अध्याय १: सत्यताले जीवन परिवर्तन गर्छ-गर्छ
धेरैपल्ट हामी के देख्छौं भने एउटा ठूलो सत्यताले कसैको सम्पूर्ण जीवन, त्यसको उद्देश्य र लक्ष्यलाई प्रभाव पारेको हुन्छ। कुनै मानिस अघि कुनै समयमा धेरै वर्षसम्म त्यतिकै लक्ष्यहीन भई चलिरहेको थियो। तब संयोगवश उसले एउटा प्रेरणादायक वाक्य वा हृदय छुने केही शब्दहरू भेट्टायो, र त्यस दिनदेखि ऊ उस्तै रहेन। यसैबाट उसको जीवनको पूरा उद्देश्य परिवर्तन भयो।
श्री हड्सन् टेलरसित यस्तै भयो। आफ्नो बुवाको पुस्तकालयमा लक्ष्यहीन पाराले किताबहरू झिकेर पल्टाउँदै गर्दा तिनका आँखाहरू 'ख्रीष्टले गरिसिद्ध्याउनुभएको काम' भन्ने वाक्यमाथि परे। त्यस सत्यताले उसलाई अबदेखि कहिल्यै छोड़ेन। येशू ख्रीष्टले मुक्ति दिलाउने कार्य गरिसिद्ध्याउनुभएको हो भने ती मुक्तिदातामाथि भरोसा राख्नुबाहेक तिनले गर्नुपर्ने अरू कुनै पनि काम बाँकी रहेनछ। तिनको मन प्रकाश र शान्तिले भरियो। केही वर्षपछि तिनी गएर चीन-देशअन्तर्गत पर्ने प्रदेशहरूमा सुसमाचार प्रचार गर्ने काम शुरु गरे।
काउन्ट जिन्जेन्डोर्फको जीवनमा पनि त्यस्तै भयो। जर्मनीमा उनी जवान हुँदा एउटा तस्बीरको सामु उभिरहेका थिए; त्यो त क्रूसमा टँगिनुभएको प्रभु येशूको नक्सा थियो। त्यस तस्बीरमनि यी शब्दहरू लेखिएका थिए:
'हेर, तिम्रा निम्ति मैले यति गरें।'
यस सत्यताले जिन्जेन्डोर्फको हृदय तोड़ेर छिया-छिया पारयो। अनि तत्कालै उनले प्रभु येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गरे। त्यसपछि उनले फेरि तस्बीरतिर हेरेर त्यसमनि अरू शब्दहरू लेखिएको देखे:
‘अनि तिमीचाहिँ – तिमीले मेरा निम्ति के गरेको?'
फेरि यस प्रश्नले उनलाई घोच्यो। त्यस प्रेमको प्रेरणाले विवश भई उनले आफ्नो जीवन प्रभु येशूको निम्ति पूरा रूपले अर्पण गरे। मोरावी सुसमाचार प्रचारको अभियानका वार्षिक रिकर्डहरूभरि नै उनको कीर्ति फैलिएको छ र आजको दिनसम्म उनको सुनाम चलेको छ।
श्री ड्वाइट एल. मूडीसित पनि यस्तो भयो। तिनले भखरै इङ्गल्याण्डमा सुसमाचारको एउटा कार्यक्रम सिद्ध्याएका थिए र यूकेका प्रख्यात प्रचारक श्री हेनरी वर्लीबाट बिदा लिँदैथिए। बिदा लिँदा श्री वर्लीले तिनलाई चुनौती दिएर भने: 'मूडीज्यू, परमेश्वरको इच्छामा पूरा सुम्पिएको मानिसलाई लिएर उहाँले के-के गर्न सक्नुहुन्छ, सो कुरा संसारका मानिसहरूले अझ देख्नु बाँकी छ है।' मूडीले यी अचम्मका शब्दहरू बिर्सन सकेनन्। यी शब्दहरूले तिनलाई खेदो गर्थे। घरतिर समुद्र - यात्रा गरेको बेलामा यी शब्दहरू समुद्रको हरेक छालमाथि लेखिएको जस्तै तिनलाई लाग्दथ्यो। न्यूयोर्कमा तिनले हिँडेका सड़कहरूमा पनि र चिकागोतिर रेल - यात्रा गर्दा तिनका आँखाहरू बाहिर त्यस भूदृश्यमा जहाँ परे, त्यहाँ तिनले यी शब्दहरू लेखिएका देखे। यी शब्दहरूले तिनको बाँकी जीवन यति प्रभावित पारे, कि तिनले देखाएको परिश्रम र फलस्वरूप तिनले बटुलेका आत्माहरूले आजको दिनसम्म तिनको सम्मान गर्दछन्।
अरू सयौं मानिसहरूले यस प्रकारको गवाही दिन सक्नेछन्। तिनीहरूले केही होश नराखीकन आफ्नो जीवनमा कदम चलेर अघि बढिरहेका थिए; तब एक्कासि मानिसको जीवनको जगको रूपमा मानिने एउटा ठूलो सत्यताले तिनीहरूको जीवन बदलियो। यस सत्यताको प्रवाभले, त्यसको ज्ञान र आवेगले तिनीहरूलाई पक्रे। तिनीहरूका दिमाग र मन सल्किए। तिनीहरू उस्तै रहन सकेनन्। एउटा ठूलो दर्शनबाट प्रेरणा पाई तिनीहरू अघि बढ़े र परमेश्वरको निम्ति वीर बने।
हामीसित पनि यस्तो हुन सक्छ। सत्यता अनन्तसम्म रहिरहन्छ। अनि यी प्रख्यात वाक्यहरू जसले अरू मानिसहरूको जीवनमा अन्दोलन शुरु गरे, ती शब्दहरूले हामीलाई पनि एउटा साधारण, मामुली जीवन यापन गर्नुदेखि बचाएर हामीलाई यस युगमा र अनन्तकालसम्म सफलता दिलाउन सक्छन्।
अहह, हामी केवल इच्छुक भएका भए! हामी शान्त भएर सुन्नको निम्ति पर्याप्त समय दिन तयार भएका भए! हामीले इमानदारी र साहससाथ यी सत्यताहरू सामना गरेका भए! हामीले तीमाथि विचार पुरयाएर अन्तमा तर्कसँगत निस्कर्षमा आइपुग्न सके ता! हामीले समझदार प्रतिक्रिया देखाएर त्यसअनुसार जिउन र जोशिला भई त्यसको पछि लाग्ने चाहना गरेको भए यो कति असल हुनेथियो!
सब कुरा यसैमा भर पर्छ। के हामी महिमित स्वर्गीय दर्शनको पछि लाग्न तयार छौं? यसैले यो किताब पढून अघि बढ्नुभन्दा अघि हामीले परमेश्वरको उपस्थितिमा निम्न प्रश्नहरूको उत्तर दिनुपर्छः
क) के म प्रभुलाई मसँग बोल्ने अनुमति दिन्छु?
ख) के म कुनै सर्त नराखीकन प्रभुको आज्ञा पालन गर्न
तयार छु?
ग) के मैले उहाँको निम्ति छोड्न तयार नभएको कुनै कुरा छ कि?
अध्याय २: हामीसँग केवल एउटै जीवन मात्र छ
यस संसारमा हाम्रो जीवनको उद्देश्य वा हाम्रो अस्तित्वको विषयमा सोच्दा हामीले सीधा र इमानदार रहन चाह्यौं भने हामी यहाँ, यस संसारमा एकपल्ट मात्र जिउँछौं भन्ने ताजुप पार्ने कुरा बुझ्नुपर्छ। तब हामीले पनि यस गम्भीर, हृदयस्पर्शी निश्चयताबाट हाम्रो तर्क शुरु गरौं: केवल एउटै जीवन मात्र!
प्रभु येशूको जीवनमा उहाँलाई उत्साह बढ़ाउने कुराहरूमध्ये एउटा मुख्य कुरा थियो; त्यसको बारेमा प्रभुले आफ्नै शब्दले यसो भन्नुभएको छः
'दिन हुँदा-हुँदै मैले मलाई पठाउनुहुनेका कामहरू गरिहाल्नुपर्छ; रात आउँछ; तब कसैले पनि काम गर्न सक्दैन।' दिन छँदै ... रात आउँछ; एउटै जीवन। यूहन्ना ९:४
तातो, डाम्ने फलामको छापले झैं यी शब्दहरू डामेर गहिरो गरी हाम्रा मनहरूभित्र गाड्न सकून्! र हामीले यी शब्दहरू कहिल्यै बिर्सन नसकौं! एउटै जीवन! केवल एउटै जीवन मात्र! कति असाध्य गम्भीर कुरा!
हामीले यस जीवनको मूल्यको विषयमा पनि सोच्नुपर्छ। मेरो जीवन मेरो लागि कति मूल्यवान् छ त? यसको सट्टामा मैले के दिनेथिएँ? पक्का पनि हामीमध्ये कसैले पनि जीवनमा दाम लगाउन सक्दैनौं होला; किनकि यो जीवन हाम्रो दृष्टिमा बहुमूल्य छ।
जीवनका मौकाहरूको विषयमा हामीले पनि विचार गर्नुपर्छ। यस संसारमा जन्म लिने हरेक व्यक्ति कि त प्रभुलाई प्रेम गर्ने प्रेरित यूहन्ना वा प्रभुलाई विश्वासघात गर्ने यहूदा इस्करयोती हुन सक्छ, प्रेरित पावल वा राज्यपाल पिलातस बन्न सक्छ। असल या खराब जीवन, सफलता कि व्यर्थताको जीवन, सुखी वा दुःखी जीवन जिउनको निम्ति हामीमा प्रशस्त क्षमताहरू छन्।
यी सत्य तत्त्वहरूको पक्राउमा परेर हाम्रो होश खुल्छ र हामी बुझ्छौं: अँ, हाम्रो जीवन त हामीलाई सुम्पिएको पवित्र जिम्मेवारी हो। यो जीवन खेर फाल्नुहुँदैन, हामीले यसको सबभन्दा उत्तम प्रयोगको निम्ति यसको उन्नति खोज्नुपर्छ।
श्री होरटियस बोनरले यस विषयमा यसो भन्छन्ः
मानिसले ख्याल नगर्ने कुनै समय नै छैन; जीवन छोटो छ, र जताततै पनि पाप छँदैछ। हाम्रो जीवन झरिरहेको एउटा पातजस्तो वा खसिरहेको आँसु-जस्तो छ। हामीलाई खेर फाल्ने कुनै समय नै छैन; योजस्तै छोटो जीवनमा हामीले सब कुरा गम्भीर लिनुपर्छ। हाम्रा धेरै जीवनहरू हुने होइन, हाम्रो एउटै मात्र जीवन छ एउटै जीवन, अँ, एउटै मात्र जीवन! तब हाम्रो जीवन - त्यो छोटो अवधि नै – कति पवित्र हुनुपर्छ! अँ, दिन प्रतिदिन आशिषपूर्ण कामले व्यस्त रहेको हाम्रो जीवनले घण्टौँपिच्छे नयाँ इनामहरू बटुल्दै जाओस्!
धेरै जीवनहरू होइनन्, एउटै जीवन, अँ, एउटै मात्र जीवन! त्यो छोटो अवधि नै!
त्यस कुराले मलाई एउटा उदाहरणको सम्झना दिलाउँछ, जुनचाहिँ श्री सी. ए. तथमले प्रयोग गरे, जसले हाम्रो एउटै मात्र जीवनको पवित्रता प्रकट गर्छ। एउटा सानी केटी आफ्नी आमासँग सौधा/किनमेल गर्न जाँदा उनीसँग एउटा पसलमा पसी। सौधा गरिसकेपछि उसकी आमाले त्यस छोरीलाई केही मिठाइ किन्ने अनुमति दिइन्। ऊ ऐनाले ढाकिएको अलमरीको सामु उभिएर त्यहाँ सजाइएर राखिएका, लोभ्याउने किसिम- किसिमका मिठाइहरू हेरिरही। शुरुमा उसले एक किसिमको मिठाइतिर देखाएर भनी 'मलाई यसको एउटै दिनुहोस्!' पसलेले/ दोकानदारले त्यो निकाल्न लाग्ने बेलामा उसले माफ मागेर भनी : 'होइन, मलाई त्यहाँको एउटा दिनुहोस्!' निर्णय गर्न नसक्ने केही क्षणहरूपछि आमा रिसाएर उसलाई हप्काइन्ः 'छोरी, छिटो गर, अब कुनचाहिँ लिन्छौं, निर्णय गर!' त्यसको उत्तरमा केटीले यो प्रवाभकारी जवाफ दिएर भनी : ' तर आमा, खर्च गर्न मसँग एउटै रुपियाँ मात्र छ नि।'
खर्च गर्न एक रुपियाँ मात्र भएझैं एउटै जीवन मात्र छ। यसलाई बुद्धिमानीसाथ खर्च गर्नुहोस्! यसको विषयमा हामी आफूलाई सधैं सम्झाउनु खाँचो छ। ग्रेट ब्रिटेनका पाँचौं जर्ज नामक राजाले सम्झना गराउने उद्देश्यले आफ्नो टेबलमाथि यो लेखिएको आदर्श वाक्य राखिराखेका थिए, जो श्री स्टेफन ग्रेलेटले उनाइसौं शताब्दीमा लेखेका थिए। तिनी अमेरिकी क्वेकरका सदस्य थिए। यो भनाइ यस प्रकारको छ:
‘एकपल्ट मात्र म यस संसारबाट भएर जाँदैछु। यसैले मानिसलाई गर्न सक्ने जति सुकर्म वा मानिसप्रति देखाउन सक्ने जुनसुकै दया म गरिहालूँ। मैले ढिलो गर्नुहुँदैन, मैले मौका नछोपी छोड्नुहुँदैन, किनभने म यो बाटो भएर फेरि हिँड्नेछैनँ।'
अनि श्रीमती एविस् बी. क्रिस्टिअन्सन्ले आफ्ना कविता- हरूमध्ये एउटामा यस संसारमा हाम्रो छोटो जीवनको विषयमा गम्भीर विचारहरू व्यक्त गरेर यसो भनिन्ः
हे प्रभु येशू, मेरा स्वामी र राजा, तपाईंलाई अर्पण गर्न मेरो एकमात्र यो जीवन छ; मेरो एकमात्र यस जिब्रोले तपाईंको स्तुति गर्नु छ र तपाईंको दयाको वर्णन गर्नु र गाउनु छ। मेरो एकमात्र यस हृदयको भक्ति, हे मुक्तिदाता, केवल तपाईंको अद्वितीय महिमाको निम्ति तपाईंलाई सम्पूर्ण रूपले दिइएको होस्!
हे प्रभु, केवल यो घण्टाको अवधि मेरो छ; यो तपाईंको निम्ति खर्च गरियोस्! हरेक बितिजाने क्षण अनन्त- कालको निम्ति गनिएको होस्! आत्माहरू मेरो वरिपरि मरिरहेका छन्, आफ्ना पाप र शर्ममा मरिरहेका छन्। तपाईंको महिमित नाममा म तिनीहरूकहाँ मुक्ति ल्याउने क्रूसको सन्देश पुरयाउन सकूँ!
प्यारो प्रभु, प्रार्थना गरेर म मेरो एकमात्र जीवन तपाईंलाई अर्पण गर्छ; तपाईंको इच्छा पालन गर्न म केही पनि बाँकी राख्दिनँ। तपाईंले मेरो निम्ति खुशीसाथ आफ्नो सम्पूर्ण जीवन दिनुभयो; यो मेरो जीवन तपाईंकै निम्ति दाबी गर्नुहोस्; यसको हरेक क्षण तपाईं मेरा मुक्तिदाताको निम्ति चलाउनुहोस्, अँ, तपाईंकै निम्ति चलाउनुहोस्!
यसकारण हाम्रो जीवनमा परिवर्तन ल्याउन सक्ने यो सत्यता हामी चारैतिरबाट नियालेर विचार गरौं: एकमात्र जीवन! इमान- दारपूर्वक हामीले आफैलाई यो प्रश्न सोधौं : यस प्रकाशमा हाम्रो हालैमा जिइरहेको जीवन नियाल्दा के हाम्रा कामकुराहरू र लक्ष्यहरू पछि लाग्न लायकका छन्, कि कसो?
अध्याय ३: हाम्रो जीवन एकदम छोटो छ
एकमात्र जीवन छ भन्ने कुरा हामीले गम्भीरतासाथ विचार गर्दा त्यसले हामीलाई आफ्नो जीवनको तर्साउने किसिमको मूल्याङ्कन गर्न लाउँछ भने यस जीवनको छोटो अवधिको विषयमा सोच्दा त्यसले हामीलाई झन् बढ्ता गरी यसो गर्न लगाउँछ। हाम्रो एकमात्र जीवनको अवधि हजार वर्ष, पाँच सय वर्ष वा दुई सय वर्षको हुँदा हो त त्यसले हामीलाई त्यति उत्तेजित पार्न र गम्भीर तुल्याउन सक्नेथिएन। तर हामीमध्ये कोही पनि आजदेखि उसो सय वर्ष बाँच्दैनन्। अनि हामीमध्ये धेरैजना पचास वर्ष पनि बाँच्दैनौं। के हामीले यो बुझेका छौं? तब यस छोटो जीवनबाट हामीले कुनै चुनौती नपाऔँ त?
