नै पठाइदिनुभएको हो भनी सम्झन्छु; यसैले म यो उहाँले पठाइदिनुभएको हो भनी ग्रहण गर्छु। के तिमीसित यस्तो चीज यहाँ मेरा दाजुको निम्ति पनि छ?' यति भनेर ढिलो हुनुभन्दा अघि रिड्लीले आफ्नो भाइलाई लाटिमरकहाँ पठाए। त्यसपछि मानिसहरूले एउटा जल्दै गरेको पुल्ठो ल्याए र रिड्लीको खुट्टामा झोसे।
लाटिमरले कराएर भने: 'भाइ रिड्ली, आनन्दित हुनुहोस्! हिम्मत बाँध्नुहोस्; किनभने आजको दिनमा हामी परमेश्वरको अनुग्रहले यस्तो एउटा बत्ती बाल्नेछौं, जुन बत्ती, म आशा गर्छु, कहिल्यै निभ्नेछैन।'
जब रिड्लीले ज्वालाहरू माथि-माथि उठेका देखे, तब तिनी ठूलो सोरले यसो भन्दै पुकार गरे : 'हे प्रभु, तपाईंको हातमा म मेरो आत्मा सुम्पन्छु! प्रभु, मेरो आत्मा ग्रहण गर्नुहोस्!'
अर्कोपट्टि लाटिमर पनि तीब्र सोरमा यसो भन्दै पुकारे: 'हे स्वर्गका पिता, मेरो प्राण ग्रहण गर्नुहोस्!' तिनले ज्वालाहरूलाई अँगालेझैं स्वागत गरे। हातले अनुहारमा मसारेर केही बेर हातहरू आगोमा राखेपछि देखिएअनुसार लाटिमर थोरै शारीरिक कष्ट सहेर मरे।
तर रिड्लीले धेरै लामो दुःख भोगे; किनकि आगो तिनी भएपट्टि दन्केन, र तिनले मानिसहरूलाई आगो तिनीपट्टि सल्काइपठाउन भने। तिनका जुवाइँले समस्या नबुझ्दा अझ धेरै दाउरा ल्याएर रिड्लीलाई ढाके; त्यसो गर्दा आगो फेदमा मात्र दन्क्यो। थपेको दाउराले ज्वाला माथि उठ्न सकेन, जो खूबै जरुरी थियो। आगोले रिइलीको शरीरको तल्लो भाग पहिले जलायो, तर माथिलो भाग छँदैछोएन। त्यसो हुँदा 'म जल्नै सक्दिनँ' भन्दै तिनको वरिपरि थुपारिएको दाउरामनि तिनी उफ्रिबसे। तिनका खुट्टाहरू जलिसकेका थिए, तर तिनको कमेज आगोले भेटेकै थिएन। तिनले डरलाग्दो कष्ट सहे। अन्तमा हेरिरहेकाहरूमध्ये एकजनाले आगो थिचेर बल्न नदिने दाउराहरू तानेर निकाल्यो। जब रिड्लीले आगोको ज्वाला देखे, तब तिनी घिच्रोको बन्दुकको पावडर नपड्किन्जेल त्यस ज्वालातिर निहुरे। तिनी लाटिमरका खुट्टामा ढले; त्यसपछि तिनी चलेनन्।
रिड्ली र लाटिमरले दुःख सहेको दृश्य देखेर सय-सय मानिसहरू, उनीहरूले वर्षौं लाएर अध्ययन गरी प्राप्त गरेका ज्ञान, उनीहरूका सबै स्वर्गीय गुणहरू र मान - इज्जत सबै एकैछिनमै खरानी भएको देखेर रोए। जे होस्, उनीहरू अब थिएनन्, अनि संसारले दिने इनामहरू उनीहरूले पाइहाले। जब प्रभु येशू आफ्ना पवित्र जनहरूको साथमा आउनुहुनेछ, तब प्रभुको त्यस महिमापूर्ण दिनमा उनीहरूले स्वर्गमा कस्तो महान् इनाम पाउनेछन्।
रिड्लीको बिदावारी
डा० रिड्लीले तिनको मृत्यु हुनुभन्दा अघि ख्रीष्टमा पाएका आफ्ना मित्रहरूलाई निम्न पत्र लेखे:
