आज हाम्रो गाउँमा एउटा विवाह छ; ती सुकुमारको परिवारका निम्ति यो विवाहको दिनचाहिँ सबैभन्दा महत्त्वपूर्ण दिन, अँ, एक शुभ दिन हो। सारा गाउँसमाज त्यस परिवारसँग खूबै रमाउँदछ, र सबका सब यस विवाहमा उपस्थित हुन चाहन्छन्, र उनीहरूको विवाहमा सहभागी हुन खोज्दैछन्। सबैको ओठमा यस शुभ विवाहको उपलक्ष्यमा दुलहा दुलहीलाई शुभकामना छँदैछ। विवाहको दिनमा सबैको मुखमा खुशीको मुद्रा देखिन्छ; किनभने हाम्रो सामु एउटा नयाँ जोड़ी उभिरहनुभएको छ। दुलहाचाहिँ बुवाआमाले प्रेम गरेका उनीहरूका सुपुत्र हुनुहुन्छ; अनि दुलहीचाहिँ उनीहरूद्वारा होशियार र प्रार्थनाको साथ आफ्ना प्यारा छोराका निम्ति छानिएकी सुकुमारी हुनुहुन्छ। अहो, दुलहा क्या सुन्दर! अहह, दुलहीलाई हेर्नुहोस्, ती परमसुन्दरी अप्सरा!! यी दुईजना खूबै मिल्नुहुँदो रहेछ। दुवैजना जीवनको चरमबिन्दुमा पुग्नुभएको; अबचाहिँ उहाँहरू पूरा बैंस हुनुभएको। अबदेखि हाम्रो गाउँको इज्जत बढ्दैछ; किनकि हाम्रो समाजमा एउटा नयाँ परिवार स्थापित भएको छ। यो हामीलाई कत्रो ठूलो आशिष लाग्दैछ। ईश्वरले यी दुवैलाई प्रशस्त आशीर्वाद देऊन्!
आजको दिनमा यस शुभ विवाहमा दुईजना जवान, एक युवक र एउटी युवतीको बीचमा हामी सबैजनाको सामु जीवनभरिका निम्ति विवाहको सम्बन्ध स्थापित गरिन्छ। तर कसैलाई याद छैन होलाः विवाहको बन्धनचाहिँ सबैभन्दा पुरानो सामाजिक चलन हो, अनि यो विवाहको चलन कुनै जाति वा मानिसको पेवा होइन, तर विवाहको प्रचलनचाहिँ सीधा हाम्रा सृष्टिकर्ता परमेश्वरबाट शुरु भएर आएको हो।
यसको विषयमा हामी पवित्र शास्त्र बाइबलमा निम्न वर्णन पाउँछौं, जुन वर्णनचाहिँ हाम्रा निम्ति सर्वोत्तम शिक्षा र दिव्य प्रकाशले पूर्ण छः
‘अनि परमप्रभु परमेश्वरले भन्नुभयोः “मानिसका निम्ति एकलो रहनु उचित छैन; तिनका निम्ति म तिनीसँग 'खूब मिल्ने एउटा सहयोगी बनाइदिनेछु।" तर आदमका निम्ति तिनीसँग मेल खाने सहयोगी कतै पाइएन। अनि परमप्रभु परमेश्वरले आदमलाई गहिरो निद्रामा पार्नुभयो, र तिनी निदाए अनि उहाँले तिनका करङहरूमध्ये एउटा निकाल्नुभयो र त्यसको ठाउँमा मासु भरिदिनुभयो। अनि परमप्रभु परमेश्वरले जुन करङ आदमबाट निकाल्नुभएको थियो, त्यस करङबाट एउटी स्त्री बनाउनुभयो, र उसैलाई आदमकहाँ ल्याउनुभयो। तब आदमले भनेः “अहो, यो त मेरा हाड़को हाड़ र मेरो मासुको मासु हो! ऊ नारी भनिनेछ किनकि ऊ नरबाट निकालिएकी हो।” यसैकारण मानिसले आफ्ना बुवाआमालाई छोड्नेछ र आफ्नी पत्नीसँग टाँसिबस्नेछ; अनि तिनीहरूचाहिँ एउटै शरीर हुनेछन्। अनि ती दुवैजना नङ्गा थिए आदम र तिनकी पत्नी, तर तिनीहरू लजाउँदैनथिए।' उत्पत्ति २:१८-२५