तपाईंले कति वर्षसम्म जिउने आशा राख्नुभएको छ? पवित्र बाइबलअनुसार जीवनको अवधि लगभग सत्तरी वर्ष बताइएको छ (भजनसंग्रह ९०:१०)। एकक्षणको निम्ति मानौं तपाईंले यति बाँच्नुहुनेछ। तब पहिले तपाईंले यस संख्याबाट हालैसम्म पुग्नुभएको तपाईंको उमेर घटाउनुपर्छ। त्यसको योगफलले तपाईंले आशा गर्न सक्ने बाँकी वर्षको संख्या दिन्छ। त्यस अवधि तपाईंले सुत्ने समय, काम गर्ने समय, गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्ने समय, बिरामी र कमजोरी भएका समयहरू घटाउनुपर्छ। तब प्रभु येशूको सेवामा चलाउन स्वतन्त्र भएको समय कति बाँकी रहयो त? उत्तरचाहिँ यो हो: 'अलिकति मात्र।'
जीवनको छोटो अवधिको बयान गर्नको निम्ति पवित्र शास्त्रले विभिन्न शब्दहरू प्रयोग गरेर यसको वर्णन गर्छ।
मोशाले जीवनलाई निद्रासित तुलाना गरे।
दाऊदले यसलाई छाया भने।
अय्यूबले यसलाई तान बुन्नमा चलाउने जुलाहाको थुरी / सटलको रूप दिए।
याकूबले यसलाई वाफजस्तै ठाने।
पत्रुसलाई यो जीवन ओइलिने घाँसझैं लाग्यो।
जीवन आउँछ, जीवन जान्छ - यो छोटो, चञ्चल जीवन; अनि यसको साथमा यसका सुनौला मौकाहरू पनि आउँछन् र जान्छन्।
मुर्दाघर, अरथी र कबरस्तानले यहाँ यस संसारमा हाम्रो रहने ठाउँ छ भन्ने हाम्रो आत्मसन्तोषी विचारधारा ठट्टामा उड़ाउँछ। एउटा दिन पनि बितिजाँदैन, जसले हामीलाई मृत्युको सम्झना दिलाउँदैन। श्री विल हुग्टोनले यो कुरा यस्तो परिभाषा दिएर भने: 'नानीलाई सुताउने झुलुङ्गादेखि लिएर अरथीसम्मका सबै चीजहरू एउटै तत्त्वले बनेका हुन्। '
तर ख्रीष्टको चेलाले मृत्युको होइन, तर प्रभुको दोस्रो आगमनको बाटो हेर्दछ भन्ने तर्क लिएर कसैले यो कुरा काट्न चाहयो भने त हाम्रो जीवन छोटो छ भन्ने कुरा यस अनिश्चित कालमा घटिने घटनाहरूबाट अझ पुष्टि गरिएको छ। किनकि सत्तरी वर्ष पुग्नको निम्ति हामीमध्ये कतिको जीवनमा बीस- तीस वर्ष बाँकी रहेको होलान्, तर हाम्रा मुक्तिदाताको दोस्रो आगमनलाई सङ्केत गर्ने लक्षणहरू त्यो आज्ञारूपी कौलासो, त्यो आवाज, त्यो परमेश्वरको तुरही सुन्नको निम्ति कसैले पनि एउटै घण्टा बिसाउने समय पाउँला भन्ने आशा लिनुपर्दैन। राजनैतिक र नैतिक क्षेत्रहरूमा देखिने उत्थान र पतनहरूले भविष्यवाणीका वचनहरूलाई साथ दिँदै र पुष्टि पार्दै प्रभु चाँड़ै आउँदै हुनुहुन्छ भन्ने घोषणा गर्छन्।
यी सब कुराको मतलब के हो त? सजिलोसँग यो बुझिन्छः हरेक जसले परमेश्वरको निम्ति जिउने कुनै विचार राखेको छ, उसलाई खेर फाल्ने समय नै छैन। उसले हरेक क्षणलाई परमेश्वरबाट सुम्पिएको पवित्र जिम्मेवारी सम्झन्छ। हरेक घण्टा उसले अमूल्य धन सम्झन्छ। दिनदिनै उसले अब चाँडै ख्रीष्टको न्यायआसनको सामु उभिनको निम्ति तयार हुने योजना बनाउँछ।
हरेक बिहान मसेडोनको फिलिपलाई एउटी दासी केटीले भन्ने गर्थी: 'फिलिपज्यू, याद गर्नुहोस्, तपाईंले एकदिन मर्नुपर्छ।' तिनले यही प्रकाशमाथि नजर राखेर त्यसअनुसार दिन प्रतिदिन जिइरहे।
हरेक बिहान पवित्र आत्माले पवित्र बाइबलका वचनहरू लिएर हामीलाई सम्झाउन चाहनुहुन्छ: हामी पनि माटोको भाँड़ाझैँ नाशवान् छौं, हामी केवल एक क्षणको निम्ति जन्मेका हौं। हामीले पनि अनन्तकाल हाम्रो लक्ष्य राखेर हाम्रो जीवन जिउनुपर्छ।
यी घण्टाहरूको मूल्य मलाई जान्ने तुल्याउनुहोस्!
समय खेर फाल्नु मूर्खता हो भन्ने कुरा देख्न मलाई सहायता गर्नुहोस्!
मेरा दुःखहरू बोक्नु भएको ख्रीष्टमाथि भरोसा राख्न मलाई सहायता गर्नुहोस्!
र यसो गर्दा चाहे मैले जिउन पाऊँ, चाहे ममाथि मृत्यु
आइपरोस्, म तपाईंलाई मेरो जीवन अर्पण गर्न सकूँ!
प्रभु येशू, मेरा सब दिनमा तपाईंको महिमा भइरहोस्!
मेरा सब मार्गहरूमा तपाईंको नजरले मलाई अगुवाइ गर्नुहोस्!
प्रभु येशू, तपाईंको इच्छाअनुसार मलाई चलाउनुहोस्!
अनि तब मेरो निम्ति जिउनु र मर्नु पनि ख्रीष्ट हुनुहुन्छ।
श्री विल हुग्टोन
आजको दिनको निम्ति, भोलिको निम्ति र आउँदा दिनहरूको निम्ति तपाईंका योजनाहरू के के हुन्? अनि त्यसपछि के?
अध्याय ४: अनन्तकाल अति लामो हुनेछ
जीवनको अवधि एकदम छोटो छ। यो एउटा गम्भीर वास्तविकता हो। तर अनन्तकाल अति लामो हुनेछ, त्यसको टुङ्गो हुँदैन। त्यो झन् घोच्ने, डरलाग्ने कुरा हो। सदा-सर्वदा भइरहने त्यो युग बुझाउन सक्ने हाम्रो भाषाका अरू शब्दहरू पाउन गाह्रो छ। त्यसको दिक्क लाग्ने अनुभव गर्नको निम्ति तपाईंले संसारको सृष्टि हुनुभन्दा अघिको समय सम्झने कोशिश गर्नुहोस्! त्यसपछि स्वर्गदूतहरू सृष्टि गरिनुभन्दा पहिलेको समय सम्झने प्रयास गर्नुहोस्, त्यस युगमा, जब केही पनि थिएन, अँ, परमेश्वरबाहेक अरू कोही पनि थिएन। त्यसपछि अझ अनादिको शुरुमा फर्केर जानुहोस्! अझ फर्केर जानुहोस्, अझै फर्केर जानुहोस्! त्यस समयमा पनि परमेश्वर हुनुहुन्थ्यो। उहाँ कहिल्यै शुरु हुनुभएन।
त्यसपछि भविष्यतिर आफ्नो ध्यान लगाउनुहोस्! यो संसार बितिसकेपछि, पाप हटाइसकेपछि, समय सिद्धिसकेपछि के हुने होला? त्यसपछि अझ अघि बढ्नुहोस्, अझै अघि बढ्नुहोस्! अनन्त-अनन्तसम्म अघि बढ्नुहोस्! त्यहाँ कुनै अन्त हुनेछैन; कुनै टुङ्गो हुनेछैन। त्यहाँ कुनै निसाना हुनेछैन।
हाम्रो दिमागले सानो भएर यो सब पक्रन सक्दैन होला; तपाईंलाई गाह्रो भइरहेको छ होला। तब तपाईंले याद गर्नुहोस्ः तपाईं अनन्तसम्म जिउनुहुनेछ; सदा-सर्वदा जिउनुहुनेछ। अन्तबिनाको जीवन जिउनुहुनेछ।
अनन्तकाल! यस शब्दको अर्थ बुझ्न मानिसहरूले कति कोशिश गरे। उदाहरणको निम्ति, श्री हेर्नीक वन् लूनले हामीलाई यो प्रख्यात, तर निक्कै कमजोर, अपर्याप्त बयान यसरी दिएका छन्: ‘मानौं, उँभो, धेरै उँभो उत्तरतिर, उत्तरी देशमा एउटा ठूलो चट्टान छ; त्यसको उच्चाइ एक सय माइल र त्यसको चौड़ाइ पनि एक सय माइल छ। हजार वर्षमा एकपल्ट एउटा सानो चरा आएर त्यस चट्टानमा आफ्नो चुचोलाई पुछेर त्यसलाई घोटाउँछ। त्यो चट्टान यसरी नै खिइएर सानो हुँदै गयो भने त अनन्तकालको एक दिन मात्र बितिगएको हुन्छ।'
श्री रोव्ल्याण्ड डिक्सन एड्वार्डस्ले कोशिश गरेर त्यही कुरा यसरी वर्णन गरेः ‘समुद्र-यात्रा गर्दा पानीजहाजको एक पट्टिबाट हामीले एउटा धागोमा एउटा सानो कप झुन्ड्याएर त्यससित समुद्रको पानी उघारयौं भने यस सागररूपी अनन्त- कालबाट समय उघाउनु यस्तै हो।'
अनन्तकाल एउटा सागर हो, जसको किनारा छैन।
अनन्तकाल एउटा समय हो, जसको टुङ्गो छैन।
अनन्तकाल एउटा भइरहेको क्षण हो, जो सधैँ भइरहन्छ।
अनन्तकाल परमेश्वरको जीवन-कालको समय हो।
यी शब्दहरूले पनि यस महान् विचारको सम्पूर्ण अर्थरूपी वजन बोक्न सक्दैनन्, अँ, बोक्न नसक्दा रहेछन्।
अनन्तकालको कहिल्यै नटुङ्गिने किनारामा हाम्रो यो जीवन बलुवाको एउटा कोण मात्र हो। त्यो हामीलाई, हाम्रो ज्ञानलाई माथ गरिने तत्त्व ख्याल नगर्ने कुनै मानिसलाई ज्ञानी भन्न मिल्दैन। यस प्रकाशमा उसको सम्पूर्ण जिन्दगीको उद्देश्य बसालिएको हुनुपर्छ। उसले अनन्तकालमा बहुमूल्य गनिने कुराहरूमा नजर लगाएर जिउनुपर्छ।
मिलानोको विशाल गिर्जाघरमा एक-अर्कोपछि भएका तीनवटा ढोकाहरू थिए। पहिलो ढोकामाथि काठमा कुँदिएको गुलाव फूलको लहरामनि यस्तो लेखिएको थियो: 'हामीलाई प्रसन्न तुल्याउने सबै कुराहरू क्षणिक छन्'। दोस्रो ढोकाको शिरमाथि कुँदिएको क्रूसमनि यी शब्द थिए: ‘हामीमाथि आइपर्ने समस्याहरू क्षणिक छन्'। अनि मूलढोकाको मास्तिर यस्तो लेखिएको थियो: 'केवल अनन्तसम्म रहिरहने कुराहरूचाहिँ महत्त्वपूर्ण हुन्छन्'।
हामी ख्रीष्टका चेलाहरू भएको नाताले हामीले अनन्तकालको तत्त्व पक्राउमा पार्नुपर्छ। केवल त्यस भयानक वास्तविकताको घेराभित्र हामीलाई जिउनु छ। तब हामी संसारमा निस्केर जानेछौं, अघि बढ्नेछौं र हाम्रा आँखाहरूको चमक उज्जवल हुनेछ अनि हाम्रो हृदयका हाम्रा योजनाहरूले परलोकसम्मको निम्ति हुने निश्चयता बोक्नेछौं। हामी त्यस पछि आउने युगको निम्ति जिउनेछौं, अहिलेको युगको निम्ति मात्र होइन।
अध्याय ५: सुनौलो समय अहिले नै हो
जीवनका महत्त्वपूर्ण विषयहरूमाथि इमानदारपूर्वक ध्यान लगाउन चाहने जवान इसाईहरूले बुझ्नुपर्छ: जवानीपन सबभन्दा सुनौलो समय हो। यही समयमा मानिसका शक्ति र क्षमताहरू सबभन्दा ठूला हुन्छन्, उसका ज्ञानेन्द्रियहरू तीखा छन् र उसको जोश - उमङ्ग बढ़ी छ।
यर्मिया २:२ पदमा परमेश्वरले जवानहरूलाई विशेष प्रेम गर्नुहुन्छ भन्ने कुरा यसरी स्पष्ट पारिएको छ: 'तँलाई, तेरो युवा- अवास्थाको भक्ति, दुलहीको जस्तो तेरो प्रेमलाई म सम्झन्छु। त्यस उजाड़स्थानमा कसरी तँ मेरो पछि-पछि हिँडेको थिइस्, त्यस बाँझो भूमिमा।'
जवानीपनमा केही न केही कुरा छ। स्वभाविक दृष्टिकोण लिएर हामी दुर्बल, पातलो, घरबिहीन घुमिहिँड्ने बिरालोभन्दा उफ्रिरहेने बिरालोको बच्चा मन पराउँछौं। बूढ़ो भएको घोड़ामा भन्दा चउरमा खेलिरहेको बछेड़ामा हाम्रो ध्यान रहन्छ। अनि तपाईं जहाँ जानुभए पनि नानीहरूतिर तपाईंको मन जान्छ र ती कहिल्यै बढेर ठूला नभएका भए हुन्थ्यो जस्तै लाग्छ।
ठीक यसरी आत्मिक क्षेत्रमा परमेश्वरले युवा अवास्थाको भक्तिमाथि, त्यसको पहिलो प्रबल प्रेमको कारणले विशेष ध्यान दिनुहुन्छ। उहाँले युवाहरूको बल, जोश र उमङ्ग मन पराउनुहुन्छ। उहाँले तिनीहरूको आफ्नो फाइदा नखोज्ने, स्वार्थरहितको भक्ति, तिनीहरूको जोशपूर्ण चेलापन, उहाँको निम्ति खुशीसाथ गरिएको तिनीहरूको त्याग सम्झनुहुन्छ। तेरो युवावास्थाको भक्ति, दुलहीको जस्तो तेरो प्रेमलाई म सम्झन्छु, परमेवर भन्नुहुन्छ। जवानीपनचाहिँ लक्ष्यहरू पूरा गर्ने र उपलब्धि प्राप्त गर्ने समय हो।
श्री भिर्गिल (ख्रीष्टपूर्व ७०-१५) लटिन कविहरूमा प्रमुख थिए। श्री मार्टिन लुथरले (१४८३ - १५४६) धर्म-सुधारको अभियानलाई अगुवाइ गरे; अनि श्री आइसाक न्यूटन (१६४२- १७२७) अविस्कारकहरूमध्ये प्रथम स्थान ओगटेका थिए। तीस वर्षको उमेर पुग्नुभन्दा अघि तिनीहरूले यसो गरे।
अठाइस वर्ष पुग्नुभन्दा अघि श्री हेरोडोटसले (पाँचौं शताब्दी ख्रीष्टपूर्व) तिनले लेखेको इतिहासका नौ पुस्तक ओलिम्पिक खेलहरूको उपलक्ष्यमा कन्ठ गरिसकेका थिए; अनि श्री हान्निबालले (ख्रीष्टपूर्व २४७ - १८३ ) स्पेन - देश कर्तगेको सेनाको अधीनतामा ल्याइसकेका थिए।
पच्चीस वर्षको उमेरमा श्री डेमोस्थेनेस (ख्रीष्टपूर्व ३८५- ३२२) ग्रीसको स्वर्ण वक्ता थिए भने श्री सिसेरोचाहिँ ( ख्रीष्टपूर्व १०६-४३) रोमको प्रख्यात वक्ता बनिसकेको थिए। त्यही उमेरमा श्री रफाएलले (१४८३ - १५२०) दोस्रो युलियसबाट आदेश पाई व्याटिकनका भित्ताहरूमा आफ्नो अमर तस्भीरहरूले सिँगाएका थिए; अनि श्री गलिलेओ (१५६४-१६४२) पत्ता नलगाएका ताराहरूको खोजीमा राति माथि आकाशमा हेरिरहेका थिए। त्यही उमेरमा श्री शेक्सपीर (१५६४-१६१६ ) सम्पूर्ण नाटककार/नाट्य-शास्त्रका लेखकहरूको शिर बनेका थिए।
बाइस वर्षको उमेरमा महान् अलेक्सन्डरले ( ख्रीष्टपूर्व ३५६-३२३) फारस राज्यलाई जितेका थिए, अनि श्री नपोलेओन् (१७६९-१८२१) र श्री वशिङ्टन (१७३२-१७९९) सेनापति भइसके।
बीस वर्ष हुँदा श्री प्लाटो ( ख्रीष्टपूर्व ४२७ - ३४७) श्री सोक्राटेसको घनिष्ट साथी र उनको बराबर भइसकेका थिए, अनि श्री अरिस्टोट्लेलाई ( ख्रीष्टपूर्व ३८४-३२२ ) सत्र वर्षको उमेरमा उनको स्कूलको बुद्धिको मन-स्रोत कहलिएको थियो।
उन्नाइस वर्षको उमेरमा श्री पस्कल (१७२३-१६६२) महान् गणितज्ञ थिए र श्री बटोनले ( १५६१ - १६२६) त्यही उमेरमा उनको प्रेरणादायक दर्शनशास्त्रको जग बसालिसकेका थिए।
पच्चीस वर्षको उमेरमा श्री जोनथन एड्वार्डस् (१७०३-१७५८) र श्री जर्ज ह्विटफील्ड (१७१४-१७७०) प्रख्यात प्रचारकहरू थिए; र श्री चर्ल्स स्पर्जन सोह्र वर्षको उमेरमा लण्डनको एउटा मण्डलीका पाष्टर भइसकेका थिए। अनि प्रभु येशूचाहिँ तीस वर्षको हुँदो परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नुभयो, जुन सन्देशले सारा संसारलाई परिवर्तन गरेको छ।
वृद्ध अवस्थाचाहिँ हाम्रो सबभन्दा राम्रो बल र बढ़ी शक्ति खर्च गरिसकेको समय हो। हाम्रा हातहरू काम्न थाल्छन्, अनि हाम्रा खुट्टाहरूले हाम्रो शरीरको ओजन बोक्न छोड्छन्। हाम्रा केही दाँत नझरी बाँकी रहन्छन् होला, अनि हाम्रा आँखाहरू चस्माको बलले मात्र देख्नेछन्। हाम्रा कानहरूले श्रवण - सहाय लिनुपर्छ र हाम्रो बोली कमजोर र अस्पष्ट हुन जान्छ। उमेर बढ्दै जाँदा निद्रा लाग्दैन, डरहरू बढ्छन्, भोक हराउँछ र अरू अनेक कमजोरताहरू हुन्छन्। बूढेसकाल थाकेको, क्लान्त हने, दिक्दारी समय हो।