'जसरी एउटा लामा यात्रामा हिँड्न लागेको मानिसले स्वभाविक तौरमा आफ्ना मित्रहरूलाई "बिदा पाऊँ है "भन्ने चाहन्छ, त्यसरी नै म पनि अब कुनै पनि दिन तपाईंहरूबाट बिदा हुनुपर्ने सम्भवनामा यस धरतीमा भएका तपाईं मेरा दिदीबहिनी र दाजुभाइहरूसित बिदा लिन र हुन चाहन्छु। बिदा, मेरा प्रिय भाइ जर्ज शिपसाइड! तपाईं सदा विश्वासयोग्य, भरोसायोग्य र प्रेमी रहनुभयो। आज, यस मेरो क्रूसको समयमा तपाईं सधैं परमेश्वरको पक्ष लिएर सेवा गर्दै मेरा खूबै मैत्रीभावले पूर्ण, अटल सहयोगी हुनुभएको छ।
बिदा, मेरी बहिनी एलिस (शिपसाइडकी पत्नी )! तपाईंले ख्रीष्टको क्रूसलाई ग्रहण गर्नुभएको छ भन्ने कुरा सुनेर मलाई आनन्द लागेको छ; जुन क्रूस आज तपाईंको, साथै मेरै पनि आँगमा राखिएको छ। तपाईंलाई ईश्वर - भक्त, प्रेमी पति दिनुभएको निम्ति परमेश्वरलाई धन्यवाद चढ़ाउनुहोस्; परमेश्वरको आज्ञाअनुसार तिनलाई आदर गर्नुहोस्, तिनको आज्ञाकारी पत्नी हुनुहोस्! आफ्नी सासूलाई आदर गर्नुहोस्! हरेकलाई जति सक्दो भलाइ गर्दै आफ्ना पतिको परिवारमा भएका सबैलाई प्रेम गर्नुहोस्! तपाईंका छोराछोरीहरूको विषयमा चाहिँ तपाईंका पतिले ती छोराछोरीहरूलाई आफ्नै छोराछोरीहरूलाई झैं व्यवहार गर्नेछन् भन्ने कुरामा मलाई कुनै शङ्का छैन।
बिदा, हे मेरो प्यारो भाइ जोन रिड्ली, र हे तिमी मेरी सौम्य/सुशीला र प्रेमी बहिनी एलिजाबेथ! तिम्रो परिवारमा भएकाहरूलाई भन्दा पनि धेरै माया तिमीले मलाई गर्थ्यो भन्ने कुराले मलाई तिमीसित प्रेमको अझ कसिलो बन्धनमा पार्छ। मलाई इच्छा हुन्छ : तिमीलाई मैले यो प्रेमको ऋण शब्दले होइन, तर केही गरेर तिर्न सके पनि हुन्थ्यो। म तिम्री छोरी एलिजाबेथलाई पनि बिदाको अभिवादन पठाउँछु, जसलाई म तिनको दीन, कोमल आत्माको निम्ति प्रेम गर्छु। यो गुण परमेश्वरको दृष्टिमा खूब अनमोलको छ।
बिदा, तिमी मेरी प्रिया अन्थान्ककी बहिनी र तिम्रा सबै छोराछोरीहरू, भदाभदैनीहरूलाई पनि! मेरा भाइ हगको मृत्यु भएको समयदेखि म ती सबैजनालाई आफ्नै छोराछोरीलाई जस्तै गरी गर्न चाहन्थें, तर अब यदि तिनीहरूले परमेश्वरलाई प्रेम गर्छन् र उहाँका आज्ञाअनुसार उहाँको भय मान्छन् र जिउँछन् भने परमेश्वर नै तिनीहरूका पिता हुनुहुनेछ र हुनुपर्छ पनि।
बिदा, मेरा प्यारा नातेदारहरू, विल्लीमाउण्टस्विखका निकोलास रिड्ली र तपाईंकी पत्नी! तपाईंहरूले मलाई र हाम्रा परिवारकाहरूलाई देखाउनुभएको सबै कृपा र दयाको निम्ति धन्यवाद! परमेश्वरले तपाईंलाई हाम्रो परिवारको निम्ति अगुवा बनाउनुभएको छ र अरूहरूलाई भन्दा तपाईंलाई उहाँले धेरै दान - बरदान दिनुभएको छ। यसकारण तपाईं सत्यता, इमानदारी, धार्मिकता र भक्तिमा लागिरहनुहोस् र झूटापन, अधर्म र अभक्तिको विरोध गर्नुहोस्, जुन कुराहरूको बारेमा परमेश्वरको वचनले दण्डको आज्ञा दिन्छ।