आउनुहोस्, हामी उत्पत्तिको यस विवरणमा एकक्षण आफ्नो ध्यान लगाऔं! यस खण्डमा हाम्रो आँखामा पर्ने पहिलो कुरा के हो भने, मानिसलाई सृष्टि गर्नुहुने परमेश्वरले मानिसको भलाइ खोज्नुभएको थियो। शुरुमा मानिस एकलै थिए; अनि यो अवस्था तिनका निम्ति उचित थिएन। यसैले उहाँले मानिसका निम्ति तिनीसँग खुबै मिल्ने सहयोगी खोज्नुभएको थियो। तर सृष्टि गरिएका सबै पशुपक्षीहरूमा मानिससँग मेल खाने सहयोगी कतै पाइएन। त्यसपछि सृष्टिकर्ता परमेश्वर अघि सर्नुभयो र उहाँले एउटा अचम्मको काम गर्नुभयोः उहाँले पुरुषको शरीरबाट एउटा करङ निकाल्नुभयो र त्यसैबाट एउटी स्त्री बनाउनुभयो। उहाँले पुरुषका निम्ति तयार गरिएकी त्यस स्त्रीलाई लिएर उसलाई मानिसकहाँ ल्याइदिनुभयो, र तिनले उसलाई आफ्नी पत्नीको रूपमा चिनेर यसो भनेः 'यो त मेरो हाड़ र मेरो मासु हो रहेछ!!' तिनले उसलाई नारी भन्ने नाम दिए; किनकि ऊ नरबाट निकालिएकी थिई।
यहाँबाट विवाहको सम्बन्धमा हाम्रा निम्ति सिक्नुपर्ने प्रथम कुरा के हो भने, नारीचाहिँ नरका निम्ति सृष्टि गरिएकी हो, नरचाहिँ नारीका निम्ति होइन। सृष्टिको शुरुदेखि नै लोग्ने र स्वास्नीमा भिन्नता यही हो। यसैले विवाह गर्न चहाना राख्ने जुनसुकै युवतीले बुझ्नुपर्छः 'म हुन लागेका मेरा श्रीमान्का निम्ति सृष्टि गरिएकी, उनीसँग खूबै मिल्ने सहयोगी रहिछु! यसैले आफ्नो स्तर र आफ्नो जिम्मेवारी नबुझ्ने स्त्रीहरूबाट विवाहको सम्बन्धमा समस्या पैदा हुन्छ। विवाह गरिएकी स्त्री आफ्ना लोग्नेका निम्ति सहयोगीको रूपमा दिइएकी हो। अनि उसले आफ्ना लोग्नेसँग खूबै मिल्ने प्रयास गर्नुपर्दछ।
अनि अरू कुनचाहिँ कुरा हामीले सिक्नुपर्छ? यस्तो लेखिएको छः ‘यसैकारण मानिसले आफ्ना बुवाआमालाई छोड्नेछ र आफ्नी पत्नीसँग टाँसिबस्नेछ; अनि तिनीहरूचाहिँ एउटै शरीर हुनेछन्।' यहाँ विवाह गरेका छोराचाहिँ आफ्ना बुवाआमासित नरहने, तर आफ्नी पत्नीसँग टाँसिबस्ने मुख्य कारण बताइदिइएको छः तिनीहरू एक-अर्काका निम्ति बनिएका हुन्; तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। तिनीहरूको यस पवित्र विवाहको सम्बन्धको बीचमा बुवाआमासमेत पस्नुहुँदैन; नत्र परमेश्वरले लोग्नेस्वास्नी भएका पुरुष र स्त्रीका निम्ति सोच्नुभएको अभिप्राय र उद्देश्य पूरा हुन सक्दैन। तिनीहरू एउटा शरीर हुन्छन् भन्ने कुरामा हामीले ध्यान लगाउनुपर्छ। तिनीहरूलाई छुट्टाउनुहुँदैन; समाजलाई साक्षी राखेर विवाहद्वारा स्थापित गरिएको तिनीहरूको यस पवित्र दमपतीय जीवनभित्र परमेश्वरले बाहेक अरू कसैले पनि हात हाल्न पाउँदैन; किनभने अबचाहिँ एक पुरुष र एक स्त्री विवाहद्वारा एउटै शरीर भएका छन्।