तब उपदेशकका शब्दहरू कति मिल्छन्, जब उनले भन्छन्: 'दुःखको समय र वृद्ध अवस्था आउनुअघि नै जब तैंले भन्नेछस्, यिनमा मेरो मन लाग्दैन, अँ, आफ्नो युवा अवस्थामै आफ्नो सृष्टिकर्ताको सम्झना गर्!' (उपदेशक १२:१)
मुक्ति पाउने विषयमा मात्र होइन, तर प्रेमपूर्वक उहाँको सेवा गर्ने सम्बन्धमा प्रभुको सम्झना गर्ने समयचाहिँ युवा- अवस्था नै हो।
जवान इसाईहरूले यो बुझिदिए त कति उत्तम हुनेथियो! अहिले तिनीहरूले गर्न सक्ने कामहरू तिनीहरूले पछि गर्न सक्दैनन्। युवकले आफ्नो उमेरकाहरूको बीचमा दिएको साक्षीमा विशेष शक्ति छ। सांसारिक मानिसहरू जवान मानिसको साहस र गम्भीरताबाट प्रभावित हुन्छन्। ती मानिसहरूले उमेर बढ़ेकाहरूको साक्षी ग्रहण गर्दैनन्, तर त्यसलाई कट्टर ठान्छन्। युवा अवस्थामा मानिसहरू ज्यान खतरामा हाल्न र आत्मिक लड़ान्तको चुनौती लिन तयार छन्। उमेर बढ्दा होशियारी पनि बढ्छ र संघर्ष नगरौं, विरोध मात्र आउँछ भन्ने डर लाग्न थाल्छ।
धेरै विश्वासीहरूले आफ्नो जीवनको विषयमा योजना बनाउँदा ख्रीष्टको निम्ति भविष्यमा कहीं कुनै समय दिने अनिश्चित कल्पना गर्छन्। पैसा कमाएपछि, कामबाट अवकास लिएपछि अर्थात् बूढेसकालमा तिनीहरूले प्रभुको निम्ति जिउन चाहन्छन्।
परमेश्वरले सबै बल खर्च गरिसकेको जीवनको उब्रेको भाग पाउन चाहनुहुन्न। उहाँले सबभन्दा उत्तम भाग र त्यसको पूरा हिस्सा पाउन चाहनुहुन्छ। पुरानो नियमको समयमा उहाँले सिद्ध र सम्पूर्ण बलिदान चाह गर्नुहुन्थ्यो। उहाँका मागहरू बदली भएका छैनन्। के हामीले जानी - बुझीकन उहाँलाई चाउरी परेको, थोत्रो, कमजोर भएको, रस गएको चीज दिन सक्छौं? होइन! हामीले उहाँलाई सबभन्दा उत्तम दान दिनुपर्छ, अनि हाम्रो सबभन्दा उत्तम भागचाहिँ हाम्रो युवा अवस्था नै हो।
ख्रीष्ट येशूले हामीबाट सबभन्दा उत्तम चाहनुहुन्छ। पुरानो समयमा उहाँले बगालहरूबाट पहिले जन्मेकाहरूलाई र अन्नको सबभन्दा उत्तम भाग दाबी गर्नुहुन्थ्यो; अझ पनि उहाँले कोमल प्रेमको साथ आफ्ना जनहरूलाई तिनीहरूको उज्जवल आशाहरू र तिनीहरूको सर्वोत्तम दानहरू उहाँको चरणमा सुम्पेर अर्पण गर्ने विन्ती गर्नुहुन्छ। उहाँले हाम्रो सबभन्दा कमजोर सेवा र हाम्रो घमण्डरहितको प्रेम बिर्सनुहुन्न उहाँको माग यति हो: हाम्रो जीवनरूपी भण्डारबाट उहाँले सबभन्दा उत्तम भाग पाउने आशा गर्नुहुन्छ। प्रभु येशूले हामीलाई सबभन्दा उत्तम वस्तु दिनुहुन्छ। उहाँलाई अर्पण गरेका हाम्रा हृदयहरू उहाँले ग्रहण गर्नुहुन्छ, र उहाँको महिमित सुन्दरताले, उहाँको आनन्द र शान्तिले भरिदिनुहुन्छ; अनि उहाँको सेवामा हामी बलियो हुँदै जान्छौं र ठूला-ठूला कामहरू र सफलताको निम्ति बोलावटहरू पनि बढ्दै जान्छन्। सबभन्दा उत्तम दानहरू यस संसारमा र माथि स्वर्गमा ख्रीष्टमा लुकिएका छन्। येशूमा हामीले पाउन सक्ने सबभन्दा उत्तम पाउँदछौं।
अनि के हाम्रो सबभन्दा उत्तम अर्पण गर्नु बढ़ी भयो त? हे साथीहरूहो, हाम्रा प्रभुले हाम्रो निम्ति आफ्नो प्राण अर्णन गर्नुभएको सम्झना गरौं! उहाँको रहस्यमय मानवीय जीवनको सर्वोत्तम अवस्थामा उहाँले आफ्नो जीवन क्रूसमा चढ़ाएर दिइहाल्नुभयो। प्रभुहरूका परमप्रभुद्वारा सारा सृष्टि बनियो; तीतो कष्ट र आँसुहरूको साथ उहाँले हामीलाई आफ्नो सबभन्दा उत्तम थोक दिनुभयो।
आफ्नो सबभन्दा उत्तम कुरा दिनु नै श्री पिटर फ्लेमिङ्गको इच्छा र लक्ष्य थियो। तिनी सन् १९५६ जनवरी ८ तारिखमा एक्वडोरमा सताइस वर्षको उमेरमा शहीद भएर मरेका थिए। आफ्नो युवा अवस्थाको बल, क्षमताहरू, प्रेम र जीवनको सबभन्दा उत्तम भाग ख्रीष्ट येशूलाई दिने तिनको आत्माको पवित्र समर्पण र निश्चय थियो। त्यो उत्तम विचार तिनका मन पर्ने भजनका शब्दहरूले राम्ररी वक्त गरिन्छः
हे, प्रभु, मेरो सम्पूर्ण शक्तिले ... श्री थोमस एच. गिल्ल
हे प्रभु, मेरो सम्पूर्ण शक्तिले म तपाईंको निम्ति बलवान् हुन चाहन्छु; मलाई प्रसन्न पार्ने कुरा प्रशस्त हुँदा पनि मेरो गीत तपाईंकहाँ उड़ेर जाओस्।
संसारलाई मेरो हृदय दिइसकेपछि म तपाईंको प्रेमलाई अङ्गाल्न चाहन्नँ, मेरो बल घटेको थाहा लागेपछि मात्र तपाईंको सेवा थाल्न चाहन्नँ।
फुर्तिलो भई संसारका कामहरूमा व्यस्त रहेपछि उड़िगएको जोशको साथ म थकित पाउमा टेकेर बिस्तारै स्वर्गीय पहाड़ चढून चाहन्नँ।
तपाईंको निम्ति मेरो कमजोर चाहनाहरू, मेरो तुच्छ, नीज भाग हुने होइन, तपाईंको निम्ति मेरा निभ्न लागेका ज्वालाहरू होइन, मेरो हृदयको खरानी होइन।
मेरो सुनौलो समयमा मलाई छान्नुहोस्! मेरो प्रिय मानेका आनन्दहरूमा तपाईंको भाग परोस्! तपाईंको निम्ति मेरो यौवनको महिमा, मेरो हृदयको पूर्णता मिलेको होस्!
युवा अवस्था खेर फालेको, दुःखलाग्दो बरबादीको निम्ति कुनै बहाना छैन। यसैकारण आज हरेकले आफैलाई सोध्नुपर्छः मेरो जीवनको पहिलो भागका वर्षहरूको विषयमा जीवनी लेखिएको भए के यसको बयान हुने होला? परमेश्वरका कामको सम्बन्धमा मनतातो थियौं भन्ने निराश पार्ने रिकर्ड हुने हो कि प्रभु येशू ख्रीष्टलाई सम्पूर्ण जीवन अर्पण गरेको जोशपूर्ण रिकर्ड बस्ने हो? प्रिय मित्र, याद गर्नुहोस्, आज तपाईंको जीवनको कथा, तपाईंको जीवनी कतै लेखिँदैछ है!
अध्याय ६: अनन्तकालसम्म गनिने शिक्षादिक्षा
शिक्षादिक्षालाई देवताको रूपमा मानिएको यस युगमा जवान इसाईहरूलाई केही महान् सत्यताहरू याद दिलाउन अति आवश्यक देखिन्छ। यी सत्यताहरू तिनीहरूलाई ज्ञानको खोजीमा अगुवाइ गर्छन् र तिनीहरूलाई किसिम-किसिमका विद्याहरूको उचित मूल्याङ्कन गर्न सक्षम तुल्याउँछन्।
सर्वप्रथम, स्वर्ग नपुगेसम्म हामीसँग सिद्ध ज्ञान हुँदैन भन्ने कुरा हामीले बुझ्नुपर्छ। परमेश्वरले मात्र सबै कुराहरू जान्नुहुन्छ। उहाँ मात्र सर्वज्ञानी हुनुहुन्छ। हामी कहिल्यै परमेश्वर बन्दैनौं। हामी कहिल्यै सिक्न छोड्दैनौं। यति बुझेपछि यसले अनन्तकालको निम्ति हाम्रो तयारी प्रभावित पार्दछ।
स्वर्गमा पनि हामी सिक्दै जानेछौं भन्ने कुरा पवित्र शास्त्रमा सङ्केत गरिएको छ। उदाहरणको निम्ति हामी एफेसी २:७ पद २५ हेरौं, जसमा प्रेरित पावलले बताउँछन् कि परमेश्वरले हामीलाई आउने युगहरूमा ख्रीष्ट येशूमा हामीप्रति आफ्नो दयाद्वारा आफ्नो अनुग्रहको अपार धन देखाउनुहुनेछ। परमेश्वरले हामीलाई अनन्तसम्म केही कुरा प्रकट गर्नुहुन्छ भने त हामी निरन्तर केही कुरा सिक्नेछौं भन्ने कुरा स्पष्ट हुन्छ। अनि यो यस्तो हुनैपर्छ पनि। उहाँले हामीलाई सिकाउन चाहने विषय यति बिघ्न छ; यसैले उहाँले हामीलाई यसका महिमाहरू कहिल्यै पूरा देखाउन सक्नुहुन्न। शैतानले एकैछिनै प्रभु येशूलाई संसारका सब गौरव देखाउन सक्यो, तर परमेश्वरले ख्रीष्टमा भएको, खोजेर नसकिने धन अनन्तसम्म देखाउँदै जानुहुनेछ र उहाँका अनुयायीहरू कहिल्यै उत्तीर्ण हुनेछैनन्। लगातार उहाँको अचम्मको प्रेमको प्रदर्शन भइरहनेछ त्यहाँ, अनि हामी उहाँको चरणमा परेर उहाँका मोहित विद्यार्थी हुनेछौं, जसले सिक्न कहिल्यै छोड्नेछैनन्, तर बढ़ी, झन् बढ़ी सिक्नेछन्।
पवित्र शास्त्रका एक-दुई खण्डहरूले स्वर्गमा हामी सब कुरा जान्दछौं भन्ने अर्थ दिन खोजेर माथि उल्लेख गरिएको कुरा खण्डन गरेको लाग्न सकिन्छ। उदाहरणको निम्ति प्रेरित यूहन्नाले आफ्नो पहिलो पत्रमा भन्छन् कि हामी ख्रीष्टजस्तै हुनेछौं। तर यसको अर्थ मानसिक वा बाहिरी रूपमा बराबर भएको बुझिँदैन, तर नैतिक रूपले हामी उहाँसँग एक भएको सङ्केत गरिएको हो। पाप र पापको उपस्थितिदेखि हामी सधैंभरि स्वतन्त्र भइरहेर उहाँजस्तै हुनेछौं।
१ कोरिन्थी १३:१२ पदमा प्रेरित पावलले बताउँछन् कि त्यस बेला हामी जान्नेछौं, जसरी हामी अहिले परमेश्वरबाट जानिएका हुन्छौं। यसको अर्थ यही हुन सक्छ: हामी स्वर्गमा आफ्ना प्रिय जनहरूलाई चिन्नेछौं। तर यसको अर्थ यही हुन सक्दैनः सबै कुराको बारेमा हाम्रो पूरा ज्ञान कहिल्यै हुँदैन। किनभने हामी उहाँले सृष्टि गरिएका प्राणी हौं, र यसैकारणले हाम्रो सृष्टिकर्ताभन्दा कम भइरहनेछौं र हाम्रो ज्ञान सधैं सीमित रहनेछ।
स्वर्गमा पक्का पनि हामी विद्यार्थी भइरहनेछौं। तब हामीले यो प्रश्न सोध्न असल होलाः स्वर्गमा पुग्ने बेलामा मसँग के- कस्तो ज्ञान होला? हाम्रो विचारमा त्यसको उत्तर यही हुन सक्छः तपाईंले पृथ्वीलाई छोड्नुभएको बेलामा जतिको ज्ञान थियो, त्यति होला। हो, आउने युगहरूमा त्यो ज्ञान बढ़ाउन सधैं सम्भव हुन्छ, तर हाम्रो ज्ञानको शुरुआत त्यस स्तरबाट हुन जानेछ, जुन स्तर संसारलाई छोड्दा हाम्रो भएको थियो।
यो संकल्प सत्य हो भने यसको मतलब ठूलो हुन्छ। यसैबाट हामी बुझ्छौं: आफ्नो जीवनको धेरै समय सांसारिक शिक्षा पाउन खर्च गर्छौं भने, जुन ज्ञान र शिक्षा स्वर्गमा व्यर्थ हुन्छन्, हामी मूर्ख छौं। विज्ञान, साहित्य वा राजनीतिजस्तै ज्ञानका क्षेत्रहरूको कुनै विषयमा तपाईंले अरूभन्दा बढ़ी जान्ने लक्ष्य राख्नुभएको होला। तपाईंले शायद यो लक्ष्य पूरा गर्नुहोला। तर स्वर्गमा तपाईंलाई यसबाट के लाभ हुन्छ र? अनन्तकालको ज्योतिमा यस्ता ठूला जीविका, पद र सम्मान एकदम हल्का देखिन्छन्।
तर परमेश्वरको वचनको परिचय, त्यसको जानकारीचाहिँ अनन्तसम्म मूल्यवान् र महत्त्वपूर्ण छ। पवित्र शास्त्रबाट जे हामी यहाँ यस संसारमा सिक्छौं, त्यो अनन्तसम्म भइरहने लगानी हो। किनकि स्वर्गमा हाम्रो पवित्र बाइबल अझ रहिरहनेछ। प्रभु येशूले भन्नुभयोः 'आकाश र पृथ्वी बितिजानेछन्, तर मेरा वचन - हरू कुनै रीतिले बितिजानेछैनन्।' अनि भजनका लेखकले भन्छन्: 'हे परमप्रभु, तपाईंको वचन सदा-सर्वदा स्वर्गमा स्थिर रहेको छ।' यसर्थ पवित्र शास्त्रको हरेक पद जो हामीले कन्ठस्थ गर्छौं, हरेक अध्याय जसको अध्ययन गर्छौं, अँ, पवित्र बाइबलबाट जे पनि हामी सिक्छौं, त्यो आउँदो जीवनको निम्ति लाभदायक हुन्छ।
स्वर्गमा हामी सबै उस्तै हुनेछौं भन्ने विचार पक्कै पनि बाइबलबाटको होइन। परमेश्वरको वचनले हामीलाई के सिकाउँछ भने मुक्ति पाएकाहरूको बीचमा किसिम-किसिमका इनामहरूले गर्दा भिन्नता रहनेछ, जसरी नरकका भागीदारहरूमा पनि सजायअनुसार भिन्नता हुन्छ।
स्वर्गमा हामी सबै आनन्दित हुनेछौं; तापनि त्यसका महिमा र गौरवहरू उपभोग गर्नको निम्ति कतिको क्षमता अरूको भन्दा ठूलो हुनेछ। वास्तवमा, हामी प्रभु येशूको आनन्दमा त्यति कम वा बढ़ी भागी हुनेछौं, जति कम वा बढी हामी परमेश्वरको वचनद्वारा उहाँलाई यहाँ यस संसारमा चिनेका छौं। हामी हरेकको कचौरा भरिएको हुनेछ, तर हामीमध्ये कतिको कचौरा अरूको भन्दा ठूलो-सानो हुनेछ।
अब निश्चय, हामीमा हरेकले केही मात्रामा सांसारिक वा लौकिक ज्ञान हासिल गर्नु छ, नत्र हामीले कुनै जागिर पाउन सक्दैनौं र हाम्रो जीवन यापन गर्न आवश्यक पर्ने कामकुराहरू पूरा गर्न सक्दैनौं। यसको निम्ति कतिले क्याम्पसको डिग्री पाउँछन्, र अरूले अझ अघि बढेर कुनै विशेष क्षेत्रमा त्यसभन्दा उच्च शिक्षा प्राप्त गर्छन्। तर यो सम्झन सधैं अनिवार्य छः यस्तो खालको शिक्षा जीवनको ठूलो कुरा होइन। त्यो त केवल उन्नतितिर, हाम्रो लक्ष्यतिर लाने एउटा कदम मात्र हो, अँ, जीविका चलाउने एउटा माध्यम मात्र हो। हाम्रो उच्च लक्ष्य हामी सधैँ हाम्रो अगाडि निसानाको रूपमा राख्नैपर्छ: ख्रीष्टलाई चिन्नु र उहाँलाई चिनाउनु। शिक्षाचाहिँ आफ्नो मुख्य लक्ष्य बनाएर परमेश्वरको अनन्त वचन वास्ता नगर्नलाई कुनै बहाना हुनुहुँदैन। त्यस दिनले यस्तो कुमार्ग अपनाउनेको मूर्खता प्रकट गर्नेछ।
हामीले अहिले विचार पुरयाएका विषयहरूले जस्तै अरू धेरै तत्त्वहरूले कुनै व्यक्तिको मनको लगाउमा त्यति प्रभावित पार्दैनन्। स्वर्गमा सबै कुराको बारेमा हाम्रो ज्ञान पूर्ण हुनेछैन, अनि हामीले यहाँ यस संसारमा सिकेको कुरा मात्र साथमा लानेछौं। यसैले हामीले आफैलाई यस ठाउँको निम्ति तयार गर्नुपर्छ। स्वर्गीय स्थानमा कामै नलाग्ने सांसारिक विद्या हासिल गर्ने तरिकाहरूका निम्ति हाम्रो जीवन समर्पण गर्नुदेखि हामीले आफूलाई जोगाउनुपर्छ, रक्षा गर्नुपर्छ। हामीले क्याम्पसको डिग्री आफ्नो ठाउँमा राख्नुपर्छ अर्थात् यस संसारमा प्रभुको सेवामा झन् सफल हुने हतियार ठान्नुपर्छ। हामीले हाम्रो जीवनमा पवित्र शास्त्रमा, त्यसलाई दिनुपर्ने जोड़ लगाउनैपर्छ। यसो गर्नाले हामीले त्यसको लेखकलाई बढ़ी मात्रामा चिन्नेछौं र त्यसका पवित्र विषयवस्तुहरू राम्ररी जान्नेछौं।