बिदा, मेरो जवान सम्बन्धी भाइ, राल्फ विफिल्ड! अहो, तिमी एकदमै थोरै समयको निम्ति मसित रहयौ। म तिम्रो लागि केही भलो गर्न चाहन्थें, तर तिमीले नोक्सानबाहेक अरू केही पाएनौ। म परमेश्वरमा आशा राख्छु, कि उहाँले तिम्रो खति पूरा गरिदिनुहुनेछ।
बिदा, मेरा परिवार र मेरा देशबासीहो; ख्रीष्टमा भएका तपाईंहरू सबैलाई बिदा! प्रभु जान्नुहुन्छ कि म तपाईंहरू सबैकहाँ ख्रीष्टको आशिषमय सुसमाचार ल्याउन चाहन्थें; एक सेवकको रूपमा यो मेरो कर्तव्य थियो।
म तपाईंहरू सबैलाई सावधान गराउँछुः मेरो मृत्युमा तपाईंहरू लज्जित नहुनुहोस्! मेरो विचारमा, यो त मैले यस जीवनमा पाएको सबभन्दा ठूलो सम्मान हो; अनि उहाँको निम्ति र उहाँकै पक्षमा यो जीवन अर्पण गर्न मलाई बोलाउनुभएको निम्ति म परमेश्वरलाई धन्यवाद चढ उँछु। उहाँले यस्तै आदर- मान ती पवित्र अगमवक्ताहरूलाई, उहाँका अति प्रिय मानिएका प्रेरितहरूलाई र उहाँका चुनिएका आशिषित शहीदहरूलाई दिनुभयो। म परमेश्वरको पक्षमा र सत्यको निम्ति मर्दैछु भन्ने कुरामा मलाई रतिभर शङ्का छैन। ख्रीष्टको निम्ति मृत्युसम्म खड़ा रहन इच्छुक हुने हृदय पाउनु त परमेश्वरबाट पाइएको अनमोल र आदरणीय दान हो। यस्तो दान त साँचो रूपले चुनिएका र खूब प्रेम गरिएका परमेश्वरका सन्तानलाई र स्वर्गको राज्यका उत्तराधिकारीहरूलाई मात्र दिइन्छ। मलाई माया गर्ने तपाईंहरू सबैले आनन्द मनाउनुपर्छ; किनकि मजस्तो तुच्छ पापी र निकम्मा यो शारीरिक, क्षिणिक जीवन उहाँको अनन्त, चिर स्थायी सत्यताको प्रतिवादमा/ पक्षमा अर्पण गर्न बोलाइएँ।
हे मेरा परिवार र देशवासीहरूहो, तपाईंहरूले जान्नुहुन्छ: आनन्द मनाउने र परमेश्वरलाई धन्यवाद चढ़ाउने कारणहरू तपाईंहरूले सधैँ पाउनुहुनेछ। अनि म जान्दछु, तपाईंहरूले मेरो कारणले पनि कृपा र अनुग्रह पाउनुहुनेछ; किनभने प्रभुले भन्नुभएको छ: उहाँलाई प्रेम गर्नेहरूप्रति उहाँ करुणाले पूर्ण हुनुहुनेछ।
सर्वशक्तिमान् परमेश्वरको भलाइ र अनुग्रह पाएर चर्च अफ इङ्गल्याण्डले बितेका दिनहरूमा ठूलो वास्तविक धन-सम्पत्ति, स्वर्गीय सम्पत्तिको महान् धनदौलत, परमेश्वरको सत्य वचनको कत्रो प्रशस्तता, ख्रीष्टका पवित्र विधिहरूको सठीक सञ्चालन अँ, ख्रीष्ट धर्मको सम्पूर्ण प्रदर्शन प्राप्त गरेको थियो। यस चर्चले प्रभु-भोज पनि ख्रीष्टका आदेशहरू पालन गर्दै सठीक प्रकारले सम्पन्न गरयो। रोटी र दाखमद्यको निम्ति धन्यवाद दिइयो, र प्रभुको मृत्युको सम्झना गरियो। क्रूसमा छिया-छिया भएको प्रभुको शरीरको सम्झना गर्दै रोटी भाँचियो; ख्रीष्टले बहाउनुभएको रगतको स्मरण गर्दै त्यस कचौराबाट पिइयो; अनि सबैले रोटी र दाखमद्य ग्रहण गरे।