अझ अरू के लेखिएको छ? हामी यसो पढ्दैछौंः 'ती दुवैजना नङ्गा थिए- आदम र तिनकी पत्नी, तर तिनीहरू लजाउँदैनथिए। विवाहको सम्बन्ध एक पवित्र सम्बन्ध भएका हुनाले पतिको सामु पत्नी कहिल्यै लजाउनुपर्दैन, र पत्नीचाहिँ पतिको सामु कहिल्यै लजाउनुपर्दैन। अबदेखि उसो पतिले आफ्नी पत्नीलाई दिनुपर्ने वैवाहिक प्रेममय व्यवहार देखाउनुपर्छ, अनि त्यही प्रकारले पत्नीले पनि आफ्ना पतिलाई दिनुपर्ने कर्तव्य पूरा गर्नुपर्छ। विवाहको यो पवित्र सम्बन्ध सबैको बीचमा बड़ो आदरको योग्य रहिरहनुपर्छ। प्रेमक्रीड़ाको ओछ्यान निष्कलङ्क रहनुपर्दछ किनकि व्यभिचारीहरू र परस्त्रीगामीहरूलाई चाहिँ परमेश्वरले अवश्य न्याय गरेर तिनीहरूलाई उचित दण्ड दिनुहुनेछ।
तब विवाह गर्नुभन्दा अगाडि नै विवाह गर्न खोजेकी युवतीले आफ्नो शरीर शुद्ध र पवित्र राख्न सिक्नुपर्छ, नत्र विवाह गरेपछि उसले आफ्ना लोग्नेप्रति कसरी विश्वासयोग्य रहन सक्ली? अरू पुरुषहरूको सामु उसले आफ्नो सुन्दर शरीरलाई कसरी ढाकिराख्नुपर्छ, सो कुरा उसले सानैदेखि सिक्नुपर्दछ। तर अचेलका केटीहरू अभिनेत्रीको अश्लील पहिरण लाउन मनपराउँछन्, र आफ्नो शरीरका गुप्त अङ्गहरू खुला पार्न चाहन्छन्; यसो गर्दा तिनीहरूलाई अलिकति शर्म पनि लाग्दैन; किनकि तिनीहरूले लाज पचाइसकेका छन्। तिनीहरूले आफ्नो जीवनको उद्देश्य पूरा भुलेछन्ः तिनीहरूका हुन लागेका एकमात्र लोग्नेका निम्ति तिनीसँग खूबै मिलिरहने सहयोगी हुनुपर्ने ठाउँमा तिनीहरूले आफ्नो सुन्दर शरीर लिएर त्यसलाई पुरुषहरूका निम्ति व्यभिचारको पापमा फसाउने हातहतियार बनाएका छन्। अनि निर्लज्ज व्यवहार देखाउने कुरामा हाम्रा जवानहरू केही कम छैनन्। तब मेरो प्रश्न हुन्छः यस्ताहरू विवाहको बन्धनमा कसरी विश्वासयोग्य रहन सक्लान्? यस प्रकारको बेहोशिपनले उनीहरूलाई सीधा व्यभिचारको पापमा पुरयाउँछ। यसभन्दा लाजमर्दो कुरा अरू केही पनि छैन। अनि यस पापद्वारा परमेश्वरले एकसाथ जोड्नुभएको जोड़ी, एकै शरीरमा गाँसिएको दमपतीय पवित्र सम्बन्ध सदाका निम्ति तोड़ियो। अहह, विवाहको सुन्दर ईश्वरीय योजना कसरी बरबाद गरियो!! हाम्रो बीचमा व्यभिचारको एउटै पापले गर्दा एउटा परिवारमाथि प्रशस्त पीड़ा र दुःख आइपरयो। हे पुरुषहरूहो, आउनुहोस्, हामी व्यभिचारको डरलाग्दो पापदेखि भागौं! हे दिदीबहिनीहरूहो, हामीलाई व्यभिचारमा फस्ने मौका नदिनुहोस्! हामी सबैजना होशियार बसौं! किनभने व्यभिचारीहरू परमेश्वरको राज्यमा कुनै हालतमा पस्नै पाउनेछैनन्।
विवाहको बन्धनमा विश्वासयोग्य रहिरहने पुरुष र स्त्रीहरूका निम्ति परमेश्वरको आशीर्वाद यस प्रकारको छः ‘फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ! पृथ्वीलाई भरिदेओ, र त्यसलाई वशमा पार! समुद्रका माछादेखि लिएर आकाशको पक्षी र पृथ्वीमाथि चलहल गर्ने हरेक प्राणीमाथि अधिकार गर!' (उत्पत्ति १:२८)। यो पृथ्वी परमेश्वरको डर राख्ने मानिसहरूले कहिल्यै भरिँदैन। उनीहरूका निम्ति ठाउँ सधैँ पुग्दो रहेछ, उनीहरूका निम्ति सदैव ठाउँ रहिरहँदो रहेछ। दुष्ट मानिसहरूका निम्ति पो न यस संसारमा र स्वर्गमा कुनै ठावै हुन्छ। यसैले यस सम्बन्धमा यति बुझौंः परमेश्वरले हामी मानिसहरूलाई आशिष दिन चाहनुभएको छ; र उहाँका कतिपय आशिषहरू विवाहको बन्धनभित्र रहनेहरूका निम्ति मात्र हुँदछन्।