हो, स्वर्गमा प्रगति हुनेछ। स्वर्गमा हामी सिक्दै जानेछौं। अनि त्यस बेला त्यस शिक्षाबाट पाउने आनन्दचाहिँ हामीले हालैमा पवित्र बाइबलसित कति व्यवहार गरेका छौं, यसैमा भर पर्छ।
अध्याय ७: तपाईंले आफ्नो भविष्य आफै छान्नुहुन्छ
बढ़ी मात्रामा, तपाईंले आफ्नो भविष्य आफै छान्नुहुन्छ भन्ने कुरा सुन्दा के तपाईंलाई अचम्म लाग्छ? वास्तवमा, जीवनमा तपाईंले जे बन्न चाहनुहुन्छ, तपाईं त्यही व्यक्ति बन्नुहुनेछ। तपाईंले कुनै कामको अति इच्छा गर्नुभयो भने तपाईंले शायद त्यो पाउनुहुनेछ। त्यो एकदम मूल्यवान् रहस्य रहेछ, र चारैतिर सबैले यो रहस्य जान्नुपर्छ। यो जान्नु लायकको कुरा हो। तपाईंको भविष्यको निम्ति चाबीहरू तपाईंकै हातमा छन्।
तपाईंलाई याद होलाः दर्शनमा परमेश्वर एकरात सुलेमान- कहाँ देखा पर्नुभयो र उनलाई सोध्नुभयोः 'तँ के चाहन्छस्?' सुलेमानले बुद्धि र ज्ञान पाउन चाहे, अनि धन, सम्पत्ति, इज्जत, विजय र दीर्घायुको साथ त्यही कुरा उनलाई दिइयो।
उस्तै प्रकारले हामी हरेकलाई यो प्रश्न सोधिन्छः 'मैले तँलाई के दिऊँ? मलाई भन्!' अनि वास्तवमा, जे हामीले माग्छौं, त्यही हामीले पाउँछौं।
लर्ड रोस्बेरीको विषयमा यस्तो बताइएको छः तिनको युवा अवस्थामा तिनका तीनवटा तीब्र चाहनाहरू थिए:
क) तिनले खेलकुद जित्न चाहन्थे
ख) तिनले एउटा करोड़पतिकी छोरीलाई विवाह गर्न चाहन्थे ग) तिनले प्रधान मन्त्री बन्न चाहन्थे
इतिहासले हामीलाई बताउँछ: तिनले यी तीनवटै चीज पाए।
केही वर्षअघि शिकागो शहरमा एउटा जवान केटाले घरमा घुँडा टेकेर प्रभुसँग प्रार्थना गरे र भजनसंग्रह १४५:१९ पदमा दिइएको प्रतिज्ञालाई दाबी गरे। तिनले प्रभुबाट निम्न कुराहरू पाउने उत्कट लालसा गरेः
१) तिनले परमेश्वरको वचनका निक्कै ठूला खण्डहरू कन्ठ गर्ने
क्षमता पाउन चाहन्थे
२) तिनले पर्चाहरू लेख्न र तिनलाई ठूलो मात्रामा वितरण गर्न
चाहन्थे
३) तिनले अरू इसाई सहकर्मीहरूलाई यी पर्चा सितैंमा उपलब्ध
गर्न चाहन्थे
४) तिनले सुसमाचार प्रचार गर्न र परमेश्वरको वचनबाट प्रवचन
दिने क्षमता पाउन चाहन्थे
५) तिनले विश्वासीहरूको आत्मिक उन्नतिको निम्ति आत्मिक लेख लेख्न चाहन्थे
श्री टोम ओल्सनलाई चिन्ने सबैजनाले यो स्वीकार गर्छन्: परमेश्वरको वचन कन्ठस्थ गर्ने तिनको क्षमता अचम्मको थियो। तिनले प्रचार गरेको सुसमाचार र तिनले दिएको पवित्र बाइबलबाटको शिक्षा धेरैको निम्ति आशिषको कारण बनेका छन्। इसाई पत्रिकाहरूमा छापिएका तिनका लेखहरू धेरैभन्दा धेरै मानिसहरूले पढ़ेका छन्। अनि तिनका पर्चाहरू शायद अरू सबै मानिसहरूको भन्दा बढी मात्रामा वितरण गरिएका हुन्।
हरेक जवान मानिससित कुरा यस्तो छः भविष्य तिनीहरूको सामु सेतो कागजको पन्नाजस्तो छ। तिनीहरूले त्यसमा जे लेख्न चाहन्छन्, यी कुराहरू त्यो पन्ना ग्रहण गर्न तयार छ। अनि त्यस कुराले हामीलाई टुङ्गोमा ल्याउँछ: तपाईंले चाह गर्नुभएको विषयमा होशियार बस्नुहोस्! तपाईंको छान्ने काममा धेरै कुरा भर पर्छ। अनि त्यसको विषयमा भयानक बदली गर्न नसक्ने अन्तिमता छ।
जब जलिरहेको भट्टीबाट पग्लिएको फलाम बगेर निस्कन्छ, त्यति बेला त्यो जुनै रूप, जुनै साँचोमा ढाल्न सकिन्छ, तर चाँडै त्यो छिसो हुन जान्छ, कड़ा हुनेछ र मर्तलले हिर्काएर पनि आफ्नो रूप बदली गरिँदैन।
जवान पुरुषहरू र जवान स्त्रीहरूले युवा अवस्थाका आफ्ना मौकाहरू देख्न सके त! तिनीहरूले जवान हुँदा गरिने निर्णयहरूको महत्त्व बुझ्न सके त! जस्तै तिनीहरूले यो पछि छर्लङ्गै देख्नेछन्, बुझ्नेछन्। तब जीवनका कति बिहानहरू खेर फालिनेछैनन् र जीवनका कति सूर्यस्ताहरूमा उदासी हुनु पर्नेछैन।
चारजनामा एकजनाले मात्र इच्छापूर्वक निर्णय लिन्छ होला, तर तीनजना त्यत्तिकै, लक्ष्यहीन भई बगेर जानेछन्। तिनीहरूले आफैलाई संयोग र भाग्यको वशमा भएको बन्धक ठान्दछन्। तिनीहरू भाग्यवादी हुन्छन्। तर तिनीहरूले आफ्नै निर्णय गरिसके; तिनीहरूले त्यत्तिकै तैरिने र जे आइलाग्छ, त्यो लिने निर्णय गरे।
विचारशील जवानहरू तिनीहरूको गम्भीर स्तर र अमूल्य निर्णयको विषयमा जाग्नुपर्छ। तिनीहरूले बुझ्नुपर्छ: तिनीहरूले बन्न चाह गरेको प्रायः जुनै व्यक्ति हुन सक्नेछन्। यसो हो भने तिनीहरूले चाह गरेको कुरा, साँच्ची नै योग्य चुनाउको विषय हो भन्ने सम्बन्धमा एकदम होशियार हुनुपर्छ।
परमेश्वरले तपाईंलाई आज 'तिम्रो जीवनमा तिमीले के बन्न, पाउन चाह गरेको' सोध्नुभएको भए तपाईंले के जवाफ दिनुहुनेथियो? ध्यान दिएर सुन्नुहोस्ः उहाँले तपाईंलाई सोध्दै हुनुहुन्छ।
अध्याय ८: बुद्धिमानीसाथ कि निर्बुद्धिसाथ गरेका लक्ष्यहरू
जीवनको योग्य लक्ष्य कुनचाहिँ हो? हाम्रो मृत्युको पाँच मिनटपछि कुन प्रकारको पेसा वा काम सबभन्दा धेरै प्रतिफल दिने खालको ठहरिनेछ? हाम्रो समय, हाम्रा क्षमताहरू र हाम्रो धनसम्पत्ति केमा खर्च गर्न सर्वोत्तम हो?
सर्वप्रथम हामी स्वीकार गर्न तयार छौं: ख्रीष्टको चेलाको निम्ति धनी हुने लक्ष्य उचित होइन।
१) पहिले, मत्ती ६:१९ पदमा प्रभु येशू आफैले धनी हुन स्पष्ट रूपले मनाही गर्नुभएको छ। व्यभिचार गर्नु र हत्या गर्नुजस्तै धनी हुनु पनि खराब कुरा हो।
२) दोस्रो, आत्मिक सम्बन्धहरूमा धनसम्पत्तिले ठूलो बाधा
बन्न सक्दछ (मर्कूस १०:२३-२४)।
३) धनसम्पत्तिचाहिँ धोकापूर्ण हुन्छ (मूर्कस ४:१९)। त्यो वास्तविक कुराझैँ देखा पर्छ, तर त्यो छिट्टै र थाहा नहुने गरी शेष हुनेछ, र हराउँछ।
४) हाम्रो जीवनको उदाहरण र नमुना हाम्रा प्रभु येशू आफै गरिब हुनुहुन्थ्यो (२ कोरिन्थी ८:९)। निरन्तर उहाँले दृढ़साथ भन्नुभएको छः दास आफ्नो मालिकभन्दा श्रेष्ठ हुनुहुँदैन (मत्ती १०:२४-२५)।
५) धनसम्पत्ति स्वर्गमा लान सकिँदैन (२ कोरिन्थी ४:१८)।
६) ख्रीष्ट्यानले आफ्नो वरिपरिको संसारमा सब गरिबी र खाँचाहरू देखेर कसरी धनी रहन सक्छ? यसमा साँच्ची नै एउटा नैतिक समस्या देखिन्छ।
केही वर्षअघि ओन्टारियो समाचार पत्रिकामा यसो पढ्न पाइयो : श्री जोन लिविङ्गस्टन ओन्टारियोको पेर्थ काउन्टीको सबभन्दा धनी मानिस भएर मरे। तिनको सम्पत्ति ५ लाख डल्लर थियो। यसबाहेक तिनको जीवन बिमा अझ पाँच लाख थियो। तिनको भाइ डेविड लिविङ्गस्टनचाहिँ स्कोटल्याण्डको धख्यात मिशनरी थिए।
स्कोटल्याण्डको तिनीहरूको घरमा यी दुईजना मानिसहरूले युवा अवस्थामा जीवनका केही महत्त्वपूर्ण निर्णयहरू लिए। जोनले भनेः क्यानडा गएर म पैसा कमाउनेछु। अनि तिनले त्यही गरे। डेविडले चाहिँ आफ्नो जीवन प्रभु येशू आफ्ना मुक्तिदातालाई अर्पण गरे। अफ्रिकाका भित्री भागहरूमा मानिसहरूलाई सुसमाचार प्रचार गरेर प्रभुको निम्ति जिल चाहेर उनले पूरा बलले आफ्नो जीवन यस ठूलो काममा लगाए। सांसारिक दृष्टिकोणमा हेरेर जोनचाहिँ बुद्धिमान् ठहरिन्छ र डेविडचाहिँ मूर्ख ठानिन्छ। तर सांसारिक दृष्टिकोण एकदम छोटो छ; किनभने यता जोनले व्यापारमा सफलता प्राप्त गरेर धेरै धन थुपारे पनि, अनि उता डेविडले अफ्रिकाको निम्ति आफ्नो जीवन दिएर एउटा झाप्रोमा एकलै भएर आफ्ना घुँडामा घोप्टो परी मरे ता पनि तिनीहरूको मृत्युपछिको पचास वा पचहत्तर वर्षपछि हेरौँ भने के देख्छौं भने जोनको नाम पृथ्वीबाट प्रायः लुप्त भएको छ, तर डेविड लिविङ्गस्टनको नामचाहिँ संसारभरि जहाँ सुसमाचार जानिएको छ, त्यहाँ प्रख्यात भएको छ।
तर धनको पछि लाग्नुचाहिँ हामीलाई लोभ्याउने एक मात्र कुरा होइन। मानिसहरूको जीवनमा अर्को उत्साह दिने ठूलो शक्ति छः व्यक्तिगत महानता अर्थात् प्रथम हुनुपर्ने भाव। मानिसहरू केही न केही बन्न चाहन्छन्। तिनीहरूले अरू केही होइन भने कम्तीमा कुख्याति प्राप्त गर्न चाहन्छन्। तिनीहरूले प्रसिद्ध बन्न चाहन्छन्।
कतिले काम वा व्यापार गरेर आफ्नो महिमा खोज्दछन्। तिनीहरूले सकभर परिश्रम गर्छन्। तिनीहरू वाणिज्य वा विज्ञानको पूजा गर्छन्। तिनीहरू आफैले छानेको क्षेत्रमा सफलता प्राप्त गर्न लगातार कोशिश गर्दछन्। तर परमेश्वरको आवाज तिनीहरूको कानमा गुँजिन्छ: 'के तँचाहिँ आफ्नै निम्ति ठूला कुराहरू खोज्दछस्? ती नखोज्!' (यर्मिया ४५:५)
कतिले खेलकुदको क्षेत्रमा कुनै इज्जत खोज्दछन्। आफ्नो शरीरलाई कष्ट दिएर तिनीहरूले त्यसलाई कडाभन्दा कड़ा अनुशासनमा राख्दछन्। वीरता प्राप्त गर्नको निम्ति जुनसुकै कष्ट उठाउन तिनीहरू खुशी छन्। होडबाजीमा खेल्दा तिनीहरूले पुरस्कार पाउनलाई शरीरको हरेक अङ्ग र मांशपेसी हदसम्म चलाउँछन्। तर पवित्र शास्त्रमा उल्लेख गरिएको छ: परमेश्वर मानिसका खुट्टामा खुशी हुनुहुन्न (भजनसंग्रह १४७:१०)। उहाँको विचारमा खेलकुद ठूलो कुरा होइन; किनभने शरीरको साधना यस जीवनको लागि मात्र लाभदायक छ, तर भक्तिचाहिँ अहिलेको जीवन र पछि आउने जीवन अर्थात् अनन्तकालको निम्ति काम लाग्छ (१ तिमोथी ४:८)।
फेरि कतिले दर्शनशास्त्र, इतिहास, संगीत वा अरू कुनै विद्याको क्षेत्रमा विशेष ध्यान दिएर यसमा प्रथम हुन, प्रतिष्ठा प्राप्त गर्न चाहन्छन्। तर दुःखको कुरा के हो भने ख्रीष्ट्यानहरूले विद्याका विभिन्न क्षेत्रहरूमा निपुण/सुविज्ञ बन्नको निम्ति आफ्नो जीवन र वर्षहरू खर्च गर्दछन्, जसबाट तिनीहरूलाई स्वर्गको निम्ति थोरै लाभ हुन्छ वा हुन सक्छ, कुनै फाइदा हुनेछैन।
अरूले आफ्नो समाजमा सँगीहरूलाई सहायता गर्न चाहन्छन्। यसैले तिनीहरूले राजनीतिमा, कल्याण- सेवामा अथवा सामाजिक विकाशमा आफैलाई दिइहाल्छन्। हामीले यहाँ छलफल गरेका सबै मानिसहरूको विषयमा तिनीहरू निस्वार्थी छन् भनेर हामी तिनीहरूको पक्षमा स्विकार गर्न तयार छौं। तर तिनीहरूले अपनाएका स्वार्थहीन आयोजनाहरूमा घटीकमी छन्; किनभने मानिसहरूलाई सहायता गर्न वा तिनीहरूले सामना गर्नुपर्ने समस्याहरू समाधान गर्न हामीले पहिल्यै तिनीहरूको स्वभाव बदल्नुपर्छ। यस युगका मानिसहरूले रचेका कल्पनाका आकाशलाई छुने आयोजनाहरूमा कुनैले पनि यो गर्न सक्दैन। ख्रीष्टको सुसमाचारमा मात्र त्यसको निम्ति उपाय र शक्ति छ। मानिसहरूलाई प्रभु येशू ख्रीष्टकहाँ पुरयाउने कामचाहिँ सबभन्दा सच्चा र उच्च मानव-सेवा हो।
अनि यसरी हामी अघि बढ्दै साधारण कुराहरू तलाश गर्न सक्नेथियौं, जसको निम्ति मानिसहरू जिउँदछन्। अनि यसो गर्दा यी कुराहरू मानिसहरूका उच्च प्रयासहरूको योग्यका हुँदैनन् भन्ने कुरा हामीले थाहा गर्नेथियौं; किनकि पहिले, यी कुराहरूको प्रभाव पुग्दैन, अनि दोस्रो, यी कुराहरू धेरै समयसम्म टेक्दैनन्। यी कुराहरूको मूल्य यस जीवनकालको निम्ति मात्र सीमित छ। दुईवटा युगहरूको निम्ति जिउने ख्रीष्ट्यानको निम्ति यी कुराहरूको दर्शन अपुग स्वप्न हो।
अहिले भइरहेको जीवन र पछि आउने जीवन - यी दुईवटा संसारहरूको दृष्टिकोण नलिने कुनै जीवनले यसको वास्तविक मतलब बुझेको हुँदैन। के केश फुलिसकेको मानिसले परलोकको विषयमा सोच्न थाल्यो भने यो उसको निम्ति इज्जत बढ़ाउने कुरा हो र? मैले केश नफुलिएका मानिसहरूकहाँ पुग्न र तिनीहरूलाई अनुरोध गर्न चाहन्छु। समय छँदै तिनीहरूले जीवनको मतलबमा विचार पुस्याऊन् र तिनीहरूको जीवन अविश्वास, नीचता, स्वार्थ र साँघुरोपनबाट बाँचेर विश्वास, उत्तमता र धार्मिकताकहाँ पुगोस्। तिनीहरूले बुझून्ः अहिले नै तिनीहरूको जीवन दुईवटा संसारको निम्ति हुनैपर्छ। दुईवटा संसार – एउटाचाहिँ एकदम छोटो छ, अर्कोचाहिँ अनन्त छ। परलोकमा हाम्रो निम्ति के सजिएको छ होला? यो मुख्य प्रश्न हो। यस प्रश्नले क्षणिक, बितिजाने कुरा लिएर अनन्तकालमा सार्छ र त्यहाँ त्यसको नतिजा के हो, सो बुझ्न खोज्छ। आज मैले जे गरें, त्यो मेरो निम्ति अनन्तकालसम्म अर्थपूर्ण हुन्छ। यो मैले बुझेको छैनँ भने मैले जीवनको रहस्य बुझ्न र त्यसको समस्या सामना गर्न शुरु गरेको छैनँ।
श्री विलियम केली पवित्र बाइबल अध्ययन गर्नुमा एकदम निपुण थिए। उनको ज्ञान, विद्वानपन र आत्मिकताले उनलाई यूकेमा बितेको शताब्दीमा परमेश्वरको निम्ति ठूलो हतियार तुल्याएको थियो। श्री केलीले एउटा आफन्तलाई त्रिनिटी कलेजको तयारीमा सहायता दिएका थिए। अनि यसरी त्यस क्याम्पसका प्राध्यापकहरूको ध्यान उनीमाथि पस्यो। त्यस कलेजमा उनले जागिर खाऊन् र यसरी एउटा नाम कमाऊन् भनी तिनीहरूले उनलाई अनुरोध गरे। जब श्री केलीले यसमा कुनै चासो नदेखाएपछि तिनीहरू छक्क परे, तब तिनीहरूमध्ये एकजनाले त्यस कुरामा अचम्म मानेर उनलाई सोधे: 'तर केलीज्यू, के तपाईंले संसारमा आफ्नै निम्ति नाम कमाउन चासो राख्नुहन्न र?' त्यस प्रश्नको उत्तरमा श्री केलीले चलाक उत्तर दिए: 'हजुरहरूहो, कुनचाहिँ संसारमा?'