यी सबै कार्यहरू अंग्रेजी भाषामा गरिए, ताकि सबैले बुझ्न सकून् र परमेश्वरको महिमा गरून्। केही समय अघिसम्म प्रभुको आज्ञा र प्रेरित पावलको शिक्षाअनुसार यस चर्चका सबै सभाहरू अंग्रेजीमा गरिए, ताकि मानिसहरूले सबै कुरा बुझ्न सकून् र ती सबैबाट लाभ उठाऊन्।
चर्च अफ इङ्गल्याण्डमा मानिसहरूलाई पवित्र जीवन बिताउने प्रेरणा दिने, साथै इङ्गल्याण्डमा चारैतिर भइरहेका दुराचारहरूको भन्डाफोर गर्ने पवित्र, हितकारी उपदेशहरू पनि हुन्थे। यस चर्चमा बाइबल - आधारित विश्वासका सिद्धान्तहरू थिए, जसले चर्चमा फैलिरहेका भूलहरू र धर्म- विरोधी कुराहरू हटाउन सक्थे।
तर दुःखको कुरा, भर्खरै मात्र चोरहरू भित्र पसेका छन् र यी जम्मै बहुमूल्य कुराहरू चोरेका छन्। यी डाकूहरूले चर्च अफ इङ्गल्याण्डबाट जम्मै पवित्र, बहुमूल्य थोक लुटेका छन्। तिनीहरूले सबै थोक लगेका छन् र विध्वंस गरेका छन्। परमेश्वरका पवित्र वचन र सत्य विधिहरूको सट्टामा तिनीहरूले आफ्ना मूर्ख काल्पनिक कुराहरू र अधर्मी रीतिहरू थपेका छन्।
प्रभुको पवित्र टेबलको विधि सम्पन्न गर्नुको सट्टामा तिनीहरूले मानिसहरूलाई 'मास' दिन्छन्, जोचाहिँ प्रभुको साँचो भोजको उपहास हो। तिनीहरूले साधारण मानिसहरूको मनलाई जादुले लट्ट्याएझैं वशमा पारेका छन्, साँचो सेवा-आराधना गर्नुदेखि भड्काएर मूर्तिपूजातिर लगेका छन्; रोटी र दाखमद्यलाई ख्रीष्ट हाम्रा प्रभु र मुक्तिदातामा परिणत गरेका छन्; यद्यपि प्रभुले 'यो मेरो सम्झनामा गर' भन्नुभएको थियो।
अंग्रेजीमा प्रार्थना गर्नुको सट्टामा यी चोरहरूले मानिसहरूले बुझ्न नसकिने भाषामा पार्थना गरिदिन्छन् र यसरी मानिसहरूलाई पुरोहितसितै प्रार्थना गर्न दिँदैनन्। प्रेरित पावलले भनेका छन् कि बुझ्न नसकिने अनौठा/ अन्य भाषामा प्रार्थना गर्नुचाहिँ असभ्यता, बालकपन, बेकाम्मा मूर्खता, अँ खुल्लमखुल्ला पागलपन हो।
धार्मिक एकता कायम राख्ने भक्तिपूर्ण सूत्रहरू र हितकारी उपदेशहरू सिकाउनु र प्रचार्नुको सट्टामा यी चोरहरूले पोपका कानुन र आदेशहरू, झूटा दन्त्यकथाहरू, काल्पनिक नीतिकथा र चमत्कारहरू प्रचार गर्छन्।
यस्तो लुटमा म सहमत हुन सक्दिनँ, किनकि यो सब त परमेश्वरको विरोध गर्ने ईश्वर - निन्दा हो, ख्रीष्टको विरोध गर्ने विश्वासघात हो। यो सब सरासरी परमेश्वरको वचनको विरोधमा छ, ख्रीष्टको सुसमाचारको विरोधमा छ, साथै मेरो र मेरा भाइबहिनीहरूको मुक्तिको विरोधमा छ, जुन मुक्ति ख्रीष्टले हामी सबैका निम्ति अति महँगो मोल तिरेर किन्नुभयो। यसैकारण म मारिँदैछु, र यो मृत्यु म स्वेच्छासाथ ग्रहण गर्छु - यही पक्का विश्वासमा, कि यसको सट्टामा मैले अनन्त जीवन पाउनेछु।