शरीरको फलचाहिँ विवाहको सम्बन्धको एउटा ठूलो आशिष हो। जब परमेश्वरले हामीलाई छोराछोरीहरूलाई दिनुहुन्छ, तब हामीले तिनीहरूलाई उहाँको आशिष सम्झनुपर्छ, र तिनीहरूलाई उहाँको डरमा हुर्काउनुपर्छ। हामी आफ्नो परिवारबाट नरकमा पर्नेहरूको सङ्ख्या किन बढ़ाइदिने? यसर्थ तपाईं र तपाईंको परिवारले मुक्ति पाउनुपर्छ। तपाईं घरका बुवा हुनुहुन्छ भने यस कुरामा तपाईं अघि बढ्नुपर्छ, र पहिले आफ्ना निम्ति मुक्तिको बाटो खोज्नुपर्छ, र त्यसपछि तपाईंले परिवारलाई यही सत्यको मार्गमा डोरयाउनुपर्छ। संसारको एकमात्र मुक्तिदात ख्रीष्ट येशू हुनुहुन्छ। यसैले समयमा उहाँलाई चिन्न र उहाँमाथि विश्वास गर्न प्रयास गर्नुहोस्!
अनि नानी नपाउने पतिपत्नीहरूको विषयमा के हो? तिनीहरूका निम्ति परमेश्वरले यो शारीरिक आशिषभन्दा ठूला आत्मिक आशिषहरू साँचेर राख्नुभएको हुनुपर्छ, यसमा कुनै शङ्का छैन।
उत्पत्तिको पुस्तकमा हामी मानिसको पतनको विवरण पढ्छौं; मानिस पापमा गिरे। यस कुरा मा स्त्रीको ठूलो हात थियो। यसैले परमेश्वरले सबै स्त्रीहरूकी आमालाई यसो भन्नुभयोः 'म तिम्रो दुःख र तिम्रो गर्भकाल ज्यादै बढाउनेछु; कष्टसँग तिमीले छोराछोरीहरू जन्माउनेछ्यौ; अनि तिम्रो चहाना तिम्रो पतितर्फ हुनेछ, र उसले तिमीमाथि शासन चलाउनेछ।' उत्पत्ति ३:१६
सृष्टिको शुरुमा स्त्री मानिस शैतानको बहकाउमा परी र अपराधमा फसी; यहाँबाट हरेक पत्नी आ-आफ्ना पतिको अधीनमा रहनुपर्ने ईश्वरीय नियम आएको छ। पत्नीका शिर पति हो। यो परमेश्वरको नियम हो। आउनुहोस्, हामी विवाहको सम्बन्धमा परमेश्वरको सबैभन्दा सुन्दर र लाभदायक स्वर्ण नियम सिकौं :
'हे पत्नीहरूहो, आफूलाई आ-आफ्ना पतिको अधीनतामा सुम्पिदेओ! हे पतिहरूहो, आ- आफ्ना पत्नीलाई आफूलाई झैं प्रेम गर!'
जस-सजले यो स्वर्ण नियम आफ्ना निम्ति सिकेका छन् र त्यस नियमअनुसार चल्छन्, तिनीहरूको विवाहको सम्बन्ध साह्रै राम्रो मिलेको, अँ, परमेश्वरको आशिषले पूर्ण हुन्छ। आज यस शुभ दिनको उपलक्ष्यमा नयाँ जोड़ीलाई परमप्रभु परमेश्वरको कृपा, शान्ति र प्रेम मिलेको होस्! परमेश्वरले यस विवाहमा उपस्थित भएका महानुभावहरूलाई प्रशस्त आशिष् देऊन्!
विवाहको सम्बन्धमा पवित्र बाइबलको स्वर्ण नियमः
'हे पत्नीहरूहो, आफूलाई आ- आफ्ना पतिको अधीनतामा सुम्पिदेओ! हे पतिहरूहो, आ-आफ्ना पत्नीलाई आफूलाई झैं प्रेम गर!’