हो, कुरा यो हो। जीवनमा अपनाएका लक्ष्यहरूको विषयमा सोच्दा ठूलो प्रश्न यही हो: 'हजुरहरूहो, यी कुनचाहिँ संसारको निम्ति हुन्।' तपाईंको लक्ष्य यस प्रकाशको जाँचमा टिक्न सक्छ कि?
अध्याय ९: जीवनका सबभन्दा ठूला कर्तव्यहरू यी हुन्, जसले हामीलाई करमा पार्दछन्
आफ्नो भविष्यको विषयमा सन्तुलित र स्वच्छ विचार गर्नको निम्ति हामीले मार्गदर्शन गर्ने तीनवटा ठूला बुँदाहरू याद गर्नुपर्छः
क) परमेश्वरप्रति हाम्रो जिम्मवारी
ख) आफ्नो छिमेकीप्रति हाम्रो जिम्मा
ग) आफ्नो निम्ति सर्वोत्तम लाभ
यी तीनवटा क्षेत्रमा आफ्नो जिम्मेवारी पूरा नगर्ने कुनै मानिसको जीवन साँचो तवरले सफल भएको हामी भन्दैनौं
परमेश्वरप्रति हाम्रो जिम्मेवारी
प्रथम स्थानमा परमेश्वर हुनुपर्छ! उहाँ हाम्रा सृष्टिकर्ता मात्र हुनुभएको भए उहाँ हाम्रो अटुट भरोसा र निरन्तर सेवा पाउनु योग्यको हुनुहुन्थ्यो। तर उही महान् सृष्टिकर्ता हाम्रा मुक्तिदाता पनि हुनुभएको छ। त्यस तत्त्वले हामीलाई उम्कन दिँदैन।
हामीमध्ये हरेकले यी अनन्त सत्यताहरू सामना गर्नुपर्छः
१) आफ्नो ठूलो कृपाअनुसार परमेश्वरले आफ्नो एकमात्र पुत्रलाई यस संसारमा पठाउनुभयो। उहाँ हाम्रो सट्टामा क्रूसमा मर्नुभयो।
२) प्रभु येशूले आफ्नो राजीखुशीले स्वर्गको गौरव त्यागेर हाम्रो निम्ति यस पापको मैलाले भरिएको र शर्मले पूर्ण भएको संसारमा आउनुभयो।
३) हाम्रो अमूल्य आत्मा बचाउनको निम्ति उहाँले दु:ख भोग्नुभयो, आफ्नो अमूल्य रगत बगाउनुभयो; उहाँ मर्नुभयो।
४) उहाँ जो मर्नुभयो, मानिस मात्र हुनुहुन्नथियो, तर उहाँ संसारहरू सृष्टि गर्ने परमेश्वर हुनुहुन्थ्यो।
५) हामी उहाँका शत्रु छँदै उहाँ हाम्रा निम्ति मर्नुभयो।
६) हाम्रा पापहरूको सजाय भोग्नको निम्ति उहाँले सहनुभएका कष्टहरू यति बिघ्न थिए, कि कुनै मानिसको दिमागले तिनको गहिराइ बुझ्न सक्दैन; ती अगम्य, अपार छन्।
७) उहाँले हामी पापका बन्धनहरूमा बेचिएका दासहरूलाई त्यस क्रूर दासत्वबाट आफ्नो अमूल्य रगतले किन्नुभयो। उहाँ हाम्रो लागि यति तिर्न तयार हुनुभयो।
८) हाम्रा राजा, हाम्रा प्रभु, हाम्रा स्वामी बन्न पाऊन् भन्ने हेतुले उहाँ हाम्रा निम्ति क्रूसमा मर्नुभयो।
एउटा ख्रीष्ट्यानको निम्ति यी सत्यताहरू सजिलोसँग साधारण कुराहरू बन्न सक्दछन्। तर कुनै अमूल्य क्षणहरूमा जब तिनका महिमित झलकहरूले हाम्रो मनलाई उज्यालो पार्दछन्, त्यस बेला सम्पूर्ण रूपले भयभीत भई हामीले पुकार्छौं:
उहाँले मेरो निम्ति यति धेरै गर्नुभएपछि,
अँ, उहाँले मेरो निम्ति यति धेरै गर्नुभएपछि
म कसरी उहाँको निम्ति मेरो सर्वोत्तम नदिन र उहाँको निम्ति मात्र नजिउन सक्छु?
उहाँले मेरो निम्ति यति धेरै गर्नुभएपछि।
बेटी दास्वान्ड
प्रभु येशूले मलाई आफ्नो रगतले किन्नुभएको कुरा सत्य हो भने वास्तवमा, म अब उसो आफ्नै होइनँ, तर म उहाँकै मात्र हुँ। प्रेरित पावलले यसो तर्क गरेर लेखे:
'किनकि ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ; किनभने हामी यो निर्णय गर्दछौं - सबैको निम्ति एकजना मर्नुभयो भने साँच्चै सबै मरे, अनि सबैको निम्ति उहाँ मर्नुभयो; यसैकारण जिउनेहरू अब उसो आफ्नो निम्ति जिउनुहुँदैन, तर उहाँको निम्ति जिउनुपर्छ, जो उनीहरूको निम्ति मर्नुभयो र बौराइनुभयो।' २ कोरिन्थी ५:१४-१५
अब उसो आफ्नो निम्ति होइन, तर उहाँको निम्ति जिउनु छ। श्री सी. टि. स्टड पनि यस निस्कर्षमा पुगे।
'प्रभु येशू मेरो लागि मर्नुभएको कुरा मलाई विदितै थियो, तर मैले यति कहिल्यै बुझेको थिइनँ: प्रभु येशू मेरो निम्ति मर्नुभयो भनेदेखि मचाहिँ आफ्नै हुँदिनँ। दाम तिरेर छुटकारा दिनुको अर्थ दाम तिरेको चीज फिर्ता पाउनु हो। यसर्थ म उहाँकै भएँ। तब जो मेरै होइन, त्यो म आफूसँग राख्छु भने मलाई चोर मानिन्छ; चोर होइनँ भने मैले मेरो सम्पूर्ण जीवन परमेश्वरलाई दिनुपर्छ। जब यसरी प्रभु येशू मेरो लागि मर्नुभएको कुरा मैले बुझ्न थालें, तब उहाँको निम्ति सबै थोक त्याग्नु मलाई गाह्रो भएन।'
श्री आइसाक वट्सले यी सब कुराको उचित, तर्कसंगत सत्यता बुझेर यी प्रख्यात, तर प्रायः पालन नगरिएका शब्दहरूमा व्यक्त गरेः
'सारा संसार मेरै भएको भए
त्यो अति सानो, चुद्र बलिदान हुनेथियो,
यति अचम्मको, यति ईश्वरीय प्रेमले
मेरो आत्मा, मेरो प्राण, मेरो सब पाउनैपर्छ।
काउन्ट जिन्जेन्डोर्फले भने: 'मेरो विचारमा, मैले सबभन्दा बढ़ी प्रेम गरेको थोक म प्रभुलाई अर्पण गर्दिनँ भने म मेरा मुक्तिदाताको योग्य हुँदिनँ।' अनि उगान्डाको पिल्किङ्गटनले स्वीकार्नुपरयोः ‘उहाँ राजा हुनुहुन्छ भने सब थोक पाउने अधिकार उहाँकै हो; उहाँले सबै थोक पाउनैपर्छ।
केही वर्षअघि मिशनेरी श्री टि. ई. विल्सनले आङ्गोलाका केही मानिसहरूको सामु बोल्दा उनले सुन्नेहरूको बीचमा एउटा ठूलो जीउडाल र हट्टाखट्टा मानिसलाई देखे, जसको साथमा डराइरहेको र कामिरहेको एउटा केटा थियो। हरेक बेला जब त्यो मानिस यताउता चल्थ्यो, त्यति बेला त्यो केटा तर्सेर भयभीत भयो। प्रवचन सिद्ध्याएपछि प्रचारकले यस दृश्यको रहस्य बुझे: त्यो केटा एउटा क्रूर मालिकको दास रहेछ। त्यो कुनै अनौठो कुरा थिएन। के गर्ने? त्यहाँको चलन यस्तै थियो। तुरुन्तै उनी गएर त्यस केटाको दाम सोधे। मोलतोल गरियो; त्यसको मालिकले ठूलो रकम भन्यो, तर जब दाम उसलाई सन्तोष लाग्यो, तब उसले त्यो केटा उनलाई बेच्यो।
जब श्री विल्सनले त्यो किनेको केटा लिएर घर गइरहेका थिए, तब उनले थाहा गरे: त्यो केटा उनीसँग पुरानो मालिकसँग झैं डराइरहेको रहेछ। घरमा पुगेपछि उनी त्यस केटासँग एकै ठाउँमा बसेर त्यसलाई भनेः 'छोरा, मैले तिमीलाई आज किनेको छु; अबदेखि तिमी मेरै हौ। तैपनि आजदेखि तिमी स्वतन्त्र भयौ र तिमीलाई जस्तो मन लाग्छ, त्यस्तै गर्न सक्छौ। कि त जङ्गलमा फर्केर तिमी त्यहाँ आफ्ना मानिसहरूसँग जिउन जाऊ, कि त मेरो परिवारको सदस्य भएर मेरो घरमा बसिरह!' ती मिशनेरीले भनेको कुरा पूरा रूपले साँचो हो रहेछ भन्ने त्यस केटाले बुझ्नासाथ आँसुले भरिएका आँखाहरूले उनलाई हेरेर भन्यो: 'हजुरहो, म सदा-सर्वदा तपाईंको दास हुनेछु।'
त्यसले अरू कुन उचित, सुहाउँदो उत्तर दिन सक्थ्यो? अनि यही प्रकारले हामीले पनि भन्नुपर्छ: 'प्रभु येशू, म सदाको निम्ति तपाईंको दास हुनेछु। मेरा हातखुट्टा, मेरो स्वर र दिमाग, अँ, सब अङ्गहरू तपाईंकै हुन्। आफ्नो अमूल्य रगत बगाईकन तपाईं मेरो निम्ति मर्नुभयो; यसैले अब उसो म तपाईंकै निम्ति जिउनेछु।' परमेश्वरका कृपाहरूले हामीलाई उहाँको निम्ति जिउन करमा पार्दछन्। हाम्रो सम्पूर्ण जीवन अर्पण गरेर मात्र हामीले उहाँको उचित सेवामा हाम्रो कर्तव्य पूरा गर्नेछौं (रोमी १२:१-२)।
आफ्नो छिमेकीप्रति हाम्रो जिम्मा
हाम्रो दोस्रो कर्तव्य पनि छ; त्यो हाम्रो छिमेकीप्रति छ। ख्रीष्टको सिद्धान्त पटक्कै निस्वार्थी छ। आफैलाई गहिरो प्रकारले ग्रीक र अन्यभाषीहरूको, बुद्धिमान् र बुद्धिहीनहरूको ऋण लागेको ठानेर हामी काम र परिश्रम गर्दछौं (रोमी १:१४)। हराएका आत्माहरूको निम्ति फिक्री गर्दै रहस्यमय करले हामीलाई काममा लगाउँदछ, जसले पुकार्छ: 'मैले सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ ' (१ कोरिन्थी ९:१६)।
यसैकारण इच्छुक जवान इसाईहरूले तल उल्लेख गरिएका कुराहरूमा ध्यान नदिई जीवनको विषयमा योजनाहरू बनाउन सक्दैनन्:
क) हाम्रो वरिपरिका मानिसहरू नष्ट भइरहेका छन्। दिनदिनै एक-एक गरी लाखौं मानिसहरू मरिरहेका छन्; ख्रीष्टबिना तिनीहरू दोषी छन्, नरक तिनीहरूको निम्ति पर्खन्छ।
ख) मुक्ति पाएकाहरूको निम्ति स्वर्गमा अपार आनन्द छ। तर ख्रीष्टबिना मरेकाहरूको भागचाहिँ नरकका असाध्य पीड़ा र कष्टहरूमा छ। ख्रीष्टको हरेक चेला चुपचापसित एक घण्टा बसेर नरकको विषयमा विचार गरोस्! नरक कहिल्यै सिद्धिदैन। नरकको अफसोस, त्यसको अन्धकार र त्यसका कष्टहरूको बारेमा सोच्नु छ। हाम्रा आफन्त, साथी र छिमेकीहरू, जताततैका मानिसहरू चाँड़ै त्यहाँ पुग्दैछन्। यसको विषयमा हामीले यतिसम्म ध्यान दिनुपर्छ कि हामीले नामधारी, मनतातो, कामचलाउ मात्र गर्ने, आत्मसन्तोषी ख्रीष्टिय जीवन कहिल्यै जिउन सक्दैनौं।
ग) सुसमाचारको सन्देश सत्य होइन भने हामीले त्यसलाई पूरा खारिज गर्नुपर्छ, तर त्यो सत्य हो भने त्यो संसारका सबै कुना-कप्चाहरूसम्म प्रचार गरिनुपर्छ। क्यान्सर रोगको निम्ति दवाइ छ भन्ने कुरा जानेर स्वार्थी भई त्यो आफ्नै निम्ति मात्र चलाउन दिने मानिस हत्यारा गनिन्छ भने हराएका आत्माहरूको निम्ति बाँच्ने उपाय जानेर त्यो अरूलाई नबताउनु पनि हत्या ठहरिन्छ, आत्माहरूको हत्या गनिन्छ।
के हामी जसका आत्माहरू स्वर्गीय बुद्धिले उज्यालो पारिए, अन्धकारमा जिइरहेका मानिसहरूलाई जीवनको ज्योति नदिऔं त?
घ) हालै जिइरहेका मानिसहरूले यस पुस्ताका इसाई - हरूद्वारा मात्र मुक्तिको सुसमाचार सुन्न सक्दछन्। यसैले हाम्रो कर्तव्य अरूलाई सुम्पिदिन सकिँदैन।
ङ) मत्ती २८:१९-२० पदमा प्रभुले हामीलाई सुम्पि- दिनुभएको महान् आज्ञाको सम्बन्धमा हामीले एकदिन परमेश्वरको सामु लेखा दिनुपर्छ। के परलोकमा जानु हामीलाई साहस छ, जब हाम्रो वस्त्रमा हराएका आत्मारूपी रगतको दाग लागेको छ?
च) हामीले भेट्ने हरेक मानिस हाम्रो मुक्तिदाताको मुकुटको एक रत्न हुन सक्दछ। यसैले उहाँको खातिर हामीले तिनीहरूलाई प्रेम गर्नैपर्छ।
यी सबै तत्त्वहरू हामीले निस्कपट र सहाससित सामना गर्नुपर्छ। अनि हामी यसो गर्दैनौं भने हामीले जीवनको यात्रा ठीक प्रकारले संचलन गर्ने विषयमा लक्ष्यबाट तर्केर गइसकेका छौं।
आफैप्रति हाम्रो जिम्मेवारी
अन्तमा, हाम्रो जीवनका योजनाहरू आफ्नो सर्वोत्तम लाभसित मिल्नुपर्छ। पहिलो दृष्टिमा, यसो गर्नुचाहिँ निक्कै स्वार्थी देखिन्छ। तर यसो गर्नु स्वार्थी होइन; किनकि परमेश्वरले हामीलाई सबभन्दा उत्तम कुरा दिन र उहाँले प्रेमसाथ हाम्रो निम्ति तयार गर्नुभएको कुरा हामीले प्राप्त गरेको चाहनुहुन्छ।
तब मैले के गरेर अहिले भइरहेको जीवनको निम्ति र पछि आउने जीवनको निम्ति मलाई सबभन्दा बढ़ी लाभ हुने कुराहरू प्राप्त गर्न सक्छु? जवान इसाईहरूले तल उल्लेख गरिएका बुँदाहरू गम्भीरतासाथ विचार गरून्ः
क) हाम्रो आत्मा बाँचेको, तर हाम्रो जीवन खेर गएको सम्भव छ।
ख) यो जीवन अनन्तकालको निम्ति लगानी गरिको चीज हो; यसको उद्देश्य आफैमा पूरा हुँदैन। राज्य गर्ने बेलाको निम्ति यो जीवनकाल तालिमको समय हो।
ग) तपाईंले अहिले आफ्नो जीवन यस प्रकारले मिलाउन सक्नुहुन्छ, कि मर्नुभएपछि तपाईंले उही काममा लागिरहनुहुनेछ।
श्री एफ. डब्लू. बोरहैमले भने: 'हरेक मानिसको कर्तव्य यस प्रकारको छः उसले आफ्नो निम्ति इमानदार कामको प्रबन्ध गर्नुपर्छ, जुन कामचाहिँ ऊ मरेपछि पनि गर्न सक्दछ।'
घ) एकदिन हामी ख्रीष्टको न्यायआसनको सामु उभिनु- पर्छ। त्यस बेला कुन कुरा गनिन्छ? परमेश्वरको निम्ति जिइएको जीवन मात्र गनिन्छ।
ङ) डराउनुहोस्! किनकि त्यस दिनमा खाली हात लिई गएर प्रभुलाई भेट्न सम्भव छ।
के म जाऊँ रित्तै हात लिई
यसै भेदूँ मेरा प्रिय मुक्तिदातालाई?
के एकै दिनको काम दिन नसकूँ उहाँलाई?
उहाँको चरणमा कसैलाई जितको लुटको मालस्वरूप
सुम्पिन सक्दिनँ र?