यी लुटेराहरू चोर्न र शरीरको हत्या गर्ने चोरभन्दा अझ खराब छन्; किनकि यिनीहरूले शरीर र आत्मा दुवैको हत्या गर्छन्। यी मण्डलीलाई लुट्नेहरूले आफ्नो आत्मिक लुटपाट यसरी ढाकछोप गर्छन् कि तिनीहरूले मानिसहरूलाई झूटा कुराहरू सत्य छन् र सत्य कुरा झूटो हो, ज्योति अन्धकार हो र अन्धकार ज्योति हो, बुराइ भलो हो र भलाइ बुरो हो, अन्धविश्वास साँचो धर्म हो र मूर्तिपूजा साँचो सेवा-आराधना हो भनी विश्वास दिलाउँछन्।
यी डाकूहरूसित तरवार र भालाहरू लिएर साधारण चोर- डाकूहरूसित जस्तो लड़ाइँ गर्न सकिँदैन। हाम्रा हात हतियारहरू आत्मिक र स्वर्गीय हुनुपर्छ। हामीले तिनीहरूसित परमेश्वरका हात - हतियारहरू लिएर लड्नुपर्छ। तिनीहरूको शरीर मार्ने होइन, तर तिनीहरूका भूलहरू, तिनीहरूका विधर्मी शिक्षाहरू, मूर्तिपूजाहरू, अन्धविश्वासहरू र कपटीपन मार्ने इच्छा राखेर हामी तिनीहरूका शरीर र आत्मा दुवैलाई बचाउने प्रयास गर्नुपर्छ। हाम्रा हात - हतियारहरू हुन्ः विश्वास, आशा, प्रेम, धार्मिकता, सत्यता, धैर्य र प्रार्थना; हाम्रो तरवार परमेश्वरको वचन हो। यी हात-हतियारहरू प्रयोग गरेर र दुश्मन/ शत्रुको सामु हार नखाएर हामी विजयी हुनेछौं; यद्यपि हामी भेडाबाख्राझैँ हत्या गरिँदैछौं। हाम्रो मृत्यु जति धेरै निर्दयी र कष्टमय हुन्छ, त्यति नै धेरै ती परमेश्वरको दृष्टिमा महिमित हुन्छन् र हाम्रो शहीदपन पनि त्यति नै धेरै आशिषपूर्ण हुनेछ।
तपाईंहरू मेरो मृत्युमा लज्जित नहुने हेतुले म तपाईंहरूलाई यो भन्दैछु। तपाईंहरूले मलाई प्रेम गर्नुहुन्छ भने परमेश्वरले मलाई यस मर्यादाको निम्ति बोलाउनुभएकोमा तपाईंहरू रमाउनुहुनेछ; यो मर्यादा त मैले जीवनमा कुनै समयमा प्राप्त गर्न सक्ने सांसारिक मर्यादाभन्दा अति महान् छ। के यही कारणको निम्ति मर्नु खुशीको कुरा होइन र? म मेरा प्रभु परमेश्वरमा भरोसा गर्छु, जसले आफ्नो मन, इच्छा र ममता मेरो हृदयमा हाल्नुभएको छ, साथै मैले आफ्नो सबै सांसारिक धन-सम्पत्ति र मेरो जीवनै गुमाउन, तर कुनै हालतमा पनि उहाँको प्रकट गरिएको सत्यतालाई इन्कार नगर्न चुनेको छु। उहाँले मलाई सान्त्वना दिनुहुनेछ, मलाई सहायता गर्नुहुनेछ, र सधैं-सधैंका निम्ति मलाई बलियो - दरिलो बनाउनुहुनेछ; अँ, मेरो आत्मा र प्राण उहाँको हातमा सुम्पने बल-सामर्थ्य दिनुहुनेछ। म ख्रीष्ट हाम्रा प्रभुको नाममा उहाँका असीम भलाइ र कृपा पाऊँ भनी सारा हृदयले परमेश्वरमा माग गर्छु। आमेन!