के म जाऊँ रित्तै हात लिई
यसै भेदूँ मेरा उद्धारकलाई?
एउटै आत्मा साथमा नल्याई उहाँलाई भेट्नुपर्छ कि?
के म जाऊँ रित्तै हात लिई?
सी.सी. लुथ्थर
च) उहाँको स्याबासी नपाएपछि अरू कुनै कुराले हामीलाई सन्तुष्ट पार्दैन।
मुक्ति खोज्ने मानिस एउटा बाटो भएर आउँदा हामी आफ्नो काममा व्यस्त भई अर्को बाटोमा हिँडेको यसभन्दा नराम्रो, सम्झना गर्न सकिने ठूलो हानि अरू छैन होला। तराजुमा त्यो धूलोसरह गनिनेछ। तपाईंलाई कस्तो लाग्ला, जब त्यस दिनको साँझमा फर्केर हेर्दा तपाईंले छर्लङ्गै बुझ्नुहुन्छ कि त्यति बेला हामीलाई मुक्ति दिने प्रभु त्यहीं बाटोमा उभिएर त्यस मानिसलाई 'हेर, संसारको पाप उठाई लैजाने परमेश्वरको थुमा!' भन्ने वचन सुनाउने व्यक्तिलाई खोज्नुभएको थियो, तर हामी त्यहाँ हुँदैनथियौं?
एमी करमाइकल
एकछिनको सोचाइले मात्र हामीलाई के प्रकट गर्छ भने यस जीवनको लागि र अनन्तकालको लागि हामीलाई लाभ हुने कुराहरू तब प्राप्त गरिन्छन्, जब हामी परमेश्वरको इच्छामा केन्द्रित हुन्छौं। तब के हामी एकपल्ट रोकेर हाम्रा लक्ष्यहरू जाँच्न दिऔँ त? लौ, आफैलाई प्रश्न गरौं:
क) के ती लक्ष्यहरू परमेश्वरप्रति मेरो कर्तव्य पूरा गर्नुमा साथ दिन्छन्?
ख) के अरू मानिसहरूप्रतिको मेरो जिम्मेवारी निभाउनुमा ती लक्ष्यहरू सहायता दिन्छन्?
ग) के यस जीवनमा र स्वर्गको निम्ति ती कुराहरूले मलाई सबभन्दा ठूलो लाभ दिन्छन् कि दिँदैनन्?
ती लक्ष्यहरूले यी सर्तहरू पूरा गर्दैनन् भने ती अयोग्य लक्ष्यहरू हुन्, र हामीले ती रद्द गर्नुपर्छ।
अध्याय १०: जीवनको समर्पण
अघिको अध्यायमा हामीले के देख्यौं भने परमेश्वरप्रति, छिमेकीप्रति र आफैप्रति हरेक विश्वासीका गम्भीर कर्तव्यहरू छन्। हामी परमेश्वरको सृष्टि भएको र उहाँबाट मुक्ति पाएको खातिर उहाँप्रति हाम्रो जिम्मेवारी छ। ख्रीष्टबिना हाम्रो छिमेकी अनन्तसम्म नष्ट हुनेछ; यसैले त्यस छिमेकीप्रति पनि हाम्रो जिम्मेवारी छ। अनि एकदिन हामी ख्रीष्टको न्यायआसनको सामु उभिनुपर्छ र हाम्रो सम्पूर्ण जीवनको लेखा दिनुपर्छ; यसैले आफैप्रति पनि हाम्रो जिम्मेवारी छ।
ख्रीष्टको चेला भएर हामी कसरी यी तीनवटा क्षेत्रहरूमा आफ्नो जिम्मेवारी सबभन्दा राम्रो प्रकारले पूरा गर्न सक्छौं? हामी स्वार्थी भएर आफ्नै निम्ति मात्र जिउँछौं भने हामी यस जीवनमा दु:खी हुन्छौं र आउने जीवनमा अभागी हुनेछौं। के यसरी हामीले आफ्ना सबभन्दा उत्तम लाभ प्राप्त गरेका छौं त?
ख्रीष्टको सुसमाचार नसुनाईकन आफ्नो छिमेकीको भलाइ र उपकारको निम्ति हामी जिउने भयौं भने उसलाई हामीले कुनै वास्तविक दया देखाएका हुँदैनौं किनभने मानिस- हरूलाई ख्रीष्टको खाँचो छ, र उहाँबिना तिनीहरू अनन्तसम्म नष्ट हुनेछन्।
तर यदि हामीले आफ्नो जीवन प्रभुलाई पूर्ण रूपले अर्पण गर्छौं भने हामीले कुनै गल्ती गरेका हुँदैनौं। किनकि जुन व्यक्तिले परमेश्वरलाई गहिरो प्रेम गर्दछ, उसैले सुसमाचार प्रचार गरेर मानिसहरूलाई अवश्य सहायता गर्छ। अनि यसरी हामीले आफ्ना सबभन्दा उत्तम लाभ हुने कुराहरूको प्रबन्ध गरेका हुन्छौं। हामी अहिले खुशी हुन्छौं र भविष्यमा इनामहरू पाउनेछौं।
यसैले ख्रीष्टिय जीवनको सफलताको ठूलो रहस्यचाहिँ आफैलाई सम्पूर्ण रूपले परमेश्वरकहाँ समर्पण गरेर भेट्टिन्छ।
यसको शुरु त्यहाँ छ, जहाँ हाम्रो जीवनको निम्ति सबभन्दा उत्तम कुरा कुनचाहिँ हो, सो म जान्दिनँ भनेर हामीले स्वीकार गर्छौं। भविष्यवक्ता यर्मियाले यसो भनेर यो मनसाय सुन्दर प्रकारले प्रकट गरे : 'हे परमप्रभु, मलाई थाह छ, मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्ना पाइलाहरू ठीक मार्गमा हिँड़ाउने शक्ति मानिसमा छैन' (यर्मियाह १०:२३)।
ख्रीष्टिय जीवनको गहिरो विश्वास यसैमा छ: हाम्रो जीवनको निम्ति परमेश्वरको सबभन्दा उत्तम योजना छ; हामीले उहाँको सबभन्दा उत्तम थोकको चाहना गर्छौं भने त्यो पाउँछौं। अनि हामीले त्यस उत्तम थोकको चाहना गर्दैनौं भने हामीले केवल उहाँको दोस्रो, तेस्रो वा पछि परेको कमसल थोक पाउँछौं।
यो कुरा हामीले पक्का हुने गरी विश्वास गरेका छौं; हामी बुद्धिमान् प्राणी भएको नाताले यस कुराले हामीलाई करमा पारेको छ। हामीले आफ्नो जीवन समर्पण गछौं, उहाँकै हातमा हाम्रो जीवन सुम्पिदिन्छौं। समर्पण भन्नाले हामीले हाम्रो सम्पूर्ण जीवन, हाम्रो आत्मा, प्राण र शरीर प्रभुलाई दिन्छौं। हाम्रा सर्वाङ्गहरू, हामीसँग भएका सबै थोक र आफैलाई पनि हामी अर्पण गछौं। यसको अर्थ यही हो : कुनै सर्तबिना नै हामीले आफ्नो इच्छा उहाँको अधीनतामा राखिदिन्छौं। यसरी हाम्रो समर्पण पूर्ण हुनेछ।
श्रीमती बेटी स्टमले शहीद हुनुभन्दा नौ वर्ष अघि जीवन समर्पण गरिन्। उनले आफ्नो बाइबलमा यसरी लेखिनः
'प्रभु, जीवनका मेरा उद्देश्यहरू र योजनाहरू मेरा सबै चाहना, आशा र लक्ष्यहरूसमेत ( जो सांसारिक वा शारीरिक छन्) म छोड्छु, अनि मेरो जीवनको निम्ति म तपाईंको इच्छा स्वीकार्छु। म आफैलाई, मेरो जीवन, मेरो सबै थोक सम्पूर्ण रूपले सदासर्वदा तपाईंको हुनको निम्ति तपाईंको हातमा सुम्पन्छु। मेरा साथी - सँगीहरूको सम्बन्ध पनि तपाईंको जिम्मामा लाउँछु। मैले प्रेम गरेका सबै मानिसहरूले मेरो हृदयमा दोस्रो स्थान पाऊन्। तपाईंको पवित्र आत्माले मलाई भर्नुहोस्! मेरो जीवनमा तपाईंको सिद्ध इच्छा जसरी भए पनि अहिले र सदासर्वदा पूर्ण भएको होस्! मेरो निम्ति जिउनु ख्रीष्ट हुनुहुन्छ।'
येलका श्री बोर्डनले जीवन समर्पण गरेको केही वर्षपछि मिस्र-देशमा मेनेन्जाइटिस रोगले ग्रस्त भएर मरे। तिनी चिनमा सुसमाचार प्रचार गर्ने यात्रामा थिए। तिनले आफ्नो जीवन समर्पण गर्दा यसो भनेका थिएः
'प्रभु येशू, मेरो जीवनबाट मेरा हात हटाएर तपाईंलाई मेरो हृदयको सिंहासनमा बसाल्छु। मलाई परिवर्तन गर्नुहोस्, शुद्ध पार्नुहोस्, तपाईंको इच्छाअनुसार चलाउनुहोस्! तपाईंको पवित्र आत्माको पूर्ण शक्ति म लिन्छु। म तपाईंलाई धन्यवाद चढ़ाउँछु।'
अनि यी समर्पणका शब्दहरू त्यस महान् वणिका प्रतिध्वणिहरू मात्र हुन्, जब त्यस पूर्वी, सुनसान गत्सेमनी बगैंचामा प्रभु येशूले प्रार्थनामा पुकार्नुभयो : 'मेरो होइन, तर तपाईंकै इच्छा पूरा भएको होस्!'
परमेश्वरको सम्बन्धमा अघि बढ्न र प्रगति गर्न चाहने हरेक व्यक्तिसित यसो हुनुपर्छ। यस्तो समय आउँछ, जब उसले प्रथम पटक आफ्नो इच्छा इन्कार गर्छ र आफैलाई जिउँदो बलिदानको रूपमा परमेश्वरको हातमा समर्पण गर्छ। उसले भन्दछः
तपाईंले मलाई जहाँ जान चाहनुहुन्छ, त्यहाँ म जान्छु;
तपाईंले मलाई जे गरेको चाहनुहुन्छ, त्यो म गर्छु;
तपाईंले मलाई जे भनेको चाहनुहुन्छ, त्यो म भन्छु;
तपाईंले मलाई जे बनेको चाहनुहुन्छ, म त्यही हुनेछु।
सर्तबिनाको समर्पण गरिसकेपछि हामीले दैनिक जीवनमा त्यो व्यवहारमा ल्याउनुपर्छ। विश्वासीले आफैलाई अर्पण गरेको भावनामा राखिछोड्नुपर्छ। आफ्ना मालिकका आदेशहरू पाउन सधैँ पर्खेर बस्ने दास हुँ भन्ने कुरा उसले निरन्तर सम्झना गर्नुपर्छ। उसको जीवनको हर क्षेत्रमा उसले प्रभुलाई पहिलो स्थान दिएर उहाँलाई स्वामी तुल्याउनुपर्छ।
तब के भइरहनेछ त? के यस्तो व्यक्तिले आफ्नो शरीरभित्र कुनै ठूलो परिवर्तन अनुभव गर्छ? के त्यहाँ अचम्म प्रकारको उत्तेजना, अनुभव र आवेग आउँछ त? के त्यहाँ अर्पणको प्रतिउत्तरमा स्वर्गबाट आगो खस्नेछ? हामी यति भन्न सक्छौं - प्रायः जसो अर्पण गरिएका व्यक्तिहरूमा कुनै बाहिरी चिन्ह वा अनुभव हुनेछैन। तर स्वर्गमा हुनुहुने पिताले त्यो पुकार सुनेर अर्पण गरिएको जीवन ग्रहण गर्नुभएको विश्वासको शान्तिमय निश्चयता हुन्छ। पश्चात्तापी पापी भई हामी प्रभुकहाँ फर्केर आउँदा उहाँले हामीलाई बचाउनुभयो भन्ने कुरा जसरी हामीले विश्वास गर्छौं, ठीक त्यसरी नै हामीले आफ्नो जीवन जिउँदो बलिदानको रूपमा अर्पण गर्दा उहाँले हामीलाई ग्रहण गर्नुहुन्छ भन्ने कुरा विश्वास गर्नुपर्छ।
त्यसपछि दिन प्रतिदिनको जीवनमा निरुत्साहित हुने खतरा छ। एक प्रकारले, जीवन पहिले जस्तै चलिरहन्छ। हुन सक्छ, दैनिक जीवन अति साधारण, मामुली, अँ, नीच देखिन्छ। तर मुख्य कुरा हाम्रो अर्पण गरिएको मन भावनामा छ, जसले जान्दछ: हाम्रो सामु राखिएको बाटो हाम्रो निम्ति परमेश्वरबाट ठहरिएको हो। सानातिना कुराहरूमा विश्वासयोग्य बन्दै जाँदा परमेश्वरले तपाईंलाई यस आपत्तिकालबाट विश्वासयोग्यता- साथ अगुवाइ गरेर लैजानुहुन्छ। कदम-कदममा उहाँले तपाईंलाई डोरयाउनुहुनेछ। तपाईंले आफ्नो जीवनमा अनौठा, ससाना, योजना नगरिएका संयोगहरू थाह गर्नुहुनेछ। सबै कुरा मिल्न आउँछन्। तपाईंले यस्ता मौकाहरू पाउनुहुनेछ, जुन मौकाहरू तपाईंले आफ्नो निम्ति कहिल्यै बन्दोबस्त गर्न सक्नुहुन्नथियो। अनि कहिलेकहीं परमेश्वरको अगुवाइ अस्पष्ट हुन सक्छ, तर अर्पण गरिएको जीवनका बितेका केही वर्षहरू नियाल्दै प्रभुले डोरयाउनुभएको कुरा तपाईंले चाल पाउनुहुनेछ र तपाईंको जीवन सौभाग्यशाली भएको थाह पाउनुहुनेछ।
पर्खनु खाँचो छ। लामो समयसम्म पर्खनु दुःखदायी हुन सक्छ र हामीलाई गाह्रो लाग्न सक्छ। तर यो पनि हाम्रो तालिमको आवश्यक भाग हो।
पछि हट्नु सधैँ एउटा खतरा हो। पछुतो लागेर वा अघि गरेको निर्णय गल्ती सम्झेर बलिदान चढाइएको वेदीबाट तल आउन सम्भव छ। ख्रीष्टको एक चेलाले आफ्नो कोठाको भित्तामा निम्न आदर्श वाक्य लेखेर टाँगायोः 'प्रभु, जसरी भए पनि मलाई आफ्नो निम्ति लिइराख्नुहोस्!' तर एकदिन ऊ गएर त्यो लेख हटायो। उसले तिर्नुपर्ने दाम ज्यादा थियो क्यरे। हामीले चढ़ाएको जिउँदो बलिदान फर्काएर लिनुहुँदैन; किनभने आफ्नो हात हलोमा राखेर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरको राज्यको निम्ति योग्यको हुँदैन (लूका ९:६२)।
अर्पण गरिएको जीवनमाथि जे आइपरे तापनि त्यहाँ अफसोस मान्नुपर्ने कुनै कुरा छैन। श्री बोर्डले यस सम्बन्धमा यसो भने:
'कुनै कुरा बाँकी नराख्ने जीवन, कहीं पछि नहट्ने
जीवन, कुनै अफसोस मान्नु नपर्ने जीवन यही हो!'
अब हामीले यहाँ भनेको सब कुरा व्यवहारमा ल्याउनुपर्छ र व्यक्तिगत तुल्याउनुपर्छ। तल दिइएका प्रश्नहरू हामी हरेकले साहससित सामना गरौं र परमेश्वरको उपस्थितिमा इमानदारीपूर्वक जवाफ दिऔं।
क) के तपाईंले आफ्नो जीवन परमेश्वरको हातमा समर्पण गरिसक्नुभएको छ?
ख) के तपाईंले आफ्नो इच्छाअनुसारको जीवन बिताउन कोशिश गर्दै परमेश्वरको विरोधमा संघर्ष गरिरहनुभएको छ, जब कि वास्तवमा तपाईंको जीवन उहाँकै हो?
ग) के उही मुक्तिदाताको निम्ति, जो तपाईंको निम्ति मर्नुभयो, कुनै बलिदान/त्याग गर्न तपाईंलाई साह्रै गाह्रो भइरहन्छ?
घ) के अझै यस्तो एउटा ठाउँ छ, जहाँ तपाईं उहाँको निम्ति अझै जान तयार हुनुहुन्न?
ङ) के तपाईंलाई डर छ, परमेश्वरले तपाईंलाई यस्तो कुनै सेवाको क्षेत्रमा काम गर्न बोलाउनुहुन्छ, जो तपाईंको स्तरभन्दा, अँ, तपाईंको इज्जतभन्दा कम हुन्छ?
च) के तपाईं अहिले नै आफ्नो जीवन केही बाँकी नराखीकन प्रभु येशूलाई दिइहाल्न तयार हुनुहुन्छ? के तपाईं केही बाँकी राख्ने आँट गर्नुहुन्छ?
अध्याय ११: पेसाको स्थान र उद्देश्य
ख्रीष्टको हातमा जीवन अर्पण गर्ने कुरा गर्नसाथ कतिले तुरुन्तै तर्क गर्दै आफ्नो सफाइ गर्न चाहन्छन्। 'मलाई जिउनुको खाँचो छ, होइन र?' सोचविचार कसरी यतिसम्म गड़बड़ हुन र अलमल्ल पारिएको हुन सक्छ? यस भनाइले यति भन्न खोजेको र निम्न गलत दाबीहरू गरेको छः
क) जसरी भए पनि हामीलाई जिउनै छ।
ख) ख्रीष्टको हातमा जीवन अर्पण गर्नेहरूले आफ्नो जीविका चलाउँदैनन्, तर कसै गरी पूरा समय प्रभुको सेवामा लागिपरेका हुन्छन्।
ग) परमेश्वरको निम्ति अर्पिएको व्यक्तिको हालत नराम्रो हुन्छ र अर्पित नभएर राम्रो जागिर पाउनेथियो होला, तर अबचाहिँ ऊ भोकले मर्नुपर्ला।
यस्तो विचार बिलकुल गलत हो। किनभने सर्वप्रथम, हामीले जिउनैपर्दैन। प्रभु येशूका दासदासीहरूले कहिले र कसरी मर्नुपर्छ, सो छान्दैनन्। प्रभुले इच्छा गर्नुभएको बेलासम्म मात्र जिउनु आवश्यक छ। त्यस समयसम्म हामी अमर हुन्छौं।
दोस्रो, त्यो विचार बिलकुल गलत हो; किनकि हरेक विश्वासीले पूरा समय प्रभुको सेवा गर्छ नै। कतिजनाको निम्ति कार्यालयचाहिँ, कतिको निम्ति भान्साकोठा तिनीहरूको मिशन- क्षेत्र हो। कतिले अफ्रिकामा, कतिले यूकेमा अन्यजातिका मानिसहरूलाई साक्षी दिएर सुसमाचार प्रचार गर्छन्।
अन्तमा, यस्तो विचार बिलकुल गलत हो; किनभने ख्रीष्टको इच्छा पहिलो स्थान दिनेहरूलाई जीवनको निम्ति अनिवार्य कुराहरू पाउने प्रतिज्ञा दिइएको कुरा यस्तो भन्नेहरूले बिर्सेका छन्।
'पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै थोकहरू तिमीहरूलाई थपिनेछन्।' मत्ती ६:३३
यस सम्पूर्ण विषयको बारेमा हाम्रो सोचाइ सफा पारिनको निम्ति हामीले ख्रीष्टको चेलाको लागि काम वा पेसाको उद्देश्य के हो, सो छोटकारी विचार गर्न उचित होला।
क) सर्वप्रथम, परमेश्वरको योजनाअनुसार मानिसहरूले काम गरेर आफ्नो जीविका चलाउनुपर्छ।
'तेरो निधारको पसिनाले कमाएको भोजन तैंले खाने- छस्।'
उत्पत्ति ३:१९ 'छ दिनसम्म परिश्रम गरेर तैंले आफ्ना सबै काम गर्!'
प्रस्थान २०:९ 'यदि कसैले काम गर्न चाहँदैन भने त्यसले खाना नखाओस् पनि।' २ थेस्सलोनिकी ३:१०
परिश्रम गर्नुमा कुनै शर्म लाग्ने कुरा हुँदैन नै। होइन, परमेश्वरले परिश्रममा मानिसको लागि आशिष राख्नुभएको
छ।
ख) ख्रीष्टको चेलाले आफ्नै काम, जागिर वा पेसाको विषयमा प्रभुको अगुवाइ खोज्नुपर्छ। यस सम्बन्धमा कुनै मिशन - क्षेत्रमा निस्केझैं उसले स्पष्ट अगुवाइ पाउने आशा राख्नुपर्छ।
ग) यसर्थ सुसमाचार नपुगेको कुनै क्षेत्रमा सुसमाचार पुरयाउनुभन्दा यो काम, जागिर केही कम होइन। परमेश्वरले हामीलाई काम रोज्नुमा डोरयाउनुभयो भन्ने कुरा जान्नु महत्त्वपूर्ण कुरा हो। तर साँच्चिकै प्रभुको इच्छा पालन गर्नको निम्ति आफूलाई समर्पण नगरेसम्म र यसै हुनाले जुनै ठाउँमा जान तयार नभएसम्म हामीले यस विषयमा पूरा निश्चित हुन सक्दैनौं।
घ) अचेल प्रभुको 'पवित्र' काम र अरू 'साधारण, सांसारिक' कामको बीचमा भिन्नता राख्ने विचारधारा पवित्र बाइबलको आधारमा गरिएको होइन। परमेश्वरको महिमाको निम्ति गरिने सबै काम प्रभुको 'पवित्र' सेवा मानिन्छ। यस सम्बन्धमा श्री जे. चम्पबेल मर्गनले लेखे:
'हरेकको जीवनबाट ‘साधारण काम' भन्ने वाक्य काटिन लायकको छ। काम गर्ने मानिस पवित्र छ भने उसको सबै परिश्रम पनि पवित्र छ भन्ने कुरा प्रभु येशूले हामीलाई सिकाउनुभयो। वादविवाद गर्नको निम्ति होइन, तर हाम्रो जीवनमा यस भूलधाराको विरोध गर्नको निम्ति म तपाईंलाई भन्न चाहन्छुः कुनै पनि मानिसले प्रचार गरेको कारणले वा अरू कुनै धार्मिक विधि वा कार्यहरू पूरा गरेको कारणले आफ्नो विषयमा 'पवित्र' सेवकाइ पाएको भन्न पाउँदैन।
भोलि बिहान आफ्नो झोला र त्यसमा आफ्ना हतियार- हरू बोकेर काममा निस्कने मानिसले, यदि ऊ एक पवित्र व्यक्ति हो भने, त्यही कुरा पनि दाबी गर्न सक्छ; अनि यदि सिकर्मीको दोकानमा उसले एउटा काठ चिरयो भने त्यो चिर्नेचाहिँ १ पत्रुस २:९ पदअनुसार एउटा पूजाहारी हो भने उसले चलाएको आराचाहिँ परमेश्वरको पवित्रस्थानको साधन वा औजार हो। सबै सेवा पवित्र सेवा हो। आउँदो हप्ताका सब दिनहरूमा तपाईंहरूले काम गर्नुहुने ख्रीष्टको त्यो विचार आफ्नो काम गर्ने ठाउँमा बोकेको, चाहे त्यो टिकट काउन्टर वा अफिस किन नहोस् अनि प्रिया दिदीबहिनीहरूहो, तपाईंहरूले आ-आफ्नो घरमा त्यो विचार लगेको म चाहन्छु।'
ङ) कामको सम्बन्धमा प्रभुको अगुवाइ खोज्दा विश्वासीले एउटा कुरा याद गर्नुपर्छ: परमेश्वरले एउटा मानिसलाई त्यस क्षेत्रमा चलाउनुहुन्छ, जुन क्षेत्रमा उसका स्वभाविक क्षमताहरू छन्। त्यस नियमभित्र नरहने कुराहरू पनि छन्, तर प्रायः यो नियम हामी व्यवहारमा लागू भएको देखिरहेका छौं।
च) पक्का पनि प्रभुले कुनै विश्वासीलाई शङ्कापूर्ण वा अनैतिक काममा अगुवाइ गर्नुहुन्न नै। कुनै विश्वासीले यस्तो काममा लाग्नुहुँदैन, जसमा सांसारिक तरिकाहरू अपनाइन्छन् वा उसले आफ्नो साक्षी बिगार्नुपर्छ।
छ) काम जीवनको सबभन्दा मुख्य कुरा होइन भन्ने कुरा सम्झना गर्न महत्त्वपूर्ण छ। यो त अर्को, यसभन्दा ठूलो उद्देश्य पूरा गर्ने एउटा माध्यम मात्र हो। श्री विलियम केरीको भनाइ प्रख्यात भएको छ, र हाम्रो ध्यान पाउनु योग्यको छ। जब जीवनमा उनको मुख्य काम के हो भनेर उनलाई सोध्दा उनको उत्तर यस प्रकारको थियो: 'मेरो मुख्य काम सुसमाचार प्रचार गर्नु हो; अनि यसको खर्च बेहोर्नको निम्ति म जुत्ता बनाउँछु, मर्मत गर्छु।'
श्री जोन वानामेकरको विषयमा पनि यस्तो कथा बताइन्छ। तिनले आफ्नो नाममा एउटा विशाल सुपरमार्केट खोलेका थिए। जब तिनीजस्तै व्यस्त मानिसले कसरी सन्डेस्कूलको कामको निम्ति समय पाउँछन् भन्ने प्रश्न तिनलाई गरियो, तब तिनले जवाफ दिए: यी चीजहरू सबैचाहिँ केवल कुराहरू मात्र हुन्। पचपन्ना वर्षअघि मैले प्रभुको यस प्रतिज्ञाको विषयमा निश्चय गरें: ‘पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सब कुराहरू तिमीहरूलाई थपिनेछन्' (मत्ती ६:३३)।
याद गर्नुपर्ने ठूलो कुरा यही रहेछ। प्रभुका इच्छा र चाहनाहरूले पहिलो स्थान पाउनैपर्छ। काम वा पेसाचाहिँ त्यसपछि आउँछ। जब हाम्रो कामले त्यसले पाउनुपर्ने बढ़ी भाग लिन्छ, तब कुरा खतरा हुन गएको छ। जसरी जाँडोबाट उम्केर तम्बूको कुनामा ठाउँ खोज्ने ऊँटले पूरा ठाउँ ओगटेर पछि आफ्नो मालिकलाई बाहिर ठेल्छ, ठीक त्यसरी नै कामले पनि त्यसको ठाउँ पाउनुपर्ने मालिक र स्वामीलाई निकालिदिन्छ। कामले गर्दा मानिसहरू स्थानीय मण्डलीका सभाहरूमा उपस्थित हुँदैनन्। कामले उसको पूरा समय खान्छ। ख्रीष्टको निम्ति गरिने सेवामा कामले बाधा दिन्छ, यहाँसम्म कि त्यस सेवकाइको प्रभाव प्रायः धेरै कम हुँदै जान्छ।
यसको नतिजा यस्तो छ : विश्वासीले पाउनुपर्ने जन्म- अधिकार उसबाट छलिन्छ। श्री जोवेटले भनेझैं यस्तो मानिस त बितिजाने काममा वस्त रहने एउटा सानो कर्मचारी मात्र बन्दछ; तर दोस्रो, तेस्रो ठाउँ ओगट्ने चीजलाई अँगालो मार्दा उसले जीवनको मुख्य कुरा, त्यसको मुटु गुमाइपठाउँछ।
ज) जब कामको स्थान दोस्रो हो भनी हामी भन्छौं, तब यसको मतलब यो होइन कि हामीले लापरवाहीसाथ वा चासोबिना काम गछौं। होइन, यसको विपरीत सत्य होः ख्रीष्टको निम्ति साक्षी बन्नको निम्ति हामीले त्यो काम विश्वासयोग्यतासाथ, सम्पूर्ण हृदयले प्रभुको निम्ति गरेझैं एकदम राम्रो गर्नुपर्छ। परमेश्वरका छोरा वा छोरीले आफ्नो कामको मालिकलाई घण्टाको हिसाबले तलब पाउँछ भने एक घण्टाको तलबको निम्ति साठी मिनट ध्यानपूर्वक कामको परिश्रम दिनुपर्छ। अनि यसको सिलसिलामा उसले आफ्नो मालिकलाई दिनुपर्ने समय लिएर अरूलाई सुसमाचार पनि सुनाउँदैन। त्यो उसले आफ्नै खर्चमा, आफ्नै समयमा गर्नुपर्छ।
धेरै पल्ट ख्रीष्टको चेलाको निम्ति आफ्नो कामका मालिकका मागहरू कहिले प्रभुप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्नुमा बाधा दिन्छ, सो जान्न गाह्रो छ। त्यो कुरा सन्तुलनमा ल्याउन धेरै जनाले जान्दैनन्। तर यति निश्चय छ: यस सम्बन्धमा कुनै मानिसले परमेश्वरलाई आदर दिन्छ भने परमेश्वरले त्यस मानिसको आदर गर्नुहुन्छ र काम गर्ने ठाउँ बदल्न खाँचो परेमा उसलाई भीख माग्ने तुल्याउनुहुन्न।
झ) हामीले अर्को खाल्डो पर्नुबाट उम्कनुपर्छ: हामी जीवनभरि यस्तो एउटा काममा बिताउँछौं, जुन काम अविश्वासीहरूले पनि गर्न सक्छन्। प्रभु येशूले भन्नुभयोः 'मुर्दाहरूलाई आफ्ना मुर्दाहरू गाडून देऊ, तर तिमीचाहिँ जाऊ र परमेश्वरको राज्यको प्रचार गर!' (लूका ९:६०) जुनै पनि मानिसले मुर्दाहरू गाड्न सक्छ, तर मुक्ति पाएकाहरूको जिब्रोले मात्र ख्रीष्टमा भएको मुक्ति दिने अनुग्रहको बयान गरेर त्यसको साक्षी दिन सक्दछ। यसर्थ हामी अनिवार्य, नभई नहुने भएका छौं।
ञ) नीच कमाइको लोभले गर्दा हामीले कुनै यस्तो काम गर्नुहुँदैन, जुन काम हामीले ख्रीष्ट येशूको निम्ति कहिले गर्नेथिएनौं। कुनै समयमा पनि हामीलाई काम दिने संस्थाको निम्ति कुनै यस्तो काम गर्नुहुँदैन, जुन काम हामीले हेला गरी मण्डलीको निम्ति गर्न तयार छैनौं।
ट) धेरै पल्ट जब कुनै मानिसले आफ्नो कामका जिम्मेवारीहरू विश्वासयोग्यतासाथ पूरा गर्छ, तब परमेश्वरले उसलाई नम्र प्रकारले प्रयोग गर्न थाल्नुहुन्छ र उसको काम गर्ने क्षेत्र बढाउनुहुनेछ। हुन सक्छ, प्रभुको कामको निम्ति उसले बढ़ी समय दिनुपर्ला; यसो भए तापनि उसको खाँचो पनि पूरा गरिएको हुन्छ। अथवा हुन सक्छ, परमेश्वरको विशेष र निश्चित बोलावट पाई उसले स्वदेश वा विदेशमा पूरा समय सुसमाचार प्रचार गर्ने काम वा बाइबलको शिक्षा सिकाउने कामको निम्ति दिन्छ। प्रभुले सफासँग अगुवाइ गर्नुभएको हो भने ख्रीष्टको चेला डरबिना यस्तो काममा निस्कन सक्दछ र आफ्ना दैनिक खाँचाहरू कसरी पूरा गरिने हो, सो फिक्री गर्नुपर्दैन। जब परमेश्वरले बोलाउनुहुन्छ, तब उहाँले प्रबन्ध पनि तयार गर्नुहुन्छ। अथवा श्री हुड्सन् टेलरले भनेझैं 'परमेश्वरको काम परमेश्वरको तरिकाले गर्नु हो भने त्यो परमेश्वरका प्रबन्धहरूबिना कहिल्यै रहनुपर्दैन; त्यस कामको निम्ति परमेश्वरको बन्दोबस्त निश्चित छ।'
ठ) यस युगमा संसारले कामको सफलता र पेसाहरूलाई महान् र उच्च पार्छ; तब ख्रीष्ट्यानहरूले यस्ता प्राप्तिहरूमा चासो नराखी तिनीहरूको मन ती कुराहरूबाट पर बस्न असल हो। सानो प्रकारले ख्रीष्टको सेवा गर्न पाउनु सरकारी वा गैरसरकारी विशाल विभागको प्रमुख हुनुभन्दा उत्तम हो। अनि परमेश्वरको इच्छामा फोहोरमैला उठाउने हुनु हो भने उहाँको इच्छा विपरीत प्रधान मन्त्री हुनुभन्दा त्यो नै उत्तम हो।
यी कुराहरू लिएर जवान इसाईहरूले आफ्नो कामको विषयमा सोच्नु र मूल्याङ्कन गर्नुपर्छ। परमेश्वरले उसलाई उसले पाएको काम पाउनुमा अगुवाइ गर्नुभएको कुरामा ऊ एकदम पक्का र निश्चित हुनुपर्छ। आफ्ना प्रभु र स्वामीको हातमा आफैलाई सर्तबिना समर्पण गर्न नचाहेर उसले त्यस कर्तव्यबाट उम्केर त्यो काम अपनाएको हुनुहुँदैन।
अध्याय १२: किसिम-किसिमका बहानाहरू
ख्रीष्ट येशूले दाबी गर्नुभएका सर्तहरू मानिसहरूले बुझेपछि तिनीहरूले बहाना गर्न थाल्छन्। यो स्वभाविक कुरा हो। कतिले यी सर्तहरू सुन्दा तुरुन्तै एउटा निहुँ खोजी-खोजी निकालिहाल्छन्। हामीले अघि यस्तो एउटा बहाना हेरिसक्यौं: 'मैले जिउनैपर्छ, होइन र?' अब हामी मुक्तिदाताको बोलावट पाउनेहरूले कसरी त्यो इन्कार गर्छन्, सो हेर्नेछौं।
प्राय: जसो सुन्न सक्ने एउटा बहाना यो हो: 'मैले आफ्नो भविष्यको विषयमा सोच्नुपर्छ।'
केही वर्षअघिको कुरा हो: संयुक्त अमेरिकाको पूर्वी क्षेत्रको एउटा जवान मानिस प्रभुलाई कुनै विशेष सेवाको निम्ति आफ्नो जीवन अर्पण गर्ने सम्बन्धमा एकदम गम्भीर भएको थियो। आफैभित्र ठूलो संघर्ष चलिरहेको उसले थाह गरेको थियो र यस आग्रहमा निर्णय गर्नु अति आवश्यक देखिन्थ्यो। सेवाको यो बाटो अपनाउने वा व्यापारको क्षेत्रमा उच्च स्तरको काममा लागिरहने चुनौतीको सामना गर्दा उसले अरू दुईजना ख्रीष्ट्यानहरूको सल्लाह लियो, जो आफै पनि व्यवसाय गर्नुमा प्रसिद्ध थिए। तिनीहरूले जोड़साथ उसलाई आफ्नो काम नछोड्ने यस्तो सल्लाह दिए: 'भाइ बोब, याद गर, तिमीले आफ्नो भविष्यको निम्ति विचार गर्नुपर्छ।' यसकारण उसले आफ्नो धेरै तलब दिने जागिर छोड़ेन, तर के उसले साँच्ची नै आफ्नो भविष्यको बारेमा विचार गरयो त?
अरूले भन्छन्: ‘तर कोही न कोही विदेशमा नगएर घरमा रहनुपर्छ।' यस्तो कुरा गर्ने मानिसहरू ख्रीष्टको निम्ति युद्धक्षेत्रमा उत्रेकाहरूको गहिरो वास्ता गरेको देखा पर्छन्। तर धेरै पल्ट तिनीहरूको मनभावना एउटा बहाना मात्र हो, जसले यस्तो बोलावटको निम्ति तयार नभएको तिनीहरूको इच्छा प्रकट गर्छ।
हो, सुसमाचार प्रचार गर्न निस्केकाहरूको खाँचो पूरा गर्नको निम्ति परमेश्वरले आफ्नो स्वदेशमा रहेका कतिलाई प्रयोग गर्नुहुन्छ। त्यो साँचो कुरा हो। तर धेरै स्वस्थ, साहसी, बलिया, क्षमताशील जवान केटाहरू आफ्नो घर वा देशमा रहनको निम्ति बोलावट पाउँछन् रे, जब तिनीहरूका कमजोर, डरपोक बहिनीहरू डरलाग्दा, रोग लाग्ने भूक्षेत्रहरूमा अग्रसर भई काम गर्न निस्कन्छन् भन्ने कुरा अनौठो देखिन्छ।
ख्रीष्टिय सेवामा भन्दा अरू क्षेत्रमा आफ्ना क्षमता र पढाइ प्रयोग गर्न सकिन्छ भन्ने तर्क अरूले गर्छन्। यसैले तिनीहरूले सम्पूर्ण रूपले आफ्नो जीवन प्रभुको हातमा समर्पण गर्न हेल- चेक्रयाइ गर्छन्। तिनीहरूको डर के छ भने प्रभुले तिनीहरूलाई यस्तो खालको सेवामा बोलाउनुहुन्छ, जो तिनीहरूको स्तरदेखि मनिको छ। यस तर्कको उत्तर दिन सजिलो छ: हाम्रा क्षमताहरू कहाँ सबभन्दा उत्तम प्रयोगमा आउँछन्, सो भन्न हामीलाई दिइएको छैन। तर झन् बढ्ता गरी परमेश्वरको अनादर त्यहाँ गरिन्छ, जहाँ हामीले कुनै कुरा परमेश्वरबाट बाँकी राख्छौं, जो उहाँलाई दिनबाट रोकेको हामीलाई असल लाग्छ। हामीसँग भएको सब नै हामीले उहाँबाट पाएका छौं। अनि पढाइ र क्षमताहरू आ-आफ्नो ठाउँमा राखेमा सब ठीक छन् भने प्रभु येशूको कीलाले घोचिएको चरणमा राख्न तिनीहरूको सर्वोत्तम स्थान हो। प्रेरित पावल विशाल विद्वान्, बड़ो परिश्रमी कामदार र निपुण प्रतिभासम्पन्न व्यक्ति थिए। यस संसारमा बुद्धिमान् ठानिएकाहरूको दृष्टिमा जेजति बढ्ता सम्झेका कुराहरू छन्, यिनको विषयमा सोच्दा उनले यसो लेखे:
'तर जुन कुराहरू मेरो निम्ति लाभ थिए, तिनलाई मैले ख्रीष्टको निम्ति हानि सम्झें। अँ, साँच्चै मेरा प्रभु ख्रीष्ट येशुको ज्ञानको सर्वश्रेष्ठताको निम्ति म सबै कुराहरू हानि ठान्छु, उहाँकै निम्ति मैले सबै कुराहरूको हानि खपें, अनि ख्रीष्टलाई प्राप्त गरूँ र उहाँमा पाइन सकूँ भनेर म तिनीहरूलाई कसिङ्गर ठान्छु।' फिलिप्पी ३:७-८
अझ अरूले ख्रीष्टको हातमा गरिने समर्पण कति समझदार छ भन्ने कुरा सामना गर्नुपर्दा तिनीहरूले भन्छन्: ‘म त बूढ़ो भइसकें।' तब हामी यस्ता आत्मिक सेनामा भर्ना हुन नचाहनेहरूलाई यति मात्र सोध्न चाहन्छौं: प्रभुको आज्ञा पालन गर्नको निम्ति हामी कहिले वृद्ध भइसकेका गनिन्छौं त?
अर्को बहाना घरका जिम्मेवारीहरू हो, जस्तै बुवाआमा, स्वास्नी वा छोराछोरीहरू। के उहाँको हातमा आफैलाई समर्पण नगर्ने कारणहरूको रूपमा उहाँले यी प्रिय आफन्तहरू हामीलाई दिनुहुन्छ र? त्यो समझदार कुरा होइन। के यसरी उहाँले आफ्ना उद्देश्यहरू र हाम्रो सबभन्दा उत्तम भाग्य बिगार्नुहुन्छ त? होइन, परमेश्वरले अर्पन गरिएको ख्रीष्टको चेलालाई सधैं यस प्रकारले अगुवाइ गर्नुहुन्छ कि उसले घरका निभाउनुपर्ने आवश्यक जिम्मेवारीहरू पूरा गर्न सक्छ। तर हाम्रो पहिलो कर्तव्य उहाँको हातमा आफैलाई अर्पण गर्नु हो र उहाँलाई बुवा, आमा, स्वास्नी र छाराछोरीहरू, दाजुभाइ र दिदीबहिनीहरूभन्दा, अँ, आफ्नो जीवनभन्दा बढ्ता प्रेम गर्नु हो (लूका १४:२६)।
कति इमानदार व्यक्तिहरू आफूलाई सम्पूर्ण रूपले समर्पण गर्नदेखि हट्छन्; किनकि तिनीहरूलाई तिनीहरूको क्षमता पुग्दैन जस्तै लाग्छ। समर्पण गर्नको निम्ति हाम्रो क्षमता चाहिँदैन। ख्रीष्टले खाली भाँडाहरू अति राम्रोसँग चलाउन सक्नुहुन्छ। यसबाहेक प्रायः प्रभुको कामको हरेक साँचो बोलावटमा हाम्रो अल्पविश्वासले गर्दा हामीलाई केही मात्रामा धक्क लाग्छ नै। यस्तो मनभावना बहाना होइन, र यसबाट कुनै बाधा आउनु पनि पर्दैन। अन्तमा हामी यति भनौं: ख्रीष्टको शरीरको हरेक अङ्गमा कुनै वरदान छँदैछ। अनि आफ्नो वास्तविक कार्यभार र सेवाक्षेत्र भेट्टाउनको निम्ति हामीले येशूलाई प्रभुको रूपमा स्वीकार्नुपर्छ, अपनाउनुपर्छ।
मलाई लाग्छ, सबै बहानाहरूभन्दा योचाहिँ सबभन्दा दयनीय होला: 'मैले उहाँको निम्ति सबै कुरा त्याग्नुपर्दैन। परमेश्वरको इच्छा यस्तो होइन नि! उहाँ त मैले सबै कुरा त्याग्न तयार भएको मात्र देख्न चाहनुहुन्छ।' यसको उत्तरमा म यो भन्छुः तपाईं युद्धभूमिमा उत्रेका सिपाहीको दल सम्झनुहोस्! अघि बढ्ने हुकुम दिइँदा तिनीहरू आफ्ना बन्दुक सफा गर्दै आफ्ना मोर्चाहरूमा बसिरहेर भन्छन्: ‘सेनापतिले हामी अघि बढ़ेको चाहँदैनन् नि! हामी इच्छुक छौं कि छैनौं, यति उनले जान्न चाहन्छन्।' यस प्रकारले कुनै लडाइँ जिनिँदैन; अनि हाम्रो जीवनको विषयमा हारैहारको बयान मात्र लेखिन्छ।
यी सबै कुराहरू बहानाहरू मात्र हुन्। आफैलाई ख्रीष्टको हातमा अर्पण गर्न नचाहने मानिसहरूले यिनलाई प्रयोग गर्छन्। यी बहानाहरू हुन्, तर्कहरू होइनन्। मुक्तिदाताको हातमा आफ्नो जीवन समर्पण नगर्ने कुनै कारण छैन।
उहाँले फेरि एकपल्ट तपाईंलाई भन्नुहुन्छ: 'मेरो छोरा, मेरी छोरी, तिम्रो हृदय मलाई देऊ!' तपाईंले उहाँलाई के दिनुहुन्छ? केही बहाना गर्नुहुन्छ कि आफैलाई दिइहाल्नुहुन्छ?
अध्याय १३: एउटै प्रेरणाले पूर्ण भएको जीवन
प्रभु येशू हामीबाट केही कुरा पाउनु योग्यको हुनुहुन्छ भने उहाँ सबै नै, हाम्रो सम्पूर्ण जीवन नै पाउनु योग्यको हुनुहुन्छ। उहाँ हाम्रो निम्ति मर्नुभयो भने हामी उहाँको निम्ति मर्नुपर्छ। उहाँले हाम्रो निम्ति आफ्नो शरीर दिनुभयो भने हामीले उहाँको निम्ति आ-आफ्नो शरीर दिनुपर्छ।
साँचो ख्रीष्ट्यान एक प्रकारको कट्टरपन्थी हो। ऊ निन्दा र गिल्ला खाने पात्र हो। ऊ संसारसित मिल्दैन, उसको वरिपरिको वातावरणसित मिल्दैन। जुन बेला ऊ साधारण व्यक्ति बन्छ, त्यति बेला उसले आफ्नो सद्गुण, आफ्नो चरित्रको शक्ति गुमाइसकेको हुन्छ।
आदर्श-विश्वासी प्रेरणाले पूर्ण जीवन जिउँछ। प्रभु येशूको निम्ति ऊ जोशिलो, उत्तेजित हुन्छ। काउन्ट जिन्जन्डोर्फले झैं उसले भन्छ: 'मेरो एउटै मात्र चाहना छः त्यो उहाँ नै हुनुहुन्छ, र उहाँ मात्र हुनुहुन्छ।' अरू सबै कुराहरू पछि सर्नुपर्छ।
श्री रोबर्ट अर्थिङ्टनले झैं तिनीहरूले भन्छन्: 'ख्रीष्टको ज्ञानको कमीले गर्दा मानिसहरू नष्ट हुनुभन्दा बरु म खुशीसाथ भुइँचाहिँ मेरो ओछ्यान, एउटा काठको बाकसचाहिँ मेरो कुर्सी र अर्को बाकसचाहिँ मेरो टेबल तुल्याउँछु।'
प्रभुका चेलाहरू अस्वभावित छन् अर्थात् उनीहरू आदमबाट पाएको स्वभावको विपरीत चल्छन्। साधारण जीवनको सम्बन्धका डोरीहरू उनीहरूले तोड़िदिन्छन्। अरूले आफ्नो कहिल्यै हरण गर्न नहुने अधिकार सम्झेका कुराहरू उनीहरू ख्रीष्टको निम्ति त्याग्न तयार छन्। उहाँको पछि लाग्नेहरू दासदासीहरू हुन्। तिनीहरूले आदेश दिने साहस गर्दैनन्, तर सरल र सीधा प्रकारले प्रभुको आज्ञा पालन गर्छन्।
भक्तिसाथ जिउने ख्रीष्ट्यानचाहिँ एउटा प्रवासी र यात्री हो, जो विदेशी भूमिमा खुट्टा टेकी हिँडिरहेको छ, जसले त्यहाँ भएकाहरूलाई विश्वासयोग्यतासाथ साक्षी दिन्छ, तर त्यस देशका रहनसहनको अलिकति पनि उसमा लाग्दैन।
ऊ मानिसहरूलाई खुशी पार्ने व्यक्ति होइन; सांसारिक फाइदा उठाउने इच्छा वा आशा लिएर अथवा कहीं हानि भोग्नुपर्ला भन्ने डर मनमा बोकेर हिँड्ने मानिस पनि होइन; ऊ आफ्नो जीवन प्रिय मान्ने होइन र उसलाई मृत्युदेखि डरै छैन। उसले आफ्नो उच्च स्तर वा तल्लो स्तरको ख्यालै राख्दैन, उसलाई स्वदेश-विदेशको पर्वाह छैन, परिस्थितिको मतलब छैन। उसको विचार एउटै कुरामा मात्र केन्द्रित छ: त्यो हो ख्रीष्टको सुसमाचार। उसको जीवनको एकमात्र उद्देश्य छ : परमेश्वरको महिमा। एउटा मूर्खजस्तै ऊ ख्रीष्टको निम्ति मूर्ख गनिन तयार छ। संसारका मानिसहरूले उसलाई दुस्साहसी, कट्टर, बकबके वा तुच्छ, निकृष्ट व्यक्तिको उपनाम किन नदिऊन्; तिनीहरूले उसलाई अयोग्य अल्लारे ठानून्, उसलाई विदेशी धर्म मानेको, प्रचार गरेको आरोप किन नलगाऊन्, ठिक्कै छ। तर मानिसहरूले उसलाई व्यापारी, घरमालिक, माननीय नाग्रिक, धनाढ्य, साहू, भारदार, पण्डित वा बुद्धिजीवी आदि नाम दिए त उसलाई हाय! तब उसको सचरित्र हराएको छ।
यस्ताहरूले प्रभुको निम्ति बोल्नुपर्छ, नत्र मर्न चाहन्छन्। तिनीहरू मर्नुपरे पनि प्रभुको निम्ति बोल्छन्। तिनीहरूलाई बेरै छैन, तर हतार-हतार गरी तिनीहरू देश - विदेशमा समुद्र, पहाड़ र मरुभूमिहरू पार गरेर हिँड्छन्। उच्च स्वरले तिनीहरूले प्रचार गर्छन् र प्रचार गर्न छोड्दैनन् कसैले तिनीहरूलाई रोक्न सक्दैन। जेलमा पनि तिनीहरूले आफ्नो स्वर उचाल्छन् र आँधीबेहरी चल्दा उर्लिरहेको समुद्रको बीचमा तिनीहरू चुप लाग्दैनन्। धार्मिक महासभाका निष्ठुर सदस्यहरू र सिंहासनमा बस्ने राजाहरू वा सरकारको सामु तिनीहरू परमेश्वरको नाममा सत्यको वचन बोल्छन्। मृत्युले बाहेक अरू कसैले तिनीहरूलाई प्रभुको निम्ति बोल्नुदेखि रोक्न सक्दैन। अनि मृत्युको मुखमा पुगेर पनि, अनि तिनीहरूलाई आगोको ज्वालामा सुम्पेर धूवाँले तिनीहरूको स्वास नथुनेसम्म पनि तिनीहरू बोल्छन्, प्रार्थना गर्छन्, साक्षी दिन्छन्, प्रभुलाई स्वीकार गर्छन्, प्रभुलाई ग्रहण गर्ने आग्रह दिन्छन् र आत्मिक युद्ध लड्छन्, र अन्तमा तिनीहरूलाई सास्ती दिएर सताउनेहरूलाई आशिर्वाद दिन्छन्।
प्रभु येशूले यस किसिमका पुरुष र स्त्रीहरूलाई खोज्दै हुनुहुन्छ। श्री एच. ए. होप्किन्स्ले यसो भन्दछन्: 'बितेको समयमा गरेझैं आज पनि प्रभु येशू लक्ष्यहीन भई उहाँका पहिलामा टेकेका भीड़का भीड़ मानिसहरूको खोजी गर्नुहुन्न, तर उहाँ यस्ता पुरुष र स्त्रीहरूको खोजमा हुनुहुन्छ, जसले प्रभुसित अटुट र नजिकको सम्बन्ध कायम राखेर उहाँलाई उहाँले देखाउनुभएको बाटोमा पछ्याउँछन्; किनभने यस्ताहरू मात्र प्रभु येशूले आफ्नो जीवनबाट देखाउनुभएको र आफ्ना चेलाहरूबाट खोज्नुभएको स्वार्थ-त्याग गर्न तयार छन्।'
उहाँले श्री रोव्ल्याण्ड हिलजस्ता मानिसहरूलाई खोज्नु- हुन्छ, जसका शब्दहरू उनको हृदयबाट ताता भई वेगसित बगेर आउँथे। उहाँले श्री चल्मेरस्जस्तै मानिसहरूलाई चाहनुहुन्छ, जो आफ्नो गम्भीरताको खातिर प्रख्यात थिए। उहाँले श्री हेनरी मर्टिन्जस्तै मानिसहरूको खोज गर्नुहुन्छ, जसले भने: 'अब म परमेश्वरको निम्ति ननिभेसम्म चम्कन पाऊँ!'
आजभोलि धेरै जवान मानिसहरूले तिनीहरूको सबभन्दा उत्तम समय कामको निम्ति दिन तयार छन्। तिनीहरू आफ्नो देशको निम्ति मर्न तयार छन्। राम्रो तलबको निम्ति तिनीहरू समुद्र र जमिन चहार्छन्। राजनैतिक दलको निम्ति तिनीहरूले दिनरात परिश्रम गर्छन्।
गीतकार बन्न तिनीहरूले तम्सेर आफ्ना औँलाहरू घोटाउँछन्। पाद्री वा मतबासी बन्न तिनीहरूले विवाह नगर्ने भाकल खान्छन्। नाटकमा खेल्न तिनीहरूले लामो र गाह्रो लेख कन्ठ गर्छन्। कति पेसा सिक्न तिनीहरू दस वर्ष अध्ययन गर्छन्। प्रभु येशूको निम्ति तपाईं केकति गर्न वा दिन तयार हुनुहुन्छ? तपाईंको हृदयको केही भाग वा आधा हृदय मात्र होइन, उहाँलाई सम्पूर्ण जीवन दिनुहोस्!
जब म मर्छु, तब म अति खुशी हुन्छु;
किनभने मेरो जीवनरूपी बत्ती तपाईंको निम्ति बलिरहेर
शेष भएको छ।एउटा पापीलाई बचाउनको निम्ति मैले समय,
परिश्रम, पैसा - मैले जेजति दिए, खर्च गरें, यसमा म
खुशी छु;बाटो अप्ठ्यारो थियो, त्यसमा मलाई कुनै पर्वाह छैन।
तपाईंका प्यारा पाउहरूले बाटोमा अगुवाइ गरे,
त्यही नै पर्याप्त भयो।जब म मर्छु, तब म अति खुशी हुन्छु;
किनभने मेरो जीवनरूपी बत्ती तपाईंको निम्ति बलिरहेर
शेष भएको छ।
तपाईं जीवन-मार्ग प्रकाशनका अन्य पुस्तक पनि पढ्नुहोला! जस्तैः अंग्रेजी के०जी०भी० बाइबलसित मिलन गर्दै अनुवाद गरिएको:
१) नयाँ नियम र सम्पूर्ण पवित्र बाइबल
२) यूहन्नाले लेखेको प्रभु येशू ख्रीष्टको सुसमाचार
३) संसारका ख्रीष्यीय शहीदहरू
४) साँचो चेलापन
५) शैतान, एक हार खाएको शत्रु
६) आशिष
७) मामुली जीवनभन्दा उच्च जीवन
८) प्रश्नमाथि प्रश्न - जवाफ कसले दिने?
९) बाइबलका अचम्मका भविष्यवाणीहरू
१०) पवित्र आत्मा को हुनुहुन्छ?
११) यो संसार कहाँ पुगेर टुङ्गिएला?
१२) साक्षीका गीतहरू
१३) नयाँ नियमका टिप्पणीहरू र पुरानो करारको केही पुस्तकहरूका टिप्पणीहरू
अनि युवकयुवतीहरूका निम्ति :
१४) ओनेसिमस र आइरीन
१५) विजेता
१६) चहकिलो हिउँको कथा
यी किताबहरूका निम्ति तपाईं प्रकाशकसँग सम्पर्क राख्नुहोला! धन्यवाद।